प्रस्तुत लेख मूलतः मोमिलाको ‘मृत्यु सौन्दर्य’ निबन्धको मृत्यु चिन्तन विषयमा केन्द्रित छ। आधुनिक नेपाली साहित्यको क्षेत्रमा कविताकृतिका साथै दुईवटा निबन्धसङ्ग्रह प्रकाशित गरेर निबन्धकार ठकुरी नेपाली निबन्धका क्षेत्रमा बलियो पहिचान निर्माण गर्न सफल भएकी छन्। नेपाली आधुनिक निबन्धमा विशिष्ट योगदान पुर्याए तापनि उनको निबन्धकारिताको दर्शनको कोणबाट यथेष्ट अनुसन्धान भएको पाइँदैन।
उर्मिला कोइराला
koirala_urmila@yahoo.com
लेखसार
प्रस्तुत लेख मूलतः मोमिलाको ‘मृत्यु सौन्दर्य’ निबन्धको मृत्यु चिन्तन विषयमा केन्द्रित छ। आधुनिक नेपाली साहित्यको क्षेत्रमा कविताकृतिका साथै दुईवटा निबन्धसङ्ग्रह प्रकाशित गरेर निबन्धकार ठकुरी नेपाली निबन्धका क्षेत्रमा बलियो पहिचान निर्माण गर्न सफल भएकी छन्। नेपाली आधुनिक निबन्धमा विशिष्ट योगदान पुर्याए तापनि उनको निबन्धकारिताको दर्शनको कोणबाट यथेष्ट अनुसन्धान भएको पाइँदैन। यो लेख मोमिलाको ‘मृत्यु सौन्दर्य’ पूर्वीय दर्शनको मृत्युचिन्तन सम्बन्धी मान्यतालाई आधार मानी तयार पारिएको छ। मोमिलाको ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ निबन्ध सङ्ग्रहमा सङ्गृहित ‘मृत्यु सौन्दर्य’ निबन्धको मूल विषयवस्तु मृत्युसम्बन्धी चिन्तन हो। पूर्वीय दर्शनका आधारमा भयको रूपमा मृत्यु, जीवनप्रतिको मोह र यसको क्षणभङ्गुरता, मृत्युको दुःखात्मक स्वरूप र परिवर्तनका रूपमा मृत्यु शीर्षकका बुँदाका यस निबन्धको सूक्ष्मतापूर्वक अध्ययन गरेर यो लेख तयार पारिएको छ। मोमिलाले ‘मृत्यु सौन्दर्य’ शीर्षकीय यस निबन्धमा मृत्युलाई महत्त्वपूर्ण मानेर मृत्युसम्बन्धी दार्शनिक दृष्टिकोणहरू प्रस्तुत गरेकी छिन्। यस निबन्धमा मृत्य चिन्तनको खोजी गरेर विश्लेषण गर्नु यस अध्ययनको उद्देश्य हो। निबन्धको अन्य आधारका साथै दार्शनिक आधार पनि उत्तिकै महत्त्वपूर्ण भएको हुनाले पूर्वीय दर्शनका दृष्टिले यो निबन्ध अध्ययनीय छ।
शब्दकुञ्जी : इच्छा मृत्यु, मिथकिय मृत्यु, मोक्ष, निर्वाण, मोह, मृत्युबोध।
विषय परिचय
प्रस्तुत अध्ययन मोमिलाको ‘मृत्यु सौन्दर्य’ निबन्धमा मृत्युसम्बन्धी चिन्तनको खोजीमा आधारित छ। उनका पैयुँ फुल्न थालेपछि (२०५२), नीलो आकाश र दुई थोपा आँसु (२०५३), जूनकीरी ओर्लिरहेछन् (२०५५), दुर्गम उचाइमा फुलेका आँधी (२०६०) र भिमसेन थापाको सुसाइड नोट (२०७०) गरी पाँचवटा कविता सङ्ग्रहहरू तथा ईश्वरको अदालतमा आउटसाइडरको बयान (२०६३) र प्रश्नहरू त बाँकी नै रहन्छन् (२०८०) गरी दुई वटा निबन्ध सङ्ग्रहहरू सहित सातवटा कृतिहरू प्रकाशित भइसकेका छन्। मोमिलाको प्रश्नहरू त बाँकी नै रहन्छन् निबन्ध सङ्ग्रहमा सङ्गृहित ‘मृत्यु सौन्दर्य’ निबन्धको मूल विषयवस्तु मृत्युसम्बन्धी चिन्तन हो।
मृत्युको सामान्य अर्थ जीवनको अवसान, निधन वा मरण हो। बृहत् नेपाली शब्दकोशमा यसको अर्थ कलि, कामदेव, देहावसान, निधन, मरण, ब्रह्मा, माया, यमराज, काल, विष्णु दिइएको छ। ऋग्वेदमा प्रयक्त देवताहरूका नाममा मृत्यु पनि उल्लेख भएको पाइन्छ। वेदान्तले मृत्युलाई अविद्या र कर्मको कारण मानेको छ। वैशेषिक दर्शनले मृत्यु भनेको रूपान्तरण वा परिवर्तन हो भनेको छ। साङ्ख्य र बौद्ध दर्शनले मृत्युलाई दुःखका कारण मानेका छन्। बौद्ध दर्शनले मानव जीवनलाई अस्तित्वमा आउने तथा अस्तित्वहीन हुने एउटा निरन्तर प्रकृयाको रूपमा पनि लिएको छ। गीतामा शरीर भनेको लुगाजस्तै फेरिने कुरा हो भनिएको छ। चार्वाक दर्शनले मृत्यु नै मोक्ष हो भनेको छ। किराँती दर्शनले मानव प्रकृतिमा जन्मिन्छ र प्रकृतिमै मिल्छ भन्ने मानेको छ। यसरी, पूर्वीय दर्शनले मृत्युलाई फरक फरक दृष्टिकोणले हेरेर फरक फरक मान्यता प्रस्तुत गरेका छन्। यसरी हेर्दा पूर्वीय दर्शनले मृत्युलाई कुनै न कुनै रूपमा चर्चा गरेका छन्। मोमिलाको ‘मृत्यु सौन्दर्य’ निबन्धमा पनि मृत्युलाई महत्त्वपूर्ण मानेर मृत्युसम्बन्धी दृष्टिकोणहरू प्रस्तुत गरेका हुनाले मृत्युबोध र मृत्युसम्बन्धी चिन्तनका दृष्टिले यो निबन्ध अध्ययनीय छ।
प्रस्तुत अध्ययनको शीर्षक मोमिलाको ‘मृत्यु सौन्दर्य’ निबन्धमा मृत्युसम्बन्धी चिन्तन भएकाले यसको मूल समस्या पनि यो निबन्धमा मृत्युसम्बन्धी चिन्तन के कसरी आएका छन् भन्ने समस्यामा केन्द्रित रहेर यो अध्ययन पत्र तयार भएको छ र मृत्युसम्बन्धी चिन्तनको खोजी गरेर विश्लेषण गर्नु यसको उद्देश्य हो। ‘मृत्यु सौन्दर्य’ निबन्धमा विविध विषयको प्रतिपादन भए तापनि यो आवधिक पत्रमा अरू विषयलाई छाडेर निबन्धमा अभिव्यञ्जित मृत्युसम्बन्धी चिन्तनको मात्र खोजी गरिएको छ। मोमिलाका अन्य निबन्धको विभिन्न दृष्टिकोणबाट व्याख्या विश्लेषण भए तापनि मृत्युसम्बन्धी चिन्तनमा मात्र केन्द्रित भएर अहिलेसम्म अध्ययन नभएकाले यो शोधरिक्तता देखिन्छ। यस निबन्धमा मृत्युसम्बन्धी चिन्तनका बारेमा केन्द्रित भएर अध्ययन भएको हुनाले यो अध्ययन महत्त्वपूर्ण छ। यो निबन्ध यस दृष्टिले विशेष विशेष अनुसन्धेय छ।
अध्ययन विधि
प्रस्तुत आवधिक पत्र ‘मृत्यु सौन्दर्य’ निबन्धमा मृत्युसम्बन्धी चिन्तनसँग सम्बन्धित छ। यस अध्ययनका लागि पुस्तकालयबाट सामग्रीहरू सङ्कलन गरिएको छ। यसमा ‘मृत्यु सौन्दर्य’ निबन्ध प्राथमिक सामग्री हो भने यस सम्बन्धी गरिएका अध्ययन, अनुसन्धान, समालोचना, विभिन्न सहयोगी पुस्तकहरू आदिलाई द्वितीयक सामग्रीका रूपमा उपयोग गरिएको छ।
यसको विश्लेषण गर्ने आधारमा पूर्वीय आस्तिक र नास्तिक दर्शनको मृत्युसँग सम्बन्धित सैद्धान्तिक मान्यतालाई लिइएको छ। “जीवनको अन्त्यलाई मृत्यु भनिन्छ र मृत्यु नै मोक्ष हो। धार्मिक धारणामा मृत्युलाई मुक्ति वा निर्वाण भनी अर्थ्याउने गरिन्छ” (प्रभात, २०७०, पृ. २४७)। सामान्य रूपमा देहको अन्त्य नै मृत्यु हो तर पूर्वीय दर्शनमा सन्दर्भ अनुरूप मृत्युलाई मोक्ष, मुक्ति वा निर्वाण पनि भनिएको छ। यति हुँदाहुँदै पनि मानिसलाई मृत्यु डरलाग्दो विषय बनेको छ। “विवेकी मानिसको मनमा पनि मृत्युको भय लुकेको हुन्छ। मृत्युलाई नचाहने सबै प्राणीको स्वभाव हुन्छ त्यसैले वैदिक ऋषि पनि आफ्नो परिवारको मृत्यु चाहँदैन थिए। तर आफ्नो शत्रुहरूलाई भने मृत्युले आक्रमण गरोस् भनेर प्रार्थना गर्दथे” (दाहाल, २०७६, पृ. ४)। यसबाट के बुझ्न सकिन्छ भने मृत्युको हाउगुजीबाट कोही बच्न सकेको थिएन र सक्दैन। धन सम्पत्ति र परिवार नै सांसारिक मोहका प्रमुख कारण हुन् र मोह नै भयको अर्को प्रमुख कारण हो। “मृत्युदेखिको भयको एउटै अर्थ हुन्छ जीवनसँगको अपरिचय” (ओशो, २०७५, पृ. ५३)। जो मृत्युसँग डराउँछ उसले जीवन बुझ्न सकेको हुँदैन भन्ने ओशोको धारणा छ। मृत्यु एउटा नियमित घटना हो। जन्मेका सबै प्राणीको मृत्यु हुन्छ। जति नै डराए पनि मृत्युबाट उम्कन कोही सक्दैन। “मानिस प्रकृतिबाटै पैदा भएको हो र प्रकृतिमै विलीन हुने हुनाले उसले प्रकृतिभन्दा परको ज्ञान र प्रकृति बाहेक अरूको कुनै अस्तित्व छैन भन्ने मान्यता बोन दर्शनको छ” (राई, २०७४, पृ. ५६)। मृत्यु भनेको शरीरको नाश हुनु हो र त्यो शरीर नाश भएर पनि कि माटोमै कुहिन्छ कि खरानी बनेर माटोमा मिल्छ। मृत्यु कहाँ, कहिले र कसरी हुन्छ कसैलाई थाहा छैन। हामी पल पल मृत्यु देखिरहन्छौ, मृत्युको नजिक पुग्छौ र सामना गरिरहन्छौ। “अष्टावक्र गीतामा मनकै कारणले गर्दा शरीर, स्वर्ग, नरक, बन्ध, मुक्ति र भयको विचार आउँछ। यी सबै काल्पनिक हुन्छ। मोक्ष प्राप्त गरेको मनुष्यले यसलाई मिथ्या मान्दछ” (नित्यस्वरूपानन्द, सन् १९५३, पृ. २९)। अष्टावक्र गीता वेदान्त दर्शनको महत्त्वपूर्ण स्रोत हो। वेदान्तमा स्वर्ग र नर्कको अवधारणा छैन यी मनका कल्पना मात्र हुन्। पछिल्ला पुराणहरूमा मात्र स्वर्ग नर्कको अवधारणा पाइन्छ। मृत्युपछिको स्वर्ग प्राप्तिको लोभ देखाउनु भनेको आनन्दको लोभ देखाउनु हो। स्वर्ग भनेको कुनै लोक वा ठाँउ विशेष होइन यो त आनन्द हो , सुख हो। “भौतिक शरीर समयका क्रममा नाश हुने किसिमको छ” (कृष्णकृपामय, १९९७, पृ. ९३)। यसमा शरीर नाशवान छ भन्ने मान्यता व्यक्त भएको छ। “पृथ्वी, जल, अग्नि र वायु चार महाभूत हुन्; इन्द्रिय सुखभोग नै मानवको जीवनको लक्ष्य हो परलोक छैन मृत्यु नै मोक्ष हो। जबसम्म शरीर रहन्छ तबसम्म उसको चेतना रहन्छ” (शर्मा, १९९०, पृ. २३)। भन्ने मान्यता चार्वाक दर्शनमा रहेको छ। मृत्यु सामान्य प्राकृतिक घटना हो। मृत्यु जीवन समाप्तिको प्राकृतिक स्वरूप हो। प्रकृतिबाट जन्मिएको जीवन मृत्युपश्चात पनि प्रकृतिमै एकाकार हुन्छ। “मन इच्छा र सांसारिक मोहमा फसेका कारण आत्माको चेतनालाई चिन्न र बुझ्न सक्दैन। त्यो अज्ञानतामा हुन्छ” (सिन्हा, १९२३, पृ. ९८)। यसबाट के बुझिन्छ भने जीवन दुखैदुःख अप्ठ्यारै अप्ठ्याराले भरिएको छ। मनुष्यको चेतना वा ज्ञानको स्तरले जीवनलाई सुखमय बनाउने वा दुःखी अनि मृत्युलाई हाँसेर स्वागत गर्ने कि रोएर भन्ने निर्धारण गर्दछ। “जब हामी दुःख सुख, आशा निराशा, जीवन मरण आदिलाई बराबर देख्छौँ, त्यतिखेर मुक्ति प्राप्त गरिरहेका हुन्छौँ” (रेग्मी, पृ. १८०)। मृत्युसँग जीवन जोडिएको छ। जन्म हुन्छ र त मृत्यु हुन्छ। संसारमा जति पनि चिज छन् एक अर्कोसँग सापेक्ष हुन्छन् । जहाँ दुःख त्यहीँ सुख र जहाँ सुख त्यहीँ दुःख हुन्छ। उज्यालोमा अध्यारो र अध्यारोमा उज्यालोको अस्तित्व लुकेको हुन्छ। बौद्ध दर्शनमा मृत्युलाई दुःखको कारण मानिएको छ यहाँ जीवनको सार्थकताको चाहना छ। मृत्युलाई बार बार निम्त्याउनु नै सबैभन्दा ठूलो दुःख हो। अद्वेत वेदान्तमा मृत्युलाई अविद्या र कर्मको कारण मानेको छ। मृत्यु भनेको भौतिक शरीरको मात्र अन्त्य नभएर जीवनमा हुने रूपान्तरण वा परिवर्तन पनि हो। यो पनि त बोधको चरण हो, परिवर्तनकै अर्को रूप हो। “जीवनलाई कपडाजस्तै ठान्ने मान्छेलाई मृत्युदेखि फिटिक्कै डर लाग्दैन। मर्नदेखि डर त्यसलाई लाग्दछ जसले यही शरीरलाई प्रथम र अन्तिम जिन्दगी ठान्दछन् ” (विकासानन्द, २०७६, पृ. ११०)। जसरी मान्छे पुराना काम नलाग्ने लुगाका सट्टा नयाँ लुगा फेर्दा आनन्द मान्छ त्यसरी नै आत्माले शरीरलाई वस्त्रजस्तै गरी फेर्दा दुःख मान्नुपर्ने कारण छैन। संसारमा रहने प्रत्येक वस्तुहरू एउटा रूपबाट अर्को रूपमा परिणत हुन्छन्। “बृहदारण्यक अनुसार सर्पले काचुली फेरेर गए जस्तै आत्मज्ञानीले शरीरलाई त्याग गर्दछ” (भट्ट, २०७२, पृ. १७९)। सर्पले काचुली फेरेको भने पनि वा शरीरले लुगा फेरेको भने पनि फेर्नु वा फेरिनु भनेको परिवर्तन हुनु हो। मृत्यु वा रूपान्तरण अन्तिम सत्य हो। यो त आफैँमा परिवर्तन हो र यो परिवर्तन परिवर्तनको लागि हो, रूपान्तरणको लागि हो। मोमिलाको ‘मृत्यु सौन्दर्य’ निबन्धमा मृत्यु सम्बन्धी चिन्तन विषयमा आधारित व्याख्या विश्लेषण गरिएको छ। निबन्धमा मृत्युलाई महत्त्वपूर्ण मानेर मृत्युसम्बन्धी दृष्टिकोणहरू प्रस्तुत गरेका हुनाले मृत्युसम्बन्धी तिनै विविध चिन्तनलाई आधार मानेर १. भयको रूपमा मृत्यु, २. जीवनप्रतिको मोह र यसको क्षणभङ्गुरता, ३. मृत्युको दुःखात्मक स्वरूप, ४. परिवर्तनका रूपमा मृत्यु शीर्षकका बुँदाका आधारमा यसको विश्लेषण गरिएको छ।
परिणाम र विमर्श
पूर्वीय आस्तिक तथा नास्तिक दर्शनका मृत्युसम्बन्धी प्रमुख चिन्तन र मान्यताका आधारमा परिवर्तन र रूपान्तरणका रूपमा मृत्यु, भयको रूपमा मृत्युको अभिव्यक्ति, क्षणभङ्गुर जीवन र यसप्रतिको मोह र जीवन दुःखमय छ गरी चार उपशीर्षकमा रहेर “मृत्यु सौन्दर्य” निबन्धको मृत्यु सम्बन्धी चिन्तन गरिएको छ।
भयको रूपमा मृत्यु
मृत्युप्रतिको भयले मानिसलाई सार्थक जीवन बाँच्न प्रेरित गर्छ। यसलाई पूर्वीय दर्शनमा व्याख्या गरिएको मोक्षको विचारसँग तुलना गर्न सकिन्छ। यस विचारले सांसारिक मोहबाट मुक्ति दिलाउँछ। यस निबन्धमा धेरै ठाँउमा भयको रूपमा मृत्युको अभिव्यक्ति भएको छ। शरीर क्षणभङ्गुर छ त्यसैले मृत्युको डर छ। नाश नहुने कुरा गुम्ला कि भन्ने त्रास पनि अत्यन्त न्यून हुन्छ। मृत्युको भयले बताउँछ कि हामी जीवनसँग परिचित छैनौँ। जीवनलाई सत्कर्मले सजाउनेहरूलाई मृत्युको भय हुँदैन। अर्थपूर्ण जीवन बाँच्न सके डराइ डराइ होइन, हाँसी हाँसी मर्न सकिन्छ। तर निबन्धकारमा मृत्यु शाश्वत सत्य हो भन्ने यथेष्ट चेतना हुँदाहुँदै पनि घरी घरी यो चेतलाई माथ दिएर निबन्धकारलाई जीवनप्रतिको मोहले घिच्याइरहन्छ, मृत्युप्रतिको डरले यसरी तर्साइरहन्छ। निबन्धको सुरूवातमै मोमिलाले आफ्नो मृत्यु भइसकेको सपना देखेर भयभित भएपछि त्यो भयको चर्चा यसरी गर्न पुगेकी छिन् – “त्यो सुनसान सुनसानमा आफ्नो लास रूँगिरहँदा आफैँ छटपटिरहेको थिएँ। उकुसमुकुस जस्तो कसोकसो डराइरहेकी थिएँ; हडबडाइरहेकी थिएँ। त्रादसीपूर्ण बादलले मस्तिक डम्म ढाकेको थियो– यदि लास भएको म उठिन भने ! …!!” (पृ. ५३)। मानिसको विचारमा मृत्यु डरलाग्दो विषय हो, त्यसैले ऊ यस विषयलाई भरसक आफूबाट पन्छाउन चाहन्छ। मान्छेका लागि मृत्यु निकै ठूलो त्रासदी हो। यो त्रासमा मान्छेले दिन र रात जस्तै जीवन र मृत्यु एकै सिक्काका दुई पाटा हुन् भन्ने बिर्सन्छ। जति नै बुझे पनि मृत्यु बुझ्न सकिदैन र मृत्युको भयबाट हुन नि सकिदैँन। अर्को ठाँउमा पनि निबन्धकार मृत्युको त्रासलाई यसरी पोख्छिन् – “बिपनामा त परै जाओस् सपनामा पनि कहिल्यै मर्न नपरोस् है ! भन्ने आफैँसँग ढिट सर्त राखेर बाँकी जिन्दगीको खुला आँखाका सुन्दर सुन्दर सपनामा डुबिरह्यो मन…।” (पृ. ५३)। मनुष्यलाई सबैभन्दा ठूलो भय मृत्युको नै हो। तर मनुष्यले मृत्युलाई नबुझेर यसरी भयाक्रान्त भएको हो। मानिस मृत्युदेखि भयाक्रान्त हुनुमा उसभित्रको चिन्तनले नै प्रमुख भूमिका खेलेको हुन्छ। त्यसैले त निबन्धकार पनि मृत्युको भयले आक्रान्त छिन् र उनलाई मृत्यु स्वीकार्न कठिन भएको यसरी बताउँछिन् – “आखिर मृत्युको त्यो शालीन सौन्दर्यलाई म किन सपनामा पनि स्वीकार गर्न सक्दिन ?” (पृ. ५६)। यहाँ उनले मृत्युको यथार्थसँग भाग्न नचाहेर पनि स्वीकार्न पनि नसकिरहेको अवस्थाको चित्रण गरेकी छिन्। उनी अझै थप्छिन् – “मृत्युले नजिकैबाट स्पर्श गरेर गए पनि स्वयम् आफू नगएको नदेखेको स्थान हो, मृत्युको संसार ! र आफूले अनुभूत नगरेको सत्य हो मृत्युको शालीन सौन्दर्य ! यसैले यस्तो अनजान संसार छिचोल्न सचेत डर मान्छ मान्छे” (पृ. ५८)। यहाँ मृत्यु डरलाग्दो मात्र होइन सुन्दर पनि हुन्छ। यहाँ मृत्युलाई पल पल बोध गरेर कहिल्यै नदेखिएको शाश्वत सत्य मानिएको छ। मृत्युसँग डराएर भाग्नु भन्दा यसको सुन्दरतालाई स्वीकार गर्न सके जिन्दगी पनि सुन्दर बन्ने निबन्धकारको दृष्टिकोण रहेको छ। यसरी फलामले फलाम नै काट्छ भनेझैँ मृत्युसँग डराउँदा डराउँदै मोमिला निर्भयताको यात्रातर्फ उन्मुख भएकी छिन्। मृत्युबोध हुनु भनेको जीवनलाई सही तरिकाले बुझ्नु र बुझे अनुरूप उपयोग गर्ने प्रेरणा लिनु हो अर्थात् मृत्युप्रतिको भय नै निर्भयता तिरको यात्रा हो भन्ने कुरा निबन्धकारले निबन्धमार्फत नै पुष्टि गरेकी छिन्।
जीवनप्रतिको मोह र यसको क्षणभङ्गुरता
मृत्यु कुनै पनि बेला आउन सक्छ। यो कति बेला र कस्तो रूपमा आउँछ भनेर कसैले भन्न सक्दैन। मृत्यु हुँदा शरीरको मात्र समाप्ति हुँदैन। मान्छेका सबै किसिमका इच्छा, आकांक्षा, रहर, सपना, माया आदिको पनि नाश हुन्छ। तर जीवन छउन्जेल यी कुनै पनि कुरा नाश हुन गाह्रो छ। यस कुरालाई निबन्धकार यसरी भन्छिन् – “हुन त एकपटक समाप्तिनु छँदै छ। फेरि पनि पहिरो जाँदै गरेको पहाडमुन्तिर यस्तरी सीमान्त जोखिममा धुस्रेफुस्रे बिलकुल आफन्तहीन बाँचिरहेको विरूप जिन्दगीको पनि कत्ति सारो माया लागेर आउँछ ?” (पृ. ५४)। “भय अर्थात डर जहिले पनि लोभसँग गाँसिएको हुन्छ। हामी मर्न डराउँछौँ किनभने हामीलाई बाँच्ने लोभ छ। मान्छेले बाँच्ने लोभ साँच्नुको पछाडिको महत्त्वपूर्ण कारण जीवनको नश्वरता हो। जीवनको यही अनिश्चिततालाई निबन्धकारले यसरी व्यक्त गरेकी छिन् – “त्रिशुली नदीको किनारै किनारको यो सङ्गीतमग्न जुनेलीमय जन्तीमनको यात्रामा अकस्मात पहाड खसेर बाटो थुनिएछ, हामी यात्रुहरू बसभित्रै थुनिएका छौँ। बिस्तार–बिस्तारै पहाडमाथिका जन्तीजस्ता रूखका लस्करहरू मलामीमा बदलिएर स्थिर भएजस्तो लाग्दछ” (पृ. ५४)। जीवनरूपी उत्सव कतिखेर मृत्युरूपी शोकमा परिणत हुन्छ कसैलाई थाहा हुन्न। भर्खरका जन्तीहरू भर्खरै मलामीमा परिणत हुन कतिबेर पनि लार्ग्दैन। स्वर्ग, नरक भन्ने कुरा मानव निर्मित भ्रम हुन्। यस विषयमा निबन्धकारले आफ्नो धारणा यसरी राखेकी छिन् –“चेतना बाहेक मृत्युले हामीसँग खोसेर लाने केही होइन, शरीर पनि त्यसै छोडिदिन्छ” (पृ. ५६)। मान्छेको मृत्यु पश्चात शरीरसँगै उसको सांसारिक चेतनाको पनि अन्त्य हुन्छ। यो लोक भन्दा पर कसैले देखेको छैन्न यसर्थ भौतिक शरीरको अवसान नै मुक्ति हो। यसका अलावा मृत्युका अनेक रूपमा हुन्छन्। त्यस मध्येमा भिष्मपितामहको मिथकीय मृत्युलाई उनले उद्दृत गरेकी छिन् – “…जसरी त्यागमै जीवन बिताएका इच्छामृत्युको वरदान प्राप्त भीष्म पितामहजस्ता महाभारतकै अति दृढ पात्रसमेत मृत्युकै वाणमाथि सुतिरहनुपर्दा पनि कति समय त सांसारिकतामै अल्झिरहन्छ; यसमा हामी सामान्य मान्छेको त के कुरा र !” उनले वास्तवमा मृत्युभन्दा बाहिर कोही भाग्न सक्दैन। सबै मृत्युसैयामै सुतिरहेका हुन्छन् भिष्मपितामहले सुतेको मृत्युसैया एउटा प्रतीकमात्र हो। वास्तवमा हामी हरेक जन्मिने प्राणीहरू मृत्युमै सुतिरहेका हुन्छौँ भन्ने कुराको अभिव्यक्ति दिएकी छिन्। त्यसैगरी तोल्सतोयको कथा ‘हाउ मच ल्याण्ड डज म्यान निड’को प्रसङ्ग जोडेर मान्छे संसार मेरो हो म सबै कुरा प्राप्त गर्छु सम्पत्तिको चाहनामा दौडिन्छ। सांसारिकताकै मोहमा फसिरहन्छ। तर जति दौडे पनि अन्त्यमा पुग्ने लक्ष्य भनेको मृत्यु हो। त्यसैले यहाँ मान्छे वास्तवमा मृत्यु चाहँदैन भन्दाभन्दै पनि मृत्युतिरै गइरहेको हुन्छ भन्ने कुरा व्यक्त भएको छ। तर निबन्धकार यी सबै स्थायी ठानिने जमिनको हिस्सा बन्न चाहन्नन्। उनी त यी सबैभन्दा माथि उठेर मृत्युको शाशवत सत्यलाई स्वीकार्दै “तोल्सतोयको कथामा जस्तो मान्छेलाई कति जमिन चाहिन्छ, दौडेर नापिरहनु छैन मलाई …!! उनले मेरो चेतनाको स्पेशमा नमेटिने गरी उहिल्यै उत्तर भरिदिइसकेका छन्। फेरि स्थायी जमिन पनि चाहिन्न। अन्ततः खरानी माटो बनेर जमिनकै हिस्सा बन्नेछु” (पृ. ५४)। यहाँ निबन्धकारको चेतनाले नै मृत्युलाई मोक्षको रूपमा प्रतिस्थापन गर्न पुगेको छ। जसका कारण उनको यो संसारिकता र धन सम्पत्तिप्रतिको मोह भङ्ग भइसकेको छ।
मृत्युको दुःखात्मक स्वरूप
जीवन क्षणिक छ भन्ने सत्य हो र यो क्षणिकतामा पनि दुःखैदुःख छ। दुःख, सुख जस्ता कुराहरू मनका कारणले हुन्छ। बन्धन र मोक्ष पनि मनले नै महशुस गर्छन्। मृत्युका लागि जीवन हुनुपर्छ। जीवन हुनका लागि दुख र सङ्घर्ष जरूरी छ। जीवन केवल प्राणमा आधारित नभएर सार्थकतामा आधारित हुन्छ। यदि जन्म नहुँदो हो त मृत्यु पनि हुँदैनथ्यो। मृत्यु कसैको वशमा छैन तर कस्तो बनाउने भन्नेचाहिँ मान्छेको वशमा छ। निरर्थक बाँच्नेको जीवनमा बार बार मृत्यु आइरहन्छ, प्रतिपल मृत्युले सताइरहन्छ। मृत्यु त अवश्यमभावी छ तर मृत्युलाई दुःखको कारण मान्नुको कारण भने मृत्यु सम्बन्धी ज्ञानको अभाव हो। त्यस्तै सुकर्मले मानिसको जीवनमा सुख छाउँछ भने कुकर्मले दुःख छाउँछ। “कतै सृष्टिको नयाँ फूलका नाममा महाप्रलयको प्रतीक्षा भइरहेको त होइन ! सायद …! (यहीँनेर २०७२, वैशाख १२ को महाभुकम्प …! सारा मानव संरचनाहरूलाई अस्तित्वको हाँक दिँदै हजारौँ हजार मृत्युहरू हत्केलामा लिएर धरती कापिन्। (पृ. ५७–५८)। यहाँ सांख्य दर्शनले भनेको आध्यात्मिक, आदिभौतिक र आदिदैविक तीनै खाले दुःखको प्रादुर्भाव एउटै घटनामा समाविष्ट भएको छ। देख्दा यो दुःख दैविक दुःखझैँ मात्र लागे पनि एकातिर यो दुर्दशा हामी मानिसकै कारण घटित भएको हो भने अर्कोतिर सत्ताधारी पनि यसमा कम जिम्मेवार छैनन्। “स्वार्थ र लिप्साका अग्लाइहरू सामु खुच्चिङको भावमा रूखहरू नाचे, महलहरू खित्का छाडेर हाँसे त्यतिखेर देशको सच्चा नायकत्व निभाउन नसकेका हाम्रा नायकरूले के सोचे होलान् ! …!!, तर अफसोसको कुरो – नेपाल आमाले अबोध सन्ततिहरूको वियोग खप्नुपर्यो)” (पृ. ५८)। मृत्यु देख्दादेख्दै, त्रास देख्दादेख्दै पनि मान्छेहरू जीजीविषा बोकेर किन गलत संस्कार, गलत काममा प्रवृत्त हुन्छन् ? मृत्यु त शिक्षा हो, मृत्युबाट सिक्नुपर्छ। महाविनाश, प्रलयहरू हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि मनुष्यको लिप्सा किन हो भनेर मान्छेका आवेगहरू संसारप्रतिका मोह, रागहरू, त्यसबाट हत्या हिँसा झैझगडा, कुटाकुट मारामार लुछाचुँडी किन ? भन्ने खालको समसामयिक युगीन चेतनालाई उनले मृत्यु सौन्दर्यलाई समसामयिक मानवीय प्रवृत्ति निरूपण गर्नका लागि उपयोग गरेकी छिन्।
परिवर्तनका रूपमा मृत्यु
संसारका सबै वस्तुहरू निरन्तर परिवर्तन भइरहन्छन्। निबन्धकार “मृत्यु सौन्दर्य”मा जीवनको अनिश्चितता र मृत्युको सत्यताप्रति निश्चिन्त छिन्। मृत्युबाट अमरतातिर जाने चाहना पूर्वीय दर्शनको छ। मोमिलाका निबन्धमा यही चाहनाको पक्षपोषण भएको छ। उनी साधारण नभएर एक विशिष्ट खालको मृत्यु चाहन्छिन्। निबन्धमा उनको त्यो चाहना यसरी व्यक्त भएको छ – “त्यो दिन जाडोलाई भर्खर विदाइ गरेर गर्मीको आभास दिइरहेजस्तो नयाँ ऋतुलाई निमन्त्रण गरिरहेको प्रथम पुलकित क्षण होस्, रातलाई विदाइ गरिरहेको मिर्मिरे उज्यालो होस्, नीलो आकाश, कताकति बादलका टुक्राहरू, क्षितिज प…र परसम्म रङ्गिएको होस् (पृ. ५६)। उनले मृत्युलाई प्रकृतिले नै एउटा उत्सवझैँ मनाओस् भन्ने सुन्दर कल्पना गरेकी छिन्। मृत्युको भयमा आत्तिएर होइन खुसी र कर्मले सुन्दर बनाउनुपर्ने कुरा उनले यसरी व्यक्त गरेकी छिन्– “म नरहुँ केही छैन, तर म नरहेको दिनमा जताततै मैले सोचेजस्तै जीन्दगीका छाप रङ्गियुन्” (पृ. ५६)। यहाँ जीवनलाई सार्थक र अमर बनाउनु पर्नेमा उनले जोड दिएकी छिन्। निबन्धकारले पनि निबन्धमार्फत जीवनलाई सद्मार्गमा रूपान्तरण गर्नुपर्ने धारणा व्यक्त गरेकी छिन्। एकदिन मर्नैपर्ने जीवनलाई सत्कर्मले सिँगारेर अमरताको बाटो रोज्न उनी आफू पनि चाहन्छिन् र अरूलाई पनि सोही मार्गमा हिड्न निबन्धमार्फत उत्प्रेरित गरेकी छिन्। मृत्युपछि पनि जीन्दगीको छापहरू रङ्गिरहुन् भन्ने उनको चाहना छ। यहाँ सार्थक जीवनपछिको सुखमय मृत्युको रहर लुकेको छ। त्यो परिर्वतन मृत्युले मात्र होइन, मृत्युबोधले पनि ल्याउँछ। जीवन भोगाइले पनि ल्याउँछ। उनी उत्सवमय ठानिएको जीवनको अवसानलाई पनि उत्सवका रूपमा स्वागत गर्न चाहन्छिन्। जो जन्मन्छ ऊ मर्छ अर्थात् जहाँ जन्म हुन्छ त्यहाँ मृत्यु पनि हुन्छ। संसारमा यो परिवर्तन नहुदो हो त अर्थात् जन्मपछि मृत्युको प्रकृया नचल्दो हो त संसारको स्वरूप कति भयावह हुँदो हो ? यही कुरालाई निबन्धकारले यसरी व्यक्त गरेकी छिन् – “कहिलेकाहीँ मृत्युविना मात्र जीवनको कुरूप भीड सम्झदा पनि कहाली लाग्छ” (पृ. ५७)। यो कोणबाट हेर्ने हो भने विना मृत्युको जीवन काललाई थुन्दाको लोककथाकोझैँ भयावह बन्ने निश्चित भएको छ। मृत्यु हुँदा शरीरका विभिन्न अङ्गहरू पञ्चतत्त्वमा गएर विलिन मिल्दछन्। यो कुरा निबन्धकारले यसरी स्वीकारेकी छिन् –“म पनि सधैँ आफैँले हेर्ने गरेको आकाशको नीलो गहिराइमा धुँवा बिलाएजस्तै एकदिन चुपचाप चुपचाप बिलाउने छु अर्थात् धरतीमा खरानी माटो भएर समाधिस्त हुनेछु” (पृ. ५६)। मृत्युपश्चात यो भौतिक शरीर पञ्चतत्त्वमा परिणत हुन्छ, रूपान्तरित हुन्छ। यो भौतिक शरीरको अन्त्यमात्र नभएर जीवनको रूपान्तरण पनि हो। जीवन चेतनाको एउटा विस्तार हो मृत्यु त्यही चेतनको बिच्छेदन मात्रै हो। मर्ने भनेको शरीरबाट यही चेतना छुट्टिएर जाने हो। पुरानो कुरा त्यागेर नयाँ कुरालाई स्वीकार्नु रूपान्तरण हो। मृत्युबोधले गर्दा मानिसमा जुन जीवनको महत्त्वबोध हुन्छ त्यो भन्दा ठूलो परिवर्तन अरू हुनै सक्दैन। यसर्थ मृत्यु जीवनबोधका भएको रूपान्तरण हो र आनन्दको लागि भएको रूपान्तरण हो। यो रूपान्तरण स्वयम् निबन्धकारमा पनि मृत्युसम्बन्धी चिन्तनले ल्याएको हो। यो रूपान्तरणका लागि हिच्किचाउनुपर्ने र डराउनुपर्ने केही छैन भन्ने मृत्युचेत निबन्धकारमा पाइन्छ। त्यसैले त जीवनका यावत उज्याला र अध्यारा पक्षबिचको सापेक्षतालाई निबन्धकारले यसरी व्यक्त गरेकी छिन् – “जीवन बाँच्दै र बुझ्दै जाँदा राम्रो लाग्ने भ्रमिल सौन्दर्य या भ्रमिल जीवनभन्दा प्रेमिल कुरूपता या प्रेमिल मृत्यु नै कता हो कता आफ्नो लाग्ने रहेछ। अर्थात् राम्रो लाग्नु र आफ्नो लाग्नुमा त एउटा पूर्ण दिनको उज्यालो र अँध्यारो पहेली जत्तिकै अलग रहेछ ! अर्थात भनौँ, नदेखिने भए पनि प्रेमभित्रै लुकेको घृणाको वीजसँगको झिनो दूरीले फरक पारेको विपरीत ध्रुवीय सत्य जत्तिकै भयानक पनि रहेछ” (पृ. ५९)। यस निबन्धको गति अगाडि बढ्ने क्रममा भयबाट सुरु भएको निबन्धकारको मृत्यु सौन्दर्यको यात्रा बिस्तारै बिस्तारै मृत्युचिन्तनसम्म पुगेको छ।
निष्कर्ष
प्रस्तुत अध्ययन शीर्षक मोमिलाको ‘मृत्यु सौन्दर्य’ निबन्धमा मृत्युसम्बन्धी चिन्तन हो। यसको मूल समस्या ‘मृत्यु सौन्दर्य’ निबन्धमा मृत्युसम्बन्धी चिन्तनको खोजी हो र मृत्युसम्बन्धी चिन्तनको खोजी गरेर विश्लेषण गर्नु यसको उद्देश्य हो। मोमिलाको ‘मृत्यु सौन्दर्य’ निबन्धमा पनि मृत्युलाई महत्त्वपूर्ण मानेर भयको रूपमा मृत्यु, जीवनप्रतिको मोह र यसको क्षणभङ्गुरता, मृत्युको दुःखात्मक स्वरूप र परिवर्तनका रूपमा मृत्यु भन्ने बुँदाका आधारमा यसको विश्लेषण गरिएको छ। यसको विश्लेषण गर्ने सैद्धान्तिक आधारका रूपमा पूर्वीय आस्तिक र नास्तिक दर्शनको मृत्युसँग सम्बन्धित सैद्धान्तिक मान्यतालाई लिइएको छ। पूर्वीय दर्शनले शरीरलाई दुई भागमा विभाजन गरेको छ – भौतिक शरीर र अभौतिक शरीर। भौतिक शरीरबाट प्राणको विच्छेद हुनुलाई मृत्यु मानिन्छ भने अभौतिक शरीरमा आत्मा नमर्ने मानिन्छ। यसलाई पूर्वीय आस्तिक दर्शनले आत्मासँगको विच्छेद र आत्माको अमरताको रूपमा लिएको छ भने नास्तिक दर्शनले अनिवार्य प्राकृतिक घटना र मुक्तिको रूपमा लिएको पाइन्छ। वेदान्तले मृत्युलाई अविद्या र कर्मको कारण मानेको छ। वैशेषिक दर्शनले मृत्यु भनेको रूपान्तरण वा परिवर्तन हो भनेको छ। साङ्ख्य र बौद्ध दर्शनले मृत्युलाई दुःख र रूपान्तरण मान्दछ। गीतामा शरीर भनेको लुगाजस्तै फेरिने कुरा हो भनिएको छ। चार्वाक दर्शनले मृत्यु नै मोक्ष हो भनेको छ। यस निबन्धमा मोमिलाले शाश्वत सत्य र अवश्यमभावी मृत्युलाई भयका साथ कुर्नुभन्दा जीवनलाई सत्कर्मले सिँगारेर उत्सवका रूपमा स्वीकार्नुपर्ने दार्शनिक अभिव्यक्ति प्रस्तुत गरेकी छिन्। मृत्युप्रतिको भयले मानिसलाई सार्थक जीवन बाँच्न प्रेरित गर्छ। यसलाई पूर्वीय दर्शनमा व्याख्या गरिएको मोक्षको रूपमा तुलना गर्न सकिन्छ । यस विचारले सांसारिक मोहबाट मुक्ति दिलाउँछ। जीवन भय, लोभ, मोह, सङ्घर्ष र दुःख आदिले भरिएको छ। दुःख नहुँदो हो त सुखको अस्तित्व नै सम्भव थिएन। मृत्यु हुँदा यी सबैबाट मुक्ति मिल्दछ। मृत्यु आफैँमा सुन्दर लाग्दैन तर मृत्यु नहुँदो हो त संसार कति कुरूप हुँदो हो भन्ने तथ्य उजागर गर्दै मृत्युलाई सौन्दर्यका रूपमा हेरेकी छिन्। यसरी, मृत्यु सुन्दर छ भन्ने स्वीकारोक्तिसम्म पुग्न मोमिला पल पल मृत्युसँग भयग्रस्त भएकी छिन्। पाइलैपिच्छे कष्टका चट्टानहरूसँग ठोकिएर मृत्युको निकट पुगेकी छिन्, जीवन नश्वर छ भन्ने जन्दाजान्दै पनि घरी घरी जविनप्रतिको मोहमा चुर्लुम्म डुबेकी छिन् र अन्ततः मृत्यु भनेको रूपान्तरण हो र मृत्यु निकै सुन्दर छ भन्ने निष्कर्षमा पुगेकी छिन्। विशेषगरी अस्तित्ववादमा आधारित उनका निबन्धहरू आत्मपरक शैलीमा लेखिएको भए तापनि यसभित्र पूर्वीय दर्शनको प्रयोग पनि व्यापक रूपमा भएको पाइन्छ। यसमा मोमिलाले शाश्वत सत्य र अवश्यमभावी मृत्युलाई भयका साथ कुर्नुभन्दा जीवनलाई सत्कर्मले सिँगारेर उत्सवका रूपमा स्वीकार्नुपर्ने दार्शनिक अभिव्यक्ति प्रस्तुत गरेकी छिन्। मृत्यु पूर्वीय आस्तिक र नास्तिक दुवै दर्शनको महत्त्वपूर्ण विषय हो। वैदिक षड्दर्शन र अन्य दर्शनले पनि मृत्युका सम्बन्धमा व्यापक चर्चा गरेका छन्। यो मृत्युलाई सौन्दर्यको रूपमा व्यक्त गरिएको निबन्ध हो। मोमिलाले ‘मृत्यु सौन्दर्य’ शीर्षकीय यस निबन्धमा मृत्युलाई महत्त्वपूर्ण मानेर मृत्युसम्बन्धी दार्शनिक दृष्टिकोणहरू प्रस्तुत गरेका हुनाले मृत्युबोध र मृत्युसम्बन्धी चिन्तनका दृष्टिले यो निबन्ध उत्कृष्ट बनेको छ।
सन्दर्भसामग्रीसूची
ओशो. (२०७५). म मृत्यु सिकाउँछु. अनु. उद्धव उपाध्याय. काठमाडौँ : मधुवन प्रकाशन।
कृष्णकृपामय. (१९९७). श्रीमद्भागवद्गीता यथारूप. भक्तिवेदान्त बुक ट्रष्ट : भारत।
दाहाल, शारदाप्रसाद. (२०७६). विचार–.विमर्श. काठमाडौँ : एलायन्स प्रिन्टर्स एण्ड मिडिया हाउस प्रा.लि.।
नित्यस्वरूपानन्द, स्वामी. (सन् १९५३). अष्टावक्र संहिता. अल्मेरा : अद्वेत आश्रम मायावती ।
प्रभात, विष्णु. (२०७०). प्रज्ञा दर्शन कोश. काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठान।
भट्ट, रामचन्द्र. (२०७२). उपनिषदमा के छ ? काठमाडौँ : डिकुरा पब्लिकेशन।
मोमिला. (२०८०). प्रश्नहरू त बाँकी नै रहन्छन्. काठमाडौँ : पेज टर्नर प्रा.लि।
योगी विकाशानन्द, (२०७६).जीवन एक समस्या एक समाधान. काठमाडौँः रेकी योग प्रकाशन प्रा. लि.।
राई, भक्त. (२०७४). पूर्वीय दर्शन. काठमाडौँ : नेपाल प्राज्ञिक अनुसन्धान केन्द्र।
रेग्मी, रामराज. (२०७०). “प्राचीन नेपाली दर्शन : अष्टावक्र गीता” दर्शनावली २. सम्पा. विष्णु प्रभात. काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठान।
शर्मा, चन्द्रधर. (१९९०). भारतीय दर्शन आलोचन और अनुशीलन. दिल्ली : मोतीलाल बनारसीदास पब्लिसिङ हाउस।
सिन्हा, नन्दलाल. (सन् १९२३). अष्टावक्र द वैशेषिक सुत्तास अफ कणाद. अल्लाहवाद : सुधिन्द्रनाथ वसु, द पाणिनी अफिस– भुवनेश्वरी आश्रम।