अरुण उपत्यकामा सङ्खुवासभा, भोजपुर र धनकुटा जिल्लाका केही स्थानीय तहहरू पर्दछन्। यस उपत्यकाको केन्द्र तुम्लिङटार हो। लोकगीतले सम्पन्न यो उपत्यकामा प्रचलित अनेकौँ भाका विश्वका नेपालीहरू माझ प्रिय रहेका छन्। आदिम समयदेखि जनजिब्राका माध्यमबाट मौखिक रूपमा पुस्तान्तरण हुँदै आएका लोकगीतहरू लोकका साझा सम्पत्ति हुन्। सबै लोकसमाजमा परम्परादेखि प्रचलनमा रहेका अनेक रूढतत्त्वहरू विद्यमान रहेका हुन्छन्।
एकराज घिमिरे
टेलिकम टेक्निसियन, चैनपुर, सङ्खुवासभा
eakughimire421@gmail.com
लेखसार
अरुण उपत्यकामा सङ्खुवासभा, भोजपुर र धनकुटा जिल्लाका केही स्थानीय तहहरू पर्दछन्। यस उपत्यकाको केन्द्र तुम्लिङटार हो। लोकगीतले सम्पन्न यो उपत्यकामा प्रचलित अनेकौँ भाका विश्वका नेपालीहरू माझ प्रिय रहेका छन्। आदिम समयदेखि जनजिब्राका माध्यमबाट मौखिक रूपमा पुस्तान्तरण हुँदै आएका लोकगीतहरू लोकका साझा सम्पत्ति हुन्। सबै लोकसमाजमा परम्परादेखि प्रचलनमा रहेका अनेक रूढतत्त्वहरू विद्यमान रहेका हुन्छन्। समाजमा रहेका सामूहिक अवचेतनका स्थिर तत्त्वहरू नै लोकतत्त्व हुन्। अतिकल्पना, धर्म–अनुष्ठान, लोकविश्वास, जादु तथा टुनामुना, अत्मशीलता, परम्परित चिन्तन तथा लोकरीतिरिवाजहरू नै लोकतत्त्व हुन्। ‘लोक’ शब्दको अर्थ लोकसमाज हुन्छ जसले जन र भूगोललाई जनाउँछ। ‘तत्त्व’ शब्दको अर्थ महत्त्वपूर्ण अंश वा सार भन्ने लाग्दछ। प्रस्तुत लेखमा अरुण उपत्यकामा प्रचलित लोकगीतमा लोकपरम्परामा प्रचलित के कस्ता महत्त्वपूर्ण विचार वा अंशहरू पाइन्छन् भन्ने खोजी गरिएको छ। लेखमा विश्लेषण विधिको अवलम्बन गरी निष्कर्ष निकालिएको छ।
शब्दकुञ्जी : लोकतत्त्व, तुम्लिङटार, लोकगीत, वेद, शकुन
विषयपरिचय
अरुण उपत्यका अन्तर्गत तीन जिल्लाका नौ स्थानीय तह पर्दछन्। सबैभन्दा धेरै पालिका सङ्खुवासभा जिल्लाका खाँदबारी, सभापोखरी, पाँचखपन, चैनपुर, मादी र धर्मदेवी पर्दछन्। धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका तथा भोजपुरका षडानन्द र अरुण गाउँपालिका अरुण उपत्यकाभित्रका स्थानीय तहहरू हुन्। अरुण उपत्यकाको केन्द्र सङ्खुवासभाको तुम्लिङटार हो। समुद्र सतहबाट मात्र ४५१ मिटर उचाइमा रहेको तुम्लिङटारकै कारण यो विश्वकै होचो उपत्यका भएको हो। यो उपत्यका अन्तर्गत टार, बेँसी, मध्यपहाडी वातावरण र लेकाली क्षेत्र पनि पर्दछन्। राष्ट्रिय तथ्याङ्क कार्यालय (२०७८) अनुसार उल्लिखित नौ स्थानीय तहको जम्मा जनसङ्ख्या १,८४,१२३ रहेको छ। यहाँ क्षेत्री, तामाङ, राई, शेर्पा, मगर, गुरुङ, नेवार, लिम्बू, याक्खा, ब्रह्मण, विश्वकर्मा, परियार आदि जातिको बाहुल्य छ। खोला किनारमा माझी, कुमाल लगायत अन्य जातिहरू पनि छिटफुट बसोबास गर्दछन्। विविध जाति–जनजातिको बसोबास भएकाले यहाँ सांस्कृतिक विविधता पाइन्छ। लोकगीत पनि सामाजिक–सांस्कृतिक वस्तु भएकाले चर्चित विविधताले यहाँका लोकगीतमा अनेक विशेषता थपेका छन्।
अरुण उपत्यकामा बसोबास गर्ने सबैजसो जाति जनजातिको मुख्य पेसा कृषिकर्म हो। यहाँ ठाउँअनुसार बेँसीदेखि मध्य–पहाड हुँदै लेकाली खेतीपाती हुन्छ। अरुण उपत्यका अन्तर्गतका दमार, केवा, चेवा आदि बेंसीहरूमा धान, मकै र दाल मुख्य खेती हो। मध्य पहाडमा उखु, मकै र धान खेती मुख्य रहेको छ। लेकाली क्षेत्रमा अलैंची, आलु, मकै र कोदा खेती हुन्छ। सबै क्षेत्रमा कृषिको सहयात्री पशुपालन पनि गरिन्छ। लेकाली क्षेत्रमा चौंरी, भेडा, बाख्रा, गाईगोरु पालिन्छन् भने मध्य पहाडी वातावरणमा भेडा, चौरी हुँदैनन्। त्यहाँ भैसी, सुँगुर आदि थपिन्छन्। स्थानीय लोकजनको खेतीपाती र पशु पालनजस्ता दैनिकीले लोकगीतमा प्रत्यक्ष प्रभाव पार्दछन्। कृषिकर्ममा देखिएको भौगोलिक विविधताले यहाँका लोकगीतमा थप विविधता थपेका छन्।
यिनै अनेक विशेषता र विविधताका कारण अरुण उपत्यकामा प्रचलित लोकगीतहरू विश्वका नेपालीहरूमाझ लोकप्रिय भएका छन्। खेमराज गुरुङले गाएको ‘वारी जमुना, पारी जमुना’, कमलीकान्त भेटवालले गाएको ‘झम्के गुलेली’, नविन खड्का र साथीहरूले गाएको ‘वारि तुवाँलो कमै पारि तुवाँलो’ लगायत हजारौँ लोकगीत अरुण उपत्यकाबाट नै तरङ्गित भएका हुन्।
लोकतत्त्वले विशिष्ट समुदाय वा संस्कृतिभित्र पुस्तादेखि पुस्तासम्म सर्दै आएका परम्परा, विश्वास, रीतिरिवाज र कलात्मक अभिव्यक्तिहरूलाई समेट्छन्। यी तत्वहरू प्रायः लोकगीत, लोक सङ्गीत, लोककला र लोक नाटकमा देखा पर्दछन्। लोकतत्त्वले समूहको मूल्यमान्यता, विश्वदृष्टिकोण र इतिहासलाई प्रतिबिम्बित गर्दछ। प्रस्तुत लेखमा अरुण उपत्यकामा प्रचलनमा रहेका लोकगीतहरूमा के कस्ता लोकतत्त्वहरू पाइन्छन् भन्ने अध्ययन गरिएको छ।
सिग्मन्ड फ्रायडले रतिबाट अनुष्ठान, भयबाट निषेध, सपना अनि भ्रमदृश्यलाई सत्य मान्ने प्रवृत्ति, जीवित र मृतकमा अभेदता तथा जड र चेतनामा अभेद मान्ने अत्मशील भावना, पराप्राकृतिक शक्तिमाथिको विश्वास आदि मानवीय अवचेतनाका मूल विषयवस्तु हुन् भन्ने बताएका छन् (पराजुली, २०६२, पृ. २८)। यिनै मानवीय अवचेतनाका सामूहिक अवस्थालाई लोकतत्त्व भनिन्छ। पराजुली (२०६२) का अनुसार पाँच वर्षमुनिका अवस्थामा मानवले लिएका चिन्तन र भावनामा लोकतात्त्विक विषयहरू निर्मित भएका हुन्। प्रकृति र जीवनका रहस्यहरूबाट पनि मानिसले अनेक कनल्पनिक विश्वासहरू ग्रहण गरेको हुन्छ (पृ. २८)। यस्ता कल्पनाहरू समाजमा कथा बनाएर सुनाइन्छन्, गीतहरूमा गाइन्छन् अनि क्रमशः व्यक्तिगत कल्पना पुरै लोकको साझा बन्न पुग्छ। लोकले स्वीकारेका त्यस्ता साझा कल्पनाहरूलाई नै लोकतत्त्व भनिन्छ। अङ्ग्रेजीमा लोकतत्त्वलाई फोक इलिमेन्टस् भन्ने गरिन्छ।
अरुण उपत्यकामा प्रचलित लोकगीतका बारेमा हालसम्म बैज्ञानिक अध्ययन र अनुसन्धान न्यून मात्रामा भएको देखिन्छ। २०६४ मा लोकगायक खेमराज गुरुङको ‘ढाक्रे’ गीतसङ्ग्रह प्रकाशित भएको छ। उक्त पुस्तकमा गुरुङले सङ्कलन गरी गाएका ४७ गीतहरू राखिएका छन् तर ती गीतमा पाइने लोकतत्त्वको चर्चा भूमिकामा समेत गरिएको छैन। २०६६ मा ‘सङ्खुवासभा : एक चिनारी’ नामक ताराबहादुर बुढाथोकीकृत पुस्तकमा लोकगीतका बारेमा केही चर्चा गरिएको भए पनि यहाँ प्रचलित लोकगीतमा पाइने लोकतत्त्वका बारेमा कुनै विश्लेषण गरिएको छैन। २०६८ मा रामकुमार लिम्बूले ‘सङ्खुवासभा जिल्लाको सिद्धपोखरी र सिद्धकाली गाविसभित्र प्रचलित लोकगीतहरूको अध्ययन’ शीर्षक स्नातकोत्तर शोध गरेका छन्। यस शोधमा लिम्बूले लोकगीत सङ्कलन, वर्गीकरण तथा विश्लेषण गरेका छन् तर यी गीतमा रहेका लोकतत्त्वहरूको भने अध्ययन गरेका छैनन्। कुलराज निरौलाले २०७० मा ‘सँगिनीको सन्दर्भपरक अध्ययन’ शीर्षकमा विद्यावारिधिको शोध सम्पन्न गरेका छन्। निरौलाले अरुण उपत्यकामा प्रचलित थुप्रै सँगिनी लोकगीत सङ्कलन गरी विश्लेषणमा प्रयोग गरेका भए पनि उक्त शोधमा ती सँगिनीमा पाइने लोकतत्त्वहरूको विश्लेषण गरेका छैनन्। ताराबहादुर बुढाथोकीले २०७१ मा ‘अरुण उपत्यकाका लोकभाका’ नामक कृति प्रकाशन गरेका छन्। उक्त कृतिमा विवेच्य क्षेत्रमा प्रचलित लोकगीतका अनेक पक्षहरूको सामान्य चर्चा र विश्लेषण गरिएको भए पनि लोकतत्त्वका बारेमा उल्लेख गरिएको छैन। अरुण उपत्यका सांस्कृतिक अनुसन्धान केन्द्र, नेपालका सदस्य तथा लोक गायकद्वय कमलबहादुर खत्री र पुस्तका खड्काले दिएको जानकारीअनुसार उक्त केन्द्रको सक्रियताका थुप्रै गीत रेकर्ड गर्ने तथा ती गीतका बारेमा जानकारी समेत दिदै युट्युब लगायत सामाजिक सञ्जालमा प्रकाशित गर्ने काम गरिएको भए पनि हालसम्म ती गीतहरूमा पाइने लोकतत्त्वका बारेमा कहीँ कतै चर्चा गरिएको छैन। अतः प्रस्तुत लेखमा अरुण उपत्यकामा प्रचलित लोकगीतहरूमा पाइने लोकतत्त्वहरूको खोजी गरी विश्लेषण गरिएको छ।
अध्ययनविधि
प्रस्तुत लेखमा विश्लेषणका निम्ति प्रयुत्त प्राथमिक स्रोत अरुण उपत्यकामा प्रचलित लोकगीतहरू सङ्कलन गर्न क्षेत्रभ्रमण, छलफल, अन्तवार्ता आदि विधिको प्रयोग गरिएको छ। केही गीतहरू द्वितीयक स्रोत जस्तै पुस्तक, पत्रपत्रिका, इन्टरनेट, श्रव्य तथा श्रव्यदृश्य आदिको प्रयोग पुस्तकालयीय विधिबाट समेत गरिएको छ। विभिन्न स्रोतवाट सङ्कलित सामग्रीलाई यस अध्ययनमा तुलनात्मक र वर्णनात्मक विधिद्वारा विश्लेषण गरिएको छ। सत्येन्द्र (१९७१) का अनुसार लोकतत्त्वमा अतिकल्पना, आत्मशीलता, टुनामुना र आनुष्ठानिक विचारहरू पर्दछन् हुन्छ (पृ. ४१)। नेपाली लोकसाहित्यको अध्ययन गर्दा लोकतत्त्वलाई निम्न पाँच शीर्षकमा समेट्न उपयुक्त हुने पराजुली (२०६२) को अवधारणा रहेको छ (पृ. २९)
अतिकल्पना वा स्वैरकल्पनाप्रतिका विश्वासहरू
जादु, टुनामुना र योगसँग सम्बन्धित विश्वासहरू
धर्म र अनुष्ठानप्रतिका विश्वासहरू
आत्मशीलताप्रतिका विश्वासहरू
विभिन्न लोकविश्वासहरू
अरुण उपत्यकामा प्रचलित लोकगीतहरू नेपाली लोकसाहित्यकै अङ्ग भएकाले माथि प्रस्तुत भएका पाँच शीर्षकहरूलाई आधार मानेर प्रस्तुत लेखमा लोकतत्त्वहरूको विश्लेषण गरिएको छ।
लोकगीतमा लोकतत्त्व
नेपाली लोक साहित्यमा प्रयुक्त लोकतत्त्वको अध्ययन गर्दा पाँच शीर्षकहरूमा विश्लेषण गर्न सकिने कुराको चर्चा माथि नै भइसकेको छ। यिनै पाँच शीर्षकका आधारमा अरुण उपत्यकामा प्रचलित नेपाली लोकगीतमा प्रयुक्त लोकतत्त्वहरूकोे खोजी र विश्लेषण यस उपशीर्षकमा गरिएको छ।
लोकगीतमा अतिकल्पना वा स्वैरकल्पनाप्रतिका विश्वास
संसारभरका मानिहरूले प्राचीनकालदेखि नै अनेक कल्पना गरेर कथा, कविता, गीत बनाएका छन्। तिनै काल्पनिक कुरालाई पछिल्लो पुस्ताले पनि स्वीकार गर्दै यस किसिमका काल्पनिक विश्वासहरू पुस्तान्तरण हुँदै वर्तमानसम्म आइपुगेका हुन्छन्। यस अन्तर्गत अनेक लोक, मानवभन्दा फरक शक्ति भएका देवता, राक्षस, परी, असाधारण क्षमता भएका लोकपात्र, असाधारण पहाड, रूख, विरुवा आदिप्रतिका विश्वासहरू पर्दछन्।
लोकगीतमा विभिन्न लोकहरूसम्बन्धी विश्वास
अरुण उपत्यकामा प्रचलित लोकगीतहरूमा अनेक लोकहरूसम्बन्धी विश्वास पाइन्छ। विज्ञानले पुष्टि गर्न नसकेका त्यस्ता अनेक लोकहरूको वर्णन, छनक तथा प्रशङ्ग यहाँका लोकगीतहरूमा पाइन्छ। उदाहरणका लागि यहाँ एउटा गीतको अंश प्रस्तुत गरिएको छः
सत्ते र लोकमा नि के फुलै फुल्यो
इन्द्र है कमल फुल है फुल्यो
सत्तेलोक उज्यालो।
कसले लायो नि यो फुलबारी
कसले बारो बार रामचन्द्र
कसले बारो बार। (निरौला, २०७०, पृ.३६९)
प्रस्तुत सँगिनीको अंशमा प्रयोग भएको सत्तेलोक एक काल्पनिक अलौकिक स्थान हो। यहाँका लोकजनहरू सत्तेलोकमा देवताहरू बस्छन् भन्ने विश्वास गर्दछन्। अरुण उपत्यकाअन्तर्गत खाँदबारी–३ मा बसोबास गर्ने राधा दाहाल र साथीहरूले प्रस्तुत गरेको उक्त सँगिनीको अर्को अंशमा पनि यस्तै काल्पनिक लोकको चर्चा गरिएको उदाहरण यहाँ प्रस्तुत गरिएको छः
संसारै छोडी नि मृत्युलोक त्यागी
परम धाम जान पाऊँ शिवबाबा
परम धाम जान पाऊँ।
हे शिवशिव श्रीरामचन्द्र
परम धाम जान पाऊँ।। (निरौला, २०७०, पृ.३७१)
प्रस्तुत गीतको अंशमा प्रयोग गरिएको परमधाम अलौकिक काल्पनिक स्थान हो। विवेच्य क्षेत्रका अधिकाशं लोकजन मानिसहरू राम्रो कर्म गरेर मरे भने परमधाम जान्छन् भन्ने विश्वास राख्छन्। यसैगरी विवेच्य क्षेत्रको अर्को गीतको एक अंश थप उदाहरणका लागि प्रस्तुत गरिएको छ :
आकाशैमा हेर्दा त झिलिमिली तारा रे,
पातालैमा परिगायो रात (बुढाथोकी, २०७१, पृ. ११५)
प्रस्तुत गीतको अंशमा पाताल भन्ने लोकको चर्चा छ। यहाँका मानिसहरू पृथ्वीभन्दा तल पाताल लोक छ भन्ने विश्वास गर्दछन्। यसरी यस क्षेत्रका बसिन्दाहरू स्वर्ग, नर्क, पाताल, देवलोक, परमधाम, वैकुण्ठ, पितृलोक आदि अनेक लोकहरूका बारेमा विश्वास गर्दछन्। ती लोकहरूका धेरैजसो नाम र प्रसङ्ग यहाँका लोकगीतहरूमा पाइन्छ।
लोकगीतमा दैवी शक्तिसम्बन्धी विश्वास
अरुण उपत्यकामा हिन्दू, बौध, किराँत र इसाई धर्म मान्ने मानिसहरूको बसोबास रहेको छ। जुनसुकै धर्म मान्ने मानिसहरू पनि दैवी शक्तिमा विश्वास गर्ने गर्दछन्। यहाँका धेरैजसो लोकगीतमा देवी, देवता, देवदूत, अप्सरा, नाग, गन्धर्व, यक्ष, किन्नर, किन्नरी आदि देवयोनीसँग सम्बन्धित अनेक विश्वासहरू पाइन्छन्। उदाहरणका लागि यहाँ प्रचलित एक गीतको अंश प्रस्तुत गरिएको छः
ए…..लौ परमेशवर…..
तमी महादेव, तिमी काँडा ब्रम्हा,
तिमी ऐरुदेव, तिमी गौरी गोसाइँ
तिमी विध्यावासिनी, तिमी गोष्ठादि…..(बुढाथोकी, २०७१, पृ. ९२)
प्रस्तुत अंश गोठधुप गर्दा फलाकिने लोकगीतबाट लिइएको हो। यहाँ अनेक दैवी शक्तिको आराधना गरिएको छ। धुपद्वार अनि पूजाआजा गर्दा मात्र हैन यहाँको लोकजीवन भक्तिमय छ। खोलो तर्दा पाती चढाएर, देउरालीमा फूल चढाएर, मन्दिर, देवीस्थान, गुम्बा, मानेका छेउबाट यात्रा गर्दा दर्शन गर्न नभ्याए पनि परैबाट श्रद्धा चढाएर मात्रै लोकजन गन्तव्यतर्फ लाग्दछन्। भक्तिमय भएकाले यहाँ प्रचलित भजन, बालन आदि बाहेक अन्य लोकगीतमा पनि दैवी शक्तिप्रतिको विश्वास प्रयोग भएका छन्। उदाहरणका लागि यहाँ एक गीताशं प्रस्तुत गरिएको छः
तिम्रो हाम्रो भेट हुने देवी देउराली
थकाइ मार्ने त्यही माथि ढुङ्गे चौतारी (गुरुङ, २०६४, पृ. ५८)
प्रस्तुत गीताशंमा प्रस्तोताले आफ्नो जोडीलाई देवी देउरालीमा भेट गर्ने प्रस्ताव राखेको छ। लोकजीवन भक्तिमय भएकाले देवी–देउरालीको अर्चना गर्न जान सबैलाई छुट हुन्छ। त्यही भक्ति विश्वासमा भेट हुने अनि चौतारीमा थकाइ मार्ने निहुँमा प्रेमिल वात गर्ने आशय प्रस्तुत अंशमा पाइन्छ। तीजको अवसरमा रीता दाहालद्वारा प्रस्तुत एक सँगिनिको अर्को अंश यसै प्रकारको दैवी शक्तिसम्बन्धी विश्वास भएको गीतको उदाहरणका लागि यहाँ प्रस्तुत गरिएको छ:
यो सृष्टि सारा नि अडेको हुन्छ
यो सृष्टि सारा नि अडेको हुन्छ
प्रभुको शक्तिमा है हेर
प्रभुको शक्तिमा।
पानी नि नखाई म वर्त बस्छु
शिवकै भक्तिमा है हेर
शिवकै भक्तिमा (लिम्बू, २०६८, पृ. ९८)
यहाँ प्रस्तुत भएका प्रभु, शिव आदि देवताका नामहरू हुन्। यस्ता अनेक दैवी शक्तिको अर्चना यहाँका लोकजनले गरिरहेका हुन्छन्। लोकगीतमा पनि त्यो अर्चना र भक्तिभावको झल्को प्रशस्त पाइन्छ। यहाँ प्रचलित कतिपय लोकगीतमा यसरी विवेच्य क्षेत्रमा प्रचलित धेरै लोकगीतहरूमा दैवी शक्तिसम्बन्धी विश्वास पाउन्छ।
लोकगीतमा अर्धदैवी शक्तिसम्बन्धी विश्वास
अरुण उपत्यकामा बसोबास गर्ने लोकजनहरू राक्षस, दानव, भुत आदि अर्धदैवी शक्तिसम्बन्धी पनि विश्वास गर्ने गर्दछन्। सर्वसाधारणका ती विश्वासहरू यहाँका लोकगीतमा पनि प्रशस्तै प्रयोग भएका छन्। उदाहरणका लागि यहाँ एक गीतको अंश प्रस्तुत गरिएको छ :
कंसैसुर मामाका भानिजै होलान्
देवकीका ती चेला होलान्
तिनै हनु् कृष्णजी।
हे शिवशिव श्रीरामचन्द्र
तिनै हनु् कृष्णजी। (निरौला, २०७०, पृ.३६९)
प्रस्तुत गीताशंमा प्रयोग भएको कंसैसुर शब्द लोकजनले कृष्ण भगवानका राक्षस मामा भन्ने विश्वास गर्दछन्। यहाँका कतिपय गीतमा भूत, प्रेत, मसान, डंकिनी, बोक्सी आदि अर्धवैवी शक्तिप्रतिको विश्वास पनि पाइन्छ। उदाहरणका लागि विवेच्य क्षेत्रका घरघरमा कार्तिक र चैत्र महिनाको रातमा फेरी बजाउँदै जोगीले गाउने एक लोकगीतको उदाहरण यहाँ प्रस्तुत गरिएको छः
भूत बाँधूँ, प्रेत बाधूँ
वीर मसान बाधूँ।
डंकिनी बाँधूँ, बोक्सी बाधूँ
वीर मसान बाधूँ।
गोरखनाथ बाबा की जय….।
राक्षस बाधूँ
काँचो बायू, राँकेभूत बाधूँ (बुढाथोकी, २०७१, पृ. ९५)
यसरी विवेच्य क्षेत्रमा प्रचलित लोकगीतहरूमा अनेकन अर्धदैवी शक्तिसम्बन्धी विश्वास पाइन्छ।
लोकगीतमा सांस्कृितक नायकसँग सम्बन्धित विश्वास
हरेक समाजका आ–आफ्ना साँस्कृतिक नायकहरू हुन्छन्। ती नायकले विगतमा विविध साँस्कृतिक सुधारका कार्यहरू गरेका हुन्छन्। संस्कृति र पहिचान वचाउनका लागि लडेका, डटेका र सचेतना अभियान चलाएका त्यस्ता नायकहरू वर्तमानमा मिथक झैँ बनेका हुन्छन्। तिनीहरूप्रति लोकजनको श्रद्धा र विश्वास रहेको पाइन्छ। अरुण उपत्यकामा पनि यसप्रकारका नायकहरू छन्। ती नायकका अनेक प्रसङ्ग यहाँका लोकगीतमा पनि आएका छन्। उदाहरणका लागि यहाँ एउटा गीतको अंश प्रस्तुत गरिएको छ :
दिङ्लाको आसपासमा लगाएको रुद्राक्ष
यो कसले लगायो है हेर यो कसले लगायो ?
कसले गर्दियो नि यो विघ्न उद्यम
षडानन्द गुरुले है हेर षडानन्द गुरुले।
हजुरले लगाएको दानाको गाछी
फुलीमा गयो, फलीमा गयो, हिरामोती भइगयो।
कसले गर्दियो नि यो विघ्न उद्यम
षडानन्द गुरुले है हेर षडानन्द गुरुले।
(स्रोत व्यक्तिः शशीकला चापागाईँ र अन्य, दिङ्ला, भोजपुर )
प्रस्तुत सँगिनीको अंशमा अरुण उपत्यकाअन्तर्गत पर्ने दिङ्ला बजारका महिला समूहले आफ्ना साँस्कृतिक नायक बालागुरु षडानन्दको सम्झना, सम्मान अनि कर्मको प्रशंशा गरेका छन्। अहिले यस क्षेत्रको नगदेवालीका रूपमा ख्याति कमाएको रुद्राक्षको विरुवा सर्वप्रथम उनै बालागुरु षडानन्दले यहाँ ल्याएका थिए भन्ने जनश्रुति छन्। दिङ्ला बजारको पूर्वपट्टि एउटा बगैचा हालसम्म रहेको छ। त्यहाँ अनेक किसिमका नौला विरुवा ल्याएर षडानन्द गुरुले रोपेका थिए। अजसम्म पनि ती मध्ये कतिपय विरुवा त्यहाँ छँदैछन्। यो कुराले षडानन्दले नै नौलो विरुवा ल्याउने क्रममा यहाँ सर्वप्रथमा रुद्रक्ष ल्याएका हुनसक्ने अनुमान गर्न सकिन्छ। विवेच्य क्षेत्रमा शिक्षा मार्फत सचेतनाको विगुल फुक्ने षडानन्द गुरु रुमाल ओच्छ्याएर अरुण नदी तर्न सक्थे भन्नेजस्ता अनेक किंवदन्ती छन्। हाल भोजपुरमा यी साँस्कृतिक नायकको देनलाई उच्च सम्मान गर्दै दिङ्ला केन्द्र रहेको स्थानीय तहको नाम नै षडानन्द नगरपालिका राखिएको छ। षडानन्द गुरुजस्तै विदुषी योगमाया यहाँकी अर्की साँस्कृतिक नायक हुन्। योगमायाले रचना गरेका भनिएका अनेक जनचेतनामूलक गीत र भजनहरू विवेच्य क्षेत्रमा प्रचलित छन्। उदाहरणका लागि यहाँ एउटा गीतको अंश प्रस्तुत गरिएको छः
शुद्धि कार्य भरिदेऊ
सत् ज्योतिमा सारिदेऊ
शुद्धि प्रकाश पारिदेऊ
भय भ्रान्ति खारिदेऊ
असतलाई मारिदेऊ
सबको शेखी झारिदेऊ
भूमिको भार टारिदेऊ
लोकमा धर्मै सारिदेऊ
धर्मी राज्य पारिदेऊ। (तिम्सिना, २०७०, पृ. १७२)
माथिको अंश योगमायाले लेखेकी हुन्। धर्मराज्यको माग राखेर योगमाया सहित ६८ जनाले वि.सं. १९९८ साल असार ३१ गते अरुण नदीमा जलसमाधि लिएका थिए। योगमायाले अनेक किसिमका कुसँस्कृतिको विरोध गरेकी थिइन्। कठोर तपस्या गरेकी, सन्तहरूसँग ज्ञान लिएकी, विशेष शक्ति भएकी आदि अनेक विश्वासहरू यहाँका लोकजनमा श्रुतिका रूपमा चलेका छन्। नेपाल सरकार योगमायाका कामको सम्मान गर्दै विदुषी योगमाया आयुर्वेदिक विश्वविद्यालयको स्थापना गरेको छ। यसरी विवेच्य क्षेत्रका लोकगीतमा यहाँका साँस्किृतिक नायकहरूप्रतिको विश्वास पाइन्छ।
लोकगीतमा अद्भुत पराक्रम भएका मानवसँग सम्बन्धित विश्वास
गाउँठाउँमा सामान्यभन्दा धेरै पराक्रम, शाहस अनि क्षमता भएका मानिसहरूका बारे अनेक किंवदन्तीहरू प्रचलित हुन्छन्। उक्त श्रुति पछि गएर विश्वास बनिसकेको हुन्छ। धेरै काम गर्ने, धेरै खाने आदि अनेक प्रसङ्गका लोककथा समाजमा प्रचलित हुन्छन्। यस्तै प्रसङ्गहरू समाजका लोकगीतमा पनि आएका हुन्छन्। उदाहरणका एउटा गीतको अंश यहाँ प्रस्तुत गरिएको छः
भूतलाई काम लगायो धामीले, डीमा बसी हेरेका हामीले
(स्रोत व्यक्ति : पवित्रादेवी ओझा, मादी–४, ओखरबोटे)
प्रस्तुत गीतको अंशमा चर्चा गरिएको धामी एक अद्भूत चमत्कार भएको व्यक्ति हो जसले भूतलाई काम लगाएको छ। प्रस्तुत उपशीर्षक अन्तर्गत अनौठो बानीव्यहोरा भएका लोकजनहरूको कर्मसम्बन्धी विश्वास भएका गीतहरूलाई राख्न सकिन्छ। अद्भूत क्षमता भएका मानिस पाउन कठिन भए जस्तै विवेच्य क्षेत्रका लोकगीतमा पनि यस प्रकारको विश्वास कम मात्रामा भए पनि पाइएको छ ।
लोकगीतमा अतिकाल्पनिक ठाउँसँग सम्बन्धित विश्वास
गाउँठाउँमा बाटो हिँड्दा, मकै छोडाउँदा, गाईवस्तु चराउँदा, चौतारीमा बस्दाजस्ता अनेक अवसरमा विविध कथा सुन्ने सुनाउने गरिन्छ। ती कथामा अनेक काल्पनिक स्थानहरूको वर्णन गरिएको हुन्छ। तिनै गाउठाउँमा प्रचलित लोकगीतमा पनि त्यस्ता काल्पनिक स्थानहरूसँ सम्बन्धित विश्वास आएका हुन्छन्। उदाहरणका लागि यहाँ प्रचलित सँगिनीको एक अंश यहाँ प्रस्तुत गरिएको छः
कैलाशै भवनमा के फुलै फुल्यो
पारिजात नि फुलै र फुल्यो
कैलाशै उज्यालो।
कसले लायो नि यो फुलबारी
कसले बारो बार रामचन्द्र
कसले बारो बार।
पार्वतीले लगाइन् यो फुलबारी
शिवजीले बारे बार रामचन्द्र
शिवजीले बारे बार।
दुई थुँगा टिपी नि पार्वतीलाई चढाऊँ
चार थगुाँ टिपी नि शिवलाई माला
शिवजी उज्याला।
हे शिवशिव श्रीरामचन्द्र
शिवजी उज्याला। (निरौला, २०७०, पृ.३७२)
प्रस्तुत अंशमा वर्णन गरिएको कैलाश भवन यो लोकमा छैन। नभएको भवनका वरिपरि न फूलबारी नै छ। फूल रोप्ने र बार लगाउनेसम्म वर्णन गरिएको भए पनि यो अतिकाल्पनिक स्थानसँगको विश्वास भएको लोकगीत हो। विवेच्य क्षेत्रका मानिसहरू भगवान् शिव र पार्वती कैलाशमा बास गर्छन् भन्ने विश्वास गर्दन्। यसरी यहाँका लोकगीतमा केही मात्रामा भए पनि अति काल्पनिक स्थानसँग सम्बन्धित विश्वास पाइन्छन्।
लोकगीतमा असाधारण जीवसँग सम्बन्धित विश्वास
सामान्यभन्दा फरक क्षमता भएका अनेक जीवजनावरसँग सम्बन्धित विश्वास ग्राम्य लोकजनको अर्को विशेषता हो। त्यही विश्वासहरू उक्त समाजमा प्रचलित लोकगीतमा पाउन सकिन्छ। अरुण उपत्यकामा प्रचलित कतिपय लोकगीतमा पनि यस प्रकारका जीवसँग सम्बन्धित विश्वास पाइन्छ। उदाहरणका लागि यहाँ एउटा गीतको अंश प्रस्तुत गरिएको छ :
सरमा सर मै चिठी लेख्छु सरसको पातैमा
हौ झिमझिम परेली आँखैमा गायो, मायाले रुवायो।
यो चिठी उडाई पुर्याइदेऊ चरी मायाको हातैमा
हौ झिमझिम परेली आँखैमा गायो, मायाले रुवायो।
(भेटुवाल, कमलीकान्त https://www.youtube.com/watch?v=z33jmlM-Evc) प्रस्तुत गीतको अंशमा प्रस्तोताले लेखेको चिठी लगिदिने चरी छ। मान्छेको चिठी चराले सम्बन्धित ठाउँमा पुर्याइदिन्छन् भन्ने यहाँका मानिसहरूको विश्वास छ। यो असाधारण जीवसँग सम्बन्धित विश्वास भएको गीत हो। यसै प्रकारको विश्वास भएको अर्को गीतको उदाहरण यहाँ प्रस्तुत गरिएको छ :
प्रथम कोकले केटी माग्न गयो
भद्राई चरी दिन साइत हेरिदिने भयो
वन गई लाहाँचेले काठ खोपी ल्यायो
घर बसी मुस्तेले गहना कमायो
खेत गई बट्टाइले धान माडी ल्यायो
घर बसी भँगेराले बिस्कुन सुकायो
घान लाउने लाटी चरी, बुढी चरी सार्ने
धन काट्ने तुलेगाँडो बातैमात्र मार्ने (दाहाल, २०७०६, पृ.४१३)
प्रस्तुत गीतको अंशमा अएका अधिकाशं चराहरू असाधारण किसिमका छन्। यिनीहरूको बानी मान्छेको जस्तो छ। यी सबै असाधारण जीवसँग सम्बन्धित विश्वास हो। विवेच्य क्षेत्रमा यति लगायतका असाधारण जीवहरूप्रति पनि विश्वास रहेको पाइन्छ। यसरी अरुण उपत्यकामा असाधारण जीवहरूसँग सम्बन्धित विश्वास भएका लोकगीत पनि प्रचलनमा रहेका छन्।
लोकगीतमा असाधारण वस्तु वा पदार्थसँग सम्बन्धित विश्वास
लोकमा बोल्ने भित्तो, गफ गर्ने रूख, मान्छेजस्तै व्यवहार गर्ने भाँडो आदिका कथा सुनेर बनाइएका विश्वासहरू हुन्छन्। यसरी असाधारण वस्तु वा पदार्थहरूका बारेमा गरिने विश्वासलाई नै यहाँ यस उपशीर्षकले समेट्छ। यस किसिमका कतिपय विश्वास विवेच्य क्षेत्रमा प्रचलित लोकगीतहरूमा पनि पाइन्छ। यसै प्रकारको विश्वास भएको विवेच्य क्षेत्रमा प्रचलित गीतको एक अंश यहाँ उदाहरण स्वरूप प्रस्तुत गरिएको छ :
रूखैमा बोल्छ्यौ कि पातैमा बोल्छ्यौ
कि बोल्छ्यौ कि पत्थरमा ए मेरी बैनी
कि बोल्छ्यौ पत्थरमा।
रूखैमा छुइँन नि पातैमा छुइँन
म बोल्छु पत्थरमा ए मेरी बैनी
म बोल्छु पत्थरमा।
लौ रामै राम श्रीरामचन्द्र
म बोल्छु पत्थरमा। (निरौला, २०७०, पृ.३७२)
प्रस्तुत गीतको अंशमा मरिसकेकी दिदी पत्थर भएर बोलेको कथन छ। मान्छेजस्तै सवाल–जवाफ गर्ने पत्थर हुनु भनेकै असाधारण पदार्थसँगको विश्वास हो। यसरी विवेच्य क्षेत्रमा असाधारण वस्तु वा पदार्थसँग सम्बन्धित विश्वास भएका लोकगीत पनि प्रचलनमा रहेका छन्।
लोकगीतमा असाधारण मौसम र प्रकृतिसँग सम्बन्धित विश्वास
लोकमा असाधारण किसिमको मौसम अनि प्रकृतिको वर्णन भएका अनेक कथा अनि किंवदन्तीहरू सुनेर मानिसहरूले त्यस्ता मौसम र प्रकृतिबारे अनेक प्रकारका विश्वास निर्माण गरेका हुन्छन्। यसै प्रकारको एउटा गीतको अंश यहाँ प्रस्तुत गरिएको छः
लौ नब्बे सालमा नि, माघका मासमा, अन्धकार भो दिनमै ए हरि अन्धकार भो दिनमै
हल्लियो धर्ती लौ काँमे है डाँडा, परलए भो छिनमै ए हरि परलए भो छिनमै।
अरुणमा आयो नि अचानक बाढी, घरगोठ लडे है ए हरि घरगोठ लडे है
खोलाका बगरमा असाला माछा जमिनमा चढे है ए हरि जमिनमा चढे है।
(स्रोत व्यक्ति : पवित्रादेवी ओझा, मादी–४, ओखरबोटे)
प्रस्तुत गीतमा नब्बे सालको भूकम्प आएका क्षणको वर्णन गरिएको छ। उक्त भूकम्प आएपछि दिनमै अँध्यारो भएको, हिउँदका खोलामा बाढी आएर माछा जमिनभरी भेटिएका भन्ने असाधारण मौसम र प्रकृतिसँग सम्बन्धित विश्वास पाइन्छ। विवेच्य क्षेत्रका लोकगीतमा कम मात्रामा यस किसिमको विश्वास पाइन्छ।
लोकगीतमा अतिकाल्पनिक अन्य विश्वासहरू
माथि चर्चा गरिएका बाहेक अन्य विविध अतिकाल्पनिक विश्वासहरू पनि लोकगीतमा आउन सक्छन्। उदाहरणका लागि अरुण उपत्यकाअन्तर्गत सिद्धकाली मन्दिर परिसरमा वालाचुर्दशीका अघिल्लो साँझमा लाग्ने मेलामा भक्तहरूले गाएको एक भजनको अंश यहाँ प्रस्तुत गरिएको छः
बाघको छाला लाउने शिव सुनपाट जस्तो जट्टा
न त बुढा, न त बालक, सधैं हट्टाकट्टा
मुस्ली जत्रा औंला उनका, रूख जत्रा खुट्टा
त्रिशूलले पापीलाई पार्छन् टुक्रटुक्रा
घाँटीमा सर्पको माला
मदहोसी के पारा, के चाला। (स्रोतव्यक्ति : किसन श्रेष्ठ, चैनपुर–६, सङ्खुवासभा)
प्रस्तुत गीतको अंशमा हिन्दूहरूका आराध्य देव भगवान् शिवको वर्णन गर्ने क्रममा मुस्ली जत्रा ठुला औंला अनि रूखजत्रा खुट्टा भएको भन्ने अतिकाल्पनिक विश्वास पाइन्छ। यति अथवा हिम मानवलाई अरुण उपत्यकाबासीहरू सोक्पा भन्ने गर्दछन्। सोक्पाका बारेमा गाइएको अतिकाल्पनिक एउटा गीतको अंश थपा उदाहरणका लागि यहाँ प्रस्तुत गरिएको छ :
दुईखुट्टा टेक्ने, दसमान्छे जत्रो, पैतालो फर्केको
जीउभरी भुत्ला, मान्छेको मुहार, जाँड खन पल्केको
अग्लोमा अग्लो, मोटोमा मोटो, सोक्पा छेउ परेंछु
गिद्धेको गोठमा देखेर सोक्पा मुख आँ पो गरेंछु।
(स्रोतव्यक्ति : वाङ्जु शेर्पा, चैनपुर–१, गुफापोखरी)
प्रस्तुत गीतको अंशमा प्रस्तोता आफैँ गिद्धे भन्ने गोठको लेकमा सोक्पाको छेउमा परेर आश्चर्य र डरले मुख आँ गरेको कथन छ। सोक्पाको शरीरको चित्रण पनि कथाजस्तै अतिकाल्पनिक नै छ। यसरी विवेच्य क्षेत्रका केही लोगीतहरूमा अतिकाल्पनिक विविध विषयहरू पनि आएका छन्।
लोकगीतमा जादु, टुनामुना र योगसँग सम्बन्धित विश्वास
मानिसले विभिन्न साधना र उपासनाका माध्यमबाट अलौकिक शक्ति अर्जन गर्न सक्छ। यसरी आर्जित शक्तिलाई प्रयोग गरेर मानिसले अनेक चमात्कारहरू देखाउन अथवा गर्न सक्छ भन्ने विश्वास पनि एक प्रकारको लोक तत्त्व हो। यसमा जादु, टुनामुना र योगसँग सम्बन्धित विश्वासहरू पर्दछन्। विवेच्य क्षेत्रमा इन्द्रजाल, तपस्या र योग, तन्त्रमन्त्र, झारफूक आदिसँग सम्बन्धित विश्वासहरू पाइन्छन्। यिनै विश्वासका आधारमा अनेक लोकसाहित्यिक रचनाहरू यहाँ प्रचलित छन्। यहाँका लोकगीतमा पनि यस प्रकारका विश्वासहरू पाइन्छ।
विवेच्य क्षेत्रमा मानिसहरू विरामी पर्नासाथ सुरुमा झारफुक गराउन धामी लागउनु पर्छ भन्ने विश्वास रहेको छ। धामीले विरामीको जोखाना हेर्दा गाउने गीतको एक अंश यहाँ उदाहरण स्वरूप प्रस्तुत गरिएको छः
हे….हेरिल्याउँदा गुरो
सबै दिशा, नवैखण्ड बाँधिल्याउँदा गुरु….
लडिमरेको, डडिमरेको
झुण्डिमरेको काँचो वायुले भेटेछ है बाला मनुवा….।
कालो कपडा, कालो कुखुरा, कालै बोका
चाहिन्छ है बाला मनुवा….।
नै ग्रहको पूजा गर भन्छ
है मनुवा सुनि लैजालास् (बुढाथोकी, २०७१, पृ. ९१)
प्रस्तुत गीतको अंशमा बिरामीलाई काँचो वायुले भेटेर समस्या भएको र निको पार्न कालो कपाडा, कालो भाले र कालो बोका चाहिने बताइएको छ। यो धामी र झारफुकसँग सम्बन्धित विश्वास भएको गीतको एक उदाहरण हो। शर्मा (२०७८) का अनुसार धामीले बिरामीका सामु ढ्याङ्ग्रो, झ्याम्टा, घण्ट आदि बजाएर विशेष प्रकारको लय हालेर फलाक्ने पद्धतिलाई आधुनिक चिकित्सा प्रणलीमा ध्वनिचिकित्सा वा साउण्ड थेरापी भनिन्छ (पृ. ९९)। प्रस्तुत भनाइले लोकको विश्वासमा केही सत्यता र वैज्ञानिक कारण पनि देखिन जान्छ।
यसैगरी धामीले आफ्नो तान्त्रिक शक्तिले भूतलाई समेत काम लागाएर चमत्कार गर्न सक्छ भन्ने विश्वास भएको गीतको एक अंश यहाँ उदाहरणका लागि प्रस्तुत गरिएको छः
भूतलाई काम लगायो धामीले, डीमा बसी हेरेका हामीले
भूतैभूत आएर लस्कर
तासे भित्ता, सिनिक्क पारेर
भूतलाई काम लगायो धामीले, डीमा बसी हेरेका हामीले
बाँझो खने, अचिला तासिदे
हाम्रा हतियार धोएर राखिदे
भूतलाई काम लगायो धामीले, डीमा बसी हेरेका हामीले।
(स्रोत व्यक्ति : पवित्रादेवी ओझा, मादी–४, ओखरबोटे)
यसरी अरुण उपत्यकामा प्रचलित केही लोकगीतमा जादु, टुनामुना र योगसँग सम्बन्धित विश्वासहरू रहेका छन्।
लोकगीतमा धर्म र अनुष्ठानप्रतिका विश्वास
लोक भक्तिमय भएको प्रसङ्ग यसअघि नै उल्लेख गरिसकिएको छ। लोकजनले विभिन्न धर्मशास्त्र तथा संस्कारका आधारमा अनेक अनुष्ठानहरू गर्ने गरेका हुन्छन्। अरुण उपत्यकामा प्रचलित लोकगीतमा पनि प्रशस्त मात्रामा धर्म र अनुष्ठानप्रतिका विश्वास पाइन्छ। धर्म समाजको कानुन हो। लोकगीत त्यही सामाजिक कानुनको संवाहक हो। धर्म भन्नाले हाम्रो संस्कृति पनि हो। धार्मिक अनुष्ठानहरू सम्पन्न गर्न प्रयोग हुने लोकगीतहरूमा त्यस अनुष्ठानका विधि र देवता खुसी पार्ने वाणीहरू हुन्छन्। कतिपय लोकगीतहरू धार्मिक भाव भएको मङ्गलाचरणबाट सुरु हुन्छन्। धेरैजसो लोकगीतहरूका स्थायी वा अन्तराहरूमा धर्मशास्त्रले स्थापित गरेका विचारहरू प्रस्तुत गरिएका हुन्छन्। धर्मले जस्तै लोकगीतले सामाजिक आचार, नैतिक अनुशासन अनि आध्यात्मिक मूल्य बोध गराउने भावहरू प्रकट गर्दछन्। उदाहरणका लागि मारुनीको मङ्गलाचरण गर्दा गाइने गीतको एक अंश यहाँ प्रस्तुत गरिएको छः
भैलेनी आयौँ आँगन, बढारी कुँडारी राखन
यो औंसीबार गाई तिहार भैलो।
हरियो गोबरले लोट्यौ कि, लक्ष्मीलाई पुज्यौ कि ?
यो औंसीबार गाई तिहार भैलो (लिम्बू, २०६८, पृ. १०४)
प्रस्तुत गीत लक्ष्मीपूजाका दिन भैलेनी समूहले गाउने गर्दछन्। यहाँ सरसफाइ गर्दा, बढार्दा अनि गाईको गोबरले लिप्दा घरमा लक्ष्मी आउँछिन् अनि धन–दौलत दिन्छिन् भन्ने धार्मिक विश्वास प्रकट भएको छ। अरुण उपत्यका क्षेत्रमा नचाइने मारुनी नाचको सुरुवात पनि धार्मिक विश्वासका आधारमा गरिन्छ। यहाँ उदाहरणका लागि मारुनीको मङ्गलाचरणको एक अंश प्रस्तुत गरिएको छ :
हा हा हा………………………हा हा…………………….हा हा हा
शिरैदेखि सेवा नि दिलैदेखि सेवा
ढोगीभेटी पैलो चरन
ढोगीभेटी पैलो चरन
ढोगीभेटी पैलो चरन
रक्षे गर माई हो, पर्यौँ हामी तिम्रै शरण
रक्षे गर सरस्वती
रक्षे गर सरस्वती
रक्षे गर सरस्वती माई, पर्यौँ हामी तिम्रै शरण…
(https://www.youtube.com/watch?v=TQNAzV4238Y)
प्रस्तुत गीतको अंशमा मारुनी सुरु गर्नुअघि सरस्वती माताको शरण परेको प्रशङ्ग व्यक्त गरिएको छ। कला र विद्याकी देवीको आराधना गरेर मात्र बाजागाजा बजाउनु पर्छ भन्ने धार्मिक विश्वासका अधारमा यो गीतको अंश प्रकट भएको छ। यसैगरी अरुण उपत्यकामा गाइने र नाचिने चण्डीगीतमा पनि यसै किसिमको धार्मिक र अनुष्ठानसँग सम्बन्धित विश्वास पाइन्छ भन्ने उदाहरणका लागि यहाँ एक अंश प्रस्तुत गरिएको छः
सिमाली सेउली नि गाडेर
देवी र देउता भाकेर
पूर्खाको रीति नि साँचेर
मनाउँला सिली नाचेर
सोइ ढोले सोइ अर्को ढोले खोइ ?
सोइ ढोले सोइ अर्को ढोले खोइ ?
(https://www.youtube.com/watch?v=raTtg5KN6gw)
प्रस्तुत गीतको अंशमा पनि देवी र देउता भाकेर मात्र सिली पर्व मनाउने भनी धार्मिक विश्वास प्रकट भएको छ। यसरी यहाँका धेरै लोकगीतमा धर्म र अनुष्ठानसँग सम्बन्धित विश्वास पाइन्छ।
लोकगीतमा आत्मशीलताप्रतिका विश्वास
हरेक प्राणी र पदार्थको मानिसको जस्तै चेतना र सामर्थ्य हुन्छ भन्ने विश्वासलाई आत्मशीलताप्रतिको विश्वास भनिन्छ। पराजुली (२०६३) का अनुसार सबै प्राणी र पदार्थको मानवको जस्तै स्वभाव हुन्छ र यी जीव एवम् पदार्थहरू मानवले झैँ बोल्न र अनुभव गर्न सक्दछन् भन्ने विचारलाई आत्मशीलता भनिन्छ। मानवेतर प्राणी, वृक्ष–वनस्पती र अन्य विभिन्न पदार्थहरूमा मानवको जस्तै विवेक, बृद्धि, सैवेदना र भाषा ज्ञान हुन्छ भन्ने भावना यसै विश्वासबाट निर्मित हुन्छ (पृ.३०)। अरुण उपत्यकामा प्रचलित लोकगीतमा पनि आत्मशीलताप्रतिका विश्वास पाइन्छ। उदाहरणका लागि यहाँ प्रचलित दाइँ गीतको एक अंश प्रस्तुत गरिएको छः
हो…हो वरदो……हाम्रा वरदो त राता र काला
हिँड है भाइ हो नचुडाली माला।
हिंड मेरी भैया हो पसारी
माडिदेऊ परालै हो खुरै धसारी (बुढाथोकी, २०७१, पृ. ७६)।
प्रस्तुत गीतको अंशमा दाइँ गर्न प्रयोग गरिएका गोरुलाई मान्छेलाई झैँ भाइ सम्बोधन गर्दै तिनैसँग गफगाफ गरिएको छ। गोरुलाई पनि मानिसलाई जस्तै व्यवहार गर्नु आत्मशीलतासँग सम्बन्धित विश्वास हो। यसै प्रकारको विश्वास भएको अर्को गीतको अंश यहाँ थप उदाहरणका लागि प्रस्तुत गरिएको छ :
बारीमा फुल्ने नि गाँठेको फूलले नि ए हा हा हा सोद्दैछ सोल्टीलाई
ए हा हा हा सोद्दैछ सोल्टीलाई
माईबेनी मेला नि सग्राति बजार ए हा हा हा खोज्दैछ सोल्टीलाई
ए हा हा हा खोज्दैछ सोल्टीलाई।
(सङ्कलनः नवीन खड्का, स्वरः नवीन खड्का र पुस्तका खड्का)
प्रस्तुत गीतको अंशमा बारीको गाँठेफूल, माईबेनी मेला र सग्राति बजारले मान्छेलाई खोज्दै गरेको भनी आत्मशीलताप्रतिको विश्वास प्रकट भएको छ। यसरी विवेच्य क्षेत्रका लोकगीतमा आत्मशीलताप्रतिको विश्वास प्रकट भएको पाइन्छ।
लोकगीतमा अभिव्यक्त विभिन्न लोकविश्वास
कतिपय शास्त्रमा बताइए अनुसार अनि कतिपय उसै चलेका लोकका अनेक मान्यतालाई लोकविश्वास भनिन्छ। पराजुली (२०६३) का अनुसार लोकसमुदायले अन्तस्करणदेखि नै स्वीकार गरेका विश्वासहरूलाई लोकविश्वास भनिन्छ (पृ. ३०)। हरेक समुदायमा बसोबास गर्ने मानिसहरूको आस्था कुनै न कुनै धर्म, संस्कृति र परम्परासँग जोडिएको हुन्छ। तिनैबाट प्राप्त भएका विश्वासहरूका अतिरिक्त अनेक कारणले गाउँमा चलेका चलन, भएका घटना आदिबाट पनि यस किसिमका लोक विश्वासहरू कायम भएका हुन्छन्। अरुण उपत्यकामा प्रचलित लोकगीतमा पनि यस किसिमका लोक विश्वासहरू पाइन्छन्। उदाहरणका लागि यहाँ प्रचलित सँगिनीको एक अंश प्रस्तुत गरिएको छः
रोटी नै पकाउँदा दँदेउरा भए
कुराउनी पकाउँदा बिगौती भयो
छैनन् है केँबरा।
लौ रामैराम श्रीरामचन्द्र
छैनन् है केँबरा (निरौला, २०७०, पृ.३७२)।
प्रस्तुत गीतको अंश रोटी पकाउँदा बिग्रिएर दँदेउरा हुनु, कुराउनी पकाउँदा बिगौती बन्नु आदि अपशकुनको रूपमा लोकले गर्ने विश्वाससँग आधारित छ। यो अपशकुनका कारण केँबरा पक्कै छैनन् भन्ने आशङ्का प्रकट गरिएको छ। यसैगरी अर्को लोकविश्वासयुक्त लोकगीतको उदाहरणका लागि यहाँ अर्को गीतको एक अंश प्रस्तुत गरिएको छः
जेठा र दाजुको कौसीमा हेर्दा नौ जोर परेवा घुर्दछन् बाबा
एक जोर दाइजा देऊ
परेवा दाइजो नि नलैजाऊ चेली,
घोडाको दाइजो लैजाऊ है चेली (लिम्बु, २०६८, पृ. ९८)।
प्रस्तुत गीतको अंशमा चेलीले परेवा दाइजो लानुहुँदैन भन्ने लोकविश्वास प्रकट भएको छ। अरुण उपत्यकामा बसोबास गर्ने मानिसहरू दर्जी जातिलाई अघि लगाएर सुरु गरिएको काम सफल हुन्छ भन्ने लोकविश्वास राख्दछन्। दर्जी जातका मानिसले विवाहका दिन दिएको आशिष लाग्छ भन्ने विश्वास पनि यहाँ पाइन्छ। यसै प्रसङ्गको विश्वास बोकेको एक गीतको अंश यहाँ उदाहरण स्वरूप प्रस्तुत गरिएको छ :
जे बित्ता खटे वन्तवाला
स्वलजिवा सिंहजिवा
बमृको वेद, दमैको आशिष
क्षेत्री खड्ग धारिणी पञ्च पालन
श्री सारकी धनी हिमालचुली झैं चुलिन (दर्जी, २०७६, पृ. ५०१)।
प्रस्तुत गीतको अंशमा दर्जीले संसारकै धनी भएर हिमालचुली जस्तै चुलिन आशिष दिएका छन्। यसरी विवेच्य क्षेत्रका लोकगीतमा अनेक लोकविश्वासहरू पाइन्छ।
निष्कर्ष
अरुण उपत्यकामा प्रचलित लोकगीतमा अतिकल्पना वा स्वैरकल्पनाप्रतिका विश्वासहरू≤ जादु, टुनामुना र योगसँग सम्बन्धित विश्वासहरू≤ धर्म र अनुष्ठानप्रतिका विश्वासहरू≤ आत्मशीलताप्रतिका विश्वासहरू र विभिन्न लोकविश्वासहरू गरी अन्य लोकसाहित्यमा जस्तै प्रायः सबै लोकतत्त्वहरू पाइन्छन्। यी लोकतत्त्वका आधारमा यहाँका लोकगीतले विवेच्य क्षेत्रका मानिसहरूलाई उनीहरूको सांस्कृतिक सम्पदामा जोड्छन् र अद्वितीय परम्परा अनि कलात्मक अभिव्यक्तिहरू संरक्षण गर्न मद्दत गर्छन्। लोकतत्त्वहरूले यहाँका कतिपय पुराना कला, सँस्कृति र सीपलाई पनि संरक्षण गर्न मद्यत गर्दछन्। लोकतत्त्वका अध्ययनबाट विवेच्य क्षेत्रका मानिसहरूको धर्म, विश्वास, रीतिरिवाज, चाडपर्व आदिको समेत जानकारी मिल्छ। कतिपय गीतमा प्राप्त लोकतत्त्व विवेच्य क्षेत्रका लागि इतिहासका साक्षी पनि हुन्। कुनै प्रकारको लोकतत्त्व अनेक कारणले सङ्ख्यात्मक हिसाबले कम लोकगीतमा मात्रै पाइन्छन्। यसरी लोकतत्त्वका हिसाबले अरुण उपत्यकामा प्रचलित लोकगीतहरू धनी देखिएका छन्।
सन्दर्भसामग्रीसूची
गुरुङ, खेमराज, (२०६९), ढाक्रे, काठमाडौं : आदिवासी गीतकार समाज।
तिम्सिना, मातृका, (२०७०), नेपाली सन्त परम्परामा योगमाया र सर्वार्थ योगवाणी, काठमाडौं : पैरवी प्रकाशन।
दर्जी, केवलमान, (२०७६), सङ्खुवासभा जेष्ठ नागरिक आवाज, जधौ मुखिया सा’ब (पृ ५००–५०३) काठमाडौं : पाठकधारा टोलविकास समाज।
दाहाल, परसुराम, (२०७६), सङ्खुवासभा जेष्ठ नागरिक आवाज, भोगाइका क्षणहरूमाथि विहङ्गम दृष्टि (पृ ४०२–४१३) काठमाडौं : पाठकधारा टोलविकास समाज।
निरौला, कुलराज, (२०७०), सँगिनी लोकगाथाको सन्दर्भपरक अध्ययन, अप्रकाशित शोध प्रबन्ध त्रिभुवन विश्वविद्यालय।
पराजुली, मोतीलाल (२०६३), कुञ्जिनी, लोकसाहित्यमा प्रयोग हुने लोकतात्त्विक अध्ययनपद्धतिको रूपरेखा ( वर्ष १३, अङ्क १०, पृ २८–३१) काठमाडौं : साहित्य कुञ्ज।
बुढाथोकी, ताराबहादुर, (२०६६), सङ्खुवासभा : एक चिनारी, सङ्खुवासभा : सुमन श्रेष्ठ।
बुढाथोकी, ताराबहादुर, (२०७१), अरुण उपत्यकाका लोकभाका, खाँदबारी : लायन्स मनराम प्रतिष्ठान २००५, नेपाल।
लिम्बू, राजकुमार, (२०६८), सङ्खुवासभा जिल्लाको सिद्धपोखरी र सिद्धकाली गा.वि.स. भित्र प्रचलित लोकगीतहरूको अध्ययन. अप्रकाशित स्नातकोत्तर शोधपत्र, त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय, नेपाली विभाग, महेन्द्र बहुमुखी क्याम्पस, धरान।
शर्मा, झमकप्रसाद (२०७८), मुगाको चोलो, काठमाडौँ : मकालु प्रकाशन गृह।
सत्येन्द्र (१९७१), लोकसाहित्य विज्ञान, आगरा : शिवलाल अग्रवाल एण्ड सन्स।