Posted by: admin

विद्वत्सम्मान एवम् ग्रन्थ लोकार्पण कार्यक्रम सम्पन्न

धरान,

पण्डित श्रीलोकनाथ लुइटेल स्मृति प्रतिष्ठानले २०८३ श्रावण १६ गते शनिबार आठौँ (प्रशासनमा दर्ता भएदेखि दोस्रो) वार्षिक कार्यक्रम सम्पन्न गरेको छ । विद्वत्सम्मान एवम् ग्रन्थ लोकार्पण समारोहका रूपमा सम्पन्न उक्त कार्यक्रम धरानको गीता मन्दिरमा आयोजना गरियो । प्रतिष्ठानका अध्यक्ष श्रीडिल्लीप्रसाद लुइटेलको सभाध्यक्षता र पूर्वीय दर्शन, धर्मशास्त्रादिका विशिष्ट विद्वान्, ने.सं.वि. का पूर्वशिक्षाध्यक्ष पं. पुरुषोत्तम भट्टराईज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्र र विषयका विशिष्ट विद्वान्, यस संस्थाबाट अर्धवार्षिक रूपमा प्रकाशन हुँदै आएको बहुभाषिक, बहुविषयात्मक, विज्ञसमीक्षित, अनुसन्धानमूलक पत्रिका लोकदर्पणका सल्लाहकारसमेत रहनुभएका गुरुहरू प्रा.डा. माधवप्रसाद पोखरेल, प्रा.डा. गोविन्दराज भट्टराई, प्रा. नारायणप्रसाद शर्मा कट्टेल, प्रा.डा. गोपालप्रसाद भण्डारी र प्रा.डा. रमेश घिमिरेलाई सम्मान समर्पण गरियो । त्यस क्रममा प्रमुख अतिथि गुरुबाट टोपी र सम्मानपत्र, संस्थापकका तर्फबाट गुरुआमा राधादेवी लुइटेल र डा. हरिशरण लुइटेल, सभाध्यक्ष, विशिष्ट अतिथि, प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ र प्रा.डा. टङ्कप्रसाद न्यौपानेले पुष्पमाला, दोसल्ला लगायत अर्पण गरी सम्मान गर्नुभएको थियो । गुरुहरूको सम्मानका क्रममा डा. यज्ञेश्वर निरौला र डा. सुभाषचन्द्र न्यौपानेले सम्मानित गुरुहरूको व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो भने डा. यज्ञेश्वर निरौला, मधुसूदन घिमिरे र भवानीप्रसाद मिश्रले सम्मानपत्र वाचन गर्नुभएको थियो ।

त्यसै गरी यस संस्थाका आधार पुरुष पं. लोकनाथ लुइटेलद्वारा लिखित सरलपूजाविधिः ग्रन्थको लोकार्पणसमेत प्रमुख अतिथि, सम्मानित गुरुजनहरू, विशिष्ट अतिथि महानुभावहरूका करकमलबाट सम्पन्न भएको छ । लोकार्पणपश्चात् ग्रन्थ र ग्रन्थकारका बारेमा आदरणीय गुरु सहप्राध्यापक कृष्णप्रसाद शर्माले मन्तव्य राख्नुभएको थियो । सम्मानित गुरुजनहरूले वै.वा. लोकनाथ लुइटेल गुरुको चर्चा गर्दै उहाँका नाममा उहाँकै परिवारद्वारा स्थापना गरिएको यस संस्थाको वर्तमानसम्मका गतिविधि, भोलिका दिनमा संस्थाले गर्नुपर्ने कार्यहरूको सुझाव, गुरुको यशलाई समुज्ज्वल बनाउन परिवार, विशेष गरी गुरुका ज्येष्ठ सुपुत्र डा. हरिशरण लुइटेलले गर्नुभएको प्रयत्नलाई प्रशंसा गर्दै आगामी दिनका लागि मार्गदर्शनसमेत गर्नुभयो । वैदिक मङ्गलाचरणका साथ प्रमुख अतिथिबाट पानसमा दीप प्रज्वलन गरी प्रारम्भ गरिएको उक्त कार्यक्रममा संस्थाका सदस्य मधुसूदन घिमिरेले संस्थाको परिचयसहित स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन/सहजीकरण संस्थाका सदस्य भवानीप्रसाद मिश्रले गर्नुभएको थियो । सभाध्यक्ष डिल्लीप्रसाद लुइटेलको मन्तव्यका साथ समापन भएको उक्त कार्यक्रममा संस्थाले आगामी दिनमा आर्थिक, व्यवस्थापकीय रूपमा पनि सबलता प्राप्त गर्ने कुराको प्रतिबद्धतासमेत व्यक्त गरिएको थियो ।

 

कार्यक्रमका केही छाया चित्रहरू-