प्रस्तुत लेख नागेश भट्टको देश काल र कृतिमा आधारित रहेर जीवनवृत्तको गहिरोसँग अध्ययन गरी दृष्टान्तका रूपमा मानव जीवनको रहस्यमय खोजमा केन्द्रित रहेको छ। शिव भट्ट तथा सतीदेवीका सुपुत्र महावैयाकरण भट्ट नागेशको जन्म तथा समयका बारेमा इदमित्थम् गर्न सकिने अवस्था छैन तथापि विभिन्न किंवदन्ती, कतिपय शिलालेख तथा विद्वान्हरूको भनाइका आधारमा उनको जन्म १७३१ भारतको महाराष्ट्रमा ऋग्वेदी ब्राह्मणका कुलमा भएको थियो।
डा. भोलानारायण रेग्मी[1]
Email:drbholanarayanregmi@gamil.com
लेखसार
प्रस्तुत लेख नागेश भट्टको देश काल र कृतिमा आधारित रहेर जीवनवृत्तको गहिरोसँग अध्ययन गरी दृष्टान्तका रूपमा मानव जीवनको रहस्यमय खोजमा केन्द्रित रहेको छ। शिव भट्ट तथा सतीदेवीका सुपुत्र महावैयाकरण भट्ट नागेशको जन्म तथा समयका बारेमा इदमित्थम् गर्न सकिने अवस्था छैन तथापि विभिन्न किंवदन्ती, कतिपय शिलालेख तथा विद्वान्हरूको भनाइका आधारमा उनको जन्म १७३१ भारतको महाराष्ट्रमा ऋग्वेदी ब्राह्मणका कुलमा भएको थियो। नागेश भट्टले व्याकरण र तन्त्रशास्त्रको अध्ययन व्याकरणविचक्षण महामहोपाध्याय हरि दीक्षितबाट गरेका थिए भने न्याय, वेदान्त तथा धर्मशास्त्र आदि विषयको गहन अध्ययन विद्वद्धौरेय श्रीराम भट्टाचार्यबाट गरेका थिए। कतिपय इतिहासविद्को भनाइअनुसार साहित्य शास्त्रमा नागेश भट्टका गुरु पण्डितराज जगन्नाथ थिए। जुन विषय प्रत्यक्ष प्रमाणले पुष्ट हुँदैन तर उनको कृतिका आधारमा अनुमान गरिएको छ। कतिपयले यिनलाई आबाल ब्रह्मचारी भन्ने मान्यता राखे तापनि वस्तुतः यिनको विवाह ब्राह्मण कुलकी कन्या दुर्गादेवीसँग भएको थियो। धर्मपत्नीका कोखबाट सन्तति नभए पनि यिनका शब्देन्दुशेखरनामक ग्रन्थ पुत्रका रूपमा र मञ्जूषानामक ग्रन्थरत्न पुत्रीका रूपमा प्रसिद्ध छन्। अन्वर्थक संज्ञक नागेश भट्ट शास्त्रजिज्ञासुका मानस पटलमा अनन्त कालसम्म ससम्मान समवेत भएर रहेका छन्।
शब्दकुञ्जी : काल, कृतित्व, नागेशभट्ट, महावैयाकरण, व्यक्तित्व
विषय परिचय
पौरस्त्य जगत्मा अनेक ऋषि, ऋषिकल्प साधक, विद्वान् तथा चिन्तकको आविर्भाव भएको विषय स्पष्ट छ। त्यस्ता विद्वान् साधकका बारेमा विभिन्न इतिहास, शिलालेख, लेखोट आदिको अध्ययनका माध्यमले जिज्ञासुलाई केही जानकारी गराउँदा ती जिज्ञासुका लागि विद्वान् साधकहरूद्वारा अभिनिर्मित मार्गको अनुसरण गर्दै जीवनलाई सार्थक बनाउन मार्ग प्रशस्त हुन्छ। शास्त्रमा “महाजनो येन गतः स पन्थाः” अर्थात् ‘महापुरुषहरू जुन बाटोमा हिँडे, त्यही नै हाम्रो आदर्श हो’ भनिएको पाइन्छ (वेदव्यास, २०६६, पृ. १०९)। तसर्थ महान् साधक, सारस्वत उपासनाका प्रतिमूर्ति विद्वान्हरूको जीवनी तथा योगदानलाई यथार्थपरक ढङ्गले पर्गेल्नु र जनसमक्ष प्रस्तुत गर्नु वाञ्छनीय हुन्छ। विविध शास्त्रका ज्ञाता भट्ट नागेश केवल व्याकरण विषयका मात्र विद्वान् नभएर तन्त्र, वेदान्त, धर्मशास्त्र, साहित्यशास्त्र, न्यायदर्शन आदि विषयका पनि मूर्धन्य विद्वान् थिए . उनले लेखेका ग्रन्थहरू सबै क्षेत्रमा आधिकारिक निर्णयको लागि प्रसिद्ध छन्। धर्मशास्त्रमा आशौच निर्णय इतिहासमा रामायणको नागेशी टीका, अलङ्कार शास्त्रमा “अलङ्कारसुधा”, न्यायमा तर्कभाषाको टीका तन्त्रमा “कात्यायनीतन्त्र”, वेदसूत्रेन्दुशेखर आदि धेरै ग्रन्थहरूको रचनाकार र प्रवीण ज्ञानका खानी नागेश भट्टलाई तत्कालीन राजा रामशाहले “महामहोपाध्याय” जस्तो गरिमामय उपाधि प्रदान गरेका थिए (भट्ट, २०५२, पृ. १-२)। जुन उपाधि प्राप्त गर्नको लागि १२ जना आफ्ना शिष्य प्रशिष्य तच्छिष्य विभिन्न विश्वविद्यालयका प्राध्यापक, कुलपति र उपकुलपति पदमा अनिवार्य रहनुपर्ने हुन्छ । यही विचारलाई आत्मसात् गर्दै प्रस्तुत आलेखमा महावैयाकरण, शारदा देवीका वरदपुत्र नागेश भट्टको जीवनी, कृतित्व र व्यक्तित्वका बारेमा स्पष्ट पार्ने प्रयास गरिएको छ। यसरी महावैयाकरण नागेश भट्टको जन्म, कर्म र योगदानका बारेमा स्पष्ट पार्नु नै प्रस्तुत आलेखको कृत्य हो। यस अन्वेषणबाट सरस्वती कहिल्यै बन्ध्या हुँदिनन् भन्ने शिष्टहरुको अनुभूति सिद्ध लोकोक्ति पनि यथार्थ भएको प्रमाणित हुन्छ।
प्रस्तुत अनुसन्धान नागेश भट्टको व्यक्तित्व र कृतित्वलाई आधारित मानेर देश, काल, कृति कहाँ, कहिले र कति रहेका छन् भन्ने मूल शोध्य समसयामा केन्द्रित भएर तयार गरिएको छ। खासगरी अन्य लेखकहरूको भन्दा नागेश भट्टको लेखन कला तथा भाषाशैली, त्याग र तपस्यामा नै आफ्नो जीवनयापन गरेका, शास्त्र प्रति समर्पित रहेका, गृहस्थ भएर पनि सन्तानको मोह त्यागेका, आफैले रचना गरेका कृतिबाट संसारिक विषयपिपासा शान्त गरेका त्यस्ता व्यक्तिको जीवनमा घटित घटनाहरू के -के रहेका छन् भन्ने मूल समस्यामा आधारित नागेश भट्टको परिचय दिई उनको कृतित्वबाट पाठकमा परेको प्रभाव पहिल्याउनु यस अनुसन्धानको उद्देश्य हो
य? स अनुसन्धानात्मक अध्ययनले पूर्ववर्ती चिन्तकहरूमा नागेश भट्टको व्यक्तित्व र कृतित्वलाई मुख्यतः सिमाङ्कन गरेको भएता पनि नागेश भट्टबाट आधुनिक र अत्याधुनिक अनुसन्धानहरूलाई दृष्टान्तका रूपमा अध्ययन अनुसन्धान लेखन एवम कृति प्रकाशन बोध गराउने उद्देश्यले देश, काल, कृति र लेखको भाषाशैली उजागर गर्नु शोधको सीमा रहेको छ।
अध्ययन विधि
प्रस्तुत लघुशोध शीर्षकभित्र रहेका मूल धारलाई लिएर यहाँ केवल व्याकरणशास्त्रका पश्चवर्ती आचार्यहरूको मात्र चिन्तन रहेको छैन तापनि तन्त्र, वेदान्त, न्याय, साहित्य, धर्मशास्त्र र मीमांसा आदि शास्त्रहरूका वेत्ता धेरै आचार्यहरूले आ – आफ्ना बुद्धि क्रिया कुशलताका आधारमा कृतित्व र व्यक्तित्वको खोज गर्ने प्रयास गरेको पाइन्छ (भट्ट, २०५२ पृ. ६१)। त्यस समय नागेश भ़ट्ट काशीका विद्वान्हरूको परम्परामा अग्रगण्य भएको कुरा सबै व्याकरण शास्त्रका आचार्यहरूले स्वीकारेका छन्। अन्य विषयका आधुनिक विद्वान्हरूले पनि आफ्नो कृतिको भूमिकामा यत्र तत्र सर्वत्र नागेशको नाम लिएको उनीहरूका कृतिबाट सिद्ध गर्न सकिन्छ (भट्ट, २०५२, पृ. ५५- ५६)। विविध भाषा र कलाको समेत ज्ञान भएका भट्ट नागेश नव्यव्याकरणका संस्थापक हुन् भन्दा पनि अतिशयोक्ति नहुने हुनाले उनले रचना गरेका परमलघुमञ्जूषा, वैयाकरणसिद्धान्तमञ्जूषा, वैयाकरणसिद्धान्तलघुमञ्जूषा, यी मञ्जूषात्रयीमा प्रयोग गरिएको न्यायशास्त्रीय अवच्छेदकावच्छिन्न जस्ता भाषाले उनको बहुमुखी प्रतिभालाई झल्काइरहेको हुन्छ। उनी व्याकरण शास्त्रमा र???? हेका प्रक्रिया, परिष्कार र दर्शन पक्ष समेत तीन ओटै विधामा निपुण थिए। प्रक्रिया पक्षको पुष्टि गर्ने परिष्कार पक्षलाई समेत जरैसँग समातेर “लघुशब्देन्दुशेखर” “बृहच्छब्देन्दुशेखर” जस्ता वाद ग्रन्थ रचना गरेका छन्।
उनको व्यक्तित्व र कृतित्वका आधारमा जीवनीलाई धेरै अनुसन्धाताले खोज अनुसन्धान गरिएको भएता पनि इदमित्थं गर्न भने कठिन देखिन्छ (भट्ट, २०५२, पृ. ५८- ५९)। यसैगरी व्यक्तित्व तथा कृतित्वलाई अन्वेषण गर्ने क्रममा महाभाष्यव्याख्याग्रन्थ, आशौचनिर्णय, अन्य व्याकरणशास्त्रका आचार्यहरूको जीवनी सम्बन्धी ग्रन्थहरूलाई आधार मानी य? ?????? ???? ?????? ो लघुशोध तयार गरिएको छ।
प्रस्तुत अध्ययनमा गुणात्मक अनुसन्धान ढाँचालाई अवलम्बन गरिएको छ। यस अध्ययनमा नागेश भट्टको व्यक्तित्व र कृतित्वको खोजमा उनले गरेको पौरस्त्य चिन्तनलाई प्रमुख आधार बनाएर सुख, दुःख, मान, अपमान, सन्तानप्रतिको मोह, लोकको प्रतिष्ठालाई समेत ध्यान नदिई अध्ययन अध्यापन तथा कृति रचना गर्नु मात्र आफ्नो जीवनको कर्तव्यको रूपमा लिइएको छ। यस अध्ययनमा सम्भाव्य नमुना छनोटअन्तर्गतको यादृच्छिक नमुना छनोट विधिको उपयोग गरिएको छ। यस अध्ययनका लागि विधि र प्रक्रिया आवश्यक पर्ने सामग्री पुस्तकालयबाट जुटाइएको छ भने प्राथमिक स्रोतको सामग्रीको रूपमा नागेश भट्टका समकालीन पौरस्त्य विद्वान्हरूले लेखेका टीकाग्रन्थ, वादग्रन्थ, भूमिका खण्ड आदि कृतिहरूलाई आधार बनाइएको र द्वितीय स्रोत सामग्रीका रूपमा विभिन्न विद्वान्हरूसँग संवाद गरेर तथ्य सङ्कलन गरी यस अध्ययनमा उठेका जिज्ञासाको समाधान गर्नुका साथै सङ्कलित सामग्रीहरूको अध्ययनबाट प्राप्त सूचना वा तथ्यलाई वर्णनात्मक, संवादात्मक एवम् व्याख्यात्मक विधिको उपयोग गरी लेखकीय दृष्टिकोणसहित विभिन्न तर्क, दाबी , प्रमाणका आधारमा व्याख्या विश्लेषण गरी निष्कर्षमा पुगिएको छ। प्रस्तुत शोधलेखमा नागेश भट्टले लेखिएका व्याकरण, साहित्य, न्याय, दर्शन, धर्मशास्त्र र तन्त्रशास्त्र लगायत धेरै विषयमा आधारित भएर सामग्री सङ्कलन गरेर धेरैभन्दा धेरै कोणबाट उनका योगदानबारे अध्ययन गरिएको छ।
सैद्धान्तिक पर्याधार
पौरस्त्य चिन्तन परम्पराका नागेश भट्टले वि.सं १७३१ मा भारतको महाराष्ट्र प्रदेशमा जन्म लिएर वि.सं १८१० सम्म भारत वर्षमा आफ्नो वर्चस्व स्थापित गरेका थिए। उनले भारतको उत्तर प्रदेश प्रयागराज श्रृङ्गीवेरपूरका राजा रामशाहबाट योगक्षम प्राप्त गरेर तीर्थराज प्रायागलाई ज्ञानले अभिसिञ्चित गर्दै काशीनगरी ज्ञानगङ्गा, विश्वनाथ भगवान्को वरद पुत्रका रूपमा सर्वमान्य विद्वान्हरूका प्रिय बनेर ज्ञानको साधनामा निरन्तर लागिरहेका थिए। (भट्ट, २०५२ पृ. ५१- ५२) भट्टको जीवनको लक्ष्य अध्ययन अध्यापन र कृति लेखन नै थियो। त्यस्ता व्यक्तित्वको जीवनीका आधारमा रहेर व्याकरण शास्त्र प्रणेता आचार्यहरूका मूल ग्रन्थलाई मुख्य आधार बनाए पनि पुस्तकालयविधि र विज्ञ परामर्श तथा शास्त्रहरूको अध्ययन चिन्तनसँगै पश्चवर्ती आचार्यहरूले गरेका अनुसन्धानलाई समेत आधार बनाएर व्याख्यान विश्लेषण प्रस्तुत लघु शोधमा गरिएको छ। विविध विषयका विद्वान् बहुमुखी प्रतिभाका धनी नागेश भट्ट न केवल व्याकरण शास्त्रका मात्र प्रतिमूर्ति थिए अपि तु न्यायशास्त्र, तन्त्र र अलङ्कार आदि शास्त्रका पनि बहुमूल्य रत्नका रूपमा स्थापित भएका नव अनुसन्धाता थिए। भट्ट नागेशले शृङ्गवेरपुराधीशबाट योगक्षेम प्राप्त गरेका थिए। अहोरात्र अध्ययन, अध्यापन र शास्त्रचिन्तनलाई नै मूल कर्म र धर्म ठान्ने नागेशले व्याकरण, तन्त्र, धर्मशास्त्र, साहित्य शास्त्र आदि विषयमा अत्यन्त प्रौढ ग्रन्थको रचना गरेर संस्कृत वाङ्मयको श्रीवृद्धिपूर्वक शास्त्रजिज्ञासुमाथि ठुलो गुन लगाएका छन्। उनका ग्रन्थमध्ये परिभाषेन्दुशेखर, लघुशब्देन्दुशेखर, महाभाष्यप्रदीपोद्योत, शब्दकौस्तुभ, अलङ्कारसुधा, तिथीन्दुशेखर, अध्यात्मरामायणटीका, आशौचनिर्णय, कात्यायनीतन्त्र आदि अत्यन्त स्मर्तव्य ग्रन्थ हुन्। नागेश भट्टमा विविध भाषा र सबै कलाको ज्ञान भए तापनि आत्मतत्त्व ज्ञानका लागि संस्कृत भाषाको ज्ञान अपरिहार्य छ। नागेशले धेरै भाषाको अध्ययन गरेका थिए। उनी संस्कृतका प्रकाण्ड विद्वान् भएका कारण संस्कृतका ग्रन्थ निर्माणमा उनले कलापूर्ण भाषाको प्रयोग गरेका छन्। उनले सरल संस्कृत भाषाको प्रयोग नगरी प्राय जसो शास्त्रीय भाषा किंवा दार्शनिक भाषाको प्रयोग गरेको पाइन्छ। नागेशले आफ्ना कयौँ ग्रन्थमा नव्य न्यायको भाषिक शैलीको अवलम्बन गरेका छन्। जस्तै परमलघुमञ्जूषामा यस प्रकारको भाषा प्रयोग गरेको पाइन्छ तद्धधर्माविच्छिन्नविषयकशाब्दबुद्धित्वावच्छिन्नं प्रति तद्धर्मावच्छिन्ननिरूपितवृत्तिविशिष्टज्ञानं हेतुः (भट्ट, २०५४, पृ. १२) । यस्ता वाक्यहरू प्रयोग गरेर अरूको मत खण्डन गरी आफ्नो मतलाई बलिया बलिया तर्कले स्थापना गर्नु यिनको भाषिक विशेषता र मुख्य प्रयोजन हो। ‘फलाम काट्न फलामै’ भन्ने कथनको अवलम्बन गरी उनले नैयायिकको मत खण्डनमा उनले न्यायकै भाषाको प्रयोग गरका छन्। नागेशले कतै अति प्रसादिनी (सरल) भाषाको प्रयोग पनि गरेका छन् भने कतै अत्यन्त कठिन शास्त्रीय भाषाको प्रयोग पनि गरेका छन्। उनी अनेक भाषाभाषिकाको प्रयोग कलाका कालिगड नै थिए। अत्यन्त सरल लालित्यपूर्ण सुललित भाषादेखि जटिल भाषाको प्रयोग गर्ने नागेशले कयौँ ग्रन्थमा नव्य न्यायको शैली अपनाएका छन्। त्यस प्रकारका व्यक्तिको जीवित अवस्थामा रहेको व्यक्तित्व र हालसम्म संस्कृत विश्वविद्यालयको स्नातक र स्नातकोत्तर तहमा पनि उनका कैयौ प्रकरण ग्रन्थ र वादग्रन्थहरूको अध्ययन, अध्यापन र अनुसन्धान पनि भइरहेको छ। त्यस्ता पौरस्त्य विधाका चिन्तक नागेशको जीवनमा घटित घटनाका आधारमा आधारित भएको व्यक्तित्व र कृतित्व वर्तमानका लागि प्रेरणा स्रोत बनिरहोस् भन्ने लक्ष्यलाई हृदयङ्गम गरी नागेश भट्टभन्दा परवर्ती चिन्तकहरूका कृतिमा प्राप्त सामग्रीलाई आधार बनाएर त??? ??????? ????????? ?? ???? ???यार पारिएको जीवनवृत्त नै आधार हो। यस आ????? ????? ???? लेखको मुख्य आधार लघुशब्देन्दुशेखर बृहतच्छब्देन्दुशेखरमा रहेको पृष्ठभूमि हो। यस अनुसन्धानमा लेखकमा हुनुपर्ने गुण व्यवहार स्वभाव त्याग र तपस्याबाट प्राप्त उपलब्धिलाई मुख्य आधार मानिएको छ। पौरस्त्य च????? ???????िन्तक नागेशको योगदान अनुस्मरणीय, अनुकरणीय र अनुसरणीय रहेको पुष्टि गरिएको छ। व्याकरणशास्त्रीहरूको इतिहासमा पौरस्त्य वैयाकरण महामहोपाध्याय उपाधिले विभूषित भट्ट नागेश केवल व्याकरण शास्त्रका विद्वान् मात्र थिएनन्, उनी पौरस्त्य विधाका धरोहर हुन् भन्ने मूल आधारलाई विषय बनाएर यो लघुशोध तयार पारिएको हो।
नागेश भट्टको जन्मभूमि तथा काल
वैयाकरणकेशरी नागेश भट्टको जन्मस्थानका साथै जीवन कालका बारेमा इदमित्थम् गर्ने अकाट्य प्रमाण उपलब्ध छैन। उनी कहाँ जन्मे ? कहाँ हुर्के र कहाँ शरीर त्याग गरे ? भन्ने विषयमा किटानीका साथ भनिहाल्ने अवस्था त छैन। तर पनि किंवदन्ती, कतिपय शिलालेख तथा विविध पाण्डुलिपिलाई आधार मान्दा उनको जन्म भारतको महाराष्ट्र प्रदेशका ऋग्वेदी उत्तम ब्राह्मणका कुलमा भएको स्पष्ट हुन्छ (भट्ट, २०५२, पृ. ५८)। उनको जीवनयात्रा भने तीर्थराज प्रयाग, काशी आदि क्षेत्रहरूमा भएको देखिन्छ। यिनको समय १७३१ देखि १८१० बिचको हो भन्ने अनुमान गरिन्छ । यो समय तथ्यपूर्ण नै देखिन्छ। किनभने वर्तमान भारतको राजस्थानको सदरमुकाम जयपुरका राजा जयसिंह वर्माले गरेको अश्वमेध यज्ञमा नागेशलाई लेखेको निमन्त्रणा पत्र र त्यसको उत्तरमा नागेशले लेखेको उत्तरपत्रको पाण्डुलिपि अहिले पनि उपलब्ध भएको विषय ऐतिह्यविद्ले सप्रमाण प्रस्तुत गरेका छन् (भट्ट, २०५२, पृ. ५९) । त्यस पत्रमा नागेशले ‘म क्षेत्र सन्न्यास लिएर काशीवास गरेको छु, अहिले काशी छाडेर कतै पनि जान सक्दिनँ’ भनेका छन् अहं क्षेत्रसन्न्यासं गृहीत्वा काश्यां स्थितोऽस्मि, अतस्तां परिज्यत्य नान्यत्र गन्तुं शक्नोमि (शर्मा, पृ. ५ भूमिका)। यो विषय जयपुर निवासी महामहोपाध्याय दुर्गाप्रसाद शर्माद्वारा सम्पादन गरिएको रसगङ्गाधरनामक ग्रन्थको भूमिकामा छ। अर्को कुरा नागेशले मेरो प्रथम चालीस वर्ष बित्यो भनेर त्यस पत्रमा लेखेका छन्। यी सबै प्रमाणलाई आधार मान्दा उनको जन्म १७३१ मा हुनुपर्छ। १७६६ मा नागेश भट्टले लेखेको लेख इन्डिया अफिस लाइब्रेरी नामको लण्डन स्थित पुस्तकालयमा सुरक्षित छ (भट्ट, २०५२, पृ. ५९)। उनका बुबाको नाम शिव भट्ट थियो भने आमा सतीदेवी थिइन्। जसका बारेमा प्रस्तुत कारिकाबाट पनि स्पष्ट हुन सकिन्छ । जस्तै –
पातञ्जले महाभाष्ये कृतभूरिपरिश्रमः।
शिवभट्टसुतो धीमान् सतीदेव्यास्तु गर्भजः।।
याचकानां कल्पतरोररिकक्ष हुताशनात्।
श्रृङ्गिबेरपुराधिशाद् रामतो लब्धजीविकः।।(भट्ट, २०५५ पृ.१ मङ्गलपद्यम्)
उनको वंशवृक्ष यस प्रकार बनेको पाइन्छ। (भट्ट, २०५२ पृ. ६०)
शेषकृष्ण भट्ट
भट्टोजीदीक्षित(शिष्य) शेषवीरेश्वर (पुत्र)
विरेश्वर दीक्षित (पुत्र)
पण्डितराज जगन्नाथ(शिष्य) चक्रपाणी दत्त (पुत्र)
हरिदीक्षित (पुत्र)
नागेश भट्ट (शिष्य)
वैद्यनाथ पायगुण्डे (शिष्य ) वैद्यनाथ पायगुण्डे पुत्र बालशर्मा (शिष्य)
मन्नुदेव (शिष्य ) (भट्ट, २०५२) पृ. ६० प्रस्तावना)
नागेश भट्टको योगदान
प्राचीन ऋषिकुल, गुरुकुल, पितृकुल, मातृकुल र भ्रातृकुल परम्परामा अध्ययन गर्दा तीन प्रकारले अध्ययन गर्ने गराउने चलन थियो। ती मध्ये गुरुकुल परम्परामा अहिले पनि केही आंशिक संस्कार रहेको पाइन्छ। जस्तै-
गुरुशुश्रूषया विद्या पुष्कलेन धनेन वा।
अथवा विद्यया विद्या चतुर्थी निष्फला भवेत्।। (वेदव्यास, २०४०, अ.२०९, श्लो.१७)
अर्थात् गुरुलाई सेवाले प्रसन्न गराएर पर्याप्त धन दिएर आफूसँग भएको ज्ञान क्रिया कौशलसँग आदानप्रदान गरेर उक्त प्रचलनमा गुरुकुल परम्परालाई विशेष अंगालेका सर्वशास्त्र विशारद सर्वतन्त्र स्वतन्त्र भट्ट नागेशका न्यायशास्त्र, वेदान्तदर्शन र धर्मशास्त्र विषयका गुरु श्रीराम भट्टाचार्य थिए। व्याकरण र तन्त्रशास्त्रका गुरुदेव भने हरिजिदीक्षित थिए। केही ऐतिह्यविद्का अनुसार भट्ट नागेशले साहित्य शास्त्रको अध्ययन पण्डितराज जगन्नाथसँग गरेका हुन् भनिएको छ (भट्ट, २०५२ पृ. ५४)। तर यस विषयमा स्पष्ट प्रमाण भने पाइँदैन। उनले पण्डितराजका कृतिका कयौँ विषयमा आलोचना गरेको पाइन्छ (भट्ट, २०५२, पृ. ५४)। अतः उनी समाकालीन भएता पनि जगन्नाथसँग अध्ययन नगरेको हुनुपर्दछ किनभने उनको र पण्डितराज जगन्नाथको भाषाशैली विविधता देखिन्छ (दीक्षित, २०४०, पृ. १७) । नागेश भट्ट मल्लविद्या (कुस्तिवाजी) मा पनि प्रवीण थिए। भट्ट नागेशको शास्त्राध्ययनका बारेमा धेरै किम्वदन्तीहरू पाइन्छन्। श्रुतिपरम्पराको एउटा भनाइअनुसार उनी एक समय काशी विद्वत्सभामा शास्त्रार्थ भएको ठाउँमा पुग्छन्। त्यस सभामा उनलाई निमन्त्रणा गरिएको थिएन। उनी आफ्नो स्वाभिमानले सभाकक्षको अग्र आसनमा बस्छन्। त्यो देखेर विद्वत्सभाका सबै विद्वान्हरूले नागेशको तिरस्कार गर्दछन्। उक्त तिरस्कारलाई सहन नसकेर नागेश तन्त्र विद्याका विज्ञगुरुको खोजीमा सात दिन सात रातसम्म भोकभोकै बनारसका गल्लीगल्लीमा घुमे। दैवप्रेरणा नै भन्नुपर्ला त्यसरी घुम्दाघुम्दै काशीनगरिका भैरवदेवलाई पुकार्दै तान्त्रिक गुरुको सान्निध्य प्राप्त गरे। यसकारण काशी नगरीका द्वारपाल भैरवदेव प्रसन्न भएनन् भने काशीवास असम्भव हुन्छ भन्ने किंवदन्ती अझै पनि सार्थक छ। उनीबाट दीक्षित भएर नागेश सरस्वतीको उपासना गर्न थाले। तान्त्रिक विधिले गरिएको कठोर आराधनाबाट छोटो समयमा नै प्रसन्न भएकी वाणीकी अधिष्ठात्री सरस्वती प्रकट भइन् र वर दिइन्। त्यसरी शारदा देवीका वरदपुत्रका रूपमा प्रसिद्धि प्राप्त गरेका नागेशले छोटो समयमा धेरै ग्रन्थहरूको रचना गरे। त्यसपछि सबै शास्त्रमा पारङ्गत नागेश पण्डित सभामा जाँदा उनले अग्रासन प्राप्त गर्दथे। नागेशका पादुकाको आवाज सुन्नासाथ सबै पण्डित काँप्दथे (भट्ट, २०५२ पृ. ५५)। तर पनि लक्ष्मी र सरस्वतीको परस्परमा विरोध भएका कारणले नै हुन सक्दछ उनी धनका गरिब थिए। अर्थका कमीले गर्दा उनले दुई तीन दिनमा मात्र एक पटकमात्र भोजन गर्दथे (भट्ट, २०५२ पृ. ५५-५६)।
नागेश भट्टको शिष्यपरम्परा
नागेश भट्टका हजारौं शिष्यहरू थिए। तीमध्ये वैद्यनाथ पायगुण्डे नामका एक शिष्य अतुलनीय प्रतिभा सम्पन्न थिए। उनले गुरुलाई पनि तर्कले परास्त गर्न सक्दथे। गुरुकुल परम्परामा यसलाई गुरुकृपा मान्ने चलन थियो। “गुरु गुडै रहे चेला चिनी बने” यो लोकोक्ति प्राचीन कालदेखि चलेको थियो।(भट्ट, २०५२ पृ. ५३-५४) मीमांसा शास्त्रका गुरु कुमारिल भट्टलाई शिष्य प्रभाकर मिश्रले पनि आफ्ना बुद्धि प्रतिभाद्वारा परास्त गर्न सक्थे। त्यसै कारण प्रभाकर मिश्रको मतलाई नै गुरुमते तु भनेर कुमारिल भट्टले सम्बोधन गरेको श्लोकवार्तिक आदि मीमांसा शास्त्रमा प्रसिद्धि छ । पायगुण्डेले आफ्ना गुरु नागेश भट्टले लेखेका धेरै ग्रन्थमाथि अत्यन्त गम्भीर विद्वत्तापूर्ण टीका गरेका छन्। वैद्यनाथ पायगुण्डेले पनि आफ्नो गुरुपरम्पराको रक्षा गर्दै सयौँ शिष्यलाई शिक्षा प्रदान गरेका दिए। तिनीहरूमध्ये मन्नुदेव नामका एउटा शिष्य प्रखर बुद्धि भएका थिए। उनले आफ्ना परम गुरु नागेश भट्टको कृति परिभाषेन्दुशेखरमा मन्नुदेवी टीका लेखेका छन्। त्यसै गरी उनले ‘लघुशब्देन्दुशेखर दूषणोद्धार’ नामको स्वतन्त्र ग्रन्थ पनि लेखेका छन्। वैद्यनाथका छोरा बाल शर्मा थिए। उनी पनि आफ्नै पितृगुरुसँग पढेर ठुला विद्वान् बनेका थिए।
भट्ट नागेशको विवाह तथा सन्तति
लघुशब्देन्दुशेखर, वैयाकरणसिद्धान्तलघुमञ्जूषा, परमलघुमञ्जूषा, सिद्धान्तलघुमञ्जूषा, परिभाषेन्दुशेखर, पातञ्जलमहाभाष्यको प्रदीपोद्योत आदि कयौँ ग्रन्थका लेखक वैयाकरणकेशरी आदि उपाधिले विभूषित सर्वतन्त्रस्वतन्त्र पाणिनीय व्याकरणका वास्तविक एक मात्र परिष्कारका धनी नागेश भट्टले आफ्नै कुल परम्पराअनुसार वैदिक विधिले ब्राह्मण कुलकी सुकन्या दुर्गा देवीसँग पाणिग्रहण गरेका थिए। केही विद्वान्हरूले नागेश भट्ट आबाल ब्रह्मचारी भएको तथ्य प्रकट गर्दछन् (भट्ट, २०५२ पृ. ५७-५८) तर त्यो भनाइ प्रमाणका कसीमा खरो उत्रेको पाइँदैन। नागेश भट्टका सन्तानको परम्परा खोज्दा छोरा थिएनन्। छोरीको पनि परम्परा त पाइँदैन तर पनि छोरी थिइनन् भन्ने स्पष्ट प्रमाण छैन। उनकी धर्मपत्नी पतिप्रति अत्यन्त समर्पित पतिव्रता र ग्रन्थ रचनामा अहर्निश सहयोगी थिइन्। एक दिन उनका मनमा आफ्नी दिदी बहिनीका सन्तान देखेर मेरा पनि एक छोरा एक छोरी भइदिए हुन्थ्यो भन्ने इच्छा आफ्ना पतिदेवसँग प्रकट गरिन्। त्यसपछि नागेश भट्टले ‘शब्देन्दुशेखर’ नामको ग्रन्थ छोराका रूपमा, ‘मञ्जूषा’ नामको ग्रन्थ छोरीका रूपमा रचना गरी आफ्नी धर्मपत्नीका हातमा राखिदिएको प्रमाण पाइन्छ।
शब्देन्दुशेखरः पुत्रो, मञ्जूषा चैव कन्यका।
स्वमतौ सम्यगुत्पाद्य शिवयोरर्पितौ मया। (भट्टः, २०५५, पृ. २ -३)
नागेश भट्टको कृतित्व
नागेश भट्टको जीवन आधारित कृतित्वलाई निहाल्दा एक दिन नागेशलाई आफ्नी धर्मपत्नी दुर्गादेवीले पैसा कमाउन पठाउने कोसिस गरेपछि नागेश पैसा कमाउनका लागि प्रस्थान गर्दछन्। त्यसरी जाँदा नदी पार गर्न नौकामा बसेर तर्नुपर्दथ्यो। नागेशसँग पैसा थिएन। त्यस कारण नदीका किनारमा बसिरहेका थिए। केही समयमा एउटा नौकाको मालिक नौका लिएर नागेशका नजिक नजिक आयो। त्यसलाई बोलाएर नागेशले भने ‘भाइ म पैसा कमाउन हिँडेको हुँ, मेरो नाम नागेश भट्ट हो। मसँग एक पैसा पनि छैन। मसँग पुस्तकहरू छन्। म पण्डित हुँ। पण्डित सम्झेर मलाई पैसाविना पार गराइदिए तिमी पुण्यका भागिदार हुने थियौ (भट्ट, २०५२ पृ. ५५-५७)। यस प्रकारको सरल र सहज रूपमा दुःखित अन्तस्करणबाट प्रार्थना सुन्दा पनि बोटेको हृदय पग्लेन। उसले निराशापूर्ण कठोर वाणीले भन्यो ‘पण्डितज्यू ! मेरा अगाडि शास्त्रार्थ गरेर सबै पण्डितलाई जसले परास्त गर्छ, त्यस्तालाई नै पण्डित मान्छु। अरू मेरा लागि पण्डित होइनन्। तिमी जस्तालाई मैले पण्डित मान्दिनँ। म त शास्त्रार्थ महारथीलाई मात्र गुरु मान्छु’ (भट्ट २०५२ पृ. ५३-५५)। त्यसपछि नागेश लुरुक्क परी जुरुक्क उठी फरक्क घर फर्के। फेरि आफ्नै ग्रन्थ निर्माण कार्यमा जुटे। यसै क्रममा एक दिन भारतको उत्तर प्रदेश प्रयागराज (इलाहाबाद) को उत्तर दिशामा पर्ने सिंगौरपुर (पुराणमा प्रसिद्ध शृङ्गवेरपुर) का विशेन वंशमा उत्पन्न क्षत्रीय राजा रामसिंहलाई भगवान् काशी विश्वनाथको दर्शन गर्ने इच्छा भएछ र प्रयागबाट काशी आइपुगेर भगवान् विश्वनाथको दर्शन तथा पूजन गरे। त्यसपछि विद्वान्हरूको दर्शन तथा आशीर्वचन प्राप्त गर्ने सिलसिलामा उनी नागेश भट्टको दर्शन गर्न उनको निवासमा गए। नागेशले आफू कुप्रा भएका कारण आफ्नो कुटीको भित्तामा प्वाल पारी त्यही प्वालमा पिठिउँको विकृत भागलाई पसालेर ग्रन्थ लेख्दै राखेको राजाले देखे। नागेशको आज खाए भोलि छैन, भोलि खाए पर्सि छैन यस्तो अवस्था थियो। राजा शृङ्गवेरपुराधीशले भोक प्यासको चिन्ता त्यागी शास्त्रमा तल्लीन भएका विद्वान्को दयनीय अवस्था देखे। त्यस्तो अवस्था देखेर राजाले नागेशको गास, वास र कपासको व्यवस्था गर्ने दृढ सङ्कल्प गरे। त्यसपछि राजाले गुरुदेव ! हजुरलाई के टक्रयाऊँ ? के सेवा गरूँ ? भनी सोधे। जसको उत्तरमा नागेशले भने ‘यदि तपाईँलाई सेवा गर्ने इच्छा छ भने मैले दश दिनदेखि अहोरात्र चिन्तन गर्दा पनि शास्त्रको अमुक पङ्क्तिको भावार्थ आत्मसात् गर्न सकेको छैन। अतः कृपा गरेर यस पङ्क्तिको भावार्थ लगाइदिनुहोस्। त्यसो भएमा दसौँ दिनदेखि केही नखाएको भए पनि मेरो बुभुक्षा र तितीर्षा शान्त हुने थियो’। यस प्रकारको वचन सुनेर लाजले भुतुक्क भई राजाले नागेश भट्टका दुवै पाउमा साष्टाङ्ग दण्डवत् प्रणाम गरेर ‘म हजुरको शिष्य हुँ यस्तो गम्भीर विषय त मैले कहाँ जान्दछु र ! भनी शिष्यत्व ग्रहण गरेर नागेश भट्टको अध्ययन, चिन्तन मनन र साधनाको सहजताका लागि भोजन, आवास आदि आवश्यक चिजको व्यवस्था गरे। राजा रामसिंहले उनमा भएका ज्ञान तथा साधनबाट प्रभावित भएर प्रत्येक महिनाको सय रुपियाँका दरले वृत्ति उपलब्ध गराउँदथे। त्यही वृत्तिका सहाराले नागेशको जीवन केही सहजताका साथ चलेको बुझिन्छ।
याचकानां कल्पतरोररिकक्षहुताशनात्।
श्रृङ्गिबेरपुराधीशात् रामतो लब्धजीविकः ॥ (भट्टः २०५३, पृ. १)
नागेशले काशीवास गर्दै शास्त्रको अध्ययन, अध्यापन तथा लेखनमा नै समय बिताउँदथे। बिहान उषाकाल ब्रह्म मुहूर्तमा उठी शौचादि गरी भागीरथी गङ्गामा स्नान, नित्यकर्म, सन्ध्या, स्वाध्ययनका साथै विश्वेश्वरको दर्शन गर्ने भट्ट नागेश तात्कालिक समयमा उपाध्याय, वैयाकरणकेशरी, वादीभकण्ठीरव, शास्त्रार्थमहारथी, महामहोपाध्यायजस्ता उपाधिले विभूषित भएका थिए। प्राचीन विद्वान्हरूले शिष्ट परम्परा अवलम्बन गरी आफ्ना बुद्धि तथा प्रतिभाद्वारा निर्मित कृतिहरू आआफ्ना इष्टदेव, वंशका ऋषि, पितृ तथा ज्येष्ठ श्रेष्ठ मान्य जनहरूलाई अर्पण गरेको पाइन्छ। जुन विषय भट्टोजी दीक्षितको प्रस्तुत भनाइबाट पनि स्पष्ट हुन्छ। “प्रीत्यै भूयात् भगवतो भवानीविश्वनाथयोः” (दीक्षित, २०४० पृ. ७४४)। अतः यही परम्पराको अनुसरण गर्दै नागेशले पनि कयौँ कृति आफ्ना इष्टदेव तथा गुरुदेवलाई समर्पण गरेको पाइन्छ।
महाराष्ट्रमा जन्मेका शास्त्र व्यसनमा व्यस्त नागेश विद्याको खोजीका क्रममा काशी आइपुगे। काशीमा आएरै आफ्नो मानव चोला सफल पारे। नागेशले सनातन कुलधर्म अनुसारको कर्मलाई मूर्तरूप दिँदै आफ्नो कुलपरम्पराको रक्षा गरे। त्यस क्रममा उनले हजारौँ छात्रछात्राहरूलाई ज्ञानगङ्गामा अवगाहन गराउँदै सयौँ कृतिको रचना गरे र काशीमा नै आफ्नो जीवन यात्रा सफल पारे। नागेश भट्टले व्याकरणका साथै न्याय, धर्मशास्त्र, पुराण, साहित्य, ज्योतिष आदि विद्यासँग सम्बद्ध ग्रन्थको रचना गरेका छन्। उनका परिभाषेन्दुशेखर, लघुशब्देन्दुशेखर, लघुशब्दरत्न, बृहच्छब्देन्दुशेखर, गुरुमञ्जूषा, परमलघुमञ्जुषा, अष्टाध्यायीसूत्रपाठ, तिङन्तसङ्ग्रह, धातुवृत्ति, णेरणौवादार्थ, महाभाष्यप्रदीपोद्द्योत, विषमपदी, शब्दकौस्तुभटीका, वैयाकरणकारिका, वृत्तिवाद, शब्दानन्तसागरसमुच्चय, सुप्तिङन्तसागरसमुच्चय, स्फोटवाद, अलङ्कारसुधा (कुवलयानन्द टीका), लघुकाव्यप्रदीपोद्योत, गुरुकाव्यप्रदीपोद्योत, गुरुमर्मप्रकाश, सरतङ्गिणी टीका, रसमञ्जरीप्रकाश, तिथीन्दुशेखर, अध्यात्मरामायणटीका, सप्तशती चण्डीको टीका, चण्डीस्तोत्रप्रयोगविधि, आचारेन्दुशेखर, तीर्थेन्दुशेखर, त्रिस्थलीसेतु, आशौचनिर्णय, कात्यायनीतन्त्र, इष्टिकालनिर्णय, प्रयोगतरणि, प्रायश्चितेन्दुसङ्ग्रह, लक्षणरत्नमाला, सापिण्ड्यमञ्जरी, तर्कभाषाटीका, तात्पर्यदीपिका, प्रभाकरचन्द्रतत्त्वदीपिका, पदार्थदीपिका, पातञ्जलसूत्रवृत्ति, पातञ्जलसूत्रवृत्तिभाष्यच्छायाव्याख्या, एकश्रुतिवाद, श्राद्धेन्दुशेखर, कालेन्दुशेखर, गीतगोविन्दटीका, सुधालहरीटीका, वाल्मीकीयरामायणटीका, परमार्थसारविवरण, वृत्तिसङ्ग्रह आदि ग्रन्थ रहेका छन् (भट्ट, २०५२ पृ. ६२)।
निष्कर्ष
यस जीवनयात्राको विश्लेषणबाट कुनै पनि क्षेत्रमा सिद्धि प्राप्त गर्दा कठिन साधनाको आवश्यकता पर्छ भन्ने पुष्टि हुन्छ। हामीमा सादा जीवन उच्च विचारको भावना हुनु पर्दछ भन्ने प्रेरणा उनको सादगी जीवनबाट प्राप्त गर्न सकिन्छ। यसै गरी उनको शास्त्रप्रतिको त्याग तपस्याबाट कहिल्यै पनि काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य जस्ता भावनामा नलागि आफ्नो मानवत्व जोगाउदै अमूल्य जीवनलाई सार्थक तुल्याउने कार्यमा अगाडि बढ्नु पर्दछ भन्ने उदाहरणका रूपमा भट्टको व्यक्तित्वलाई लिन सकिन्छ। नागेश भट्टद्वारा निर्मित व्याकरण, न्याय, तन्त्र, योग, धर्मशास्त्र, मीमांसा, रामायणको नागेशी टीका आदि कैयौँ कृतिहरूको पठन, चिन्तन, मनन र निदिध्यासनबाट प्राप्त तत्त्व हाम्रो जीवनका लागि आदर्श बन्न सक्दछ। नागेशका जस्तो उत्तम लक्ष्यलाई पूर्णता दिन सक्ने साधना तथा ज्ञानयोग हाम्रो जीवनका लागि अत्यन्त महत्त्वपूर्ण रहेको छ। यो हठयोगीहरूको जस्तो योग होइन। यो ज्ञानयोगीको योग हो। नागेश भट्ट त्यस्ता ज्ञानयोगी हुन्, जसको जन्मस्थान तथा जन्मकालका बारेमा किटेर सप्रमाण भन्न सकिने अवस्था छैन। वस्तुतः उनको जीवन मरणको नै पत्तो छैन केवल अनुमान र समकालीन अन्य विद्वान्हरूका कृतिलाई आधारमानेर उनको देश, काल, कृतिबारे यस लघुअनुसन्धानद्वारा निर्क्योल गर्दै अध्ययन, अध्यापन र जीवनका बारेमा केही जानकारी प्राप्त गरिएको छ जसले गर्दा नागेशलाई हाम्रा समक्ष जीवित राखेको छ। ‘जसको कीर्ति छ, त्यो न जीवित हुन्छ’ भनेझैँ नागेशका कृतिरूपी ध्वज हामी सबैका समक्ष फरफराइरहेको छ। अतः उनी हाम्रा लागि सदा सदा जीवित छन्। नागेशजस्ता महापुरुषले अवलम्बन गरेको मार्गमा अगाडि बढ्दा मात्र हाम्रो जीवन कृतकृत्य हुनेछ। सामान्य रूपमा बाँच्न त ‘काग पनि अलिक समय बलि खाएर पनि बाँच्दछ’ भनेजस्तै हाम्रो जीवन पनि अन्य प्राणीको जस्तै नहुनका लागि नागेशजस्ता महावैयाकरणको जीवनलाई आदर्श मानेर अगाडि बढ्दा नै वस्तुतः बाँच्नुको सार्थकता हुन्छ भन्ने शिक्षा नागेशको जीवनीबाट पाउन सकिन्छ।
सन्दर्भसूची
आचार्य, रामचन्द्र. (२०५६). प्रक्रियाकौमुदी. वाराणसी : सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय।
दीक्षित, भट्टोजी. (२०४०). सिद्धान्तकौमुदी सुबोधिनी तत्त्वबोधिनी संहिता, मुम्बई : क्षेमराज श्रीकृष्णदास श??? ?्री बैंकटेश्वर स्टिम मुद्रणालय।
पतञ्जलि. (सन् १९८८). व्याकरणमहाभाष्यम्. वाराणसी : चौखम्बा विद्याभवन।
भट्ट, नागेशः. ( २०४९). वैयाकरणसिद्धान्तलघुमन्जूषा. वाराणसी : भारतीय विद्या संस्थान।
भट्ट, नागेश. (२०५२). बृहच्छब्देन्दुशेखर, वाराणसी : सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय।
भट्, नागेश. ( २०५३). लघुशब्देन्दुशेखर. वाराणसी : चौखम्बा संस्कृत संस्थान।
भट्ट ,नागेश. (२०५४) . परमलघुमञ्जूषा. वाराणसी : चौखम्बा संस्कृत स?????िरिज।
रेग्मी, भोलानारायण. (सन् २००५). वैयाकरणसिद्धान्तलघुमन्जूषाया दार्शनिकतत्त्वविचारः (शोधग्रन्थ). वाराणसी : सम्पूर्णान्द संस्कृत विश्वविद्यालय।
वेदव्यास. (२०४०). स्कन्दपुराण मूलमात्र. मुम्बई : श्रीवेङ्कटेश्वर स्टीम प्रेस।
वेदव्यास. (२०६६) महागरुडपुराण, वाराणसी, दत्तात्रेय इण्टर प्राईजेज नेपाली खपडा भारत।
त्रिपाठी, ब्रह्मानन्द. (२०३८). व्याकरणशास्त्रस्येतिहासः. वाराणसी : चौखम्बा सुरभारती प्रकाशन।
[1] लेखक पोखरास्थित श्री बिन्दुवासिनी विद्यापीठमा व्याकरण विषयका सहप्राध्यापक हुनुहुन्छ।