भाषाका ऐतिहासिक, सामाजिक, प्रयोजनपरक, व्यक्तिबोली, भौगोलिक आदि भेदहरू हुन्छन्। यस शोधलेखमा नेपाली भाषाको भौगोलक भेदहरू मधये भारतीय नेपाली भाषाका क्षेत्रीय भेदका बारेमा चर्चा गरिएको छ। भाषाको भौगोलिक भेदलाई भौगोलिक भाषाविज्ञानअन्तर्गत अध्ययन गरिन्छ। भूगोलका आधारमा भाषामा देखापरेका भेदको भाषावैज्ञानिक अध्ययनलाई भौगोलिक भाषाविज्ञान भनिन्छ। यसलाई भाषाभूगोल पनि भन्ने गरिन्छ।
डा. यज्ञेश्वर निरौला
सहप्राध्यापक
त्रिभुवन विश्वविद्यालय
Email: niraulayagyeswar@gmail.com
लेखसार
भाषाका ऐतिहासिक, सामाजिक, प्रयोजनपरक, व्यक्तिबोली, भौगोलिक आदि भेदहरू हुन्छन्। यस शोधलेखमा नेपाली भाषाको भौगोलक भेदहरू मधये भारतीय नेपाली भाषाका क्षेत्रीय भेदका बारेमा चर्चा गरिएको छ। भाषाको भौगोलिक भेदलाई भौगोलिक भाषाविज्ञानअन्तर्गत अध्ययन गरिन्छ। भूगोलका आधारमा भाषामा देखापरेका भेदको भाषावैज्ञानिक अध्ययनलाई भौगोलिक भाषाविज्ञान भनिन्छ। यसलाई भाषाभूगोल पनि भन्ने गरिन्छ। भौगोलिक भाषिका अध्ययन गर्ने विभिन्न आधारमध्ये यस भाषिक निरन्तरताका आधारमा भारतमा बोलिने नेपाली भाषाका भौगोलिक भाषिकाहरूको अध्ययन गरिएको छ। नेपाली भाषाको आदिथलो कर्णाली प्रदेशको जुम्लासिन्जाबाट यस भाषाका वक्ता पूर्वतिर बसाइँ सर्दै जाने क्रममा नेपालभरि र नेपालभन्दा बाहिर दार्जिलिङ, सिक्किम, भुटान, असमलगायत अरू विभिन्न ठाउँमा पुगेर बसोबास गरेका छन्। जुन जुन ठाउँमा पुगी लामो समयदेखि बसोबास गरेका छन् तिनमा स्थानीय तथा जातीय प्रभावका कारण भिन्न भिन्न भाषिक भेद विकास भएका छन्। नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा नेपाली भाषाका क्षेत्रीय भाषिका निकै देखिएका छन्। त्यसभन्दा पूर्व भेरीक्षेत्र, गण्डकी प्रस्रवण क्षेत्र, कोसी प्रस्रवण क्षेत्र र मेचीनदीभन्दा पूर्व नेपाली भाषाका वक्ता स्थायी रूपमा बसोबास गर्दै आएका भूमिमा बोलिने नेपाली भाषाका भेद नै यस अध्ययनको मूल विषयवस्तु रहेको छ। नेपाली भाषामा देखापरेका यिनै विभिन्न भौगोलिक भाषिक भेदको परिचय यस अनुसन्धानात्मक लेखमा प्रस्तुत गरिएको छ।
शब्दकुञ्जी : भाषिक समुदाय, भाषिक स्वतन्त्रता, भाषिक पराधीनता, स्वायत्त भाषा, सामाजिक भेद, ऐतिहासिक भेद
परिचय
नेपाली भाषा भारोपेली परिवारको भारत इरानेली शाखाको शतम् वर्गमा पर्ने कुरा विभिन्न विद्वान्हरूले उल्लेख गरेका छन्। सुनीति कुमार चटर्जी (सन् १९२६), भोलानाथ तिवारी (सन् १९५१), दिनेश चन्द्र सरकार (सन् १९६५) तथा कोलिन पी. मासिका (सन् १९९३) का अनुसार मराठी, हिन्दी तथा गुजराती भाषाको जन्म दसौं शताब्दीमा भएको र संस्कृतबाट प्राचीन भारतीय आर्य भाषा मध्यकालीन भारतीय आर्य भाषाका रूपमा विकसित हुँदा प्राकृत र अपभ्रंश भाषा विकास हुन पुगे भने यिनै मध्यकालीन प्राकृत र अपभ्रंश भाषाबाट नेपाली, हिन्दी, बङ्गाली, आसामी, पञ्जावी, मराठी आदि आधुनिक आर्य भाषाहरू विकास भएका हुन्।
बालकृष्ण पोखरेल (२०४३) ले नेपाली भाषा उदीच्य (शौरसेनी) बाट विकसित भई आएको कुरा उल्लेख गरे तापनि चटर्जी (सन् १९२६) ले आधुनिक आर्य भाषाको उत्तर पूर्वी शाखा खस अपभ्रंशबाट नेपाली भाषाको विकास भएको उल्लेख गरेका छन्।
पोखरेल (२०४३) ले इसाको चौधौँ शताब्दीको अन्त्यतिर सिँजाली खस राज्यको विघटनपछि प्राचीन अवस्थाका मानक भाषिक रूपका सट्टामा स्थानीय बोलीचालीका भाषिक रूप लेखनमा प्रयुक्त हुन थालेका कारण भाषिक परिर्वतनमा स्पष्टतः विविध लक्षणहरू देखा परेको भन्दै अहिलेको नेपाली भाषाको प्राचीन रूप त्यस बेलाको सिँजाली भाषालाई मानेका छन्। सूर्यमणि अधिकारी (२०५६) ले ऐतिहासिक घटना र भाषिक पुरातत्त्वका आधारमा नेपाली भाषाको काल विभाजन गर्दै ११५० देखि १४५० सम्मको समयलाई प्राचीन नेपाली भाषाको रूपमा ‘सिँजाली’ भाषालाई मानेका छन्। उनका अनुसार खस अधिराज्यको प्रमुख राजधानी हालको जुम्ला जिल्लाको सिँजा उपत्यका भएकाले यसको राजकीय भाषा ‘सिँजाली’ मानिएको थियो। विभिन्न विद्वान्हरूले आधुनिक आर्य भाषाहरूको प्रारम्भ काल लगभग सन् १००० देखि ११०० सम्मलाई मानेका छन् र त्यसै हाराहारीमा प्राचीन सिँजाली भाषा विकास भएको मानिन्छ। विदुर चालिसे (२०६३) का अनुसार खस अधिराज्य १४५० तिर अन्तिम रूपले विखण्डित भएको र त्यसपछि सिँजाली भाषा पनि विभिन्न भाषिकामा विकसित भएको पाइएकाले प्राचीन सिँजाली भाषाको अवधि ११५० देखि १४५० सम्म लगभग ३ सय वर्ष कायम रहेको देखिन्छ। यसरी खस राज्यको राजकीय भाषा सिँजाली रहेको र प्राचीन सिँजाली भाषाकै आधुनिक विकसित रूप नेपाली भाषा भएकाले नेपाली भाषा खस अपभ्रंशबाटै विकसित भएको मानिन्छ।
खस राज्यको विघटनपछि पश्चिम नेपालको कर्णाली प्रदेशमा बाइसे र गण्डकी प्रदेशमा चौबिसे राज्यहरू उदय भए। १४५० पछि सिँजा कुनै शक्तिशाली राज्यको राजधानी रहन सकेन। त्यति बेलासम्म सिँजाली भाषा कर्णाली र गण्डकी क्षेत्रको सम्पूर्ण भूभागमा फैलिसकेको थियो। खनाल (२०२८) का अनुसार खस राज्य विघटनपछि पनि खस, मल्ल तथा ठकुरीको प्रभाव क्षेत्रमा बोलिने भाषा भएकाले यसलाई ‘मल्ल भाषा’ भनियो भने गण्डकी प्रदेशका उर्वर उपत्यकाका घना बस्तीहरूमा यस भाषाले मौलाउने अवसर पाउँदा पश्चिम नेपालका पहाडी मानिसहरूले बोल्ने भाषा भएकाले यसलाई पर्वते भाषा भनियो। कर्कप्याट्रिक (सन् १८११, पृ. २२०–२२८) ले यस भाषालाई नेपालमा बोलिने आठ भाषाहरूमध्ये पर्वते भाषा भनी उल्लेख गरेका छन्। यसप्रकार प्राचीन कालको सिँजाली भाषाका स्थानीय भेदहरू देखिन थाले। ती स्थानीय भेदहरूलाई मल्ल भाषा र पर्वते भाषाका रूपमा चिन्न थालियो।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि मध्यकालको मल्ल तथा पर्वते भाषालाई गोरखा भाषा भन्न थालियो। पृथ्वीनारायण शाहको नेपाल एकीकरण सँगसँगै भाषाको स्थानीय बोलीको ध्वनिमा व्यापक परिवर्तन देखिएको दाहाल (२०४०/०४१) ले उल्लेख गरेका छन्।
नेपाली भाषा विकासलाई तीन कालखण्डमा छुट्याई गरिएको अध्ययनका आधारमा नेपाली भाषाका ऐतिहासिक भाषिका तीन प्रकारकै हुन आउँछन् : प्राचीनकालीन नेपाली भाषिका, माध्यमिककालीन नेपाली भाषिका र आधुनिककालीन नेपाली भाषिका। यी कालखण्ड नेपालीका ऐतिहासिक भाषिका अध्ययन गर्ने विभिन्न आधार हुन्। नेपाली व्याकरण लेखनको प्रारम्भका वैयाकरणहरूले नेपाली भाषा नभनेर अरू नै नाम दिएका छन्। नेपाली भाषाका पहिला व्याकरणकार जे. ए. एटन (सन् १८२०) ले आफ्नो कृतिलाई ‘गोर्खा भाषा व्याकरण’ भनेका छन्। जय पृथ्वीबहादुर सिंह (१९६८) ले ‘प्राकृत व्याकरण’ र पं. हेमराज पाण्डे (१९६९) ले ‘गोरखा भाषा व्याकरण’ नाम दिएका छन्। १९७० सम्म आधिकारिक रूपमा नेपाली भाषा नभनिएको सन्दर्भ उल्लेखनीय छ तर पुष्कर शमशेर ज.ब.रा. को ‘नेपाली कसरी शुद्ध लेख्ने’ (१९९४) तत्कालीन गोरखा भाषा प्रकाशिनी समितिबाट प्रकाशन भएपछि मात्र यस भाषालाई संस्थागत रूपम नेपाली भाषा नाम दिइएको हो। यसप्रकार प्राचीन सिँजा भाषा नै मल्ल भाषा, पर्वते भाषा र गोर्खा भाषा हुँदै आधुनिक नेपाली भाषाका रूपमा विकसित भएको हो।
नेपाली भाषाका धेरै क्षेत्रीय भेदहरू विकास भएको जोन बिम्स (सन् १८६७, पृ. ४२), जी.ए. ग्रियर्सन (सन् १९१६, पृ. २३), टर्नबुल (सन् १९२३, पृ. २४), सूर्यविक्रम ज्ञवाली (१९९०, पृ. ५६), कमला साङ्कृत्यायन (२०१७, पृ. ६३), दयानन्द श्रीवास्तव (सन् १९६२, पृ. ४६), भोलानाथ तिवारी (२०२०, पृ. ३४), बालकृष्ण पोखरेल (२०१९, २०२२, २०३१ र २०५५), चूडामणि उपाध्याय रेग्मी (२०२५, पृ. ५३–६४), तिमिल्सिना (२०५०), निरौला (२०५०), सुवेदी (२०५१), आचार्य (२०५३) र ढुङ्गाना (२०५३) ले उल्लेख गरेका छन्। एउटै समयमा भिन्नाभिन्नै ठाउँका भिन्नाभिन्नै वक्ताले प्रयोग गर्ने एउटै भाषाका बेग्लाबेग्लै भेदलाई क्षेत्रीय भाषिका भनिन्छ (निरौला, २०५०, पृ. ७)। प्रस्तुत शोधलेखमा नेपालीका क्षेत्रीय भाषिकालाई अध्ययनको विषयवस्तु बनाइएको छ। यसका निम्ति भारतमा बोलिने नेपाली भाषाका क्षेत्रीय भाषिकाहरू के कस्ता छन् भन्ने समस्याकथन रहेको छ भने भारतमा बोलिने नेपाली भाषामा विकास भएका क्षेत्रीय भाषिकाहरूको अवस्थाबारे चर्चा गर्नु उद्देश्य रहेको छ।
अध्ययन विधि
गुणात्मक ढाँचामा अध्ययन गरिएको यस लेखमा क्षेत्रीय भाषिकासम्बन्धी सैद्धान्तिक विमर्श र नेपाली भाषामा देखापरेका क्षेत्रीय भाषिकाहरूलाई प्रस्तुत गरिएको छ। यो शोधलेख तयार पार्दा निम्निलिखित अनुसन्धान विधि प्रयोग गरिएको छः
तथ्य सङ्कलन
प्रस्तुत शोधलेखमा भारतमा बसोबास गर्ने नेपाली भाषाका वक्ता, नेपालीका भाषिकासम्बन्धी लेखरचना, पुस्तक, शोधपत्र आदिलाई सूचकका रूपमा लिइएको छ। प्रस्तुत अध्ययनमा नेपाली भाषाका वक्ताले व्यवहारका विविध क्रियापकलापहरूमा नेपाली भाषा बोल्दा नेपालभित्रका र नेपालबाहिरका भाषिक भेदमा देखापरेका विविधतालाई उपयोग गरिएको छ र भारतमा बोलिने नेपाली भाषाका शब्द र वाक्यलाई प्राथमिक सामग्रीका रूपमा लिइएको छ। भाषिका सिद्धान्तका पुस्तक, लेखरचना तथा नेपालीका भाषिका अध्ययनका पुस्तक, लेखरचना, शोधपत्र आदिलाई द्वितीयक सामग्रीका रूपमा उपयोग गरिएको छ। नेपाली भाषाका भाषिक भेदलाई तथ्य मानेर क्षेत्रीय पद्धतिबाट प्राथमिक सामग्री सङ्कलन गरिएको छ भने पुस्तकालयीय कार्यबाट द्वितीयक सामग्री सङ्कलन गरिएको छ।
तथ्य विश्लेषण प्रक्रिया
सामग्री विश्लेषणका लागि विशेष गरी कसाड (सन् १९७४), ट्रडजिल (सन् २००४), को भाषिकासम्बन्धी अवधारणालाई उपयोग गरिएको छ। प्राप्त तथ्यलाई विश्लेषण र त्यसको पुष्टिका निम्ति उदाहरण समेत दिइएको छ। उदाहरणसहित तिनको समीक्षात्मक विश्लेषण गरी निष्कर्षमा पुगिएको हुँदा यस लेखमा विश्लेषणको आगमनात्मक विधि प्रयोग गरिएको छ।
सैद्धान्तिक पर्याधार
हड्सन (१९९९, पृ. २०) ले भाषाका भेदहरूको परिचय दिने क्रममा भाषासित सम्बन्धित पक्षलाई तीन भागमा विभाजन गरेका छन् : भाषा, भाषिका र प्रयोक्ता। उनले भाषालाई ‘X’, भाषिकालाई ‘Y’ र प्रयोक्तालाई ‘Z’ मानेका छन्। उनले प्रयोक्ता भनेर एउटा व्यक्तिलाई मात्र नलिई सिङ्गो भाषिक समुदायलाई लिएका छन्। उनका अनुसार भाषा र भाषिक समुदायबिच प्रत्यक्ष सम्बन्ध हुन्छ। ‘X’ र ‘Z’ को सम्बन्धबाट ‘Y’ को जन्म हुने उनको धारणा छ। अर्थात् भाषा र समाजको सम्बन्धबाट भाषिका जन्मन्छ। उनले भाषाका भेदहरूको परिचय दिने क्रममा भाषिकालाई सामाजिक वितरणसित सम्बन्धित भाषिक एकाइहरूको समूह भनेका छन् साथै भाषा, भाषिका र भाषिक भेदहरू बिचको अन्तर पनि छुट्याएका छन्। भाषाभित्र धेरै भाषिक भेद हुन सक्छन् र भाषिकाभित्र पनि भाषिक भेद हुन सक्ने उनको धारणा छ। यसर्थ उनका विचारमा भाषिका र भाषिक भेद एउटै होइनन्। भाषिक भेदभन्दा भाषिका तथा भाषा दुबैको स्वरूप ठुलो हुन्छ। उनले भाषिक भेद भनेर व्यक्ति भेद, उच्चारणगत भेद, प्रयोजनपरक भेद आदिलाई लिएका छन्।
सामाजिक भेद, व्यक्ति भेद, ऐतिहासिक भेद, प्रयोजनपरक भेद, भौगोलिक भेद आदि भाषाका विभिन्न भेदहरू हुन्। बन्धु (२०२८, पृ. २), पोखरेल (२०४३, पृ. ४२–७५), आचार्य (२०४८, पृ. ५८–६६) र गौतम (२०४९, पृ. १११) ले भाषाको भौगोलिक भेदलाई मात्र भाषिका मानेका छन्। निरौला (२०५०) ले चाहिँ भाषाका ऐतिहासिक, सामाजिक, प्रयोजनपरक, व्यक्ति तथा भौगोलिक सबै भेदलाई भाषिका मानेका छन्।
लिप्पी ग्रिन (१९९७, पृ. ७) ले बोली (Accent) र भाषिका (Dialect) का बिच भिन्नता छुट्याउँदै ‘Accent’ लाई बोली तथा उच्चारणको प्रवृत्ति भनेका छन्। उनका अनुसार ‘एस्सेन्ट’ नितान्त व्यक्तिगत प्रवृत्तिमा आधारित हुन्छ साथै यो कुनै ठाउँ, क्षेत्र र राज्यसित पनि सम्बन्धित हुन्छ। यो कुनै भौगोलिक क्षेत्रमा बसोबास गरेका स्थानीय वक्ताको बोली हो। समाजको आर्थिक अवस्थाका आधारमा वक्ताको बोलीमा देखा परेको भिन्नता नै ‘एस्सेन्ट’ हो। विशेष गरी वक्ताको लबज, स्वर तथा व्यञ्जन वर्णको उच्चारण, बलाघात तथा लेख्य व्यवस्थामा ‘एस्सेन्ट’ स्वरूप देख्न सकिन्छ। व्यक्तिमा देखा परेको उच्चारणगत भिन्नता नै ‘एस्सेन्ट’ हो। यो व्यक्ति बोली (Idiolect) को निकटमा छ। व्यक्ति बोली चाहिँ व्यक्ति व्यक्तिको बोलीसित सम्बन्धित छ तर ‘एस्सेन्ट’ चाहिँ एउटै भाषिक समुदायका एकै क्षेत्रमा बसोबास गरेका भिन्न भिन्न व्यक्तिको बोलीसित सम्बन्धित छ। भाषिका निर्धारणका धेरै आधार छन् तीमध्ये प्रमुख तीन आधारलाई निम्नलिखित रूपमा परिचय दिइएको छः
भाषिका निरन्तरता
भाषिक निरन्तरतालाई भाषिका अध्ययनको महत्त्वपूर्ण आधार मानिन्छ। दार्चुला बैतडीका वक्ताले बोलेको नेपाली बझाङ, बाजुरा र अछामका वक्ताले बुझ्छन्। बझाङ, बाजुरा, अछामका वक्ताले बोलेको जुम्ला, कालीकोट र दैलेखका वक्ताले बुझ्छन्। जुम्ला, कालीकोट, दैलेखका वक्ताले बोलेको सुर्खेत, जाजरकोट, रुकुम र सल्यानका वक्ताले बुझ्छन्। एउटा क्षेत्रका वक्ताले बोलेको नजिकैको अर्को क्षेत्रका वक्ताले बुझ्ने क्रम गण्डकी क्षेत्र, कोसी क्षेत्र र त्यसभन्दा पूर्व दार्जिलिङ, सिक्किम, आसाम, मेघालय, मणिपुर, नागाल्यान्ड, सिङ्गापुर, बर्मा आदि जहाँ जहाँ नेपाली भाषाका वक्ता पुगेर बसेका छन् त्यहाँ त्यहाँ भाषा बुझाइको निरन्तरता रहेको छ। जुन ठाउँसम्म बुझाइ वा बोधगम्यताले निरन्तरता पाउँछ त्यस ठाउँसम्म एकै भाषाको भाषिका मानिन्छ। बुझाइको निरन्तरताको क्रम टुटेपछि अर्को भाषा मानिन्छ।
ब्लेयर (सन् १९९७, पृ. २२) ले भाषिक निरन्तरता भौगोलिक, सामाजिक र ऐतिहासिक गरी तीन प्रकारको हुने उल्लेख गरेका छन्। उनका अनुसार भौगोलिक भाषिक निरन्तरताले एउटा भौगोलिक क्षेत्रका वक्ता र अर्को भौगोलिक क्षेत्रका वक्ताका बिच भाषिक सम्बन्ध रहेको प्रस्ट पार्छ। दार्चुलालाई एउटा भौगोलिक भाषिका विन्दु मान्दा त्यहाँको भाषिक सम्बन्ध बैतडी, बझाङ, डडेलधुरा, डोटी आदिका वक्तामा रहेको छ। सामाजिक भाषिक निरन्तरता सामाजिक सञ्जालसितको सम्बन्धमा देखिन्छ। बिहेबारी, बसाइसराइ, मातृभाषामै शिक्षाको सुविधा, पाठ्यक्रम विकास, विद्यालय स्थापना आदि सामाजिक सञ्जाल नै सामाजिक भाषिक निरन्तरताका मुख्य कडी हुन्। ऐतिहासिक भाषिक निरन्तरताले पुस्तान्तरमा रहेको भाषिक निरन्तरतालाई देखाउँछ। अघिल्लो पुस्ताले जुन भाषालाई मातृभाषाका रूपमा बोलेको छ पछिल्लो पुस्ताले पनि त्यसै भाषालाई मातृभाषाका रूपमा ग्रहण गरेको हुन्छ।
भौगोलिक भाषिकामा भौगोलिक भूदृश्य पनि महत्त्वपूर्ण रूपमा रहेको हुन्छ। च्याम्बर र ट्रडगिल (सन् १९९८) ले कुनै भाषिक विन्दुमा उभिएर हेर्दा वरिपरि जति ठाउँ देखिन्छ त्यस क्षेत्रभरि बोलिने भाषिका क्षेत्र नै भाषिका भूदृश्य भनेका छन्। आफ्नो भाषिका क्षेत्र कति हो भन्ने कुरामा त्यस भाषिकाका वक्ता सचेत हुने डान र ब्लक (१९६९) ले उल्लेख गरेका छन्। भाषामा देखिएको यो निरन्तरतालाई निम्न ढङ्गमा देखाइन्छ :
रेखाचित्र नं. १
भाषिका निरन्तरता

नोट : अङ्कले भाषिका क्षेत्रलाई सङ्केत गरेका छन्।
यस रेखाचित्रले भाषिक निरन्तरतालाई सङ्केत गर्छ। कुनै भाषिका बोलिने क्षेत्रलाई १ ले सङ्केत गरिएको छ। हरेक गोलाकार भाषिक क्षेत्र हुन्। ती क्षेत्रलाई क्रमशः २, ३, ४, ५ र ६ अङ्क दिइएको छ। हरेक भाषिक क्षेत्र एक अर्कामा काटिएका छन्। जुन भौगोलिक क्षेत्रमा भाषा खप्टिएको अवस्थाबाट भिन्न देखिन्छ र एउटा भौगोलिक विन्दुमा पुगेपछि भाषिक सिमाना छुट्टिन्छ त्यसका लागि छुट्टै समभाषिक रेखा कोर्न सकिन्छ। कुनै भाषिका कुनै निश्चित क्षेत्रभित्र मात्र बोलिन्छ भन्ने होइन। १ र २ क्षेत्रका बिचमा छुट्टै क्षेत्र देखिएको छ। त्यस क्षेत्रमा भाषिका १ का वक्ता पनि बसोबास गर्छन् र भाषिका २ का वक्ता पनि बसोबास गर्छन्। यो अवस्था सबै क्षेत्रमा देखाइएको छ।
भाषिक रिनतरतालाई च्याम्बर तथा ट्रडजिल (सन् २००४) ले भाषिक स्वतन्त्रता र भाषिक परतन्त्रतासित जोडेका छन्। उनीहरूका अनुसार भाषा र भाषिक निरन्तरता बिचको सम्बन्धलाई परतन्त्रताका दृष्टिले हेर्ने गरिन्छ। राजनीतिक रूपमा भिन्न भएको अवस्थामा त्यस क्षेत्रको भाषा पूर्ण स्वायत्त भएर रहन सक्तैन। त्यो अर्ध स्वायत्त अवस्थामा रहने च्याम्बर र ट्रडजिल (सन् २००४, पृ. १४) को मान्यता छ।
भौगोलिक दृष्टिले हेर्दा भाषिक निरन्तरताको कुन विन्दुसम्म एउटै भाषाका भाषिका मान्ने र कुन विन्दुदेखि अघि बढेपछि अर्को भाषा मान्ने भन्ने प्रश्न अनुत्तरित नै रहन्छ। मेचीमा बोलिने नेपाली भाषाको भाषिक निरन्तरता दार्चुला बैतडीसम्म पुग्छ। दार्चुला बैतडीमा बोलिने नेपालीको भाषिका कोसीमेचीका वक्ताले बुझ्दैनन् तर दार्चुला बैतडीका वक्ताले कोसीमेचीमा बोलिने नेपालीको भाषिका बुझ्न सक्छन्। कोसीमेचीमा बोलिने नेपाली भाषा भारतका दार्जिलिङ, सिक्किम, असम, मेघालय, मणिपुर आदि क्षेत्रमा बसोबास गर्ने नेपाली भाषाका वक्ताले सजिलै बुझ्न सक्छन्। तसर्थ भाषिक निरन्तरतालाई भाषिका अध्ययनको आधार मान्न नेपाली भाषाको सन्दर्भमा बाधा पुर्याएको पाइँदैन।
प्राप्ति तथा विश्लेषण
धेरै अध्ययनकर्ताहरूबाट नेपालभित्र बोलिने नेपाली भाषाका भाषिकाहरूका बारेमा निकै अध्ययन भएको हुनाले यस अनुसन्धानात्मक लेखमा ती भाषिकाहरूको अति सङ्क्षिप्त चिनारी दिँदै भौगोलिक रूपरेखामात्र प्रस्तुत छ। भारतेली भूमिमा बोलिने नेपालीका भाषिकाहरूलाई चाहिँ उदाहरणसहित चर्चा गरिएको छ।
दार्चुलाली भाषिका
बालकृष्ण पोखरेल (२०३१) का अनुसार परपच्छिमा भाषिका नै दाचुलाली भाषिका हो। यो सुदूरपश्चिम प्रदेशको दार्चुलामा बोलिने भाषिका हो। यो भाषिका गुल्जर र डढेरा पहाड, बकिया लेक तथा व्यास ऋषि हिमालभन्दा पश्चिम र दक्षिण, महाकाली नदीभन्दा पूर्व र चाम्लिया खोलो तथा महाकाली नदीको दोभानदेखि चाम्लिया खोलो हुँदै देथला, कोट्यारा र छेटढुङ्गा पहाडदेखि उत्तरको भूभागमा बोलिन्छ।
बैतडेली भाषिका
बालकृष्ण पोखरेल (२०३१) ले यस भाषिकालाई पनि परपच्छिमा भाषिकाअन्तर्गत नै उल्लेख गरेका छन्। यो सुदूरपश्चिमको बैतडीमा बोलिने भाषिका हो। थलाकाँडा पहादेखि उत्तर हुँदै सेती नदीले काटेको क्षेत्र, कालीगाढ खोला र सेती नदीको दोभान एवम् छेटढुङ्गा पहाडदेखि पश्चिम, छेटढुङ्गा र देथला पहाडतथा चाम्लिया खोलाभन्दा दक्षिण, महाकाली नदीदेखि पूर्व र सरमाया गाढखोलाबाट पूर्व मङ्ग्रावण पहाड हुँदै बसेरा र थलाकाँडा पहाडभन्दा उत्तरको भूभागमा यो भाषिका बोलिन्छ। दर्चुलाली भाषिकाका भन्दा केही फरक विशेषता पाइएकाले यस क्षेत्रको बोलीलाई छुट्टै भाषिकाका रूपमा निरौला (२०५१ र २०७२) ले उल्लेख गरेका छन्।
डडेलधुराली भाषिका
सिम्ती, फल्टुडे, गोल्मा र साट पहाड तथा सेती नदीदेखि पश्चिम, थलाकाँडा, बसेरा, दाइनासिला र मङ्ग्रावण पहाड तथा सर्माया गाढखोलाभन्दा दक्षिण, महाकाली नदीदेखि पूर्व र चुरे पहाडभन्दा उत्तरको भूभागमा यो भाषिका बोलिन्छ। खास गरी सुदूरपश्चिम प्रदेशको डडेलधुरामा बोलिने भाषिका नै डडेलधुराली भाषिका हो। पोखरेल (२०३१) ले यस भाषिकालाई मझपच्छिमा भाषिका वर्गअन्तर्गत उल्लेख गरेका छन्।
बझाङ्गी भाषिका
पोखरेल (२०३१) ले यस भाषिकालाई ओरपच्छिमा भाषिका वर्गअन्तर्गत उल्लेख गरेका छन्। यस भाषिका क्षेत्रका छान्ना, थलारा, चिरबुङ लगायतका क्षेत्रमा भिन्न भाषिकागत विशेषता पाइएकाले यस क्षेत्रको बोलीलाई छुट्टै भाषिका मानिएको निरौला (२०५१) को भनाइ छ। यसै भाषिकामा लक्ष्मीनारायण पण्डित (२०६९) र हरिश्चन्द्र भट्ट (२०७४) ले विद्यावारिधि गरेका छन्। यो भाषिका बाह्रबिसे पहाड, बुढीगङ्गा नदी, जेठीबहुरानी पहाड हुँदै जसगल डाँडाभन्दा पश्चिम, गुराँस हिमशृङ्खलाको योका चुचुरो, बकिया लेक, काफलसेरी पहाड र कालीगाढ खोला हुँदै ठाडो ढुङ्गा टुप्पा र योका पहाभन्दा दक्षिण, कालीगाढ खोला तथा सेतीको दोभान, बिना पहाड, सौरे खोला हुँदै खप्तड डाँडाभन्दा उत्तरको भूभाग नै यस भाषिकाको मूल क्षेत्र हो।
डोट्याली भाषिका
यो भाषिका सेती प्रस्रवण क्षेत्रको दक्षिणी भूभाग डोटीमा बसोबास गरेका वक्ताले बोल्दछन्। यस भाषिकालाई पोखरेल (२०३१) ले मझपच्छिमा भाषिका वर्गमा राखेका छन्। यस अध्ययनमा यस क्षेत्रको बोलीलाई छुट्टै माषिका मानिएको छ। ठुली गाढखोला र कर्णाली नदीको दोभान, सेती र कर्णालीको दोभान, केती नदी र त्यसभन्दा माथि खप्तड पहाडदेखि पश्चिम, खप्तड पहाडदेखि सौरे खोला हुँदै सौरे खोलो र सेतीको दोभानभन्दा दक्षिण, घण्टेश्वर र फल्टुडे पहाडभन्दा पूर्व र ठुली गाढखोलाको मुहान कुन्डिकोट छहरादेखि ठुली गाढखोलाले काटेको क्षेत्र हुँदै ठुली गाढ र कर्णालीको दोभानभन्दा उत्तरको भूभागमा यो भाषिका बोलिन्छ। आप्रवासका कारणले कैलाली तथा कञ्चनपुरमा पनि यस भाषिकाका वक्ता पुगेका छन्।
बाजुराली भाषिका
यो भाषिका कर्णाली नदीको पश्चिमी भूभाग र सेती प्रस्रवण क्षेत्रको पूर्वी भूभाग बाजुरामा बसोबास गरेका नेपाली भाषाका वक्ताले बोल्दछन्। यस भाषिकालाई पोखरेल (२०३१) ले ओरपच्छिमा भाषिका वर्गको बाजुराली उपभेद मानेका छन्। लामाबगर, खिस्मा पहाड, माइला लेक हुँदै कवाडी कोलादेखि पश्चिम, सङ्खलग्न पहाड र जेठी बहुरानी लेखदेखि दक्षिण, जुगड डाँडा, पौडली पहाड तथा बझाङको घाटखोलादेखि पूर्व र बुढी गङ्गाको गोलाघाट र लामाबगरभन्दा उत्तरको भूभागमा यो भाषिका बोलिन्छ। यो भाषिका जुम्लीसिँजाली भाषिकाबाट प्रभावित देखिन्छ।
अछामी भाषिका
यो भाषिका बाजुराली भाषिकाभन्दा दक्षिण, डोट्याली भाषिका क्षेत्रभन्दा पूर्व र कर्णाली नदीभन्दा पश्चिमको भूभागमा बसोबास गरेका नेपाली भाषाका वक्ताले बोल्दछन्। यस भाषिकालाई पनि पोखरेल (२०३१) ले ओरपच्छिमा भाषिका वर्गको एक उपभाषिका मानेका छन्। हर्कबहादुर शाही (२०६९) ले यस क्षेत्रको बोलीलाई छुट्टै भाषाका रूपमा चर्चा गरेका छन्। कर्णाली नदी र लामाबगरभन्दा पश्चिम, लामाबगर र बुढीगङ्गा नदीदेखि दक्षिण, बुढीगङ्गाले छिनेको भाग र बुढीगङ्गाकै दोभान सेती नदीभन्दा पूर्व र सेती नदीले छिनेको क्षेत्र हुँदै सेती र कर्णालीको दोभानभन्दा उत्तरको भूभाग नै यस भाषिकाको मूल थलो हो।
जुम्लीसिँजाली भाषिका
यो भाषिका मूलतः कर्णाली प्रदेशका हुम्ला, मुगु, जुम्ला र डोल्पामा बसोबास गरेका नेपाली भाषाका वक्ताले बोल्दछन्। यस भाषिकालाई पोखरेल (२०३१) ले माझाली भाषिका वर्गअन्तर्गत राखी चर्चा गरेका छन्। चूडामणि बन्धु (२०२८) ले चाहिँ सिँजाली भाषिका मानेका छन्। आधुनिक नेपाली भाषाको मूल थलो जुम्लाको सिन्जा क्षेत्र मानिन्छ। नेपाली भाषाका वक्ताहरू यही ठाउँबाट पूर्वतिर बसाइँ सर्दै गएका हुन्। अहिले पनि यहाँका वक्ता नेपाली भाषाको उही पुरानो रूप बोल्दछन्। स्वर्गद्वारी लेक, चाकुरे लेक, लेखपाटन पहाड, बाख्रे पहाड, देहरपाटा पहाड, खिस्मा पहाड, कवाडी खोला, सङ्खलग्न पहाड र साइपाल पहाडभन्दा उत्तर, धवलागिरी हिमशृङ्खलाभन्दा पश्चिम, नालाकाडा पहाडदेखि पूर्व र चण्डी हिमाल, गोरख हिमाल, हुम्ला पाटन, कान्ति हिमाल, पटरासी हिमाल, कान्जिरोवा हिमाल, कागमारा लेक तथा गौतम हिमालभन्दा दक्षिणको भूभाग नै यस भाषिकाको मूल थलो हो। केही मात्रामा कालीकोट, बाजुरा तथा जाजरकोटतिर पनि यस भाषिकाका विशेषता पाइन्छन्। यस भाषिकामा प्राचीन नेपाली भाषाका उदाहरणहरू अभिलेखका रूपमा प्रशस्तै पाइन्छन्।
दैलेखकालीकोटे भाषिका
यस भाषिको मुख्य क्षेत्र कर्णाली नदीको पूर्वी भागमा रहेका कालीकोट र दैलेख हुन्। पोखरेल (२०३१) ले यस भाषिकाका दुई क्षेत्रमध्ये कालीकोटे भाषिकालाई माझाली भाषिका वर्गको रास्कोटी भाषिका र दैलेखी भाषिकालाई पुर्बेली भाषिका वर्गको खसानी भाषिका भाषिका भनी उल्लेख गरेका छन्। यस अध्ययनमा दैलेख र कालीकोटको बोलीमा धेरैजसो मिल्दाजुल्दा विशेषता पाइएका हुनाले यहाँ यी दुवै क्षेत्रको बोलीलाई एकै भाषिका क्षेत्रका रूपमा लिइएको छ। भीमचुला पहाड, गाडखोला, सिनिया र तिला नदीको दोभान हुँदै सिनिया नदीले काटेको पश्चिमी भाग, खिस्मा पहाडदेखि दक्षिण, कर्णाली नदीभन्दा पूर्व र लोहोरे खोलाको दोभानदेखि डुङ्गेश्वर रानीमत्ता लेक र थारी पहाड हुँदै भीमचुलाभन्दा उत्तरको भूभागमा बसोबास गरेका नेपाली भाषाका वक्ताले यो भाषिका बोल्दछन्। जुम्लीसिँजाली भाषिकाका केही विशेषता मिल्दाजुल्दा देखिए तापनि यस भाषिकाका आफ्नै निजी विशेषता छन्।
भेरीक्षेत्रीय भाषिका
निरौला (२०७२) का अनुसार यो भाषिका हालको कर्णाली प्रदेशको सुर्खेत, सल्यान, जाजरकोट र रुकुम पश्चिममा बोलिन्छ। पोखरेल (२०३१) ले यस भाषिकालाई पुर्बेली भाषिका वर्गको खसानी भाषिका भनी चर्चा गरेका छन् तर उनले राष्ट्रभाषाको दसौँ संस्करण (२०५५, पृ.५३–५४) का अनुसार खसान नाउँको स्थल आजको नेपालमा कतै नभएको हुनाले कुनै सीमित परिधिमा पनि खसानीको रचनागत कुनै भाषिकाका वक्ताले गर्लान् झैँ मलाई लागेन। अतः पुरानो परिकल्पनाको मोहभङ्गपश्चात् अब हामीले त्यस भेकका भाषिकाहरूलाई खसानी नभनी सुर्खेती, सिम्ताली, सल्यानी, जाजरकोटी, मुसीकोटी, रुकुमीजस्ता नाममा छुट्टाछुट्टै प्रविष्टि दिनु राम्रो हो।
पोखरेल (२०५५) को यस भनाइबाट भेरी क्षेत्रीय भाषिकाको सिम्ताली भेदको अध्ययन भएको तर अरू क्षेत्रको अध्ययन हुन बाँकी रहेको प्रस्ट हुन्छ। सिम्ता र आसपासका भाषिकामा केही ध्वनिगत समानता रहेको पोखरेल (२०५५) को भनाइ छ। उनले पुर्बेली भाषिका समूहलाई तीन भागमा विभाजन गरी सिम्ता, सल्यान, दैलेख, जाजरकोटमा बोलिने भाषिक भेदलाई ओरपुर्बेली मानेका छन्।
गण्डकेली भाषिका
निरौला (२०७२) का अनुसार यो भाषिका गण्डकी प्रस्रवण क्षेत्रमा बोलिन्छ। पोखरेल (२०५५) ले मझपुर्बेली भाषिकाअन्तर्गत उल्लेख गरेका प्युठानी, खँचेली, गुल्मेली, बाग्लुङी, पाल्पाली, पर्वती, लमजुङी, तनहुली, स्याङ्जाली, कस्केली बोली नै गण्डकेली भाषिका हो। यस भाषिका क्षेत्रको पूर्व र दक्षिणतिर पुर्बेली नेपाली तथा पश्चिममा भेरि क्षेत्रीय तथा जुम्लीसिँजाली भाषिकाका वक्ता बसोबास गर्दछन्। काली गण्डकी, चुरे पहाड र विमला खोलाभन्दा उत्तर, बुढी गण्डकी र त्रिशूली नदीभन्दा पश्चिम, अन्नपूर्ण दोस्रो र मनास्लु हिमशृङ्खलादेखि दक्षिण तथा अरुण एवम् रन्सिन खोला, झ्यालुङ पर्वत र धवलागिरिको पुछाखार पर्वतभन्दा पूर्वको भूभाग नै यस भाषिका वक्ताहरू बसोबास गरेको मूल थलो हो। आप्रवासका कारणले यस भाषिकाका वक्ता नवरपरासी, रूपन्देही, कपिलवस्तु तथा चितवनतिर पनि गएर बसोबास गरेका छन्।
यस भाषिकाको सबैभन्दा नजिकको भाषिका पुर्बेली हो। पुर्बेलीका विशेषतासँग यस भाषिकाका धेरैजसो विशेषता मिल्दाजुल्दा छन् र गण्डकेली भाषिकाका वक्ताले पुर्बेलीको बोली सजिलै बुझ्न सक्दछन्।
पुर्बेली भाषिका
पुर्बेली भाषिकाका विभिन्न उपभाषिकालाई पोखरेल (२०५५) ले सङ्क्षिप्त चर्चा गर्ने क्रममा परपुर्बेली भाषिका वर्गमा गोर्खाली, उपत्यकाली, चोकेली, सैलुङ्गी, गढेली, गढतिरेली, बास्सेली, माइभेकी, टिस्टेली आदि भाषिका पर्ने उनको मान्यता छ। उनले यी भाषिकाहरूको सङ्क्षिप्त परिचय दिएका छन्।
उपत्यकाली भाषिका : पोखरेल (२०५५) का अनुसार यो भाषिका गोर्खाली र पर्वती भाषिकाको मिश्रण हो। यस भाषिकाका केही लक्षण पर्वतीका र केही लक्षण गोर्खालीका छन्। यो भाषिका काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरका तिनवटै सहरमा बोलिन्छ त्यसैले यसलाई तीन सहरी भाषिका पनि भन्ने गरिन्छ।
चोकेली भाषिका : काभ्रेपलान्चोक, सिन्धुपाल्चोक र कालिन्चोक वा दोलखामा बोलिने नेपालीलाई पोखरेल (२०५५) ले चोकेली भाषिका भनेका छन्। यस भाषिकामा नेवार र तामाङ भाषाको प्रभाव रहेको जानकारी दिएका छन्। यस भाषिकाको वैज्ञानिक र अध्ययन र अनुसन्धान हुन बाँकी नै रहेको उनको भनाइ छ।
सैलुङी भाषिका : यो भाषिका रामेछाप र जिरी तथा सोलुपश्चिमको इलाकामा बोलिन्छ। नाथुला, पेटासी, चौँरी, नाकासिजी, बेथान, गुन्सीगाउँ, रिस्टे, भदौरे आदिदेखि मन्थलीसम्मको भू–भागमा यो भाषिका बोलिन्छ। यस भाषिकामा तामाङ भाषाको लयाघातले आर्थी प्रभाव पारेको र सिङ्गै शोधकार्यबाट मात्र सही तथ्य आउन सक्ने पोखरेलको भनाइ छ।
गढेली भाषिका : रोसी खोलापूर्व, सप्तकोसी पश्चिम र सुनकोसी दक्षिणका स्थानीय बासिन्दाहरूले बोल्ने नेपाली भाषा नै गढेली भाषिका हो। यो भाषिका दुम्जा, नारीमला, ग्वालटार, मुढाजोर, झाँगाझोली, सुङ्नाम, खुर्कोट आदि सिन्धुलीका इलाकामा र लेखानी, रूपाटार, भुटटार, ओख्ले, बेलटार, रौता आदि उदयपुरका इलाकामा बोलिन्छ। यस भेकमा उहिले थुप्रै गढीहरू भएका हुनाले यहाँको भाषिकालाई गढेली नाम दिनु उपयुक्त रहेको कुरा पोखरेल (२०५५) ले अघि सारेका छन्। यस भाषिकाका बारेमा छुट्टै अध्ययन गर्नु पर्ने उनको भनाइ छ।
गडतिरेली भाषिका : ओखलढुङ्गा, सोलु, खोटाङ आदि सगरमाथा भेकमा पर्ने सुनकोसी उत्तरको इलाकामा यो भाषिका बोलिन्छ। यस भाषिकाको पनि सिङ्गै खोजी कार्य बाँकी नै रहेको पोखरेले उल्लेख
गरेका छन्।
बास्सेली भाषिका : यो भाषिका कोसी अञ्चलको पहाडी भेकमा बोलिन्छ। अरूण नदीलाई बास्सा
(बादशाह) भन्ने स्थानीय चलनका आधारमा यस भाषिकालाई बास्सेली भनिएको हो। गढेली र बास्सेली भाषिकाका धेरैजसो विशेषता मिल्दाजुल्दा भए तापनि तिनमा खासखास अन्तर पनि पाइन्छन् तर ती अन्तरको खोजी हुन बाँकी रहेको पोखरेलले उल्लेख गरेका छन्। यस भाषिकामा वान्तवा, राई र लिम्बू भाषाको विशेष प्रभाव परेको र अनुसन्धान भइ नसकेको उनको भनाइ छ।
माईभेकी भाषिका : यो भाषिका मेची अञ्चलको पहाडी इलाका इलाम, पाँचथर र ताप्लेजुङमा बोलिन्छ। यस भेकका नदीनालाहरूलाई माई भन्ने चलन भएका आधारमा यहाँको भाषिकालाई पोखरेलले माईभेकी भन्न रुचाएका छन्। यस भाषिकामा लिम्बू भाषाको मात्र प्रभाव रहेको उनको दाबी छ। उनले यस भाषिकामा रहेका केही उदाहरणहरूलाई बास्सेली र गढेलीसँग तुलना गर्दै प्रस्तुत गरेका छन्।
पोखरेल (२०५५) ले उपर्युक्त भाषिका लगायत मेचीपूर्वमा विकसित भएका टिस्टेली, असमेली र भाक्सुली भाषिकाको चर्चा गरेका छन् साथै वनमनखी नाम गरेको अनौठो भाषिका पनि उल्लेख
गरेका छन्।
भारतमा बोलिने नेपाली भाषाका भाषिकाहरू
भारतमा बोलिने नेपाली भाषाका भाषिकाहरूको विस्तृत अध्ययन हुन बाँकी नै रहेको अवस्थामा यस अध्ययनमा केही उदाहरणसहित सङ्क्षिप्त रूपमा प्रस्तुत गरिएको छ।
मध्यमाञ्चल भाषिका समूह
यस भाषिकालाई पोखरेल (२०५५) ले टिस्टेली भाषिका भनेका छन्। यो भाषिका दार्जिलिङतिर बोलिने हुँदा यस भाषिकालाई दोर्लिङी भाषिका पनि भन्न सकिने तर दोर्लिङी भाषिका भन्दा दार्जिलिङलाई मात्र बुझाउने हुनाले र सिक्किमलाई समेत समेट्नका लागि टिस्टेली भाषिमा नाम दिइएको पोखरेल (२०५५) को भनाइ छ। वास्तवमा यस भाषिका समूहलाई मध्यमाञ्चल भाषिका भन्नु उचित हुने यस अध्ययनबाट प्रस्ट भएको छ। यस भाषिकामा बङ्ला, हिन्दी र राई भाषाहरूको प्रभाव परेको हुँदा तिनै भाषाबाट अत्यधिक शब्द आएका छन्। डुवर्सतिर बसोबासो गर्ने अधिकाङ्श मानिसहरूबाट विशेषगरी चियाकमानका कामदारहरूबाट पनि एकप्रकारको भाषिक व्यवस्था सिर्जित भएको देखिन्छ। चियाकमानसित सम्बद्ध वस्तु, व्यवस्थाप्रणाली, बढी मिश्रित समाज आदिका कारण त्यहा नेपाली भाषिकाको भिन्न स्वरूप छ। यस भाषिकाका केही शब्द तल उल्लेख गरिएका छन् :
| थेच – रहेछ | खिर्की – झ्याल | दर्जा – ढोका | सिल्पट – चप्पल |
| बेलाइती – सिमन्टी | बौत – निकै | जत्ति – धेरै नै | पाडे – नेपाली |
| होत्त रे तजी – हो त नि | दजु – दाजु | ओर्लनु – झर्नु | सकिनु – तुर्नु |
दार्जिलिङे भाषिकाको वाक्यगत उदाहरण हेरौँ-
अन्त हो, दार्जिलिङ चौरस्तामा पनि पूरा यत्रो बिजोग त लु छैन होला हो। आम्बो ! त्यहाँका त भानुभक्त पनि पुरा कवि छन् नि आजु। यहाँ त हेर्नुस् न, भानुभक्तको डल्लै सालिक छ। नेपालतिर त हैट् ! पुरा इङ्लिस डल्लै मिसार नेपाली बोल्छ हो।
१. घारम आसेङ आङ आनुभाको छ। घरमा मामामाइजू आउनुभएको छ।
२. त्यो केटो त काजुके छ। त्यो केटो निकै जाँगरिलो छ।
३. मिरिकतिर झुम्रोलाई नै कन्टारो भन्दोरहेछ।
४. इत्रु इत्रु टुक्रा, के खानु ! यति सानो टुक्रो, के खानु !
५. तँ सारै गुल्चे खेल्छस्। तँ निकै झेली खेल्छस्।
| १. घारम आसेङ आङ आनुभाको छ। | घरमा मामामाइजू आउनुभएको छ। |
| २. त्यो केटो त काजुके छ। | त्यो केटो निकै जाँगरिलो छ। |
| ३. मिरिकतिर झुम्रोलाई नै कन्टारो भन्दोरहेछ। | |
| ४. इत्रु इत्रु टुक्रा, के खानु ! | यति सानो टुक्रो, के खानु ! |
| ५. तँ सारै गुल्चे खेल्छस्। | तँ निकै झेली खेल्छस्। |
| ५. तँ सारै गुल्चे खेल्छस्। | तँ निकै झेली खेल्छस्। |
वाक्यगत तुलना– कथ्यस्तरमा वाक्यको तहमा नै नेपाल र भारतको बोलीको भिन्नता छुट्टिन खोज्छ। नेपालका अधिकांश वक्ताहरूले केही व्याकरणिक नियम पालन गरेर बोल्न सक्छन्।
६. आबो हामी जान्छ। ७. मैले काम नतुरी छ।
८. आबो मो जान्छ। ९. आमा घर गयो।
१०. हामीले डल्लै खाना खायो। ११. गाउँमा कुकुरहरू भुक्यो।
१२. साथीहरू घर फर्कियो। १३. उहाँले योगदान दिएका थिएछ।
१४. तपाईंले खाना खायो ? १५. तोँ बजार जान्छस्।
१६. तिमी बजार जान्छ। १७. तोँपाई बजार जान्छ।
१८. उनी बजार जानुहुन्छ। १९. उहाँले राम्रो काम गऱ्यो।
२०. राजु बजार गयो। २१. तारा बजार गयो।
२२. दिदी बजार गयो। २३. रुखबाट पात झऱ्यो।
२४. म बजार जान्छु। २५. तिमी बजार जान्छौ।
२६. ऊ बजार जान्छ। २७. हामेरु बजार जान्छ।
२८. तिमारु बजार जान्छ। २९. उनारु बजार जान्छ।
३०. म बजार जान्छ। ३१. हामी बजार जान्छ।
३२. तिमी बजार जान्छ। ३३. तिमारु बजार जान्छ।
३४.ऊ बजार जान्छ। ३५. उनारु बजार जान्छ।
३६. हिज हामी बजार गयो। ३७. आज हामी बजार जाँदै छ।
३८. भोलि हामी बजार जान्छ।
माथिका उदाहरणमा कर्ताको वचन, लिङ्ग, पुरुष जे भए पनि क्रियापद चाहिँ तृतीय पुरुष एकवचनमा मात्र प्रयोग भएको छ। यस भाषिकामा शब्दगत भिन्नता पनि निकै पाइन्छ। यस भाषिका क्षेत्रमा अङ्ग्रेजी भाषाको प्रभाव र अन्य छिमेकी भाषाहरूको समेत प्रभाव परेको हुनाले क्रियापद तृतीय पुरुष, एकवचन पुलिङ्गमा मात्र रहेको पाइन्छ। यस भाषिका क्षेत्रमा हिन्दी, बङ्गाली र चिनियाँतिब्बती परिवारका भाषा बोलिने हुँदा विशेष गरी चिनियाँतिब्बती परिवारका भाषाको व्याकरणात्मक संरचनाबाट नेपाली भाषा प्रभावित देखिन्छ।
पूर्वाञ्चल भाषिका समूह
पूर्वाञ्चल भाषिका समूह असमलगायत भारतका पूर्वाञ्चलका विभिन्न प्रान्तमा बोलिन्छ। यो भाषिका समूह असमीय भाषाबाट प्रभावित भएकाले असमी शब्द प्रशस्तै प्रयोग गरिन्छ। यस भाषिकालाई पोखरेल (२०५५) ले असमेली भाषिका नाम दिएका छन्। भारतको असममा बसोबास गरेका नेपालीहरू यो भाषिका बोल्ने गर्छन्। पोखरेल (२०५५) ले भीमकान्त उपाध्यायको ‘आँखीझ्यालबाट हेर्दा’ पुस्तकलाई यस भाषिकाको राम्रो सूचना प्राप्त गर्ने माध्यम भनेका छन् र यसै पुस्तकबाट केही शब्दलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन्। पुस्तकमा उल्लेख भएका शब्दका आधारमा मात्र यस भाषिकाको सही तथ्य प्राप्त हुन सक्दैन तसर्थ असममै पुगेर अर्थात् असमबाट नेपाल आएका यस भाषिकाका वक्ताबाट मात्र तथ्यपरक सूचना प्राप्त गर्न सकिन्छ भन्ने कुरा पोखरेलले उल्लेख गरेका छन्। पोखरेलले प्रस्तुत गरेका असमेली भाषिकाका केही उदाहरण निम्नलिखित छन्-
कनि – अन्डा नाम्नु – ओर्लनु मखान – नौनी राइज – महोदय
सादा – सुर्ती आली – सडक मोना – थैलो भाब्नु – सोच्नु
कानि – अफिम आलोचनी – पत्रिका कोला – केरा दोलङ – साँघु
बालिस – तकिया गोमाठ – गौचर गाखिर – गाईको दुध चिनाकी – चिनारी
(पोखरेल, २०५५, पृ. ६२)
यस भाषिकाका केही वाक्यगत उदाहरण निम्नलिखित छन्-
१. शिक्षक स्यापटमा लेख्न चक लिएर आउनुभयो।
२. म यसापलि जुवामा सान्डा भएँ।
३. जमिन किन्दा पट्टा रामरी हुर्नू है, नक्कली पो हुन्छ नि।
४. नानीका थाङ्ना टापामा सुकाऊ त।
५. हिजोको असिनापानीले छानाको टाली फुटाइदिएछ।
६. पवनले साहित्यकारसँग बात गरे।
पाठगत उदाहरण
असमी नेपालीहरू छपडीमा कुँयेरको खेती गर्दै गाखिर निकाली बेबसाइ गर्छन्। सारले आज टान प्रश्न सोधो भनी गुनासो गर्छन्। (स्रोत : नवीन पौडेल, २०७७)
यस भाषिकाका वाक्य हेर्दा केही शब्दगत भिन्नता त देखिन्छ तर व्याकरणात्मक भिन्नता देखिँदैन। कर्ता र क्रियाका बिच सङ्गति मिलेकै पाइन्छ। माथिका वाक्यलाई हेर्दा नेपाली भाषाको यस भाषिकामा स्थानीय शब्दहरू प्रशस्तै प्रयोग भएका छन् त्यसैले स्थानीयताको प्रतिबिम्बन छर्लङ्गै देखिन्छ।
भाक्सुली भाषिका : भारतकै भाक्सुमा बसोबास गरेका नेपाली भाषाका वक्ताले यो भाषिका बोल्ने गर्छन् तर पोखरेल (२०५५) का अनुसार यस भाषिकाको कुनै खोजतलास हुन सकेको छैन। उनले यस भाषिकालाई जालन्धरी भाषिका भन्न सकिने मात्र उल्लेख गरेका छन्, तर यस भाषिकाका कुनै उदाहरण दिएका छैनन् र जालन्धरी भाषिका भन्नुपर्ने औचित्य पनि पुष्टि गरेका छैनन्।
वनमनखी भाषिका : पोखरेल (२०५५) का अनुसार वनमनखी नामको एउटा अनौठो भाषिका फेला परेको छ। यो भाषिका बिहारको पुर्णिया जिल्लामा पर्ने वनमनखी भन्ने ठाउँमा बासोबास गरेका गुरुङहरू र उत्तरी बिहारका राई, मगर आदिले बोल्ने भाषा हो। सुगौली सन्धिपछि भारततिर परेका नेपाली बस्तीहरूमा बोलिने यो भाषिका वनमनखीमा मात्र सीमित नभई उत्तरी बिहारका भोटबर्मेली भाषाभाषी नेपालीहरूले आआफ्ना मातृभाषालाई छोडी नेपालीलाई मातृभाषा तुल्याउँदाको परिणाम हो। यस भाषिकाका अधिकांश वक्ता सुनसरी जिल्लाका अमडुवा, बेलहा, बुग्डरी तथा गेलाबारीमा बसेका छन् तर यिनका पूर्वज वनमनखीबाटै आएका हुनाले यस भाषिकाको नाम नै वनमनखी राखिएको पोखरेलको तर्क छ। यो भाषिका मैथिली भाषा र व्याकरण तथा थारू भाषाबाट बढी प्रभावित छ तापनि स्थानीय बासीले यस भाषिकालाई गुरुङ कुरा भन्ने गर्छन्। पोखरेल (२०५५) ले स्थानीय बोधनारायण गुरुङको सूचना र रामफल गुरुङसँगको अन्तर्वार्ताका आधारमा यस भाषिकाका शब्द, वाक्य तथा पाठलाई उदाहरणका रूपमा उल्लेख गरेका छन्।
मो – म सोहानी – स्वास्नी अन्धारो – अँध्यारो
बड्डा – धेरै गैबार – गाईगोठालो तेल्लाय् – त्यसलाई
खाइगरी – खाएर आसिन – असोज अगहन – मङ्सिर
नुकानु – लुकाउनु मोहोरु – हामी मोल्कात – भेट
ठाली – हाँगो मौसा – सानाबा मौसी – सानिमा
बर्सन्छियो – बर्सन्थ्यो मन्छी – मान्छे ददा – हजुरबा
(पोखरेल, २०५५, पृ. ५९–६०)
यस भाषिकामा रहेका वाक्यतत्त्वका केही उदाहरण पनि यहाँ प्रस्तुत गरिएको छ:
१. तस्तो ठाममहा नै जा। त्यस्तो ठाउँमा नजा।
२. मोहेरुले भात खाए। हामीले भात खायौँ।
३. हिजाआजु तोँ काँ छिए ? हिजोआज तँ कहाँ थिइस् ?
४. तोँ यत्तातिरो आइजो। तँ यतातिर आइज।
यी उदाहरणहरूमा ध्वनिगत र शब्दगत भिन्नाता मात्र होइन, व्याकरणात्मक भिन्नता पनि देखिएको छ। प्रथम पुरुष बहुवचनको सर्वनाम ‘हामी’ का लागि ‘मोहेरु’ शब्द प्रयोग भएको छ र त्यस कर्ताका लागि तृतीय पुरुष बहुवचनको क्रिया ‘खाए’ प्रयोग हुनुले नेपाली भाषाको यस भाषिकामा व्याकरणात्मक भिन्नता पनि रहेको प्रस्ट हुन्छ।
पश्चिमाञ्चल भाषिका समूह
यो भाषिका समूह देहरादून, नैनीताल, दिल्ली, राँची आदितिर बोलिन्छ। यो भाषिका समूह धेरै मात्रामा हिन्दी भाषाबाट प्रभावित छ। सामग्री अभावका कारण यस भाषिकाको नाम मात्र उल्लेख गरिएको छ।
निष्कर्ष
नेपालभित्र र भारतका विभिन्न ठाउँमा नेपाली भाषाका धेरै भाषिका विकसित भएका छन्। यो कुरा माथिको तथ्य र तथ्य विश्लेषणबाट प्रस्ट हुन्छ। नेपालभित्र दार्चुलाली, बैतडेली, डडेलधुराली, बझाङी, डोट्याली, बाजुराली, अछामी, जुम्लीसिँजाली, दैलिखकालीकोटे, भेरीक्षेत्रीय, गण्डकेली र पुर्बेली गरी बाह्रओटा भाषिका बोलिन्छन्। पुर्बेली भाषिकाका उपत्यकाली, चोकेली, सैलुङी, गढेली, गडतिरेली, बास्सेली र माइभेकी गरी सतओटा उपभाषिका रहेका छन्। यसैगरी भारतमा बोलिने नेपाली भाषाका मध्यमाञ्चल भाषिका समूह, पूर्वाञ्चल भाषिका समूह र पश्चिमाञ्चल भाषिका समूह, भाक्सुली भाषिका, बनमनखी भाषिका गरी पाँचओटा भाषिका रहेको माथिको अध्ययनबाट प्रस्ट हुन्छ। भारतीय भूमिमा बोलिने नेपाली भाषाका मध्यमाञ्चल भाषिका समूह, पूर्वाञ्चल भाषिका समूह र पश्चिमाञ्चल भाषिका समूहभित्र पनि टिस्टेली भाषिका, भाक्सुली भाषिका, ब्रह्मपुत्री भाषिका, असमी भाषिका, देहरादुनी भाषिका, नैनीताली भाषिका आदि हुनसक्ने सम्भावना देखिन्छ। ती भाषिकाहरूमा वाक्यसंरचनागत विशेषतामा भिन्नता नपाइए तापनि ध्वनिगत विशेषता र शब्दगत विशेषता निकै पाइन्छ।
सन्दर्भसामग्रीसूची
अधिकारी, सूर्यमणि. (२०५६). नेपाली भाषाको इतिहास. काठमाडौः भुँडीपुराण प्रकाशन।
आचार्य, भागवत (२०५३). उच्चारणका आधारमा नेपालीका भाषिकाहरूको निर्धारण. स्नातकोत्तर शोधपत्र. कीर्तिपुरः नेपाली केन्द्रीय विभाग।
आचार्य, व्रतराज. (२०४८). हाम्रो भाषा (दो.सं.). काठमाडौँ : लेखक स्वयम्।
खनाल, मोहनप्रसाद. (२०६८). नेपाली भाषाका हजार वर्ष. काठमाडौँ : राइनो प्रकाशन।
चालिसे, विदुरकुमार (२०६३). ऐतिहासिक अभिलेखका आधारमा नेपाली भाषाका व्याकरण तत्त्वमा क्रमिक विकासको अध्ययन. विद्यावारिधि शोध प्रबन्ध. काठमाडौँ : त्रिभुवन विश्वविद्यालय।
जबरा, पुष्कर शमशेर (१९९४). नेपाली कसरी शुद्ध लेख्ने. ललितपुर : नेपाली भाषा प्रकाशिनी समिति।
ज्ञवाली, सूर्यविक्रम (१९९०). नेपाली भाषाका विकासको संक्षिप्त इतिहास. दार्जिलिङः नेपाली साहित्य सम्मेलन ।
ढुङ्गाना, लावण्यप्रसाद (२०५३). आधारभूत शब्दावलीका आधारमा नेपालीका भाषिकाको निर्धारण. स्नातकोत्तर शोधपत्र. कीर्तिपुरः नेपाली केन्द्रीय विभाग।
तिमिल्सिना, यामनाथ (२०५०). संख्या र सार्वनामिक शब्दका आधारमा नेपालीका भाषिकाहरूको निर्धारण. स्नातकोत्तर शोधपत्र. काठमाडौँः नेपाली केन्द्रीय विभाग।
दाहाल, बल्लभमणि (२०४०–४१). मध्यकालिक गोर्खाली भाषिकाबाट आधुनिक स्तरीय कथ्य भाषिकामा विकसित हुँदा देखा परेका ध्वनि परिवर्तनका प्रक्रियाहरू. वाङ्मय. ४ (४), पृ. १–९।
निरौला, यज्ञेश्वर, (२०५०). क्रियाको रूपतत्त्वका आधारमा नेपालीका भाषिकाको निर्धारण. स्नातकोत्तर शोधपत्र. कीर्तिपुरः नेपाली केन्द्रीय विभाग।
निरौला, यज्ञेश्वर. (२०७२). नेपालीका भाषिकाहरूको अध्ययन. विद्यावारिधि शोधप्रबन्ध. कीर्तिपुरः मानविकी तथा सामाजिक शास्त्र सङ्काय, त्रिभुवन विश्वविद्यालय।
पण्डित, लक्ष्मीराज (२०६९). बझाङी नेपालीको अध्ययन. विद्यावारिधि शोधप्रबन्ध, वसन्तपुर : नेपाल संस्कृत विश्वविद्यालय।
पोखरेल, बालकृष्ण (२०१९). नेपाली भाषाको कथा. नेपाली. ललितपुर : जगदम्बा प्रकाशन।
पोखरेल, बालकृष्ण.(२०२२ ). राष्ट्रभाषा. काठमाडौँ : एजुकेसनल इन्टरप्राइजेज।
पोखरेल, बालकृष्ण. (२०३१). राष्ट्रभाषा. दो.सं. ललितपुरः साझा प्रकाशन।
पोखरेल, बालकृष्ण. (२०४३) राष्ट्रभाषा. (छै.सं.). ललितपुर, साझा प्रकाशन।
पोखरेल, बालकृष्ण. (२०५५). राष्ट्रभाषा. (द.सं.). ललितपुर : साझा प्रकाशन।
पौड्याल, नवीन. (२०७७, असार १४). भारत र नेपालको नेपाली भाषा : तुलनात्मक दृष्टि. साहित्य पोस्ट. sahityapost.com. अनलाइन पत्रिका।
बन्धु, चूडामणि. (२०२८). कर्णाली लोक संस्कृति खण्ड ४, भाषा. काठमाडौः नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान।
भट्ट, हरीश्चन्द्र (२०७४). बझाङी नेपालीका भाषिक भेद. विद्यावारिधि शोधप्रबन्ध. डिनको कार्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, त्रिभुवन विश्वविद्यालय।
भाटिया, कैलाशचन्द्र (सन् १९७३). भाषा–भूगोल. लखनऊः हिन्दी समिति।
रेग्मी, चूडामणि उपाध्याय (२०२५). नेपाली भाषाको उत्पत्ति. ललितपुरः जगदम्बा प्रकाशन ।
शाही, हर्कबहादुर. (२०७६). जुम्ली भाषाको हैतिहासिक रूपरेखा. प्रज्ञा (२/११८), पृ. ३८–४७।
साङ्कृत्यायन, कमला (२०१७). नेपाली लोक साहित्य, हिन्दी साहित्यका बृहद् इतिहास (राहुल साङ्कृत्यायनद्वारा सम्पादित). षोडष भाग (प्र.सं.). वाराणाशी : काशी नगरी प्रचारिणी सभा।
सुवेदी, शखिशरण (२०५१). वाक्यतत्त्वका आधारमा नेपालीका भाषिकाको सर्वेक्षण. स्नातकोत्तर शोधपत्र. कीर्तिपुर नेपाली केन्द्रीय विभाग।
Ayton, J. A. (1820). Grammar of Nepali language. Culcutta: Philipperaria.
Beams, J. (1967). An outline of Indian philology. 2nd edn. London: Trubner.
Blair, F. (1997). Survey on a shoestring. Arlingtan: The university of Texas.
Bussmann, H. (1996). Dialect. In G. T. H. bussmann, Routledge dictionary of language and linguistics (G. Trauth & K. kazzazi trans.) (p. 125). Routledge.
Casad, E. H. (1974). Dialect intelligibility testing. Dallas, Texas: Summer institute of linguistics.
Chamber, J. K. & Trudgill, P. (2004). Dialectology. 2nd edn. Cambridge: Cambridge university press.
Chatterji, S. (1926). The origin and development of the Bengali language. Culcutta: Culcutta University press.
Green, R. L. (1997). English with an accent language, ideology and discrimination in the United State. New York: Routledge.
Grierson, G. A. (1916). Linguistic survey of India (Vol 9, Part 4). Delhi: Motilal Banarasidass.
Hockett, C. F. (1958). A course in modern linguistics. London: Macmillan.
Hudson, R. A. (1999). Sociolinguistics. Cambridge: Cambridge university press.
Kirkpatrick, W. (1811). An account of the kingdom of Nepaul, being the substance of observations made during a mission to that country, in the year 1793. London: W. miller.
Shirvastava, D. (1962). Nepalese language : Its history and development. Culcutta: Culcutta university.
Turnbull, R. A. (1923). Nepali grammar and vocabulary. New Delhi: Asian educational service.