राममणि नेपाल[1] (रामानुज) सर्वदर्शन-इतिहासपुराणाचार्य इमेल- ramanujdash7@gmail.com लेखसार श्रीमद्भागवत सबै प्रकारका अधिकारीहरूको उपकारक र मुमुक्षुहरूका लागि अत्यन्त उपादेय ग्रन्थ हो। यसमा साङ्ख्य दर्शनको सुविस्तृत व्याख्या गरिएको छ। साङ्ख्य भनेको ज्ञान हो। प्रकृति र पुरुषको विवेकद्वारा संसारको वासनाबाट निवृत्त भई परमात्माको चिन्तनमा प्रवृत्त भएपछि मात्र मोक्ष सम्भव हुन्छ। यसका लागि साङ्ख्ययोग अत्यन्त उपकारक हुन्छ र कर्मयोग यसको […]
राममणि नेपाल[1] (रामानुज)
सर्वदर्शन-इतिहासपुराणाचार्य
इमेल- ramanujdash7@gmail.com
लेखसार
श्रीमद्भागवत सबै प्रकारका अधिकारीहरूको उपकारक र मुमुक्षुहरूका लागि अत्यन्त उपादेय ग्रन्थ हो। यसमा साङ्ख्य दर्शनको सुविस्तृत व्याख्या गरिएको छ। साङ्ख्य भनेको ज्ञान हो। प्रकृति र पुरुषको विवेकद्वारा संसारको वासनाबाट निवृत्त भई परमात्माको चिन्तनमा प्रवृत्त भएपछि मात्र मोक्ष सम्भव हुन्छ। यसका लागि साङ्ख्ययोग अत्यन्त उपकारक हुन्छ र कर्मयोग यसको सहयोगी बन्दछ। सेश्वर र निरीश्वर दुवै साङ्ख्ययोगका प्रवक्ताका रूपमा कपिललाई स्वीकार गरिएको छ, तर दुवै कपिल भिन्न भिन्न मानिन्छन्। श्रीमद्भागवतमा व्यक्त साङ्ख्ययोगका प्रवक्ता भगवदवतार कपिलदेव हुनुहुन्छ। यस ग्रन्थको तृतीय स्कन्धमा भगवान् कपिलदेवले माता देवहूतिलाई र एकादश स्कन्धमा श्रीकृष्ण भगवान्ले पनि उद्धवजीलाई मोक्षोपायहरूमा अन्यतम साङ्ख्ययोगको सम्यक् उपदेश गर्नुभएको छ।
शब्दकुञ्जी : साङ्ख्य, अवतार, भक्ति, प्रकृति, इन्द्रिय, योग, मोक्ष।
विषयप्रवेश
वेदार्थको निश्चय गर्न स्मृति, इतिहास र पुराणहरूको सहयोग अपेक्षित हुन्छ। श्रुतिको अर्थ अतिशय क्लेशसाध्य छ।[2] स्मृति, इतिहास र पुराणहरूलाई वेदको उपबृंहण(व्याख्यान)का रूपमा बताइन्छ। स्मृति भनेको धर्मशास्त्र हो। स्मृतिहरू धेरै छन्।[3] तिनीहरूद्वारा वेदको पूर्वभाग(कर्मभाग)को एवम् इतिहास र पुराणहरूद्वारा उत्तरभाग(ब्रह्मभाग)को अर्थ निरूपण गरिएको छ। तत्त्वप्रतिपादनमा ब्रह्मकाण्डलाई मुख्य मानिन्छ। त्यसैले इतिहास र पुराणहरूमा प्रस्थानत्रयीका मुख्य विषयहरूको आधिक्य पाइन्छ। इतिहास दुई छन्- श्रीरामायण र महाभारत। श्रीविष्णुपुराण आदि १८ (अठार) पुराणहरू जगत्प्रसिद्ध छन्। अष्टादश
पुराणहरूमध्ये अन्यतम हो- श्रीमद्भागवत महापुराण। अन्य पुराणहरूद्वारा बहुप्रशंसित श्रीमद्भागवतलाई कृष्णद्वैपायनले ‘पुराणतिलक’को संज्ञा दिनुभएको छ – श्रीमद्भागवतं पुराणतिलकम् (श्रीमद्भागवत-१२/१३/१८)। पुराणजगत्मा श्रीमद्भागवतको श्रेष्ठता सिद्ध हुन्छ। मङ्गलाचरणमा नै जन्माद्यस्य यतः यस पदावलीको सन्निवेश हुनुले विषयप्रतिपादनका दृष्टिबाट यस महापुराणको प्रस्थानत्रयीसँग ऐककण्ठ्य स्पष्टतया देखिन्छ।
युजिर् योगे धातुबाट निष्पन्न योग शब्दको जोड्नु भन्ने अर्थ हुन्छ। ‘योगः सन्नहनोपायध्यानसङ्गति-युक्तिषु’[4] यस वचनअनुसार योग शब्दका सन्नहन, उपाय, ध्यान, सङ्गति र युक्ति अर्थहरू हुन्छन्। त्यस्तै योगः[5] कर्मसु कौशलम्ले कार्यसम्पादनमा रहने कुशलतालाई योग भनेर अर्थ्याएको छ। उक्त तमाम अर्थहरूलाई बोकेको योग शब्दको विद्वान्हरूले प्रकरणअनुसार अलग-अलग अर्थ गर्नुभएको छ।
श्रीमद्भगवद्गीता, श्रीमद्भागवत आदि भक्तिपरक ग्रन्थहरू हुन्। यी ग्रन्थहरूको व्याख्यामा पूर्वाचार्यहरूले साङ्ख्ययोगको सुन्दर रूपमा निर्वचन गर्नुभएको छ। जस्तै- बुद्ध्या अवधारणीयम् आत्मतत्त्वं साङ्ख्यम्। साङ्ख्यमेव योगः साङ्ख्ययोग इति। योगशब्दोऽत्र उपायपरः।[6] अर्थात् सङ्ख्या बुद्धिको नाम हो।[7] बुद्धिद्वारा निश्चय गरिने आत्मतत्त्वलाई साङ्ख्य भनिन्छ। साङ्ख्य नै योग हो भन्दा साङ्ख्ययोग हुन्छ। योग शब्दको उपाय अर्थ हो। यहाँ साङ्ख्य शब्द उपाय र उपेय दुबैको द्योतक बनेको छ। साङ्ख्याय योगः यस्तो पनि अर्थ गर्न सकिन्छ। त्यस्तै सङ्ख्या (बुद्धि) एव साङ्ख्यम् यस्तो अर्थ गर्दा पनि योग शब्दको उपाय नै अर्थ हुन्छ। अब प्रकृत आलेखमा केही आनुषङ्गिक विषयहरूका साथमा श्रीमद्भागवत महापुराणमा वर्णित साङ्ख्ययोगको सङ्क्षिप्त चर्चा गरिन्छ।
समस्या कथन
अनुसन्धानका लागि छनौट गरिएको विषय नै समस्याका रूपमा आएको हुन्छ। निश्चय गरिएको शीर्षकमा रहेका मुख्य प्रश्नहरूलाई प्रष्ट्याउनु समस्या कथन हो। यस आलेखमा निम्नानुसार समस्याहरूलाई स्थापित गरिएको छ-
१. साङ्ख्य योग भनेको के हो ?
२. सेश्वर साङ्ख्य र निरीश्वर साङ्ख्यमा के भेद छ ?
३. श्रीमद्भागवतमा साङ्ख्य योगको वर्णन कसरी गरिएको छ ?
उद्देश्य निर्धारण
समस्या कथनमा उल्लेख गरिएका समस्याहरूको उपयुक्त तरिकाले निराकरण गर्नु नै उद्देश्य निर्धारण हो। अनुसन्धानले गति प्राप्त गर्नका लागि समस्या कथनमा उठाइएका समस्याहरूको सही समाधान गर्नु अनिवार्य हुन्छ। अतः यहाँ उद्देश्यहरूलाई यसरी स्पष्ट पारिएको छ-
१. साङ्ख्ययोगको परिचय दिनु,
२. सेश्वर साङ्ख्य र निरीश्वर साङ्ख्यमा भेद स्पष्ट पार्नु
३. भागवतमा वर्णन गरिएको साङ्ख्ययोगको विवेचना गर्नु
अनुसन्धानविधि
पूर्वीय शास्त्रीय मर्यादाभित्र रहेर साङ्ख्ययोगको वर्णन यस लेखभित्र गरिएको छ। वर्णनात्मक र विश्लेषणात्मक विधिद्वारा साङ्ख्ययोगका विषयहरूलाई प्रस्तुत गर्ने प्रयत्न भएको छ। अनुसन्धानका क्रममा उपयोग गरिने स्रोतहरूमा प्राथमिक स्रोतका रूपमा श्रीमद्भागवत महापुराणलाई स्वीकार गरी व्याख्या विश्लेषण गरिएको छ भने द्वितीयक सामाग्रीका रूपमा उक्त पुराणका टीका उपटीका आदि विभिन्न ग्रन्थहरूको सहयोग लिइएको छ। यी कार्यका लागि मुख्य रूपमा पुस्तकालयीय विधिलाई उपयोग गरिएको छ।
निरीश्वर साङ्ख्य र सेश्वर साङ्ख्य
निरीश्वर र सेश्वर गरी साङ्ख्य दर्शनका दुई धाराहरू प्रसिद्ध छन्। दुवै परम्परामा मुनि कपिललाई नै आचार्य भनिएको पाइन्छ। विषयका दृष्टिले साङ्ख्यकारिका आदि प्रसिद्ध दार्शनिक ग्रन्थहरूमा वर्णित साङ्ख्य र श्रीमद्भागवत, श्रीमद्भगवद्गीता आदिमा निरूपित साङ्ख्ययोगमा धेरै भिन्नता पाइन्छ। श्रीमद्भगवद्गीतामा वर्णित साङ्ख्यविवेचनामा ईश्वरतत्त्वको प्राधान्य बताइएको छ। वर्तमान साङ्ख्य दर्शनका कपिलले आफ्नो विचारभूमिमा ईश्वरलाई स्वीकारसम्म पनि गर्नुभएको छैन। यी दुवै पक्षहरूको चिन्तन गरेर विद्वान्हरूले साङ्ख्य दर्शनलाई सेश्वर र निरीश्वर भनी विभाग गर्नुभएको देखिन्छ। श्रीमद्भागवतमा भगवान् श्रीकपिलदेवको अवतार-प्रयोजनलाई यसरी बताइएको छ :
अयं सिद्वगणाधीशः साङ्ख्याचार्यैः सुसम्मतः।
लोके कपिल इत्याख्यां गन्ता ते कीर्तिवर्धनः।।[8]
अर्थात् हे देवहूति ! यी बालक सिद्धगणका स्वामी एवम् साङ्ख्य परम्पराका आचार्यहरूका पनि मान्य हुने छन्। यिनले लोकमा तपाईंका कीर्तिको विस्तार गर्नेछन् र कपिलनामले विख्यात हुने छन्। श्रीमद्भागवतका टीकाकारहरूले यस श्लोकमा गहन चिन्तन गर्नुभएको छ। उहाँहरूका अनुसार भागवतमा वर्णित कपिल सेश्वरसाङ्ख्य दर्शनका आचार्य हुनुहुन्छ, अनीश्वर साङ्ख्ययोगका प्रवर्तक कपिल भिन्न हुनुहुन्छ। उहाँ अग्निवंशमा जन्मनुभएको हो। मुख्य शिष्यका रूपमा बताइएका आसुरि पनि अलग अलग नै हुन्। स्वयम् भगवान् नारायणले नै कपिलावतार लिएर वेदसम्मत साङ्ख्यतत्त्वको उपदेश गर्नुभयो। वेदविरुद्ध साङ्ख्यमतको उपदेश गर्ने कपिल भिन्न हुनुहुन्छ-
असौ भगवान् कपिलः सेश्वरसाङ्ख्यप्रवर्तकः ‘ऋषिप्रसूतं कपिलं महान्तम्’ इति श्रुत्युक्तः। वेदविरुद्धानीश्वर- साङ्ख्यप्रवर्तकोऽग्निवंशजोऽन्य एव कपिलः। तथा चोक्तं पाद्मे
कपिलो वासुदेवाख्यस्तत्त्वं साङ्ख्यं जगाद ह।
ब्रह्मादिभ्यश्च देवेभ्यो भृग्वादिभ्यस्तथैव च।।
तथैवासुरये सर्ववेदार्थरूपबृहितम्।
सर्ववेदविरुद्धं च कपिलोऽन्यो जगाद ह।।
साङ्ख्यमासुरयेऽन्यस्मै कुतर्कपरिबृंहितम्।। इति।।[9]
साङ्ख्ययोगको अङ्ग कर्मयोग
मोक्षप्राप्तिका लागि शास्त्रमा मुख्यरूपले तीन उपायहरू परिगणित छन्- १. कर्मयोग, २. ज्ञानयोग र ३. भक्तियोग। कर्मयोग साक्षात् मोक्षको उपाय बन्न सक्तैन। ज्ञानयोगको सहकारी साधन भएर मात्र यो मोक्षोपाय बन्दछ। सेश्वरसाङ्ख्ययोग भनेको ज्ञानयोग हो। यसमा प्रकृति र पुरुषको विवेक गरेर प्रकृतिवियुक्त आत्मतत्त्वको चिन्तन गरिन्छ। कर्मयोग र ज्ञानयोग दुवै भक्तियोगका अङ्ग पनि बन्दछन्। यस विषयलाई भगवान् श्रीगीताचार्यले यसरी उपदेश गर्नुभएको छ –
कायेन मनसा बुद्ध्या केवलैरिन्द्रियैरपि।
योगिनः कर्म कुर्वन्ति सङ्गं त्यक्त्वात्मशुद्धये।। (गीता- ५/११)
यसमा कर्मयोगको मुख्य प्रयोजन अन्तःकरणको शुद्धि बताइयो। शुद्धान्तःकरण साधक ज्ञानयोगमा प्रवेश गर्न सक्तछ। श्रीमद्भागवतमा पनि भगवान्ले उद्धवजीलाई यही उपदेश गर्नुभयो-
तावत्कर्माणि कुर्वीत न निर्विद्येत यावता।
मत्कथाश्रवणादौ वा श्रद्धा यावन्न जायते।। (भागवत- ११/२०/९)
संसारप्रतिको वैराग्य एवम् भगवत्कथा श्रवण गर्नमा श्रद्धा उत्पन्न गर्नु कर्मयोगको प्रयोजन सिद्ध भयो। अतः कर्मयोग स्वतन्त्रतया मोक्षको साधन नबनेर ज्ञानयोगको अङ्गका रूपले मोक्षको साधन बन्दछ। ज्ञानयोग भन्नु साङ्ख्ययोगको पर्याय हो। श्रीमद्भगवद्गीतामा यसको स्पष्टीकरण पाइन्छ-
लोकेऽस्मिन् द्विविधा निष्ठा पुरा प्रोक्ता मयानघ।
ज्ञानयोगेन साङ्ख्यानां कर्मयोगेन योगिनाम्।। (गीता- ३/३)
अर्थात् हे निष्पाप अर्जुन ! यस लोकमा दुई प्रकारका निष्ठा छन् भनेर मैले पहिले (दोस्रो अध्यायमा) नै बताइसकेको छु। साङ्ख्यहरूका लागि ज्ञानयोग र योगीहरूका लागि कर्मयोग।।
उक्त तात्पर्यलाई भगवान् श्रीभाष्यकारले यसरी उल्लेख गर्नुभएको छ- सङ्ख्या बुद्धिः, तद्युक्ताः साङ्ख्याः – आत्मैकविषयया बुद्ध्या युक्ताः साङ्ख्याः, अतदर्हाः कर्मकोगाधिकारिणो योगिनः।। (गीता, रामानुजभाष्य- ३/३)
अर्थात् सङ्ख्या बुद्धिको पर्याय हो। जो बुद्धि(ज्ञान)ले युक्त छ, त्यो साङ्ख्य हुन्छ। आत्मविषयक बुद्धिले युक्त भएकालाई मात्र साङ्ख्य भनेर बताइन्छ। साङ्ख्ययोगमा प्रवेश हुन नसक्ने व्यक्ति कर्मयोगको अधिकारी हुनसक्छ। कर्मयोग र ज्ञानयोगको अङ्गाङ्गिभावलाई भगवान्ले धेरै स्थानमा उपदेश गर्नुभएको छ –
साङ्ख्ययोगौ पृथग्बालाः प्रवदन्ति न पण्डिताः।। (गीता-५/४)
अर्थात् जो साङ्ख्ययोग र कर्मयोगलाई अलग अलग बताउछन्, ती बालक हुन, पण्डित होइनन्। पुनश्च-
यत्साङ्ख्यैः प्राप्यते स्थानं तद्योगैरपि गम्यते।
एकं साङ्ख्यं च योगं च यः पश्यति स पश्यति।। (गीता-५/५)
अर्थात् साङ्ख्ययोगीहरूले जुन स्थानलाई प्राप्त गर्दछन्, कर्मयोगीहरूले पनि त्यसैलाई प्राप्त गर्दछन्। यसरी कर्मयोग र ज्ञानयोगलाई (अङ्गाङ्गिभावद्वारा) जसले एकै रूपमा देख्तछ, उसले मात्र वास्तविक रूपमा देख्दछ। यहाँ यत्साङ्ख्यैः प्राप्यते स्थानं यस पदद्वारा साङ्ख्ययोगीहरू ज्ञानद्वारा जुन मोक्षपदलाई प्राप्त गर्दछन्, कर्मयोगीहरूले कर्मद्वारा त्यसै पदलाई प्राप्त गर्दछन् भन्ने अर्थ सिद्ध हुन्छ। उक्त वाक्यको कर्मद्वारा साक्षात् मोक्षको प्राप्ति हुन्छ भन्ने अर्थ गर्नु उपयुक्त हुँदैन, किनकि कर्मयोग ज्ञानयोगको सहकारी भएर मोक्षको साधन बन्दछ[10] । कर्मयोग ऐश्वर्यको प्रधान साधन हो।
श्रीमद्भागवतमा साङ्ख्ययोग
श्रीमद्भागवत मोक्षशास्त्र हो। ग्रन्थको प्रारम्भमा नै सूतजीले यसको सङ्केत गर्नुभएको छ – निःश्रेयसाय लोकस्य… इत्यादि। मोक्षशास्त्रमा मोक्षोपायहरूको सम्यक् निरूपण भएको हुन्छ। केही आनुषङ्गिक विषयहरूका साथमा श्रीमद्भागवतले कर्मयोग, ज्ञानयोग र भक्तियोगलाई मोक्षसाधनका रूपमा बताएको छ। यसमा कर्मज्ञानाङ्गिका भक्तिलाई मुख्य साधनका रूपमा बताइए पनि भक्तिसंवलित ज्ञानयोग(साङ्ख्ययोग)को उपादेयता अर्को मुख्य वर्ण्यविषय बुझ्नुपर्छ। श्रीमद्भागवतमा प्रसङ्गअनुसार धेरै स्थानमा साङ्ख्ययोगको चर्चा भएको छ। तृतीय स्कन्धको कपिलाष्टाध्यायी र एकादशस्कन्धका केही अध्यायहरू साङ्ख्ययोग निरूपणका लागि मुख्य मानिन्छन्। भागवतको उपक्रममै कपिलावतारमा भगवान्ले आसुरिनामक ऋषिलाई साङ्ख्ययोगको उपदेश गर्नुभएको उल्लेख पाइन्छ –
पञ्चमः कपिलो नाम सिद्धेशः कालविप्लुतम्।
प्रोवाचासुरये साङ्ख्यं तत्त्वग्रामविनिर्णयम्।। (भागवत- १/३/१०)
त्यसैगरी द्वितीय र तृतीयस्कन्धमा निरूपित समष्टि (अद्वारक) र व्यष्टि (सद्वारक) सृष्टिको प्रसङ्गमा प्रकारान्तरले साङ्ख्यतत्त्वको विस्तार गरिएको छ। तत्त्वहरूको सङ्ख्यात्मक निर्णय साङ्ख्यदर्शनले गर्दछ। सर्ग (सृष्टि) तत्त्वसापेक्ष हुन्छ। तृतीयस्कन्धको २५औँ अध्यायदेखि ३२औँ अध्यायसम्मलाई कपिलाष्टाध्यायी भनिन्छ। यी आठ अध्यायहरूमा भगवान् कपिलदेवले आचार्य भएर आमा देवहूतिलाई उपदेश गर्नुभएको छ। कपिलाष्टाध्यायीको केन्द्रीय विषय साङ्ख्ययोग नै हो। त्यसैगरी एकादशस्कन्धको २४औँ अध्यायमा साङ्ख्ययोगको निरूपण भएको छ। एकादश स्कन्धकै २२औँ र २५औँ अध्याय पनि साङ्ख्ययोगसँग सम्बद्ध छन्। तत्त्वहरूको आ-आफ्ना कारणमा लय हुनुलाई प्रतिसर्ग (प्रलय) भनिने हुनाले प्रलय पनि साङ्ख्यसापेक्ष मानिन्छ।
कपिलाष्टाध्ययीमा साङ्ख्ययोग
ब्रह्माजीका पुत्र कर्दम प्रजापतिले पिताजीका आज्ञाद्वारा भगवद्दर्शनपर्यन्त दीर्घकालसम्म तपस्या गर्नुभयो। भगवान्का आज्ञाले उहाँ गृहस्थाश्रममा प्रवेश गर्नुभयो। स्वायम्भुव मनुकी मध्यमपुत्री देवहूतिसँग प्रजापति कर्दमको विवाह भयो। कर्दम र देवहूतिको विवाह वासनाको तृप्तिका लागि नभएर धर्मअनुसार दाम्पत्य पालनका लागि भएको थियो। कर्दम-देवहूतिका ९ कन्याहरूको जन्मपश्चात् भगवान् कपिलको अवतार भएको हो। कर्दमपुत्र कपिलदेव साक्षात् ज्ञानावतार भगवान् हुनुहुन्छ। भगवान्को अवतार हुनासाथ कर्दमलाई प्रगाढ वैराग्य उत्पन्न भयो र संसारमा निःसङ्ग विचरण गर्ने निश्चय गर्नुभयो। कपिलदेवको आज्ञा लिएर आश्रमबाट निस्कनुभयो। यता आमा देवहूतिका साथमा भगवान् कपिल बढ्न लाग्नुभयो। एकदिन देवहूतिलाई ब्रह्माजी र आफ्ना पतिदेवका वाणीको स्मरण हुन गयो। देवहूतिले साक्षात् नारायण नै मेरा पुत्ररूपले आउनुभएको हो भन्ने बुझ्नुभएको छ। २५औँ अध्यायमा उहाँले आफू इन्द्रियहरूका विषयमा चुर्लुम्म डुबिसकेकी भन्ने विचार गरी त्यसबाट बच्न प्रकृति र पुरुषको विवेक हुनुपर्ने हुँदा भगवान्का सन्निधिमा तत्सम्बन्धी जिज्ञासा गर्नुभयो[11]। पुत्ररूपमा आउनुभएका भगवान्लाई आचार्यका रूपमा स्वीकार गरेर आफूमा शिष्यत्वको अनुसन्धान गर्नुभयो।
माताजीको जिज्ञासालाई जानेर कपिलदेवले उपदेश प्रारम्भ गर्नुभयो :
योग आध्यात्मिकः पुंसां मतो निःश्रेयसाय मे।
अत्यन्तोपरतिर्यत्र दुःखस्य च सुखस्य च।। (भागवत-३/२५/१३)।
आमा ! प्रकृतिविवेक आत्मज्ञानरूप साङ्ख्ययोग मैले अभिमत गरेको मोक्षसाधन हो। जहाँ संसारका वैषयिक दुःख र सुखको अत्यन्त विनाश हुन्छ। प्राचीन कालमा जिज्ञासु ऋषिहरूलाई मैले यो आत्मयोगको उपदेश गरेको थिएँ। अहिले तपाईँलाई बताउँदैछु। मानवको मन जब अहङ्कार र ममकारले ग्रस्त हुन्छ, त्यसबेला शब्दादि विषयमा आसक्त हुन्छ। त्यस्तो आसक्त मन जीवात्माको बन्धनको कारण हो भने त्यही मन परमात्मामा लाग्दा मोक्षको द्वार खुल्दछ। विषयमा अनासक्त मनले ज्ञानयोगद्वारा प्रकृति-वियुक्त स्वात्मचिन्तन गर्दछ। त्यस्तो विवेक प्राप्तिका लागि भगवत्परायण सन्त-पुरुषहरूका सन्निधानमा जानुहोस्।
भगवान्ले २५औँ अध्यायको पूर्वार्द्धमा भक्तियोगका अङ्ग भएका कर्मयोग र ज्ञानयोगको महिमालाई बताएर उत्तरार्द्धमा प्रकृति आदि तत्त्वहरूको निरूपण गर्ने साङ्ख्यशास्त्रको उपदेश गर्नुभयो।[12] साथमा भक्तियोगको पनि विस्तार गर्नुभयो। साङ्ख्ययोग (ज्ञानयोग) भक्तियोगको अङ्ग भएकाले ज्ञानयोग र भक्तियोगलाई एकसाथै बताउनुहुन्छ। २६औँ अध्यायमा तत्त्वहरूको उत्पत्ति एवम् सङ्ख्या(गणना)को प्रक्रियालाई बताइएको छ, जुन साङ्ख्यशास्त्रको मूलभूत विषय हो।
अथ ते सम्प्रवक्ष्यामि तत्त्वानां लक्षणं पृथक्।
यद्विदित्वा विमुच्येत पुरुषः प्राकृतैर्गुणैः।। (भागवत-३/२६/१)
आमा ! अब म तपाईँलाई तत्त्वहरूका अलग-अलग लक्षणहरूलाई बताएर मोक्षप्रद ज्ञानको वर्णन गर्दछु, जसलाई जानिसकेपछि प्रकृतिसँगको सम्बन्धको नाश हुन्छ। ज्ञानं निःश्रेयसार्थाय…यस श्लोकद्वारा ज्ञानयोग मोक्षको साधन हो भन्ने सिद्ध हुन्छ। आत्मा अनादि तत्त्व हो। यो स्वयम्प्रकाश, प्रकृतिका गुणले रहित, प्रकृतिभन्दा श्रेष्ठ छ। ऊ भगवान्की त्रिगुणमयी मायामा (प्रकृतिमा) मोहित हुन्छ। अनादि कालदेखिको प्रकृतिसँगको सम्बन्धका कारण यसले शरीरलाई म र शरीर सम्बन्धीहरूलाई मेरा भन्न थाल्दछ। आत्मा अविकारी तत्त्व हो। परिणाम या विकार केवल प्रकृतिमा हुन्छ। जीव द्रष्टा, साक्षी, आत्मा भएर पनि प्रकृतिका कार्यलाई मेरो कार्य र प्राकृत शरीरलाई म भन्न थाल्दछ। यसकारण अचिद्-बन्धनबाट छुट्नलाई जीवले नाहम् न मम– न शरीर म हूँ, न त शरीरसम्बन्धी मेरा हुन्- यस्तो चिन्तन गर्नु पर्दछ। अहम्पना र ममताबाट छुट्नासाथ सारा सम्बन्धहरू छुट्दछन्। म र मेरो भन्नु नै संसारको बन्धन हो, मायाकृत पारतन्त्र्य हो।
आमा देवहूतिको जिज्ञासाअनुसार कपिलदेव अगाडि बताउनुहुन्छ- आमा ! महाप्रलयका समयमा प्रकृतिका तीन गुणहरू (सत्त्व, रजः, तमः) साम्यावस्थामा र सृष्टिकालमा विभक्त रूपमा रहन्छन्। यही नै प्रकृतिको रूप हो। प्रकृतिमा २४ तत्त्वहरू[13] हुन्छन्- पञ्चतन्मात्रा (शब्द, स्पर्श, रूप, रस र गन्ध), पञ्चमहाभूत (पृथ्वी, जल, तेज, वायु र आकाश), पञ्च ज्ञानेन्द्रिय (श्रोत्र, चक्षु, रसना, घ्राण र त्वक्), पञ्चकर्मेन्द्रिय (वाक्, पाणि, पाद, पायु र उपस्थ) र अन्तःकरणचतुष्टय (मन, बुद्धि, चित्त र अहङ्कार)।
परमात्माको चित्शक्तिको आधान भएपछि प्रकृतिले महत्तत्त्वलाई उत्पन्न गर्दछ। यो महत्तत्त्व[14] भगवत्प्राप्तिको स्थान हो। अधिभूत दृष्टिद्वारा महत्तत्त्वलाई महान् भनिन्छ, अध्यात्म दृष्टिबाट चित्त एवम् उपाष्य दृष्टिद्वारा वासुवेद भनिन्छ। महत्तत्त्वबाट अहङ्कारको सृष्टि हुन्छ। अहङ्कार सात्त्विक, राजस र तामस गरी तीन प्रकारको हुन्छ। यी तीन अहङ्कारहरूबाट मन, पञ्चमहाभूत एवम् इन्द्रिय आदिको सृष्टि हुन्छ। त्यसैले अहङ्कारलाई भूतेन्द्रियमनोमय भनिन्छ। अहङ्कारलाई उपास्य दृष्टिले सङ्कर्षण भनिन्छ। देवता, इन्द्रिय र भूतका दृष्टिले अहङ्कारका तीनओटा लक्षणहरू गरिएका छन्। त्यसमा पनि जब सात्त्विक अहङ्कारमा विकार आउँछ, तब सङ्कल्प-विकल्पात्मक मनस्तत्त्व उत्पन्न हुन्छ। राजस अहङ्कारबाट बुद्धितत्त्व बन्दछ। बुद्धितत्त्वबाट संशय, मिथ्याज्ञान, निश्चय, स्मृति आदिको उत्पत्ति हुन्छ। प्राणमा क्रियाशक्ति र बुद्धिमा विज्ञानशक्ति रहन्छ। राजस अहङ्कारका सहयोगले सात्विक अहङ्कारबाटै पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रियहरूको सृष्टि हुन्छ। तामस अहङ्कारबाट राजस अहङ्कारका सहयोगले शब्द, स्पर्श आदि तन्मात्रा र पृथ्वी आदि पञ्च महाभूतहरूको सृष्टि हुन्छ। तामस अहाङ्कारबाट सर्वप्रथम शब्द तन्मात्रा बन्दछ। अर्थको वाचक हुनु, भित्तामा छलिएर बोल्नेवालालाई चिन्न सक्नु, ठूलो हुनु, सानो हुनु आदि शब्दतन्मात्राका लक्षणहरू हुन्।
शब्दतन्मात्राबाट आकाशको उत्पत्ति हुँदै स्पर्शतन्मात्राको उत्पत्ति हुन्छ। प्राणीहरूलाई अवकाश दिनु, नदीहरूमा छिद्रका रूपले रहनु, मन, प्राण आदिको आश्रय हुनु आदि आकाशका लक्षणहरू हुन्। स्पर्शतन्मात्राबाट वायुको सृष्टि हुन्छ अनि रूपतन्मात्रा उत्पन्न हुन्छ। कोमलता, कठिनता, तातो, चिसो आदि सबै स्पर्शबाट थाहा हुन्छ। वृक्षादि हल्लिनु, सुगन्ध-दुर्गन्धलाई उडाएर ल्याउनु आदि वायुका लक्षणहरू हुन्[15]। रूपतन्मात्राबाट तेज हुँदै रसतन्मात्रा, त्यसबाट जल हुँदै गन्धतन्मात्रा र गन्धतन्मात्राबाट पृथिवीको उत्पत्ति हुन्छ।
प्रारम्भमा प्रकृतिका २४ तत्त्वहरू निष्क्रिय रहन्छन्। उपनिषद्ले तत्सृष्ट्वा तदेवानुप्राविशत् अर्थात् तत्त्वहरूको सृष्टि गरेर परमात्मा सबैभित्र प्रवेश गर्नुहुन्छ भनेर बताएअनुसार सर्वत्र ईश्वरतत्त्वको प्रवेश हुन्छ र ब्रह्माण्डको सृष्टि हुन्छ। आफ्नो कर्मफल भोग्नका लागि जीवलाई कर्मअनुसारका शरीरहरू मिल्दछन्। सबैका अधिष्ठाता, रक्षक र सञ्चालक परमात्मा हुनुहुनछ। जड-चेतन दुवैमा ईश्वरको व्याप्ति रहन्छ। व्याप्ति दुई प्रकारका हुन्छन्- स्वरूपव्याप्ति र विग्रहव्याप्ति।
भगवान् कपिलदेवले माताजीको जिज्ञासाअनुसार प्रकृति र पुरुषको विवेकका लागि सुन्दर प्रक्रिया २७औँ अध्यायमा बताउनुभएको छ। माताजी ! प्रकृतिसम्बन्ध तोड्नका लागि प्रथमतः स्ववर्णोचित निष्काम कर्मयोग गर्नुपर्छ। भगवान्को तीव्र भक्ति गर्नुपर्छ, अनि भक्तिका विषयमा निरन्तर सावधान रहनुपर्छ। शास्त्रमर्यादा विपरीत प्राप्त भएकी भक्तिले साधकको साथ छोडिदिन्छिन् तर श्रुतसम्भृतया चिरम्… (२७/२१) अर्थात् शास्त्रानुकूल भक्ति यदि अन्तस्करणमा प्रवेश गरेकी छिन् भने दीर्घकालसम्म रहन्छिन्। ज्ञान पनि त्यस्तो सम्पादन गर्नुपर्छ, जसद्वारा वस्तु साक्षात्कार हुन सकोस्। दृढ वैराग्य सम्पादन गर्नुपर्छ। त्यस्तो योग सम्पादन गर्नुपर्छ, जसमा तपस्या विद्यमान होस्। समाधि त्यस्तो बनोस्, जसमा तीव्रता रहोस्। उपर्युक्त प्रक्रियाद्वारा प्रकृति र पुरुषको समुचित विवेक हुन्छ। जब जीव आफ्नो स्वरूपमा स्थित हुन्छ, त्यसपछि उसलाई प्रकृतिबाट कुनै हानि हुँदैन। जसरी निदाएका व्यक्तिले डरलाग्दो स्वप्न देख्यो भने निद्रामा रहुन्जेल ऊ डराउँछ तर व्युँझिना साथ त्यो डर हराउँछ, त्यसरी नै अज्ञानीहरूका लागि मात्रै प्रकृति अनर्थकारी हो, ज्ञानीका लागि होइन[16] । यसरी उत्पन्न भएको ज्ञानबाट नै भगवान्मा भक्ति बढ्न लाग्छ, त्यसैबाट तत्त्वको अनुभव हुन थाल्छ र सबै सन्देहहरू नष्ट हुन्छन्। प्रारब्धवशात् मिलेको शरीर छुटेपछि अपुनरावृत्ति- मोक्षको प्राप्ति हुन्छ[17] ।
कपिलाष्टाध्यायीको २८औँ अध्यायमा साङ्ख्ययोग(ज्ञानयोग)लाई भक्तियोगको अङ्गका रूपमा बताइएको छ। भागवतका टीकाकारहरूले २६औँ अध्याय, २७औँ अध्याय र २८औँ अध्यायको समुचित सङ्गति बताउनुभएको छ। अष्टाङ्गयोगको सुन्दर वर्णन यसै अध्यायमा भएको छ। साधकका लागि ध्यानमा अपरिहार्य ध्येय तत्त्व(भगवान्)का दिव्यमङ्गल विग्रहको निरूपण पनि २८औँ अध्यायमै गरिएको छ। २९औँ अध्यायमा भक्तिको मर्म र कालको महिमा, ३०, ३१ र ३२औँ अध्यायहरूमा याम्य, गर्भ, धूम र अर्चिगतिको सम्यक् निरूपण गर्दै भक्तियोगको उत्कृष्टतालाई बताइएको छ। यसरी सूक्ष्मरूपले कपिलाष्टाध्यायीको चिन्तन गर्दा साङ्ख्ययोगलाई मोक्षप्राप्तिको मुख्य साधन बताउँदै भक्तियोगको अङ्गका रूपमा पनि सिद्ध गरिएको देखिन्छ।
एकादशस्कन्धमा साङ्ख्ययोग
श्रीमद्भागवतको एकादशस्कन्धमा पनि साङ्ख्ययोगको निरूपण भएको छ। २२औँ अध्यायमा तत्त्वहरूको सङ्ख्यामा विविधता भएको चर्चा गर्दै त्यसको समाधान गरिएको छ। २५औँ अध्यायमा प्रकृतिका गुणहरू र तिनीहरूका कर्मको चर्चा भएको छ। यी दुई अध्यायहरू आंशिक रूपले साङ्ख्ययोगसँग सम्बद्ध छन्। २४औँ अध्यायमा भने समग्र रूपमा साङ्ख्ययोगको स्वरूपलाई नै बताइएको छ। यहाँ भगवान् श्रीकृष्ण वक्ता र उद्धवजी श्रोता हुनुहुन्छ।
भगवान् बताउनुहुन्छ- उद्धवजी ! तपाईँलाई म साङ्ख्यतत्त्व बताउँछु, जसलाई जानेर मनुष्यको भेद-भ्रम समाप्त हुन्छ। यसमा ज्ञान अथवा ज्ञाता पुरुष हो भने ज्ञेय प्रकृति हो। प्रकृतिबाटै सत्त्व, रज, तम यी तीन गुण एवम् अहङ्कार आदिले युक्त पाञ्चभौतिक सृष्टि हुन्छ। त्यसमा मेरो (भगवान्को) श्रीविग्रह प्रकट हुन्छ। भगवान्को नाभिबाट पद्म (कमल) अनि पद्मबाट चतुर्मुखी ब्रह्माको उत्पत्ति हुन्छ। ब्रह्माजीले चतुर्दश (१४) लोकहरूको सृष्टि गर्नुहुन्छ। यो सारा सृष्टि कर्मको परिणाम (फल) हो र कर्ता स्वयम् भगवान् नै हुनुहुन्छ। सृष्टिअन्तर्गत रहेको जीवात्माको परम कर्तव्य परमात्माप्रति कृतज्ञता ज्ञापन गर्नु हुन्छ। त्यो कृतज्ञता भक्ति नै हो र भक्तिको फल वैकुण्ठ(मोक्ष) हो।
विकारो व्यवहारार्थो यथा तैजसपार्थिवाः (भागवत- ११/२४/१७) जस्ता प्रकारले सुन, माटो आदिको विकार बाला (सुनको चुरा), घडा आदि हुन्छन्, ती सबै व्यवहारका लागि मात्रै हुन्छन्, वस्तुतः तिनीहरूको आदि, मध्य र अन्त्यमा सुन र माटोमात्र सत्य रहन्छ, त्यस्तै प्रकारले ईश्वराधिष्ठित कारण प्रकृति मात्र अविकारी हुन्छ। कार्यरूपले रहेकी स्थूल प्रकृतिलाई त विकारी भनिन्छ। जब प्रलय हुन्छ, त्यसबेला दृश्यप्रकृति पूर्ण रूपले कारणप्रकृतिमा र कारणप्रकृति पनि परमात्मामा समाहित हुन्छ।
त्यसपछि अध्यायको अन्त्यतिर प्रकृतिका गुणहरूको स्वरूप र तिनको कार्यको निरूपण भएको छ। सात्त्विक, राजस, तामस अवस्था र वासस्थानको पनि सुन्दर वर्णन गरिएको छ। सृष्टिप्रक्रियालाई हेर्दा सम्पूर्ण वस्तुहरूको आश्रय ईश्वर हुनुहुन्छ। मनुष्य विवेकशील प्राणी हो। कारणन्तु ध्येयः यस सिद्धान्तअनुसार मनुष्य शरीर प्राप्त गरेर विषय आसक्तिको त्याग गरी ईश्वरको भजन गर्नुपर्छ। ईश्वरोपासकले मात्रै प्रकृतिका तीन गुण(सत्त्व, रज, तम)माथि विजय प्राप्त गर्दछ। उसले जगत्लाई ब्रह्ममय देख्दछ।
उपसंहार/निष्कर्ष
ईश्वर वा मोक्षसँग जोड्ने साधन योग हो। मोक्षका लागि शास्त्रमा वर्णित विविध साधनहरूमध्ये अन्यतम हो- साङ्ख्ययोग। साङ्ख्ययोग पनि सेश्वर र निरीश्वर गरी दुई प्रकारले वर्णन गरिएको छ। यी दुवै प्रकारका साङ्ख्य योगको वर्णन गर्ने व्यक्तिकाे नाम कपिल नै भए पनि व्यक्तिलाई भिन्न मानिएको छ। व्याख्यातामा भेद हुँदा विषयवस्तुमा भेद हुनु स्वाभाविक हुन्छ। श्रीमद्भागवतमा प्रस्तुत साङ्ख्ययोग सेश्वर साङ्ख्य हो र यसका व्याख्याता भगवताररूप कपिलदेव हुनुहुन्छ। श्रीमद्भागवतमा कतै साङ्ख्ययोगलाई मुख्य साधनका रूपमा बताइएको छ भने कहीँ भक्तियोगका अङ्गका रूपमा उल्लेख गरिएको छ। तत्त्वहरूको सङ्ख्या (परिगणना) पनि साङ्ख्यदर्शन भित्रै गरिन्छ। शास्त्रले बताएका- अनात्मनि आत्मबुद्धिः र अस्वे स्वमिति बुद्धिः अर्थात् अनात्म देहलाई आत्मा मान्नु र परमात्माको वस्तुलाई मेरो हो भन्ने बुद्धिको नाश गर्ने सहज प्रक्रियालाई साङ्ख्यायोग वर्णनका क्रममा बताइयो। अहन्ता र ममता (म र मेरो भन्ने भाव) रूपको अज्ञानलाई अवश्य नै नाश गर्नुपर्छ। त्यो साङ्ख्ययोगद्वारा सम्भव छ। प्रकृतिको विशद् वर्णनले अनात्मतत्त्वको र पुरुषको चर्चा गर्नाले आत्मतत्त्वको निश्चय भएको बुझ्नुपर्छ। शरीरलाई म भन्ने र शरीर सम्बन्धीलाई मेरा भन्ने अज्ञानको समूल अन्त्य साङ्ख्यशास्त्रले गर्दछ। अतः श्रीमद्भागवतमा वर्णन गरिएको साङ्ख्ययोग मुमुक्षुहरूका लागि अत्यन्तोपयोगी विषय हो भन्दा अतिशयोक्ति हुँदैन। अस्तु !
सन्दर्भसामग्री
अमरसिंह (२००३), अमरकोष (सुधा र रामाश्रमी व्याख्यासहित), दिल्ली : राष्ट्रिय संस्कृत संस्थान।
गोयन्दका, श्रीकृष्णदास (वि.सं. २०६१), ईशादि नौ उपनिषद् (पच्चीसौँ पुनर्मुद्रण), गोरखपुर : गीताप्रेस।
गोयन्दका, श्रीकृष्णदास (वि.सं. २०६०), श्रीमद्भगवद्गीता (श्रीरामानुजभाष्य हिन्दी अनुवादसहित, आठौँ संस्कारण), गोरखपुर : गीताप्रेस।
श्रीकृष्णद्वैपायन (वि.सं. २०५८), श्रीमद्भागवतमहापुराण (स्थूलाक्षरम् मूलमात्रम्), गोरखपुर : गीताप्रेस।
……… (२०७३ ), श्रीमद्भगवद्गीता, शाङ्करभाष्य (सोह्रौँ सं.), गोखरपुर : गीता प्रेस।
वरदाचार्य, के. एस् (2004), तत्त्वमुक्ताकलापः (सर्वङ्कषाव्याख्यासहितः), मैसूर : अार्षग्रन्थ प्रकाशन।
सरस्वती, अखण्डानन्द (सं २०३८), भागवतदर्शन (दोस्रो भाग), बम्बई : सत्साहित्य प्रकाशन ट्रष्ट।
मिश्र, वाचस्पति (२०१२), साङ्ख्यतत्त्वकौमुदी, वाराणसी : चौखम्बा सुरभारती प्रकाशन।
शर्मा, चन्द्रधर (१९९८),भारतीय दर्शन : आलोचना और अनुशीलन, द्वि.सं, लखनउ : उत्तर प्रदेश हिन्दी संस्थान।
शर्मा, प्रो उमाशङ्कर (२०१०), सर्वदर्शनसङ्ग्रह (हिन्दी व्याख्या), वाराणसी : चौखम्बा विद्या भवन।
लोकाचार्य (सं. २०६५), श्रीवचनभूषणम्, नेपाली अनुवादसहित (अनु. स्वामी पद्मधराचार्य), नेपाल : जीयर इडुकेशनल ट्रष्ट
शास्त्री, श्रीकन्हैयालालजी (सं. २०५३), श्रीमद्भागवत माधवसेवा (संस्कृतव्याख्या)- प्रथमपुटकम्, वृन्दावन: श्रीमाधव सेवा प्रकाशन समिति।
शास्त्री, श्रीकन्हैयालालजी (सं. २०६०), श्रीमद्भागवत माधवसेवा (संस्कृतव्याख्या)- षष्ठपुटकम्, वृन्दावन : श्रीमाधव सेवा प्रकाशन समिति।
………….., (सन् १९९०), ईशाद्यष्टोत्तरशतोपनषिदः, वाराणसी: चौखम्बा वद्यिाभवन।
श्रीपल्लिैलोकाचार्य (वि.सं.२०७१), तत्त्वत्रयम्, (व्या। स्वामी त्रभिुवनदास तत्त्ववविेचनीहन्दिीव्याख्या-सहित), दिल्ली : चौखम्बा संस्कृत प्रतष्ठिान।
माधवाचार्य, (ई.स.२०१०स), सर्वदर्शनसङ्ग्रहः, (डा. उमाशङ्करशर्मवरिचति भाष्यसमेत), वाराणसी : चौखम्बा विद्याभवन।
वेदान्तदेशकिः (ई.सं.२००४), तत्त्वमुक्ताकलापः, सर्वङ्कषाव्याख्यासहतिः, (व्याख्याता के.एस् वरदाचार्य), मैसूरु : आर्षग्रन्थप्रकाशनम्।
उद्धरणहरू (Citations)
सन्दर्भहरू (References)
- [1]सर्वदर्शन-इतिहासपुराणाचार्य, इमेल- ramanujdash7@gmail.com
- [2] इतिहासपुराणाभ्यां वेदं समुपबृंहयेत् ।
विभेत्यल्पश्रुताद्वेदो मामयं प्रतरिष्यति ।। (शिवपुराण, वायवीयसंहिता) । - [3] स्मृत्या पूर्वभागार्थो निर्णीयते, अन्याभ्यां द्वाभ्यामुत्तरभागार्थो निर्णीयते । (लोकाचार्य, श्रीवचनभूषणम्- सूत्र २)
- [4] अमरकोष, तृतीयकाण्ड, नानार्थवर्ग-२२
- [5] श्रीमद्भगवद्गीता-२/५०
- [6] वेदान्तदेशिक, गीतार्थसङ्ग्रहरक्षा ।
- [7] चित्ताभोगो मनस्कारश्चर्चा सङ्ख्या विचारणा । (अमरकोष, प्रथम काण्ड, धीवर्ग-२) ।
- [8] श्रीमद्भागवतमहापुराण-३/२४/१९
- [9] श्रीमद्भागवत, माधवसेवा व्याख्या- ३/२४/१९
- [10] अयं च ज्ञानयोगस्य सहकारी ऐश्वर्यस्य प्रधानसाधनं च भवेत् । (लोकाचार्य, अर्थपञ्चक) ।
- [11] निर्विण्णा नितरां भूमन्नसदिन्द्रियतर्षणात् । येन सम्भाव्यमानेन प्रपन्नान्धं तमः प्रभो ।। (श्रीमद्भागवत-३/२५/७)
- [12] तत्त्वाम्नायं यत्प्रवदन्ति साङ्ख्यं प्रोवाच वै भक्तिवितानयोगम् । ( श्रीमद्भागवत-३/२५/३१)
- [13] पञ्चभिः पञ्चभिर्ब्रह्म चतुर्भिर्दशभिस्तथा । एतच्चतुर्विंशतिकं गणं प्राधानिकं विदुः ।। (श्रीमद्भागवत- ३/२६/११)
- [14] यत्तत्सत्त्वगुणं स्वच्छं शान्तं भगवतः पदम् । यदाहुर्वासुदेवाख्यं चित्तं तन्महदात्मकम् ।। (श्रीमद्भागवत- ३/२६/२१)
- [15] चालनं व्यूहनं प्राप्तिर्नेतृत्वं द्रव्यशब्दयोः । सर्वेन्द्रियाणामात्मत्वं वायोः कर्माभिलक्ष्णम् ।। (श्रीमद्भागवत- ३/२६/३७)
- [16] यथा ह्यप्रतिबुद्धस्य प्रस्वापो बह्वनर्थभृत् । स एव प्रतिबुद्धस्य न वै मोहाय कल्पते ।। (श्रीमद्भागवत- ३/२७/२५)
- [17] प्राप्नोतीहाञ्जसा धीरः स्वदृशाच्छिन्नसंशयः । यद्गत्वा न निवर्तेत योगी लिङ्गाद्विनिर्गमे।।(श्रीमद्भागवत-३-२७-२९