प्रस्तुत आलेख कथाकार रमेश विकलद्वारा संरचित कथासङ्ग्रह एउटा बूढो भायोलिन आशाबरीको धूनमा (२०२५) मा सङ्ग्रृहित ‘एउटा बूढो बकैनाको रुख’ कथामा समाख्यानको स्थितिको खोजी गर्नमा केन्द्रित रही पूरा गरिएको छ। विकलका कथामा आउने समस्यामूलक यथार्थ र प्रतीकात्मक कथनको विशिष्टतामा आधारित रही एउटा बूढो बकैनाको रुख कथामा प्रयुक्त वाच्यत्वको विश्लेषण गरिएको छ।
डा. गीता थपलिया त्रिपाठी
उपप्राध्यापक, रत्न राज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँ
ORCID ID 0000-0003-1471-9932
लेखसार
प्रस्तुत आलेख कथाकार रमेश विकलद्वारा संरचित कथासङ्ग्रह एउटा बूढो भायोलिन आशाबरीको धूनमा (२०२५) मा सङ्ग्रृहित ‘एउटा बूढो बकैनाको रुख’ कथामा समाख्यानको स्थितिको खोजी गर्नमा केन्द्रित रही पूरा गरिएको छ। विकलका कथामा आउने समस्यामूलक यथार्थ र प्रतीकात्मक कथनको विशिष्टतामा आधारित रही एउटा बूढो बकैनाको रुख कथामा प्रयुक्त वाच्यत्वको विश्लेषण गरिएको छ। नेपालको राजनीतिक इतिहासमा घटित निरङ्कुशतन्त्रको भयानक दृश्यलाई उपस्थित गरिएको प्रस्तुत कथामा वस्तुपक्षको गहनता र अभिव्यक्तिको गम्भीरता रहेको पाइएकाले सो सामग्री यस समालोचनाको उद्देश्यानुकूल विश्लेष्य सामग्रीका रूपमा सोद्दश्य छनोट गरिएको हो। समाख्यानशास्त्रले आख्यानको गतिशीलतामा कथयिताको स्वरूप र सम्वेदनाको पहिचान गरी प्रवृत्तिगत तथ्य बाहिर ल्याउने हुँदा पात्रत्वका विभिन्न आयाममध्ये कथयिताका आधारमा विषयको विश्लेषण गर्दछ। यस अध्ययनमा पनि कथामा प्रयुक्त प्रथम पुरुष समाख्याताले तृतीय पुरुष पात्रमा घटित बाल्यकालीन कटुसत्यलाई स्मृति, आत्मपरकता र वस्तुतथ्यका बिचमा रही परकथनात्मक भएर पनि प्रभावकारी चित्रण गर्न सक्षम रहेको पुष्टि भएको छ।
शब्दकुञ्जी : कथन, खुला, बन्द, परकथन, समाख्याता, स्वकथन
विषय परिचय
‘एउटा बूढो बकैनाको रुख’ कथाका कथाकार रमेश विकल हुन्। उनको बिरानो देशमा (२०१६), नयाँ सडकको गीत (२०१९), आज फेरि अर्को तन्ना फेरिन्छ (२०२४), एउटा बूढो भ्वायलिन आशावरीको धुनमा (२०२५), उर्मिला भाउजू (२०४३), शव सालिक र सहस्र बुद्ध (२०४३), हराएका कथाहरू (२०५५) कथा सङ्ग्रहहरू प्रकाशित छन्। विकल सामाजिक विकृति, विसङ्गत र अव्यवस्थाको सूक्ष्म अवलोकन गर्दै समाजवादी चिन्तनलाई साहित्यमा प्रस्तुत गर्ने स्रष्टा हुन्। उनी आफ्ना कथाका माध्यमबाट सामाजिक यथार्थवादी र आलोचनात्मक यथार्थवादी चिन्तन प्रस्तुत गर्दछन्। उनी निम्न तथा निम्नमध्यम वर्गीय जीवनको निरीक्षण र सीमान्तीय पात्रले भोग्नुपरेका शोषण र उत्पीडनका घटनालाई सजीव रूपमा प्रस्तुत गर्ने र तिनीहरूको पक्षमा आवाज उठाउने स्रष्टा हुन्। त्यस्तै उनको ‘एउटा बूढो बकैनाको रुख’ कथामा पनि नेपालको ऐतिहासिक कालखण्डमा घटेको प्राणदण्डको प्रत्यक्षदर्शी हुँदाको घटनाले बाल मस्तिष्कमा पारेको प्रभावको मार्मिक चित्रण गरिएको छ।
विकलका कथाहरूमाथि प्राज्ञिक अनुसन्धान र समीक्षालेखहरू छिटफुट रूपमा प्रकाशित भएका छन्। उनका आख्यानमा मूलतः विधापरक विश्लेषण भएको पाइन्छ भने केही कथाहरू सामाजिक मनोविज्ञानका आधारमा पात्रगत मनोविश्लेषण गरिएको पनि पाइन्छ। यस सन्दर्भमा हरिप्रसाद सिलवालको रमेश विकलको कथाकारिता (२०७०), एउटा बूढो भ्वाइलेन : आशावरीको धूनमा सङ्ग्रहका कथाका पात्रको मनोवैज्ञानिक अध्ययन (२०७६) सहित केही अनुसन्धानकार्य भए तापनि समाख्यानशास्त्रीय मान्यताका आधारमा भने उनको कथाको विश्लेषण गरिएको छैन। अतः यो एउटा लघु संरचनाको अनुसन्धानात्मक आलेखमा ‘एउटा बूढो बकैनाको रुख’ कथालाई समाख्यानशास्त्रका आधारमा विश्लेषण गरिएको छ।
आख्यानको सैद्धान्तिक अवधारणाको व्याख्या गर्ने शास्त्र अथवा आख्यानात्मक संरचनाको सिद्धान्त नै समाख्यानशास्त्र हो। समाख्यानशास्त्रलाई अङ्ग्रेजीमा न्यारेटोलोजी भनिन्छ। समाख्यानशास्त्रमा आख्यानको प्रकार्य तथा सम्बन्धको निरूपण कसरी भएको छ भन्ने कुराको अध्ययन गरेर कथ्य, लेख्य वा दृश्य संरचनाको वर्णनात्मक ढाँचाको पहिचान गरिन्छ। यसमा समाख्यानात्मक संप्रेषण तह, समाख्यानात्मक वाच्यत्व आदि विविध कोणबाट अध्ययन गर्न सकिन्छ। यहाँ कथाकार रमेश विकलद्वारा लिखित एउटा ‘बूढो बकैनाको रुख’ कथालाई समाख्यानशास्त्रीय विश्लेषणको सैद्धान्तिक आधारहरू मध्ये कथामा उपलब्ध दृष्टान्तहरूबाट पहिचान गरी समाख्यानात्मक वाच्यत्वका आधारमा विश्लेषण गर्ने उद्देश्य पूरा गरिएको छ।
अध्ययन विधि
प्रस्तुत अध्ययनमा ‘एउटा बूढो बकैनाको रुख’ कथाको समाख्यानात्मक विश्लेषणका लागि सामग्री सङ्कलन र विश्लेषणको सैद्धान्तिक पद्धति यसप्रकार निर्धारण गरिएको छ :
प्रस्तुत आलेख तयार पार्नका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू प्राथमिक र द्वितीयक स्रोतबाट सङ्कलन गरिएको छ। यसका लागि पुस्तकालयीय सामग्रीलाई प्रमुख आधार बनाएर प्राथमिक र द्वितीयक सामग्रीको छनोट गरिएको छ। ‘एउटा बूढो बकैनाको रुख’ कथालाई अध्ययनको प्राथमिक स्रोत सामग्रीका रूपमा र कथाको विश्लेषणका लागि आवश्यक सैद्धान्तिक आधार तथा सम्बद्ध कथाका बारेमा पूर्वकार्यहरूमा लेखिएका र अन्य सामग्रीहरूलाई द्वितीयक स्रोत सामग्रीका रूपमा लिइएको छ।
प्राथमिक र द्वितीयक स्रोतबाट प्राप्त सामग्रीलाई शोधप्रश्नसँग केन्द्रित गरी ती प्रश्नको प्राज्ञिक र प्रामाणिक समाधानका लागि विश्लेषणात्मक विधिको उपयोग गरिएको छ। रमेश विकलको ‘एउटा बूढो बकैनाको रुख’ कथालाई समाख्यानशास्त्रका आधारमा व्याख्या र विश्लेषणद्वारा निष्कर्ष निकालिएको छ। त्यसैले यो अध्ययन पाठ विश्लेषण विधिमा आधारित छ।
सैद्धान्तिक पर्याधार
समाख्यान साहित्य समालोचना प्रणालीको नवीन सिद्धान्त हो। यसमा आख्यानको प्रकार्य तथा सम्बन्धको निरूपण कसरी भएको छ भनी अध्ययन गरिन्छ। जेराल्ड जेनेटले आख्यानात्मक संरचनायुक्त पाठलाई समाख्यान भनेका छन्। रोलाबार्थ, च्याटम्यान बलले जुनसुकै विधाका माध्यमबाट प्रस्तुत हुने कथायुक्त रचनालाई समाख्यान भनेका छन्। यसमा समाख्याता पाठको द्रष्टा, भोक्ता र वक्ताका रूपमा आउँछ। कथाकारले आफू बाँच्नका लागि सङ्घर्ष गरेको जीवन परिवेशबाट नै कथामा पात्र चयन गर्ने हुनाले सामाजिक जीवनका सापेक्षतामा नै पात्रको पहिचान र स्थान निर्धारण गर्न सकिन्छ (पौडेल, २०६८, पृ. ४९४)। समाख्यानमा म पात्र प्रस्तोताका रूपमा आएको छ भने त्यो प्रथम पुरुष समाख्याता हुन्छ। यदि प्रस्तोता ‘म’ या ‘हामी’ छैन भने त्यो तृतीय पुरुष समाख्याता हुन्छ। तृतीय पुरुष समाख्याता पाठभन्दा बाहिर हुन्छ (अब्राहम्स, सन् २००५, पृ.१८०)। समाख्यानात्मक वाच्यत्व पनि समाख्यानशास्त्र अन्तर्गत रहेर आख्यानको विश्लेषण गर्ने अर्को आधार हो।
समाख्यानमा को बोल्दै छ वा कसले के भन्दै छ भन्ने प्रश्नलाई मुख्य केन्द्रविन्दु बनाएर वाच्यत्वको निर्धारण गरिन्छ। लन्सेरका अनुसार आख्यानात्मकताका सन्दर्भमा वाच्यत्वको सन्दर्भ पाठमा प्रस्तुत गरिएको पात्रको भोकल गुण वा टोनल गुणसँग सम्बद्ध हुन्छ अर्थात् समाख्याताले नै समाख्यानको विचार भाव आदिको सम्पर्क पाठकसँग गराउने हुनाले उसकै माध्यमबाट समाख्यानात्मक वाच्यत्व पनि प्रकट हुन्छ। समाख्याताको लिङ्गका बारेमा सूचना, उमेर, जाति, पेशा, व्यवसाय, बौद्धिक स्तर, उसको आनीबानी वा आचरण, व्यहोरा, मूल्य, मान्यता, उसको जीवनदर्शन, वाद दृष्टिकोण जस्ता सूचनाको खोजी वाच्यताका आधारमा गरिन्छ।
भिखाइल बाख्तिनले आफ्नो समाख्यान शास्त्रीय सिद्धान्तमा वाच्यत्वलाई पाठनिष्ठ वाच्यताअन्तर्गत समाख्याता र पात्रहरूलाई राखेका छन्। उनका अनुसार एकभन्दा बढी पाठनिष्ठ वाच्यताका बीचमा समायोजन गर्ने काम लेखकबाट नै हुन्छ। आत्मजीवनीपरक (आत्मकथा/आत्मसंस्मरण) वा व्यक्ति वृत्तात्मक (जीवनीपरक) समाख्यातामा पाठमा रहेको नाम र वास्तविक नाम एउटै हुनसक्छ। त्यसरी नै लेखकीय वाच्यता पनि समाख्याताको वाच्यताको रूपमा आउनसक्छ तर आख्यानात्मक समाख्यातामा भने लेखकीय वाच्यता र समाख्याताको वाच्यता फरक फरक हुन्छ। मूलतः समाख्याताका माध्यमबाट नै लेखकका भाव, विचार, अनुभूति वा कथ्य विषयको सञ्चार श्रोता वा पाठकसम्म हुने हुँदा जेनेटले समाख्यातालाई नै वाच्यत्व मानेको देखिन्छ। पाठक वा श्रोताले पाठ वा कथनमा समाख्याताबारे जति बढी सूचना पाउनसक्छ, समाख्याताको आवाजसँग त्यति नै बढी परिचित हुन्छ। समाख्याताको त्यही आवाजलाई नै समाख्यानात्मक वाच्यत्व भनिन्छ।
एउटा बूढो बकैनाको रुख कथाको समाख्यानशास्त्रीय विश्लेषण
‘एउटा बूढो बकैनाको रुख’ कथाको आख्यान सन्दर्भसहित समाख्यान शास्त्रका विविध उपकरणका माध्यमबाट प्रस्तुत कथाको विश्लेषण गरिएको छ :
आख्यान सन्दर्भ
रमेश विकलद्वारा लिखित ‘एउटा बूढो बकैनाको रुख’ कथाको मूल कथ्यमा राणाकालीन नेपाली समाजको प्रजातन्त्रप्राप्ति भन्दा पूर्वको समयगत परिवेशका आधारमा तयार पारिएको छ। जनताका हक र अधिकार खोसिएको त्यस समयमा अन्यायका विरुद्ध आवाज उठाउँदा जनताले भोग्नुपरेको मृत्युदण्डको सजायँलाई कथामा देखाइएको छ। यस कथाको समाख्यान वर्तमानबाट सुरु भएर वर्तमानमा नै समाप्त भएको छ। ‘म’ पात्रले बकैनाको रुखमा झुन्ड्याएर मारिएको एउटा सुकुमार केटोको कथा संस्मरणात्मक शैलीमा भनिरहेको छ, साथै त्यस घटनाले आफ्नो मनमस्तिष्कमा छोडेको छाप आफू वयस्क भइसक्दा पनि नहटेको कुरा व्यक्त गर्दै बाल्यकालमा घटेको त्यो घटना अत्याचार थियो भन्ने सङ्केत पनि कथाले गरेको छ। यहाँ प्रस्तुत कथाको समाख्यानशास्त्रीय दृष्टिबाट विश्लेषण गरिएको छ।
‘एउटा बूढो बकैनाको रुख’ कथामा समाख्याताको पहिचान
‘एउटा बूढो बकैनाको रुख’ कथामा उपस्थित भएको ‘म’ पात्र नै यस कथामा घटना वाचकका रूपमा प्रस्तुत भएको छ। अतः यस कथामा नेपालको ऐतिहासिक कालखण्डमा घटेको वीभत्स घटनालाई बाल्यकालमा आफूले देखेको र बिर्सिन नसकी अहिले प्रौढावस्थामा संस्मरणात्मक शैलीमा प्रस्तुत गर्ने समाख्याताले त्यसमा आफ्नो अनुभव र दृष्टिकोण समेत प्रस्तुत गरेको छ। यहाँ निम्नलिखित दृष्टान्तहरू र तिनको विश्लेषणका आधारमा यस कथाको समाख्याताको पहिचानको पुष्टि गरिएको छ।
दृष्टान्त १ : सडकको छेउमा निर्विकार झैं उभिएको त्यो बूढो बकैनाको रुख म ओहोरदोहोर गर्दा सधैं मेरो बाटोमा पर्छ। त्यस रुखसँग मेरो बाल्यकालको एउटा घटना सम्बद्ध छ— एउटा साह्रै दुःख लाग्दो घटना ! (पृ. ९९)।
दृष्टान्त २ : सडकको किनारामा उभिएको यस बूढो रुखलाई देख्नासाथ चौथाइ शताब्दी अगाडिको त्यो मर्मस्पर्शी दृश्य मेरो आँखा अगाडि प्रस्टिन थाल्छ। यस दृश्यको केन्द्रविन्दु हुन्छ— डोरीद्वारा त्यसै हाँगामा झुलिरहेको एउटा साह्रै सुकुमार केटोको लास ! यसै हाँगामा त्यो केटो झुन्ड्याएर मारिएको थियो। यसै हाँगाले उसको अमर इतिहासलाई बोकेको थियो (पृ. ९९)।
दृष्टान्त ३ : हामी सबै घटनास्थलभन्दा केही गज भनौं दुई सय गज टाढा नै रोकियौं किनभने त्यहाँदेखि उता जाने इजाजत थिएन। त्यही दुई सय गज टाढाबाट त्यसको मेरा आँखाले जनु तस्बिर खिचे, त्यो हृदयमा ज्यादै पीडा दिने खालको अत्यन्त मार्मिक थियो। मेरो सम्झनामा त्यसका एकएक रेखा र एक एक कोण, एक एक चौथाइ शताब्दीको लम्बे अवधिले पनि धमिल्याउन सकेको छैन र मलाई लाग्छ, मेरो मृत्युको घडीसम्म पनि त्यो यत्तिकै प्रभावकारी, जस्तातस्तै र स्पष्ट रहनेछ (पृ. १००–१०१)।
दृष्टान्त ४ : त्यस दृश्यले मेरो मनमा एउटा नराम्रो असर पार्यो र मेरो भित्र एउटा गहिरो जिज्ञासा उठ्यो— को होला यति राम्रो केटो ? यसले के त्यस्तो बिराम गर्यो होला र यसलाई मारि नै हालेका ? (पृ. १०१)।
दृष्टान्त ५ : हो, त्यही केटो, ऊ त मेरो मीत पो रहेछ। उसको नाउँ विप्लव रहेछ, अनि हामी दुईमा नङ र मासुको जस्तो मिलाप रहेछ। सपनामा त म उसँगै एउटा अनकन्टारको जङ्गलमा खेलिरहेका रहेछौं (पृ. १०३)।
दृष्टान्त ६ : के भन्छ यो ? बाले आँखामा अनौठो प्रश्न भनेर आमाको मुखमा हेर्नुभयो (पृ. १०४)।
माथिका दृष्टान्तहरूलाई हेर्दा सबै कथांशका प्रस्तोता ‘म’ पात्र नै समाख्याताको भूमिकामा रहेको देखिन्छ। यहाँ प्रयुक्त ‘म’ पात्रमा स्वयम् लेखक प्रतीत हुन्छन्।
व्यक्तिगत अुनभवका रूपमा कथा प्रस्तुुत गरिरहेको समाख्याता पाठमा भोक्ता वा साक्षी ‘म’ का रूपमा आएको हुन्छ। यस कथाका समाख्याता त्यसरी नै एउटा झुन्ड्याएर मारिएको सुकुमार केटाका बारेमा भनिरहेको छ। कथा चाहिँ सुकुमार केटो (विप्लव) लाई बकैनाको रुखमा झुन्ड्याइको विषयमा आधारित भए तापनि समाख्याताका अनुभव, आवेग र त्यस घटनाप्रतिको मनोविज्ञानमा नै यो ज्यादा विस्तारित छ। जसको विषयमा कथा भनिएको हो, ऊ निष्क्रिय छ तर समाख्याता प्रथम पुरुष हुँदाहुँदै पनि उसले आफ्ना बारेमा भन्दा केटोका बारेमा वर्णन ज्यादा गरिरहेको छ। त्यसकारण यस कथामा ‘म’ को रूपमा रहेको समाख्याता प्रथम पुरुष भएर पनि पूर्ण रूपमा खुला समाख्याता हो भन्न सकिने अवस्था छैन।
कथा सम्बद्धताको आधारमा हेर्दा एउटा बूढो बकैनाको रुख कथाको समाख्याता बहिर्निष्ठ समाख्याता हो। यस कथामा झुन्ड्याएर मारिएको केटोलाई प्रस्तुत गरिएको छ र सम्बद्ध भएर समाख्याताले उक्त घटनाले आफूलाई पारेको प्रभाव पनि वर्णन गरिरहेको छ। ‘म’ पात्र भन्दामाथि अर्को समाख्याता छैन। त्यसैले कथा संसारसँग सम्बद्ध भएर पनि यस कथाको समाख्याता बहिर्निष्ठ समाख्याता हो। पात्र सम्बद्धताका आधारमा प्रस्तुत कथाको समाख्याता संलग्न समाख्याता हो। संलग्न समाख्याताबाट भनिएको समाख्यानलाई संलग्न समाख्यान भनिन्छ। कथामा पात्रको मानसिक रूपको नै प्रबल भूमिका रहने हुनाले पात्र भन्नासाथ त्यससँग उसको सामाजिक, नैतिक, सांस्कृतिक परिवेश र पृष्ठभूमि संलग्न हुन्छन्
(श्रेष्ठ, २०३९, पृ. २३०)। संलग्न समाख्यानमा प्रथम पुरुष सर्वनामले समाख्याता ‘म’ वा समाख्याता स्वयम्लाई र भोक्ता ‘म’ वा हामी दुवैलाई बुझाउँछ।
संलग्न समाख्याता आफ्ना बारेमा भन्ने र अरुका बारेमा भन्ने गरी दुई प्रकारको हुन्छ। यस आधारमा हेर्दा ‘एउटा बूढो बकैनाको रुख’ कथाको समाख्याता संलग्न परकथनात्मक समाख्यानाका रूपमा देखिएको छ किनभने यस कथामा झुन्ड्याइएको युवकको दृष्टिकोणको प्रस्तुति नभए तापनि रुखमा झन्ड्याइएको केटो विप्लवको कथा यसमा छ। समाख्याता ‘म’ पात्रमा परेको छाप कथाको मुख्य विषय भए पनि कथाले ओगटेको विषय क्षेत्र युवकको जीवनमा केन्द्रित छ।
समाख्यातालाई पहिचान गर्ने आधारका रूपमा लिङ्ग पनि रहेको छ। समाख्याता समाख्यानात्मक प्रस्तुति कुन रूपमा प्रस्तुत भएको छ ? समाख्याता स्त्री वा पुरुष के हो ? त्यसको सङ्केतका आधारमा खोजी गरिन्छ। सङ्कथनमा प्रयुक्त व्याकरणात्मक कोटि समाख्याताका स्वभाव, आवेग, संवेग, सम्बोधन, आदर आदिबाट समाख्याताको लैङ्गिक पहिचान गर्न सकिन्छ। लिङ्ग पहिचानको अर्को आधार सर्वनाम पनि हो तर सर्वनामको प्रयोग कतिपय ठाउँमा नहुने हुँदा लैङ्गिक पहिचानको आधार नरहन सक्छन्। यस्तो अवस्थामा त्यस सङ्कथनको लेखक पुरुष छ भने समाख्याता पनि पुरुष नै हुन्छ र स्त्री छ भने समाख्याता पनि स्त्री नै हुन्छ भन्ने मान्यता पनि रहेको छ। यसै आधारमा प्रस्तुत कथाको समाख्याता पुरुष समाख्याता भएको देखिन्छ किनभने उपर्युल्लिखित दृष्टान्त ५ मा समाख्याताले ‘त्यही केटो ऊ त मेरो मीत पो रहेछ’ भन्नु, दृष्टान्त ६ मा ‘के भन्छ यो’ भनेर बाले भन्नु, कथामा समाख्याता सरकारी कर्मचारी रहेको कुरा उल्लेख गर्नु र तत्कालीन समयमा महिलाहरूले बाहिरी कामकाज गर्ने गरेको नभेटिनु जस्ता प्रसङ्ग र परिवेशले समाख्याता पुरुष हो भन्ने जानकारी दिएको छ। यी आधारमा ‘एउटा बूढो बकैनाको रुख’ कथाको समाख्याता पुरुष नै हो भन्ने पुष्टि भएको छ।
स्वकथनात्मक तथा खुला समाख्याता भएको आख्यानमा समाख्याताको पेशाका बारेमा जानकारी पाउने धेरै सम्भावना रहन्छ। प्रस्तुत कथामा ‘म’ पात्र समाख्याता भएको परकथनात्मक कथा भए पनि समाख्याताको पेशाका बारेमा सङ्केत गर्ने केही आधारहरूलाई निम्न दृष्टान्तबाट प्रस्ट पार्न सकिन्छ।
दृष्टान्त ७ : आज म जागिरे छु, ठूलो सरकारी मानमा छु (साँच्चै भनौँ भने उसबेलाको जरसा’बको कृपापात्र मलाई प्रजातन्त्र भएपछिका जरसा’बहरूले समेत काखी नच्यापी सुख्खै पाएनन् किनभने चाहेजस्तो जरसा’ब हुन त, उनीहरूलाई रिझाउने कला त मेरो पुर्ख्यौली पेवा हो तर घरबाट अड्डा जाँदा र अड्डाबाट घर आउँदा मेरो बाटोको छेउमा उभिएको त्यस बूढो बकैनाको रुखमा मेरा आँखा पर्छन् (पृ.१०७)।
माथिको दृष्टान्तका आधारमा समाख्याता सरकारी सेवामा कार्यरत छन् भन्ने कुरा प्रस्ट हुन्छ।
कथा वाचनकर्ताको जीवनदृष्टिबाट पनि समाख्याता पहिचान गर्न सकिन्छ। प्रस्तुत कथामा समाख्याता मुख्य पात्रको रूपमा प्रस्तुत नभएको भए पनि उसका दृष्टिकोणका बारेमा थाहा पाउन सकिन्छ। कथामा ‘म’ पात्रको पूर्वदीप्तिमा आएको दृश्य र वर्तमानको परिदृश्यबाट समाख्याताको दृष्टिकोण पर्गेल्न सकिन्छ। निम्न दृष्टान्तबाट समाख्याताको दृष्टिकोण हेर्न सकिन्छ।
दृष्टान्त ८ : मलाई त्यस केटो— मेरो मीतको लासले मेरो संसारीपना विभिन्न परिस्थितिका जरसा’बहरूलाई रिझाउन सक्ने मेरो बुद्धिको चमत्कारमाथि त्यस चमत्कारद्वारा आर्जेको मान र जागिरमाथि हाँसेझैँ लाग्छ। त्यस केटाले अपराध गर्यो रे ! मलाई एक मन हाँसो उठ्छ अनि साथै भित्र कताकता म त कसैले चिमोटिदिएझैँ लाग्छ, कसैले पुरानो घाउको पाप्रो उप्काइदिएझैँ वेदना हुन्छ (पृ.१०७)।
यहाँ समाख्याता न्याय र समानताका पक्षधरका रूपमा देखिएका छन्। बाल्यकालमा पनि त्यो झन्ड्याएर मारिएको केटाले केही बदमासी गर्यो भन्ने कुरालाई उसको मनले मान्न सकेको थिएन भने आज पनि उसलाई त्यो केटोमाथि नहुनुपर्ने अन्याय भएको र आफ्नो आजको अवस्थाप्रति पनि आफूलाई कुनै गर्व नभएको दृष्टिकोण प्रकट गरेको देखिन्छ।
‘एउटा बूढो बकैनाको रुख’ कथामा समाख्यानात्मक वाच्यत्व
‘एउटा बूढो बकैनाको रुख’ कथामा आएका समाख्याताले मुख्य पात्रको तुलनामा निकै बढी ठाउँ लिएको छ। प्रस्तुत कथामा समाख्याताको भूमिका ज्यादै महत्त्वपूर्ण रहेको छ। समाख्याता ‘म’ मा परेको असर मुख्य विषय भए तापनि कथाले ओगटेको विषयक्षेत्र युवकको जीवनवृत्तमा नै केन्द्रीकृत छ। समाख्याताका बालसखाहरू, आमा, बुबा आदिको कथन, आफूले देखेको घटना, ठुलो भएपछि त्यस घटनाबारे भएको बोध र त्यसबारेको नैतिक प्रश्न केन्द्रीय विषय भएर कथामा आएको छ तर यी सबैको केन्द्रविन्दु त्यही झुन्ड्याएर मारिएको केटो विप्लव नै हो। विप्लवको कुनै सक्रियता छैन। समाख्याताले नै यहाँ आफूलाई कतै मूल्याङ्कनकर्ता, कतै वर्णनकर्ता त कतै टिप्पणी कर्ताका रूपमा प्रस्तुत गरेको छ। यस क्रममा उसका विभिन्न मान्यता र दृष्टिकोणहरू पनि प्रकट भएका छन्। यो एउटा प्रतिनिधि कथानक रहेको कथा हो। प्रतिनिधि विषयको प्रस्तुतिका निम्ति कथाकारको जीवनदृष्टि ठम्याउने प्रतिनिधि पात्रको चयन र तिनको सजीव चित्रण हुनु आवश्यक छ (गोर्की, सन् १९७७, पृ.४७)। कथामा प्रस्तुत समाख्याताका यिनै मान्यता र भूमिकाका आधारमा समाख्याताको वाच्यत्व पहिल्याउने काम गरिएको छ। केही विष्लेष्य दृष्टान्तहरू यहाँ प्रस्तुत छन् :
दृष्टान्त १ : सडकको छेउमा निर्विकारझैं उभिएको त्यो बूढो बकैनाको रुख म ओहोरदोहोर गर्दा सधैं मेरो बाटोमा पर्छ। त्यस रुखसँग मेरो बाल्यकालको एउटा घटना सम्बद्ध छ— एउटा साह्रै दुःखलाग्दो घटना ! (पृ. १९)।
प्रस्तुत दृष्टान्तमा कथांशको प्रस्तोता समाख्याता नै हो। यस अनुच्छेदमा कथाको पृष्ठभूमि निर्माण गर्ने समाख्याता यहाँ वर्णनकर्ता र टिप्पणी कर्ताको रूपमा प्रस्तुत भएको छ। बालककालको घटनालाई स्मरण गर्दै वयस्क अवस्थामा त्यही बकैनाको रुख र त्यही परिवेशले समाख्याता झस्किरहेको कुरा व्यक्त गरिएको छ।
दृष्टान्त २ : हामी सबै घटनास्थलभन्दा केही गज– भनौं दुई सय गज टाढा नै रोकियौं। किनभने त्यहाँदेखि उताजाने इजाजत थिएन। त्यही दुईसय गज टाढाबाट त्यसको मेरो आँखाले जुन तस्बिर खिचे, त्यो हृदयमा ज्यादै पीडा दिने खालको अत्यन्त मार्मिक थियो। मेरो सम्झनामा त्यसका एकएक रेखा र एकएक कोण, एकएक विन्दु यसरी गहिरिएर कुँदिएको छ, त्यसलाई यो एक चौथाइ शताब्दीको लम्बे अवधिले पनि धमिल्याउन सकेको छैन र मलाई लाग्छ, मेरो मृत्युको घडीसम्म पनि त्यो यत्तिकै प्रभावकारी जस्तातस्तै र स्पष्ट रहनेछ (पृ. १००–१०१)।
प्रस्तुत दृष्टान्तमा समाख्याताले घटनाको वर्णन गर्दै टिपोट पनि गरेको छ। यसमा बाल्यकालको घटनाको प्रभाव आजसम्म पनि उसको मन मस्तिष्कमा जीवन्त रहेको, मृत्यु पर्यन्त त्यस घटनाको यादले उसलाई नछाड्ने कुरा व्यक्त गरिएको छ। यो नै समाख्याताको आवाज हो।
दृष्टान्त ३ : बाले त्यत्तिबेला के के भट्भटाउनुभयो मैले सबै बुझिनँ तर विप्लव त्यो देख्तैमा ज्ञानीजस्तो, मायालाग्दो केटो त्यसले कसरी कनु अपराध गर्यो होला ? ….कसरी त्यसले नहुने काम गर्यो होला ? मेरो मनमा लागेको खुलदुली कसै पनि मेटिएन। यो कुरा मनले खानै सकेन (पृ.१०६)।
प्रस्तुत दृष्टान्तको समाख्याताले आफूले बाल्यकालमा अनुभूत गरेको कुरालाई प्रस्तुत गरेको छ। चरित्रको उद्घाटन कार्यद्वारा मात्र सम्भव हुने, ऊ के कति असल वा खराब छ भन्ने कुरा उसको कर्म, प्रयोग र व्यवहारको आधारमा मात्र थाह हुनसक्छ (लुकास, २०३१, पृ. ९९)। बाल्यकालमै भए पनि त्यस सुकुमार केटाले गल्ती गर्न सक्दैन भन्ने भावना प्रथम पुरुष समाख्याताका मनमा पलाएको छ। निर्दोष, सुकुमार अनुहार, देख्दै ज्ञानी मायालाग्दो केटाले मृत्युदण्ड नै पाउने जघन्य अपराध गर्न सक्दैन भन्ने दृष्टिकोण उसको बाल मस्तिष्कमा स्थापित रहेको सामाजिक मनोविज्ञान यहाँ देखिन्छ।
दृष्टान्त ४ : जरसा’बसँग माफी मागेको भए, जरसा’बसँग मुख नलागेको भए त हुने नि, हगि बा ! मैले भनें त्यतिबेला उसले जससा’बसँग आफ्नो अपराधको माफी मागेन, उसले टेक गर्यो। मेरो मनले पनि यस कुरालाई बदमासी नै होला भनेर कबुल गर्न बाध्य भयो। अनि त्यसपछि मैले पढेँ, लेखें र ठुलो भएपछि जरसा’बको चाकरी पनि गरेँ। बाले भनेजस्तो जरसा’ब मदेखि खुसी भएर मलाई जागिर पनि बक्स्यो। आज म जागिरे छु— ठुलो सरकारी मानमा छु तर घरबाट अड्डा जाँदा र अड्डाबाट घर फर्कंदा मेरो बाटोको छेउमा उभिएको त्यस बकैनाको रुखमा मेरा बाटोको छेउमा उभिएको त्यस बकैनाको रुखमा मेरा आँखा पर्दछ, चौथाइ शताब्दीअगाडि यसले आफ्नो छातीभित्र पचाएको त्यस मार्मिक इतिहासको पातो मेरो अगाडि पल्टिएझैँ मलाई लाग्छ, त्यस केटाको निर्दोष र सुकुमार अनुहार लिएर यसै रुखको दक्षिण–पश्चिम हाँगामा झुन्डिएको उसको सुन्दर र कलिलो लास अहिले पनि आँखाअगाडि झुलिरहेझैँ लाग्छ। अनि मलाई त्यतातिर ठाडो गरेर हेर्ने आँट हुँदैन (पृ.१०७)।
प्रस्तुत दृष्टान्तमा समाख्यानात्मक वाच्यत्व समाख्याता ‘म’ मा केन्द्रित भएको छ। बाल्यकालमा जुन कुरालाई उसले अपराध हो भनेर मान्न बाध्य भएको थियो, वास्तवमा त्यो कुरा गलत रहेछ भन्ने कुराको महसुस उसलाई हाल आएर भएको छ। त्यस घटनाबारेको नैतिक प्रश्न नै समाख्याताको वाच्यत्वको रूपमा अगाडि आएको छ।
माथिका दृष्टान्तहरूलाई हेर्दा प्रस्तुत कथामा समाख्याताले गरेको वर्णन, टिप्पणी, मूल्याङ्कन र उसले व्यक्त गरेका मान्यताका माध्यमबाट समाख्याताको वाच्यत्व प्रकट भएको छ। कथामा प्रस्तुत घटना, कार्य वा पात्रहरू सबै समाख्याताकै माध्यमबाट दोहोरिएका हुनाले यस कथामा समाख्याताको भूमिका महत्त्वपूर्ण छ। एउटा मर्मस्पर्शी घटनाका कारणले बालमनमा परेको प्रभाव र वयस्क अवस्थामा त्यसप्रतिको दृष्टिकोणलाई कथामा देखाइएको छ। चाकडी र चाप्लुसीबाट पाएको खुसीभन्दा अधिकार प्राप्तिको लागि ज्यानको आहुति दिनु महत्त्वपूर्ण कुुरा हो भन्ने विचार समाख्याताको रहेको छ र समाख्याताका यिनै विचारहरू वाच्यता बनेर प्रस्तुत भएका छन्।
निष्कर्ष
‘एउटा बूढो बकैनाको रुख’ कथामा प्रथम पुरुष समाख्याता ‘म’ रहेको छ। समाख्याता ‘म’ कथाभित्र बसेर कथा भनेको भए पनि उसले आफ्ना बारेमा कथा नभनी अर्काको कथा भनेकाले संलग्न परकथनात्मक शैलीमा यस कथाको समाख्याता प्रस्तुत भएको छ। त्यस्तै कथाको समाख्याता पूर्ण रूपमा खुला नभए पनि समाख्याताका बारेमा जानकारी पाउन सकिन्छ। कतै वर्णन कर्ता, कतै मूल्याङ्कन कर्ता, कतै टिप्पणी कर्ता त कतै निर्णायकका रूपमा देखिएको समाख्याताले कथामा महत्त्वपूर्ण भूमिका बहन गरेको छ। त्यस्तै समाख्यानात्मक वाच्यत्व पनि समाख्यातामै केन्द्रित रहेको देखिन्छ। कथामा समाख्याता ‘म’ ले आफूले बाल्यकालमा देखेको प्रत्यक्ष घटनालाई आधार बनाएर पूर्वदीप्ति शैलीको प्रयोग गरी समाख्यानात्मक वाच्यत्व पनि समाख्याताकै वरिपरि घुमाएको देखिन्छ। यसरी यस कथालाई समाख्यानशास्त्रीय विश्लेषणका आधारहरू समाख्याताको पहिचान र समाख्यानको वाच्यत्वबाट हेर्दा ज्यादै प्रभावपूर्ण कथा पुष्टि भएको छ।
सन्दर्भसामग्रीसूची
अब्राहम्स (सन् २००५). अ ग्लोसरी अफ लिटरेरी टर्म्सस्. बोस्टन : मिचेन रोजनबर्ग।
क्षितिज, महेश (२०७२). व्यावहारिक समालोचनाका केही आयाम. काठमाडौं, कीर्तिपुर : दीक्षान्त प्रकाशन।
गोर्की, म्याक्सिम र अन्य (सन् १९७७). मैँने लिखना कैसा सिखा. लेखन कला और रचना कौशल (अनु, अली असरफ). मस्को : प्रगति प्रकाशन।
पोखरेल, गोकुल (सम्पा.) (२०७१). विशेष प्रायोगिक नेपाली समालोचना, सिराहा : शमशेर थापा।
पोख्रेल, गोकुल र माधव पौडेल (२०७२). सङ्कथन विश्लेषण : सिद्धान्त र प्रयोग. काठमाडौं : विद्यार्थी प्रकाशन।
पौडेल, गोपीन्द्र (२०६८). कथामा पात्रको स्थान, प्रारूपीकरण र चारित्रीकरण. रत्न बृहत् समालोचना
(सैद्धान्तिक, सम्पा.राजेन्द्र सुवेदी, डा. लक्ष्मणप्रसाद गौतम). काठमाडौँ : रत्न पुस्तक भण्डार।
रमेश विकल (२०२५). एउटा बूढो भायोलिन : आशावरीको धूनमा. काठमाडौँ : साझाप्रकाशन।
लुकास, जर्ज (२०३१).जर्ज लुकासको साहित्यिक सिद्धान्त (अनु, लीलासिंह कर्मा). काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान।
शर्मा, तर्कना (२०७३). प्रयोगशालाको प्रयोग. काठमाडौं : पुष्प मिडिया प्रा.लि.।
श्रेष्ठ, दयाराम (सम्पा.) (२०३९). पच्चीस वर्षका नेपाली कथा. काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान।
सुवेदी, राजेन्द्र र गौतम, लक्ष्मणप्रसाद (सम्पा.), रत्न बृहत् नेपाली समालोचना, प्रथम संस्क. काठमाडौं : रत्नपुस्तक भण्डार, २०६८।