सम्पादक लोकनाथ गुरुको जीवनमा विवाहको प्रसङ्ग बडो पीडादायी भएर रह्यो। उहाँले जीवनमा पाँच विवाह गर्नुभयो। प्रथम (निरौलाकी छोरी २००८-२०१०) र दोस्रो (बाँस्तोलाकी छोरी २०११-२०१६) पटकको विवाह पनि असफल भएपछि अब के गर्ने भन्ने चिन्ता भयो परिवारका हजुरबा, हजुरआमा, आमा, बडाबा, काकाहरू सबैलाई। दुई ओटी पत्नी बितिसकेकाले जो कोहीले भन्ने बित्तिकै कन्या दिने अवस्था पनि थिएन। […]
सम्पादक
लोकनाथ गुरुको जीवनमा विवाहको प्रसङ्ग बडो पीडादायी भएर रह्यो। उहाँले जीवनमा पाँच विवाह गर्नुभयो। प्रथम (निरौलाकी छोरी २००८-२०१०) र दोस्रो (बाँस्तोलाकी छोरी २०११-२०१६) पटकको विवाह पनि असफल भएपछि अब के गर्ने भन्ने चिन्ता भयो परिवारका हजुरबा, हजुरआमा, आमा, बडाबा, काकाहरू सबैलाई। दुई ओटी पत्नी बितिसकेकाले जो कोहीले भन्ने बित्तिकै कन्या दिने अवस्था पनि थिएन। तथापि, शास्त्रीय मर्यादाअनुसार कुलको र आफ्नो पनि कल्याणका लागि सन्तति हुनु आवश्यक हुन्थ्यो र वंशपरम्पराका लागि विवाह गर्नु अनिवार्य थियो। त्यसैले, घरपरिवार, मान्यजनको सल्लाहअनुसार उहाँको विवाहका लागि प्रयन्त जारी राखिएको थियो। अब उहाँको तेस्रो विवाह हुनुपर्ने थियो।
कुरा २०१९ सालको हो। त्यतिवेला लोकनाथ लुइटेल धरानमा संस्कृतको अध्ययन गर्दै हुनुहुन्थ्यो। धरानमा उहाँका बारेमा बुझेका कसैले विवाहको प्रसङ्ग चल्दा अर्कविवाह गर्नुपर्ने कुरा बताएछन्। पछि उहाँ दशैँमा घर जानुभयो। पण्डित बालानन्द खनालकी मैया (टेकमाया- लुइटेल वंशावली २०७२ अनुसार) नामकी छोरी थिइन्। पण्डितजीले लोकनाथलाई छोरी दिने विचार गर्नुभयो तर पहिलेका पत्नीहरू खुरुखुरु बितेकाले केही उपाय गरौँ भन्ने चर्चामा अर्कविवाहको प्रसङ्ग आयो। विवाहहरू असफल भएका अवस्थामा तृतीय विवाहभन्दा पहिले अर्कविवाहको विधान बताइएको छ। लोकनाथका घरतिर, हजुरबाहरूले पनि अर्कविवाह गर्नु आवश्यक छ भन्ने विचार गर्नुभयो। खनालकी छोरीभन्दा पहिले आँकले ३ पारौँ, अनि नातिनी बुहारी भित्र्याऔँ भन्ने सल्लाह भयो। यो कुरा कान्छा हजुरबाले नै लोकनाथलाई भन्नुभयो। सम्झाइबुझाइ गरेपछि पहिलेको पीडाले विचलित र अन्यमनस्क भएका लोकनाथले पनि स्वीकार गर्नुभयो। त्यसपछि लोकनाथका कान्छा हजुरबा पद्मलालले नाति (छोरीको छोरा) पं. श्रीकृष्ण खनाललाई ‘लोकनाथको अर्कविवाह गराइदे’ भन्नुभयो। अनि उहाँले लोकनाथ गुरुको अर्कविवाह सम्पन्न गरिदिनुभएको थियो।
कालीमाटीको लुइटेल गाउँको तल एउटा सुगारो नामको खेत छ। त्यसैको तलतिर खहरे खोला छ, सायद होक्ते या यस्तै केही नाम छ त्यसको। त्यसको पारिपट्टि एउटा बाँझो पाखो छ। त्यसैको एक ठाउँमा अलिकति सम्म स्थान पनि छ। त्यही सम्म परेको स्थानमा एउटा आँकको बोट थियो। त्यही आँकलाई दुलही बनाएर लोकनाथ लुइटेलको तेस्रो विवाह सम्पन्न भएको थियो।
विवाहमा को को थिए भन्ने स्पष्ट भएन तर सबैलाई निम्तो गरेर, धेरै जना जुटेर गर्ने कार्य नभई सुटुक्क गर्ने कार्य भएकाले अर्कविवाहमा कति जना थिए भन्ने कुराले खासै अर्थ पनि राखेन। हल्ला नगरी गएर बिहानको समयमा विवाह भयो। लोकनाथ दुलाहा हुनुभयो भने उहाँका भाञ्जा दाजु पुरोहित। अर्क कन्याको नाम ‘मालिनी’ राखिएको थियो। उनै कन्यालाई लोकनाथले सिन्दूर आदि लगाएर विवाहका सम्पूर्ण विधिहरू सम्पन्न गर्नुभएको थियो। त्यसपछि खनालकी छोरीसँग उहाँको चौथो विवाह भयो। खनालकी छोरी विवाह गर्दा अर्ककन्या मालिनीको मृत्यु भइसकेको थियो।