अनुवाद : गोविन्द लुइटेल रोनाल्ड एल्मर फिसर (१८९०-१९६२) १७ फेब्रुअरी १८९० – पूर्वी फिन्चले, लन्डनमा जन्म १९१२ – स्नातक उपाधि कायस कलेज, क्याम्ब्रिजबाट १९१९ – १९३३ रोथाम्स्टेड कृषि स्टेसन १९२९ – – रोयल सोसाइटीको फेलो १९३३ – १९४३ युनिभर्सिटी कलेज लन्डनमा युजेनिक्सका गाल्टन प्रोफेसर र गाल्टन प्रयोगशाला प्रमुख १९४३ – क्याम्ब्रिज युनिभर्सिटीमा आर्थर बाल्फोर जेनेटिक्सका […]
अनुवाद : गोविन्द लुइटेल
रोनाल्ड एल्मर फिसर (१८९०-१९६२)
१७ फेब्रुअरी १८९० – पूर्वी फिन्चले, लन्डनमा जन्म
१९१२ – स्नातक उपाधि कायस कलेज, क्याम्ब्रिजबाट
१९१९ – १९३३ रोथाम्स्टेड कृषि स्टेसन
१९२९ – – रोयल सोसाइटीको फेलो
१९३३ – १९४३ युनिभर्सिटी कलेज लन्डनमा युजेनिक्सका गाल्टन प्रोफेसर र गाल्टन प्रयोगशाला प्रमुख
१९४३ – क्याम्ब्रिज युनिभर्सिटीमा आर्थर बाल्फोर जेनेटिक्सका प्रोफेसर र जेनेटिक्स विभाग प्रमुख
१९५७ – सेवानिवृत्त
२९ जुलाई १९६२ – एडिलेड, अष्ट्रेलियामा मृत्यु।
रोनाल्ड एल्मर फिसरको जन्म १७ फेब्रुअरी १८९० मा पूर्वी फिन्चले, लन्डनमा भएको थियो। उनले क्याम्ब्रिजमा गणित पढे र १९१२ मा स्नातक हुँदा प्रथम भए। यसै समयमा उनको रुचि तथ्याङ्कशास्त्र (Statistics) र विकासवाद (Evolution) दुवैमा शुरु भयो। मेन्डलको वंशानुगत कामको सन् १९०० मा पुनर्आविष्कार भएपछि विकासवादको सोचमाथि प्रभुत्व जमाएका क्याम्ब्रिजका विलियम बेटसनजस्ता प्रख्यात मेन्डलवादीहरू र लन्डनका फ्रान्सिस गाल्टन, कार्ल पियरसन, डब्लू एफ आर वेल्डनजस्ता प्रख्यात जीवसाङ्ख्यिक (Biometrics) बीचको विवाद उनले सुल्झाउने परिकल्पना गरे। फिसरले आफ्नो पहिलो शोधपत्र आफू स्नातकको विद्यार्थी छँदै १९१२ मा प्रकाशित गरे, जसले अधिकतम सम्भावना (Maximum Likelihood) को विधिलाई परिचय गरायो, यद्यपि “सम्भावना (Likelihood)” भन्ने शब्द उनले पछिमात्र प्रचलनमा ल्याए।
स्नातक पछिको सात बर्षको अवधिमा फिसरले स्कुलमा पढाउनुका साथै अरू धेरै कामहरू गरे। उनको आँखाको दृष्टि कमजोर भएका कारणले उनी पहिलो विश्वयुद्ध (World War I) मा सेनामा भर्ती हुन पाएनन्। उनको १९१५ को शोधपत्र “अनिश्चित ठूलो जनसङ्ख्याबाट लिइएको नमूनाहरूमा सहसम्बन्ध गुणाङ्क मानहरूको आवृति वितरण (Frequency Distribution of the values of the correlation coefficient, in samples from indefinitely large population)” ले साना नमूना (Small Sample) को महत्त्वलाई जोड दिँदै सहसम्बन्ध गुणाङ्कको वितरण स्थापना गऱ्यो। उनको १९१८ को शोधपत्र “मेन्डलवादी उत्तराधिकारको अनुमानमा आफन्तहरूबीचको सहसम्बन्ध (Correlation between relatives on the supposition of Mendelian inheritance)” ले पियरसनको जीवसाङ्ख्यिक नतिजा तथा मेन्डलवादी आनुवंशिकता बीच सामञ्जस्य ल्यायो।
१९१९ मा फिसर रोथ्याम्सटेड प्रायोगिक स्टेसनमा जागिरे भए। त्यहाँ उनले मेन्डलवादी आनुवंशिकतालाई डार्विनको प्राकृतिक छनोटको सिद्धान्तसँग एकीकरण गर्न आफ्नो आनुवंशिक अनुसन्धान जारी राखे, जसको नतिजा, “प्राकृतिक छनोटको आनुवंशिक सिद्धान्त (Genetic Theory of Natural Selection) (१९३०)” मा टुङ्गियो। फिसरले तथ्याङ्कगत अनुमान (Statistical Inference) को जग बसाले, प्रायोगिक रूपरेखा (Experimental Design), अनियमितीकरण (Randomization), एनोवा (ANOVA) आदिको सुरुवात गरे। “अनुसन्धानकर्मीहरूका लागि तथ्याङ्कशास्त्रीय विधि (Statistical Methods for Research Workers)” नामक पुस्तकको पहिलो संस्करण १९२५ मा देखा पऱ्यो। मरणोपरान्त सन् १९७० मा प्रकाशित चौधौँ संस्करणसहित यस शास्त्रीय (classic) पुस्तकका धेरै संस्करणहरू प्रकाशित भए।
१९३३ मा फिसरले युजेनिक्सको गाल्टन प्रोफेसर तथा युनिभर्सिटी कलेज लन्डनस्थित गाल्टन प्रयोगशालाको प्रमुखका रूपमा कार्ल पियर्सनको स्थान लिए। पिअर्सनको तथ्याङ्कशास्त्रीय प्रयोगशाला प्रायोगिक तथ्याङ्कशास्त्र विभाग बन्यो, जसको नेतृत्व कार्ल पिअर्सनका छोरा एगोन एस पिअर्सनले लिए। फिसर र जेर्जी नेमानबीचको वैमनस्यले एउटै भवनमा भएका दुवै विभागबीच खिचातानीको समस्या उत्पन्न गरायो। “प्रयोगहरूको रूपरेखा (Design of Experiments)” १९३५ मा देखा पऱ्यो, पछि यसका धेरै संस्करणहरू र अनुवादहरू निस्किए। १९४३ मा फिसर आनुवंशिकी आर्थर बाल्फर प्रोफेसर तथा आनुवंशिक विभागको प्रमुखका रूपमा क्याम्ब्रिजमा फर्किए। उनको “तथ्याङ्कशास्त्रीय विधि र वैज्ञानिक निष्कर्ष (Statistical Methods and Scientific Inference)” १९५६ मा देखा पऱ्यो। उनले १९५७ मा क्याम्ब्रिजबाट आधिकारिक रूपमा सेवानिवृत्ति लिए पनि उनी त्यहाँ १९५९ सम्म बसे। उनले आफ्ना अन्तिम तीन वर्ष एडिलेडमा बिताए, जहाँ उनको मृत्यु १९६२ मा भयो।
फिसरको तथ्याङ्कशास्त्र तथा विकासवाद/आनुवंशिकीमा योगदान यति विशाल र मौलिक छ कि एक क्षेत्रका वैज्ञानिकहरूका लागि उनले कसरी अर्को क्षेत्रमा तात्त्विक योगदान गर्न सके होला भनी विश्वास गर्न कठिन पर्छ। तथ्याङ्कशास्त्रको क्षेत्रमा मानक तथ्याङ्कशास्त्र (Standard Statistics) वा जैवतथ्याङ्कशास्त्र(Biostatistics)को पाठ्यक्रममा आम रूपमा जे पढाइन्छ, त्यो सबै फिसरको योगदान हो, जसमा महत्त्व परीक्षण (Significance Test), विचरण विश्लेषण (Analysis of Variances), टी वितरण (T-Distribution), एफ वितरण (F-Distribution), प्रयोगहरूको रूपरेखा (Design of Experiments), ल्याटिन वर्ग (Latin Square), विचरण (Variance), पर्याप्तता (Sufficiency), फिसर जानकारी (Fisher Information), अनुमान सिद्धान्त (Estimation Theory), अधिकतम सम्भाव्यता (Maximum Likelihood) इत्यादि सामेल छन्। हाल्ड(१९९८)ले फिसरलाई “आधुनिक तथ्याङ्कशास्त्रीय विज्ञानको आधार निर्माण गर्ने सम्भवत एक्लो प्रतिभाशाली” भनी उल्लेख गरेका छन्। आनुवंशिकीमा सैद्धान्तिक जनसङ्ख्या आनुवंशिकीका तीन दिग्गज मध्ये फिसर एक हुन्। अन्य दुई (युनिभर्सिटी कलेज लन्डनका) जे.बि.एस हल्दाने र सिवाल राइट हुन्। यी तीन जनाले १९३० तिर ग्रेट सिन्थेसिस वा क्रमविकासको नव-डार्विनवादी सिन्द्धान्त पूरा गरे। रिचार्ड डाकिन्स (१९९५) लेख्छन्, “सर रोनाल्ड फिसरलाई बीसौँ शताब्दीको डार्विनको सबैभन्दा ठूलो उत्तराधिकारीको रूपमा लिन सकिन्छ।”
लगभग १०० वर्ष पहिले लेखिएको भए तापनि विकासवादी आनुवंशिकीमा फिसरका शोधपत्रहरू आज पनि व्यापक रूपमा पढिन्छन् किनभने जनसङ्ख्या आनुवंशिकीविद्हरू निष्कर्ष निकाल्नका लागि बढ्दो वंशाणुगत अनुक्रम तथ्याङ्कको प्रयोग गरेर तथ्याङ्कशास्त्रीय विधिहरू विकास गर्दछन्। तीव्र गतिमा अगाडि बढ्ने जैविक विज्ञानहरूमा यो अनौठो हुन सक्छ तर यसले फिसरका योगदानहरूको आधारभूत प्रकृति दर्शाउँछ।
समग्रमा हेर्दा मानव समाजमा, विशेषगरि सामुदायिक स्वास्थ्यमा फिसरले गरेका वैज्ञानिक योगदानहरूको प्रभावको मूल्याङ्कन गर्नु अत्यन्त दुष्कर कार्य हुन सक्छ। चिकित्सा विज्ञानमा औषधि परीक्षण (Drug Experiment) र क्लिनिकल परीक्षण (Clinical Trial) तयार गर्दा उनैद्वारा प्रतिपादित रूपरेखाका सिद्धान्तहरूको प्रयोग गरिन्छ तथा परिणामस्वरूप आउने तथ्याङ्कहरू पनि उनैले विकास गरेका तथ्याङ्कशास्त्रीय अनुमान विधिहरूको प्रयोग गरी विश्लेषण गरिन्छ। उनको विज्ञानले निसन्देह लाखौँ मानिसहरूको ज्यान बचाएको छ। विगत शताब्दीमा तथ्याङ्क र आनुवंशिकी दुवै क्षेत्रमा उनका योगदानहरू बालीनाली र पशु प्रजननमा प्रयोग गरिएको थियो, जसले खाद्यान्न उत्पादनमा नाटकीय सुधार ल्यायो, करोडौँ मानिसहरूलाई गरिबीको तहबाट माथि उठायो र यस धरतीका सम्पूर्ण नागरिकहरूको जीवनस्तरमा ठूलो सुधार ल्यायो। उनका तथ्याङ्कशास्त्रीय विधिहरू विज्ञान, इन्जिनियरिङ, उद्योग, वाणिज्य र सामाजिक अध्ययनमा अपरिहार्य रहेका छन्। वास्तवमा ती सम्पूर्ण मानव प्रयासहरूमा पनि अपरिहार्य छन्, जहाँ तथ्याङ्कहरूको सङ्कलन र विश्लेषण गरेर सत्यको खोजी गरिन्छ।
फिसरसँग सशक्त राजनीतिक धारणा थियो, जुन उनको आनुवंशिकतासम्बन्धी अनुसन्धानसँग जोडिएको थियो। उनले ती क्षेत्रहरूमा महत्त्वपूर्ण काम गरिरहे, जुन आज पनि हामी समस्यामूलक पाउँछौँ। उल्लेखनीय कुरा के छ भने उनी सानै उमेरदेखि नै युजेनिक्सका मुखर समर्थक थिए र उनले १९११ मा स्नातकको विद्यार्थी हुँदै क्याम्ब्रिज विश्वविद्यालयमा युजेनिक्स समाज स्थापना गर्न मद्दत गरेका थिए। १९औँ शताब्दीको अन्ततिर फ्रान्सिस गाल्टनले युजेनिक्सको आधुनिक अवधारणालाई औपचारिकता दिई विकसित गरेका थिए तथा एउटा वृत्तिदान(Endowment)को उपयोग गरी उनले १९०४ मा युनिभर्सिटी कलेज लन्डनमा युजेनिक्स अभिलेख कार्यालय स्थापना गरे (जुन १९०७ मा गाल्टन युजेनिक्स प्रयोगशालामा विकसित भयो)। उनले प्रोफेसरसिप पनि पाएका थिए। कार्ल पियर्सन सेवानिवृत्त भएपछि उनको स्थान ग्रहण गर्दै फिसर युजेनिक्सका दोस्रो गाल्टन प्रोफेसर बने।
त्यसबेला यूजेनिक्सलाई आजको जस्तो घृणीत रूपमा हेरिँदैन थियो। सम्पूर्ण मानवजातिको स्वास्थ्य चयनात्मक प्रजननको प्रोत्साहन वा बन्ध्याकरणद्वारा सुधार गर्न सकिन्छ भन्ने अवधारणालाई धेरैले समर्थन गरेका थिए र विपरीत राजनैतिकधारको वृत्तमा समेत यसको व्यापक समर्थन थियो। मध्यम वर्गका मानिसहरूलाई बढी बच्चा जन्माउनका लागि कर-प्रोत्साहन दिन वकालत गर्दै र पुरातन सभ्यताहरू जस्तै रोम वा बेबिलोनीहरूको पतनलाई उर्वरता र कथित ‘सामाजिक मान्यता’ बीचको व्युत्क्रमित सम्बन्धको कारण मानी फिसरले धेरै वर्षदेखि यस्ता विषयहरूमा विस्तृत रूपमा लेखेका थिए। उनले ‘कमजोर दिमाग भएका उच्च श्रेणीका मन्दबुद्धिहरू’को बन्ध्याकरणका लागि वकालत गरे।
फिसरले युजेनिक्सको बारेमा आफ्नो धारणा दोस्रो विश्वयुद्धको धेरै पछि मात्र राखे, जसबेला सम्ममा यूजेनिक्स अपयशमा परिसकेको थियो। दोस्रो विश्वयुद्धपछिका लगत्तैका वर्षहरूमा फिसर पूर्व नाजी आनुवंशिक विशेषज्ञ ओटमार फ्रेइहर वर्चुइरसँग मित्रवत् रहे र उनले धूम्रपान र क्यान्सर बीच प्रस्तावित सम्बन्धको आलोचनात्मक अध्ययनका लागि अनुसन्धान गर्दा वर्चुइरका तथ्याङ्कहरूको प्रयोग गरे (फिसर, १९५८ ए, १ ९५८बि)। फिसरले नाजीहरूको युजेनिक्स नीतिप्रति पनि सहानुभूति व्यक्त गरेका थिए। युद्धका बेला यातना शिविरमा मारिएका यहूदीहरूबाट प्राप्त गरिएको जैविक नमूनाहरूको प्रयोग गर्दा जोसेफ मेंगेलेसँगसँगै वर्चुइरले प्रत्यक्ष काम गरेका थिए। वर्चुइरलाई कहिल्यै युद्धअपराधको अभियोग लागेन। उनले युद्धपछि जर्मनीमा एक जना आनुवंशिकीविज्ञका रूपमा आफूलाई पुनर्परिभाषित गरे। वर्चुइर १९६९ मा आफ्नो मृत्यु नहुन्जेलसम्म एक यूजेनिस्ट नै रहे। मानिसहरूमाथि नाजीले गरेको प्रयोगसँग वर्चुइरको प्रत्यक्ष सम्बन्ध रहेको बारेमा फिसरलाई पूर्ण जानकारी थियो वा थिएन हामीलाई थाहा छैन।
युनेस्कोले जातको प्रकृतिसम्बन्धी वक्तव्य जम्मा गर्दा फिसरको राजनीतिक मान्यताको अर्को उल्लेखनीय अभिव्यक्ति १९५० मा देखा पऱ्यो। मूलधारमा रहेको विज्ञानको दृष्टिकोणअनुसार जात सामाजिक रूपमा निर्मित एउटा वर्गीकरण हो र आनुवंशिक भिन्नतामा त्यसको थोरै मात्र आधार हुन्छ। मानव समूहहरू ‘आफ्ना बौद्धिक र भावनात्मक विकासका लागि जन्मजात क्षमता’मा अत्यन्त भिन्न हुन्छन् भन्ने तर्क राख्दै फिसरले यस घोषणापत्रमा हस्ताक्षर गर्न अस्वीकार गरे।
कम्प्युटेसनल जीवविज्ञानका लागि आर ए फिसर केन्द्र २०१० मा युनिभर्सिटी कलेज लन्डनमा आनुवंशिकी, विकासवाद तथा वातावरण (Genetics Evolution and Environment, GEE) विभाग अन्तर्गत स्थापना भएको थियो, जसमा प्रोफेसर जिहेङ याङ, एफ आर एस यसका निर्देशक बनेका थिए। सन् २०१९/२०२० मा युनिभर्सिटी कलेज लन्डन युजेनिक्सको अनुसन्धानमा फ्रान्सिस गाल्टन र कार्ल पिअरसनसँग विश्वविद्यालयको सम्बन्धको पुनर्मूल्याङ्कन गरिएपश्चात् यी परिसरभित्रका थुप्रै भवनहरू र स्थानहरूबाट उनीहरूको नाम हटाइयो। यस निर्णयले निम्न धारणालाई प्रतिबिम्बित गर्दछ- उहाँहरूको धेरैजसो काम विज्ञानमा आधारभूत रहेको र विश्वभरि दैनिक प्रयोगका लागि भए तापनि युनिभर्सिटी कलेज लन्डनले उहाँहरूलाई (नामाङ्कित भवनहरू, लेक्चर थिएटरहरू आदि मार्फत्) मरणोपरान्त गरेको सम्मान उचित थिएन किनकि यसले वैज्ञानिक जातिवाद र युजेनिक्स प्रवर्द्धन गर्ने मान्न सकिन्थ्यो।
२०२० को ग्रीष्ममा जिइइले कम्प्युटेसनल जीवविज्ञानका लागि आर ए फिसर केन्द्रलाई कम्प्युटेसनल जीवविज्ञानका लागि युनिभर्सिटी कलेज लन्डन केन्द्र पुनर्नामाकरण गर्ने सामूहिक निर्णय लियो। युनिभर्सिटी कलेज लन्डन कट्टरपन्थी र प्रगतिशील सिद्धान्तहरूमा स्थापित भएको हो र हामी केवल विद्वत् उत्कृष्टता र शिक्षणको प्रयासमा मात्र नभएर सम्पूर्ण विद्यार्थीहरू तथा कर्मचारीहरूका लागि समावेशी र आकर्षक वातावरणका लागि समेत प्रतिबद्ध छौँ।
यो निर्णय हाम्रो आफ्नै इतिहासलाई अझ खुला पार्नका लागि पनि लिइएको हो, जसले गर्दा हामी युजेनिक्स जस्ता अप्रचलित (पुरातन) अवधारणाहरू निर्माण भएको सन्दर्भ बुझ्न सकौँ र त्यो ज्ञानलाई विज्ञान र समाजभित्र बढी सुसङ्गत र समावेशी संस्कृति निर्माण गर्न प्रयोग गर्न सकौँ। हाम्रो आफ्नै इतिहासको इमान्दार, विद्वत् मूल्याङ्कनले युनिभर्सिटी कलेज लन्डनको प्रतिष्ठालाई बढाउँनेछ र यो निर्णय हाम्रो विगतलाई मेटाउनका लागि नभई त्यसलाई परिचित बनाउन र गहिराइमा अध्ययन गराउन एउटा आकाशदीप(बिकन)को रूपमा काम गर्न सक्छ भन्ने विश्वास हामीले लिएका छौँ। फिसरको वैज्ञानिक विरासत उनले रचना गर्न मद्दत गरेका विज्ञानका सम्पूर्ण शाखाहरूमा सही रूपमा कायम रहनेछ तथा वैज्ञानिक उत्कृष्टता र सामाजिक समानता प्रति पनि हाम्रो प्रतिबद्धता व्यक्त गर्दा हामीले उनको नामलाई नभएर उनको कामलाई सम्मान गर्ने निधो गरेका छौँ।