शरच्चन्द्र वस्ती पुराणहरूमा मूलतः चार प्रकारका प्रलयको वर्णन गरिएको छ – नित्य, आत्यन्तिक, प्राकृत र नैमित्तिक। तीमध्ये नित्य र आत्यन्तिक व्यक्तिसँग सम्बन्धित छन्, प्राकृत र नैमित्तिक समग्र जगत् एवम् ब्रह्माण्डसँग सम्बन्धित छन्। यस बाहेक आन्तर र युगान्त प्रलय पनि हुन्छन्। संसारमा प्रतिपल भइरहने जीवको मृत्युलाई ‘नित्य प्रलय’ भनिन्छ भने योगी ब्रह्ममा लीन हुने घटनालाई ‘आत्यन्तिक […]
शरच्चन्द्र वस्ती
पुराणहरूमा मूलतः चार प्रकारका प्रलयको वर्णन गरिएको छ – नित्य, आत्यन्तिक, प्राकृत र नैमित्तिक। तीमध्ये नित्य र आत्यन्तिक व्यक्तिसँग सम्बन्धित छन्, प्राकृत र नैमित्तिक समग्र जगत् एवम् ब्रह्माण्डसँग सम्बन्धित छन्। यस बाहेक आन्तर र युगान्त प्रलय पनि हुन्छन्।
संसारमा प्रतिपल भइरहने जीवको मृत्युलाई ‘नित्य प्रलय’ भनिन्छ भने योगी ब्रह्ममा लीन हुने घटनालाई ‘आत्यन्तिक प्रलय’ भनिन्छ। प्रलय भनेकै लय हुनु, विलीन हुनु, बाँकी नरहनु हो।
प्राकृत प्रलय महाप्रलय हो। यो प्रलय ब्रह्माको १०० वर्ष आयु पूरा भएपछि हुन्छ। यसमा तीन लोक मात्र होइन, समग्र ब्रह्माण्ड नै समाप्त भएर पूर्णतः शून्य अवस्थामा पुग्छ। तीन लोकसहित पञ्चतत्त्वहरू विनष्ट हुन्छन्, ग्रह, नक्षत्र सबै समाप्त हुन्छन् र ब्रह्मासहित समग्र प्रकृति ब्रह्ममा विलीन हुन्छ (अणु रूपमा)। त्यसबेला ब्रह्मस्वरूप तिनै नारायण मात्र बाँकी रहन्छन्। अनन्तकालपछि उनकै इच्छाले उनीबाटै सृष्टिको प्रारम्भ हुन्छ। मत्स्यमहापुराणको १६६औं अध्यायमा प्राकृत प्रलय (महाप्रलय)को वर्णन गरिएको छ। महाप्रलयपछि सृष्टि कसरी शुरु हुन्छ भन्ने चाहिँ दोस्रो अध्यायको संवाद (श्लोक २५-३७)मा बताइएको छ। दुवै वर्णन मत्स्यावतार भगवान्को मुखबाट भएको छ।
नैमित्तिक प्रलय ब्रह्माको एकदिन (रात होइन) पूरा भएपछि हुन्छ। सत्य, त्रेता, द्वापर, कलि-चार युगले एक हजार चक्र पूरा गरेपछि (सहस्र चतुर्युग) ब्रह्माको एक दिन पूरा हुन्छ। त्यसैलाई कल्प भनिन्छ। (अहिले श्वेतवराह कल्प चल्दैछ)। नैमित्तिक प्रलय यही एकदिन वा कल्प पूरा भएपछि हुने कल्पान्त-प्रलय हो। यसमा तिनै लोकको विनाश हुन्छ। त्यसपछि त्यति नै समय अर्थात् रातभरि ब्रह्मा सुत्छन्। त्यस पश्चात् ब्रह्माको अर्को दिन प्रारम्भ हुन्छ र सृष्टि शुरु हुन्छ।
आन्तर-प्रलय एउटा मन्वन्तर पूरा भएपछि हुने प्रलय हो। ब्रह्माको एकदिन अर्थात् एउटा कल्पभित्र १४ मन्वन्तर हुन्छन्। मन्वन्तर भनेको एउटा मनुको आयु वा अधिकारकाल हो। प्रत्येक मन्वन्तर सामान्यतः ७१ चतुर्युग(त्योभन्दा अलिकति बढी समय)को हुन्छ। अहिले वैवस्वत मन्वन्तर चल्दैछ, जुन सातौं मन्वन्तर हो)। यस्ता प्रत्येक मन्वन्तरको अन्त्यमा आन्तर-प्रलय हुन्छ र एउटा मनुको सृष्टि वा अधिकारकाल वा आयु समाप्त भएर अर्को मनुको सृष्टि वा समय शुरु हुन्छ।
मत्स्यमहापुराण भगवान्को मत्स्यावतारसित सम्बन्धित पुराण हो। यसको पहिलो अध्यायमा मनुले भगवान्सँग प्रलयकालमा सबै जीवहरूको रक्षा गर्न समर्थ हुने वरदान मागेको, भगवान् मत्स्यका रूपमा उनको हातमा प्रकट भएको र बढ्दै गएर समुद्रलाई नै ढाकेको तथा प्रलयकालमा कसरी जीवहरूको रक्षा गर्ने भनेर भगवान्ले बताएको वर्णन छ। दोस्रो अध्यायमा भगवान्ले प्रलयको वर्णन गरेको र प्रलयकालमा भगवान्ले बताएबमोजिम सारा जीव र बीजहरू भगवान्बाट प्राप्त नाउमा राखी मत्स्य रूपधारी भगवान्को सीङमा नाउ बाँधेर अड्याई सबैलाई बचाएको कथा छ। त्यसपछि सृष्टि कसरी शुरु हुन्छ भन्ने पनि भगवान्ले वर्णन गर्नुभएको छ। (दोस्रो अध्याय, श्लोक १-१९)
यस महापुराणमा वर्णन गरिएको यो प्रलय प्राकृत वा नैमित्तिक प्रलय नभएर आन्तर-प्रलय हो। चाक्षुष मन्वन्तरको अन्त्यमा भएकाले यसलाई चाक्षुष-अन्तर-प्रलय (चाक्षुषान्तर संक्षयः अध्याय २, श्लोक १४) भनिएको छ। आन्तर-प्रलय भएकैले यसमा जीवहरू र बीजहरू सुरक्षित तवरमा जोगाएर राख्न सम्भव भएको छ। नैमित्तिक प्रलयमा जीव अथवा बीज वा नाउ त के, स्वयं मनु पनि बाँकी रहँदैनन्। सबैको विनाश हुन्छ र ब्रह्मा सुत्छन्। यसप्रकार यो प्रलय यस अघिका अनेकौँ साना-ठूला प्रलयको शृङ्खलामा भएको सबैभन्दा पछिल्लो आन्तर-प्रलय हो, जुन प्रलयपछि भएको सृष्टि अहिलेको जगत् हो। अर्थात् मत्स्यावतारको कथा वर्तमान विश्व शुरु हुनु अघिको आन्तर-प्रलयको कथा हो।
यसका साथै प्रत्येक मन्वन्तरभित्र पनि एउटा चतुर्युग (सत्य,त्रेता, द्वापर र कलियुगको एउटा चक्र) पूरा भएपछि प्रलय हुन्छ र त्यसपछि अर्को चतुर्युगको चक्र शुरु हुन्छ। यसलाई युगान्त प्रलय भन्न सकिन्छ। यो अपेक्षाकृत सामान्य प्रलय हो। यसमा सबै कुरा पूर्णतः नष्ट नभएर अत्यधिक कुरा मात्र नष्ट हुन्छन्। त्यस क्रममा जे प्राणी, वनस्पति आदि बाँकी रहन्छन्, तिनबाट पुनः संसार स्वतः शुरु एवम् विकसित हुँदै जान्छ र सृष्टिको निरन्तरता कायम रहन्छ। अहिलेको संसार ब्रह्माको आयुको पूर्वार्ध बितिसकेपछिको उत्तरार्धमा, श्वेतवराहकल्प अन्तर्गत सातौँ वैवस्वत मन्वन्तर अन्तर्गतका २७ चतुर्युग समाप्त भएपछिको २८औँ चतुर्युगको संसार हो। अर्थात्, वैवश्वत मन्वन्तरअन्तर्गत २७औं पटकको युगान्त प्रलयपछि विकसित भएको दुनियाँ हो। यस २८सौँ चतुर्युगमा तीन युग (सत्य, त्रेता, द्वापर) समाप्त भइसकेका छन् र चौथो युग (कलियुग) प्रथम चरणमा छ।
चार युगको समय : कलियुगको समय चार लाख ३२ हजार वर्ष हो। द्वापरयुगको समय आठ लाख ६४ हजार वर्ष हो (कलियुगको दोब्बर)। त्रेतायुगको समय १२ लाख ९६ हजार वर्ष हो (कलियुगको तेब्बर)। सत्ययुगको समय १७ लाख २८ हजार वर्ष हो (कलियुगको चौबर)। चार युगको कुल समय ४३ लाख २० हजार वर्ष हुन्छ। अहिले कलियुगको ५,१२२ वर्ष चल्दैछ। ईस्वी संवत शुरु हुनुभन्दा ३१०२ वर्ष अघि कलियुग शुरु भएको देखिन्छ।
मत्स्यमहापुराणका अनुवाद गरिएका अंशहरू–
क. चाक्षुष अन्तर-प्रलयसँग सम्बन्धित वर्णन
(मनुले तपस्या गरेको, माछाको प्रसङ्ग, प्रलयवर्णन र जीवहरूलाई जोगाएको)
– अध्याय १, श्लोक १२-३५
-अध्याय २, श्लोक १-१९
ख. महाप्रलय (प्राकृत प्रलय) को वर्णन
– अध्याय १६६, श्लोक १-२१
ग. महाप्रलयपछि सृष्टि शुरु हुने वर्णन
– अध्याय २, श्लोक २५-३७
चाक्षुष आन्तर-प्रलयको वर्णन (मत्स्यावतारको कथा )-
(अध्याय १, श्लोक १२-३५)
पुरा राजा मनुर्नाम चीर्णवान् विपुलं तपः।
पुत्रे राज्यं समारोप्य क्षमावान् रविनन्दनः ।।१२।।
मलयस्यैकदेशे तु सर्वात्मगुणसंयुतः।
समदुःखसुखो वीर : प्राप्तवान् योगमुत्तमम्।। १३।।
प्राचीन समयमा सूर्यका पुत्र (वैवस्वत) मनुले – जो क्षमाशील, सम्पूर्ण आत्मगुण(मानिसमा हुनुपर्ने असल गुण)ले युक्त, सुख-दुःखलाई समान ठान्ने एवम् वीर थिए-आफ्नो छोरालाई राज्य सुम्पेर मलयाचल (मलय पर्वत)को एक भागमा गई घोर तपस्या गरे र योगको उत्तम अवस्था प्राप्त गरे।
बभूव वरदश्चास्य वर्षायुतशते गते।
वरं वृणीष्व प्रोवाच प्रीतः स कमलासन:।।१४।।
यसरी उनले तपस्या गर्दा करोडौँ वर्ष व्यतीत भएपछि कमलासन (कमलमा बस्ने) ब्रह्मा प्रसन्न भएर वददाताका रूपमा प्रकट भए र राजा (मनु)लाई ‘वर माग’ भने।
एवमुक्तोऽब्रवीद् राजा प्रणम्य स पितामहम्।
एकमेवाहमिच्छामि त्वत्तो वरमनुत्तमम्।।१५।।
भूतग्रामस्य सर्वस्य स्थावरस्य चरस्य च।
भवेयं रक्षणायालं प्रलये समुपस्थिते।। १६।।
ब्रह्माले यसो भनेपछि मनु महाराजले उनलाई प्रणाम गरेर भने, ‘भगवन् ! म तपाईंसँग एउटै सर्वश्रेष्ठ वर माग्न चाहन्छु। (त्यो के भने) प्रलय उपस्थित हुँदा (संसारको प्रलय हुँदा) स्थावर र जंगम रूप सम्पूर्ण जीवसमूहको रक्षा गर्न म समर्थ होऊँ।’ (स्थावर – हिंडडुल गर्न नसक्ने वृक्ष, लतादेखि नदी, पर्वतसम्म। जंगम – हिंडडुल गर्न सक्ने, प्राणधारी सबै प्राणी)।
एवमस्त्विति विश्वात्मा तत्रैवान्तरधीयत।
पुष्पवृष्टिः सुमहती खात् पपात सुरार्पिता।।१७।।
(मनुले त्यसो भनेपछि) विश्वात्मा ब्रह्मा ‘एवमस्तु’ (यस्तै हुनेछ) भनेर त्यही अन्तर्ध्यान भए। त्यसबेला आकाशबाट देवताहरूले ठूलो पुष्पवृष्टि गरे।
कदाचिदाश्रमे तस्य कुर्वतः पितृतर्पणम्।
पपात पाण्योरुपरि शफरी जलसंयुता।।१८।।
(ब्रह्माबाट यस्तो वरदान पाएपछि) एकदिन आश्रममा पितृतर्पण गरिरहेको बेला मनुको हत्केलामा पानीसँगै एउटा माछो आइपुग्यो।
दृष्ट्वा तच्छफरीरूपं स दयालुर्महीपतिः।
रक्षणायाकरोद् यत्नं स तस्मिन् करकोदरे।।१९।।
त्यस माछाको रूपलाई (माछाको सानो भुरालाई) देखेर उनलाई दया लाग्यो र त्यसलाई कमण्डलुमा हालेर उसको रक्षा गर्ने प्रयास गरे।
अहोरात्रेण चैकेन षोडशाङ्गुलविस्तृतः।
सोऽभवन्मत्स्यरूपेण पाहि पाहीति चाब्रवीत्।।२०।।
(त्यहाँ) एउटै अहोरात्र(दिन-रात)मा त्यो मत्स्यरूपमा सोह्र अंगुल ठूलो (सोह्र अंगुलको) भयो र कमण्डलुमा नअटाएर ‘रक्षा गर्नुहोस्, रक्षा गर्नुहोस्’ भन्न थाल्यो।
स तमादाय मणिके प्राक्षिपज्जलचारिणम्।
तत्रापि चैकरात्रेण हस्तत्रयमवर्धत।।२१।।
पुनः प्राहार्तनादेन सहस्रकिरणात्मजम्।
स मत्स्यः पाहि पाहीति त्वामहं शरणं गतः।।२२।।
त्यसपछि राजाले त्यो जलचरलाई माटाको एउटा घडामा हाले। त्यहाँ पनि त्यो एकै रातमा तीन हात बढ्यो। अनि त्यो माछाले सूर्यपुत्र मनुलाई आर्त वाणीमा भन्यो, ‘राजन्, म तपाईंको शरणमा छु। मेरो रक्षा गर्नुहोस्, रक्षा गर्नुहोस्।’
ततः स कूपे तं मत्स्यं प्राहिणोद् रविनन्दनः।
यदा न माति तत्रापि कूपे मत्स्यः सरोवरे।।२३।।
क्षिप्तोऽसौ पृथुतामागात् पुनर्योजनसम्मिताम्।
तत्राप्याह पुनर्दीनः पाहि पाहि नृपोत्तम।।२४।।
त्यसपछि ती सूर्यपुत्र मनुले उसलाई कुवामा राखे। जब त्यो माछो कुवामा पनि अटाएन, त्यसबेला उनले त्यसलाई सरोबर(पोखरी)मा हालिदिए। त्यहाँ त्यो पुनः एक योजन (चारकोस) ठूलो (लामो) हुन पुग्यो र फेरि दीन भएर भन्न थाल्यो, ‘हे नृपश्रेष्ठ, मेरो रक्षा गर्नुहोस् रक्षा गर्नुहोस्।’
ततः स मनुना क्षिप्तो गंगायामप्यवर्धत।
यदा तदा समुद्रे तं प्राक्षिपन्मेदिनीपतिः।।२५।।
त्यसपछि मनुले उसलाई गंगामा हालिदिए। जब त्यहाँ अझ विशाल रूप धारण गर्यो (र गंगामा पनि नअटाउने भयो) त्यसबेला राजा मनुले उसलाई समुद्रमा हालिदिए।
यदा समुद्रमखिलं व्याप्यासौ समुपस्थितः।
तदा प्राह मनुर्भीतः कोऽपि त्वमसुरेश्वरः।।२६।।
अथवा वासुदेवस्त्वमन्य ईदृक् कथं भवेत्।
योजनायुतविंशत्या कस्य तुल्यं भवेद् वपुः।।२७।।
ज्ञातस्त्वं मत्स्यरूपेण मां खेदयसि केशव।
हृषीकेश जगन्नाथ जगद्धाम नमोऽस्तु ते।।२८।।
जब त्यस मत्स्यले सिंगै समुद्रलाई नै ढाक्न पुग्यो, त्यसबेला मनुले भयभीत भएर उसलाई भने, ‘तपाईँ को हुनुहुन्छ ? कुनै असुर-राज त होइन ? अथवा तपाईँ भगवान् वासुदेव नै हुनुहुन्छ ? नत्र अरु कोही यस्तो कसरी हुन सक्छ ? बीसौँ योजन बराबरको शरीर अरु कसको हुन सक्छ ? हे केशव ! मलाई ज्ञान भैसक्यो कि तपाईं नै मत्स्यको रूप धारण गरेर मलाई खिन्न बनाउँदै हुनुहुन्छ (थकित पार्दै हुनुहुन्छ)। हे हृषीकेश ! तपाई संसारका नाथ र संसारका निवासस्थान हुनुहुन्छ, तपाईँलाई नमस्कार छ।’
एवमुक्तः स भगवान् मत्स्यरूपी जनार्दनः।
साधु साध्विति चोवाच सम्यग्ज्ञातस्त्वयानघ।।२९।।
मनुले यसो भनेपछि मत्स्यरूपधारी ती भगवान् जनार्दनले भन्नुभयो, ‘हे अनघ (निष्पाप) ! ठीक हो, ठीक हो, तिमीले मलाई राम्ररी चिन्यौ।
अचिरेणैव कालेन मेदिनी मेदिनीपते।
भविष्यति जले मग्ना सशैलवनकानना।।३०।।
नौरियं सर्वदेवानां निकायेन विनिर्मिता।
महाजीवनिकायस्य रक्षणार्थं महीपते।।३१।।
स्वेदाण्डजोद्भिदो ये वै ये च जीवा जरायुजाः।
अस्यां निधाय सर्वांस्ताननाथान् पाहि सुव्रत।।३२।।
थोरै समयमा (छिटै) पर्वत, वन र काननहरू सहित (कानन : ठूलो वन) यो पृथ्वी जलमा विमग्न हुनेछ (पानीमा डुब्ने छ)। त्यसैले हे पृथ्वीपति ! सम्पूर्ण जीवसमूहको रक्षा गर्न सबै देवताहरूले मिलेर यो नाउ निर्माण गरिएको छ।। हे सुव्रत (असल व्रत/आचारण गर्ने) ! जति स्वेदज (पसीनाबाट उत्पन्न हुने), अण्डज (अण्डाबाट उत्पन्न हुने), उद्भिज्ज (पृथ्वी भेदन गरेर उत्पन्न हुने) जीव छन्, जति जरायुज जरायु अर्थात् (गर्भाशयबाट उत्पन्न हुने) जीव छन्, ती सबै अनाथहरूलाई यस नाउमा चढाएर तिमीले तिनीहरूको रक्षा गर्नू।
युगान्तवाताभिहता यदा भवति नौर्नृप।
शृङ्गेऽस्मिन् मम राजेन्द्र तदेमां संयमिष्यसि।।३३।।
हे राजन् ! जब युगान्त(प्रलयकाल)को वायुले आहत भएर यो नाउ डगमगाउन थाल्छ, त्यसबेला यसलाई मेरो यो सिङमा बाँधिदिनू।
ततो लयान्ते सर्वस्य स्थावरस्य चरस्य च।
प्रजापतिस्त्वं भविता जगतः पृथिवीपते।।३४।।
(त्यसरी नाउमा राखेर सबैलाई जोगाएपछि) प्रलयको समाप्तिमा तिमी संसारका सम्पूर्ण स्थावर र जंगम प्राणीहरूका प्रजापति हुनेछौ।
एवं कृतयुगस्यादौ सर्वज्ञो धृतिमान् नृपः।
मन्वन्तराधिपश्चापि देवपूज्यो भविष्यसि।।३५।।
यसप्रकार सत्ययुगको प्रारम्भमा सर्वज्ञ र धैर्यवान् राजाका रूपमा तिमी मन्वन्तर (७१ दिव्य युग) का पनि अधिपति हुनेछौ र देवताहरूले तिम्रो पूजा गर्नेछन्।
मत्स्यमहापुराण (अध्याय-२, श्लोक १–१९)
सूत उवाच
एवमुक्तो मनुस्तेन पप्रच्छ मधुसूदनम्।
भगवन् कियद्भिर्वर्षैर्भविष्यत्यन्तरक्षयः।।१।।
सत्त्वानि च कथं नाथ रक्षिष्ये मधुसूदन।
त्वया सह पुनर्योगः कथं वा भविता मम।।२।।
सूतजी भन्नुहुन्छ मत्स्यरूपधारी भगवान्ले यसो भनेपछि मनुले मधुसुदन(भगवान)लाई प्रश्न गरे, ‘भगवन् ! यो युगान्त प्रलय कति वर्षपछि हुनेछ ? हे नाथ ! मैले सम्पूर्ण जीवहरूको रक्षा कसरी गरुँला ? हे मधुसुधन ! तपाईंसँग मेरो भेट फेरि कसरी होला ?’
मत्स्य उवाच
अद्य प्रभृत्यनावृष्टिर्भविष्यति महीतले।
यावद् वर्षशतं साग्रं दुर्भिक्षमशुभावहम्।।३।।
मत्स्य भगवान्ले भन्नुभयो- आजदेखि शुरु भएर सय वर्षसम्म यस पृथ्वीमा वृष्टि हुनेछैन, (त्यसको फलस्वरूप) अत्यन्त अशुभ (भयंकर) दुर्भिक्ष (अनिकाल) आउने छ।
ततोऽल्पसत्वक्षयदा रश्मयः सप्त दारुणाः।
सप्तसप्तेर्भविष्यन्ति प्रतप्ताङ्गारवर्षिणः।।४।।
त्यस उप्रान्त बलिरहेको (रातो) कोइला वर्षाउने जस्ता सूर्यका सात भयंकर किरणहरूले ससाना जीवहरूको संहार गर्ने छन्। (संहार गर्न थाल्ने छन्)
और्वानलोऽपि विकृतिं गमिष्यति युगक्षये।
विषाग्निश्चापि पातालात् संकर्षणमुखाच्च्युतः।
भवस्यापि ललाटोत्थतृतीय नयनानलः।।५।।
त्रिजगन्निर्दहन् क्षोभं समेष्यति महामुने।
प्रलयको त्यस घडीमा वडवानलले पनि अत्यन्त भयानक रूप धारण गर्नेछ, (वडवानल : समुद्रभित्र रहने आगो) पातालबाट उठेर आएको संकर्षणको मुखबाट निस्केको विषाग्नि र भगवान् रुद्रको ललाट (निधार)बाट उत्पन्न तेस्रो नेत्रको अग्नि समेत तीनै लोकलाई भस्म गर्दै उग्र रूपमा बल्न थाल्नेछ।
एवं दग्धा मही सर्वा यदा स्याद् भस्मसंनिभा।।६।।
आकाशमूष्मणा तप्तं भविष्यति परंतप।
ततः सदेवनक्षत्रं जगद् यास्यति संक्षयम्।।७।।
हे परन्तप ! (शत्रुलाई ताप दिने राजन्) यसप्रकार जब समग्र पृथ्वी जलेर खरानी जस्तो हुनेछ र आकाशमण्डल ऊष्म(गर्मी)ले सन्तप्त हुनेछ, त्यसबेला देवता र नक्षत्रहरू सहित सम्पूर्ण जगत् नष्ट हुनेछ।
संवर्तो भीमनादश्च द्रोणश्चण्डो बलाहकः।
विद्युत्पताकः शोणस्तु सप्तैते लयवारिदाः।।८।।
अग्निप्रस्वेदसम्भूतां प्लावयिष्यन्ति मेदिनीम्।
समुद्राः क्षोभमागत्य चैकत्वेन व्यवस्थिताः।।९।।
एतदेकार्णवं सर्वं करिष्यन्ति जगत्त्रयम्।
त्यसबेला संवर्त, भीमनाद, द्रोण, चण्ड, बलाहक, विद्युत्पताक र शोण नामक सातवटा प्रलयकार मेघहरूले अग्निको प्रस्वेद(पसिना)बाट उत्पन्न जलको ठूलो वृष्टि गरेर समग्र पृथ्वीलाई आप्लावित गरिदिनेछन् (डुबाइदिनेछन्)। त्यसबेला सातवटै समुद्र उर्लेर एकाकार हुनेछन् र तीनै लोकलाई एउटै समुद्रको आकारमा परिणत गरिदिनेछन् (सम्पूर्ण पृथ्वी एउटै समुद्र बन्न पुग्नेछ)।
वेदनावमिमां गृह्य सत्वबीजानि सर्वशः।।१०।।
आरोप्य रज्जुयोगेन मत्प्रदत्तेन सुव्रत।
संयम्य नावं मच्छृङ्गे मत्प्रभावाभिरक्षितः।।११।।
एकः स्थास्यसि देवेषु दग्धेष्वपि परंतप।
हे सुव्रत ! त्यसबेला तिमीले यो वेदरूपी नाउलाई लिएर समस्त बीज र जीवहरूलाई नाउमा हालिदिनू र मैले प्रदान गरेको डोरीले यो नाउलाई मेरो सिङमा बाँधिदिनू। हे परन्तप ! (त्यसप्रकार त्यो प्रलयकालमा) सबै देवी देवता जलेर भस्म हुँदा पनि मेरो प्रभावले सुरक्षित भएर (पृथ्वीमा) तिमी एकजना बाँकी रहनेछौ।
सोमसूर्यावहं ब्रह्मा चतुर्लोकसमन्वितः।।१२।।
नर्मदा च नदी पुण्या मार्कण्डेयो महानृषि:।
भवो वेदाः पुराणनि विद्याभिः सर्वतोवृतम्।।१३।।
त्वया सार्धमिदं विश्वं स्थास्यत्यन्तरसंक्षये।।
यस आन्तर-प्रलयमा (महाप्रलय होइन, बीचमा आउने प्रलयमा) सोम, सूर्य, म, चारै लोक सहित ब्रह्मा, पुण्यतोया नर्मदा नदी, महर्षि मार्कण्डेय, शिव, चारै वेद, विद्याहरूले चारैतिरबाट घेरिएका पुराणहरू र तिमीसँगै यो (नाउमा रहेको) विश्व मात्र बच्नेछन्।
एवमेकार्णवे जाते चाक्षुषान्तरसंक्षये।।१४।।
वेदान् प्रवर्तयिष्यामि त्वत्सर्गादौ महीपते।
हे पृथ्वीपति ! चाक्षुष मन्वन्तरको आन्तर-प्रलयकालमा जब यसप्रकार सम्पूर्ण पृथ्वी एउटै समुद्रमा परिणत हुनेछ र तिमीद्वारा सृष्टिको प्रारम्भ हुनेछ, त्यसबेला म वेदहरूको (पुनः) प्रवर्तन गर्नेछु।
एवमुक्त्वा स भगवांस्तत्रैवान्तरधीयत।।१५।।
मनुरप्यास्थितो योगं वासुदेवप्रसादजम्।
अभ्यसन् यावदाभूतसम्प्लवं पूर्वसूचितम्।।१६।।
यसो भनेर मत्स्य भगवान् त्यहीँ अन्तर्ध्यान हुनुभयो। त्यसपछि मनु पनि त्यहीँ रहेर भगवान्(वासुदेव)को कृपाले प्राप्त भएको योगको तबसम्म अभ्यास गरिरहे, जबसम्म पूर्वसूचित (भगवान्ले भन्नुभएको) प्रलयको समय उपस्थित भएन।
काले यथोक्ते सञ्जाते वासुदेवमुखोद्गते।
शृङ्गी प्रादुर्बभूवाथ मत्स्यरूपी जनार्दनः।।१७।।
भूजङ्गो रज्जुरूपेण मनोः पार्श्वमुपागमत्।
भूतान् सर्वान् समाकृष्य योगेनारोप्य धर्मवित्।।१८।।
भूजङ्गरज्ज्वा मत्स्यस्य शृङ्गे नावमयोजयत्।
उपर्युपस्थितस्तस्याः प्रणिपत्य जनार्दनम्।।१९।।
त्यस उप्रान्त भगवान् वासुदेवको मुखले भनिएको पूर्वोक्त प्रलयकाल उपस्थित भएपछि भगवान् जनार्दन एउटा सीङ भएको मत्स्यको रूपमा प्रादुर्भूत (प्रकट) हुनुभयो। त्यही बेला एउटा सर्प डोरीको रूपमा (बहँदै) मनुको छेउमा आइपुग्यो। त्यसपछि धर्मका वेत्ता मनुले आफ्नो योगबलले समस्त जीवहरूलाई खिचेर नाउमा राखे र नाउलाई सर्परूपी डोरीले माछाको सीङमा बाँधिदिए। अनि भगवान् जनार्दनलाई प्रणाम गरेर उनी स्वयं पनि त्यस नाउमा बसे।
महाप्रलयको वर्णन (अध्याय १६६, श्लोक १-२१)
मत्स्य उवाच
भूत्वा नारायणो योगी सत्वमूर्तिर्विभावसुः।
गभस्तिभिः प्रदीप्ताभिः संशोषयति सागरान्।।१।।
मत्स्य भगवान्ले मनुलाई भन्नुभयो- हे सूर्यपुत्र ! (महाप्रलयको समय आएपछि) सत्वमूर्ति योगी नारायण सूर्यको रूप धारण गरेर आफ्ना प्रदीप्त किरणहरूद्वारा समुद्रहरूलाई सुकाइदिन्छन्।
ततः पीत्वार्णवान्सर्वान्नदीः कूपांश्च सर्वशः।
पर्वतानां च सलिलं सर्वमादाय रश्मिभिः।।२।।
भित्वा गभस्तिभिश्चैव महीं गत्वा रसातलात्।
पातालजलमादाय पिबते रसमुत्तमम्।।३।।
यसरी सबै सागरहरूलाई सुकाइदिएपछि उनले आफ्ना किरणहरूद्वारा नदीहरू, कुवाहरू र पर्वतहरूको पनि सम्पूर्ण जल तानेर लिन्छन्। त्यसपछि किरणहरूले पृथ्वीको भेदन गरेर रसातलमा पुग्छन् र त्यहाँ पातालको उत्तम रसरूपी जल (पानी) पिउँछन्।
मूत्रासृक्क्लेदमन्यच्च यदस्ति प्राणिषु ध्रुवम्।
तत्सर्वमरविन्दाक्ष आदत्ते पुरुषोत्तमः।।४।।
त्यसपछि कमलका जस्ता आँखा भएका पुरुषोत्तम नारायणले प्राणीहरूको शरीरमा निश्चित रूपले रहने मूत्र, रक्त, मज्जा तथा अन्य जुन रसयुक्त पदार्थ छन्, तिनको रस ग्रहण गर्दछन्।
वायुश्च भगवान् भूत्वा विधुन्वानोऽखिलं जगत्।
प्राणापानसमानाद्यान् वायूनाकर्षते हरिः।।५।।
तदनन्तर भगवान् हरि वायुरूप भएर सम्पूर्ण जगत्लाई प्रकम्पित गर्दै प्राण, अपान, समान, व्यान र उदानरूप पाँचवटै प्राणवायुलाई खिच्छन् (खिचेर लैजान्छन्)।
ततो देवगणाः सर्वे भूतान्येव च यानि तु।
गन्धो घ्राणं शरीरं च पृथिवीं संश्रिता गुणाः।।६।।
जिह्वा रसश्च स्नेहश्च संश्रिताः सलिले गुणाः।
रूपं चक्षुर्विपाकश्च ज्योतिरेवाश्रिता गुणाः।।७।।
स्पर्शः प्राणश्च चेष्टा च पवने संश्रिता गुणाः।
शब्दः श्रोत्रं च खान्येव गगने संश्रिता गुणाः।।८।।
लोकमाया भगवता मुहूर्तेन विनाशिता।
त्यसपछि सम्पूर्ण देवगण, सम्पूर्ण जीवहरू र गन्ध, प्राण, शरीर- यी सबै गुण पृथ्वीमा विलीन हुन्छन्। जिह्वा, रस, स्नेह (चिल्लोपन) यी गुण जलमा विलीन हुन्छन्। रूप, चक्षु, विपाक (परिणाम)- यी गुण अग्निमा समाहित हुन्छन्। स्पर्श, प्राण र चेष्टा- यी गुण वायुमा समाहित हुन पुग्छन्। शब्द, श्रोत्र र इन्द्रियहरू- यी सबै गुण आकाशमा विलीन हुन्छन्। यस प्रकार भगवान् नारायाणले एकै मुहूर्त(अत्यन्त छोटो समय)मा नै सम्पूर्ण लोकमाया(संसार)लाई विनाश गरिदिन्छन्।
मनो बुद्धिश्च सर्वेषां क्षेत्रज्ञश्चेति यः श्रुतः।।९।।
तं वरेण्यं परमेष्ठी हृषीकेशमुपाश्रितः।
ततो भगवतस्तस्य रश्मिभिः परिवारितः।।१०।।
वायुनाक्रम्यमाणासु द्रुमशाखासु चाश्रितः।
तेषां सङ्घर्षणोद्भूतः पावकः शतधा ज्वलन् ।।११।।
त्यस उप्रान्त जसलाई सबै प्राणीहरूको मन, बुद्धि र क्षेत्रज्ञ भनिन्छ, त्यो अग्नि ती सर्वश्रेष्ठ हृषीकेश (नारायण)का निकट पुग्छ र भगवान्का किरणहरूले घेरिएर (युक्त भएर) वायुद्वारा आक्रान्त (हुन्डरीले हल्लाइरहेका) रुखका हाँगाहरूमा (प्रवेश गर्छ) आश्रय ग्रहण गर्छ। त्यहाँ ती रुखहरूको संघर्षबाट उत्पन्न (प्रकट) हुन पुगेको त्यस अग्निले सयौँ ज्वाला फ्याँक्न थाल्छ।
अदहच्च तदा सर्वं वृतः संवर्तकोऽनलः।
सपर्वतद्रुमान् गुल्माँल्लतावल्लीस्तृणानि च।।१२।।
विमानानि च दिव्यानि पुराणि विविधानि च।
यानि चाश्रयणीयानि तानि सर्वाणि सोऽदहत्।।१३।।
त्यसपछि त्यसले घेरिएको संवर्तक अग्निले सबै कुरा जलाउन थाल्छ। त्यसले पर्वतका वृक्षहरू सहित गुल्म, लता, वल्ली (सबैले प्रकारान्तरले लहराहरूलाई जनाउँछन्) र घाँसहरू डढाइदिन्छ। साथै दिव्य विमानहरू, अनेक किसिमका शहरहरू र आश्रय लिन लायक अन्य जेजति ठाउँ छन्, ती सबैलाई जलाएर भस्म पारिदिन्छ।
भस्मीकृत्य ततः सर्वांल्लोकाँल्लोकगुरुर्हरिः।
भूयो निर्वापयामास युगान्तेन च कर्मणा।।१४।।
यसरी लोकगुरु हरि(नारायण)ले सम्पूर्ण लोकहरूलाई जलाएर भस्म पारी पुनः युगान्तकालिक कर्मद्वारा समग्र सृष्टिको विनाश गरिदिन्छन्।
सहस्रवृष्टिः शतधा भूत्वा कृष्णो महाबलः।
दिव्यतोयेन हविषा तर्पयामास मेदिनीम्।।१५।।
त्यस उप्रान्त महाबली कृष्ण(नारायण)ले हजारौँ प्रकारको वृष्टिको रूप धारण गरेर दिव्य जलरूपी हविले पृथ्वीलाई तृप्त गर्दछन्।
ततः क्षीरनिकायेन स्वादुना परमाम्भसा।
शिवेन पुण्येन मही निर्वाणमगमत्परम्।।१६।।
त्यसबेला दूध जस्तो स्वादिष्ट, कल्याणकारक, पुण्यमय त्यो उत्तम जलले पृथ्वी परमशान्त हुन पुग्छिन्।
तेन रोधेन संछन्ना पयसां वर्षतो धरा।
एकार्णवजलीभूता सर्वसत्त्वविवर्जिता।।१७।।
निरन्तर वर्षिरहेको त्यस जलले ढाकिएकी पृथ्वी समस्त प्राणीहरूबाट रहित भएर एउटै समुद्रका रूपमा जलमय हुन पुग्छिन्।
महासत्त्वान्यपि विभुं प्रविष्टान्यमितौजसम्।
नष्टार्कपवनाकाशे सूक्ष्मे जगति संवृते।।१८।।
संशोषमात्मना कृत्वा समुद्रानपि देहिनः।
दग्ध्वा सम्प्लाव्य च तथा स्वपित्येकः सनातनः।।१९।।
त्यसबेला सूर्य, वायु र आकाश नष्ट भइसकेपछि तथा सूक्ष्म जगत् समाप्त भइसकेपछि ठूलाभन्दा ठूला जीवजन्तु पनि अमित-तेजोयुक्त सर्वव्यापी नारायणमा प्रविष्ट हुन्छन्। यसरी ती सनातन भगवान् स्वयं आफैँले समुद्रहरू सुकाएर, देहधारीहरूलाई जलाएर (भस्म पारेर) तथा पृथ्वीलाई पानीमा डुबाएर एक्लै शयन गर्छन्।
पौराणं रूपमास्थाय स्वपित्यमितविक्रमः।
एकार्णवजलव्यापी योगी योगमुपाश्रितः।।२०।।
अनेकानि सहस्राणि युगान्येकार्णवाम्भसि।
न चैनं कश्चिदव्यक्तं व्यक्तं वेदितुमर्हति।।२१।।
अमित पराक्रमी, एकार्णव(एउटा समुद्र)को जलमा व्याप्त रहेका, योगबलसम्पन्न नारायण योगको आश्रय लिएर त्यस एकार्णवको जलमा आफ्नो पुरानो रूप धारण गरेर अनेकौँ हजार युगसम्म शयन गर्दछन्। त्यसबेला कसैले पनि यी अव्यक्त(नारायण)लाई व्यक्त रूपमा जान्न सक्तैन।
महाप्रलयपछि सृष्टि हुने प्रक्रिया (अध्याय २, श्लोक २५-३७)
मत्स्य उवाच
महाप्रलयकालान्त एतदासीत् तमोमयम्।
प्रसुप्तमिव चातर्क्यमप्रज्ञातमलक्षणम्।।२५।।
अविज्ञेयमविज्ञातं जगत्स्थास्नु चरिष्णु च।
मत्स्यरूपी भगवान्ले मनुलाई भन्नुभयो- महाप्रलय कालको अन्त्यमा यो सारा स्थावर-जंगमरूप जगत् सुतेजस्तो, अन्धकारले छोपिएको (तमोमय) थियो। न यसका बारेमा कुनै कल्पना गर्न सकिन्थ्यो, न कुनै वस्तु जान्न (चिन्न) सकिन्थ्यो, न त कुनै वस्तुको कुनै चिह्न (लक्षण) नै बाँकी थियो। सबै वस्तु विस्मृत (अविज्ञेय) भइसकेका थिए, ज्ञातव्य (जान्नलायक) कुनै वस्तु छदै थिएन।
ततः स्वयम्भूरव्यक्तः प्रभवः पुण्यकर्मणाम्।।२६।।
व्यञ्जयन्नेतदखिलं प्रादुरासीत् तमोनुदः।।
त्यस पश्चात् ती स्वयम्भू (स्वयं प्रकट हुने) भगवान्, जो पुण्यकर्महरूका उत्पत्तिस्थान तथा निराकार (अव्यक्त) छन् , यो समस्त जगत्लाई प्रकट गर्ने अभिप्रायले त्यस अन्धकारलाई भेदन गरेर प्रादूर्भूत भए।
योऽतीन्द्रियः परो व्यक्तादणुर्ज्यायान् सनातन:।
नारायण इति ख्यातः स एकः स्वयमुद्बभौ।।२७।।
त्यस समय, जो इन्द्रियहरू भन्दा पर (इन्द्रियहरूको सामर्थ्यले थाहा पाउन नसकिने), व्यक्त भन्दा पर (परात्पर), सूक्ष्मभन्दा सूक्ष्म, महान् भन्दा महान्, अविनाशी र नारायण नामले विख्यात छन्, उनी स्वयं एक्लै आविर्भूत भए।
यः शरीरादभिध्याय सिसृक्षुर्विविधं जगत्।
अप एव ससर्जादौ तासु बीजमवासृजत्।।२८।।
जसले आफ्नो शरीरबाट विविध प्रकारको जगत् सृष्टि गर्न इच्छाले (पूर्वसृष्टिको) राम्ररी ध्यान गरेर सर्वप्रथम पानीकै सृष्टि गरे र त्यसमा (आफ्नो वीर्यस्वरूप) बीजको निक्षेप गरे।
तदेवाण्डं समभवद्धेमरूप्यमयं महत्।
संवत्सरसहस्रेण सूर्यायुतसमप्रभम्।।२९।।
त्यही बीज एकहजार वर्ष बितेपछि सुवर्ण एवम् रजतमय अण्डाका रूपमा प्रकट भयो, जसको कान्ति दश हजार सूर्यको जस्तो थियो।
प्रविश्यान्तर्महातेजाः स्वयमेवात्मसम्भवः।
प्रभावादपि तद्व्याप्त्या विष्णुत्वमगमत् पुनः।।३०।।
त्यसपछि महातेजस्वी (स्वयम्भू) स्वयं नै त्यस अण्डभित्र प्रवेश गरे र त्यस अण्डमा सर्वत्र व्याप्त भएकाले पुनः विष्णुभाव प्राप्त गरे। (विष्णुको अर्थ व्याप्त हो, सर्वत्र व्याप्त भएकाले नै विष्णु भनिएको हो। )
तदन्तर्भगवानेष सूर्यः समभवत् पुरा।
आदित्यश्चादिभूतत्वाद् ब्रह्मा ब्रह्म पठन्नभूत्।।३१।।
त्यसपछि त्यस अण्डभित्र सर्वप्रथम भगवान् सूर्य उत्पन्न भए, जो सबैभन्दा पहिले उत्पन्न भएकाले ‘आदित्य’ र वेदहरूको पाठ गर्ने भएकाले ‘ब्रह्मा’ कहलाइए।
दिवं भूमिं समकरोत् तदण्डशकलद्वयम्।
स चाकरोद्दिशः सर्वा मध्ये व्योम च शाश्वतम्।।३२।।
उनैले त्यस अण्डलाई दुई भागमा विभक्त गरेर स्वर्गलोक र पृथ्वीको रचना गरे। साथै ती दुईका बीचमा सम्पूर्ण दिशाहरू र अविनाशी आकाशको निर्माण गरे।
जरायुर्मेरुमुख्याश्च शैलास्तस्याभवंस्तदा।
यदुल्बं तदभून्मेघस्तडित्संघातमण्डलम्।।३३।।
त्यसबेला, त्यस अण्डको जरायुभागबाट मेरु आदि (सात) पर्वत उत्पन्न भए र त्यसपछि उल्ब(गर्भाशय)बाट विद्युत्समूह सहित मेघमण्डलका रूपमा परिणत भयो। (उल्ब जस्तै जरायु पनि गर्भाशयकै एउटा भाग हो।)
नद्योऽण्डनाम्नः सम्भूताः पितरो मनवस्तथा।
सप्त येऽमी समुद्राश्च तेऽपि चान्तर्जलोद्भवाः।
लवणेक्षुसुराद्याश्च नानारत्नसमन्विताः।।३४।।
त्यसै अण्डबाट नदीहरू, पितृगण तथा मनुहरू उत्पन्न भए। नाना रत्नहरूले युक्त यी जुन लवण, इक्षु, सुरा आदि सात समुद्र छन्, ती पनि अण्डभित्र रहेको जलबाट उत्पन्न भए।
स सिसृक्षुरभूद्देवः प्रजापतिररिंदम।
तत्तेजसश्च तत्रैष मार्तण्डः समजायत।।३५।।
मृतेऽण्डे जायते यस्मान्मार्तण्डस्तेन संस्मृतः।
हे शत्रुदमनकारी ! जब ती प्रजापति देव(नारायण)लाई सृष्टि रचना गर्ने इच्छा भयो, त्यसबेला त्यहीँ उनको तेजबाट यी मार्तण्ड (सूर्य) उत्पन्न भए। (यो कुरा यसअघि पनि भनिएको छ )। अण्ड मृत भएपछि उत्पन्न भएकाले नै यिनलाई मार्तण्ड भनिएको हो।
रजोगुणमयं यत्तद्रूपं तस्य महात्मनः।
चतुर्मुखः स भगवानभूल्लोकपितामहः।।३६।।
ती महात्मा(महान् आत्मा)को रजोगुणमय जुन रूप थियो, त्यो लोक-पितामह चर्तुमुख भगवान् ब्रह्माका रूपमा प्रकट भयो।
येन सृष्टं जगत्सर्वं सदेवासुरमानुषम्।
तमवेहि रजोरूपं महत्सत्त्वमुदाहृतम्।।३७।।
जसले देवता, असुर र मानवसहित सम्पूर्ण जगत्को रचना गरे, तिनलाई तिमी रजोगुणरूप सुप्रसिद्ध महान् सत्त्व भनेर बुझ।
सन्दर्भग्रन्थसूची :
मत्स्यमहापुराण (सचित्र हिन्दी अनुवादसहित), वि.सं. २०७६, चौधौँ पुनर्मुद्रण, गीता प्रेस, गोरखपुर