डा. नित्यानन्द खतिवडा उपप्राध्यापक (नेपाली विभाग), पिण्डेश्वर विद्यापीठ, नेपाल संस्कृत विश्वविद्यालय । Email: nityanandakhatiwada@gmail.com शोधसार आधुनिक नेपाली कविताको स्वच्छन्दतावादी-प्रगतिवादी धारामा रहेर कलम चलाउने सर्जकहरूमा भूपी शेरचन (वि.सं.१९९२-२०४६) को नाम पनि अग्रपङ्क्तिमा आउँछ। कविता र नाटकका माध्यमबाट समाजका भत्कोस, अभाव, पीडा, अन्धविश्वास, कुरीति, बेमेलजस्ता विषयहरूप्रति शब्दबिम्बका माध्यमबाट व्यङ्ग्य विद्रोह प्रहार गरी सुधारको सङ्केत गर्न कवि भूपीका […]
डा. नित्यानन्द खतिवडा
उपप्राध्यापक (नेपाली विभाग), पिण्डेश्वर विद्यापीठ, नेपाल संस्कृत विश्वविद्यालय ।
Email: nityanandakhatiwada@gmail.com
शोधसार
आधुनिक नेपाली कविताको स्वच्छन्दतावादी-प्रगतिवादी धारामा रहेर कलम चलाउने सर्जकहरूमा भूपी शेरचन (वि.सं.१९९२-२०४६) को नाम पनि अग्रपङ्क्तिमा आउँछ। कविता र नाटकका माध्यमबाट समाजका भत्कोस, अभाव, पीडा, अन्धविश्वास, कुरीति, बेमेलजस्ता विषयहरूप्रति शब्दबिम्बका माध्यमबाट व्यङ्ग्य विद्रोह प्रहार गरी सुधारको सङ्केत गर्न कवि भूपीका झ्याउरे, निर्झर, घुम्ने मेचमाथि अन्धो मान्छे कवितासङ्ग्रहहरू र परिवर्तन नाटक सफल बनेका छन्। विभिन्न क्षेत्र र संस्थामा रहेर नेपाली भाषासाहित्यको विकासमा टेवा दिएबापत यिनलाई मदन पुरस्कार, साझा पुरस्कार, गोरखा दक्षिण बाहुजस्ता सम्मानले सम्मानित गरिएको छ। ‘मेरो देश’ घुम्ने मेचमाथि अन्धो मान्छे (२०२६) कवितासङ्ग्रहमा सङ्कलित प्रसिद्ध फुटकर गद्य कविता हो। नेपाली प्रकृतिलाई केन्द्रमा राखेर लेखिएको यस कवितामा अनेक शब्दबिम्बका माध्यमबाट नेपाली प्रकृति अनुपम र अनुकरणीय भएकाले संसारको ध्यान खिच्न सफल भएको सङ्केत गरिएको छ। प्रकृतिको मानवीकरण गरिएको यस कवितामा नेपाली वनजङ्गल, पाखापखेरा, हिमाल, पहाड, तराई, वन्यजन्तु, कीटपतङ्ग, जूनतारा, आकाश सबैलाई कलापूर्ण दृष्टिले प्रस्तुत गरिएको छ। नेपाली विविधतामय प्रकृतिकै कारण नेपाली राष्ट्र र राष्ट्रियता ऊँचो रहेको भन्दै यहाँको प्राकृतिक, राष्ट्रिय, भाषिक, जातीय, सांस्कृतिक एवम् मानवीय मूल्य उत्कृष्ट बन्न पुगेको विचार कवितामा पाइन्छ। कवि शेरचनमा रहेको नेपाली प्रकृति र नेपाल देशप्रतिको अगाध स्नेहभाव कवितामा जताततै पोखिएको पाइन्छ। गद्य लय भएर पनि कवितामा रहेको प्राकृतिक, राष्ट्रिय, जातीय, मानवीय, सांस्कृतिक र भाषिक मूल्यका कारण मेरो देश एउटा उच्चस्तरको गहन कविता बन्न पुगेको छ र यसका सर्जक पनि।
शब्दकुञ्जी : अनुपम, मूल्यबोध, चेतनाबिन्दु, मानवीकरण, प्रकृतिकेन्द्री, कलाचातुरी।
विषयपरिचय
कविता कविको भावनात्मक अभिव्यक्ति हो। कलात्मक भाषा र शैलीका माध्यमबाट कुनै विषयप्रतिको कलामय अनुभूतिजन्य अभिव्यक्तिबाट कविता जन्मिन्छ। कविता लयात्मक भाषिक कला, सौन्दर्यपरक लयात्मक भाषिक अभिव्यक्तिको वाङ्मय र साहित्यको लयात्मक वैशिष्ट्य भएको गद्येतर भेद हो (त्रिपाठी, २०४६ : १५) नेपाली भाषामा कविता कहिलेदेखि लेखियो भन्ने अध्ययन जारी रहे पनि लगभग १८०० तिरबाट कविता लेखिने क्रमको थालनी भएको प्रमाण पाइन्छ। वि.सं. १८०० देखि आजसम्मको कवितायात्रालाई प्राथमिक काल (वि.सं.१८००-१९४०), माध्यमिक काल (१९४१-१९७४) र आधुनिक काल (१९७५- आजसम्म) तीन भागमा विभाजन गरी अध्ययन गरिएको पाइन्छ। यसमध्ये पनि आधुनिक कालमा परिष्कारवादी धारा (१९७५-१९९०), स्वच्छन्दतावादी-प्रगतिवादी धारा (१९९१-२०१६), प्रयोगवादी धारा (२०१७-२०२९) र समसामयिक धारा (२०३०- यता) गरी चारओटा उपधाराहरू विकसित भएका छन्। वि.सं. १९९२ मा परिष्कारवादी धाराको कठोर नीतिसीमाको विरोध गरी लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरण श्रेष्ठको नेतृत्वमा विकसित स्वच्छन्दतावादी-प्रगतिवादी धाराले कविताको सहज अभिव्यक्ति वा बगाइसँगै समाजका कुरीति, अन्धविश्वास, भ्रष्टाचार, दुराचार, बेथिति, गरिबी, शोषण, अन्याय, थिचोमिचोको विरोध गरी यसमा सुधारको सङ्केत गर्दछ। राष्ट्रियता, मानवता, स्वतन्त्रता र समानता यस धाराका कविताहरूको मूलमन्त्र हो। भूपी शेरचन यसै धाराअन्तर्गत रहेर कविता सृजना गर्ने सशक्त कवि हुन्। उनका अधिकांश कविताहरू यसै कविता धारामा रहेर रचना गरिएका छन्। उनको २०२६ सालमा प्रकाशित ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासङ्ग्रहमा सङ्कलित ‘मेरो देश’ कविताले पनि यसै धाराअन्तर्गत रहेर राष्ट्रप्रेम, प्रकृतिचित्रण, स्वतन्त्रता, मानवता, नेपाली जातीयता, सांस्कृतिक एकता, नैतिक चेतना र भाषिक एकताजस्ता प्रवृत्तिहरूलाई आत्मसात् गरेको पाइन्छ। अभिव्यक्तिमा नवीनता, अनुभूतिमा संवेदनशीलता, नेपाली जीवनको कथा र व्यथा, आँसु, हाँसो, व्यङ्ग्य (बन्धु, २०२४ : प्राक्कथन) कवि भूपीका कवितामा पाइने मूल्यहरू हुन्। जीवनवादी कवि भूपीको यही कवितामा निहित विभिन्न मूल्यको खोज नै यस लेखको खास लक्ष्य रहेको छ।
समस्याकथन
‘भूपी शेरचनको मेरो देश कविताको मूल्य’ शीर्षकीय यस लेखमा निम्नलिखित समस्याहरू उठान गरी उद्देश्य प्राप्तितर्फ अघि बढिएको छ :
- क) मेरो देश कविताका सन्दर्भमा कवि भूपी शेरचनको कवितात्मक परिचय के कस्तो रहेको छ ?
- ख) शेरचनको मेरो देश कविताको मूल्य के कस्तो रहेको छ ?
उद्देश्यकथन
यस लेखको समस्याकथनमा उठान गरिएका समस्याहरूको समाधानमा केन्द्रित भई निम्नलिखित उद्देश्यहरू तय गरिएका छन् :
- क) मेरो देश कविताका सन्दर्भमा कवि भूपी शेरचनको कवितात्मक परिचय दिनु,
- ख) शेरचनको मेरो देश कवितामा निहित विभिन्न मूल्यहरूको निर्क्यौल गर्नु।
पूर्वकार्यको विवरण
चूडामणि बन्धुद्वारा सम्पादित साझा कविता (२०२४) कवितासङ्ग्रहको ‘प्राक्कथन’ शीर्षकमा भूपी शेरचनको कवित्व चेतबारे सङ्क्षेपमा चर्चा गरिएको छ। शेरचनका कवितामा जीवनको कथा, व्यथा, आँसु, हाँसो, आशा, निराशाजन्य विषयहरू अटाएका हुन्छन्। अन्याय, थिचोमिचो, शोषण, विद्रोह, व्यङ्ग्य, संवेदनशीलता, मानवता, राष्ट्रियताजस्ता विषय प्रवृत्तिहरूकै कारण कवि शेरचनको प्रसिद्धि चुलिएको चर्चा यहाँ पाइन्छ। शेरचनका समग्र कवित्वचेतबारे यहाँ केही चर्चा चिन्तन गरिए पनि मेरो देश कवितामा केन्द्रित भएर केही भनिएको पाइँदैन। यस लेखले कवि शेरचनको राष्ट्रवादी चेत रहेको यसै कवितालाई केन्द्र बनाएर कवितात्मक मूल्यको खोज गरेको छ।
दयाराम श्रेष्ठ र मोहनराज शर्माको नेपाली साहित्यको सङ्क्षिप्त इतिहास (२०३४) शीर्षकको इतिहासपरक ग्रन्थमा कवि भूपी शेरचनको कविता शक्तिबारे सामान्य चर्चा पाइन्छ। सरल, सहजसँगै आलङ्कारिक कविताका माध्यमबाट युगबोधलाई विशिष्ट स्वर दिने प्रगतिवादी लोकप्रिय र आधुनिक कविका रूपमा भूपी शेरचन परिचित रहेको सन्दर्भ यहाँ आएको छ। यहाँ पनि शेरचनको समग्र कवित्वचेतबारे सामान्य चर्चा आएको हुनाले मेरो फुटकर कवितामामात्र सीमित रही शेरचन र उक्त कविताको कवितात्मक मूल्यको शोधन यस लेखमा भएको छ।
वासुदेव त्रिपाठी, दैवज्ञराज न्यौपाने र केशव सुवेदीद्वारा सम्पादित नेपाली कविता भाग- ४ कवितासङ्ग्रह (२०४६) मा कवि भूपी शेरचनको कवितामा प्राप्त चेतन बिन्दुबारे सङ्क्षेपमा चिन्तन गरिएको छ। शेरचनका फुटकर कविताहरूमा खासगरी नेपाली प्रकृति, नेपाली सामाजिक, राजनीतिक एवम् आर्थिक जीवनका विसङ्गति तथा मूल्य विचलनप्रति कलात्मक व्यङ्ग्यचेतना, बिम्बप्रतीक, विसङ्गति, शून्यताजस्ता प्रवृत्ति पाइने कुरा यहाँ उल्लेख गरिएको छ। यो चिन्तन पनि शेरचनका कुनै फुटकर कविता विशेषभन्दा समग्रतामा आधारित देखिन्छ। तसर्थ यस लेखमा समग्रतामा भन्दा मेरो देश कवितामा केन्द्रित भएर कवि शेरचन र उक्त कविताको मूल्यचेतबारे अध्ययन विश्लेषण गरिएको छ।
प्रगति (२०७५) पत्रिकामा नित्यानन्द खतिवडाको ‘भूपी शेरचनको चिसो एस्ट्रे कवितामा जीवनदर्शन’ शीर्षकको लेख प्रकाशित रहेको छ। यस लेखमा कविको सामान्य परिचय दिँदै दर्शनको सामान्य चिनारीसँगै चिसो एस्ट्रे कविताको दर्शनपरक व्याख्या गरिएको छ। घुम्ने मेचमाथि अन्धो मान्छे (२०२६) कवितासङ्ग्रहमा समेटिएको चिसो एस्ट्रे कवितामा काठमाडौँलाई प्रतीकात्मक रूपमा लिँदै राजनीतिले राजधानी चिसो एस्ट्रे बन्न लागेको सन्दर्भ देखाइएको छ। दर्शनलाई एउटा विचार मान्दै गाँस, बास र कपासको अभाव, भ्रष्टाचार, बलात्कार र मानवताको ह्रासले राजधानी काठमाडौँ वास्तवमै चिसो एस्ट्रे बन्न लागेकाप्रति कवितामा व्यङ्ग्य गरिएको छ। यहाँ भनिएजस्तै मेरो देश कवितामा कविको राष्ट्रियता कसरी पोखिएको छ र विविध सन्दर्भमा कविताको मूल्य के कस्तो रहेको छ भन्ने अध्ययन गरी निष्कर्षमा पुग्ने कार्य यस लेखमा भएको छ।
अध्ययनको सैद्धान्तिक आधार
यस अध्ययनमा सामग्री सङ्कलनका सन्दर्भमा प्रारम्भिक स्रोतका रूपमा कवि भूपी शेरचनको मेरो देश कवितालाई लिइएको छ भने आवश्यकताअनुसार द्वितीयक स्रोत सामग्रीहरूको पनि प्रयोग गरिएको छ। यस क्रममा कवि शेरचनको कवितात्मक प्रवृत्ति र मेरो देश कविताका विषयमा लेखिएका विविध अध्ययन सामग्रीहरूलाई उपयोग गरिएको छ भने सामग्री विश्लेषणका व्याख्यात्मक, वणर्नात्मक र विश्लेषणात्मक विधिहरूको आवश्यकताअनुसार प्रयोग गरिएको छ।
अध्ययनको औचित्य र सीमा
भूपी शेरचन आधुनिक नेपाली कविका रूपमा सुपरिचित छन्। उनका विभिन्न फुटकर कविताहरूमध्ये ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासङ्ग्रहमा समेटिएको ‘मेरो देश’ कविता पनि एउटा प्रसिद्ध गद्य कविता हो। यसमा कवि शेरचनको राष्ट्रियता, मानवता, प्रकृति चित्रण, सांस्कृतिक, भाषिकजस्ता महत्त्वपूर्ण मूल्यचेतहरू संलग्न रहेका कारण यिनको खोजी र अध्ययन गर्नु आजका सन्दर्भमा आफैंमा औचित्यपूर्ण रहेको छ। कविका अन्य कविताहरू नभएर मेरो देश फुटकर कविता र यसै सन्दर्भमा कवि शेरचनको सामान्य परिचयात्मक प्रवृत्तिमा सीमित रही अध्ययन गर्नु र निष्कर्षमा पुग्नु नै यस लेखको सीमा हो।
कवि भूपी शेरचनको परिचय : मेरो देश कविताका सन्दर्भमा
वि.सं. १९९२ साल पुस १२ गते मुस्ताङ जिल्लाको थाकटुकुचेमा जन्मिएका र न्वारनको नाम भाग्यमान शेरचन रहेका भूपी शेरचनका पिताको नाम हितमान र माताको नाम पद्मकुमारी शेरचन रहेको थियो। बि.ए.सम्मको औपचारिक अध्ययन गरेका यिनी नेपाली राजनीतिमा पनि संलग्न रहेका थिए। नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको (हाल नेपाल प्रज्ञा प्रतिष्ठान) सदस्यसमेत भएर नेपाली भाषासाहित्यको सेवा गरेका यिनका नयाँ झ्याउरे (२०१०), निर्झर (२०१७) र घुम्ने मेचमाथि अन्धो मान्छे (२०२६) कविता सङ्ग्रहहरू र परिवर्तन (२०१०) शीर्षकको नाटक प्रकाशित रहेका छन्। मदन पुरस्कार, साझा पुरस्कार, गोरखा दक्षिण बाहुलगायतका पुरस्कारले सम्मानित यिनको निधन वि.सं. २०४६ साल जेठ १ गते काठमाडौँमा भएको थियो।
आफ्नो जन्मभूमिप्रति अगाध स्नेहभाव प्रकट गर्ने कवि शेरचनले नेपाल राष्ट्र र राष्ट्रियताको संरक्षणका लागि जे गर्न पनि तयार हुनुपर्ने भाव व्यक्त गरेका छन्। नेपाली प्रकृति र संस्कृतिको संरक्षण गर्न हामी आफैं जाग्नुपर्ने विचार व्यक्त गर्ने शेरचनको राष्ट्रियता र प्रकृतिचित्रणको अनुपम फुटकर कविताका रूपमा मेरो देश पनि अगाडि देखिन्छ। घुम्ने मेचमाथि अन्धो मान्छे (२०२६) कवितासङ्ग्रहमा रहेको यस कवितामा नेपाली प्रकृतिको केन्द्रीयतामा राष्ट्रियताको भाव व्यक्त गरिएको पाइन्छ। यस कविताले शेरचनमा रहेको देशभक्तिको अटल विश्वाससँगै सांस्कृतिक चेतना, सामाजिक, नैतिक चेतना, नेपाली जातीय, भाषिक एकता, मानवीयतालाई विभिन्न प्राकृतिक बिम्ब र प्रतीकका माध्यमबाट उजागर गरेको छ। गद्य लयमा लेखिएको भए पनि कवितामा रहेको विषय सन्दर्भले कवि शेरचन आफ्नो देशप्रति कति गर्व गर्दथे भन्ने स्पष्ट भएको छ। कविमा रहेको नेपाली राष्ट्र, राष्ट्रियता र देशभक्तिको अनुपम नमुना रहेको यस कवितामा निहित विभिन्न मूल्यचेतहरूको अध्ययन गरी निष्कर्षमा पुग्ने काम यहाँ भएको छ।
मेरो देश कविताको मूल्य
यस शीर्षकमा कवि भूपी शेरचनको महत्त्वपूर्ण फुटकर कविता मेरो देशमा सन्निहित विभिन्न मूल्यचेतहरूलाई क्रमशः प्रस्तुत गरिएको छ।
राष्ट्रिय मूल्य
कुनै पनि देशका जनताका लागि राष्ट्र र राष्ट्रियता प्राणभन्दा प्यारो हुन्छ। ‘राष्ट्र रहेमात्र हामी रहन्छौँ’ त्यसै भनिएको होइन। भूपी शेरचन एक सच्चा राष्ट्रवादी कवि थिए। उनी आफूलाई भन्दा आफ्नो देशलाई माया गर्थे। मेरो देश कविताले उनमा रहेको राष्ट्रियताको चेतलाई जुरुक्क बोकेको छ। उनी एकोहोरो भएर मेरो देशको गुणगानमा मस्त छन्। स्वर्गभन्दा सुन्दर, बाह्रै महिना मानिसका गालामा आरुका फूल फुल्ने, मुटुको स्पन्दन झैँ उफ्रने मृगका बच्चाहरू, निधारमा लेक र छातीमा छहरा सजाउने, जूनकीरीले ज्योति फिँजाउने, वसन्त ऋतुको प्रिय मेरो देशसँग म सपना र विपना दुवैमा जोडिएको हुन्छु भन्ने कविको नेपाल देशप्रतिको उदात्त र भावात्मक चेत यहाँ पाइन्छ। हामी आफ्नो जन्मभूमिलाई आफूभन्दा बढ्ता प्रेम गर्नुपर्छ भन्ने कविको राष्ट्रवादी चेतलाई नै यहाँ राष्ट्रिय मूल्य भनिएको हो।
प्राकृतिक मूल्य
नेपाली प्रकृति संसारमा नै उत्कृष्ट रहेको छ। नेपाल स्वर्गको एउटा टुक्रा हो भन्ने कुरा यहाँको रमणीय प्रकृतिले पुष्टि गरेको छ। स्वच्छन्दतावादी कवि भूपी शेरचनको मेरो देश कवितामा प्रकृतिको विविध चित्रण पाइन्छ। प्रकृति हाम्रो जीवन भएको हुनाले नेपाली प्रकृतिको छटा देखेर कवि मोहित बनेका छन्। तसर्थ उनी मुक्तकण्ठले प्रकृतिको बखान गरिरहेका छन्। प्रकृतिको तन्मयसँगै मन्मय चित्रण पाइने यस कवितामा प्रकृतिका रङ, स्पर्श, गन्ध आदि विविध रूपको कलापूर्ण वणर्न पाइन्छ।
१. प्रकृतिको मन्मय-तन्मय चित्रण
प्रकृतिले छोएपछि आफूमा परेको प्रभावको चित्रणलाई प्रकृतिको मन्मय चित्रण भनिन्छ। प्रकृतिको मन्मय चित्रण स्वच्छन्दतावादीहरूको खास प्रवृत्तिभित्र पर्दछ (खतिवडा, २०६४ : ४)। प्रकृति जस्तो छ त्यही रूपमा प्रस्तुत गर्नुचाहिँ प्रकृतिको तन्मय चित्रण हो। मन्मयमा कस्तो लाग्यो देखाइन्छ भने तन्मय चित्रणमा वस्तुपरक रूपमा के छ भित्रको भाव खोजिन्छ। मेरो देश कवितामा प्रकृतिको मन्मय-तन्मय दुवैको चित्रण पाइन्छ। भावसँग एकाकार भएर आएको प्रकृतिको मन्मय चित्रणलाई मेरो देश कवितामा यसरी देखाउन सकिन्छ :
जहाँ
- हरिया हरिया पहाडका फरिया
- अलिक तल सारेर
- निर्मल स्वच्छ र न्यानो घाममा
- हिमालले सधैँ ढाड सेकेको हुन्छ
- म जति टाढा भए पनि त्यो मेरो देश
- सधैँ मेरो मनले सपनामा पाइला टेकेको हुन्छ (मेरो देश, पृ.२०)
प्रकृतिको तन्मय चित्रण रहे पनि कविताको भावपूर्ण सौन्दर्यचेतनाले त्यसलाई मन्मयनिकट पुर्याएको देख्न सकिन्छ। प्रकृतिको सुन्दरताबाट कवि एकैछिन पनि टाढा बन्न चाहेका छैनन्। उनीभित्र नेपाली प्रकृति गढेर बसेको पाइन्छ। कवितामा रहेको तन्मय चित्रणको अवस्था यस्तो रहेको छ :
जहाँ
- पहराबाट छहराले
- खोलामा हाम फाल्दछ,
- जहाँ- रातमा पनि हिमचुलीले
- आँगनमा घाम पाल्दछ,
जहाँ
- प्रत्येक पहाडको काखमा नदी
- छातीमा छहरा
- र निधारमा लेक हुन्छ,
- जहाँ स-साना नदीहरूमा पनि
- तूफानी समुद्रको वेग हुन्छ (मेरो देश, पृ.१९)
नेपाली प्रकृतिको स्वाभाविक सुन्दरताको कलापूर्ण चित्रण यहाँ पाइन्छ। हिमाल, पहाड, तराई, नदीनाला, छाँगाछहराजन्य नेपाली प्रकृतिको रम्यता वास्तवमै जति पान गरे पनि तृप्त हुन नसकिने यथार्थ यस कवितांशमा पाउन सकिन्छ।
२. प्रकृतिको गन्ध स्वरूप
प्रकृतिमा रहेको सुँघिने गन्धलाई प्रकृतिको गन्ध स्वरूप भनिन्छ। मेरो देश कवितामा प्रकृतिको गन्ध स्वरूपको सङ्केत यसरी पाउन सकिन्छ :
जहाँ
- शीतल हावामा बुई चढेर
- कस्तूरीको सुगन्ध डुल्दछ (मेरो देश, पृ.१९)
नेपाली प्रकृतिमा कस्तूरीको सुगन्ध रहेको छ। जताततै चरिरहने, डुलिरहने कस्तूरीजन्य वन्यजन्तुको सहज स्पर्शले नेपाली प्रकृति वास्नादार सुगन्धी बन्न पुगेको र सबैलाई मोहनी लगाउन पुगेको कुरालाई उक्त कवितांशले सङ्केत गरेको छ।
प्रकृतिको मानवीकरण
जड प्रकृतिलाई सजीव मानवीय क्रियाकलापसँग तुलना गरियो भने त्यो मानवीकरण हुनजान्छ। मान्छेसँग तुलना गरी प्रकृतिलाई मानवीकृत तुल्याउनु कविहरूको क्षमता हो, जसले काव्यको सौन्दर्यसमेत वृद्धि गर्दछ। मेरो देश कविताभरि प्रकृतिको मानवीकरण पाइन्छ। हिउँ परेको रातमा जून धरतीलाई भेट्न हिमकणहरूका साथमा ओरालो लागेर आउनु र भेटेपछि खुसी भएर फर्केको देखाउनु, आरुबखडाका हाँगा हाँगामा कुखुराका चल्लाहरू फुल्छन् भन्नु, मृगमरीचिकाका पछि लाग्नेहरूको वियोगमा धूपी र सल्लाहरू रोएको देखाउनु, बारै महिना मानिसका गालामा आरुका फूल फुलेको देखाउनु, मुटुको स्पन्दन झैँ मृगका शावकहरू उफ्रिएको देखाउनु, रातमा हिमचुलीले आँगनमा घाम पालेको देखाउनु, प्रत्येक पहाडको काखमा नदी, निधारमा लेक र छातीमा छहरा रहेको देखाउनु नेपाली प्रकृतिको मानवीकरणका उदाहरणहरू हुन्। यहाँ प्रत्येक अंशमा मानवीय क्रियाकलाप पाउन सकिन्छ। त्यस्तै बटुवालाई प्रत्येक झ्याङबाट झ्याउँकीरीले गिज्याएको, जूनकीरीले पँधेरोमा ज्योति फिँजाएको देखाउनु, शीतल हावामा बुई चढेर कस्तूरीको सुगन्ध बहनु, वसन्त एकबार आएपछि फर्कन बिर्सनु, बटुवालाई बाटामा रोकेर हिमालले पङ्खा हम्कनु, एकअर्काको मुख हेरेर नीलगिरि र धवलागिरि चम्कनु, प्रत्येक रातमा आकाशले मङ्गलद्वीप सजाउनु, प्रत्येक भोरमा धरतीले गोरो छोरो पाउनु पनि प्रकृतिको मानवीकरणका नमुनाहरू हुन्। हरिया हरिया पहाडको फरिया अलिक तल सारेर निर्मल, स्वच्छ र न्यानो घाममा हिमालले ढाड सेकिरहेको हुन्छ भन्ने प्रकृतिको क्रियाकलापलाई मानवोचित व्यवहार र क्रियाकलापसँग तुलना गरिएका कारण प्रस्तुत कवितामा प्रकृतिको मानवीकरणको चरम रूप पाउन सकिन्छ। विभिन्न शब्दबिम्बको सहयोगमा मात्र यो कार्य सम्भव हुने कारण कवि शेरचनमा रहेको प्रकृति चित्रण गर्ने क्षमता यथार्थमै अद्वितीय बन्न पुगेको देखिन्छ।
भाषिक मूल्य
भाषा अभिव्यक्तिको माध्यम हो। भाषाकै माध्यमबाट वक्ताले आफ्ना विचारहरू श्रोतासमक्ष प्रस्तुत गर्दछ। भाषाकै कारण मानिस सामाजिक प्राणीका रूपमा विकसित हुन पुगेको हो। तसर्थ भाषा मानवजीवनको अभिन्न विषय हो (खतिवडा, २०७१ : १)। साहित्यमा भाषाको ठूलो महत्त्व रहेको हुन्छ। अझ कवितामा प्रयुक्त भाषा रागात्मक, आलङ्कारिक र सौन्दर्यपरक रहने गर्दछ। भाषिक मूल्यका दृष्टिले कवि शेरचनको मेरो देश कविता अर्थपूर्ण देखिन्छ। मेरो देश अथवा नेपालको प्राकृतिक रम्यताको बखान गर्दा कविले कलात्मक भाषाको चयन गरेका छन्। जस्तै :
जहाँ
- आरुबखडाका हाँगा- हाँगामा
- फुल्दछन् कुखुराका चल्लाहरू (मेरो देश,पृ.१८)।
- एकअर्काको मुख हेरेर
- नीलगिरि र धवलागिरि चम्कन्छ (पृ.२०)।
- बारै महिना मानिसका गालामा
- फुल्दछन् आरुका फूल (पृ.१८)।
यहाँ प्रस्तुत कवितांशहरूले दिने अर्थशक्तिमा भाषिक कलाको अहम् भूमिका रहेको देखिन्छ। आरुबखडाका हाँगामा कुखुराका फूलहरू फुल्छन् भन्नुको तात्पर्य नेपाली प्रकृति अनुपम छ, सजीव छ भन्ने देखिन्छ भने नेपाली हिमाली सौन्दर्यको छटा नीलगिरि र धवलागिरिबाट पोखिएको छ। त्यस्तै नेपालीहरू सुखी र हँसिला देखिने सन्दर्भलाई आरुका फूलसँगको सन्दर्भले देखाएको छ। यहाँ प्रस्तुत प्रकृति र मानवबिचको सम्बन्धको कडी कविताको भाषिक सामर्थ्य नै बनेको पाइन्छ। बटुवालाई झ्याउँकिरीले जिस्काउने सन्दर्भ होस् कि हिमालले बटुवालाई पङ्खा हल्लाउने सन्दर्भ होस्, भाषिक जादुगरीको अनुपम नमुनाको प्रतीक यहाँ पाइन्छ। तसर्थ कवि भूपी शेरचनको भाषिक कलाचातुरीको मूल्यवान् अभिव्यक्ति मेरो देश कविता बन्न पुगेको छ। भाषिक कलाकै कारण पनि कविता र कवि दुवैको गरिमा अझ ऊँचो बन्न पुगेको छ।
लयगत मूल्य
लय कविताको खास पहिचान हो। कविता अन्य विधाबाट अलग हुने मुख्य आधार पनि लय हो। कवितामा गद्य, पद्य, झ्याउरे आदि लयहरू रहेका हुन्छन्। भूपी शेरचनको मेरो देश गद्य लयमा रचित एउटा प्रसिद्ध फुटकर कविता हो। गद्य लयमा बाहिरी संरचनामा एक रूपता पाइँदैन तर पद्य कविताको बाहिरी संरचना मिलेको हुन्छ। गद्य कविताको आन्तरिक भाव वा लय कसिलो रहेको हुन्छ। मेरो देश कवितामा गद्य लय पाइए पनि यसको आन्तरिक भाव वा लय ओजपूर्ण रहेको छ। सुरूदेखि नै भित्री भावको एउटा डोरीले पाठकलाई बाँधेर लक्ष्यसम्म पुर्याउँछ। अनेक शब्दबिम्बहरू तुनेर कविमा रहेको आफ्नो देशप्रतिको प्रेमभावलाई कलापूर्ण बनाउन कविले बाहिरी संरचनाभन्दा भित्री संरचना वा भावलाई जोड दिएका छन, जुन स्वच्छन्दतावादी कविहरूको एक विशेषता नै हो। अनेकथरी काल्पनिक उडान भर्दै स्वच्छन्दतावादी भावावेगमा नेपाल, नेपाली प्रकृति, संस्कृति, समाज, मानवीय मूल्य र मान्यताजस्ता विषयहरूलाई काव्यात्मक रागले उनेर एउटा गहन विचारको प्रक्षेपण गर्न कविले रोजेको गद्य लयपरक मूल्य सफल बनेको देखिन्छ। गद्य लयमा पनि गहन भाव वा विचार प्रस्तुत गर्न सकिने सुन्दर नमुना यो कविता बनेको छ।
निष्कर्ष र उपलब्धि
आधुनिक नेपाली कविताको स्वच्छन्दतावादी-प्रगतिवादी धारामा रहेर कलम चलाउने भूपी शेरचनले कविता र नाटकका माध्यमबाट नेपाली भाषा साहित्यको उन्नयनमा उल्लेख्य योगदान गरेका छन्। आफ्ना कविताका माध्यमबाट समाजका सडलपडल, रोग, अशिक्षा, गरिबी, अन्धकार, अविश्वासजन्यविकृति र विसङ्गतिप्रति कडा व्यङ्ग्य प्रहार गर्ने काम कविले गरेका छन्। जीवनको अन्तिम घडीसम्म पनि नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा लागिरहेबापत विभिन्न पुरस्कारले सम्मानित हुन सफल कवि शेरचनको जीवनकै सर्वोत्कृष्ट कवितासङ्ग्रह घुम्ने मेचमाथि अन्धो मान्छे (२०२६) मा समेटिएको मेरो देश एउटा राष्ट्रवादी भावले भरिएको प्रकृतिपरक गद्य कविता हो। आफू जन्मिएको देश वा जन्मधर्ती सबैका लागि प्रिय हुन्छ भन्ने कुरालाई कविले विभिन्न शब्दबिम्बका माध्यमबाट देखाएका छन्। प्रकृति केन्द्रमा रहेको यस कवितामा प्रकृतिसँगै नेपाली राष्ट्रियता, संस्कृति, मानवीयता, जातीय प्रेम, भाषिक प्रेमजस्ता मूल्यहरू समेटिएका छन्। प्रकृतिको मानवीकरण गरिएको यस कविताले नेपाली प्रकृति विश्वमै अनुपम र अनुकरणीय रहेको हुनाले संसारले एक पटक भए पनि नेपाल घुम्न आउनै पर्ने सन्देश दिएका छन्। नेपाललाई त्यागेर विदेशिनेहरूलाई पनि कविले आफ्नो यति सुन्दर जन्मभूमिलाई मनैदेखि माया गर्नुपर्छ भन्ने प्रेरणादायी र प्रकृतिकेन्द्री सन्देश दिएका छन्। जड प्रकृतिमा पनि सजीव मानवीयता पाइनु नेपाली प्रकृतिको विशेषता भएकाले यही प्रकृतिको चरणमा जीवन बिताउँछु भन्ने कविको यही प्रकृतिप्रेमी, राष्ट्रवादी, मानवतावादी, जातीय, भाषिक र सांस्कृतिक मूल्यबोध गराउन यो कविता सफल रहेको छ भन्नु नै यस लेखको निष्कर्ष र उपलब्धि पनि हो।
सन्दर्भसामग्रीसूची
१. खतिवडा, नित्यानन्द. ‘भूपी शेरचनको चिसो एस्ट्र्रे कवितामा जीवनदर्शन’, प्रगति, सम्पा. भीम पौडेल, राजन पौडेल र महेश अधिकारी, वर्ष ५, अङ्क २, धरान : अनेरास्ववियु क्याम्पस कमिटी, २०७५, पृ. ३८।
२. …..,………… ‘ऋतुविचार खण्डकाव्यमा प्रकृति प्रयोग’, समालोचनाको बाटोमा, धरान : नवीना काफ्ले, २०७४, पृ.१।
३. ……..,………… सामान्य भाषाविज्ञान र नेपाली भाषा, धरान : इन्द्रकुमारी खतिवडा, २०७१।
४. नेपाली कविता भाग-४, सम्पा. वासुदेव त्रिपाठी, दैवज्ञराज न्यौपाने र केशव सुवेदी, ललितपुर : साझा प्रकाशन, २०४६।
५. भट्टराई, घटराज, भाषाविज्ञान र साहित्य सिद्धान्त, काठमाडौँ सृष्टि प्रकाशन, २०५४।
६. शेरचन, भूपी, घुम्ने मेचमाथि अन्धो मान्छे, ललितपुर : साझा प्रकाशन, २०२६।
७. श्रेष्ठ, दयाराम र शर्मा, मोहनराज, नेपाली साहित्यको सङ्क्षिप्त इतिहास, ललितपुर : साझा प्रकाशन, २०३४।
८. साझा कविता, सम्पा. चूडामणि बन्धु, ललितपुर : साझा प्रकाशन, २०२४।
९. गोविन्द गिरी प्रेरणा, अनलाइन खबर, २०७६ पुस १९।
१०. बिन्दा अछामी, मुक्तिखबर अनलाइन, २०७५ र्काित्तक २७।