भगवद् वन्दना यं शैवाः समुपासते शिव इति ब्रह्मेति वेदान्तिनो बौद्धाः बुद्ध इति प्रमाणपटवः कर्तेति नैयायिकाः। अर्हन्नित्यथ जैनवादनरताः कर्मेति मीमांसकाः सोऽयं नो विदधातु वाञ्छितफलं त्रैलोक्यनाथो हरिः।। अर्थ – जसलाई शैवहरूले शिव, वेदान्तीहरूले ब्रह्म, बौद्धहरूले बुद्ध, प्रमाणका विषयमा चतुर नैयायिकहरूले कर्ता, जैनमतानुयायीहरूले अर्हत्/तीर्थङ्कर, मीमांसकहरूले कर्म भनेर आफ्नो सिद्धान्तअनुसार भिन्नभिन्न स्वरूपमा उपासना गर्दछन्, त्यस्ता विशिष्ट तिनै लोकका स्वामी/पालक/रक्षक […]
भगवद् वन्दना
यं शैवाः समुपासते शिव इति ब्रह्मेति वेदान्तिनो
बौद्धाः बुद्ध इति प्रमाणपटवः कर्तेति नैयायिकाः।
अर्हन्नित्यथ जैनवादनरताः कर्मेति मीमांसकाः
सोऽयं नो विदधातु वाञ्छितफलं त्रैलोक्यनाथो हरिः।।
अर्थ – जसलाई शैवहरूले शिव, वेदान्तीहरूले ब्रह्म, बौद्धहरूले बुद्ध, प्रमाणका विषयमा चतुर नैयायिकहरूले कर्ता, जैनमतानुयायीहरूले अर्हत्/तीर्थङ्कर, मीमांसकहरूले कर्म भनेर आफ्नो सिद्धान्तअनुसार भिन्नभिन्न स्वरूपमा उपासना गर्दछन्, त्यस्ता विशिष्ट तिनै लोकका स्वामी/पालक/रक्षक भएका हरि भगवान्ले हामीलाई इच्छाअनुसारको फल प्रदान गरून् ।
शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं।
विश्वाधारं गगनसदृशं मेघवर्णं शुभाङ्गम्।।
लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं।
वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथम्।।
अर्थ – शान्त स्वरूप भएका, शेषनागमा शयन गर्ने, नाभिमा कमल भएका, देवताहरूका स्वामी, चराचर जगत्को सृष्टि आदिको आधार भएका, आकाश समान विशाल/व्यापक, मेघ जस्तै सुन्दर वर्ण भएका, मङ्गलमय विग्रह(शरीर) भएका, लक्ष्मी माताका स्वामी, कमल जस्ता सुन्दर नेत्र भएका, योगीहरूद्वारा ध्यानका माध्यमले मात्र प्राप्त गर्न सकिने, संसारको जन्म, मृत्यु आदिको भयलाई हरण गरिदिने, सम्पूर्ण लोकहरूका स्वामी भएका विष्णु भगवान्लाई वन्दना गर्दछु ।
मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिम्।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम्।।
अर्थ – जसका कृपाले लाटो व्यक्ति स्पष्ट बोल्न सक्ने हुन्छ, लङ्गडो व्यक्तिले पर्वतका टाकुरा नाघ्न सक्छ, त्यस्ता परम आनन्द स्वरूप माधव (हरि) भगवान्लाई म वन्दना गर्दछु ।
******
समाजमा विभिन्न प्रकारका सूचनामूलक पत्रिकाहरू प्रशस्त उपलब्ध हुँदाहुँदै फेरि यो ‘लोकदर्पण’को आवश्यकता किन पर्यो ? भन्ने प्रश्न उठ्न सक्छ। यस प्रश्नको उत्तर नै यस सम्पादकीयको विषयवस्तु हो।
अहिले संसारमा अराजकता व्यापक रूपमा बढेको छ। यसका कारणहरू विभिन्न देशमा हुने गरेका राजनीतिक उतारचढाव एवम् सत्ता उथलपुथलका घटनाहरू, आतङ्कवाद विरुद्धको युद्ध, जलवायु परिवर्तन, जैविक विविधतामा ह्रास, दैवी प्रकोप, अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि, बाढी, पहिरो, भूकम्प, डढेलो, वायु प्रदुषण, पानी प्रदुषण, अम्लवर्षा (Acid Rain), पानीको सतहमा वृद्धि भई समुद्रतट डुबानमा पर्नु आदि हुन्। यस्ता समस्याहरूबाट सामान्य मानिसहरूको जनजीवनमा पर्ने गरेका नकारात्मक असरले विश्वव्यापी रूपमा अराजकता बढेको हो र हाम्रो देश नेपाल पनि यी समस्याहरूबाट ग्रस्त छ। खास गरी नेपालमा प्रजातन्त्र आएपश्चात् पनि नेपाली जनताहरूले सहनु परेको अन्याय, अत्याचार, धनी र गरिबबीच बढेको खाडल अनि यसले निम्त्याएका अन्य सामाजिक विकृतिहरू, जस्तै भ्रष्टाचार, घुसखोरी, धार्मिक असहिष्णुता आदि कारणहरूले नेपाली जनजीवन अस्तव्यस्त बन्न पुगेको हो।
वर्तमान समयमा नेपाली जनताहरूले भोग्नु परेको समस्याका लागि देशको औपचारिक शिक्षा प्रणाली पनि दोषी छ। हालको औपचारिक शिक्षा प्रणालीले एकातिर नेपाली युवाहरूलाई आफ्नो गौरवमय परम्परा एवं मौलिक संस्कृतिप्रति वितृष्णा, घृणा र वैराग्य चलाउने अनि विदेश र विदेशीबारे मात्रै सकेसम्म बढ्ता जान्नुपर्ने बाध्यता थोपरेको छ भने अर्कातर्फ विद्यार्थीहरूले अफ्ना सांस्कृतिक ज्ञानका बारेमा विद्यालयमा पढ्नै नपर्ने तर विदेश, विदेशी र आफ्ना परम्पराको सत्यानाश गर्न लागिपर्नेहरूका बारेमा जति जान्यो त्यति सम्मान, पुरस्कार र पदोन्नति पाउने अवस्था रहेको छ भने आफ्ना संस्कृति, लोकविद्या र गुरुहरूलाई असभ्य, अविकसित, असामयिक र सिकेर उँभो नलागिने भनी भ्रम सिर्जना गरेको छ। फलस्वरूप यस्तो शिक्षा प्रणालीले विदेश र विदेशीलाई काम लाग्ने अर्दलीहरूको उत्पादन गरिरहेको भए पनि हामीलाई आदर्श हुन काम लागिरहेको छैन।
जीवनको नियम यो हो कि, जन्मपछि मृत्यु शाश्वत् हुन्छ। तथापि वर्तमान समयमा अज्ञानका कारणले नेपालमा मात्र नभई यत्रतत्र संसारभरी नै कष्ट भोगिरहेका मानिसहरू धेरै छन्। तीमध्ये ज्यादै थोरैले मात्र म को हुँ ? जीवनको परम उद्देश्य के हो ? म यस्तो विषय परिस्थितमा किन आउनु परेको हो ? आदि जिज्ञासा राख्दछन्। जबसम्म मानव जीवनमा आफ्नो कष्टप्रति जिज्ञासा उत्पन्न हुँदैन, अनि जबसम्म मानवलाई कष्ट भोग्नु भन्दा कष्टबाट मुक्त हुने उपाय खोज्न अभिरुचि जाग्दैन, तबसम्म मानव जीवन सिंग र पुच्छरविनाको पशुसमान हुन्छ। जहिलेदेखि हाम्रो मनमा जीवनप्रति यस प्रकारका जिज्ञासाहरू जाग्न सुरु गर्दछन्, त्यसै बेलादेखि हामीमा मानवताको सही चेतना प्रारम्भ हुन्छ।
शिक्षाको उद्देश्य जीवनमा आइपर्ने साना अथवा ठूला जस्तासुकै समस्याहरूको समाधान गर्न प्रत्येक व्यक्तिलाई सक्षम तुल्याउनु हो, हामी मानवहरूलाई मानव हौँ भनी चिनाउनु हो। तथापि उपभोक्तावादको सिद्धान्तमा आधारित आधुनिक शिक्षा प्रणालीले बढी स्वार्थी हुन अभिप्रेरित गरी हाम्रा विद्यार्थीहरूलाई मानवता होइन दानवता लादेको छ। स्वावलम्बी हुनुको सट्टा कसरी बढी भन्दा बढी आत्मसन्तुष्टि बढाउने भन्ने भ्रमित ज्ञानले हाम्रा युवा पिँढीहरू इन्द्रियहरूको सिकार भई दाश बन्न पुगेका छन्, जसको ज्ञान उनीहरू आफैँलाई छैन। फलस्वरूप सिङ्गो समाज, राष्ट्र र विश्व नै दिनानुदिन पतनोन्मुख मार्गमा धकेलिइरहेको छ। वर्तमान समयमा विश्वभरि मानवको मात्र नभई सम्पूर्ण प्राणीहरूकै जीवन सङ्कटमा पर्ने गरी उत्पन्न भइरहेको डरलाग्दो विपत्तिको कारण पनि यही हो। तसर्थ, ज्ञानको कमीले नलेखिएको होस् वा तत्कालीन शासन व्यवस्थाको परिधिभित्र रही सीमित उद्देश्यले तयार पारिएको होस्, वर्तमान पाठ्यक्रममा अटाउन नसकेका दुर्लभ ज्ञानहरू अनवरत अनुसन्धानपश्चात् सङ्कलन गरी सर्वसुलभ बनाउन नितान्त आवश्यक भएको छ। यो पत्रिका यस्ता आवश्यकताहरूको परिपूर्तिका लागि एउटा पहल हो।
शिक्षा, सामाजिक सेवा र आध्यात्मिक साधनामा लामो समयसम्म अनवरत लाग्नुभएका विशिष्ट विद्वान् पं. श्री लोकनाथ लुइटेलको नाममा स्थापना गरिएको ‘पं. श्री लोकनाथ लुइटेल स्मृति–प्रतिष्ठान’ले मानवोपयोगी गतिविधिहरू सञ्चालन गर्ने उद्देश्य राखेको छ। समाजबाट हराउँदै गएका संस्कार, संस्कृति, परम्परा, शिष्टाचार, नैतिकता, अनुशासन, मर्यादा, सेवा र सहयोगात्मक भावना आदि गुणहरूलाई समाजमा पुनर्स्थापना गराउनका लागि उपयोगी सामग्रीहरूको अनुसन्धान, लेखन र प्रकाशन गर्नु यस संस्थाको मुख्य उद्देश्य हो, जसको पूर्तिका लागि ‘लोकदर्पण’ पत्रिकाको प्रकाशन एउटा महत्त्वपूर्ण कदम हुनेछ। यस प्रकाशनमा प्रकाशित अनुसन्धानमूलक लेखहरू विज्ञहरूको खरो समीक्षाबाट पारित भएका हुनेछन्। यस प्रवेशाङ्कमा पूर्वीय चिन्तनका आधारमा प्रलय र महाप्रलय, पूर्वीय दर्शनको परिचय, बौद्ध दर्शन, नेपाली भाषाको ऐतिहासिकता, विशेषता र यसको राष्ट्रियतासँग सम्बन्धजस्ता विषयहरूमा लेखहरू समावेश गरिएका छन्। यसको अन्त्यमा पूर्व प्रकाशित ‘पण्डित श्रीलोकनाथ लुइटेल स्मृति ग्रन्थ’मा समावेश हुन छुटेका, उहाँको जीवनका विशिष्ट पक्षलार्इ उद्घाटन गर्ने केही स्मृतिहरू पनि राखिएका छन्।
हरेक कार्यलाई सम्पन्न गर्नका लागि विविध कुराहरूको आवश्यकता पर्दछ। कार्य उत्तम भए पनि सीमित व्यक्तिको प्रयत्न सफल नहुन सक्छ, तर सामुहिक प्रयत्नद्वारा असम्भव जस्तो लाग्ने कार्यमा पनि सहज रूपमा सफलता हासिल गर्न सकिन्छ। अल्पानामपि वस्तूनां संहति कार्यसाधिका। तृणैः गुणत्वमापन्नैर्बध्यन्ते मत्तदन्तिनः।। अर्थात् तृणहरू साना र कमजोर भए पनि तिनीहरूलाई एकत्रित गरेर बनाइएको मोटो डोरीले मदमत्त हात्तीलाई पनि बाँध्न सकिन्छ भन्ने नीतिवचनलाई स्मरण गर्दै आगामी दिनहरूमा यहाँहरू सबैको शुभेच्छा एवं सहयोग पाउने कुरामा हामीले पूर्ण विश्वास लिएका छौँ।
सम्पादक मण्डल