प्रस्तुत लेख नेपाली भाषा, साहित्य, व्याकरण आदि क्षेत्रका महत्त्वपूर्ण व्यक्ति माधवप्रसाद पोखरेलद्वारा रचित ‘गार्गीको गाँठो’ निबन्ध सङ्ग्रहमा सङ्कलित ‘नबुझ्रने विद्यार्थी नै राम्रो !’ निबन्धको रचनाविधानको अध्ययनमा केन्द्रित भएर तयार पारिएको छ। अध्ययन, अनुसन्धान र निबन्धलेखनमा समेत पृथक् पहिचान बनाउन सफल पोखरेलका निबन्धमा केन्द्रित भई पर्याप्त मात्रामा अध्ययन हुन नसकेको पृष्ठमूमिमा त्यस क्षेत्रको अभावलाई थोरै भए पनि पूर्ति गर्नु यसको मूल उद्देश्य रहेको छ।
ध्रुवराज गौतम
सहप्राध्यापकः नेपाली विभाग,
ने. सं. वि., जनता विद्यापीठ, दाङ।
Email : dhurbaraj18@gmail.com
लेखसार
प्रस्तुत लेख नेपाली भाषा, साहित्य, व्याकरण आदि क्षेत्रका महत्त्वपूर्ण व्यक्ति माधवप्रसाद पोखरेलद्वारा रचित ‘गार्गीको गाँठो’ निबन्ध सङ्ग्रहमा सङ्कलित ‘नबुझ्रने विद्यार्थी नै राम्रो !’ निबन्धको रचनाविधानको अध्ययनमा केन्द्रित भएर तयार पारिएको छ। अध्ययन, अनुसन्धान र निबन्धलेखनमा समेत पृथक् पहिचान बनाउन सफल पोखरेलका निबन्धमा केन्द्रित भई पर्याप्त मात्रामा अध्ययन हुन नसकेको पृष्ठमूमिमा त्यस क्षेत्रको अभावलाई थोरै भए पनि पूर्ति गर्नु यसको मूल उद्देश्य रहेको छ। यसक्रममा गुणात्मक ढाँचाको अध्ययन विधि अवलम्बन गरेर उद्देश्यमूलक नमूनाछनोट पद्धति अन्तर्गत ‘नबुझ्ने विद्यार्थी नै
राम्रो !’ ‘निबन्धलाई चयन गरिएको छ। निबन्धको रचना विधानका सैद्धान्तिक आधारहरूमध्ये विषयवस्तु, भाषाशैली, उद्देश्य, दृष्टिविन्दु र शीर्षकमा केन्द्रित भई निबन्धमा निहित तथ्यको अध्ययन गरिएको छ। यसक्रममा आगमनात्मक, वर्णनात्मक, विश्लेषणात्मक तथा तार्किक विधिको समेत उपयोग भएको छ। यस लेखले हाम्रो शैक्षिक क्षेत्रमा विद्यमान गुरुशिष्यका कमजोरीलाई निबन्धमा प्रस्तुत तथ्यका आधारमा उत्खनन गरेको छ। निबन्ध आफैँमा लघु आयाममा संरचित हुने भए पनि यस निबन्धमा निबन्धकारले नेपाली समाजको स्वरूप पस्किएका छन्। झट्ट सुन्दा अपत्यारिलो लाग्ने तर सत्यमा आधारित यस निबन्धमा आफूमा विषयवस्तुको खदिलो गुदो नभएका केही गुरुप्रति व्यङ्ग्य गर्दै अरूको बारेमा थाह पाउने तर आफूलाई चिन्दै नचिन्ने अबोध ‘बुझ्यौँ’ सर भनेर भाका मिलाउने तथा कहिले काही ‘बुझेँ भन्ने भन्दा आफूले ‘बुझेको’ र ‘नबुझेको’ कुरा स्पष्ट रूपमा भन्न सक्षम विद्यार्थी नै अब्बल हुने निष्कर्ष अध्ययनले देखाएको छ। विभिन्न शीर्षकहरूमा विभाजन गरेर रचनामा विद्यमान साक्ष्यका आधारमा भएको यस अध्ययनका कारण तथ्यको बोधका लागि थप सहज हुने अपेक्षा गरिएको छ।
शब्दकुञ्जीः औचित्यरक्षा, प्रतिविम्बित, बोधगम्य, मेधावान्, वर्गीकृत
विषयपरिचय
नेपाली भाषा साहित्यका उपासक हुन् माधवप्रसाद पोखरेल। पूर्वी नेपालको धरानमा वि. सं. २००५ सालको मङ्सिरमा जन्मिएका यिनी वि. सं. २०२५ मा नै ‘विजयध्वनि’ नामक पत्रिकामा ‘संस्कृत शब्द चिन्ने तरिका’ नामक लेख छपाएर सिर्जनशील कर्ममा लागे। वि. स. २०३१ सालदेखि विश्वविद्लायमा प्राध्यापन पेसामा समर्पित पोखरेल नेपाली साहित्यमा एम. ए. र भाषाविज्ञानमा विद्यावारिधि हाँसिल गरेका प्राज्ञ हुन्। नेपालका दुर्गम गाउँवस्तीमा पुगेर भाषा, साहित्य र प्राचीन अभिलेख सम्बन्धी खोज गर्ने काममा उनी लागि परेका छन्। क्याम्पसस्तरीय नेपाली व्याकरण (२०५४), नेपाली वाक्य व्याकरण (२०५४), ध्वनि विज्ञान र नेपाली भाषाको ध्वनि परिचय (२०५७) लगायत व्याकरण र भाषाविज्ञान बाहेक नेपाली साहित्य कोश, शब्दकोश, समालोचना लेखन आदिमा पनि यिनको क्रियाशीलता उल्लेख्य देखिन्छ। उनी नेपाली भाषा र व्याकरणको वस्तुपरक तथा वैज्ञानिक अध्ययन हुनु जरुरी रहेको र अहिलेसम्म लेखिएका नियम तथा व्याकरण संस्कृत र अङ्ग्रेजी व्याकरणमा आधारित भएको मान्दछन्। विभिन्न विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रम निर्माण र पुस्तक लेखनका साथै स्नातकोत्तर र विद्यावारिधि तहका अनुसन्धान तथा निर्देशन गर्ने गराउने काममा यिनले आफ्नो बेग्लै उचाइ कायम गरेका छन्। वैचारिक स्पष्टता, ज्ञानको गुरुता र जवाफदेहिता अनि प्रामाणिकताको रहस्य खोतलेर प्राचीन शास्त्रका मर्म पहिल्याउन खप्पिस यिनी विभिन्न देशका विश्वद्यिालयमा पुगेर अध्यापन गरी धेरै कुरा सिक्ने र सिकाउने मात्र नभई आफू र राष्ट्रलाई चिनाउने अवसर पाएका प्राध्यापक हुन्। कुनै पनि पद प्राप्तिको खोजी र आशा नगर्ने तर भाषागत खोज, अनुसन्धान र लेखनलाई आफ्नो जीवनको ढुक्ढुकी मान्ने यिनले फरक खालको गुरुकुल निर्माण गरेका छन्। वहुआयामिक प्रतिभाका धनी यिनका अध्ययन तथा लेखनका विभिन्न क्षेत्रमध्ये निबन्धलेखन पनि महत्त्वपूर्ण मानिन्छ। ‘मेरो मान्छे ’ (२०५४), ‘नागदहको थिति’ (२०५९), ‘गार्गीको गाँठो’ (२०६२) आदि निबन्ध सङ्ग्रहहरूमा उच्च कोटिका वैचारिक निबन्ध लेखेका छन्। यिनी लक्ष्मीप्रसाद देवकोटा, शङ्कर लामिछाने, कृष्णचन्द्रसिंह प्रधान, डी. पी. भण्डारीहरूले प्रवर्तन र प्रवर्धन गरेको वैचारिक निबन्धकारिताका पथगामी भएका छन्। यिनका यिनै दर्जनौँ निबन्धहरूमध्ये ‘गार्गीको गाँठो’ निबन्ध सङ्ग्रहमा सङ्कलित निबन्धहरूमध्येको ‘नबुझ्रने विद्यार्थी नै राम्रो !’ निबन्धको रचनाविधानमा केन्द्रित भई यो आलेख तयार पारिएको छ। राष्ट्रिय रूपमा नै विशिष्ट ख्याति प्राप्त प्राज्ञ, अनुसन्धाता र स्रष्टा पोखरेलका निबन्धमा केद्रित भई अध्ययन हुन नसकेको यथार्थलाई समस्याका रूपमा लिई त्यसको परिपूर्ति गर्ने काम यस अनुसन्धानमा गरिएको छ। यसक्रममा निबन्धका संरचनागत तत्त्वहरूलाई मूल आधार बनाई ‘नबुझ्रने विद्यार्थी नै राम्रो !’ निबन्धलाई केलाएर अध्ययन तथा विश्लेषण गरी निष्कर्षमा पुग्ने काम यस आलेखमा गरिएको छ।
अध्ययन विधि
यस अध्ययनमा निम्न अनुसारको अध्ययन विधि अवलम्बन गरिएको छ-
अनुसन्धानको ढाँचा
यो गुणात्मक ढाँचाको अध्धयन हो। यसमा ‘नबुझ्रने विद्यार्थी नै राम्रो !’ निबन्धमा विद्यमान तथ्यलाई निबन्धको रचना विधानका सैद्धान्तिक मानकका आधारहरूमा केन्द्रित भएर अध्ययन गरिएको छ।
नमूना छनोट
प्रस्तुत अध्ययनमा निबन्धकार माधवप्रसाद पोखरेलका प्रकाशित विभिन्न निबन्ध सङ्ग्रहमा सङ्कलित निबन्धहरूमध्ये संभावनारहित नमूना छनोट पद्धति अन्तर्गतको उद्देश्यमूलक नमूना छनोट पद्धतिका आधारमा ‘गार्गीको गाँठो’ निबन्ध सङ्ग्रहमा सङ्कलित निबन्ध ‘नबुझ्रने विद्यार्थी नै राम्रो !’ छनोट गरिएको छ।
तथ्य सङ्कलन
प्रस्तुत अध्ययनमा ‘गार्गीको गाँठो’ निबन्ध सङ्ग्रहमा सङ्कलित ‘नबुझ्रने विद्यार्थी नै राम्रो !’ निबन्ध र निबन्धको सैद्धान्तिक चर्चा परिचर्चा गरिएका विभिन्न ग्रन्थ र अन्य लेखका साथै सूक्ष्म अवलोकन तथा प्रयोगलाई समेत आधार बनाएर तथ्य सङ्कलन गरिएको छ।
तथ्य सङ्कलनका साधन
प्रस्तुत अध्ययनमा प्राथमिक तथा द्वितीयक स्रोतका सामग्रीको उपयोग गरिएको छ। प्राथमिक सामग्रीका रूपमा साझा प्रकाशनद्वारा प्रकाशित ‘गार्गीको गाँठो’ निबन्ध सङ्ग्रहमा सङ्कलित ‘नबुझ्रने विद्यार्थी नै राम्रो ! निबन्ध रहेका छ। यस्तै द्वितीयक सामग्रीका रूपमा निबन्धकार पोखरेल , उनको व्यक्तित्व तथा निबन्धको रचना विधानको सैद्धान्तिक विमर्शसँग सक्बद्ध सामग्री रहेका छन्। यी उल्लिखित सामग्रीहरू पुस्तकालय, विद्युतीय माध्यम एवं प्रत्यक्ष भेटघाटबाट सङ्कलन गरिएका छन्।
तथ्यविश्लेषण प्रक्रिया
‘नबुझ्रने विद्यार्थी नै राम्रो !’ निबन्धमा विद्यमान तथ्यको निबन्धको रचनाविधानका सिद्धान्तभित्र रहेर अध्ययन गरी निष्कर्षमा पुग्ने काम गरिएको छ। अध्ययन, अवलोकन, उदाहरण, व्याख्या र विश्लेषणबाट तथ्य निरूपण गरिएको यस अध्ययनमा मूलतः ज्ञानको परीक्षण वा सत्यको सन्धानका लागि गरिने विमर्शमध्ये आगमनात्मक विधिको प्रयोग गरिएको छ। यसका साथै वर्णनात्मक, विश्लेषणात्मक र तार्किक विधिको समेत उपयोग गरिएको छ।
सैद्धान्तिक पर्याधार
साहित्यका काव्य, नाट्य, आख्यान आदि विभिन्न विधाहरूमध्येको निबन्ध पनि एक हो। विश्वसाहित्यमा कनिष्ठतम विधाका रूपमा रहेको यो परिणामस्वरूप नेपालीमा पनि कान्छो भाइ बनेको छ। (सुवेदी, २०५६, पृ.१) सूक्ष्म आयतनमा विराटता प्रतिविम्बन गर्ने क्षमता बोकेको निबन्ध शब्द नि +बन्ध+घञ (अ) मिलेर बज्दछ भने यसले राम्ररी बाध्ने काम, बन्धन, गद्यमा छोटो रचना लेख्ने काम आदि बुझाउँछ। (बराल, २०६८, पृ.३८९) यसका संक्षिप्तता, एकता र स्पष्टताजस्ता मूल विशेषता रहेका छन्। साहित्य शास्त्रमा गद्यको एक प्रमुख विधाका रूपमा निबन्धलाई मान्यता दिइएको छ। यो विधा साहित्यमा मात्र सीमित नभएर सम्पूर्ण वाङ्मयमा फैलिएको छ। (श्रेष्ठ, २०५४, पृ. ११५) आख्यान निरपेक्ष गद्य रचनाका रूपमा रहेको यो आफैँमा पूर्ण र स्वतन्त्र छ। निबन्धकार देवकोटा आफ्नो लक्ष्मी निबन्ध सङ्ग्रहको भूमिकामा यसबारे लेख्छन्ः
मैले ‘श्री गणेशाय नमः’मा नै भनिसकेको छु, रौचिरा दर्शन होइन; न हो पाण्डित्य–प्रदर्शनको ठ्यास्फु। यसमा गृहीत विषयलाई सर्व दृष्टिकोणको समीक्षणको जरूरत छैन। यो एक किसिमको धूर्त बदमास ठिटो हो–जो सडकमा हिँड्दा कहिले कहिले ढुङ्गा हान्छ, कतै कतै आनन्दले, फुलेर हेर्दछ, तर घोरिदैन–पाठघोकुवा; हलन्तेको मिजासले। (देवकोटा, २०४९, पृ. भूमिका)
‘पहाडीजीवन’ र ‘आषाढको पन्ध्र’ ( १९९२) जस्ता निबन्ध लेखेर आधुनिक नेपाली निबन्ध लेखनलाई स्पष्ट स्वरूप दिने देवकोटाका उल्लिखित भनाइ आफैँमा निबन्धलाई चिन्न र चिनाउनका लागि स्पष्ट र विशिष्ट छन्। समाजमा विद्यमान विसङ्गति, बेथिति, अनियमितता आदिलाई सशक्त रूपमा अभिव्यक्त गर्न सफल जसलाई आज हामीले निबन्ध भनेका र मानेका छौँ तिनका पूर्वरूप खोज्दै जाने हो भने संस्कृत, अङ्ग्रेजी र फ्रान्सेली साहित्यमा पुग्नु पर्दछ। फ्रान्सेली शब्द Essai बाट अङ्ग्रेजीमा Essay बनेर आयो जसलाई हामी नेपालीमा निबन्ध भन्दछौँ। (थापा, २०५०, पृ. १८५) संस्कृतमा निबन्धले जसरी बाँध्नु, कस्नु, जकड्नु भन्ने अर्थ बुझाउँछ अङ्ग्रेजीको Essay ले पनि छरिएका विचारलाई समेट्नु वा बाँध्नु नै भन्ने अर्थ दिन्छ। पूर्वीय साहित्यमा निबन्ध शब्दको प्रयोग महाभारतको गीता खण्डमा कृष्ण र अर्जुनको छलफलका क्रममा आत्मालाई सांसारिक मायाजालमा बाधेर राख्ने वस्तुलाई बुझाउने अर्थमा प्रयोग भएको छ। (बराल र अन्य, २०५५, पृ.३८२) यसरी नै माधवी र मैत्रेयका प्रवचन तथा शङ्कराचार्य, याज्ञवल्क्य, दण्डी, वाणभट्ट आदिका शास्त्रीय गद्यमा र पश्चिममा प्लेटो र अरस्तुका वैचारिक सम्भाषणमा निबन्धका पूर्व रूप पाइए पनि यसको सचेत लेखन र प्रयोग भने फ्रान्सका मोन्टेन र व्रिटेनका फ्रान्सिस बेकनको आगमन र प्रयोग पछि भएको पाइन्छ। साहित्यका अन्य विधाहरूमा झैँ यो पनि आफैँमा पूर्ण स्वतन्त्र र साङ्ग विधा भएकोले यसका आफ्नै प्रकारका संरचक तत्त्वहरू रहेका छन्। गतिशील परिस्थिति, प्रयोग र वैचारिक चिन्तनको फेरबदलसँगै यसको स्वरूप र तात्त्विक संरचनाका बारेमा पनि मतमतान्तर पाइन्छन्। वैयक्तिकता, निजात्मकता, आत्मप्रकटीकरण, संक्षिप्तता, विषयगत स्पष्टता, वौद्धिकता, हार्दिकता, विचारको प्रतिपादन आदि निबन्धका तत्त्व हुन् भने संवेदना र अनुभूतिको सहजता, भावको सघनता, तार्किकता पनि निबन्धका उपकरण हुन्। (गौतम,२०६८, पृ. ५०९) यस्तै लेखप्रसाद निरौलाले विषयवस्तु, उद्देश्य, भाषाशैली, दृष्टिविन्दु र शीर्षकलाई निबन्धका अङ्ग मान्दछन्। (निरौला, २०१७, पृ. …) भने गोपीकृष्ण शर्माका अनुसार शून्यमा निबन्धको कल्पना गर्न सकिदैन। त्यसैले निबन्ध रचनाका पनि केही आधार हुन्छन् र यसका केही आफ्नै सामग्रीहरू छन्। यी सामग्रीहरू निबन्धका तत्त्व हुन्। मूल रूपमा निबन्धका तीन तत्त्व छन्ः वस्तु, शैली र उद्देश्य। (शर्मा, २०५५, पृ. १९) यसरी प्रस्तुत गरिएका केही विचारहरूलाई हेर्दा तिनमा मतैक्यता नपाइए पनि मूलतः विषयवस्तु, भाषाशैली र उद्देश्यलाई सबैले स्वीकारेको देखिन्छ। यस आधारमा निबन्धका मूलभूत तत्त्व विषयवस्तु, भाषाशैली र उद्देश्यसँगै शीर्षक र दृष्टिविन्दुलाई पनि राख्नु समीचिन हुन्छ। निबन्धका उल्लिखित अङ्गहरूमध्येको सबैभन्दा महत्त्वपूर्ण तत्त्व हो विषयवस्तु। हुनत यसलाई पस्किने माध्यम भाषाशैली, दृष्टिविन्दु, हुन् भने निबन्धकारले दिन चाहेको कुरा उद्देश्य हो। शीर्षक सबैभन्दा पहिला पाठकले पढ्ने र देख्ने अङ्ग हो। यी सबै अवयवको समन्वयविना एउटा सुन्दर निबन्धको परिकल्पना र लेखन असम्भव हुन्छ। जे होस् विना आधार कुनै वस्तु नअडिए झै निबन्धको मूल आधार भनेको विषयवस्तु नै हो, विषयवस्तु भए निबन्ध रहन्छ नत्र निबन्ध शून्यमा बिलाउँछ। (निरौला, २०१७, पृ. …) निबन्धमा विषयवस्तुको प्रस्तुति खासगरी मानवमस्तिष्क र हृदयसँग सम्बन्धित भएर आएको हुन्छ। रचना पढिसकेपछि पाठकको हातमा के परोस् भन्ने अपेक्षा स्रष्टाले गर्ने ? स्रष्टाले आफ्नो तर्फबाट पाठकलाई के चिज वा सूचना दिने ? यसको उत्तर न त मनोरञ्जन नै हुनसक्छ न त न त उपदेश नै। ( श्रेष्ठ, २०७९, पृ. १०२) यसर्थ निबन्धकार स्तरीय निबन्ध लेख्नका लागि आफैँमा सचेत र सजग हुनु जरुरी हुन्छ। आफूले उल्लेख गर्न चाहेको वस्तुलाई भावात्मक रूपमा वा वैचारिक रूपमा पस्किने कुराको छिनोफानो निबन्धकारको वैयक्तिक लेखनशैली, विषयविज्ञता, रुचि आदिमा निर्भर रहन्छ। बुद्धितत्त्वमा विचार, चिन्तन, तार्किकता, वैज्ञानिक बोध, यथार्थ प्रेम, गम्भीरता र औचित्यरक्षाको सावधानी प्रकटित हुन्छ भने भावतत्त्वमा संवेदनाको आवेग, भावुकताको आग्रह, रागात्मकता र ध्वन्यात्मकताको समावेश भएको हुन्छ। कल्पनाको आवरणले यसलाई सिँगारेको हुन्छ। (उपाध्याय, २०४९, पृ. २०६) इतिहास, दर्शन, विज्ञान, कला, साहित्य आदि जुनसुकै क्षेत्रका विषय पनि निबन्धमा समेटिन्छन्। सृष्टिचक्रदेखि कालचक्रसम्म स्थूल र सूक्ष्म प्रकृतिका विषय अट्ने नेपाली निबन्धलेखन क्षेत्रका महत्त्वपूर्ण स्रष्टाहरूमध्येका एक हुन् माधवप्रसाद पोखरेल। समाजमा विद्यमान नकारात्मक पक्षको उत्खनन र सकारात्मक वीजको रोपण गर्न चाहने उनी आफ्ना निबन्धमा विचार अर्थात् वुद्धितत्त्व पस्किन्छन्। विविध विकृत मानसिकताले थिल्थिलिएको समाजको शल्यचिकित्सा गरेर निदान खोज्ने उनी साहित्यिक चिकित्सक हुन्। यस आलेखमा उनीद्वारा रचित ‘गार्गीको गाँठो’ निबन्ध सङ्ग्रहमा समाविष्ट भएको ‘नबुझ्रने विद्यार्थी नै राम्रो !’ निबन्धको यसका संरचक तत्त्वका आधारमा अध्ययन गरिएको छ। यसक्रममा निबन्धमा प्रस्तुत साक्ष्यहरूलाई तर्कपद्धति, व्याख्या तथा विश्लेषणका माध्यमबाट विवेचन गरी निष्कर्षमा पुग्ने काम भएको छ ।
‘नबुझ्ने विद्यार्थी नै राम्रो’ निबन्धको रचनाविधान
समाजको प्रतिनिधि भएको हुनाले स्रष्टा सधैँ समाजप्रति सचेत, सजग र जवाफदेही हुन्छ। उसको व्यक्त्वि निर्माणमा सामाजिक विविधताले अहम् भूमिका खेलेको हुन्छ। आफ्ना मनमा उत्पन्न भावलाई अभिव्यञ्जन गर्ने साहित्यका विविध रूपमध्ये आख्यान निरपेक्ष उद्देश्यमूलक साङ्ग रचना हो निबन्ध। साहित्यका अन्य विधाका तुलनामा स्रष्टाको वौद्धिकता र सच्चा ज्ञानको परीक्षा निबन्धमा नै हुने गर्दछ। यस दृष्टिले अध्ययन, अध्यापन, लेखन तथा प्राज्ञिक उच्च ज्ञानले आफूलाई चिनाएका कुशल निबन्धकार पोखरेलका दर्जनौँ निबन्धहरूमध्येको झरना (मनकामना मा. वि. जोरपाटी) २०६० (६–७) मा प्रथम पटक प्रकाशित भएको र पछि ‘गार्गीको गाँठो’ मा सङ्कलित निबन्ध हो ‘ नबुझ्ने विद्यार्थी नै राम्रो’। यस लेखमा यही निबन्धमा केन्द्रित भई रचनाविधानका अङ्गहरूका आधारमा निम्नअनुसार चर्चा गरिएको छः
विषयवस्तु
विषयवस्तु निबन्धको सबैभन्दा महत्त्वपूर्ण र अनिवार्य तत्त्व मानिन्छ। साँच्चै भन्ने हो भने यसलाई निबन्धको प्राण भने पनि हुन्छ किनभने योविना निबन्ध अकल्पनीय छ। यो खासगरी वुद्धि तत्त्व र भावतत्त्वसँग जोडिएर आएको हुन्छ। निबन्धकारका मौलिक चिन्तन, दृष्टिकोण, वैचारिक गहिराइ, तार्किक औचित्य प्रभृत्ति गुण वुद्धिपक्ष प्रवल हुने वैचारिक निबन्धका पहिचान हुन्। यस दृष्टिले निबन्धकार पोखरेल आफ्ना निबन्धमा यदाकदा हृदयपक्षतिर छचल्किए पनि वैचारिक दृष्टिले सवैतिर अग्लिन्छन्। यस आधारमा उनको ‘नबुझ्ने विद्यार्थी नै राम्रो !’ निबन्ध पनि सामाजिक प्रचलन र परम्परामा धेरैले भन्ने र मान्ने गरेको दृष्टिकोणभन्दा नितान्त नवीन चिन्तन पस्किने फरक धारको रचनाका रूपमा देखापर्छ। उनले आफूले प्राथमिक तथा माध्यमिक तह हुँदै विश्वविद्यालयको स्नातकोत्तर र विद्यावारिधि तहसम्मका विद्यार्थीहरू तथा पारिवारिक क्षेत्रमा समेत गरी तीन दशक बढी समय अध्यापन गर्दा प्राप्त अनुभवका आधारमा विद्यार्थी तीन प्रकारका हुने बताउँछन्। उनका अनुसार ‘ कहिल्यै पनि बुझिनँ’ नभन्ने अरू सबैसित स्वर मिलाएर ‘बुझे’ भनी चिच्याउने प्रथम दर्जाका र ‘बुझेँ’ चाँहि कहिले काही भन्ने दोस्रो दर्जाका विद्यार्थी हुन्। यस्तै तेस्रो दर्जाका विद्यार्थीले चाँहि ‘मैले बुझिनँ’ नै भन्दछन्। सधैँ सबैसित ‘ बुझ्यौँ’ भनेर भाका मिलाउने विद्यार्थी वास्तवमा सबैभन्दा अबुझ हुन्। उनीहरूलाई आफ्नो ज्ञानको नामोनिसान नै थाह छैन। उनीहरूको काम मात्र भाका मिलाउने हो। यसबारे निबन्धकार लेख्छन्,
“ उनीहरूको जवाफलाई राम्ररी केलाउँदा ‘बुझ्यौ’ भनेको अर्थ ‘मैले पनि बुझेँ’, ‘मेरा साथीहरूले पनि बुझेँ।’ भन्ने निस्किन्छ। विद्यार्थीले आफूले बुझेको कुरोसम्म त पत्याउन सकिन्छ, उसका जम्मै साथीहरूले बुझेको कुरो कसरी पत्याउने ? त्यस्ता विद्यार्थीलाई मैले ठेकेदार विद्यार्थी ठान्ने गरेको छु, किनभने तिनीहरूले अरू सबै साथीले पनि बुझेको ठेक्का लिन्छन्। (पोखरेल, २०६२, पृ. ५३)
यस्तै दोस्रो दर्जाका विद्यार्थीहरूले कम्तीमा अरूको कुरा नगरेर आफूमा केन्द्रित हुन्छन् र बुझेँ भन्छन्। आफूले राम्ररी नबुझ्दा र गुरुसँग सोध्न असहज मान्दा अरूले आफूलाई गर्ने गलत टीकाटिप्पणीबाट बच्ने एउटै उद्देश्यले बुझेँ भन्ने उनीहरू पनि अब्बल दर्जामा पर्दैनन्। अब्ब्ल दर्जाका विद्यार्थीहरू त ती हुन् जसले मैले यो कुरा बुझिनँ” भन्न सक्छन्। त्यसरी भन्नका लागि उनीहरूले धेरै कुरा पढ्न र बुझ्न जरुरी हुन्छ। पुस्तकमा समाविष्ट भएका र गुरुद्वारा दिइएका विषयवस्तुलाई राम्ररी नियालेर अध्ययन गरी ‘म यो कुरा जान्दिनँ’ वा जानेको छैन भन्नेहरू नै वास्तवमा कक्षाका उच्चस्तरका विद्यार्थी मेधावान् विद्यार्थी हुन्।
निबन्धकारका अनुसार उनले अध्यापन गर्ने क्रममा भेटेका थुप्रै आदर्श विद्यार्थीहरूमध्ये चीनमा सातौँ र पाँचौँ कक्षामा पढ्ने लुना तथा शिरीष उच्च कोटीमा पर्दछन्। उनीहरूलाई आफूले अध्ययन गरेका विषवस्तुहरूमा पूर्ण रूपमा के के आउँछ र के के आउँदैन भन्ने कुराको पूर्ण ज्ञान थियो। वास्तवमा विद्यार्थीहरूमा यस प्रकारको निखार ल्याउन र व्यवहार बनाउन गुरुहरू पनि अध्ययनशील हुनु जरुरी छ। हाम्रा प्राचीन प्रचलनले गुरुलाई गुड र चेलालाई चिनीसँग तुलना गरे पनि त्यो तहसम्म पुर्याउने काममा गुरुको अहम् भूमिका हुन्छ। वास्तवमा विद्यार्थीहरूमा यस प्रकारको निखार ल्याउन र व्यवहार बनाउन गुरुहरू पनि अध्ययनशील हुनु जरुरी छ। हाम्रा प्राचीन प्रचलनले गुरुलाई गुड र चेलालाई चिनीसँग तुलना गरे पनि त्यो तहसम्म पुर्रयाउने काममा गुरुको अहम् भूमिका हुन्छ। आफूले अध्यापन गर्ने विषयमा गुरु नै कुहिराको काग बनिरहेको अवस्थाले चेलालाई स्पष्ट निर्देशन गर्न असम्भव छ। पछिल्लो समयमा हाम्रो समाजमा शिक्षाको गुणस्तर दिनप्रतिदिन ओह्रालोतर्फको यात्रामा लाग्नुको कारण गुरुको अध्ययनशीलताको कमी पनि हो। आफूलाई स्पष्ट नभएको वा नजानेको विषयलाई खोजेर, पढेर वा जान्नेलाई सोधेर मात्र विद्यार्थीलाई सिकाउने र उनीहरूसँग निकटस्थ बनेर एउटा सच्चा सहयोगीको भूमिकामा प्रस्तुत हुनुपर्ने गुरुहरू त्यसबाट पन्छिनु आजको एउटा जटिल समस्या हो। यसरी हेर्दा यस निबन्धको विषयवस्तु हाम्रो समाजको वर्तमान शिक्षाक्षेत्रमा समर्पित विद्यार्थी र गुरुहरूका आचरण, कार्यपद्धति र व्यवहारमा केन्द्रित छ। विद्यार्थीको वर्गीकरण र श्रेष्ठपनको पहिचानसँगै गुरुको गुरुता र गाम्भीर्य सबै गुरुहरूले जोगाउन नसकेको यथार्थ प्रस्तुत भएको यस निबन्धको वस्तुपक्ष निकै सबल, सशक्त र महत्त्वपूर्ण हुनुका साथै समसामयिक बनेर आएको छ।
भाषाशैली
लेख्य तथा कथ्य दुवै रूपमा प्रस्तुत हुने भाषा विचार विनिमयको साधन हो भने त्यसको प्रस्तुतिको ढङ्ग हो शैली। भाषाविना कुनै पनि सिर्जनाले आफ्नो स्वरूप लिन सक्दैन। स्रष्टाले आफूले प्रस्तुत गर्न खोजेको विषय, विधा र त्यसको तह अनुसारको भाषाको प्रयोग गर्नु वाञ्छनीय हुन्छ। अर्थको गम्भीरता वहन गर्न सक्ने गुण भाषामा आउन सक्नुपर्छ। (बराल, २०५५, पृ. ३८५) साहित्यका अन्य विधामा झैँ निबन्ध पनि गद्यमा लेखिने भएकोले यसको भाषा सरल, सुमधुर र विशिष्ट प्रकृतिको हुनु जरुरी छ। यसरी नै शैली मूलतः विषयवस्तुको प्रस्तुतिका सन्दर्भमा लेखकले अवलम्वन गर्ने पद, पदावली, वाक्य, अनुच्छेद आदि प्रयोगको तौर तरिका हो। लेखकका आफ्ना निजीपन र प्रयोगका आधारमा प्रस्तुतिका दृष्टिले संयत, भावुक, व्यङ्य र वर्णनका आधारमा समास र व्यासमध्ये कुनै पनि शैली अपनाउन स्वतन्त्र हुन्छ। आफूले प्रस्तुत गर्न खोजेको मूल विषयवस्तु र त्यसमा प्रतिबिम्बित भावलाई पाठक समक्ष पस्किने काम भाषाशैलीले गरेको हुन्छ। यस दृष्टिले ‘नबुझ्ने विद्यार्थी नै राम्रो !’ निबन्धलाई हेर्दा आत्मपरक निबन्धका लागि आवश्यक पर्ने कोमल, सरस र रागात्मक गुणले युक्त भाषाको प्रयोग भएको छ। उनका अन्य निबन्धमा झैँ सामान्य खालका वोलचालकै लाग्ने शब्द र कथन ढाँचाबाट पाठकका मनसम्म पुग्ने , छुने अनि मथिङ्गल हल्लाउने खुबी उनको भाषिक प्रयोगमा भएको छ। उनी लेख्छन्ः “मेरा विद्यार्थीहरूलाई ‘मैले बुझिनँ’ भन्ने मौका दिन्छु। विद्यार्थीहरूलाई म नबुझेको ठाउँमा तुरुन्त रोकेर मलाई आफूले नबुझेको कुरा सोध्न लगाउँछु। उनीहरूलाई म भन्छु– तिमीहरूले मलाई बाटामा भेट्दा सोधे पनि हुन्छ, पढ्दापढ्दै बुझिएन भने मलाई फोन गरेर सोधे पनि हुन्छ।” (पोखरेल, २०६२, पृ.५५) निबन्धका यी पङ्तिहरू सहजै बोधगम्य मात्रै छैनन् यिनले लेखकको आफ्नोपन पस्किएर शिक्षण पेसामा लाग्नेहरू सबैलाई मार्गनिर्देश समेत गर्दछन्। यस्तै निबन्धमा प्रयुक्त शैली मिश्रित प्रकृतिको छ। निबन्धकार भावुकताबाट माथि उठेर आफ्ना विचार दृष्टिकोणमा नियन्त्रित हुँदा संयत शैलीको प्रयोग भएको छ। उनलाई कसैले तपाईँ यति धेरे जान्ने भएर पनि के जान्न पढिरहनु भएको छ भनी सोधेको प्रश्नमा दिएको उत्तरलाई हेर्न सकिन्छ।
मैले पढाएका हरेक कक्षामा एक दुईवटा प्रतिभाशाली विद्यार्थी भइहाल्छन्। प्रतिभाशाली विद्यार्थीले के प्रश्न सोध्न सक्छ, त्यसको अड्कल गर्नै सकिँदैन, त्यसैले मेरो प्रतिभाशाली कुनै विद्यार्थीले सोधेका कुनै प्रश्नको गलत जवाफ दिइएला भन्ने डरले म दिनहुँ पढिरहेको छु र आफ्नो सामान्य ज्ञान बढाइरहेको छु। ( पृ. ५५)
उनी आफ्ना विचार र व्यवहारमा निकै स्पष्ट र अडिग छन्। कतै कतै व्यङ्ग्य मिश्रितपन पनि निबन्धमा छ। आफूले नजानेको कुरामा पनि खोज तथा अनुसन्धान गरेर वास्तविक तथ्य कुरा सिकाउनुको सट्टा विद्यार्थीको सामु आफ्नो कमजोरी लुकाउन खोज्दा भएगरेको मर्यादा गुमाउने गुरुहरूप्रति कटाक्ष गरिएको छ। साधारण र बहुप्रचलित शब्द, ससाना वाक्य र सुबोध अभिव्यक्तिमा गहन कुरा नै पस्किने कला यस निबन्धमा रहेकाले प्रसाद शैलीसमेत भेटिन्छ। कठीन शब्दको प्रयोग, घुमाउरो वाक्य विन्यास तथा पाण्डित्यपूर्ण कथनबाट टाढा रहेको यो निबन्ध भाषाशैलीका दृष्टिले हेर्दा सबल रहेको छ। शैलीको प्रयोगमा अपनाइएको विविधताले निबन्धको मूलभावको प्रस्तुतिलाई थप प्रभावपूर्ण बनाएको छ।
उद्देश्य
निबन्धका अङ्गहरूमध्येको उद्देश्य पनि एक हो। निबन्धकारले किन वा केका लागि लेख्छ भन्ने रहस्य उद्देश्यसँग जोएिर आउँछ। विना उद्देश्यको निबन्ध निरर्थक प्रलाप हो। (उपाध्याय, २०४९, पृ. २०७) आफू सामाजिक, जिम्मेवार र कर्तव्यनिष्ठ सामाजिक प्राणी हुनुको बोधले पनि कुनै तथ्यपरक सूचना दिनु, सामाजिक विकृति र विसङ्गतिप्रति कटाक्ष गर्दै वैयक्तिक अनुभूति पस्किनु आदि निबन्धका उद्देश्य बन्न सक्छन्। यस दृष्टिले ‘नबुझ्ने विद्यार्थी नै राम्रो !’ निबन्धलाई हेर्दा हाम्रो समाजको शिक्षा प्रणाली र त्यसमा विद्यमान समस्याको गुदो केलाउने काम यसमा भएको छ। यहाँ विद्यार्थीले कक्षा कोठामा दिने उत्तर ‘ बुझ्यौँ’, ‘बुझे’, र ‘बुझिनँ’ बाट उनीहरूको मात्र विभाजन नभई गुरुहरू पनि वर्गीकृत भएका छन्। आफूलाई नहेर्ने, नचिन्ने, नबुझ्ने अनि हो मा हो मिलाएर चिच्याउने चेलाहरू मात्र शिक्षालयमा नभई गलत प्रश्नलाई समेत गलत छ यो यसो हुनुपर्दथ्यो भन्ने सामथ्र्यविहीन गुरुहरूले आफ्नो गुरुता कसरी जोगाउन सक्छन् ? कक्षामा एकातिर ठेकेदार विद्यार्थी र अर्कातिर गुरु नामधारी गुरुको बिगबिगी रहेसम्म शैक्षिक स्तरोन्नति हुन सक्दैन। यसबारे निबन्धकार भन्छन्–
म मेरा विद्यार्थीले सोधेको कुनै कुरो आफूले नजानेको प¥यो भने त्यो कुरो अहिले मलाई आउँदैन, म अल्मलिएँ त्यसैले म हेरेर अथवा अरू कसैलाई सोधेर अर्को दिन तिम्रा प्रश्नको जवाफ दिउँला भन्ने गर्छु। सर्वज्ञ कोही पनि हुँदैन, हरेक मान्छेको ज्ञानको सीमा हुन्छ। मैले जति जानेको छु त्यति मात्र सिकाए मलाई पुग्छ। ‘मलाई अहिले थाह छैन’ भन्दा मेरो पी. एच. डी. को प्रमाणपत्र पनि कसैले खोस्दैन। विश्वविद्यालयको मेरो प्राध्यापक पदबाट पनि म तल झर्दिनँ। आफूलाई नआएको कुरो ‘अहिले मलाई आउँदैन’ भन्दा मैले नै सिक्ने मौका पाउँछु।’
उनले प्रस्तुत गरेको यो व्यवहार प्रत्येक गुरुहरूका लागि गुरुमन्त्र हो। किताबमा भएका विषयलाई पढेर र गुरुले अध्यापन गरेका कुरालाई सुनेर, बुझेर आफ्नो स्थिति जे हो त्यही भन्न सक्ने चेलाहरू भए भने अन्य कुरा त आफैँ हुन्छन्। आफूले नबुझेको कुरालाई ‘बुझिनँ’ वा ‘मैले बुझेको छैन’ भनेर बोल्न अनि प्रश्न गर्न सक्ने खुबी नहुनु नै आजको मूल समस्या ओ। आम विद्यार्थीको व्यवहार, स्वभाव र मनोभावलाई मनन गरी लेखिएको यो निबन्धको उद्देश्य शिक्षा क्षेत्रका गुरुशिष्यका कमजोरी देखाउनु मात्र नभई त्यसको समुचित निदान र व्यवस्थापनको बाटो देखाउनु पनि हो। यस आधारमा निबन्ध महत्त्वपूर्ण रहेको छ।
दृष्टिविन्दु
निबन्धकारका अनुभूति, विचार, दृष्टिकोण आदि प्रकटीकृत गर्ने माध्यम दृष्टिविन्दु हो। पछिल्लो समयमा यसलाई पनि निबन्धका तत्त्वका रूपमा समावेश गरिएको छ। यसले खासगरी निबन्धमा व्यक्त गरिने विषयवस्तुको माध्यम को हो र उसले कसरी भनिरहेको छ भन्ने कुरा देखाउँछ। आत्मपरक निबन्धमा आन्तरिक र वस्तुपरक निबन्धमा वाह्रय दृष्टिविन्दुको प्रयोग गरिएको पाइन्छ। यस आधारमा ‘नबुझ्ने विद्यार्थी नै राम्रो !’ निबन्धमा आन्तरिक अन्तर्गतको केन्दीय दृष्टिविन्दुको प्रयोग भएकोछ। निबन्धकारले नितान्त निजी अनुभूति, धारणा पस्किए झैँ गरेर हाम्रो शैक्षिक क्षेत्रको वस्तुस्थिति व्यक्त गरेका छन्। निबन्धमा थरिथरिका विद्यार्थी र शिक्षक अनि समाजका अन्य मानिसदेखि पनि आफूहरू प्रत्यक्ष उपस्थित कोही छैनन्। सबैका विचार निबन्धकार आफ्नै माध्यमबाट पस्किन्छन्। यसर्थ निबन्धमा आफूले प्रस्तुत गर्न खोजेको विषय अनुसारको दृष्टिविन्दु यसमा देखिन्छ।
शीर्षक
शीर्षक निबन्धमा वण्र्य विषयको समग्रतालाई समेटेर प्रस्तुत गर्न सक्ने उपर्युक्त पद वा पदावली हो। आकारका दृष्टिले सानो र निबन्धमा उल्लेख भएको मूलमर्मको द्योतन गर्ने सामथ्र्य शीर्षकमा हुनु अपेक्षित हुन्छ। जति आकर्षक र प्रभावपूर्ण शीर्षक भयो उत्तिकै सिङ्गो निबन्धको ओज बढ्छ। पाठकलाई तान्ने र विषयमा प्रवेश गर्न मन लाग्ने नलाग्ने कुराको निक्र्योल समेत शीर्षकबाट नै हुन्छ। यस आधारमा ‘नबुझ्ने विद्यार्थी नै राम्रो !’ शीर्षक आफैँमा स्पष्ट छ। लेखकीय दृष्टिकोण मात्र प्रस्तुत नगरी यसले निबन्धको कथ्य आफैँ छर्लङ्ङ पारेको छ। पाठकलाई कौतुहल बनाउँदै आफूले नबुझेको कुरा पहिल्याएर भन्न सक्ने विद्यार्थी नै यथार्थमा राम्रो विद्यार्थी हो भन्ने कुरा देखाइएको छ। झट्ट सुन्दा र पढ्दा कुरा विपरित जस्तो लाग्ने तर निबन्ध पढ्दै त्यसको अन्तर्य खोतल्दै भित्र पुग्दा बुझ्दै नबुझेको कुरामा समेत भाका मिलाएर ‘बुझ्यौँ’ भन्ने, डरले वा लाजले यदाकदा ‘बुझेँ’ भन्ने र ‘मैले बुझिनँ’ नै भन्नेहरूमा ‘मैले बुझिनँ’ भन्ने उत्कृष्ट विद्यार्थी हो भन्ने निष्कर्ष दिने यस निबन्धको शीर्षक सार्थक तथा निबन्धको मूल मर्म व्यक्त गर्न सक्षम रहेको देखिन्छ।
निष्कर्ष
वहुआयामिक व्यक्तित्वका धनी निबन्धकार माधवप्रसाद पोखरेलका दर्जनौँ निबन्धहरूमध्ये ‘गार्गीको गाँठो’ निबन्ध सङ्ग्रहमा सङ्कलित निबन्धमा ‘नबुझ्ने विद्यार्थी नै राम्रो !’ पनि समावेश भएको छ। यो अध्ययन सोही निबन्धको रचना विधानमा केन्द्रित भएर गरिएको छ। हाम्रो विद्यमान शिक्षाव्यवस्था र त्यसमा रहेका अनेकन कमजोरीमध्ये एउटा महत्त्वपूर्ण पक्षको उल्लेख यसमा गरिएको छ। शैक्षिक क्षेत्रको लामो अनुभवले खारिएका निबन्धकारको भोगाइ र त्यससम्बन्धी आफ्नो दृष्टिकोण यसमा प्रस्तुत छ। उद्देश्यमूलक नमूना छनोट पद्धति अन्तर्गत ‘नबुझ्ने विद्यार्थी नै राम्रो !’ शीर्षकको निबन्ध चयन गरी आगमनात्मक, वर्णनात्मक, विश्लेषणात्मक र तार्किक विधिद्वारा अध्ययन गरिएको यस आलेखले गुरुशिष्यका कमजोरी मात्र नदेखाई आफूले अध्ययन गर्ने र गराउने दुबै पक्षले विषयको चुरो पत्ता नलगार्ईे वाह्य सतही कुरामा अल्मलिन नहुने निष्कर्ष प्रस्तुत गरेको छ। आफूले ‘बुझिनँ’ वा ‘जानिनँ’ भन्नका निम्ति जानेको कुरा थाह हुनै पर्ने कुरालाई घुमाउरो ढङ्गले पुष्टि गर्दै जबसम्म गुरुले इमान्दारीपूर्वक आफ्नो कर्तव्यबोध गर्दैनन्, तबसमम शैक्षिक क्षेत्रको अपेक्षित सुधार नहुने देखाइएको छ। निबन्धको तात्त्विक दृष्टिले फरकफरक शीर्षकहरूमा विभाजन गरेर गरिएको यस अध्ययनले संरचनागत दृष्टिले समेत निबन्ध सबल रहेको देखाएको छ।
सन्दर्भसामग्रीसूची
उपाध्याय, केशवप्रसाद (२०४९). साहित्य प्रकाश. पाँचौँ संस्क. अभिव्यक्ति छापाखाना।
गौतम, लक्ष्मणप्रसाद (२०६८). निबन्धका प्रकार. रत्न बृहत् नेपाली समालोचना सैद्धान्तिक खण्ड. सुवेदी, राजेन्द्र र गौतम, लक्ष्मणप्रसाद .सम्पा. रत्न पुस्तक भण्डार।
थापा, हिमांसु (२०५०). साहित्य परिचय. चौ.संस्क. साझा प्रकाशन।
देवकोटा, लक्ष्मीप्रसाद (२०४९). लक्ष्मी निबन्ध सङ्ग्रह. तेह्रौँ. सस्कं. साझा प्रकाशन।
निरौला, लेखप्रसाद (२०१७). ‘निबन्ध सिद्धान्त’. समकालीन साहित्य. वेलायत।
पोख्रेल, माधवप्रसाद . (२०६२). गार्गीको गाँठो. साझा प्रकाशन।
बराल, ईश्वर र अन्य (२०५५). नेपाली साहित्य कोश. सम्पा. नेपाल प्रज्ञा प्रष्ठिान।
बराल, टीकादत्त (२०६८). तत्सम नेपाली व्युत्पत्ति शब्दकोश. लेखन तथा सम्पादन. विद्यार्थी पुस्तक भण्डार।
शर्मा, गोपीकृष्ण (२०५५). नेपाली निबन्ध परिचय. नवौँ संस्क. रत्न पुस्तक भण्डार।
श्रेष्ठ, दयाराम (२०७९). कथादर्शन. नेपाल प्रज्ञा प्रतिष्ठान।
श्रेष्ठ, दयाराम र शर्मा, मोहनराज (२०५४). नेपाली साहित्यको संक्षिप्त इतिहास. चौ. सं. साझा प्रकाशन।
सुवेदी, राजेन्द्र (२०५६). स्नातकोत्तर नेपाली निबन्ध. सम्पा. पाठ्यसामग्री पसल।