तनुजा दाहाल उपप्राध्यापक, ज्यौतिष विभाग, वाल्मीकि विद्यापीठ काठमाडौँ, नेपाल संस्कृत विश्वविद्यालय। Email : tanuja.dahal036@gmail.com सार मानिसको नाकमा भएका दायाँ र बायाँ दुई छिद्रहरूबाट वायुको प्रवेश र निष्काशन हुने प्रकृयालाई श्वास-प्रश्वास भनिन्छ। श्वासको प्रवाहलाई नै स्वर वा नाडी भनिन्छ। नाकको एउटा प्वालमा श्वासको प्रवाह बन्द हुँदा अर्को खुल्ने प्रक्रियालाई स्वरको गति भनिन्छ। दायाँ प्वालमा प्रवाह हुने […]
तनुजा दाहाल
उपप्राध्यापक, ज्यौतिष विभाग, वाल्मीकि विद्यापीठ काठमाडौँ, नेपाल संस्कृत विश्वविद्यालय।
Email : tanuja.dahal036@gmail.com
सार
मानिसको नाकमा भएका दायाँ र बायाँ दुई छिद्रहरूबाट वायुको प्रवेश र निष्काशन हुने प्रकृयालाई श्वास-प्रश्वास भनिन्छ। श्वासको प्रवाहलाई नै स्वर वा नाडी भनिन्छ। नाकको एउटा प्वालमा श्वासको प्रवाह बन्द हुँदा अर्को खुल्ने प्रक्रियालाई स्वरको गति भनिन्छ। दायाँ प्वालमा प्रवाह हुने श्वासलाई पिङ्गला नाडी भनिन्छ भने बायाँ प्वालमा प्रवाह हुने श्वासलाई इडा नाडी भनिन्छ। दायाँ र बायाँ दुवै स्वरलाई चाहिँ सुषुम्ना नाडी भनिन्छ। यी नाडीहरू पृथ्वी, आकाश, अग्नि, वायु र जल यी पाँच तत्त्वहरूको संयोजनबाट निर्माण भएका हुन्छन्। मानव मस्तिष्कमा उत्पन्न हुने शुभ र अशुभ विचारहरूको प्रभाव यिनै नाडीहरूमा पर्दछ। यी नाडीहरूले शुभ र अशुभ समयको निर्धारण गर्दछन्। श्वास नै जीवनको प्राण हो एवम् प्राण नै प्राणीहरूको ऊर्जाशक्ति हो। त्यसैले स्वरविज्ञान विज्ञानले प्रमाणित गरेको आध्यात्मिक ज्ञान-दर्शन हो।
शब्दकुञ्जी : आध्यात्मिक, ऊर्जा, पूर्वाभास, चक्षु, पञ्चतत्त्व, प्रत्यक्ष, छिद्र।
विषयप्रवेश
मानिसको भूत, वर्तमान र भविष्यको शुभाशुभ समयको अध्ययन गर्ने शास्त्रलाई ज्योतिष शास्त्र भनिन्छ। यस शास्त्रमा शुभाशुभ फलको निर्धारण गर्नका निम्ति होरा, ताजिक, स्वप्न, प्रश्न, रमल र शकुनशास्त्र सँगसँगै स्वरशास्त्रको पनि प्रयोग गरेको पाइन्छ। सूर्योदय सँगसँगै स्वरको प्रारम्भ हुन्छ। मानिसका शरीरको अभिन्न अङ्ग नाक र त्यसमा रहेका दुई छिद्रहरूलाई स्वरको प्रयोगशाला मानिएको छ। त्यही छिद्रमा प्रवाहित हुने वायुको प्रवाहलाई स्वर वा नाडी भनिन्छ। मानव शरीरलाई पृथ्वी, आकाश, अग्नि, वायु र जल यी पाँच तत्त्वहरू मिलेर बनेको ब्रह्माण्डको सानो सृष्टि मानिन्छ। त्यसैले शरीरमा प्रवाहित हुने नाडीहरूमा पनि यिनै तत्त्वहरू विद्यमान रहेका हुन्छन्। यिनै नाडीहरूको सञ्चारको गतिका आधारमा मानिसको जीवन र मृत्युको जानकारी लिन सकिन्छ। त्यसैले यसलाई आत्मस्वरूप प्राणवायु पनि भन्दछन्। जीवनलाई गति प्रदान गर्ने अपरिहार्य तत्त्वलाई प्राण भनिन्छ। प्राण मानिसको ऊर्जा हो भने विवेकलाई शक्तिको रूप मानिन्छ। ऊर्जा र शक्तिको सही उपयोगले मानव जीवन सार्थक र सफल बनाउन सकिन्छ। शारीरिक, मानसिक एवम् वातावरणीय घटनाले स्वरको सञ्चारलाई प्रभावित बनाएको हुन्छ। तिनै घटनाहरूको पूर्वाभासको अध्ययन गर्ने शास्त्रलाई स्वरविज्ञान मान्न सकिन्छ। यसको उपयोगबाट मानिसको भूत, वर्तमान र भविष्यको जानकारी प्राप्त गर्न सकिन्छ। त्यसैले शुभाशुभको प्रत्यक्ष र तत्काल प्रभाव दिने भएकाले स्वरविज्ञान बहु उपयोगी मानिन्छ।
समस्याहरू
(क) स्वरको परिचय कसरी दिन सकिन्छ ?
(ख) इडा, पिङ्गला र सुषुम्ना स्वरहरूका प्रभाव क्षेत्र के के छन् ?
(ग) मानवका जीवनमा स्वरको महत्त्व र उपयाेगिता के छ ?
उद्देश्यहरू
यस अनुसन्धानमूलक लेखको माध्यमबाट स्वर विज्ञानको जानकारी पाठक वर्गलाई हुनेछ भन्ने यसको सामान्य उद्देश्य रहेको छ भने प्रस्तुत विषय अन्तर्गतका समस्याहरू समाधान गर्नु यस लेखको विशिष्ट उद्देश्य रहेको छ :
(क) स्वरको परिचय प्रस्तुत गर्नु,
(ख) स्वरले प्रभाव पार्ने विषयहरूको विश्लेषण गर्नु,
(ग) मानवको जीवनमा स्वरको महत्त्व र उपयाेगिता केलाउनु ।
अध्ययन विधि
यस अनुसन्धानात्मक लेखलाई निर्माण गर्नका निम्ति पुस्तकालयकाे प्रयाेग गरेर सामग्रीहरूको सङ्कलन गरिएको छ भने सङ्कलित सामग्रीहरूको तथ्य विश्लेषण गर्न वर्णनात्मक र विवरणात्मक विधिको प्रयोग गरिएको छ।
पञ्चतत्त्व
पृथ्वी, आकाश, अग्नि, वायु र जल यी पाँच तत्त्वहरूलाई पञ्चतत्त्व भनिन्छ। ब्रह्माण्ड तत्त्वहरूको एक स्वरूप हो। संसारमा भएका चराचर प्राणीहरूको निर्माणमा, परिवर्तनमा, पोषणका साथै विनाशमा पनि यिनै तत्त्वहरूको अधिकार रहेको हुन्छ। अर्थात् सृष्टि र विनाश दुवैमा यिनै तत्त्वहरूको भूमिका रहेको हुन्छ।
तत्त्वाद्ब्रह्माण्डमुत्पन्नं तत्त्वेन परिवर्तते।
तत्त्वे विलयते देवि तत्त्वाद्ब्रह्माण्डनिणर्यः।। (श्री योगीराज, सिद्धविद्या स्वरोदय विज्ञान पृ २८)
यी तत्त्वहरूको सन्तुलन भएमा संसार सुखमय हुन्छ र प्राणीहरू सुखी रहन्छन् भने यिनीहरूको असन्तुलनको प्रतिफल जलतत्त्वले बाढीको प्रकोप, वायुले आँधी र तुफान, पृथ्वीले भूकम्प र खडेरी, अग्नितत्त्वले ज्वालामुखी, आकाशतत्त्वले उल्कापात, केतुको उदयजस्ता समस्याहरू उत्पन्न गर्दछन्। त्यसैले मावनको कल्याण र हानिनोक्सानी दुवैमा यिनै तत्त्वहरूको योगदान रहेको हुन्छ भन्ने मान्यता स्वरशास्त्रज्ञहरूको रहेको देखिन्छ। मानव शरीरमा एक दिनभरिमा १०,८०० पटक र रातभरिमा १०,८०० पटक गरी जम्मा २४ घण्टामा २१,६०० पटक श्वास प्रवाह हुने गर्दछ। यस कुरालाई गरूढ पुराणले यसरी वर्णन गर्दछ – एकविंशत्सहस्राणि षट्शतान्यधिकानि च । अहोरात्रेण श्वासस्य गति: सूक्ष्मा स्मृता बुधै: ।। (गरुड पुराण– १५/७७)। श्वासप्रवाह सँगसँगै यी पाँच तत्त्वहरूको पनि प्रवाह भइरहेको हुन्छ। प्रातःकालमा एकाग्रचित्त भएर दुई हातका बुढी औँलाहरूले दायाँ र बायाँ दुवै कानका प्वाल बन्द गरेर अनामिका अर्थात् साहिँली औँलालाई आँखामा, मध्यमा अर्थात् माझी औँलालाई नाकका प्वालमा, तर्जनी अर्थात् चोरी औलालाई ओठमा र कान्छी औँलालाई नाकको डाँडीमा राखेर एकचित्त भई ध्यान गर्दा स्वरतत्त्वहरूको महसुस गर्न सकिन्छ। त्यस बेलामा आँखाको भृकुटीमा पहेँलो रङ देखिएमा पृथ्वी तत्त्व, सेतो रङ देखिएमा जल तत्त्व, रातो रङ देखिएमा अग्नि तत्त्व, हरियो वा नीलो रङ देखिएमा वायु तत्त्व र कालो रङ देखिएमा आकास तत्त्वको उदय भएको हुन्छ। सिद्धयोगीहरू तथा विशिष्ट स्वरज्ञाताहरूले यसको जानकारी सहजै प्राप्त गर्न सक्दछन्। १ घण्टामा श्वासप्रवाहका साथमा पृथ्वी तत्त्व २० मिनेट, जल तत्त्व १६ मिनेट, अग्नितत्त्व १२ मिनेट, वायुतत्त्व ८ मिनेट र आकाश तत्त्व ४ मिनेट क्रमैले प्रवाहित हुने गर्दछन्। श्वासप्रवाहको अन्त्य हुनुलाई नै मृत्युको परिसूचक मानिन्छ। मृत्युपश्चात् शरीर फेरि पञ्चतत्त्वमा नै विलीन हुन पुग्दछ। त्यसैले प्रकृतिमा जन्म र मृत्युको सम्बन्ध रहिरहन्छ।
पृथ्वी तत्त्व
पहेँलो रङ भएको चतुष्कोण आकारको, मधुर स्वादको, शरीरको मध्य भागमा प्रवाहित हुने तत्त्वलाई पृथ्वी तत्त्व भनिन्छ। यो मानिसको घुँडामा रहने गर्दछ। १२ अङ्गुल लामो यसको प्रवाह रहन्छ। धनिष्ठा, ज्येष्ठा, रोहिणी, अनुराधा, श्रवण, अभिजित्, उत्तरषाढा नक्षत्रहरू यस अन्तर्गत पर्दछन्। यसको उदयकालमा गृह तथा वास्तुसँग सम्बन्धित कार्यहरू, वृक्षरोपण जस्ता स्थिर कर्महरू शुभ मानिन्छन्। यसले मानिसलाई सुख प्रदान गर्दछ।
जल तत्त्व
अर्धचन्द्र आकारको, कषाय स्वादको, मध्यभागमा प्रवाहित हुने, लाभ प्रदान गर्ने, १६ अङ्गुल लामो प्रवाह दिने तत्त्वलाई जलतत्त्व भनिन्छ। यो मानिसको पादान्तमा अर्थात् पैतालामा रहने गर्दछ। यसको रङ्ग सेतो हुन्छ। पूर्वाषाढा, अश्लेषा, मूल, आर्द्रा, रेवती, उत्तरभाद्रपदा, शतभिषा नक्षत्रहरू यस अन्तर्गत पर्दछन्। यात्रा जस्ता चर कर्महरू गर्न यसको उदय कालमा शुभ मानिन्छ।
वायु तत्त्व
गोलो आकारको, अमिलो स्वादको, तेर्सो प्रवाह भएको, चञ्चलता प्रदान गर्ने, ८ अङ्गुल लामो प्रवाह दिने तत्त्वलाई वायुतत्त्व भनिन्छ। यो मानिसको नाभिमा रहने गर्दछ। यसको रङ्ग नीलो हुन्छ। विशाखा, उत्तराफाल्गुनी, हस्ता, चित्रा, पुनर्वसु, अश्विनी र मृगशिरा नक्षत्रहरू यस अन्तर्गत पर्दछन्। यसको उदयकालमा मारण, मोहन तथा उच्चाटन जस्ता कार्यहरू गर्न शुभ मानिएको छ।
अग्नि तत्त्व
तिनकुने आकारको, तीखो स्वादको, ऊर्ध्व भागमा प्रवाहित हुने, चम्किलो प्रकाश प्रदान गर्ने, ४ अङ्गुल लामो प्रवाह दिने तत्त्वलाई अग्नि तत्त्व भनिन्छ। यो मानिसको काँधमा रहने गर्दछ। यसको रङ रातो हुन्छ। भरणी, कृत्तिका, पुष्य, मघा, पूर्वाफाल्गुनी, पूर्वाभाद्रपदा र स्वाती नक्षत्रहरू यसअन्तर्गत पर्दछन्। यस तत्त्वको उदयकालमा सामान्य कार्य वा चाँडै सम्पन्न हुने छोटो यात्रा आदि गर्न सकिन्छ।
आकाश तत्त्व
शून्य आकार भएको, मिश्रित स्वाद र सिधा गति भएको, शून्य प्राण अर्थात् अव्यक्त हुने भएकाले आकाश तत्त्व अबोध्य हुन्छ। यो मानिसको मस्तिष्कमा रहने गर्दछ। यसको रङ मिश्रित हुन्छ। यसले केवल मोक्ष प्रदान गर्दछ। यस अन्तर्गत कुनै पनि नक्षत्रहरू पर्दैनन्। यसको उदयकाल हानिकारक मानिन्छ। त्यसैले यसमा शुभ वा अशुभ कुनै पनि काम गर्न निषेध गरिएको देखिन्छ।
नाडी
वायुको प्रवाह अर्थात् श्वासको प्रवाहलाई नै प्राण वायुको प्रवाह भनिन्छ। श्वासप्रवाहलाई नै स्वर विज्ञानमा स्वर भनिन्छ। यसलाई प्राण वा आत्मा भनिन्छ। अर्थात् शरीरलाई जीवन्त बनाउने तत्त्वलाई नै स्वर भनिन्छ। यसलाई नै नाडी पनि भनिन्छ। नाकको दायाँ प्वालमा प्रवाह हुने श्वासलाई सूर्यस्वर अथवा पिङ्गला नाडी भनिन्छ भने बायाँ प्वालमा प्रवाह हुने श्वासलाई चन्द्रस्वर अथवा इडा नाडी भनिन्छ। दायाँ र बायाँ दुवै स्वरलाई सुषुम्ना नाडी भनिन्छ।
इडा वामे स्थिता भागे पिङ्गला दक्षिणे स्मृता ।
सुषुम्ना मध्यदेशे तु गान्धारी वामचक्षुषि ।। (शिवस्वरोदयः, पृ. १८, श्लो. ३८)
श्वासको प्रवाह नाकका दुवै छिद्रले गर्ने गर्दछन्। दुई छिद्रमा एउटा छिद्रले वायुको प्रवेश र निष्कासन गर्दा अर्को छिद्र बन्द रहन्छ। अर्थात् एउटा छिद्रको कार्यसमयमा अर्को छिद्र बन्द हुनु स्वाभाविक प्रक्रिया मानिन्छ तर कहिलेकाहीँ भने दुवै छिद्रहरूले श्वासको प्रवाह गर्दछन्। त्यस्तो अवस्थालाई विशेष अवस्था मानिन्छ। यस प्रवाहमा अक्सिजन लिने र शरीरमा श्वासको सञ्चार गरी कार्वनडाइअक्साइडलाई बाहिर फ्याँक्ने प्रक्रिया भइरहन्छ। स्वरको उदय सूर्योदयसँगै हुने गर्दछ। साधारणतया स्वर प्रतिदिन अढाई (साडे दुई) घडी अर्थात् एक एक घण्टामा दायाँ र बायाँ परिवर्तन भइरहन्छन्। १ घण्टामा ९०० पटक र १ मिनेटमा १५ पटक श्वासको सञ्चार हुनु स्वस्थ मानिसको परिचय मानिन्छ। स्वस्थ मानिसको श्वासप्रवाह प्रत्येक तीन तीन तिथिमा परिवर्तन भएको हुन्छ। शुक्लपक्षको सूर्योदयदेखि प्रत्येक अढाई घडीसम्म चन्द्रस्वरको उदय हुन्छ भने कृष्णपक्षको सूर्योदयदेखि प्रत्येक अढाई घडीसम्म सूर्य स्वरको उदय हुन्छ। यही क्रमले स्वरको सञ्चार हुन्छ।
इडा स्वर
नाकको बायाँ छिद्रबाट हुने श्वासको प्रवाहलाई स्वर विज्ञानको भाषामा इडास्वर भनिन्छ। इडा नाडीका अधिष्ठात्री देवता चन्द्रमालाई मानिन्छ। त्यसैले यसलाई चन्द्रस्वर पनि भनिन्छ। यसलाई स्त्री वा प्रकृतिको स्वरूप पनि मानिन्छ। स्थिर, सौम्य तथा शुभकर्म यस स्वरमा गरेमा सिद्धिदायक हुन्छन्। यसलाई शीतल प्रकृतिको स्वर मानिन्छ। गर्मी तथा पित्तजन्य रोगबाट यसले सुरक्षा गर्दछ। यसलाई सम स्वर भनिन्छ। यसको वर्ण सेतो हुन्छ। यसको उदय शुभकर्मको लागि सिद्धि प्रदायक मानिन्छ। यसले अमृतरूपी तत्त्व प्रदान गर्ने भएकाले संसारलाई पुष्ट पार्दछ। यो स्वरले चन्द्रलाई पनि वशमा राख्न सक्दछ भन्ने मान्यता रहेको देखिन्छ। घरबाट बाहिर जाँदा यसको प्रयोग गर्न सकिन्छ। दिनको प्रारम्भ यस स्वरबाट भएमा दिनभर गरिएका कार्य सफल हुन्छन्। यो स्वरको सञ्चार शुक्लपक्षमा प्रतिपदा, द्वितीया, तृतीया, सप्तमी, अष्टमी, नवमी, त्रयोदशी, चतुर्दशी र पूर्णिमा तिथिमा हुन्छ भने कृष्णपक्षमा चतुर्थी, पञ्चमी, षष्ठी, दशमी, एकादशी र द्वादशी तिथिमा प्रातकालमा हुन्छ। (हरिहर स्वामी, स्वरशास्त्र पृ. १६, १७ )
शुक्लपक्षको गुरु, शुक्र, बुध र सोमबारका दिन यो नाडी प्रवाहित भएको समयमा गरिएका शुभ कर्म विशेष गरी सिद्धिप्रदायक हुन्छन्। वृष, कर्कट, कन्या, वृश्चिक, मकर र मीन राशि चन्द्रस्वरका राशि मानिन्छन्। पूर्व र उत्तर दिशामा यसको निवास हुने भएकाले बायाँ स्वर चलेको समयमा पूर्व र उत्तर दिशाको यात्रा अशुभ तथा शत्रुभयकारक मानिन्छ भने पश्चिम र दक्षिण दिशाको यात्रा शुभ मानिन्छ। बायाँ स्वरले विषको हरण गर्दछ अर्थात् अनिष्टको निवारण गरी सुख र शान्ति प्रदान गर्दछ। (हरिहर स्वामी, स्वरशास्त्र, पृ. १६, १७)
इडा स्वरमा गर्न योग्य कर्महरू
यस स्वरको उदय समयमा पूजा, तपस्या, वस्त्र र आभूषण धारण गर्न, लामो यात्राका लागि प्रस्थान गर्न, ब्रह्मचर्या आदि चार आश्रमहरूका धर्मको पालन गर्न, घरमा बास बस्न, वस्तुको सङ्ग्रह गर्न, सरोवर, कुवा, तलाउ, देवालय आदिको निर्माण गर्न, दान, विवाह, शान्ति आदि पौष्टिक कार्य गर्न, दिव्यौषधि, रसायनको प्रयोग तथा निर्माण, मालिकको दर्शन, मित्र मिलन, वाणिज्यकर्म, अन्नको सङ्ग्रह, गृहप्रवेश, राजसेवा, खेती, बिउ राख्न, सन्धि गर्न, प्रस्थान गर्न, विद्या अध्ययनको प्रारम्भ, बन्धुबान्धवको दर्शन, जन्म, मरण, धर्मको अनुष्ठान, दीक्षाग्रहण, मन्त्रसिद्धि, कालको ज्ञान, यज्ञोपवीत धारण, वेदको अध्ययन, पशुलाई घर ल्याउने काम, कठिन रोगको उपचार, स्वामीलाई सम्बोधन, गज तथा अश्व आरोहण, धनुर्विद्याको अध्ययन, हात्ती, घोडालाई घर ल्याउने कार्य, उपकारी काम, सम्पत्तिको सङ्ग्रह, नाचगान तथा नाट्यशास्त्रको अध्ययन, तिलक लगाउने काम, जग्गा खरिद गर्न, दाउराको सङ्ग्रह, दुःख, शोक, विषाद, ज्वरो, मूर्छा आदिमा, स्वजनको सम्बन्धमा, स्त्रीका कार्यमा, दाँत लगाउन, गुरुपूजामा, वृष्टिमा, विष निकाल्न, योगाभ्यासजस्ता कामहरू गर्न शुभ मानिन्छ। इडा नाडीमा पृथ्वी तत्त्व र जल तत्त्वको उदय भएको समय सिद्धिदायक मानिन्छ भने तेज, वायु र आकाश तत्त्वको उदयमा कार्य सिद्धिमा अवरोध हुन्छ। (जोशी, श्रीकेदारदत्त, ज्योतिष में स्वरविज्ञानका महत्त्व, पृ १९४,१९५)
नाड्यन्या शशिनश्शुभैव गमनालङ्कारपाणिग्रह।
क्षेत्राद्येषु यदंशवायुचलने तत्पादपूर्वं व्रजेत्।। (पूर्वकालामृतम्, श्लो. ४३, अ.५)।
पिङ्गला स्वर
नाकको दायाँ छिद्रबाट हुने श्वासको प्रवाहलाई स्वर विज्ञानको भाषामा पिङ्गला स्वर भनिन्छ। यसलाई पिङ्गला नाडी पनि भनिन्छ। पिङ्गला नाडीको स्वामी सूर्यलाई मानिन्छ। पिङ्गला स्वर शिवप्रधान मानिन्छ। यो स्वर उष्ण प्रकृतिको हुन्छ। उष्ण प्रकृतिको स्वर भएकाले सर्दी, कफजन्य रोगबाट यसले सुरक्षा गर्दछ। यस स्वरलाई विषम स्वर पनि भनिन्छ। यसको वर्ण कालो हुन्छ। यसलाई क्रूर प्रकृति भएको स्वर मानिन्छ। सम्पूर्ण जगत् सूर्यकै अधीनमा भएकाले यसलाई सर्जकरूप पनि मानिन्छ, जसले सदैव संसारको उत्पत्ति र पालन गरिरहन्छ।
यसले सूर्यलाई पनि वशमा राख्न सक्दछ भन्ने मान्यता रहेको देखिन्छ। बाहिरबाट घरमा प्रवेश गर्ने समयमा यसको उदय शुभ मानिन्छ। काटमार जस्ता क्रूर कर्म गर्नका लागि यो स्वर सिद्धिदायक मानिन्छ। रातको प्रारम्भ यस स्वरदेखि भएमा शुभ मानिन्छ। शुक्ल पक्षमा चतुर्थी, पञ्चमी, षष्ठी, दशमी, एकादशी र द्वादशी तिथिमा दायाँ स्वरको सञ्चार हुन्छ भने कृष्ण पक्षमा प्रतिपदा, द्वितीया, तृतीया, सप्तमी, अष्टमी, नवमी, त्रयोदशी, चतुर्दशी र अमावश्या तिथिमा यसको सञ्चार हुन्छ। (हरिहर स्वामी, स्वरशास्त्र पृ १६, १७)
कृष्णपक्षको आइतबार, मङ्गलबार, बुधबार र सोमबारका दिन यो नाडी प्रवाहित भएको समयमा गरिएका चर कर्म वा क्रूर कर्महरू विशेष गरी सिद्धिप्रदायक मानिन्छन्। मेष, सिंह, कुम्भ, तुला, मिथुन र धनु राशि सूर्यस्वरका राशि मानिन्छन्। यसको निवास पश्चिम र दक्षिण दिशामा हुने भएकाले दायाँ स्वर चलेको समयमा पश्चिम र दक्षिण दिशाको यात्रा अशुभ तथा मृत्यु प्रदायक मानिन्छ भने पूर्व र उत्तर दिशाको यात्रा शुभ तथा शत्रुभयनाशक मानिन्छ। दायाँ स्वरले बलवान् व्यक्तिलाई पनि वशिभूत गर्दछ अर्थात् यसलाई साहसको प्रतीक मानिन्छ।
पिङ्गला स्वरमा गर्न योग्य कर्महरू
यस स्वरको उदयकाल कठिन एवम् क्रूर विद्याको अध्ययन र अध्यापनका लागि शुभ मानिन्छ। स्त्री संसर्गमा, वेश्यागमनमा, पानीजहाजको यात्रामा, भ्रष्टाचार गर्नमा, मदिरापानमा, अस्त्रशस्त्रको प्रयोग र मन्त्र साधनामा, दुःख वा आपत्कालमा, देशको विनाशमा, शत्रुलाई विष दिन र शास्त्रको अध्ययनमा बहुउपयोगी मानिन्छ। शिकार खेल्न, पशुविक्रयमा, ईटा, ढुङ्गा सङ्ग्रहमा, दुष्ट काममा, पहाड चढ्न, जुवा खेल्न, हात्ती, घोडामा चढ्न, रथमा आरोहण गर्न, व्यायाममा, मारण वा नष्टकार्यमा, षट्कर्मादिमा, यक्ष, भूत, बेताल आदिको प्रभाव नष्ट गर्न, गधा, ऊँट, भैँसी आदि जनावरलाई पालन गर्न, नदी, तलाउ पार गर्न, अक्षर वा लिपि लेखनमा, औषधी सेवनमा, कृषिकर्ममा, दानमा, खरिदबिक्रीमा, प्रेतलाई वशमा राख्न, द्वेषमा, शत्रुलाई दण्ड दिन, हतियार लिन, शत्रुसँग युद्ध गर्न, राजाको दर्शनमा, स्नान गर्न, भोजन गर्न, तेजस्वी कार्यमा, सामानको उपभोग गर्न, मन्दाग्निमा, व्यापारमा यसको उपयोग गर्न सकिन्छ। अर्थात् सम्पूर्ण क्रूर एवम् चाडै समाधान हुने किसिमका कार्यमा दायाँ स्वर उपयोगी मानिन्छ । (श्रीकेदारदत्त, ज्योतिष में स्वरविज्ञानका महत्त्व, पृ १९४, १९५)
नासादक्षिणभागजातपवनस्सूर्याख्यनाडी शुभा।
संग्रामव्यवहारमैथुनभयस्नानान्नभङ्गार्तिषु।। (पूर्वकालामृतम्, श्लो.४३, अ.५)
सुषुम्ना स्वर
नाकको दायाँ र बायाँ दुवै छिद्रबाट स्वरको प्रवाह हुनु वा एकैछिनमा दायाँ र एकछिनमै बायाँ अर्थात् क्षणमै श्वासको परिवर्तन हुने प्रक्रिया वा श्वासप्रवाह परिवर्तन भइरहने अवस्थालाई स्वरविज्ञानमा सुषुम्ना स्वर भनिन्छ। यसलाई स्वरसन्धि पनि भन्ने गरिन्छ। यो स्वरको उदय अत्यन्त दुर्लभ मानिन्छ। यसको उदय समयलाई कालस्वरूप, प्रज्वलित अग्निरूप वा विषयुक्त मानिन्छ। यसको उदय कालमा गरिएका सम्पूर्ण शुभ र अशुभ कामहरू विफल हुन्छन्। यात्रा गरेमा कष्टदायक, गृहप्रवेश, विवाह आदि गरेमा मृत्यु वा क्लेशदायक मानिन्छ। त्यसैले यस स्वरलाई घातक रूप मानिएको देखिन्छ। यो स्वर सदैव क्रूर र दुष्ट फलदायक, कार्यविनाशक तथा उत्पत्तिको विनाश गर्ने भएकाले जीवन तथा मृत्यु, लाभ, अलाभ, जय, पराजय आदि विषयको चिन्ता यस स्वरमा गर्नु व्यर्थ मानिन्छ। यसमा केवल ईश्वरको स्मरण, योगाभ्यासादि कर्म, पुण्यकर्म, हवन र दान गर्नु उत्तम मानिन्छ। यो स्वर भोग र मोक्ष प्रदायक मानिन्छ।
क्षणं वामे क्षणं दक्षे यदा वहति मारुतः।
सुषुम्ना सा च विज्ञेया सर्वकार्यहरा स्मृता।। (शिवस्वरोदयः, श्लो. १२४,पृ.३८)
तस्यां नाड्यां स्थिता वन्हिर्ज्वलते कालरूपकः।
विषवत्तां विजानीयात् सर्वकार्यविनाशिनीम्।। (शिवस्वरोदयः, श्लो.१२५,पृ.३९)
त्यसैले शुभ वा अशुभ जुन काम गरिन्छ, सोही अनुरूपको स्वरको प्रयोगले काममा सिद्धि प्रदान गर्दछ। चन्द्र र सूर्य स्वरको जसले नियमपूर्वक सदैव अभ्यास गर्दछ, त्यसले चन्द्र र सूर्यलाई वशमा राख्न सक्दछ। त्यसैले सम्पूर्ण जगत् क्षणमा वशीभूत हुन्छ। भूत र भविष्यको ज्ञान सहजै प्राप्त गर्दछ। विपरीत फल प्रदान गर्ने समयमा बलवान् व्यक्तिले फूलसँग पनि युद्ध गर्नु हुँदैन भन्ने मान्यता स्वरशास्त्रको रहेको देखिन्छ।
सवार्थसिद्धियोगमा स्वरको उपयोगिता
क. शुक्लपक्षको द्वितीया तिथिमा सूर्य स्वरको समयमा चन्द्रस्वर चलेको छ भने शुभ कार्यमा सुख र लाभ प्राप्त हुन्छ।
ख. सूर्योदयको समयमा सूर्यस्वर र चन्द्रोदयको समयमा चन्द्रस्वर चलेमा सो दिन र रातमा गरेको काम सिद्धिप्रदायक मानिन्छ।
ग. सूर्यस्वरको प्रवाह समयमा सूक्ष्मतम एवम् कठिन विषयको ज्ञान प्राप्त गर्न सकिन्छ। चन्द्रस्वरको प्रवाह समयमा स्थूल विषयको ज्ञान प्राप्त गर्न सकिन्छ।
घ. प्रतिकूल अवस्थामा रहेको सूर्यस्वरलाई योगाभ्यासका माध्यमबाट जसले रोक्न सक्दछ, त्यसले सुस्वास्थ्य एवम् दीर्घायु प्राप्त गर्दछ।
ङ. रोगी व्यक्तिले दिनभर सूर्य स्वरलाई रोक्न सकेमा मृत्युनाश भएर आयुवृद्धि हुन्छ।
च. ज्योतिषीको चन्द्रनाडी चलेको समयमा सम अक्षरको उच्चारण गरी प्रश्नकर्ताले प्रश्न गरेमा अथवा ज्योतिषीको सूर्यनाडी चलेको समयमा विषम अक्षरको उच्चारण गरी प्रश्नकर्ताले प्रश्न गरेमा कार्यसिद्धि, हराएको वस्तुको लाभ हुन्छ।
छ. गुरु, शुक्र, बुध र सोमबार चन्द्र स्वर चलेको अवस्थामा गरिएका शुभकर्म सिद्धिदायक मानिन्छन्।
ज. कृष्णपक्षको आइत, मङ्गल र शनिबारका दिन सूर्यस्वर चलेमा यात्रा आदि चर कार्यमा विशिष्ट फलप्रप्ति हुन्छ।
आरोग्यताका लागि स्वरको उपयोग
हाम्रो आहार-विहार, आचार-विचार, रहनसहन, शयन, जागरण आदि अनेक विषयहरूले हामीलाई रोगी बन्न र निरोग रहन मद्दत गर्दछन्। बिहान धेरै समयसम्म सुत्ने, अखाद्य खानाहरू खाने लगायतका अनियमित आहारविहार आदि कारणले मानिस बिरामी हुने गर्दछ। तर, स्वरलाई औषधीका रूपमा दैनिक प्रयोग गर्नाले दम, खोकी, टाउको दुख्ने, अजीर्ण, उच्च रक्तचापजस्ता अनेक रोगहरू आफैँ पलायन हुने गर्दछन्। त्यसैले स्वर परिवर्तनको विधि जान्नु आवश्यक देखिन्छ। रातको समयमा चन्द्रस्वर चलेमा अशुभ मानिन्छ भने दिनमा सूर्यस्वर अशुभ मानिन्छ। यस्तो स्वरको सञ्चारलाई विपरीत स्वरको सञ्चार भनिन्छ।
सूर्योदयको समयमा चन्द्रस्वर र चन्द्रोदयको समयमा सूर्यस्वर चलेमा सो दिन र रातमा गरेको काममा कलह, हानि अथवा दुःख जस्ता विपरीत फलको प्राप्ति हुन्छ। तसर्थ यस्तो सञ्चारमा सावधानी अपनाएर अनुलोम-विलोम, नाडीशोधन प्रणायाम, पूरक, रेचक, कुम्भक, वज्रासन आदिका माध्यमबाट मुख बन्द गरेर स्वरसाधन गरी स्वरको स्थिति सन्तुलन र परिवर्तन गर्नु आवश्यक हुन्छ। अन्यथा अनर्थकारक मानिन्छ। प्रातकालमा जुन स्वरको उदय भएको हुन्छ, त्यही स्वरवाला हातको दर्शन गरी हात रगटेर अनुहार तथा पैतालासम्म घुमाएर कराग्रे वसते लक्ष्मी….. भन्ने मन्त्र भनी जुन स्वरको उदय भएको छ, सोही स्वरवाला खुट्टा अगाडि बढाएर बिच्छ्यौना त्याग गरेमा दिनमा गरेका काम सफल हुन्छन्। चन्द्रस्वर चलेमा सम र सूर्यस्वर चलेमा विषम कदम चालेमा, घर बाहिर जाँदा उदित स्वरतिरको हात वा खुट्टा अगाडि बढाएर यात्रा गरेमा सरलतापूर्वक कार्यमा सिद्धि प्राप्त हुनका साथै सुखको प्राप्ति र वृद्धि हुन्छ भन्ने विश्वास रहेको देखिन्छ। त्यसैले कार्यको सफलताका लागि स्वर उपयोगी मान्न सकिन्छ।
उपसंहार
संसारमा भएका सम्पूर्ण जीवहरूमा मानव मात्र कर्मयोगी मानिन्छ। पूर्वजन्मका कर्मको फल यस जन्ममा पङ्क्तिरूप भएर आएको हुन्छ। यसकै प्रतिफलको परिणाम मानिसका जीवनको सुख दुःखलाई मान्न सकिन्छ। शारीरिक, मानसिक एवम् वातावरणीय घटनाले सुख र दुःखलाई प्रभावित बनाएको हुन्छ। शुभ र अशुभ घटनाहरूको पूर्वाभासको अध्ययनलाई स्वरविज्ञान भनिन्छ। मानव शरीर पञ्च तत्त्वहरूबाट निर्मित ब्रह्माण्डको एक सानो स्वरूप हो। शरीरभित्र कुण्डलिनी नामको एक महाशक्तिकेन्द्र छ। १०१ प्रधान नाडीहरू र अनेकौँ सहायक नाडीहरू यसै भित्र अन्तरनिहीत छन्। तिनै नाडीहरूको सहयोगमा श्वासप्रवाहका साथसाथै रक्तप्रवाह पनि प्रभावित भएको हुन्छ। ती मध्ये पनि इडा, पिङ्गला र सुषुम्ना मुख्य नाडी मानिन्छन्। यिनै नाडीहरूलाई स्वर भनिन्छ। स्वरलाई देवीको स्वरूप मानिन्छ। दायाँ स्वरलाई पिङ्गला स्वर भनिन्छ भने बायाँ स्वरलाई इडा स्वर भनिन्छ। दायाँ र बायाँ दुवै स्वरको उदयलाई सुषुम्ना स्वर भनिन्छ।
शरीररूपी ब्रम्हाण्डमा इडा, पिङ्गला र सुषुम्ना नाडीहरूको त्रिकोणात्मक शक्ति सन्तुलन भैरहेको हुन्छ। शुक्ल पक्षमा चन्द्रस्वर तथा कृष्ण पक्षमा सूर्यस्वर बलवान् हुन्छ। सङ्कट र असन्तुलनको अवस्थामा भने सुषुम्ना स्वरको प्रवाह हुने गर्दछ। सूर्योदय पश्चात् एक एक घण्टाको अन्तरमा दायाँ र बायाँ स्वरहरू प्रवाहित भैरहन्छन्। एक स्वस्थ व्यक्तिको एक अहोरात्रमा २१,६०० पटक र प्रत्येक १ घण्टामा ९०० पटक श्वासको प्रवाह हुन्छ । स्वासप्रवाहभित्र पृथ्वी, जल, अग्नि, वायु र आकाश पाँच तत्त्वहरू पनि रहन्छन्। यी तत्त्वहरूमा क्रमैसँग आकाशमा कामको निषेध, अग्निमा सामान्य कार्य, वायुमा मारण, उच्चाटन, जलमा चरकर्म यात्रा आदि र पृथ्वीमा स्थिर कर्म, गृह, वास्तु, वृक्षरोपण आदि काम गर्दा शुभ हुन्छ। छोटो यात्रामा दायाँ र लामो यात्रामा बायाँ स्वरको प्रयोग गरी यात्रा आरम्भ गर्नुपर्दछ। जुन स्वरको उदय भएको छ, सोही खुट्टा उचालेर यात्रा प्रारम्भ गरेमा यात्रा सफल हुन्छ। विपरीत स्वर चलेको समयमा गरिएका कार्यहरूबाट हानिनोक्सानी, चिन्ता तथा लडाइँजस्ता अशुभ फल पाइन्छन्। तसर्थ स्वरलाई ध्यानपूर्वक व्यवहारमा उपयोग गर्न सके सदैव विजय र लाभको प्राप्ति हुन्छ। यसले मानिसलाई अस्थिरता, बेचैनी, रोग, धननाश, व्यर्थको यात्रा, आयुको क्षय, विध्वंस जस्ता अनर्थ र अशुभ तत्त्वबाट बचाउँछ। वर्तमान समयमा मानिस विभिन्न किसिमका रोग, शोक, महामारी, भ्रष्टाचारजस्ता अनेकौँ समस्याहरूबाट ग्रस्त भएको अवस्थामा सफलता र कार्यसिद्धिका लागि स्वरको उपयोग रामवाण बन्न सक्दछ। त्यसैले स्वरविज्ञानलाई सरल, सुबोध, अहिंस्रक, अनौषधी, व्ययरहित तथा समयको सदुपयोगी चिकित्सा पद्धति मानिन्छ।
सन्दर्भग्रन्थहरू
कवि, कालिदास, पूर्वकालामृत, वाराणसी : चौखम्बा सुरभारती प्रकाशन, सन् २००६।
कवि श्रीमन्नरपति, नरपति जयचर्यास्वरोदयः, वाराणसी : चौखम्बा संस्कृत संस्थान, सन् २००२।
खण्डेलवाल, पं.भवानी, स्वरोदय ज्ञान, …….. : श्री सरस्वती प्रकाशन (अज्ञात)
जोशी, श्रीकेदारदत्त, ज्योतिष मे स्वरविज्ञानका महत्त्व, द्वि.सं, दिल्ली : मोतीलाल बनारसीदास, सन् १९८२।
जोशी, केवलानन्द, नाडी ज्योतिष शास्त्र, दिल्ली : मनोज पब्लिकेशन्स, सन् २००३।
ज्योतिषतत्त्वाङ्क, (कल्याण, वर्ष ८८,जनवरी), गोरखपुर : गीताप्रेस, सन् २०१४।
जोशी, देवीदत्त, सुगमज्योतिष, वाराणसी : मोतिलाल बनारसीदास, प्र.सं, सन् १९२२।
झा, सुरकान्त, भारतीय ज्यौतिष विज्ञान, वाराणसी : चौखम्बा कृष्णदास अकादमी, सन् २०११।
ठाकुर, बाबुलाल, सचित्र ज्योतिष शिक्षा, मुहूर्त खण्ड, दिल्ली : नरेन्द्रप्रकाश जैन, मोतिलाल वनारसीदास, सन् १९७९।
स्वामी, हरिहर, स्वरशास्त्र, हरिद्वार : रणधीर प्रकाशन, सन् २०००।
दैवज्ञ, श्रीराम, मुहूर्त चिन्तामणि, वाराणसी : चौखम्बा सुरभारती प्रकाशन, सन् १९९७।
महर्षि वेदव्यास, गरुढ पुराण, (ने.टी. – मोहनराज उपाध्याय), वाराणसी : जय नेपाल प्रकाशन, वि.सं. २०४७
मिश्र, सत्येन्द्र , पञ्चस्वरा, दिल्ली : चौखम्बा संस्कृत प्रतिष्ठान, २००३।
मिश्र, राधेश्याम, लालकिताब, दिल्ली : राजा याँकेट बुक्स, सन् २०१३।
यशपाल, योगीराज, सिद्ध विद्या स्वरोदय विज्ञान, हरिद्वार : रणधीर प्रकाशन, सन् २००३।
शास्त्री, हरेकृष्ण, शिवस्वरोदयः, वाराणसी : श्रीठाकुरप्रसाद पुस्तक भण्डार, सन् १९९८।
श्रीदीनानाथ, सर्वसङ्ग्रह, बम्बई : खेमराज श्रीकृष्णदास प्रकाशन, सन् ११९९।