प्रस्तुत लेखमा कथाकार पोषण पाण्डे रचित हर्के तामाङको संस्मरण कथामा समाख्यानात्मक वाच्यत्व र समाख्यानात्मक कालको स्वरूपको अन्वेषण गरिएको छ। समाख्यान शास्त्रको सैद्धान्तिक मान्यताभित्रका समाख्यानात्मक वाच्यत्व र समाख्यानात्मक काललाई आधार मानेर यस कृतिको विश्लेषण गरिएको छ। त्यसका लागि आँखीझ्याल कथासङ्ग्रहभित्र सङ्कलित हर्के तामाङको संस्मरण कथालाई प्राथमिक र त्यससँग सम्बन्धित समालोचनात्मक रचनाहरूलाई द्वितीयक सामग्रीका रूपमा लिइएको छ।
ज्ञानु ढुङ्गेल
उपप्राध्यापक, रत्नराज्य क्याम्पस,
त्रिभुवन विश्वविद्यालय काठमाडौँ
gyanudhungel6@gmail.com
लेखसार
प्रस्तुत लेखमा कथाकार पोषण पाण्डे रचित हर्के तामाङको संस्मरण कथामा समाख्यानात्मक वाच्यत्व र समाख्यानात्मक कालको स्वरूपको अन्वेषण गरिएको छ। समाख्यान शास्त्रको सैद्धान्तिक मान्यताभित्रका समाख्यानात्मक वाच्यत्व र समाख्यानात्मक काललाई आधार मानेर यस कृतिको विश्लेषण गरिएको छ। त्यसका लागि आँखीझ्याल कथासङ्ग्रहभित्र सङ्कलित हर्के तामाङको संस्मरण कथालाई प्राथमिक र त्यससँग सम्बन्धित समालोचनात्मक रचनाहरूलाई द्वितीयक सामग्रीका रूपमा लिइएको छ। यी दुबै प्रकारका सामग्रीको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ। प्रस्तुत कथामा समाख्यानात्मक वाच्यत्वका दृष्टिबाट वर्णन, टिप्पणी र मूल्याङ्कन एवं समाख्यानात्मक कालका दृष्टिबाट विश्लेषण गरी यसको गुणवत्ता निर्धारण गर्ने काम गरिएको छ। यी सबै कुराको विश्लेषणका आधारमा प्रस्तुत कथा उत्कृष्ट रहेको छ। समाख्यानात्मक अध्ययनका दृष्टिले विवेच्य कथा सबल र सफल रहेको छ।
शब्दकुञ्जी : समाख्यान, समाख्याता, वाच्यत्व, अग्रभूमि, व्यतिक्रम
विषय परिचय
हर्के तामाङको संस्मरण कथाकार पोषण पाण्डे (१९८९—२०४८) द्वारा लेखिएको कथा हो। पोषण पाण्डे मनोवैज्ञानिक यथार्थ, सामाजिक यथार्थ, प्रयोगवादी र अकथात्मक कथा लेख्ने प्रतिभाशाली कथाकार हुन्। उनी २००६ सालमा कविता विधाबाट साहित्यिक यात्रा प्रारम्भ गरेर वि.सं.२०१० सालमा परोपकार पत्रिकामा ‘चोर’ कथा प्रकाशन गरी आख्यान क्षेत्रमा प्रवेश गरेका हुन्। उनका आँखी झ्याल (२०२३), मानस (२०२३) र हिउँमा परेका डोबहरू (२०३३) तिनवटा कथा सङ्ग्रह प्रकाशित छन्। यसका अतिरिक्त ‘बटवृक्षको उद्घाटन’ (२०२५), मनसा (२०५२) र मेरी नैनी (२०७८) कविता सङ्ग्र्रह पनि प्रकाशित छन्। जनसाहित्य पत्रिकाको सम्पादन लगायत विभिन्न साहित्यिक संघसंस्थामा सक्रिय रहेका पाण्डे नेपाल एकेडेमी पदक, रत्नश्री स्वर्ण पदक, प्रबल गोरखा दक्षिण बाहु, महेन्द्र प्रज्ञा पुरस्कारबाट सम्मानित भएका छन्। प्रगतिवादी धाराबाट कथा लेखनमा प्रवेश गरेका पाण्डे क्रमश मनोवैज्ञानिक धारा हुँदै अकथा र प्रयोगवादी धारातर्फ आकर्षित भएको देखिन्छ। उनले समाजमा घटेका वा देखिएका कुनै विशिष्ट घटना वा परिवेशले हृदयमा स्पर्श गरेपछि बिनायोजना त्यसलाई विषय बनाएर कथा लेख्न बस्ने स्वीकारोक्ति प्रकट गरेका छन्। “उनी विष्मयकारी क्षण तथा अवस्था विशेषको प्रस्तुतिद्वारा कथालाई नौलो स्वरूप दिने अद्वितीय कथा शिल्पी हुन्।” (श्रेष्ठ, पृ. ११६) उनका कथाका घटना वा विषयवस्तु हेर्दा सामान्य लाग्ने भए पनि जीवनमा गम्भीर प्रभाव सृजना गर्ने खालका हुन्छन्। पाण्डेका कथामा सामाजिक विषयवस्तुको उठान, सहरीया जीवनशैलीभित्रको जटिलता, तल्लो तहका कर्मचारीले हाकिमबाट भोग्नु परेको दबाब र तनाब, गरिबी, शोषण र उत्पीडनको प्रस्तुति, सामाजिक आडम्बरप्रति असन्तुष्टि, बालमनोविज्ञान र रतिरागको सूक्ष्म उद्घाटन, यौनको मनोवैज्ञानिक गहिराइको चित्रण, पात्रहरुको प्रतीकात्मक मनोविश्लेषण, घटना जन्जालको कमी, यौनको प्रस्तुतिमा शिष्टता र संयमको पूर्ण परिपालन आदि विशेषता पाइन्छन्। “उहाँका कथामा प्रायः शहरिया मध्यम वर्गीय जीवनको सभ्यता, प्रतिष्ठा, विलासिता र विवशताजन्य असामञ्जस्य विकृतिहरुले ल्याएका जटिलताहरु व्यञ्जित भएका हुन्छन् —कतै प्रतीकको माध्यम लिएर कतै सोझै।” (अर्याल, पृ. २१५) छोटा र सरल वाक्य गठन, संक्षिप्त तथा सङ्केतात्मक प्रस्तुति, घटना, पात्र र परिवेशको यथास्थान प्रधानता, बिम्ब र प्रतीकका माध्यमबाट कथ्यको प्रस्तुति उनका कथात्मक विशेषता हुन्।
समाख्यान भनेको आख्यानात्मक संरचना भएका साहित्यिक कृतिहरूको अध्ययन गर्ने विश्लेषणात्मक सिद्धान्त हो। आख्यान तथा गैरआख्यानात्मक विधाको सैद्धान्तिक अवधारणाको व्याख्या गर्ने शास्त्र समाख्यान शास्त्र हो। समाख्यान शास्त्रमा आख्यानलाई समाख्याताको वाच्यत्व, केन्द्रण, समाख्यानात्मक काल, समाख्यानात्मक सम्प्रेषण आदि आधारहरूमा विश्लेषण गरिने भए पनि यहाँ समाख्याताको वाच्यत्व र समाख्यानात्मक कालका आधारमा मात्र कथाको अध्ययन गरिएको छ।
प्रस्तुत अध्ययनमा हर्के तामाङको संस्मरण कथामा निम्नलिखित समस्यामा केन्द्रित रही तिनै समस्याको समाधान खोज्ने प्रयास गरिएको छ। विवेच्य कथामा समाख्यानात्मक वाच्यत्व कसरी र कुन रूपमा प्रकट भएको छ ? र कथामा पृष्ठभूमि निर्माण, अग्रभूमि निर्माण, परिवेश वर्णन, मनोदशाको चित्रण, स्थिति वर्णन आदिमा समाख्यानको कालले के कस्तो सहयोग गरेको छ ? भन्ने प्राज्ञिक समस्याको समाधानको खोजी गरिएको छ। प्रस्तुत अध्ययनको उद्देश्य कथाभित्र प्रकट भएको वाच्यताको स्वरूपको खोजी गर्नु र समाख्यानात्मक कालका माध्यमबाट पृष्ठभूमि निर्माण, अग्रभूमि निर्माण, परिवेश वर्णन, मनोदशाको चित्रण, स्थिति वर्णन आदिका आधारमा कथाको मूल्याङ्कन गर्नु रहेको छ। हर्के तामाङको संस्मरण कथाका बारेमा विभिन्न समालोचकहरुले विभिन्न सैद्धान्तिक आधारमा अध्ययन, विश्लेषण र मूल्याङ्कन गरेका छन् तर समाख्यान शास्त्रका समाख्यानात्मक वाच्यत्व र समाख्यानात्मक कालका आधारमा कसैले कहीँ कतै अध्ययन गरेको पाइँदैन। यही समाख्यानात्मक अध्ययनको अभाव पूर्ति गर्न यो लेख केन्द्रित भएको छ। प्रस्तुत हर्के तामाङको संस्मरण कथालाई विभिन्न सैद्धान्तिक आधारमा विश्लेषण गर्न सकिए पनि यसमा समाख्यान शास्त्रका आधारमा र त्यसमा पनि समाख्यानात्मक वाच्यता र समाख्यानात्मक कालका आधारमा मात्र अध्ययन गर्नु यस लेखको क्षेत्र र सीमा हो। सहरिया समाजभित्रको वैधव्य जीवनको जटिल यौन समस्या र आर्थिक समस्यालाई चित्रण गरिएको सामाजिक कथालाई समाख्यान शास्त्रका नजरले हेर्नु यस आलेखको उपलब्धि हो। प्रस्तुत आलेख अध्यापक, विद्यार्थी, अनुसन्धाता र अध्येताका लागि उपयुक्त पाठ्यसामग्री हुनेछ।
सैद्धान्तिक पर्याधार
कुनै पनि आख्यानलाई समाख्यातशास्त्रका आधारमा विश्लेषण गर्न सकिन्छ। यो शास्त्र साख्यानात्मक संरचनाको सिद्धान्त हो। यसमा के भनिएको छ भन्ने कुराको खोजी गरिन्छ र कसले भनेको हो भन्ने विषयको पनि खोजी गरिन्छ। समाख्यानभित्र समाख्यानात्मक तह, वाच्यत्व, फोकलाइजेसन वा केन्द्रण र समाख्यानात्मक काल पर्दछन्। समाख्यानशास्त्रका यी सैद्धान्तिक आधारहरूको सामान्य जानकारी तल दिने प्रयास गरिएको छ।
समाख्यानात्मक वाच्यत्व
समाख्यानात्मक वाच्यत्वको मूल अभिप्राय आख्यानात्मक पाठ संरचनामा आएको कथ्यविषयलाई कसले भनिरहेको छ भन्ने कुरामा आख्यानको विश्लेषण गर्नु हो। “आख्यानका दुई महत्त्वपूर्ण घटकहरु हुन्छन्, एउटा कथा वा खिस्सा र अर्को कथक वा आख्याता। कथा वा खिस्सा भनेको घटना, प्रसङ्ग, स्थिति आदिको अनुक्रम हो भने कथक वा आख्याता भनेको खिस्सा उपस्थित गर्ने प्रत्यक्ष वा अप्रत्यक्ष प्रेषक हो।” (शर्मा, पृ. १४२) समाख्यानशास्त्रमा कथा कथन गर्ने व्यक्तिलाई समाख्याता भनिन्छ। समाख्यानमा को बोल्दैछ वा कथा कसले भन्दै छ भन्ने विषयलाई केन्द्र मानिन्छ। आख्यानात्मक तहमा समाख्याता र सम्बोधित रहन्छन्। कुनै आख्यानको प्रस्तोताका रूपमा आएको समाख्याताले कुनै सम्बोधितको कल्पना गरेर पाठलाई प्रस्तुत गर्दछ। आख्यानमा घटित घटना र कार्य सम्पादन गर्ने संवाहकका रूपमा आएका पात्रका माध्यमबाट पाठले गति प्राप्त गरेको हुन्छ। यसमा समाख्याताले ती घटना र पात्रको कार्य सम्पादन एवं उनीहरुको अनुभव र अनुभूतिको वर्णनमात्र गर्दछ। समाख्याता पात्रको रूपमा आउन पनि सक्छ नआउन पनि सक्छ। समाख्याता पाठको भोक्ता, द्रष्टा र वक्ताका रूपमा आउँछ। यही आधारमा नै पाठको समाख्यानात्मक वाच्यत्व निर्धारण गर्न सकिन्छ। जेनेटका अनुसार विचार, भाव वा कथ्य विषयको सञ्चार पाठक वा श्रोतासमक्ष पुर्याउने काम समाख्याताले गर्दछ त्यसैले समाख्याता नै पाठको वाच्यत्व वा भ्वाइस हो। एउटा पाठमा एकभन्दा बढी वाच्यत्व पनि रहन सक्छ। मिखाइल वास्तिनले वाच्यतालाई पाठनिष्ठ र अन्तरपाठात्मक गरी दुई किसिमले वर्गीकरण गरेका छन्। पाठनिष्ठ वाच्यतामा समाख्याता र चरित्र रहन्छन् भने अन्तरपाठात्मकमा चाहिं स्वयम् लेखक उपस्थित हुन्छ। लेखकीय वाच्यता समाख्यातासँग मिल्दोजुल्दो रूपमा देखिन्छ तर लेखकीय वाच्यता आख्यानात्मक संरचनामा देखा पर्दैन। यो त जीवनी वा आत्मवृत्तान्तात्मक समाख्यातामा रहन्छ। समाख्याताका माध्यमबाट श्रोता वा पाठकसँग समाख्यानात्मक विचार, भाव वा कथ्यविषयको सञ्चार सम्पर्क स्थापित हुने हुँदा आख्यानात्मक सङ्कथनको समाख्याता नै वाच्यत्व हो। आख्यानमा समाख्याताको अवस्था, परिवेश, जीवन भोगाइ, उसका मूल्यमान्यता, दृष्टिकोण आदिका विषयमा जानकारी प्राप्त गर्न सकिन्छ। समाख्याताको आवाजबाट उसको लैङ्गिक अवस्था समेत जानकारी पाउन सकिन्छ। प्रथम पुरुष समाख्याता भए क्रियापदका आधारमा लिङ्ग छुट्याउन सजिलो हुन्छ तर तृतीय पुरुष समाख्याता भएमा संवेग, भावना, वर्णनात्मक सूचना, गुणात्मक सूचना आदिका आधारमा पनि समाख्याताको लिङ्ग पहिचान गर्न सक्छौं। यदि पाठबाट लिङ्ग पहिचान नभएमा लेखकको लिङ्गीय अवस्थालाई आधार मानेर पनि समाख्याताको लिङ्ग छुट्याउन सकिन्छ। बलका अनुसार समाख्यातालाई लिङ्गीय तटस्थताका रूपमा लिनु पर्दछ। यिनै समाख्याताका माध्यमबाट नै वास्तविक लेखकको विचार पाठक वा श्रोतासम्म पुग्दछ। समाख्याताको त्यही आवाज वा विचार नै वाच्यत्व हो।
पाठमा समाख्याताको उपस्थितिलाई आधार मानेर समाख्यातालाई दुई प्रकारले हेरिएको छ। जेनेटले समाख्याताको कथासँग केकस्तो सम्बन्ध रहेको छ त्यसका आधारमा समाख्यातालाई बन्द र खुल्ला गरी दुई किसिमले हेरेका छन्। खुला समाख्याता भनेको प्रथम पुरुषका रूपमा उपस्थित हुन्छ यस्तो समाख्याता समाख्यानको पात्रका रूपमा आएको हुन्छ। यसले व्यक्तिगत अनुभवका रूपमा कथा प्रस्तुत गर्ने भएकाले यस्तो समाख्याता पाठको भोक्ता वा साक्षीका रूपमा आएको हुन्छ। तृतीय पुरुष भए पनि पात्र वा घटनाप्रति सङ्कथनात्मक संवेगलाई प्रस्तुत गर्ने समाख्याता खुला हो। आफूलाई सन्दर्भ नबनाउने, सम्बोधन नगर्ने, तटस्थ, लैङ्गिक रूपमा अनिर्णित समाख्याता बन्द समाख्याता हो। यस्तो समाख्याता पात्रका रूपमा उपस्थित हुँदैन तर यसलाई आख्यानको सम्पूर्ण कुराको जानकारी हुन्छ। यसले पात्रका चेतन, अवचेतन मनका सबै कुरा जान्दछ।
समाख्यानात्मक काल
कुनै पनि आख्यानमा प्रयोग भएको काललाई समाख्यानात्मक काल भनिन्छ। आख्यानमा समयको सन्दर्भ, कार्यको अवधि र त्यसको आवृत्तिले महत्त्वपूर्ण भूमिका खेल्दछ। समाख्यानको काल बुझाउने पद क्रिया हो। क्रिया प्रयोगका दृष्टिले समाख्यानात्मक भूत र समाख्यानात्मक अभूत गरी काल दुई किसिमका हुन्छन्। अभूत कालअन्तर्गत वर्तमान र भविष्यत् कालका क्रियाहरू पर्दछन्। भूत कालिक क्रियाले व्यतीत घटना, सन्दर्भ, परिवेश, अवस्था आदिलाई सङ्केत गर्दछ भने अभूत कालिक क्रियाले कथानकको घटनाको रेखाक्रमलाई वर्णन गर्दछ। समाख्यानको घटनाक्रम अग्रभूमि निर्माण हो भने सन्दर्भ, परिवेश, अवस्था, मनोदशा आदिको वर्णन पृष्ठभूमि निर्माण हो। समाख्यानमा एउटा कालको प्रयोग हुँदाहुँदै अचानक अर्को काल वा पक्षका क्रियाको प्रयोग हुन सक्छ। त्यसलाई व्यतिक्रम भनिन्छ। यसरी समाख्यानका क्रममा आएका पृष्ठभूमि निर्माण, अग्रभूमि निर्माण, परिवेश वर्णन, मनोदशाको चित्रण, स्थिति वर्णन आदि नै समाख्यानको काल व्यवस्थाको प्रमुख आधार हो।
समाख्याताको वाच्यता
हर्के तामाङको संस्मरण मनोवैज्ञानिक विषयवस्तुमा आधारित कथा हो। यसमा गाउँबाट सहर आएर कुनै दरबारभित्र घरायसी कामदारका रूपमा बसेको चौध बर्से ठिटाका जीवनमा अचानक आइपरेको घटनालाई माध्यम बनाएर कथ्यको प्रस्तुति गरिएको छ। यस कथाको मुख्य सन्देश वा वाच्यतालाई कथाका मुख्य घटना र परिस्थितिको प्रत्यक्ष भोक्ता वा अनुभव कर्ता पात्रका कोणबाट नभएर ती पात्रलाई गौण बनाई समाख्याताका माध्यमबाट प्रस्तुत गरिएको छ। यस लेखमा वाच्यतालाई वर्णन, टिप्पणी र मूल्याङ्कन उपशीर्षकमा विभाजन गरी अध्ययन गरिएको छ।
(क) वर्णन
समाख्याताले कथालाई पाठक र श्रोता समक्ष प्रस्तुत गर्दां वर्णनको सहयोग गरेको छ। समाख्याताले कथाको समाख्यान कार्य प्रधानभन्दा वर्णन प्रधान बनाएको छ। यसको समाख्याता पात्रका रूपमा नआएर तटस्थ द्रष्टाका रूपमा आएकाले परकथात्मक छ। समाख्याताले कथाभित्र देखाउन खोजेका कुरालाई आवश्यकता अनुसार घटना, पात्र र परिवेशको वर्णन गरेर प्रस्तुत गरेको हुन्छ।
साक्ष्य १
‘हर्के तामाङ। यौटा चौध वर्षको ठिटो। उसको बगलीभरि मोहोर रूपियाँ छ र हातमा कपडाको पोको। पाँच वर्षपछि नोकरीबाट ऊ आज आफ्नो गाउँघरतिर फर्करिहे छ। ऊ यौटा फुक्का चालले हिंडिरहेछ। जाडोको रमाइलो घाम उसको आँखामा चम्किरहेछ। बाटोमा हिंड्दा हिँड्दै शहरका ठूल्ठूला घर, चौडा सडक, मोटर गाडी र मानिसको घुँइचो, कोलाहल उसको पछाडि छुट्तै गइरहेछ। हर्के कहिले फटाफट हिँड्छ, कहिले एकाएक टक्क अडिएर पछाडि फर्कन्छि। उसबाट क्रमशः टाढा–टाढा हुँदै गएका शहरका घरहरू र ती घरैघरका बीचमा रहेको त्यो अग्लो घर हो जसलाई ऊ आफ्नो पैतालामा उचाली– उचालीकन हेर्ने गर्छ। फेरि तुरन्तै उसको होश बगलीको मोहोर रूपियाँमा जान्छ र झ्वाट्ट ऊ आफ्नो बगली छाम्छ। अनौठो किसिमको हर्ष–विस्मात् उसको मनमा खेलिरहेछ।’ (पाण्डे पृ.३९)
यसमा हर्केको परिचय र उमेर, सहरको नोकरी काल, नोकरीबाट बिदा हुँदा प्राप्त गरेको तनखा र सदाका लागि सहर छोड्र्नु पर्दा आफ्ना निजी सामानको पोको, उसको स्वच्छन्द हिँडाइ, जाडोको मौसम, सडक, मोटर गाडी,मानिसको घुइँचोजस्ता सहरिया वातावरण, उसले काम गरेको अग्लो घर, बगलीका पैसा र उसका मनमा उठेका हर्ष–विस्मात् आदि भावनाहरूको वर्णन मसिनो तरिकाले गरिएको छ। यसमा हर्केका बगलीमा रूपियाँ र जागिरको बन्धनबाट फुक्का हुन पाउँदाको क्षण एवं घर फर्कने अवस्थाको उमङ्ग देखाए पनि त्यो जाडोको घामजस्तै रमाइलो र क्षणिक छ भन्ने सङ्केत गरिएको छ। अर्कातिर नोकरी छुटेर घर फर्किदा स्वयं हर्केका मनमा भएको हर्ष–विस्मात् जस्तो गम्भीर मानसिक अवस्थालाई सामान्य र सतही रूपमा वर्णन गरिएको छ। यसमा घटना र परिवेशको वर्णनद्वारा विषयवस्तुको उठान गरिएको छ।
साक्ष्य २
गर्मीको बखत। धामको आलस्यले गर्दा हर्केबाट कुनै पनि काम छिटोछरितो ढङ्गले हुन सकेको छैन। ऊ तलमाथि, यताउति गरिरहेछ। ऊ जहाँ जान्छ घाम पनि उतै–उतै सर्दै आउँछ। बरन्डा, बार्दली, अटाली जम्मै ठाउँमा घाम पोतिएको छ। सकभर काम चाँडो सिध्याएर ऊ सितल ठाउँमा एकछिन आराम लिन चाहन्छ। फलतः ऊ छिटोछिटो काम सिध्याउँदै र अन्तमा ऊ मैयानानीको टेबुलमा पानी राख्न कोठाभित्र पस्छ।’ (पाण्डे,पृ.४१)
यस साक्ष्यमा समाख्याताले परिवेशको सूक्ष्म वर्णन गरेको छ। गर्मीको मौसममा हुने छटपटी र कामप्रतिको आलस्यलाई स्वाभाविक तरिकाले उपस्थापन गरिएको छ। गर्मीमा एकातिर जताततै घामको प्रकोप छ भने अर्कातिर घरायसी काम सिध्याउनु पर्ने बाध्यता पनि छ। कामको चटारो सकेर घामको राप छल्न सितल छहारीमा आरामको खोजी भएको छ। यो परिवेश वर्णन प्राकृतिक गर्मीको बाह्य वर्णन मात्र नभएर हर्केका वयसन्धिले निर्माण गरेका आन्तरिक उष्णतालाई देखाउन पनि आयोजना गरिएको छ। यसमा पात्रका आन्तरिक मनस्थिति र बाह्य प्रकृतिका परिस्थिति दुबैको वर्णन गरेर कथालाई उद्देश्योन्मुखी बनाइएको छ।
यसमा पहिलो साक्ष्यबाट हर्के पाँच वर्ष सहरमा नोकरी गरेर गोजीभरि मोहोर बोकेर घर फर्किन पाउँदा प्रशन्न छ भने गाउँमा बिताउनु पर्ने अभावको जिन्दगीको कल्पनाबाट सायद ऊ दुखी छ। उसले नोकरी गरेको अग्लो घरले धेरै अनुभव र अनुभूतिहरू दिएकाले त्यसलाई ऊ फर्की–फर्की हेरिरहेको छ। उसको भविष्य जाडोको घामको जस्तै अन्यौल र अनिश्चित छ भन्ने वाच्यता प्रकट भएको छ। साक्ष्य दुईबाट प्राकृतिक गर्मीले जस्तै हकेंभित्रको चढ्दो यौवनको उष्णताले उसलाई उठ्नु न बस्नु बनाएको यथार्थतालाई वर्णन गरिएको छ। हर्कें छटपटिएर सितलता खोज्दै मैयाका कोठामा पानी लिएर पसेको वर्णनले हर्के र मैयानानी दुवैको आन्तरिक र बाह्य गर्मीको समस्या एकै ठाउँमा समाधान हुने बाच्यता प्रस्तुत भएको छ।
(ख) टिप्पणी
हर्के तामाडको संस्मरण प्रस्तुतिका क्रममा समाख्याताले आफ्ना टिप्पणी मार्फत् आफ्नो वाच्यता प्रकट गरेको छ। यसअन्तर्गत कथाभित्र प्रयोग गरेका टिप्पणीका आधारमा समाख्याताको वाच्यताको पहिचान गर्ने प्रयास गरिएको छ।
साक्ष्य १
हरेक पटक जाँदा, फर्कँदा ऊ भित्ताको ऐनामा हेर्ने गर्छ जहाँं ऊ आफ्नो बाटुलो तामाङ अनुहार खिस्स हाँसेको देख्छ। यतिमात्र होइन, त्यहाँ आफ्नो पूरा शरीरै, खुट्टा, हात जम्मै देख्छ। घिउमा मुछेको पिठोझैँ उसको पिँडौलाको मासु र तिघ्रा पनि छर्लङ देखिन्छन्। ऐनामा ऊ आफ्नो अनुहारलाई विभिन्न मुद्रामा ढालेर हेर्छ। कहिले दाँत ङिच्च पारेर, कहिले आँखा च्यातेर र कहिले खुम्च्याएर। शीतमा भिजेको जङ्गली पातझैँ त्यस चौध वर्षको तामाङ ठिटाको आँखा ऐनामा ज्यादै रमाएको देखिन्छ।’ (पाण्डे,पृ. ३९—४०)
यहाँ समाख्याताले हर्केको शारीरिक सङ्गठन र उसका किशोरावस्थामा प्रवेश गर्दाका प्रारम्भिक यौवनजन्य अनुहारलाई विभिन्न आकार बनाएर हेर्नु, आँखा च्यात्नु, दाँत ङिच्च गर्नु आदि चञ्चल क्रियाकलापप्रति टिप्पणी गरेको छ। यस टिप्पणीमार्फत् हर्के भरखर यौवनावस्थामा प्रवेश गरेको र उसलाई शारीरिक परिवर्तनका साना–साना कुराहरूले पनि ठुलो खुसी दिने गरेको सङ्केत गरेको छ। मैयानानीको कोठामा उसले आफ्नो शरीरलाई विभिन्न आकारमा परिवर्तन गरी हेर्नुले उसमा यौन चाहना उत्कर्षमा पुग्न लागेको र मैयानानीमार्फत् त्यस चाहनाको समन सम्भव छ भन्ने सम्भावनाको सङ्केतले कथामा नयाँ मोड ल्याउने वाच्यता प्रकट भएको छ।
साक्ष्य २
‘ऊ आफ्नो मनको तर्कनाबाट अझै मुक्त भएको छैन। त्यस सुनसान जङ्गलको बाटोमा हर्केको आँखा अगाडि झ्वाट्ट मैयानानीको अनुहार आउँछ एकदम मायावी, कुनै मोहनीजस्ती। अब त मैयानानी दन्त्यकथामा वर्णित कुनै मोहनी रूप धारण गर्न सक्ने रहस्यमयी आइमाईजस्ती लाग्न थाल्छ।’ (पाण्डे,पृ. ४३)
यसमा हर्केका अनुभूतिलाई आधार बनाएर मैयानानीको चरित्र वर्णन गरिएको छ। मैयानानी बाहिरबाट हेर्दा साधारण र आदर्श नारी देखिए पनि उनका अतृप्त कामवासनाबाट अनियन्त्रित भएर हर्केप्रति गोठमा प्रदर्शन गरेको यौन समागमका कारण उनको जीवन रहस्यमयी बनेको छ। पैतीस बर्से विधवा मैंयाको शारीरिक सौन्दर्य र दरबारभित्रको शालीन, शान्त र गम्भीर चरित्र एवं साँझ पख गोठको एकान्तमा प्रदर्शन गरेको फरक अधीर, आक्रामक र उत्तेजित गतिविधि भरखर जवानीतिर प्रवेश गरेको हर्केका लागि मोहिनी र मायावी दुबै लाग्नु स्वाभाविक थियो। जसको परिणाम स्वरूप आज हर्केले उनीसँगको अप्रत्यासित र अकल्पनीय शारीरिक यौन सुखको हर्ष र बिना अपराध अचानक जागिर गुमाउनु पर्दाको विस्मात् दुवैको अनुभव गरेको छ। उसको जीवनमा घटेका अप्रत्यासित यी दुबै घटनाले आफूप्रति न्याय गरे कि अन्याय गरे भन्ने तर्कनाबाट हर्केले छुट्कारा पाएको छैन। यस टिप्पणीबाट समाख्याता पनि निष्कर्षमा पुग्न नसकेर तर्कना मुक्त हुन नसकेको बाध्यता प्रकट भएको छ।
यस कथामा समाख्याताले कम टिप्पणी गरेको छ। हर्केको शारीरिक बनावट, उसका क्रियाकलाप, उसका अनुभूति र मैयानानीने उसमा पारेको प्रभावका बारेमा समाख्याताले टिप्पणी गरेको छ। हर्केको सिधासादा तामाङ स्वरूप एवं उसमा आएको नौलो जवानीको कौतूहल र त्यस जवानीलाई एकान्तमा उपभोग गर्ने मैयानानीको मायावी रूपका माध्यमबाट हर्केप्रति सहानुभूति प्रकट गरिएको छ। पैँतिस बर्से मैयानानीले मोहिनी र मायावी रूप धारण गरेर चौध बर्से तामाङ ठिटोलाई आफ्नो वशमा पारी वैधव्यजन्य यौन अतृप्तिको पूर्ति त गरिन् तर हर्केको भविष्य अन्योल र गन्तव्यहीन बनाइदिइन् भन्ने चिन्ता प्रस्तुत भएको छ। यस साक्ष्यमा हर्केको रोजगारी गुम्दाको विस्मात्को मनोदशालाई गुप्त राखेर वयसन्धिका कारण मैयानानीको मोहनी र मायावी रूपप्रति आकर्षित र अचम्मित भएको टिप्पणी गरिएको छ।
(ग) मूल्याङ्कन
हर्के तामाङको सस्मरण कथामा समाख्याताले आफ्ना भनाइमार्फत् घटना, पात्र र परिवेशको मूल्याङ्कन पनि गरेको छ। उसका मूल्याङ्कनलाई तलका साक्ष्यका माध्यमबाट हेर्न सकिन्छ।
साक्ष्य १
‘हर्के जहाँको त्यहीँ उभिन्छ। मैयानानीलाई टोलाएर हेर्छ, हेरिरहन्छ। मानौँ ऊ वैज्ञानिक कुनै चमत्कारिक वस्तुलाई हेरिरहेछ। अनायास ऊ कोठाभित्र दुई पाइला चाल्छ फेरि टक्क पिस्तोल अगाडिको अपराधी झैँ रुक्छ।’ (पाण्डे,पृ.४०)
यस साक्ष्यमा पात्रको अवस्थिति र अनुभूतिलाई समाख्याताले आफ्नो तरिकाले मूल्याङ्कन गरेको छ। यहाँ मैयालाई चमत्कारिक वैज्ञानिक वस्तुका रूपमा चित्रण गरिएको छ। उसका क्रियाकलापहरू अद्भुत र रहस्यमय एवं शारीरिक बनोट र सुन्दरता सामान्य नभएर विज्ञान निर्मित चमत्कारिक वस्तुजस्तै चित्ताकर्षक छन् भन्ने मूल्याङ्कन गरिएको छ। यसबाट मैयानानी सामान्य दरबारिया नारीभन्दा भिन्न जोसुकैलाई आकर्षित गर्न सक्ने अद्भूत सौन्दर्य भएकी मायावी नारी हुन् भन्ने टिप्पणी गरिएको छ। यसरी नै हर्केले मैयाका कोठामा ऐना अगाडि प्रदर्शन गरेका गतिविधि र मैयाको अर्धनग्न शरीरको सौन्दर्यबाट आकर्षित भएर उनका नजिक जाँदा उसलाई बन्दुक अगाडिको अपराधी भनी आफ्नो अपराध पत्ता लागेर सजाय भोग्न विवश दण्डनीय अपराधीका रूपमा उसको मूल्याङ्कन गरिएको छ। चञ्चल अवस्थाका कारण मैयाको जादुमयी स्वरूप लुकीछिपी हरिरहेको हर्केलाई आफ्नो गतिविधि अस्वाभाविक लाग्छ र दुई पाइला चाल्छ। फेरि उसका मनमा त्यो दृश्य छोड्न नहुने विचार आएर टक्क रोकिएको छ। यसमा एकातिर हर्केलाई अपराध भन्दा ठूलो सजाय पाउन लागेको निरीह पात्रका रूपमा मूल्याङ्कन गरिएको छ भने अर्कोतिर मैयाको सुन्दरतालाई ज्यानमारा बन्दुकजस्तै जोसुकै पुरुष पनि मोहित हुने भन्ने अप्रत्यक्ष विचारलाई समाख्याताले आफ्नो वाच्यता रूपमा प्रकट गरेको छ।
साक्ष्य २
’मैयानानीको सेतो पिडाँैला घुँडासम्म छर्लङ्ग देखिएको छ, जुन अहिले हिउँको स्निग्ध ढिकाजस्तो प्रतीत भइरहेछ। मैयानानी त्यस बेला हिमखण्डकी मूर्तिजस्तै देखिएकी थिइन्।’ (पाण्डे,पृ.४१)
प्रस्तुत साक्ष्यमा मैयानानीको पिडौँलालाई हिउँको स्निग्ध ढिका र सिङ्गो मैंयानानीलाई हिउँकी मूर्तिका रूपमा चित्रण गरेर उनको शारीरिक सुन्दरता र गर्मी यामको उपभोग योग्य हिमखण्डका रूपमा तुलनात्मक मूल्याङ्कन गरिएको छ। यसमा गर्मीका उग्र पीडाले सताएका बेला मैयालाई हिमखण्डकी मूर्तिका रूपमा देख्नु उनलाई उपभोग्य थिइन् भन्ने मूल्याङ्कनात्मक वाच्यता प्रकट भएको छ। गर्मीमा हिउँले सितलता र आनन्द दिएजस्तै नवयौवनको उष्णताले सन्तप्त हर्केका लागि मैयानानी स्निग्ध हिउँजस्तै शान्तिकर थिइन्। यस्तै हर्केका कोणबाट हेर्दा ऊ सोह्ऱ वर्षको जवानीमा भरखर प्रवेश गरेको तातो घामजस्तो रापिलो भएकाले हिउँको मूर्तिजस्ती कोमल मैयानानी उसका सान्निध्यले सजिलै पग्लिन सक्ने सम्भावनाको आँकलन गरेर मैयानानीको मूल्याङ्गन यसमा गरिएको छ। यहाँ दुवै तातो र चिसोमा एक–अर्काको प्रभाव पर्ने र दुवै एक–अर्काप्रति आकर्षित भई मिलन हुन सक्ने वाच्यतालाई मूल्याङ्कनात्मक रूपमा प्रस्तुत गरिएको छ।
हर्के तामाङको संस्मरण कथामा हर्के र मैयानानीका क्रियाकलापको मूल्याङ्गन केही स्पष्ट रूपमा र अन्य प्रसङ्गको मूल्याङ्कन गौण रूपमा आएको छ। यस कथामा थोरै भए पनि समाख्याताको वाच्यता मूल्याङ्कनका रूपमा आएको छ।
हर्के तामाङको संस्मरण कथामा समाख्याता पात्रका रूपमा आएको छैन। आफू उपस्थित नभएर अर्कैको कथा वर्णन गर्न आएको यो तृतीय पुरुष समाख्याता हो। यसले आफू बाहिर बसेर कथाभित्रका पात्रको समग्र वर्णन गरेको छ। पात्रका आन्तरिक र बाह्य दुवै परिवेशका बारेमा सम्पूर्ण जानकारी राख्ने भएकाले यो सर्वज्ञ समाख्याता हो। यस कथाका घटना, परिवेश, कार्य र अनुभूतिहरू पनि समाख्याताले नै वर्णन, टिप्पणी र मूल्याङ्कन गरेको छ। यहाँको समाख्याता पात्रलाई कम सक्रिय गराएर उनीहरूका अनुभव, अनुभूति, विचार, भावना आदि सम्पूर्ण कुराको प्रस्तुति ऊ स्वयं गर्दछ। ऊ कथाभित्र वर्णयिता, टिप्पणीकार र मूल्याङ्गन कर्ताका रूपमा उपस्थित भएको छ।
यस कथामा पात्रलाई आफ्ना घटना र मनस्थिति आफँै श्रोता समक्ष प्रस्तुत गर्न नदिएर उनीहरूलाई समाख्याताले उपकरणका रूपमा मात्र प्रयोग गरेको छ। हर्के वा मैयानानीले आफ्ना सम्पूर्ण सुख–दुख र हर्ष–विस्मात्, प्राप्ति अप्राप्तिका अनुभव र अनुभूतिका क्षणलाई प्रस्तुत गरेका छैनन्। समाख्याताले कथाभित्रका मुख्य पात्रहरुको अनुभव, अनुभूति र क्रियाकलापको वर्णन गरेको हुँदा कथामा पाठक र पात्रका बीचमा तादात्म्य स्थापित हुन सकेको छैन। समाख्याताले मसिनो रूपमा विषय सन्दर्भको वर्णन गरेकाले पात्रका कुरा पनि विस्तृत तबरले आएका छन् तापनि उनीहरूका निजी अनुभूति, विचार, धारणा र अन्य पात्रप्रतिको दृष्टिकोण पात्रैबाट आएको भए कथा अझ प्रभावकारी बन्ने थियो। पात्रलाई स्वतन्त्र नछोडी आफ्नो नियन्त्रणमा राख्न खोज्ने यो समाख्याता नियन्त्रणकारी र हस्तक्षेपकारी देखिन्छ। यहाँ हर्के तामाङका पक्षबाट र कोणबाट कथाको प्रस्तुति भए पनि समाख्याताले कुनै पात्रप्रति विशेष आग्रहपूर्वक सकारात्मक र नकारात्मक धारणा व्यक्त गरेको छैन। यसमा हर्केलाई विषय प्रस्तुतिको माध्यम बनाए पनि दुवै पात्रलाई समान दुरीमा राखेर समाख्याता पक्षपातको आरोपबाट बँचेको छ।
समाख्याताका मूल्यमान्यताहरू वा वाच्यता टिप्पणी र मूल्याङ्कनका रूपमा आएका छन्। तृतीय पुरुषको समाख्याता भएकाले उसको लिङ्गगत पहिचान स्पष्ट खुलेको छैन। हर्केलाई दृष्टिबिन्दु पात्र बनाएर उसका भरखर जवानीमा प्रवेश गर्दाका गतिविधिलाई स्वाभाविक रूपमा प्रस्तुत गरेकाले त्यस पुलिङ्गी वयसन्धिको चञ्चल क्षणको आत्मसात गरेको कुनै पुरुष नै यसको समाख्याता हुन सक्छ। यस्तै हिमखण्डकी मूर्तिजस्ती मैयानानीको सामीप्यमा हर्के तामाङले अनुभव गरेको अपूर्व नारी गन्ध र त्यसले उसमा ल्याएको कुतकुतीको वर्णनका आधारमा पनि यो समाख्याता आफू स्वयंले त्यस क्षणको अनुभव गरिसकेको परिपक्व प्रौढ पुरुष हुनसक्छ भन्ने अड्कल काट्न सकिन्छ।। यसै गरी नारीलाई ‘शितकाले भवेद् उष्णा, उष्ण काले च शितला’ ठान्ने पुरुष मानसिकताबाट हुर्किएको पुरुषले नै गर्मीका मौसममा मैंयानानीलाई हिमखण्डकी मूर्तिका रूपमा हेरेको हुनसक्ने अनुमानका आधारमा यसको समाख्याता पुरुष नै हो भन्न सकिन्छ।
यस कथामा पात्रका अनुभव, विचार र क्रियाकलापलाई सरसर्ती वर्णन गरेर पाठकलाई त्यस घटना र परिवेशको मूल्याङ्गन र निर्णय गर्न दिने तटस्थ वाच्यता यसमा देखिन्छ। बालविधवा मैयाका क्रियाकलापलाई पारिवारिक सामाजिक मर्यादा र नैतिकताका कोणबाट आक्रोश र सहानुभूति केही पनि व्यक्त गरिएको छैन। गोठकाण्डबाट उत्पन्न भएको दरबारिया समस्याको समाधान स्वरूप हर्केलाई घर फिर्ता गर्ने निर्णयमा समाख्याताले कहीँ कतै हर्केप्रति सहानुभूति र मैयाकी आमाप्रति घृणा व्यक्त गरेको छैन। कथामा समाख्याताको वैचारिक निष्कर्ष पनि स्पष्ट रूपमा आएको छैन। हर्के र मैयाको आकर्षण र यौन समागमलाई पनि स्वाभाविक प्रक्रियाका रूपमा लिएर तत्कालीन विमर्शात्मक संरचनाका प्रतिक्रियाप्रति मौन बसेको छ। यसरी हेर्दा यस कथाको समाख्याता तटस्थ देखा पर्दछ। समाख्याताले कम टिप्पणी र कम मूल्याङ्कन एवं धेरै वर्णनद्वारा आफ्नो वाच्यता प्रकट गरेको छ। हर्के तामाङको गरिबी, दरबारभित्रको यौन समस्या, बालविधवा र नवयौवनको चञ्चलताले निम्त्याएको जटिलता, एउटाका गल्तीले अर्काले जागिर गुमाउनु पर्ने सामाजिक संरचना, यौनलाई सहज वृत्तिका रूपमा हेर्नु आदि कुराहरू यसमा समाख्याताको वाच्यताका रूपमा प्रकट भएका छन्। यो वाच्यता कुनै स्पष्ट आदर्श वा कुनै वादको नाराका रूपमा नआएर साङ्केतिक रूपमा व्यक्त भएको छ। यसले पात्र, परिवेश र विषयवस्तुगत सन्दर्भप्रति समाख्याताको तटस्थता अझ स्पष्ट भएको छ।
समाख्यानात्मक काल
हर्के तामाङको संस्मरण कथामा विभिन्न काल र पक्षहरूको प्रसङ्ग अनुकूल प्रयोग गरिएको छ। धेरै काल र पक्षको प्रयोग भए पनि यसको समाख्यानात्मक काल भने सामान्य वर्तमान काल नै हो। सामान्य वर्तमान कालले कथाको अग्रभूमि निर्माण गरेको छ। समाख्याताले वर्तमानको सामान्य पक्षमा कथा रेखा अगाडि बढाएकाले यसको समाख्यानात्मक काल सामान्य वर्तमान हो।
साक्ष्य १
‘हर्के कहिले फटाफट हिंड्छ, कहिले एकाएक टक्क अडेर पछाडि फर्कन्छि। फेरि तुरुन्तै उसको होश बगलीको मोहोरमा जान्छ र झ्वाट्ट ऊ आफ्नो बगली छाम्छ। ’ (पाण्डे,पृ. ३९)
यसमा हर्केको गतिविधिलाई कथा रेखाका रूपमा प्रस्तुत गरिएको छ। हिंड्छ, फर्कन्छि, जान्छ र छाम्छ सामान्य वर्तमान कालिक क्रियाका माध्यमबाट कथाको अग्रभूमि निर्माण गरिएको छ। यस्तै अन्य ठाउँमा पनि सामान्य वर्तमान कालिक क्रियाद्वारा कथा प्रस्तुत गरिएको छ। कथाको प्रारम्भ पात्रको परिचय र परिवेश वर्णनबाट भएको छ। परिवेश वर्णनमा भने अपूर्ण वर्तमान, सामान्य भूत, पूर्ण भूत, अभ्यस्त भूतकालको उपयोग गरिएको छ। यी काल र पक्षले विषयवस्तुलाई प्रसङ्ग र परिवेश अनुकूल मार्मिक बनाउन र लेखक वा समाख्याताको उद्देश्यलाई प्रस्तुत गर्न सकारात्मक सहयोग गरेका छन्।
साध्य २
‘त्यही अग्लो घर हो जसमा उसले आफ्नो पांच वर्षको नोकरी काल बिताएको थियो र त्यही अग्लो घर हो जसमा उम्रेका स–साना घटनाहरूको संस्मरण अहिले उसको मनभित्र उडिरहे छ, खण्डित बादलजस्तै।’ (पाण्डे,पृ. ३९)
यस उदाहरणमा आएका बिताएको थियो र उडिरहेछ पूर्ण भूत र अपूर्ण वर्तमानका क्रियापदले हर्केको भूत र वर्तमान दुवैलाई वर्णन गरेर कथाको आख्यान तन्तुका लागि पृष्ठभूमि निर्माण गरेका छन्। यस कथामा हर्के तामाङका विगतका संस्मरण, घटना र परिवेशलाई भूत कालका क्रियापदने वर्णन नगरेर वर्तमानका क्रिया पदका माध्यमबाट प्रस्तुत गरिएको छ। यसमा ऐतिहासिक वर्तमानको प्रयोग गरेर विषयवस्तुलाई प्रभावकारी बनाउने उद्देश्य राखिएको छ। विगतमा घटेका घटनालाई वर्तमानका सामान्य पक्षमा ल्याएर प्रस्तुत गर्दा पाठकले आत्मीयताको अनुभव गर्ने भएकाले यसले सकारात्मक प्रभाव सृजना गरेको छ। यसमा अग्रभूमिका रूपमा आएको कथाक्रम र पृष्ठभूमिका रूपमा आएका घटना दुवै सामान्य वर्तमान कालद्वारा वर्णित भए पनि दुबैलाई चिन्हद्वारा खुट्याइएको छ। विगतका घटनालाई स्मृतिका माध्यमद्वारा वर्तमानमा तानिएको छ। यहाँ तात्कालिकताको निर्माणका लागि वर्तमानीकरण गरिएको छ।
साक्ष्य ३
‘एक दिनको कुरा हो। मुमा साहेबको आज्ञाअनुसार हर्के तामाङ मैयानानीलाई बोलाउन उनको कोठाभित्र पस्छ। मैयानानीलाई कोठामा नदेखेर ऊ फर्कन्छि, बिस्तारै–बिस्तारै आफ्नो आदतअनुसार भित्ताको ठूलो ऐनालाई हेदै–हेर्दै।’ (पाण्डे,पृ. ३९)
यस उदाहरणमा प्रयोग भएका क्रिया पद सामान्य वर्तमानका भए पनि यिनले अग्र भूमिको काम गरेका छैनन्। यी क्रियाले वर्तमानको स्वरूप लिए पनि पृष्ठभूमिको वर्णन गरेकाले ऐतिहासिक वर्तमानका उदाहरण हुन्। ऐतिहासिक वर्तमान कालले विगत घटनालाई वर्तमानमा ल्याएर त्यसको तात्कालिक अनुभव प्रभावकारिता र मानसिक संवेगलाई जीवन्त बनाउन सहयोग गरेको छ। कथामा प्रभाव निर्माण गर्न लेखकले काललाई राम्ररी संयोजन गरेका छन्।
हर्के तामाङको संस्मरण कथामा समाख्यानात्मक कालको प्रयोग सरल र नियमित प्रकारको छैन। यसमा समाख्यानात्मक कालका रूपमा सामान्य वर्तमान काल छ भने यसैले अग्रभूमि निर्माणको काम गरेको छ। यसै गरी सामान्य वर्तमान कालले नै पृष्ठभूमिको काम पनि गरेको छ। काल प्रयोगका दृष्टिले सामान्य वर्तमान कालको दोहोरो भूमिका रहेको छ। यसका साथै पृष्ठभूमि निमर्माणका सन्दर्भमा परिवेश, स्थिति र अवस्था वर्णनमा भूत कालका विभिन्न पक्ष र वर्तमान कालका पनि अपूर्ण र पूर्ण पक्षको प्रयोग गरिएको छ। ऐतिहासिक वर्तमानको प्रयोगले विषयवस्तुलाई स्वाभाविक र विश्वसनीय बनाएको छ। पाठ र पाठकका बीचमा तादात्म्य स्थापित गर्न ऐतिहासिक वर्तमानको महत्त्वपूर्ण भूमिका रहेको छ।
निष्कर्ष
हर्के तामाङको संस्मरण कथाको प्रस्तुति समाख्याताद्वारा गरिएको छ। यसको समाख्याता प्रत्यक्ष भोक्ता वा अनुभव कर्ता कथाभित्रको पात्र नभएर कथाबाहिरको साक्षी वा द्रष्टाका रूपमा उपस्थित भएकाले समाख्याता तटस्थ रहेको छ। लिङ्गगत रूपमा तटस्थ भए पनि समाख्याताको भूमिका निर्वाह गर्ने सन्दर्भमा निकै सशक्त देखिन्छ। कथाभित्र पात्रका रूपमा नआए पनि कथाभित्रको वस्तुस्थितिलाई पाठक समक्ष प्रभावकारी रूपमा प्रस्तुत गरेको छ। उसलाई पात्रका अनुभव र अनुभूति एवं पात्रका चेतन र अवचेतन मनका तर्कवितर्क यावत् गतिविधिको सम्पूर्ण जानकारी भएकाले ऊ सर्वदर्शी समाख्याताका रूपमा आएकोे छ। हर्के तामाङलाई मुख्य केन्द्रण बनाएर उसका माध्यमबाट आर्थिक दृष्टिले सामान्य परिवारको यौवन अवस्थामा प्रवेश गर्ने वयसन्धिमा रहेको अबोध बालकको मनोदशा र आर्थिक र सामाजिक दृष्टिले सम्भ्रान्त परिवारकी यौवना बालविधवाको कामातुरताबाट उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ। घरायसी कामदारका रूपमा जागिर खाँदै गरेको घरबाट किन निकालिएको हो भन्ने थाहा नपाई तलबवापत्को थोरै दाम बोकेर घर फर्किरहेको हर्केको मानसिकता र दरबारिया परिवेशभित्रको यौन जटिलतालाई गुप्त राख्ने प्रवृत्तिको साङ्केतिक वर्णनका माध्यमबाट यी दुबै समस्याप्रतिको समाख्याताको वाच्यता प्रकट भएको छ। उसले कथ्य प्रस्तुत गर्ने सन्दर्भमा गरेका वर्णन, टिप्पणी र मूल्याङ्कनका आधारमा समाख्यानात्मक वाच्यत्व प्रकट भएको छ। समाख्याताले पात्रलाई कम सक्रिय गराएर उनीहरूका सुख–दुःखका अनुभव र अनुभूतिहरू पनि उनीहरू मार्फत् सिधै राख्न दिएको छैन। पात्रका सुखदुखात्मक क्षणको आफैँले सूक्ष्म वर्णन र सतही मूल्याङ्कन गरेको छ। समाख्याताले कुनै पात्रप्रति आग्रह र पूर्वाग्रह राखेर मूल्याङ्कन भने गरेको छैन। समाख्यानात्मक वाच्यत्व विधि–निषेधका रूपमा कथाभित्र सिधै नआएर पाठकलाई मूल्याङ्कन गर्न छोडिदिएको छ। कथाभित्रका पात्र, तिनका क्रियाकलाप, सामाजिक सन्दर्भ र प्रभावका बारेमा मूल्याङ्कन गरी आफ्नो धारणा निर्माण गर्न पाठकलाई स्वतन्त्र छोडिदिएको छ। समाख्याताले ती कुराप्रति आफ्नो धारणा स्वशब्दरूपमा कतै प्रकट गरेको छैन।
पूर्वस्मृतिका रूपमा आएका विभिन्न घटनाहरुको बुनोट गरिएकाले घटनाहरुका बिचमा अन्तराल देखिन्छ तापनि एकै संवेगात्मक प्रभावसँग सम्बद्ध घटनालाई अन्वितिपूर्ण बनाउन समाख्यात्मक कालले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। विषयको यथार्थ प्रस्तुति, समाख्याताको लैङ्गिक तटस्थता, समाख्यानात्मक कालको उचित विन्यास आदि कारणले हर्के तामाङको संस्मरण कथा समाख्यान शास्त्रीय दृष्टिबाट एक उत्कृष्ट रचना मानिन्छ।
सन्दर्भसामग्रीसूची
अर्याल, भैरव (सम्पा.) (२०४३). साझा कथा. ललितपुर : साझा प्रकाशन।
गौतम, देवीप्रसाद. (२०५४). नेपाली कथा. काठमाडौँ : नवीन प्रकाशन।
गौतम, देवीप्रसाद. (२०६९). ‘समाख्यानशास्त्र’ दर्शनाचार्यमा प्रस्तुत कार्यपत्र।
जेनेट, जेराड. (सन् १९८०). न्यारेटिभ डिस्कोर्स. न्युयोर्क : कर्नेल युनिभर्सिटी प्रेस।
निरौला, अम्बिकादेवी. (२०६९). ‘छिमेकी कथाको समाख्यानशास्त्रीय विश्लेषण’. प्राज्ञिक संसार वर्ष १ अङ्क ६।
न्यौपाने, नेत्रप्रसाद. (२०६९). ‘खीर कथाको समाख्यानशास्त्रीय सवश्लेषण’. प्राज्ञिक संसार वर्ष १ अङ्क ६।
पाण्डे, पोषण. (२०६४). आँखीझ्याल. ललितपुर : साझा प्रकाशन।
भट्टराई, घटराज. (२०५१). साहित्यकार परिचय कोश. काठमाडौं : एकता बुक्स डिस्ट्रिब्युटर्स प्रा. लि।
शर्मा, मोहनराज. (२०६६). आधुनिक तथा उत्तरआधुनिक पाठक मैत्री समालोचना. काठमाडौँ : क्वेस्ट पब्लिकेसन ।
श्रेष्ठ, दयाराम. (२०७०). नेपाली कथा र कथाकार. काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठान।