प्रा.डा. गोपाल भण्डारी धरान नेपाली भाषा भारोपेली परिवारको सदस्य हो। यस भाषाका वक्ताहरू संसारका विभिन्न मुलुकमा छरिएर बसेका छन्। नेपाली भाषाको उत्पत्ति कर्णाली प्रदेशमा भएको मानिन्छ। लगभग विक्रमको एघारौँ शताब्दीदेखि यस भाषाको प्रयोग हुन थालेको हो। प्राचीन कालमा एउटा इलाकामा देखिएको यही भाषा नै क्रमशः फैलिँदै जाँदा यसको स्वरूपमा व्यापकता आउँदै गयो। एउटा गाउँ वा […]
प्रा.डा. गोपाल भण्डारी
धरान
नेपाली भाषा भारोपेली परिवारको सदस्य हो। यस भाषाका वक्ताहरू संसारका विभिन्न मुलुकमा छरिएर बसेका छन्। नेपाली भाषाको उत्पत्ति कर्णाली प्रदेशमा भएको मानिन्छ। लगभग विक्रमको एघारौँ शताब्दीदेखि यस भाषाको प्रयोग हुन थालेको हो। प्राचीन कालमा एउटा इलाकामा देखिएको यही भाषा नै क्रमशः फैलिँदै जाँदा यसको स्वरूपमा व्यापकता आउँदै गयो। एउटा गाउँ वा सीमित व्यक्तिमा विकसित भएको भाषाले वक्ताको संख्या बढाउँदै लगेको हुँदा यसमा परिवर्तन आउँदै गयो। मानिसको भ्रमणशील स्वभावबाट यस भाषाको विस्तार हुन थालेको हो। कर्णाली प्रदेशको सिञ्जाबाट यसको उत्पत्ति भएको मानेर यसलाई सिञ्जाली भाषा पनि भनिएको पाइन्छ। जनबोलीमा सीमित यस भाषालाई शासक वर्गले समेत मान्यता दिएको हुँदा यसले राजकीय मान्यता पाएको देखिन्छ। यस भाषाको उत्तरोत्तर लोकप्रियता बढ्दै जाँदा स्वदेशी विदेशी विद्वान्हरूले समेत नेपाली भाषाको अध्ययनमा रुचि देखाउन थाले। यस भाषाका खोजीकर्ताहरूले यसको नाम सिञ्जाली राखे तर त्यसमा पनि मतमतान्तर भयो। एकथरीले यसलाई खसभाषा भन्ने नाम दिए। अर्का थरीले यसलाई पर्वते भाषा भन्न मन पराए भने अङ्ग्रेज विद्वान् जे.ए. एटनले यसलाई सन् १८२० मा नेपाली भनेर नामकरण गरे। प्राचीन कालमा सिञ्जाराज्य निकै ठूलो हुँदा यसको दक्षिणी भागलाई खसान र उत्तरी भागलाई जडान भनिन्थ्यो। प्राचीन नेपाली खसान क्षेत्रमा विकसित भएको हुँदा यसलाई खस भाषा भनिएको हो भने मानसरोवरसम्म फैलिएको उत्तरी भाग(जडान प्रदेश)मा तिब्बती र चिनीयाँ भाषाको प्रयोग हुन्थ्यो। त्यसैले नेपाली वा खस भाषा भारोपेली परिवार अन्तर्गत पऱ्यो भने जडान क्षेत्रका तिब्बती आदि भाषाहरू भोटबर्मेली परिवारअन्तर्गत पर्न गएका हुन्। अब के स्पष्ट भयो भने नेपाली भाषाको पूर्वनाम सिञ्जाली रहेछ। सिञ्जालीलाई कालान्तरमा खस नामकरण गरियो किनभने सिञ्जाको दक्षिणी प्रदेशलाई खसान भनिन्थ्यो। पछि गएर यही भाषालाई पर्वते भनियो किनभने खस भाषाका वक्ताहरूको केन्द्र पर्वत प्रदेशतर्फ हुन गयो। खस भाषा र पर्वते भाषाको प्रचलन हुँदा हुँदा जे.ए. एटनले यही भाषालाई नेपाली नामाकरण गरिदिएपछि शासक वर्गले कालान्तरमा नेपालीलाई नै महत्त्व दिन थालेका थिए।
पुरानो नेपाल बाइसी र चौबिसी राज्यमा विभक्त भएको हुँदा समय समयमा पारस्परिक शक्ति सङ्घर्ष भइरहन्थ्यो। राज्यहरू आफ्नै शक्ति सञ्चयका लागि बढी सचेष्ट रहन्थे। यस्तै परिस्थितिको आकलन गरी गोर्खाका राजा पृथ्वीनारायण शाहले एकीकरण अभियान चलाउन लागेपछि भाषिक महत्त्व पनि जनसमक्ष महत्त्वपूर्ण बन्न पुग्यो। एकीकरणका योद्धाहरू जहाँ जहाँ पुग्थे, ती ठाउँका बासिन्दासँग आफ्नै भाषामा कुराकानी गर्दथे। यसै हुँदा युद्ध र भाषाको प्रचार सँगसँगै हुन थाल्यो। गोर्खाली फौजहरू मगर, तामाङ, गुरुङ, नेवार आदि बस्तीहरूमा पुगी स्थानीय बासिन्दासँग भावविनिमय गर्दा स्थानीय समुदायले उनीहरूलाई गोर्खा र उनीहरूको भाषालाई गोर्खाली नामकरण गरिदिए। त्यसबेलासम्म सिञ्जाली, खस र पर्वते भनिएको नेपालीभाषा गोर्खामा पनि आइपुगिसकेको हुँदा गोर्खाहरूको भाषा अर्थात् नेपाली भाषाको अर्को नाम गोर्खाली भाषा हुन पुगेको स्पष्ट हुन्छ।
पूर्वोक्त प्रसङ्गबाट स्पष्ट हुन्छ कि नेपाली भाषा नेपाली भूमिमै उत्पन्न भएको भाषा हो। यसको जन्मभूमि प्राचीन सिञ्जा, जो वर्तमान समयमा कर्णाली प्रदेश मानिन्छ, त्यहीँ भएको हो। कर्णाली प्रदेशको पनि दैलेख जिल्लाको दुल्लु वरिपरि नै यो भाषा प्रादूर्भाव भएको हो। यस भाषाका वक्ताहरू क्रमशः चारैतिर छरिँदै जाँदा भाषाको प्रचार–प्रसारमा व्यापकता आएको हो। अझ बाइसी चौबिसी राज्यहरूमा द्वन्द्वले बसाइँ सराइमा तीब्रता आयो। बसाइँ सरेर आउनेहरूले आफ्नो भाषा, रीतिरिवाज र धार्मिक पहिचान साथै लिएर आए, अनि अन्य भाषाभाषीसँग घुलमिल गर्दै कुराकानी गर्न थाले। यसै हुँदा भाषाको नाम पनि फेरिँदै खस, पर्वते र गोर्खाली समेत हुन पुग्यो। यसै बीच अङ्ग्रेजी विद्वान्ले नेपाली नामकरण गरिदिएपछि यस भाषाको परिचय नै आज नेपाली भाषा हुन पुगेको छ। राजनैतिक रूपमा समयसमयमा परिर्वतनहरू भए पनि नेपाली भाषाको विकास र विस्तारमा खासै अवरोध आएको छैन। फलस्वरूप यस भाषाको स्तरोन्नति, विकास, विस्तार र लोकप्रियतामा कुनै कमी आएको छैन। नेपाली भाषा नेपाली जातिको साझा भाषाका रूपमा नै प्रतिष्ठित हुँदै गएको छ। यस भाषाका वक्ताहरूले ठूलो परिश्रम गरी हजारौँ कृतिहरू निर्माण गरेका छन्। शासक वर्गले यसै भाषामा आफ्ना महत्त्वपूर्ण आज्ञा, आदेश, विधान, संविधान निर्माण गरी जनसमक्ष प्रस्तुत गरेका हुँदा नेपाली भाषाले राष्ट्रिय सीमालाई नाघेर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफ्नो अस्तित्व स्थापित गरिसकेको छ। आज नेपाली भाषा विश्वका विकसित भाषाहरूसँग प्रतिष्पर्धा गर्न सक्ने भएको छ। नेपाली भाषा ज्ञान, विज्ञान, प्रविधि र सञ्चार क्षेत्रमा समेत अग्रगामी बन्दै गएको छ र यस भाषालाई यस रूपमा ल्याइपुऱ्याउन हजारौँ वर्षदेखिको त्याग, तपस्या र परिश्रम प्रतिबिम्बित भएको छ। जुन भाषामा जति धेरै ज्ञानविज्ञानका कुरा हुन्छन् र त्यसका वक्ताहरू पनि बढ्दै जान्छन्, त्यति नै त्यो भाषा फैलिँदै जान्छ। आजको संसारमा अङ्ग्रेजी भाषाले ठूलो प्रतिष्ठा प्राप्त गरेको देखिन्छ। त्यसको मुख्य कारण अङ्ग्रेजी भाषामा रहेको ज्ञान, विज्ञान, साहित्य र प्रविधिको विकास नै हो।
प्राचीन कालमा वैदिक भाषा, संस्कृत भाषा र प्राकृत भाषा पनि यस्तै अवस्थामा थिए। संस्कृत भाषाका लाखौँ शब्दहरू आज पनि यस भाषालाई सुसमृद्ध बनाउन पर्याप्त छन्। कथ्य रूपमा वा बोलीचालीका रूपमा प्रयुक्त हुन नसक्ता संस्कृत भाषा आज ज्ञानको स्रोत भाषा मात्र बन्न पुगेको देखिन्छ। संस्कृत र अङ्ग्रेजी भाषाका यी प्रसङ्गहरूले स्पष्ट सन्देश दिन्छन् — नेपाली भाषाले पनि आफ्नो ज्ञान, विज्ञान र शब्दभण्डारमा निरन्तर अभिवृद्धि गरिरहनु पर्दछ भने नेपाली भाषाका वक्ताहरू पनि बढाइरहनु पर्छ। भाषालाई जीवित र सुसम्पन्न बनाउन वक्ताहरूको ठुलो भूमिका हुन्छ। ज्ञान विज्ञानका धेरै कुराबाट भाषा समृद्ध भए पनि वक्ताका अभावमा त्यसको अस्तित्व सुरक्षित रहन सक्तैन भन्ने कुरा प्राचीन कालको संस्कृत भाषाले सन्देश दिइरहेको छ। यस किसिमको अवस्था संसारका अनेकौँ भाषामा आएका छन्। संस्कृत र अङ्ग्रेजी त उदाहरणका रूपमा मात्र उल्लेख गरिएको हो।
पूर्वोक्त चर्चाबाट हामी स्पष्ट भयौँ — कुनै पनि भाषालाई जीवित राख्न यसलाई वक्ताहरूका बीच लोकप्रिय बनाइरहनु पर्छ। वक्ताहरूका बीच लोकप्रिय हुन भाषामा सरलता, सहजता, परिवर्तनशीलता, लचकता र जनप्रियता हुनु वाञ्छनीय मानिन्छ। नेपाली भाषाको उत्पत्तिदेखि वर्तमान कालसम्मको स्वरूप हेर्दा यस भाषामा ती सबै कुरा रहेको देखिन्छन्।
प्रथम चरण
प्राचीन कालमा (एघारौँ शताब्दी पूर्व) नेपाली भाषा बोलीचालीमै सीमित थियो। कुराकानीको भाषामै सीमित यस भाषाले लेख्य रूप पाउन सकेको थिएन। लेख्य रूपमा आउन लिपि र माध्यमको आवश्यकता पर्ने हुँदा एघारौँ शताब्दी अघि तिनका प्रारूपहरू बन्दै गएका थिए। एघारौँ शताब्दीमा आइपुग्दा संस्कृतप्रसूत प्राकृत र देवनागरी लिपिको प्रयोग हुन लागेको पाइन्छ। नेपाली भाषाको यो शिशु अवस्था हो। एक किसिमले यो प्रसव काल हो भन्न सकिन्छ। जैविक प्रसवका आ–आफ्नै परिधि र सीमा हुन्छन्, अर्थात् मनुष्यले जन्म लिन गर्भस्थ भएको सरदर १० महिना कुर्नु पर्छ। त्यस्तै अरु स्वेदज, उद्भिज्ज आदिका पनि निश्चित समयावधि हुन्छन्। यिनै दृष्टान्तबाट पनि भन्न सकिन्छ– भाषा प्रादुर्भाव हुन कम्तीमा एक शताब्दी लाग्न सक्ने हुँदा एघारौँ शताब्दीमा अस्तित्वमा आएको शिशु नेपाली भाषा पनि दशौँ शताब्दीदेखि नै गर्भस्थ अस्तित्वमा आएको अनुमान गर्न सकिन्छ। त्यसैले सो अवस्थालाई बोलीचाली वा कुराकानीको माध्यममा मात्र सीमित रहेको मान्न सकिन्छ। यसैले यो पहिलो अवस्था वा चरण हो।
दोस्रो चरण
नेपाली भाषाको दोस्रो अवस्था वा चरण भनेको यसको लेख्यरूप फेला पर्नु हो। एघारौँ शताब्दीको तेस्रो दशक (१०३८)मा आइपुग्दा यसको लेख्य रूप फेला परेको छ। राजा दामुपालद्वारा शिलालेखमा उत्कीर्ण केही शब्दहरूले नेपाली भाषाको शिशु स्वरूपको चिनारी गराएका छन्। यस शिलालेखको अध्ययनबाट स्पष्ट हुन्छ :–
१. शासक दामुपालले आफ्नो कीर्ति राख्न शिलालेख कुँदाएका हुन्,
२. शिलालेखमा उत्कीर्ण अक्षर देवनागरी लिपिका हुन्,
३. शिलालेखको प्रारम्भमा बुद्धमन्त्र ‘ॐ मणिपद्मे हुँ’ लेख्न खोजिएको छ,
४. शिलालेखमा संस्कृत भाषाको प्रभाव स्पष्ट देखिन्छ,
५. शिलालेखमा केही झर्रा नेपाली शब्दहरू पनि रहेका छन्, जसको प्रयोग आज पनि भइरहेको छ। जस्तै– भई, अडै(अड्डा) आदि।
६. नेपाली भाषाको लेख्य रूप शिलालेखबाट प्रारम्भ भएको हो।
तेस्रो चरण
नेपाली भाषाको यस चरणलाई अभिलेखकालीन(प्राचीन) नेपाली भनिन्छ। एघारौँ शताब्दीदेखि पन्ध्रौँ शताब्दीसम्म यस चरणको सीमा विस्तार भएको छ। प्राचीन नेपाली भाषाको तेस्रो चरण पुराना संस्कृत भाषाका ग्रन्थलाई नेपाली भाषामा अनुवाद गर्ने कार्यबाट प्रारम्भ भएको हो र प्रथम अनूदित ग्रन्थ हो– भास्वती। ज्योतिष सम्बन्धी यस ग्रन्थबाट नयाँ आयाम थपिएको पाइन्छ। यसै गरी खण्डन खण्डखाद्य, ज्वरोत्पत्तिचिकित्सा, औषधरसायन आदिबाट नेपाली भाषालाई फराकिलो पार्ने काम हुँदै आएको देखिन्छ। अज्ञात अनुवादकहरूबाट ज्ञात अनुवादकहरू समेत थपिँदै गएका छन्। प्रेमनिधि पन्तले प्रायश्चित्त प्रदीप र नृपश्लोकीको अनुवाद गरेरै देखाए। यो चरण पनि निकै शताब्दीहरूसम्म फैलिएको पाइन्छ।
चौथो चरण
नेपाली भाषाको चौथो चरण मौलिक लेखन कार्यको प्रारम्भलाई मान्न सकिन्छ। यस चरणको प्रारम्भ १८०१ देखि भएको हो। यस चरणका प्रयोक्ता सुवानन्द दास हुन्। उनले ‘पृथ्वीनारायण’ भन्ने मौलिक गद्य कविता लेखेका छन्, जसको रचना (१८०१–१८२६)मा भएको अनुमान गरिएको छ। सुवानन्द दासकै समकालिन पृथ्वीनारायण शाह (बाबा नरभुपाल शाहकी दुहाई), शक्तिबल्लभ अर्ज्याल, उदयानन्द अर्ज्याल, राधाबल्लभ अर्ज्याल, यदुनाथ पोख्रेल आदि हुन्। यस चौथो चरणको सीमा फराकिलो हुँदै वर्तमान काल (२०७७)सम्म नै फैलिएको मान्न सकिन्छ। पूर्वोक्त चरणलाई यसरी प्रस्तुत गर्दा स्पष्ट हुने छ–
१. प्रथम चरण– कुराकानी वा बोलीचालीको अवस्था, दशौँ शताब्दीसम्म।
२. द्वितीय चरण– लेख्य रूप प्रारम्भ भएको अवस्था, एघारौँ शताब्दीदेखि।
३. तृतीय चरण– संस्कृतबाट ग्रन्थानुवादको अवस्था, सोह्रौँ शताब्दीदेखि।
४. चतुर्थ चरण– मौलिक लेखनको प्रारम्भ– उन्नाइसौँ शताब्दीदेखि वर्तमानसम्म।
उपर्युक्त अवस्थालाई दृष्टिगत गर्दा नेपाली भाषाको जीवन चक्र लगभग एघार सय वर्ष पुगिसकेको छ। यस अवधिका उपलब्धिलाई सिंहावलोकन गर्दा धेरै कुरा स्पष्ट हुन्छन्–
१. नेपाली भाषा नेपाली जातिको साझा अभिव्यक्तिको माध्यम हो।
२. यसको लेख्य लिपि देवनागरी हो।
३. नेपालको राष्ट्रिय भाषाका रूपमा यो भाषा प्रतिष्ठित रहेको छ।
४. नेपाली भाषा ज्ञान विज्ञान, प्रविधि, सञ्चार र कथ्य रूपमा समेत दिनप्रतिदिन लोकप्रिय बन्दै आएको छ।
५. नेपाली भाषा भारोपेली परिवारको सतम् वर्गबाट उत्पन्न भएको हो।
६. नेपाली भाषा सतम् वर्गको उदीच्य संस्कृतबाट निसृत भएको हो।
७. नेपाली भाषा संस्कृतबाट विकसित प्राकृत भाषाबाट प्रादुर्भाव भएको हो, यस भाषामा तत्सम, तद्भव, झर्रा र आगन्तुक शब्दहरू छन्।
८. नेपाली भाषाका वक्ताहरू संसारका अनेकौँ मुलुकहरूमा छरिएर बसेका छन्, जसको संख्या कम्तीमा पाँच करोड पुगिसकेको छ।
९. नेपाली भाषा संसारका अनेकौँ विश्वविद्यालयहरूमा पठनपाठनका रूपमा स्वीकृत छ।
१०. नेपाली भाषाका आफ्नै भाषिक मौलिकताहरू छन्।
११. नेपाली भाषाका व्याकरण र शब्दकोशहरू छन्।
१२. नेपाली भाषाका प्राविधिक र पारिभाषिक शब्दहरू छन्।
१३. नेपाली भाषाका आफ्नै लोकसाहित्य र लोकवार्ताहरू छन्।
१४. नेपाली भाषाको साहित्यमा जीवन्तता पाइन्छ।
१५. नेपाली भाषा नेपालभित्रका अन्य भाषाका वक्ताहरूको सम्पर्क भाषा पनि हो।
१६. नेपाली भाषाका अनेक स्थानीय भेदहरू पनि छन्, जसलाई भाषिका भनिन्छ।
१७. नेपाली नेपालको राजकाजको भाषा पनि हो।
१८. संसारका विकसित भाषासँग नेपाली भाषाले क्रमशः प्रतिस्पर्धा गर्ने क्षमता प्राप्त गरिसकेको छ।
१९. नेपाली भाषाका सरलता, सहजता तथा परिवर्तनशीलताले यसका वक्ताहरू क्रमशः आकर्षित भइरहेका देखिन्छन्।
२०. विदेशी विद्वान् र अनुसन्धाताहरू पनि क्रमिक रूपले नेपाली भाषाप्रति जिज्ञासु बनिरहेका छन्।
२१. नेपाली भाषाका विशिष्ट कृतिहरू क्रमशः अन्य भाषाहरूमा पनि अनूदित भइरहेका छन्।
२२. नेपाली भाषामा अनेकौँ पत्र–पत्रिका, जर्नल तथा ग्रन्थहरू प्रकाशित भइरहेका देखिन्छन्।
२३. नेपाली निम्न तहदेखि उच्च तहसम्मका जनताको व्यवहार सम्पादन गर्ने क्षमता भएको भाषा हो।
२४. नेपाली धार्मिक, आध्यात्मिक, सांस्कृतिक, साङ्गीतिक क्षेत्रमा फैलिएको जनभाषा हो।
२५. नेपाली नेपालका सबै समुदायका साझा परिश्रमबाट निर्मित पुर्खाहरूको भाषा हो।
यसरी नेपाली भाषाका विषयमा धेरै उपलब्धिहरू फेला पार्न सकिन्छ। अतीतदेखि वर्तमानकालसम्म आइपुग्दा यस भाषाले नेपाली जातिको साझा अस्तित्व सुरक्षित गरिसकेको देखिन्छ। यस भाषामा उपलब्ध अनेक उखान–टुक्का, किंवदन्ती, गाथा, कथा र अनुभवले नेपाली जातीलाई कर्ममार्गमा प्रवृत्त हुन सदैव अभिप्रेरित गरिरहेको देखिन्छ। नेपाली भाषाका साधकहरूले अब यस भाषामा एउटा आधिकारिक विश्वकोश (इन्साइक्लोपिडिया) निर्माण गर्नु आवश्यक देखिएको छ। नेपाली भाषाको भाषिक यात्रा अविरत रूपमा अगाडि बढिरहनु पर्दछ। भाषिक यात्राका अनेकौँ आयामहरू आफूभित्र समेट्तै यस भाषालाई अझ प्रतिस्पर्धी बनाउन सक्नु नै पूर्वजहरूका परिश्रमको सार्थकता मानिने छ।
सन्दर्भ ग्रन्थहरू :
पोख्रेल, बालकृष्ण, (वि.सं. २०४३), पाँच सय वर्ष , काठमाडौँ : साझा प्रकाशन ।
पोख्रेल, बालकृष्ण, (वि.सं. २०३६, तृतीय संस्करण), राष्ट्रभाषा, काठमाडौँ : साझा प्रकाशन ।
.. .. (विं.सं.२०७५), बृहत् नेपाली शब्दकोश (दशौँ संस्करण संशोधन सहित), काठमाडौँ : नेपाल प्रज्ञा–प्रतिष्ठान।