प्रस्तुत अध्ययन कक्षा दशमा अध्ययनरत विद्यार्थीको भाषा सिकाइ उपलब्धिको परीक्षणमा अधारित रहेको छ। यस अध्ययनमा कक्षा दशमा अध्ययनरत विद्यार्थीको भाषा सिकाइमा पठनबोध, शब्दभण्डार, वाक्यनिर्माण, वर्णविन्यास, पदवर्ग पहिचान र वाक्य परिवर्तनमा भाषिक क्षमताको विश्लेषण गर्ने उद्देश्य लिइएको छ।
सुनिता तामाङ[1]
lamasunita1045@gmail.com
लेखसार
प्रस्तुत अध्ययन कक्षा दशमा अध्ययनरत विद्यार्थीको भाषा सिकाइ उपलब्धिको परीक्षणमा अधारित रहेको छ। यस अध्ययनमा कक्षा दशमा अध्ययनरत विद्यार्थीको भाषा सिकाइमा पठनबोध, शब्दभण्डार, वाक्यनिर्माण, वर्णविन्यास, पदवर्ग पहिचान र वाक्य परिवर्तनमा भाषिक क्षमताको विश्लेषण गर्ने उद्देश्य लिइएको छ। यस अध्ययनमा सम्भावनायुक्त नमुना छनोटको चिठ्ठा पद्धतिबाट चारवटा विद्यालय र प्रत्येक विद्यालयबाट ४९ जना विद्यार्थीलाई नमुनाको रूपमा लिई जम्मा १९६ जना विद्यार्थीबाट तथ्याङ्क सङ्कलन गरिएको छ। यसमा आश्रित चरका रूपमा पठनबोध, शब्दभण्डार, वाक्यनिर्माण, वर्णविन्यास, पदवर्ग पहिचान र वाक्य परिवर्तन रहेका छन्। यसमा टी परीक्षणद्वारा तथ्याङ्कहरूको तुलनात्मक अध्ययन र विश्लेषण गरिएको छ। प्रस्तुत अध्ययनका आधारमा कक्षा दशमा अध्ययनरत विद्यार्थीको पठनबोध, वाक्यनिर्माण र अन्य क्षमतामा लिङ्ग र धर्मका आधारमा कुनै महत्त्वपूर्ण भिन्नता नदेखिएको, वर्णविन्यास र शब्दभण्डार क्षमतामा धर्मका आधारमा भिन्न देखिएको, सधैँ विद्यालय आउने विद्यार्थीहरूको पठनबोध र पदवर्ग पहिचान क्षमता उच्च रहेको, धर्म र लिङ्ग दुवैका आधारमा कुल प्राप्ताङ्कमा कुनै भिन्नता नदेखिएको निष्कर्ष निकालिएको छ। यस अध्ययनबाट विद्यालय तहमा अध्ययनरत विद्यार्थीको भाषा सिकाइ उपलब्धिबारे जानकारी लिन चाहने तथा यस किसिमको अध्ययनमा रुचि राख्ने सबैलाई आवश्यकीय सहयोग पुग्ने अपेक्षा गरिएको छ।
शब्दकुञ्जी : पठनबोध, भाषा सिकाइ, भाषिक क्षमता, विद्यालय नियमितता, शब्दभण्डार।
विषय परिचय
भाषा सिकाइ भाषाका सुनाइ, बोलाइ, पढाइ र लेखाइ जस्ता भाषिक सिपहरूको सिकाइ हो। यसले भाषाका सिकारूमा भाषिक सिपहरूको विकास गर्दछ। भाषा सिकाइमा विषयवस्तुलाई भाषिक सिपहरूको सिकाइ गर्नका लागि उपयोग गरिन्छ। यसमा विषयवस्तु गौण हुन्छ भन्ने भाषिक सिप प्रमुख हुन्छ। खनिया (२०७५) का अनुसार “यसमा विषयवस्तु साधन र भाषिक सिप साध्य वस्तुको रूपमा आउँदछन्” (पृ. २)। भाषा सिकाइ भाषिक सिपहरूको सिकाइ हो। भाषा सिकाइ विषयवस्तुको सिकाइ नभएर विषयवस्तु व्यक्त गर्ने वा बुझ्ने सिपको सिकाइ हो (पौडेल, २०७०)। भाषा सिकाइका क्रममा भाषा संरचना, व्याकरणिक विषय हिज्जे तथा शब्दभण्डार जस्ता विषय अभिन्न अङ्गका रूपमा रहन्छन। लामिछाने (२०६९) का अनुसार “भाषाशिक्षणका सन्दर्भमा भाषिक सिपमा विद्यार्थीहरूलाई कसरी सक्षम बनाउने भन्ने सोचाइ रहन्छ भने अन्य विषयको शिक्षणमा विषयवस्तुको प्रस्तुतिमा बढी ध्यान दिइन्छ” (पृ.१)। भाषा सदैव सन्दर्भमा मात्र सार्थक हुने र सन्दर्भ रचना पाठ वा सङ्कथनबाट मात्र प्रस्तुत हुने हुँदा उपयुक्त किसिमका भाषिक संरचनालाई स्वतन्त्र रूपमा नभई पाठ वा रचनाका आधारमा शिक्षण र सोही आधारमा मूल्याङ्कन गर्नु पर्दछ (माध्यमिक शिक्षा (कक्षा ९ र १०) पाठ्यक्रम, २०७८, पू. ३४)। रचनात्मक, सिर्जनात्मक र आलोचनात्मक भाषा सिकाइ गर्नु वैज्ञानिक र व्यावहारिक मानिन्छ। मुख्य रूपमा भाषाका सुनाइ, बोलाइ, पढाइ र लेखाइ चार वटै बोधाभिव्यक्तिमूलक सिपहरूलाई केन्द्रमा राखेर भाषा सिकाइ प्रक्रियालाई अगाडि बढाउन पर्दछ (भट्ट र पोखरेल, सन् २०२३)। यसरी भाषा सिकाइ गर्दा कसरी, कुन ढङ्गबाट विद्यार्थीलाई अपेक्षित कुशलता हासिल गराउन सकिन्छ भन्ने तर्फ लाग्नु नै महत्त्वपूर्ण पक्ष हो।
भाषाका सुनाइ, बोलाइ, पढाइ र लेखाइ चार वटै सिपलाई एककालिक ढाँचामा सिक्न सक्ने गरी माध्यमिक शिक्षा (कक्षा ९ र १०) पाठ्यक्रम, २०७८ अन्तर्गतको नेपाली भाषाको पाठ्यक्रममा समावेश गरिएको पाइन्छ। यो पाठ्यक्रम परिष्कृत, परिमार्जित र परिवर्तित पाठ्यक्रम हो। यो पाठ्यक्रम भाषाका चार सिप सुनाइ, बोलाइ, पढाइ र लेखाइ सिपगत सक्षमतामा आधारित छन्। नेपाली भाषाको पाठ्यक्रममा उक्त सिप विकास गर्न विविध विधागत पाठहरू समावेश गरिएको छ। सिकारुमा विधागत पाठकहरूले बोध र अभिव्यक्तिका साथै भाषा संरचना र त्यसको प्रयोगसम्बन्धी धारणा अभिवृद्धि गर्न सहयोग पुयाउने ठानिएको छ। विभिन्न पृष्ठभूमिका विद्यार्थीहरूलाई स्तरीय नेपाली भाषा प्रयोगप्रति अभिप्रेरित गराउने लक्ष्य राखिएको पाइन्छ। यसैगरी भाषा संरचनालाई पाठका आधारमा शिक्षण र मूल्याङ्कन गर्नु पर्ने विषयमा जोड दिएको छ। नेपाली भाषा पाठ्यक्रमले सिकारुको भाषिक दक्षता अभिवृद्धि गर्नुका साथै अन्य विषयको पठनपाठनको माध्यमलाई मद्दत पुयाउने पनि ठानिएको छ। माध्यमिक तह (कक्षा १०) का सिकारुमा भाषिक सीपको साथै संरचनागत तत्त्वको ज्ञान, पहिचान र प्रयोग गर्न सक्ने क्षमता विकास गराउन सके भाषा सिकाइका अपेक्षित उद्देश्य हासिल गर्न सहज हुन्छ।
भाषा सिकाइलाई सिपहरूको अभ्यास गर्ने शैक्षणिक भाषिक क्रियाकलापका रूपमा चिनिन्छ। भाषा सिकाइ क्षमता र भाषा संरचना क्षमतासँग सम्बन्धित रहेर प्रस्तुत अध्ययन पूर्व केही सैद्धान्तिक र प्रायोगिक कार्यहरू सम्पन्न भएका छन्। शर्मा (२०७१) द्वारा प्रज्ञा नेपाली सन्दर्भ व्याकरण नामक पुस्तक प्रकाशन गरिएको छ। उक्त पुस्तकमा शब्दभण्डार तथा भाषा संरचना अन्तर्गत शब्दवर्ग, काल, पक्ष, भाव, वाच्य, कारक र विभक्ति सङ्गति लगायतका व्याकरणिक पक्षबारे सोदाहरण चर्चा गरिएको छ। यसैगरी चौलागाइँ (२०७७) द्वारा प्रज्ञा नेपाली शैक्षणिक व्याकरण नामक पुस्तक प्रकाशन गरिएको छ। प्रयोगात्मक प्रकृतिको यस व्याकरणमा काल र पक्ष, भाव, वाच्य, अकरणको ज्ञान तथा पदसङ्गति अन्तर्गत लिङ्गसङ्गति, वचनसङ्गति, पुरुष र आदससङ्गतिलाई प्रयोगात्मक विधि अनुरूप चिनाउन खोजिएको छ। अधिकारी (२०७६) द्वारा समसामयिक नेपाली व्याकरण नामक पुस्तक प्रकाशन गरिएको छ। यसमा शब्दवर्ग, सङ्गति शीर्षक अन्तर्गत लिङ्ग, वचन, पुरुष, आदर र काल, पक्ष र भाव, वाच्य, करण, अकरणको चर्चा गरिएको छ। प्रायोगिक कार्य अन्तर्गत भट्ट र पोखरेल (सन् २०१३) द्वारा कक्षा नौमा अध्ययनरत विद्यार्थीहरूको भाषा सिकाइ उपलब्धि परीक्षण शीर्षक लेख प्रकाशन गरिएको छ। यस लेखमा भाषा संरचना अन्तर्गत पठनबोध, शब्दभण्डार, पदवर्ग, वाक्य रचना, वर्णविन्यास र सङ्गतिलाई प्रयोगात्मक विधि अनुरूप चिनाउन खोजिएको छ। त्रिभुवन विश्वविद्यालय लगायत त्यस अन्तर्गतका केही शिक्षण संस्थाहरूमा सोपाधिक अनुसन्धान प्रयोजनार्थ भाषा सिकाइ उपलब्धिसम्बन्धी केही अनुसन्धानहरू भएका भेटिन्छन् तर कक्षा दशमा अध्ययनरत विद्यार्थीको भाषा सिकाइ उपलब्धिको परीक्षणसम्बन्धी अध्ययन भएको पाइँदैन। यसै शोधअन्तरालमा रहेर विद्यार्थीहरूको पठनबोध र शब्दभण्डार क्षमता, वाक्य रचना र वर्णविन्यास क्षमता रे पदवर्ग पहिचान र वाक्य परिवर्तन क्षमता के कस्तो रहेको छ भन्ने शोधसमस्या कायम गरिएको छ साथै कक्षा दशमा अध्ययनरत विद्यार्थीहरूको भाषा सिकाइ क्षमता परीक्षण गर्नु यस शोधलेखको उद्देश्य रहेको छ।
यस अनुसन्धान स्तरीकृत प्रश्नावलीको परिक्षण गरी भाषा सिकाइ उपलब्धिको पहिचान गर्नुमा केन्द्रित रहेको छ। यो अध्ययन परिणात्मक ढाँचा र निगमन विधिमा सीमित रहेको छ। यस अनुसन्धान लेखलाई ४ वटा विद्यालयका कूल १९६ जना विद्यार्थीमा सीमित गरिएको छ। यस अध्ययनलाई पठनबोध, शब्दभण्डार, पदवर्ग, वाक्य रचना, वर्णविन्यास र वाक्य परिर्वतन शीर्षकमा विद्यार्थीहरूको भाषा सिकाइ क्षमताको पहिचानमा परिसीमित गरिएको छ।
अध्ययन विधि
जनसङ्ख्या र नमुना छनोट
यो अनुसन्धान परिणात्मक ढाँचामा आधारित छ। यसमा सर्वेक्षण अन्तर्गतको समतलीय विधिको प्रयोग गरी अनुसन्धानलाई अगाडि बढाएको छ। यो अनुसान्धन विद्यार्थीको भाषा सिकाइ उपलब्धि परीक्षण गर्ने मुख्य उद्देश्यमा केन्द्रित रहेको छ। काभ्रे जिल्ला, धुलिखेल नगरपालिकाको सामुदायिक विद्यालयका कक्षा १० मा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई जनसङ्ख्या मानिएको छ। जनसंख्या यकिन नभएकोले नमुना छनोटको आकार निर्धारण गर्न n=Z^2PQ/E^2 को सूत्रका आधारमा १९६ जना विद्यार्थीलाई नमुनाको रूपमा छनोट गरिएको छ। यस सूत्रमा Z=१.९६, नमुना त्रुटि P=०.७, Q=१P र E=०.०५ मान उल्लेख गरिएको छ। सम्भावनायुक्त नमुना छनोटको चिठ्ठा पद्धतिबाट चारवटा विद्यालय र प्रत्येक विद्यालयबाट ४९ जना विद्यार्थीलाई नमुनाको रूपमा लिइ जम्मा १९६ जना विद्यार्थीमा तथ्याङ्क सङ्कलन गरिएको छ।
स्वतन्त्र चर
यस अनुसन्धानमा जनसांख्यिकीय, सामाजिक, आर्थिक र सांस्कृतिक चरहरू स्वतन्त्र चरको रुपमा प्रयोग गरिएको छ। जसमा, लिङ्ग, उमेर, धर्म, जात, जन्मस्थान, विद्यालय नियमित, घरमा सिकाइ वातावरण, विद्यालयबाहेक दैनिक पढाइमा बिताउने समय, अतिरिक्त क्रियाकलापमा सहभागी, मातृभाषा, आमाको पेसा र इन्टरनेटमा बिताउने समय रहेको छ। यस अनुसन्धानमा उमेरलाई १५ वर्ष मुनि, १५ वर्ष, १६ वर्ष र १६ वर्षमाथिका गरी चारवटा उमेर समूह बनाएको छ।
आश्रित चर
यस अनुसन्धानमा विद्यार्थीको भाषा सिकाइ उपलब्धि परीक्षण गर्न पठनबोध, शब्दभण्डार, वाक्य रचना, वर्णविन्यास, पदवर्ग पहिचान र वाक्य परिवर्तन सम्बन्धी १५ अङ्कको आश्रित चर (Dependent variable) उल्लेख गरी तथ्याङ्क संकलन गरिएको छ। यसमा सबै आश्रित चर continuous scale मा रहेको छ।
व्याख्याविश्लेषण
यस अनुसन्धान कक्षा दशमा अध्ययनरत विद्यार्थीहरूको भाषा सिकाइ उपलब्धि परीक्षणमा मात्र सीमित छ। यसमा पहिलो तालिकाको रूपमा पृष्ठभूमिगत विशेषताहरूको विवरण प्रतिशतमा उल्लेख गरिएको छ। दोस्रो र तेस्रो तालिकामा चरहरूको औसत (Mean) निकालिएको छ। साथै, T–test र ANOVA विश्लेषणद्वारा तथ्याङ्कहरूको तुलना गरी लिङ्ग, धर्म र विद्यालय नियमितताका आधारमा विभिन्न क्षमताहरूको भिन्नतालाई परीक्षण गरिएको छ।
नतिजा
यस अध्ययनबाट प्राप्त तथ्याङ्कलाई विद्यार्थीको पृष्ठभूमिगत विशेषताहरू र विद्यार्थीको पठनबोध, शब्दभण्डार, पदवर्ग पहिचान, वाक्य परिवर्तन, वाक्य रचना र वर्णविन्यास क्षमताहरूको सहसम्बन्धहरू विश्लेषण गरिएको छ। प्राप्त तथ्याङ्कलाई परिणात्मक तथ्याङ्क विश्लेषण पद्धतिको अवलम्बन गरी विश्लेषण गरिएको छ।
विद्यार्थीको पृष्ठभूमिगत विशेषता
यस अनुसन्धानमा फरक लिङ्ग, जाति, धर्म इत्यादिका आधारमा विद्यार्थीको सहभागिता रहेको पाइन्छ। विद्यार्थीको पृष्ठभूमिगत विशेषतालाई तल तालिका नं. १ मा प्रस्तुत गरिएको छ।
तालिका १
विद्यार्थीहरूको पृष्ठभूमिगत विशेषताहरू
विशेषता प्रतिशत सङ्ख्या
लिङ्ग पुरूष ४६.९ ९२
महिला ५३.१ १०४
उमेर समूह १५ वर्ष मुनिका १४.३ २८
१५ वर्ष २९.७ ५८
१६ वर्ष ३९.८ ७८
१६ वर्ष माथिका १६.३ ३२
जातजाति जनजाति ३४.७ ६८
ब्राह्मण/क्षेत्री ३९.८ ७८
दलित १७.९ ३५
मधेशी ७.७ १५
जन्मस्थान काभ्रे ८६.२ १६९
सर्लाही ४.१ ८
बारा ३.१ ६
गोरखा ६.६ १३
धर्म हिन्दू ६६.८ १३१
बौद्ध ११.७ २३
मुसलमान १०.७ २१
क्रिस्चियन १०.७ २१
विद्यालय नियमित सधैँ ५८.७ ११५
धेरै जसो ३१.१ ६१
कहिलेकाहीँ १०.२ २०
घरबाट सिकाइ पाउँछु ५०.५ ९९
पाउदिनँ ४९.५ ९७
विद्यालयबाहेक औषत पढाइ १ देखि ५ घण्टासम्म ६२.२ १२२
५ घण्टाभन्दा बढी ३७.८ ७४
अतिरिक्त क्रियाकलापमा सहभागी हुन्छु ६२.८ १२३
हुदैन् ३७.२ ७३
मातृभाषा तामाङ १०.७ २१
नेपाली ६१.७ १२१
नेवारी ७.१ १४
मैथिली ५.६ ११
गुरुङ ५.१ १०
मगर ६.१ १२
ताजापुरीया २.६ ५
संस्कृत १.० २
आमाको पेसा कृषि २२.४ ४४
रोजगारी १६.८ ३३
घरको व्यवस्थापन ३७.८ ७४
व्यापार १२.८ २५
मजदुरी १०.२ २०
इन्टरनेटमा बिताउने समय २ घण्टासम्म ५६.१ ११०
२ घण्टाभन्दा बढी ४३.९ ८६
यो अध्ययनले सहभागी विद्यार्थीहरूको पृष्ठभूमिगत विविधतालाई प्रस्तुत गर्दछ। सहभागीमध्ये महिलाको संख्या करिब आधाभन्दा बढी (५३.१%) र पुरुषहरूको संख्या करिब आधा (४६.९%) छ। उमेरका आधारमा १६ वर्षका विद्यार्थीहरू करिब दुई पञ्चमांश (३९.८%), १५ वर्षका विद्यार्थीहरू करिब एक चौथाइभन्दा बढी (२९.७%), १६ वर्षभन्दा माथिका विद्यार्थीहरू करिब एक छठौं (१६.३%) र १५ वर्ष मुनिका करिब एक सातौं (१४.३%) छन्। ब्राह्मण/क्षेत्री विद्यार्थीहरू करिब दुई पञ्चमांश (३९.८%), जनजाति करिब एक तिहाइ (३४.७%) र दलित करिब एक पाउने (१७.९%) र मधेशी करिब एक दसौं (७.७%) मात्र छ।
जन्मस्थानका आधारमा करिब तीन चौथाइभन्दा बढी (८६.२%) विद्यार्थी काभ्रे जिल्लाका छन् भन्ने सर्लाही, बारा र गोरखाबाट संयुक्त रूपमा करिब एक सातौं (१३.८%) मात्र सहभागी छन्। हिन्दू विद्यार्थीहरूको संख्या करिब दुई तिहाइ (६६.८%) छ, जबकि बौद्ध, मुसलमान र क्रिस्चियन धर्मावलम्बी विद्यार्थीहरूको संयुक्त संख्या करिब एक तिहाइ (३३.२%) छ। विद्यालय नियमिततामा करिब तीन चौथाइ (५८.७%) विद्यार्थीहरू सधैँ विद्यालय आउँछन्, एक तिहाइ (३१.१%) विद्यार्थीहरू धेरैजसो र करिब एक दसौं (१०.२%) विद्यार्थी मात्र कहिलेकाहीँ आउँछन्।
घरबाट सिकाइ सहयोग पाउने विद्यार्थीहरूको संख्या करिब आधा (५०.५%) र बाँकी आधाले (४९.५%) सहयोग पाउँदैनन्। विद्यालयबाहेक दैनिक औसत पढाइमा करिब दुई तिहाइ (६२.२%) विद्यार्थीहरू १ देखि ५ घण्टा अध्ययन गर्छन् र एक तिहाइ (३७.८%) विद्यार्थीहरूले ५ घण्टाभन्दा बढी अध्ययन गर्छन्। अतिरिक्त क्रियाकलापमा करिब तीन चौथाइ (६२.८%) विद्यार्थीहरू सहभागी हुन्छन्, जबकि एक तिहाइ (३७.२%) सहभागी हुँदैनन्।
मातृभाषाका आधारमा करिब तीन पञ्चमांश (६१.७%) विद्यार्थीहरूको मातृभाषा नेपाली हो। अन्य मातृभाषा, जस्तै तामाङ, नेवारी, मैथिली, गुरुङ, मगर, ताजापुरीया र संस्कृत भाषी विद्यार्थीहरूको संख्या संयुक्त रूपमा करिब दुई पञ्चमांश (३८.३%) मात्र छ। आमाको पेसामा एक तिहाइ (३७.८%) आमाहरू घर व्यवस्थापनमा र बाँकी आमाहरू कृषि (२२.४%), रोजगारी (१६.८%), व्यापार (१२.८%) र मजदुरी (१०.२%) जस्ता कार्यमा संलग्न छन्। दैनिक इन्टरनेट प्रयोगमा करिब आधाभन्दा बढी (५६.१%) विद्यार्थीहरूले २ घण्टासम्म र आधाभन्दा कम (४३.९%) विद्यार्थीहरूले २ घण्टाभन्दा बढी समय इन्टरनेटमा बिताउँछन्।
तालिका २
लिङ्ग र धर्मको आधारमा पठनबोध क्षमता, वाक्य निर्माण क्षमता, वर्ण विन्यास क्षमता, शब्दभण्डार क्षमता, पदवर्ग पहिचान क्षमता, वाक्य परिवर्तन क्षमताको औसत र T–test को सहसम्बन्ध
लिङ्ग धर्म
चर औसत औसत टी टेस्ट औसत औसत टी टेस्ट
(Variables) (पुरुष) (महिला) (p–value) (हिन्दू) (अन्य) (p–value)
पठनबोध क्षमता १.८३ १.७९ ०.४७ १.८ १.८२ ०.७५
वाक्य निर्माण क्षमता १.६७ १.६१ ०.३९ १.६३ १.६६ ०.७५
वर्ण विन्यास क्षमता १.३४ १.३७ ०.७४ १.२७ १.५१ ०.००३८
शब्दभण्डार क्षमता १.३९ १.३९ ०.९८ १.३४ १.५ ०.०४४८
पदवर्ग पहिचान क्षमता १.९७ १.८७ ०.२९ १.९८ १.७७ ०.०३७८
वाक्य परिवर्तन क्षमता २.४१ २.११ ०.०३८ २.३ २.१७ ०.३७
कुल प्राप्ताङ्क १०.४८ १०.०४ ०.१३२ १०.१८ १०.३८ ०.५१
माथिको तालिकामा पठनबोध क्षमतामा पुरुषको औसत १.८३ र महिलाको १.७९ औसत रहेको छ, जसको p–value ०.४७ छ। यसले लिङ्गको आधारमा पठनबोध क्षमतामा कुनै तथ्याङ्कीय रूपमा महत्त्वपूर्ण भिन्नता नभएको देखाउँछ। धर्मको आधारमा हिन्दू धर्मको औसत १.८० र अन्य धर्मको औसत १.८२ रहेको छ, जसको p–value ०.७५ छ। यसले पनि धर्मको आधारमा पठनबोध क्षमतामा पनि कुनै तथ्याङ्कीय रूपमा महत्त्वपूर्ण भिन्नता नभएको देखाउँछ।
वाक्य निर्माण क्षमतामा पुरुषको औसत १.६७ र महिलाको औसत १.५१ रहेको छ, जसको p–value ०.३९ छ। हिन्दू धर्मको औसत १.६३ र अन्य धर्मको औसत १.६६ छ, जसको p–value ०.७५ छ। यी दुबै लिङ्ग र धर्ममा तथ्याङ्कीय रूपमा महत्त्वपूर्ण भिन्नता छैन।
वर्ण विन्यास क्षमतामा हिन्दू धर्मको औसत १.२७ र अन्य धर्मको औसत १.५१ रहेको छ, जसको p–value ०.००३ छ। यसले धर्मको आधारमा तथ्याङ्कीय रूपमा महत्त्वपूर्ण भिन्नता देखाउँछ। तर लिङ्गको आधारमा पुरुषको १.३४ र महिलाको १.३७ औसत रहेको छ, जसको p–value ०.७४ छ र कुनै तथ्याङ्कीय रूपमा महत्त्वपूर्ण भिन्नता देखिँदैन।
शब्दभण्डार क्षमतामा हिन्दू धर्मको औसत १.३४ र अन्य धर्मको औसत १.५० रहेको छ, जसको p–value ०.०४४ छ। यसले धर्मको आधारमा तथ्याङ्कीय रूपमा महत्त्वपूर्ण भिन्नता देखाउँछ। तर लिङ्गको आधारमा p–value ०.९८ हुँदा तथ्याङ्कीय रूपमा महत्त्वपूर्ण भिन्नता देखिँदैन।
पदवर्ग पहिचान क्षमतामा हिन्दू धर्मको औसत १.९७ र अन्य धर्मको १.७७ रहेको छ, जसको p–value ०.०३७ छ। धर्मको आधारमा तथ्याङ्कीय रूपमा महत्त्वपूर्ण भिन्नता देखिन्छ। लिङ्गको आधारमा भने p–value ०.२९ छ, र तथ्याङ्कीय रूपमा महत्त्वपूर्ण भिन्नता देखिँदैन्।
वाक्य परिवर्तन क्षमतामा पुरुषको औसत २.४१ र महिलाको औसत २.११ रहेको छ, जसको p–value ०.०३ छ। यसले लिङ्गको आधारमा तथ्याङ्कीय रूपमा महत्त्वपूर्ण भिन्नता देखाउँछ। तर हिन्दू र अन्य धर्मको p–value ०.३७ हुँदा धर्मको आधारमा कुनै तथ्याङ्कीय रूपमा महत्त्वपूर्ण भिन्नता छैन।
लिङ्गको आधारमा पुरुषहरूको औसत कुल प्राप्ताङ्क १०.४८ र महिलाको औसत कुल प्राप्ताङ्क १०.०४ रहेको छ। यद्यपि पुरुषको औसत महिलाको भन्दा थोरै उच्च छ। T–Test विश्लेषणले p–value ०.१३२ देखाएको छ, जसले लिङ्गका आधारमा कुल प्राप्ताङ्कमा तथ्याङ्कीय रूपमा महत्त्वपूर्ण भिन्नता नभएको संकेत गर्दछ।
धर्मको आधारमा हिन्दू धर्मावलम्बीहरूको औसत कुल प्राप्ताङ्क १०.१८ र अन्य धर्मावलम्बीहरूको औसत कुल प्राप्ताङ्क १०.३८ रहेको छ। T–Test विश्लेषणले p–value ०.५१ देखाएको छ, जसले धर्मका आधारमा पनि कुल प्राप्ताङ्कमा कुनै तथ्याङ्कीय रूपमा महत्त्वपूर्ण भिन्नता नभएको देखाउँछ।
यसले लिङ्ग र धर्म दुवैको केही विशेष क्षमताहरूमा प्रभाव पारेको देखाउँछ, जसले गर्दा यी कारकहरूको महत्त्वपूर्ण भूमिका रहेको अनुमान गर्न सकिन्छ।
तालिका ३
विद्यालय नियमिताको आधारमा पठनबोध क्षमता, वाक्य निर्माण क्षमता, वर्ण विन्यास क्षमता, शब्दभण्डार क्षमता, पदवर्ग पहिचान क्षमता, वाक्य परिवर्तन क्षमताको औसत र ANOVA को सहसम्बन्ध
विद्यालय नियमितताको आधार
चर (Variables) औसत औसत औसत ANOVA (p–value)
(सधैँ) (धेरैजसो) (कहिलेकाहीँ)
पठनबोध क्षमता १.८६ १.७८ १.६ ०.०१२
वाक्य निर्माण क्षमता १.६ १.६६ १.८५ ०.०९५
वर्ण विन्यास क्षमता १.२९ १.४७ १.३७ ०.०९९
शब्दावली क्षमता १.३९ १.४१ १.३५ ०.९०४
पदवर्ग पहिचान क्षमता २.०६ १.८१ १.४ ०.०००
वाक्य परिवर्तन क्षमता २.२९ २.२७ २. ०.४३
कुल प्राप्ताङ्क १०.३७ १०.२४ ९.५८ ०.२८५
विद्यालय नियमितताको आधारमा विभिन्न क्षमताहरूको विश्लेषण गर्दा पठनबोध क्षमता र पदवर्ग पहिचान क्षमतामा तथ्याङ्कीय रूपमा महत्त्वपूर्ण भिन्नता देखिएको छ।
पठनबोध क्षमतामा सधैँ विद्यालय आउने विद्यार्थीहरूको औसत १.८६ धेरैजसो आउने विद्यार्थीहरूको औसत १.७८ र कहिलेकाहीँ आउने विद्यार्थीहरूको औसत १.६० छ। ANOVA विश्लेषणले p–value ०.०१२ देखाएको छ, जसले गर्दा विद्यालयमा नियमित आउने र कम आउने विद्यार्थीहरूको पठनबोध क्षमतामा तथ्याङ्कीय रूपमा महत्त्वपूर्ण भिन्नता देखिन्छ। यसले विद्यालयको नियमित उपस्थितिले पठनबोध क्षमतामा सकारात्मक प्रभाव पार्ने संकेत गर्दछ।
पदवर्ग पहिचान क्षमतामा सधैँ विद्यालय आउने विद्यार्थीहरूको औसत २.०६, धेरैजसो आउने विद्यार्थीहरूको औसत १.८१ र कहिलेकाहीँ आउने विद्यार्थीहरूको औसत १.४० छ। यहाँ पनि ANOVA विश्लेषणले p–value ०.००० देखाएको छ, जसले गर्दा विद्यालयमा नियमित आउने र कम आउने विद्यार्थीहरूको पदवर्ग पहिचान क्षमतामा तथ्याङ्कीय रूपमा महत्त्वपूर्ण भिन्नता देखिन्छ। विद्यालय नियमितताले पदवर्ग पहिचान क्षमतामा प्रत्यक्ष र गहिरो प्रभाव पार्ने प्रमाणित हुन्छ।
अन्य क्षमताहरूमा भने विद्यालय नियमितताको प्रभाव स्पष्ट रूपमा तथ्याङ्कीय रूपमा महत्त्वपूर्ण भिन्नता देखिएन। उदाहरणका लागि वाक्य निर्माण क्षमतामा p–value ०.०९५, वर्ण विन्यास क्षमतामा p–value ०.०९९, शब्दावली क्षमतामा p–value ०.९०४ र वाक्य परिवर्तन क्षमतामा p–value ०.४३८ देखिएको छ। यी क्षमताहरूमा विद्यालय नियमितता र औसत मूल्यबीचको तथ्याङ्कीय रूपमा महत्त्वपूर्ण भिन्नता छैन।
विद्यालय नियमितताको प्रभाव विश्लेषण गर्दा ‘सधैँ’ विद्यालय आउने विद्यार्थीहरूको औसत कुल प्राप्ताङ्कमा १०.३७, ‘धेरैजसो’ विद्यालय आउनेहरूको औसत १०.२३ र ‘कहिलेकाहीँ’ आउनेहरूको औसत ९.५८ रहेको छ। यद्यपि “सधैँ” विद्यालय आउने विद्यार्थीहरूको औसत तुलनात्मक रूपमा उच्च छ। ANOVA विश्लेषणले p–value ०.२८५ देखाएको छ, जसले विद्यालय नियमितताको आधारमा कुल प्राप्ताङ्कमा तथ्याङ्कीय रूपमा महत्त्वपूर्ण भिन्नता नभएको पुष्टि गर्दछ।
यस अध्ययनले पठनबोध र पदवर्ग पहिचान क्षमतामा विद्यालय नियमितताको महत्त्वपूर्ण भूमिका रहेको देखाउँछ। यसका आधारमा विद्यार्थीहरूको सिकाइ क्षमता सुधार गर्न विद्यालय नियमिततालाई प्राथमिकता दिनु उपयुक्त देखिन्छ।
छलफल
यो अध्ययन कक्षा दशका विद्यार्थीहरूको भाषा सिकाइ उपलब्धि परीक्षणमा केन्द्रित छ। भाषा सिकाइ क्षमतामा विद्यालय नियमितता, लिङ्ग र धर्मका कारकहरूको प्रभावलाई विश्लेषण गर्न यस अनुसन्धानले तथ्याङ्कीय रूपमा महत्त्वपूर्ण भिन्नता पत्ता लगाएको छ। विद्यालय नियमितताले पठनबोध र पदवर्ग पहिचान क्षमतामा महत्त्वपूर्ण प्रभाव देखाएको छ। नियमित रूपमा विद्यालय आउने विद्यार्थीहरूको पठनबोध क्षमता (p–value = ०.०१२) र पदवर्ग पहिचान क्षमता (p–value = ०.०००) अन्य विद्यार्थीहरूको तुलनामा उत्कृष्ट रहेको पाइयो। यसले नियमित विद्यालय उपस्थितिको महत्वलाई झल्काउँछ।
लिङ्गको आधारमा वाक्य परिवर्तन क्षमतामा पुरुष विद्यार्थीहरूको प्रदर्शन उच्च रहेको पाइएको छ (p–value = ०.०३)। यद्यपि, कुल प्राप्ताङ्कमा लिङ्गको आधारमा कुनै तथ्याङ्कीय रूपमा महत्त्वपूर्ण भिन्नता देखिएन। धर्मका आधारमा वर्ण विन्यास (p–value = ०.००३) र पदवर्ग पहिचान क्षमतामा (p–value = ०.०३७), हिन्दू र अन्य धर्मावलम्बीबीच तथ्याङ्कीय रूपमा महत्त्वपूर्ण भिन्नता पाइएको छ। तर समग्र कुल प्राप्ताङ्कमा धर्मको प्रभाव स्पष्ट देखिएन।
भट्ट र पोखरेल (२०२३) द्वारा गरिएको अध्ययनमा पनि पठनबोध, शब्दभण्डार, पदवर्ग पहिचान, वाक्य परिवर्तन, वाक्य रचना र वर्णविन्यास क्षमताहरूको परीक्षण गरिएको थियो। यसले देखाएको छ कि पठनबोध र शब्दभण्डार क्षमतामा धार्मिक पृष्ठभूमिले केही प्रभाव पार्न सक्छ। यो अध्ययनमा पनि वर्ण विन्यास र शब्दभण्डार क्षमतामा धर्मको आधारमा महत्त्वपूर्ण भिन्नता देखियो (p–value < ०.०५)। माध्यमिक तहका पाठ्यक्रमको उद्देश्यलाई ध्यानमा राखेर, दुबै अध्ययनले विद्यार्थीहरूको भाषिक सीपहरूको परीक्षणमा ध्यान केन्द्रित गरेका छन्। विशेष गरी भाषा शिक्षणलाई भाषिक दक्षता विकासमा उपयोगी मानिएको छ।
भट्ट र पोखरेलको अध्ययनले लिङ्गको आधारमा पठनबोध क्षमतामा महत्त्वपूर्ण भिन्नता देखाएको थियो, जबकि यो अध्ययनले कुनै उल्लेखनीय भिन्नता देखाएन (p–value > ०.०५)। विद्यालय नियमितताको प्रभाव भट्ट र पोखरेलको अध्ययनमा तुलनात्मक रूपमा उल्लेख नभए पनि यस अध्ययनले विद्यालय नियमितताले पठनबोध र पदवर्ग पहिचान क्षमतामा महत्त्वपूर्ण प्रभाव देखाएको छ (p–value = ०.०१२ र ०.०००)।
अधिकारी (२०७६) ले भाषा शिक्षाको सिद्धान्त र अभ्यास दुवैलाई समेट्दै, भाषाशिक्षामा सन्दर्भ र संरचनाका महत्त्वपूर्ण पक्षहरूको व्याख्या गरेका थिए। प्रस्तुत लेखले अधिकारीको दृष्टिकोणलाई निरन्तरता दिंदै, विद्यालय नियमितता, लिङ्ग र धर्मजस्ता सामाजिक पक्षहरूले भाषा सिकाइ क्षमतामा पार्ने प्रभावको विश्लेषण गरेको छ।
चौलागाईँ र अन्य (२०७७) को अध्ययन भाषा शिक्षाको प्रयोगात्मक पक्षमा केन्द्रित थियो। उनले व्याकरणका संरचनागत तत्त्वहरू जस्तै पदवर्ग, काल, पक्ष र वाच्यको अध्ययन गरेका थिए। प्रस्तुत लेखले यिनै तत्त्वहरूलाई विद्यार्थीहरूको भाषा उपलब्धिसँग जोडेर थप विश्लेषण गरेको छ।
यस अध्ययनले पठनबोध, पदवर्ग पहिचान र वाक्य परिवर्तन क्षमतामा तथ्याङ्कीय रूपमा महत्त्वपूर्ण भिन्नता देखाए पनि अन्य क्षमताहरूमा विद्यालय नियमितता, लिङ्ग र धर्मका प्रभावहरू सीमित देखिए। यसको अर्थ यी कारकहरूले विद्यार्थीको सिकाइ क्षमतामा आंशिक प्रभाव पर्छ।
निष्कर्ष
यस अनुसन्धानमा कक्षा दशका विद्यार्थीहरूको भाषा सिकाइ क्षमतामा विभिन्न कारकहरूको प्रभावको विश्लेषण गरिएको छ। यस अध्ययनका आधारमा विद्यार्थीहरूको पठनबोध, वाक्य निर्माण र अन्य क्षमतामा लिङ्ग र धर्मको आधारमा कुनै महत्त्वपूर्ण भिन्नता देखिएन। तथापि, वर्ण विन्यास र शब्दभण्डार क्षमतामा धर्मको आधारमा महत्त्वपूर्ण भिन्नता देखियो (p–value < ०.०५)। सधैँ विद्यालय आउने विद्यार्थीहरूको पठनबोध र पदवर्ग पहिचान क्षमतामा उच्च प्रदर्शन देखियो (p–value = ०.०१२ र ०.०००)। अन्य क्षमतामा विद्यालय नियमितताको प्रभाव तथ्याङ्कीय रूपमा महत्त्वपूर्ण भिन्नता थिएन। धर्म र लिङ्ग दुवैका आधारमा कुल प्राप्ताङ्कमा कुनै तथ्याङ्कीय रूपमा महत्त्वपूर्ण भिन्नता देखिएन (p–value > ०.०५)। यस अध्ययनबाट विद्यार्थीहरूको विद्यालय नियमिततालाई प्राथमिकता दिनुपर्छ, किनभने यसले भाषिक क्षमतामा सकारात्मक प्रभाव पार्छ भन्ने निचोड निकालिएको छ। लिङ्ग र धर्मजस्ता पृष्ठभूमि कारकहरूको अतिरिक्त परिवारको सहयोग र अतिरिक्त क्रियाकलापहरूलाई पनि अध्ययनमा समावेश गरेर थप व्यापक विश्लेषण गर्न सकिने निष्कर्ष निकालिएको छ। साथै भाषा शिक्षामा व्यक्तिगत ध्यान र व्यावहारिक अभ्यासको प्रयोगलाई प्रवद्र्धन गर्नुपर्ने निचोड प्रस्तुत गरिएको छ। यस अध्ययनले शिक्षा क्षेत्रलाई विद्यार्थीको भाषिक क्षमता सुधार गर्नका लागि उपयोगी सन्दर्भ सामग्री उपलब्ध गराउने अपेक्षा गरिएको छ। साथै, पठनबोध र शब्दभण्डार क्षमतामा धार्मिक पृष्ठभूमिको प्रभावले पाठ्यक्रम र शिक्षण विधिमा विविधता अपनाउनुपर्नेतर्फ सुझाव प्रदान गरिएको छ। भाषा शिक्षालाई प्रभावकारी बनाउन विद्यालय र अभिभावकको सहकार्यलाई प्राथमिकता दिन आवश्यक देखिएको छ। यस अनुसन्धानले भावी अध्ययनहरूका लागि एउटा आधार प्रदान गर्न सक्ने ठानिएको छ।
सन्दर्भसूची
अधिकारी, हेमाङ्गराज. (२०७६). समसामयिक नेपाली व्याकरण (सातौँ सं.). काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार।
खनिया, बुद्धराज. (२०७५). नेपाली भाषा शिक्षण : सिद्धान्त र प्रयोग. काठमाडौँ : जुपिटर प्रिन्टिङ एन्ड पब्लिसिङ हाउस प्रा.लि.।
चौलागाई, प्रेमप्रसाद, पौडेल, हेमनाथ र भट्टराई, रमेशप्रसाद. (२०७७). प्रज्ञा नेपाली शैक्षणिक व्याकरण. काठमाडौँ : नेपाल प्रज्ञाप्रतिष्ठान।
पाठ्यक्रम विकास केन्द्र. (२०७८). माध्यमिक शिक्षा पाठ्यक्रम (कक्षा ९१०). पाठ्यक्रम विकास केन्द्र।
पौडेल, माधवप्रसाद. (२०७०). नेपाली भाषा शिक्षण. काठमाडौँ : विद्यार्थी प्रकाशन प्रा. लि.।
भट्ट, महेशप्रसाद र पोखरेल, कृष्णप्रसाद. (सन् २०२३). कक्षा नौमा अध्ययनरत विद्यार्थीहरूको भाषा सिकाइ उपलब्धि परीक्षण, द एजुकेटर जर्नल ११ (१), पृ.३३४२।
लामिछाने, यादवप्रकाश. (२०६९). नेपाली भाषाशिक्षण. काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार।
शर्मा, मोहनराज. (२०७१). प्रज्ञा नेपाली सन्दर्भ व्याकरण. काठमाडौँ : नेपाल प्रज्ञाप्रतिष्ठान।
[1] लेखक त्रिभुवन विश्वविद्यालयअन्तर्गत ग्राजुएट स्कुल अफ एजुकेसनमा शिक्षार्थी हुनुहुन्छ।