- Description
Description
सामान्यतः अनुसन्धान प्रतिवेदन एवम् अनुसन्धानमूलक लेखहरूमा एपीए, एमएलए, सिकागो आदि संस्थाले विकास गरेको अनुसन्धान लेखन शैलीलाई अनुसरण गर्दै आइएको छ। मूलतः अमेरिकन साइकोलोजिकल एसोसिएसन (एपीए), मोडर्न ल्याङ्गुएज एसोसिएसन (एमएलए) तथा सिकागो स्टायल यी तीन पद्धति बढी प्रचलनमा छन्। बेलायत, भारत, चिन, जापान आदि मुलुकका विभिन्न विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरूमा आआफ्नै ढाँचामा विकास गरेका लेखनशैली प्रयोगमा छन्। २०१४ सालमा स्थापना भएको तत्कालीन नेपाल एकेडेमी एवम् त्यसको नाम परिवर्तन हुँदै आएको नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान र हाल नेपाल प्रज्ञा–प्रतिष्ठान, २०१६ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालय र यसअन्तर्गतका चारओटा अनुसन्धान केन्द्रहरू – आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा), व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट), एसियाली अध्ययन केन्द्र (सिनास) र शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) एवम् २०४३ सालमा स्थापना भएको नेपाल संस्कृत विश्वविद्यालय र त्यसपछि स्थापना भएका काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालय, बौद्ध विश्वविद्यालय, कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय आदि नेपालका सबै विश्वविद्यालयहरूले गराउने अनुसन्धान र ती सबै विश्वविद्यालयको छाता सङ्गठनका रूपमा रहेको विश्वविद्यालय अनुदान आयोग लगायतका नेपालमा भएका अनुसन्धान केन्द्रहरू कतैबाट पनि अनुसन्धानका निम्ति उपयोगमा आउने मौलिक लेखन पद्धति विकास हुन सकेको छैन।
