प्रस्तुत लेखमा कथाकार इन्द्रबहादुर राईद्वारा लिखित ‘कठपुतलीको मन’ कथालाई पाठका रूपमा लिई त्यसमा अभिव्यक्त लैङ्गिकताको अध्ययन र विश्लेषण गरिएको छ। प्रस्तुत कथाले पितृसत्तात्मक समाजव्यवस्था र लैङ्गिकताका आधारमा गरिएको शोषण, दमन, अन्याय, अत्याचारलाई समेटेको छ।
फूलकुमारी ढकाल
लेखसार
प्रस्तुत लेखमा कथाकार इन्द्रबहादुर राईद्वारा लिखित ‘कठपुतलीको मन’ कथालाई पाठका रूपमा लिई त्यसमा अभिव्यक्त लैङ्गिकताको अध्ययन र विश्लेषण गरिएको छ। प्रस्तुत कथाले पितृसत्तात्मक समाजव्यवस्था र लैङ्गिकताका आधारमा गरिएको शोषण, दमन, अन्याय, अत्याचारलाई समेटेको छ। पितृसत्तात्मक समाज व्यवस्थामा नारीमाथि गरिएका अन्याय, अत्याचार, शोषण, दमन र नारीले भोग्नुपरेको दुस्ख, कष्ट, पीडा तथा नारीको व्यक्तिगत जीवन र जीवन भोगाइका विविध घटनाक्रमहरू एवम पुरुषको जीवनशैलीले नै कथामा लैङ्गिक विभेदको सिर्जना भएको छ। पितृसत्तात्मक समाज व्यवस्थाबाट आक्रान्त नारी जनजीवनको विषय उठानका क्रममा कृतीमा व्यक्त पात्रको प्राकृतिक र समाजद्वारा निर्धारित सामाजिक तथा सांस्कृतिक अवस्थालाई के कसरी उठान गरेको छ ? भन्ने कुराको अध्ययन गरिएको छ। पितृसत्तात्मक सामाजक व्यवस्था तथा त्यसको परिणाम र नारीलाई पुरुषको भोगविलासी वस्तुका रूपमा मात्र उपभोग गरी पशुभन्दा पनि तल्लो दर्जाको स्थान दिइने प्रवृतिलाई यस कथामा मुख्य रूपमा उल्लेखित गरिएको छ। ‘कठपुतलिको मन’ कथामा के कस्ता लैङ्गिक विभेदहरू आएका छन् र तिनको प्रयोग कसरी गरिएको छ ? कथामा व्यक्त लैङ्गिक विभेदले के कस्तो किसिमको सन्देश दिन खोजेको छ ? भन्ने कुराको खोजी गर्नु नै यस लेखको उद्देश्य हो। कथामा अभिव्यक्त लैङ्गिकता के हो ? लैङ्गिकताका दृष्टिले यो कथा किन विशिष्ट छ ? कथामा लैङ्गिकता कहाँ, कहिले र के कसरी प्रतिबिम्बित भएको छ ? घटनाले सिर्जित परिस्थिति, त्यसको परिणाम र कथानकले ल्याएको परिस्थितिलाई के कसरी उठान गरेको छ ? भन्ने प्राज्ञिक जिज्ञासा नै प्रस्तुत लेखको मूल समस्या हो। त्यही लैङ्गिकताको सिद्घान्तका आधारमा मूलतः साहित्य, समाजव्यवस्था, नारी र पुरुष बिचको सम्बन्धलाई सामाजिक सांस्कृतिक पहिचान तथा लैङ्गिक विभेदका माध्यमबाट स्पष्ट रूपमा कथाको अध्ययन र विश्लेषण गरिएको छ। अन्त्यमा कथालाई लैङ्गिकताको सिद्धान्तका आधारमा यो कथा सफल, प्रभावकारी र सौन्दर्यपूर्ण नै छ भन्ने निष्कर्ष निकालिएको छ।
शब्दकुञ्जी : अधीनस्थ, निरीह, प्रभुत्वशाली, पितृसत्तात्मक, सामन्तवादी।
विषय परिचय
इन्द्रबहादुर राई (१९८४) नेपाली साहित्यको विविध धारामा कलम चलाउने कथाकार हुन्। राईले आफ्नो साहित्य यात्रामा अगाडि बढ्दै जाने क्रममा ‘बिपना कतिपय’ (२ं०१७), ‘कथास्था’ (२०२९) र ‘कठपुतलीको मन’ (२०४६) कथासङ्ग्रहरू प्रकाशित गरेका छन्। वि.सं.२०१६ मा ‘रातभरी हुरी चल्यो’ कथा लेखेर नेपाली साहित्यको कथा क्षेत्रमा पाइला चालेका राईको ‘कठपुतलीको मन’ कथा विनिर्माणवाद सिद्धान्तमा आधारित ‘कठपुतलीको मन’ कथासङ्ग्रहमा सङ्ग्रहित विभिन्न कथाहरू मध्ये एक हो।
शीर्षकमा प्रयोग गरिएको ‘कठपुतली’ शब्दले भ्रमपूर्ण, निरश, निर्जीव जीवन बिताइरहेका, अरूद्वारा सञ्चालित व्यक्ति तथा वस्तु जसरी काठको पुतली जस्तो अस्तित्वविहीन, भ्रमपूर्ण, निरश, निर्जीव जीवन बिताइरहेका व्यक्ति भन्ने अर्थ बोध गर्छ। यसका साथै यस कथाले लीला लेखनको सिद्धान्तलाई प्रतिपादन गरेको छ। संसारमा सत्य केही पनि छैन्। सम्पूर्ण सृष्टि जगत नै भ्रमपूर्ण छ। मानिसको जीवन पनि भ्रमपूर्ण नै छ। भ्रमैभ्रममा हामी बाँचिरहेका छौँ। कुनै पनि वस्तुलाई मूल्याङ्कन गर्दा बहुआयामिक दृष्टिले हेरेर मात्र मूल्याङ्कन गर्नुपर्छ भन्ने लीलालेखनको मुख्य मान्यतामा आधारित यो कथा ‘परालको आगो’ कथालाई विनिर्माण गरी लेखिएको कथा हो जसरी कृष्णको अनेक रूप हुन्छन्। त्यसरी नै कथाको पनि अनेक रूप हुन्छन् भन्ने विनिर्माणवाद सिद्घान्तको प्रयोग गरी लेखिएको यस कथाले नेपाली साहित्य जगतमा नवीनतम उपलब्धि प्राप्त गरेको छ। अहिलेको एक्काइसौँ शताब्दीमा पनि मानिस अरूबाट सञ्चालित छन्, स्वतन्त्र हुन सकेको छैन् भन्ने अभिव्यक्ति कथामा व्यक्त भएको छ। पितृसत्तात्मक नेपाली समाजमा पुरुषको हैकमवादी विचारधारा र उनीहरूले नारीमाथि गरेका विभिन्न असह्य व्यवहारहरू लैङ्गिकताका हिसाबले गरिएका विभेद हुन्। यसले नेपाली समाज परिवर्तन र विकास प्रकृयामा एउटा कालखण्डको जानकारी दिन्छ। यसका साथै लैङ्गिक हिसाबमा कोही कसैमाथि विभेद गरिनु हुँदैन। मानिस सबै एक हौँ सबैलाई समान व्यवहार गर्नुपर्छ। सामाजिक तथा प्राकृतिक लिङ्ग व्यवस्थाका आधारमा महिला र पुरुष भनि विभेद गर्नु हुँदैन भन्ने मान्यताको आधारमा ‘कठपुतलीको मन’ कथालाई समाजशास्त्रीय दृष्टिमा लैङ्गिकताको अध्ययन गर्ने प्रयास गरिएको छ। राईको यस कथालाई ‘कठपुतलीको मन’ कथामा विनिर्माणवाद ( सापकोटा, २०७७), कठपुतलीको मन कथामा विनिर्माण ( पोख्रेल,२०७८), इन्दबहादुर राईको ‘कठपुतलीको मन’ कथामा उत्तरआधुनिकता (जोशी, २०८०) शीर्षकमा विभिन्न किसिमका लेख तथा रचना प्रकाशित भए तापनि हालसम्म लैङ्गिकताका दृष्टिले कुनैपनि अध्ययन, विश्लेषण र मूल्याङ्कन नभएको हुँदा यस कथामा अभिव्यक्त लौङ्गिकताको खोजी गर्नु औचित्यपूर्ण नै देखिन्छ भने यसको अध्ययनले नेपाली कथा अध्ययनको क्षेत्रमा लैङ्गिकताको खोजी गर्न चाहने जो कोहीलाई थप सहयोग र योगदान पुर्याउनुका साथै लैङ्गिकताका बारेमा जानकारी दिन्छ। लैङ्गिकता के हो ? लैङ्गिकताका दृष्टिले यो कथा किन विशिष्ट छ ? लैङ्गिकता कहाँ, कहिले र कसरी आउछ ? भन्ने प्रश्नको उत्तरका क्रममा यस सिद्धान्तले एकातिर प्राकृतिक लिङ्ग व्यवस्था र सामाजिक लिङ्ग व्यवस्थाको अध्ययन गर्छ भने अर्कोतिर यसले कृतिमा व्यक्त लैङ्गिकताको अध्ययन, घटनाले सिर्जित परिस्थिति र त्यसको परिणाम तथा कथानकले ल्याएको परिस्थितिलाई के कसरी उठान गरेको छ ? भन्ने जस्ता कुराहरूको अध्ययन गर्छ। यसरी सर्वाधिक चिन्ता र चासोको विषयमा रहेको लैङ्गिकता कथामा के कसरी प्रतिबिम्बित भएको छ ? भन्ने प्राज्ञिक जिज्ञासा नै प्रस्तुत लेखको मूल समस्या हो। यही समस्या समाधानको निम्ति अध्ययनविधि अन्तर्गत सामाग्री सङ्कलन विधि र सैद्धान्तिक पर्याधार र अध्ययन विश्लेषण विधिलाई लिइएको छ। सामाग्री सङ्कलन विधि अन्तर्गत पुस्तकालयीय अध्ययनमा आधारित प्राथमिक र द्वितीयक स्रोत अन्तर्गत रहेर गरिएको छ भने सैद्धान्तिक पर्याधार अन्तर्गत लैङ्गिकताको सैद्घान्तिको मान्यतालाई आधार मानेर प्रस्तुत लेख सम्पन्न गरिएको छ। यस सन्दर्भमा लैङ्गिकताको सैद्धान्तिक मान्यताको सिद्धान्तहरूलाई मूल आधार बनाई ‘कठपुतलीको मन’ कथामा प्रयुक्त लैङ्गिकताको खोजी गरी त्यसको विश्लेषण तथा मूल्याङ्कन गरिएको छ।
अध्ययन विधि
सामग्री सङ्कलन विधिअन्तर्गत पुस्कालयीय अध्ययनमा आधारित प्राथमिक र द्वितीयक स्रोतअन्तर्गत रहेर गरिएको छ। प्राथमिक सामग्री कथाकार राईको ‘कठपुतलीको मन’ कथा हो, भने तत्सम्बन्धी समीक्षा, समालोचना, सम्बन्धित विषयका पाठ्यपुस्तक, लगायतका आवश्यक सामग्रीहरू द्वितीयक सामगी्रका रूपमा रहेका छन्। यी दुवै सामग्रीहरू पुस्तकालयमा उपलब्ध हुने भएकाले पुस्तकालयबाट नै यसका आवश्यक सामग्रीहरू प्राप्त गरिएको छ। त्यसैगरी सैद्धान्तिक पर्याधारअन्तर्गत लैङ्गिकताको सिद्धान्तलाई लिइएको छ र अध्ययन विश्लेषण ढाँचा(पद्धति)अन्तर्गत पात्रको प्राकृतिक र समाजद्वारा निर्धारित सामाजिक तथा सांस्कृतिक अवस्थालाई आधार मानेर यस कथाको विश्लेषण गरिएको छ।
सैद्धान्तिक पर्याधार
लैङ्गिकता व्यक्तिको शारीरिक बनोट वा सामाजिक भूमिकाका आधारमा निर्मित सामाजिक परिचय हो। यो प्राकृतिक नभएर सामाजिक सांस्कृतिक सिद्धान्त हो। ‘लैङ्गिकता ‘जेन्डर’ को नेपाली रूपान्तरण हो। ‘जेन्डर’ को मूल शब्द प्रोटो–इन्डो–युरोपिएन भाषाको ‘जिन’ भन्ने शब्द हो जसको अर्थ ‘किन्’, ‘काइन्ड’, ‘किङ्ग’ भन्ने हुन्छ। यी सबै शब्दले मानिसमा अन्तरनिहित जैविक तथा प्राकृतिक गुण र सामाजिक विशेषतामा हुने भिन्नतालाई जाहेर गर्छ’ ( पाण्डे, २०६९, पृ.२ )। त्यसैले यस सिद्घान्तले जैविक विशेषताका आधारमा ‘संस्कृतिसँग सम्बन्धित पुरूषत्व र नारीका धारणालाई सङ्केत गर्छ। समाज र संस्कृतिबाट निर्मित पुरुष र महिला बिच सामाजिक, सांस्कृतिक, आर्थिक, राजनैतिक तथा मनोवैज्ञानिक भूमिका र उनीहरूको अवस्थाका’ ( खनाल, २०७५, पृ. १ ) बारेमा यसले गहन अध्ययन गर्छ। यसैगरी जुलिया क्लिम्स मोसीका अनुसार लैङ्गिकता भन्नाले ‘भूमिकाहरूको ‘सेट’ हो जसले वस्त्रले झै अरू मानिसलाई हामी स्त्रीलिङ्गी हौ, हामी पुलिङ्गी हौ भन्ने अर्थ बताउँछ। यस सेटभित्र हाम्रो मुखाकृति, वस्त्र–पहिरन, प्रकृति, व्यक्तिŒव, घरभित्र र बाहिरका कर्महरू, यौनिकता, परिवार, तिनीहरूको बिचको सञ्चार जस्ता कुरा हुन्छन्, जसले हाम्रा लैङ्गिक भूमिकाको निर्माण गर्दछन्’ ( पाण्डे, २०६९, पृ २ )। लैङ्गिक अध्ययनले दमित महिला र पुरुषको अध्ययन गर्छ। महिला मात्र पुरुषबाट पीडित भएका होइनन् पुरुष पनि महिलाबाट पीडित तथा दमित भएका छन् भनि नारी पुरुषको समान रूपमा खोजी गर्छ। ‘लैङ्गिक पहिचानको खोजी गर्दा महिला र पुरुषको प्राकृतिक भिन्नताका साथै सामाजिक सांस्कृति भिन्नताको पनि अध्ययन गरिन्छ। सामाजिक मूल्यमान्यता र धर्म संस्कृतिका आधारमा समाजमा महिला र पुरुषले छुट्टा–छुट्टै भूमिका निर्वाह गर्दछन्’ ( गुरागाई, २०७१, पृ. ८२ )। त्यसैले लैङ्गिक अध्ययनको मुख्य बिषय भनेको सामाज हो जसले मानिसको लिङ्गगत भूमिकालाई जनाउदछ भने लैङ्गिकताले नारी एवम पुरुषको सामाजिक सांस्कृतिक रूपमा निर्मित भूमिका, बानीव्यहोरा, क्रियाकलाप, विशेषता तथा सामाजिक सांस्कृतिक सत्ता सम्बन्धलाई जनाउछ। लैङ्गिक अध्ययन स्त्री र पुरुषको लिङ्गगत कोटी हो। यो जीव वैज्ञानिक हुन्छ भने लैङ्गिकता सामाजिक कोटी हो जुन सामाजिक सांस्कृतिक मूल्यद्वारा निर्धारित हुन्छ। लैङ्गिकता भित्र पात्रको लैङ्गिक प्राकृतिक पहिचान र समाजद्वारा निर्धारित सामाजिक सांस्कृतिक पहिचान पर्दछन्। लैङ्गिकता व्यक्ति तथा समाजको चेतना हो। समाजले निर्धारण गरेको भूमिका, समाजले दिएको अधिकार तथा समाजद्वारा विकसित मानसिकता लगायत यी सबै कुराको बोध गर्नु नै लैङ्गिकताको एक प्रकृया हो। यसले लैङ्गिकताको नाममा गरिएका पूर्वनिधारित खराब पद्धतिलाई विस्थापित गर्दै समानताको व्यवस्था गर्नु लैङ्गिक चेतना हो। त्यसैंले लैङ्गिकता समान न्यायप्रणालीको विधि पनि हो।
सामाजिक लिङ्ग व्यवस्था समाज अनुसार निर्धारित हुन्छ। समाजद्वारा निर्धारित लिङ्ग व्यवस्थामा नारीलाई कम पारिश्रमिक दिने र नारी धेरै घरायसी कामकाजमा व्यस्त हुुनुपर्छ भन्ने मान्यता राख्छ भने पुरुष घर बाहिर गएर कमाउनुपर्ने र जोखिमपूर्ण काम गर्नुपर्छ भन्ने मान्यता राख्छ। यसैगरी नारी कोमल, सहनशील, परनिर्भर, निरीह, डरपोक, भावुक, अह्राएको काम गर्ने दासी, सानातिना काम गर्ने, अर्काको सहारामा बाँच्ने लगायतका अन्य कुराहरू र पुरुष निडर, कठोर, आक्रात्मक, साहसी, बलवान, आत्मनिर्भर, स्वावलम्बी, रक्षक, सक्षम, सक्रिय, तर्कशील, निर्णयकर्ता, नेतृत्वकर्ता हुन्छन् भन्नु नै हाम्रै समाजद्वारा निर्धारित लैङ्गिक पहिचान हो। नारीमा रजस्वला हुनु, गर्भाधान क्षमता हुनु, स्तनपान गराउनु र पुरुषमा दाह्री जुङ्गा आउनु यी सब प्राकृतिक लिङ्ग व्यवस्था हुन् जुन कुरा प्रकृतिले नै जन्मजात रूपमा दिएको हुन्छ। ‘प्राकृतिक लिङ्ग व्यवस्था जीववैज्ञानिक हुन्छ भने सांस्कृतिक लिङ्ग व्यवस्था सामाजिक हुन्छ। समाजको व्यवहारका आधारमा महिला र पुरुषको भूमिका निर्धारण भएका कारण समाजमा महिला पुरुषमा असमानता उत्पन्न भई लैङ्गिक दमनका माध्यमबाट अन्यायपूर्ण समाजको निर्माण भएको छ। नेपाली समाजको मूल स्वरूप तथा यसको सत्ता र शक्ति सम्बन्ध पितृसत्तात्मक रहेका कारण यसको द्विचर सम्बन्ध शोषक शोषित र दमक दमित प्रकृतिको छ’ ( भट्टराई, २०७८, पृ.६–७ )। समाजद्वारा निर्धारित यिनै कमजोर मानसिकताकै कारण नारी र पुरुषमा विभेद गरिएको छ। नारीलाई कमजोर पात्र र पुरुषलाई बलिष्ठ पात्रका रूपमा उभ्याइएको छ।
पुरुषलाई बलिष्ठ पात्रका रूपमा उभ्याइएकै कारण अझै पनि नारीहरू आफ्नै घरपरिवारका पुरुष सदस्यबाट अपहेलित र असुरक्षित छन। यसरी पितृसत्तात्मक समाजमा घरपरिवारदेखि राज्यका हरेक तह र तप्कामा नारीहरू पुरुषद्वारा नै अपहेलित, असुरक्षित, घृणित र तिरस्कृत हुनु नै सामाजिक सांस्कृतिक पहिचानद्वारा निर्धारित लैङ्गिक विभेद र त्यसले निम्ताएको द्वन्द्वात्मक अवस्था नै हो।
‘कठपुतलीको मन’ कथाको विश्लेषण
इन्द्रबहादुर राईद्वारा लिखित ‘कठपुतलीको मन’ ( सन् १९८९ )छोटो आयामको आफँैमा पूर्ण सामाजिक यर्थाथवादी कथा हो। पितृसत्तात्मक समाज व्यवस्थाले नारीमाथि गरेका अन्याय, अत्याचार, शोषण, दमन तथा लैङ्गिकतालाई यस कथामा व्यक्त गरिएको छ। कथामा व्यक्त नारी पुरुष बिचको लैङ्गिक विभेद, समाजद्वारा निर्धारित सामाजिक तथा सांस्कृतिक अवस्थालाई यहाँ लैङ्गिकताको दृष्टिकोणबाट चर्चा गरिएको छ।
‘कठपुतलीको मन’ कथामा लैङ्तिकता
इन्द्रबहादुर राईद्वारा लिखित ‘कठपुतलीको मन’ कथा ‘परालको आगो’ कथाको विनिर्माणवाद हो। ‘यसमा कथाकार राईले भाषा तत्त्वको संरचनालाई तोडमोड गरेका छन् भने वाक्य सङ्गतिमा पनि बेमेल छ। कथामा रिक्त स्थान, अर्धविराम, अल्पविराम, योजक चिह्न, लोप चिह्नको पूर्णता पनि गरिएको पाइँदैन जसको कारण बहुअर्थको प्रबल सम्भावना रहेको पाइन्छ। त्यसैगरी कथामा आलङ्कारिक भाषाको प्रयोगले पात्रका अभिव्यक्तिगत अर्थमा भिन्नता ल्याएको पाइन्छ। विनिर्माणवादी मान्यता र शैली अनुरूप राईको ‘कठपुतलीको मन’ कथाको विषयवस्तुदेखि पात्रको प्रयोग, विधा मिश्रण, आलङ्कारिकता आदिका कारण कथामा प्रयोगशीलता पाइन्छ’ ( पोख्रेल, २०७८, पृ.१५४)। पित्तृसत्तात्मक समाज व्यवस्थाका कारण नारीले भोग्नु परेका पीडालाई चामे र गौँथलीका माध्यमबाट व्यक्त गरिएको छ। चामेले गौँथलीमाथि गरेका हरेक व्यवहार र गौँथलीले भोगेका सम्पूर्ण दुःख, कष्ठ सबै सामाजिक लैङ्गिक विभेदका रूपमा यहाँ आएका छन्। चामे पित्तृसत्तात्मक सामन्ती प्रवृत्तिबाट ग्रसित पात्र हो भने, गौँथली निरीह पात्र हो। यिनीहरूले एउटा सिङ्गो समाजको प्रतिनिधित्व गरेका छन्। यो कथाकारको पात्रविधानगत सामर्थ्य र वैशिष्ट्य पनि हो। नेपाली समाजको लैङ्गिकताको इतिहासमा चामे एउटा प्रभुत्वशाली पिँढीको प्रतिनिधि पात्र हो। त्यसैले उसले आफ्नो प्रभुत्वको प्रदर्शन आफ्नी श्रीमती गौँथलीमाथि देखाएको छ। गौँथली आफ्नो सम्पूर्ण घरायसी कामधन्दा सक्काएर बाँकी रहेको खाली समयमा बिहेको रमाइलो हेरेर फर्कदा आफ्नो लोग्नेले लगाएका सम्पूर्ण लाञ्छना, तिरस्कार पनि चुपचाप सहेर लाचार र निरीह भई आफ्नो दैनिकी कामधन्दामा लाग्नुले अधीनस्थ पात्रको प्रतिनिधित्व गरेको छ भने अर्कोतिर गौँथलीलाई नारी भएकै कारण लैङ्गिक विभेद गरिएको छ। नारीलाई जड वस्तुको रूपमा हेरिएको छ। पिट्दा दुख्छ भन्ने कुराको वास्ता नगर्नु, नारीको स्वतन्त्र अस्तित्व र इच्छाशक्तिको कुनै मतलब नगरी नारीलाई केवल पुरुषको उपभोग्यवस्तुको रूपमा मात्र स्वीकार गरेको प्रसङ्गलाई कथाकारले यसरी उल्लेख गरेका छन् :
“दिनभरि जन्तीसँग आँखा झिम्काएर बसिस्”
“यति बेला स्वाङ पार्छेस्… ” हिर्कायो एक लात
“गौँथली ढुनमुनिदैँ सँगारमा लडी…”झ्याम्टा बजेकोसँगै “गाग्रो फुटेर ढोकामा पानीको छताछुल्ल भो।”
लड्नि दुख्यो नै पनि। आफ्नो चामेको रिस सम्झेर सहिन्। (पृ.१४२)
माथिको कथांशमा ‘कथाकार राईले आलङ्कारिक भाषाको प्रयोग’ (पोख्रेल, २०७८, पृ.१५२) गर्दै पितृसत्तात्मक सामन्तवादी संस्कारबाट ग्रसित पति चामेको कठोर नियन्त्रणभित्र अस्तित्वहीन जीवन बाँचेकी एक निरीह नारी पात्रको रूपमा गौँथलीलाई अगाडि ल्याएका छन्। गौँथली आफैँमा सक्षम, सबल र कर्तव्यनिष्ठ हँुदाहँुदै पनि पति चामेको दृष्टिमा ऊ दासी, पुरुषको भोग्यावस्तु र अर्धाङ्गिनी भन्दामाथि हुन नसक्नु र पतिको हरेक सेवामा समर्पित हुनु नै विवाहित नारीको धर्म हो भन्दै गौँथली पति र परिवारको सेवामा मात्र रमाएर बाँच्नुपर्छ भन्ने यस्ता पितृसत्तात्मक पुरुषवादी सोच चामेमा रहेको छ। नारीको आफ्नो कुनै पनि स्वतन्त्र अस्तित्व हुँदैन। यिनीहरू पुरुषद्वारा पालिने भएको हुनाले पतिको निर्देशन र आग्रह विपरीत कुनै पनि कार्य गर्न पाउदैनन्। नारी भनेको घरको कामधन्दा गरी घरभित्रै बस्ने जाति हुन्। घरकै कामधन्दामा आफ्नो समय व्यतित गरी घरभित्रै रमाउनु पर्छ भन्नु तथा परिवारको खुसी नै मेरो खुसी हो भनी त्यसैमा रमाउन सिक्नुपर्छ भन्नु नै पुरुषले आफूलाई प्रभुत्वशाली वर्ग र नारीलाई अधीनस्थ वर्गका रूपमा राखेर गरिएको एउटा लैङ्गिक विभेद हो। पुरुष पुरुष भएकै कारण उसले हरेक कार्यमा सहभागी हुन पाउने, गल्ती गर्दा समेत खुलेआम हिँडडुल गर्ने तर उही आमाको कोखबाट जन्मिएकी नारी नारी भएकै कारण आफैँमा सक्षम हुँदाहुँदै पनि पुरुषद्वारा सञ्चालित हुनुपर्ने ? आफ्नो स्वतन्त्र अस्तित्वमा बाँच्न नपाउने ? पुरुषले गरेका हरेक गल्ती, लगाएका अनेक लाञ्छना, दिएको दुःख कष्ठ सबै चुपचाप सहनुपर्ने ? नारी आफूले नगरेको गल्ती जबरजस्ती स्वीकार गर्नुपर्ने ? यी सबै पुरुषको पितृसत्तात्मक सोच र हाम्रो सामाजिक संस्कृति र सामाजिक व्यवहारले निर्धारण गरेको लैङ्गिकता हो। नारीले जानेर वा नजानेर कुनै गल्ती गर्दा पुरुषद्वारा अपहेलित र दण्डित हुँदा समेत चुपचाप सहनुपर्छ भन्ने भाव नै लैङ्गिक विभेदको अर्को डरलाग्दो रूप हो।
त्यसैगरी नारी नारी भएकै कारण समाजले उसलाई अधीनस्थ पात्रका रूपमा र पुरुषलाई प्रभुत्वशाली वर्गका रूपमा उभ्याइएको छ। पुरुष भएकै कारण लैङ्गिक शक्तिको प्रयोग कसरी गरिएको छ भन्ने कुरालाई कथाकार भन्छन् :
भुल मेरै, तिमीले कुटेको ठीकै, हाम्रो राम्रो गाग्रो फुट्यो, तर म तिमीलाई केही भन्दिनँ (पृ.१४२)
माथिको कथांशले पुरुषलाई शक्तिशाली र नारीलाई निरीह पात्रका रूपमा उभ्याइएको छ। पुरुषले नारीमाथि जेसुकै गरेपनि नारी धर्ती भएर चुपचाप मारे पाप पाले पुण्य भनी पुरुषका हरेक कार्यलाई सहनुपरेको दर्दनाक अवस्थाको चित्रण गरिएको छ। पितृसत्तात्मक सोच र सामाजिक सांस्कृतिक समाज व्यवस्थाकै कारण नारी नारकीय जीवन बिताउन विवश भएका छन्। यो पुरुषले नारीमाथि गरेको जघन्य अपराध हो। नारी मानिस भएर बाँच्न नपाउने ? आफ्नो इच्छाका हरेक कार्य गर्न नपाउने ? निरीह पशुवत जीवन बिताउन विवश हुनुपर्ने ? नारी कमजोर, परनिर्भर, असक्षम हुन्छन् भनी समाजले निर्धारण गरेको सामाजिक लिङ्ग व्यवस्था र व्यवहारका कारण पुरुषले नारीमाथि गरेको लैङ्गिक विभेदलाई कथाकारले चामे र गौँथलीका माध्यमबाट प्रस्ट्याउदै भन्छन् :“मेरो घरमा एकछिन् नबस्, जहाँ जान्छे जा…” यस वाक्यमा नारी पुरुषको सहाराविना जीवन जिउन सक्दैनन्। त्यसैले यिनीहरूलाई जेजस्तो गरे तापनि वा भने तापनि चुपचाप सहन्छन् भन्ने हेय दृष्टिका साथ नारीमाथि अपहेलित प्रश्न चिन्ह खडा गरिएको छ। के नारीलाई आफ्नो स्वतन्त्र अस्तित्वमा बाँच्न पाउने हक, अधिकार छैन् ? पितृसत्तात्मक समाज व्यवस्थाले नारीलाई पुरुष सरह अवसर दिएको खण्डमा उनीहरू कसैको सहाराबिना बाँच्न सक्दैनन् ? नारीमा आफूले नगरेको गल्तीलाई सजिलै स्वीकार गर्न सक्ने क्षमता हुन्छ तर त्यसको प्रतिकार गर्न सक्ने क्षमता हँुदैन् र गदैनन् पनि। बरु उनीहरू पितृसत्तात्मक धाराबाट ग्रसित पुरुषको अवहेलना सहन नसकि आफ्नो देहत्याग गर्छन् तर प्रतिकार गर्दैनन् भन्ने भावलाई कथाकारले यसरी व्यक्त गर्छन् :
(क)…भनेर चामेले फेरी गौँथलीको चुल्ठो समातेर घिसार्दै आगनमा पुर्यायो।
(ख) “कोर सल्केका हात बाउआमा राँडाराँडीका आखाँ फुटेर कसाईका हातमा सुम्पे। यस्ता कङ्गाली मोराकी जोई भएर बस्नुभन्दा डुबेर मर्नु जाती।”(१४३)
माथिको कथांशमा पतिले जतिबेला जे मन लाग्छ त्यही गर्दा पनि पत्नीले चुपचाप सहनुपर्ने तर आफूमाथि आइलाग्ने लोग्नेमाथि जाइ लाग्नु हुँदैन् भन्ने सामाजिक मूल्य, मान्यता र संस्कृतिकै कारण हरेक नारीले पतिको हरेक कुकर्मलाई चुपचाप सहेका छन्। धर्ती भएर सबै सहेका र सहजै स्वीकार गरेका छन् तर पुरुषले आफूमाथि कुटपिट गर्दा, अनेक लाञ्छना लगाउदा, दमन, शोषण, अन्याय, अत्याचार गर्दा समेत यस्ता कुनै पनि हिंसात्मक कुकर्मको प्रतिरोध गरेका छैनन् सहन सकुन्जेल सहेका छन् सहनै नसकेको अवस्थामा मात्र आफ्नो देहत्याग गर्छन् भन्दै नारीलाई निरीह अस्तित्वहीन, असक्षम पात्रका रूपमा कथाकारले उभ्याएका छन्। यो पितृसत्तात्मक विचार धाराबाट ग्रसित पुरुष सामन्तवादी प्रवृत्ति हो।
त्यसैगरी पुरुष प्रभुत्वशाली वर्ग हो। उसले सामाजिक सांस्कृतिक समाज व्यवस्थाले निर्धारण गरेको लैङ्गिक व्यवस्था उन्मुख कार्य गर्नुपर्छ। उसले कहिल्यै पनि नारीले गर्ने कार्य गर्नु हँुदैन। घरायसी काम त निरीह, कमजोर नारीले मात्र गर्छन्। पुरुष त शक्तिशाली कर्तव्यनिष्ठ व्यक्ति हो। नेतृत्वकर्ता हो। ऊ घरायसी अलमलमा अल्झिनु हुँदैन भन्ने किसिमको विचारलाई कथाकार भन्छन् :
“आयु ! लोग्नेमान्छेले पानी बोकेको कत्ति नसुहाएको” (पृ. १४५) !
यस कथांशमा व्यक्त भएको भाव नेपाली पितृसत्तात्मक समाज व्यवस्थाले जन्माएको विचारधारा हो। नारी आफूमा सक्षम र सबल हँुदाहुँदै पनि समाजले दिएको लैङ्गिक परिचय, सामाजिक सांस्कृतिक विचारधाराबाट ग्रसित महिलाको पितृसत्तात्मक विचार हो। किनकि आधिकांश मानिसहरू आफ्नो बच्चा जन्मनासाथै ‘छोरी भए डल र छोरा भए बल’ किनिदिने सामाजिक कमजोर मानसिकताबाट ग्रसित छन्। नारीले पनि पुरुष सरह हरेक कार्य गर्न सक्छन् भन्ने कुराको चेतना भएर पनि बाहिर खूल्ला रूपमा व्यक्त गर्न नसक्नु र अरूद्वारा सञ्चालित भाषाको प्रयोग गर्नु नै सामाजिक लैङ्गिक व्यवस्थाबाट ग्रसित मानसिकता हो। समाज व्यवस्थाले नारीमाथि लगाएको एउटा प्रतिबन्ध हो। नारी नारी भएकै कारण घरायसी काम धन्दामा पोख्त हुनुपर्ने ? तर नारीले गर्ने त्यही कार्य पुरुषले गर्दा सुहाउँदैन त्यसैले पुरुषले आफ्नै काम गर्नुपर्छ नारीले गर्ने कुनै पनि कार्य गर्नुहँुदैन भन्ने किसिमको खराब मानसिकता नारी स्वयम्मा पनि संस्कृतिको रूपमा जरा गाडेर बसेको छ भन्ने भाव यहाँ अभिव्यक्त भएको छ। यसका साथै पुरुषले भनेका र अह्राएका हरेक कार्यमा नारीले प्रतिप्रश्न गरेको खण्डमा नारीलाई कुटेर ठिक पार्नुपर्छ। पोथी बासेको राम्रो हुँदैन भन्ने खराब दृष्टिकोण पुरुषमा रहेको छ भन्ने भावलाई कथाकार भन्छन् :
“छुरा जस्तो मुख छ, अनि नकुटेर के गर्नु ?–”
मुख चलाउने स्वास्नीलाई कुट्नैपर्छ। (पृ. १४६)
माथि व्यक्त गरिएको कथांशमा नारीलाई पशुवत रूपमा हेरिएको छ। नारीको कुनै पनि अस्तित्व नभएको र पुरूषकै अस्त्विमा आफ्नो जीवन बिताउनुपर्ने बाध्यात्मक अवस्थालाई चित्रण गरिएको छ। पुरुषले गरेका कुनै पनि कार्यमा प्रतिप्रश्न नगरी खुरुखुरु गर्नुपर्छ। नारी पुरुषको भोगविलासी वस्तु हुन् उनीहरूको कुनै अस्तित्व छैन। उनीहरू भनेका परिलक्षित वर्ग हुन्। असक्षम, डरपोक छन्। समय समयमा गाली, कुटपिट, गाली, धम्की गर्ने गरेको खण्डमा आफ्नो ठाउँमा चुपचाप सहेर बस्छन् नत्र हामी भन्दामाथि पुग्छन् र हामीले आफ्नो पुरुष वर्चस्व कायम गर्न पाउदैनौँ। त्यसैकारण पनि नारीले केही बोलेको खण्डमा उसलाई कुटेर, धम्की दिएर, विभिन्न किसिमको डर देखाएर भए पनि समाजले निर्धारण गरेको सामाजिक मर्यादा भित्र अधीनस्थ पात्रकै रूपमा राख्नुपर्छ भन्ने किसिमको लैङ्गिक विभेदलाई यहाँ अभिव्यक्त गरिएको छ। यसैगरी नारी भनेको अस्तित्वहीन जाति हुन् जसरी काखी मुनीको रौँको कुनै अस्तित्व हुँदैन भन्ने किसिमको खराब, निर्लज्ज अभिव्यक्तिलाई कथाकार भन्छन् :
स्वास्नी जैरी ?“जैरे– काखीमनि उम्रने रौ।” (पृ.१४७)
माथि उल्लेखित कथांशमा पित्तृसत्तात्मक समाजमा नारीलाई अस्तित्वहीन र अधिकारविहीन कृत्रिम वस्तुका रूपमा उभ्याएको छ। यसरी नारीलाई अस्त्विविहीन र परिचय विहीन पात्रका रूपमा उभ्याउनु भनेको पुरुषले नारीमाथि गरेको चरम शोषण हो। पितृसत्तात्मक समाज व्यवस्थाले सामाजिक मूल्यमान्यता, संस्कार र संस्कृतिका नाममा नारीमाथि गरेको लैङ्गिक विभेद हो। यसैगरी पुरुषको सम्पूर्ण विचारधारा नै नारीको विचारधारा हो। पुरुषको निर्णयलाई नै आफ्नो निर्णय सम्झिएर अगाडि बढ्नुपर्छ। आफ्नो निर्णय आफै गरेर अगाडि बढ्न पाउदैनन्। उनीहरू पुरुषको विचारधारा अनुसार नै अगाडि बढ्नुपर्छ। पुरुषद्वारा नै परिचालित हुनुपर्छ र हुन्छन् भन्ने भावलाई कथाकार भन्छन् :
“मेरो विचार नै उसको विचार हो।”
“डीनासँग एकपल्ट बात गर्छु म,” (पृ.१५४)
“धेरै नबौला, खुरुक्क हिँड्,…”
“घर लगेर फेरी निहँु झिक्दै कुट्दै गर्नुलाई ?
“पोढे भए अब क्यै गरूँला।… ” (प.१५७)
माथिका यी कथांशहरूमा नारी स्वतन्त्र छैनन् जबरजस्ती पुरुषको विचारधारा, कार्यव्यापारबाट लादिएका छन्। पितृसत्तात्मक सोचबाट अलग हुन सकेका छैनन्। आफूमाथि भएको अन्याय, अत्याचार थाहा पाएर पनि लैङ्गिकताको चेतना नारीमा जागृत भएर पनि अझै उनीहरू सामन्ती पुरुष प्रवृत्ति र शोषित कार्यव्यापारको विरोध गर्न नसकेर निरीह लाचार भएर आत्मसाथ गरेका छन्। यो पुरुषप्रधान समाजले धर्म, संस्कार र संस्कृतिका नाममा नारीमाथि गरेको चरम लैङ्गिक विभेद हो। नारीले आफूमाथि भएको विभेदको अन्त्य गर्ने माध्यम थाहा पाएर पनि यही समाजको सामाजिक र सांस्कृतिक पहिचानद्वारा दिएको लैङ्गिकताको परिचय कै कारण प्रतिरोधी क्षमता नारी मुखारविन्दबाट प्रकटित हुन् सकेको छैन् भन्ने भाव व्यक्त गरिएको छ।
निष्कर्ष
निष्कर्षमा भन्नुपर्दा कथामा व्यक्त चामे र गौँथली पात्रको माध्यमबाट समाजमा विभिन्न ग्रामीण संस्कृति तथा पितृसत्तात्मक पुरुष समाज व्यवस्था र त्यसले जन्माएको लैङ्गिक विभेदलाई कथाकार राइले ‘कठपुतलीको मन’ कथाका माध्यमबाट स्पष्ट पारेका छन्। चामेले गौँथलीलाई कुटपिट गर्दा दुखे नदुखेको कुनै वास्ता नगर्नु र गौँथलीको कुनै पनि वाक् स्वतन्त्रता नहुनुले यहाँ पितृसत्तात्मक पुरुष हैकमवादी प्रवृत्ति र नारीमाथि रहेको पुरुषको दृष्टिलाई यर्थाथ रूपमा चित्रण गरिएको छ। नारीलाई पुरुषको अर्धाङ्गिनी र भोगविलासी वस्तुको रूपमा प्रयोग गरिएको छ। पुरुषले जे भने र गरे तापनि विश्व ब्रह्माण्ड सरह चुपचाप सहनुपर्छ। आफ्ना सम्पूर्ण खुसीलाई लात हान्दै पति र परिवारको खुसीमा आफू खुसी हुनुपर्छ भन्ने कुराको बोध गराउदै नारीलाई यहाँ निरीह, परिचयविहीन र अस्तित्वविहीन पात्रका रूपमा उपस्थित गराइएको छ। पितृसत्तात्मक सामन्ती विचारधाराकै कारण कतिपय नारीले मृत्युवरण गरेका छन् त कैयौँले नारकीय जीवन व्यतीत गरेका छन्। नारी नारी भएकै कारण रजस्वला हुँदा धर्मका नाममा गरिने विभेद, शिक्षाको क्षेत्रमा हुने राजनीतिक विभेद लगायतका अन्य विभेदहरूको सामना गर्दै आएका छन्। नारीले आफ्नो अस्मिता बिर्सेर पुरुष अस्मितालाई आत्मसाथ गर्दै आफ्नो नारकीय जीवन बिताउन विवश भएका विभिन्न यथार्थ रूपहरू प्रस्तुत गरेको हुनाले नै यो कथा सामाजिक यथार्थवादी कथा हो। श्रीमान श्रीमतीको झगडा परालको आगो जस्तो क्षणिक र अस्थायी नभई दीर्घकालीन दुःखान्तक, पीडादायी पनि हुन्छ र यसले आत्महत्या, गृहत्याग, देहत्यागको स्थितिमा समेत पुग्न सक्छ भन्ने सन्दर्भलाई कथाकारले यस कथाका माध्यमबाट स्पष्ट पारेका छन्।
त्यसैगरी नारीलाई निर्जीव वस्तु तथा खेलौनाका रूपमा प्रयोग गर्ने पितृसत्तात्मक सामाजिक व्यवस्था र पुरुष प्रवृत्तिको चित्रण पनि यस कथामा गरिएको छ। नारीमा चेतना भएर पनि सामाजिक व्यवस्थाका विरुद्घ खुलेर बोल्न र विरोध गर्न सकेका छैनन्। नारीले एकातिर धर्म र संस्कृतिका नाममा पुरुषले आफूमाथि चर्को शोषण, दमन, अन्याय तथा अत्याचार गरीरहदा पनि पति र परिवारको खुसीका लागि आफ्ना सम्पूर्ण इच्छा, चाहाना र खुसीलाई तिलाञ्जली दिइएका हुन्छन भने अर्कोतिर आफ्नो परिचय र अस्तित्वविहीन नारकीय जीवन बिताउदै अगाडि बढ्न सक्ने सामर्थ्य तथा साहस राखेका हुन्छन भन्ने कुरालाई प्रष्ट पारिएको छ। व्याख्यात्मक तथा वर्णनात्मक शैलीमा लेखिएको यस कथामा नारीका भोगाइ, पितृसत्ताको शोषण, दमन, अन्याय, अत्याचारलाई गहन तरिकाले समाहित गरिएको हुनाले नै कथाले पूर्णता प्राप्त गरेको छ। कथामा व्यक्त विभिन्न स्थान, काल र वातावरणले पनि लैङ्गिक साहित्यिक प्रतिबिम्बनलाई स्पष्ट पारेको छ। कथामा व्यक्त लैङ्गिक विभेदले कथालाई अझ सशक्त र विद्रोहात्मक बनाएको छ। सामाजिक यथार्थवादी यस कथामा राईले पुरुषलाई प्रभुत्वशाली वर्ग र नारीलाई अधीनस्थ पात्रका रूपमा प्रस्तुत गरेका छन्। कथामा व्यक्त घटनाक्रमलाई कतै मूर्त तथा अमूर्त, वर्णनात्मक तथा संस्मरणात्मक रूपमा सरल, सहज र सरस भाषाशैलीका माध्यमबाट उठान गरी कथाको वातावरण अत्यन्त विभेदकारी बनाइएको छ। यसले पाठकीय प्रभावोत्पादकतामा वृद्धि गरेको छ। शृङ्खलाबद्ध कथावस्तुको विस्तार तथा कुुशल प्रस्तुतीकरणका माध्यमबाट कथा अझ सशक्त र प्रभावकारी बन्न पुगेको छ। एकातिर यो कथा लैङ्गिकताका दृष्टिले विशिष्ट कथाका रूपमा स्थापित भएको छ भने अर्कोतिर लैङ्गिकताको सिद्धान्तका दृष्टिले महŒवपूर्ण पनि छ। त्यसैले लैङ्गिकताको सिद्धान्तका आधारमा यो कथा सफल, प्रभावकारी र सौन्दर्यपूर्ण नै छ भन्ने निष्कर्ष निकालिएको छ।
सन्दर्भसामग्रीसूची
अधिकारी, ज्ञानु. (२०७६). ‘समकालीन नेपाली कथामा लैङ्गिक चेतना’. प्रज्ञा समकालीन नेपाली कथाविमर्श. ज्ञानु अधिकारी (सम्पा.) काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठान. पृ.१५३–१७५।
खनाल, राजेन्द्र. (२०७५). लैङ्गिक समालोचना सिद्धान्त र प्रयोग. कीर्तिपुर : सनलाइट पब्लिकेसन।
गुरागाई, राधिकादेवी. (२०७१). ‘स्वास्नी मान्छे नाटकमा लैङ्गिकता’. वाङ्मय. १५(१५). पृ.८१–८२।
जोशी, हेमा. (२०८०). ‘इन्द्रबहादुर राईको ‘कठपुतलीको मन’ कथामा उत्तरआधुनिकता’. Journal of Durgalaxmi. २/१. पृ.१४५–१५४.DOI:https://doi.org/10.3126/jdl.v2i1.65419
पाण्डे, ज्ञानू. (२०६९). नेपाली उपन्यासमा लैङ्गिकता. काठमाडौँ : नेपाल प्रज्ञा–प्रतिष्ठान।
पोख्रेल, तुल्सीराम. ( २०७८). कठपुतलीको मन कथामा विनिर्माण. प्रज्ञान. ६/१. पृ.१४५– १५४।
भट्टराई, रमेश. (२०७७/७८). आधुनिक नेपाली उपन्यासको सांस्कृतिक विश्लेषण. काठमाडौँ : भुँडीपुराण प्रकाशन।
सापकोटा, कृष्णप्रसाद. (२०७८). ‘कठपुतलीको मन’ कथामा विनिर्माणवाद. BMC JOURNAL OF SCIENTIFIC RESEARCH. वर्ष ४. पृ.९९–१०५।