प्रस्तुत लेख कादम्बरीमा विद्यमान रस तत्त्वका अध्ययनमा केन्द्रित छ। कादम्बरी सातौँ शताब्दीका बाणभट्ट र पुलिन्दभट्टद्वारा रचित कथाकाव्य हो। संस्कृत काव्यपरम्परामा विकसित कथा विधा आधुनिक विधाविभाजनअनुसार उपन्याससँग करिब मिल्दोजुल्दो छ। यस काव्यमा शिल्पसौन्दर्य र भावसौन्दर्यको असाध्यै राम्रो संयोजन छ। यस अध्ययनको मूल समस्या र विषय भावसौन्दर्य हो। यस सौन्दर्यअन्तर्गत यहाँ रस, भाव, रसाभास, भावाभास, भावोदय, भावसन्धि, भावशबलता र भावशान्तिको विवेचना सोदाहरण गरिएको छ। भावसौन्दर्य अर्थात् अन्तःसौन्दर्यका उत्कृष्ट सत्ताले यस काव्यलाई महनीय बनाएको देखिन्छ।
रमेश घिमिरे, विद्यावारिधि
प्राध्यापक
नेपाल संस्कृत विश्वविद्यालय, पिण्डेश्वर विद्यापीठ, धरान
ramesh.ghimire@nsu.edu.np
लेखसार
प्रस्तुत लेख कादम्बरीमा विद्यमान रस तत्त्वका अध्ययनमा केन्द्रित छ। कादम्बरी सातौँ शताब्दीका बाणभट्ट र पुलिन्दभट्टद्वारा रचित कथाकाव्य हो। संस्कृत काव्यपरम्परामा विकसित कथा विधा आधुनिक विधाविभाजनअनुसार उपन्याससँग करिब मिल्दोजुल्दो छ। यस काव्यमा शिल्पसौन्दर्य र भावसौन्दर्यको असाध्यै राम्रो संयोजन छ। यस अध्ययनको मूल समस्या र विषय भावसौन्दर्य हो। यस सौन्दर्यअन्तर्गत यहाँ रस, भाव, रसाभास, भावाभास, भावोदय, भावसन्धि, भावशबलता र भावशान्तिको विवेचना सोदाहरण गरिएको छ। भावसौन्दर्य अर्थात् अन्तःसौन्दर्यका उत्कृष्ट सत्ताले यस काव्यलाई महनीय बनाएको देखिन्छ। बाणभट्टको जस्तो काव्यसौन्दर्यका आधानको कौशल अन्यत्र पाउन मुस्किल छ। रस अर्थात् काव्यको आस्वाद्यतत्त्वका दृष्टिले पनि गद्यकाव्यका परम्परामा कादम्बरी अद्वितीय जस्तो लाग्दछ। यही कादम्बरीको रसादि भावसौन्दर्यलाई पर्गेल्नु नै यस लेखको उद्देश्य हो। काव्यसौन्दर्यमूलक यो लेख गुणात्मक प्रकृतिको छ। प्राच्य काव्यशास्त्रका सैद्धान्तिक पर्याधारमा आधृत भई तयार गरिएका यस लेखमा शृङ्गार, हास्य, करुण, रौद्र, वीर, भयानक, बीभत्स, अद्भुत, शान्त र वत्सल गरी दश रसको परिपाकपूर्ण स्थिति उदाहरणसहित स्पष्ट गर्दै भावादि समेतको सौन्दर्यमय सत्ता केलाई निष्कर्षतः भावसौन्दर्यका दृष्टिले कादम्बरीको उत्कृष्ट स्तर निरूपण गरिएको छ।
शब्दकुञ्जी : रस, भाव, रसाभास, भावाभास, भावोदय
विषयप्रवेश
कादम्बरी बाणभट्ट र पुलिन्दभट्टको संस्कृत भाषाबद्ध संयुक्त रचना हो। पिता बाणभट्टको अपूर्ण कृतिलाई पुत्र पुलिन्दले पुत्रकर्तव्यवश पूरा गरेकाले पुलिन्दले आफूलाई गौण राखेका छन्। फलतः कादम्बरीका रचनाकारको नाम लिँदा बाणभट्टलाई मात्र सम्झिने गरिन्छ। कादम्बरी गद्यशैलीमा आबद्ध कथाकाव्य हो। साहित्यमा विकसित कथाविधा आधुनिक उपन्याससँग केही हदसम्म साम्य राख्दछ। यस काव्यमा कल्पनाप्रधान कथावस्तु रहेको छ। कादम्बरीको उपजीव्य ग्रन्थ गुणाढ्यरचित बृहत्कथा हो। यद्यपि अहिले बृहत्कथा उपलब्ध छैन तर बृहत्कथाकै अनुवादस्वरूप उपलब्ध कथासरित्सागरभित्र रहेको मकरन्दिका उपाख्यानमा कादम्बरीका कथावस्तुसँग ठ्याक्कै मिल्ने कथा भएबाट बृहत्कथा नै यस काव्यको उपजीव्य भएको कुरा प्रमाणित हुन्छ। कादम्बरीमा बहुविध विषयवस्तुहरू छन्। यहाँ शास्त्रीय ज्ञानको पुञ्ज छ, प्रकृतिको रूपवैविध्य वर्णित छ, संस्कृतिको अथाह भण्डार छ, जीवनको रहस्य अनुस्यूत छ, अनेकविध पात्रको संयोजन छ, काव्यसौन्दर्यको अनुपम प्रयोग छ एवम् कल्पनाको विराट् संसार छ। यसरी यस काव्यमा बाणभट्टले स्पर्श गरेका तमाम विषयलाई हेरेर नै ‘बाणोच्छिष्टं जगत् सर्वम्’ भन्ने आहान चलेको हो। प्रस्तुत काव्यमा रसविधानको स्थितिका पर्गेलाइमा यो अध्ययन लक्षित रहेको छ।
यस अध्ययनको विषयक्षेत्र संस्कृत काव्यपरम्परामा प्रसिद्ध कथाकाव्य कादम्बरी हो। यस काव्यमा प्राच्य काव्यशास्त्रमा काव्यसौन्दर्यका रूपमा महत्त्वका साथ चर्चाको विषय बनेको रसतत्त्वको अवस्थिति के-कस्तो छ भन्ने जिज्ञासामूलक समस्यामा केन्द्रित यस लेखको उद्देश्य प्रस्तुत काव्यमा विद्यमान रसतत्त्वको मीमांसन हो।
कादम्बरी बहुचर्चित काव्य हो। यसका विषयमा धेरैले विविध कोणबाट अध्ययन गरेका छन्। स्वयम् रचनाकारद्वयले यस कथाकाव्यका रसवत्ताको सङ्केत गरेका छन्। यसै गरी कृष्णमोहन ठक्कुर, शेषराज रेग्मी, अमरनाथ पाण्डेय, भोलाशङ्कर व्यास, वासुदेवशरण अग्रवालजस्ता समालोचकहरूले संस्कृत र हिन्दीमा एवम् काणे, कीथ, बेबरलगायत समालोचकहरूले अङ्ग्रेजी भाषामा कादम्बरीका विषयमाथि समालोचकीय दृष्टि राखेका छन्। नेपाली भाषाका मोहनराज शर्मालगायतले थोरबहुत चर्चा गरेकै छन्। उपर्युक्त समालोचकहरूले प्रस्तुत काव्यमा रससौन्दर्यको मूल्यवत्ता देखाएका छन् तर वस्तुस्थिति हेर्दा कादम्बरीको रसविषयक सूक्ष्म र विस्तृत विवेचना नेपाली भाषामा नरहेको देखिन्छ। यही शोधान्तराललाई यत्किञ्चित् परिपूर्ति गर्दै संस्कृत साहित्यका जिज्ञासु नेपाली पाठकका लागि उपयोगी हुनुले नै यस लेखको औचित्य र महत्तालाई सिद्ध गर्दछ।
सैद्धान्तिक आधार
प्राच्य समालोचनाशास्त्रअन्तर्गत बृहत् रूपमा विकसित रससिद्धान्तका आधारमा यो अध्ययन गरिएको छ। प्राच्य रससिद्धान्तको मूल स्रोत भरतमुनिप्रणीत “विभावानुभावव्यभिचारिसंयोगाद् रसनिष्पत्तिः अर्थात् स्थायी भावका साथ विभाव, अनुभाव र व्यभिचारी भावको संयोगबाट रसको निष्पत्ति हुन्छ [अनुवादक लेखक स्वयम्]” भन्ने रससूत्र हो। यस रससूत्रको व्याख्या गर्ने क्रममा रसका अनुभूतिको प्रक्रियासम्बन्धी पृथक् पृथक् चिन्तनहरूको उदय भएको पाइन्छ। परिणामस्वरूप रसानुभूतिप्रक्रियाका उत्पत्तिवाद, अनुमितिवाद, भुक्तिवाद र अभिव्यक्तिवाद गरी मूलतः चार धारहरू स्थापित भएका छन्। यी चार धारमध्ये पनि अभिव्यक्तिवादी धार बढी व्यावहारिक र वैज्ञानिक देखिन्छ। यस अध्ययनमा रससिद्धान्तको यही अभिव्यक्तिवादी अवधारणालाई उपयोग गरिएको छ। यसै गरी रसशब्दले शृङ्गारादि रससहित तदतिरिक्त भाव, रसाभास, भावाभास, भावोदय, भावसन्धि, भावशबलता र भावशान्तिजस्ता आस्वाद्यतत्त्वलाई पनि बुझाउने सैद्धान्तिक पृष्ठभूमिमा सङ्क्षेपमा ती ती तत्त्वहरूलाई पनि हेर्ने लक्ष्य यस लेखमा राखिएको छ।
अध्ययनका सामग्री र विधि
पुस्तकालयीय स्रोत सङ्कलनबाट यो लेख तयार भएको छ। बाणभट्ट एवम् पुलिन्दभट्टद्वारा संयुक्त रूपमा रचित संस्कृत भाषाबद्ध गद्यकाव्य कादम्बरी एवम् साहित्यदर्पण, काव्यप्रकाशजस्ता काव्यशास्त्रीय ग्रन्थहरू यस अध्ययनमा प्राथमिक स्रोतका रूपमा प्रयुक्त छन् साथै कादम्बरीबारे गरिएका विभिन्न समीक्षा, टीका, टिप्पणी आदि सामग्रीलाई द्वितीयक स्रोतका रूपमा उपयोग गरिएको छ। काव्यसौन्दर्यपरक अध्ययन भएकाले यो अध्ययन गुणात्मक प्रकृतिको छ। यहाँ व्याख्यात्मक एवम् विश्लेणात्मक विधिबाट सामग्री-व्यवस्थापन गरी निष्कर्षमा पुग्ने काम भएको छ। यस लेखका विवेच्य विषय र विवेचनासिद्धान्त, दुवै संस्कृतमूलक छन्। यसैले संस्कृत उद्धरणहरू स्वभावतः आएका छन्। त्यसरी संस्कृतबाट उद्धृत सामग्रीलाई विशुद्ध नेपाली पाठकका लागि समेत सहज रूपमा बोधगम्य बनोस् भनेर लेखका मूल भागमा तिनको नेपाली अनुवाद राखिएको छ भने उद्धरणीय संस्कृत-अंशलाई पादटिप्पणीका रीतले पृष्ठका पुछारमा उट्टङ्कित गरिएको छ।
विमर्श र परिणाम
प्रधान रस र अङ्ग रसको निरूपण
कादम्बरीको प्रधान रस शृङ्गार हो। अनुभूतितीव्रता र काव्यको भौतिक आयामका दृष्टिले शृङ्गारमा पनि करुणविप्रलम्भले प्रमुखता हासिल गरेको छ । हास्य, करुण, रौद्र, वीर, भयानक, बीभत्स, अद्भुत, शान्त तथा वत्सल रस कादम्बरीका अङ्गरस हुन्। शृङ्गारकै अन्य भेदहरू पनि अङ्गकै रूपमा रहेका देखिन्छन्। यी अङ्गरसमध्ये अद्भुत र करुण शृङ्गारकै हाराहारीमा उभिएका देखिन्छन्। हुन त, जुन रसको प्रसङ्ग आउँछ, त्यसबखत प्रत्येक रसमा बाण/पुलिन्दभट्टको रसयोजनाकौशल छ्यालब्याल देखिन्छ।
शृङ्गारादि रसको अभिव्यञ्जना
शास्त्रीय परम्परामा शृङ्गार, हास्य, करुण, रौद्र, वीर, भयानक, बीभत्स, अद्भुत र शान्त गरी नौ रस प्रसिद्ध छन्। रसको यो सङ्ख्यात्मक गणना रसविवेचनाको सामान्य परम्पराअन्तर्गत पर्दछ। रसमीमांसनका दीर्घ परम्परालाई हेर्दा रसगणनाविषयक विभिन्न दृष्टिकोणहरू देखा पर्दछन्। रससङ्ख्याका गणनामा ऐकरूप्य छैन। भवभूति मूलतः करुण रसलाई मान्दछन्। उनका विचारमा एकमात्र मूल रस करुण हो।[1] उनका अनुसार अरू रस भनेका करुणका विवर्तमात्र हुन्। विश्वनाथका प्रपितामह नारायणले अद्भुतलाई प्रमुख रसका रूपमा स्वीकार गरेका छन्।[2] भोजराज शृङ्गारलाई एकमात्र मूल रस स्वीकार गर्दछन्।[3] अभिनवगुप्तले शान्तबाट नै आ-आफ्ना निमित्तवश अनेकौँ भाव उत्पन्न हुने र निमित्तको अवसानपश्चात् सबै भावहरू पुनः शान्तमा नै विलीन हुने हुनाले शान्त नै मूलरस हो[4] भनी मानेका छन्। माथि गणना गरिएका नौ रसबाहेक अरू रसलाई स्वीकार गर्ने चिन्तन पनि विकसित भएको छ। गौडीय वैष्णव परम्पराका धार्मिक पृष्ठभूमिमा भक्तिलाई रसका रूपमा ग्रहण गरेको देखिन्छ। रूपगोस्वामीले भक्तिलाई सर्वश्रेष्ठ रस मानेका छन्।[5] नौ रसबाहेक वत्सल र भक्ति रस निकै उल्लेख्य रूपमा चर्चित रस हुन्। वत्सल रसले पनि विश्वनाथको साहित्यदर्पणबाट प्रतिष्ठा पाएको देखिन्छ। भक्ति र वत्सललाई पनि गणना गर्दा रससङ्ख्या एघार हुन जान्छ। भक्ति र वत्सललाई नवरसवादीहरू भावका रूपमा ग्रहण गर्दछन्। यी एघारभन्दा पनि बढी, अझ सूक्ष्म रूपमा पर्गेल्दै जाने हो भने सयौँ सङ्ख्या पुग्न सक्छ रसको। यसरी रससङ्ख्याका विषयमा मतवैविध्य रसशास्त्रीय परम्पराभित्र रहेको देखिन्छ। यी एघारमध्ये भक्तिले कादम्बरीमा रसात्मक परिपाक उस्तो पाएको देखिँदैन। त्यसैले यहाँ शृङ्गारादि नौरसका अतिरिक्त वत्सललाई समेत गणना गरी कादम्बरीमा रसाभिव्यक्तिका स्थितिलाई हेरौँ :
शृङ्गार
शृङ्ग भनेको कामोत्पत्ति हो। शृङ्गार त्यही कामोत्पत्तिसम्बन्धी रस हो। यसको स्थायी भाव रति हो। यो रस उत्तम प्रकृतिका पात्रमा आश्रित हुन्छ। अन्यविवाहिता स्त्री एवम् अनुरागविहीन वेश्यालाई छाडेर सबै प्रकारका नायिका एवम् दक्षिणादि नायकहरू यस रसका आलम्बन विभाव हुन्। चन्द्र, चन्दन, भ्रमरध्वनि आदि यसका उद्दीपन विभाव हुन्। यसका अनुभावहरू भ्रूविक्षेप, कटाक्षादि हुन्। उग्रता, मरण, आलस्य, जुगुप्सालाई छाडेर अन्य सबै व्यभिचारी भावहरू यसमा रहन्छन्। यस रसको स्थायी भाव रति हो। यसको रङ श्याम हुन्छ एवम् यसको अधिदेवता विष्णु हो। विप्रलम्भ र सम्भोग गरी शृङ्गार रस दुई प्रकारको हुन्छ।[6]
कादम्बरीमा शृङ्गार रसका विप्रलम्भ र सम्भोग दुवै भेदको परिपाक अत्यन्त घनीभूत रूपमा भएको देखिन्छ। शृङ्गार कादम्बरीको प्रमुख रस पनि हो। काव्यशास्त्रले मुख्यतः विप्रलम्भका पूर्वरागात्मक, मानात्मक, प्रवासात्मक र करुणात्मक गरी चार भेद[7] एवम् सम्भोगका पनि पूर्वारागानन्तरजन्य, मानान्तरजन्य, प्रवासानन्तरजन्य र करुणानन्तरजन्य गरी चार भेद[8] देखाएकामा परिवेशअनुसार विभिन्न उपभेदहरूको सत्ता यस काव्यमा देखिन्छ। प्रारम्भदेखि अन्त्यसम्म नै शृङ्गारले कादम्बरीमा स्थान पाएको छ। कादम्बरीमा विद्यमान विप्रलम्भ शृङ्गारसम्बद्ध गद्यांशलाई उदाहरणका रूपमा प्रस्तुत गरौँ :
मैले लामो समयतक पुण्डरीकलाई हेरिरहेँ। मैले उनलाई हेरिरहँदा सायद मेरो श्वासप्रश्वास पनि रोकिएको थियो र आँखाले झिमिक्क गर्न पनि बिर्सिएको थियो। मेरो दाहिने आँखा उनीतर्फ फर्किएको थियो। त्यो पनि अर्धमुकुलित थियो। उनीतर्फ फर्किएका आँखाको नानी बाङ्गो कोण बनाएर नाचिरहेको थियो। म उनलाई के हेरिरहेकी थिएँ र ? पिइरहेकी चाहिँ थिएँ। म त्यस बखत सायद उनीसँग केही मागिरहेकी थिएँ। त्यस वेला मेरो त्यस्तो स्थिति थियो कि मानौँ ‘म तिम्रै अधीनमा छु’ भनिरहेकी थिएँ। मानौँ, उनीतर्फ अभिमुख भएको मेरो हृदय उनलाई अर्पण गरिरहेकी थिएँ। मानौँ, म सर्वथा उनीभित्र प्रवेश गरिरहेकी थिएँ। मानौँ म उनका साथ तन्मय बन्न इच्छुक भइरहेकी थिएँ। मानौँ, म उनलाई ‘म मदनाभिभूत भएँ, रक्षा गर’ भनेर शरण मागिरहेकी थिएँ। मानौँ, म ‘मलाई हृदयमा ठाउँ देऊ’ भनेर याचना गरिरहेकी थिएँ। ‘म किन यसरी अनुपयुक्त, लज्जास्पद र अशिष्ट काम गरिरहेकी छु’ भन्ने कुरा जान्दा जान्दै पनि इन्द्रियहरूलाई नियमन गर्न सकिरहेकी थिइनँ। म त्यसबखत स्तम्भितझैँ भएकी थिएँ एवम् लेखेर भित्तामा टाँसिएको चित्रझैँ, भित्तामा खोपेर बनाइएको आकृतिझैँ, बाँधेर राखिएझैँ, मूर्च्छित बनेर निश्चेष्ट बनेझैँ, कसैले समातेर राखिएझैँ बनेकी थिएँ। मेरो सम्पूर्ण शरीर निष्पन्द थियो। मेरो शरीर किन त्यसरी स्तम्भित भयो ? मलाई नै थाहा छैन। तत्काल उत्पन्न कुनै अवरोधक तत्त्वले मलाई स्तम्भित गराएको हो कि सूचनाविनै उपस्थित कुनै जानिफकार तत्त्वले हो ? केले त्यस्तो गरेको हो, त्यसको व्याख्या गर्नै सकिँदैन। केवल अन्तर्हृदयमा स्वसंवेद्यमात्र छ। न त्यसलाई देख्न नै सकिन्छ। कि उनका रूपसम्पत्ले हो मलाई त्यस्तो अवस्थामा पुर्याएको ? अथवा कि मनको उपद्रव हो यो ? कि कामदेवले हो ? कि नवयौवनले हो ? कि अनुरागले हो ? कि अरू नै कुनै तत्त्वले हो ? म केही जान्न र भन्न सक्दिनँ। मैले त उनलाई हेरिमात्र रहेँ [नेपाली अनुवादक स्वयम् लेखक][9]।
यो महाश्वेताले चन्द्रापीडलाई सुनाएका आत्मवृत्तान्तको अंश हो। अच्छोद सरोवरका समीपमा जब महाश्वेताले पुण्डरीकलाई एक मुनिपुत्रका रूपमा मुनिकै वेशमा देखिन्, तब उनी आकृष्ट भइहालिन्। त्यही प्रथम दर्शनका वेला पुण्डरीकप्रति आफ्नो मनोवृत्ति कस्तो रह्यो भन्ने कुराको वर्णन यस गद्यांशमा रहेको छ। यस वर्णनभित्र पूर्वरागात्मक विप्रलम्भ शृङ्गारले परिपाक पाएको छ। यहाँ आलम्बन विभाव पुण्डरीक हो। यसै गद्यांशभित्र नै शब्दतः उद्दीपन विभाव उट्टङ्कित छैन तर यसका पूर्वापर सन्दर्भअनुसार यहाँको उद्दीपन विभावका रूपमा स्वयम् पुण्डरीकको सौन्दर्य, अच्छोदसरोवरका वरिपरिको प्राकृतिक सौन्दर्य, पुण्डरीकका कानमा सिउरिएका कुसुममञ्जरीको सुगन्ध आदिलाई लिन सकिन्छ। महाश्वेताका नजर स्थिर हुनु अर्थात् आँखा एकटक लगाएर पुण्डरीकतिर हेर्नु, आँखाको नानी कर्के पर्नु, श्वासप्रश्वास पनि रोकिएजस्तो अवस्था हुनु आदि अनुभाव हुन्। यहाँ व्यभिचारी भाव औत्सुक्य, मोह, व्रीडा आदि रहेका देखिन्छन्। यसरी यहाँ स्वानुकूल विभाव, अनुभाव र व्यभिचारी भावद्वारा परिपुष्ट महाश्वेताका मनमा विद्यमान पुण्डरीकविषयक रतिले परिपाक पाएको देखिन्छ। यसर्थ यस गद्यांशमा शृङ्गार रस स्पष्टतः सिद्ध हुन्छ।
परमार्थतः यसमा करुणविप्रलम्भ रस रहेको छ तथापि परिपाक चाहिँ सम्भोगशृङ्गार रसकै छ। यसो भन्दा आपाततः विरोधाभासको अनुभूति हुन्छ तर वस्तुतः विरोधाभास छैन। यहाँ उद्धृत अनुच्छेदको वचन महाश्वेताले चन्द्रापीडलाई आफ्नो पूर्व कैरन सुनाउँदाको हो। यो सुनाइरहेका बखत महाश्वेता करुणविप्रलम्भात्मक अवस्थामा छ। उसको हृदय करुणविप्रलम्भात्मक अनुभूतिले उद्वेलित पनि छ। उसले भक्कानिँदै सुनाएकी छ। त्यसो हुँदा हुँदै पनि पुण्डरीकसँग प्रथम मिलनका वेला उसका हृदयमा जागृत रहेको पुण्डरीकविषयक सम्भोगात्मक/संयोगात्मक अनुभूति नै यस अनुच्छेदमा प्रबल रहेकाले यसमा सम्भोगशृङ्गारकै परिपाक रहेको देखिन्छ।
यसै गरी शृङ्गार रसको अर्को उदाहरण पनि हेरौँ :
कादम्बरीले चन्द्रापीडका सामु ताम्बूल समातेको हस्तपल्लवलाई अगाडि बढाइन् तर त्यसबखत उनी चन्द्रापीडतिर हेरिरहेकी थिइनन्, महाश्वेतातर्फ नै उनको दृष्टि केन्द्रित थियो। त्यतिखेर उनको शरीर काँपिरहेको थियो, उनका आँखा आकुलव्याकुल देखिन्थे एवम् श्वासप्रश्वास बढिरहेको थियो। उनको शरीर पसिनाले छ्याप्पै भिज्यो; मानौँ, कामदेवले आफ्ना बाणले मूर्च्छित तुल्याएर स्नान गराएको हो। चन्द्रापीडका सामु हात बढाएकी उनी त्यस्ती देखिन्थिन्; मानौँ, पसिनाका पोखरीमा डुबिन्छ कि भनेर हात समात्न दिई उद्धारको याचना गरिरहेकी छन् एवम् भयवशीभूत भएर लडिन्छ कि भनी अडिन प्रयत्नरत छन्। चन्द्रापीडले पनि हात अगाडि बढाए। कादम्बरीले ताम्बूलको बिडा उनका हातमा राखिदिइन्। त्यसखेर कादम्बरीका हात वस्तुतः शून्यमा प्रसारित थिए किनकि उनी चन्द्रापीडतिर हेरिरहेकी नै थिइनन्। उनका हातका नङका किरणहरू हातभन्दा पहिले नै चन्द्रापीडतर्फ अग्रसर भइसकेका थिए; मानौँ, चन्द्रापीडका हातको अन्वेषणका लागि अगिअगि गएका हुन्। उनका हात कम्पायमान भएकाले बाला बजिरहेका थिए; मानौँ, हातले चन्द्रापीडसँग बात मारिरहेको छ। उनले चन्द्रापीडका हातमा ताम्बूलको बिडा राखिरहँदा उनका हातबाट पसिना बगिरहेको थियो; मानौँ, पानी समातेर उनी ‘मन्मथद्वारा प्रदान गरिएको यस व्यक्तिलाई ग्रहण गर्नुहोस्’ भनेर आफूलाई अर्पण गरिरहेकी छन्। उनले ताम्बूल दिइरहँदा लाग्थ्यो, उनी ‘आजदेखि तपाईंका हातमा रहेको छ’ भनेर उनी आफ्नो प्राण नै चन्द्रापीडका हातमा अर्पण गरिरहेकी छन्। ताम्बूल अर्पणपश्चात् उनले आफ्नो हात फिर्ता ल्याइन् तर उनका हातबाट रत्ननिर्मित बाला झरेको पत्तै पाइनन् साथै कामबाणले चट्टै छिनाएको हृदय झरेर उतै रहेको पनि थाहा पाइनन् [नेपाली अनुवादक स्वयम् लेखक][10]।
उपर्युक्त गद्यांशमा हेमकूट दरबारमा महाश्वेताका सामु चन्द्रापीडलाई ताम्बूल प्रदान गर्दाका बखत देखिएको कादम्बरीका अवस्थाको वर्णन छ। यहाँ सम्भोग शृङ्गार छ। यहाँ चन्द्रापीड आलम्बन विभावका रूपमा रहेको छ। चन्द्रापीडको सौन्दर्यलाई यहाँ उद्दीपन विभावका रूपमा लिन सकिन्छ। कादम्बरीले ताम्बूल दिइरहँदा चन्द्रापीडतिर नहेरेर महाश्वेतातिर हेर्नु, शरीर काम्नु, असिनपसिन हुनु, श्वासप्रश्वास बढ्नु जस्ता अनुभावहरू यस गद्यांशमा रहेका छन्। व्यभिचारी भावका रूपमा यहाँ व्रीडा, मोह, शङ्का, अवहित्था र वितर्क आदि देखिन्छन्।
यस काव्यमा अनुभूत हुने शृङ्गारका अनेक रूपमध्ये करुणविप्रलम्भ प्रमुख हो। पुण्डरीकको मृत्युपश्चात् कुनै दिव्य पुरुषले महाश्वेतालाई धैर्य गर्न आश्वासन दिएपछि महाश्वेता र पुण्डरीकको पुनर्मिलनसम्म महाश्वेताका हृदयमा रहेको जुन विप्रलम्भात्मक रति हो, त्यो तीव्रतम बनेर करुणविप्रलम्भ शृङ्गारका रूपमा परिपाक पाएको छ। महाश्वेता र पुण्डरीकका बिचको यस विप्रलम्भात्मक रतिलाई संस्कृतका साहित्यशास्त्रीहरूले पनि शास्त्रार्थको विषय बनाएको देखिन्छ। विश्वनाथले आकाशवाणीपश्चात् महाश्वेताका हृदयमा उद्वेलित अनुभूतिलाई करुणविप्रलम्भात्मक मानेका छन्।[11] उनका विचारमा नायक र नायिकामध्ये कुनै एकको मृत्यु भएकाले बाँच्ने नायक वा नायकाका हृदयमा दुःखको अनुभूति छ तर पछि पुनर्मिलन हुने अवस्था छ भने त्यो करुणविप्रलम्भको विषय हुन्छ।[12] आकाशवाणीपश्चात् महाश्वेताका मनमा विद्यमान त्यही अनुभूतिलाई प्रवासविप्रलम्भात्मक मान्दछन्।[13] उनले पुरण्डरीकका मृत्युलाई चन्द्रमाको शापद्वारा उत्पन्न प्रवासावस्था मानेको देखिन्छ। जे होओस्, मृत्यमूलक भएकाले यसलाई प्रवासविप्रलम्भका रूपम स्वीकार गर्नुभन्दा करुणविप्रलम्भ स्वीकार गर्ने विश्वनाथपथ नै उपयुक्त अनुभव हुन्छ।
यसै गरी चन्द्रापीडको मृत्युका केही समयपश्चात् कादम्बरीलाई आकाशवाणीद्वारा पछि चन्द्रापीडसँग उनको पुनर्मिलन हुन्छ तर धैर्य गरेर बस्नुपर्छ भन्ने सूचना प्राप्त हुन्छ। त्यस आकाशवाणी र पुनर्मिलनका बिचमा कादम्बरीका हृदयमा उत्ताल तरङ्गका साथ छचल्किएको रति शोकात्मक छ। यही शोकात्मक रतिले राम्रोसँग परिपाक पाई करुणविप्रलम्भ शृङ्गारका रूपमा प्रतिष्ठा पाएको अनुभूत हुन्छ। कादम्बरीको प्रधान रस पनि यही करुणविप्रलम्भात्मक शृङ्गार नै हो।
हास्य
हास्य रसको स्थायी भाव हास हो। आकार, बोली, चेष्टा आदिका विकृतिमय अवस्थाबाट यसको उत्पत्ति हुन्छ। यसको वर्ण सेतो हुन्छ। प्रमथ यसको देवता हो। विकृत आकार, विकृत बोली र विकृत चेष्टा भएको व्यक्ति, जसलाई हेरेर मानिसहरू हाँस्छन्, नै यसको आलम्बन विभाव हो। आलम्बन विभावका रूपमा विद्यमान हास्यपात्रका चेष्टाहरू यसका उद्दीपन विभाव हुन्। हाँस्ता आँखा चिम्रिनु, मुखमा मुस्कान उदाउनु आदि यसका अनुभाव हुन्। निद्रा, आलस्य, अवहित्था आदि यसका व्यभिचारी भाव हुन्।[14]
कादम्बरीमा हास्य रसको सत्ता न्यून तर बलवान् छ। उदाहरणका लागि एक गद्यांश प्रस्तुत गरौँ :
(चन्द्रापीडले) वृद्ध द्रविड धार्मिकको शरीर ठुल्ठुला फुलेका नसाले जेलेको थियो, मानौँ डढेको ठुटो भन्ठानेर छेपारा र छिप्किलीहरू बसेका हुन्; उसका शरीरभरि घाउखटिराका खतहरू व्याप्त थिए, मानौँ अलच्छिनकी देवीले उसका शरीरबाट लच्छिनका चिह्नहरूलाई उखेल्दा परेका डोबिल्का हुन्; कानमा लगेर सिउरेको टुप्पी तलतल घाँटीसम्म पनि तर्लङ्ग झुन्डिएको थियो, मानौँ उसले रुद्राक्षमाला धारण गरेको छ; … कुनै मिथ्यावादीले दिएका सिद्धाञ्जन आँखामा हालेकाले उसको एउटा आँखो फुटेको थियो, त्यसैले ऊ अर्का आँखामा बिहान, बेलुका र साँझ नै गाजल लगाउनका लागि काष्ठशलाकालाई यत्नपूर्वक चिल्याइरहन्थ्यो; … ऊ तुरगब्रह्मचारी भएकाले विभिन्न ठाउँबाट आएर मन्दिरमा आश्रय लिई बसेका वृद्ध सन्यासिनीमाथि वारवार स्त्रीवशीकरणचूर्ण प्रयोग गर्दथ्यो … यस्तो जरद्द्रविडधार्मिकद्वारा अधिष्ठित चण्डिकामन्दिर देख्यो [नेपाली अनुवादक स्वयम् लेखक][15]।
यो गद्यांश पिताजीको पत्र पाएपछि अच्छोदसरोवरबाट उज्जैनतिर जाने क्रममा बाटामा चन्द्रापीड पुगेका चण्डिकामन्दिरको वर्णन प्रसङ्गमा आएको छ। यसमा त्यस मन्दिरमा बस्ने एक जरद्द्रविडधार्मिकको वर्णन छ। यस गद्यांशमा हास्यरस गभीरतया अनुभूत हुन्छ। यहाँ जरद्द्रविडधार्मिकलाई आलम्बन विभाव बनाई चन्द्रापीड तथा उसका सैनिकहरूका हृदयमा स्थायी भाव हास उत्पन्न भएको छ। त्यस द्रविडधार्मिकको समग्र हास्यास्पद स्वरूप तथा क्रियाकलापहरू उद्दीपन विभावका रूपमा देखिन्छन्। द्रविडधार्मिकका चर्तिकलालाई हेरेर चन्द्रापीड र उनका सेनाका मुखमण्डलमा जुन हासात्मक क्रियाकलाप भयो, त्यो यहाँको अनुभाव हो। त्यस्तै विषाद, दैन्य आदिलाई यहाँ व्यभिचारी भावका रूपमा लिन सकिन्छ।
कादम्बरीमा हास्यरसको परिपाक कालिन्दी सारिका र परिहास शुकका मनोमालिन्यका सन्दर्भमा असाध्यै राम्ररी भएको छ। यस काव्यका हास्य रसको चर्चा गर्दा छुट्नै नहुने प्रसङ्ग हो यो। कादम्बरीका दरबारमा विद्यमान परिहास र कालिन्दीको विवाह गराइदिएकी छ कादम्बरीले। तर परिहासले कादम्बरीकी ताम्बूलकरङ्कवाहिनी तमालिकासँग एकान्तमा केही कुरा गरेको देखेकी कालिन्दी परिहासप्रति शङ्कालु बनेकी छ। त्यसैले ऊ यस विषयमा कादम्बरीका सामु उजुरी पनि गर्छे। उजुरीका वेला त्यहाँ चन्द्रापीड, महाश्वेता, कादम्बरीकी सेविका मदलेखा पनि उपस्थित हुन्छन्। परिहासले चन्द्रापीडले आफ्ना विषयमा गरेका टिप्पणीको प्रतिक्रियास्वरूप मुखभरिको जबाफ पनि फर्काएको छ। यस सन्दर्भको एक सानो टुक्रा उदाहरणका रूपमा प्रस्तुत गरौँ :
परिहासनामक त्यस सुगाले चन्द्रापीडका ठट्टालु कुरा सुनेर भन्यो, “हे धूर्त राजकुमार ! यिनी (कालिन्दी) बहुत चतुर छिन्। यिनी चञ्चल अवश्य छिन् तर यिनलाई छक्याउन न तपाईं सक्नुहुन्छ, न त अन्य कुनै व्यक्ति। यिनले पनि यत्तिको व्यङ्ग्योक्ति बुझ्दछिन्। यिनी पनि जान्दछिन् परिहासमय कुरा गर्न। यिनको पनि राजपरिवारका सम्पर्कले बुद्धि तिखो बनेको छ। चुप लाग्नुहोस् तपाईं। बाङ्गाटिङ्गा कुराले यिनलाई छक्याउन झुक्याउन सकिने सम्भावनै छैन। यिनी मधुरभाषिणी पनि छिन् एवम् क्रोध र प्रसादको समय, कारण, प्रमाण, विषय र प्रसङ्ग; सबै कुरा यिनी जान्दछिन् [नेपाली अनुवादक स्वयम् लेखक][16]।
करुण
करुण रस इष्टनाश तथा अनिष्टप्राप्तिबाट प्रादुर्भूत हुन्छ। यो कपोतवर्णवान् हुन्छ। यसको देवता यम हो । यसको स्थायी भाव शोक हो। शोच्य वस्तु/व्यक्ति नै यसको आलम्बन विभाव हो। आलम्बन विभावका रूपमा विद्यमान व्यक्तिको दाहादि अवस्था उद्दीपन विभाव हो। दैवनिन्दा, भूपतन, क्रन्दन, वैवर्ण्य, उच्छ्वास, निःश्वास, स्तम्भ, प्रलय आदि यसका अनुभाव हुन्। निर्वेद, मोह, अपस्मार, व्याधि, ग्लानि, स्मृति, श्रम, विषाद, जडता, उन्माद, चिन्ता आदि यसका व्यभिचारी भाव हुन्।[17]
कादम्बरीमा करुण अङ्ग रसका रूपमा विद्यमान छ। यस काव्यका केही स्थलहरूमा यसको सत्ता अनुभूत हुन्छ। जति ठाउँमा करुण छ, त्यहाँ तीव्र अनुभूतिका साथ अभिव्यक्त भएको देखिन्छ। पुण्डरीकको मृत्युदेखि कुनै दिव्य पुरुषले महाश्वेतालाई पुनर्मिलन हुने भएकाले धैर्य गर्न दिएको आश्वासनसम्मका समयावधिमा महाश्वेताका हृदयमा पुण्डरीकलाई विषय बनाई उद्वेलित भएको चरम शोक यस काव्यमा अभिव्यक्त करुण रसको उल्लेखनीय रूप हो। पुण्डरीकको मृत्युदेखि दिव्य पुरुषको आश्वासनसम्म महाश्वेताका हृदयमा पुण्डरीकविषयक शोक थियो तर दिव्य पुरुषका आश्वासनपछि पुनर्मिलनको आशा पलाएसँगै त्यही शोकले करुणविप्रलम्भात्मक रतिको रूप लिएको छ। रस अर्थात् स्थायी भाव अनुभूतिसापेक्ष हुने हुनाले पुण्डरीकका मृत्युले महाश्वेताका हृदयमा निरपेक्ष वियोग वा शोकको अनुभूति थियो र त्यस बखत करुणरसको सत्ता रह्यो तर जब दिव्य पुरुषबाट महाश्वेताले आश्वासन पाई, तब उसका हृदयमा निरपेक्ष वियोग वा शोक होइन, सापेक्ष वियोगको जन्म भयो। यसरी पुण्डरीकसँग पुनः भेट हुने रहेछ, यो वियोग खास समयावधिका लागि मात्र हो भन्ने अनुभूति महाश्वेताका हृदयमा उब्जिनेबित्तिकै त्यो शोक नभएर विप्रलम्भात्मक रति बन्न पुग्यो। यसरी करुण रस अन्ततः करुण विप्रलम्भका रूपमा परिणत भएको देखिन्छ।
कादम्बरीमा विद्यमान करुण रसको उदाहरणस्वरूप एक गद्यांश उद्धृत गरौँ :
हे जीवनाश्रय ! बताऊ, मलाई एक्लै र आश्रयहीन छोडेर कहाँ जान्छौ ? तिम्रा निम्ति मैले कस्तो अवस्था भोगेँ, तरलिकालाई सोध। तिम्रा प्रतीक्षामा बिताएको एक दिन पनि मेरा निम्ति हजारौँ युगजस्तो भयो। त्यस्तो दिनलाई दुःखले व्यतीत गरेकी छु। प्रसन्न बन। एकपटक त बोलिदेऊ। म तिम्रो भक्त हुँ नि, भक्तप्रति वात्सल्य देखाऊ। थोरै भए पनि हेर र मेरो मनोरथलाई पूरा गरिदेऊ। म आर्त बनेकी छु, भक्त हुँ, अनुरक्त पनि छु, आज अनाथ बनेकी छु, अबोध बालिका हुँ, गतिहीन बनेकी छु, दुःखित छु, शरणहीन बनेकी छु, कामपीडित छु; यस्तो अवस्था देखेर पनि किन दया गर्दैनौ हँ ? [नेपाली अनुवादक स्वयम् लेखक][18]।
यस गद्यांशमा पुण्डरीकको शवलाई देखेर महाश्वेताले गरेका विलापको वर्णन छ। यसबखत महाश्वेताले दिव्य पुरुषबाट पुनर्मिलनको आश्वासन पाएकी छैन। त्यसैले उसका हृदयमा शोक छ। अब पुण्डरीक फर्किएर आउँदैन, सधैँका लागि वियोग भएको हो भन्ने निरपेक्ष वियोगानुभूतिरूप शोक यसमा तीव्रतया अभिव्यक्त हुन्छ। त्यही शोकले अनुभूतिका दृष्टिले चरम र उच्च रूप लिएकाले यहाँ करुण रसको सत्ता स्पष्टतः देखिन्छ। पुण्डरीकविषयक महाश्वेताहृदयनिष्ठ शोक यहाँको स्थायी भाव हो। मृत्युपछि शवका रूपमा परिणत पुण्डरीक नै यहाँ विद्यमान शोकको आलम्बन विभाव हो। पुण्डरीकका शवको निश्चेष्ट रूप, बन्द आँखा, बोलीरहित मुख, कपिञ्जलको रोदन, तरलिकाको धूमिल अनुहार आदि यहाँका उद्दीपन विभाव हुन्। महाश्वेताको चित्कारात्मक रोदन अर्थात् शोकपूर्ण अभिव्यक्ति, महाश्वेताका आँखाबाट आँसु बग्नु, महाश्वेताका शोकाभिभूत शरीरका अनेक क्रियाकलाप आदि यहाँका अनुभाव हुन्। यसै गरी दीनता, मोह, विषाद, उन्माद आदि व्यभिचारी यहाँ अनुभूत हुन्छन्।
यस काव्यमा चन्द्रापीडका मृत्युदेखि कादम्बरीलाई आकाशवाणीबाट प्राप्त पुनर्मिलनको आश्वासनसम्मका समयावधिमा कादम्बरीका हृदयमा उत्पन्न चन्द्रापीडविषयक शोकले चरम अनुभूतिको विषय बनी करुण रसको रूप लिएको देखिन्छ। उदाहरणका रूपमा एक गद्यांश हेरौँ :
यस समयमा मेरा निम्ति मरण नै जीवन हो र जीवन नै मरण हो। त्यस कारण मप्रति तिम्रो स्नेह छ भने अथवा मेरो कल्याण गर्न चाहन्छ्यौ भने मप्रति स्नेहवती मेरी प्रियसखी (तिमी)ले त्यस्तो अवस्था सिर्जना गरिदिनू, जसले गर्दा मेरा पिता र माताले मेरा शोकले देहत्याग नगरुन्, मबाट अपेक्षित इच्छालाई मेरा पितामाताले तिमीबाट पूरा गरुन्, परलोक गएकी मलाई जलाञ्जलि दिने पुत्र तिमीबाट पैदा होओस्। जसो गर्दा मेरा सखीजनहरू तथा परिजनहरू मविनाको शून्य घरलाई देखेर कतै दूरदेशतर्फ लाग्दैनन्, त्यसै गरिदिनू। भवनका आँगनमा मैले पुत्रका रूपमा हुर्काएको जुन आँपको बिरुवा छ, त्यसलाई मैले सोचेकै माधवीलताका साथ विवाह गराइदिनू। मेरा चरणतलद्वारा लालित अशोकवृक्षको पालुवा कर्णपूरका लागि भनेर पनि नटिपिदिनू [नेपाली अनुवादक स्वयम् लेखक][19]।
यो गद्यांश प्रेमी चन्द्रापीडको मृत्युपछि एउटै चितामा होमिएर सँगै देहत्याग गर्ने योजना बनाएकी कादम्बरीले आफ्नी प्रियसखी एवम् ताम्बूलकरङ्कवाहिनी तमालिकालाई आफ्नो देहत्यागपछि के-के गर्ने भनेर दिएको निर्देशनका सन्दर्भमा आएको छ। यसमा कादम्बरीहृदयनिष्ठ चन्द्रापीडविषयक शोकको परिपाकपूर्ण अभिव्यक्ति भएकाले करुण रस तीव्रतम रूपमा अनुभूत हुन्छ। कादम्बरीका अगाडि विद्यमान शवरूप चन्द्रापीड यहाँको आलम्बन विभाव हो। त्यहाँको शोकमय वातावरण, चन्द्रापीडको निश्चेष्टता आदि यहाँका उद्दीपन विभाव हुन्। कादम्बरीले शोकले परिप्लुत बनेर तमालिकाका सामु जुन बोलिरहेकी छ, त्यो अनुभाव हो। शोकपीडित बनेका अवस्थामा कादम्बरीका मुहारमा देखिएको फिकापन, शरीरको थर्थराहट आदि पनि अनुभावका रूपमा शब्दतः नआए पनि कल्पना गर्न सकिन्छ। निर्वेद, ग्लानि, धृति, विषाद, जडता, उन्माद, चिन्ता आदि यहाँ व्यभिचारी भावका रूपमा देखिन्छन्।
रौद्र
रौद्र रसको स्थायी भाव क्रोध हो। यो रातो वर्णको हुन्छ। यसको अधिदेवता रुद्र हो। शत्रु आलम्बन विभाव हो। शत्रुका चेष्टाहरू उद्दीपन विभाव हुन्। मुष्टिप्रहार, पातन, विकृतच्छेद, विदारण, सम्भ्रम, व्यग्रता आदि यसका उद्दीपन विभाव हुन्। यसका अनुभावमा आँखीभौँ टेढो पार्नु, रिसका आवेगमा ओठ टोक्नु, हात बजार्नु, चोरी औँला उठाएर हप्काउनु, आत्मप्रशंसा गर्नु, शस्त्रप्रहार गर्नु, तिरस्कार गर्नु, क्रूर दृष्टिले हेर्नु आदि पर्दछन्। उग्रता, आवेग, रोमाञ्च, स्वेद, वेपथु, मोह, मद, अमर्ष आदि यसका व्यभिचारी भाव हुन्।[20]
कादम्बरीमा रौद्र रसको स्थिति अङ्ग रसका रूपमा रहेको छ। यस काव्यका ज्यादै थोरै प्रसङ्गहरूमा रौद्र रस अनुभूत हुन्छ। महाश्वेता र शुकनासपुत्र वैशम्पायनका बिचको अन्तःसम्बन्धका सन्दर्भमा देखिएको रौद्र रसका सत्तालाई उदाहरणका रूपमा यहाँ प्रस्तुत गरौँ :
हे पापी ! मसँग यस्ता कुरा बोल्दा बोल्दै तिम्रा शिरमा किन वज्र नबज्रिएको होला ? किन जिब्रो हजारौँ टुक्रामा नटुक्रिएको होला ? वाणी विह्वल किन नबनेको होला ? अक्षरहरू नष्ट किन नभएका होलान् ? मलाई लाग्छ कि तिम्रा यस शरीरमा सम्पूर्ण लोकको शुभ या अशुभका साक्षीभूत पञ्चमहाभूत सायद छैनन् होला किनकि यस्ता दुर्वचन बोल्दाखेरि तिमीलाई न अग्निले भस्मसात् गर्यो, न त वायुले नै उडायो, न पानीले बगायो, न त धर्तीले रसातलमा पुर्यायो, न त तत्कालै आकाशले विलीन गरायो।[21] [नेपाली अनुवादक स्वयम् लेखक]
यो गद्यांश शिवालयमा पुण्डरीकका प्रतीक्षामा शिवोपासना गर्दै बसेकी महाश्वेताले बारबार आएर प्रेमप्रस्ताव राख्ने वैशम्पायनलाई क्रोधाभिभूत भई बोलेको बोली हो। यसमा वैशम्पायनलाई विषय बनाई महाश्वेताका हृदयमा उत्पन्न क्रोध स्थायी भाव हो। यही क्रोध परिपाक पाएर रौद्र रसका रूपमा परिणत भएको छ। यहाँ आलम्बनविभाव पुण्डरीक हो। बारबार प्रेमप्रस्तावको सुगारटान गर्दै वैशम्पायन उपस्थित हुनु यहाँको उद्दीपन विभाव हो। महाश्वेताका मुखमा रिसले देखा परेको क्रोधजन्य भौतिक प्रतिक्रिया अनुभाव हो भने उग्रता, आवेग, वेपथु, अमर्ष आदि यहाँका व्यभिचारी भाव हुन्।
वीररस
वीर रसको स्थायी भाव उत्साह हो। उत्तम प्रकृतिका पात्रमा यो आश्रित हुन्छ। स्वर्णवर्ण भएको यस रसको देवता महेन्द्र हो। विजेतव्य शत्रु आदि यसको आलम्बन विभाव हो। आलम्बन विभावका रूपमा रहेका विजेतव्य व्यक्तिका चेष्टा आदि यसका उद्दीपन विभाव हुन्। विजेतव्य व्यक्तिमाथि विजय हासिल गर्नका लागि युद्धसामग्री वा अन्य सहयोगीको अन्वेषण आदि यसका अनुभाव हुन्। धृति, मति, गर्व, स्मृति, रोमाञ्च आदि नै यसका व्यभिचारी भाव हुन्। दानवीर, धर्मवीर, युद्धवीर र दयावीर गरी वीर रस चार प्रकारको हुन्छ।[22]
कादम्बरीमा वीर रसको निकै प्रभावकारी उपस्थिति देखिन्छ। वीर रस विशेषतः शूद्रकवर्णन र चन्द्रापीडको दिग्विजययात्राका वर्णनका प्रसङ्गमा उल्लेखनीय देखिन्छ। उदाहरणका लागि एक गद्यांश हेरौँ :
ऊषाकालमा उठेर उही रीतले अविश्रान्त प्रयाण गर्दै प्रत्येक दिन बढ्दो क्रममा रहेका सैनिक समुदायद्वारा धर्तीलाई जर्जर बनाउँदै, पर्वतहरूलाई कम्पायमान गराउँदै, नदीहरूलाई छचल्काउँदै, तलाउहरूलाई जलहीन तुल्याउँदै, जङ्गलहरूलाई चूर्णचूर्ण पार्दै, विषमस्थलहरूलाई समतल बनाउँदै, दुर्गहरूलाई दलन गर्दै, निम्नस्थलहरूलाई पुर्दै र उच्चस्थलहरूलाई निम्नीकृत गर्दै प्रस्थान गर्यो।[23] [नेपाली अनुवादक स्वयम् लेखक]
यो चन्द्रापीडको दिग्विजययात्राको वर्णन हो। यहाँ चन्द्रापीडको उत्साह चरम परिपाकका साथ वीर रसका रूपमा अभिव्यक्त भएको छ। परिपाक पाएको उत्साह युद्धसँग सम्बन्धित भएकाले यहाँ युद्धवीर रसको अभिव्यञ्जना स्पष्ट छ। दिग्विजययात्राका प्रतिवादमा उपस्थित हुने सम्भावित वीर शत्रुहरू यहाँ आलम्बन विभाव हुन्। वीरतामय परिवेश तथा वीर शत्रुका क्रियाप्रतिक्रियालाई आक्षिप्त रूपमा यहाँ उद्दीपन विभाव मान्न सकिन्छ। यस गद्यांशमा शब्दतः वर्णन भएका चन्द्रापीड र उसका नेतृत्वमा अवस्थित सेनाहरूका गतिविधिहरू अनुभाव हुन्। हर्ष, आवेग, औत्सुक्य, प्रबोध, अमर्ष, उग्रता, मति आदि यहाँ व्यभिचारी भावका रूपमा अभिव्यञ्जित छन्।
भयानक
भयानक रसको स्थायी भाव भय हो। यो भूताधिदैवत रस हो। स्त्री तथा नीच प्रकृतिका पात्रमा यसले आश्रय पाउँछ। शास्त्रविद्हरूले यसको वर्ण कृष्ण हो भनी बताएका छन्। जेबाट भय उत्पत्ति हुन्छ अर्थात् जेबाट डर लाग्छ, त्यो नै भयानक रसको आलम्बन विभाव हो। आलम्बन विभावका रूपमा रहेका भीतिप्रद वस्तुका घोर चेष्टाहरू उद्दीपन विभाव हुन्। वैवर्ण्य, गद्गद स्वरमा बोल्नु, प्रलय, स्वेद, रोमाञ्च, कम्प, दिक्प्रेक्षण आदि यसका अनुभाव हुन्। यसका व्यभिचारी भावमा जुगुप्सा, आवेग, सन्त्रास, ग्लानि, दीनता, शङ्का, अपस्मार, सम्भ्रम, मरण आदि पर्दछन्।[24]
कादम्बरीमा भयानक रसको घनीभूत सत्ता छ। विभिन्न सन्दर्भहरूमा बारबार भयानक रसको अनुभूति हुन्छ यस काव्यमा। उदाहरण हेरौँ :
त्यहाँ जङ्गलका एकभागबाट हाम्रा सामु एक शबरसैन्यको समूह देखा पर्यो। त्यो सैन्यसमूह देख्दा लाग्थ्यो कि यो अर्जुनका हातबाट हजारौँ हजार भागमा टुक्रिएको नर्मदाप्रवाह हो, हावाले हल्लाएको तमालवन हो, एकत्रित भएको कालरात्रीको प्रहरसमूह हो, भूकम्प आएर धर्तीभित्रबाट बाहिर निस्किएको अञ्जनशिलास्तम्भहरूको समूह हो, सूर्यकिरणका कारण व्याकुल बनेको अन्धकारपुञ्ज हो, भ्रमणमा निस्किएको यमराजको परिवार हो, रसतलबाट धर्ती फोरेर निस्किएको दानववर्ग हो, एकै ठाउँमा भेला भएको अशुभकर्मको समूह हो, दण्डकारण्यका विभिन्न ठाउँमा बसेका मुनिजनहरूको डुलन्ते शापसमूह हो, निरन्तर बाणवर्षा गरी रामले मारेका एवम् रामप्रति दुराग्रहका कारण पिशाच बनेका खर र दूषणको सेनासमूह हो, एकत्रित बनेको कलियुगको बन्धुवर्ग हो, आहाल बस्न हिँडेको वनभैँसीको समूह हो, पर्वतका टाकुरामा बसेका सिंहले आफ्नै नङ्ग्राले पक्रिएर तान्दा झरेर फुटी छरिएको कालो मेघसमूह हो एवम् सम्पूर्ण मृगादि वन्यपशुको विनाशका लागि उत्पन्न भएको धूमकेतुको समूह हो। त्यस सैन्यसमूहले सम्पूर्ण जङ्गललाई नै अन्धकारित बनाएको थियो। त्यो सैन्यसमूह हजारौँ हजार सङ्ख्यामा थियो साथै ज्यादै भयजनक थियो। त्यो शबरसैन्यसमूह त्यस्तो थियो, मानौँ उत्पातकालसमूह हो [नेपाली अनुवादक स्वयम् लेखक][25]।
यस गद्यांशमा विन्ध्याटवीस्थित पम्पासरोवरका किनारमा विद्यमान शाल्मली वृक्षमा बसोबास गरेको पक्षीवर्गलाई भयभीत तुल्याउँदै त्यस सेरोफेरोमा आइपुगेका शबरसैन्यका स्वरूपको वर्णन छ। त्यस सैन्यसमूहबाट तीव्र भयको सिर्जना भएको हुनाले यहाँ भयानक रस स्पष्टतः अनुभूत हुन्छ। वर्णित सैन्यसमूह नै यहाँका भयानक रसको आलम्बन विभाव हो। त्यसै सैन्यसमूहको राज भएको एवम् सुरक्षाको कुनै उपाय नभएको जङ्गली परिवेश, सैनिकहरूले मच्चाएको भीतिप्रद कोलाहल आदि यहाँका उद्दीपन विभाव हुन्। पक्षीवर्ग डरले कुचुक्क परेर बस्नु, लगलगी काम्नु, डरले लल्याकलुलुक हुनु, भयजन्य चिर्बिराहट पैदा गर्नु आदि यहाँका अनुभाव हुन्। जुगुप्सा, आवेग, सन्त्रास, ग्लानि, दीनता, शङ्का, सम्भ्रम आदि यहाँ व्यभिचारी भावका रूपमा अनुभूत हुन्छन्।
बीभत्स
बीभत्स रसको स्थायी भाव जुगुप्सा हो। यो नीलवर्णवान् हुन्छ एवम् यसको देवता महाकाल हो। दुर्गन्धमय सिनु, रगत एवम् बोसो आदि यसको आलम्बन विभाव हो। त्यस्ता दुर्गन्धित वस्तुहरूमा किरा परेको देखियो भने त्यो उद्दीपन विभाव हो। थुक्नु, मुख अर्कातिर फर्काउनु, घिनले आँखा चिम्रो पार्नु आदि यसका अनुभाव हुन्। यसै गरी मोह, अपस्मार, आवेग, व्याधि, मरण आदि यसका व्यभिचारी भाव हुन्।[26]
यस काव्यमा बीभत्स रसको सत्ता स्वल्पस्थलमा छ तर तीव्र छ। विशेष गरी लक्ष्मीले चाण्डालकन्या बनेर निर्माण गरेको जादूमयी नगरीको वर्णनका प्रसङ्गमा बीभत्स रस अनुभूत हुन्छ। उदाहरणका लागि हेरौँ :
त्यहाँ घना बाँसझाङहरूबाट दुर्गन्धपूर्ण धुवाँ उठेको देखिन्थ्यो। त्यसबाट सहजै अनुमान गर्न सकिन्थ्यो कि बाँसझाङभित्र घरहरू बनाइएका छन्। बाटाहुँदो सर्वत्र कङ्कालहरू छरिएका देखिन्थे। यताउता बाटामा थुपारेका फोहोरका थुप्राहरूमा हड्डी नै हड्डी दृष्टिगोचर हुन्थ्यो। त्यहाँ बनेका झुप्राहरूका आँगनमा मासु, बोसो, रगतले लद्बदिएको हिलो हुन्थ्यो। त्यस ठाउँमा मान्छेको जीवनवृत्ति मूलतः आखेटमूलक थियो। त्यहाँको खाना मांसप्रधान थियो। त्यहाँ अधिकतया बोसाको तेल प्रयोग हुन्थ्यो। कौशेयवस्त्र त्यहाँका बासिन्दाको मूल लुगा थियो। ओछ्यानमा विशेषतः छालाका सामग्री प्रयोग हुन्थे। कुकुर नै उनीहरूको परिवार थियो। त्यहाँ वाहनका रूपमा धवली गाईहरूको प्रयोग हुन्थ्यो। स्त्री र मद्य नै त्यहाँ पुरुषार्थका विषय हुन्थे। देवपूजाको साधन मूलतः पशुरक्त हुन्थ्यो। पशुबलि नै त्यहाँका प्रमुख धार्मिक कृत्यहरू थिए। वस्तुतः त्यस शबरग्रामलाई हेर्दा लाग्थ्यो कि यो नै समस्त नरकहरूको खानी हो, अमङ्गलको मूलथलो हो, श्मशानको आवास हो, पापको सहर हो एवम् कष्टको घर हो। त्यो शबरग्राम सम्झिँदै भयङ्कर, सुन्दै उद्वेगकारी र हेर्दै पापजनक थियो। त्यहाँका मान्छेहरू जन्म र कर्मले नै मलिन थिए। मान्छेभन्दा तिनको हृदय क्रूर थियो, तिनको हृदयभन्दा पनि घृणास्पद थियो त्यहाँका मान्छेको व्यवहार। बालक, युवा र वृद्धका आचार-व्यवहारमा कुनै विशिष्ट पक्ष थिएन, सबै उस्तै थिए। गमनयोग्य र गमनायोग्य भनी स्त्रीभोगमा कुनै भेद त्यहाँ थिएन। त्यो ग्राम अपवित्र कर्मको बजारजस्तो थियो। मैले यस्तै शबरग्रामलाई देखेँ [नेपाली अनुवादक स्वयम् लेखक][27]।
यो शुकद्वारा शूद्रकका सामु प्रस्तुत चाण्डालनगरीको वर्णनका क्रममा आएको गद्यांश हो। यहाँको वर्णनअनुसार चाण्डालनगरी घृणास्पद देखिन्छ। त्यहाँका दृश्यले मानिसका हृदयमा असाध्य जुगुप्सा पैदा गरिदिन्छ। वर्णन सुन्दै वमन होला जस्तो स्थिति सृजना हुन्छ। त्यसैले यहाँ बीभत्स रस परिपाकमा रहेको अनुभूति हुन्छ। जुगुप्सा स्थायी भावलाई त्यहाँका घृणास्पद दृश्यले जागृत गराउने हुनाले त्यो घृणास्पद दृश्य नै यहाँको आलम्बन विभाव हो। घृणा/जुगुप्साका उद्दीपनमा सहयोग गर्ने त्यहाँको समग्र परिवेश उद्दीपन विभाव हो। नाक खुम्च्याउनु, वमन होला झैँ भएर हुक्क हुनु, अनुहार विकृत हुनु आदि आक्षिप्त अनुभाव हुन्। ग्लानि, विषाद आदि यहाँका व्यभिचारी भाव हुन्।
अद्भुत
अद्भुत रसको स्थायी भाव विस्मय हो। यो रस गन्धर्वदैवत मानिन्छ। यसको रङ पहेँलो हुन्छ। अलौकिक वस्तु यसको आलम्बन विभाव हो। त्यस्ता अलौकिक वस्तुरूप आलम्बनका गुणको महिमा उद्दीपन विभाव हो। स्तम्भ, स्वेद, रोमाञ्च, गद्गद स्वर, सम्भ्रम, नेत्रविकास आदि यसका अनुभाव हुन्। वितर्क, आवेग, सम्भ्रम, हर्ष आदि यस रसका व्यभिचारी भाव हुन्।[28]
कादम्बरीमा अद्भुत रस व्यापक रूपमा रहेको छ। वास्तवमा अद्भुतमय देखिन्छ कादम्बरी। शूद्रकका सामु सुगाले सुसंस्कृत मानवीय बोलीमा राजाको स्तुति गर्नु, जन्मजन्मान्तर प्रेमप्रतीक्षा रहनु, दिव्यपुरुषले भविष्यवाणी गर्नु, जाबालिले करामलकवत् त्रिकालदर्शन गर्नु, श्वेतकेतु र लक्ष्मीको अमैथुनिक सृष्टिस्वरूप पुण्डरीक जन्मिनु, मानिस घोडा र हात्ती बन्नु, मृत्युका वर्षौं वर्षपछि पुण्डरीक र चन्द्रापीडले पुनर्जीवन पाउनु, चाण्डालनगरी बिजुलीसरह देखापर्नु एवम् बिजुलीसरह हराउनु जस्ता आद्भुतिक सन्दर्भहरू यस काव्यमा प्रशस्त रहेका देखिन्छन्। उदाहरणका लागि एक गद्यांशलाई उठाएर हेरौँ :
यसरी नै समय बित्दै गयो। म क्रमशः तरुण बन्दै गएँ। एकदिन धर्तीमा उज्यालो झर्दै गर्दाको कुरा हो, यसो बिउँझिएर हेर्दा मैले आफूलाई सुनका पिञ्जराभित्र पाएँ। चाण्डालकन्यालाई पनि जस्ती देखेँ, त्यही रूपमा तपाईंले पनि अहिले देखिहाल्नुभयो। त्यो सबै चाण्डालग्रामलाई पनि स्वर्गनगरीजस्तो सुन्दर देखेँ। यसले मेरा मनमा विद्यमान चाण्डालगृह बस्नुपर्दाको पीडा हरायो। म आश्चर्यचकित भएँ। यो के हो भनेर सोध्न मन लाग्यो। त्यसैले यतिन्जेल मौन बसे पनि अब मौनता भङ्ग गरेर सोध्न लाग्दा यी चाण्डालकन्या मलाई लिएर तपाईंका समक्ष आइहालिन्। त्यसैले यी चाण्डालकन्या वास्तवमा को हुन्, किन यिनी चाण्डालकन्याका रूपमा देखा परेकी हुन्, म किन पञ्जरबद्ध भएँ, म किन यहाँ ल्याइएँ; यी सबै कुरामा तपाईंका झैँ मेरा पनि मनमा जिज्ञासा छ, कुतूहल छ [नेपाली अनुवादक स्वयम् लेखक][29]।
यो शुकवचन हो। निद्रापूर्व बीभत्स रहेको चाण्डालनगरी बिउँझिएर हेर्दा अकस्मात् सौन्दर्यमय देखियो भनी सुगाले शूद्रकलाई सुनाउने क्रममा आएको गद्यांश हो यो। त्यसरी अकस्मात् परिवर्तन भएको नगरीलाई आलम्बन बनाएर यहाँ अद्भुत रस पैदा भएको देखिन्छ। यावत् परिवर्तित परिदृश्य उद्दीपन विभाव हो। आश्चर्यले आँखा फार्नु, ट्वाल्ल पर्नु आदिलाई यहाँ अनुभावका रूपमा आक्षिप्त गर्न सकिन्छ। यसै गरी यहाँका व्यभिचारी भावहरू शङ्का, हर्ष, सम्भ्रम, आवेग आदि हुन्।
शान्त
शान्त रसको स्थायी भाव शम हो। उत्तम प्रकृतिका पात्रलाई आश्रय बनाई यसको उद्भव हुन्छ। कुन्दपुष्प तथा चन्द्रमाको जस्तो सुन्दर कान्ति नै यसको वर्ण हो। नारायण यस रसको देवता हो। अनित्यता वा दुखमयताका कारण सबै सांसारिक विषयहरू निःसार छन् भन्ने ज्ञान अथवा सबै सांसारिक वस्तुमा नारायणका स्वरूपको दर्शन यसको आलम्बन विभाव हो। यसका उद्दीपन विभावहरू पुण्य आश्रम, हरिक्षेत्र, तीर्थस्थल, सुन्दर वन, महापुरुषसङ्गति आदि हुन्। यसका अनुभावमा रोमाञ्च आदि पर्दछन्। निर्वेद, हर्ष, स्मरण, मति, भूतदया आदि यस रसका व्यभिचारी भाव हुन्।[30]
जाबालि मुनि दयारूपी रसका प्रवाह हुन्, संसाररूपी सागर तर्ने साँघु हुन्, क्षमारूपी जलका आधार हुन्, तृष्णालताका वनलाई विनाश गर्ने बन्चरो हुन्, सन्तोषरूपी अमृतरसका सागर हुन्, सिद्धिमार्गका उपदेष्टा हुन्, असद्ग्रहका अस्ताचल हुन्, शान्तिरूपी वृक्षका मूल हुन्, प्रज्ञाचक्रका नाभि हुन्, धर्मको पताका फहराइरहेका महल हुन्, सम्पूर्ण विद्याको अवतरण भएका तीर्थ हुन्, लोभसमुद्रका वडवानल हुन्, शास्त्ररूपी रत्नका कसी हुन्, रागरूपी पालुवाका लागि डढेलो हुन्, क्रोधरूपी सर्पका लागि महामन्त्र हुन्, मोहरूपी अन्धकारलाई ध्वंश गर्ने सूर्य हुन्, नरकका द्वारलाई बन्द गर्ने आग्लो हुन्, आचारका कुलभवन हुन्, मङ्गल आचरणका घर हुन्, मदविकारका अपात्र हुन्, सन्मार्गका प्रदर्शक हुन्, साधुताका स्रोत हुन्, उत्साहचक्रका नेमि हुन्, सत्त्व गुणका आश्रय हुन्, कलिकालका शत्रु हुन्, तपस्याका खानी हुन्, सत्यका साथी हुन्, सरलताका क्षेत्र हुन्, पुण्यसञ्चयका उत्पत्तिस्थल हुन्, मात्सर्यले ठाउँ नै नपाएका व्यक्ति हुन्, विपत्तिका रिपु हुन्, पराभव/तिरस्कारका अभूमि हुन्, अभिमानका अननुकूल योगी हुन्, दीनताका असम्मत हुन्, रोषका अनायत्त हुन् एवम् सुखप्रति अनभिमुख महापुरुष हुन् [नेपाली अनुवादक स्वयम् लेखक][31]।
यस गद्याांशमा शम स्थायी भावको परिपाकस्वरूप शान्तरसको अभिव्यक्ति बडो बेजोड अनुभूत हुन्छ। यहाँ आलम्बन विभावका रूपमा जाबालि रहेका छन्। जाबालिको ज्ञानमय तथा आश्रमको सत्त्वगुणात्मक परिवेश उद्दीपन विभाव हो। आनन्दजन्य रोमाञ्च, आँखा चिम्म गर्नु, भावगम्भीर र स्मेरमुख अनुहार बनाउनु आदिलाई यहाँका अनुभावका रूपमा ग्रहण गर्न सकिन्छ। हर्ष, मति, दया आदि यहाँका व्यभिचारी भाव हुन्।
वत्सल
स्फुटतः चामत्कारिक अनुभूति हुने भएकाले वत्सललाई पनि रसका रूपमा स्वीकार गरिएको छ। वात्सल्यस्नेह यसको स्थायी भाव हो। पुत्रादि यसको आलम्बन विभाव हो। पुत्रादि आलम्बनका खेलकुदका चेष्टा, विद्या, शौर्य, दया आदि उद्दीपन विभाव हुन्। यसका अनुभावका रूपमा आलिङ्गन, अङ्गस्पर्श, शिरचुम्बन, ईक्षण, पुलक, आनन्दवाष्प आदि प्रसिद्ध छन्। अनिष्टशङ्का, हर्ष, गर्व आदि यसका व्यभिचारी भाव हुन्। कमलका गुबाको जस्तो वर्ण हुन्छ, त्यही नै यसको वर्ण हो। लोकमाताहरू यसका देवता हुन्।[32]
विलासवती हठात् उठिन्। उनका समीपमा सेवकहरू थिए, जो आज्ञा पाउनेबित्तिकै काम पूरा गरिहाल्थे। तर उनी आफैँ तल ओर्लिन् पुत्रप्रति स्नेह प्रकट गर्न। उनका स्तनबाट दूध बग्न थाल्यो, मानौँ पुत्रस्नेहले उनको हृदय पग्लिएर बाहिर निस्किरहेको छ। उनले मनमनमा पुत्रप्रति सयौँ सयौँ कल्याणको कामना गरिन् र पुत्रका शिरलाई घ्राण गरिन्, अनि उनले निकैबेर आलिङ्गनमा बाँधिन् चन्द्रापीडलाई। त्यसपछि उनी वैशम्पायनलाई पनि यथोचित स्नेह प्रकट गर्दै आलिङ्गन गरेर आसनमा बसिन्। यस समय चन्द्रापीड पनि विनय प्रकट गर्दै भुईंमै बस्यो तर उनले छोरालाई आफूतिर तानिन्। विनयभाव प्रकट गर्दै चन्द्रापीड मान्दै थिएन तर उनले बलात् काखमा बसाइन्। यस समय सेवकहरूले हस्याङफस्याङ गर्दै ल्याएका एक आसन्दिकामा वैशम्पायन पनि बस्यो। विलासवतीले पुनः चन्द्रापीडलाई आलिङ्गन गरिन् एवम् निधार, छाती र हातमा स्पर्श गरेर भनिन्, “वत्स ! तिम्रा पिताजी अत्यन्त कठोरहृदयी हुनुहुन्छ किनकि उहाँले तिम्रा यस्तो त्रिभुवनलालनीय आकृतिलाई यति लामो समयतक क्लेश भोगाइदिनुभयो। यति लम्बायमान गुरुयन्त्रणालाई तिमीले कसरी सहन गर्यौ ? अहो ! तिमी बालक छौँ तर परिपक्व व्यक्तिकै झैँ धैर्य छ तिम्रो। अहो ! तिम्रा हृदयले शैशवकालीन क्रीडा र चुल्बुलेपनलाई भोग्न पाएन। अहो ! गुरुजनप्रति तिम्रो कति असाधारण भक्ति ! पिताका प्रसादले जसरी समस्त विद्याको अध्ययन गरी विद्वान् बनेका तिमीलाई देख्ने अवसर मिलेको छ, त्यसै गरी अब छिटै नै अनुरूप वधूहरूका साथमा तिमीलाई देख्ने सुयोग मिलोस्।” आमा विलासवतीले यसो भन्दै गर्दा चन्द्रापीडलाई केही लज्जाको अनुभूति भयो। ऊ त्यसै अनुभूतिका साथ मुस्काउँदै अवनत बन्यो। त्यसै खेर विलासवतीले पुत्र चन्द्रापीडका कपोलस्थलमा चुम्बन गरिन्। त्यसबखत चन्द्रापीडका कपोलस्थलमा विलासवतीको मुखमण्डल प्रतिबिम्बित बनेको थियो। त्यो मुखमण्डल चन्द्रापीडले कानमा सिउरिएको फक्रिएको कमलको फूलजस्तो देखिन्थ्यो। [नेपाली अनुवादक स्वयम् लेखक][33]।
यो गद्यांश गुरुकुलको अध्ययन सकेर दरबारमा फर्किएको आफ्नो पुत्र चन्द्रापीडप्रति विलासवतीले देखाएको चरम स्नेहको वर्णनका प्रसङ्गमा रहेको छ। यसमा माता विलासवतीका हृदयमा विद्यमान पुत्र चन्द्रापीडविषयक वात्सल्य स्थायी भावका रूपमा देखिन्छ एवम् सो वात्सल्य नै चरम परिपाकका साथ अनुभूतिविषय बनी वत्सल रसका रूपमा परिणत भएको छ। यहाँ चन्द्रापीड नै आलम्बन विभाव हो। पुत्रस्नेहका कारण स्तनबाट दुध बग्नु, भुइँमा बसेका चन्द्रापीडलाई तानेर काखैमा राख्नु, छोरालाई अँगालो हाल्नु आदि यहाँका अनुभाव हुन्। यसै गरी हर्ष, आवेग, स्मरण आदि यहाँ व्यभिचारी भावका रूपमा रहेका छन्।
भावाभिव्यञ्जना
देवादिविषयक रति एवम् व्यञ्जित व्यभिचारी भावलाई भाव भनिन्छ[34] भनेर मम्मटले भावको परिभाषा दिएका छन्। यहाँ देवादि भन्नाले देव, मुनि, गुरु, नृप, पुत्र इत्यादिको बोध हुन्छ। विश्वनाथले चाहिँ प्रधान रूपमा व्यञ्जित व्यभिचारी भाव, देवादिविषयक रति र उद्बुद्धमात्र स्थायी भावलाई पनि भावका रूपमा ग्रहण गरेका छन्।[35] कादम्बरीमा भावको अभिव्यक्ति प्रचुरमात्रामा देखिन्छ। यही देवादिविषयक रतिको एक उदाहरण प्रस्तुत गरौँ :
त्यसपछि देवताका आराधनामा, ब्राह्मणका पूजामा एवम् गुरुजनका सपर्यामा विलासवती ज्यादै नै आदरवती बनिन्। जहाँजहाँबाट जेजे सुनिन्, गर्भका इच्छाले त्योत्यो सबै नै गरिन्। उनले त्यस समय ठुल्ठुला क्लेशलाई पनि वास्ता गरिनन्। अनवरत दह्यमान गुग्गुलुधूपका कारण अन्धकारमय बनेका चण्डिकामन्दिरहरूमा उनले सेतो वस्त्र धारण गरेर उपवास बस्दै हरियो कुशले ढाकेका मुसलशयनहरूमा सुतिन्। पवित्र जलले भरिएका, विभिन्न फल र फूलले युक्त, दुधे वृक्षका पालुवाले चिह्नित एवम् भित्रपट्टि सबै प्रकारका रत्नहरू राखिएका स्वर्णकुम्भहरूबाट गोकुलहरूमा वृद्ध गोपवनिताद्वारा मङ्गलात्मक सिँगारपटार गरेका लक्षणसम्पन्न गाईका मुनि बसेर स्नान गरिन्। प्रतिदिन बिहान उठेर सबै प्रकारका रत्नले युक्त सुनका तैलपात्रहरू ब्राह्मणलाई दान गरिन्। विश्वास गरिएका मातृभवनहरूमा गइन्। प्रसिद्ध नागह्रदहरूमा गएर स्नान गरिन् [नेपाली अनुवादक स्वयम् लेखक][36]।
रसाभासको अभिव्यञ्जना
रस यदि तिर्यग्गत भयो भने, अनुचितविषयक भयो भने एवम् एकतर्फी भयो भने त्यही रसलाई रसाभास भनिन्छ। एकतर्फीको सन्दर्भ शृङ्गारमा लागु हुन्छ, अरूमा लागु हुँदैन। रसजत्तिकै रसनीय बन्ने हुनाले रसाभासलाई पनि रसकै दर्जामा गणना गरिन्छ। कादम्बरीमा रसाभासको अस्तित्व विविध प्रसङ्गमा देखिन्छ। एउटा उदाहरण हेरौँ :
त्यहाँ विनाशकारी उपद्रव मच्चियो, त्यो पनि अचानक। उपद्रव असामान्य थियो। प्रतीकार गर्न सकिने नै थिएन त्यो। यस्तो उपद्रवलाई आफ्ना सामुन्नेमा देखेर मेरा पिताजी भयभीत हुनुभयो। उहाँको शरीर वार्धक्यले यसै कम्पायमान थियो, अझ यस वेला कम्पन दुईगुना भयो। मरणका भयले उहाँका आँखाका नानीहरू यता र उता नाच्न थाले। विषादका कारण शून्य शून्यझैँ दृष्टि भयो। आँखामा आँसु टल्पलायो। यस्तै अवस्थामा उहाँले आफ्ना आँखालाई यता र उता घुमाउन थाल्नुभयो। तालु सुक्यो। प्रतीकार गर्ने कुनै क्षमता थिएन वार्धक्यका कारण। डरले पखेटाका जोड्नीहरू पनि लल्याकलुलुक भए, फट्फटाउन पनि गाह्रो भयो। त्यसो भए पनि पखेटाले मलाई छ्याप्प छोप्नुभयो। त्यसभन्दा गतिलो प्रतीकार के हुन सक्थ्यो र ? मप्रतिका स्नेहले वशीभूत हुनुहुन्थ्यो उहाँ। उहाँको ध्यान मेरा संरक्षणमा केन्द्रित थियो। यसैका लागि उहाँ आकुल हुनुहुन्थ्यो। यस बखत उहाँ किङ्कर्तव्यविमूढ बन्नुभएको थियो। अरू केही उपाय नभएपछि मलाई काखमा च्यापेर उहाँ व्याकुलताका साथ बस्नुभयो [नेपाली अनुवादक स्वयम् लेखक][37]।
पम्पासरोवरका समीपमा विद्यमान शाल्मली वृक्षमा सिकारीले आक्रमण गर्दाको वर्णन हो यो। मातङ्गजातिको एक बुढो बुढो सिकारी शाल्मलीवृक्षमा चढेर चराहरूलाई मार्दै खसाल्दै गर्ने क्रममा वैशम्पायन शु्कका पिताजीलाई परेको फसादी यहाँ वर्णित छ। वैशम्पायनका पिताजीलाई आफ्ना ज्यानको मायाभन्दा कलिलो छोराको माया छ। अतितीव्र वात्सल्य छ उसको पुत्रविषयक। यसैले ऊ त्यहाँबाट पुत्रलाई यसै छाडेर भाग्दैन। आफू मरे पनि पुत्रलाई जोगाउन सकिएला कि भनेर कलिलो शरीर भएका पुत्रलाई पखेटाभित्र च्यापेर बुढो सुगा बसेको छ। त्यसकारण यस पद्यमा तीव्रतम रूपमा वृद्धशुकका हृदयमा विद्यमान पुत्रविषयक वात्सल्यस्नेह अभिव्यक्त भएर वत्सल रसको रूप लिएको छ। वैशम्पायन नामक शुकशावक यहाँ आलम्बन विभाव हो। वैशम्पायनका थर्थराउँदो शरीर, प्वाँख नपलाएको अवस्था आदि नै उद्दीपन विभाव हुन्। बाबुले पखेटाले बच्चालाई च्याप्नु, आत्तिएर छटपटिनु, कुक्रुक्क परेर बस्नु, डरले आँखालाई यताउता डुलाउनु आदि अनुभाव हुन्। व्यभिचारी भावका रूपमा यहाँ आवेग, भय, स्मरण, दैन्य आदि अनुभूत हुन्छन्।
उपर्युक्त रीतिले सिद्ध भएको वत्सलता तिर्यग्गत भएकाले यो वत्सलरसाभास हो।
भावाभासको अभिव्यञ्जना
त्यस विन्ध्याटवीमा अहिले पनि जानकीले हुर्काएका मृगहरू बस्छन्। तिनलाई वार्धक्यले कब्जामा लिइसकेको छ। तिनका सिङका अग्रभाग जर्जर भइसकेका छन्। ती वृद्ध मृगहरू वर्षायाममा जब मेघको गर्जन सुन्छन्, तब रामको त्रिभुवनव्यापी चापध्वनिलाई सम्झिन्छन्। त्यस स्मृतिले उनीहरूलाई यति आहत तुल्याउँदछ कि उनीहरू खाइरहेको घाँसको गाँस पनि चबाउन छाडिदिन्छन् एवम् टिठ लाग्दा आँखाबाट आँसु झार्छन् [नेपाली अनुवादक स्वयम् लेखक][38]।
यो विन्ध्याटवीका वर्णनप्रसङ्गमा आएको गद्यांश हो। यहाँ मृगहरूको राम र सीताप्रतिको हार्दिक रति अभिव्यक्त छ। तिर्यग्गत भगवद्विषयक रति भएकाले यसलाई भावाभासको उदाहरणका रूपमा ग्रहण गर्न सकिन्छ।
भावोदयादिको अभिव्यञ्जना
भावोदय, भावसन्धि, भावशबलता र भावशान्ति, यी चार तत्त्वलाई भावोदायादि शब्दले प्रतिनिधित्व गर्ने गर्दछ। प्राच्य समालोचनामा यो चलन छ। भावको उदयमात्र भयो एवम् खास परिपाक नपाए पनि त्यो उदयमात्र पनि खास चामत्कारिक आनन्दानुभूतिको विषय बन्यो भने त्यसलाई भावोदय भनिन्छ। दुई भाव देखिए तर ती दुईमध्ये कुनै एकको प्रधानता नछुट्टिएर दुवैको समान सत्ता रह्यो र त्यो समान सत्ता नै सौन्दर्यस्रोत बन्यो भने त्यसलाई भावसन्धि भनिन्छ। यसै गरी धेरैवटा भावहरूको एकै ठाउँमा चामत्कारिक सत्ता भएमा त्यो भावशबलता ठहरिन्छ साथै कुनै भावको शान्ति वा विलय भएको अवस्था सौन्दर्यबोधको विषय बन्यो भने त्यसलाई भावशान्ति भन्ने गरिन्छ। कादम्बरीमा भावोदयप्रभृति यी चार तत्त्वको उपस्थिति उल्लेख्य देखिन्छ। कादम्बरी विराट् काव्य भएकाले भावका अनेक रूप देखिनु स्वाभाविक पनि हो। दृष्टान्तका रूपमा एक गद्यांशलाई उद्धृत गरौँ :
… इत्यादि मेरा विषयमा कुरा सुनेर भगवान् जाबालिका हृदयमा अलिकति कुतूहल पैदा भयो। उहाँले यसो टाउको घुमाएर मलाई हेर्नुभयो, मानौँ – मलाई उहाँले पुण्यजलले स्नान गराइदिनुभयो। उहाँले ज्यादै शान्त दृष्टिले निकै बेर मलाई हेर्नुभयो। उहाँले कुनै पुरानो कुराको स्मृति भएझैँ गर्दै भन्नुभयो, “यो आफ्नै अविनयको फल भोग्दै छ” [नेपाली अनुवादक स्वयम् लेखक][39]।
उपर्युक्त गद्यांशमा जाबालिले वैशम्पायनलाई आफ्ना आश्रममा प्रथमपटक देख्दा उनका मनमस्तिष्कमा सुगाका पूर्ववृत्तान्तका स्मृतिको उदय भएको छ। स्मृति भाव हो अर्थात् व्यभिचारी भाव हो। यहाँ जाबालिलाई भएको जुन स्मृति अभिव्यञ्जित छ, त्यसभित्र सम्पूर्ण कादम्बरीको कथावस्तु अटाएको छ। यहाँको स्मृति ‘गागर मे सागर’ जस्तो हो। त्यसैले यहाँ अभिव्यञ्जित स्मृति समग्र कादम्बरीका निम्ति मूल्यवान् पनि छ। झल्याँस्स जुन स्मृतिको उदय भएको छ, त्यसले यस परिवेशभित्र कुनै परिपाक पाएको छैन, केवल स्मृतिको उदय छ। सूर्यबिम्बको उदय हुनुपूर्व अरुणोदय हुँदा क्षितिज असाध्यै सुन्दर देखिन्छ। धर्तीमा विद्यमान अँध्यारो अरुणोदयमात्रले हराउँदैन। अरुणोदय सूर्यको परिपक्व उदय होइन तर त्यस वेला धर्तीको परिवेश नै सौन्दर्यमय हुन्छ, क्षितिज हेरौँ हेरौँ लाग्ने हुन्छ एवम् त्यही अरुणोदयभित्र सारा दिवसको रहस्य अन्तर्गर्भित हुन्छ । यही हिसाबले यहाँको स्मृति-उदय सौन्दर्यातिशय देखिन्छ। त्यसैले यो गद्यांश भावोदयको उत्कृष्ट उदाहरण हो।
कादम्बरीमा यस्तै प्रकारका भावोदयका उदाहरणहरू प्रशस्त पाइन्छन्। यसै गरी भावसन्धि, भावसन्धि र भावशबलताका पनि स्थितिहरू पनि अहमहमिकया देखिन्छन्।
निष्कर्ष
कादम्बरी संस्कृत साहित्यको एक कायगत र मूल्यगत, दुवै दृष्टिले महान् काव्य हो । बाणभट्ट र पुलिन्दभट्टको संयुक्त सिर्जनाका रूपमा विद्यमान यस काव्यमा सौन्दर्यपक्ष असाध्यै प्रबल रहेको छ। काव्यसौन्दर्यमा पनि अलङ्कारादि कलेवरसौन्दर्यभन्दा आत्मसौन्दर्य बढी मूल्यवान् ठानिन्छ। आत्मसौन्दर्य भनेको मूलतः रस हो। ध्वनिसम्प्रदायमा यसैलाई रसध्वनि भन्ने गरिन्छ। वास्तवमा रस अनुभूतिको विषय हो। रसको शब्दव्याख्येयता एकदम कम हुन्छ। हार्दिक अनुभूतिबाट मात्र रसलाई पर्गेल्न सकिन्छ। यसैले भनिन्छ कि रस अनिर्वचनीय तत्त्व हो। प्रस्तुत काव्यमा रस अर्थात् रसध्वनिको सत्ता अत्यन्त श्लाघनीय र मूल्यवान् अनुभूत हुन्छ। रस शब्दले शृङ्गारादि रसविशेषलाई मात्र जनाउँदैन; यसले शृङ्गारादि रसविशेषलगायत भाव, रसाभास, भावाभास, भावोदय, भावसन्धि, भावशबलता र भावशान्तिजस्ता अनुभूतिमूलक सबै तत्त्वलाई जनाउँछ। यी आस्वादमूलक रसात्मक तत्त्वहरूका सघन सत्ताले कादम्बरी कथाकाव्यका गरिमालाई उच्च बनाएको छ, मूल्यवत्तालाई समुन्नत तुल्याएको छ एवम् सौन्दर्यात्मक काव्यका रूपमा यस काव्यको प्रतिष्ठा निर्माण गरेको छ।
सन्दर्भग्रन्थसूची
धनञ्जयः (सन् १९९४), दशरूपकम् (नवीनसं.), मेरठ : साहित्य भण्डार।
बाणभट्टः (वि.सं. २०४७), कादम्बरी (सप्तमसं.), वाराणसी : चौखम्बा संस्कृत संस्थान।
मम्मटः (सन् २००९), काव्यप्रकाशः (पुनर्मुद्रितसं.), वाराणसी : ज्ञानमण्डल लिमिटेड।
भवभूतिः (सन् २०११), उत्तररामचरितम्, विशाल प्रकाशन।
विश्वनाथः (वि.सं. २०४१), साहित्यदर्पणः (चतुर्थसं.), वाराणसी : चौखम्बा संस्कृत संस्थान।
विश्वेश्वर (सन् २००९), काव्यप्रकाशदीपिका (काव्यप्रकाशीय हिन्दी व्याख्या), वाराणसी : ज्ञानमण्डल लिमिटेड। 34
[1]. एको रसः करुण एव।, उत्तररामचरितनाटकम्, ३/४७।
[2]. तस्मादद्भुतमेवाह कृती नारायणो रसम्।, साहित्यदर्पणः, ३/३ कारिकाभन्दा पछिका वृत्तिमा।
[3]. काव्यप्रकाशः, ४/२९ कारिकाको व्याख्यासन्दर्भमा विश्वेश्वरकृत काव्यप्रदीपिका हिन्दी व्याख्या, पृ. १२०।
[4]. पूर्ववत्।
[5]. पूर्ववत्, पृ. ११८।
[6]. साहित्यदर्पणः, ३/१८३-१८६।
[7]. स च पूर्वरागमानप्रवासकरुणात्मकश्चतुर्धा स्यात्।।, साहित्यदर्पणः, ३/१८७।
[8]. कथितश्चतुर्विधोऽसावानन्तर्यात्तु पूर्वरागादेः ।।, साहित्यदर्पणः, ३/२१३।
[9]. उच्छ्वसितैः सह विस्मृतनिमेषेण किञ्चिदामुकुलितपक्ष्मणा जिह्मिततरलतरतारशारोदरेण दक्षिणेन चक्षुषा सस्पृहमापिबन्तीव, किमपि याचमानेव, ‘त्वदायत्तास्मि’ इति वदन्तीव, अभिमुखं हृदयमर्पयन्तीव, सर्वात्मनानुप्रविशन्तीव, तन्मयतामिव गन्तुमीहमाना, ‘मनोभवाभिभूतां त्रायस्व’ इति शरणमिवोपयान्ती, ‘देही मे हृदयेऽवकाशम्’ इत्यर्थितामिव दर्शयन्ती, ‘हा हा किमिदमसाम्प्रतमतिह्रेपणमकुलकुमारीजनोचितमिदं मया प्रस्तुतम्’ इति जानानामप्यप्रभवन्ती करणानाम्, स्तम्भितेव, लिखितेव, उत्कीर्णेव, संयतेव, मूर्च्छितेव, केनापि विधृतेव, निष्पन्दसकलावयवा, तत्कालाविर्भूतेनावष्टम्भकेन, अकथितशिक्षितेन, अनाख्येयेन, स्वसंवेद्येन केवलम्, न विभाव्यते, किं तद्रूपसम्पदा, किं मनसा, किं मनसिजेन, किमभिनवयौवनेन, किमनुरागेण वा उपदिश्यमाना किमन्येनैव वा केनापि प्रकारेण, अहमपि न जानामि कथं कथमिति तमतिचिरं व्यलोकयम्।, कादम्बरी, पृ. ४२५-४२६ (महाश्वेताद्वारा पुण्डरीकदर्शनको सन्दर्भ)।
[10]. महाश्वेतामुखादनाकृष्टदृष्टिरेव वेपमानाङ्गयष्टिराकुललोचना स्थूलस्थूलं निश्वसती निजशरप्रहारमूर्च्छिता मन्मथेन स्नपितेव स्वेदजलविसरैः, स्वेदजलविसरनिमज्जनभयेन च हस्तावलम्बनमिव याचमाना, साध्वसपरवशा पतामीति लगितुमिव कृतप्रयत्ना प्रसारयामास ताम्बूलगर्भं हस्तपल्लवम्। चन्द्रापीडः … प्रसारितवान् पाणिम्। … तेनानिबद्धलक्ष्यतया शून्यप्रसारितेन, चन्द्रापीडहस्तान्वेषणायेव पुरःप्रवर्त्तितनखांशुनिवहेन, वेपथुवलितवलयावलीवाचालेन सम्भाषणमिव कुर्वता हस्तेन, स्वेदसलिलपातपूर्वकं ‘गृह्यतामयं मन्मथेन दत्तो दासजनः’ इत्यात्मानमिव प्रतिग्राहयन्ती, ‘अद्य प्रभृति भवतो हस्ते वर्तते’ इति जीवितमेव स्थापयन्ती ताम्बूलमदात्। आकर्षन्ती च करकिसलयं भुजलतानुसारेण स्पर्शतृष्णागतमनङ्गशरभिन्नमध्यं हृदयमिव पतितमपि रत्नवलयं नाज्ञासीत्।, कादम्बरी, पृ. ५५८-५६० (कादम्बरीद्वारा ताम्बूलप्रदानको सन्दर्भ)
[11]. … कादम्बर्यां महाश्वेतापुण्डरीकवृत्तान्ते, एष च प्रकारः करुणविप्रलम्भविषयः …।, साहित्यदर्पणः, ३/१९४ कारिकाको
विवृतिभाग।
[12]. यूनोरेकतरस्मिन् गतवति लोकान्तरं पुनर्लभ्ये।
विमनायते यदैकस्ततो भवेत् करुणविप्रलम्भाख्यः।, साहित्यदर्पणः, ३/२०९।
[13]. कादम्बर्यां तु … आकाशसरस्वतीवचनादूर्ध्वं प्रवासशृङ्गार एवेति।, दशरूपकम्, ४/६७ कारिकाको विवृतिभाग।
[14]. साहित्यदर्पणः, २१४-२१६।
[15]. स्थूलस्थूलैः शिराजालकैर्गोधागोधिकाकृकलासकुलैरिव दग्धस्थाण्वाशङ्कया समारूढैर्गवाक्षितेन, अलक्ष्मीसमुत्खातलक्षणस्थानैरिव विस्फोटकव्रणबिन्दुभिः कल्माषितसकलशरीरेण, कर्णावतंससंस्थापितया च चूडया रुद्राक्षमालिकामिव दधानेन, … कुवादिदत्तसिद्धाञ्जनदानस्फुटितैकलोचनतया त्रिकालमितरलोचनाञ्जनदानादरश्लक्ष्णीकृतदारुशलाकेन, … गृहीततुरगब्रह्मचर्यतया अन्यदेशागतोषितासु जरत्प्रव्रजितासु बहुकृत्वः सम्प्रयुक्तस्त्रीवशीकरणचूर्णेन … जरद्द्रविडधार्मिकेणाधिष्ठितां चण्डिकामपश्यत्।, कादम्बरी, पृ. ६४२ (चन्द्रापीडद्वारा चण्डिकामन्दिरको दर्शनसन्दर्भ)।
[16]. परिहासस्तु तस्य नर्मभाषितमाकर्ण्य जगाद– धूर्त ! राजपुत्र ! निपुणेयम्, न त्वयान्येन वा लोलापि प्रतारयिनुं शक्यते। एषापि बुध्यत एवैतावतीर्वक्रोक्तीः, इयमपि जानात्येव परिहासजल्पितानि, अस्या अपि राजकुलसम्पर्कचतुरा मतिः। विरम्यताम्, अभूमिरेषा भुजङ्गभङ्गिभाषितानाम्, इयमेव हि वेत्ति मञ्जुभाषिणी कालञ्च कारणञ्च प्रमाणञ्च विषयञ्च प्रस्तावञ्च कोपप्रसादयोरिति।, कादम्बरी, पृ. ५६३-५६४ (चन्द्रापीडद्वारा चण्डिकामन्दिरको दर्शनसन्दर्भ)।
[17]. साहित्यदर्पणः, ३/२२२-२२५।
[18]. जीवितनिबन्धन ! आचक्ष्व, क्व मामेकाकिनीमशरणामकरुण ! विमुच्य यासि ? पृच्छ तरलिकाम्, त्वत्कृते मया यानुभूतावस्था। युगसहस्रायमाणः कृच्छ्रेण नीतो दिवसः। प्रसीद, सकृदालप, दर्शय भक्तवत्सलताम्। ईषदपि विलोकय, पूरय मे मनोरथम्। आर्तास्मि, भक्तास्मि, अनुरक्तास्मि, अनाथास्मि, बालास्मि, अगतिकास्मि, दुःखितास्मि, अनन्यशरणास्मि, मदनपरिभूतास्मि, किमिति न करोसि दयाम् ?, कादम्बरी, पृ. ४९० (पुण्डरीकको शवलाई लक्ष्य गरेर महाश्वेताको विलापसन्दर्भ)।
[19]. अस्मिन् समये मरणमेव जीवितम्। जीवितं पुनर्मरणम्। तद्यदि ममोपरि स्नेहः, करोषि मत्प्रियं हितं वा, तन्ममोपरि स्नेहाबद्धयापि प्रियसख्या तथा कर्तव्यं यथा न तातोऽम्बा च मच्छोकादात्मानं परित्यजतः। यथा च मयि वाञ्छितं मनोरथं त्वयि पूरयतः। येन परलोकगताया अपि मे जलाञ्जलिदानाय पुत्रकस्त्वयि भविष्यति। यथा च मे सखीजनः परिजनो वा न स्मरति शून्यं वा भवनमालोक्य न दिशो गृह्णाति तथा करिष्यसि। पुत्रकस्य मे भवनाङ्गणे सहकारपोतस्य त्वया मच्चिन्तितयैव माधवीलतया सहोद्वाहमङ्गलं स्वयमेव निर्वर्तनीयम्। मच्चरणतललालितस्याशोकविटपस्य कर्णपूरार्थमपि न पल्लवः खण्डनीयः …।, कादम्बरी उत्तरार्ध, पृ. १३८ (चन्द्रापीडको मृत्युपछि कादम्बरीको विलापसन्दर्भ )।
[20] . साहित्यदर्पणः, ३/२२७-२३१।
[21]. आः पाप, कथमेवं गदतो मामुत्तमङ्गे न निपतितं वज्रमवशीर्णा वा न सहस्रधा जिह्वा, विह्वलतां न गता वा वाणी, नष्टानि वा नाक्षराणि। मन्ये च न सन्त्येव तेऽस्मिञ्छरीरे सकललोकशुभाशुभसाक्षिभूतानि पञ्चमहाभूतानि। येनैवं वदन्नाग्निना भस्मीकृतोऽसि न वायुना हृतोऽसि नाम्भसा प्लावितोऽसि न धरित्र्या रसातलं प्रवेशिताोऽसि नापि तत्क्षणमेवाकाशेनात्मनिर्विशेषतां नीतोऽसि।, कादम्बरी उत्तरार्ध, पृ. १३१ (महाश्वेताको पुण्डरीकविषयक क्रोधको सन्दर्भ)।
[22]. साहित्यदर्पणः, ३/२३२-२३४।
[23]. प्रत्यूषे चोत्थाय तेनैव क्रमेणानवरतप्रयाणकैः प्रतिप्रयाणकमुपचीयमानेन सेनासमुदायेन जर्जरयन् वसुन्धराम्, आकम्पयन् गिरीन्, उत्सिञ्चन् सरितः, रिक्तीकुर्वन् सरांसि, चूर्णयन् काननानि, समीकुर्वन् विषमाणि, दलयन् दुर्गाणि, पूरयन्निम्नानि, निम्नयन् स्थलानि प्रातिष्ठत।, कादम्बरी, पृ. ३६१ (चन्द्रापीडका दिग्विजययात्राको सन्दर्भ)।
[24]. साहित्यदर्पणः, ३/२३५-२३८।
[25]. अभिमुखमापतच्च तस्माद् वनान्तरादर्जुनभुजदण्डसहस्रविप्रकीर्णमिव नर्म्मदाप्रवाहम्, अनिलचलितमिव तमालकाननम्, एकीभूतमिव कालरात्रीणां यामसङ्घातम्, अञ्जनशिलास्तम्भसम्भारमिव क्षितिकम्पविघूर्णितम्, अन्धकारपूरमिव रविकिरणाकुलितम्, अन्तकपरिवारमिव परिभ्रमन्तम्, अवदारितरसातलोद्भूतमिव दानवलोकम्, अशुभकर्मसमूहमिवैकत्र समागतम्, अनेकदण्डकारण्यवासिमुनिजनशापसार्थमिव सञ्चरन्तम्, अनवरतशरनिकरवर्षिरामनिहतखरदूषणबलमिव तदपध्यानात् पिशाचतामुपगतम्, कलिकालबन्धुवर्गमिव सङ्गतम्, अवगाहप्रस्थितमिव वनमहिषयूथम्, अचलशिखरस्थितकेसरिकराकृष्टिपतनशीर्णमिव कालमेघपटलम्, अखिलरूपविनाशाय धूमकेतुजालमिव समुद्गतम्, अन्धकारिताशेषकाननम्, अनेकसहस्रसङ्ख्यम्, अतिभयजनकम्, उत्पातवेलाव्रातमिव शबरसैन्यमद्राक्षम्।, कादम्बरी, पृ. ८८-८९ (शबरसैन्यको वर्णनसन्दर्भ)।
[26]. साहित्यदर्पणः, २३९-२४२।
[27]. इतस्ततो विस्रगन्धिधूमोद्गमानुमीयमानसान्द्रवंशवनान्तरितवेश्मसन्निवेशम्, सर्वतः करङ्कप्रायवृतिवाटम्, अस्थिप्रायरथ्यावकरकूटम्, उत्कृत्तमांसमेदोवसासृक्कर्दमप्रायकुटीराजिरम्, आखेटकप्रायाजीवम्, पिशितप्रायमशनम्, वसाप्रायस्नेहम्, कौशेयप्रायपरिधानम्, चर्मप्रायास्तरणम्, सारमेयप्रायपरिवारम्, धवलीप्रायवाहनम्, स्त्रीमद्यप्रायपुरुषार्थम्, असृक्प्रायदेवताबलिपूजम्, पशूपहारप्रायधर्मक्रियम्, आकरमिव सर्वनरकाणाम्, कारणमिव सर्वाकुशलानाम्, सन्निवेशमिव सर्वश्मशानानाम्, पत्तनमिव सर्वपापानाम्, आयतनमिव सर्वयातनानाम्, स्मर्यमाणमपि भयङ्करम्, श्रूयमाणमप्युद्वेगकरम्, दृश्यानमपि पापजननम्, जन्मकर्मतो मलिनतरजनम्, जनतो निशंसतरलोकहृदयम्, लोकहृदयेभ्योऽपि निर्घृणतरसर्वसंव्यवहारसमस्तपुरुषम्, अविशेषाचारबालयुवस्थविरम्, अव्यवस्थितगम्यागम्याङ्गनोपभोगम्, अपुण्यकर्मैकापणं पक्वणमपश्यत्।, कादम्बरी, पृ. १९९-२०० (चाण्डालनगरीको वर्णनसन्दर्भ)।
[28]. साहित्यदर्पणः २४२-२४५।
[29]. एवमतिक्रामति च काले क्रमेण तरुणतामापन्ने मय्येकदा प्रभातायां यामिन्यामुन्मीलितलोचनोऽद्राक्षमस्मिन्कनकपञ्जरे स्थितमात्मानम्। सापि चाण्डालदारिका यादृशी तादृशी देवेनापि दृष्टैव। सकलमेव तत्पक्वणममरपुरसदृशमालोक्य चापगतचाण्डालवसतिसंवेगो विस्मितान्तरात्मा किमेतदिति कुतूहलात्प्रष्टुकामो यावन्न परित्यजाम्येव मौनं तावदेषा मामादाय देवपादमूलमायाता। तत् केयम्, किमर्थमनया चाण्डालतात्मनः ख्यापिता, किमर्थं वाहं बद्धः, बद्धो वा किमर्थमिहानीतः’ इत्यत्र वस्तुन्यहमपि देव इवानपगतकुतूहल एव’।, कादम्बरी, पृ. २०३-२०४ (चाण्डालनगरीको अकस्मात् रूपपरिवर्तनको सन्दर्भ)।
[30]. साहित्यदर्पणः २४२-२४५।
[31]. एष प्रवााहः करुणारसस्य, सन्तरणसिन्धुः संसारसिन्धोः, आधारः क्षमाम्भसाम्, परशुस्तृष्णालतागहनस्य, सागरः सन्तोषामृतरसस्य, उपदेष्टा सिद्धिमार्गस्य, अस्तगिरिरसद्ग्रहस्य, मूलमुपशमतरोः, नाभिः प्रज्ञाचक्रस्य, प्रासादो धर्मध्वजस्य, तीर्थं सर्वविद्यावताराणाम्, वडवानलो लोभार्णवस्य, निकषोपलः शास्त्ररत्नानाम्, दावानलो रागपल्लवस्य, महामन्त्रः क्रोधभुजङ्गस्य, दिवसकरो मोहान्धकारस्य, अर्गलबन्धो नरकद्वाराणाम्, कुलभवनमाचाराणाम्, आयतनं मङ्गलानाम्, अभूमिर्मदविकाराणाम्, दर्शकः सत्पथानाम्, उत्पत्तिः साधुतायाः, नेमिरुत्साहचक्रस्य, आश्रयः सत्त्वस्य, विपक्षः कलिकालस्य, कोशस्तपसः, सखा सत्यस्य, क्षेत्रमार्जवस्य, प्रभवः पुण्यसञ्चयस्य, अदत्तावकाशो मत्सरस्य, अरातिर्विपत्तेः, अस्थानं परिभूतेः, अननुकूलोऽभिमानस्य, असम्मतो दैन्यस्य, अनायत्तो रोषस्य, अनभिमुखः सुखानाम्।, कादम्बरी, पृ. १३९-१४० (जाबालिवर्णनको सन्दर्भ)।
[32]. साहित्यदर्पणः, ३/२५१-२५४।
[33]. सा तु तं ससम्भ्रममुत्थाप्य सत्यप्याज्ञासम्पादनदक्षे पार्श्वपरिवर्तिनि परिजने स्वयमेव कृतावतरणमङ्गला प्रस्नुतपयोधरक्षरत्पयोबिन्दुच्छलेन द्रवीभूय स्नेहाकुलेन निर्गच्छतेव हृदयेनान्तः शुभशतान्यभिध्यायन्ती मूर्द्धन्युपाघ्राय तं सुचिरमाशिश्लेष। अनन्तरं च तथैव कृतयथोचितसमुपचारमाश्लिष्टवैशम्पायना स्वयमुपविश्य विनयादवनितले समुपविशन्तम्, आकृष्य बलादनिच्छन्तमपि चन्द्रापीडमुत्सङ्गमारोपितवती। ससम्भ्रमपरिजनोपनीतायामासन्द्यामुपविष्टे च वैशम्पायने चन्द्रापीडं पुनः पुनरालिङ्ग्य ललाटदेशे वक्षसि भुजशिखरयोश्च मुहुर्मुहुः करतलेन परामृशन्ती विलासवती तमवादीत् – “वत्स ! कठिनहृदयस्ते पिता, येनेयमाकृतिरीदृशी त्रिभुवनलालनीया क्लेशमतिमहान्तमियन्तं कालं लम्भिता। कथमसि सोढवानतिदीर्घमिमां गुरुयन्त्रणाम् ? अहो ! बालस्यापि सतः कठोरस्येव ते महद्धैर्यम्। अहो ! विगतशिशुजनक्रीडाकौतुकलाघवमर्भकस्यापि ते हृदयम्। अहो ! गुरुजनस्योपरि भक्तिरसाधारणी सर्वथा। यथा पितुः प्रसादात् समस्ताभिरूपेतो विद्याभिरालोकितोऽसि, एवमचिरेणैव कालेनानुरूपाभिर्वधूभिरूपेतमालोकयिष्यामि’ इत्येवमभिधाय लज्जास्मितावनतमात्ममुखप्रतिबिम्बगर्भे विकचकमलकृतकर्णपल्लवावतंस इव कपोले पर्य्यचुम्बदेनम्।, कादम्बरी, पृ. २८९-२९१ (चन्द्रापीडविषयक विलासवतीको स्नेहवर्णनसन्दर्भ )।
[34]. रतिर्देवादिविषया व्यभिचारी तथाञ्जितः।
भावः प्रोक्तः …।, काव्यप्रकाश, ४/३५-३६।
[35]. सञ्चारिणः प्रधानानि देवादिविषया रतिः।
उद्बुद्धमात्र स्थायी च भाव इत्यभिधीयते।।, साहित्यदर्पणः, ३/२६०-२६१।
[36]. ततः प्रभृति सुतरां देवताराधनेषु ब्राह्मणपूजासु गुरुजनसपर्यासु चादरवती बभूव। यद्यच्च किञ्चित् कुतश्चिच्छुश्राव गर्भतृष्णया तत्तत् सर्वं चकार। न महान्तमपि क्लेशमजीगणत्। अनवरतदह्यमानगुग्गुलुबहुलधूपान्धकारितेषु चण्डिकागृहेषु धवलाम्बरशुचिमूर्तिरूपोषिता हरितकुशोपच्छदेषु मुसलशयनेषु सुष्वाप। पुण्यसलिलपूर्णैर्विविधकुसुमफलोपेतैः क्षीरतरूपल्लवलाञ्छनैः सर्वरत्नगर्भैः शातकुम्भकुम्भैर्गोकुलेषु वृद्धगोपवनिता- कृतमङ्गलानां लक्षणसम्पन्नानां गवामधः सस्नौ। प्रतिदिवसमुत्थायोत्थाय सर्वरत्नोपेतानि हैमानि तिलपात्राणि ब्राह्मणेभ्यो ददौ। … दर्शितप्रत्ययानि सन्निधानमातृभवनानि जगाम। प्रसिद्धेषु नागकुलह्रदेषु ममज्ज।, कादम्बरी, पृ. १९९-२०० (विलासवतीको भक्तिसन्दर्भ)।
[37]. तातस्तु तं महान्तमकाण्ड एव प्राणहरमप्रतीकारमुपप्लवमुपनतमवलोक्य द्विगुणतरोपजातवेपथुर्मरणभयादुद्भ्रान्ततरलतारकां विषादशून्यामश्रुजलप्लुतां दृशमिततस्ततो दिक्षु विक्षिपन्, उच्छुष्कतालुरात्मप्रतीकाराक्षमस्त्रासस्रस्तसन्धिशिथिलेन पक्षपुटेनाच्छाद्य मां तत्कालोचितप्रतीकारं मन्यमानः स्नेहपरवशो मद्रक्षणाकुलः किङ्कर्तव्यताविमूढः क्रोडभागेन मामवष्टभ्य तस्थौ।, कादम्बरी, पृ. १०२ (सिकारीको आक्रमणका वेला वैशम्पायनको पिताद्वारा संरक्षणसन्दर्भ)।
[38]. अधुनापि यत्र जलधरसमये गम्भीरमभिनवजलधरनिवहनिनादमाकर्ण्य भगवतो रामस्य त्रिभुवनविवरव्यापिनश्चापघोषस्य स्मरन्तो न गृह्णन्ति शष्पकवलमजस्रमश्रुजललुलितदीनदृष्टयो वीक्ष्य शून्या दश दिशो जराजर्जरितविशाणकोटयो जानकीसंवर्द्धिता जीर्णमृगाः।, कादम्बरी, पृ. ६५-६६ (विन्ध्याटवीवर्णनको सन्दर्भ)।
[39]. … इत्येवमादिम् अस्मत्सम्बद्धम् आलापम् आकर्ण्य किञ्चिद् उपजातकुतूहलो भगवान् जाबालिरीषदावलितकन्धरः पुण्यजलैः प्रक्षालित इव माम् अतिप्रशान्तया दृष्ट्या दृष्ट्वा सुचिरम् उपजातप्रत्यभिज्ञान इव पुनः पुनर्विलोक्य ‘स्वस्यैवाविनयस्य फलम् अनेनानुभूयते’ इत्यवोचत्।, कादम्बरी, पृ. १४४ (जाबालिले सुगालाई पहिलोपटक देख्दाको वर्णनसन्दर्भ)।