पाणिनीय व्याकरणमा आधारित नेपालका स्नातकोत्तर तहका ५४, विद्यावारिधि तहका १८ र भारतका विद्यावारिधि तहका ७६ वटा प्रतिनिधिमूलक अनुसन्धानमूलक सामग्री सङ्कलन गरेर नेपालका स्नातकोत्तर तहका तथा नेपाल र भारतका विद्यावारिधि तहका अनुसन्धान गरी तीन प्रकारमा वर्गीकरण गरेर तिनका बिचमा तुलनात्मक अध्ययन एवं विश्लेषण गरिएको छ।
डा. मतिप्रसाद ढकाल[1]
dhakalmatip@gmail.com
लेखसार
पाणिनीय व्याकरणमा आधारित नेपालका स्नातकोत्तर तहका ५४, विद्यावारिधि तहका १८ र भारतका विद्यावारिधि तहका ७६ वटा प्रतिनिधिमूलक अनुसन्धानमूलक सामग्री सङ्कलन गरेर नेपालका स्नातकोत्तर तहका तथा नेपाल र भारतका विद्यावारिधि तहका अनुसन्धान गरी तीन प्रकारमा वर्गीकरण गरेर तिनका बिचमा तुलनात्मक अध्ययन एवं विश्लेषण गरिएको छ। फलस्वरूप भारतका विद्यावारिधस्तरीय अनुसन्धान र प्रकाशित ग्रन्थबाट नेपालका विद्यावारिधिस्तरीय केही अनुसन्धान प्रभावित भएका र नेपालकै स्नातकोत्तरस्तरीय पूर्वर्ती अनुसन्धानको समेत प्रभाव उत्तरवर्ती अनुसन्धानमा परेका कारण केही अनुसन्धानमा समानता देखिन्छ भने नेपालका अनुसन्धानको पहिलो अध्याय वा परिच्छेदमा राखिने ‘शोधपरिचय’ भारतीय अनुसन्धानहरूमा भेट्न सकिँदैन। त्यस्तै नेपालका अनुसन्धानहरू प्राविधिक पक्षमा अल्झिँदा विषयवस्तुमा गम्भीर बन्न सकेका छैनन् भने भारतीय अनुसन्धानले प्राविधिक पक्षलाई भन्दा विषयवस्तुको गहिराइलाई बढ्ता महत्त्व दिँदै आएका छन्।
शब्दकुञ्जी : पाणिनीय, व्याकरण, स्नातकोत्तर, विद्यावारिधि, समानता, भिन्नता।
विषय परिचय
संस्कृत वाङ्मयको आदिस्रोत वेद मानिन्छ। वेदरूपी शरीरका छवटा अङ्गहरूमध्ये व्याकरणलाई प्रधान अङ्ग (मुख) ठानिएको छ (पतञ्जलि, २००४, पृ. २३)। संस्कृत वाङ्मयमा विभिन्न प्रकारका व्याकरणहरू रचिए पनि पाणिनीय व्याकरण नै सर्वाङ्गपूर्ण मानिएको छ। पाणिनीय व्याकरण मुख्यतः प्राचीन व्याकरण र नव्यव्याकरण गरी दुई प्रकारको अध्ययन पद्धतिमा विकसित हुँदै आएको छ। पाणिनिद्वारा विरचित व्याकरणको मूल ग्रन्थ अष्टाध्यायीका आठ अध्यायका चारचारवटै पादका क्रमले सोदाहरण समस्त सूत्रहरूको अध्ययन गर्ने पद्धतिलाई ‘प्राचीन व्याकरण’ भनेर चिनिन्छ भने सन्धि, सुबन्त, तिङन्त, कृदन्त आदि उदाहरणमूलक शब्दहरूको निर्माणका लागि पाणिनीय सूत्रहरूको अध्ययन गर्ने पद्धतिलाई ‘नव्यव्याकरण’ भनेर बुझिन्छ। यी दुवै अध्ययन पद्धतिमध्ये हालसम्म नव्यव्याकरण पद्धतिको अध्ययन परम्परा कायमै रहेको र यस पद्धतिमै बढ्ता अनुसन्धानहरू पनि भएका पाइन्छन्।
पाणिनीय व्याकरणको परम्परामा व्याकरण अध्ययन गर्नुका मुख्य र गौण प्रयोजनहरूको विस्तृत चर्चा गरिएको छ (पतञ्जलि, पूर्ववत्, पृ. १९-४९)। पाणिनीय व्याकरण वैदिक र लौकिक उभयविध व्याकरण मानिएकाले व्याकरण अध्ययनका मुख्य प्रयोजनहरू मुख्यतः वैदिक संस्कृतसँग र गौण प्रयोजनहरू लौकिक संस्कृतसँग सम्बद्ध देखिन्छन्। लोकव्यवहारमा वैदिक संस्कृतभन्दा लौकिक संस्कृतको बढ्ता प्रयोग गरिने भएकाले हालसम्म विभिन्न देशबाट पाणिनीय व्याकरणअन्तर्गतको वैदिक व्याकरणभन्दा लौकिक व्याकरणका पक्षमा अनेकौँ अनुसन्धानहरू भएको पाइए पनि पाणिनीय व्याकरणका सबैभन्दा बढ्ता अध्ययन एवं अनुसन्धानहरू भारतमा भएका भेटिन्छन्। संस्कृत विश्वविद्यालयको स्थापनापश्चात् नेपालबाट पनि पाणिनीय व्याकरणका क्षेत्रमा विभिन्न अनुसन्धानहरू हुँदै आएका छन्। भारतीय विश्वविद्यालयहरूमा स्नातक र स्नातकोत्तर तहमा पाणिनीय व्याकरणका विषयमा अनुसन्धान गरी शोधपत्र तयार गर्ने परम्परा विकसित भएको नपाइए पनि नेपालका अन्य विश्वविद्यालयमा जस्तै संस्कृत विश्वविद्यालयमा पनि स्नातक र स्नातकोत्तर तहमा अन्य विषयमा जस्तै पाणिनीय व्याकरणका विषयमा समेत अनुसन्धान गर्ने परम्परा विकसित हुँदै आएको छ। भारतमा अनेकौँ विश्वविद्यालयहरूबाट पाणिनीय व्याकरणका विभिन्न विषयमा विद्यावारिस्तरीय अनुसन्धान हुँदै आएको पाइन्छ भने नेपालमा एउटा मात्र नेपाल संस्कृत विश्वविद्यालयले पाणिनीय व्याकरणसँग सम्बद्ध विद्यावारिधिस्तरीय अनुसन्धानहरू गराउँदै आएको छ। यसै सन्दर्भमा यहाँ पाणिनीय व्याकरणका विषयमा नेपाल र भारतका विभिन्न विश्वविद्यालयबाट हालसम्म गरिएका स्नातकोत्तर र विद्यावारिधि तहका अनुसन्धानको सङ्क्षिप्त परिचयसँगै तिनमा देखिएका समानता र भिन्नताहरूको सङ्क्षिप्त चर्चा गरिएको छ।
नेपालबाट सम्पन्न भएका पाणिनीय व्याकरणका स्नातकोत्तर र विद्यावारिधि तहका प्रतिनिधिमूलक अनुसन्धानहरू तथा भारतबाट सम्पन्न भएका पाणिनीय व्याकरणका विद्यावारिधिस्तरीय अनुसन्धानहरू नै यस अध्ययनको विषयक्षेत्र हो। प्रतिनिधिमूलक यस्ता अनुसन्धानहरू हालसम्म केकति भएका छन् ? हालसम्म सम्पन्न भएका अनुसन्धानहरूमा केकस्तो समानता र भिन्नता पाइन्छ ? भन्ने मुख्य समस्यामा केन्द्रित रहेको यस लेखको उद्देश्य नेपालभित्रकै पाणिनीय व्याकरणका अनुसन्धानमा पाइने समानता र भिन्नताको निर्क्योल गर्ने तथा नेपाल र भारतका पाणिनीय व्याकरणसँग सम्बद्ध अनुसन्धानहरूमा देखापर्ने समानता र भिन्नता ठम्याउनु हो।
पाणिनीय व्याकरणका विषयमा हालसम्म विभिन्न देशहरूबाट अनेकौँ अनुसन्धाताहरूले विभिन्न शीर्षकमा अनुसन्धानहरू पूरा गरेका छन् तापनि प्रतिनिधिमूलक अनुसन्धानलाई नै आधार बनाएर नेपाली भाषाका माध्यमले हालसम्म समानता र भिन्नता भने केलाइएको पाइँदैन। यही शोधान्तराललाई आंशिक मात्रामा पूर्ति गर्दै नव्यव्याकरण विषयका नवअनुसन्धाता र जिज्ञासु पाठकहरूका लागि उपयोगी बनाउनुमा यस लेखको औचित्य र महत्त्व पुष्टि भएको छ।
अध्ययन विधि
सामग्री सङ्कलनका विभिन्न विधिहरूमध्ये यस लेखका लागि नमुना छनौट विधिलाई अध्ययन सामग्री सङ्कलनको आधार बनाइएको छ। नेपालबाट सम्पन्न भएका स्नातकोत्तर तहका शोधपत्रहरू र नेपाल एवं भारतबाट गरिएका विद्यावारिधि तहका शोधप्रबन्धहरूलाई प्राथमिक स्रोतका रूपमा उपयोग गरिएको छ भने ‘पाणिनीय व्याकरणका अनुसन्धानको समीक्षा’ ग्रन्थका १, २ र ३ भागलाई द्वितीयक स्रोतका रूपमा प्रयोग गरिएको छ। यहाँ तुलनात्मक विधिबाट परस्पर प्रेरणा र प्रभाव ठम्याउँदै निष्कर्षमा पुगिएको छ। यसका लागि द्वितीयक स्रोतका रूपमा उपयोग गरिएको ‘पाणिनीय व्याकरणका अनुसन्धानको समीक्षा’ ग्रन्थका तीनवटै भागमा समीक्षित प्रतिनिधिमूलक १४७ वटा अनुसन्धानमा यस अध्ययनलाई सीमाङ्कन गरिएको छ।
सैद्धान्तिक पर्याधार
अनुसन्धानका विभिन्न सैद्धान्तिक पद्धतिहरूमध्ये कुनै दुई विषय वा क्षेत्रमा पारस्परिक प्रेरणा र प्रभावका आधारमा समानता र भिन्नताको निर्क्योल गर्ने पद्धति नै तुलनात्मक पद्धति हो। एकपक्षीय अध्ययन एवं विश्लेषण हुनबाट बच्तै तटस्थ, निरपेक्ष, वस्तुनिष्ठ र पूर्वाग्रहरहित हुनु तुलनात्मक पद्धतिको मुख्य उद्देश्य मानिन्छ। यो लेख तुलनात्मक पद्धतिका यिनै मूलभूत सैद्धान्तिक आधारलाई ध्यानमा राखेर तयार पारिएको हो।
विषय विश्लेषण
पाणिनीय व्याकरणका बारेमा विभिन्न मुलुकहरूबाट अध्ययन एवं अनुसन्धानहरू भएको पाइए पनि हालसम्म भारतबाट जेजति अध्ययन एवं अनुसन्धानहरू भएका छन् त्यति अनुसन्धानहरू अन्य कुनै पनि मुलुकबाट भएको पाइँदैन। यसै सन्दर्भमा यहाँ नेपाल र भारतबाट हालसम्म भएका पाणिनीय व्याकरणका अनुसन्धानलाई नेपालबाट सम्पन्न भएका पाणिनीय व्याकरणका स्नातकोत्तरस्तरीय अनुसन्धानहरू, नेपालबाट सम्पन्न भएका पाणिनीय व्याकरणका विद्यावारिधिस्तरीय अनुसन्धानहरू र भारतबाट सम्पन्न भएका पाणिनीय व्याकरणका विद्यावारिधिस्तरीय अनुसन्धानहरू गरी तीन प्रकारमा वर्गीकरण गरेर तिनको परिचयात्मक चर्चासँगै समानता र भिन्नता केलाइएको छ।
नेपालबाट सम्पन्न भएका पाणिनीय व्याकरणका स्नातकोत्तरस्तरीय अनुसन्धानहरूमा समानता र भिन्नता
नेपालबाट पाणिनीय व्याकरणका विषयमा औपचारिक रूपमा स्नातकोत्तरस्तरीय अनुसन्धानको प्रारम्भ २०४८ सालदेखि भएको हो। त्यसबेलादेखि हालसम्म स्नातकोत्तरस्तरीय ५९ वटा अनुसन्धानात्मक शोधपत्रहरू पूरा भएका छन्। हालसम्म सम्पन्न भएका स्नातकोत्तरस्तरीय अनुसन्धानहरूले प्रक्रियापरक अनुसन्धानका रूपमा अनुबन्धको वैशिष्ट्य, इट् आगमको व्यवस्था, लिङ्गानुशासनको विश्लेषण, संज्ञा वा पारिभाषिक शब्दहरूको प्रयोजन र विश्लेषण, अव्ययको परिचय र वर्गीकरण, कारक र विभक्तिको विवेचना, समासका प्रमुख भेद र उपभेद, सिद्धान्तकौमुदीका सन्धि, कर्मकारक, स्त्रीप्रत्यय, कृदन्त र उणादि प्रकरणको विश्लेषण, लघुसिद्धान्तकौमुदीका वार्तिकहरूको विवेचना, पाण्डुलिपि र लिपिको परिचय तथा लेखनपरम्परासँगै लघुशब्देन्दुशेखर र व्याकरणसिद्धान्तसुधानिधि ग्रन्थका पाण्डुलिपिको सम्पादनका साथै व्याकरण शिक्षणपद्धतिको पर्यालोचनसमेत गरिएको छ। त्यसैगरी दर्शनपरक अनुसन्धानका रूपमा शक्ति, सुबर्थ, धात्वर्थ, लकारार्थ, समासशक्ति, कारक र वाक्तत्त्वको विवेचना, वाक्यस्फोटको मुख्यत्व प्रतिपादन र प्रातिपदिकार्थको परिष्कारात्मक अध्ययन गरिएको छ। त्यस्तै कृतिपरक अनुसन्धानका रूपमा कृष्णकर्णाभरण, परमानन्दचरितामृत, गण्डकीगौरव, जगदम्बिकावैभव, विष्णुव्रत, श्रीमभगवद्गीता, श्रीमद्भागवत, अमरकोशपरिशेष र देवाधिदेव श्रीनीलकण्ठमहाकाव्य ग्रन्थमा प्रयुक्त लकारार्थ, कृदन्त शब्द, समस्त शब्द, तिङन्त शब्द र अव्यय शब्दको पहिचान र विश्लेषण गरिएको छ। त्यसैगरी तुलनात्मक अध्ययनका रूपमा वैयाकरणभूषणसार र परमलघुमञ्जूषा एवं पाणिनीय व्याकरण र जैनेन्द्रीय व्याकरणका संज्ञाको तुलनात्मक अध्ययन तथा सिद्धान्तकौमुदीको संज्ञा, परिभाषा र अच्सन्धि प्रकरणका बालमनोरमा र तत्त्वबोधिनी दुवै टीकाको तुलनात्मक समीक्षासमेत गरिएको छ। त्यस्तै व्यक्तिपरक अनुसन्धानका रूपमा मङ्गलकुमार नेपाल, प्रा. धुवप्रसाद ज्ञवाली र प्रा.डा. विष्णुराज आत्रेयको जीवनी, व्यक्तित्व र कृतित्वको परिचयसँग सम्बद्ध अनुसन्धानहरू पनि सम्पन्न भएका छन्।
नेपालबाट गरिएका पाणिनीय व्याकरणका स्नातकोत्तर तहका अनुसन्धानहरूलाई मुख्यतः प्रक्रियापरक, दर्शनपरक, कृतिपरक, तुलनात्मक र व्यक्तिपरक गरी पाँच प्रकारमा वर्गीकरण गर्न सकिन्छ। यीमध्ये प्रक्रियापरक अनुसन्धान सबैभन्दा बढ्ता र व्यक्तिपरक अनुसन्धान सबैभन्दा कम भएका छन् भने दर्शनपरक र कृतिपरक अनुसन्धानको सङ्ख्या समान रहे पनि तिनका तुलनामा तुलनात्मक अनुसन्धान न्यून भएका देखिन्छन्। यी पाँचै प्रकारका अनुसन्धानहरूको तुलना गर्दा व्यक्तिपरक अनुसन्धानमा पूर्ववर्ती अनुसन्धानको प्रत्यक्ष प्रभाव नपरेको वा संरचनात्मक समानता नपाइए पनि कृतिपरक र अन्य केही अनुसन्धानमा पूर्ववर्ती अनुसन्धानको प्रभाव परेको भेटिन्छ। कृतिपरक अनुसन्धानअन्तर्गत वाल्मीकि विद्यापीठको उत्तरवर्ती ‘कुलचन्द्रगौतमप्रणीतस्य अमरकोशपरिशेषस्य व्याकरणदृष्ट्या समीक्षणम्’ (२०७५) शीर्षकको अनुसन्धानका सबैजसो विषयवस्तु पिण्डेश्वर विद्यापीठको पूर्ववर्ती ‘अमरकोशपरिशेषस्य प्रमुखशब्दानां धातूपसर्गप्रत्ययप्रदर्शनपूर्वकं समीक्षणम्’ (२०७१) शीर्षकको अनुसन्धानका विषयवस्तुबाट प्रभावित भएको वा समानता रहेको र पूर्ववर्तीभन्दा उत्तरवर्ती अनुसन्धानमा ३३ वटा शब्दका विवृतिको न्यूनता वा असमानता रहेको छ (ढकाल क, २०८१, पृ. १४५-१४६)।
स्नातकोत्तर तहका तुलनात्मक अनुसन्धानअन्तर्गत वाल्मीकि विद्यापीठको उत्तरवर्ती ‘भूषणसारपरमलघुमञ्जूषयोः समासशक्तिप्रकरणस्य तुलनात्मकमध्ययनम्’ (२०७७) शीर्षकको अनुसन्धानमा महेश गुरुकुल विद्यापीठको पूर्ववर्ती ‘नागेशभट्टकौण्डभट्टस्वीकृतसमासशक्तिविचारः’ (२०७६) शीर्षकको अनुसन्धानका पूर्वकार्यको समीक्षाका साथै १० देखि २१ पृष्ठ, २८, २९, ३१, ५२, ५३, ५४, ५८ देखि ७५ पृष्ठ र ७८ पृष्ठका विषयवस्तुको समानता पाइन्छ (पूर्ववत्, पृ. १६६-१६८)। त्यस्तै वाल्मीकि विद्यापीठको उत्तरवर्ती ‘सिद्धान्तकौमुद्या अच्सन्धिप्रकरणस्य बालमनोरमातत्त्वबोधिनीटीकयोस्तुलनात्मिका समीक्षा’ (२०७८) शीर्षकको अनुसन्धानमा पूर्ववर्ती ‘वैयाकरणसिद्धान्तकौमुद्याः कृदन्तप्रकरणविमर्शः’ (२०७५) शीर्षकको अनुसन्धानका १३ देखि १९ पृष्ठको प्रभाव परेको छ (पूर्ववत्, पृ. १७२)। त्यसैगरी वाल्मीकि विद्यापीठको समकालिक ‘सिद्धान्तकौमुद्याः संज्ञापरिभाषाप्रकरणयोर्बालमनोरमातत्त्वबोधिनीटीकयोस्तुलनात्मिका समीक्षा’ (२०७८) शीर्षकको अनुसन्धानमा वाल्मीकि विद्यापीठकै समकालिक ‘सिद्धान्तकौमुद्या अच्सन्धिप्रकरणस्य बालमनोरमातत्त्वबोधिनीटीकयोस्तुलनात्मिका समीक्षा’ (२०७८) शीर्षकको अनुसन्धानको पहिलो परिच्छेदको पहिलो अनुच्छेद, दोस्रो परिच्छेद, तेस्रो परिच्छेद, पाँचौँ परिच्छेद र सङ्क्षेपीकृत शब्दसूचीमा समेत समानता पाइन्छ (पूर्ववत्, पृ. १७५-१७७)।
स्नातकोत्तर तहका दर्शनपरक अनुसन्धानअन्तर्गत महेश गुरुकुल विद्यापीठको उत्तरवर्ती ‘नागेशभट्टकौण्डभट्टस्वीकृतसमासशक्तिविचारः’ (२०७६) शीर्षकको अनुसन्धानमा महेश गुरुकुल विद्यापीठकै पूर्ववर्ती ‘नागेशाभिमतप्रातिपदिकार्थविमर्शः’ (२०७३) शीर्षकको अनुसन्धानका १० देखि १४ पृष्ठसम्मका ५ पृष्ठहरू प्रभावित भएको भेटिन्छ (पूर्ववत्, पृ. १२०)। त्यसैगरी वाल्मीकि विद्यापीठको उत्तरवर्ती ‘वैयाकरणाभिमतलकारार्थविवेचनम्’ (२०७७) शीर्षकको अनुसन्धानमा महेश गुरुकुल विद्यापीठको पूर्ववर्ती ‘नागेशभट्टकौण्डभट्टस्वीकृतसमासशक्तिविचारः’ (२०७६) शीर्षकको अनुसन्धानका ५ देखि ७ र १० देखि २१ पृष्ठसम्मका १४ पृष्ठहरूसँग सम्बद्ध विषयवस्तुको समानता पाइन्छ (पूर्ववत्, पृ. १२२-१२३)। त्यसैगरी महेश गुरुकुल विद्यापीठको उत्तरवर्ती ‘नागेशकौण्डभट्टयोर्लकारार्थप्रकरणस्थानां सिद्धान्तानामध्ययनम्’ (२०७८) शीर्षकको अनुसन्धानका विषयवस्तु महेश गुरुकुल विद्यापीठकै पूर्ववर्ती ‘नागेशभट्टकौण्डभट्टस्वीकृतसमासशक्तिविचारः’ (२०७६) शीर्षकको अनुसन्धानका १० देखि २१ सम्मका पृष्ठबाट तथा वाल्मीकि विद्यापीठको ‘भूषणसारपरमलघुमञ्जूषयोः समासशक्तिप्रकरणस्य तुलनात्मकमध्ययनम्’ (२०७७) शीर्षकको अनुसन्धानका ११ देखि २१ सम्मका पृष्ठबाट प्रभावित भएको देखिन्छ (पूर्ववत्, पृ. १२८)।
स्नातकोत्तर तहका प्रक्रियापरक अनुसन्धानहरूमध्ये वाल्मीकि विद्यापीठको उत्तरवर्ती ‘वैयाकरणसिद्धान्तकौमुद्याः कारकप्रकरणस्थसूत्राणामध्ययनम्’ (२०७६) शीर्षकको अनुसन्धानका ३६ देखि ७८ सम्मका पृष्ठअन्तर्गतका १७ पृष्ठहरूका विषयवस्तु वाल्मीकि विद्यापीठकै पूर्ववर्ती ‘कारकत्वपर्यालोचनम्’ (२०६६) शीर्षकको अनुसन्धानका २३ देखि ४८ सम्मका पृष्ठअन्तर्गतका १६ पृष्ठहरूका विषयवस्तुसँग समानता रहेको पाइन्छ (पूर्ववत्, पृ. ४७)। त्यसैगरी वाल्मीकि विद्यापीठको उत्तरवर्ती ‘वैयाकरणसिद्धान्तकौमुद्याः तद्धितप्रकरणाध्ययनम्’ (२०७७) शीर्षकको अनुसन्धानमा वाल्मीकि विद्यापीठकै पूर्ववर्ती ‘वैयाकरणसिद्धान्तकौमुद्याः कृदन्तप्रकरणविमर्शः’ (२०७५) शीर्षकको अनुसन्धानका ६ देखि ३९ पृष्ठसम्मका पृष्ठबाट तथा पूर्ववर्ती ‘वैयाकरणसिद्धान्तकौमुद्याः स्त्रीप्रत्ययविमर्शः’ (२०७६) शीर्षकको अनुसन्धानका ४६, ४७ र ४८ पृष्ठबाट प्रभावित भएको देखिन्छ (पूर्ववत्, पृ. ४९)। त्यस्तै वाल्मीकि विद्यापीठको उत्तरवर्ती ‘वैयाकरणसिद्धान्तकौमुद्याः सुबन्तप्रकरणाध्ययन्’ (२०७७) शीर्षकको अनुसन्धानमा वाल्मीकि विद्यापीठकै ‘वैयाकरणसिद्धान्तकौमुद्याः कृदन्तप्रकरणविमर्शः’ (२०७५) शीर्षकको अनुसन्धानका ३, ४ र ६ देखि १९ पृष्ठसम्मका पृष्ठबाट र ‘वैयाकरणसिद्धान्तकौमुद्याः स्त्रीप्रत्ययविमर्शः’ (२०७६) शीर्षकको अनुसन्धानका ४५ र ४६ पृष्ठबाट प्रभावित भएको देखिन्छ (पूर्ववत्, पृ. ५२-५३)। त्यसैगरी महेश गुरुकुल विद्यापीठको उत्तरवर्ती ‘वैयाकरणसिद्धान्तकौमुद्याः सन्नन्तप्रकरणस्थफक्किकानामध्ययनम्’ (२०७८) शीर्षकको अनुसन्धानमा वाल्मीकि विद्यापीठको पूर्ववर्ती ‘वैयाकरणसिद्धान्तकौमुद्याः कृदन्तप्रकरणविमर्शः’ (२०७५) शीर्षकको अनुसन्धानका १३ देखि १८ पृष्ठसम्मका पृष्ठबाट प्रभावित भएको पाइन्छ ५६। त्यस्तै वाल्मीकि विद्यापीठको उत्तरवर्ती ‘पाणिनीयाष्टाध्याय्याः (५-८) पारिभाषिकपदानामनुशीलनम्’ (२०७८) शीर्षकको अनुसन्धानमा शोधशीर्षकबाहेक अन्य सबैजसो विषयवस्तु वाल्मीकि विद्यापीठकै पूर्ववर्ती ‘पाणिनीयाष्टाध्याय्याः प्रथमाध्यायतश्चतुर्थाध्यायपर्यन्तानां पारिभाषिकशब्दानामनुशीलनम्’ (२०७५) शीर्षकको अनुसन्धानबाट प्रभावित भएको वा त्यस अनुसन्धानसँग समानता रहेको भेटिन्छ (६१-६३)। त्यसैगरी वाल्मीकि विद्यापीठको ‘सिद्धान्तसुधानिधिटीकायाः सम्पादनम्’ (२०७९) शीर्षकको अनुसन्धान ‘वैयाकरणसिद्धान्तसुधानिधिः’ (पूर्वार्ध) ग्रन्थका १ देखि ६८ पृष्ठसम्मका पृष्ठबाट नै गतार्थ भइसकेको हुँदा पृष्टपेषणमात्रै हुन पुगेको देखिन्छ । त्यस्तै वाल्मीकि विद्यापीठको उत्तरवर्ती ‘लघुसिद्धान्तकौमुदीस्थवार्तिकानां समीक्षणम्’ (२०७९) शीर्षकको अनुसन्धानमा पूर्ववर्ती ‘वैयाकरणसिद्धान्तकौमुद्याः स्त्रीप्रत्ययविमर्शः’ (२०७६) शीर्षकको अनुसन्धानका ७ देखि २० पृष्ठसम्मका पृष्ठबाट प्रभावित भएको पाइन्छ। त्यसैगरी वाल्मीकि विद्यापीठको उत्तरवर्ती ‘पाणनीयसंज्ञासूत्राणां प्रयोजनविश्लेषणम्’ (२०७९) शीर्षकको अनुसन्धानका २६, २७, २८, २९, ३९, १०५ र १०६ पृष्ठबाट तथा ‘पाणिनीयपुँल्लिङ्गानुशासनस्य विश्लेणात्मकमध्ययनम्’ (२०७८) शीर्षकको अनुसन्धानका १२०, १२२ र १२३ पृष्ठबाट प्रभावित भएको देखिन्छ। स्नातकोत्तरस्तरीय शोधपत्रहरूमा यस किसिमको प्रभाव वा पृष्टपेषणमूलक समानता बढ्दै जानाले शोधपत्रको मौलिकता है हराउँदै जाने भएकाले यसतर्फ सम्बद्ध शोधार्थी, शोधनिर्देशक र विभागको समेत ध्यानाकर्षण हुनु आवश्यक छ।
नेपालमा पाणिनीय व्याकरणसँग सम्बद्ध स्नातकोत्तरस्तरीय अनुसन्धानमध्ये २०४८, २०५१ र २०५२ सालमा सम्पन्न भएका तीनवटा अनुसन्धानमा पहिलो अध्यायमा शोधप्रस्तावको परिमार्जित स्वरूपका रूपमा शोधपरिचय राखिएको पाइँदैन भने २०६६ सालदेखि हालसम्मका अनुसन्धानमा पहिलो अध्याय वा परिच्छेदमा अनिवार्य रूपमा शोधपरिचय र अन्तिम अध्यायमा समग्र शोधनिष्कर्ष प्रस्तुत गर्ने प्रचलनमा एकरूपता वा समानता पाइन्छ। हालसम्म पनि नेपाल संस्कृत विश्वविद्यालयको पृथक् शोध शैली पुस्तिका निर्धारण हुन नसकेकाले स्नातकोत्तरस्तरीय शोधपत्रहरूमा प्रयुक्त अनुसन्धान पद्धतिमा पूर्णतः एकरूपमा वा समानता भेट्न सकिँदैन। जसका कारण कतिपय शोधपत्रहरूमा समस्याकथन र उद्देश्यका बीचमा सामञ्जस्य नपाइनु, पूर्वकार्यको समीक्षा कालक्रमिक नहुनु, शोधपत्रमा समेत शोधप्रस्तावमा जस्तै भविष्यत्कालिक क्रियापदको प्रयोग हुनु, शोधपत्रको रूपरेखा र वास्तविक शोधपत्रका बीचमा एकरूपता नपाइनु जस्ता न्यूनता वा भिन्नता रहेको देखिन्छ।
नेपालबाट सम्पन्न भएका पाणिनीय व्याकरणका विद्यावारिधिस्तरीय अनुसन्धानहरूमा समानता र भिन्नता
नेपालबाट पाणिनीय व्याकरणका विषयमा औपचारिक रूपमा विद्यावारिधिस्तरीय अनुसन्धानको थालनी २०५२ देखि भएको पाइन्छ। त्यसबेलादेखि हालसम्म विद्यावारिधि तहका १८ वटा अनुसन्धानात्मक शोधप्रबन्धहरू पूरा भएका देखिन्छन्। तुलनात्मक अध्ययनका रूपमा वैयाकरणसिद्धान्तकौमुदीसँग प्रक्रियाकौमुदी, प्रतिसंस्कृता सिद्धान्तकौमुदी र श्लोकसिद्धान्तकौमुदी तीनग्रन्थसँग तीनवटा अनुसन्धान भएका छन् भने शुक्लयजुर्वेद प्रातिशाख्य र पाणिनीय व्याकरणको, पाणिनीय व्याकरण र जैनेन्द्र व्याकरणको, परिभाषेन्दुशेखरका भूति र सर्वमङ्गला टीकाको तथा लघुसिद्धान्तकौमुदीका भावार्थसुबोधिनी र सुबोधिनी टीकाको गरी चारवटा तुलनात्मक अनुसन्धानहरूसमेत गरिएका छन्। त्यस्तै ग्रन्थसम्पादन र विवेचनात्मक अनुसन्धानका रूपमा वृद्ध्याद्यष्टकविवृति र प्रासादकौमुदीका पाण्डुलिपिसँग सम्बद्ध दुईवटा अनुसन्धान सम्पन्न भएका छन्। त्यसैगरी व्याकरणका दृष्टिले कृतिपरक अनुसन्धानका रूपमा श्रीमद्भागवत महापुराणका अव्यय शब्द, ‘हरिकेलि’ महाकाव्यका शब्दहरूको निर्माणप्रक्रिया र अमरकोश परिशेष टीकाको पर्यालोचनसँग सम्बद्ध तीनवटा अनुसन्धान पूरा भएका छन्। त्यस्तै समीक्षात्मक अध्ययनका रूपमा लोप, आगम र वर्णविकारका नियम र प्रयोगसँग, वैयाकरणहरूका मतमा अव्यय शब्दसँग एवं अष्टाध्यायीको शारदाप्रभा व्याख्यासँग सम्बद्ध तीनवटा अनुसन्धानहरू सम्पन्न भएका छन्। त्यसैगरी व्युत्पत्तिमूलक दृष्टिले ‘दुर्घटवृत्ति’ ग्रन्थको तथा दार्शनिक दृष्टिले अष्टाध्यायीमा विद्यमान अद्वैतवादको अनुसन्धानमा आधारित एकएकवटा अनुसन्धानहरूसमेत गरिसकिएको छ।
नेपालबाट हालसम्म सम्पन्न भएका पाणिनीय व्याकरणसँग सम्बद्ध विद्यावारिधिस्तरीय १८ वटा अनुसन्धानहरूमध्ये भारतको हरियाणाबाट प्रकाशित विद्यावारिधि तहको ‘अष्टाध्यायीशुक्लयजुर्वेदप्रातिशाख्ययोः मतविमर्शः’ (सन् १९८३) शीर्षकको पुस्तक र नेसंविको विद्यावारिधिस्तरीय ‘वाजसनेयिप्रातिशाख्यपाणिनीयव्याकरणयोस्तुलनात्मकमध्ययनम्’ (२०६७) शीर्षकको शोधप्रबन्धका विषयवस्तुमा समानता पाइन्छ। त्यसैगरी नेसंविको विद्यावारिधि तहको ‘संस्कृतवैयाकरणानां मतेऽव्ययपर्यालोचनम्’ (२०७८) शीर्षकको शोधप्रबन्धमा भारतको चेन्नैबाट प्रकाशित ‘अव्ययकोशः’ (सन् २००४) शीर्षकको पुस्तकको भूमिका भागका ३ देखि १६ पृष्ठसम्म र मूलभागका ३ देखि ३९५ पृष्ठसम्मका अधिकांश सामग्रीहरूका बीचमा एकरूपता भेटिन्छ (ढकाल ख, २०८१, पृ. २५१)। त्यस्तै दरभङ्गा संस्कृत विश्वविद्यालयको ‘वैयाकरणसिद्धान्तकौमुदीश्लोकसिद्धान्तकौमुद्योस्तुलनात्मकमध्ययनम्’ (सन् २००९) शीर्षकको विद्यावारिधिस्तरीय अनुसन्धान र नेसंविको ‘सिद्धान्तकौमुदीश्लोकसिद्धान्तकौमुद्योः समीक्षात्मकमनुशीलनम्’ (२०८०) शीर्षकको विद्यावारिधिस्तरीय अनुसन्धानको तथा दरभङ्गा संस्कृत विश्वविद्यालयकै ‘शरणदेवकृतदुर्घटवृत्तेः समीक्षात्मकमध्ययनम्’ (सन् २०१२) शीर्षकको विद्यावारिधिस्तरीय अनुसन्धान र नेसंविको विद्यावारिधिस्तरीय ‘श्रीशरणदेवकृतदुर्घटवृत्तेः व्युत्पत्तिमूलकमध्ययनम्’ (२०८०) शीर्षकको अनुसन्धानका विषयस्तुमा समानता पाइए पनि पूर्ववर्ती अनुसन्धानबाट उत्तरवर्ती अनुसन्धान गतार्थ भएको छ कि छैन भन्ने बारेमा पूर्णतः तुलनात्मक परीक्षण गर्नुपर्ने देखिन्छ (ढकाल ख, पूर्ववत्)। यस किसिमको पृष्टपेषणमूलक समानताबाट बच्न र बचाउन सम्बद्ध शोधार्थी र नेसंवि अनुसन्धान केन्द्रको समेत यथासमयमै गम्भीर ध्यानाकर्षण हुनुपर्छ।
नेपालका पाणिनीय व्याकरणमा आधारित विद्यावारिधिस्तरीय अनुसन्धानहरूमा प्रयुक्त कतिपय मूल आधारग्रन्थ र सहायक ग्रन्थहरूसमेत सन्दर्भग्रन्थसूचीमा समावेश नहुनु, पूर्वकार्यको समीक्षा कालक्रमिक नहुनु, मूलपाठ र विषयसूचीका विषयवस्तुमा एकरूपता नदेखिनु, शोधप्रस्ताव प्रस्तुत गर्दा प्रयुक्त भविष्यत्कालिक क्रियापदलाई शोधप्रबन्ध प्रस्तुत गर्दा परिवर्तन नगरिनु, समस्याकथन र उद्देश्यका बीचमा तलमेल नमिल्नु, सम्पादनीय भाषिक अशुद्धिहरू उत्तरोत्तर बढ्दै जानु, समीक्षात्मक र विश्लेषणणत्मक हुनुपर्नेमा विवरणात्मक हुनु, विषयवस्तुको पुनरावृत्ति हुनु जस्ता न्यूनता वा असमानताहरू रहेको पाइन्छ। स्नातकोत्तरस्तरीय अनुसन्धनमा जस्तै विद्यावारिधिस्तरीय अनुसन्धानमा पनि बढी मात्रामा देखिने असमानताहरू संस्कृत विश्वविद्यालयको पौरस्त्य शोध पद्धतिमा आधारित पृथक् शैली पुस्तिका निर्धारण नहुँदा देखिएका हुन् भने पृष्ठपेषणमूलक समानता र विषयवस्तुसँग सम्बद्ध असमानताहरू शोधार्थी स्वयं बढ्ता सचेत नहुँदा देखापरेका हुन्। यिनलाई निराकरण गर्न मुख्यतः सम्बद्ध शोधार्थीहरू नै बढ्ता गम्भीर हुनु आवश्यक छ।
भारतबाट सम्पन्न भएका पाणिनीय व्याकरणका विद्यावारिधिस्तरीय अनुसन्धानहरूमा समानता र भिन्नता
भारतमा हाल केन्द्रीय तथा प्रान्तीय गरी ४५५ वटा विश्वविद्यालयहरू रहेका छन् (विकिपिडिया)। तीमध्ये संस्कृतको समेत पठनपाठन र अनुसन्धान गरिने सयौँ विश्वविद्यालयबाट पाणिनीय व्याकरणका विषयमा हालसम्म हजारौँ अनुसन्धानहरू सम्पन्न भइसकेका छन्। तीमध्ये विद्यावाचस्पतिस्तरीय ७ वटा र विद्यावारिधिस्तरीय ७७१ गरी ७७७ वटा अनुसन्धानहरूको परिचयात्मक विवरण सङ्कलन गरिएको छ (ढकाल ‘ग’, २०८१, पृ. २०८२४२) भने विद्यावारिधिस्तरीय ७६ वटा अनुसन्धानको समीक्षासमेत गरिएको (पूर्ववत्, पृ. १७२०७) छ। सन् १९७१ देखि २०२३ सम्मको ५३ वर्षको अवधिमा २४ वटा भारतीय विश्वविद्यालयबाट सम्पन्न भएका विद्यावारिधिस्तरीय ७६ वटा समीक्षित अनुसन्धानहरू प्रातिशाख्यपरक, वर्णसमाम्नाय, संज्ञा र परिभाषासम्बन्धी, प्रक्रियापरक, खिलपाठसम्बन्धी, समीक्षात्मक, दर्शनपरक तथा कृतिपरक गरी सात प्रकारका देखिन्छन्। तीमध्ये प्रातिशाख्यपरक अनुसन्धानका रूपमा ऋग्वेदप्रातिशाख्य, शुक्लयजुर्वेद प्रातिशाख्य, तैत्तिरीय प्रातिशाख्य, अथर्ववेद प्रातिशाख्य र ऋक्तन्त्रको पाणिनीय व्याकरणसँग तुलनात्मक अध्ययन गरी ‘प्रातिशाख्यहरू पाणिनीय व्याकरणका आधारभूत ग्रन्थ हुन्’ भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ। त्यस्तै केही अनुसन्धानहरू वर्णसमाम्नाय, संज्ञा र परिभाषाको विश्लेषणका साथै यिनको पूर्वोत्तरवर्ती व्याकरणपरम्परामा परेको प्रभावका विषयमा सम्पन्न भएका छन्। त्यसैगरी प्रतिनिधिमूलक प्रक्रियापरक अनुसन्धानका रूपमा अनुबन्धको स्वरूप र प्रयोजन, उदाहरण र प्रत्युदाहरणका आधारमा सामाजिक, धार्मिक, राजनीतिक, आर्थिक आदि विभिन्न ऐतिहासिक पक्षहरूको अन्वेषण, ऋक्, तैत्तिरीय, वाजसनेयी, ऋक्तन्त्र र अथर्व प्रातिशाख्यका सन्धि व्यवस्थाको पाणिनीय, कातन्त्र, सुपद्म र सङ्क्षिप्तसार व्याकरणका सन्धिहरूसँग साम्य र वैषम्यसहित तुलनात्मक अध्ययन तथा बाह्यसन्धि र आन्तरिक सन्धिका विशिष्ट प्रक्रियाहरूको विश्लेषण र वर्गीकरणसम्बन्धी अनुसन्धान गरिएका छन्। त्यस्तै एकवर्णादेश र सर्वादेशको अध्ययन, प्रत्याख्यान वार्तिक, भाष्यवार्तिक र श्लोकवार्तिकको समेत अध्ययन, सनादि, विकरण, कृत्य, कृत्, लकार र तिङ् प्रत्ययको प्रवृत्ति स्थल र प्रक्रियाविशेषको पनि अध्ययन गरिएको छ। त्यसैगरी प्रक्रियाकौमुदी र सिद्धान्तकौमुदी ग्रन्थका सापेक्षतामा प्रक्रियासर्वस्व ग्रन्थका तद्धितखण्डको समीक्षात्मक अध्ययन तथा लघुपाणिनीय आदि ग्रन्थका आधारमा पाणिनीय प्रक्रियाशिक्षणका आधुनिक पद्धतिहरूको विश्लेषणसमेत गरिसकिएको छ।
भारतीय विश्वविद्यालयका विद्यावारिधिस्तरीय प्रतिनिधिमूलक खिलपाठसम्बन्धी अनुसन्धानहरूमा पाणिनीय व्याकरणमा गत्यर्थक, हिंसार्थक, शब्दकरणार्थक, क्रीडार्थक, निवासार्थक, निकेतनार्थक, पाकार्थक, परिभाषार्थक, ज्ञानार्थक र व्यक्तवागर्थक धातुहरूको सङ्ख्या, स्वरूप र विभिन्न शब्दकोशहरूका मतमा तिनको अर्थनिर्धारण गरिएको छ। त्यसैगरी भाषावैज्ञानिक दृष्टिले पाणिनीय धातुपाठको स्वरूप, तिनमा हुने परिवर्तन र धातुको अर्थनिर्देश, कात्यायनका वार्तिकहरूको आलोचनात्मक अध्ययन, गणपाठ र उणादिपाठका विषयमा समेत अध्ययन भएको छ। त्यस्तै समीक्षात्मक अनुसन्धानका रूपमा अभिनव राजलक्ष्मी टीकाका माध्यमले व्याकरणमहाभाष्यका प्रारम्भिक दुई आह्निकको अध्ययन, ‘अष्टाध्यायी लघुविवृति’को पाठसम्पादन, परिभाषाभास्करको अध्ययन, उदाहरणका आधारमा पाणिनीय व्याकरणको लोकजीवनसँग साक्षात्कार, नागेशको व्याकरणगत योगदानको मूल्याङ्कन, नारायण भट्टको प्रक्रियासर्वस्व, सिद्धान्तकौमुदीमा प्रयुक्त किमावली वा प्रत्युदाहरणको विशेष महत्त्वबोध, मध्यसिद्धान्तकौमुदीको मध्यमनोरमा टीका, पातञ्जल महाभाष्यमा विद्यमान वैज्ञानिक तत्त्वको अन्वेषण तथा शब्दकौस्तुभका समासप्रकरणमा विद्यमान समासप्रक्रियाहरूको विश्लेषणसमेत गरिसकिएको छ। त्यस्तै दर्शनपरक अनुसन्धानका रूपमा शब्दाद्वैतवाद र ब्रह्माद्वैतवादको स्वरूप, समानता र भिन्नता, स्फोट विषयक चिन्तनको विमर्श, अभिधादि तीन वृत्तिको विमर्श, परमलघुमञ्जूषामा रहेका सुबर्थ प्रकरणको विशिष्टीकृत अध्ययन, परिभाषेन्दुशेखरका केही परिभाषाहरूको परिष्कारात्मक अध्ययन, परिभाषेन्दुशेखरको भूति टीकाका प्रारम्भिक ५० वटा परिभाषाको समीक्षा तथा लकारार्थको प्रक्रियामूलक र दार्शनिक अध्ययन एवं विश्लेषण गरिएको छ। त्यसैगरी प्रतिनिधिमूलक कृतिपरक अनुसन्धानहरूमा ‘अध्यात्मरामायण’मा प्रयुक्त अपाणिनीय प्रयोग, ‘कौटिल्यको अर्थशास्त्र’मा प्रयुक्त शब्दार्थको विश्लेषण, व्याकरणशास्त्रका दृष्टिले ‘अर्जुनरावणीय’, ‘भट्टिकाव्य’, ‘अष्टमीमहोत्सव’, ‘पाञ्चालीस्वयंवर’ र ‘उत्तररामचरित’को अध्ययन, महाभाष्यका दृष्टिले ‘शाब्दबोधमीमांसा’ ग्रन्थको अध्ययन, भाषाशास्त्रीय दृष्टिले शुक्लयजुर्वेदसंहिताका प्रारम्भिक १० अध्यायका तिङन्तको अध्ययन तथा श्रीमद्भागवतका तद्धितान्त र तिङन्त शब्दहरूको अध्ययनसमेत भइसकेको छ।
पाणिनीय व्याकरणलाई मूल आधार बनाएर भारतका सयौँ विश्वविद्यालय हालसम्म विद्यावारिधिस्तरीय हजारौँ अनुसन्धानात्मक सम्पन्न भइसकेका छन्। तीमध्य विभिन्न २४ वटा विश्वविद्यालयमा प्रस्तुत भएका प्रतिनिधिमूलक विद्यावारिधिस्तरीय ७६ वटा अनुसन्धानका आधारमा केही समानता र केही असमानता निर्क्योल गर्न सकिन्छ। इलाहाबाद विश्वविद्यालयको पूर्ववर्ती ‘अष्टाध्यायी के आदेशसूत्र : एक समीक्षात्मक अध्ययन’ (सन् १९९४) शीर्षकको अनुसन्धान बुन्देलखण्ड विश्वविद्यालयको उत्तरवर्ती ‘अष्टाध्यायी में वर्णित आदेशविधायक सूत्र : एक समीक्षात्मक अध्ययन (सन् २००५) शीर्षकको अनुसन्धान प्रतिलिपिकरण गरिएकाले दुवैमा पूर्णतः समानता पाइएको (ढकाल ग, २०८२, पृ. ७८) हुँदा पृष्टपेषणमूलक उत्तरवर्ती अनुसन्धानको औचित्य देखिँदैन। त्यसैगरी प्रतिनिधमूलक केही अनुसन्धानमा ‘तस्य लोपः’ सूत्रलाई लोपसंज्ञा विधायक सूत्र ठान्नु, पदसंज्ञा उल्लेख हुनुपर्नेमा षट्संज्ञा उल्लेख गरिनु, आदेशका उदाहरणलाई आगमका उदाहरणका रूपमा चर्चा गरिनु, जुहोत्यादि गणदेखि क्र्यादि गणसम्मका रूपहरूको सिद्धि गर्ने सन्दर्भमा ‘शपागत्य लोपः स्यात्’ उल्लेख गरिनु (ढकाल ग, पूर्ववत्, पृ. २०६) जस्ता केही न्यूनता वा असमानता भेटिन्छन्।
नेपाल र भारतबाट सम्पन्न भएका पाणिनीय व्याकरणका अनुसन्धानहरूमा समानता र भिन्नता
नेपालमा पाणिनीय व्याकरणका विषयमा स्नातकोत्तरस्तरीय अनुसन्धान गर्ने प्रचलन २०४८ सालबाट भएको पाइए पनि भारतीय विश्वविद्यालयहरूबाट स्नातकोत्तर तहमा पाणिनीय व्याकरणका विषयमा अनुसन्धान गर्ने प्रचलन रहेको जानकारी प्राप्त गर्न सकिएको छैन भने नेपालबाट हालसम्म कसैले पनि पाणिनीय व्याकरणलाई आधार बनाएर विद्यावाचस्पति तहको अनुसन्धान गरेको भेटिँदैन। त्यसैले दुवै देशका पाणिनीय व्याकरणसँग सम्बद्ध विद्यावारिधिस्तरीय अनुसन्धानहरूलाई मात्र आधार मानेर तिनका बिचमा देखिने प्रमुख समानता र भिन्नताका बारेमा चर्चा गरिनु युक्तिसङ्गत देखिएको हो। नेपाल र भारत दुवै देशबाट गरिएका पाणिनीय व्याकरणमा आधारित विद्यावारिधिस्तरीय अनुसन्धानमा विषयगत दृष्टिले तुलनात्मक, कृतिपरक, समीक्षात्मक र ग्रन्थसम्पादनमूलक अध्ययनमा, संरचनात्मक दृष्टिले अध्याय र परिच्छेदमा विभाजन गरिनु एवम् प्रत्येक अनुसन्धानको अन्तिम अध्याय वा परिच्छेदलाई उपसंहारका रूपमा नामकरण गरिनु आदिमा समानता पाइन्छ। त्यसैगरी नेपालका अनुसन्धानहरूको पहिलो अध्यायमा शोधप्रस्तावलाई परिष्कृत गरेर ‘शोधपरिचय’ राख्ने गरिएको भए पनि भारतीय अनुसन्धानमा त्यस्तो प्रचलन रहेको देखिँदैन। नेपालका अनुसन्धानमा प्रविधिगत पक्षलाई बढ्ता महत्त्व दिँदा विषयवस्तुगत पक्षको गम्भीर अध्ययन एवं विश्लेषण हुन सकेको भेटिँदैन भने भारतका अनुसन्धानमा प्राविधिक पक्षलाई भन्दा विषयवस्तुगत पक्षलाई बढ्ता जोड दिइएको पाइन्छ। नेपालमा हालसम्म दुईवटा ग्रन्थसम्पादनमूलक अनुसन्धान भइसके पनि भारतीय अनुसन्धानमा ग्रन्थसम्पादनमूलक अध्ययन तुलनात्मक रूपमा न्यून भएको देखिन्छ। भारतीय अनुसन्धानका तुलनामा नेपालबाट अत्यन्त कम अनुसन्धान भएका कारण हालसम्म पाणिनीय वर्णसमाम्नाय, संज्ञा, परिभाषा, धातुपाठ, गणपाठ, वार्तिक आदिका क्षेत्रमा विद्यावारिधिस्तरीय अनुसन्धान हुन सकेको पाइँदैन।
निष्कर्ष
पाणिनीय व्याकरणलाई आधार बनाएर नेपालबाट हालसम्म स्नातकोत्तर तहमा ५४ र विद्यावारिधि तहमा १८ वटा अनुसन्धान भएका छन् भने भारतबाट हजारौँ अनुसन्धान भए पनि ७६ वटा अनुसन्धानलाई प्रतिनिधिमूलक अनुसन्धान ठानेर नेपाल र भारतका अनुसन्धानको तुलनात्मक अध्ययन गर्दा भारतका अनुसन्धानबाट नेपालका विद्यावारिधिस्तरीय अनुसन्धानहरू प्रभावित भएका र नेपालकै स्नातकोत्तर तहका पूर्ववर्ती अनुसन्धानको उत्तरवर्ती अनुसन्धानमा प्रभाव परेका कारण केही अनुसन्धानमा समानता पाइन्छ भने नेपालका स्नातकोत्तर र विद्यावारिधि तहका अनुसन्धानको पहिलो अध्याय वा परिच्छेदमा समावेश गर्दै आइएको ‘शोधपरिचय’ शीर्षक भारतीय अनुसन्धानमा भेट्न सकिँदैन। नेपालबाट भएका पूर्ववर्ती अनुसन्धानहरूमा भारतीय अनुसन्धानमा जस्तै प्राविधिक पक्षमा भन्दा विषयवस्तुको समीक्षात्मक विश्लेषणमा बढ्ता केन्द्रित भएका पाइन्छन् भने नेपालका उत्तरवर्ती अनुसन्धानमा प्राविधिक पक्षलाई बढ्ता प्राथमिकता दिँदा विषयवस्तुगत पक्ष गम्भीर बन्न सकेको देखिँदैन। वर्षौं लगाएर अनुसन्धान गर्ने तर त्यसलाई पढिदिने पाठक मुस्किलले पाँचजना पनि पाइन गाह्रो हुने र अनुसन्धानको उपयोगितासमेत अध्ययन तथा अध्यापनका क्षेत्रमा हुन नसक्नाले धेरैजसो अनुसन्धानहरू ओझेलमा पर्दै गएका छन्। जबसम्म बढुवा प्रयोजनका लागि स्नातकोत्तर तह र विद्यावारिधि तहको अङ्क निर्धारण गरिन्छ तबसम्म बढुवा प्रयोजनका लागि अनुसन्धान गर्ने शोधार्थीहरूको सङ्ख्या बढ्दै गए पनि विषयगत गहनता र स्तरीयताको मापन गर्न सकिने अनुसन्धानहरू हुन कठिन हुनसक्छ तापनि शोधनिर्देशन गर्ने शोधनिर्देशक र शोधविशेषज्ञ गुरुहरू तथा शोधमूल्याङ्कन समिति र अनुसन्धान परिषद्को समेत गम्भीर ध्यानाकर्षण हुन सक्यो भने निश्चय नै नेपालका संस्कृत व्याकरणसँग सम्बद्ध अनुसन्धानहरू पनि अझै स्तरीय, गहन र विश्वव्यापी हुँदै जान सक्नेछन्।
सन्दर्भसूची
अधिकारी, विक्रम. (सन् २०१८). श्रीमद्भागवतमहापुराणस्यैकादशस्कन्धस्थतिङन्तसमीक्षणम् [विद्यावारिधि शोधप्रबन्ध]. वाराणसी : काशी हिन्दू विश्वविद्यालय।
अनिल कुमार. (सन् २००४ पश्चात् २०१३ पूर्व). पाणिनीय अष्टाध्यायी में अनुबन्ध योजना : एक अध्ययन [विद्यावारिधि शोधप्रबन्ध]. https;|/shodhganga.inflibnet.ac.in/handle/10603/7811
जोशी, गौरीशङ्गर मोहनभाइ. (सन् २०११), लोकव्यावहारिकदृष्ट्या पाणिनीयव्याकरणस्य परिशीलनम् [विद्यावारिधि शोधप्रबन्ध]. https;|/shodhganga.inflibnet.ac.in/handle/10603/521392
झा, शिवशङ्कर. (सन् २०१०). पाणिनीय व्याकरण में प्रयुक्त संज्ञाओं की समीक्षा [विद्यावारिधि शोधप्रबन्ध]. https;|/shodhganga.inflibnet.ac.in/handle/10603/491279
ढकाल, मतिप्रसाद. (२०८१ क). पाणिनीय व्याकरणका अनुसन्धानको समीक्षा (भाग १). नवलपरासी :
आस्था ढकाल।
ढकाल, मतिप्रसाद. (२०८१ ख). पाणिनीय व्याकरणका अनुसन्धानको समीक्षा (भाग २). नवलपरासी :
आगम ढकाल।
ढकाल, मतिप्रसाद. (२०८१ ग). पाणिनीय व्याकरणका अनुसन्धानको समीक्षा (भाग ३). नवलपरासी :
आस्था ढकाल।
दवे, चिन्तनकुमार हसमुखभाइ. (सन् २०१८). श्रीमद्भागवतस्य दशमस्कन्धस्य तद्धितशब्दरूपाणां परिशीलनात्मकमध्ययनम् [विद्यावारिधि शोधप्रबन्ध]. https;|/shodhganga.inflibnet.ac.in/handle/10603/300198
दास, भोलानाथ. (सन् २०१२). प्रातिशाख्यपाणिनिपाणिन्युत्तरकालीनव्याकरणेषु सन्धिपरिशीलनम् [विद्यावारिधि शोधप्रबन्ध]. https;|/shodhganga.inflibnet.ac.in/handle/10603/532517
पतञ्जलि. (सन् २००४). व्याकरणमहाभाष्यम् (प्रथम खण्डम्, सम्पा. शास्त्री, भार्गव). दिल्ली :
चौखम्बासंस्कृत प्रतिष्ठान।
पाठक, रामभरत. (सन् १९८४). पाणिनीयसंज्ञापरिभाषासूत्रपरिशीलनम् [विद्यावारिधि शोधप्रबन्ध].
https;|/shodhganga.inflibnet.ac.in/handle/10603/518804
पाण्डेय, श्यामलता. (सन् १९९४). अष्टाध्यायी के आदेशसूत्र : एक समीक्षात्मक अध्ययन [विद्यावारिधि शोधप्रबन्ध]. https;|/ia601404.us.archive.org/24/items/in.ernet.dlif\.2015.262824/2015.262824.Astthadhayaiee-Ke.pdf.
भट्ट, सतीशचन्द्र. (सन् २०१३). पाणिनीय व्याकरणान्तर्गत सन्धि एवं समासों का समीक्षात्मक अनुशीलन [विद्यावारिधि शोधप्रबन्ध]. https;|/shodhganga.inflibnet.ac.in/handle/10603/179618
भारतीय विश्वविद्यालयहरूको सूची. https;//ne.wikipedia.org/wikif/ .
मधु. (सन् २००५). अष्टाध्यायी में वर्णित आदेशविधायक सूत्र : एक समीक्षात्मक अध्ययन [विद्यावारिधि शोधप्रबन्ध]. https;//shodhganga.inflibnet.ac.in/handle/10603/10730f
मिश्र, विनोदकुमार. (सन् १९८५). प्रातिशाख्यपाणिनीयव्याकरणयोस्तुलनात्मकमध्ययनम् [विद्यावारिधि शोधप्रबन्ध]. https;|/shodhganga.inflibnet.ac.in/handle/10603/519453
राजगोर, कुलदीप कमलेशभाइ. (सन् २०२१). पाणिनीयव्याकरणस्य पदसिद्धिप्रक्रियायाः प्रबन्धनस्य अनुशीलनम् [विद्यावारिधि शोधप्रबन्ध]. https;|/shodhganga.inflibnet.ac.in/handle/10603/490131
वि. आर्. मनोज. (सन् २००१). पाणिनीयतन्त्रे प्रत्ययविमर्शः (तृतीयाध्यायमात्रम्) [विद्यावारिधि शोधप्रबन्ध]. https;|/shodhganga.inflibnet.ac.in/handle/10603/39293
विश्वनायक. (सन् १९९१). संस्कृत सन्धि और उसका रूपस्वनिमिकीय विवेचन [विद्यावारिधि शोधप्रबन्ध].
https;|/shodhganga.inflibnet.ac.in/handle/10603/415901
सरिता, ए.वी. (सन् २०१९). गणपाठीयविशेषशब्दानां काव्यादिषु प्रयोगः [विद्यावारिधि शोधप्रबन्ध].
https;|/shodhganga.inflibnet.ac.in/handle/10603/358991
सी.जी., राजेशकुमार. (सन् २०१०). पाणिनीयपारिभाषिकशब्दानां समीक्षात्मकमध्ययनम् [विद्यावारिधि शोधप्रबन्ध]. http;//shodhganga.inflibnet.ac.in/handle/10603/5191
सुदेश. (सन् २००७). पाणिनीय संज्ञासूत्रों का विवेचनात्मक अध्ययन [विद्यावारिधि शोधप्रबन्ध].
https;|/shodhganga.inflibnet.ac.in/handle/10603/115555
स्वामी शिवानन्द. (सन् २०१९). श्रीमद्भागवतमहापुराणस्यैकादशस्कन्धस्य तिङन्तपदानां शाब्दिकपर्यालोचनपूर्वकं दार्शनिकं समीक्षणम् [विद्यावारिधि शोधप्रबन्ध]. https;|/shodhganga.inflibnet.ac.in/handle/10603/400752
हेगडे, मञ्जुनाथ आर. (सन् २००७). पाणिनीयसूत्रपाठे तिङन्तम् : सविमर्शात्मकमध्ययनम् [विद्यावारिधि शोधप्रबन्ध]. https;|/shodhganga.inflibnet.ac.in/handle/10603/100217
[1] लेखक कालिका संस्कृत विद्यापीठ, गैँडाकोट, नवलपरासीमा सहप्राध्यापक हुनुहुन्छ।