पं. नारायणप्रसाद भट्टराई चाराली, झापा लोकनाथ लुइटेल गुरुसँग पहिलो भेट २०१५ साल माघ महिनामा पिण्डेश्वर संस्कृत महाविद्यालयमा भएको हो। मेरा भाइ मधुसूदन र शिवराज भट्टराई त्यहाँका विद्यार्थी थिए र लोकनाथ जी पनि त्यहीँकै विद्यार्थी। १५ सालमा म नारायण पनि धरानमा १० महिने शिक्षा सम्बन्धी सामान्य तालिम दिन आएको थिएँ। भाइ मधुसूदनले मेरा जेठा दाजु भनेर […]
पं. नारायणप्रसाद भट्टराई
चाराली, झापा
लोकनाथ लुइटेल गुरुसँग पहिलो भेट २०१५ साल माघ महिनामा पिण्डेश्वर संस्कृत महाविद्यालयमा भएको हो। मेरा भाइ मधुसूदन र शिवराज भट्टराई त्यहाँका विद्यार्थी थिए र लोकनाथ जी पनि त्यहीँकै विद्यार्थी। १५ सालमा म नारायण पनि धरानमा १० महिने शिक्षा सम्बन्धी सामान्य तालिम दिन आएको थिएँ। भाइ मधुसूदनले मेरा जेठा दाजु भनेर मेरो परिचय दिएपछि मेरा पनि दाजु भन्दै लोकनाथजीले अङ्कमाल गर्नुभयो।
त्यसपछि भेट हुँदै गर्यो। तालिम पूरा गरेर म आफ्नो जिल्ला ताप्लेजुङमा ०१७ सालदेखि विभिन्न प्राथमिक विद्यालयको प्र.अ.मा रही अध्यापनमा संलग्न रहेँ। पछि २०२८ सालदेखि बसाइँ सराइका क्रममा हामी परिवारसहित झापा, चारआलीमा बसोबास गर्न लाग्यौँ। म २०२९ साल पौष १ गतेदेखि झापा दुवागडीस्थित बालसुबोधिनी निम्न माध्यमिक विद्यालयमा स्थायी शिक्षकका रूपमा नियुक्त भई अध्यापन कार्यमा लागेँ। लोकनाथजीले लेख्नुभएको ‘जीवन वृतान्त’ भन्ने सानो पुस्तिका प्राप्त भयो। त्यो पुस्तिका आद्योपान्त हेरेँ। लोकनाथजीका पूर्वार्द्ध, उत्तरार्धका सबै जीवनका क्षणहरू ज्ञात भए। पूर्वार्द्धको सम्पूर्ण भोगाइ कष्टकर भए पनि उत्तरार्द्धमा आएर सुखी जीवनका क्षणहरू भोग्न पाउनुभएकामा हामी सबैलाई खुशी लाग्नु स्वभाविकै हो।
संस्कृत साहित्य विषयमा स्नातकोत्तर र नेपाली समेतको अध्ययन गर्नुभई विभिन्न विद्यालय, महाविद्यालयमा अध्यापनपश्चात् चन्द्रसंस्कृत मा.वि.को प्र.अ.समेत हुनुभएका उहाँ ज्योतिष शास्त्रमा पनि पारङ्गत हुनुहुन्थ्यो। सनकादि चार ऋषि जस्तै चार छोरा र एक छोरी उहाँका सन्ततिहरू भए। सबै छोराहरू एम. ए. र केही पि.एच.डि. समेत गरेका योग्य हुनुभयो। त्यसमा पनि अमेरिका र क्यानाडा जस्ता विकसित मुलुकमा रही अध्यापन कार्यमा संलग्न हुनुहुन्छ। आफ्ना बाबाआमालाई समेत ती मुलुकहरूको केही दिनसम्म अवलोकन गराउनुभयो। उमेरको अवधि पूरा भएपछि आजीवन निवृत्तिभरण प्राप्त हुने गरी ससम्मान अवकाशप्राप्त हुनुभयो लोकनाथ जी। उहाँले ज्ञान, वैराग्य, भक्तिप्रवर्धक धार्मिक, सामाजिक कविता संग्रह जस्ता निकै ओटा पुस्तकहरू पनि लेखेर छपाउनुभयो। कर्मकाण्डी गुरु पुरोहितहरूलाई सजिलो होस् भन्नाखातिर विधि, नियम, उदाहरणसतिका कर्म काण्डका पुस्तकहरू, विशेष गरेर सरल पूजाविधि समेत जनसमक्ष पुर्याउनुभयो।
लोकनाथजीले रामायणका सातै काण्डको सारांश समेटेर छन्दोबद्ध कविताका रूपमा ‘श्रीरामः शरणं मम’ नामको पुस्तक लेख्नुभएको छ। भगवान् रामको पूजा गर्न सुविधा होस् भनेर अन्त्यमा नमः शब्द जोडेर २६ ओटा चतुर्थ्यन्त नाम मन्त्र राख्नुभएको छ। यसै गरी माता सीताका पनि २६ ओटै नाममन्त्र राख्नुभएको छ। सुललित पद्यहरूमा रचना गरिएको यस पुस्तकमा जम्मा १४४ पद्यहरू छन्। यो पुस्तक लोकनाथ गुरुले २०६६ सालमा मलाई प्रदान गर्नुभएको थियो।
अब म दोस्रो प्रसङ्गमा जाँदैछु। मेरी श्रीमती गङ्गादेवीको जन्म १९९३ सालमा भएको हो। २००४ सालमा हाम्रो विवाह भयो। २०२३ सालमा बच्चा जन्मने अवस्था थियो तर महिना पूरा भइसक्दा पनि बच्चा पैदा हुन सकेन। त्यस समयमा ताप्लेजुङ्मा डाक्टर पनि थिएनन्। अनुभवी भनेर एकजना साधारण मानिसलाई ल्याइयो। उनले हात प्रयोग गरेर मुश्किलले बच्चा पैदा गराए तर पैदा हुनासाथ बच्चाको निधन भयो। आमा बेहोस भइन्। अङ्गभङ्ग नै भएछ, सात दिन वाक्य बस्यो। विस्तारै होस् फिर्दै गयो र पछि गएर कोशी अञ्चल अस्पताल, विराटनगरमा अपरेसनद्वारा शरीर ठीक भो। २०२४ साल फागनु महिनामा पुनः ८ महिनाको गर्भ भएपछि धरानको घोपा क्याम्प अस्पतालमा लगियो। नजिकै एक ब्राह्मणका घरमा डेरा गरेर बस्यौँ हामी। डाक्टरको रेखदेख भइरह्यो। प्रसुती विरामले च्यापेपछि अस्पतालबाटै एम्बुलेन्स आएर लग्यो। यस पटक भने सजिलै बच्चा पैदा भएछ र १ रात अस्पतालमा राखेर डेरामा लगियो। ११ दिनका दिन लोकनाथ गुरुले नामाकरण कर्म गराइदिनुभयो। छोरीको नाम राधा जुरेछ। गुरुले लेखिदिनुभएको जन्मकुण्डली आजसम्म सुरक्षित छ।
२०४९ साल चैत्र १२ गते निवृत्तिभरण (पेन्सन) सिफारिसका लागि क्षेत्रीय शिक्षा निर्देशनालय, धनकुटा गएको थिएँ। काम पूरा गरेर त्यसै दिन बेलुका धरानमा लोकनाथ गुरुकै घरमा बास बस्न आइपुगेँ। राधा बहिनीले मीठा मीठा खाद्य सामग्रीद्वारा भोजन गराइन्। भोलिपल्ट १३ गते बिहान स्नानादि नित्यकर्म सकेर चिया खाजा खाइयो। बिहानीको शितलमा म जान्छु भनेँ, लोकनाथ गुरुले दुइटा मोटा मोटा पुस्तक झोलामा लिएर आउनुभयो र “यो दाजुलाई अर्पण गरेको” भन्नुभयो। पुस्तक रहेछन्- गोरखपुरमा छापिएका हिन्दी टीका भएका श्रीमद्भागवत महापुराणका प्रथमस्कन्धदेखि द्वादसस्कन्धसम्मका दुई भाग। यसै गरी अर्को पटक पनि गुरुकै घरमा बास बस्न पुगी बेलुकाको भोजन भयो। बिहान नित्यकर्मपश्चात् हिँड्न लाग्दा एउटा मोटो किताब झोलामा ल्याउनुभयो र यो पुस्तक दाजुलाई भन्दै दिनुभयो। त्यो रहेछ नेपाली भाषाटीका सहितको निर्णयसिन्धु। ती किताबहरूबाट मैले धेरै ज्ञान प्राप्त गर्ने मौका पाएँ। उहाँले लेख्नुभएका सबै पुस्तकहरू हामी तिनै जना दाजुभाइलाई दिनुहुन्थ्यो। दुःखसुखमा भेट भई नै रहन्थ्यो। उहाँका गुणहरूका विषयमा जति लेखे पनि थोरै हुन्छ।
गत वर्ष, २०७५ साल माघ महिनामा हामी तिनै भाइ काम विषेशले काठमाडौँ गएका थियौँ। माघ १२ गते शनिबार दिउँसो १२ बजे पं. लोकनाथ लुइटेल गुरु सदाका लागि वैकुण्ठधाम पाल्नुभयो भन्ने खबर सुन्यौँ। हामी भावुक भयौँ, केही समय मौन अवस्थामा रह्यौँ। त्यो आकस्मिक दुःखद् घटनामा सहभागी हुन पुग्नुपर्छ भन्दै हामी तिनै दाजुभाइ झापा आयौँ। दशौँ पुण्यतिथिमा शोकाकुल परिवारमा सहानुभूति व्यक्त गर्न हामी धरान गयौँ। ठुलो जनसमुदाय सहानुभूति व्यक्त गर्न जम्मा भएका रहेछ। राधा बहिनी र छोरा, छोरीहरूलाई देख्दा आफ्नै पनि मन थामिनसक्नु भयो।
जातस्य हि ध्रुवो मृत्युध्रुवं जन्म मृतस्य च
यो गीताको महावाक्यलाई स्मरण गर्दै लोकनाथ गुरुको सदा वैकुण्ठको बास होस्, यिनै शब्दसुमनद्वारा श्रद्धाञ्जली अर्पण गर्दछु। शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भन्ने कामना पनि गर्दछु। यो लेख लेख्न प्रेरणा दिनुहुने भाइ प्राध्यापक डा. गोविन्दराज भट्टराईलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
शुभमस्तु !