यस शोधलेखमा काठमाडौँस्थित राष्ट्रिय अभिलेखालयमा संरक्षित, दशौँ/एघारौँ शताब्दीका विद्वान् भिक्षु वागीश्वरकीर्तिद्वारा रचित ‘मृत्युवञ्चनोपदेश’ नामक प्राचीन बौद्ध पाण्डुलिपिको प्रथम परिच्छेदमा वर्णित मृत्युसमय निर्धारणका लक्षणहरूको विस्तृत विश्लेषण प्रस्तुत गरिएको छ। गुणात्मक शोध ढाँचा अन्तर्गत विषयवस्तु विश्लेषण विधि अपनाइएको छ।
निरज दाहाल[1]
nirajdahaldrn@gmail.com
लेखसार
यस शोधलेखमा काठमाडौँस्थित राष्ट्रिय अभिलेखालयमा संरक्षित, दशौँ/एघारौँ शताब्दीका विद्वान् भिक्षु वागीश्वरकीर्तिद्वारा रचित ‘मृत्युवञ्चनोपदेश’ नामक प्राचीन बौद्ध पाण्डुलिपिको प्रथम परिच्छेदमा वर्णित मृत्युसमय निर्धारणका लक्षणहरूको विस्तृत विश्लेषण प्रस्तुत गरिएको छ। गुणात्मक शोध ढाँचा अन्तर्गत विषयवस्तु विश्लेषण विधि अपनाइएको छ। ग्रन्थका ८७ वटा श्लोकहरूमा उल्लिखित विभिन्न शारीरिक, मानसिक र अलौकिक लक्षणहरूको आधारमा तत्कालदेखि पाँच वर्षभित्र हुने मृत्युको समय कसरी निर्धारण गरिएको छ भन्ने कुराको व्यवस्थित अध्ययन गरिएको छ। ग्रन्थको प्रथम परिच्छेदमा मृत्युको समय निर्धारण गर्ने १४७ लक्षणहरू सूचीकृत छन्, जसलाई मुख्यतया सपना, दृष्टिभ्रम, शारीरिक वेदना, इन्द्रिय विकार, र शारीरिक छायाँमा आउने विकार जस्ता प्रमुख श्रेणीहरूमा वर्गीकरण गर्न सकिन्छ। तत्काल मृत्युका लागि ३ वटा, ६ महिनाभित्रका लागि २७ र ५ वर्षभित्रका लागि २ वटा आदि फरक-फरक समयावधिका लक्षणहरू उल्लेख छन्। अध्ययनका नतिजाले ग्रन्थलाई बौद्ध वज्रयान सम्प्रदायको तान्त्रिक साधनाको एक व्यावहारिक ग्रन्थको रूपमा पुष्टि गर्दछ, जसले मृत्युका सूक्ष्म लक्षणहरू पहिचान गरी योग, मन्त्र र जडीबुटीको प्रयोगद्वारा त्यसलाई पराजित गर्ने विधि बताउँछ। यसरी, यो बौद्धवज्रयानग्रन्थ प्राचीन नेपाली चिकित्सा, ज्योतिष र तन्त्रसाधनाको अद्वितीय सङ्गमको रूपमा रहेको छ भन्ने कुरा यस शोधलेखले प्रमाणित गर्दछ।
शब्दकुञ्जी : म???????????????ृत्युवञ्चनोपदेश, वज्रयान, पाण्डुलिपि, मृत्युलक्षण, वागीश्वरकीर्ति, दृष्टिभ्रम।
विषय परिचय
नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्रालय अन्तर्गतका विभिन्न विभागहरूमध्ये राष्ट्रिय अभिलेखालय काठमाडौँमा बौद्धदर्शन विषय अन्तर्गत सूचीकृत देवनागरी लिपिमा ‘मृत्युवञ्चनोपदेश’ नाम लेखिएको जीर्णस्वरूप भएको पाण्डुलिपिलाई नेपालजर्मन हस्तलिखित पाण्डुलिपि संरक्षण परियोजना अन्तर्गत माइक्रोफिल्ममा संरक्षित गरिएको छ। यसको नेपालजर्मन हस्तलिखित पाण्डुलिपि संरक्षण परियोजनाअन्तर्गत लगतसङ्ख्या ५२८८ तथा विषयसङ्ख्या ११० रहेको र रिल नं. बि९०/१२ मा माइक्रोफिल्म गरिएको छ। पुरानो कागजमा कालो पाको मसीले संस्कृत भाषामा देवनागरी लिपिमा लेखिएको उक्त कृति ३३ से. मि.लम्बाइ र १२.५ से. मि. चौडाइ परिमाणको रहेको कुरा उल्लेख गरिएको छ। यसमा १८ पत्रसङ्ख्या रहेका छन्। हस्तलिखित एवं जीर्ण अवस्थामा रहेको पाण्डुलिपिको हालसम्म सम्पादन र प्रकाशन नभएकाले यसभित्रका कतिपय अक्षरहरू लुप्त भएका, पत्रहरू हराएका छन् भने कतिपय अक्षरहरू धेरै भएका देखिन्छन्। कतिपय वाक्यहरू अशुद्ध भएकाले अर्थमा अनर्थ बोध हुने देखिन्छ।
ग्रन्थको मङ्गलाचरण नष्ट भए तापनि हरेक परिच्छेदको अन्त्यमा भिक्षु वागीश्वरकीर्तिद्वारा लेखिएको भने प्रष्ट लेखिएको र ग्रन्थको समाप्तिपछि गद्यमा पनि विद्वान् भिक्षु वागीश्वरकीर्तिद्वारा लेखिएको ग्रन्थ समाप्त भएको भनी उल्लेख भएकाले यस ग्रन्थका लेखक दशौँ/एघारौँ शताब्दीका विद्वान् पण्डित भिक्षु वागीश्वरकीर्ति नै हुन् भन्ने कुरा प्रमाणित हुन्छ।
बौद्धदर्शन दुःखको आधारमा खडा भएको दर्शन मान्ने गरिन्छ। मृत्युजस्तो महादुःखलाई जित्ने विधिहरूको वर्णन गरिएको यस अमूल्य ग्रन्थ एकदमै उपयोगी छ। यस पाण्डुलिपिमा मृत्युका विभिन्न लक्षणहरू जस्तै बाह्य लक्षण, आन्तरिक लक्षण, देवता रिसाएर हुने मृत्यु, महाभूतहरू रिसाएर हुने मृत्यु तथा दुवैको संयुक्त योगले हुने मृत्यु आदि विषयहरूको विस्तृत वर्णन गरिएको छ। मानिसको छायाँमा आउने विकारहरू, सपनामा देखिने विषयहरूको विश्लेषण, शरीरमा प्राणवायुको प्रवेशको अङ्ग, मात्रा र अवस्था, शरीरमा आउने अचानकका विकारहरूको अन्वेषण तथा ग्रह नक्षत्रको पनि अध्ययन गरेर मृत्युका लक्षणहरू पत्ता लगाउन सकिन्छ। ती लक्षणहरूका आधारमा एक दिनदेखि लिएर १८ वर्षभित्रमा हुने मृत्युहरूको व्याख्या गरिएको छ। मृत्युका लक्षणहरूलाई पहिचान गरी सोही लक्षणका आधारमा जडीबुटीको सेवन, रत्न आदिको धारण र मन्त्र तथा ध्यानको साधनाद्वारा सो लक्षणलाई विजय प्राप्त गरी मृत्युलाई छल्न सकिने कुराको वर्णन आदि विषयहरूको विश्लेषण गरिएको छ। तसर्थ यसलाई बौद्ध दर्शनको महायान सम्प्रदाय अन्तर्गत वज्रयानमतको तान्त्रिक साधनाको व्यावहारिक पक्षको व्याख्या भएको महत्त्वपूर्ण र विविध गहनविषयान्वित मध्यमरूपात्मक विशिष्ट ग्रन्थ मान्न सकिन्छ।
पाण्डुलिपिमा जम्मा ४ वटा परिच्छेदहरू रहेका र कूल पद्यसङ्ख्याहरू ३७४ मात्र छन्। वज्रयानको तान्त्रिक पद्धति अनुसार मृत्युका लक्षणहरू र त्यसबाट बच्ने उपायहरूको यस पाण्डुलिपिमा वर्णन गरिएको छ। कुनैपनि परिच्छेदको शीर्षक दिइएको छैन। प्रस्तुत अनुसन्धानात्मक शोधलेख ग्रन्थको पहिलो परिच्छेदको विश्लेषणमा मात्रै केन्द्रित छ। पहिलो परिच्छेदमा १३२ वटा पद्यहरू छन्। तिनीहरूमा मानिसहरूले मृत्युबाट बच्न रत्न, मन्त्र, जडीबुटी आदि उपायहरूमा विश्वास गर्ने र यिनको प्रयोग गर्ने, मृत्युका लक्षणहरू बाह्य र आन्तरिक रूपमा दुई प्रकारका छन्, सो को पहिचान अभ्यासले गर्न सकिने, समय, ग्रहगोचर, छायाँ, शारीरिक पीडा र इन्द्रियको विकारबाट पनि मृत्यु नजिक छ भन्ने बुझ्न सकिने, नाभि, घाँटी, आँखा, कान, मुख, छाती आदि अङ्गहरूमा असमान्य पीडाहरू देखिनुले मृत्युको समय बताउने, स्वप्नहरू पनि मृत्युका सूचक हुन् विशेषगरी काली, यमदूत, दक्षिणगमन, पशुहरूद्वारा लखेटिएको आदि सपना, चन्द्र, सूर्य, तारा, इन्द्रेणी, छायाँ आदिका विकृत वा अस्वाभाविक दृश्यहरूले पनि मृत्यु सूचित गर्ने, वीर्य, पिसाब आदिको रङ्ग, स्वरूपमा आएको परिवर्तनले मृत्युको समय अनुमान गर्न सकिने र यी सबै लक्षणहरूलाई चिनेपछि तुरुन्तै मन्त्रादिको प्रयोग गरी मृत्युलाई टार्ने प्रयास गर्नु उत्तम हुने कुराको विस्तृत व्याख्या छ। यस शोधलेखमा मृत्युवञ्चनोपदेश ग्रन्थको प्रथम परिच्छेदमा वर्णित मृत्यु निर्धारक तत्त्वहरूको विस्तृत अध्ययन गरिएको छ। प्रथम श्लोकदेखि २८ श्लोकसम्म मृत्युका विभिन्न लक्षणहरूको आधारमा ती लक्षणहरूलाई विभिन्न वर्गमा वर्गीकरण गरिएको कुराको वर्णन गरिएको छ। जस्तै – बाह्य लक्षण, आन्तरिक लक्षण, नियतकाल लक्षण, अनियतकाल लक्षण, अधिदैविक लक्षण, अधिभौतिक लक्षण, उभय लक्षण (दुबैको मिश्रणबाट हुने लक्षण ) आदि। २९ श्लोकदेखि १३२ श्लोकमध्ये अन्तिमका दुई श्लोक र बिचका १४ श्लोकहरूमा पनि निश्चित मृत्युसमयको वर्णन पाइँदैन। त्यसैले यो शोधलेख ८७ वटा श्लोकहरूमा वर्णन गरिएको सम्भावित निश्चित मृत्युका समयको विस्तृत अध्ययनमा केन्द्रित छ। यी श्लोकहरूमा १४७ लक्षणहरूको आधारमा तत्कालै हुने मृत्युदेखि पाँच वर्षभित्रमा हुने मृत्युसम्मको वर्णन पाइन्छ। यहाँ ८७ वटा श्लोकमा वर्णित मृत्युसमयको अध्ययनलाई मृत्युको कारण, मृत्युको लक्षण, मृत्यु हुने समय र श्लोक सङ्ख्या गरेर चारवटा कोलममा तालिका बनाई गरिएको विस्तृत अध्ययनको विश्लेषण, व्याख्या र निष्कर्ष प्रस्तुत गरिएको छ।
बौद्ध दर्शनसँग सम्बन्धित ‘मृत्युवञ्चनोपदेश’ जस्ता ग्रन्थहरूको अध्ययन अहिलेसम्म पर्याप्त रूपमा भएको छैन। यस ग्रन्थको प्रथम परिच्छेदमा मृत्युको समय निर्धारण गर्ने सन्दर्भमा १४७ लक्षणहरू के कस्ता छन् र तिनलाई के कसरी वर्गीकरण गर्न सकिन्छ भन्ने शोधसमस्यामा केन्द्रित रही उक्त ग्रन्थको प्रथम परिच्छेदमा उल्लेखित मृत्युसमय सूचक लक्षणहरूको सुनिश्चित सूची बनाई ती लक्षणहरूलाई तार्किक आधारमा शारीरिक, सपना सम्बन्धी, दृष्टिगत, आदि विभिन्न श्रेणीहरूमा वर्गीकरण गर्दै कुन लक्षणले कति समय (दिन, महिना, वर्ष) भित्रमा मृत्यु हुन्छ भन्ने कुराको विश्लेषण गर्नु यस शोधलेखको उद्देश्य रहेको छ।
अध्ययन विधि
यस अनुसन्धानकार्यमा गुणात्मक शोध विधिको प्रयोग गरिएको छ। प्राथमिक स्रोतको रूपमा ‘मृत्युवञ्चनोपदेश’ को प्रथम परिच्छेद (१३२ श्लोक मध्येका मृत्युसमय निर्धारणका ८७ श्लोक) लाई आधार बनाइएको छ । डेस्क रिसर्च गरी पाण्डुलिपिको विषयवस्तुको गहन अध्ययन गरिएको छ। सङ्कलन गरिएका तथ्याङ्कहरूको विश्लेषणका लागि व???????? ?????????? ???? ???????? ?? िषयवस्तु विश्लेषणको विधि अपनाइएको छ। विश्लेषणको सहजताका लागि लक्षणहरूलाई दुई प्रमुख दृष्टिकोणबाट हेरिएको छ: (क) समयको आधारमा (तत्कालदेखि ५ वर्षसम्म), र (ख) कारण वा प्रकृतिको आधारमा (सपना, शारीरिक वेदना, इन्द्रिय विकार आदि)। यसरी विश्लेषण गरी निष्कर्ष निकालिएको छ।
यो शोधलेख मृत्युवञ्चनोपदेश ग्रन्थको चार परिच्छेदमध्ये केवल प???? ????्रथम परिच्छेदमा मात्र केन्द्रित रहेको छ। ग्रन्थमा उल्लिखित मृत्यु टार्ने उपायहरू मन्त्र, जडीबुटी, रत्न धारणको विषय यस शोधको विषयक्षेत्रभित्र पर्दैन। साथै, यस अध्ययनको उद्देश्य लक्षणहरूको आधुनिक वैज्ञानिक प्रमाणीकरण गर्नु होइन, अपितु ग्रन्थमा उल्लिखित सैद्धान्तिक पक्षको व्यवस्थित विवरण, वर्गीकरण र विश्लेषण गरिएको छ।
समयको आधारमा मृत्युसमय निर्धारण
मृत्युवञ्चनोपदेश ग्रन्थको पहिलो परिच्छेदमा वर्णन गरिएको विभिन्न लक्षणहरूको आधारमा हुने मृत्युको समयलाई क्रमशः न्यूनबाट अधिकको आधारमा विश्लेषण प्रस्तुत गरिएको छ।
तत्कालै हुने मृत्यु
यसमा तीनवटा लक्षणहरूको वर्णन छ। उर्णास्थानमा तीव्र वेदना भएमा (मृत्युवञ्चनोपदेश पाण्डुलिपि, प्रथम परिच्छेद, श्लोक सङ्ख्या ३४), कानको मूलभाग आँखीभौँको बिच भाग र निधारको अग्रभागमा ठाँउ सरि सरि तीव्र वेदना भएमा (श्लो. सं. ४३) र आफ्नो छायाँ दक्षिण दिशातर्फ गएको देखेमा (श्लो. सं. ११२) तत्कालै मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
निकट मृत्यु
यसमा सपनाको आधारमा तीनवटा लक्षणहरूको वर्णन छ। सपनामा धुँवा, बादल वा वर्षामा प्रवेश गरेको देखेमा (श्लो. सं. १२२), सपनामा रूखबाट खसेमा (श्लो. सं. १२२) र सपनामा बाँदरको रथमा सवार भएर पूर्व दिशामा जाँदै गर्दा ब्युँझिएमा (श्लो. सं. १२३) मृत्यु निकट छ भनी वर्णन गरिएको छ।
एक दिनमा हुने मृत्यु
यसमा ४ वटा लक्षणहरूको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। खुट्टाको बुढी औँलादेखि शिरसम्म तीव्र वेदना भएमा (श्लो. सं. ४५), कानको पछाडिको भागको नाडी हराएमा (श्लो. सं. ५२), सम्पूर्ण शरीर नै गलेमा (श्लो. सं. १०५) १ दिनमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
दुई दिनमा हुने मृत्यु
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। दाहिने नाकको तल्लो र माथिल्लो भागको ज्योति नष्ट भएमा (श्लो. सं. ९९) २ दिनमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
तीन दिनमा हुने मृत्यु
यसमा ७ वटा लक्षणहरूको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। एकैसाथ हात खुट्टा र नाभिमा तीव्र वेदना भएमा (श्लो. सं. २९), एकैसाथ हात खुट्टा र नाकमा तीव्र वेदना भएमा (श्लो. सं. ३१), जिब्रोको टुप्पो नदेखिएमा (श्लो. सं. ३३), एकैसाथ तीनवटै तालुमा बारम्बार तीव्र वेदना भएमा (श्लो. सं. ३९) र शरीर विकृत भएर दुर्गन्धित भएमा (श्लो. सं. ८०) ३ दिनमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
चार दिनमा हुने मृत्यु
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। दाहिने आँखाको तल्लो र माथिल्लो भागको ज्योति नष्ट भएमा (श्लो. सं. ९९) ४ दिनमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
पाँच दिनमा हुने मृत्यु
यसमा ५ वटा लक्षणहरूको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। आँखा र नाकमा स्पन्दन हराएमा (श्लो. सं. ४७), कानको पछाडिको भागको नाडी हराएमा (श्लो. सं. ५२), नाभिमा उल्टोपना भएमा (श्लो. सं. १०४), निधारका तीन रेखाहरूको नाश भएमा (श्लो. सं. १०५) र स्वस्थ रातो जिब्रोको एक्कासि रक्तता हराएमा (श्लो. सं. १०६) ५ दिनमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
सात दिनमा हुने मृत्यु
यसमा ८ वटा लक्षणहरूको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। ऐनामा बाँया आँखाको पुतली नदेखेमा (श्लो. सं. ४०), नाकको अग्रभागमा नाडी हराएमा (श्लो. सं. ४५), (श्लो. सं. ४९), नक्षत्र चन्द्रमा सप्तर्षि आदिको दिन तथा रातमा बारम्बार दर्शन भइरहेमा (श्लो. सं. ६४), शरीर आधा चिसो र आधा तातो भएमा (श्लो. सं. ७२), कपडाले शरीरलाई मजाले पुस्दा पनि कुनै आवाज नआएमा (श्लो. सं. ७६), सबै अङ्गहरू चिसो भएमा (श्लो. सं. ७६) र कालीकुमारी क्रोधित भएर बन्धनमा बाँधेर लगेको सपना देखेमा (श्लो. सं. १२०) ७ दिनमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।। ग्रन्थमा ४९ औ श्लोक यसप्रकार छ
अकस्मान्नासिकावक्रौ कर्णौ भ्रष्टौ स्वदेशतः।
नेत्रे च वर्त्तुली भूते सप्ताहान्मृत्युर्दर्शनम् ।। ४९।।
अकस्मात् नाक बाङ्गो भई कानले आफ्नो ठाँउ छोडी आँखा गोलाकार भएमा ७ दिनमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
दश दिनमा हुने मृत्यु
यसमा ३ वटा लक्षणहरूको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। आगो चिसो महसुस भएमा (श्लो. सं. ७३), पानी तातो महसुस भएमा (श्लो. सं. ७३) र जिब्रो फर्केमा (श्लो. सं. १०३) १० दिनमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
पन्ध्र दिनमा हुने मृत्यु
यसमा ३ वटा लक्षणहरूको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। अकस्मात् हृदयको आकार सानो भएमा (श्लो. सं. ५०), अकस्मात् घाँटीको सफा स्वरमा विकार आएमा (श्लो. सं. ५०) र अर्काको आँखामा प्रतिबिम्ब नदेख्नाले (श्लो. सं. १०३) १५ दिनमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
अठार दिनमा हुने मृत्यु
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। ग्रन्थमा श्लोक यसप्रकार छ
अनामिकानां मूलेषु दृष्ट्या कृष्णरेखया।
अष्टादशदिनादूर्धं मृत्युः प्राक्कर्मदोषतः।। ७४।।
साहिँली औलाको मूलमा कालो रेखा देखिएमा १८ दिनमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
एक महिनामा हुने मृत्यु
यसमा १९ वटा लक्षणहरूको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। देब्रे र दाहिने दुबै नाकमा तीव्र वेदना भएमा (श्लो. सं. ३५) र अचानक इन्द्रियले विषय ग्रहण गर्न नसकेमा (श्लो. सं. ५५) आदि लक्षणहरूमा १ महिनामा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
डेढ महिना (४५ दिन) मा हुने मृत्यु
यसमा २० वटा लक्षणहरूको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। एकैसाथ हृदय र घाँटीको मध्य भागमा तीव्र वेदना भएमा (श्लो. सं. ३८) र खुट्टाको बुढी औँलादेखि घाँटीसम्म तीव्र वेदना भएमा (श्लो. सं. ४५) आदि लक्षणहरूमा ४५ दिनमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
पचास दिनमा हुने मृत्यु
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। स्वस्थ रातो जिब्रोको एक्कासि रक्तता हराएमा (श्लो. सं. १०६) ५ देखि ५० दिनमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
दुई महिनामा हुने मृत्यु
यसमा ३ वटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। मुटु र खुट्टा सुनिएर रगत पनि बगेमा (श्लो. सं. ८१), देब्रे नाकको तल्लो र माथिल्लो भागको ज्योति नष्ट भएमा (श्लो. सं. ९८) र भ्रूमध्यको बिचमा ज्योतिको दर्शन नभएमा (श्लो. सं. १०२) ६० दिनमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
तीन महिनामा हुने मृत्यु
यसमा ६ वटा लक्षणहरूको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। एकैसाथ हात, खुट्टा र आँखामा तीव्र वेदना भएमा (श्लो. सं. ३०) र यौनसम्पर्कको समयमा कानभित्र घण्टीको आवाज गुञ्जिएमा (श्लो. सं. ४१) आदि लक्षणहरूमा ९० दिनमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
सय दिनमा हुने मृत्यु
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। आँखामा पीडा नदिकनै चारैतिर पहेँलो देखिएमा (श्लो. सं. ९७) १०० दिनमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
चार महिनामा हुने मृत्यु
यसमा ५ वटा लक्षणहरूको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। कानको अगाडिको भागमा तीव्र वेदना भएमा (श्लो. सं. ३४) र एकैसाथ दुबै हात दुबै खुट्टा विशेषतः कान्छी औँलाको जोर्नीमा तीव्र वेदना भएमा (श्लो. सं. ३७) आदि लक्षणहरूमा ४ महिनामा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
पाँच महिनामा हुने मृत्यु
यसमा ३ वटा लक्षणहरूको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। गालामा स्पर्शता हराएमा (श्लो. सं. ४६), निधारमा माउसुली चढेमा (श्लो. सं. ७५) आदि लक्षणहरूमा ५ महिनामा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
हाच्छिउँ जतिपटक आउँछ त्यति नै महिनामा हुने मृत्यु
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। यौन सम्पर्क गर्दै गर्दा हाच्छिउँ जतिपटक आउँछ त्यति नै महिनामा (श्लो. सं. ३६) मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
छ महिनामा हुने मृत्यु
यसमा २७ वटा लक्षणहरूको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। शुक्लप्रतिपदामा वीर्यको रङ्ग परिवर्तन भई कालो भएमा (श्लो. सं. ४२), खुट्टाको बुढी औँलादेखि नाभिसम्म सँधै तीव्र वेदना भएमा (श्लो. सं. ४४), आँखामा अकस्मात् ताराको गुजुल्टो देखिएमा (श्लो. सं. ४८) आदि
आठ महिनामा हुने मृत्यु
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। रातो माला धसी रातो चन्दन घसेको र रातै लुगा लगाएको व्यक्तिलाई सपनामा भेटेमा (श्लो. सं. १३०) ८ महिनामा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
एक वर्षमा हुने मृत्यु
यसमा १५ वटा लक्षणहरूको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। हाच्छिउँ आउँदा एकैसाथ घाँटी र कम्मरमा तीव्र वेदना भएमा (श्लो. सं. ३२), दुब्लो पातलो शरीर अचानक घैलाजस्तो डरलाग्दो मोटो भएमा (श्लो. सं. ५४) आदि लक्षणहरूमा १ वर्षमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
दुई वर्षमा हुने मृत्यु
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। कान साह्रो दुखेर गुनगुन गम्भीर आवाज आएर २० दिनसम्म केहीपनि नसुनेमा (श्लो. सं. ९२) २ वर्षमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
तीन वर्षमा हुने मृत्यु
यसमा दुईवटा लक्षणहरूको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। अचानक कालो र पहेंलो रङ्ग भएको मान्छे देखा परेमा (श्लो. सं. ७९), कान साह्रो दुखेर गुनगुन गम्भीर आवाज आएर १५ दिनसम्म केहीपनि नसुनेमा (श्लो. सं. ९२) ३ वर्षमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
चार वर्षमा हुने मृत्यु
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। कान साह्रो दुखेर गुनगुन गम्भीर आवाज आएर १० दिनसम्म केहीपनि नसुनेमा (श्लो. सं. ९२) ४ वर्षमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
पाँच वर्षमा हुने मृत्यु
यसमा दुईवटा लक्षणहरूको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। गड् गड् गरेर नाभि तीव्र दुखेमा (श्लो. सं. ३३), कान साह्रो दुखेर गुनगुन गम्भीर आवाज आएर ५ दिनसम्म केहीपनि नसुनेमा (श्लो. सं. ९२) ५ वर्षमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
मृत्युको कारणको आधारमा मृत्युसमय निर्धारण
मृत्युवञ्चनोपदेश ग्रन्थको पहिलो परिच्छेदमा वर्णन गरिएको विभिन्न लक्षणहरूको आधारमा हुने मृत्युको कारणहरूलाई क्रमशः अधिकबाट न्यून क्रमको आधारमा विश्लेषण प्रस्तुत गरिएको छ।
सपनाको आधारमा हुने मृत्यु
यसमा सपनामा रूखबाट खसेमा (श्लो. सं. १२२), कुकुरले खाँदै वा लखेट्दै गरेको सपना देखेमा (श्लो. सं. १२५) आदि २६ वटा लक्षणहरूको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। जसमा निकट मृत्युदेखि १ वर्षभित्रमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
दृष्टिभ्रमका आधारमा हुने मृत्यु
यसमा नक्षत्र, चन्द्रमा, सप्तर्षि आदिको दिन र रात बारम्बार दर्शन भइरहेमा (श्लो. सं. ६४), बादल बिनाको स्वच्छ दिनमा सिधा अगाडि आकाशको बिचमा बालुवा, मोतीको हार, मोतीको माला र अन्य विभिन्न विभुषणहरू देखिएमा (श्लो. सं. ८४) आदि २१ वटा लक्षणहरूको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। जसमा एक हप्तादेखि ६ महिनामा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
शारीरिक वेदनाका आधारमा हुने मृत्यु
यसमा गड् गड् गरेर नाभि दुखेमा (श्लो. सं. ३३) र कानको मूलभाग आँखीभौँको बिच भाग र निधारको अग्रभागमा ठाँउ सरि सरि तीव्र वेदना भएमा (श्लो. सं. ४३) आदि १६ वटा लक्षणहरूको आधारमा तत्कालैदेखि ५ वर्षभित्रमा व्यक्तिको मृत्यु हुन्छ भनी मृत्युसमय निर्धारण गरिएको छ।
आँखाको विकारले हुने मृत्यु
यसमा देब्रे आँखाको तल्लो र माथिल्लो भागको ज्योति नष्ट भएमा (श्लो. सं. ९८), दाहिने आँखाको तल्लो र माथिल्लो भागको ज्योति नष्ट भएमा (श्लो. सं. ९९) आदि १० वटा लक्षणहरूको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। जसमा ४ दिनदेखि ६ महिनासम्ममा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
श्रवणेन्द्रियमा विकार
यसमा कान साह्रो दुखेर गुनगुन गम्भीर आवाज आएर पाँच दिनसम्म केहीपनि नसुनेमा (श्लो. सं. ९२), कान साह्रो दुखेर गुनगुन गम्भीर आवाज आएर २५ दिनसम्म केहीपनि नसुनेमा(श्लो. सं. ९४) आदि ५ वटा लक्षणहरू दिएको छ। जसमा १ वर्षदेखि ५ वर्षभित्रमा हुने मृत्युसमयको निर्धारण गरिएको छ।
स्पर्शेन्द्रियमा हुने विकार
यसमा गालामा स्पर्शता हराएमा (श्लो. सं. ४६), कपडाले शरीरलाई मजाले पुस्दा पनि कुनै आवाज नआएमा(श्लो. सं. ७६) आदि पाँचवटा लक्षणहरूको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। जसमा ७ दिनदेखि ५ महिनाभित्रमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
नाडीमा हुने विकार
यसमा नाकको अग्रभागमा शिथिलता भएमा (श्लो. सं. ४६), आँखा र नाकमा स्पन्दन हराएमा (श्लो. सं. ४७) र कानको पछाडिको भागको नाडी हराएमा (श्लो. सं. ५२) जस्ता तीनवटा लक्षणहरूको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। जसमा १ दिनदेखि ७ दिनभित्रमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
कानमा विकार
यसमा देब्रे कानको तल्लो र माथिल्लो भागको ज्योति नष्ट भएमा (श्लो. सं. ९८), दाहिने कानको तल्लो र माथिल्लो भागको ज्योति नष्ट भएमा (श्लो. सं. ९९) र कानहरूमा बाधा उत्पन्न भएमा (श्लो. सं. १०१) जस्ता तीनवटा लक्षणहरूको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। जसमा ३ दिनदेखि ४ महिनामा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
नाकमा विकार
यसमा देब्रे नाकको तल्लो र माथिल्लो भागको ज्योति नष्ट भएमा (श्लो. सं. ९८), दाहिने नाकको तल्लो र माथिल्लो भागको ज्योति नष्ट भएमा (श्लो. सं. ९९), नाकको अग्र भागको ज्योति नष्ट भएमा (श्लो. सं. १००) र तीनवटा लक्षणहरूको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। जसमा २ दिनदेखि ५ महिनामा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
आफ्नो शरीरको छायाँमा विकार
यसमा आफ्नो शरीरको छाया आफू स्थिर हुँदा पनि अस्थिर छ भने (श्लो. सं. १११) र आफ्नो छायाँ दक्षिण दिशातर्फ गएको देखेमा (श्लो. सं. ११२) जस्ता दुईवटा लक्षणहरूको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। जसमा तत्कालैदेखि ४ महिनाभित्रमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
पिसाबमा विकार
यसमा लगातार पाँच पटकसम्म देब्रेपटि गोलाकार रूपमा तथा दुर्गन्धित पिसाब बहेमा (श्लो. सं. १०८) र कृष्ण वा शुक्ल पक्षमा पिसाब क्रमशः झन् कालो भएमा (श्लो. सं. १०९) जस्ता दुईवटा लक्षणहरूको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। जसमा ६ महिनामा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
जिब्रोमा विकार
यसमा जिब्रो फर्केमा (श्लो. सं. १०३) र स्वस्थ रातो जिब्रोको एक्कासि रक्तता हराएमा (श्लो. सं. १०६) जस्ता दुईवटा लक्षणहरूको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। जसमा १० दिनदेखि ५० दिनसम्ममा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
अङ्गको वनावटमा विकार
यसमा अकस्मात् नाक बाङ्गो भई कानले आफ्नो ठाँउ छोडी आँखा गोलाकार भएमा (श्लो. सं. ४९) र अकस्मात् हृदयको आकार सानो भएमा (श्लो. सं. ५०) जस्ता दुईवटा लक्षणहरूको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। जसमा १५ दिनदेखि ७ महिनामा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
घाँटीमा विकार
यसमा देब्रे घाँटीको तल्लो र माथिल्लो भागको ज्योति नष्ट भएमा (श्लो. सं. ९८) तथा दाहिने घाँटीको तल्लो र माथिल्लो भागको ज्योति नष्ट भएमा (श्लो. सं. ९९) जस्ता दुईवटा लक्षणहरूको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। जसमा १ दिनदेखि १ महिनामा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
रगतको मात्रामा कमी
यसमा अकस्मात् रातो रङ्गको नङमा रातोपना हराएमा (श्लो. सं. ५३) र मुख कमल जस्तै सेतो देखिनु (श्लो. सं. ६८) जस्ता दुईवटा लक्षणहरूको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। जसमा १५ दिनदेखि ७ महिनामा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
नाभिमा हुने विकार
यसमा एउटा लक्षण नाभिमा उल्टोपनाको आधारमा (श्लो. सं. १०४) मृत्युसमय निर्धारण गरिएको छ। जसमा ५ दिनमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
जिब्रो र नाभिमा एकसाथ विकार
यसमा एउटा लक्षण जिब्रो फर्केर नाभिमा उल्टोपना पनि एकैसाथ भएको आधारमा (श्लो. सं. १०४) मृत्युसमय निर्धारण गरिएको छ। जसमा ३ दिनमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
जिब्रो र दाँतमा एकसाथ विकार
यसमा एउटा लक्षण अकस्मात् जिब्रोको मध्यभागमा कालो रेखा देखिएमा र दाँतमा झन्झनाहट सहित तीव्र वेदनाको आधारमा (श्लो. सं. ५१) मृत्युसमय निर्धारण गरिएको छ। जसमा २ दिनमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
स्वस्थ इन्द्रियको पतन
यसमा एउटा लक्षण स्वस्थ इन्द्रियको पतन भएको आधारमा (श्लो. सं. १०१) मृत्युसमय निर्धारण गरिएको छ। जसमा ३ महिनामा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
वीर्य र पिसाबको रस र रङ्गमा विकार
यसमा एउटा लक्षण वीर्य र पिसाबको अम्लीयपना र रूपको नीलोपनामा विकार आएको आधारमा (श्लो. सं. १०७) मृत्युसमय निर्धारण गरिएको छ। जसमा ६ महिनामा मृत्यु हुने छ भनी उल्लेख गरिएको छ।
अण्डकोषमा विकार
यसमा एउटा लक्षण अण्डकोषको गोलोपना नष्ट भएको आधारमा (श्लो. सं. १०२) मृत्युसमय निर्धारण गरिएको छ। जसमा १ महिनामा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
सम्पूर्ण शरीर नै गल्नु
यसमा एउटा लक्षण सम्पूर्ण शरीर नै गलेको आधारमा (श्लो. सं. १०५) मृत्युसमय निर्धारण गरिएको छ। जसमा १ दिनमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
निधारका रेखाहरूको नाश
यसमा एउटा लक्षण निधारका तीन रेखाहरूको नाश भएको आधारमा (श्लो. सं. १०५) मृत्युसमय निर्धारण गरिएको छ। जसमा ५ दिनमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
स्वरमा विकार
यसमा एउटा लक्षण अकस्मात् घाँटीको सफा स्वरमा विकार आएको आधारमा (श्लो. सं. ५०) मृत्युसमय निर्धारण गरिएको छ। जसमा १५ दिनमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
हाच्छिउँ आउँदा
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। यौन सम्पर्क गर्दै गर्दा जतिपटक हाच्छिउँ आउँछ त्यतिनै महिना भित्रमा (श्लो. सं. ३६) मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
कानमा घण्टीको आवाज गुञ्जिनु
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। यौन सम्पर्कको समयमा कानमा घण्टीको आवाज गुञ्जिएमा (श्लो. सं. ४१) ३ महिनामा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
वीर्यको रङ्गमा परिवर्तन
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। शुक्लप्रतिपदामा वीर्यको रङ्गमा परिवर्तन भई कालो भएमा रगतको रोगको कारण (श्लो. सं. ४२) ६ महिनामा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
आफ्नै अङ्ग नदेखेमा
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। जिब्रोको टुप्पो नदेखिएमा (श्लो. सं. ३३) ३ दिनमै मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
शरीर एक्कासि धेरै मोटो भएमा
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। ग्रन्थमा श्लोक यसप्रकार छ
अकस्माज्जायते स्थूलं कृशः कुंहो भयाकुलः।
यस्तस्य मृत्युर्वर्षेण यदि धर्मन्न सेवते।। ५४।।
दुब्लो पातलो शरीर अचानक घैलाजस्तो डरलाग्दो मोटो भएमा १ वर्षमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
इन्द्रियमा विकार
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। अचानक इन्द्रियले विषय ग्रहण गर्न नसकेमा (श्लो. सं. ५५) १ महिनामा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
बारम्बार बरबराउनु
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। बारम्बार बरबराएमा (श्लो. सं. ५६) १ महिनामा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
शत्रु चराहरूको एकता
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। हाँस, काग र मयुरलाई एकैठाउँ मिलेर बसेको देखेमा (श्लो. सं. ५८) १ महिनामा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
बारम्बार काँप्नु
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। बारम्बार काँपेमा (श्लो. सं. ६०) १ महिनामा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
बारम्बार बरबराउनु
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। बारम्बार बरबराएमा (श्लो. सं. ५६) १ महिनामा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
बारम्बार मुर्छा पर्नु
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। बारम्बार मुर्छा परेमा (श्लो. सं. ६०) १ महिनामा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
पिसाब दिसाको रङमा परिवर्तन
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। ग्रन्थमा श्लोक यसप्रकार छ
छर्दि मूत्रं पुरीषं च सुवर्णरजतप्रभम्।
पश्येत् एकैकतस्तस्य मृत्युर्मासावधेर्भवेत्।। ६१।।
पिसाब सुन जस्तो रातो र दिसा चाँदी जस्तै सेतो भएमा (श्लो. सं. ६१) १ महिनामा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
शरीरमा प्वालहरू देखिनु
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। घाँटी तालु र जिब्रो तथा शरीरमा प्वालहरू देखिएमा (श्लो. सं. ६२) ६ महिनामा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
शरीरका विभिन्न अङ्ग सुनिनु
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। घाँटी, ओठ, तालु, जिब्रो र दाँत भिन्नाभिन्नै सुनिएर अत्यधिक दुखेमा (श्लो. सं. ६३) ६ महिनामा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
नक्षत्रको छायाँ दर्शन
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। रातमा अचानक अरुन्धति रोहिणी र ध्रुव ताराहरूको नक्षत्रको छायाँ पथ देखिएमा (श्लो. सं. ६५) ६ महिनामा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
अधिक हिक्क हिक्क आएमा
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। नाभिमा बारम्बार हिक्क हिक्क आएमा (श्लो. सं. ६८) ४५ दिनमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
अधिक पाद आएमा
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। बारम्बार गुदाद्वारबाट पाद आएमा (श्लो. सं. ६८) ४५ दिनमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
शरीरमा दाग देखिनु
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। शरीरमा विभिन्न दागहरू देखिएमा (श्लो. सं. ६८) ४५ दिनमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
शरीरमा रङ्गहरू देखिनु
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। शरीरमा विभिन्न रङ्गहरू देखिएमा (श्लो. सं. ६८) ४५ दिनमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
हृदयमा कुण्ठा
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। हृदयमा कुण्ठा भएमा (श्लो. सं. ६९) ४५ दिनमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
तालु काँप्नु
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। आँसुसहित तालु काँपेमा (श्लो. सं. ६९) ४५ दिनमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
आँसु तातो हुनु
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। देब्रे आँखाको आँसु सूर्यजस्तै तातो भएमा (श्लो. सं. ६९) ४५ दिनमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
आँसु चिसो हुनु
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। दाहिने आँखाको आँसु हिउँजस्तै चिसो भएमा (श्लो. सं. ६९) ४५ दिनमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
मलमूत्रको एकसाथ निष्कासन
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। पिसाब, वीर्य र दिसा एकै समयमा आएमा (श्लो. सं. ७१) १ वर्षमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
शरीरको न्यानोपनामा विकार
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। शरीर आधा चिसो र आधा तातो भएमा (श्लो. सं. ७२) ७ रातपछि मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
औँलामा कालो रेखा देखिनु
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। साहिँली औलाको मूलमा कालो रेखा देखिएमा (श्लो. सं. ७४) १८ दिनमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
निधारमा माउसुली चढ्नु
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। निधारमा माउसुली चढेमा (श्लो. सं. ७५) ५ महिनामा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
हिलो वा धुलोमा खुट्टा पर्नाले
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। हिलोमा वा धुलोमा खुट्टाको अगाडि वा पछाडिको केही भाग डुबेमा (श्लो. सं. ७८) ४ महिनामा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
अनौठो मान्छे देखिएमा
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। अचानक कालो र पहेंलो रङ्ग भएको मान्छे देखा परेमा(श्लो. सं. ७९) ३ वर्षमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
मुटु र खुट्टा सुनिएर रगत बग्नु
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। मुटु र खुट्टा सुनिएर रगत पनि बगेमा (श्लो. सं. ८०) २ महिनामा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
शरीर विकृत भएर दुर्गन्धित हुनु
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। शरीर विकृत भएर दुर्गन्धित भएमा (श्लो. सं. ८०) ३ रात पछि मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
धेरै सर्पहरू एकैठाउँ देखिनु
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। धेरै सर्पहरू एकैठाउँ गुजुल्टिएर बसेको देखिएमा (श्लो. सं. ८५) ६ महिनामा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
चन्द्रमाको प्रकाशमा सेतो रूपको छायाँमा टाउको नदेखिनु
यसमा एउटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। बिहान वा साँझमा, चन्द्रमाको प्रकाशमा, बाराम्बार लामो समयसम्म मानिसको सेतो रूपको छायाँमा टाउको नदेखिएमा (श्लो. सं. ८७) ६ महिनामा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
जनै
यसमा दुइटा लक्षणको आधारमा मृत्युसमय निर्धारण गरिएको छ। ग्रन्थमा श्लोक यसप्रकार छ
युगपन्निर्गमो बाहुजङ्घयोर्यस्य गच्छतः ।
विनाशो ब्रह्मसूत्रस्य मृत्युस्तस्यैकवर्षतः।। ७७।।
हात र घुँडाबाट एकैसाथ जनै निस्केमा तथा जनै चुँडिएमा पनि (श्लो. सं. ७७) १ वर्षमा मृत्यु हुने छ भनी वर्णन गरिएको छ।
निष्कर्ष
मृत्युवञ्चनोपदेश ग्रन्थको प्रथम परिच्छेदमा वर्णित मृत्युसमय निर्धारक तत्त्वहरूको अध्ययनले निम्नलिखित निष्कर्षहरू प्राप्त हुन्छ। ग्रन्थले मृत्युका लक्षणहरूको अत्यन्त विस्तृत र सूक्ष्म विवरण प्रस्तुत गर्दछ। जसअनुसार मानिसको शरीर, इन्द्रिय, सपना, दृष्टिभ्रम, छायाँ, स्वर, र त्यहाँसम्म कि पिसाब र वीर्यको रङ्ग र स्वभावसम्म पनि मृत्युको सूचक हुन सक्छ। यी सयौं लक्षणहरूलाई मुख्य रूपमा (क) सपनासम्बन्धी (२६ लक्षण), (ख) दृष्टिभ्रमसम्बन्धी (२१ लक्षण), (ग) शारीरिक वेदनासम्बन्धी (१६ लक्षण), (घ) आँखा, कान, नाक, नाडी, जिब्रो, घाँटी आदि इन्द्रिय विकारसम्बन्धी, र (ङ) शारीरिक छायाँमा आएको विकारसम्बन्धी जस्ता प्रमुख श्रेणीहरूमा विभाजन गर्न सकिन्छ। लक्षणहरूको आधारमा मृत्युको समय तत्कालै (३ लक्षण) देखि लिएर ५ वर्ष (२ लक्षण) सम्म लामो अवधिको निर्धारण गरिएको छ। बीचमा १ दिन, २ दिन, ३ दिन, ७ दिन, १५ दिन, १८ दिन, १ महिना, ४५ दिन, २/३/४/५ महिना, ६ महिना, १ वर्ष, २ वर्ष, ३ वर्ष, ४ वर्ष र ५ वर्ष जस्ता विभिन्न समयावधिहरू उल्लेख छन्। ग्रन्थले मृत्युलाई एक नियतिबद्ध घटनामात्र होइन, एउटा यस्तो प्रक्रिया को रूपमा प्रस्तुत गर्दछ जसलाई सचेत रूपमा पहिचान गरी विजय पनि गर्न सकिन्छ। यसले बौद्ध वज्रयानको तान्त्रिक साधनाको व्यावहारिक पक्षलाई उजागर गर्दछ। श्लोक सङ्ख्या ७८ मा “हिलोमा वा धुलोमा खुट्टाको अगाडि वा पछाडिको केही भाग डुबेमा ४ महिनामा मृत्यु हुने छ” भनी गरिएको वर्णन अतिरञ्जनापूर्ण छ। संसारको जुनसुकै ठाउँमा पनि वर्षा ऋतुमा हिलोमा खुट्टा डुब्नु सामान्य घटना हो साथै श्लोक सङ्ख्या ७७ मा “जनै चुडिँदा वा झर्दा एक वर्षभित्र मृत्यु हुन्छ” भन्ने वर्णनले ग्रन्थको रचनाकालीन सामाजिक-सांस्कृतिक परिवेशलाई इङ्गित गर्दछ, जहाँ बौद्ध भिक्षुहरूमा प्रचलित नभए पनि सामान्य समाजमा हिन्दू संस्कारको प्रभाव रहेको अनुमान गर्न सकिन्छ। बौद्ध ग्रन्थमा यस्तो उल्लेख हुनु एक विरोधाभासी तथ्य हो। अन्त्यमा, मृत्युवञ्चनोपदेशको प्रथम परिच्छेद मृत्युविज्ञान सम्बन्धी प्राचीन ज्ञानको एक अद्वितीय र महत्त्वपूर्ण ग्रन्थ हो। यसको थप गहन अध्ययन, सम्पादन र प्रकाशनले नेपाली बौद्ध दर्शन, आयुर्वेद, र ज्योतिषशास्त्रको इतिहासमा महत्त्वपूर्ण योगदान दिन सक्ने छ।
सन्दर्भसूची
दाहाल, निरज. (२०८०-२०८२). मृत्युवञ्चनोपदेश पाण्डुलिपिको सम्पादन तथा नेपाली र अङ्ग्रेजी भाषामा रूपान्तरण (SRDIG-78/79-H&S-05). [अनुदान]. सानोठिमी : विश्वविद्यालय अनुदान आयोग नेपाल।
नेगी, ठाकुरसेन. (सन् २००६). पञ्चरक्षा देवीयोँ के विविध स्वरूप. धीः, अङ्क ४२, पृ. १-१४।
भटाचार्य, वेनयतोष (सम्पा.). (सन् १९२५).साधनामाला भाग १. बरोदा : सेन्ट्रल लाइब्रेरी बरोदा भारत।
मृत्युवञ्चनोपदेश (पाण्डुलिपि), राष्ट्रिय अभिलेखालय, लगतसङ्ख्या ५२८८, विषयसङ्ख्या ११०, रिल नं. बि९०/१२।
लाल, बनारसी. (सन् १९९८). बौद्ध तन्त्र साहित्य का वर्गीकरण. धीः. ५, पृ. ६३-८२।
लाल, बनारसी. (सन् १९९३). महापण्डित वागीश्वरकीर् एवं उनकी रचनायें. धीः, १६, पृ. ७७-८४।
शाक्य,मीन बहादुर (सम्पा.). (सन् २००४).पञ्चरक्षा सूत्र, पाटन : नागार्जुन बौद्ध अध्ययन संस्थान ।
[1] लेखक नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मीकि विद्यापीठको बौद्धदर्शन विभागमा उपप्राध्यापक हुनुहुन्छ।