(वर्तमान नेपाली जीवन विश्वव्यापीकरण तथा भूमण्डलीकरणका कारण विभिन्न ठाउँमा फैलिएको छ। अध्ययन, व्यापार, नोकरी, भ्रमण आदि प्रयोजनमा छरिएका नेपालीका आप्रवासनमा अनेकौँ भोगाइहरू छन्। यी कथाव्यथाहरू नेपाली साहित्यमा उत्रन थालेका छन्। तिनले भोगेका शारीरिक, मानसिक तथा आत्मिक सुखदुःखलाई समेटी होमनाथ सुवेदीले यमपुरीको महल उपन्यास तयार पारेका छन्।
श्रीराम न्यौपाने, पिएच.डी
उपप्राध्यापक, नेपाली विभाग, त्रि.वि., रत्न राज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँ।
email : shreeramn2006@yahoo.com
लेखसार
(वर्तमान नेपाली जीवन विश्वव्यापीकरण तथा भूमण्डलीकरणका कारण विभिन्न ठाउँमा फैलिएको छ। अध्ययन, व्यापार, नोकरी, भ्रमण आदि प्रयोजनमा छरिएका नेपालीका आप्रवासनमा अनेकौँ भोगाइहरू छन्। यी कथाव्यथाहरू नेपाली साहित्यमा उत्रन थालेका छन्। तिनले भोगेका शारीरिक, मानसिक तथा आत्मिक सुखदुःखलाई समेटी होमनाथ सुवेदीले यमपुरीको महल उपन्यास तयार पारेका छन्। यसमा आप्रवासनका नेपालीको मर्म, भोगाइ, अतृप्ति एवम् विक्षिप्त मानसिकता प्रतिबिम्बित छ। साथै यहाँ तिनका सङ्घर्षशील, तनावपूर्ण र एकाङ्गी जीवनको बोध गर्न सकिन्छ। यस लेखले उक्त रचनामा शारीरिक रूपमा मातृभूमि त्यागे पनि मानसिकता स्वभूमिमै फर्किरहेको कुण्ठित, द्वैधतापूर्ण, अस्तित्वहीन, भ्रमित, विक्षिप्त र अभिघातित मानसिकतालाई चिनाउने उद्देश्य लिएको छ। देशबाहिरका नेपाली समाजमा देखिएको सांस्कृतिक विचलन, अस्तित्वको लडाइँ, मनोविभाजन अनि चरम नैराश्यलाई चिनाउन यहाँ डायस्पोराको विशेषतामा आधारित साहित्य सिद्धान्तलाई आधार बनाइएको छ। साथै उत्तरआधुनिक डायस्पोरिक समालोचनाका मूलभूत सैद्धान्तिक पक्षलाई पनि यहाँ उपयोग गरिएको छ। मुख्यतः पैसामोहमा परेर सम्पन्न विदेशी भूमिलाई स्वर्ग मानी उच्च महत्व दिने तर विपन्न मातृदेशलाई नरक ठान्ने वर्तमान नेपालीका भ्रामक, अदूरदर्शी एवम् बहकाउ प्रवृत्तिमा बृद्धि भएको परिवेशमा यो रचनामाथिको समालोचनाले पक्कै पनि वास्तविक जीवनबोध गर्ने छ।)
शब्दकुजीः अभिघात, डायस्पोरा, द्वैधता, निर्वासन, विस्थापन
रचनासन्दर्भ
आतिथ्यदेश अमेरिकामा रहेका नेपाली मूलका आप्रवासी होमनाथ सुवेदीले नेपाली डायस्पोरा उपन्यास यमपुरीको महल (२०६४) प्रकाशित गरेका छन्। उनी उपन्यासमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिदृश्यभित्रका नेपाली जीवनको यथार्थ चित्रण गर्न, भोगाइको मनोदशाको विश्लेषण गर्न, विसङ्गतिवादी अस्तित्ववादी जीवनदृष्टि प्रस्तुत गर्न र मानव मूल्यहीनताको अवस्थालाई चिनाउँछन्। उनले यस क्रममा स्वैरकल्पना तथा नवीन शैलीको प्रयोग गरेका छन्। यस उपन्यासमा एक नेपाली युवक म्याग्दीबाट पर्यटक भिसामा अमेरिका पुगेको र अनेकौँ शारीरिक तथा मानसिक पीडा खप्दै अस्पतालको शैय्यामा जीवनमरणको अवस्थाबाट गुज्रिएको विक्षिप्त मानसिकताको उद्घाटन गरिएको छ।
उपन्यासको उक्त नेपाली युवक प्रेम म पात्र हुँदै लेखकको मुखपात्र नै बनेको छ। गाउँको कुलीन परिवारमा जन्मेको तर आफ्नै कमाइमा बाँच्न चाहने स्वाभिमानी यस पात्रले विभिन्न देश हुँदै अमेरिका पुगेर अनेकौँ हडर खाएको छ। ऊ लुक्दै, भाग्दै अनि लुटिँदै अभावग्रस्त, एक्लो अनि रुग्ण जीवन बाँच्न विवश बनेको छ। धन, डलर र महलको मृगतृष्णामा छटपटिँदै अनि मातृदेशका आफन्तलाई सम्झँदै २० देखि ७२ वर्षसम्म बिताएको र पछि अस्पतालको मृत्युशैय्यामा रहेको यस पात्रको दुःखद् जीवनको चर्चा यहाँ छ। उसले धन, डलर र महलका लागि गरेका सङ्घर्षहरू र पालेका मृगतृष्णाहरूले आप्रवासी नेपालीका भोगाइ, दैनिकी र मर्मलाई स्पष्ट पारेका छन्। यहाँ लेखकको मुखपात्र बनेको यस पात्रको मन र शरीर विभाजित छ, चेतन र अचेतन दुईतिर छ, यथार्थ र स्वप्नमा विभाजित छ (भट्टराई, २०६४, भूमिका)। उपन्यासभरि उसको शरीर अमेरिकाको लुरेक्याभर्न, वासिङ्टन डिसी, मेट्रो स्टेसन, प्लेटफर्म तथा बेसमेन्टहरूमा भौँतारिएको छ भने मनचाहिँ आफ्नै मातृदेश, स्वजन, बाल्यकाल अनि स्वक्रिया तथा लक्ष्यका स्वप्निल तरङ्गहरूमा बगिरहेको छ।
उपन्यासमा मातृदेश (जसलाई नर्क भनिएको छ) बाट भौगोलिक तथा सांस्कृतिक सीमाहरू नाघेर सपनाको देश (जसलाई स्वर्ग भनिएको छ) मा पुगेको प्रेम पात्रले भौतिक सम्पन्नता र आत्मसम्मान प्राप्त गरेको छैन। ऊ पूरै जीवन अन्धकारमय बनेको निष्कर्षमा पुग्छ। फरक सांस्कृतिक आर्थिक परिवेशमा पुगेको उसको सोचाइ र कल्पना मातृभूमितर्फ नै फर्किएको छ। उसले अनुभव गरेको पराइपन, एक्लोपन, उदासीनता र चरम निराशाले आप्रवासीको दुःखद एवम् उत्पीडित मानसिकतालाई चिनाएको छ। उत्तरआधुनिक विश्वमा व्याप्त अविश्वास, द्वन्द्व, युद्ध, धोका, अभाव अनि विदेश जानुपर्ने बाध्यतालाई मूल विषय बनाइएका रचनाहरूमध्ये यो उपन्यास नौलो देखिनाले यो अध्ययन आफैमा औचित्यपूर्ण देखिन्छ।
यस रचनाका सन्दर्भमा विभिन्न कोणबाट अध्ययन भएका छन्। यसको लामो खण्ड पूर्णतः स्वप्न र विभ्रान्तिमा रचित छ, मायिकता छ (भट्टराई, २०६४, पृ. ६९–७०)। मन र शरीर विभाजित भएको अवस्था, इच्छाहरूको अनन्त सृजना, द्वैध मानसिकता, सांस्कृतिक बेमेल, भूमण्डलीकरण, पारिवारिक विघटन, मनोद्वन्द्व, मानवताको खोजी, जीवनमा रमाउन नसक्नुको रहस्य, अभिघातित अवस्था, तेस्रो जीवन वा सांस्कृतिक विनिर्माण, उभयभावी चेतनाजस्ता विवेच्य विषयहरू यस उपन्यासमा अन्तर्निहित छन्। साथै यसमा साइबर संस्कृति, खण्डित मानसिकता, अतियथार्थता, अस्तित्वगत असुरक्षाभय, अस्थायी सुखानुभूति, विक्षिप्तता, द्वैधता आदि सन्दर्भहरूले पारेका प्रभावहरू पनि खोजी गर्न सकिन्छ। यति भएर पनि यहाँ अभिघातित अवस्था, द्वैध मानसिकतता, सांस्कृतिक विचलन र अतित्वको सङ्घर्षका माध्यमबाट डायसपोराको जीवनबोध गर्ने उद्देश्यलाई सीमाङ्कन मानिएको छ।
अध्ययनविधि
यस लेखमा वर्णनात्मक र विश्लेषणात्मक अध्ययनपद्धतिको प्रयोग गरिएको छ। विवेच्य रचनामा जीवनबोधको गुणात्मकता खोज्न डायस्पोराका विशेषतासम्बन्धी मान्यतालाई द्वितीयक स्रोतका रूपमा ग्रहण गरी विश्लेषणलाई तथ्यपरक र निष्कर्षोन्मुख तुल्याइएको छ। त्यसै गरी होमनाथ सुवेदीको यमपुरीको महल उपन्यास यस अध्ययनको प्राथमिक स्रोत हो। यसका साथै अध्ययनमा मौलिक सामान्य विश्लेषण विधिको प्रयोग गरिएको छ।
सैद्धान्तिक पर्याधार
पहिले ग्रिसेली शब्द डायस्पोराले फैलावट भन्ने शाब्दिक अर्थ दिन्थ्यो र प्यालेस्टाइन छाडेर छरिएका यहुदीलाई जनाउँदथ्यो। पछि यसले एउटा भूगोल, संस्कृति, समाज तथा राज्यबाट अर्को भिन्न परिवेशमा आजीविकाका लागि पुगेको मानव समुदायलाई चिनाउन थाल्यो। बिसौँ शताब्दीपूर्व विस्थापित, निर्वासित वा निष्कासित भन्ने नकारात्मक अर्थबोधक यस शब्दले अहिले वाध्यात्मक वा स्वैच्छिक रूपमा गृहभूमि त्यागेर अन्यत्र बसोबास गर्ने व्यक्ति वा समुदायलाई जनाउने गर्दछ (लुइटेल, २०७९, पृ. १५)। आज डायस्पोरालाई ल्यान्डस्केप (भूपरिदृश्य), इथ्नोस्केप्स (विस्तृति), गैरआवासीय, आप्रवासीजस्ता शब्दहरूले पनि चिनाउने गरिन्छ। भूमण्डलीयता तथा विश्वव्यापीकरणले मातृदेशबाट आतिथ्यदेश पुगेका लाखौँ मानव समुदायको भाषिक, सांस्कृतिक, आर्थिक, कानुनी तथा राजनीतिक पहिचानसहितको चेतना अभिव्यक्त भएको साहित्य नै डायस्पोरा हो। समकालीन विश्वसाहित्यमा देशपारीय परिस्थितिले जन्माएका लेखक र तिनले उत्पन्न गरेका हाइब्रिड संस्कृति, चेतना र सन्दर्भहरूको कुरा गर्नुपर्ने हुन्छ (भट्टराई, २०७६, पृ. १८६)। स्वदेश छाडेकाहरूको मनोदशा, अनुभव, भोगाइ, चिन्तन तथा क्रियाकलाप अनि तिनले बाँचेको समाजको वास्तविक चित्र साहित्यमा उतार्ने क्रम बढेसँगै त्यसको विश्लेषण गर्न डायस्पोरा समालोचना सिद्धान्त स्थापित भएको छ।
डायस्पोराको नवीन सैद्धान्तिक बहसमा खाचिग तोलोल्यान, विलियम सफ्रान, रोबिन कोहेन आदि पश्चिमी समीक्षकका मान्यताहरू प्रसिद्ध छन्। तिनले साहित्यभित्र कठोर राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक आदि कारणहरूले गृहदेश छाड्नुपरे पनि पहिचान जोगाएर पुर्ख्योली देशसँगको सम्बन्धलाई जीवन्त राख्ने डायसपोराका मानव जीवनको खोजी गरेका छन्। साथै मूल भूमिबाट परिधीय भूमिमा तितरबितर हुनु, मूलभूमिको स्मृति कायम राख्नु, आतिथ्य समाजले पूर्ण रूपमा स्वीकार नगर्ने महसुस गर्नु, पितृभूमिको आदर्श नभुली फर्कने र संरक्षण गर्ने सोचाइलाई जीवित राख्नुजस्ता विशेषता डायस्पोरामा पाइने बताएका छन्। दुर्घटना, घृणा, सीमान्तीकरण, उपेक्षा, पहिचानको समस्या आदिका कारण अभिघात उत्पन्न हुन्छ (सुवेदी, २०७६, पृ.१४५)। यसरी अभिघातित भई छरिएका, गृहभूमिका पीडा तथा उपलब्धिको सामूहिक स्मृति र मिथकीयता साँचेका, आप्रवासनमा हुन सक्ने सम्भाव्य विपत्तिको पीडा सँगालेका तथा सृजनात्मक समृद्ध समाजको सम्भावनाले आशावादी रहेका डायस्पोराका कथाहरू हुन्छन्। यी आधारहरूले डायस्पोरा जीवनको विशेषता, मानसिकता र वर्तमान अवस्थालाई चिनाउन सैद्धान्तिक आधार निर्माण गरेका छन्।
डायस्पोराको जीवनबोधका लागि सैद्धान्तिक रूपमा सर्वप्रथम कारणको खोजी गर्न सिकाउँछ। यसभित्र बसाइँसराइँ, प्रवासन, विस्थापन, राजनीतिक र सामाजिक द्वन्द्व, दैवी वा प्राकृतिक प्रकोप, सैन्य विद्रोह, श्रम र रोजगारी, व्यापारिक व्यावसायिक सम्भावना, पिआर वा ग्रिनकार्ड प्राप्ति, बहकाउ वा देखासिकी, विवाह, अध्ययनजस्ता कारणहरू समेटिएका हुन्छन्। विस्थापनबाट भिन्न प्रकृतिको मानव समाज बन्ने हुनाले यस सिद्धान्तमा त्यसको सांस्कृतिक एवम् सौन्दर्यपरक चेतना उत्पन्न गर्ने साहित्यिक, समाजवैज्ञानिक, ऐतिहासिक, दार्शनिक तथा मनोवैज्ञानिक चेतनाहरूको उत्खनन गर्नुपर्ने धारणा (भट्टराई : २०७६, पृ.१८८) लाई समेटेको पाइन्छ। त्यसै गरी स्वभूमि र संस्कृति नभुल्ने तर अर्को स्थानको जीवनपद्धति अङ्गाल्नुपर्ने वाध्यातमक परिस्थितिले सृजना गरेको द्वैधतासम्बन्धी अवधारणा यसमा राखिएको छ। कुनै दिन पूर्वभूमि फर्कने इच्छा पालिरहने उभयभावी चेतनाभित्र मातृ–गृह–भूगोलस्मृति, स्वसंस्कृतिमोह, अतीतप्रेम वा यौनसुखको सम्झना आदि मान्यतालाई सैद्धान्तिक स्वरूप प्रदान गरिएको छ।
आप्रवासनमा मानवले भोगेका अस्तित्वसङ्कटका कारण पितृभूमि भुल्न सक्दैनन्। परभूमिमा सजातीयको खोजी गरी एकीकृत हुन खोज्नु तिनको पहिचान बोधतर्फको यात्रा हो। यो नहुँदा अभिघातग्रस्त विक्षिप्त मानसिकता उत्पन्न हुन्छ। पारिवारिक विघटनको सिलसिला प्रारम्भ हुने, असुरक्षाको भय जन्मने, सुखानुभूति अस्थायी लाग्ने, अस्तित्व वा पहिचान गुम्नेजस्ता अकल्पनीय दुष्परिणामहरू ल्याइदिन सक्छ भने अर्कातिर सामाजिक, सांस्कृतिक एवम् भावनात्मक रूपमा एकता, विश्वास, सद्भाव, सरसहयोगपूर्ण सम्बन्धको विस्तार, मानवता, शान्ति र समृद्धिको बाटो पनि देखाएको छ। यिनै सैद्धान्तिक आधारमा डायस्पोरा जीवनका सुखद् तथा दुःखद् पक्षहरूको बोध गर्न सकिन्छ।
डायस्पोराले उत्तरआधुनिक विश्वमा नवीन सोच, मूल्य, रहस्य एवम् भोगाइका अनेक परिस्थितिबाट सांस्कृतिक चेतनाको विनिर्माण गरेको र तेस्रो जीवन वा समाज जन्माइरहेको सन्दर्भलाई यस्ता रचनामा खोज्न सकिन्छ। यस क्रममा डायस्पोरालाई समाजशास्त्रीय, मानवशास्त्रीय तथा कलाशास्त्रीय दृष्टिले हेर्ने सैद्धान्तिक पक्ष पनि बलशाली बन्दै छ। साथै उत्तरऔपनिवेशिक सामाजिक आर्थिक संरचनाभित्रका विकसित फरक परिस्थितिलाई चिनाउन नवीन शैली तथा मान्यताको स्वतः माग भइरहेको छ। कृतिभित्र चित्रित सन्दर्भलाई यान्त्रिक (परोक्ष वा भर्चुअल र अतियथार्थ वा हाइपर) र मानवीय (मायावी वा म्याजिकल) भनी व्याख्या गर्ने नवीन पद्धति पनि आएका छन्। साथै वर्तमान युगमा हुर्किएका साइबर तथा हाइब्रिड संस्कृति, इकोराइटिङ, अभिघात, चेतनप्रवाह, खण्डित मानसिकता, विनिर्माण, महाख्यान, उत्तर मार्क्सवाद, अनुपस्थिति, अनुरूपणजस्ता उत्तरआधुनिक मान्यता पनि छन्। यिनका आधारमा डायस्पोरा साहित्यभित्रको जीवनबोध गर्न सकिन्छ।
यमपुरीको महलभित्र जीवनबोध
यमपुरीको महल उपन्यासले नेपालीको आप्रवासनबाट उत्पन्न शारीरिक अनि मानसिक विच्छिप्त्ति, अभिघातित अवस्था, द्वैधता, आत्मरक्षाको खाजी, एक्लोपनको अनुभूति आदि पक्षहरूको उद्घाटन गरेको छ। साथै यसमा स्वैरकल्पना, मायावी तथा अतियथार्थको कलात्मक संयोजन पनि पाइन्छ। यहाँ तिनै डायस्पोराको जीवनबोध गरिएको छ। यसका लागि अभिघातित अवस्था, द्वैध मानसिकता र सांस्कृतिकता तथा अस्तित्वको सङ्घर्षलाई मुख्य विवेच्य विषय बनाइएको छ।
अभिघातित अवस्था
उपन्यासमा डायस्पोराको जीवन बिताइरहेको प्रेम पात्रको अभिघातग्रस्त मानसिक रुग्णता देख्न सकिन्छ। गृहदेश, गाउँ र परिवारका दुःख, अभाव, शून्यता आदि परिस्थितिबाट उत्पन्न निस्सार भावले ऊभित्र निराशामात्र जन्माइदिन्छ। परिवारमा पाँचवटा सन्तान, पत्नीको कचकच, बाबुआमाप्रतिको कर्तब्यबोध अनि सम्भावनाको अभावले छटपटिएको यस पात्रमा आत्महत्याको चाहना पनि जागृत भएको छ। उसले आफूलाई चितामा भष्म हुन लागेको अर्धबौलाहाको प्रतिरूप ठानेको हुन्छ। मृत्यु नजिक आइरहेको महसुस गर्दै कता जाने र के गर्ने भन्ने छटपटीले ऊ आफूलाई भुस्याहा कुकुर ठान्न पुग्दछ। यी उसका सोचाइ र कार्यशैली पूरै विक्षिप्त देखिएका छन्। स्वदेशमा दुःख र विदेशमा सुख देख्न पुग्दाको विक्षिप्ति अभिघातित मानसिकता उपन्यासमा यी सन्दर्भहरूले उद्घाटन गरेका छन् :
म मृत्युलाई झनझन दारा बुकुराएर सामुन्ने आइरहेको देख्थेँ। …मेरो शरीरमा खलखली पसिना बगेको भान भयो। …मेरो घरकै आँगनमा जीवित चिता दन्किरहेको थियो। … मेरो आत्मामा एउटा शीतयुद्ध उधुम मच्चाइरहेको थियो। … सबै मलाई अर्धबौलाह भन्थे। (पृ. ४)
उपन्यासको डायस्पोरिक जीवन अमेरिका पुगेर पनि विक्षिप्त नै छ। प्रेमको मनले त्यहाँ पनि शान्ति पाएको छैन। उसका सपना र लक्ष्य अधुरै रहन्छन्। जीवनका दुखद् र पीडादायी क्षणहरूलाई पुनः पुनः स्मरण गर्दै बाँच्नुपरेको छ। ऊ पूर्वप्रेमिका हिराको मांसलप्रेमबाट प्रताडित छ। पत्नीप्रतिको प्रेम बारम्बार स्मृतिमा आइरहन्छ। भिसा सकिएको तर ग्रिनकार्ड नपाएको गैरकानुनी बसाइँले ऊभित्र सन्त्रास उत्पन्न भइरहन्छ। रोजगारीको अभाव, घर बनाउने वा धन कमाउने अधुरा सपना र मानिसको हेपाहा प्रवृत्तिले उसको मथिङ्गल तातिरहेको हुन्छ। असफलता र एक्लोपनले अन्तरजलन बढाइरहेको त्यस क्षणका ऊ कसैसँग बोल्न, घुम्न, शारीरिक सम्बन्ध जोड्न, अनुहार हेर्न अनि आफ्ना पीडा खोल्न चाहँदैन। यी सबै लक्षणहरू अभिघातित मानसिकताका परिचायक हुन्। कसैसँग भरोसा गर्न नसक्नु, मानवीय संवेदना शून्य समाजप्रति वितृष्ण रहनु, एक्लै बेसमेन्ट र प्लेटफर्ममा धुमधुमती बस्नु, जीवनभर आत्मकेन्द्री, स्मृतिकेन्द्री अनि सपनाकेन्द्री रहनु यस पात्रका मानसिक अभिघातका लक्षणहरू हुन्। यहाँ चरम विसङ्गतिले उत्पन्न पश्चात्ताप, ग्लानि, नैराश्य र भयका बिम्बहरू देख्न सकिन्छ जसलाई अभिघातित मानसिकताका लक्षण मान्न सकिन्छ। जस्तै :
“म संसयाकुल थिएँ। कहीँ यिनीहरू पक्रिन हेरिरहेका त हैनन्। …मलाई घर चाहिन्नँ। यही प्लेटफर्म भए पुग्छ । म कसैसित देखिन चाहन्नँ। मलाई अवैध भएर भूमिगत भए पनि स्वतन्त्र रूपले विचरण गर्न पाए पुग्छ।” (पृ. १५–१८)
उपन्यासको प्रमुख पात्र अभिघातित मानसिकताले रुग्ण बनेको छ। भावुकतामा डुब्नु, आफैलाई अपराधी र दोषी ठान्नु, हेपाहा साथीको व्यवहारप्रति क्रोधित हुनु र झम्टनु, पीडा सहँदै निराहार रहनु, आत्मग्लानीले परिवारसामु मुख देखाउन नचाहनु, महल बनाउने सपनाले छटपटिइरहनु अनि चरम निराशा र हीनता बढ्दा मृत्युशैय्यामा पुग्नु यसै मानसिकताका परिणतिहरू हुन्। ऊ दिनमै सपना देख्छ। आफ्नै सन्तानहरू काल बनेर आएको, पत्नी लक्ष्मीप्रियालाई परपुरुषले गर्भवती बनाउन खोजेको, परिवारभित्र दरिद्रता र रुवावासी चलेको, बाबुआमाले आफ्नो अनुहार हेर्न खोजेको र गाउँघरतिरै घुमिरहेको सपना देख्ने उसको मानसिकता पीडा, विच्छिप्ति, पश्चाताप तथा ग्लानिभित्र हराइरहेको हुन्छ। बारम्बार भिसा नपाएको, इमिग्रेसनले तर्साएको, स्पोन्सर नपाएको, अरू देशतिर जाने योजना पनि सफल नभएको र महल बनाउने सपना अधुरो रहेको अतृप्ति र चिन्तामा भुटभुटिँदै ऊ अस्पतालको मृत्युशैय्यामा जीवनकै अन्तिम सास फेर्दै छ। यसरी उसका क्रियाहरू शिथिल बन्दै मृत्युको मुखमा पुग्नु अभिघातको नकारात्मक असर हो। जस्तै :
“मलाई लाग्थ्यो म वर्षौँदेखि त्यो मृत्युशैय्यामा निदाइरहेको त छैन। के म जिउँदो छु ? मृत शवतरबारले टाउको काटेर मान्छेलाई पराजित गर्न सकिँदैन महानायक। ऊ घोक्रो फुलाएर करायो हुँ। तैपनि म सोचिरहेको थिएँ। त्योवस्तुजगतलाई साक्षत्कार गरिरहेको थिएँ। मलाई आश्चर्य लाग्यो, अचानक म शमशान घरमा खरानी खरानी भइरहेको थिएँ।” (पृ. १४८)
यी असामान्य, विक्षिप्त अनि एकान्तिक बर्बराहटभित्र डायस्पोराका नेपालीको अभिघातित मानसिकताको मर्मबोध भएको छ।
द्वैध मानसिकता
डायस्पोरामा रहेको एक नेपालीले शरीरलाई अमेरिकामा टेकाई मन, मस्तिष्क, विचार र सपनालाई जन्मभूमिमै घुमाइरहेको मार्मिक सन्दर्भ उपन्यासमा वर्णित छ। प्रेम पात्र स्वदेशलाई अभाव, पछौटेपन, दरिद्रता अनि सम्भावनाहीन नरकभूमि ठान्छ तर पनि बाबुआमा, पत्नी अनि सन्तानको सम्झनाले रातदिन छटपटिएको हुन्छ। डलरमोहले अमेरिका छाड्न नसक्नु र स्वजनको स्मृतिले पूर्वभूमि बिर्सन नसक्नु नै ऊभित्रको द्वैधता हो। यो पात्रको मन नेपालमा र तन अमेरिकामा छ। मन र शरीर विभाजित छ, चेतन र अचेतन दुईतिर छ, यथार्थ र स्वप्नमा विभाजित छ (भट्टराई, २०६४ : १६५)। यो विभ्रान्ति र मनोविभाजनले नेपाली डायस्पोरिक जीवनको परिचय दिएको छ। केही वस्तु त्याग्न र पुनः ग्रहण गर्न नसक्नु विवशता पनि हो। उसका लागि हृदयमा मातृदेश र पैतालामुनि आतिथ्यदेश रहेको छ। यी दुवैलाई एकैसाथ ग्रहण गर्न पनि सम्भव छैन। यसैले द्वैध मानसिकताका माध्यमबाट उपन्यासले डायस्पोरिक नेपाली जीवनको प्रस्तुति दिएको छ। जस्तै :
“म के गरूँ, भूत भन्छ ‘नबिर्स जन्मभूमि’ भविष्य भन्छ नबिर्स कर्मभूमि। सायद जन्मभूमिको गरिमा आदर्श हो क्यारे कर्मभूमि एक यथार्थ दुवैको मिलन अति दुष्कर छ क्यार। …मसँग पैसा भए परिवार छैन परिवार भए पैसा छैन। …हामीले पैसालाई प्राधान्यता दिएर जीवनलाई गौण बनाएका छौँ।” (पृ. ६९)
उपन्यासका प्रत्येक परिच्छेदका थालनी र अन्त्यमा अमेरिका र नेपालको संयोजन गरिएको छ। यथार्थ र अयथार्थको मनोद्वन्द्वमा परेको प्रेम पात्रको मानसिक र शारीरिक स्वरूपको पृथकीकरणलाई प्रतीकात्मक रूपमा चिनाउँदै उपन्यासकारले मनोद्वैधताको चित्र उतारेका छन्। अमेरिका पुग्नुपूर्वका अतीतहरू अनि पुगेपछिका पूर्वस्मृतिहरू रात्रिस्वप्न, दिवास्वप्न र मनोलापका माध्यमबाट प्रस्तुत गरिएका छन्। ती सबै सन्दर्भले उसको मन धेरैजसो मातृभूमितर्फ सम्मोहित देखिन्छ। यसको मुख्य कारण भिसा र ग्रिनकार्डको अप्राप्ति, रोजगारविहीनता, स्वार्थी दुनिया र धनप्रतिको तीब्र मोहले सृजना गरेको बर्बरतालाई लिन सकिन्छ। यस्तो तीब्र चाहनाले जब मूर्त रूप पाउँदैन तब त्यसप्रति मोहभङ्ग हुन्छ। पूरै निराश नहुने मानवीय स्वभावले तुरुन्त मातृदेशफिर्ती पनि सम्भव हुँदैन। यही द्वैधताले यस पात्रलाई रुग्ण बनाएको छ। ऊ आफूलाई विच्छिन्न निर्वासित सन्यासी ठान्छ र रागविरागको अन्तद्र्वन्द्वमा डुब्दै जान्छ। डलर कमाउने, घर बनाउने र परिवारलाई ल्याएर सुख दिने उसका इच्छाहरू बहत्तर वर्षे उमेरसम्म पनि जीवित रहन्छन्। खालीहात घर फर्किन पनि ऊ सक्दैन। यस्तो डायस्पोरिक नेपाली जीवनको द्वैधतापूर्ण मनोदशाको अवस्थालाई यी सन्दर्भहरूले प्रस्ट पारेका छन् :
“मैले स्वयम् थाहा नपाईकन मैले आफ्नो शरीरलाई मूर्तिजस्तै त्यहीँ छोडेर हंस बाहिर उडाएछु… (पृ. ११६) यो भिसाले न कामबाट स्पोन्सर गर्न दियो, न यसले एम्नेस्टीमा पार्न दियो, न यसले नेपाल जान दियो, न सुखले बस्न दियो यहाँ… (पृ. ११७) यथार्थ र अयथार्थको मनोद्वन्द्वमै यो बेसमेन्टमा फर्केर कतिपय रात बिताइसकेँ।” (पृ. ११८)
यस्ता शरीर र मन सँगै नभएका, यथार्थ र अयथार्थ मिश्रित रहेका अनि फर्कने र नफर्कनेमा अलमल रहेका दोधारे सन्दर्भहरू यस उपन्यासमा प्रशस्त देख्न सकिन्छ। थम्बबहादुरले घर फर्कन दिएको सुझाव प्रेम पात्रले प्रत्यक्षमा विरोध गरे पनि मनमनै स्वीकार गर्छ र बेलाबेला पैसा पठाइरहन्छ। पूर्वप्रेमिकाले नेपाल बिर्सन दिएको आदेश पनि ग्रहण गर्न सक्दैन र पत्नीप्रतिको चोखो प्रेमको कसम खाँदै पत्र लेख्छ। समागमकालमा परस्त्रीलाई आफ्नै पत्नी लक्ष्मीप्रिया सम्झन्छ। अन्त्यतिर मृत्युशैय्यामा पुग्दा कोही ऊप्रति संवेदनशील देखिन्नन्। त्यतिबेला उसको मथिङ्गलमा आफ्नै परिवार र गाउँ घुमिरहेको हुन्छ। यस्ता कुराले ऊभित्र आप्रवासी हुनुपरेकोमा आत्मग्लानि बढाउँछ। कमाएका र नकमाएका सबैले वास्तविक सुखको अनुभूति गर्न नसक्नु नै विवशता हो। यही द्वैध मानसिक द्वन्द्व उपन्यासमा अभिव्यक्त भएको छ। जस्तै :
“कमाएँ विदेशमा नखाई नखाई पैसा जति यमपुरीको महलमा डुबाएँ, म मरेँ विदेशमै। पैसाले मलाई खोइ के ऐस दियो… (पृ. १३८) चरम सुख र आनन्दलाई त्यागेर जुन जीवनको महललाई उभ्याउन खोजेँ त्यही हो यमपुरीको महल। जुन मरेर जाँदाको घडीमा एउटा अपार पीडाको रूपमा उपस्थित छ… (पृ. १४३) बाबा, चेत खाएँ मलाई त्यो यमपुरीको महल चाहिन्न। मलाई मेरै नरक प्यारो छ।” (पृ. १४७)
यसरी सुख र सम्पन्नताको आशामा शरीर आतिथ्य देशमा भौँतारिएको तर मन भने स्वदेश अनि स्वजनको स्मृतिबाट मुक्त हुन नसकेको द्वैध मानसिकताको उद्घाटनसँगै उपन्यासमा डायस्पोराका नेपालीको जीवनबोध भएको छ।
सांस्कृतिक विचलन
आप्रवासनमा पुगेका नेपालीहरूको सांस्कृतिक धरातल विचलित र अलमलिएको हुन्छ भन्ने यथार्थको प्रस्तुति यस उपन्यासमा पाइन्छ। यसको प्रमुख पात्र परसंस्कृतिलाई ग्रहण गर्न पनि सक्दैन न त स्वसंस्कृतिलाई पूर्णतः पालन गर्न नै सक्छ। सडक किनार वा प्लेटफर्ममा अलपत्र पल्टँदा पनि ऊ सुटटाईमा देखिन्छ। तर त्यहाँ बेसहारापनप्रति मानवीय संवेदना कतैबाट पाइन्न। साथी भरतले उसलाई दरिद्र भिखारी ठान्दै सन्यासी भनी हेप्छ। सम्पन्नताका अगाडि विपन्नता हाँसिरहनु, काम नदिनु र स्वजातिले पनि हेप्नु पनि सांस्कृतिक विचलन हो। त्यो समाज आतिथ्य सत्कारमा पूरै चुकेको छ। श्रमिकमाथि शोषण भएको छ। उपन्यासमा मानव मानवबाटै असुरक्षित भएको महसुस गर्नुपरेको र भेटिएका नेपालीबाट पनि साथ नपाएको स्वार्थी डायस्पोरिक समाज चित्रित छ। विलासितापूर्ण परसंस्कृतिका अग्राह्य क्रियाबाट बिमुख हुन खोजेर पनि सहभागी हुन बाध्य हुनुपरेको स्वार्थी नागर सभ्यता छ। पैसाका लागि यन्त्रझैँ चल्ने चरम विलासिताको चेपुवामा जीवन जकडिएको छ। भौतिक सुखले पनि अर्को आत्मीक सुख खोजिरहेछ। यस्तो सांस्कृतिक विचलनले सृजित विवश जीवनका थुप्रै सन्दर्भहरू यहाँ छन्। जस्तै :
“मानवलाई मानव केवल ईर्ष्यामै भष्मसात गरिरहेछन्। आफ्नै चल्लालाई माउले नै खाइरहेछन्… (पृ. ८५) मान्छेहरू त आउनेजाने गर्छन् तर कसैले कसैसित कुरा गर्दैन… (पृ. ११५) चरम सुख र आनन्दलाई त्यागेर जुन जीवनको महललाई उभ्याउन खोजेँ त्यही हो यमपुरीको महल।” (पृ. १४३)
उपन्यासले डायस्पोराका यौनसम्बन्धी खुला दृष्टिकोणलाई जोडी सांस्कृतिक विचलनको थप सन्दर्भ प्रस्तुत गरेको छ। यौन क्रयीबिक्रयी बन्दै गएको छ। प्रेम पात्र सेक्सलाई वीर्य लेनदेनको भौतिक क्रियाकलाप ठान्न पुगेको छ। यो आत्मिक र नैतिक हुनुपर्नेमा नभएको ठान्छ। ऊ हिरासँगको अविवाहित सहवासलाई विवश भई स्वीकार गर्छ। ऊ रेस्टुरेन्टका अश्लील गोगो नृत्य, गौमांसका परिकार, बेश्यालयको खुला यौन, मदिराको उन्मत्तताजस्ता सन्दर्भभित्र स्वसंस्कृति धरमराएको ठान्छ। शारीरिक मांसलप्रेम, क्रयीबिक्रयी रति अनि खुल्ला यौन नागर सभ्यताका तमासाहरू यहाँ देख्न पाइन्छ। उपन्यासकी हिरा पात्रलाई जवानी रहुन्जेल एक पुरुषले सुखभोग गरेको तर मातृत्व रहर पूरा नगरी छाडिदिएको छ। मानिस एक्लिँदै कुकुर, बिरालो जस्ता जनावरको सामीप्यमा पुगेको छ। यसरी बदलिँदो भड्किलो, स्वार्थी र विकृत जीवनशैलीलाई आधार बनाई उपन्यासले डायस्पोराको नेपाली जीवनमा देखिएको सांस्कृतिक विचलनलाई चिनाएको छ। जस्तै :
“कुकुरको म्वाइ खाइरहन्छिन्…, बिरालो उनको काखमा घुस्रियो… (पृ. १२२) पश्चिममा त हरएक नारी द्रैपदीको धाक लगाउँछन्…(पृ. १२३) त्यसबेला उसले ऊ छँदाछँदै किन अहिले धर्मपुत्र खोज्ने, छोरो भैहाल्ला नि जस्तो कुरा गर्यो… (पृ. १२५) त्यस सेक्सले न तिमीलाई पोल्छ न मलाई, न कसैलाई हानी नै गर्छ। यो वीर्य लेनदेनको एक सहकारी भावना मात्र हो।” (पृ. १२७)
विश्वमा जताततै कृत्रिमता छ। समाज धनलाई सर्वोपरि ठान्ने पुँजीवादी संस्कृतिमा रूपान्तिरित हुँदै छ। डलरप्रेमले नेपाली मानसिकता नराम्ररी विद्रुप तुल्याइदिएको छ। एकआपसमा भावनात्मक नाता छैन। आफ्नैबाट अविश्वास, धोका र तिरष्कार भोग्नुपरेको छ। धन कमाउन नसक्दा आफ्नैबाट हेपिनुपरेको छ। यिनै कारणले उपन्यासको प्रेम पात्र अस्पतालमा बेसहारा भई अलपत्र परेको छ। उसलाई पैसा कमाउने र महल बनाउने एकोहोरो रटानले प्रतिदिन खियाउँदै लगेको छ। स्वभूमिमै धनप्रतिको मोह बढ्दै गएको र आप्रवासनमा त्यो थप चुलिएको छ। पछिल्ला दिनमा ऊ युग नै भौतिकवादी संस्कृतिले मानवताहीन र विवेकशून्य बन्दै गएको महसुस गर्छ। ऊ भौतिक अतिवाद र अन्धताबाट मुक्त हुन खोज्छ तर सक्दैन। यस्तो भौतिकवादतर्फको सांस्कृतिक विचलनलाई यी सन्दर्भहरूले पुष्टि गरेका छन्। जस्तै :
“म सुत्न चाहन्छु डलरसित। म बहुलाउन चाहन्छु द्रव्यसित। मलाई त्यो मेरै समाजमा पनि विनाद्रव्य कसले मानिस सम्झन्थ्यो र ?… चाहे पागल नै किन नहुन परोस् फेरि फर्केर यस पैसाले खाएको धरतीमा आउने छैन…(पृ. ६८), जीवनको यौटा परिपाटी नै हामीले बनाइसकेका छौँ कि पैसा कमाउन नसक्नु जीवनको निरर्थकता हो।” (पृ. ६९)
यसरी यौन, अर्थ, जीवनशैली, चिन्तन आदिसम्बन्धी पवित्र सांस्कृतिक मूल्य र मान्यतामा भौतिकतावादी पुँजीवादी र भोगवादी प्रवृत्तिले प्रभाव पार्दै आएको हुँदा सांस्कृतिक द्वैधता, विभाजन र विचलनको स्थिति आएको तथ्यभित्र यहाँ डायस्पोराका नेपालीको जीवनबोध टड्कारो भएको छ।
अस्तित्वको सङ्घर्ष
आप्रवासनमा रहेका वर्तमान युगका मानवले सुरक्षित भएको महसुस गर्न पाएका छैनन्। आत्मसम्मान, अस्तित्व सङ्कट र अस्मितामा ठेस महसुस गर्दै आएका छन्। यस उपन्यासको प्रमुख पात्र यी सबै कुरामा असुरक्षा महसुस गर्दछ। उसको दरिद्रता र बेसहारापनलाई टुलुटुलु हेरी सरकार र मानव समाजले अस्तित्व अस्वीकार गरेका छन्। आप्रवासनमा उसले व्यक्तिहरूबाट अपमान, असहयोग अनि घृणासिवाय केही पाएको छैन। ससाना घटनामा पनि उसले मानवताशून्य, सद्भावनाहीन र स्वार्थी व्यवहार भोग्नुपर्दा ऊभित्र स्वाभिमान उर्लिएको छ र विद्रोह उठेको छ। कामको खोजीमा भौँतारिँदा, भोकैनाङ्गै रहनुपर्दा अनि कामको ज्याला नपाउँदा उसले कर्मभूमिमा अस्तित्वसङ्कटको महसुस गरेको छ। आप्रवासी स्वजनबाटै ऊ तिरष्कृत हुनुपरको छ। यस्ता आप्रवासनमा अस्तित्वका लागि गरिएका सङ्घर्षका सन्दर्भहरू उपन्यासमा प्रशस्त भेटिन्छन्। जस्तै :
“एक बार होइन कैयौँ बार म काम, माम र बासका लागि बाहिर निक्लेँ। सिलो खोजेँ। कहीँ कुनै पनि दिशामा मेरो लागि बाटो भेटिएन…(पृ. २३) यो समाजको मुख हेर्न घृणा लाग्छ छिः १ म कहाँ जाऊँ अझै लुक्ने कहीँ अर्को दुलो पनि पाउन्नँ…(पृ. २७) मैले मेरै भरती सम्झन थालेँ। यसैमा मैले मेरोअस्तित्वको अनुभूति गर्न थालेँ।” (पृ. ९८)
डायस्पोराको नेपाली जीवन स्वभूमिको स्मृति र परभूमिको मोहबीच अस्तित्वको खोजीमा भौँतारिइरहेको छ। स्वभूमिसँग रक्तनाता जीवित रहेको सोच्ने उपन्यासको प्रमुख पात्र धनसम्पत्ति आर्जन गरी अस्तित्ववान बन्ने भ्रम पालेर बसिरहन्छ। बाबुआमा, पत्नी र सन्तानलाई बोलाएर सुख दिने उसको सपना प्रतिदिन सङ्कटग्रस्त बन्दै जान्छ। स्वजनले पनि बिर्सदै गएको र खालीहात फर्कदा स्वभूमिमा पनि आत्मसम्मान नमिल्ने महसुस गर्दै ऊ पश्चाताप, ग्लानि, नैराश्य अनि असफलताको हीनताबोधले खिइँदै जान्छ। एक्लोपनकै कारण आफूलाई बाह्यभन्दा आन्तरिक संसारमै भुलाउन खोज्छ। चरम अविश्वासले हिरा, भरत, प्रताप आदि नेपाली साथीको साथ पाउन सक्दैन। तिनका व्यङ्ग्यात्मक अभिव्यक्तिले ऊ बेचैन र मर्माहत हुन्छ। सबैबाट आफू एक्लिएको महसुस गर्दछ। अस्पतालमा उसको उद्धारमा परिचित पनि अपरिचितजस्ता बन्छन्। यही अस्तित्वहीनता र एक्लोपनले गम्भीर मानसिक आघात बेहोर्दै अन्ततः ऊ मृत्युशैयामा पुग्दछ। उसका अस्तित्वका लागि गरिएका सबै सङ्घर्षहरू निरर्थक बन्दछन्। उसले उपन्यासमा व्यक्त गरेका यी अभिव्यक्तिले डायस्पोराको एकाङ्गी जीवन बोलिरहेको देखिन्छ :
“मैले पाइन शान्ति, शान्तिको लागि म एउटा विशाल भूभाग नै त्यागेर नयाँ मुलुकमा पुगेँ तर त्यहाँ झन् जनसेना बनेर हरकोणबाट झिरले रोप्ने नागरिकको एकाधिपत्यमा पिरोलिएँ…(पृ. ८४) ड्यास्पोरामा फ्याँकिएको एकाकी मानव मात्र। (पृ. ८७)
डायस्पोरामा मानवले कानुनी लडाइँ लड्नुपरेको छ। यस उपन्यासको प्रेम पात्र पनि टुरिस्ट भिसामा अमेरिका पुगेको र लक्दै हिँडिरहेको छ। ऊ इमिग्रेसनबाट बच्दै, परिचितसँग लुक्दै र मनका कुरा दबाउँदै त्रास र अभावसँग लडिरहनुपरेको छ। अरूसँग र आफ्नैसँग पनि लड्नुपरेको छ। आफ्ना हुने र स्थापित मानिनेबाटै तिरस्कार खप्नुपरेको छ। जस्तै :
“मलाई कुन कुराले निर्वासनको सजाय दियो कुन्नि, मैले स्वयम्लाई एउटा अन्ध कोठामा थुनिएको पाएँ… (पृ. १२१) म बिनामौलिक हकको नागरिक, बिनास्वतन्त्रताको स्वतन्त्र इच्छुक, स्वर्गमा बसेर बिलासी बन्नुको बदला नरकमा डलर निर्यात गर्ने एक स्मगलर म… (पृ. १४०) आज म मृत्युशैय्यामा छु। खोई मलाई मुखमा पानी हाल्ने मानिस, खोइ सहारा ? यो एक्काइसौँ शताब्दी हो।” (पृ. १४४)
यहाँ गृहस्मृति, सांस्कृतिक मोहभङ्गता, आत्मसममानमा चोट, चरम व्यक्तिवाद अनि स्वार्थले आप्रवासनको अस्तित्वमा गम्भीर आघात पुगेका अनेकौँ सन्दर्भहरू छन्। नारी पुरुषका सम्बन्ध शारीरिकमात्र छन्। आप्रवासीलाई आदिवासीले हेर्ने दृष्टिकोण सन्तुलित छैन। मानिस मानिसससित डराउनुपर्छ। धन नहुँदा हप्की, ठगी, हेपाइ र अपमान सहनुपर्छ। शरीर र मन विभाजित छ। जताततै निराशा र अन्धकार छ। यस्तो उकुसमुकुसभित्र अस्तित्वका लागि सङ्घर्षरत आप्रवासी नेपालीको जीवनबोध उपन्यासमा गर्न सकिन्छ।
निष्कर्ष
समग्रमा यमपुरीको महल उपन्यास आप्रवासी वा डायस्पोराका नेपालीको शारीरिक अनि मानसिक विच्छिप्ति, मन र शरीरको पृथकता, अभिघातग्रस्त मानसिकता, द्वैधता, सांस्कृतिक विचलन, आत्मरक्षाको खाजी तथा एक्लोपनको अनुभूतिसङ्ग्रह हो। यहाँ प्रेम पात्र पारिवारिक दायित्वबोध, तीब्र भौतिकमोह अनि सम्भावनाको खोजीमा पर्यटकको भिसा लिई अमेरिका पुगेको छ तर भिसा सकिएपछि ग्रिनकार्ड नपाएकाले गैरकानुनी जीवन बिताउँदा सन्त्रास र पीडामा डुबेको छ। बेरोजगारीका कारण महल बनाउने सपना अधुरै रही ऊ हीनताबोधले चेपिँदै जीवनको उत्तराद्र्धतिर बेसहारा भई मृत्युशैय्यामा पुगेको छ। जीवनमा केही गर्न नसकेको लघुताभासले ऊ विक्षिप्त भएको अभिघातित मानसिक अवस्था उपन्यासमा चिनाइएको छ। यहाँ डायस्पोरामा रहेका नेपालीको शरीर आतिथ्य देशमा तर मन, मस्तिष्क, विचार र सपनालाई जन्मभूमिमै घुमेको मार्मिक सन्दर्भ छ। एकातिर स्वदेशलाई अभाव, पछौटेपन, दरिद्रता अनि सम्भावनाहीन ठान्ने अनि अर्कातिर बाबुआमा, पत्नी अनि सन्तानको सम्झनाले रातदिन छटपटाउने नियति तिनले भोगेका छन्। तिनको मन र शरीर विभाजित भएको अनि चेतन र अचेतन दुईतिर फर्किएको द्वैध मानसिकताका माध्यमबाट उपन्यासले डायस्पोरिक नेपाली जीवनको यथार्थ प्रस्तुत गरेको छ। आप्रवासी नेपालीहरूको सांस्कृतिक धरातल विचलित हुँदै गएको तथ्य यस उपन्यासमा व्यक्त भएको छ। परसंस्कृतिलाई ग्रहण गर्न नसक्नु र स्वसंस्कृतिलाई पूर्णतः पालन गर्न पनि नसक्नुको द्वन्द्वमा उनीहरू छन्। यौन क्रयीबिक्रयी बन्दै गएको, अविवाहित सहवास बढेको, अश्लील नृत्य र परिकारप्रति आकर्षण बढेको, जवानी रहुन्जेल यौन सुखमा रमाउँदा मातृत्व भाव हराएको अनि मानिस एक्लिँदै कुकुर, बिरालो जस्ता जनावरको सामीप्यमा पुगेको जस्ता सांस्कृतिक विचलनका प्रशस्त सन्दर्भहरू यहाँ आएका छन्। साथै दरिद्रता, बेसहारापन, अपमान, असहयोग अनि घृणा भोग्दै आत्मसम्मान र कानुनी संरक्षणको अभावमा अस्तित्वको सङ्कट र अस्मितामा ठेस महसुस गरेका अनेकौँ सन्दर्भहरू यहाँ छन्। यसरी आजको नेपाली डायस्पोराको जीवनबोध उपन्यासमा अभिव्यक्त भएको छ।
सन्दर्भसामग्रीसूची
खत्री. गीता र अन्य, (सम्पा.). (२०११, २०६८). अन्तर्राष्ट्रिय नेपाली डायस्पोरा प्राज्ञिक अध्ययन. वासिङ्टन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज १०२ औँ देवकोटा जयन्ती तथा पुरस्कार वितरण समारोह आयोजक समिति।
भट्टराई. गोविन्दराज, (२०६४). उत्तरआधुनिक विमर्श. काठमाडौँ. मोडर्न बुक्स।
भट्टराई. गोविन्दराज, (२०६४). नेपाली डायास्पोरिक साहित्यको प्रथम उपन्यास मपुरीको महल. (भूमिका). मपुरीको महल. अमेरिका. अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज।
माइला. प्रकाश पौडेल र अन्य, (२०७४). नेपाली डायस्पोरा. जापान. अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर।
रावत. गोविन्दसिंह, (२०७६). आप्रवास साहित्य विचरण. क्यानडा. नेपाली साहित्य समाज।
लुइटेल. खगेन्द्रप्रसाद, (२०७९). डायस्पोराको सैद्धान्तिक स्वरूप. काठमाडौँ. पैरवी परुकाशन।
लुइटेल. खगेन्द्रप्रसाद, (२०७८). डायस्पोराको प्रारम्भिक र वर्तमान अर्थ. अमेरिका बिआरटी नेपाल।
सुवेदी. राजेन्द्र, (२०७६). अभिघात सिद्धान्त. राजेन्द्र सुवेदी र लक्ष्मणप्रसाद गौतम (सम्पा.). रत्न बृहत् नेपाली समालोचना (दो. संस्क.). काठमाडौँ. रत्न पुस्तक भण्डार।
सुवेदी. होमनाथ, (२०६४). यमपुरीको महल. अमेरिका. अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज।
सुवेदी. होमनाथ, (२०७०). नेपाली डायस्पोरिक साहित्य : सिद्धान्त र प्रयोग. सुवेदी, होमनाथ र अन्य. (सम्पा.). अनेक डायसपोराको साहित्य. अमेरिका. अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज।