प्रस्तुत अध्ययन कवि विजय मल्लको कविता (२०१६) कवितासङ्ग्रहमा समेटिएको ‘यस धरतीको पानीमा’ कवितामा प्रयुक्त बिम्बहरूको विश्लेषणमा केन्द्रित रहेको छ। बिम्ब साहित्यको आलङ्कारिक अभिव्यक्तिसँग जोडिएको अवधारणा हो। यो सिद्धान्त भाषाशैलीगत पक्षसँग जोडिएको छ। यस अध्ययनमा विजय मल्लको कविता सङ्ग्रहमा निहित यस धरतीको पानीमा कवितालाई विश्लेष्य रचनाका रूपमा लिइएको छ र यो प्राथमिक सामग्रीका रूपमा रहेको छ।
नित्यानन्द खतिवडा (विद्यावारिधि)
उपप्राध्यापक : नेपाली विभाग
नेसंवि, पिण्डेश्वर विद्यापीठ (क्याम्पस), धरान, नेपाल
nityanandakhatiwada357@gmail.com
लेखसार
प्रस्तुत अध्ययन कवि विजय मल्लको कविता (२०१६) कवितासङ्ग्रहमा समेटिएको ‘यस धरतीको पानीमा’ कवितामा प्रयुक्त बिम्बहरूको विश्लेषणमा केन्द्रित रहेको छ। बिम्ब साहित्यको आलङ्कारिक अभिव्यक्तिसँग जोडिएको अवधारणा हो। यो सिद्धान्त भाषाशैलीगत पक्षसँग जोडिएको छ। यस अध्ययनमा विजय मल्लको कविता सङ्ग्रहमा निहित यस धरतीको पानीमा कवितालाई विश्लेष्य रचनाका रूपमा लिइएको छ र यो प्राथमिक सामग्रीका रूपमा रहेको छ। बिम्बपरक चिन्तनका सम्बन्धमा लेखिएका लेख तथा पुस्तकहरू द्वितीयक सामग्रीका रूपमा रहेका छन्। गुणात्मक प्रकृतिको यस अध्ययनमा व्याख्यात्मक तथा वर्णनात्मक विधि अवलम्बन गरिएको छ। कविताको अध्ययनबाट प्राप्त तथ्यका आधारमा बिम्बका प्रकारहरू निर्धारण गरिएकाले यहाँ आगमनात्मक विधि प्रयोग भएको छ। कवितामा जुन जुन प्रकारको बिम्बपरक अभिव्यक्ति भएको छ त्यसको पुष्टिका लागि कविताबाट साक्ष्य प्रस्तुत गरिएको छ। प्रस्तुत कवितामा बिम्बपरक अभिव्यक्ति के कस्तो देखिन्छ भन्ने मुख्य समस्याको समाधानमा केन्द्रित यस अध्ययनमा आधुनिकताका नाममा मान्छेमा देखिएको स्वार्थसँगै विश्वव्यापी रूपमा देखिएको पानीमाथिको फोहोरी राजनीति र त्यसको प्रभावमाथिको चिन्ता, पानीलाई दूषित बनाउन गरिएका विविध मानवीय हर्कत र तमासाहरूको अन्त्यको अपेक्षालाई देखाउँदै आजका मान्छेको व्यवहारले एउटा गरिमा बोकेका विश्वका प्रसिद्ध नदीहरू नै सङ्कटमा परेको सन्दर्भसँगै विगतको प्राकृतिक मानवजीवन आज खण्डहर बन्दै गएको तथा मान्छेका परम्परित मूल्यमान्यताहरू साँघुरिँदै गएको सन्दर्भलाई विविध बिम्बका माध्यमबाट देखाउने प्रयासका कारण बिम्बपरक अभिव्यक्तिका आधारमा प्रस्तुत कविता प्रभावकारी बनेको छ भन्ने निष्कर्ष निकालिएको छ।
शब्दकुञ्जी : बिम्ब, प्रतीक, मिथक, प्रकृति, संस्कृति
विषयपरिचय
विजय मल्ल (वि.सं.१९८२–२०५६) नेपाली साहित्यका बहुआयामिक साहित्यकार हुन्। नेपाली साहित्यका धेरैजसो विधाहरूमा कलम चलाएका विजय मल्लका कथा, नाटक, उपन्यासका कृतिहरू प्रकाशित छन्। बुबा ऋद्धिबहादुर मल्ल र दाजु गोविन्दबहादुर गोठालेबा प्रेरणा प्राप्त गरेका विजयले घरमा दैनन्दिन आवतजावत गरिरहने साहित्यकारहरूको सङ्गतले पनि साहित्यमा पदार्पण गर्ने अवसर पाएका थिए। स्वदेशी र विदेशी साहित्यकारका कृतिहरूको स्वाध्यायनले पनि विजयको साहित्यिक क्षेत्र फराकिलो बन्न पुगेको थियो। सानै उमेरदेखि कविता कोर्ने गरेका कवि विजय मल्लको एकमात्र कविता सङ्ग्रह ‘विजय मल्लका कविता (२०१६)’ प्रकाशित छ। जम्मा एकसट्ठी ओटा फुटकर कविताहरू समेटिएको यस सङ्ग्रहका कवितामा विविध विषय, भाव र शैलीको प्रयोग भएको पाइन्छ। जम्मा १०० पृष्ठमा संरचित यस सङ्ग्रहका कविताहरूमध्ये ‘यस धरतीको पानीमा’ प्रथम कविता हो। आजको विश्वमा मान्छेद्वारा नै सृजित पानीमाथिको समस्यालाई कविताले विषयवस्तु बनाएको देखिन्छ। पानीजस्तो संवेदनशील वस्तुप्रति मान्छेको गतिविधि प्रकृति र स्वयम् मान्छेकै लागि पनि अहितकर रहेको सन्दर्भ कवितामा पाइन्छ। अनेकन उदाहरणहरू दिएर कविले धरतीको पानीमाथि आज देखिएको विकृत राजनीतिले संसारलाई नै सङ्कट उत्पन्न गरेको जनाएका छन्। ठुला देशहरूको व्यवहार तथा चिन्तन पनि धरतीको पानी दूषित बन्नाको कारक हो भन्ने सन्दर्भ कविताको विषयमा समेटिएको छ।
बिम्ब काव्य जगत्मा देखिएको एउटा गहन अवधारणा हो। शब्दपरक अर्थमा छाया वा प्रतिच्छवि भन्ने बुझिए पनि साहित्यमा यो काव्यबिम्बका रूपमा परिचित रहेको छ। बिम्बले साहित्यमा फराकिलो अर्थ बोकेको हुन्छ। यो कविताकाव्यमा भाषिक सौन्दर्यलाई निखार्न प्रयोग गर्ने गरिन्छ। यसअर्थमा भाषाशैलीगत चमत्कृतिका अर्थमा पनि यसलाई बुझ्न सकिन्छ। कवितामा निहित भावलाई अझ कलात्मक र प्रभावकारी बनाउन कविहरू बिम्बको प्रयोग गर्दछन्। विजय मल्लको विवेच्य कवितामा पनि बिम्बको कलात्मक प्रयोग गरिएको पाइन्छ। यहाँ पौराणिक बिम्ब, छायात्मक बिम्ब, तान्त्रिक बिम्ब, संवेदनात्मक बिम्ब, गन्ध बिम्ब, आलङ्कारिक बिम्ब, लोकबिम्ब, समसामयिक बिम्ब र प्राकृतिक बिम्बहरूको सुन्दर प्रयोग गरिएको पाइन्छ। यी बिम्बहरू प्रायोजित नभएर प्राकृतिक र कविताको विषयसँग सन्दर्भित हृदयसंवेद्य देखिन्छन्। यस अध्ययनमा बिम्बको प्रयोग अवस्था के कस्तो रहेको छ र त्यसको अभिव्यक्ति कसरी भएको छ भन्ने मुख्य समस्या बनेको छ भने उक्त समस्याको प्राज्ञिक समाधान गरी निष्कर्षमा पुग्ने उद्देश्य रहेको छ। अध्ययनको उद्देश्य प्राप्तिका लागि विवेचित कवितालाई प्राथमिक सामग्रीको स्रोत मानिएको छ भने बिम्बसिद्धान्तविषयक लेखक, समालोचकहरूका लेख, रचनालाई द्वितीयक सामग्रीस्रोत बनाइएको छ। कवि मल्लको कविता सङ्ग्रहका कविताहरूमध्ये ‘यस धरतीको पानीमा’ कवितालाई मात्र लिएर अध्ययन विश्लेषण गर्नु यस अध्ययनको सीमा रहेको छ। गुणात्मक ढाँचा रहेको यस अध्ययनमा वर्णनात्मक र व्याख्यात्मक विधिको प्रयोग गरिएको छ। विवेचित कवितालाई मुख्य तथ्य मान्दै बिम्बवादी सिद्धान्तका कसीमा कवितामा निहित बिम्बहरूको विश्लेषण गरी निष्कर्षमा पग्ने कार्य यस अध्ययनमा भएको छ।
कवि विजय मल्लका कवित्वका बारेमा विभिन्न अध्ययनहरू भएको पाइन्छ। दयाराम श्रेष्ठ र मोहनराज शर्मा (२०३४) ले ‘नेपाली साहित्यको सङ्क्षिप्त इतिहास’ ग्रन्थमा तथा अभि सुवेदी (२०३८) ले ‘सिर्जना र मूल्याङ्कन’ ग्रन्थमा ‘कवि नाटककारसँग एक बिहान’ शीर्षकमा विजय मल्लको कवित्वबारे सङ्क्षेपमा चर्चा गरेका छन्। यी अध्ययनहरूमा कुनै कविताविशेषभन्दा कविको कवित्वका विषयमा चर्चा गरिएको देखिन्छ। त्यस्तै माधवप्रसाद पोखरेल (२०६६) ले ‘विजय मल्लका कविताका संरचक तत्त्व र प्राविधिक कौशल’ तथा मोमिला (२०६६) ले ‘विजय मल्लका कवितामा विचारको अनुशीलन’ शीर्षकमा अध्ययन गरेका छन्। ‘विजय मल्ल स्मृति ग्रन्थ’ ग्रन्थमा समेटिएका यी लेखहरूमा पनि विजय मल्लको व्यक्तित्व र कवित्वका विविध विषयहरूबारे केही चर्चा गरेको पाइन्छ। साथै नित्यानन्द खतिवडा (२०७४) ले ‘विजय मल्ल र उनका प्रयोगशील नाटकहरू’ ग्रन्थमा तथा नित्यानन्द खतिवडा (२०८१) कै ‘विजय मल्लका कवितामा विचार’ शीर्षकीय लघु अनुसन्धान ग्रन्थमा पनि कवि मल्लको कवित्व शिल्पसँगै कवितात्मक विचारबारे चर्चा गरेको पाइन्छ। यहाँ प्रस्तुत पूर्वकार्यहरूको अध्ययन गर्दा कवि विजय मल्लका कविता प्रवृत्ति, शिल्प र विचार तथा आंशिक रूपमा कुनै फुटकर कविताबारे अध्ययन भए पनि यिनमा बिम्बलाई केन्द्रमा राखेर अध्ययन भएको देखिँदैन। तसर्थ आजसम्म अध्ययनको केन्द्र नबनेको बिम्बका आधारमा विवेच्य कविताको अध्ययन विश्लेषण गरी निष्कर्षमा पुग्ने कार्य यहाँ भएको छ।
सैद्धान्तिक पर्याधार
सामान्यतया बिम्ब भन्नाले छाया वा प्रतिच्छवि भनेर बुझ्ने गरिन्छ। यो बिम्बको शब्दपरक अर्थ भए पनि साहित्यमा यसले काव्यबिम्बलाई जनाउँछ। एक अर्थमा भन्दा कुनै वस्तुप्रति सर्जकका मानसिकतामा उत्पन्न तस्विरलाई मूर्तता प्रदान गर्न आएको चित्रात्मक भाषा नै बिम्ब हो (गौतम, २०६०, पृ.१)। अङ्ग्रेजीमा बिम्बलाई इमेज र काव्यबिम्बलाई पोइटिक इमेज भनिन्छ। नेपाली बृहत् शब्दकोशमा बिम्बको अर्थ १.ऐना, पानी आदिमा देखिने छायाको रूप, छाया मण्डल, प्रतिबिम्ब, बिम्ब २. आकाशमा देखिने सूर्य, चन्द्र, तारा आदिको ज्योतिपिण्ड, ३. प्रतिमूर्ति, प्रतिमा। ४. कुनै कुराको आभास वा झलक। ५. गोलकाँक्री (पोखरेल, २०७२, पृ.११५९) भनेर गरिएको छ।
साहित्यमा बिम्बको अर्थ फराकिलो रहेको देखिन्छ। साहित्यमध्ये पनि कवितामा यसको प्रयोग भाषिक सौन्दर्य निखार्नका लागि गरिन्छ। बिम्बबारे विभिन्न धारणाहरू रहेका पाइन्छन्। जसमध्ये केही धारणाहरू निम्न रहेका छन्– ‘बिम्ब भन्नाले मस्तिष्कमा पर्ने कुनै पनि वस्तुको छाया हो’ (बराल र एटम, २०६६, पृ.४०)। त्यस्तै ‘बिम्बले साहित्यका कुनै अंशको आलङ्कारिक भाषा तथा इन्द्रिय र अनुभूतिलाई आकर्षित तुल्याउने वस्तु र गुणका सङ्केतक सम्पूर्ण शब्दहरूलाई जनाउँछ (शर्मा र लुईंटेल, २०६२, पृ.३२७)। त्यस्तै ‘जे भए पनि बिम्बहरू सुन्दर हुन्छन् र ती आफैंले कविको विशेषतालाई मौलिक प्रतिभाको प्रमाणका रूपमा आफूलाई प्रस्तुत गर्दछन्’ (सिंह, सन् १९९४, पृ.२४)। जेम्स आर. क्रेन्जरका अनुसार ‘बिम्बलाई सामान्य रूपमा अलङ्कार वा सजावटका रूपमा लिनु हँुदैन यो त सम्पूर्ण रूपमा कविताको एक आङ्गिक आवश्यकता हो (माटा, सन् १९९८, पृ.१४५)। दाँतेका अनुसार ‘बिम्बले निश्चित र स्पष्ट अर्थ दिनुपर्छ’ (मिश्र, सन् १९९६, पृ.१००)। त्यस्तै टी.एस. इलियटले बिम्बलाई दृश्य र अनुभूतिको भावपरक व्याख्याका रूपमा हेरेका छन् भने एज्रा पाउण्डले छोटो समयमा हुने बौद्धिकता र भाव पक्षको सम्मिश्रण नै बिम्ब हो (भण्डारी, २०४५, पृ.६६३) भनेका छन्। बिम्बविषयक यी विविध धारणाहरू मनन गर्दा भाषाका माध्यमबाट सौन्दर्य सिर्जनाका लागि प्रस्तुत गरिने चित्रात्मक भाषा नै बिम्ब हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ।
कवितामा पूर्व, पश्चिम दुवैतिर पहिलादेखि नै केही बिम्बपरक सङ्केत पाउन सकिन्छ। पूर्वको ‘ऋग्वेद’ तथा पश्चिमको ‘गिल्गामेस’ कृतिमा बिम्बपरक उदाहरणहरू प्रयोग भएको पाइन्छ। पाँचौं, छैटौं शताब्दीयताका पूर्व र पश्चिम दुवैक्षेत्रका कवितामा बिम्बको सुन्दर प्रस्तुतिको सङ्केत प्राप्त गर्न सकिने कुरामा विद्वान्हरू सहमत छन्। यद्यपि यसले सैद्धान्तिक मान्यता वा वादका रूपमा भने बिसौं शताब्दीमा आएर पाश्चात्य साहित्यमा प्राप्त गरी विश्वव्यापी रूप लिनपुग्यो। प्रथम विश्वयुद्धका समयमा कवितामा एक प्रकारको अभिव्यक्तिको आवश्यकता भइरहेको र तत्कालीन कविहरूकोे अवचेतन मनमा यस्तो आभास भइरहेका सन्दर्भमा बिम्बवादको स्थापना भएको हो (गौतम, २०६०, पृ.११)। प्रतीकवादीहरूबाट प्रभावित हुल्मेका आफ्नै भावनाबाट सिर्जित वस्तुगत बिम्बहरूको प्रयोग गर्नुपर्छ र ती बिम्बहरू क्लिष्टताबाट टाढा हुनुपर्दछ भन्ने विचारबाट प्रभावित अमेरिकाली कवि एज्रा पाउण्ड र टी. एस. इलियटहरूले बिम्बवादी आन्दोलन चलाएको पाइन्छ। बिम्बवादको चरम व्याप्ति बिसौं शताब्दीको सुरुको दशक अथवा सन् १९०८ देखि १९१९ सम्मको समय देखिन्छ र यसपछि यो शिथिल हँुदै गएको पाइन्छ। यही सन्दर्भमा अन्तर्राष्ट्रिय साहित्यिक जगत्को प्रभाव नेपाली साहित्यमा पनि पर्न गयो। सैद्धान्तिक सचेतताविना नै नेपाली कविताको प्राथमिक कालका कवितामा नै बिम्बहरूको प्रयोग भएको पाइन्छ। यसको सैद्धान्तिक चेष्टासहितको लेखन भने वि.सं.२०१७ सालको ‘रूपरेखा’ को प्रकाशनपछि प्रयोगवादी कविहरूले गरे। यसको प्रयोग मोहन कोइराला, बैरागी काइँला, ईश्वरवल्लभजस्ता आयामेली कविका कविताहरू तथा नवपुस्ताका प्रयोगशील कविका कवितामा पनि पाइन्छ (गौतम, २०६०, पृ.१५)।
कवि विजय मल्लको विवेच्य कविताको अध्ययन गर्दा बिम्बलाई आधार मानिएको छ। यस क्रममा बिम्बका पौराणिक, छायात्मक, तान्त्रिक, संवेदनात्मक, गन्धपरक, आलङ्कारिक, लोक, समसामयिक यथार्थ र प्राकृतिक प्रकारका आधारमा विश्लेषण गर्दै ती प्रत्येकको पुष्टिका लागि कविताबाट उदाहरणहरू प्रस्तुत गरी निष्कर्षमा पुग्ने गर्ने काम यस अध्ययनमा भएको छ।
छलफल तथा परिणाम
‘यस धरतीको पानीमा’ एउटा बिम्बपरक कविता हो। कवितामा विभिन्न शब्दबिम्बका माध्यमबाट अनेक बहानामा पानीलाई दूषित बनाएर आफ्नो स्वार्थ पूरा गर्न चाहने मानिसको चरित्र र व्यवहारलाई बिम्बात्मक रूपमा देखाइएको छ। कवितामा निहित बिम्बको प्रयोग अवस्थालाई देखाउन सर्वप्रथम ‘यस धरतीको पानीमा’ कविताको शीर्षक, उपशीर्षक राखेर अध्ययनको विश्लेषण आरम्भ गरिएको छ। त्यसपछि बिम्बका विविध प्रकारहरूका शीर्षकमा छलफल र विश्लेषण गरी अध्ययनको निष्कर्ष निकालिएको छ।
यस धरतीको पानीमा कवितामा बिम्ब
प्रस्तुत कवितामा प्रयुक्त बिम्बका विविध पक्षबारे यहाँ विभिन्न शीर्षकमा रहेर विश्लेषण गरिएको छ।
पौराणिक बिम्ब
देवाख्यान वा देवीदेवताहरूका चरित्रमा आधारित गम्भीरता र उदात्तताले युक्त एवम् लोकविश्वास र आस्थासमेत पाएका बिम्बहरू पौराणिक हुन् (गौतम, २०६९, पृ.२५)। वर्तमानका विविध अभिव्यक्ति प्रस्तुत गर्न पौराणिक बिम्बहरूले सहयोग पुर्याउँछन्। विवेच्य कवितामा पनि कवि विजय मल्लले पौराणिक बिम्बको सुन्दर प्रयोग गरेका छन्। जस्तै :
यो छली रामले बालिलाई हानेझैं वाण
या शकुन्तलालाई दिएझैं श्राप दुर्वासाले।
परिवर्तित हुन्छ त्यो पानी
रातो बाफिलो रक्तमा (यस धरतीको पानीमा, पृ.१)।
प्रस्तुत कवितामा राम, शकुन्तला र दुर्वासाले पौराणिक बिम्बको सिर्जना गरेका छन्। यी बिम्बहरूका विभिन्न क्रियाले प्राकृतिक पानी रातो बाफिलो रक्तमा परिणत भएको सन्दर्भलाई सङ्केत गरेका छन्। जसरी भगवान् राम मर्यादापुरुष भए पनि पत्नी वियोगको पीडाले आहत भएका समयमा आफूलाई सहयोग गर्ने मित्रको बचाउमा छलिएर वा छल गरेर बालिलाई मार्न पुगे तथा रिसको आवेग धान्न नसकी महात्मा ऋषि दुर्वासाले निरीह शकुन्तलालाई श्राप दिन पुगे र कलङ्कित ठहरिए त्यसैगरी शुद्ध, सफा र कञ्चन पानी मान्छेका कारण रक्तरञ्जित बनी पिउन अयोग्य बन्नपुगेको सन्दर्भलाई बिम्म्बात्मक रूपमा देखाइएको छ। यी बिम्बहरूले मान्छेले संयम गुमाउँदा प्रकृतिमा निम्तिएको विनाशलाई जीवन्त रूपमा देखाएका छन्।
छायात्मक बिम्ब
कविता पढ्दा जब अस्पष्ट आकृतिको धूमिल भाव हाम्रो मनमस्तिष्कमा उपस्थित हुन्छ, तब त्यहाँ छायात्मक बिम्बको सिर्जना हुन्छ (गौतम, २०६०, पृ.२३)। एउटा काव्यानुभूतिको धूमिल भाव हाम्रो मस्तिष्कमा ल्याएर स्पष्टभन्दा केही अस्पष्ट कल्पनाजनित भाव मनमा आउँदा छायात्मक बिम्ब जन्मन्छ। विवेच्य कवितामा पनि विविध छायात्मक बिम्बहरूको प्रयोग पाइन्छ। जस्तै :
किन आकाशका ताराहरू
हेर्दैनन् अहिले अनुहार आफ्नो
यस धरतीको पानीमा ? (पृ.१)
प्रस्तुत कवितांशमा आकाशका ताराहरूले अहिले धरतीको पानीमा आफ्नो अनुहार हेर्न छोडेको प्रसङ्ग छायाात्मक बिम्बको राम्रो उदाहरण हो। सफा, कञ्चन र निर्मल पानीमा आकाशका ताराहरूको छाया स्पष्ट देखिन्छ तर जब पानी दूषित, धमिलो वा रातो हुन्छ, तब आकाशका ताराहरूको प्रतिबिम्ब देख्न असम्भव हुन्छ। यस सन्दर्भले पनि आज यस धरतीका नदीनालाबाट सफा पानी बग्न छोडेको सङ्केत गरेको छ र त्यसको प्रस्तुतिमा छायात्मक बिम्बले मद्दत पुर्याएको छ। त्यस्तै अर्को उदाहरणमा–
आफ्नो छायाको सौन्दर्यमा ?
के भो यस धरतीको पानीमा
अचानक यस बीसौं शताब्दीमा (पृ.२)।
प्रारम्भमा धरतीको पानी सफा र कञ्चन थियो र त्यतिबेला पानीमा विभिन्न वस्तुको छाया स्पष्ट र सुन्दर देखिन्थ्यो तर आज उक्त पानी दूषित बनेपछि पानीको छायाको सौन्दर्य देखिन छोडेको प्रसङ्गलाई यस कवितांशमा प्रयुक्त छायात्मक बिम्बले कलात्मक रूपमा देखाएको छ।
तान्त्रिक वा यातुधार्मिक बिम्ब
विविध प्रकारका तन्त्रशास्त्रसँग सम्बन्धित बिम्बलाई यातुधार्मिक वा तान्त्रिक बिम्ब भनिन्छ। तन्त्रशास्त्र र अन्य विविध कर्मकाण्डीय सन्दर्भबाट आएका यस्ता बिम्बहरूको आयोजनामा पूर्वीय भयानक रसको अवस्थिति पाइन्छ (गौतम, २०६०, पृ.२५)। समीक्ष्य कवितामा पनि तान्त्रिक बिम्बको प्रयोग पाइन्छ। जस्तै :
एक अँजुली पानी
उठाएर ओठसम्मन्
जब जब लग्छु बाग्मतीको–
अकास्मात् वज्र गिरेझैं आकाशबाट
या नजिकैबाट कसैले
फू गरेर मन्त्र फुकेझैं
……. …………..
परिवर्तित हुन्छ त्यो पानी (पृ.१)।
हिजोसम्म सफा, कञ्चन र पिउन योग्य वाग्मतीको पानी आज अकास्मात् आकाशबाट वज्र गिरेझैं वा फू गरेर मन्त्र फुकेझैं पिउन अयोग्य बनेको सन्दर्भपरक अभिव्यक्तिलाई तान्त्रिक बिम्बले कलात्मक रूपमा देखाएको छ। तान्त्रिकले तन्त्रमन्त्र विद्याले रोग क्षणभरमै निको बनाएझैं वा सद्दे मानिसलाई टुनामुना मन्त्र लगाएर रोगी बनाएझैं वाग्मतीको पानीलाई पनि मान्छेहरूले तत्काल वा छोटो समयमा नै पिउन अयोग्य बनाएका छन् भन्ने व्यङ्ग्यपरक सन्दर्भलाई यस बिम्बले सुन्दर ढङ्गमा प्रस्तुत गरेको छ।
संवेदनात्मक बिम्ब
प्रत्यक्ष वा ऐन्द्रियिक प्रभावहरूलाई चित्रबद्ध गर्ने र रिस, ईर्ष्या, दुःख, चिन्ता, खुसी आदि मानवीय संवेग र संवेदनाहरूलाई चित्रण गर्ने बिम्बलाई संवेदनात्मक बिम्ब भनिन्छ (गौतम, २०६०, पृ.२५)। मानवीय संवेगहरूलाई पनि चित्रबद्ध गर्ने हँुदा यस्ता बिम्बहरू संवेगात्मक बिम्बका रूपमा देखिन सक्छन्। कवितामा प्रकृतिको मानविकीकरण गर्ने क्रममा यस्ता बिम्बहरू पाइन्छन्। विवेच्य कवितामा पनि संवेदनात्मक बिम्बको प्रयोग पाइन्छ। कविले प्रकृति पानीका माध्यमबाट यस बिम्बलाई देखाएका छन्। जस्तैः
तिर्खाको तिर्खायै
पानी खोज्दै छु म यस बिसौं शताब्दीमा
म विष पिएझैं एउटा मानिस
अभिशप्त, विवश र व्याकुल (पृ.२)।
प्रस्तुत कवितांशमा ‘म पानी भन्दै विष पिएर अभिशप्त, विवश र व्याकुल बनेको छु’ भन्ने कविको भावाभिव्यक्तिमा संवेदनात्मक बिम्बको प्रयोग पाइन्छ। तिर्खाएको मानिस पानी पिउन चाहन्छ तर जब शुद्ध पानीका ठाउँमा विषक्त पानी पिइन्छ, तब उक्त मानिस अभिशप्त, विवश र व्याकुल बन्न पुग्ने मानवीय संवेदना यहाँ पाइन्छ। विष पिएपछि मान्छे मृत्युसम्मुख पुग्दछ। यो संवेदनात्मक अवस्था हो र आजको मान्छे विषाक्त पानीका कारण यही मर्ने र बाँच्ने दोधारको अवस्थामा पुगेको छ भन्ने संवेदनापूर्ण अभिव्यक्ति यहाँ पाइन्छ।
गन्धबिम्ब वा घ्रातव्य बिम्ब
इन्द्रियसंवेद्यताको घ्राणतत्त्वसँग सम्बद्ध बिम्बलाई नै घ्राण बिम्ब वा घ्रातव्य बिम्ब भनिन्छ। यो गन्धतत्त्वसँग सम्बन्धित हुन्छ र गन्धतत्त्वको रागात्मक प्रतिक्रियास्वरूप कवितामा यस्ता बिम्बहरू प्रयुक्त हुन्छ् (गौतम, २०६०, पृ.२२)। विजय मल्लको विवेच्य कवितामा यस बिम्बको सुन्दर प्रयोग पाइन्छ। जस्तैः
गुलाफको फूलमा अहिले ,
किन बारुदको गन्ध आउँछ ? (पृ.२)।
प्रस्तुत कविताको अंशमा गुलाफको फूलमा बारुदको गन्ध आएको सन्दर्भमा गन्ध बिम्बको प्रयोग देखिन्छ। गुलाफको फूल वास्नादार हुन्छ र यसलाई सबैले मन पराउँछन् तर मानवीय कुकृत्यका कारण आज उक्त फूलको सुगन्धमा परिवर्तन आई बारुदको गन्ध आएको बिम्बपरक सन्दर्भ यहाँ रहेको छ। गन्ध इन्द्रियसंवेद्यताको घ्राणतत्त्वसँग सम्बद्ध रहने र उक्त कवितांशमा सुरुमा फूलको स्वाभाविक सुगन्धमा परिवर्तन भएर बारुदको गन्ध आउने कुरा देखाएका कारण यहाँ गन्धबिम्ब वा घ्रातव्य बिम्बको प्रयोग भएको पाइन्छ।
आलङ्कारिक बिम्ब
पूर्वीय साहित्यमा वर्णित उपमा, उत्प्रेक्षा र रूपक अलङ्कारलाई आलङ्कारिक बिम्ब मानिन्छ। काव्यको वस्तुगतभन्दा शिल्पगत पक्षसँग सम्बद्ध यस्ता बिम्बहरूले काव्यानुभूतिको गहिराइसम्म भन्दा बाह्य सौन्दर्यका रूपमा कार्य गरेका हुन्छन् (गौतम, २०६०, पृ.२८)। कवि मल्लको विवेच्य कवितामा पनि आलङ्कारिक बिम्बको प्रयोग पाइन्छ। जस्तैः
अङ्कमालमा मुटु किन,
बोल्दछ बमको आवाजझैं
किन हरेक झाँगझाँगबाट
चितुवा लुकेझैं शङ्का चियाउँछ, (पृ.२)।
प्रस्तुत कवितांशमा आलङ्कारिक बिम्बको प्रयोग पाइन्छ। यहाँ बमको आवाजझैं अङ्कमालमा मुटु तथा चितुवाझैं शङ्का शब्दहरूले उपमा अलङ्कारलाई देखाएका छन्। अङ्कमाल हाल्दाखेरि सुनिएको मुटुको धुकधुकलाई बम आवाज बोलेको भनेर आलङ्कारिक बिम्ब देखाइएको छ भने झाँगमा लुकेको मृगझैं शङ्कामा बाँच्नुपरेको मानवीय नियतिमा पनि उपमा अलङ्कारको प्रयोग पाइन्छ। यही उपमा अलङ्कारका माध्यमबाट आजको डरग्रस्त मानवीय नियतिलाई देखाउने सन्दर्भमा यहाँ आलङ्कारिक बिम्बको सुन्दर प्रयोग देखिन्छ।
लोकबिम्ब
हाम्रा लोकप्रचलित विश्वास, संस्कृति, रीतिरिवाजहरू बिम्बमय रूपमा उपस्थित हँुदा प्रकट हुने बिम्ब नै लोकबिम्ब हो। यस्ता लोकसाहित्य, संस्कृति, लोकमान्यता लोकविश्वास आदिको प्रतिबिम्बन भएका दन्त्यकथामूलक, जादुपरक झल्को दिने बिम्बहरूलाई लोकबिम्ब भनिन्छ (गौतम, २०६०, पृ.२३)। कवि मल्लको समीक्ष्य कवितामा समेत लोकबिम्बको कलापूर्ण प्रयोग पाइन्छ। जस्तैः
कुनै सुनकेशरी मैंयाँ नुहाउँदिनन् अब
यस बीसौं शताब्दीको जलमा (पृ.३)।
प्रस्तुत कवितांशमा लोकबिम्बको प्रयोग पाइन्छ। यहाँ सुनकेशरी मैयाँ लोकबिम्बका रूपमा आएको छ। हाम्रो समाजमा सुनकेशरी मैयाँको लोककथा प्रसिद्ध रहेको छ। यहाँ सुनकेशरी मैयाँ नेपाली नारीहरूकी प्रतिबिम्ब बनेर आएकी छ। हाम्रो समाजमा छोरी मान्छेहरू खोलानालाको खुल्ला र प्राकृतिक रम्यतामा गएर नुहाउने, लुगाधुने प्रचलन पाइन्छ। तर विषाक्त पानी र मान्छेको व्यवहारका कारण अब त्यो अवस्था नरहेको सन्दर्भलाई प्रयुक्त लोकबिम्बले प्रभावकारी रूपमा देखाएको छ।
समसामयिक वा यथार्थ बिम्ब
समसामयिक वा समकालीन युगजीवनबाट लिइएका यथार्थपरक बिम्बहरूलाई समसामयिक वा यथार्थ बिम्ब भनिन्छ। वर्तमान युगजीवनका विकृति, विसङ्गति र विविध क्षेत्रका यथार्थहरूबाट ग्रहण गरिएका बिम्बहरू यसअन्तर्गत पर्दछन् (गौतम, २०६०, पृ.२२)। कवि विजय मल्लको विवेच्य कवितामा पनि समसामयिक बिम्बको राम्रो प्रयोग पाइन्छ। जस्तै :
बगरेखानाबाट धारो छुटेझैं
के सारा नदीका मुहान भए रक्तरञ्जित ? (पृ.३)।
प्रस्तुत कविताको अंशमा समसामयिक वा यथार्थ बिम्बको सुन्दर प्रयोग पाइन्छ। बगरेखाना वा खसी काटेर बेच्ने मानिसको पसलमा खसी काटिइरहने कारण त्यहाँ खुनको धारो बग्नु स्वाभाविक हो, यथार्थ हो तर त्यसरी नै सबै नदीका मुहानहरू रक्तरञ्जित हुनु भनेको आजको मानवीय बिडम्बना हो। हत्या, हिंसा र आतङ्क तथा मानवीय स्वार्थका कारण नदीजस्तो पवित्र स्थलमा पनि प्रदूषण गर्ने र त्यसकै सेवन गरी मर्न बाध्य भएको समसामयिक मानववीय विवश यथार्थको प्रकटीकरणमा प्रयुक्त समसामयिक वा यथार्थ बिम्ब प्रभावकारी बनेको छ।
प्राकृतिक बिम्ब
प्रकृतिजगत्बाट टिपिएका बिम्बहरूलाई प्राकृतिक बिम्ब भनिन्छ। मानवनिरपेक्ष प्रकृतिको सौन्दर्यको अवलोकन गरी त्यसबाटै काव्यमा सौन्दर्यचेतनाको उद्घाटन गर्ने कार्य यहाँ गरिन्छ (गौतम, २०६०, पृ.२५)। यसमा प्रकृतिका विविध रूपहरू अँटाउन सक्छन्। कवि मल्लको विवेच्य कवितामा प्राकृतिक बिम्बको सुन्दर प्रयोग गरिएको छ। शीर्षकदेखि लिएर कविताभरि प्रकृतिका विविध रूपको प्रयोग पाइन्छ। कवितामा धरती, आकाश, नदी, वनजङ्गल, चितुवा, धँुवा, फूल आदि प्राकृतिक बिम्बहरूको प्रयोग पाइन्छ। जस्तैः
पृथ्वीका सारा नदीहरूमा–
गङ्गा, भोल्गा, ह्वाङ–हो
मिसिसिपी, अम्याँजा, नाइल,
जताततै बदलिन्छ पानी,
अकास्मात् रक्तमा ! (पृ.२)
प्रस्तुत कवितांशमा पृथ्वीका ठुला नदी प्रकृतिलाई बिम्बात्मक रूपमा ग्रहण गरिएको। इतिहासदेखि नाम कमाएका उपर्युक्त चर्चित नदीको पानी अकास्मात् रक्तमा परिणत भएको बिडम्बनापूर्ण अवस्थालाई यहाँ देखाइएको छ। पृथ्वीका यस्ता महान् नदीमा त मान्छेको लीला देखिन थाल्यो भने अन्य साना नदीहरूको अवस्था के होला प्रश्न एकातिर उब्जिएको छ भने संसारमा शुद्ध पानी पिउन नपाएर सबै जीवजन्तुहरूको जीवन सङ्कटमा परेको अवस्थाप्रति पनि सङ्केत गरिएको छ। तसर्थ नदी प्रकृतिको बिम्बपरक अभिव्यक्तिले कविले भन्न खोजेको कवितात्मक भावलाई प्राकृतिक बिम्बले स्पष्ट देखाएको छ।
निष्कर्ष
‘यस धरतीको पानीमा’ कवितामा बिम्बको प्रयोग अवस्था र अभिव्यक्ति के कस्तो रहेको छ भन्ने प्रमुख समस्यालाई लिएर प्रस्तुत लेख तयार पारिएको हो। यसमा गुणात्मक ढाँचा अवलम्बन गरिएको छ। यहाँ विविध बिम्बका माध्यमबाट विश्वका मान्छेका स्वार्थजनित विसङ्गत क्रियाकलापबाट धरतीको पानी विषाक्त बन्न पुगेकाले यसमा मान्छेकै जीवन सङ्कटमा परेको बिम्बात्मक अभिव्यक्ति उद्देश्य बनेर आएको छ। कविताको विश्लेषणका क्रममा बिम्बको सैद्धान्तिक परिचयसँगै विवेच्य कविताको शीर्षक, उपशीर्षक, सारसङ्क्षेप, विषयपरिचय, अनुसन्धान विधि, छलफल र परिणाम, विषय विश्लेषण गरी निष्कर्षमा पुग्ने काम यहाँ भएको छ। कवि विजय मल्ल कवितालाई सजीव र प्रभावकारी रूपमा बुझ्न बुझाउन विभिन्न बिम्बहरूको प्रयोगमा सफल देखिन्छन्। प्रस्तुत कवितामा प्रयुक्त बिम्बहरू सरल प्रकृतिका रहेका छन्। बिम्बले कवितामा भन्न खोजिएका कुरा अझ प्रभावकारी रूपमा देखाएको छ। खासगरी यी बिम्बहरू हाम्रै प्रकृति, संस्कृति, समाज, पुराण, इन्द्रियसंवेद्य क्षेत्रसँग सम्बद्ध रहेका छन्। यी बिम्बहरूको प्रयोगले कविताको सम्प्रेषणमा अझ सहजता आएको छ। बिम्बहरूको सुन्दर प्रयोगले कविता हृदयसंवेद्य बनेको छ। आधुनिक बन्ने नाममा आजका मान्छेका अराजक गतिविधि तथा व्यवहारका कारण मान्छेको जीवन बनेको पानी दूषित बन्दै गएर मान्छे स्वयम्कै अस्तित्व नै खतरामा परेको सन्दर्भमा कवि विजय मल्लको यसप्रतिको चिन्ता र चासोलाई कवितामा प्रयुक्त बिम्बहरूले अझ सहज र गहन रूपमा देखाएका छन्। कविताको भावको सम्प्रेषणमा बिम्ब बाधक नभएर साधक बनेका छन्। तसर्थ यी विविध बिम्बको पर्यावलोकनपछि विजय मल्लको प्रस्तुत कविता एउटा सशक्त बिम्बपरक कविता बन्न पुगेको स्पष्ट भएको छ।
सन्दर्भसामग्रीसूची
खतिवडा, नित्यानन्द (२०७४), विजय मल्ल र उनका प्रयोगशील नाटकहरू, धरान : नवीना काफ्ले।
खतिवडा, नित्यानन्द (२०८१), विजय मल्लका कवितामा विचार, अप्रकाशित लघु अनुसन्धान ग्रन्थ,
धरान : पिण्डेश्वर विद्यापीठ अनुसन्धान व्यवस्थापन एकाइ।
गौतम, लक्ष्मणप्रसाद (२०६०), समकालीन नेपाली कवितामा बिम्ब, ललितपुर : साझा प्रकाशन।
पोखरेल, बालकृष्ण (सम्पा.) (२०७२), नेपाली बृहत् शब्दकोश, काठमाडौँ : ने.रा.प्र.प्र.।
भण्डारी, राजेन्द्र (२०४५), ‘बिम्ब अनि नेपाली कविताको सन्दर्भ’, बृहत् समालोचना, सिक्किम : गान्तोक
प्रकाशन, पृ.५८।
मल्ल, विजय (२०१६), विजय मल्लका कविता, चौथो.सं., ललितपुर : साझा प्रकाशन।
माटा, चन्द्रकान्त (सन् १९९८), भारतीय एवम् पाश्चात्य सौन्दर्यशास्त्र, आगरा : बाइ.के. पब्लिसर्स।
मिश्र, भगीरथ (सन् १९९६), पाश्चात्य काव्यशास्त्र, वाराणसी : विश्वविद्यालय प्रकाशन।
विद्रोही, राजेश (२०७९), ‘आमाको गीत : २ कवितामा बिम्बविधान’, दृष्टिकोण (११), आर.एम.सी.,
एम.एम.सी, धरान, पृ.२६८–२६८।
श्रेष्ठ, दयाराम र शर्मा, मोहनराज (२०३४), नेपाली साहित्यको सङ्क्षिप्त इतिहास, ललितपुर : साझा प्रकाशन।
सिंह, केदारनाथ (सन् १९९४), आधुनिक हिन्दी कवितामें बिम्बविधान, दिल्ली : राधाकृष्ण प्रकाशन।
सुवेदी, अभि (२०३८), ‘कवि नाटककारसँग एक बिहान’, सिर्जना र मूल्याङ्कन, ललितपुर साझा प्रकाशन।