वासुदेव भण्डारी धरान हामी लोकनाथ गुरुका छिमेकी हौँ। हाम्रो पैत्रिक थलो यहीँ हो भने लोकनाथ गुरुले पनि धरानलाई नै कर्मथलो बनाउनुभयो। नजिकको छिमेकमा गाउँघरका धेरै कुराहरू थाहा हुने र हरेक अवस्थामा परस्परमा सहयोग आदान-प्रदान गर्ने वातावरण हुन्छ नै। हाम्रो गाउँमा पनि यस्तै वातावरण थियो र छ पनि। गुरु सारै मिजासिला, सबैको उपकार गर्ने स्वभावका, कसैलाई […]
वासुदेव भण्डारी
धरान
हामी लोकनाथ गुरुका छिमेकी हौँ। हाम्रो पैत्रिक थलो यहीँ हो भने लोकनाथ गुरुले पनि धरानलाई नै कर्मथलो बनाउनुभयो। नजिकको छिमेकमा गाउँघरका धेरै कुराहरू थाहा हुने र हरेक अवस्थामा परस्परमा सहयोग आदान-प्रदान गर्ने वातावरण हुन्छ नै। हाम्रो गाउँमा पनि यस्तै वातावरण थियो र छ पनि। गुरु सारै मिजासिला, सबैको उपकार गर्ने स्वभावका, कसैलाई दुःख नदिने र अरुको दुःख देख्न पनि नसक्ने गम्भीर भावका हुनुहुन्थ्यो। बाल्यकालदेखि युवा अवस्थामा आइपुग्दासम्मको उहाँको जीवन भोगाइ आँधिबेहरी जस्तो देखिन्छ। धेरै कष्ट झेल्नुभएका गुरु लोकनाथ मनको व्यथा बाहिर व्यक्त गर्नुहुन्नथ्यो। भित्र जे-जस्तो भए पनि उहाँको मुहारमा मुस्कान सहितको प्रसन्नता नै झल्किन्थ्यो।
वि.सं. २०२१ मा संस्कृत शिक्षाको अध्ययन अध्यापनका लागि दानवीर तहबिलदार चन्द्रप्रसाद आचार्यले आफ्नै लगानीमा खोल्नुभएको श्रीचन्द्रसाङ्गवेद विद्यालय(वर्तमानमा श्रीचन्द्रसंस्कृत माध्यमिक विद्यालय)को छेउमा खहरे घाट छ। ब्रिटिस क्यामले शिवजटाबाट लगेको पानी आफूलाई पुग्दो भएपछि छोडिदिँदा यही खहरेमा आउँथ्यो। यसलाई भालु धारा पनि भनिन्थ्यो। चन्द्रसाङ्गवेद विद्यालयमा संस्थापकले नै एउटा धाराको व्यवस्था गरिदिनुभएको थियो। गाउँटोलका मानिसहरूका लागि उक्त भालुधारो पानीको वैकल्पिक स्रोत थियो। त्यहाँ पानी नभएका वेला लेखनाथ चोक र शमीचोकमा भएका सरकारी धारा नै पानीका लागि आधार थिए। त्यति वेला जनसङ्ख्या अहिलेको तुलनामा सीमित भएकाले पानीका कारणले उति कठिनाइ थिएन। लोकनाथ गुरु हाम्रै घरको छेउबाट भालु धारामा स्नान गर्न जानुहुन्थ्यो। राधा दिदी (लोकनाथ गुरुकी धर्मपत्नी) अलि ढीलो उठेको अवस्थामा गुरुले नुहाएर आएपछि उठाउनुभएको पनि बुझिन्थ्यो। त्यसरी हिँड्दा छरछिमेक, गाउँटोलमा साथीभाइ, छिमेकीहरूलाई बोलाउँदै हिँड्ने खुलापन थियो लोकनाथ गुरुमा।
३० सालतिर होला, लोकनाथ गुरुको साहिँलो छोरा, माधव जन्मिसकेपछि जस्तो लाग्छ। राधा दिदी अलिअलि बिरामी हुनुहुथ्यो। कहिलेकाहीँ ‘बोलायो’, ‘बोलायो’ भन्दै एक्लै हिँड्नुहुन्थ्यो। एकदिन बिहानै, करिब ७ बजेतिर, गुरु अलि आत्तिए जस्तो अनुहारमा हस्याङ्फस्याङ् गर्दै हाम्रो घरमा आउनुभयो। सधैँ झैँ त्यस दिन पनि स्नान गरेर आएपछि राधा दिदीलाई ‘राधे ! नुहाउन उठ’ भन्दै बोलाउनुभएछ। नबोले पछि कोठामै हेर्न जाँदा त दिदी हुनुहुन्न। कहिलेकाहीँ राधा दिदी बिहानै उठेर घुम्नलाई गाउँटोलतिर निस्कनुहुन्थ्यो। त्यसकै आधारमा ‘त्यतै पो गइन् कि !’ भनेर आत्तिँदै आउनुभएको रहेछ। दिदी हाम्रातिर आउनुभएको थिएन। यो थाहा पाएर हामी पनि चिन्तित भयौँ। यस्तो विपत्तिमा सबैप्रति प्रत्येक व्यक्तिको सहानुभूति हुनु स्वाभाविक हुन्छ। कसैलाई नबिझाउने, सबैको हित चाहने, सरल, सहृदयी लोकनाथ गुरुलाई यस्तो आपत्ति आउँदा अझ सहानुभूतिका साथ सहयोगको भावनाले म पनि राधा दिदीलाई खोज्न गुरुसँगै पछि लागेँ। तत्काल गाउँघरमा खोजी गरियो, पत्ता लागेन। उहाँ स्नान, दान, पूजापाठ, तीर्थव्रत आदि कार्यतिर चित्त लगाउने धार्मिक प्रवृत्तिकी हुनुहुन्थ्यो। त्यसैले चतरातिर पो जानुभयो कि भन्ने अट्कल काटेर हामी अघि बढ्यौँ। कतै कुनै सङ्केत छैन। हतास मानसिकतामा अघि बढ्दै जाँदा सर्दू खोलको किनारमा पुगेपछि चतरातिरबाट आउँदै गरेका व्यक्तिसँग भेट भयो र राधा दिदीको हुलिया बताउँदा उनीहरूले उतैतिर जाँदै गरेको बताए। यसबाट उहाँ चतारातिर नै जानुभयो भन्ने निश्चय भयो।
यो सुनेपछि गुरु आत्तिएर भावावेशमा आउनुभयो र दौडिन लाग्नुभयो। म पनि एकछिन त गुरुसँगै दौडिएँ, तर उहाँको गतिमा पुग्न सकिनँ। मेरो गतिमा मन्दता आए सँगै मनमा एउटा गम्भीर भय र शङ्काले प्रश्नचिह्न खडा गर्यो। गुरु अत्यन्त भावुक हुनुहुन्छ, राधा दिदी पनि कम बोल्ने र गम्भीर स्वभावकी हुनुहुन्छ। गुरुका धेरै पत्नीहरू बितिसकेका छन्। अहिलेको गृहस्थाश्रम राम्रै चलेको छ। यही कारणले विगतको गम्भीर पीडाले बनाएका गहिरा घाउहरू पनि भरिँदै गएका छन् तर यदि राधा दिदी कुनै दुर्घटनामा पर्नुभएछ भने त्यो देखेर वा थाहा पाएर गुरुले पनि कतै तत्काल संसारलाई त्याग्ने चेष्टा त गर्नुहुन्न ? अघिल्लो क्षणको अज्ञात परिस्थितिको कल्पनाले मेरा मनमा उब्जिएको भय थियो यो।
लोकनाथ गुरु फटाफट अघि बढ्नुभएको थियो। म अलि ढीलो भएँ। चतारामा पुगेपछि हाम्रो भेट भयो, गुरु पर्खेर बस्नुभएको रहेछ। तबसम्म पनि केही पत्ता नलागेपछि वराहक्षेत्रसम्म पुगौँ भन्ने कुरा भयो र गुरु अघि लाग्नुभयो, म पछिपछि। म गुप्तवराहमा पुग्दा गुरु उताबाट फर्केर आइसक्नुभयो। उता पनि राधा दिदीको पत्तो नलागेको स्पष्टै थियो। सायद राधा दिदी त्यतिवेला चतारामा हामीलाई देखेर कतै लुक्नुभएको थियो कि ? जाँदाखेरि केही पत्तो नलागेको, फर्केर आउँदा त अघि नै कोशीमा प्रवेश गरिसक्नुभएछ। त्यो कोशीको मूल प्रवाह नभएर भँगालो मात्र थियो। नुहाउने मात्र उद्देश्य थियो वा जीवनकै समाप्ति, स्पष्ट भएन। राधा दिदी त्यसरी कोशीमा प्रवेश गर्दै गरेको एउटी बच्चीले देखिछन् र कराइछन्। त्यो सुनेर गाउँलेहरू जम्मा भएछन्। होहल्ला हुँदै गर्दा, बाँच्ने दिन, संयोगले एउटा नाउ त्यहीँ रहेछ र त्यसले हतपत्त दिदीलाई जलप्रवाहबाट उठाएर नाउमा राखी बाहिर ल्याइदिएछ। तबसम्ममा प्राणमा गम्भीर सङ्कट आइसकेको नभए पनि उहाँले पानी पिएर बेहोस भइसक्नुभएछ।
छेउमा, केही पर, बयरवन भन्ने ठाउँमा कोशी प्रोजेक्टको कार्यालय थियो। त्यहाँ प्राथमिक उपचारको समेत व्यवस्था रहेछ। यो सबै घटना थाहा पाएर त्यहाँका कर्मचारी/हाकीमले राधा दिदीलाई प्रोजेक्टको कार्यालयमा रहेको चिकित्सालयमा लगेर उपचार गरेछन्। गुरु वराहक्षेत्र पुगेर फर्की हामी त्यहाँ पुग्दासम्ममा धेरै समय बितिसकेको थियो। सम्भवतः अपराह्नको समय भइसकेको थियो। तबसम्ममा राधा दिदीको होस खुलिसकेको थियो। उहाँको त्यो अवस्था देखेर गुरु रुन थाल्नुभयो, मन थाम्न सक्नुभएन। राधा दिदीलाई अत्यन्त प्रेम र स्नेह गर्नुहुन्थ्यो। दिदीलाई अलि सञ्चो भएपछि, बेलुकातिर कोशी प्रोजेक्टले नै गाडी पठाइदियो र उहाँलाई लिएर हामी धरान, घर आयौँ। कोशी प्रोजेक्टले त्यो समयमा गरेको उपकार अविस्मरणीय छ। यो नहुँदो हो त लोकनाथ गुरुको जीवन कस्तो हुन्थ्यो भन्ने कुरा कल्पना पनि गर्न सकिन्न। अरूले आफूप्रति गरेको उपकार कहिल्यै नभुल्ने स्वभाव लोकनाथ गुरुको थियो। यसलाई पनि गुरुले बिर्सनुभएन नै। राधा दिदी कोशीमा प्रवेश गरेको देखेर सूचना दिने ती सानी नानीलाई गुरुले ठुलो उपकार सम्झेर केही पैसा दिएर पुरस्कृत पनि गर्नुभएको थियो।
कोशी प्रोजेक्टको उपकारले राधा दिदीलाई फर्काएर ल्याउन सफल भयौँ हामी तर त्यतिले मात्र उहाँलाई पूरै सञ्चो भएको थिएन। घरमा ल्याएर गुरुले अरु उपचार, स्याहार गर्नुभयो। अत्यन्त माया र स्नेहले व्यवहार गर्नुहुन्थ्यो। त्यसपछि पनि आराम नभएपछि पहाडतिरबाट धामी बोलाएर उपचार गराएपछि मात्र राधा दिदीलाई आराम भएको बुझिएको थियो। त्यसभन्दा पहिले उहाँलाई सामान्य समस्या भए पनि यसरी घरै छाडेर हिँड्नुपर्ने गरिको कुनै कारण देखिएको थिएन। मनोरोग (डिप्रेसन) चाहिँ पहिलेदेखि रहेछ भन्ने कुरा पछि मात्र थाहा भयो तर त्यो पनि के कारणले भएको थियो भन्ने कुरा जानकारी भएन। घरमा, गुरुसँगको व्यवहार आदि कुनै पनि त्यस्तो थिएन, जसले उहाँलाई मानसिक विचलन भएर गम्भीर समस्या उत्पन्न होस्। सम्झँदा अचम्म लाग्छ, लोकनाथ गुरु जस्ता सज्जन, कसैलाई नबिझाउने, कहिल्यै नरिसाउने, अध्यात्मको गहिरो चिन्तन भएका, भगवान्का परम भक्तलाई किन बाल्यकालदेखि नै यस्तो विपत्ति आइपरेको ?