सुभाषचन्द्र न्यौपाने उपप्राध्यापक (नेपाली), महेन्द्र बहुमुखी क्याम्पस, धरान, त्रिभुवन विश्वविद्यालय । Email: subashneupane953@gmail.com लेखसार प्रस्तुत अध्ययनमा कवि लोकनाथ लुइटेलको श्रीभगवद्दर्शन सम्झना काव्यमा प्रयुक्त भाविक अलङ्कारको विश्लेषण गरिएको छ । वि.सं.२०६६ सालमा प्रकाशित भक्तिरसमा आधारित यात्रा वृत्तान्तको वर्णन भएको यस काव्यमा तीर्थयात्राका क्रममा आफू र आफ्नो यात्री टोलीमा समाविष्ट व्यक्तिहरूले अनुभव गरेका सुखात्मक अनुभवहरूको वर्णनका साथै […]
सुभाषचन्द्र न्यौपाने
उपप्राध्यापक (नेपाली), महेन्द्र बहुमुखी क्याम्पस, धरान, त्रिभुवन विश्वविद्यालय ।
Email: subashneupane953@gmail.com
लेखसार
प्रस्तुत अध्ययनमा कवि लोकनाथ लुइटेलको श्रीभगवद्दर्शन सम्झना काव्यमा प्रयुक्त भाविक अलङ्कारको विश्लेषण गरिएको छ । वि.सं.२०६६ सालमा प्रकाशित भक्तिरसमा आधारित यात्रा वृत्तान्तको वर्णन भएको यस काव्यमा तीर्थयात्राका क्रममा आफू र आफ्नो यात्री टोलीमा समाविष्ट व्यक्तिहरूले अनुभव गरेका सुखात्मक अनुभवहरूको वर्णनका साथै यात्राका क्रममा अनुभव गरेका विभिन्न स्थानहरूको सौन्दर्यपूर्ण वर्णन गरिएको छ । प्रस्तुत अध्ययनमा कवि लुइटेलको श्रीभवगद्ददर्शन सम्झना काव्यलाई प्राथमिक सामग्रीका रूपमा लिइएको छ भने यस काव्यका सन्दर्भमा प्रकाश पारी लेखिएका टीकाटिप्पणी तथा काव्यको भूमिकामा रहेका विचारहरूलाई द्वितीयक सामग्रीका रूपमा ग्रहण गरिएको छ। सामग्रीको विश्लेषणका क्रममा यात्रा वर्णनका सिलसिलामा आएका पद्यहरूमा प्रयुक्त भाविक अलङ्कारको स्थिति र त्यस अलङ्कारका माध्यमबाट काव्यमा उत्पन्न सौन्दर्य पक्षको वणर्नात्मक र विश्लेषणात्मक विधिको प्रयोग गरी प्रस्तुत लेखलाई पूणर्ता दिइएको छ।
शब्दकुञ्जी : तीर्थाटन, भगवत्कृपा, यात्रावृत्तान्त, आत्मतृप्ति।
विषय परिचय
कवि लोकनाथ लुइटेलको श्रीभगवद्दर्शन सम्झना काव्यमा प्रयुक्त भाविक अलङ्कारको विश्लेषण गर्नु नै प्रस्तुत लेखको मूल विषय हो । कवि लोकनाथ लुइटेल नेपाली तथा संस्कृत भाषामा कलम चलाउन सक्ने बौद्धिक रसमय कवि हुन् । संस्कृत भाषा र नेपाली भाषाका विविध विधामा छरिएको कवि लुइटेलको व्यक्तित्वको मेरुदण्ड भने कविताकाव्य नै हो। कवि लुइटेलका श्रीराम : शरणं मम (२०६५) काव्य, सरल पूजाविधि (२०७४), श्रीविष्णुव्रतामृतम् (२०७०) महाकाव्य, दर्शनसारमृतम् (२०७४) दार्शनिक ग्रन्थ जस्ता संस्कृत ग्रन्थहरूका साथै श्रीभगवद्दर्शन सम्झना (२०६६) काव्य र फुटकर कविताहरू नेपाली भाषामा प्रकाशित भएका छन्। यी संस्कृत ग्रन्थहरूमध्ये सरल पूजाविधि र दर्शनसारामृतम्लाई कवि स्वयम्ले नेपाली भाषामा अनुवाद गरेका छन्। यी विभिन्न सृजनाहरूमध्ये प्रस्तुत लेखमा कवि लुइटेलको श्रीभगवद्दर्शन सम्झना काव्यमा भाविक अलङ्कारको प्रयोग केकसरी भएको छ र यस अलङ्कारका माध्यमबाट कविको विचार र लेखन कला केकस्तो काव्यात्मक सौन्दर्यपूर्ण बन्नपुगेको छ भन्ने कुराको विश्लेषण गरिएको छ। कवि लुइटेलको प्रस्तुत काव्य प्रकाशन भएको एक दशकभन्दा बढी समय भए पनि यस काव्यका बारेमा समालोचनात्मक विश्लेषण नभएकाले प्रस्तुत अध्ययनमा केही मात्रामा भए पनि यस काव्यमा निहित सौन्दर्य पक्षमाथि प्रकाश पार्ने काम गरिएको छ।
समस्याकथन
कवि लोकनाथ लुइटेलको श्रीभगवद्दर्शन सम्झना काव्यको मूल विषय यात्रावृत्तान्तको वर्णन गर्नु हो। यात्रा वर्णनका क्रममा आएका विभिन्न वृत्तान्तहरूको प्रभावकारी चित्रणका लागि अर्थालङ्कारकाहरूको प्रयोग भएको पाइन्छ। अर्थालङ्कारअन्तर्गतका विभिन्न अलङ्कारहरूमध्ये प्रस्तुत अध्ययनमा भाविक अलङ्कारको प्रयोग केकसरी गरिएको छ र भाविक अलङ्कार प्रयोगका कारण कविताको कथ्य अर्थ केकस्तो कलात्मक बन्नपुगेको छ भन्ने कुरालाई नै प्रस्तुत अध्ययनमा मूल समस्या बनाइएको छ।
शोधको उद्देश्य
समस्याकथनमा उठाइएको समस्याको समाधान गर्नु नै प्रस्तुत अध्ययनको उद्देश्य हो। कवि लुइटेलको श्रीभगवद्दर्शन सम्झना काव्यमा भाविक अलङ्कारको प्रयोग केकसरी गरिएको छ र यस काव्यमा भाविक अलङ्कारको प्रयोगले काव्यको काव्यात्मक सौन्दर्यमा केकस्तो प्रभाव पारेको छ भन्ने कुराको विश्लेषण गर्नु नै प्रस्तुत अध्ययनको मूल उद्देश्य हो।
सीमाङ्कन
कवि लोकनाथ लुइटेलको श्रीभगवद्दर्शन सम्झना काव्यमा प्रयुक्त भाविक अलङ्कारको मात्र विश्लेषण गर्नु प्रस्तुत लेखको सीमा हो। यस काव्यमा अर्थालङ्कारअन्तर्गत परिकर, अतिशयोक्ति, स्वभावोक्ति, उपमा, रूपक, उदात्त, उत्प्रेक्षा, भाविक, भाविकच्छवि, लोकोक्ति, समुच्चय र विनोक्ति अलङ्कारको प्रयोग विभिन्न पद्यहरूमा गरिएको पाइन्छ। प्रस्तुत लेखमा यी सबै अलङ्कारहरूको विश्लेषण नगरी केवल भाविक अलङ्कारको मात्र विश्लेषण गर्नु यस अनुसन्धानको सीमा हो।
औचित्य
कवि लोकनाथ लुइटेलको श्रीभगवद्दर्शन सम्झना काव्यको अलङ्कारपरक विश्लेषण नभएकाले प्राज्ञिक क्षेत्रमा यस लेखको औचित्य देखिन्छ। काव्यकृतिको शृङ्गारका रूपमा रहेका विभिन्न अलङ्कारहरूमध्ये भूत र भविष्यत् कालका घटनालाई कवि लुइटेलले केकसरी वर्तमानवत् रूपमा प्रस्तुत गरेका छन् भन्ने कुराको ज्ञान गर्न चाहने पाठक, प्राज्ञिक वर्ग आदिलाई यस लेखले आवश्यक खुराक प्रदान गर्ने हुनाले प्रस्तुत लेखको औचित्य सिद्ध हुन्छ।
शोधविधि
शोधविधिअन्तर्गत सामग्री सङ्कलन र विश्लेषणविधि रहेका छन्। यी दुवै विधिहरूको चर्चा क्रमशः गरिएको छ।
सामग्री सङ्कलनविधि
प्रस्तुत लेखमा समस्याको समाधानका लागि कवि लोकनाथ लुइटेलको श्रीभगवद्दर्शन सम्झना काव्यलाई प्राथमिक सामग्रीका रूपमा उपयोग गरिएको छ भने यस काव्यका सम्बन्धमा प्रकाश पारी गरिएका टीकाटिप्पणी र भूमिकालाई द्वितीयक सामग्रीका रूपमा उपयोग गरिएको छ। यी सबै सामग्रीहरू पुस्तकालयमा नै प्राप्त हुने भएकाले पुस्तकालयीय विधिका आधारमा प्राप्त सामग्रीहरूको अध्ययन गरी विश्लेषण गरिएको छ।
विश्लेषणविधि
प्रस्तुत लेखलाई व्यवस्थित एवम् वस्तुगत रूपमा अगाडि बढाउनका लागि निगमनात्मक विधिको प्रयोग गरिएको छ। लोकनाथ लुइटेलको श्रीभगवद्दर्शन सम्झना काव्यलाई आधार बनाएर यस काव्यको अलङ्कारपरक विश्लेषण गरिएको छ। यस काव्यको व्याख्यात्मक र विश्लेषणत्मक रूपमा अलङ्कारपरक विश्लेषण गरी निष्कर्षमा पुगिएको छ।
विश्लेषण तथा परिणाम
प्रस्तुत काव्यको विश्लेषणका सन्दर्भमा सर्वप्रथम काव्य विश्लेषणको सैद्धान्तिक आधारका रूपमा रहेको भाविक अलङ्कारको चिनारीपछि यस काव्यमा प्रयुक्त भाविक अलङ्कारको विश्लेषण गरिएको छ।
भाविक अलङ्कार
भाविक अलङ्कारमा विगत र आगतका घटना सन्दर्भलाई प्रत्यक्ष रूपमा वर्णन गरिन्छ। भूतकाल तथा भविष्यत् कालका घटनाको वर्णन वर्तमानकालवत् प्रत्यक्षजस्तो गरिन्छ भने त्यस्तो अवस्थामा प्रकट हुने अलङ्कारलाई भाविक अलङ्कार भनिन्छ। हुनु अर्थको भू धातुमा इक् प्रत्यय लागेर बनेको भाविक शब्दको शाब्दिक अर्थ भने सत्तावान् रहनु भन्ने हुन्छ। यसमा कुनै भइसकेको अथवा हुनेवाला पदार्थबारे हालै प्रत्यक्ष रूपमा सत्तावान् रहेको छ भन्ने ढङ्गले वर्णन गरिन्छ। अथवा कुनै भूतकालिक एवम् भविष्यत्कालिक कुराको वर्तमानवत् वर्णन गरिएको हुन्छ। आचार्य भामहद्वारा पहिलो पल्ट विमर्श प्रारम्भ गरिएको यस अलङ्कारका सम्बन्धमा उनले भूत र भविष्यका कुरा प्रत्यक्षझैँ अनुभूति हुनुलाई भाविक अलङ्कारको संज्ञा दिएका छन् र यसलाई प्रबन्धगत अलङ्कारअन्तर्गत रहन सक्ने कुरा बताएका छन् (ई. १९३८, पृ.२४)। आचार्य उद्भटले भने यस अलङ्कारलाई चिनाउँदै त्यस्ता आश्चर्यजनक वस्तुहरू, जुन भूत र भविष्यत्सँग जोडिएका हुन्छन्, तिनलाई सुबोध ढङ्गबाट प्रत्यक्षजस्तै वर्णन गर्नु नै भाविक अलङ्कार हो भन्ने कुरा उल्लेख गरेका छन् (ई. १९२८, पृ.८५)। मम्मट, विश्वनाथ आदि अलङ्कारवादी आचार्यहरूले पनि यसै कुरालाई स्वीकार गरेका छन्। भावको अर्थ भावना हो। समाधि गर्नाले जसरी योगी समाधिका माध्यमबाट भूतकाल र भविष्यत् कालका घटनालाई प्रत्यक्ष देख्छन्, त्यसरी नै कविले पनि भूत र भविष्यत् कालका घटनाको प्रत्यक्ष वर्णन गर्दा भाविक अलङ्कार हुन्छ भन्ने विचार जयदेवको रहेको पाइन्छ (ई. १९९५, पृ.२०२)। यस अलङ्कारमा अप्रत्यक्ष घटनाको वर्णन प्रत्यक्ष रूपमा गरेर काव्यिक चमत्कार सिर्जना गरिएको हुन्छ।
श्रीभगवद्दर्शन सम्झना काव्यमा भाविक अलङ्कार
प्रस्तुत काव्य यस काव्यको शीर्षकबाट नै आरम्भ भएको छ। काव्यको पूर्वार्द्ध भागमा सत्तरी श्लोक र उत्तरार्द्ध भागमा एकसय छ श्लोक रहेका छन् भने अन्त्यमा ‘अन्नमहिमा’ शीर्षकको उपसंहार खण्डमा चौबीस श्लोक गरी जम्मा दुईसय श्लोकमा आबद्ध प्रस्तुत काव्यको संरचना खण्डकाव्य स्तरको देखिन्छ। यस काव्यमा रहेका दुईसय श्लोकमध्ये पूवार्द्धका सत्तरी श्लोक र उत्तरार्द्धका एकसय छ श्लोक शार्दूलविक्रीडित छन्दमा रचिएका छन् भने उपसंहारका रूपमा रहेका ‘अन्नमहिमा’ शीर्षकका अठार श्लोक वसन्ततिलका छन्दमा र छ श्लोक शार्दूलविक्रीडित छन्दमा आबद्ध छन्।
प्रस्तुत काव्यमा पूर्वार्द्धमा रहेका सत्तरी श्लोकमध्ये पच्चीसौँ, बाउन्नौँ, त्रिपन्नौँ, चवन्नौँ, पचपन्नौँ, सन्ताउन्नौँ, अन्ठाउन्नौँ, पैँसठ्ठीऔँ र सत्तरीऔँ श्लोकमा भाविक अलङ्कारको प्रयोग भएको पाइन्छ भने उत्तरार्द्धका एक सय छ श्लोकमध्ये पाँचौँ, नवौँ, बाइसौँ, पच्चीसौँ, तीसौँ, बत्तीसौँ, चवालीसौँ, चवन्नौँ, सन्ताउन्नौँ, अन्ठाउन्नौँ, एकहत्तरौँ, अठहत्तरौँ र सयौँ श्लोकमा भाविक अलङ्कारको प्रयोग भएको पाइन्छ। यस आधारमा हेर्दा प्रस्तुत काव्य भाविक अलङ्कार प्रयोगका दृष्टिले अलङ्कारपरक काव्यका रूपमा देखापर्छ।
लेखकसहित पैतालीस जनाको तीर्थयात्रीहरूको टोली भारतभूमिमा रहेका विभिन्न तीर्थस्थलहरूको दर्शनका लागि यात्रामा निस्किएको छ। यो टोली विभिन्न भूभागमा रहेका मठमन्दिर र दर्शनीय स्थलहरूको अवलोकन गर्दै र दर्शन गर्दै अघि बढ्ने क्रममा श्रीशिवकाञ्ची नामक नगरमा प्रवेश गरेपछि त्यहाँ पौराणिक युगका पात्र उमा तथा शिवलाई प्रत्यक्ष भेटेर दर्शन पाएको सुखानुभूति प्रस्तुत गर्ने क्रममा अभिव्यक्त निम्नलिखित पद्यमा भाविक अलङ्कार पर्नगएको छ :
पुग्यौँ श्रीशिवकाञ्चि दिव्य नगरी मध्याह्नमा झल्मल
पायौँ देख्न उमासमेत शिवको यात्रा बन्यो निर्मल।
श्री रामानुज पुज्यपाद गुरुको देखेर विद्यालय
आयो रावणको चरित्र मनमा लक्ष्मीशको आश्रय।। (पृ.६)
भगवान् तिरूपतिको दर्शनपछि मध्याह्नको समयमा श्री शिवकाञ्ची नामक दिव्य नगरीमा उमासहितका शिवलाई देख्न पाएपछि हाम्रो यात्रा अझ निर्मल बन्यो भन्ने सन्दर्भमा भूतकालिक पौराणिक पात्र उमा र शिवको वर्तमानमा प्रत्यक्ष दर्शन पाइएको कुराको वर्णन गरिएकाले यहाँ भाविक अलङ्कार पर्नगएको हो।
आफ्ना समूहका यात्री साथीहरूसँग यात्राका क्रममा शेषमाथि शयन गरेका सृष्टिकर्ता ब्रह्माको प्रत्यक्ष दर्शन गर्न पाएको विचार प्रस्तुत भएको निम्नलिखित पद्यमा भाविक अलङ्कार पर्नगएको छ :
लाग्यौँ दक्षिणमा पुग्यौँ तिरुमयं चट्टानको फेदमा
काटी शैल विचित्र भित्र कुनुमा देखेर यो सम्झना।
पाएँ दर्शन शेषमाथि भगवान् ब्रह्मा बसेका थिए
देवीदेव महर्षि थे वरिपरी बोल्छन् कि जस्ता थिए।। (पृ.११)
तीर्थयात्राका क्रममा तिरुमय चट्टानको फेदमा विभिन्न विचित्रका हिमाल कटेर गएपछि शेषमाथि बसेका ब्रह्माको दर्शन पाएँ भन्ने कथनमा संसारका निर्माण कर्ता सृष्टिको आरम्भका ब्रह्मालाई वर्तमानमा प्रत्यक्ष भेटेँ भनेर वर्णन गरिएकाले यहाँ भाविक अलङ्कार पर्नगएको हो।
भारतभूमिमा रहेका विभिन्न तीर्थस्थलहरूको दर्शनका क्रममा गोष्ठीपुरमा पुगेपछि नारायण, गणेश, अम्वारजीको प्रत्यक्ष दर्शन भएको र श्रीरामानुजले मन्त्रार्थ सुनाउनुभएको विषय प्रस्तुत गर्ने क्रममा अभिव्यक्त निम्नलिखित पद्यहरूमा भाविक अलङ्कारको प्रयोग भएको पाइन्छ :
हेर्दै भारत भू गुडेर सजिलै पुग्यौँ त्रिगोष्ठीपुरम्
पायौं दर्शन शेषमाथि सुतने श्री सौम्यनारायणम्।
गौरीपुत्र गणेश दर्शन भयो आम्वारजीको पनि
जोडी मूर्ति थिए त्यहाँ गरुडका नाचेसरी ती पनि।।
अग्लो सात तला चढेर पुगियो सानो छिडीँमा छिरी
श्रीरामानुजले सुनाउनुभयो मन्त्रार्थ प्रष्टै गरी।
सो रामानुजमूर्ति दर्शन भयो अट्टालिकामा बसी
गोष्ठीपूर्ण र अन्य मूर्ति जति छन् हेर्यौँ घुमी राम्ररी।। (पृ.१२)
भारतवर्षका भूखण्डहरूलाई गम्भीर रूपमा हेर्दै जाँदा पुगिएको त्रिगोष्ठीपुरमा सौम्य नारायणको दर्शन पायौं। नारायण भगवान् शेषमाथि सुत्नुभएको थियो। त्यहीँ हामीले गौरीपुत्र गणेश र आम्वारजीको पनि दर्शन पायौँ, जहाँ श्रीरामानुजले हामीलाई स्पष्टै रूपमा मन्त्रार्थ सुनाउनुभयो भन्ने अभिव्यक्तिमा भूतकालिक पौराणिक पात्रहरूलाई वर्तमानमा प्रत्यक्ष देखेको र तिनै पौराणिक पात्रले तीर्थयात्रीहरूलाई मन्त्रार्थ सुनाएको विषयवस्तु प्रस्तुत भएकाले यहाँ भाविक अलङ्कार पर्नगएको हो।
सागरको सौन्दर्यपूर्ण छटा अवलोकनपश्चात् तिरुपुल्लनी नगरमा पुगेर राम, लक्ष्मण र जगन्नाथको प्रत्यक्ष दर्शन गरेको सन्दर्भ प्रस्तुत गर्ने सन्दर्भमा अभिव्यक्त निम्नलिखित पद्यहरूमा भाविक अलङ्कारको प्रयोग भएको पाइन्छ :
शोभा सागरको छलाङ जलको देख्यौँ छटा सुन्दर
ओर्लियौँ तिरुपुल्लनी नगरमा देख्यौँ नयाँ गोपुर।
गर्थे श्रीरघुनाथ चिन्तन सदा सर्भासनैमा बसी
पायौं दर्शन राम लक्ष्मण दुवै देखी मनै भो खुसी।।
पायौँ दर्शन अन्य फेरि नजिकै लक्ष्मी जगन्नाथको
जस्ले दीन विभीषणै प्रतिकृपा पैले गरेको थियो।
अर्को भो रमणीय दर्शन अहा ! सौरम्य पद्मासनी
श्रद्धाले स्तुति गर्छ यो मनभरी सम्झेर आमा भनी।। (पृ.१२)
सागरमा जलको सुन्दर छलाङ् हेरेपछि हामी तिरुपुल्लनी नगरमा आर्लियौँ र त्यहाँ नयाँ गोपुर देख्यौँ। त्यहीँ श्रीरघुनाथ नित्य चिन्तनमा मग्न भएर तपस्या गर्थे। हामीले पनि त्यहीँ राम र लक्ष्मणको दर्शन पायौँ भने त्यसको नजिकै जगन्नाथको पनि दर्शन पायौँ भन्ने कुराको वर्णनमा भाविक अलङ्कारको प्रयोग भएको पाइन्छ। यहाँ पौराणिक युगका राम, लक्ष्मण र जगन्नाथको वर्तमानमा प्रत्यक्ष भेटेको कुराको वर्णन गरिएकाले भाविक अलङ्कार पर्नगएको हो।
रामेश्वरको तीर्थयात्राका क्रममा श्रीराम, हनुमान र मथुरामा शिव सुन्दरेश्वरको प्रत्यक्ष दर्शन पाएको कुरा अभिव्यक्त गर्दै प्रस्तुत भएका निम्नलिखित अभिव्यक्तिहरूमा भाविक अलङ्कार पर्नगएको देखिन्छ :
बाटामा पनि राम दर्शन भयो ढुङ्गा थियो उत्रने
पायौँ देख्न विचित्र वीर हनुमान् आकासलाई छुने।
श्रीरामेश्वर तीर्थ दर्शन गरौँ भन्ने इरादा भयो
यस्ता श्रीहरिको कृपा हुन गयो सो आज पूरा भयो।।
पुग्यौँ त्याँ मधुराइ दिव्यनगरी धेरै थिए गोपुर
देवीका अनि पार्सदादि गणका थे मूर्ति चारैतिर।
शीसा औ बिजुली जडी झिलिमिली द्यौता निवास स्थल
मीनाक्षी शिव सुन्दरेश्वर त्यहाँ देखेँ थियो झल्मल।। (पृ.१४)
प्रस्तुत पद्यहरूमा रामेश्वरको तीर्थ गर्ने क्रममा बाटामा रामको प्रत्यक्ष दर्शन भएको, आकाश छुनेजस्ता विचित्र वीर हनुमान्को प्रत्यक्ष दर्शन भएको र मधुरैमा पनि अनेक देवदेवीहरूको दर्शनका साथै सुन्दरेश्वर शिवको प्रत्यक्ष दर्शन पाएको वर्णनमा भाविक अलङ्कार पर्नगएको देखिन्छ। यहाँ पौराणिक युगका राम, हनुमान्, शिवजस्ता पात्रहरूलाई वर्तमानमा प्रत्यक्ष रूपमा देखेको वर्णन गरिएकाले भाविक अलङ्कार पर्नगएको हो।
प्रस्तुत काव्यको उत्तरार्द्ध खण्डमा पनि तीर्थाटनका सन्दर्भमा भगवान्का दिव्यमूर्तिहरूको दर्शनका क्रममा प्रस्तुत विभिन्न पद्यहरूमा भााविक अलङ्कारको प्रयोग भएको पाइन्छ। यस खण्डमा प्रयुक्त भाविक अलङ्कारको अवस्थालाई क्रमशः विश्लेषण गरिएको छ।
प्रस्तुत काव्यको उत्तरार्द्धमा यात्राका क्रममा सर्वप्रथम पुगिएको श्रीविल्लीपुत्तुरमा श्रीरङ्गनारायण लगायतका भगवान्हरूको प्रत्यक्ष दर्शन पाएको सन्दर्भको चर्चाका क्रममा भाविक अलङ्कारको प्रयोग भएको पाइन्छ :
श्रीविल्लीपुतुरं पुगेर पहिले श्रीरङ्ग्गनारायाण
गोदाको पनि जन्मभूमि तुलसीजीको भयो दर्शन।
पायौँ दर्शन चक्रराज भगवान् देखी प्रशस्नै भएँ
श्रीलक्ष्मी नरसिंह दर्शन गरी आनन्द मानी रहेँ।। (पृ.१७)
प्रस्तुत पद्यमा श्रीविल्लीपुत्तुर पुगेर उत्रिएपछि सर्वप्रथम श्रीरङ्ग्गनारायणलगायतका भगवान्को प्रत्यक्ष दर्शन पाएको सन्दर्भको वर्णनका क्रममा भाविक अलङ्कारको प्रयोग भएको पाइएको, श्रीरामचरितमानस(रामायण)का सर्जक तुलसीदासको प्रत्यक्ष दर्शन पाएको, चक्रराज भगवान्को प्रत्यक्ष दर्शन पाइएको र नरसिंह भगवान्को दर्शन गरी आनन्दका साथ त्यस ठाउँको यात्रा पूर्ण गरेको विषयको वर्णनका क्रममा पौराणिक युगका पात्रहरू श्रीरङ्गनारायण, नरसिंह, चक्रराजको प्रत्यक्ष दर्शन पाएको र धेरै काल अघिका तुलसीदासको पनि प्रत्यक्ष दर्शन भएको सन्दर्भ आएकाले यहाँ भाविक अलङ्कार पर्नगएको हो।
भारतीय विभिन्न भूभागहरूको तीर्थयात्राकै क्रममा चारमुखे ब्रह्माका साथै शिव र लक्ष्मीको प्रत्यक्ष दर्शन पाइएको सन्दर्भ प्रस्तुत गर्ने क्रममा प्रयुक्त निम्नलिखित पद्यमा भाविक अलङ्कारको प्रयोग भएको पाइन्छ :
ब्रह्मा चारमुखे थिए र शिवजी नाच्तै गरेका थिए
भव्यै छन् शिवलिङ्ग देवहरू छन् जो राम्ररी देखिए।
देख्यौँ श्रीपुरुषोत्तमाख्य भगवान् लक्ष्मी थिइन् पाउमा
शान्ताकार सुरूप राख्न मनमा गर्दैछु यो वन्दना।। (पृ.१७)
प्रस्तुत पद्यमा चार मुख भएका ब्रह्मा र नाच्तै गरेका शिवजीलगायत अन्य देवताहरू जो जो थिए, ती सबै राम्ररी नै देखिए, त्यहाँ पुरुषोत्तम भगवान् र उनको पाउमा रहेकी लक्ष्मीको पनि प्रत्यक्ष दर्शन भयो, ती शान्ताकार भगवान्हरूको स्मृति ताजा रहोस् भनेर वन्दनास्वरूप यो चित्र उतार्दै छु भन्ने कविको कथनमा पौराणिक युगका पात्रहरू तथा उनीहरूका क्रियाकलापलाई प्रत्यक्षवत् वर्तमानमा वर्णन गरिएकाले भाविक अलङ्कार पर्नगएको हो।
तीर्थयात्राका क्रममा वेल्लोर तथा चन्चनकट्ट गाउँमा पुग्दा श्रीलक्ष्मीनारायण भगवान्को प्रत्यक्ष दर्शन पाएका कुराको वर्णनका क्रममा आएका तलका पद्यहरूमा भाविक अलङ्कारको प्रयोग भएको पाइन्छ :
वेल्लोर्ग्राम पुगेर वास गरियो राम्रो थियो आश्रम
जो श्रीवैष्णव धर्मगोष्ठ मठमा बस्तै हटीगो श्रम।
पायौँ दर्शन दिव्यरूप भगवान् लक्ष्मी र नारायण
यो हाम्रो मनमा सधैँ स्मृतिरहोस् गर्दैछु यो वन्दना।।
जस्ले द्वादश वर्षसम्म पहिले ठूलो तपस्या गरे
सिद्धि प्राप्त गरेर पुण्य बलले उद्धार पूरा गरे।
पायौँ देख्न नृसिंहरूप भगवान् लक्ष्मीसँगै हर्षले
बस्ने वास रचिन् कुनै लमजुँगे श्रीजानकी माइले।। (पृ.२०/२१)
प्रस्तुत पद्यहरूमा भारतका विभिन्न ठाउँहरूको तीर्थयात्राका क्रममा वेल्लोर गाउँ पुगेर आश्रममा बास बस्ने क्रममा वैष्ठव धर्मका आराध्यदेव भगवान् लक्ष्मीनारायणको प्रत्यक्ष दर्शन भयो भने तिनै भगवान्को नृसिंहरूपको दर्शन पनि प्राप्त भयो भन्ने सन्दर्भमा पौराणिक पात्रहरू लक्ष्मीनारायणको वर्तमानमा प्रत्यक्ष दर्शन भएको विषय वर्णनले भाविक अलङ्कार पर्नगएको हो।
तीर्थयात्रा गर्दै जाँदा श्रीकृष्ण र उनका साथमा रहेकी रुक्मिणीको पनि प्रत्यक्ष दर्शन पाइएको कुरा अभिव्यक्त गर्ने क्रममा प्रकट भएको तलको पद्यमा भाविक अलङ्कारको प्रयोग भएको पाइन्छ :
अर्को मन्दिर पार्थसूत बनिने श्रीकृष्ण वंशीधर
भू लक्ष्मी अनि रुक्मिणी र करमा वंशी थियो सुन्दर।
यो निर्माण उनै युधिष्ठिर हुँदा पूरा गरेको थियो
ज्यादै प्रौढ हुँदा पुरानत भनी सङ्केत यस्तो थियो।। (पृ.२२)
यात्राकै क्रममा हामीले अर्को मन्दिर पनि देख्यौँ। त्यहाँ हातमा वंशी लिएका श्रीकृष्ण थिए । उनका साथमा रुक्मिणी पनि थिइन् भनेर द्वापरयुगका श्रीकृष्ण र रुक्मिणीको प्रत्यक्ष दर्शन वर्तमानमा भएको कुरा वर्णन गरिएकाले यहाँ भाविक अलङ्कार पर्नगएको हो।
आफ्ना सहकर्मी यात्रीहरूसँग यात्रा गर्ने क्रममा गुण्डलपेड नाम गरेको नगरमा पुग्दा भगवान् वासुदेव तथा उनका सेवकहरूको प्रत्यक्ष दर्शन भएको कुरा वर्णन गर्ने क्रममा प्रस्तुत गरिएको निम्नलिखित पद्यमा भाविक अलङ्कारको प्रयोग भएको पाइन्छ :
पुग्यौँ गुण्डलपेड नाम नगरी पायौँ ठुलो मन्दिर
देख्यौँ श्रीपरवासुदेव भगवान् श्रीभूसँगै सुन्दर।
गर्छन् स्नेह सधैँ झुकेर कमलावल्ली र आण्डालजी
विश्वात्मा विजयी बनेर रहने देख्यौँ उनै कृष्णजी।। (पृ.२४)
प्रस्तुत पद्यमा तीर्थयात्राका क्रममा गुण्डलपेड नाम गरेको नगरमा पुग्दा त्यहाँ श्रीवासुदेव भगवान्, कमलावल्ली र आण्डालजी तथा श्रीकृष्णको दर्शन प्रत्यक्ष रूपमा पाएका कुराको वर्णनले यहाँ भाविक अलङ्कार पर्नगएको देखिन्छ। पौराणिक सभ्यताका पात्रहरूलाई यहाँ प्रत्यक्ष रूपमा दर्शन गरिएको कुरा वर्णन गरिएकाले भाविक अलङ्कार भएको हो।
विभिन्न तीर्थस्थलहरूको यात्राका क्रममा अहम्वादमा पुग्दा त्यहाँ विष्णु र रमाको साक्षात् दर्शन पाइएको सन्दर्भ अभिव्यक्त गर्ने क्रममा प्रयुक्त निम्नलिखित पद्यमा भाविक अलङ्कारको प्रयोग भएको पाइन्छ :
गोलाकार सिलिङ् विचित्र कृतिको अत्यन्त शोभा दिने
द्यौता मूर्तिकला विशेषहरूले सौन्दर्य झल्काउने।
गौरी शोभित सोमनाथ भगवान् लिङ्गेशको रूपमा
देखेँ विष्णु रमा स्वरूप रहने आनन्द मुद्रा त्यहाँ।। (पृ.२६)
प्रस्तुत पद्यमा गोलाकार विचित्र शोभादायक मन्दिरभित्र लिङ्गेश्वरका रूपमा आनन्द मुद्रामा बसेका भगवान् सोमनाथ (शिवजी), विष्णु र रमालाई देखेँ भन्ने सन्दर्भमा भाविक अलङ्कार पर्नगएको देखिन्छ। यहाँ पौराणिक पात्रहरू सृष्टिको प्रारम्भिक अवस्थाका भगवान् विष्णु र रमा अनि गौरीसहित शङ्करजी लिङ्गेश्वरका रूपमा रहेको प्रत्यक्ष देखेको कुरा आएकाले यहाँ भाविक अलङ्कार पर्नभएको हो।
आफ्ना तीर्थयात्रीसँगको पैंतालीस दिने यात्राका क्रममा श्रीभाल तीर्थमा पुग्दा भगवान् हरिको पाउमा वाण लागेर उनी रगताम्य र घाइते अवस्था देखिएका अवस्थाको वर्णनका क्रममा आएको निम्नलिखित पद्यमा भाविक अलङ्कारको प्रयोग भएको पाइन्छ :
व्याधाको शर लागदा रगतका धारा बहेका थिए
जोडी हात दुवै नुहेर शिरले व्याधा बसेका थिए।
पाऊँ माफ भनी पुकार गरने त्यस्मा कृपा बक्सियो
सारा पाप समाप्त गर्दिनुभयो श्रीधाम दी बक्सियो।। (पृ.२७)
प्रस्तुत पद्यमा व्याधाको वाण लागेर रगतधारा बगिरहेको श्रीहरिको अवस्था र त्यहीँ हात जोडेर व्याधाले माफी मागिरहेको कुरा प्रत्यक्ष यथार्थ रूपमा वर्णन गरिएकाले यहाँ भाविक अलङ्कारको प्रयोग भएको देखिन्छ। श्रीकृष्ण भगवान्को देहत्यागको पौराणिक सन्दर्भलाई यहाँ प्रत्यक्ष रूपमा चित्रण गरिएकाले भाविक अलङ्कार पर्नगएको हो।
तीर्थानटका क्रममा द्वारकापुरमा पुगेका समयमा कृष्ण, रुक्मिणी र दुर्वासा ऋषिलाई प्रत्यक्ष भेटेको सन्दर्भ प्रस्तुत गर्ने क्रममा आएको यस पद्यमा भाविक अलङ्कारको प्रयोग भएको पाइन्छ :
दुर्वासा ऋषिजी बसेर रथमा जाँदै गरेका थिए
बोक्ने कृष्ण र रुक्मिणी रथ दुवै गुड्काउँदै नै थिए।
तीर्खाले जब रुक्मिणी शिथिल भै हे कृष्ण ! पानी भनिन्
पाऊले धरती त्यहीँ थिचिदिँदा निस्क्यो र पानी पिइन्।। (पृ.३०)
तीर्थयात्राका क्रममा द्वारका पुग्दा श्रीकृष्ण र रुक्मिणीको रथयात्रा हुँदै थियो। दुर्वासा ऋषि सारथी बनेका थिए। श्रीकृष्ण र रुक्मिणी रथमा विराजमान थिए। त्यही बेला रुक्मिणीले आफू प्यासले व्याकुल भएको कुरा बताइन्। श्रीकृष्णले तत्कालै धरतीलाई पाउले थिचेर पानी निकाल्नुभयो र त्यही पानी रुक्मिणीले पिइन् भन्ने विषयको वर्णनमा पौराणिक युगका पात्र र घटनालाई प्रत्यक्ष रूपमा वर्तमानवत् वर्णन गरिएकाले यहाँ भाविक अलङ्कार पर्नगएको हो।
यात्राका क्रममा पहाडको शिखरमा विभिन्न देवीहरूको प्रत्यक्ष दर्शन भएको सन्दर्भ प्रस्तुत गर्ने क्रममा अभिव्यक्त निम्नलिखित पद्यमा भाविक अलङ्कार पर्नगएको पाइन्छ :
गोदाम्बा र रमा समेत भगवान् श्रीरङ्गनाथ प्रभु
श्रीवैकुण्ठ रमा त्यही तिरुमल जो विश्वमा नै विभु।
सावित्री र सरस्वती भगवती ब्रह्मा त्रिशक्तीश्वरी
ज्यादै उच्च पहाडको शिखरमा देखी मनै भो भरी।। (पृ.३१)
विभिन्न तीर्थस्थलहरूको यात्राका क्रममा पहाडको उच्च शिखरमा गोदम्बा, रमा, भगवान् श्रीरङ्गनाथ, सावित्री, सरस्वती र ब्रह्मासमेतको प्रत्यक्ष दर्शन पाइएको कुरा यहाँ वर्णन गरिएकाले भाविक अलङ्कार पर्नगएको देखिन्छ। पौराणिक कालका पात्रहरूलाई यहाँ वर्तमानमा प्रत्यक्ष भेटिएको र मनै आनन्दित भएको कुरा आएकाले भाविक अलङ्कार हुनगएको हो।
भारतभूमिमा रहेका विभिन्न तीर्थस्थलहरूको दर्शनका क्रममा गोकुल पुग्दा त्यहाँ यशोमति र नन्दबाबाको प्रत्यक्ष दर्शन पाइएको कुरा उल्लेख गर्ने क्रममा प्रस्तुत गरिएको निम्नलिखित पद्यमा भाविक अलङ्कार पर्नगएको देखिन्छ :
द्यौता दर्शन अन्त्यमा अरु नयाँ विद्युत्प्रसंचालिनी
लीला कृष्णसुधा बगाइरहने आनन्द संवर्धिनी।
मिल्यो गोकुलमा यशोमति तथा श्रीनन्दको दर्शन
पायौँ बालमुकुन्द दर्शन अहा ! सानन्द भो यो मन।। (पृ.३२)
तीर्थयात्राको क्रम गोकुलमा पुगेको छ। गोकुलमा रहेका विभिन्न तीर्थस्थलहरूको दर्शनका क्रममा यशोमति माता र नन्दबाबा, बालमुकुन्दलाई प्रत्यक्ष भेटेर दर्शन गर्न पाएको र त्यसैले मन आनन्दित भएका कुराको वर्णनमा भाविक अलङ्कार हुनपुगेको देखिन्छ। यहाँ पौराणिक युगका पात्रहरू र त्यस समयका कार्यहरुको वर्तमानवत् यथार्थ रूपमा चित्रण गरिएकाले भाविक अलङ्कार पर्नगएको हो।
निष्कर्ष
कवि लोकनाथ लुइटेलको श्रीभगवद्दर्शन सम्झना काव्यमा अर्थालङ्कार वर्गका विभिन्न अलङ्कारहरूको प्रयोग भएको पाइन्छ। विभिन्न अर्थालङ्कारहरूमध्ये यस काव्यमा प्रयुक्त भाविक अलङ्कारका माध्यमबाट तीर्थयात्रीहरूले विभिन्न स्थानमा दर्शन गरेका भगवान्का मूर्तिहरूलाई मूर्तिका रूपमा नभएर साक्षात भगवान्का रूपमा प्रस्तुत गरिएको छ। खास गरी तीर्थयात्रीहरू वैष्णव सम्प्रदायसँग सम्बन्धित भएकाले सबै तीर्थयात्रीहरूले श्रीनारायण भगवान्लाई विभिन्न स्वरूपमा दर्शन गर्न पाएकोमा आफू धन्य भएको विचार प्रकट गरेका छन्। प्रस्तुत काव्यमा भाविक अलङ्कारका माध्यमबाट पौराणिक सभ्यतामा प्रसिद्ध रहेका देवदेवीहरूलाई मानवले प्रत्यक्ष रूपमा दर्शन पाउँदा दिव्य सुखानुभूतिको अनुभव गर्नपुग्छन् र ती देवदवीहरू सामान्य भगवान्का मूर्तिका रूपमा नभएर ईश्वरीय स्वरूपमा प्रत्यक्ष दर्शन पाएको आभासले सबै तीर्थयात्रीहरू कृत्यकृत्य भई जीवन सार्थक, परिपूर्ण र तृप्त भएको अनुभव गरी आफूलाई परमानन्द प्राप्त भएकोमा कृतार्थ भएका छन्। यिनै तीर्थयात्रीहरूको तीर्थाटन पूर्ण सन्तुष्टिका साथ पूरा भएको र आफ्नो जीवन भगवान्को साक्षात दर्शनले पूर्ण भएको विचार अभिव्यक्त गर्नका लागि भाविक अलङ्कारको सुन्दर प्रयोग गरिएको पाइन्छ।
सन्दर्भसामग्री
उद्भट, (ई.१९२८). काव्यालङ्कार सङ्ग्रह. (द्वितीय संस्करण), …… : पाण्डरङ्ग जावजी।
घिमिरे, टेकनाथ (२०६६) ‘श्रीभगवद्दर्शन सम्झना काव्य र कवि एक अध्ययन’, भित्र पण्डित श्री लोकनाथ लुइटेल स्मृति ग्रन्थ (सम्पा.), धरान : पं.श्री लोकनाथ लुइटेल स्मृति प्रतिष्ठान।
जयदेव, (ई.१९९५). चन्द्रालोक. श्रीकृष्णमणि त्रिपाठी (व्याख्याकार), वाराणसी : चौखम्बा सुरभारती प्रकाशन।
पोखरेल, कमलप्रसाद (२०६६) ‘तीर्थयात्रा संस्मरण’, भित्र श्रीभगवद्दर्शन सम्झना, लेखक लोकनाथ लुइटेल, धरान : तीर्थयात्री समूह।
भामह, (ई.१९३८). काव्यालङ्कार (द्वितीय संस्करण). दिल्ली : चौखम्बा संस्कृत संस्थान।
मिश्र, भवानीप्रसाद (२०७६) पण्डित श्री लोकनाथ लुइटेल स्मृति ग्रन्थ (सम्पा.), धरान : पं.श्री लोकनाथ लुइटेल स्मृति प्रतिष्ठान।
मिश्र, भवानीप्रसाद (२०७६) ‘पण्डित श्री लोकनाथ लुइटेलको सङ्क्षिप्त जीवनचरित्र’, भित्र पण्डित श्री लोकनाथ लुइटेल स्मृति ग्रन्थ (सम्पा.), धरान : पं.श्री लोकनाथ लुइटेल स्मृति प्रतिष्ठान।
लुइटेल, लोकनाथ (२०६६) श्रीभगवद्दर्शन सम्झना, धरान : तीर्थयात्री समूह।