यस अनुसन्धानात्मक लेखमा प्राकृत भाषाको परिचय, विशेषता र विकासक्रमलाई देखाइएको छ। प्राचीन कालदेखि नै जनमानसको प्रत्यक्ष बोलीका रूपमा व्यवहार हुँदै आएको प्राकृत भाषाको विकास वैदिक संहिताबाट अप्रत्यक्ष रूपमा भएको पाइन्छ। तत्कालीन सामाजिक व्यवस्थाले गर्दा वर्ग र आर्थिक सामाजिक हिसाबले भाषिक प्रयोगको अवस्था समाजमा विद्यमान रहेका अनेक प्रमाण उपलब्ध हुन्छन्।
मधुसूदन घिमिरे
madhusudhan.ghimire74@gmail.com
लेखसार
यस अनुसन्धानात्मक लेखमा प्राकृत भाषाको परिचय, विशेषता र विकासक्रमलाई देखाइएको छ। प्राचीन कालदेखि नै जनमानसको प्रत्यक्ष बोलीका रूपमा व्यवहार हुँदै आएको प्राकृत भाषाको विकास वैदिक संहिताबाट अप्रत्यक्ष रूपमा भएको पाइन्छ। तत्कालीन सामाजिक व्यवस्थाले गर्दा वर्ग र आर्थिक सामाजिक हिसाबले भाषिक प्रयोगको अवस्था समाजमा विद्यमान रहेका अनेक प्रमाण उपलब्ध हुन्छन्। उच्च र कुलीन वर्गले संस्कृत तदतिरिक्तले प्राकृत भाषाको प्रयोग गर्ने गरिएको प्रमाण उपलब्ध छन्। यस विषयमा मूल विश्लेषण खण्डमा स्पष्ट रूपमा उल्लेख गरिएको छ।भाषा मानवीय विचार आदान प्रदानको प्रमुख माध्यम हो। संसारमा कयौँ भाषा परिवारका अनेक भाषा बोलिन्छन्। संस्कृत, प्राकृतका साथै तिनैबाट अपभ्रंश हुँदै आएका आधुनिक भाषा र हाम्रो राष्ट्र भाषा नेपालीको संस्कृतको पनि मूल स्रोत पनि संस्कृत, प्राकृत नै हो। संस्कृत भाषासँग भाषा तत्त्व र बनोटका आधारमा नजिक भए पनि प्राकृत भाषा स्वतन्त्र र अनेक ज्ञान विज्ञानले पूर्ण भएको मानिन्छ। विशेष गरी जैन र बौद्धलगायतका साहित्य प्राकृत भाषामा नै निबद्ध छन्। अनेक विशेषताले सुसज्जित प्राकृत भाषाक बारेमा यथातथ्य प्रस्तुत गर्ने कार्य यस लघु अनुसन्धानमूलक लेखमा गरिएको छ।
शब्दकुञ्जी : प्राकृतभाषा, भाषातत्त्व, विकासक्रम, मानवीय विचार।
विषय परिचय
भारोपेली भाषा परिवारमा अनेकौँ समृद्ध भाषाहरू रहेका छन्,तीमध्ये कतिपय वर्तमानमा लेखोट र बोलचालमा नरहेको पाइन्छ। यस्तै मध्येको एक भाषा प्राकृत हो। प्राकृत भाषाको इतिहास खोज्दै जाँदा वेदसम्म पुग्नुपर्ने हुन्छ। प्राकृत भाषाको साङ्गोपाङ्गो इतिहास प्राप्त गर्न कठिनाइ हुन्छ तथापि यो भाषा साहित्य व्याकरण आदिका साथै बोलचालमा रहेको साक्ष्यहरू प्रशस्त छन्।मानव समाजको विकाससँगसँगै यसको पनि विकास भएको पाइन्छ। प्राकृत प्रकाशको प्रस्तावनामा पर्वतीय उदयराम डम्बरालले’ प्रकृत्या स्वभावेन सिद्धम् प्राकृतम्। ततश्च वैयाकरणैः साधितम् संस्कृतमित्यभिधीयते (डबराल, २०६३, २)। अर्थात् स्वाभाविक रूपमा सिद्ध भएको भाषा प्राकृत हो, त्यसपछि वैयाकरणहरूले संस्कृतलाई सिद्ध गरे भन्ने भनाइ राखेका छन्। संस्कृत र प्राकृत कुन पुरानो हो भन्ने विषय विद्वान्हरुका बिचमा बहसको विषय बनेको पाइए पनि यस लेखमा त्यतातर्फ जानू त्यति न्यायोचित नहुने भएकाले प्राकृत भाषाको सङ्क्षिप्त अध्ययन गर्ने कोसिस गरिएको छ।
प्राचीनकालमा जनमानसको बोलचालको भाषा रहेको प्राकृत समृद्ध भाषा थियो। यसमा विशेष गरी जैन साहित्य समाहित भएको पाइन्छ। प्राकृत भाषाको प्रयोग संस्कृत नाटकमाहरूमा पनि प्रशस्त भएको देखिन्छ। प्राकृत भाषाको विकासको अवस्था र स्वरूप पहिचानका साथ विश्लेषण गर्नु यस शोधलेखको उद्देश्य रहेको छ।
भाषाका सन्दर्भमा प्राकृत भाषाको इतिहास वैभवशाली रहेको तथ्य निर्विवाद छ । वैदिककालपछि यसको प्रयोगमा बढोत्तरी पाउन थालियो। तत्कालीन राज्यव्यवस्था र सामाजिक व्यवस्थामा उच्च वर्गले संस्कृत भाषाको प्रयोग गर्ने गरेको इतिहास संस्कृत भाषामा लेखिएका नाटकहरूबाट स्पष्ट हुन्छ। यसलाई नाट्यशास्त्रम् आचार्य भरतले र उनी परवर्ती अन्य लक्षणशास्त्रीहरूले पनि प्रत्यक्ष, अप्रत्यक्ष सङ्केत गरेका छन्। संस्कृत भाषाकै समकक्षी भएर विकसित भएको भाषा प्राकृत मानिन्छ। अनेक दृष्टिले सम्पन्न यस भाषामा व्याकरण, साहित्य जस्ता वाङ्मय सुरक्षित रहेको पाइन्छ। यस भाषाका बारेमा प्रशस्त अध्ययन अनुसन्धान भारततिर भएको देखिन्छ। प्रसिद्ध भाषाशास्त्री भोलानाथ तिवारीले सन् १९५५ मा आफ्नो भाषा विज्ञान नामक पुस्तकमा आधुनिक भाषाहरूको विकासक्रम देखाउँदा संस्कृत, प्राकृत हुँदै आधुनिक भाषाहरू विकास भएको तथ्यलाई प्रस्तुत गरेको भेटिन्छ । त्यसैगरी डाक्टर केशवराव मुसल गाँवकरले संस्कृत महाकाव्य कि परम्परा ( सन् १९९१) संस्कृत महाकाव्यको सैद्धान्तिक स्वरूप देखाउँदा सङ्क्षिप्त प्राकृत भाषाका बारेमा उल्लेख गरेका छन्।
डाक्टर रामसागर त्रिपाठीले संस्कृत साहित्य का इतिहास (सन् १९९१) संस्कृत साहित्य र साहित्यसहित वाङ्मयलाई केलाउँदा प्राकृत भाषाको सुरुवात यस सम्बन्धी इतिहासलाई पनि केलाएका छन्। सन् २००८ मा प्रकाशित डाक्टर भोलाशंकर व्यासको ’ भारतीय साहित्य कि रूपरेखा नामक अनुसन्धानात्मक कृतिमा वैदिक साहित्य, संस्कृत साहित्य पछि प्राकृत साहित्यको विशद चर्चा परिचर्चा र यसको विकासक्रम केलाउने प्रयास गरेको देखिन्छ। आचार्य बलदेवले सन् १९१० मा संस्कृत शास्त्रो का इतिहास मा समग्र संस्कृत वाङ्मयको प्रस्तुतिका क्रममा प्राकृत भाषाको केही सान्दर्भिक व्याख्या गरेको पाइन्छ। यसका अतिरिक्त २०६७ सालमा त्रिभुवन विश्वविद्यालय नेपाल र एसियाली अनुसन्धान केन्द्र कीर्तिपुरमा प्राकृत भाषाको संरचना, वैशिष्ट्य र शब्दहरूसमेत दिइएका छन्।
यसरी समय समयमा प्राकृत भाषाका बारेमा अन्वेषण भएका भए पनि प्राकृत भाषा साहित्यको वैशिष्ट्य प्रतिपादन विशेष गरी नेपालमा नभएकाले यस आलेखमा त्यसलाई देखाउने जमर्को गरिएको छ। भारतीय विश्वविद्यालयहरूमा यसको अध्ययन अध्यापन हुने भएकाले यसको विकास विस्तार भारततिर प्रशस्त भएको पाइन्छ। नेपालमा यस सम्बन्धी खोजअनुसन्धान भएको मेरो निजी खोजाइमा उपलब्ध हुन सकेन। आधुनिक भाषा विकासमा समेत सान्दर्भिक योगदान दिएको प्राकृत भाषाको संक्षिप्त नै भए पनि अध्ययन अनुसन्धान हुन पर्छ भन्ने ध्येयका साथ यस लघु आलेखमा यसलाई समेट्ने जमर्को गरिएको हो। नेपालका परिप्रेक्ष्यमा सूत्रात्मक अध्ययनले आगामी दिनमा अझ विहङ्गम अध्ययन अनुसन्धान भई यसबाट आवश्यक ज्ञान र तत्कालीन समयको सामाजिक, आर्थिक, भाषिक, साहित्यिक विशेषता जान्न र त्यसको मर्मबोध गर्न सहज हुन्छ भन्ने उद्देश्यका साथ यसलाई जनमानस समक्ष ल्याउने प्रयास गरिएको हो।
अध्ययन विधि
खोजमूलक लेखहरूका लागि सामग्री सङ्कलन र त्यसको विश्लेषण महत्त्वपूर्ण मानिन्छ। सङ्कलित सामग्रीलाई के कस्तो तरिकाले राख्ने भन्ने विषय नै अध्ययन विधि हो। यो अनुसन्धानका लागि महत्त्वपूर्ण हुन आउँछ। यस लेखमा सामग्री मुख्यतः द्वितीय स्रोतबाट लिइएको छ। द्वितीय स्रोतमा पनि अनुसन्धानमूलक लेख र पुस्तकहरूबाट यस प्राकृत भाषाको वैशिष्ट्य शीर्षक अन्तर्गत लघु आलेख गुणात्मक रहेकाले पुस्तकालयबाट सामग्री सङ्कलन गरिनुका साथै विभिन्न अनलाइनका पत्रपत्रिकाबाट समेत सामग्री ग्रहण गरी त्यसको सत्यापन गर्दै व्याख्या, विश्लेषण, तुलनात्मक विधिको उपयोग यसमा पाइन्छ।
प्राकृत भाषाको परिचय र विशेषता
संस्कृत, प्राकृत अपभ्रंश हुँदै अनेक आधुनिक भाषाहरूको विकास भएको तथ्य सर्व मानित पाइन्छ। संस्कृतकै समकक्षीका र सम्पन्न भाषा प्राकृत हो। यसमा पनि साहित्य,व्याकरण र कोश आदिको सिर्जना भएको देखिन्छ। प्रथम साहित्य चिन्तक आचार्य भरतले आफ्नो’ नाट्यशास्त्रम् नामक लक्षण ग्रन्थमा नाटककेन्द्रित समीक्षा गर्ने सन्दर्भमा नाटकमा प्रयुक्त कुन पात्रले कस्तो भाषा बोल्ने सङ्केत गरेको पाइन्छ। बीज रूपमा वैदिककालदेखि नै रहेको प्राकृत भाषा लौकिक संस्कृतको विकास भएपश्चात् त्यसकै समकक्षीका रुपमा विकसित हुँदै गएको पाइन्छ। लौकिक संस्कृत भाषाको नियमन र व्यवस्थित बनाउने कार्यमा पाणिनि, कात्यायन, पतञ्जलि जस्ता वैयाकरणहरूको महान् योगदान रहेको पाइन्छ। पाणिनिले कतिपय सन्दर्भमा वैदिक भाषाको पनि विवेचना गरेका छन् तर उनले जति सहजताका साथ लौकिक संस्कृतलाई व्यवस्थित बनाउने कार्य गरे त्यति वैदिक संस्कृतको गर्न सकेको देखिँदैन। उनले कतिपय शब्द निर्माण बहुलताको सिद्धान्त प्रयोग गरेका छन्। बहुलताको आशय आवश्यकताको सिद्धान्त हो। संस्कृत व्याकरणमा जुन योगदान पाणिनिको छ, त्यस्तै योगदान वररुचि अर्थात् कात्यायनको प्राकृत भाषाका सन्दर्भमा देख्न सकिन्छ। पाणिनि, कात्यायन र पतञ्जलिलाई त्रिमुनि भनेर उच्चस्तरको सम्मान प्राप्त छ। वररुचि र कात्यायन एकै हुन् भन्ने कुरामा दुईमत छैन। संस्कृत व्याकरणमा अनेक सम्प्रदायहरू रहेका छन्। कात्यायन र वररुचि फरक व्यक्ति नभएर एकै हुन् (उपाध्याय, सन् २०१०, पृ. ४५०)। वररुचिको प्राकृत प्रकाश, चण्डको प्राकृत लक्षण, हेमचन्द्रको सिद्धहेमचन्द्रम्, क्रमदीश्वरको संक्षिप्तसारम्, त्रिविक्रमको प्राकृतव्याकरण, सिंहराजको प्राकृतरूपावतार, लक्ष्मीधरको षड्भाषाचन्द्रिका, मार्कण्डेय कवीन्द्रको प्राकृत सर्वस्वम् जस्ता प्राकृत भाषाका व्याकरणहरू हुन्। प्राकृत व्याकरणको प्रारम्भकर्ता वररुचि हुन्। प्राकृत भाषाका बारेमा संस्कृत समीक्षाशास्त्रीहरू भरत, भामह, दण्डीजस्ताले आफ्ना साहित्यिक लक्षणग्रन्थहरूमा प्रशस्त उल्लेख गरेका छन् (वररुचिः शास्त्री, २०६३, उपोद्घात)। वररुचिको प्राकृतप्रकाशमाथि प्रख्यात लक्षणशास्त्री भामहले मनोरमा नामक टीका लेखेका छन्। वेदप्रयुक्त शब्दहरूको व्याख्या गर्ने सन्दर्भमा यास्कले आर्येतर भाषाको सङ्केत गरेको पाइन्छ (व्यास, २०१०, पृ. ५६)। प्राकृत व्याकरणहरू महाराष्ट्री, शौरसेनी, मागधी, अर्धमागधी र पैशाची भाषाहरूमा रहेको देखिन्छ। वररुचिले प्राकृतको चार भेदमात्र गरेका छन्। उनले अर्धमागधीलाई मागधीभित्र नै समावेश गरेका छन्। संस्कृतको जस्तो जटिलता प्राकृत व्याकरणमा देखिँदैन। प्राकृत व्याकरणमा आइपुगेपछि यसभित्र सरलता र सहजता अनुभव गर्न सकिन्छ। संस्कृत व्याकरणमा रहेको ऋ, लृ, ऐ औ जस्ता ध्वनिहरू प्राकृतमा आएर लुप्त हुनुका साथै ऋ, अ, इ, या का रूपमा परिवर्तन भयो भने ऐ, औ, ए, ओ तथा अइ, अउका रूपमा परिवर्तन भएको पनि पाइन्छ। प्राकृतमा संस्कृतमा सदा सर्वदा दीर्घ रूपमा रहेका ए, ओ ह्रस्व रूपमा पनि रहेका पाइन्छन्। पदको सुरुमा आउने ‘य’ ध्वनि ‘ज’का रूपमा परिणत हुनुका साथै महाराष्ट्री र शौरसेनीमा ‘स’ दन्त्य मात्र पाइन्छ। त्यसैगरी तालव्य ‘श’ मात्र मागधीमा पाइनु यसको व्याकरणगत विशेषता पनि हो। संस्कृतमा रहेको द्विवचन प्राकृतमा आएर समाप्त हुनु यसको अर्को विशेषता हो। सबै शब्द स्वरान्त मात्र पाइनुका साथै आत्मनेपदी र परस्मैपदी जस्ता धातुगत भेदहरू पनि नरहेको पाइन्छ। संस्कृतमा रहेका धातुका दश गणको विभाजन प्राकृत भाषामा पाइँदैन। यहाँ त केवल भ्वादिभित्र नै सबै धातुहरू समावेश भएका छन्।
प्राकृत साहित्यको उदय जनसामान्यको वैचारिक क्रान्तिका कारण हुन गयो। संस्कृत काव्यात्मक साहित्यिक भाषाका साथै धर्मकर्मको भाषा हुँदाहुँदै पनि समाजका खास कुलीन वर्गमा मात्र सीमित रहेको थियो। जनसामान्यका लागि संस्कृत भाषा निक्कै परको विषय बनेको थियो। भगवान् बुद्धले आफ्ना समूल उपदेश मागधी (पालि) र महावीर जैनले अर्धमागधी (प्राकृत) भाषाबाट दिएर यी भाषाको समृद्धि र विकासलाई नयाँ अवसर प्रदान गरेको तथ्य सबैले अनुभूत गर्न सकिन्छ।
प्राकृत भाषा जनमानसको प्रत्यक्ष बोली हो। भाषाको मानक रूप फरक हुन्छ भने व्यक्ति बोली तदतिरिक्त कुरा हो। प्रख्यात पश्चिमी भाषाशास्त्री फर्निडान्ड डि सस्युरले भाषा र बोलीलाई फरक ढङ्गले व्याख्या गरेका छन् (बन्धु, २०५७, पृ. १० )। त्यही व्यक्ति बोलीलाई नियमन गर्ने कार्य प्राकृत भाषा व्याकरणले गरेको देखिन्छ। अर्थबोध र साधुशब्द विवेचनाका सन्दर्भमा भर्तृहरि, नागेश, कौण्डभट्ट जस्ताले पनि असाधु शब्दबाट पनि अर्थबोध हुन्छ भनेर प्राकृत भाषालाई सङ्केत गरेको पाइन्छ (उपाध्याय, २०१०, पृ. ४७४)। प्राचीनकालदेखि संस्कृतकै समकक्षी भएर विकास भएको प्राकृत भाषाले जुन उपस्थिति र विस्तारका साथै विकासको अवसर पाउनुपर्ने हो , त्यो पक्कै हुन सकेको देखिदैन।
प्राकृत भाषाको विकासक्रम
पाणिनि पूर्व नै प्राकृत भाषा जनमानसको बोलचालको आधार थियो।तथापि साहित्यिक रूप केही पछि विकास हुन गएको हो।प्राकृत भाषाको विकासक्रमलाई यसरी देखाउन सकिन्छ :
प्रथम प्राकृत काल : ६०० इसापूर्व १०० इसासम्म
द्वितीय प्राकृत काल १०० इसादेखि ६०० इसासम्म
तृतीय प्राकृतकाल ६०० इसादेखि १२०० इसासम्म ( व्यास, २००८, पृ. ५९ )
प्रारम्भिककालमा यो केवल भाषाकै रूपमा मात्र सीमित थियो। सुरुवाती समयमा विश्वका जुनसुकै भाषा पनि केवल बोलचालकै रूपमा मात्र सीमित हुन्छन्। प्रारम्भिक भाषामा साहित्यिक सिर्जना र वाङ्मयको रचना अपेक्षित हुन सक्दैन। यस्तो तथ्य विश्वका भाषाको ऐतिहासिक अध्ययनबाट स्पष्ट हुन्छ।वैज्ञानिक दृष्टिबाट प्राकृत भाषालाई निम्न लिखित तरिकाले वर्गीकरण गरी अध्ययन गर्न सकिन्छ :
शिलालेखी प्राकृत
प्राकृत भाषाको प्राचीनरूप शिलालेखबाट मिल्दछ।सम्राट् अशोकका अनेक शिलालेखहरू हामी पाउन सक्छौ। ती शिलालेखहरूमाल ब्राह्मी र खरोष्ठी लिपिको प्रयोग भएको पाइन्छ। भारतको शाहबाज गढमा र मानसेरामा रहेका शिलालेखमा खरोष्ठी लिपिको प्रयोग पाइन्छ भने अन्य शिलालेखमा ब्राह्मी लिपिको प्रयोग देखिन्छ।यी शिलालेखहरूमा प्राकृत भाषाका प्रशस्त उदाहरण पाउन सकिन्छ।त्यसैगरी खारवेल र हाथीगुफामा पाइएका शिलालेखमा पनि प्राचीन प्राकृत भाषाका सङ्केतहरू प्राप्त गर्न सकिन्छ। आन्ध्र राजाका शिलालेखहरूमा पनि समासान्त गद्य शैलीको साहित्यिक अभिव्यक्तिहरू उपलब्ध हुन्छन्। प्राचीनकालीन तामा,चाँदीका सिक्काहरूमा पनि प्राकृत भाषालाई सङ्केत गरेको पाइन्छ। यति हुँदाहुँदै पनि शिलालेखी प्राकृत उच्चस्तरीय साहित्यिक अभिव्यक्ति चाहिँ पक्कै नरहेको स्पष्ट हुन आउँछ।
बहिर्भारतीय प्राकृत
भारतभन्दा बाहिरका चीन, तुर्किस्तान, खोतान (अहिले चीनकै भूभाग रहेको छ) आदि देशमा पनि इसापूर्व इसाको दोस्रो शताब्दीतिर कपिपय प्राकृत भाषाका लेखहरू उपलब्ध हुन्छन्। यसले गर्दा बहिर्भारतीय प्राकृत भाषाको अध्ययन आवश्यक हुन्छ। यसमा त्यससम्बन्धी विस्तृतमा नभएर संक्षिप्त अध्ययन गरिएको छ। यसको उद्देश्य केवल तिनको सङ्केत मात्र गर्नु रहेको छ। फ्रान्सेली अध्येता दुव्विल खेतानमा प्राकृत भाषामा लेखिएका बैद्धधर्मसँग सम्बन्धित धम्मपद फेला पारेका छन्। पश्चिमी विद्वान् ओल्डेनवर्ग र सेनार मिलेर यसलाई प्रकाशित गरेका छन्। धम्मपद मूलतः पालि भाषामा लेखिएको भए पनि त्यहाँ प्राप्त त्यसको भाषा पालिसँग नजिक नभएर प्राकृतसँग नजिक भएको पाइन्छ। यसबाहेक ओरेल स्टेनले चीन, तुर्किस्तानमा अन्य खरोष्ठी लिपिमा लेखिएका शिलालेखहरू प्राप्त गरेका थिए। त्यसैगरी अक्सफोर्ड विश्वविद्यालयका संस्कृतका विद्वान् प्राध्यापक प्रो. टी. बुरोले एक गवेषणात्मक निबन्ध प्रकाशित गरेका छन्। यसको लिपि खरोष्ठी हुनुका साथै दरदी भाषा निकट रहेको पाइन्छ। यसमा साहित्यिक गुण नभए पनि राज्य सञ्चालन र तत्कालीन न्याय निरूपणको विषय वर्णित पाइन्छ। बहिर्भारतीय प्राकृत भाषामा दीर्घस्वर, ऋध्वनि सघोष ऊष्म ध्वनिको लिपि चिह्नका अस्तित्व भेटिए पनि यसलाई प्राकृत भाषाकै स्वरूप मानिएको छ।
धार्मिक प्राकृत
धार्मिक प्राकृत भित्र जैन र बौद्ध सिद्धान्त (आगम) ग्रन्थ र सिद्धान्त इतरका वाङ्मयहरू पर्दछन्। बौद्धहरूको समस्त सिद्धान्त र ग्रन्थहरू मूलत पालि कतिपय संस्कृतमा उपलब्ध छन्। पालि भाषा प्राकृत भाषा मागधीबाट नै विकास भएको मानिन्छ। जैन धर्मका समस्त वाङ्मय अद्र्ध मागधी, महाराष्ट्री, शौरसेनी जस्ता प्राकृत भाषामा निबद्ध छन्। यसभित्र प्राकृत भाषामा लेखिएका यी दुवै धर्मदर्शनका विषयलाई मात्र प्रस्तुत गरिएको छ। बौद्ध पालि साहित्यका बारेमा यस पूर्व नै यसै पत्रिकाको वर्ष दुई र अङ्क दुईमा पालि भाषा र साहित्य सङ्क्षिप्त अध्ययन शीर्षकमा गरिसकिएकाले अहिले त्यस विषयमा यहाँ उल्लेख गरिएको छैन,( घिमिरे,२०७९: १४-२२)।
जैन धार्मिक साहित्य निक्कै समृद्ध र वैभवले भरिपूर्ण पाइन्छ। बौद्धहरूको अपेक्षा जैनहरूको धार्मिक ग्रन्थ प्राकृतमा विहङ्गम दृष्टिले रचना भएका छन् (त्रिपाठी, १९९१, पृ. २६)। जैनहरूको अधिकांश धार्मिक सिद्धान्त अर्ध मागधी अथवा प्राकृत भाषामा नै विरचित छन्। यो भाषा जैनहरूका लागि अत्यन्त पवित्र मानिन्छ। यसको मूल कारण यसका संस्थापक महावीर जैनले यसै भाषामार्फत उपदेश दिनु हो साथै समस्त जैन साहित्य यसभित्र समाहित हुनु पनि हो।
यो एउटा विचित्रको संयोग पनि हो। अनेक देशको इतिहासमा इसापूर्व छैटौँ शताब्दी एक नवीनतम भावभूमि लिएर आएको पाइन्छ। धार्मिक दृष्टिले पनि यो परिवर्तनको समय थियो। भारतमा यही समय परम्परित आध्यात्मिक मार्गप्रति असन्तोष देखिनुका साथै बौद्धिक क्रान्तिसमेत भएको पाइन्छ ( गेरौला, सन् २०१२, पृ. २७२)। यसै समयमा विश्वका अनेक स्थानमा नयाँ नयाँ विचारधाराका प्रतिपादक जस्तै चीनमा लाओत्से, तथा कन्फ्युसियस, युनानमा परमेनाइडिस र एम्पेडोकल्स, इरानमा जराथ्रुस्त, भारतमा महावीर र बुद्ध प्रादुर्भाव भई नवीनतम आध्यात्मिक मार्गको प्रतिपादन गरेको देखिन्छ। जैन धर्मका मुख्यतः दुई सम्प्रदाय रहेका छन्। भगवान् तथागतको महापरिनिर्वाणपछि जसरी बौद्धधर्म अनेक रूपमा विभाजित भयो,त्यसरी नै जैन पनि दुई भागमा विभक्त हुन गयो। जैन धर्म विभाजनको पनि रोचक कथा पाइन्छ। महावीरका नौ प्रकारका शिष्य थिए,जसलाई स्थविरावलीमा गण भनेको पाइन्छ। यसमा ११ गणधर प्रमुखताका साथ आउँछन्। यो शिष्य परम्परा ३१७ इसापूर्वसम्म अविच्छिन्न रूपमा चलिरहेको देखिन्छ। इसापूर्व ३१० मा जैन आचार्य भद्रबाहु आफ्ना प्रमुख शिष्य स्थूलभद्रलाई गणको कार्यभार सुम्पिएर दक्षिणभारतिर लागे। उनी दक्षिण गएका समयमा स्थूलभद्रले जैन साहित्यलाई सङ्ग्रह गर्ने उद्देश्यले ठूलो जैन विद्वानहरूलाई एकत्रित पारे साथै जैनमा उदारताको सुरुवात सँगै जैन साधुहरूलाई वस्त्र लगाउने स्वीकृति पनि दिए। केही समयपछि दक्षिणबाट फर्किएपछि भद्रबाहुलाई जैन भेलाले गरेको निर्णय मान्न र स्वीकृति प्रदान गर्न अनुरोध गरे। भद्रबाहुले यसलाई अस्वीकार गरेपछि जैन धर्म श्वेताम्बर र दिगम्बरका रूपमा विभाजित हुन गयो। जैन धर्म बहुव्यापी र बहुजीव धर्म हुनुका साथै उसको अविच्छिन्न परम्परा आजपर्यन्त निरन्तर प्रवाहित भइरहेको छ। समग्र आर्यावर्तमा जैन धर्म प्रमुख स्थान ओगटिरहेको छ। पौरस्त्य साहित्य, दर्शनको प्रेरणा,प्रोत्साहन र प्रगतिमा जैन आचार्यहरूको महत्त्वपूर्ण योगदान देख्न सकिन्छ।
प्राकृत भाषाको गद्य र पद्य शैलीमा केही भिन्नता देख्न सकिन्छ।भाषाविज्ञानको दृष्टिले अर्द्ध मागधी र मागधीमा पृथक्कता पर्याप्त देख्न पाइन्छ।अर्द्ध मागधीमा र तथा स ध्वनि देख्न पाइनुका साथै मागधी जस्तो स ध्वनि शमा, त्यसैगरी र ध्वनि लमा परिवर्तन भएको पाइँदैन।अर्द्ध मागधीमा श्वेताम्बर जैन सम्प्रदायका केही साहित्यिक ग्रन्थहरू यस प्रकार रहेका छन् :
द्वादश अंगमा बाह्र अङ्ग रहेका भए पनि साहित्यिक दृष्टिले प्रथम, द्वितीय, पञ्चम, षष्ठ र सप्तम अङ्ग महत्त्वपूर्ण छन्। अन्य अङ्गमा साहित्यिक गुण कम पाइन्छ। अर्को जैन साहित्यको ग्रन्थ आयारंग (आचाराङ्ग सूत्र) हो। यस कृतिमा जैन मुनिहरूको आचरणको वर्णन पाइन्छ। त्यसैगरी सूयगडंग ( सूत्रकृताङ्ग) मा ब्राह्मण र बौद्ध धर्मको खण्डन मुख्यरूपमा मुखरित भएको देखिन्छ। ठाणंग ( स्थानाङ्ग) यसमा श्रावकहरूको नैतिक जीवनमा आवश्यक पर्ने लौकिक वस्तुको व्यपदेश (उपदेश) प्रस्तुत गरिएको पाइन्छ। समवायंग पनि उपदेशकै सङ्ग्रहका रूपमा आएको छ। वियाह पण्णत्ति (व्याख्याप्रज्ञप्ति) अथवा भगवतीसूत्र यसमा तीर्थङ्करहरूको अलौकिक चरित्रको काव्यात्मक वर्णन पाइन्छ। यसलाई तीर्थङ्करसम्बन्धी चरित्र काव्य पनि मान्न सकिन्छ। अर्को अत्यन्त प्रासङ्गिक ग्रन्थ नायाघम्मकहाओ (ज्ञाताधर्मकथा) हो।यसमा दृष्टान्तबाट धर्मको अत्यन्त गूढतम रहस्यको वर्णन गरेको पाइन्छ। यसरी अन्य धार्मिक तथा साहित्यिक गुणले युक्त कृतिहरूमा विपाकश्रुत, अन्तकृद्दशा, दृष्टिवाद, प्रकीर्ण, छेदसूत्र आदि रहेका छन् । यी कृतिले साहित्यिक गुणका अतिरिक्त जैनधर्मको मर्मलाई प्रस्तुत गरेको पाइन्छ।
जैन सिद्धान्त इतर साहित्य जैन महाराष्ट्री,जैन शौरसेनीमा पनि पाउन सकिन्छ। श्वेताम्बर साहित्य विशेषतः महाराष्ट्री प्राकृत र दिगम्बर साहित्य शौरसेनिमा प्राप्त हुन्छ। महाराष्ट्री प्राकृत र अर्द्ध मागधी प्राकृतमा केही ध्वनिगत भेदभन्दा धेरै विषमता देखिँदैन (व्यास, सन् २००८, पृ. ६९)। सिद्धान्त इतर साहित्यमा स्तुति, निबन्ध, स्तोत्र आदि रहेका छन्। यिनमा कतिपय स्थानमा संस्कृत काव्य शैलीको प्रभाव देख्न सकिन्छ भने कतिपयमा त्यो भन्दा फरक शैलीमा प्रस्तुत भएको पाउन सकिन्छ।
साहित्यिक प्राकृत
प्राकृत वैयाकरणहरूले चार प्रकारका प्राकृत भाषालाई स्वीकार गरेको कुरा माथि उल्लेख गरिसकिएको छ। महाराष्ट्री, शौरसेनी, मागधी र पैशाची यी चार भेद प्राकृतका हुन्। यीमध्ये पनि महाराष्ट्री प्राकृत सबैभन्दा उन्नत अवस्थामा रहेको पाइन्छ। यो भाषा आविंध्यहिमाचल भारतको सांस्कृतिक भाषा थियो। शुद्ध प्राकृत साहित्यको रचना यसै भाषामा भएको पाइन्छ।शौरसेनी र पैशाची प्राकृतको शुद्ध साहित्यिक स्वरूप उन्नत रूपमा भएको प्रमाण उपलब्ध छैन। पैशाचीमा संस्कृतको बृहत्कथाको अनुवाद बढ्डकहा रहेको भनिए पनि यसको मूल रूप पाउन सकिएको छैन। प्राकृत साहित्य प्रबन्ध काव्य, मुक्तक काव्य, कथा साहित्य र नाटक गरी चार विधामा उपलब्ध छन्।
प्राकृत काव्यको परम्परा त्यति धेरै समृद्ध पाइँदैन।तथापि जैन प्राकृत काव्यहरू आंशिक रूपमै भए पनि उपलब्ध छन्।यसका बारेमा माथि उल्लेख भइसकेको छ। प्राकृतकालीन महाकाव्यको प्रतिनिधि उदाहरण प्रवरसेनको सेतुबन्ध हो। प्रवरसेनको समय इसाको चौथो शताब्दी हो र यिनी काश्मीरका राजा पनि भएका थिए। यस काव्यको भाषा महाराष्ट्री प्राकृत छ र यसमा १५ आश्वास (सर्ग प्राकृतमा सर्गलाई आश्वास भनिन्छ) रहेका छन्। यसमा मर्यादा पुरुषोत्तम रामको कथा वर्णित छ।सेतुबन्धको शैली संस्कृत महाकवि कालिदास परवर्ती रहेको तथ्य यसमा कालिदासपछिको संस्कृत महाकाव्यको कृत्रिम शैली रहेकाले प्रमाणित गर्दछ। यस काव्यमा वीर रस अङ्गी हुँदाहुँदै पनि प्रचुरमात्रामा शृङ्गारको पनि वर्णन पाइन्छ। महाराष्ट्री प्राकृतको अर्को काव्य वप्पइराअ( वाक्पतिराज) को गउडवहो हो। वाक्पतिराज राजा यशोवर्माका राजकवि भवभूतिका समकालीन थिए। प्रस्तुत कृति महाकाव्य नभई केवल काव्यमात्र हो। यसमा १२०९ श्लोक आर्या छन्दमा रचना भएको देखिन्छ। अलङ्कार ग्रन्थका रचयिता आनन्दवर्धनको ध्वन्यालोकमा केही प्राकृत कविहरूको रचना मिले पनि ती कृतिहरू अहिले उपलब्ध छैनन्।
प्राकृत मुक्त काव्यहरू देखिन्छन् तर ती सबैमा शुद्ध प्राकृत भाषाको प्रयोग भएको पाइँदैन। मुक्त काव्यहरू पनि उपदेशात्मक र शुद्ध साहित्यिक रुपका गरी दुई किसिमका रहेका छन्। उपदेशात्मकको शृङ्खलामा धार्मिक तथा नैतिक शिक्षाको बहुलता पाइन्छ । जैन तथा बौद्ध साहित्यका स्तुति काव्य र स्तोत्र साहित्यको पनि वर्णन यीभित्र भएका छन्। यसरी साहित्यका विभिन्न प्राचीन विधाहरूको रचना प्राकृत भाषामा भएको पाइन्छ।
नाटकीय प्राकृत
संस्कृत साहित्य नाटक विधाका दृष्टिले समृद्धशाली रहेको छ।प्रथम काव्य चिन्तक भरतले पात्रभेद अनुसार भाषाभेद पनि गरेका छन्।संस्कृत नाटकमा महाराष्ट्री,शौरसेनी तथा मागधी तिनै प्राकृत भाषाको प्रयोग पाइन्छ। संस्कृत नाटकमा महिला, बालबालिका र मध्यम वर्गका पात्रहरू शौरसेनी भाषा बोल्दछन्। मागधीको प्रयोग शौरसेनीको तुलनामा न्यून रूपमा मात्र पाइन्छ।कालिदासको शाकुन्तल नाटकमा विभिन्न स्वरूपको प्राकृत भाषा प्रयोग गरिएको छ। पहिले तैर्थिक धर्मका कट्टर अनुयायी र पछि बौद्ध धर्म अँगालेका अश्वघोषका नाटकमा पनि प्राकृत भाषा उपयोग गरिएको देखिन्छ। यस विषयमा प्रख्यात भाषाशास्त्री डाक्टर भोलानाथ तिवारीको कथन यस्तो छ : अश्वघोषको रचनाकाल १०० इसाको आसपास मानिन्छ। उनका दुई अपूर्ण नाटकहरू रहेका छन् । ती खण्डित नाटकमा तीन प्रकारका प्राचीन मागधी, प्राचीन शौरसेनी र प्राचीन अर्धमागधी प्राकृत भाषा प्रयुक्त छन् (तिवारी, सन् २०१२: १६८)। कवि अश्वघोषका दुई महाकाव्य बुद्धचरितम् र सौन्दरनन्द रहेका छन्। यी दुवैको प्रतिपाद्य विषय बौद्धधर्म दर्शन हो। यी दार्शनिक तथ्यलाई महाकवि अश्वघोषले कलात्मक ढङ्गले अभिव्यक्त गरेका छन् तर ती महाकाव्यमा कतिपय प्रसङ्गमा प्रयुक्त शब्दहरू अपाणिनीय छन् (चैतन्य, १९९१, पृ. २६९)। यसले पनि के भन्न सकिन्छ भने संस्कृतमूलमा अभिव्यक्त हुँदाहुँदै पनि प्राकृत भाषाको मोहले गर्दा कतिपय शब्द प्राकृत भाषा निकटका प्रयोग भए। संस्कृत भाषामा नाटक लेख्ने प्रसिद्ध नाटककार भासका नाटकमा अधिकांश नाटकमा शौरसेनी प्राकृत प्रयोग भएको पाइन्छ। उनका चारुदत्त, प्रत्यभिज्ञा, बालचरित नाटकमा मागधी र कर्णभार नाटकम अर्धमागधी भाषाको प्रयोग अत्यधिक पाइन्छ (व्यास, २००८, पृ. ७४)। कालिदासकै नाटकमा पनि संवादका लागि शौरसेनी र मागधी तथा गीतका सन्दर्भमा महाराष्ट्री प्राकृत भाषा उपयोग गरिएको छ। मृच्छकटिक नाटकमा शौरसेनी प्राकृतका साथसाथै अन्य प्राकृतका उपभेदका रूपमा रहेका विभाषाहरू प्राच्य, आवन्ती आदिको समेत प्रयोग पाइन्छ। भट्टनारायण र भवभूति आदि तुलनात्मक अर्वाचीन नाटककारहरूका नाटकमा अत्यन्त कृत्रिम प्रकृतिको प्राकृत भाषा पाउन सकिन्छ। तिनका नाटकमा प्रयुक्त प्राकृत भाषालाई संस्कृत व्याकरणको कसीमा राखेर प्रयोग गरिएको छ।
वैयाकरण प्राकृत
प्राकृत व्याकरणका श्रीगणेश कर्ता वररुचि हुन्। यिनका सन्दर्भमा केही माथि नै उल्लेख गरिसकिएको छ। उनको व्याकरणिक कृति प्राकृत प्रकाशमा चार प्रकारका प्राकृत भाषाको मात्र चर्चा परिचर्चा भएको देखिन्छ। आचार्य हेमचन्द्रले मागधी, शौरसेनी, पैशाची र महाराष्ट्री अतिरिक्त चूलिका पैशाची र अर्धमागधीलाई पनि स्वीकार गरेका छन्। मार्कण्डेयले प्राकृतसर्वस्व मा प्राकृतलाई प्रकारान्तरले चार प्रकारले विभाजन गरेका छन्। उनका अनुसार भाषा, विभाषा, अपभ्रंश र पैशाची रहेका छन्। भाषाभित्र उनले महाराष्ट्री, शौरसेनी, प्राच्या, आवन्ती, मागधी, दाक्षिणात्या, वाह्लिकीलाई राखेका छन्। विभाषामा चाण्डाली, शाबरी, आभीरी, शक्की समावेश छन्। अपभ्रंशको २७ भेद गरेका भए पनि तिनलाई तीन भेद नागर, उपनागर र ब्राचड गरी प्रस्तुत गरेका छन्। पैशाचीको ११ भेद भए पनि मुख्यतः कैकय, शौरसेन र पाञ्चाल गरी तीन रूपलाई देखाएका छन्। प्रायः सबै प्राकृत भाषाका वैयाकरणहरूले महाराष्ट्री प्राकृतलाई नै मुख्य मान्दै त्यसका सापेक्षमा नै अरू प्राकृत भाषाको व्याख्या विश्लेषण गरेका छन्।
मिश्र अथवा गाथा संस्कृत
यहाँ मिश्र र गाथा शब्दलाई सर्वप्रथम बुझाउनु सान्दर्भिक हुन् जान्छ। यहाँ गाथा र मिश्रको तात्पर्य संस्कृतको त्यो रूप हो। संस्कृत झैँ प्रतीत हुँदाहुँदै पनि अपाणिनीय र प्राकृत भाषाका शब्दसँग धेरै निकटवर्ती देखिन्छन्। भाषा वैज्ञानिकहरूले यसलाई संस्कृत नमानेर मध्यकालीन आर्यभाषा (प्राकृत) कै एक भेद मानेका छन्। यस्तो मिश्रित भाषा दुई कारणले बन्न पुगेको विचार अधिक वैज्ञानिक र व्यावहारिक ठहर्छ। पहिलो कारण केही लेखकले मध्यकालीन भारतीय आर्यभाषालाई संस्कृत बनाउने अधिक प्रयास गरेर त्यसमा संस्कृतका नियमहरू लगाउने प्रयास गरे र दोस्रो कारण चाहिँ संस्कृतमै पनि कतिपय शब्द अपाणिनीय छन् र पाणिनिसम्मत नभएका कारण मिश्र संस्कृत बन्न पुगे। यस्ता शब्दहरू भिक्षुस्य (शुद्धरूप भिक्षोः), बलेः ( बलिनः), गतीषु (गतिषु) जस्ता प्रतिनिधि उदाहरणबाहेक प्राकृत शब्द र उखान, टुक्का अथवा सूक्तिहरू पनि भेटिन्छन्। यसमा बौद्ध मिश्रित संस्कृत नामले प्रसिद्ध भयो। यस्ता शब्द बौद्धका प्रसिद्ध ग्रन्थ महायानसूत्रालङ्कार, बोधिचर्यावतार, सद्धर्मपुण्डरीकझ ललितविस्तर आदिमा समेत भेट्न सकिन्छ। यस्तै भाषाको प्रयोग भएको केही जैन साहित्य पनि यसभित्र पर्दछन्।
निष्कर्ष
संस्कृत भाषाकै समकक्षी भएर विकास भएको प्राकृत भाषा अनेक वाङ्मयले सुसज्जित भए पनि वर्तमानमा यो अपेक्षित नबनी उपेक्षित भइरहेको छ। भारतीय विश्वविद्यालयहरूमा यस भाषाको पुनरुद्धारको प्रयास स्वरूप विभिन्न परियोजनाहरू सञ्चालन भइरहेका छन्। प्राकृत भाषा अपभ्रंश हुँदै आधुनिक भाषाको जन्मको आधारसमेत हो। नेपाली भाषाको विकासमा समेत प्राकृत भाषाको महत्त्वपूर्ण योगदान छ। संस्कृत, प्राकृत अपभ्रंश हुँदै नेपाली भाषाको विकास भएको भनाइ आधुनिक भाषावैज्ञानिकहरूको धारणा रहे पनि प्राकृत भाषाको सिंहावलोकनपछि त्यो धारणा र तर्क त्यति दर्बिलो ठहर्दैन। नेपाली भाषा आजको स्वरूपसम्म आइपुग्न प्राकृत भाषाको योगदान रहे पनि संस्कृत,प्राकृत हुँदै आएको भन्ने विचार तर्कसङ्गत नहुनुका साथै युक्तिसङ्गत पनि देखिँदैन। सहजता र अबोधताका कारण नेपाली भाषा संस्कृत,प्राकृत अपभ्रंशबाट विकास भएको भन्ने गरिएको मात्र हो। संस्कृतकै हाराहारीमा रहेको प्राकृत भाषा विशुद्ध तत्कालीन समाजमा रहेका अधिकांश नागरिकको सहज बोलचालको भाषा थियो। तत्कालीन सामाजिक,रानीतिक कारणले मानव मानवबिचमा असमानता रहेको स्पष्ट छ। त्यही असमानताका कारण आफैले आफैलाई स्वनाम धन्य मानिने र तत्कालीन राज्य व्यवस्थाको उपजले गर्दा प्राज्ञिक र उच्च वर्गका मानिसले मात्र संस्कृत भाषामा आफ्नो व्यवहार गर्थे भन्ने प्रमाण पौरस्त्य साहित्य र भाषाको अध्ययनबाट सुस्पष्ट हुन्छ। सामाजिक चरित्र र राज्यको प्रभावले सबै तिर एकै प्रकारको भाषा प्रयोग अपेक्षित पनि हुँदैन। साथै भौगोलिक दुरूहता, जनमानसमा शिक्षाको कमी अनेक कारणले प्राचीनकालदेखि नै प्राकृत भाषा बोलचालको भाषा रहँदै आयो।
भगवान् तथागत र महावीर जैन जस्ता महापुरुषले आफ्नो उपदेशको माध्यम जनमानसले बोल्ने भाषालाई बनाएपछि यी भाषा साहित्य,व्याकरण,कोष आदिबाट सम्पन्न हुँदै गए। सम्पन्न भएपछि स्वीकार्यता बढ्ने एक प्रकारको सामाजिक व्यवहार प्राकृत भाषाका सन्दर्भमा पनि लागु हुन्छ। जे र जुन कारणले भए पनि प्राकृत भाषा इसापूर्व छैटौँ शताब्दीदेखि इसाको छैटौँ शताब्दीमा अत्यधिक विकसित हुनगयो ।त्यसपछि यसभित्र पनि अधिक कृत्रिमता र पुनः संस्कृतकै नियमले शब्द निर्माण प्रयासले यसको सहजतालाई बढी नै प्रभाव पार्न थाल्यो। यस भाषाको मूल मर्म नै हराउन गई यो पुनः लुप्त प्रायः भयो। जब पाश्चात्त्य प्राज्ञहरू पूर्वका ज्ञानगङ्गामा प्रवेश गर्न थाले तब यसले पनि पुनरुद्धार, अध्ययन, अध्यापनको अवसर पुनः प्राप्त गर्न थाल्यो। आज भारतका धेरै विश्वविद्यालयहरूमा प्राकृत भाषाको अध्ययन, अध्यापनका साथै यससम्बन्धी विभिन्न परियोजना सञ्चालनमा रहेका छन्। हाम्रो देशमा प्रायः पाँच भाषा परिवारका भाषाहरू बोलिन्छन्। ती पाँचमध्ये भारोपेली भाषा परिवारका भाषा बोल्नेको सङ्ख्यात्मक दृष्टिले बहुलता छ । ती भारोपेली भाषा परिवारका सबै जस्तो आज विकसित आधुनिक रूपको महत्त्वपूर्ण स्रोत संस्कृत र प्राकृत नै हुन्। आफ्नो मूल स्वरूप संस्कृतका विषयमा आंशिकमात्र भए पनि अध्ययन, अध्यापन तथा अनुसन्धान भए पनि प्राकृत भाषालाई नेपालले उपेक्षा नै गरेको ठहर्छ। भाषा केवल दैनिक व्यवहारको माध्यम मात्र नभई यो तत्कालीन सामाजिक व्यवस्था,साहित्यिक अवस्था, सांस्कृतिक, राजनीतिक पर्यावरण, सामाजिक, आर्थिक जीवनको द्योतक हुन्छ। यस तथ्यलाई हामीले कदापि बिर्सिनु हुँदैन। संस्कृत, नेपालीलगायत अन्य भारोपेली भाषा परिवारका भाषाहरूको सापेक्षतामा यसको पनि विकास साथै वाङ्मय र प्राज्ञिक कर्मको विषय बन्नु नै आजको आवश्यकता हो। हामीले हाम्रो भाषिक गौरवको रक्षा गर्न सकेमात्र भाषाले पनि हाम्रो गौरव र मर्यादाको रक्षा गर्ने हो। तसर्थ प्राकृत भाषाका बारेमा विहङ्गम नीति बनाई कम्तीमा नेपाल संस्कृत विश्वविद्यालयमा यसको प्राज्ञिक कार्यको सुरुवात हुनु नितान्त आवश्यक छ।
सन्दर्भसूची
उपाध्याय, आचार्य बलदेव. (सन् २०१०). संस्कृत शास्त्रों का इतिहास. वाराणसी : चौखम्बा विद्याभवन।
गेरौला, वाचस्पति. (सन् २०१२). संस्कृत साहित्य का इतिहास. वाराणसी : चौखम्बा विद्याभवन।
गौतम, देवीप्रसाद र चौलागाईं , प्रेमप्रसाद. (२०६७). भाषा विज्ञान. काठमाडौँ : पाठ्य सामग्री पसल।
घिमिरे, मधुसूदन. (२०७९). पालि भाषा साहित्यको सङ्क्षिप्त अध्ययन. लोकदर्पण. २(२), पृ. १४-२२।
चैतन्य, कृष्ण. (सन् १९९१). साहित्यका नवीन इतिहास. (अनु. विनयकुमार राय). वाराणसी : चौखम्बा सुरभारती प्रकाशन ।
तिवारी, भोलानाथ. ( सन् २०१२). भाषा विज्ञान. इलाहवाद : किताब महल।
त्रिपाठी, रामसागर. ( सन् १९९१). संस्कृत साहित्य का इतिहास. वाराणसी : चौखम्बा संस्कृत प्रतिष्ठान।
बन्धु, चूडामणि. (२०५०). भाषा विज्ञान. ललितपुर : साझा प्रकाशन।
मुसलगाँवर,केशवराज. (सन् १९९१). संस्कृत महाकाव्य कि परम्परा. वाराणसी : चौखम्बा विद्याभवन।
डबराल, उदयराज. (२०६३). प्रस्तावना (वररुचि लिखित प्राकृत प्रकाश). वाराणसी : चौखम्बा विद्याभवन।
व्यास,भोलाशङ्कर. (सन् २००८). भारतीय अपभ्रंश साहित्य. वाराणसी : चौखम्बा संस्कृत प्रकाशन।