डा.रघुनाथ नेपाल उपप्राध्यापक (न्यायविभाग), विश्वविद्यालय विद्यापीठ, दाङ, नेपाल संस्कृत विश्वविद्यालय। Email: nepal_raghu@yahoo.com सारांश पॏरस्त्य दर्शनमा सांसारिक दुःखबाट निवृत्त हुनका लागि कर्म, ज्ञान र उपासनालाई साधन मानिएको छ। अध्यात्मप्रधान वेदान्त दर्शनको मूल उपनिषद् हो भने त्यसमा भएका परस्पर विरोधी अथवा अस्पष्ट वाक्यहरूलाई समन्वयपूर्वक स्पष्ट पार्न ब्रह्मसूत्रहरूको स्थापना भएको हो। अतिसङ्क्षिप्त ती सूत्रहरूलाई शङ्कर, रामानुज आदि अचार्यहरूले […]
डा.रघुनाथ नेपाल
उपप्राध्यापक (न्यायविभाग), विश्वविद्यालय विद्यापीठ, दाङ, नेपाल संस्कृत विश्वविद्यालय।
Email: nepal_raghu@yahoo.com
सारांश
पॏरस्त्य दर्शनमा सांसारिक दुःखबाट निवृत्त हुनका लागि कर्म, ज्ञान र उपासनालाई साधन मानिएको छ। अध्यात्मप्रधान वेदान्त दर्शनको मूल उपनिषद् हो भने त्यसमा भएका परस्पर विरोधी अथवा अस्पष्ट वाक्यहरूलाई समन्वयपूर्वक स्पष्ट पार्न ब्रह्मसूत्रहरूको स्थापना भएको हो। अतिसङ्क्षिप्त ती सूत्रहरूलाई शङ्कर, रामानुज आदि अचार्यहरूले व्याख्या गरे। ज्ञानमार्गका रूपमा प्रसिद्ध शङ्कराचार्यको दर्शनलाई अद्वैत भनिन्छ भने उपासना(भक्ति)मार्गलाई मोक्षको साधनका रूपमा प्रतिपादन गर्ने आचार्य रामानुजको वेदान्त सिद्धान्तलाई विशिष्टाद्वैत भनिन्छ। तत्त्वत्रयवादमा आधारित चित् (जीव) र अचित्र (जड) परब्रह्मका अधीनमा रहने तत्त्व हुन् र ब्रह्म चित् र अचित् दुवै तत्त्वले विशिष्ट एक छ भन्ने मान्यता नै विशिष्टाद्वैत सिद्धान्त हो, जसलाई यस आलेखमा स्पष्ट पार्ने प्रयत्न गरिएको छ।
शब्दकुञ्जी– दर्शन, वेदान्त, चित्, अचित्, ईश्वर, विशिष्टाद्वैत, मोक्ष।
विषयप्रवेश
यो संसार जड-चेतनात्मक छ। प्रत्येक वस्तुको बाहिरी आकार जडरूप हुन्छ भने त्यसलाई परिचालन गर्ने भित्री शक्ति चेतनरूप हुन्छ। जस्तै : यो देखिएको हाम्रो शरीर जड हो भने यसलाई परिचालन गर्ने तत्त्व चेतन हो। यसरी सरसर्ती हेर्दा तत्त्वद्वय(जड प्रकृति र चेतन आत्मा)वाद सिद्ध हुन्छ। तर यो भित्री अव्यक्त चेतन तत्त्व पनि दुई प्रकारको छ – एक पराधीन, अल्पशक्ति, अल्पज्ञ चेतन, जसलाई जीवात्मा भनिन्छ भने अर्को स्वतन्त्र, सर्वशक्तिमान्, सर्वज्ञ चेतन, जसलाई परब्रह्म परमात्मा भनिन्छ। यसरी तत्त्वत्रय (प्रकृति, जीव र ईश्वर)वाद नै तर्कसम्मत र शास्त्रसम्मत छ। वेदादि शास्त्रले भनेका पनि छन् – भोक्ता भोग्यं प्रेरितारञ्च मत्वा इत्यादि।
भगवद्-रामानुजाचार्यद्वारा प्रतिपादित वेदान्त-सिद्धान्तलाई विशिष्टाद्वैत वेदान्त-सिद्धान्त भनिन्छ। वेदको अन्तिम भाग उपनिषद्लाई वेदान्त भनिन्छ। उपनिषद् वाक्यहरूको अर्थ स्पष्ट गर्न महर्षि बादरायणले ब्रह्मसूत्रको रचना गर्नुभयो। यी ब्रह्मसूत्रहरूको विवरण गर्ने बोधायन आदि धेरै आचार्यहरू हुनुभयो। उहाँहरूद्वारा रचित प्राचीन बोधायनवृत्ति आदि भए तापनि कालान्तरमा लुप्तप्रायः भएको बेला आजभन्दा लगभग १२०० वर्षपूर्व(८औँ शताब्दी) श्रीशङ्कराचार्यले ब्रह्मसूत्रको भाष्य लेखेर अद्वैत वेदान्त सिद्धान्तको प्रतिपादन गर्नुभयो। तर अद्वैत वेदान्तमा अद्वैत परक श्रुतिको मात्र सामञ्जस्य हुने र द्वैत श्रुतिको बाध हुने भएकाले शङ्कराचार्यपछि १०औँ शताब्दीमा क्रमशः आएका भास्कराचार्य एवम् यादवप्रकाशले भेदाभेदवाद(द्वैताद्वैत वेदान्त सिद्धान्त)को प्रतिपादन गरे। उनीहरूले द्वैत एवम् अद्वैत दुवै श्रुतिवाक्यको समन्वय गर्न खोजेको भए तापनि घुमाउरो तरिकाले अद्वैतमा नै समर्थन गर्दै अस्पष्ट अर्थ प्रतिपादन गरे। अतः त्यसपछि ११औँ शताब्दीको अरम्भमा आउनुभएका शेषावतार श्रीरामानुजाचार्यले समग्र श्रुतिको वास्तविक अर्थ स्पष्ट पार्नुभयो। वेद र त्यसका विवरणहरू स्मृति, पुराण, इतिहासहरूमा स्पष्ट रूपमा द्वैत एवम् अद्वैत श्रुतिहरूको समन्वय गर्ने घटक श्रुति(समन्वयात्मक श्रुति)लाई आधार बनाएर महर्षि बोधायन आदि आचार्यले उपनिषद् र ब्रह्मसूत्रको विवरण गरेको कुरा परम्पराबाट अवगत भएपछि श्रीरामानुजाचार्यले त्यसलाई नै आधार बनाएर सम्पूर्ण उपनिषद्को सारार्थरूप वेदार्थसङ्ग्रह र ब्रह्मसूत्रको भाष्य(श्रीभाष्य)को रचना गर्नुभयो। त्यसरी नै प्रस्थानत्रयीका रूपमा प्रसिद्ध उपनिषद्, ब्रह्मसूत्र र गीतामध्ये गीतामा पनि श्रीरामानुजाचार्यले विशेष भाष्य लेख्नुभयो। यी तीन (वेदार्थसङ्ग्रह, श्रीभाष्य र गीताभाष्य) ग्रन्थहरूका माध्यमले समग्र शास्त्रको सार प्रतिपादन गर्नुभयो उहाँले। जीव, प्रकृति र ईश्वरको यथार्थ स्वरूप निरूपण गरी तत्त्वत्रयवादलाई स्पष्ट पार्दै जीव र प्रकृति ईश्वर(ब्रह्म)का शेष, अंश र विशेषण हुन् भने ईश्वर ती दुईको शेषी, अंशी र विशेष्य हो, अतः जीव र प्रकृतिरूप विशेषणले युक्त भएको विशेष्य ईश्वर एक अर्थात् अद्वैत छ। विशेषणयुक्तलाई विशिष्ट भनिन्छ र त्यस्तो जीवविशिष्ट र प्रकृतिविशिष्ट ब्रह्म एक – अद्वैत छ भन्ने कुराको स्पष्ट व्याख्या गर्नुभयो। यसरी विशिष्ट अद्वैत नै विशिष्टाद्वैत हो र विशिष्टाद्वैतको सिद्धान्तलाई विशिष्टाद्वैत सिद्धान्त भनिन्छ। यस प्रकार श्रीरामानुजाचार्यले प्रतिपादन गरेको यस वेदान्त सिद्धान्तलाई विशिष्टाद्वैत वेदान्त सिद्धान्त भनिन्छ।
समस्याकथन
पूर्वीय वाङ्मयमा महत्त्वपूर्ण स्थान भएको वेदान्त दर्शनका विभिन्न भेदहरू छन्। तिनीहरूमध्ये विशिष्टाद्वैत दर्शन अन्यतम हो। यस दर्शनका मुख्य प्रतिपाद्य विषयहरूलाई नै यहाँ समस्याका रूपमा प्रस्तुत गरिएको छ। तत्सम्बद्ध समस्याहरू निम्नानुसार प्रस्तुत गरिएका छन् –
१. विशिष्टाद्वैत दर्शनको परिचय के हो ?
२. विशिष्टाद्वैत दर्शनमा कति तत्त्वहरू वर्णित छन् ?
३. विशिष्टाद्वैत दर्शनमा इश्वर र मोक्षको स्वरूप कसरी प्रतिपादन गरिएको छ ?
उद्देश्य निर्धारण
समस्या कथनमा व्यक्त गरिएका समस्याहरूको समुचित समाधान प्रस्तुत गर्नु नै यसको उद्देश्य हो, जसलाई यस प्रकार उपस्थापन गरिएको छ –
१. विशिष्टाद्वैत दर्शनको परिचय प्रस्तुत गर्नु,
२. विशिष्टाद्वैत दर्शनले स्वीकार गरेका तत्त्वहरूको वर्णन गर्नु,
३. विशिष्टाद्वैत दर्शनका आधारमा ईश्वर र मोक्षको स्वरूपको सङ्क्षिप्त रूपमा प्रतिपादन गर्नु।
अनुसन्धान विधि
अनुसन्धेय विषयको सूक्ष्म रूपमा विश्लेषण गरी तत्त्व प्रतिपादन गर्नका लागि अनुसन्धान विधि अनिवार्य कुरा हो। यहाँ सामग्री सङ्कलनका क्रममा प्राथमिक स्रोतका रूपमा यस दर्शनका मूल ग्रन्थ र द्वितीयक स्रोतका रूपमा यस दर्शनका टीका, उपटीका ग्रन्थहरूको सहयोग लिइएको छ। उक्त ग्रन्थहरू पुस्तकालयीय माध्यमले उपयोगमा ल्याइएको छ र व्याख्या एवम् विश्लेषण गरी निष्कर्ष निकालिएको छ।
विशिष्टाद्वैत शब्दार्थ विवरण
प्रामाणिक रूपले परिगृहीत अर्थलाई सिद्धान्त वा मत भनिन्छ। द्वयोर्भावः द्विता, द्वितैव द्वैतम् यस व्युत्पत्तिअनुसार द्वैत शब्दको अर्थ द्वित्व वा भेद भन्ने हुन्छ अर्थात् परस्पर भिन्न अनेक तत्त्वहरूको अस्तित्व स्वीकार्नु द्वैत हो। न द्वैतम् अद्वैतम् अर्थात् तत्त्वहरूको भेदलाई स्वीकार नगरेर अभेदलाई स्विकार गर्नु अद्वैत हो। विशिष्टस्य अद्वैतं विशिष्टाद्वैतम् अर्थात् विशिष्टको एकत्व स्वीकार गर्नु विशिष्टाद्वैत हो। विशिष्टाद्वैत शब्दको अर्थ हो – चिदचिद् विशिष्ट ब्रह्म। उक्त चिदचिद् विशिष्ट ब्रह्मको एक मात्र सत्ता स्वीकार गरेकाले नै श्रीरामानुज-वेदान्त विशिष्टाद्वैत सिद्धान्तका रूपमा परिचित बन्न पुगेको छ।
वास्तवमा चित् (जीव), अचित् (जगत्) तथा ईश्वर, यी तीन तत्त्वमा चित् र अचित् यी दुई तत्त्वहरूको स्वतन्त्र सत्तालाई स्वीकार नगरेर ब्रह्मको मात्र स्वतन्त्र सत्ता स्वीकार गर्ने अद्वैत सिद्धान्त अनि उक्त तत्त्वत्रयकै स्वतन्त्र-स्वतन्त्र सत्ता स्वीकार गर्ने द्वैत सिद्धान्तभन्दा भिन्न ईश्वराधीन चिदचिद्ले विशिष्ट भएको स्वतन्त्र ब्रह्मको सत्ता मान्नु नै विशिष्टाद्वैत हो। चित् र अचित् दुवैको स्वतन्त्र सत्ता स्वीकार गरे तापनि ती दुवै ब्रह्मका शरीररूप विशेषण भएकाले चिदचिद् विशिष्ट ब्रह्मको मात्र अद्वैतता स्वीकार गरिएकाले यस सिद्धान्तको नाम विशष्टाद्वैत रहन गएको हो।
द्वयोर्भावो द्विता, द्वितैव द्वैतम्, न द्वैतम् अद्वैतम्। विशिष्टञ्चेदमद्वैतं विशिष्टाद्वैतम्। अथवा विशिष्टञ्च विशिष्टञ्च विशिष्टे, विशिष्टयोरद्वैतं विशिष्टाद्वैतम्।
उक्त व्युत्पत्तिलभ्य अर्थअनुसार सूक्ष्म चिदचिद्विशिष्ट कारण ब्रह्म तथा स्थूल चिदचिद्विशिष्ट कार्य ब्रह्मको अद्वैत(अभेद)लाई विशिष्टाद्वैत भनिन्छ अर्थात् सृष्टिपूर्व सूक्ष्म चिद् (आत्मा वा जीव) र सूक्ष्म अचित् (प्रकृति) विशिष्ट ईश्वर कारणरूप हुनुहुन्छ भने सृष्टिदशामा स्थूलचिदचिद्विशिष्ट ईश्वर कार्यरूप हुनुहुन्छ। यी दुवै अवस्थामा एउटै परब्रह्म वा ईश्वर रहने भएकाले दुवैको अभेद सिद्ध हुन्छ।
वेदार्थसङ्ग्रहमा श्रीरामानुजाचार्यले यसको सम्यक् विवेचना गर्नुभएको छ। जस्तै – तदेव नामरूप-विभागानर्हसूक्ष्मदशापन्नप्रकृतिपुरुषशरीरं ब्रह्म कारणावस्थम्। जगतस्तदापत्तिरेव प्रलयः। नामरूपविभाग-विभक्तस्थूलचिदचिद्वस्तुशरीरं ब्रह्म कार्यावस्थम्। ब्रह्मणस्तथाविधस्थूलभावो जगतः सृष्टिरित्युच्यते। (श्रीरामानुजाचार्यः : वेदार्थसङ्ग्रहः, ग्रन्थारम्भभाग) अर्थात् कारणावस्थापन्न ब्रह्मसँग कार्यावस्थापन्न ब्रह्मको एकत्व नै विशिष्टाद्वैत दर्शनको अभीष्ट हो। ईश्वर कारण अवस्थामा होस् वा कार्यावस्थामा, चित्-अचित् विशेषणद्वारा विशिष्ट नै रहनुहुन्छ। सृष्टिपूर्व चेतन (जीव) एवम् अचेतन (प्रकृति) दुवै नामरूपरहित भएर सूक्ष्मदशामा रहन्छन्। पुनः सृष्टिदशामा जडचेतनात्मक जगत्ले नामरूप विभागयोग्य बनेर स्थूलअवस्था धारण गर्दछ। उक्त दुवै अवस्थामा ईश्वर चिद्-अचिद् दुवैमा अन्तर्यामी रूपले रहनुहुन्छ। चेतन एवम् अचेतन सम्बन्धद्वारा नै ईश्वरका दुवै रूपको ग्रहण हुन्छ तथा दुवै अवस्थामा ईश्वर चेतन एवम् अचेतन दुवैका नियामक, प्रेरक एवम् धारक बनेर रहनुहुन्छ। चेतन एवम् अचेतन ईश्वरका विशेषण हुन् भने ईश्वर विशेष्य हुनुहुन्छ। चेतन एवम् अचेतनमा नै परिणाम (विकार) उत्पन्न हुन्छ, ईश्वरमा हुँदैन। अतः नामरूपविभाग-अयोग्य अवस्थालाई कारणावस्था र नामरूप विभाग योग्य अवस्थालाई कार्यावस्था भनिन्छ।
‘ब्रह्म सत्यं जगन्मिथ्या ….’ (माधवाचार्य : सर्वदर्शनसङ्ग्रहः, शाङ्करदर्शनप्रकरण) ब्रह्म मात्र सत्य छ र तदतिरिक्त जगत् प्रपञ्च मिथ्या हो भन्ने अद्वैती विद्वान्हरू निर्विशेष ब्रह्मको मात्र स्वतन्त्र सत्ता स्वीकार गर्दछन्, न कि चिदचिद्विशिष्ट ब्रह्मको अथवा तत्त्वत्रयको। अनि चित्, अचित् तथा ईश्वर, यी तत्त्वत्रयको स्वतन्त्र सत्ता स्वीकार गर्ने द्वैतवादी विद्वान्हरू पनि तत्त्वत्रयका बीच अत्यन्त भेदलाई मात्र स्वीकार गर्दछन्। तत्त्वत्रयलाई मिलाएर एक तत्त्व मान्ने विशेष (शरीर-शरीरीभाव) सम्बन्धलाई स्वीकार गर्दैनन्, जसले गर्दा अद्वैतपरक श्रुतिवाक्यको समन्वय गर्न गाह्रो हुन्छ। यद्यपि विशिष्टाद्वैत सिद्धान्तमा चित् तथा अचित् तत्त्वलाई पनि ईश्वरकै समान सत्य स्वीकार गरिएको छ, तथापि ती चित् र अचित् ईश्वरका शरीर भएकाले शरीरको अस्तित्व शरीरी(आत्मा)मा निहीत भए झैँ यी विशेषणीभूत चित् र अचित्को अस्तित्व शरीरी ईश्वरमा नै रहन्छ। अतः दुवैलाई मिलाएर एउटा विशिष्ट अद्वैत तत्त्व मान्नु अत्यन्त युक्तिसङ्गत देखिन्छ। उदाहरणका लागि हात, पाउ, शिर आदि अनेक अङ्गहरू मिलेर मात्र एउटा शरीरको निर्माण हुन्छ। अनि शरीरान्तवर्ती जीवात्मालाई मिलाउँदा मात्र यो देवदत्त हो भन्ने व्यवहार हुन्छ। त्यसरी नै चित् तथा अचित् तत्त्वको स्वतन्त्र सत्ता भए पनि ती ईश्वरका शरीर भएर सर्वदा ब्रह्मकै साथ रहने भएकाले चित्-अचित् विशिष्ट ब्रह्मको मात्र स्वतन्त्र सत्ता स्वीकार गर्नु अत्यन्त युक्तिसम्मत छ। त्यसैले विशिष्टस्य अद्वैतं विशिष्टाद्वैतम् यही व्युत्पत्तिलभ्य अर्थ नै सर्वमान्य देखिन्छ।
तत्त्वत्रय (चित् तत्त्व, अचित् तत्त्व र ईश्वर तत्त्व)
चित् (जीव) तत्त्व
यहाँ चित् भनेको जीव हो। यो ज्ञानवान् भइकन ज्ञानस्वरूप छ। यसको परिमाण स्वरूपतः अणु मानिन्छ तर उसको व्यापक धर्मभूत ज्ञानले गर्दा ऊ पनि तत्तत्-शरीरमा व्याप्त जस्तै मानिन्छ। स्वरूपतः जीव स्वच्छ, शुद्ध, निर्मल स्वभावको हुन्छ, तथापि प्रकृतिसँगको सम्बन्धले यसको स्वाभाविक स्वरूप ढाकिएको हुन्छ। भिन्न-भिन्न शरीरमा सुख-दुःख आदिको भोग गर्ने जीवहरू भिन्न-भिन्न मानिन्छन्। त्यसैले जीवको अनेकत्व मानिन्छ। (वेदान्तदेशिक : तत्त्वमुक्ताकलापः, सर्वङ्कषाव्याख्यासहित)
अचित् (प्रकृति)तत्त्व
अचित् भनेको प्रकृति हो। यसलाई माया, अविद्या आदि पनि भनिन्छ। प्रकृति त्रिगुणयुक्त छ अर्थात् सत्त्व, रज र तम, यी तीन गुणहरू प्रकृतिमा विद्यमान छन्। प्रकृति निरन्तर परिवर्तनशील छ अर्थात् विभिन्न रूपमा परिणत भइरहन्छ। सबै प्रकारका विकारहरू प्रकृतिकै मानिन्छन् र उसको सम्बन्धले स्वरूपतः शुद्ध जीवात्मा पनि विकारी जस्तै मानिन्छ। संसारमा देखिने सबै वस्तु यसैबाट बनेका हुन्। मूलरूप (प्रकृति) सूक्ष्म छ। त्यसैको कार्यावस्था (स्थूल अवस्था) यो देखिने संसार हो। मनुष्य, पशु आदिका शरीर तथा पृथ्वी, जल आदि देखिने सबै वस्तुलाई अचित् भनिन्छ। यी सबैमा चित् (चैतन्य, ज्ञान) नभएकाले यिनलाई अचित् भनिएको हो। (आचार्य, श्रीनिवास : यतीन्द्रमतदीपिका, अचित्प्रकरणम्)
जडरूप प्रकृतिका २४ अवस्थाहरू छन्, तिनको सङ्क्षिप्त परिचय तल दिइएको छ –
१. अव्यक्त, प्रधान आदि शब्दवाच्य सत्त्व, रज, तम ३ गुण भएको मूलप्रकृति हो।
२. मूलप्रकृतिको दोस्रो परिणाम नै महत् तत्त्व हो।
३. महत्-बाट परिणत भएर उत्पन्न हुने तत्त्व अहङ्कार हो। यो “म हुँ” भन्ने यस्तो अभिमानात्मक व्यवहारको हेतु हो। त्रिगुणात्मक मूल प्रकृतिकै परिणाम भएर आएको यो अहङ्कार तत्त्व पनि स्वतः सात्त्विक, राजस र तामस अहङ्कारका भेदले तीन प्रकारको हुन्छ। यी तीन प्रकारका अहङ्कार मध्ये राजस अहङ्कार मिश्रित विकारीसंज्ञक सात्त्विक अहङ्कारबाट एकादश(११) इन्द्रियहरूको उत्पत्ति हुन्छ। त्यसमा ५ ज्ञानेन्द्रियहरू, ५ कर्मेन्द्रियहरू र १ मन (अन्तःकरण) छन्। ती क्रमशः यी हुन् –
४. गन्ध थाहा पाउने इन्द्रियलाई घ्राणेन्द्रिय (नाक) भनिन्छ।
५. तितो, मिठो रस थाहा पाउने इन्द्रियलाई रसनेन्द्रिय (जिब्रो) भनिन्छ।
६. रूपको ज्ञान गराउने इन्द्रिय चक्षुरिन्द्रिय (आँखा) हो।
७. तातो, चिसो थाहा पाउने इन्द्रियलाई त्वगिन्द्रिय (त्वचा/छाला) भनिन्छ।
८. शब्दको ज्ञान गराउने इन्द्रिय श्रोत्रेन्द्रिय हो।
माथि बताइएका पाँच इन्द्रियहरूले रूपादि विषयको ज्ञान गराउने भएकाले यिनीहरूलाई ज्ञानेन्द्रिय भनिएको हो।
९. बोल्ने कर्म (कार्य/काम) जसबाट हुन्छ, त्यस इन्द्रियलाई वागिन्द्रय (मुख) भनिन्छ।
१०. कुनै वस्तुलाई समाउने कर्म (कार्य) गर्ने इन्द्रिय नै पाणिरूप इन्द्रिय (हात) हो।
११. हिँड्नु-डुल्नुरूप कर्म गर्न सक्ने इन्द्रियको नाम पाद-इन्द्रिय (गोडा) हो।
१२. मल विसर्जनरूप कर्म गर्ने इन्द्रिय पायु-इन्द्रिय (मल विसर्जन गर्ने अङ्ग) हो।
१३. मूत्र विसर्जन एवम् मैथुन आदि कर्म गर्ने इन्द्रियलाई उपस्थेन्द्रिय (प्रजनन अङ्ग) भनिन्छ।
यी पाँच इन्द्रियहरूले कर्म (विविध कार्य) गर्ने भएकाले यिनीहरूलाई कर्मेन्द्रिय भनिएको हो।
१४. सात्त्विक अहङ्कारबाट उत्पन्न इन्द्रिय मन हो, जो ज्ञानेन्द्रिय र कर्मेन्द्रियहरूलाई आ-आफ्ना विषयमा प्रेरणा दिने संकल्पकर्ता बन्दछ।
राजस अहङ्कार मिश्रित भूतादिनामक तामस अहङ्कारबाट पाँच तन्मात्राहरूको उत्पत्ति हुन्छ।
१५. अहङ्कारबाट शब्दतन्मात्रा उत्पन्न हुन्छ, जो आकाश र स्पर्शतन्मात्राको लागि कारण बन्दछ।
१६. तामस अहङ्कारबाट स्पर्शतन्मात्रा बन्दछ, जो वायु र रूपतन्मात्राको कारण हो।
१७. रूपतन्मात्रा, जो तेज र रसतन्मात्राको कारण हो।
१८. रसतन्मात्रा, जो जल र गन्धतन्मात्राको कारण बन्दछ।
१९. गन्धतन्मात्रा, जसबाट पृथिवी तत्त्वको उत्पत्ति हुन्छ।
यी पाँच तन्मात्राहरू पञ्च महाभूत नामले प्रसिद्ध आकाशादि तत्त्वहरूको उत्पत्तिका लागि कारण बन्दछन्।
२०. आकाश तत्त्व।
२१. वायु तत्त्व।
२२. तेज तत्त्व।
२३. जल तत्त्व।
२४. पृथिवी तत्त्व।
यी पाँच महाभूतहरू पहिले तन्मात्राबाट सूक्ष्म तत्त्वका रूपमा उत्पन्न हुन्छन् र पछि यिनै तत्त्वहरूबाट स्थूल पृथिवी आदि बन्दछन्। यिनैबाट सम्पूर्ण स्थूल पार्थिव, जलीय वस्तुहरूको उत्पत्ति हुन्छ, तर अलग तत्त्वका रूपमा उत्पत्ति नभएर अवस्थान्तर मात्र भएकाले प्रकृतिलाई २४ प्रकारको मात्र भनिएको हो। दृश्यमान सम्पूर्ण चराचर जगत् प्रकृतिको स्थूलरूप हो र हामी सबैको शरीर यसको सूक्ष्मरूप हो। (श्रीपिल्लै लोकाचार्य : तत्त्वत्रयम्, चित्प्रकरणम्)
यस शरीरमा रहने दश इन्द्रिय, मन, बुद्धि र प्राण पनि प्रकृतिकै कार्य भएकाले अचित्भित्रै पर्दछन्। जड प्रकृति कुनै चेतनको सहायता विना स्वतः परिणाम हुन नसक्ने हुँदा प्रकृतिद्वारा संसार रच्ने ईश्वर अनुमानले पनि सिद्ध हुन्छ। यो प्रकृति सत्त्व, रज र तम तीन गुणले युक्त छ। यसलाई साधन बनाई ईश्वरले जीवहरूका शुभ र अशुभ कर्मअनुसार संसारको रचना गरेर जीवलाई सुखदुःख भोगाउनुहुन्छ। प्रकृतिका सम्बन्धले भएका पुण्यपापको सुखदुःखरूप फल जीवले मात्र भोग्दछ। ईश्वरमा यस प्रकृतिको नियन्त्रण नहुने हुनाले कर्मको फल मिल्दैन, अतः ईश्वर विकाररहित छ। भनिएको पनि छ – तयोरन्यः पिप्पलं स्वादु अत्ति अनश्नन्नन्योऽभिचाकशीति (मुण्डकोपनिषद्–३), अर्थात् जीवले प्रकृतिरूप वृक्षको फल (सुख-दुःख) भोग्दछ, ईश्वरले भोग्दैन। श्रुतिमा प्रकृतिलाई अजा भनिएको छ। कुनै न कुनै रूपमा सधैँ रहने हुँदा त्यसो भनिएको हो। किनभने प्रकृतिबाट नै समस्त संसार बन्दछ भन्ने कुरा सबै शास्त्रमा प्रसिद्ध छ। यदि प्रकृति अजन्मा र निर्विकार हुने हो भने उसको संसाररूपमा परिणाम नै हुने थिएन। प्रकृतिको कार्यावस्थामा विषम रूपले परिणाम भई संसार बने झैँ कारणावस्था(सूक्ष्म दशा)मा पनि सम परिणाम भइरहन्छ। यस्तो प्रकृतिबाट भएको शरीरलाई नै आत्मा सम्झनाले संसारमा रहेर दुःख भोग्नु परेको छ।
ईश्वर(परब्रह्म)तत्त्व
ईश्वर सर्वज्ञ, सर्वशक्तिमान् र सर्वव्यापक हुनुहुन्छ। उहाँ नै चराचर जगत्को सृष्टि-स्थिति र प्रलयकर्ता एवम् नियन्ता हुनुहुन्छ। अतः उहाँ परब्रह्म, परामात्मा, श्रीमन्नारायण आदि शब्दवाच्य हुनुहुन्छ।
विवरण : सारा जगत् र समस्त जीवका शरीरी एवम् आश्रय, आफ्ना इच्छाले प्रकृतिद्वारा सारा जगत्को सृष्टि, स्थिति र प्रलय गर्न समर्थ, स्वरूप र गुणमा केही पनि विकार नभएका निर्विकार परमात्मा नै ईश्वर हुनुहुन्छ। जीवमा स्वरूपको परिवर्तन नभए पनि ज्ञानरूप गुणमा सङ्कोच-विकासरूप परिवर्तन हुने हुनाले स्वरूपतः मात्र निर्विकारता हुन्छ भने प्रकृतिमा स्वरूपगत एवम् गुणगत दुबै प्रकारका परिणाम देखिन्छन् तर परमेश्वरमा यी दुबै थरीका विकारको अभाव हुन्छ। यद्यपि उपादान कारणले परिणामी (विकारी) हुनु आवश्यक हुन्छ, तथापि यस उपादानत्वका लागि आवश्यक विकार ईश्वरको शरीरभूत विशेषणांशमा मात्रै हुन्छ। यस्ता सकलशेषी, सर्वेश्वर, सर्वज्ञ, सर्वशब्दवाच्य परमात्मा हाम्रा स्वामी एवम् प्राप्य हुनुहुन्छ। उहाँ अनन्त सामर्थ्यशाली हुनुहुन्छ। संसार बन्धनलाई तोडी मोक्षानन्दको अनुभव गराउने श्रीमन्नारायणलाई प्राप्त गरेर नै यो जीव आनन्दी बन्दछ भनी वेदान्तले भन्दछ। (आचार्य, श्रीनिवास :, यतीन्द्रमतदीपिका, नवमावतार)
परमात्माका स्वरूपका भेदहरू
परमात्माका ५ स्वरूपहरू छन् १) परस्वरूप २) व्यूहस्वरूप ३) विभवस्वरूप, ४) अन्तर्यामिस्वरूप
५) अर्चावतारस्वरूप।
१. परस्वरूप – समग्र प्रपञ्चको संकल्पकर्ता एवम् सृष्टि, स्थिति र प्रलयका लागि निमित्तोपादान कारण बन्ने परवैकुण्ठ (नित्यविभूति)मा विराजमान हुनुहुने श्रीमन्नारायण, परवासुदेव, महाविष्णु आदि नामहरूले प्रसिद्ध परब्रह्म परमात्मालाई नै परस्वरूप परमात्मा भनिन्छ।
२. व्यूहस्वरूप – परवासुदेवले गरेको संकल्पलाई पूरा गर्न स्वयम् अनिरुद्ध, प्रद्युम्न, संकर्षण आदि रूप धारण गरी सृष्टि, स्थिति, प्रलय आदि कार्य गर्नुहुने परब्रह्मलाई व्यूहस्वरूप परमात्मा भनिन्छ। अन्य विविध कार्य गर्ने हेतुले केशव, नारायण आदि पनि २४ व्यूहस्वरूप मानिन्छन्।
३. विभवस्वरूप – व्यूहरूप धारण गररे सृष्टि आदि गरेपछि त्यसमा धर्मस्थापन गर्न परवैकुण्ठबाट अवतरण गरेर यस लीलाविभूतिमा आई विभिन्न लीला-उपदेश आदि गर्नुहुने श्रीराम, श्रीकृष्ण आदिलाई भगवान्को विभव स्वरूप मानिन्छ।
४. अन्तर्यामिस्वरूप – सृष्टि भएपछि प्रकृति(शरीर)भित्र रहने, सबै चेतनका भित्र रहेर नियमन/सञ्चालन गर्ने परमात्माको स्वरूपलाई अन्तर्यामी स्वरूप परमात्मा भनिन्छ।
५. अर्चावतारस्वरूप – अनादिकालदेखि संसारमा रहेर अनेक दुःख-कष्ट भोगिरहेका अज्ञानी जीवहरूलाई उद्धार गर्नका लागि देव, ऋषि, मनुष्य आदिले प्रतिष्ठा गरेपछि भक्तवत्सल भएर भक्तका अधीन रहने अर्चाविग्रह (धातु, पाषाण आदि मूर्तिमा प्रतिष्ठित) परमात्मालाई अर्चावतार स्वरूप भगवान् भनिन्छ। श्रीरङ्गनाथ, श्रीवेङ्कटेश आदि सबै दिव्यदेशहरूमा विराजमान अर्चास्वरूप परमात्मा हुनुहुन्छ। एवम् प्रकारले चराचर जगत्को उपादान कारण (कपडाको लागि धागो जस्तै) र निमित्तकारण (घडा बनाउने कुमाले जस्तै) एकमात्र परब्रह्म हुनुहुन्छ। जस्तै- माकुरोको जालोको लागि माकुरो स्वयम् उपादान कारण र निमित्त कारण हुन्छ। परब्रह्ममा कुनै प्रकारका दूषित प्राकृतिक गुणहरू रहँदैनन्, तर उहाँमा असङ्ख्य कल्याण-गुणहरू रहन्छन्। परब्रह्म ज्ञानवान् भइकन ज्ञानस्वरूप पनि हुनुहुन्छ। उहाँमा ज्ञान, शक्ति, बल, ऐश्वर्य, वीर्य, तेज, आदि शुभ गुणहरू परिपूर्ण रूपमा विद्यमान छन्। (श्रीपिल्लै लोकाचार्य : तत्त्वत्रयम्, चित्प्रकरणम्)
विशिष्टाद्वैत दर्शनका सारभूत मुख्य विषयहरू (सूत्रात्मक शैलीमा)
१. चित्, अचित् र ईश्वर ३ ओटै तत्त्व सत्य र नित्य छन्।
२. चराचर जगत्को उपादान कारण (कपडाको लागि धागो जस्तै) र निमित्तकारण (घडा बनाउने कुमाले जस्तै) एकमात्र परब्रह्म हुनुहुन्छ। जस्तै- माकुराको जालाको लागि माकुरो स्वयम् उपादान कारण र निमित्त कारण हुन्छ।
३. परब्रह्ममा कुनै प्रकारका दूषित प्राकृतिक गुणहरू रहँदैनन्, तर उहाँमा असङ्ख्य कल्याण गुणहरू रहन्छन्।
४. परब्रह्म ज्ञानवान् भइकन ज्ञानस्वरूप पनि हुनुहुन्छ, उहाँमा ज्ञान, शक्ति, बल, ऐश्वर्य, वीर्य, तेज, आदि शुभ गुणहरू परिपूर्ण रूपमा विद्यमान छन्।
५. विशिष्टाद्वैत सिद्धान्तमा सत्कार्यवादलाई स्वीकार गरिन्छ। सत्कार्यवाद भन्नाले उत्पन्न भएको कार्य वस्तु पहिले पनि कारणका रूपमा रहनु हो। किनकि जुन वस्तु कारणका रूपमा रहन्छ, त्यसैले मात्र कार्यरूप प्राप्त गर्दछ, सर्वथा असत् वस्तु अकस्मात् कार्य बनेर देखा पर्न सक्तैन, त्यसैले कार्य हुनलाई कारणको आवश्यकता हुन्छ।
६. सृष्टि हुनुभन्दा पहिले र प्रलयपछि पनि चित् र अचित् यी दुवै तत्त्व सूक्ष्मरूपले परमात्मामा निहित हुन्छन्।
७. परिणामशील प्रकृति सूक्ष्म अथवा स्थूल अवस्थामा प्राप्त हुनु त्यस्तै हो, जस्तो माटो पिण्डत्व अवस्था र घटत्व अवस्थामा प्राप्त हुन्छ। यस्तो पनि भन्न सकिन्छ- जीवको स्वरूप भने परिणाम रहित छ, त्यसकारणले जीवमा स्थूलावस्था र सूक्ष्मावस्थारूप परिणाम हुन सक्दैनन्। तर प्रलयकालमा समस्त जीवहरू प्राकृतिक शरीर रहित हुन्छन्। त्यसै कारणले त्यस समयको जीवको ज्ञान संकुचित भएर रहन्छ। सृष्टिकालमा स्थूल शरीर प्राप्त हुने भएकाले जीवले ज्ञानको विकास पाउँछ। यही नै ज्ञानको संकोच र विकासको कारण र जीवको सूक्ष्म र स्थूल अवस्थाको कारण हो। अर्थात् संकुचित ज्ञान हुनु सूक्ष्म अवस्था हो र विकसित ज्ञान हुनु स्थूल अवस्था हो। यिनै दुई अवस्थाका कारणले जीवहरूमा उत्पत्ति र विनाशको व्यवहार हुन्छ। तर जीवात्माको स्वरूप भने नित्य र प्राकृतिक विकारले रहित छ। आत्मा कुनै अवस्थामा पनि शरीरविना रहँदैन। मुक्त अवस्थामा पनि भगवत्सेवाका निमित्त शुद्धसत्त्वले बनेको दिव्य तेजोमय शरीर जीवले पाउँदछ।
८. चिदचिदात्मक समस्त प्रपञ्च परब्रह्मको शरीर हो। जस्तै- हस्तपादादिले युक्त भएको पाञ्चभौतिक देह जीवको शरीर हो। जसरी शरीरमा रहेका जीवका सत्ताले शरीरको स्थिति रहन्छ, त्यसरी नै समस्त चेतन, अचेतन पदार्थहरूमा पनि परब्रह्मको सत्ता रहेको हुन्छ। अर्थात् परब्रह्मले नै समस्त चेतन, अचेतन दुवैलाई धारण गर्दछ। उही परब्रह्म सम्पूर्ण पदार्थभित्र रहेर चेतन, अचेतन दुवैलाई नियमन गर्दछ।
९. उत्पत्ति र नाश भनेको अवस्था विशेषको प्राप्तिको नाम हो। परब्रह्म पनि सृष्टि र प्रलय दशामा भिन्न- भिन्न अवस्थामा रहनुहुन्छ। प्रलयदशामा परब्रह्म सूक्ष्म अवस्थायुक्त प्रकृति र जीवहरूमा अन्तर्यामी भएर रहनुहुन्छ। सृष्टिदशामा स्थूल अवस्थाले युक्त भएर प्रकृति र जीवहरूमा अन्तर्यामी भएर रहनुहुन्छ। सूक्ष्मावस्था युक्त परब्रह्म, जीव र प्रकृतिको आत्मा भएर रहनु परमात्माको दोस्रो अवस्था हो। यी दुईमा पहिलो कारण अवस्था र दोस्रो कार्यावस्था हो। उदाहरण : जस्तै – एउटा माटो पिण्ड-अवस्थाले युक्त हुँदा कारण र घट-अवस्थाले युक्त भएपछि कार्य भनिन्छ अर्थात् पिण्डलाई कारण र घटलाई कार्य भनिन्छ। त्यस्तै प्रकारले परब्रह्मलाई सूक्ष्म अवस्थामा रहँदा कारण र स्थूल अवस्थामा रहँदा कार्य भनिन्छ। त्यस कारणले परब्रह्म नै जगत्को कारण र जगत्-शरीरक कार्य पनि हो। अतः जगत् सत्य हो, मिथ्या होइन।
१०. स्थूल अवस्थामा रहेका चित्, अचित् दुवै तत्त्व परब्रह्मका शरीर हुनुका साथै विशेषण पनि हुन्। यी परब्रह्मका शरीर हुनाले नै विशेषण भए। यी दुवैको आत्मा परब्रह्म हो। परब्रह्म यी दुवै विशेषणले विशिष्ट अर्थात् युक्त भएर रहनुहुन्छ। यी विशेषणले विशिष्ट रहनु नै परब्रह्मको विशिष्टता हो। त्यसैले परब्रह्मलाई चित्-अचित् विशिष्ट भनिन्छ अर्थात् जीवात्मा र प्रकृतिले युक्त भएको ब्रह्म नै विशिष्ट ब्रह्म हो। चिद् र अचित् दुवैको अन्तरात्मा भएर रहनु नै परब्रह्ममा जीवको र प्रकृतिको वैशिष्ट्य (सम्बन्धविशेष) हुनु हो। परब्रह्म स्थूल अवस्थामा चिदचिद्-विशिष्ट र सूक्ष्मावस्थामा पनि चिदचिद्-विशिष्ट भएर नै रहेको हुन्छ। त्यस्तो परब्रह्म एकमात्र अद्वैत छ। अत एव यही सिद्ध भयो कि- स्थूल अवस्थायुक्त चिदचित्-विशिष्ट ब्रह्म र सूक्ष्मावस्थायुक्त चिदचित्-विशिष्ट ब्रह्म यी दुवै विशिष्टको अद्वैत अर्थात् अभेद हुनु नै विशिष्टाद्वैत हो। यस्तो सिद्धान्तलाई विशिष्टाद्वैतसिद्धान्त भनिन्छ।
११. देव, मनुस्य आदि अनेकौँ जीवहरू पाञ्चभौतिक शरीरमा रहँदा शरीरगत प्राकृतिक दोषको सम्बन्ध जसरी जीवका साथ रहँदैन, त्यसरी नै समस्त चिदचिदात्मक जीव-जडमय जगत्मा परब्रह्म अन्तर्यामी भएर रहँदा पनि जीव र जडका दोषसँग परब्रह्मको सम्बन्ध हुँदैन। अर्थात् परब्रह्ममा जीव र जडका दोषहरूको प्रभाव पर्दैन। (भारतीय दर्शन, सर्वदर्शनसङ्ग्रहः एवम् रामानुजाचार्यविरचित श्रीभाष्यम्, वेदार्थसङ्ग्रह आदि ग्रन्थहरूको समग्र अध्यययनबाट)
मोक्ष
मनुष्य जन्मको चरम लक्ष्य भनेको मोक्ष हो भन्ने कुरा माथि बताइएको हुनाले अब त्यो मोक्षको स्वरूप र त्यसको उपाय(साधन)का बारेमा यहाँ विवेचना गरिन्छ।
मोक्षको स्वरूप
जीवहरूका अनादिकालदेखिका अविद्याद्वारा सञ्चित कर्मका सम्बन्धले यिनको स्वाभाविक स्वरूप ढाकिएको हुन्छ। जब जीव कर्मसम्बन्धबाट मुक्त हुन्छ, अनि यस प्रकृति मण्डलबाट बाहिर निस्कन्छ। यस्ता प्रकारले प्रकृतिमण्डलबाट निस्केर विरजा पार गरी अप्राकृतिक लोक त्रिपादविभूति परमपदमा पुगेर यसका स्वाभाविक स्वरूपको आविर्भाव हुन्छ। अनि मात्र परब्रह्म परमात्मा श्रीमन्नारायण प्रभुको अनुभव गर्न पाउँछ। मुक्त जीवात्माहरू प्राकृतिक देहदेखि रहित भएर शुद्धसत्त्वमय अप्राकृतिक देह प्राप्त गरी वैकुण्ठधाममा भगवान् श्रीमन्नारायण प्रभुको सर्वप्रकारको सेवामा अधिकार-अनुसार प्रभुका इच्छाअनुकूलको कैङ्कर्य गर्दै अनन्त आनन्दको अनुभव गर्दछन्। यही नै मोक्ष अर्थात् मुक्ति हो।
मोक्षको उपाय
मोक्षको सर्वोत्तम उपाय भगवच्चरणारविन्दमा गरिने अहैतुकी भक्ति हो। त्यो भक्ति, जसद्वारा तेलको धारा झैँ अविच्छिन्न रूपले अत्यन्त प्रीतिका साथ श्रीमन्नारायण प्रभुका चरणको ध्यान गर्दै जाँदा प्रत्यक्ष जस्तै होस् अनि प्रभुका चरणमा अनुराग अर्थात् प्रीतिको प्रवाह बढ्दै जाओस्। यस्ता प्रकारको ध्यान गर्नाले भक्तिको सिद्धि हुन्छ। अनि यसैबाट भक्तिले प्रभु मिल्नुहुन्छ तर यस्तो भक्ति पनि अनादिकालदेखि संसारसागरमा डुबेर अनेकौँ पापकर्महरू गर्ने हामीजस्ता जीवात्माहरूले गर्न सक्तैनौँ भनेर सर्वसुलभ मार्ग शरणागतिलाई आचार्यहरूले शास्त्रसारको रूपमा प्रतिपादन गर्नुभएको छ। शरणागतले प्रतिदिन आफूबाट गरिएका या गरिने कर्मको कर्तृत्व र कर्मफलको कामना परब्रह्मका श्रीचरणमा सुम्पेर आफूलाई सेवक, परब्रह्मलाई स्वामी मानेर वर्णाश्रमोचित नित्य, नैमित्तिक वैदिक कर्मानुष्ठानलाई परब्रह्मको सेवा हो भन्ने जान्नुपर्दछ। आफूले सकेको यथायोग्य कैङ्कर्य गर्दै रहनु, परमैकान्तिक महाभागवतहरूको नित्य सत्सङ्ग गर्नु र पाञ्चकालिक प्रक्रियाअनुसार कालक्षेप गर्नु नै प्रभुको भक्ति हो। यसबाट नै परब्रह्मको प्राप्ति अर्थात् मोक्ष हुन्छ। सङ्क्षेपमा सदाचार्यद्वारा परमप्राप्य श्रीमन्नारायणको शरणागत भएर सदा उहाँकै ध्यान गर्दै भक्तिपूर्वक सेवा गर्नु नै मोक्षको उपाय हो। यस्ता परमात्माका उपासनाद्वारा संसारलाई छाडी यस प्रकृतिको कत्ति पनि सम्बन्ध नभएको दिव्य वैकुण्ठधामलाई प्राप्त गरेर भगवान्को सन्निधि प्राप्त गरी महानन्दमा निमग्न हुनु मनुष्य जन्म लिएको सार हो। (स्वामी त्रिभुवनदास : विशिष्टाद्वैत वेदान्त का विस्तृत विवेचन, भूमिकामा)
निष्कर्ष र प्राप्ति
सुप्रसद्धि उपनिषद्हरूमध्ये श्वेताश्वतर, सुबाल, कौषीतकी आदि उपनिषद्हरूमा विद्यमान प्रधान मन्त्रहरूमाथि चर्चा गर्दा ब्रह्मतत्त्व नै जगद्कारण हो भन्ने निष्कर्षका साथ त्यस्तो ब्रह्मलाई प्राप्त गर्नका लागि साधनको रूपमा उपनिषद्हरूद्वारा विधान गरिएको उपासना(भक्ति)लाई अङ्गसहित परिशीलन गरी शाश्वत् ब्रह्मानन्द प्राप्तिरूप मुक्तिको स्वरूप प्रतिपादन गरेर यस मार्गको अवलम्बन गरी उज्जीवन प्राप्त गर्नु भनेर महर्षि वेद व्यासजीले राम्रो राजमार्ग देखाउनुभयो। लोकको लागि ४ अध्यायहरूले युक्त ब्रह्मसूत्रहरूमा यसरी उपदेश गर्नुभएका वेदव्यासजी ब्रह्मवेत्ताहरूमा अग्रगणनीय एवम् महोदार हुनुहुन्छ। महर्षिद्वारा ग्रन्थका भिन्न-भिन्न अधिकरणहरूका सूत्रहरूमा ग्रहण गरिएका सबै उपनिषद् वाक्यहरूका सन्दर्भको परिशीलन गरेर अति समञ्जस अर्थहरूको निरूपण गरी प्रामाणिक रूपले समन्वयको मार्ग देखाउने महापुरुष श्रीभगवद्रामानुज स्वामीजी एकमात्र हुनुहुन्छ भनेर पक्षपातरहित रूपमा ग्रन्थहरूको विमर्श गरेका विद्यावेत्ताहरूले बताउनुभएको छ। श्रीमद्भगवद्रामानुज स्वामीजीले आफूले दर्शन गरेको बोधायन वृत्तिलाई आधार बनाई द्रविड भाष्यादि ग्रन्थहरूको परिशीलन गरेर ब्रह्मसूत्रहरूमाथि रचना गरेको श्रीभाष्य प्रबन्धले श्रीवेदव्यासजीको हृदयगत सिद्धान्त विशिष्टाद्वैत नै हो भन्ने विषयलाई अक्षोभ्य रूपमा स्थापित गरेको छ। सुव्यवस्थित तथा निर्वक्ररूपमा विद्यमान सर्वशास्त्रवैदुष्य, तत्त्वहरूको उपदेश गरेर चेतनहरूको उद्धार गर्नुपर्छ भन्ने प्रबल अभिनिवेश, क्रमैले परिणत भएको असाधारण प्रचार-पद्धति जस्ता उत्कृष्ट योग्यताहरूले श्रीभगवद्रामानुज स्वामीजीलाई जगदाचार्यका रूपमा र अवतार पुरुषका रूपमा उद्घोषित गरिदिए।
आ-आफ्ना उपदेशहरूद्वारा एउटै मात्र जीवात्माले पनि सन्मार्गवर्ती बनेर उज्जीवन प्राप्त गर्यो भने त्यस प्रयत्नलाई सफल मान्ने र आफ्नो सम्पूर्ण जीवन सिद्धान्त प्रचारका लागि समर्पण गर्ने पूवाचार्यहरूको परिश्रम श्रीरामानुज स्वामीजीका अनुयायी हामी सबैका लागि आदर्श बन्नुपर्छ। उपनिषद्हरू, भगवद्गीता आदि विविध स्मृतिहरू, ब्रह्मसूत्र र ती ग्रन्थका व्याख्यानहरूमा परमप्राप्य र उपास्य तत्त्व चिदचिद्विशिष्ट श्रीमन्नारायण नै हुनुहुन्छ भनेर प्रतिपादन गरिएको छ। उपनिषद्हरूमा अपहतपाप्मा … सत्यकामः सत्यसङ्कल्पः इत्यादि अनेक वाक्यहरूद्वारा निरूपण गरिएअनुसार श्रियःपति, अखिलहेयरहित अर्थात् सबै प्रकारका दोषहरूले रहित, सर्वज्ञत्व, सत्यसङ्कल्पत्वादि समस्त कल्याण-गुणहरूका आकर(खानी), समस्त चराचर जगत्का कारण, धर्मार्थकाममोक्षरूप चतुर्विध पुरुषार्थहरूका प्रदाता, ब्रह्म-रुद्र-इन्द्रादि सबै देवताहरूका आराध्य हुनुहुन्छ। त्यस्ता सर्वसमर्थ प्रभुको श्रीचरणसन्निधिमा समग्र रूपमा गरिने भक्ति-प्रपत्तिहरूलाई नै मोक्षप्राप्तिका साधन हुन् भन्ने विषय पनि निरूपण भएको छ। जन्म-जरा-मरणादि संसारसम्बन्धका कारण मानिने पुण्य-पापादि कर्महरूको सम्बन्धलाई पूर्ण रूपमा हटाएर अर्चिरादिमार्गद्वारा अप्राकृत दिव्यलोक श्रीवैकुण्ठधाममा पुगी परमपुरुष परमात्माको अनुग्रहपूर्वक सारूप्य-सालोक्य-सामीप्य-सायुज्य आदि परम आनन्दलाई प्राप्त गरेर पुनरावृत्तिरहित बनी स्वरूपानुरूप भगवद् कैङ्कर्यनिष्ठ भएर रहनु नै मोक्ष हो। यही नै श्रीभाष्यादि प्रबन्धहरूमा प्रतिष्ठित श्रीवैष्णव सिद्धान्त हो। जीव र ईश्वरको भेद, उनीहरूको स्वरूप एवम् स्वभाव, अचित् नामक त्रिगुणात्मक प्रकृतिको स्वरूप आदि विषय श्रीरामानुजसिद्धान्तमा अनेक प्रमाण र युक्तिहरूद्वारा इतरमतहरूको खण्डन गरेर स्थापित गरिएको छ। माथि प्रस्तुत गरिएका विषयहरूबाट दर्शनशास्त्रका अध्येताहरूलाई रामानुजाचार्यद्वारा प्रतिपादित विशिष्टाद्वैत दर्शनको ज्ञान प्राप्त गर्न सहयोग उपलब्ध हुनु यस लेखको उपलब्धि हो।
सन्दर्भग्रन्थसूची
आचार्य, श्रीनिवास (ई.सं. २०१५), यतीन्द्रमतदीपिका (हिन्दी अनुवाद सहित- शिवप्रसाद द्विवेदी), वाराणसी : चौखम्बा सुरभारती प्रकाशन।
उपाध्याय, बलदेव (ई.स. २००१), भारतीय दर्शन (पुनर्मुद्रित संस्करण), वाराणसी : शारदा मन्दिर।
………………………….(सन् १९९०), ईशाद्यष्टोत्तरशतोपनिषदः, वाराणसी : चौखम्बा विद्याभवन।
नेपाल, रघुनाथ एवम् अन्य, (वि.सं. २०७३), श्रीरामानुजाचार्य एवम् विशिष्टाद्वैतदर्शन, काठमाडौँ : श्रीवैष्णव परिषद् नेपाल।
माधवाचार्य, (ई.स.२०१०), सर्वदर्शनसङ्ग्रहः, (डा. उमाशशर्मविरचित भाष्यसमेत), वाराणसी : चौखम्बा विद्याभवन।
रामानुजाचार्यः (ई.सं.१९९५), वेदार्थसङ्ग्रहः, मेलुकोटे : संस्कृतसंशोधनसंसत्।
रामानुजाचार्यः (ई.सं.१९९५), श्रीभाष्यम्, मेलुकोटे : संस्कृतसंशोधनसंसत्।
वेदान्तदेशिकः (ई.सं.२००४), तत्त्वमुक्ताकलापः, (सर्वङ्कषाव्याख्यासहितः), (व्याख्याता के. एस्. वरदाचार्यः), मैसूरु : आर्षग्रन्थप्रकाशनम्।
श्रीपिल्लैलोकाचार्य, (वि.सं.२०७१), तत्त्वत्रयम्, (स्वामी त्रिभुवनदासविरचित तत्त्वविवेचनीहिन्दीव्याख्यासहित), दिल्ली : चौखम्बा संस्कृत प्रतिष्ठान।
स्वामी त्रिभुवनदास, (सन् २०१३), विशिष्टाद्वैत वेदान्त का विस्तृत विवेचन, दिल्ली : चौखम्बा संस्कृत प्रतिष्ठान।