डा. यज्ञेश्वर निरौला उपप्राध्यापक रत्न राज्यलक्ष्मी क्याम्पस, प्रदर्शनी मार्ग, काठमाडौँ। लेखसार सबै जातजाति र भाषाभाषीका बिच साझा सम्पर्कका रूपमा रहेको नेपाली भाषा नेपाल सरकारबाट मान्यताप्राप्त राष्ट्रभाषा हो। यस भाषालाई यहाँ बसोबास गरेका सबै खाले मातृभाषाका वक्ताले राष्ट्रभाषाकै रूपमा अनौपचारिक मान्यता दिएका छन् र यसै भाषामा सरकारी कामकाज, शिक्षण प्रकार्य, कानुनी प्रकार्य, सञ्चार, व्यापार व्यवसाय, चाडपर्व, […]
डा. यज्ञेश्वर निरौला
उपप्राध्यापक
रत्न राज्यलक्ष्मी क्याम्पस, प्रदर्शनी मार्ग, काठमाडौँ।
लेखसार
सबै जातजाति र भाषाभाषीका बिच साझा सम्पर्कका रूपमा रहेको नेपाली भाषा नेपाल सरकारबाट मान्यताप्राप्त राष्ट्रभाषा हो। यस भाषालाई यहाँ बसोबास गरेका सबै खाले मातृभाषाका वक्ताले राष्ट्रभाषाकै रूपमा अनौपचारिक मान्यता दिएका छन् र यसै भाषामा सरकारी कामकाज, शिक्षण प्रकार्य, कानुनी प्रकार्य, सञ्चार, व्यापार व्यवसाय, चाडपर्व, मेलापात आदि क्षेत्रमा विभिन्न गतिविधिहरू हुने गर्छन्। गुणात्मक ढाँचामा प्रस्तुत गरिएको यस अनुसन्धानमूलक लेखमा साझा सम्पर्क भाषा र राष्ट्रभाषाको परिचय दिनुका साथै नेपालमा नेपाली भाषाको अवस्था र नेपाली भाषालाई नै यहाँका सबै जातजातिका व्यक्तिहरूले सम्पर्क भाषाका रूपमा प्रयोग गर्ने आधारहरू उल्लेख गरिएको छ। साझा सम्पर्क भाषा र प्रकार्यात्मक अवस्थामा रहेको नेपाली भाषालाई नै प्राथमिक सामग्री बनाई राष्ट्रभाषा र साझा सम्पर्क भाषाका मान्यतालाई विश्लेषणको आधार बनाइएको छ। यस शोध लेखमा साझा सम्पर्क भाषा र राष्ट्रभाषाका रूपमा रहेको नेपाली भाषाले सबै जातजाति र भाषाभाषीलाई एकताको सूत्रमा उनेर राष्ट्रिय एकताको महत्त्वपूर्ण कडीको भूमिका निर्वाह गरिरहेको निष्कर्ष निकालिएको छ।
शब्दकुञ्जी : कोडीकरण, चयन, भाषिक समुदाय, मातृभाषा, वाङ्मय, विस्तरण, स्वीकरण
परिचय
राजनीतिक, न्यायिक, प्रशासनिक, आर्थिक, सांस्कृतिक आदि राज्यका विभिन्न क्षेत्रमा आधिकारिक रूपमा प्रयोग गर्नका निम्ति राज्यबाट मान्यताप्राप्त भाषा नै राष्ट्रभाषा हो। राष्ट्रमा बोलिने भाषा भएकाले यस्तो भाषालाई राष्ट्रभाषा भनिएको होइन, राष्ट्रका विविध क्षेत्रमा प्रयोग गरिने भाषिक प्रकार्यको माध्यमका रूपमा राज्यबाट औपचारिक स्वीकृति पाएको हुनाले राष्ट्रभाषा भनिएको हो (गौतम, २०४९, पृ. १३५)। राष्ट्रभाषाले कुनै जातीय संवेग तथा क्षेत्रीय भावनालाई मात्र वहन नगरी समग्र राष्ट्रिय सन्दर्भलाई सँगेट्नुका साथै राष्ट्रिय आवश्यकता पूर्तिका निम्ति सबै जात र क्षेत्रका व्यक्तिको विचार विनिमयको माध्यम भएकाले यो साझा सम्पर्क भाषा पनि हो। यसर्थ राष्ट्रभाषा राष्ट्रमा बसोबास गर्ने सबै जातिको राष्ट्रिय एकताको प्रतीक पनि हो। विश्वका कतिपय मुलुकले आफू उपनिवेशबाट मुक्त भएपछि विदेशी आयातित भाषालाई राष्ट्रभाषा मान्न अस्वीकार गरी राष्ट्रभित्रकै राष्ट्रिय गौरवलाई कायम गर्नसक्ने कुनै लोकप्रिय एउटा भाषालाई राष्ट्रभाषा मान्ने गरेको पाइन्छ। यस्ता राष्ट्रमा राष्ट्रको संविधान, राष्ट्रिय झन्डा आदिलाई जस्तै राष्ट्रभाषालाई पनि राष्ट्रियताको परिचायकका रूपमा मानिन्छ।
कुनै पनि राष्ट्रको स्वतन्त्र पहिचानको विकासका निम्ति भिन्नाभिन्नै समुदायका भाषा भएर मात्र पुग्दैन। जनतालाई राष्ट्रिय एकताको सूत्रमा गाँस्न र विविध खाले राष्ट्रिय गतिविधिको वाहक हुन सक्ने कुनै एक वा दुई भाषाको आवश्यकता पर्छ। बहुभाषिक देश नेपालमा आआफ्ना समुदायको मातृभाषालाई आन्तरिक सम्प्रेषणका लागि उपयोग त गरिन्छ तर ती मातृभाषाले एउटा भाषिक समुदाय र अर्को भाषिक समुदायका बिच सम्प्रेषणको काम गर्न नसकेको अवस्था छ। यस अवस्थामा नेपाली भाषा नै साझा सम्पर्क भाषा बनेको छ। राष्ट्रका विभिन्न भाषाभाषीहरूका बिच आपसी समझदारी अभिवृद्धि गर्न मद्दत गर्ने हुनाले नेपालमा नेपाली भाषाको सामाजिक महत्त्व बढ्नु स्वाभाविकै छ र नेपालमा नेपाली भाषाले राष्ट्रभाषाको मान्यता पनि पाएको छ। नेपालमा बोलिने जुनसुकै भाषा पनि राष्ट्रभाषा हुनसक्ने २०७२ सालको नेपालको संविधानमा परिकल्पना गरी यहाँ बोलिने सबै भाषालाई राष्ट्रभाषा मानिने छ भनी उल्लेख गरिएको छ। देशको राजनीतिक, सामाजिक एवम् सांकृतिक एकतालाई सम्वर्धन गर्ने र क्षेत्रीय तथा जातीय स्तरमा मात्र नभई राष्ट्रिय स्तरमा प्रयोग हुने कुनै पनि भाषा राष्ट्रभाषा बन्न सक्छ (अधिकारी, २०६२, पृ. ७५)। त्यसैले देशका धेरैभन्दा धेरै जनतालाई बुझ्न र बोल्न सुगम भएकाले र राष्ट्रव्यापी रूपमा प्रयोग हुने भएकाले नेपाली भाषा नेपालको राष्ट्रभाषा भएको हो।
समाज र राष्ट्रमा हुने भाषिक प्रकार्यका आधारमा राष्ट्रभाषाको निर्धारण हुन्छ। नेपालजस्तो कतिपय बहुभाषिक राष्ट्रमा राष्ट्रिय नीतिविना नै स्वतः राष्ट्रभाषा मान्ने गरेको परम्परा पनि पाइन्छ। नेपालको सन्दर्भमा कुनै खास योजनाविना नै नेपाली भाषाले व्यापक राष्ट्रिय जीवनको समग्र क्षेत्रमा प्रभावकारी ढङ्गमा प्रकार्य गर्दै आएको हुँदा यस भाषालाई यहाँका सबै जाति, क्षेत्र एवम् भाषिक समुदायका व्यक्तिले राष्ट्रभाषाका रूपमा स्वीकार गरेका छन्।
अध्ययन विधि
यो शोधलेख तयार पार्दा निम्निलिखित अनुसन्धान विधि प्रयोग गरिएको छ :
अनुसन्धानको ढाँचा
गुणात्मक ढाँचामा अध्ययन भएको हुनाले यस लेखमा राष्ट्रभाषाको सैद्धान्तिक विमर्श र राष्ट्रभाषाका रूपमा नेपाली भाषाको अवस्था प्रस्तुत गरिएको छ।
सूचक तथा नमुना छनोट
प्रस्तुत शोधलेखमा राष्ट्रभाषा एवम् नेपाली भाषाका सन्दर्भमा लेखिएका पुस्तकलाई सूचकका रूपमा लिइएको छ र यसका लागि सम्भावनारहित नमुना छनोट पद्धति अन्तर्गतको उद्देश्यमूलक नमुना छनोट गरी त्यसै नमुना तथ्यका आधारमा नेपालमा बोलिने विभिन्न मातृभाषामध्ये साझा सम्पर्क भाषाका रूपमा विकसित नेपाली भाषा छनोट गरिएको छ।
तथ्य सङ्कलन
प्रस्तुत अध्ययनमा प्राथमिक सामग्रीका रूपमा नेपालमा बसेबास गरेका विभिन्न मातृभाषाका वक्ताले साझा सम्पर्क भाषाका रूपमा प्रयोग गर्ने गरेको नेपाली भाषा र सरकारी कामकाजको माध्यमका रूपमा रहेको नेपाली भाषालाई प्रयोग गरिएको छ र द्वितीयक सामग्रीका रूपमा यसै विषयवस्तुसँग सम्बन्धित पुस्तक, लेखरचना आदिलाई उपयोग गरिएको छ। नेपाली भाषालाई राष्ट्रभाषाका रूपमा विकास गर्नुका आधारलाई समेत तथ्य मानेर पुस्तकालयीय कार्यबाट सामग्री सङ्कलन गरिएको छ।
तथ्य विश्लेषण प्रक्रिया
सामग्री विश्लेषणका लागि विशेष गरी देवीप्रसाद गौतम (२०४९), जर्ज युले (सन् १९९७), आर. ए. हड्सन (सन् १९९९), हेमाङ्गराज अधिकारी (२०६२) र जेनेट होल्म्स (सन् २०१३) को राष्ट्रभाषा सम्बन्धी अवधारणालाई उपयोग गरिएको छ। प्राप्त तथ्यलाई विश्लेषण र त्यसको पुष्टिका निम्ति उदाहरण समेत दिइएको छ। उदाहरणसहित तिनको समीक्षात्मक विश्लेषण गरी निष्कर्षमा पुगिएको हुँदा यस लेखमा विश्लेषणको आगमनात्मक विधि प्रयोग गरिएको छ।
साझा सम्पर्क भाषा
दुई वा दुईभन्दा बढी भाषिक समुदायका बिच भावना तथा विचार आदानप्रदान गर्न प्रयोगमा आउने भाषा नै सम्पर्क भाषा हो। सम्पर्क भाषा कुनै भाषिक समुदायको मातृभाषा हुन सक्छ र अरू विभिन्न मातृभाषी समुदायले दोस्रो भाषाका रूपमा यसलाई ग्रहण गरेका हुन्छन्। भिन्न भिन्न सांस्कृतिक एवम् जातिगत पृष्ठभूमि भएका व्यक्तिले मूलतः अन्तरजातीय तथा अन्तरभाषिक सांस्कृतिक अवधारणालाई सञ्चार गरेको हुन्छ। बहुभाषिक समाज नेपालमा विभिन्न मातृभाषी समुदायले प्रयोग गर्ने भाषाले भन्दा नेपाली भाषाले विशिष्ट र बहुआयामिक प्रकार्य सम्पन्न गरेको हुनाले यो भाषालाई यहाँ बसोबास गर्ने जातजातिले साझा सम्पर्क भाषाका रूपमा चयन गरेका छन्।
साझा सम्पर्क भाषा चयनका आधारहरू
नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको पहाड, हिमाल, तराईमा बसोबास गर्ने सबै भाषिक समुदायका भाषालाई मातृभाषाका रूपमा बोल्ने व्यक्तिहरू भेट हुँदा आपसमा बोल्ने कुराकानीको माध्यम नेपाली भाषा नै हुने गरेको देखिन्छ। नेपालमा मात्र होइन विदेशका जुनसुकै ठाउँमा पुगेका नेपालीहरू आपसमा भेट हुँदा नेपाली भाषामा नै कुराकानी गर्छन्। अहिलेसम्म नेपालमा यसै भाषालाई सम्पर्क भाषाका रूपमा विकास गर्ने भन्ने कुनै औपचारिक घोषणा नभए तापनि सबै जातिका नेपालीहरूले यसै भाषालाई साझा सम्पर्क भाषाका रूपमा रोजेका हुन्। नेपाली भाषा यहाँको प्रशासनिक तथा सरकारी कामकाजको भाषा, विभिन्न लेखापढीको भाषा, सञ्चारको भाषा, विद्यालय तथा विश्वविद्यालयका कक्षामा पढाइ हुने भाषा भएकैले यस भाषालाई यहाँ बसोबास गर्ने सबै अन्य मातृभाषाका वक्ताले सम्पर्क भाषाका रूपमा चयन गरेका हुन सक्छन्। नेपाली भाषा सम्पर्क भाषाका रूपमा प्रयोग गरिनु नेपाली मातृभाषीको देन नभएर यो अन्य मातृभाषीको रोजाइको परिणाम हो। हाइम्स (सन् १९७१) का अनुसार नेपाली भाषालाई नेपालमा बसोबास गर्ने सबै जातिका व्यक्तिका बिच सम्पर्क भाषाका रूपमा विभिन्न मातृभाषाका वक्ताले समान रूपमा विकास गरेका हुन्। यो भाषा एघारौँ शताब्दीदेखि नै सम्पर्क भाषाका रूपमा विकास भएको खनाल (२०६८, पृ. १७) ले उल्लेख गरेका छन्। त्यसैले हाल नेपाली भाषा यहाँका सबै नागरिकले नजानी नहुने भाषाका रूपमा विकास भएको छ। गौतम (२०४९) ले साझा सम्पर्क भाषाको चयनका चारओटा आधार प्रस्तुत गरेका छन् : (क) साझा सांस्कृतिक पृष्ठभूमि भएको भाषा, (ख) जीविकोपार्जनको सहयोगी भाषा, (ग) राज्याश्रय प्राप्त भाषा र (घ) क्षेत्रगत व्यापकता भएको भाषा। नेपालमा यी चारओटै आधार पूरा गर्न सक्षम भएर नै नेपाली भाषालाई साझा सम्पर्क भाषाका रूपमा मानिएको गौतमको तर्क छ।
नेपाली भाषा कुमाउ, गढवालतिरबाट राज्यविस्तार गर्दै अघि बढेका खस राजाहरूको मात्र भाषा नभएर सपादलक्षमा बर्सौँदेखि बसोबास गर्दै आएका खसहरूको समेत भाषा थियो। त्यसबेलाका शासकहरूले नेपाली भाषालाई नै कार्यालयीय भाषाका रूपमा स्वीकार गरेका थिए। खस राज्यमा नेपाली मातृभाषा बोल्नेहरू बाहेक अरू भाषा बोल्ने व्यक्तिहरूको साझा सम्पर्क भाषा नेपाली नै रहेको थियो। कर्णाली प्रदेशका खस साम्राज्य बलियो भएका बेला तिब्बत र भारतसँग व्यापार गर्दा व्यापारिक भाषा नेपालीलाई नै बनाएको देखिन्छ। गौतम (२०४९, पृ. १३३) ले आदित्य मल्ल, लक्ष्मीनरसिंह मल्ल, प्रताप मल्ल आदिको अभिलेखमा भएको भाषालाई प्रमाणका रूपमा प्रस्तुत गरी उक्त कुराको पुष्टि गरेका छन्। बाइसे चौबिसे राज्यकालमा पनि नेपाली भाषा नै राजकाजको भाषा र साझा सम्पर्कको भाषा रहेको विभिन्न विद्वान्हरूको भनाइबाट पुष्टि हुन्छ।
राष्ट्रभाषा
भाषिक अनेकताभित्र एकताको सूत्र बलियो बनाउन राष्ट्रभाषाको सर्वोपरि भूमिका रहन्छ। राष्ट्रिय एकताको आवश्यकतालाई देशका खास क्षेत्र र खास जातिमा सीमित भाषाले पूर्ति गर्न सक्दैन। राष्ट्रभाषाले भाषिक समुदायमा रहेको विविधताको पहिचानलाई कायम राख्दै ती भाषिक समुदायका बिच आपसी समझदारीको विकास गर्ने दायित्वसमेत निर्वाह गरेको हुन्छ। नेपालमा नेपाली भाषाले यहाँको भाषिक अनेकताभित्रको एकताको सूत्रलाई साझा सम्पर्क भाषाको रूपमा रहेर भूमिका निर्वाह गरेको छ। यस भाषाले यहाँका भाषिक समुदायमा रहेको विविधताको पहिचानलाई कायम राख्ने दायित्वसमेत निर्वाह गरेको छ साथै राष्ट्रिय एकताका निम्ति साझा सम्पर्क भाषाको आवश्यकतालाई समाधान गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउने प्रयास गरेको छ। अधिकारी (२०६२) ले भावनात्मकता र उपकरणात्मकता गरी राष्ट्रियताका दुई पक्ष मानिने उल्लेख गरेका छन्।
(क) भावनात्मकता
कुनै पनि राष्ट्रका जनतामा त्यस राष्ट्रको इतिहास, संस्कृति, साहित्य, सामाजिक रीतिरिवाज आदिका माध्यमबाट हामी एक हौँ भन्ने एकताको भावना जागृत भई आफ्नो राष्ट्रप्रति भावनात्मक झुकाव रहन्छ। यस प्रकारको झुकावलाई मजबुत बनाउन राष्ट्रभाषाले भूमिका निर्वाह गरेको हुन्छ। यसले प्रत्येक व्यक्तिको सामाजिक सम्पर्क र दायित्व बढाउँदै अन्य मातृभाषा भएका व्यक्तिका बिच व्यावहारिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक गतिविधिसँग सम्बद्ध आवश्यकताका कारण ती व्यक्तिमा एकताको भावना अझ बलियो बनाएको तथ्य देखिन्छ।
(ख) उपकरणात्मकता
राष्ट्रियताको उपकरणात्मक पक्ष बढी यान्त्रिक हुन्छ। परम्परागत सामाजिक सांस्कृतिक दृष्टिले भावनात्मक एकता नभएका अलग अलग जनसमुदाय पनि राष्ट्रका नागरिक हुन्छन् र जीविका तथा व्यवसाय गर्ने सुविधा उपलब्ध भएकाले तिनमा राष्ट्रप्रति बफादारीको भावना विकास भएको हुन्छ र तिनले राष्ट्रप्रति भावनात्मक झुकाव राखेका हुन्छन्। राष्ट्रले तिनलाई नागरिकता प्रदान गरी सम्मानित नागरिक बनाएको हुनाले तिनीहरू राष्ट्रका राजनीतिक, सामाजिक, शैक्षिक, आर्थिक गतिविधिमा समर्पित हुन्छन्। भिन्न जाति, भिन्न संस्कृति र भिन्न भाषा भए पनि राष्ट्रका सबै व्यक्तिले राष्ट्रप्रति सम्मान र गौरवको अनुभूति गर्छन्।
राष्ट्रियताका भावनात्मकता र उपकरणात्मकता यी दुवै पक्ष एक अर्काका पूरक र पोषक हुन्। राष्ट्रियताको भावना ऐतिहासिक, सांस्कृतिक र भावनात्मक मात्र नभएर राष्ट्रका नागरिकको आवश्यकता र हितसँग समेत गाँसिएको हुँदा त्यो आवश्यकता र कार्यकुशलता अभिवृद्धिका निम्ति व्यक्तिले साझा सम्पर्क भाषाको आवश्यकता महसुस गर्न थाल्छ र राष्ट्रभाषालाई छनोट गर्दछ। विभिन्न मातृभाषा भएका व्यक्तिहरूमा बृहत्तर सामाजिक व्यवहारका निम्ति राष्ट्रभाषाप्रति झुकाव बढ्नाले राष्ट्रभाषा झन् बलियो बन्दै जान्छ। नेपालको सन्दर्भमा हिमाल निवासी शेर्पाभाषी समुदाय तथा पहाड निवासी गुरुङ, मगर, थकाली, तामाङ, राई, लिम्बू र तराई निवासी राजवंशी, मैथिली, भोजपुरी, थारू आदि भाषाभाषी समुदायमा एक क्षेत्रका वक्ताले बोलेको अर्को क्षेत्रका वक्ताले बुझ्दैनन्। तिनको रीतिरिवाज, रहनसहन तथा सांस्कृतिक गतिविधि पनि मिल्दैन। तसर्थ यिनमा भावनात्मक सम्बन्ध कम र उपकरणात्मक सम्बन्ध बढी छ तर पनि सबै क्षेत्रका बासिन्दाले राष्ट्रप्रति भावनात्मक झुकाव राखेका हुनाले यी सबै जातजाति यहाँका राजनीतिक, सामाजिक, शैक्षिक, आर्थिक आदि गतिविधिमा समर्पित छन्। यी सबै भाषाभाषीका बिच भावनात्मक एकता पनि गाँसिएको हुनाले नेपालका सन्दर्भमा राष्ट्रियताका भावनात्मक तथा उपकरणात्मक दुबै पक्ष सबल देखिन्छन्।
बहुभाषिक देशमा राष्ट्रभाषा
कतिपय बहुभाषिक देशमा भाषिक बहुलवादलाई प्रोत्साहन गरेको पाइन्छ। स्विटजरलेन्डमा बोलिने जर्मनेली, फ्रान्सेली, इटालेली र रोमेली, सिङ्गापुरमा बोलिने मलयाली, चिनियाँ, अङ्ग्रेजी र तमिल, भारतमा बोलिने अङ्ग्रेजी र हिन्दी आदि भाषालाई मान्यता दिइएको छ। ती देशहरूमा राष्ट्रिय गतिविधिका निम्ति एकभन्दा बढी भाषा प्रयोगमा छन्। यसरी विदेशी भाषालाई राष्ट्रभाषा बनाउँदा राष्ट्रका मौलिक विशिष्ट पहिचान ओझेल पर्दै जान्छन्। स्वदेशी भाषाले देशभित्रको सामाजिक, सांस्कृतिक परिवेशलाई जति सहज रूपमा वहन गर्न सक्छ बाह्य भाषाले त्यस सहजतालाई अवरोध गरिदिन्छ र बाहिरी प्रभाव भित्रँदै जान्छ। तसर्थ धेरै देशले आफ्नो मौलिक परम्परा र संस्कृति जोगाइराख्न स्वदेशमै भएको र सबै देशवासीको प्रिय एवम् साझा सम्पर्क भाषालाई राष्ट्रभाषा बनाएको पाइन्छ। स्वदेशमा रहेका धेरै मातृभाषामध्ये कुनै एक भाषालाई राष्ट्रभाषाका लागि छनोट गर्दा अन्य शक्तिशाली भाषाले कमजोर भाषामाथि अतिक्रमण गरी भाषा नै नरहने पो हो कि भन्ने आशङ्का आउन सक्छ तर यो मनोवैज्ञानिक कमजोरीको उपज मात्र हो। यही मनोवैज्ञानिक कमजोरीका कारण नेपालको संविधानमा यहाँ बोलिने सबै मातृभाषालाई राष्ट्रभाषा मानेको छ। यहाँका विभिन्न भाषाभाषीका बिच लामो समयदेखि सम्पर्क सूत्रको काम गरेको ऐतिहासिक प्रभावका कारण र यहाँका बहुङ्ख्यक जनताले बोल्ने र बुझ्ने भएकाले नेपाली भाषालाई यहाँका सबै भाषाभाषीले राष्ट्रभाषाको प्रमुख मान्यता प्रदान गरेका हुन्।
स्तरीय भाषिका
हड्सन (१९९९, पृ. ३२–३४) ले भाषाका विभिन्न भेदमध्ये जुन भेदलाई वास्तविक भाषा भनेर चिनिन्छ, त्यसलाई नै स्तरीय भाषा मानेका छन्। उनका अनुसार स्तरीय भाषाले दश, सय, हजार वर्षदेखि समाजसित विशेष सम्बन्ध राखेको हुन्छ र समाजले यसलाई प्रयोग गरेको हुन्छ। स्तरीय भाषालाई झन् सक्षम, सबल र स्तरीकरण गर्दै लैजान गार्भिन र माथिओट (१९५६) ले निम्न चार मान्यता अघि सारेका छन्। उनले अघि सारेका चार मान्यतालाई गार्भिन (१९५९) र हउजेज (१९६६) ले पनि स्वीकार गरेका छन्।
(क) चयन : भाषामा भएका धेरै क्षेत्रीय भाषिकामध्ये जुन भाषिका धेरैले बोल्छन्, अनि राजनीतिक तथा व्यापारिक केन्द्रका रूपमा विकास भएको छ र राजनीतिक तथा व्यापारिक क्षेत्रमा बढी प्रयोग गरिन्छ, त्यस भाषिक भेदलाई राज्यले स्तरीय भाषाका रूपमा चयन गरेको हुन्छ। स्तरीय भाषाले अरू विभिन्न भाषिक भेदलाई आफूमा समाहित गर्न सक्छ। बृहत् सामाजिक तथा राजनीतिक महत्त्व भएको र जनताले पहिलेदेखि नै बोल्दै आएको र आफ्नो इज्जत एवं प्रतिष्ठा ठान्दै आएको भाषिक भेदको लेख्य रूपलाई नै स्तरीय भाषाका रूपमा चयन गरिएको हुन्छ। उपर्युक्त विशेषता भएका कारण नेपालीका १२ ओटा क्षेत्रीय भाषिका (निरौला २०५१, २०७२) मध्ये पुर्बेली भाषिकाको औपचारिक भेदलाई स्तरीय भाषाका रूपमा चयन गरिएको छ। आफ्नै मौलिक, प्राकृतिक तथा देशज वक्ता नभएका भाषालाई पनि स्तरीय भाषाका रूपमा चयन गर्नुपर्ने अवस्था आउँछ। इजरायलको शास्त्रीय हिब्रू भाषा तथा दुइटा आधुनिक स्तरीय नर्वेली भाषालाई देशज वक्ताका अभावमा पनि स्तरीय भाषाका रूपमा चयन गरिएको छ।
(ख) सुव्यवस्थितता : विभिन्न शैक्षिक प्रतिष्ठान तथा प्रकाशनहरूले भाषिक भेदलाई सुदृढ तुल्याउन र प्रत्येक भाषिक प्रयोक्तालाई कुन वर्णविन्यास ठिक हो भन्ने जानकारी दिन, शब्दको अर्थ पहिल्याउन अनि व्याकरणात्मक प्रयोजनका निम्ति शब्दकोश, व्याकरण तथा हिज्जेसम्बन्धी पुस्तक प्रकाशन गरेका हुन्छन्। भाषिक प्रयोक्ताले पनि ती कोशीय तथा व्याकरणात्मक मान्यतालाई स्वीकार गरेका हुन्छन्। भाषाको यो सुव्यवस्थितताका कारण नै प्रत्येक नागरिकले भाषाको सही रूप पढ्न पाएका हुन्छन्। कुनै गल्ती रूप प्रयोग गर्नु नपरोस् भन्ने तिनको धारणा हुन्छ। स्तरीय भाषामा यस्ता भाषिक सुव्यवस्थितताका सबै प्रक्रिया पूरा गरिएका हुन्छन्। नेपाली भाषाका १२ क्षेत्रीय भेदमध्ये पुर्बेली भेद स्तरीय भेदको निकटमा छ। यसै पुर्बेली भेदलाई आधार बनाएर व्याकरण तथा वर्णविन्याससम्बन्धी मान्यताको विकास गरिएको छ।
(ग) भाषिक प्रकार्यको विस्तार : केन्द्रीय सरकारसित सम्बन्धित सबै खाले संस्थागत लेख्य प्रकार्य पूरा गर्नका निम्ति भाषाको जुन भेद सक्षम र सम्भव छ, त्यसै भेदलाई स्तरीय भाषा मान्ने गरिन्छ। राज्यको केन्द्रीय संसदालयमा प्रयोग गरिने भाषा, राज्यका विभिन्न न्यायालयमा प्रयोग गरिने भाषा, सरकारी तथा प्रशासनिक कार्यालयमा प्रयोग गरिने दैनिक कामकाजको भाषा, पाठ्यक्रम तथा पाठ्यपुस्तकको विकास गरी पठनपाठनका निम्ति प्रयोग गरिने भाषा, विभिन्न निकायमा प्रस्तुत गरिने सबै खाले कार्यपत्र, प्रतिवेदन, निवेदन, आवेदन, चिठी आदिमा प्रयोग गरिने भाषा, वैज्ञानिक प्राविधिक तथा पारिभाषिक शब्दावलीका निम्ति प्रयोग गरिने भाषा, साहित्य तथा वाङ्मयका निम्ति प्रयोग गरिने भाषा, श्रव्य–दृश्य–पाठ्य तथा समाचार पत्र लगायत सबै खाले सञ्चार माध्यममा प्रयोग गरिने भाषा आदि सबै क्षेत्रमा प्रयोग गरिएका भाषाको सालाखाला रूपको विकास स्तरीय भाषामा नै गऱ्यो भने त्यो भाषा बढी विश्वसनीय हुन्छ। स्तरीय भाषाका विभिन्न भाषिक पक्षको अध्ययन हुनु जरुरी छ। भाषालाई नयाँ रूपले स्तरीकरण गर्दै लैजान विशेष गरी प्राविधिक पारिभाषिक शब्दावली विकास गर्नुपर्छ। साथै विद्यालय तथा विश्वविद्यालयका विभिन्न तहमा सोधिने प्रश्नपत्रलाई कसरी नियमन गर्ने तथा औपचारिक चिठीपत्रको ढाँचालाई कुन रूपमा विकसित गर्दै लैजाने भन्ने कुरामा दृष्टि पुऱ्याउनु जरुरी छ।
(घ) स्वीकृति तथा अनुमोदन : स्तरीय भाषालाई राज्यका सबै जनता तथा अरू भाषिक भेद बोल्ने समुदायले राष्ट्रभाषाका रूपमा अनुमोदन गरेका हुन्छन्। स्तरीय भाषालाई राज्य तथा जनताको सबल एकीकृत शक्तिको रूपमा लिइएको हुन्छ।
भाषाको स्तरीकरणका निम्ति आवश्यक पर्ने उपर्युक्त चार अवधारणालाई समाज भाषावैज्ञानिक फासोल्ड (१९८४), मिलरोय र मिलरोय (१९८५) तथा हाउजेन (१९९४)ले पनि स्वीकार गरेका छन्।
डेभिड क्रिस्टल (२००३, पृ. ३७) ले समाजमा भएका अनेक भाषा मध्येको उच्च भाषिक भेदलाई स्तरीय भाषा मानेका छन्। उनका अनुसार मानक भाषा तथा स्तरीय भाषिकालाई सञ्चारका माध्यममा प्रयोग गर्न सकिने र सबै भाषिका तथा अन्य भाषाका वक्ता बिच आपसी सम्पर्क गर्न सकिने भाषाका रूपमा विकास गरिएको हुन्छ। क्रिस्टलको मानक भाषासम्बन्धी यस मान्यतालाई आधार बनाएर शैलजा पोखरेल (२०६९, पृ. २९४) ले स्तरीय तथा मानक भाषासम्बन्धी मान्यतालाई निम्नलिखित बुँदामा समेटेकी छन् :
(क) कुनै भाषाको सर्वसम्मानित भेद,
(ख) पुरै भाषिक समुदायमा सबैतिर प्रयोग गरिने भेद,
(ग) सबै भौगोलिक भाषिका क्षेत्रमा व्याप्त भेद,
(घ) सबैको पारस्परिक सञ्चारको एकलौटी साधन,
(ङ) संस्थागत मान्यता पाएको भाषिक भेद,
(च) आम सञ्चारमा प्रयोग भएको भाषिक भेद,
(छ) विदेशीहरूलाई सिकाउन प्रयोग गरिने भाषिक भेद।
इसायभ (सन् १९७७, पृ. १२) ले भाषाको मानकीकरण गर्ने काम सबैभन्दा पहिले सोभियत सङ्घमा भएको उल्लेख गरेका छन्। त्यहाँका भाषामा भएको मानकीकरणलाई आधार मान्दै गडेली (सन् १९९९, पृ. २१) ले उल्लेख गरेका मानक भाषाका विशेषतालाई पोखरेल (२०६९, पृ. २८५–२८६) ले निम्नलिखित ढङ्गले उल्लेख गरेकी छन् :
(क) कुनै पनि भाषा मानक हुनका लागि त्यो भाषा विद्यालय, महाविद्यालय र विश्वविद्यालयमा पढाइने माध्यम भाषा हुनु,
(ख) भाषा मानकीकरणका लागि त्यस भाषाको उच्चारण, वर्ण व्यवस्था र व्याकरणात्मक कोटिहरूमा भाषावैज्ञानिक रूपमा एकरूपता हुनु,
(ग) त्यस भाषामा लिखित परम्परा विकसित हुनु र त्यसको प्रयोग क्षेत्रमा व्यापकता आउनु,
(घ) जनतालाई पढ्ने पढाउने कामका लागि सजिलो माध्यम हुनु,
(ङ) साहित्य लेखनको माध्यम बन्नु,
(च) शब्दकोश, प्राविधिक शब्दकोश आदिले भाषा समृद्ध हुनु,
(छ) भाषा सञ्चार क्षेत्रमा प्रयोग हुन सम्भव हुनु।
निष्कर्षमा के भन्न सकिन्छ भने क्षेत्रीय भाषिकाभन्दा स्तरीय भाषिका व्यापक हुन्छ। विद्यालय र विश्वविद्यालयका विभिन्न कक्षामा पढाइ हुने पाठ्यपुस्तकहरूका पाठमा प्रयोग भएको भेद, साहित्यिक प्रयोजनका निम्ति प्रयोग भएको भेद, देश विदेशमा बसोबास गर्ने प्रत्येक नेपालीले प्रयोग गर्ने र बुझ्ने भेद, पत्रपत्रिका तथा रेडियो टेलिभिजन र चलचित्रले प्रसारण गर्ने भेद यी सबै भेदहरूको सालाखाला रूपलाई नै नेपाली भाषाको स्तरीय भेद मानिन्छ। नेपालीको यही स्तरीय भेद नै नेपाली भाषा हो र यो भाषालाई नेपालको राजकाजको पहिलो भाषाका रूपमा मान्यता दिइएको छ।
पश्चिम जर्मनेली भाषिका डच भाषिकाको निरन्तरता हो। यी भाषिकाहरूसित अरू भाषिकाहरूको सम्बन्ध छ र स्तरीय जर्मनेली भाषाले यी भाषिकाहरूलाई लिएर अघि बढाएको छ। डच भाषिका स्तरीय डच भाषाको अधीनमा छ र जर्मनेली भाषिकाहरू स्तरीय जर्मनेली भाषाका अधीनमा छन्। डच भाषिकाका वक्ताहरू डच भाषा बोल्न, लेख्न र पढ्न सक्छन्। त्यसैले डच भाषिका डच भाषातर्फ उन्मुख छ। स्तरीय डच भाषाका वक्ता पनि स्वभावैले डच भाषाको कथ्य भेदबाट भाषिक सञ्चार गर्छन्।
भाषाको स्वाधीनता र पराधीनतालाई शुद्ध भाषिक पक्षका दृष्टिले भन्दा पनि राजनीतिक र सांस्कृतिक पक्षका दृष्टिले प्रभाव पारेको हुन्छ। परिस्थितिअनुसार त्यसलाई परिवर्तन गर्न सकिन्छ। च्याम्बर र ट्रडजिल (सन् २००४, पृ. १२) ले दक्षिणी स्विडेनको भाषिक इतिहासलाई यसको उदाहरणका रूपमा प्रस्तुत गरेका छन्। सन् १६५८ सम्म दक्षिणी स्विडेन डेनमार्कको अधीनमा थियो र यहाँ स्कान्डेनाभियन भाषिकाको डेनमार्केली भेद बोलिन्थ्यो। सन् १६५८ मा स्विडेन स्वतन्त्र भएपछि त्यो स्कान्डेनाभियन भाषिकाको डेनमार्केली भेद स्विडेनेली भाषिका भयो तर त्यहाँका वक्ताले बोल्ने भाषा चाहिँ उही नै थियो। ४० वर्षपछि त्यहाँको भाषिकालाई स्तरीय स्विडेनेली भाषाको अधीनमा राखियो। त्यसपछि त्यस भाषिकालाई डेनमार्केली भाषिका भन्न छाडियो। राष्ट्रभाषा सम्बन्धी राज्यको नीति नै फरक पारियो।
यसप्रकार स्तरीय भाषा स्वाधीन हुन्छ, स्वतन्त्र हुन्छ र स्वायत्त हुन्छ। यो धेरै भाषिक भेदहरूको एकमुष्ट रूप हो र अरू भाषिक भेदहरू चाहिँ स्तरीय भाषाको अधीनमा रहेका हुन्छन्। भाषिकाको पराधीन अवस्था पनि परिवर्तन हुन सक्छ। डेनमार्केली भाषिकाबाट स्विडेनेलीमा परिवर्तन भए झैँ एउटा भाषाको भाषिकाबाट अर्को भाषाका भाषिकामा परिवर्तन हुन्छ। त्यस अवस्थामा पनि पराधीन भाषिका नै रहन्छ। यसरी नयाँ भाषा विकास र राजनीतिक विकासका कारण अर्को भाषिका थपिन आउनाले स्वायत्त भाषालाई फाइदा पुग्छ। आफू अधीनका भाषाको सङ्ख्या बढ्छ तर भाषावैज्ञानिक अवस्थामा चाहिँ त्यस्ता भाषा नयाँ हुँदैनन्। तिनको भाषावैज्ञानिक स्वरूप उही रहन्छ। तर जुन भाषाको भाषिका बन्छ त्यसकै आधारमा त्यस भाषिकाका विशेषता परिवर्तन हुन थाल्छन्। उन्नाइसौँ शताब्दीको सुरुसम्म नर्वेमा जुन स्तरीय भाषा प्रयोग हुन्थ्यो, त्यो वास्तवमा डेनमार्केली भाषा थियो। जब नर्वे स्वतन्त्र र स्वायत्त राज्यमा विकसित भयो, तब नर्वेली भाषा पनि स्वतन्त्र रूपमा विकास हुन थाल्यो। यो भाषा डेनमार्केली पराधीनताबाट मुक्त भयो। सन् १९२० देखि मात्र यसले स्तरीय स्वायत्त भाषाका रूपमा मान्यता पायो र यस भाषाको आफ्नै उपार्जित नाम, वर्ण विचार र स्तरीकृत व्याकरण विकास भयो।
राजनीतिक रूपमा भिन्न भएको अवस्थामा त्यस क्षेत्रको भाषा पूर्ण स्वायत्त भएर रहन सक्तैन। त्यो अर्ध स्वायत्त अवस्थामा रहने च्याम्बर र ट्रडजिल (सन् २००४, पृ. १४) को मान्यता छ। अमेरिकाली अङ्ग्रेजी, बेलायती अङ्ग्रजी र क्यानाडेली अङ्ग्रेजी भाषा पूर्ण स्वायत्त अवस्थामा भन्दा पनि अर्ध स्वायत्त अवस्थामा छन्। यो कुन देशको स्तरीय भाषा हो भन्ने कुरा प्रस्ट छैन। यस भाषाले तीनओटै देशबाट कानुनी मान्यता पाएको छ। त्यसैले भाषालाई शक्तिशाली सेना र जलसेना सहितको बोलीको रूपमा च्याम्बर र ट्रडजिल (सन् २००४, पृ. १२) ले लिएका छन्।
साझा भाषाका रूपमा नेपाली भाषा
प्राचीन कालदेखि नै नेपाल भूमिमा बसोबास गर्दै आएका सबै मातृभाषी नेपालीको साझा भाषाका रूपमा नेपाली भाषा नै प्रयोगमा थियो भन्ने विभिन्न विद्वान्हरूको अध्ययनबाट प्रस्ट हुन्छ। गौतम (२०४९) का अनुसार यस भाषाको प्राचीन रूप सपादलक्षमा बर्सौँदेखि राज्य गर्दै र कुमाउ गढवालतिरबाट राज्य विस्तार गर्दै आएका खसहरूले प्रयोग गर्ने भाषा थियो। इसाको ११५० तिर खसहरूका पहिला राजा नागराजकै पालादेखि र उनका उत्तराधिकारी समेतले प्रयोग गर्ने भाषालाई खस भाषा भनिन्थ्यो। यही खस भाषा नेपाली भाषाको सर्वप्राचीन रूप हो। नेपाली भाषा विकासको आदिकालदेखि नै राजकाजको भाषाका रूपमा मान्यता पाएको देखिन्छ र विभिन्न शिखालेख, अभिलेख तथा वाङ्मय लेख्दा नेपाली भाषालाई नै रोजेको पाइन्छ अनि नेपाली भाषाकै प्राचीन रूप प्रयोग गरेको पाइन्छ। अशोक चल्लको वि. सं. १३१२ मा लेखिएको हुम्लाको रेलिङ गुम्बामा पाइएको ताम्रपत्र तथा दुल्लुमा वि. सं. १३१७-२७ तिर लेखिएको उनकै शिलालेख नेपाली भाषाका सर्वप्राचीन नमुना हुन्।
खस राज्यको पतन र बाइसी चौबिसी राज्यको उदयपछि पनि नेपाली भाषा राजकाजकै भाषाका रूपमा प्रयोग भइरह्यो। अझ ताम्रपत्र, शिलापत्र, अभिलेखबाट विकसित भई वाङ्मयका विभिन्न क्षेत्रमा विकास भएको पाइन्छ। खण्डखाद्यक, ज्वरोत्पत्ति चिकित्सा, औषध रसायन, बाजपरीक्षा लगायतका ग्रन्थमा नेपाली भाषाकै प्राचीन रूप प्रयोग गरिएको छ। यसरी राजाहरूले गरेको कार्य लेखेर राख्ने अभिलेख, शिलालेखमा मात्र नभएर वाङ्मय ग्रन्थको समेत माध्यम भाषा बनेको हुँदा यो भाषा जनस्तरमा निकै भिजिसकेको अड्कल गर्न सकिन्छ र तेह्रौँ चौधौँ शताब्दीदेखि नै यो भाषा अधिकांश मातृभाषी समुदायमा पनि साझा सम्पर्क भाषाका रूपमा विकसित भइसकेको देखिन्छ।
अठारौँ शताब्दीको अन्त्य र उन्नाइसौँ शताब्दीको आरम्भदेखि यस भाषामा साहित्य सिर्जना हुन थालेपछि जनबोलीमा व्यापकता बढ्दै जान थाल्यो। यो भाषा नेपाली मातृभाषीका लागि मात्र साझा भाषा नभएर नेपालमा बसोबास गर्ने सबै मातृभाषीका बिच सम्पर्क भाषाका रूपमा विकास हुन थाल्यो र तिनले दोस्रो भाषा तथा सम्पर्क भाषाका रूपमा प्रयोग गर्नाले यस भाषाको विकास र विस्तारमा अझ व्यापकता आयो। बोलीबाट एक तहमाथि आएको नेपाली भाषामा वि.सं. १८७७ मा जे. ए. एटनले नेपाली भाषाको पहिलो व्याकरण लेखेपछि यस भाषाको स्तरीकरण पनि आरम्भ भयो। नेपालमै नेपालीद्वारा वि.सं. १९६९ मा जय पृथ्वीबहादुर सिंहले लेखेको प्राकृत व्याकरण र त्यसपछि विभिन्न विद्वान्हरूले लेखेका व्याकरणले यस भाषाको लेख्य रूपमा परिमार्जन हुन थाल्यो। बिसौँ शताब्दीको उत्तरार्धमा आएर यो भाषा एकातिर जनबोलीमा व्यापक हुँदै गयो र अर्कातिर विभिन्न विधामा साहित्य सिर्जना हुन थाल्यो। साथसाथै लेख्य रूपको स्तरीकरण र परिमार्जनका लागि व्याकरण लेखिनाले यो भाषा झन् खारिँदै, माझिँदै र परिमार्जित हुँदै विकासमा फड्का मार्न थाल्यो। एक्काइसौँ शतब्दीको आरम्भदेखि नै व्याकरण र लेखनपद्धतिसम्बन्धी मानक अवधारणा निर्धारणसँगै शब्दकोश निर्माण कार्य पनि आरम्भ भयो। हुन त वि.सं. १९६६ तिरै मणिकोश लगायत जयपृथ्वीबहादुर सिंह तथा पं. देवीप्रसाद पराजुलीका शब्दकोश निर्माण भएका पाइन्छन् तर ती शब्दकोश त्यतिबेलै प्रकाशित हुन सकेनन्। वि.सं. २००७ सालदेखि मात्र नेपाली एकभाषी शब्दकोश प्रकाशमा आउन थालेको पाइन्छ। हाल नेपाली बृहत् शब्दकोश लगायत धेरै शब्दकोश प्रकाशन भएका छन् र मोबाइल एपमा समेत प्रयोग गर्न सकिने प्रविधिको विकास भएको छ। नेपाली भाषा नेपालका विभिन्न मातृभाषी समुदायका बिच पनि लोकप्रिय भएको छ भने विदेशमा गएर बसोबास गरेको सबै नेपालीका बिच हार्दिकता र ज्ञान साटासाट गर्ने माध्यमका रूपमा विकास भएको छ।
राष्ट्रभाषाका रूपमा नेपाली भाषा
नेपाली भाषा नेपालको शिक्षा, राजनीति, प्रशासन, सञ्चार, न्याय आदि विभिन्न क्षेत्रमा प्रयोग हुने मान्यताप्राप्त भाषा भएकाले र जातीय संवेग तथा क्षेत्रीय अवधारणा अनि राष्ट्रका सारा औपचारिक अनौपचारिक क्षेत्रमा गतिविधिमूलक प्रकार्य बनेकाले यस भाषालाई सबै नेपालीले राष्ट्रभाषाका रूपमा स्वीकार गरेका छन्। नेपाली भाषाकै माध्यमबाट राष्ट्रिय एकता र एकीकरणको मुख्य भूमिका निर्वाह गरेको हुँदा पनि यो भाषा राष्ट्रभाषा बनेको हो। यो भाषा सिङ्गापुर, बेल्जियम, भारत, दक्षिण अफ्रिका आदिमा जस्तो कुनै खास राष्ट्रिय नीतिविनै यस भाषाको प्रकार्यलाई हेरेर राष्ट्रभाषा निर्धारित भएको हो। वास्तवमा कुनै खास नीति र योजनाबिनै व्यापक राष्ट्रिय जीवनको समग्र क्षेत्रमा प्रभावकारी ढङ्गमा प्रकार्य गर्दै आएको हुँदा नेपाली भाषालाई नेपालको राष्ट्रभाषा मानिएको हो।
नेपाली भाषा सबै नेपालीहरूको मन, मुटु र मस्तिष्कमा जरो गाडेर बसेको साझा सम्पर्क भाषा हो। यस भाषाका औपचारिक र अनौपचारिक दुवै खाले भेद विकास भएका छन्। विभिन्न मातृभाषाका वक्ताले नेपाली भाषा बोल्दा आफ्नै शैली र लवज प्रयोग गर्छन्। नेवारी मातृभाषाका वक्ताले बोल्ने नेपाली भाषाको लवज र मधेस तराईमा बसोबोस गर्ने मैथिली, भोजपुरी, राजवंशी, थारू आदि मातृभाषाका वक्ताले बोल्ने नेपाली भाषाको लवज फरक छ। त्यसैगरी राई, लिम्बू, शेर्पा, तामाङ, गुरुङ, मगर आदि मातृभाषाका वक्ताले नेपाली भाषा बोल्ने लवज पनि भिन्नै प्रकारको छ। जुन मातृभाषाका वक्ताले जेजसरी नेपाली भाषा बोले पनि आफ्ना मातृभाषामा जस्तै नेपाली भाषामा पनि ती जातजातिको हृदय, भावना, संस्कृति, रीतिरिवाज, चालचलन आदि सजिलै अभिव्यक्त हुन्छ। तसर्थ नेपालमा बसोबास गरेका सबै जातजाति र सबै मातृभाषीका निम्ति जीवन निर्वाह तथा जीविकोपार्जनको अभिन्न अङ्ग बनेको हुनाले नै नेपालका सबै क्षेत्रमा बसोबास गरेका सबै जातजाति एवम् मातृभाषाका वक्ताले नेपाली भाषालाई राष्ट्रभाषाका रूपमा स्वीकार गरेका छन्।
नेपाली भाषाले नेपालको राष्ट्रिय एकताको भावनालाई बलियो सूत्रमा उनेको छ। नेपालका विभिन्न प्रान्तीयता तथा जातीयता कट्टरप्रेमीहरूबाट नेपाली भाषामाथि प्रत्यक्ष अप्रत्यक्ष रूपमा प्रहार गर्नेहरूको सङ्ख्या पनि बढ्दो किसिमको देखिन्छ। तर रमाइलो पक्ष के देखिन्छ भने नेपाली भाषालाई गाली गर्दा र नेपाली भाषामाथि प्रहार गर्दा नेपाली भाषालाई नै प्रयोग गरिन्छ। कुनै प्रान्तीय र जातीय विकास सँगसँगै सिङ्गो राष्ट्रको विकास हुनु पनि उत्तिकै जरुरी हुन्छ भन्ने बुझेर सबै जातजातिको मनमुटु बोकेर अघि बढेको नेपाली भाषालाई पनि बिर्सन हुन्न। नेपाल कुनै प्रान्त वा प्रदेश मात्र पनि होइन र कुनै जाति मात्र पनि होइन। हामी एक सिङ्गो राष्ट्र हौँ। राष्ट्रले प्रान्त वा प्रदेश भुल्न हुँदैन र प्रान्त वा प्रदेशले राष्ट्रलाई पनि भुल्न हुँदैन। त्यस्तै राष्ट्रले कुनै जातिलाई भुल्न हुँदैन र कुनै जातिले पनि राष्ट्रलाई भुल्न नहुने कुरा यहाँका विभिन्न मातृभाषाका वक्ताले नेपाली भाषामा साहित्य सिर्जना गरी, गीतका भाका हाली नेपाली भाषाप्रति प्रदर्शन गरेको सदासयता एवम् हार्दिकताले पनि प्रस्ट पारेकै छ।
सबै जातजाति र भाषाभाषी भएका नेपालीको राष्ट्रिय एकताको प्रतीकका रूपमा रहेको नेपाली भाषाका विभिन्न भाषिकामध्ये सुदूरपश्चिमका भाषिकालाई र कर्णाली प्रदेशका भाषिकामध्ये जुम्ली बोलीलाई राष्ट्रभाषा नेपालीको मूलधारबाट अलग्याउने प्रयास गरी नेपाली भाषालाई टुक्र्याउने प्रक्रिया सुरु गरिएको छ। डोट्याली भाषा, अछामी भाषा, जुम्ली भाषा आदि नाम दिई राष्ट्रिय जनगणना (२०६८) को नतिजामा उल्लेख गरिएको छ। वास्तवमा दार्चुलाली, बैतडेली, डडेलधुराली, बझाङी, बाजुराली, अछामी, जुम्लीसिजाँली बोली नेपाली भाषाका भिन्नाभिन्नै भाषिका हुन् (पोखरेल २०३१, २०५५ र निरौला, २०५१, २०७२)। नेपाली भाषाका भाषिका अध्ययनमा लागेका सबै विद्वान्हरूले यी क्षेत्रको बोलीलाई नेपाली भाषाका क्षेत्रीय भाषिका नै भनी उल्लेख गरेका छन्। नेपाली भाषा यस भाषाका विभिन्न क्षेत्रीय भाषिका र नेपाली राष्ट्रिय एकताको मेरुदण्डका रूपमा बलियो स्तम्भ भएर उभिएको छ। भाषा विखण्डन भयो भने नेपाली राष्ट्रियता नै खलबलिन सक्ने प्रबल सम्भावना छ। नेपाली भाषाका अध्ययनकर्ता माइकल नुनन (२००५) ले नेपालको राष्ट्रियता नेपाली भाषामा नै रहेको हुँदा यस भाषाको संरक्षण भएन अथवा यो भाषा टुक्रिएर छिन्नभिन्न भयो भने नेपाली राष्ट्रियता नै धरापमा पर्न सक्ने भनी टिप्पणी गरेका छन्। यस क्रममा नेपाली भाषालाई सबल बनाउन र सबै नेपालीको एकताको गौरवका रूपमा विकास गर्न एवम् नेपाली भाषाको संरक्षण गर्न बलियो भाषानीति र योजना आवश्यक रहेको महसुस भएको छ।
निष्कर्ष
नेपाली भाषा नेपालमा बसोबास गर्ने सबै नेपालीको साझा सम्पर्क भाषा मात्र नभएर सबै मातृभाषाका वक्ताले आफ्नो मातृभाषाको समानान्तर रूपमा प्रयोग गर्ने लोकप्रिय जनबोली हो। यहाँ बोलिने सबै मातृभाषीका सन्तानले आफ्नो मातृभाषा र नेपाली भाषा दुबैलाई एकैसाथ घरपरिवारबाट र समाजबाट सिक्ने गर्दछ। यसर्थ यो सबै नेपालीले दैनिक व्यवहार, जनजीवन, व्यापारव्यवसाय आदिमा प्रयोग गर्ने जनप्रिय भाषा हो। नेपाली जनता तथा नेपाल सरकारबाट सबै जनताले जानेको, बुझेको र सम्पर्क भाषाका रूपमा प्रयोग गर्ने गरेको नेपाली भाषालाई राष्ट्रभाषाका रूपमा चयन, स्वीकरण, विस्तारण र संहिताकरण गरिएको हुनाले नै नेपाली भाषा नेपालको राष्ट्रभाषाका रूपमा रहेको छ। खस भाषा, पर्वते भाषा, गोर्खाली भाषा आदि नाम हुँदै आजको अवस्थामा आइपुगेको नेपाली भाषाले अभिलेख काल, वाङ्मय काल र साहित्य काल तथा आधुनिक काल जस्ता विकासका विभिन्न चरण पार गरेको छ र साहित्यका विभिन्न विधा एवम् दर्शन, विज्ञान तथा प्रविधि आदि आधुनिक शास्त्रमा समेत नेपाली भाषा प्रयोग गरिन्छ। नेपाली भाषाले प्राचीन कालदेखि नै राज्यबाट मान्यता पाउँदे आएको हुनाले कथ्य र लेख्य बिचको दुरीलाई कम गर्दै यसको सरलीकरण, विस्तृतीकरण एवम् प्रकार्यपरक सिप र कौशल अभिवृद्धिका सम्भावनाहरूको खोजी गरी अझै जनप्रिय बनाउनु आजको चुनौती देखिन्छ।
सन्दर्भसूची
अधिकारी, हेमाङ्गराज, (२०६२), सामाजिक र प्रायोगिक भाषाविज्ञान, ते.सं. काठमाडौँ : रत्न पुस्तक भण्डार।
खनाल, माधवप्रसाद, (२०६८), नेपाली भाषाका हजार वर्ष, काठमाडौँ : राइनो प्रकाशन।
गौतम, देवीप्रसाद, (२०४९), नेपाली भाषा परिचय, ललितपुर : साझा प्रकाशन।
निरौला, यज्ञेश्वर, (२०५०), क्रियाको रूपतत्त्वका आधारमा नेपालीका भाषिकाहरूको निर्धारण, स्नातकोत्तर शोधपत्र, कीर्तिपुर : नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय।
निरौला, यज्ञेश्वर, (२०७२), नेपालीका भाषिकाहरूको अध्ययन, विद्यावारिधि शोधप्रबन्ध, काठमाडौँ : मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डिनको कार्यालय, त्रिभुवन विश्वविद्यालय।
पोखरेल, बालकृष्ण, (२०३१), राष्ट्रभाषा, दो.सं. ललितपुर : साझा प्रकाशन।
पोखरेल, बालकृष्ण, (२०३१), राष्ट्रभाषा, पाँ.सं. ललितपुर : साझा प्रकाशन।
पोखरेल, शैलजा, (२०६९), नेपाली भाषाको समाज भाषा वैज्ञानिक अध्ययन, विद्यावारिधि शोध प्रबन्ध, काठमाडौँ : त्रिभुवन विश्वविद्यालय।
Chamber, J. K. & Trudgill, P. (2004). Dialectology. 2nd edn. Cambridge: Cambridge university press.
Crystal, D. (2003). A dictionary of linguistics and phonetics. London: Blackwell.
Fasold, R. W. (1984). The sociolinguistics of society. Oxford: Basil Blackwell Publisher Limited.
Gadelii, K. E. (1999). Language planning theory and practice : Evaluation of language planning cases worldwide. Language division, Education sector. Paris: UNESCO.
Garvin, P. (1959). The standard language problem : Concepts and methods. Anthropological linguistics 1, 28-31.
Holms, J. (2013). An introduction to sociolinguistics (4th ed). U K: Pearson college division.
Haugen, E. (1994). Language conflict and language planning : The case of modern Norwegian. Harvard university press.
Hudson, R. A. (1999). Sociolinguistics. Cambridge: Cambridge university press.
Hymes, D. H. (1971). Pidginization and creolization of languages. Cambridge: Cambridge University Press.
Isayev, M. I. (1969). National language in the USSR : Problems and solution. Mascow: Progress publishers.
Milroy, J. and Milroy L. (1985). Authority in language. Investigating language presscription and standardisation. London: Routledge.
Milroy, J. and Milroy L. (1985). Linguistic change, Social network and speaker innovation. Journal of Linguistics 21, 339-384.
Noonan, M. (2005, Retrived January 2012 9). Language documentation and language endangermant in nepal. Retrieved from www. linguistics. wsb. edu/…/ articles/ 2011/…/HLJ100-NOONAN.pdf: From Dialogue and cultures.