ऋतुप्रसाद खनाल दमक, झापा लोकनाथजी मेरा साहिँला मामाका छोरा, एक मात्र सन्तान हुनुहुन्थ्यो। पहाडमा उहाँको र मेरो घर त्यतिवेलाको सोल्मा गा.वि.स. मा भए पनि गाउँ अलग अलग थियो। उहाँको कालीमाटी, मेरो सुहारा। उमेरको हिसाबले म उहाँभन्दा ५/६ वर्ष जेठो छु। त्यसैले उहाँका बाल्यकालका धेरै कुराहरू मलाई थाहा छ। उहाँका बारेमा मलाई विशेष जानकारी हुने अर्को […]
ऋतुप्रसाद खनाल
दमक, झापा
लोकनाथजी मेरा साहिँला मामाका छोरा, एक मात्र सन्तान हुनुहुन्थ्यो। पहाडमा उहाँको र मेरो घर त्यतिवेलाको सोल्मा गा.वि.स. मा भए पनि गाउँ अलग अलग थियो। उहाँको कालीमाटी, मेरो सुहारा। उमेरको हिसाबले म उहाँभन्दा ५/६ वर्ष जेठो छु। त्यसैले उहाँका बाल्यकालका धेरै कुराहरू मलाई थाहा छ। उहाँका बारेमा मलाई विशेष जानकारी हुने अर्को कारण हो- मेरो सानै अवस्थाको मावल बसाइ। त्यस्तै अर्को कारण, उहाँसँगको पछिल्लो समयको निरन्तर व्यावहारिक, पारिवारिक रूपमा भएको परस्परको सेवा र सहयोगात्मक भावनाको सामीप्य।
मामा युवावस्थामै बित्नुभयो। त्यस समयमा लोकनाथजी, मलाई लाग्छ, करिब डेढ वर्षको हुनुहुन्थ्यो। मामालाई झाडापखाला लाग्यो। तत्काल हुन सकेको र जानेबुझेअनुसारको ओखतीमूलो त भयो तर त्यसले छुन सकेन। उपचारका लागि विज्ञ वैद्य, धन्वन्तरि त्यस समयमा थिएनन्। आजभोलिको जस्तो डाक्टर, अस्पतालहरू हुने त कुरै भएन। यस्तो परिस्थितिमा मामा एकैछिनको बिरामले जानुभयो। हुन्थ्यो, हुँदैनथ्यो त कसरी भनौँ तर अलि राम्रो उपचार हुन सकेको भए मामा अलि बाँच्नुहुन्थ्यो र लोकनाथजीलाई त्यस्तो आपत्ति आउने थिएन भन्ने चाहिँ अहिले पनि लाग्छ।
म दश वर्षको उमेरदेखि नै मावल बसेको थिएँ। घरतिर पढाइको वातावरण थिएन। त्यसैले पढ्नका लागि भनेर मलाई सानो उमेरमा नै मातापिताले मावल राखिदिनुभयो। बाल्यकालमा धेरै मावल बसेको हुनाले म पछिसम्म पनि अलि बढि नै मावल जान्थेँ। कान्छा मामा छविलालले मलाई अक्षर चिनाएर सप्तसती चण्डी पढाउनुभयो। मैले पढेको देखेर भाइ लोकनाथले पनि पढ्ने रुचि गरेपछि मामाले लोकनाथलाई पढाउनू भनेर मलाई अर्हाउनुभयो। अनि मैले उनलाई अक्षर चिनाउने काम गरेँ। यति अध्ययन मामाघरमा नै भयो।
मामाघरको छिमेकी गाउँमा एक पाठशाला थियो। यसमा पढाउने गुरु पं. खिलनाथ अधिकारी हुनुहुन्थ्यो। गाउँलेहरूको सहयोगमा पाठशाला खोलेर खिलनाथ गुरुले त्यहाँ पढाउनुहुन्थ्यो। उहाँ श्रीवैष्णव हुनुहुन्थ्यो। त्यस समयमा त्यहाँ अरू श्रीवैष्णव कोही पनि थिएनन्। उहाँलाई एक्लो वैष्णव देखेर मलाई अलि अनौठो पनि लागेको थियो, कसरी, कहाँ र कसको प्रेरणाले उहाँमात्र वैष्णव हुनपुग्नुभयो भनेर। सायद, उहाँले वृन्दावन, अयोध्या, हरिद्वार, वाराणसी आदि कुनै स्थानमा गएर पढ्नुभएको थियो र त्यसै सन्दर्भमा वैष्णव पनि हुनुभएको थियो होला। जे होस्, उहाँले पढाउने त्यो पाठशालामा त्यति बेला देवीप्रसाद हजुरबा, लोकनाथ भट्टराई, काशीनाथ मामा र भानुभक्त लुइटेल पनि पढ्नुहुन्थ्यो। म पनि त्यहीँ गएर पढ्न थालेँ। अलिपछि लोकनाथलाई पनि लिएर जान थालेँ। यो करिब २००४ सालतिर जस्तो लाग्छ। त्यतिवेला लोकनाथजी ६/७ वर्षको हुनुहुँदो हो।
यसको ४/५ वर्षपछि पढाइकै क्रममा उहाँको निरौलाकी छोरीसँग विवाह भयो। यो २००८ सालतिर होला। श्रीमतीलाई माइत पठाएर उहाँ पढ्नमा व्यस्त हुनुहुन्थ्यो; करिब दुई वर्षपछि पत्नीको माइतमै देहावसान भयो। पीडा आइलागे पनि उहाँले पढाइलाई जारी राख्नुभायो। उहाँ चतुर, पढाएको चाँडै टिपिहाल्ने भएकाले गुरु लगायत सबैको अत्यन्त प्यारो हुनुहुन्थ्यो। प्रथम पत्नी बितेको एक वर्षपछि बाँस्तोलाकी छोरीसँग उहाँको दोस्रो विवाह भयो। यो व्यवस्था माइजू (लोकनाथकी आमा) र हजुरबा, हजुरआमाले गर्नुभएको थियो। म त्यति बेला मावलमा करिब चार वर्ष बसेँ। त्यस अवधिमा पाठशाला गएर मैले रुद्री मात्र पढेँ। लोकनाथजी पनि रुद्री नै पढ्नुहुन्थ्यो। त्यसपछि म घरमा नै गएँ। सोल्माको चौके ढुङ्गामा मुकुन्द भाइका ससुराले खोलेको पाठशालामा वेद पढेँ। त्यहाँ देवीप्रसाद मामाले पढाउनुहुन्थ्यो।
जेठा मामा विष्णुलाल आसाममा हुनुहुन्थ्यो। लोकनाथ भाइको दोस्रो विवाहपछि जस्तो लाग्छ; मामाले हजुबा र हजुरआमालाई आसाम लानुभयो। त्यहाँको बसाइ सजिलो भएन छ उहाँहरूलाई, धेरै दिन टिक्न सक्नुभएन। फर्किने विचार गरेपछि मामालाई चित्त बुझेन छ र बुबाआमालाई यहाँसम्म पुर्याउन पनि आउनुभएन। बुढाबुढी दुईजना मात्र आउनुभयो। बस्न मानेनन्, जेसुकै गरून् भन्ने मान्नुभयो कि ? साहिँला मामा पहिले नै बित्नुभएको भए पनि तबसम्म साहिँला मामा र कान्छा मामाको अंशवण्डा भएको थिएन। छुट्टिने वेलामा कान्छा मामाले ‘कोसँग बस्ने ?’ भनेर हजुरबा, हजुरआमालाई सोध्नुभएछ। त्यति वेला हजुरआमाले साहिँलासँग बस्ने भन्नुभएछ। साहिँलाको छोरा, लोकनाथलाई नै हजुरआमाले साहिँलो छोरो मान्नुभएको थियो। सानैमा पिताको स्नेहबाट वञ्चित भएको टुहुरो नाति भनेर अत्यन्त माया गर्नुहुन्थ्यो लोकनाथलाई हजुरआमाले। माइजू पनि असाध्य सरल र सज्जन स्वभावकी हुनुहुन्थ्यो। माइजूकै शिक्षा, व्यवहार, लालनपालनका कारण लोकनाथलाई हरेक विपत्तिमा धैर्य भएर अगाडि बढ्न विवेक र साहस प्राप्त भइरह्यो।
दोस्रो विवाहपछि लोकनाथको घरबार राम्रै चलेको थियो। दुवै जना मिलेर खेती गरेका थिए। उहाँका मावली नजिकै थिए। उहाँ मावल जाँदा बाटोमा नै मेरो घर पर्ने भएकाले हाम्रो भेटघाट भइरहन्थ्यो। दोस्रो विवाहपश्चात् सर्वप्रथम माइजू (लोकनाथकी आमा) बित्नुभो। त्यसपछि हजुरबा, अनि हजुरआमा। यी तिनै जनाको अन्त्येष्टि कर्ममा दोस्री श्रीमती(बाँस्तोलाकी छोरी)ले सहयोग गरिन्। अलि पछि उनी पनि बितिन्। त्यसपछि भने लोकनाथजी नितान्त एक्लो हुनुभयो। उहाँका जीवनका आधारहरू सबै समाप्त भए, विरहले भौतारिनुभयो। घरै छोडेर हिड्नुभयो र केही समय मावलमा गएर बस्नुभयो। शान्त हुन उहाँलाई मुश्किल भयो।
आफन्तको वियोगको पीडामा रन्थनिएका लोकनाथ त्यहाँ बाँकी रहेको जग्गाजमीन, घर आदि सबै सम्पत्ति माहिँला बडाबालाई जिम्मा लगाएर त्यहाँबाट हिँड्नुभयो। कहाँ जान भनेर हिँड्नुभएको थियो, धरान आएर बस्नुभएछ। गाउँमा नै लघुसिद्धान्तकौमुदी र वेद पढिसकेका लोकनाथ पिण्डेश्वर महाविद्यालयमा (वर्तमानमा पिण्डेश्वर विद्यापीठ) भर्ना भएर संस्कृत पढ्न थाल्नुभयो। पढाइकै क्रममा, केही वर्षपछि हाम्रा एक जना काका पं. बालानन्द खनालले लोकनाथलाई छोरी दिन्छु भन्नुभयो, तर मैले मानिनँ। आफ्नै मावली भाइ भए पनि, दुई ओटी श्रीमती बितिसकेका छन्, अब पनि के हुने हो टुङ्गो छैन भनेर मैले विरोध नै गरेँ तर काकाले हिम्मत गर्नुभएछ। पछि दाजु आएर पिण्डेश्वरबाट उहाँलाई लिएर जानुभयो। विवाहको चर्चा भएपछि पहिले आँकसँग विवाह गरौँ, अनि कन्यासँग गर्नुपर्छ भन्ने सल्लाह भयो। त्यहीअनुसार काम सम्पन्न भयो। विवाह गरेर लोकनाथजी नवबधूलाई माइत पठाएर पढ्नलाई तुरुन्त धरान फर्किहाल्नुभयो। उनी माइतै बसेकी थिइन् तर विवाह गरेको करिब ३ महिनाभित्रै एकैछिनको विरामले उनी पनि स्वर्गलोक गइन्। फेरि पनि लोकनाथजीलाई विपत्ति आइलाग्यो। त्यस समयमा उहाँ परीक्षा लेख्दै हुनुहुँदो रहेछ। परीक्षा सकेर उहाँ घर जानुभयो। उहाँकी श्रीमतीको काजक्रिया चाहिँ माहिँला मामा शिवलालले (लोकनाथका माहिँला बडाबा)ले गर्नुभयो जस्तो लाग्छ।
आफन्तको वियोगले आहत भएर उदास रहने लोकनाथलाई हौसला दिँदै धरानकी वस्ती हजुरआमाले फेरि विवाह गर्नुपर्छ भन्नुभएछ। तीन ओटी पत्नीहरू बितिसकेका कारण आफ्नो भाग्य नै उस्तो भन्ने विचार गरेर ‘अब फेरि कसकी छोरीको हत्या गरूँ म’ भन्नुभएछ। ती गुरुआमाले सम्झाउँदै भन्नुभएछ-‘बाबु ! तिम्रा निधारमा दोषहरू छन्, वैष्णव दीक्षा लिएर आउ, सबै दोष मेटिन्छन्, अनि राम्रो हुन्छ।’ तीर्थयात्राको संयोग जुट्यो उहाँलाई। कर्तव्यको न्यूनताले पितृहरू अप्रसन्न भएर पनि कुनै बाधा परेको छ भने त्यो पनि शान्त हुनेछ र पितृहरूप्रतिको आफ्नो कर्तव्य पनि पूरा हुन्छ भन्ने उद्देश्यले उहाँले तीर्थयात्राका क्रममा बदरीनाथमा पनि यथानुकूल पितृहरूलाई पिण्ड, तर्पण गर्नुभयो। फर्केर आउने क्रममा वृन्दावन, श्रीरङ्गनाथ मन्दिरका मठाधीश आचार्यसँग श्रीवैष्णवीय दीक्षा लिएर आउनुभएछ। त्यसपछि उहाँको व्यवहार, आचार-विचार परिवर्तन भएर भगवदनुकूल कर्म गर्न थाल्नुभएको थियो। पहिले पनि उहाँ सज्जन त हुनुहुन्थ्यो नै, पछि भगवत्परायणता विशेष रूपमा प्रकट भएको थियो।
तीर्थयात्राबाट फर्केर आएपछि पुनः उनै गुरुआमाले विवाहका लागि प्रेरित गर्नुभएछ। त्यति मात्र हैन, कन्याको व्यवस्था गर्न पनि उहाँले नै पहल गरिदिनुभयो भनेर पछि सुनाउनुहुन्थ्यो। पछिल्लो विवाहमा हामीलाई निमन्त्रणा आएन। त्यसैले कहाँ, कहिले, कसरी विवाह सम्पन्न गर्नुभयो भन्ने कुरा उतिवेला थाहा भएन। विवाह धनकुटा फलाँटेका वस्तीकी छोरीसँग चतारामा गएर गर्नुभएछ। केही समयपछि भेट हुँदा प्रत्यक्ष झैँ हुने गरी सबै वृत्तान्त सुनाउनुभएको थियो।
पहाडमा उतिबेला दुःख थियो। अलि सहज तरिकाले सन्तोषपूर्वक जीवन जीउने इच्छाले मान्छेहरू पहाडबाट तराईतिर झर्थे। धेरैजसो झापा, मोरङ, सुनसरीमा झोडा फाँडेर बस्न पाइन्थ्यो। पैसा महँगो भए पनि जमिन सस्तो थियो, थोरै पैसाले धेरै जमिन आउँथ्यो। यस्तै विचार गरेर म पनि २०२८ सालमा मधेसतिर झरेँ। झापामा, केरखादेखि तल सराङ्पाडा भन्ने ठाउँमा पाँच हजार रूपैयाँमा ५ विगाहा जमिन किनेँ र एक वर्ष खेती पनि गरेँ। घरपरिवार पहाडमै थिए। जेठो छोरा साथमा भए पनि खेती गर्न कठिनाइ भयो अनि दाम पनि अलि आउने भयो र अर्को साल १० हजारमा बेचिदिएँ। त्यसपछि त्यही पैसाले धरमपुरमा ५ विगाहा नम्बरी र २ बिगाहा, १० कट्ठा ऐलानी जमिन लिएँ।
लोकनाथजी त्यति बेला चन्द्रसंस्कृत विद्यालय, धरानमा पढाउनुहुन्थ्यो। ३१ सालतिर उहाँको नियुक्ति भएको होला। तर उहाँलाई त्यहाँबाट सरुवा गरिदिएछन्। विराटनगरभन्दा पश्चिमपट्टि कता हो, धेरै टाढा भएकाले उहाँलाई निकै कठिनाइ भयो। धेरै विपत्ति झेल्दै अगाडि बढ्दै बल्ल विवाह, सन्तति, जागिर, घर आदिका माध्यमले व्यवस्थित बन्न लागेका उहाँलाई फेरि पनि सङ्कट नै आयो। उहाँको मन विचलित भयो। धरान छाडेर अन्तै गएर बस्ने विचार गर्नुभएछ तर बसिरहेको घरबाट परिवारलाई अन्यत्र सारेर नयाँ व्यवस्था गर्नुपर्ने कुरा सजिलो थिएन। घरछेउको जागिरबाट खेदिएपछि खिन्न मन भएर मकहाँ आउनुभो र सल्लाह भयो। सिमानामा रहेको जग्गा किनेर उहाँका नाममा पास गरियो। पछि उहाँले मेरो पैसा फिर्ता गरेर एकलौटी बनाउनुभयो। धरान छाड्ने विचारले परिवारलाई यहीँको जमिनमा ल्याएर राख्नुभयो। यो ३२/३३ सालतिर हो कि जस्तो लाग्छ। मेरै छेउमा हुँदा सरसहयोग र रेखदेख पनि हुन सक्ने भयो। उहाँचाहिँ जागिरमै हुनुहुन्थ्यो। यहाँ आउँदा धरान, घरमै भएको गाई ल्याउनुभएको थियो। गौपालन गर्ने उहाँको पहिलेदेखिकै स्वभाव थियो। यहाँ रहँदा मैले खेती गरेर आधा दिन्थेँ। धेरै बसेनन् यहाँ। उहाँको माहिँलो छोरा, केशवले लगायत परिवारले मानेनन् र एक वर्षपछि त्यो गाई पनि मलाई नै दिएर सबैलाई धरान नै लानुभयो। त्यसपछि पनि मान्छे लगाएर खेती गर्नुभयो केही समयसम्म र अलि पछि मात्र जमिन बेच्नुभयो।
२८ सालमा यहाँ आएपछि मेरो ठुलो छोरा यहीँ खेती गर्दै बस्यो। म भने आउने जाने गर्थेँ। एक पटक, ३५/३६ सालतिर हुनुपर्छ, म झापामै भएको वेला घरमा श्रीमती विरामी परिछन्। घरमा गएँ, सिकिस्त विरामी रहिछन्। धामी, झाँक्री, झारफुक आदि गरिए तर कुनै कुराले छोएन। त्यति वेला त्यस ठाउँमा विज्ञ वैद्यहरू थिएनन्। अहिलेको जस्तो डाक्टर र अस्पतालहरूको त कुरै भएन। ६ वर्षसम्म उनका हातखुट्टा नै चलेनन्, ओछ्यानमै थलिएर बित्यो। सास छउञ्जेल आस हुन्छ नै। उपचारका लागि उपायहरूको खोजी भयो। गाउँमा मेरा एकजना पुरोहित हुनुहुन्थ्यो। उहाँसँग परामर्श गर्दा धरानमा भएका बुढीबजूलाई देखाउने सल्लाह दिनुभयो। धरानमा मावली भाइ लोकनाथको घर भएकाले सहयोग पनि मिल्छ भन्ने विचारले उपचारका लागि धरान ल्याउने कुरा भयो तर सवारी साधन थिएनन्। अरू कुनै विकल्प नभएपछि घरदेखि ढाकरमा बोकेर हिलेसम्म पुर्याइयो। त्यहाँबाट चाहिँ फाट्टफुट्ट गाडी चल्दथे र गाडीबाट धरान पुग्यौँ। बुढीबजूकामा लगेर देखाएपछि उपचार त हुने भयो तर लोकनाथजीको घर अलि माथि रहेकाले प्रतिदिन ल्याउन लान सम्भव भएन र करिब सात दिनसम्म त्यहीँ राखेर उपचार गरियो। म चाहिँ उहाँकै घरबाट धाउँदै थिएँ र श्रीमतीलाई खाना पनि ल्याउथेँ। उनी अलि हिँड्न सक्ने भएपछि दुवै जना मावली घरमै गएर बस्यौँ।
समय बित्दै गयो। श्रीमतीको स्वास्थ्य पनि राम्रो हुँदै गएको थियो। लामो समय भएकाले मलार्इ पहाडमा खेतीपाती, घर आदिको चिन्ता भयो। के भनौँ ? कसो गरौँ ? भनेर छटपटी भइरहेको थियो। लोकनाथजीले नबुझ्ने कुरै थिएन। उहाँले आफैँ भन्नुभयो- ‘दाजु जानू, भाउजू मेरी गुरुआमा हुनुहुन्छ, म सेवा गर्छु।’ भाइको त्यो उदार र सेवाभावी वाणी र व्यवहारले म अवाक् भएँ। वेद पढेका वेला कुनै दिन मैल उहाँलाई केही मन्त्र सुनाएको रहेँछु। मेरो स्मरणमा त थिएन, तर उहाँले सम्झिराख्नुभएको रहेछ। त्यतिमै मलाई गुरुको सम्मान दिनुभयो। थोरै उपकारमा पनि धेरै देख्ने ठूलो भाव थियो उहाँको। म यहीँ बसेर गरेभन्दा बढी सेवा पाउँछिन् श्रीमतीले भन्ने लागेर ढुक्क भएर म घरतिर हिँडेँ। धेरै दुःख दिने भएँ भनेर मनमा चिन्ता भने लागिरह्यो। म हिँडेपछि लोकनाथले बुहारी राधालाई ‘राधे ! उहाँ मेरी गुरुआमा हुनुहुन्छ; राम्ररी सेवा गर्नुपर्छ है’ भनेर भन्नुभएको कुरा श्रीमतीले पछि मलाई सुनाइन्। उपकार, सेवा, सहयोग गरेकोमा उहाँमा अभिमानको भाव कहिल्यै देखिएन। यिनीहरूले लगाएको गुनको ऋण तिरेर कहिल्यै सकिन्न भन्छिन् श्रीमती अहिले पनि। मलाई पनि उहाँप्रति ऋणि नै छु भन्ने लागिरहेको छ।
लोकनाथ भाइ पूजाअनुष्ठानादि कर्मकाण्ड पनि गर्नुहुन्थ्यो। खेती थिएन, त्यसैले किनेर चलेको अवस्थामा पौरोहित्यबाट आएको चामल आदि वस्तुले थपथाप हुन्थ्यो। तर समस्या भयो, मेरी श्रीमतीलाई श्राद्धबाट ल्याएको चामल खान भएनछ। शरीरमा के तत्त्व बसेको थियो, त्यसले खानै दिएनछ। लोकनाथजी केवल मेरी श्रीमतीका लागि अलग व्यवस्था गर्न पनि तयार हुनुभयो। तर मेरो झापामा खेती छँदै थियो। छोरालाई भनेर मैले चामल पुर्याउन लगाएँ। तल, माथि गर्दै धाएर उपचार चलिरहेको थियो तर आउजाउ गर्न कठिन थियो। बिरामीको राम्ररी हिँड्न सक्ने अवस्था भइसकेको थिएन, अरू उपाय पनि थिएन। उकालो भएकाले रिक्साले पनि लान मान्दैनथ्यो। कहिले पहाड घर जाने, कहिले खेतीमा जानुपर्ने कारणले म नियमित बस्न सकिनँ। सधैँ साथी पाउन पनि गार्है थियो। श्रीमती लौरो टेकेर हिँड्न सक्ने भएपछि एक्लै पनि आउजाउ गर्थिन्। बेलुका फर्केर घर जाँदा पर आएको देख्ने बित्तिकै हरि र केशव ‘ठुलीमा आउनुभयो’ भनेर दौडँदै पुग्थे र समातेर ल्याउँथे। ती साना बालकले कति हो कति सहयोग गरे।
लोकनाथ भाइका घरमा करिब ४ महिनासम्म बसेर उपचार गरियो। श्रीमती पनि निको भइन्। म त्यहाँ भएका वेला पनि सबै व्यवस्था लोकनाथजीले नै गर्नुभयो। उहाँले पूरै जिम्मा लिएर उपचार गर्नुभयो। बुढीबजूले गरेको उपचार त लाग्यो नै; त्योभन्दा बढी उपचार लोकनाथजीका घरको व्यवहार, लोकनाथकी पत्नी, राधाको सेवा, हरि, केशव लगायत उहाँका छोराछोरीको सहयोगले कैयौँ गुणा बढी उपचार भयो र मात्र श्रीमती सजिलै आराम हुन सकिन्। लोकनाथपत्नी राधा अत्यन्तै शान्त र भद्र स्वभावकी महिला हुन्। उनले सार्है खटेर, सहेर सेवा गरिन्। त्यस्तो सेवा र सहयोग अन्त कतै पाइँदैन, कसैले कसैलाई गर्दैन। यहाँसम्म कि सन्तानले आफ्ना मातपितालाई पनि गर्दैनन्। लोकनाथजीले औपचारिकता होइन, टारटुर पार्ने होइन, कर्तव्य नै सम्झेर गर्नुभयो। प्रायः गरेर दुई चार दिन सँगै बस्दा पनि परस्परमा ठास्सठुस्स गरेको, रुखा वचनहरू भनेको, सुनेको, झर्कोफर्को गरेको, झगडा परेको देखिन्छ, तर लोकनाथजीकामा ४ महिना बस्ता कुनै दिन असजिलो वातावरण भएन, परस्परमा नराम्रो भएन। सारै ठुलो सेवा पाइयो भनेर अहिले पनि मेरी श्रीमती सम्झिरहन्छिन्। ती दिनका क्षणहरू स्मरण गर्दा, लोकनाथजी, राधा बुहारी लगायत उहँको परिवारले गरेको सद्भावपूर्ण सेवा र सहयोग सम्झँदा अहिले पनि मलाई गम्भीर बनाउँछ, आँखा रसाउँछन्।
लोकनाथजीसँग धेरै पहिलेदेखि नै व्यक्तिगत, पारिवारिक र व्यावहारिक रूपमा पनि अत्यन्त नजिकको सम्बन्ध थियो। अरू मावली भाइहरू पनि धेरै जना छन्, सबैसँग सुमधुर सम्बन्ध छ, तर लोकनाथजीसँग जस्तो सामीप्य अरूसँग भएन। उहाँसँग, उहाँको परिवारसँग मेरो र मेरो परिवारको नै अत्यन्त स्नेह, प्रेम, सद्भाव, परस्परको सहयोग अत्यन्त गहिरो रूपमा रह्यो। श्राद्ध, पूजा आदिमा मलाई उहाँले बोलाइरहनुहुन्थ्यो। यो परस्परको स्नेह उहाँको जीवनको अन्तिम क्षणसम्म पनि रहिरह्यो। अहिले उहाँको परमपद गमनपश्चात् पनि यो जारी नै छ। बाल्यकालदेखि नै विभिन्न विपत्तिहरू सहँदै, चुनौतीहरूलाई सामना गर्दै, बाधाव्यवधानहरूलाई पन्छाउँदै अघि बढेका लोकनाथलाई जीवनभरि कुनै न कुनै सङ्कट आइरहे, तर पनि उहाँ अविचलित भएर अगाडि बढिरहनुभयो। अखण्ड रूपमा विपत्ति आइरहे पनि एउटा टुहुरो व्यक्तिले कठोर सङ्घर्ष गरेर समाजमा यति उच्च स्थान र सम्मान पाउनु चानचुने कुरा होइन। जीवन नै समाप्त हुने अवस्थाबाट सम्हालिएर शिक्षादान, पुस्तक लेखन, प्रकाशन, संघसंस्थामा आबद्ध भएर सामाजिक सेवा आदिका माध्यमले उहाँले प्रसस्त मानसम्मान, यश आदि कमाउननुभयो। उहाँले आफ्नो जीवन सफल बनाउनुभयो र सहज रूपमा संसारबाट विदा हुनुभयो। हाम्रा गौरवका रूपमा रहनुभएका लोकनाथजीको यो उन्नति र सम्पन्नतामा भगवान्को कृपा र उहाँकी आमाको प्रेरणाप्रद शिक्षा अनि आशीर्वादको महत्त्वपूर्ण स्थान छ। भाइ लोकनाथलाई सधैँ भगवत्कैंकर्य प्राप्त भइरहोस् भन्ने कामना गर्दछु।