अम्बरराज ढकाल[1] सहायक प्राध्यापक (ज्यौतिष विभाग), पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल संस्कृत विश्वविद्यालय । Email: dhakalguru12@gmail.com लेखसार पं.लोकनाथ लुइटेल धरान नगर क्षेत्रमा लोकनाथ गुरुका नामले मात्र प्रसिद्ध नभएर ज्योतिषी लोकनाथ गुरुका रूपमा पनि परिचित नाम हो। लोकनाथ लुइटेलले यस क्षेत्रमा संस्कृत शिक्षण, कर्मकाण्ड सम्पादन, पुराण वाचन र ज्योतिषीय परामर्शद्वारा समाजसेवा गरी लोकप्रियता प्राप्त गरेको बुझिन्छ। धरानमा […]
अम्बरराज ढकाल[1]
सहायक प्राध्यापक (ज्यौतिष विभाग), पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल संस्कृत विश्वविद्यालय ।
Email: dhakalguru12@gmail.com
लेखसार
पं.लोकनाथ लुइटेल धरान नगर क्षेत्रमा लोकनाथ गुरुका नामले मात्र प्रसिद्ध नभएर ज्योतिषी लोकनाथ गुरुका रूपमा पनि परिचित नाम हो। लोकनाथ लुइटेलले यस क्षेत्रमा संस्कृत शिक्षण, कर्मकाण्ड सम्पादन, पुराण वाचन र ज्योतिषीय परामर्शद्वारा समाजसेवा गरी लोकप्रियता प्राप्त गरेको बुझिन्छ। धरानमा ज्योतिष विषयको परामर्शका क्षेत्रमा लोकनाथ गुरुको छवि र योगदान विशिष्ट रहेको पाइन्छ। लोकनाथ गुरुको ज्योतिष विषयसँग सम्बद्ध रचनात्मक योगदानलाई मूल्याङ्कन गर्दा चिना, टिपन लेख्नु, साइत, मुहूर्त हेर्नु, ग्रहशान्ति गर्नु, गराउनु आदिसँग सम्बन्धित परामर्श दिनुलाई मुख्य योगदानका रूपमा लिन सकिन्छ । लोकनाथ लुइटेलको सरल पूजाविधि (२०६५) कृतिभित्र ज्योतिषीय विषयको समेत उल्लेख हुनु र सरल षोडशसंस्कारविधि (अप्रकाशित विद्युतीय पाण्डुलिपि) मा संस्कारगत विषयको क्रमबद्ध प्रस्तुतिले उनको कृतिगत योगदानलाई प्रकाशित गरेको देखिन्छ । लुइटेलका सरलपूजाविधि र सरल षोडशसंस्कारविधि कृतिभित्र रहेका ज्योतिषीय पक्षको उद्घाटन र उनको ज्योतिषीय व्यक्तित्वको समीक्षा गर्दा निस्वार्थ सेवाभावले ज्योतिषीय परामर्श प्रदान गर्नु नै लोकनाथ लुइटेलले समाजसेवाका क्षेत्रमा गरेको महत्त्वपूर्ण योगदान हो ।
शब्दकुञ्जी : ज्योतिषशास्त्र, दैवज्ञ, दैवज्ञलक्षण, परामर्श, मुहूर्त, शकुन, संस्कार, संहिता, होरा।
विषय परिचय
धरानलाई आफ्नो कर्मभूमि बनाएका पं. लोकनाथ लुइटेल (१९९७-२०७५) धर्मशास्त्र, संस्कृत साहित्य, पुराण र ज्योतिष विषयका क्षेत्रमा पनि प्रसिद्ध विद्वान् हुन्। ज्योतिष परामर्शका क्षेत्रमा उनको विशेष योगदान रहेको देखिन्छ। ज्योतिषशास्त्रलाई व्यापार व्यवसायका रूपमा प्रयोग गर्ने ज्योतिषीहरू धरानमा निकै विवादमा आउने गरेका समाचारहरू बेलाबखतमा प्रकाशनमा आउने गरेका छन्। लोकनाथ गुरुलाई यस विषयमा अपवादका रूपमा लिन सकिन्छ। शिक्षण, पुराणवाचन, कर्मकाण्डसँगै लोकनाथ गुरुले ज्योतिष परामर्शद्वारा सर्वसाधारणलाई सेवासुविधा पुर्याएको देखिन्छ। सत्यनिष्ठा र सदाचारपालनमा प्रतिबद्ध भएर शास्त्रीय विषयमा आधारित रही मर्यादित ज्योतिष सेवा दिने लोकनाथ गुरुको मुख्य गुण रहेको पाइन्छ। चिना, टिपन, साइत र मुहूर्त हेरेर आगन्तुक सेवाग्राहीको कल्याण होस् भन्ने उद्देश्यका साथ परामर्श दिनु नै उनको वैशिष्ट्य हो। पछिल्लो समयमा ज्योतिष विषयको ग्रन्थलेखन र प्रकाशनमा संलग्न भएबाट पनि उनको ज्योतिषीय विद्वत्ता झल्किन्छ। यही विषयलाई उनको विशिष्ट योगदानका रूपमा समीक्षात्मक अध्ययन गर्ने प्रयास यस शोधलेखमा गरिएको छ।
समस्या कथन, उद्देश्य
लोकनाथ लुइटेलको ज्योतिषीय व्यक्तित्व र कृतित्व के कस्तो रहेको छ भन्ने जिज्ञासालाई यस शोधलेखको प्रमुख समस्याका रूपमा लिइएको छ। यहाँ समस्याहरूलाई निम्नानुसार निर्धारण गरिएको छ-
- १. लोकनाथ लुइटेलको ज्योतिषीय व्यक्तित्व कस्तो देखिन्छ ?
- २. लोकनाथ लुइटेलको ज्योतिषीय कृतित्व र कृतिगत योगदान के छ ?
पं. लोकनाथ लुइटेलको ज्योतिषीय व्यक्तित्व र कृतित्व सम्बन्धी जिज्ञासाको समाधान गर्नु यस शोधलेखको मुख्य उद्देश्य हो। समस्याकथनमा आएका समस्याहरूको समाधान गर्ने सन्दर्भमा निम्नलिखित उद्देश्यहरू निर्धारण गरिएका छन्-
- १. दैवज्ञलक्षणका साक्ष्यमा लोकनाथ लुइटेलको ज्योतिषीय व्यक्तित्वको समीक्षा गर्ने,
- २. लोकनाथ लुइटेलका ज्योतिष सम्बद्ध कृतिगत योगदानको समालोचना गर्ने।
सीमाङ्कन र शोधविधि
पं. लोकनाथ लुइटेलको व्यक्तित्व र कृतित्वको थप अध्ययन आवश्यक भए तापनि यस लेखमा ज्योतिषसँग सम्बद्ध व्यक्तित्व र कृतित्वका विषयको मात्र समीक्षा गर्ने प्रयास गरिएको छ। समीक्षाका क्रममा पुस्तकालयीय विधिद्वारा प्राथमिक तथा द्वितीयक सामग्रीको सङ्कलन गरिएको छ। सङ्कलित सामग्रीको तथ्यलाई निगमनात्मक विधिअनुसार विश्लेषण गरी सत्यापन गर्ने काम वस्तुगत रूपमा नै गरिएको छ। समीक्षाका क्रममा विश्लेषणात्मक विधि र विवरणात्मक विधिको पनि उपयोग गरिएको छ।
पूर्वाध्ययन
पं. लोकनाथ लुइटेलका साहित्यिक कृतित्वको अध्ययन भए तापनि ज्योतिषीय कृतित्वको समीक्षा भएको पाइदैन। लुइटेलको सरल पूजाविधि (२०६५) लाई प्राध्यापक आनन्दप्रसाद घिमिरेले पूजादि अनुष्ठानमा सरल पूजाविधिको महत्त्वमाथि विवेचना गरेको पाइन्छ। उक्त अध्ययनमा ‘पूजादिष्वनुरागः भक्तिःको आन्तर्यमा सरलपूजाविधि’ शीर्षकको लेखमा सरल पूजाविधिभित्रका पूजा र उपासना पद्धतिलाई समीक्षा गरिएको छ। यस समीक्षामा प्रस्तुत कृतिभित्र सरलपूजाविधिका सम्पूर्ण कुरा सङ्क्षेपमा अटाएको भन्ने समीक्षकको निष्कर्ष छ। तर सरलपूजाविधिभित्रको ज्योतिषीय पक्षलाई समीक्षामा समेटेको देखिँदैन।
ज्योतिषशास्त्रमा दैवज्ञको योग्यता र लक्षण
ज्योतिषशास्त्रमा ज्योतिष परामर्शदातालाई दैवज्ञ, दैवविद्, दैवचिन्तक, गणक, सांवत्सरिक आदि उपनामले चिनिन्छ। दैवज्ञका लक्षण र योग्यता, गुणको प्रशंसा साथै आलोचना पनि गरिएको पाइन्छ। प्राचीन ग्रन्थहरूमा उल्लिखित दैवज्ञ लक्षणलाई यहाँ केलाउने प्रयास गरिएको छ। समसामयिक सन्दर्भमा पनि ती लक्षणहरू उत्तिकै प्रभावकारी देखिन्छन्।
दैवज्ञका लक्षण र गुण
आचार्य वराहमिहिरले आफ्नो ग्रन्थ बृहत्संहिताको दोस्रो अध्यायमा दैवज्ञका लक्षण र गुण उल्लेख गरेको पाइन्छ[2]। मिहिरका अनुसार ज्योतिषी नम्र शीलस्वभावको हुनुपर्छ। दर्शनीय (रूपवान्), सुन्दर वेशयुक्त, सत्यवादी, रागद्वेषरहित हुनुपर्छ। अरुको गुणमा दोष नलगाउने, सर्वाङ्गपूर्ण सुन्दर, हात, पाउ, नाक, कान, ओठ, दाँत, आँखा, नङ, शिर, ललाटमा शुभलक्षण भएको, मिष्टभाषी र उदात्त (कल्याणकारी भावना भएको) हुनुपर्ने आग्रह वराहमिहिरले गरेका छन्। दैवज्ञले देशकाल बुझेर निर्मल चित्तले पवित्र भावना राखेर आश्चर्यजनक प्रभाव उत्पन्न हुने गरी स्वतन्त्र रूपमा परामर्श दिनुपर्छ। दैवज्ञले सधैँ देवार्चन र व्रतोपवासमा संलग्न हुँदै फलादेश गर्नुपर्छ भन्ने मान्यता पाइन्छ। ।
दैवज्ञको योग्यता
ग्रहगणित गर्न सक्ने, संहिताको अर्थलाई पार लगाउन सक्ने र होराशास्त्रको अर्थलाई विस्तार गर्न सक्ने हुनु दैवज्ञ ज्योतिषीको प्रमुख योग्यता मानिएको छ। कुशल ज्योतिषीमा सौर, सावन, नाक्षत्र, चान्द्र मास र दिनको गणना गर्न सक्ने योग्यता वाञ्छनीय मानिएको छ। ग्रहगणितमा पारङ्गत ज्योतिषीमा सूर्यचन्द्र ग्रहणको गणना गर्ने, ग्रहहरूको गति गणना गर्ने योग्यता अनिवार्य मानिन्छ। ग्रहयुद्ध, ग्रहसमागम, ग्रह उदयास्त, वक्र, मार्ग आदि अवस्थाको ज्ञान पनि राख्न सक्ने सामर्थ्य आवश्यक मानिन्छ। सूर्यादि ग्रहको दिग्बल, कालबल, स्थानबल र चेष्टाबलको ज्ञान, षड्वर्ग कुण्डलीको गणना गर्न र मेषादि राशिको बलाबल पर्गेल्न सक्ने योग्यता ज्योतिषीमा हुनुपर्छ। विंशोत्तरी, त्रिभागी, योगिनी आदि ग्रहदशाको शुभ र अशुभ फललाई आत्मविश्वासपूर्वक व्यक्त गर्न सक्ने र अरिष्ट ग्रहको शान्तिविधि बताउन सक्ने योग्यता ज्योतिषीमा आवश्यक मानिएको छ। कुण्डलीका शुभ र अशुभ योगको आश्चर्यजनक फल प्रकाशित गरी जातकमा ज्योतिषशास्त्रप्रति विश्वास पैदा गराउनु दैवज्ञ ज्योतिषीको मुख्य योग्यता हो। यात्रा, गृहनिर्माण, गृहप्रवेश, चूडा, उपनयन, विवाह आदिको शुभमुहूर्तद्वारा कर्ताको कल्याण हुने साइत बताउन सक्ने योग्यता ज्योतिषीमा वाञ्छनीय मानिन्छ। अङ्गलक्षण, शकुन र अपशकुन, नाडीविज्ञान, स्वरविज्ञान, स्वप्नविज्ञान आदिद्वारा कर्ताको शुभाशुभ फल बताउनु ज्योतिषीको प्रमुख योग्यता नै मानिन्छ।[3]
दैवज्ञ प्रशंसा र आलोचना
प्राचीन कालदेखि नै ज्योतिषीका प्रशंसा र आलोचना गरिएका सूक्तिहरू पाइन्छन्। समाजमा यसरी ज्योतिषीको प्रशंसा र आलोचना हुनु स्वाभाविकै हो। ज्योतिषशास्त्र पढ्ने र पढाउने मानिसले नरकको द्वारमा पुग्नु पर्दैन। ज्योतिषशास्त्रको चिन्तन गर्ने व्यक्तिले ब्रह्मलोकमा प्रतिष्ठा प्राप्त गर्दछ[4] भन्ने भनाइबाट ज्योतिषीको प्रशंसा गरिएको बुझिन्छ। यदि ज्योतिषी नहुने हो भने दिन, वार, तिथि, नक्षत्र, सप्ताह, पक्ष, महिना, ऋतु, अयन र संवत्सर सबै उलटपुलट हुन्छन्। त्यसैले यश, कीर्ति, श्री, ऐश्वर्य र समृद्धि चाहने मन्त्री, सचिव, राजा वा राष्ट्रप्रमुखले आफ्नो राज्यमा विद्वान् ज्योतिषीलाई सम्मानपूर्वक नियुक्त[5] गर्नुपर्दछ भन्ने उक्तिबाट पनि राज्यमा ज्योतिषीको योगदान र उच्च सम्मान रहने कुरा बुझिन्छ।
माथि उल्लिखित योग्यता हासिल नगरी, ज्योतिषशास्त्रको मर्मलाई नबुझी आफूलाई दैवज्ञका रूपमा प्रचार गर्ने ज्योतिषीलाई पापी पङ्क्तिदूषक र नक्षत्रसूची भनी दैवज्ञको आलोचना गरिएको पाइन्छ। इन्द्रजालको प्रयोग गरेर वा कर्णपिशाचिनी जस्तो क्षुद्र विद्याको सिद्धि गरेर प्रश्नकर्ताको अभिप्रायअनुसार जसले फल बताउँछ, त्यो नक्षत्रसूची हो। उसले अन्धतामिस्र नामक नरकमा वास गर्नुपर्छ[6] भनी योग्यताविहीन ज्योतिषीको कटु आलोचना गरिएको पाइन्छ।
दैवज्ञ लक्षणका साक्ष्यमा लोकनाथ लुइटेलको व्यक्तित्व
दैव अर्थात् ईश्वरलाई राम्ररी जान्ने वा बुझ्नेलाई दैवज्ञ भनिएको छ। वैष्णव सम्प्रदायमा दीक्षित लोकनाथ गुरुको व्यक्तित्व विष्णुव्रत धारण गरी विष्णुको भक्ति र उपासनामा समर्पित रहेकाले सदाचारनिष्ठ सुसंस्कृत दैवचिन्तकका रूपमा देखिन्छ। नम्र शीलस्वभाव, दर्शनीय सुन्दर रूप, सत्यवादी, मिष्टभाषी र कल्याणकारी भावनाले प्रेरित भएर ज्योतिष परामर्श दिनु लुइटेलको व्यक्तित्वमा देखिने गुण हो। देवार्चन र व्रतोपवासमा निरत भएर निर्मल चित्तद्वारा छलकपट नराखी रागद्वेष र लोभलालचमा नपरी देशकाल अनुरूप ज्योतिषीय परामर्श दिनु लोकनाथ लुइटेलको ज्योतिषीय व्यक्तित्वको महत्त्वपूर्ण वैशिष्ट्य हो। दैवज्ञ सिद्धान्त, संहिता र होराशास्त्रमा पारङ्गत हुनुपर्ने मान्यताअनुसार लोकनाथ लुइटेलको व्यक्तित्व होराशास्त्रमा मात्रै पारङ्गत देखिन्छ। सिद्धान्त र संहिताका विषयमा भने आधारभूत सामर्थ्य मात्रै देखिन्छ। ग्रहगणित गर्न सक्ने दक्षता भए पनि सूर्यचन्द्र ग्रहण गणना, पञ्चाङ्ग गणना जस्ता गहन विषयमा उनको अध्ययन सीमित देखिन्छ। लोकनाथ लुइटेलको ज्योतिषीय व्यक्तित्वलाई निम्न बुँदामा समेट्न सकिन्छ :
पञ्चाङ्गका आधारमा कुनै पनि लोभलालच नराखी सत्य र निष्ठाका साथ जातकको जन्मकुण्डली निर्माण गरिदिने,
निर्मल चित्तद्वारा ग्रहदशाफल (विंशोत्तरी, त्रिभागी, योगिनी) बताउँदै कर्तामा ज्योतिष शास्त्रप्रति विश्वास पैदा गराउने,
अरिष्ट ग्रहको दशा चलेको देखिए त्यसको अरिष्ट शान्तिविधि समेतको परामर्श दिने र स्वयम् शान्ति गराइदिने,
कर्तालाई कर्मयोगमा प्रवृत्त रहन प्रेरणाका साथ भक्तिभावमा प्रेरित गराउँदै फलादेश गर्ने,
षोडशसंस्कारका कल्याणकारी मुहूर्तहरू निर्धारण गरी तिनको विधि र प्रयोगमा अग्रसर गराउने,
कर्ताको कल्याण होस् भन्ने उद्देश्य राखेर गृहारम्भ, गृहप्रवेश, यात्रा, विवाह, व्रतबन्धजस्ता शुभमुहूर्तको परामर्श दिने साथै अशुभ मुहूर्तलाई निषेध गर्ने,
शकुनशास्त्रका आधारमा प्रश्नकर्तालाई शुभ र अशुभ शुकुनको फल बताइदिने र स्वयम् पनि व्यवहारमा प्रयोग गर्ने,
कर्ताको प्रश्नकालिक ग्रहगोचरबाट आर्जे हेरेर शुभाशुभको निर्देश गर्ने,
लोकनाथ गुरुको ज्योतिषीय व्यक्तित्वलाई नजिकबाट चिन्ने शुभेच्छुकहरूले यसरी अभिव्यक्त गरेको पाइन्छ –
- १. पुरुषोत्तम भट्टराई (पूर्व शिक्षाध्यक्ष, नेपाल संस्कृत विश्वविद्यालय)- भगवान्का परमभक्त, सफा दिलका स्पष्टवक्ता लुइटेल मृदुभाषी हुनुका साथै ज्योतिषको राम्रो ज्ञाता भएको हुनाले धरानमा उहाँलाई नचिन्ने कुनै उद्योगपति र व्यापारी थिएनन् (पण्डित श्री लोकनाथ लुइटेल स्मृतिग्रन्थ पृ. १३७)।
- २. कमल पोख्रेल (पूर्व प्रधानाध्यापक, पब्लिक हाई स्कुल, धरान) – लोभ नगर्ने, यति दक्षिणा भनेर कहिल्यै नभन्ने, जति दिए पनि ठिक। चिना बनाउन जान्ने, भविष्यका कुरा केही हदसम्म भन्न सक्ने ज्योतिषी हुनुहुन्थ्यो। (पण्डित श्री लोकनाथ लुइटेल स्मृतिग्रन्थ, पृ.६६)।
- ३. गङ्गाधर कट्टेल (सहप्राध्यापक, त्रि. वि., स्नातकोत्तर क्याम्पस, विराटनगर)- नयाँ नयाँ विषयमा अध्ययन गर्न रुचि राख्ने गुरु ज्योतिषशास्त्रका पनि ज्ञाता हुनुहन्थ्यो। पहिला हस्तलिखित कुण्डली तयार पार्ने उहाँ कम्प्युटरर युगमा प्रवेश गरेपछि कम्प्युटरबाट नै टाइप गरेर आफ्नै प्रिन्टरबाट निकालेर आधुनिक किसिमले पुस्तिकाका रूपमा जन्मकुण्डली तयार पार्ने काममा लाग्नुभएको थियो (पण्डित श्री लोकनाथ लुइटेल स्मृतिग्रन्थ, पृ.९१)।
- ४. डा. गोपाल भण्डारी (प्राध्यापक, त्रि.वि., महेन्द्र बहुमुखी क्याम्पस, धरान)- गुरु दानदक्षिणामा कहिल्यै लोभलालच देखाउनुहुन्नथ्यो। यजमान र भक्तले जे जति दिन्छन्, त्यसैमा उहाँ सन्तुष्ट हुनुहुन्थ्यो। सन्तोषी स्वभावका हुनुहुन्थ्यो (पण्डित श्री लोकनाथ लुइटेल स्मृतिग्रन्थ, पृ. ३०१)।
- ५. डा.आनन्दप्रसाद आचार्य (सहप्राध्यापक, नेपाल संस्कृत विश्वविद्यालय, पिण्डेश्वर विद्यापीठ, धरान) – वर्तमान कलियुगीन समयका छलकपट, अहङ्कार, स्वार्थपरकता र आडम्बरी जीवनशैलीबाट उहाँ धेरै टाढा हुनुहुन्थ्यो। उहाँ अजातशत्रु हुनुहुन्थ्यो। कसैसँग वैरभाव थिएन। (पण्डित श्री लोकनाथ लुइटेल स्मृतिग्रन्थ पृ. ६३)।
- ६. डा. रमेश घिमिरे (पूर्व प्राचार्य- पिण्डेश्वर विद्यापीठ, धरान)- पं. लोकनाथ लुइटेल लोकप्रिय हुनुहुन्छ। कर्मकाण्डका आधिकारिक ज्ञाता हुनुहुन्छ, धर्मशास्त्रका पारखी हुनुहुन्छ एवम् ज्योतिषशास्त्रको ज्ञान पनि उहाँमा विद्यमान छ। (दर्शनसारामृतम्, पृ. २२)।
दैवज्ञ लक्षणका साक्ष्यमा लोकनाथ लुइटेलको ज्योतिषीय व्यक्तित्व होराशास्त्रमा पारङ्गत देखिन्छ। मुहूर्तशास्त्र र शकुन शास्त्रको पनि कल्याणकारी भावनाले परामर्श दिने हुनाले ज्योतिषीका रूपमा पनि परिचित भएको देखिन्छ। उपर्युक्त विद्वान्हरूका अभिव्यक्तिहरूबाट पनि लोकनाथ लुइटेलको ज्योतिषीय व्यक्तित्व प्रकाशित भएको बुझिन्छ।
लोकनाथ लुइटेलको ज्योतिषीय कृतित्व
काव्यशास्त्रका ज्ञाता साहित्याचार्य पण्डित लोकनाथ लुइटेलको लेखनी संस्कृत भक्तिकाव्यरचनामा प्रखर देखिन्छ। कर्मकाण्ड र ज्योतिषशास्त्रमा समेत उनको लेखनी रचनात्मक रूपमा प्रस्तुत भएको देखिन्छ। संस्कृत भक्तिकाव्यमा श्रीगोपेश्वरमाहात्म्यम् (२०६२), श्रीरामः शरणं मम (२०६५), श्रीविष्णुव्रतामृतम् (२०७०) प्रकाशित काव्यकृति हुन् भने भगवद्दर्शन सम्झना (२०६६) यात्रा वर्णनात्मक काव्यका रूपमा प्रकाशित भएको छ। दर्शनसारामृतम् (२०७४) दार्शनिक काव्य हो।
सरल पूजाविधि (२०६५) र सरलषोडशसंस्कारविधि (अप्रकाशित विद्युतीय पाण्डुलिपि) ज्योतिष र कर्मकाण्डको मिश्रित प्रयोग भएका कृतिका रूपमा देखिन्छन्। यसरी सरल पूजाविधि र सरल षोडशसंस्कारविधि एवम् जन्मपत्रिका आदि निर्माणमा लोकनाथ लुइटेलको ज्योतिषीय कृतित्व प्रकट भएको देखिन्छ।
क) चिना टिपनमा प्रारम्भिक रचनात्मकता
प्रारम्भिक समयमा आफ्ना सुन्दर हस्तलिपिका माध्यमले चिना, टिपन लेखनका रचनात्मक कार्यबाट उनको लेखनी प्रारम्भ भएको बुझिन्छ। यस्ता हस्तलिखित कुण्डलीहरू हजारौँ मानिसका भाग्यदर्पण बनेका पाइन्छन्। त्यस्तै विवाह र व्रतबन्धका लग्नपत्रिकाहरू, नागपूजाको हस्तलिखित चित्राङ्कन, वास्तुपूजाको वास्तुमण्डल चक्र, सर्वतोभद्र चक्र, यज्ञानुष्ठानको कलात्मक रङ्गवली आदि लोकनाथ गुरुका कलात्मक प्रारम्भिक रचना हुन्। जीवनको उत्तरार्द्धतिर कम्प्युटरबाट तयार गरिएका जन्मपत्रिकाहरू प्रकाशन गरेको तथ्यले ज्योतिषीय रचनात्मकतालाई पुष्टि गर्दछन्।
ख) सरल पूजाविधिमा ज्योतिषीय विषय
लुइटेलको कृति सरल पूजाविधिमा कर्मकाण्डका पूजाविधिसँग ज्योतिषका केही सम्बन्धित विषयहरू मिश्रित रूपमा प्रयोग भएका देखिन्छन्। ज्योतिषशास्त्रअनुसार अरिष्टग्रहको शान्ति गर्ने शान्तिविधि र नवग्रहपूजाविधि बूढीषडङ्ग पद्धतिअनुसार प्रस्तुत गरिएको छ। प्रयोगविधिलाई नेपाली भाषामा र मन्त्रलाई छुट्टै प्रस्तुत गरी ब्राह्मण र यजमानका लागि प्रयोगमा सरल बनाइएको छ। होमविधिलाई अग्निस्थापनाविधिअनुसार राखी ग्रहहोमविधि, ग्रहदानजस्ता विषयलाई पनि पण्डितजीहरूलाई सहयोग पुग्ने गरी प्रस्तुत गरिएको छ। साथै, ज्योतिषशास्त्रको छुट्टै विधा वास्तुशास्त्रको वास्तुचक्र र वास्तुपूजनलाई सरल रूपमा प्रस्तुत गरिएको छ। मूल, अश्लेषा नक्षत्र जन्मदोषको शान्तिविधि प्रस्तुत गरी कर्मकाण्ड सम्पादन गर्न सरल बनाइएको पाइन्छ। पुनर्मुद्रित संस्करण(२०७४)मा नवजात शिशुको नामसंस्कारविधि र नाम जुराउने ज्योतिषीय तरिका समेत प्रस्तुत गरिएको छ।
ग) सरल षोडशसंस्कारविधिमा संस्कार र प्रयोगविधि
सरल षोडशसंस्कारविधि लोकनाथ लुइटेलको अप्रकाशित पाण्डुलिपि हो। यसलाई कम्प्युटर टाइप गरी प्रकाशनको व्यवस्थापनका लागि कृति सम्पादक, व्यवस्थापक, प्रकाशक, प्रकाशन सहयोगी र प्रथम संस्करण, पुस्तक प्रति १००० एवम् मूल्य रु. २७५ तोकेर कम्प्युटरमा सुरक्षित राखिएको विद्युतीय प्रति पढ्न पाइन्छ। यसका केही प्रति प्रिन्ट गरेर २०७३ सालमा गीता भवनको मासिक प्रवचनमाला कार्यक्रममा दीपक पराजुलीबाट समीक्षा पनि गरिएको थियो। त्यस कार्यक्रममा आनन्द आचार्य, गोपाल भण्डारी लगायत धरानका प्रबुद्ध वर्गको उपस्थिति थियो। पुस्तकको भूमिकामा उपप्राध्यापक दीपक पराजुलीद्वारा शुभाशंसा शीर्षकमा पुस्तकका विषयमा जानकारीमूलक समीक्षा र शुभकामना प्रस्तुत गरिएको पाइन्छ।
प्रस्तुत कृतिको प्रारम्भमा विषयसूची यस प्रकार राखिएको छ –
- १ मङ्गलाचरणम्, कर्मपात्रनिर्माणम्
- २ प्रायश्चित्तगोदान, पुण्याहवाचनम्
- ३ दीप, कलश, गणेश पूजा
- ४ मातृकापूजा,
- ५ आभ्युदयिकश्राद्धम्
- ६ प्रधानदेवतापूजा
- ७ नवग्रहशान्तिविधिः
- ८ होमविधिः यज्ञान्तगोदानविधिः
- ९ गर्भाधानसंस्कारः (१)
- १० पुंसवनसंस्कारः (२)
- ११ सीमन्तोनयनसंस्कारः (३)
- १२ जातकर्मसंस्कारः (४)
- १३ नामकरणसंस्कारः (५)
- १४ निष्क्रमणसंस्कारः (६)
- १५ अन्नप्रासनसंस्कार (७)
- १६ कणर्वेधसंस्कार (८)
- १७ चूडासंस्कारः (९)
- १८ उपनयनसंस्कारः (१०)
- १९ गायत्रीश्रवणसंस्कारः (११)
- २० वेदारम्भ संस्कारः (१२ )
- २१ समावर्तनसंस्कार : ( १३)
- २२ गोदानसंस्कारः (१४)
- २३ देशान्तरश्रवणम्
- २४ विवाहसंस्कारविधिः (१५)
- २५ नारीव्रतसंस्कारविधिः
- २६ वैधव्यदोषनाशविधिः
- २७ वरप्राप्तिविधिः
- २८ वधूप्राप्तिविधिः
- २९ अर्कविवाहविधिः
- ३० सन्तानप्राप्त्युपायविधिः
- ३१ दीक्षासंस्कारः (१६)
यसबाट कृतिको विषयवस्तु स्पष्ट झल्किन्छ। गणेश, सूर्य, अम्बिका, सरस्वती, शिवजी र विष्णुको प्रार्थना गरी संस्कारबाट जनता सुखी, श्रीसम्पदावान् बनून् भन्ने कामना राखी गणेशजीको चित्रसहित यसरी मङ्गलाचरण गरिएको छ-
हे गौरीसुत ! हे गणेश ! दिनकृत् ! हे सूर्यनारायण !
हे अम्बे ! स्मृतिशक्तिबुद्धिधनदे ! गौरीपते ! श्रीपते ! ।।
विद्याभक्तियुतान् जनान् रचयितुं युष्मानहं प्रार्थये
संस्काराज्जनता भवन्तु सुखिनः श्रीसम्पदा भूर्भवेत्।।१।।
त्यसपछि सामान्य पूजाविधिमा प्रयोग हुने कर्मपात्र निर्माण, प्रायश्चित्त गोदान, पुण्याहवाचनम्, दीप, कलश, गणेशको पूजा, मातृका पूजा, आभ्युदयिक श्राद्ध, प्रधानदेवता पूजा साथै नवग्रह शान्तिविधि एवम् होमविधि समावेश गरिएको छ। पूजाविधिको उपक्रमपछि संस्कारहरूको प्रयोगविधि नेपाली भाषामा र संस्कृतभाषामा सङ्कल्पवाक्य तथा मन्त्रको प्रयोग गरिएको देखिन्छ। सनातन संस्कारको परिचय, प्रयोजन र प्रकारसमेत उल्लेख गर्न सकेको भए कृतिको ओज अझ बढ्ने देखिन्छ।
संस्कारको अर्थ र प्रकार
गर्नु अर्थ भएको कृ धातुमा सम् उपसर्ग र घञ् प्रत्यय लागेर बनेको संस्कार शब्दले मानस कर्म गर्नु, प्रतियत्न गर्नु वा अनुभवजन्य कर्म गर्नु भन्ने अर्थ बुझाउँछ[7]। परम्पराप्राप्त पूर्खाका अनुभवजन्य मानस कर्मलाई संस्कार शब्दले अभिव्यक्त गर्दछ। श्रौतेन स्मार्तेन वा कर्मणा संस्कृयते अनेन पुरुषः इति संस्कारः[8] भन्ने व्युत्पत्तिअनुसार श्रौत, स्मार्त कर्मद्वारा जो व्यक्ति परिष्कृत हुन्छ वा शुद्ध हुन्छ, त्यो शुद्ध वा पवित्र हुने प्रकृयालाई धर्मशास्त्रको भाषामा संस्कार भनिन्छ। पूर्वजन्म र गर्भदेखिका दोषहरूलाई निवारण गर्न गरिने दैहिक र मानसिक कर्महरू नै संस्कार हुन्। आधुनिक अर्थमा संस्कार भनेको जीवनशैली हो। पौरस्त्य जीवन पद्धतिभित्र सनातन संस्कारहरू रहेका छन्। ती संस्कारहरूले मानव जीवनलाई सभ्य र समृद्ध बनाउन सहयोग गर्छन्।
ज्योतिषशास्त्र र धर्मशास्त्र सम्बन्धी ग्रन्थहरूमा संस्कारको उल्लेख पाइन्छ। शुक्लयजुर्वेदाध्यायीहरूका संस्कारहरूसँग सम्बन्धित विषयवस्तुहरू विभिन्न ग्रन्थहरूमा पाइन्छन्। विशेष गरी माध्यन्दिनीय शतपथ ब्राह्मण, बाजसनेय प्रातिशाख्य, कात्यायन श्रौतसूत्र, पारस्कर गृहसूत्र, कातीय त्रिकण्डिका स्नानसूत्र, कात्यायन श्राद्धकल्पसूत्र, वाशिष्ठ धर्मसूत्र, गौतम धर्मसूत्र, याज्ञवल्क्यस्मृति र जैमिनीय धर्ममीमांसासूत्र ग्रन्थहरू शुक्लयजुर्वेदको माध्यन्दिनीय शाखाध्यायीहरूले अपनाउनु पर्ने संस्कारसँग सम्बन्धित ग्रन्थहरू हुन्। यिनै ग्रन्थहरूले निर्देश गरेका संस्कारलाई ज्योतिष र धर्मशास्त्रको निबन्ध ग्रन्थहरूमा उल्लेख गरेको पाइन्छ। ४८ प्रकारका संस्कारहरूलाई धर्मशास्त्रीहरूले उल्लेख गरेका छन्। त्यसमध्येमा पनि १६ संस्कारहरूलाई प्रमुख संस्कार र अन्य संस्कारहरूलाई गौण संस्कार मानिएको छ। ज्यौतिषशास्त्रमा गर्भाधानदेखि संस्कारको गणना प्रारम्भ हुन्छ भने धर्मशास्त्रमा विवाहदेखि संस्कारको गणना प्रारम्भ हुन्छ। ज्योतिषशास्त्रअनुसार प्रमुख षोडश संस्कारहरू यस प्रकार छन्- १. गर्भाधान, २. पुंसवन, ३. सीमन्तोनयन, ४. जातकर्म, ५. नामकरण, ६. निष्क्रमण, ७. अन्नप्राशन, ८. कर्णवेध, ९. चूडाकरण, १०. उपनयन, ११. वेदारम्भ, १२. केशान्त (गोदान), १३. समावर्तन, १४. विवाह, १५. अग्न्याधान र १६. अन्त्यकर्म।
यिनै षोडश संस्कारहरूलाई आधार मानेर ‘सरल षोडशसंस्कारविधि’ कृति तयार गरेको देखिन्छ। तर यस कृतिमा अग्न्याधान संस्कारको उल्लेख पाइँदैन। समाजमा प्रचलित केही नयाँ संस्कारहरू थप गरिएका छन्। नारीव्रत संस्कार र दीक्षा संस्कारलाई छुट्टै संस्कारका रूपमा उल्लेख गरी त्यसको प्रयोगविधि पनि बताइएको छ। प्रचलित पुस्तकमा भन्दा यसमा नारीव्रतसंस्कारविधि, नारीको वैधव्यदोष शान्तिविधि, वरप्राप्तिविधि र पुरुषको अर्कविवाह विधि एवम् सन्तान प्राप्तिको उपाय विशेष रूपमा प्रस्तुत गरिएको छ। नारीव्रत संस्कार कन्याहरूलाई गुन्यूचोली दिने मौलिक नेपाली संस्कारका रूपमा यहाँ प्रस्तुत गरिएको छ। पुरुषको व्रतबन्ध संस्कार र नारीको विवाह संस्कारपछि मात्र वैदिक कार्यमा सहभागी हुन पाउने धर्मशास्त्रको निणर्यअनुसार नारीप्रति अन्याय भएको महसुस गरी नारीहरूको विवाहभन्दा पहिले नै गरिने यो नारीव्रत संस्कारलाई यहाँ समावेश गरिएको बुझिन्छ।
कृतिको अन्त्यमा दीक्षा संस्कार प्रस्तुत गरिएको छ। ज्योतिष शास्त्रमा दीक्षा ग्रहण गर्नुलाई संस्कारका रूपमा ग्रहण गरिएको छैन। दीक्षा ग्रहणको मुहूर्त चाहिँ उल्लेख भएको पाइन्छ। जीवात्माको उद्धार(मोक्ष)का लागि वेदमा वर्णन गरिएका देवता गणेश, सूर्य, देवी, शिव र विष्णुको सविधि दीक्षा लिएर आजीवन ती देवताको दीक्षाव्रत धारण गर्ने विधिलाई दीक्षा संस्कार भनिएको छ। वर्तमान नेपाली समाजमा श्रीवैष्णव दीक्षा ग्रहण बाहेकका गाणपत्य, सौर्य र शाक्त दीक्षा ग्रहण संस्कारप्राप्त समाज नगण्य मात्रामा रहेको छ। त्यस्तै शैवदीक्षा प्राप्त समाजको उपस्थिति राम्रो
देखिन्छ। गुरु गोरखनाथको नाथ सम्प्रदाय, सन्त ज्ञानदिल दासको जोसमुनि सम्प्रदायमा शिवदीक्षा संस्कार प्रसिद्ध देखिन्छ। गिरी, पुरी, भारती आदि दशनामीहरूका पनि आ-आफ्नै दीक्षा लिने गुरुपरम्परा प्रचलित छन्। ती सबै शैवदीक्षा अन्तर्गतका सम्प्रदायहरू हुन्। पूर्वी नेपालका अोखलढुङ्गा, उदयपुर, खाेटङ र भाेजपुर जिल्लातिर गुरूबाट दीक्षित भई नित्य श्रीमद्भगवद्गीतको पाठ गर्ने गीतासम्प्रदाय पनि पाइन्छ । यस कृतिमा दीक्षा संस्कारको उल्लेख गरेर वैष्णव दीक्षालाई विशेष महत्त्व दिएको देखिन्छ। लेखकले गीता, भागवत, रामायण आदि सत्–शास्त्रहरूको अनुशरण गरी वैष्णव दीक्षा लिएर आजीवन लक्ष्मीनारायणको उपासना गरेमा मोक्ष प्राप्त हुन्छ भन्ने आग्रहका साथ दीक्षा संस्कारको उल्लेख गरेको बुझिन्छ।
लोकनाथ गुरुको ज्योतिषी व्यक्तित्वका सामर्थ्य र सीमा
हरेक व्यक्तिका आ-आफ्नै सामर्थ्य र सीमा हुन्छन्। लोकनाथ लुइटेलको ज्योतिषीय व्यक्तित्वका पनि निश्चित सामर्थ्य र केही सीमा देखिएका छन्। ज्योतिषशास्त्रको एउटा शाखा होरा र जातकशास्त्रलाई मात्र व्यवहारमा प्रयोग गर्न सक्नु, कुण्डलीका भाव, ग्रह र ग्रहदशाको फल बताउन सक्नु, मुहूर्तशास्त्रलाई व्यवहारमा प्रयोग गर्दै विभिन्न कल्याणकारी साइत निर्धारण गर्न सक्नु, ग्रहशान्ति, वास्तुशान्ति, नक्षत्रशान्ति आदिको कार्य सम्पादन गराउनु लोकनाथको ज्योतिषीय व्यक्तित्वको सामर्थ्य हो। ग्रहगणना र संहिता शास्त्रको प्रयोगमा भने शिथिलता देखिनु उनको व्यक्तित्वको सीमाका रूपमा बुझ्न सकिन्छ।
निष्कर्ष र उपलब्धि
संस्कृत साहित्यका धुरन्धर विद्वान् लोकनाथ लुइटेलमा धरानलाई कर्मथलो बनाएर ज्योतिष परमर्शका माध्यमबाट समाजसेवा, परोपकार र जनहितका काम गर्ने ज्योतिषीय व्यक्तित्व प्रकट भएको देखिन्छ। चिना, टिपन लेख्नु, कुण्डलीका ग्रहदशाको फल बताउनु र अरिष्ट ग्रहको शान्तिको उपाय बताउनु उनको ज्योतिषीय व्यक्तित्वको मुख्य पहिचान हो। उनमा ज्योतिषशास्त्रमा उल्लिखित दैवज्ञका आधारभूत योग्यता र लक्षणहरू अनुकूल देखिन्छन् भन्ने निष्कर्ष निकाल्न सकिन्छ । यस अध्ययनबाट लोकनाथ लुइटेलको गुप्त कृति सरलषोडशसंस्कार विधि समाजोपयोगी छ भन्ने सन्देश प्रदान गर्नु यस शाेधलेखको मुख्य उपलब्धि हाे । पण्डित लोकनाथ लुइटेलको ज्योतिषीय व्यक्तित्व र कृतित्वको मूल्याङ्कन गर्नु र दैवज्ञ ज्योतिषीका लक्षणलाई समसामयिक सन्दर्भमा प्रकाश पार्नु अर्को उपलब्धि हो भने प्राचीन ग्रन्थहरूमा उल्लिखित षोडश संस्कारहरूको क्रमबद्ध जानकारी गराउने सरल षोडशसंस्कारविधिको महत्त्व उद्घाटन गर्नुलाई पनि लोकनाथ लुइटेलको कृतिगत योगदानको उपलब्धि मान्न सकिन्छ।
सन्दर्भकृतिसूची
घिमिरे, आनन्दप्रसाद (सम्बत् २०७६), ‘पूजादिष्वनुरागः भक्तिः’को आन्तर्यमा सरलपूजाविधि, पण्डित लोकनाथ लुइटेल स्मृति-ग्रन्थ (सम्पा. भवानीप्रसाद मिश्र र अन्य), पृ. १७९-१८६), धरान : पं. श्रीलोकनाथ लुइटेल स्मृति-प्रतिष्ठान।
नारायणदैवज्ञ (सन् १९९३), मुहूर्तमार्तण्ड, मार्तण्डबल्लभा संस्कृत व्याख्या, वाराणसी : मोतिलाल बनारसी दास।
मिश्र, भवानीप्रसाद र अन्य (सम्पा.) (२०७६), पण्डित श्री लोकनाथ लुइटेल स्मृतिग्रन्थ, धरान : पं. श्री लोकनाथ लुइटेल स्मृति-प्रतिष्ठान।
राजाराधाकान्तदेव (सन् २००२), शब्दकल्पद्रुमः, नई दिल्ली : राष्ट्रिय संस्कृत संस्थान।
रामदैवज्ञ (सन् १९९७), मुहूर्तचिन्तामणि, पीयूषधारा टीका, वाराणसी : चौखम्बा सुरभारती प्रकाशन।
लुइटेल, लोकनाथ (२०६५), सरलपूजाविधि, धरान : लेखक स्वयम्।
लुइटेल, लोकनाथ (२०७४), दर्शनसारामृतम्, काठमाडौँ : जयतु संस्कृतम्।
लुइटेल, लोकनाथ (अप्रकाशित विद्युतीय पाण्डुलिपि), सरल षोडशसंस्कारविधिः।
वराहमिहिर (सन् २००३), बृहत्संहिता, (हिन्दी व्या. अच्युतानन्द झा), वाराणसी : चौखम्बा विद्या भवन।
उद्धरणहरू (Citations)
[1] सहायक प्राध्यापक (ज्यौतिष विभाग), पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल संस्कृत विश्वविद्यालय ।
Email: dhakalguru12@gmail.com
[2] वराहमिहिर, बृहत्संहिता, अध्याय- २, गद्यांश- १, २, ३ ।
[3] वराहमिहिर, बृहत्संहिता, अध्याय- २, गद्यांश- १७, १८ ।
[4] न सांवत्सरपाठी च नरकेषूपपद्यते । ब्रह्मलोकप्रतिष्ठां च लभते दैवचिन्तकः ।। (बृहत्संहिता- २.२८) ।
[5] मुहूर्ततिथिनक्षत्रमृतवश्चायने तथा । सर्वाण्येवाकुलानि स्युर्न स्यात् सांवत्सरो यदि ।।
तस्मात् राज्ञाधिगन्तव्यो विद्वान् सांवत्सरोद्रग्रणी । जयं यशः श्रियो भोगान् श्रेयश्च समभीप्सता ।। (बृहत्संहिता २.२५,२६) ।
[6] अविदित्वैव यः शास्त्रं दैवज्ञत्वं प्रपद्यते । सः पङ्क्तिदूषको पापो ज्ञेयो नक्षत्रसूचकः ।।
कुहकावेशपिहितः कर्णोपश्रुतिहेतुभिः । कृतादेशो न सर्वत्र प्रष्टव्यो न स दैववित् ।।
नक्षत्रसूचकोद्दिष्टमुपवासं करोति यः । सः व्रजन्त्यन्तधतामिस्रं सार्धमृक्षं विडम्बना ।। (बृहत्संहिता २.३१-३३) ।
[7] शब्दकल्पद्रुमः, पञ्चमखण्डः, पृ. २०६ ।
[8] मुहूर्तचिन्तामणि, संस्कारप्रकारणम्, पीयूषधारा व्याख्या ।