मधुसूदन घिमिरे विषय प्रवेश : पण्डित लोकनाथ लुइटेलद्वारा १८ ओटा पौरस्त्य दर्शनका बारेमा पद्यात्मक भाषामा लेखिएको कृति हो– दर्शनसारामृतम् । यस कृतिलाई ‘जयतु संस्कृतम्’ नामक संस्थाले प्रकाशित गरेको हो। यस कृतिमा प्रतिपाद्य विषयवस्तुको विस्तृत समीक्षात्मक आलेख प्रा. पद्मप्रसाद भट्टराईले गर्नुभएको छ। यस लेखमा अन्य विषयका बारेमा उल्लेख नगरी केवल बौद्धदर्शनका बारेमा यथामति विवेचना गरिएको छ। […]
मधुसूदन घिमिरे
विषय प्रवेश :
पण्डित लोकनाथ लुइटेलद्वारा १८ ओटा पौरस्त्य दर्शनका बारेमा पद्यात्मक भाषामा लेखिएको कृति हो– दर्शनसारामृतम् । यस कृतिलाई ‘जयतु संस्कृतम्’ नामक संस्थाले प्रकाशित गरेको हो। यस कृतिमा प्रतिपाद्य विषयवस्तुको विस्तृत समीक्षात्मक आलेख प्रा. पद्मप्रसाद भट्टराईले गर्नुभएको छ। यस लेखमा अन्य विषयका बारेमा उल्लेख नगरी केवल बौद्धदर्शनका बारेमा यथामति विवेचना गरिएको छ।
दर्शन परिचय :
दृशिर् प्रेक्षणे धातुमा ल्यु (अन) प्रत्यय लागेर दर्शन शब्दको निर्माण हुन्छ। यसको शाब्दिक अर्थ हुन्छ- अवलोकन, हेराइ, निरीक्षण, हेर्ने वा देख्ने काम, नयन, नेत्र, दर्पण, दृश्य, पर्यवेक्षण, नमस्कार, ईश्वर ज्ञान, अध्यात्म चिन्तन आदिको विश्लेषण गर्ने दर्शनशास्त्र, जीव, ब्रह्म, प्रकृति, पुरुष आदि कुराको तत्त्वज्ञान गराउने शास्त्र (बराल, २०६८: ३३०)। दर्शनशास्त्रलाई विभिन्न तरिकाले वर्गीकरण गरिएको पाइन्छ। मूल रूपमा पौरस्त्य र पाश्चात्त्य गरी दर्शनको विभाजन भएको देखिन्छ। पौरस्त्य दर्शनलाई पनि विभिन्न तरिकाले वर्गीकरण गरिएको पाइन्छ, जसमा आस्तिक र नास्तिकलाई मुख्य भेदका रूपमा उल्लेख गरिएको छ। वेदको प्रामाणिकता स्वीकार गर्ने दर्शनहरूलाई आस्तिक भनिन्छ भने वेदको प्रामाणिकतालाई अस्वीकार गर्ने दर्शनहरूलाई नास्तिक भनिन्छ। सामान्य अर्थमा चार्वाकलाई छोडेर अन्य सबै पौरस्त्य दर्शनहरूले परमसत्यको खोज गर्दछन्। यस आलेखमा दर्शनसारामृतम् ग्रन्थमा उल्लेख भएको बौद्धदर्शनका बारेमा चर्चा गरिएको छ।
बौद्धदर्शन :
बुद्धको नाममा प्रतिपादित दर्शन भएकाले यसलाई बौद्धदर्शन भनिएको हो। बुद्ध धर्म र बुद्ध दर्शन कतिपय स्थानमा समान देखिन्छन् भने कतिपय सन्दर्भमा विरोधी भएर देखा पर्छन्। धर्म र दर्शन दुबै भगवान् तथागतद्वारा प्रतिपादन गरिएका होइनन् भन्ने मत प्रशस्त पाइन्छ। उहाँको महापरिनिर्वाणपश्चात् उहाँका उपदेशहरूलाई सङ्ग्रह गर्दै ठुल्ठुला बौद्ध सङ्गीति(सम्मेलन)हरू सम्पन्न भए, जसले बुद्धवचनहरूलाई मूलतः सुत्त, अभिधम्म र विनय गरी तीन पिटकहरूमा सङ्ग्रह गरेको इतिहास पाइन्छ (उपाध्याय, सन् १९७९: १६२)। समय समयमा सम्पन्न भएका बौद्ध सङ्गीतिहरूमा मतभिन्नता भई बौद्धधर्म अठारओटा सम्प्रदायमा समेत विभक्त भएको इतिहास पाइन्छ। समग्र बौद्धनिधिहरू पालि र संस्कृत दुवै भाषामा रहेकाले बौद्धधर्म, दर्शन, संस्कृति र विपुल बौद्ध साहित्यको गहन अध्ययनका लागि पालि भाषा पनि जान्नु आवश्यक हुन्छ। बौद्ध दर्शनका वैभाषिक, सौत्रान्तिक, माध्यमिक र योगाचार चारओटै दार्शनिक सिद्धान्तहरूले निम्नलिखित तत्त्वहरूलाई पूर्णतः स्वीकार गरेको देखिन्छ :
१. क्षणिकवाद
२. प्रतीत्यसमुत्पादवाद
३. अनात्मवाद
४. अभौतिकवाद
५. अनीश्वरवाद
६. दश अव्याकृत नय
७. विचार स्वतन्त्र (सांकृत्यायन, सन् १९४८ : ५)
समग्रतामा यिनै बौद्धदर्शनका केन्द्रीय तथा आधारभूत मान्यतालाई दर्शनसारामृतम्ले पद्यात्मक माध्यमबाट अभिव्यक्त गरेको छ।
दर्शनसारामृतम्मा बौद्धतत्त्व :
विद्वान् लेखक तथा कविवर लोकनाथ लुइटेलको अनुपम काव्य प्रतिभाको नमुना दर्शनसारामृतम् हो। यसको भाषा काव्यात्मक रहेको छ भने प्रतिपाद्य विषय पौरस्त्य दर्शनका प्रमुख शाखाहरूको सूत्रात्मक प्रस्तुति दिनु रहेको छ। यसमा १८ ओटा पौरस्त्य दर्शनको सूत्रात्मक प्रस्तुति पाइन्छ भने श्रीरामानुजदर्शन(विशिष्टाद्वैतदर्शन)को केही विस्तृत व्याख्या विश्लेषण गरेको पाइन्छ। दर्शनशास्त्र जस्तो विषयलाई काव्यात्मक भाषामार्फत् अभिव्यक्त गर्नु लेखकको निजी कृतिगत वैशिष्ट्य पनि हो। यस कृतिमा दर्शनको परिचयका क्रममा चार्वाक दर्शनपछि दोस्रो नास्तिक दर्शनका रूपमा बौद्धदर्शनको परिचय दिइएको छ।
पहिलो श्लोकमा बौद्धहरूले तथागतलाई ईश्वर मान्छन् र ती ईश्वर सर्वशक्तिमान् या सर्वज्ञ छन् भन्ने देखाइएको छ। संसार क्षणिक र अनित्य छ भन्ने मत राख्दै दुःख, दुःख समुदय, दुःख निरोध र दुःख निरोधको मार्ग, यी कुराहरूलाई बौद्धहरू चार आर्यसत्यका रूपमा मान्दछन्। यी चार आर्यसत्यलाई जान्ने बुझ्ने व्यक्तिले निश्चय नै निर्वाण प्राप्त गर्छ। यी कुरालाई निम्न श्लोकले सूत्रात्मक ढङ्गले प्रतिपादन गरेको छ :
सामर्थ्यवानीश्वर एव बुद्धो जगत्समस्तं क्षणभङ्गुरञ्च।
चत्वारि तत्त्वानि वदन्ति बौद्धास्तान्यार्यसत्यानि चतुष्टयानि।। (दर्शनसारामृतम्,४)
बौद्धहरू रूप, वेदना, संज्ञा, संस्कार र विज्ञानलाई दुःखको कारण मान्दछन्। दुःखको उत्पत्तिको मूल स्रोत यिनै हुन्। यिनीहरूलाई जित्न सके र संसारको अनित्यता र क्षणिकता स्वीकार गरेर अगाडि बढे निर्वाण प्राप्ति हुने तथ्यलाई यहाँ स्पष्ट पारिएको छ । यसभित्र बौद्ध दर्शनको केन्द्रीय मान्यतामा प्रतीत्यसमुत्पाद पनि पर्दछ। प्रतीत्यसमुत्पाद विगत, आगत र भविष्यसँग सम्बन्धित छ। यसमा बाह्र तत्त्वहरू पर्दछन्। ती बाह्र तत्त्वहरू अविद्या, संस्कार, विज्ञान, नामरूप, छ आयतन, स्पर्श, वेदना, तृष्णा, उपादान, भव, जाति र जरामरण हुन्। यी कुराहरूलाई दोश्रो श्लोकमार्फत् व्यक्त गरिएको छ।
बौद्धदर्शन मूलतः चार भागमा विभाजित भएको यथार्थ यस श्लोकमार्फत् यसरी अभिव्यक्त गरिएको छ :
वैभाषिका भुवनमिन्द्रियवेद्यमाहुः
सौत्रान्तिकास्त्वनुभवन्त्यनुमेयमेतत्।
आचारयोगमतयः खलु धीविवर्तं
ये मध्यमा नयविदः प्रवदन्ति शून्यम्।। (दर्शनसारामृतम् ७)
वैभाषिक : यसका बारेमा विस्तृतमा चर्चा भएका धेरै ग्रन्थहरू उपलब्ध छैनन्। यसको मूल ग्रन्थ अभिधम्मकोश हो र यसका लेखक वसुबन्धु हुन्। प्रत्यक्षं क्षणभङ्गुरं च सकलं वैभाषिको भाषते अर्थात् यिनीहरू संसारलाई प्रत्यक्ष प्रमाणले सिद्ध गर्छन् भने संसारको अनित्यता र क्षणभङ्गुरतालाई स्वीकार गर्दछन् । यसका विपुल कृतिहरू संस्कृतमा उपलब्ध छैनन्। कतिपय कृतिहरू चिनी भाषामा सुरक्षित रहेका छन् भन्ने विज्ञहरूको अभिमत छ।
सौत्रान्तिक : आचार्य कुमारलात सौत्रान्तिक दर्शनका प्रवर्तक मानिन्छन्। सौत्रान्तिकहरूलाई बाह्यानुमेयवादी मानिन्छ। यसको विकास बुद्धको परिनिर्वाणपश्चात् भएको दोश्रो बौद्ध सङ्गीतिबाट भएको मानिन्छ। यसले बुद्ध वचनहरूलाई मात्र प्रमाणका रूपमा स्वीकार गर्दछ। यस शाखाको पनि अन्तिम उद्देश्य भनेको निर्वाण प्राप्त गर्नु हो, अनन्तकालसम्म यस भवचक्रमा परिरहनु हुँदैन भन्ने हो। जीवले निर्वाणको बाटामा अगाडि बढ्नुपर्छ। यही नै यस दर्शनको आशय हो।
माध्यमिक : सत्त्व (सत्ता) र असत्त्व(असत्ता)का मध्य भागमा भएकाले यसलाई माध्यमिक भनिएको हो। यसका प्रमुख आचार्य नागार्जुन हुन्। यसको प्रमुख ग्रन्थ माध्यमिककारिका हो। यसमा परिकल्पित, परतन्त्र र परिनिष्पन्न गरी तीन प्रकारको ज्ञानको चर्चा पाइन्छ। यसका पनि स्वतन्त्र माध्यमिक र योगाचार माध्यमिक गरी दुई भेद रहेका छन्। शून्य पदार्थको सविस्तार व्याख्या विश्लेषण भएकाले यसलाई शून्यवाद पनि भनिन्छ।
योगाचार : यसलाई विज्ञानवादी समेत भनिन्छ। यसले बाह्यार्थलाई असत् मान्छ। सत् भनेको एकमात्र विज्ञान हो। यसका संस्थापक आचार्य असङ्ग र मैत्रेयनाथ हुन्। यसको प्रमुख कृति महायानसूत्रालङ्कार हो। यसका पनि आगमानुयायी विज्ञानवादी र युक्ति अनुयायी गरी दुई भेदहरू छन्। आर्य असङ्ग, वसुबन्धु आगमानुयायी हुन् भने दिङ्नाग, धर्मकीर्ति युक्ति विज्ञानवादी हुन्।
माथि बताइएका चारओटा बौद्धदर्शनका प्रमुख शाखाहरू हुन् भने बौद्धधर्मका मुख्य तीन मार्गहरू हीनयान, महायान र वज्रयान हुन् । यहाँ यानको अर्थ मार्ग हो। निर्वाण प्राप्त गर्दा कुन मार्गलाई अवलम्बन गर्ने भन्ने कुरा अनुयायीमा निर्भर रहने कुरा हो। वैभाषिक र सौत्रान्तिक हीनयानसँग नजिक छन् भने माध्यमिक र योगाचार महायानसँग नजिक छन्। वज्रयान तैर्थिक तन्त्रागमसँग नजिक देखिन्छ।
यस दर्शनसारामृतम् कृतिमा बौद्धहरूको चर्चा परिचर्चाको अन्तिम श्लोकमा उनीहरूको रहन सहन, आचारविचारको प्रसङ्ग छ । जुनसुकै मार्गका अनुयायी भए पनि उनीहरूको बौद्धसङ्ग हुन्छ। बौद्ध संस्कृतिमा धर्म, सङ्ग र बुद्धलाई त्रिरत्नका रूपमा स्वीकार गरिन्छ। बौद्ध धर्मावलम्बीहरूले यी तीन कुराहरूमा अगाध आस्था र श्रद्धाभाव राख्दछन्। त्यसका आफ्ना निश्चित नियमहरू हुन्छन्। त्यस्ता नियमहरूको कडाइका साथ पालना गर्नुपर्दछ। विशेष गरी बौद्ध भिक्षुहरूका लागि ती नियमहरू बनाइएका हुन्। ती नियमहरूको अक्षरशः पालनाले नै निर्वाणको प्राप्ति गराउँछ भन्ने विचार देखिन्छ। यस कुरालाई कृतिकारले सूत्रात्मक तरिकाले यसरी प्रस्तुत गरेको देखिन्छ :
काषायवस्त्रमजिनं सुजलं सुपात्रं
पूर्वाह्णभोजनक्रिया खलु संघवासम्।
रागादिजन्यभववासनया विहीनं
वाञ्छन्ति बौद्धविबुधाः सततं सुमार्गम्।। ( दर्शनसारामृतम् ८)
यसरी प्रस्तुत कृतिमार्फत् विपुल बौद्ध साहित्य, दर्शन र धर्मका आधारभूत कुरालाई सूत्रात्मक तरिकाले अभिव्यक्त गरेको पाइन्छ। बौद्ध दर्शन र धर्मका जिज्ञासुहरूको ज्ञानको क्षुधालाई यस कृतिले सरलताका साथ मेट्ने प्रयास गरेको छ।
निष्कर्ष :
नास्तिक दर्शनभित्र समाहित हुने बौद्ध परम्परालाई यस कृतिमा प्रस्तुत गरेर बौद्धदर्शनले पौरस्त्य दर्शनको विकासमा पुर्याएको योगदानलाई कृतिकारले सम्मान गरेको देखिन्छ। दर्शनशास्त्र जस्तो विषयलाई सरल र सहज तरिकाले प्रस्तुत गर्न सक्नु कृतिकारको वैशिष्ट्य हो तर कतिपय बौद्धहरूका सैद्धान्तिक विचारभन्दा फरक तरिकाले विषयवस्तुहरू यस कृतिमा प्रस्तुत भएका छन्। पौरस्त्य न्याय दर्शनको विकासमा बौद्ध न्यायको महत्त्वपूर्ण योगदान छ तर बौद्ध न्यायका बारेमा यस कृतिले केही उल्लेख गरेको छैन। बौद्धहरूको केन्द्रीय सिद्धान्त अनात्मवाद, क्षणिकवाद, प्रतीत्यसमुत्पाद जस्ता कुराहरूको पनि यस कृतिमा उल्लेख छैन। धर्म र दर्शन दुवै स्वतन्त्र भए पनि यसमा दुवैलाई एउटै दृष्टिकोणबाट प्रस्तुत गरिएको छ। मैत्री, मुदिता, उपेक्षा (इष्ट चिजमा त्यागको भावना), करुणा बौद्धधर्मावलम्बीहरूमा अनिवार्य हुनुपर्ने गुणहरू हुन्। यस विषयमा पनि केही उल्लेख छैन। समग्रमा हेर्दा यस कृतिको मुख्य उद्देश्य बौद्ध दर्शनको मात्र नभई समग्र पौरस्त्य दर्शनको संक्षिप्त परिचय प्रस्तुत गर्नु रहेकाले बौद्धदर्शनका यी धेरै विषयहरू छुटेका हुनसक्छन् । आगामी दिनहरूमा यस्ता विषयहरूमा थप अनुसन्धान गर्न जो कोही जिज्ञासुहरूलाई घच्घच्याउन सके यस पुस्तकले पुर्याएको योगदानलाई सार्थक मान्न सकिने छ।
सन्दर्भसूची
उपाध्याय, बलदेव (वि.सं. २०४६) संस्कृत वाङ्मयका इतिहास, लखनऊ : उत्तर प्रदेश संस्कृत संस्थान।
उपाध्याय, बलदेव (सन् १९७९ ) भारतीय दर्शन की रूपरेखा, वाराणसी : चौखम्बा ओरयन्टालिया।
बराल, टीकादत्त (३०६८) तत्सम नेपाली व्युत्पत्ति शब्दकोश, काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार।
लुइटेल, लोकनाथ (२०७४) दर्शनसारामृतम्, काठमाडौँ : जयतु संस्कृतम्।
वर्मा, धीरेन्द्र (सन् १९५०) भारतीय दर्शन शास्त्रका इतिहास, प्रयाग : मणिशंकर मालवीय प्रभात प्रेस।
सांकृत्यायन, राहुल ( सन् १९४८) बौद्धदर्शन, इलाहावाद : किताब महल।