भारतीय दर्शनहरू सामान्यतया दुई वर्गहरूमध्ये एउटामा पर्दछन्- आस्तिक वा नास्तिक । ईश्वरमा आस्था राख्नेहरूलाई आस्तिक भनिन्छ भने आस्था नराख्नेहरू नास्तिक हुन्। आस्तिकहरूले स्वर्ग, नर्क, र पुनर्जन्ममा समेत विश्वास गर्दछन् तर नास्तिकहरूले भने गर्दैनन्।
शरच्चन्द्र वस्ती
हरिशरण लुइटेल*(पत्राचारका लागि)
कुमुद अधिकारी
लेखसार
भारतीय दर्शनहरू सामान्यतया दुई वर्गहरूमध्ये एउटामा पर्दछन्- आस्तिक वा नास्तिक । ईश्वरमा आस्था राख्नेहरूलाई आस्तिक भनिन्छ भने आस्था नराख्नेहरू नास्तिक हुन्। आस्तिकहरूले स्वर्ग, नर्क, र पुनर्जन्ममा समेत विश्वास गर्दछन् तर नास्तिकहरूले भने गर्दैनन्। चार्वाक दर्शन प्राचीन भारतवर्षमा प्रादुर्भाव भएका दर्शनहरूमध्ये एक भौतिकवादी नास्तिक दर्शन हो, जसले मानिसलाई नियन्त्रण वा दमनबाट मुक्त हुन र खुसीसँग बाँच्न प्रोत्साहित गर्दछ। चार्वाक दर्शनका वास्तविक सूक्तहरू संस्कृत भाषामा लेखिएको हुँदा संस्कृत भाषाको ज्ञान नहुने व्यक्तिहरूको लागि यो दर्शन रहस्यको विषय हुन सक्दछ। तसर्थ चार्वाक दर्शन के हो र यसले कस्तो मार्गदर्शन गर्दछ भन्ने कुरालार्इ यस लेखमा मुख्य समस्या देखार्इ सरल नेपाली भाषामा समाधान गर्ने प्रयत्न गरिएको छ । गुणात्मक ढाँचामा तयार पारिएको यस लेखमा सामग्री सङ्कलनका लागि पुस्तकालयको उपयोग गरिएको छ । यस्तै पदपदार्थ आदिको प्रस्तुति, व्याख्या, एवम् विश्लेषण, गरी निष्कर्ष निकालिएको छ ।
शब्दकुञ्जीः चार्वाक दर्शन, भौतिकवादी दर्शन, नास्तिक दर्शन
विषय परिचय
चार्वाक दर्शन भारतीय उपमहाद्वीपको अन्त्यन्त प्राचीन दर्शन हो।[1] यसले मानिसलाई कुनै पनि किसिमको बन्धनबाट मुक्त भएर पूर्णतः स्वतन्त्र बन्न र भौतिकवादी जीवनशैली अपनाउन प्रेरित गर्दछ। यस दर्शनले अन्य भारतीय दर्शनले मान्ने गरेका वेद, ईश्वर जस्ता कुरालाई मान्दैन र तिनले स्वीकारेका धार्मिक, नैतिक र सामाजिक बन्धनहरूलाई पनि स्वीकार्दैन। यसले शरीरभन्दा पर आत्माको अस्तित्व स्वीकार्दैन, मृत्युलाई नै मोक्ष मान्छ र स्वर्ग, परलोक तथा पुनर्जन्मलाई मान्दैन। चार्वाक दर्शनले अर्थ र काम अर्थात् सम्पत्तिको आर्जन र सुखभोगलाई मानव जीवनको पुरुषार्थ मान्दछ।
‘दर्शन’का लागि अङ्ग्रेजीमा ‘फिलोसफी’ शब्दको प्रयोग गरिन्छ। तर यिनको अर्थ र आशयमा आधारभूत फरक छ। अङ्ग्रेजीको फिलोसफी शब्द ग्रीक भाषाको फिलोसोफिया शब्दबाट आएको हो, जसको अर्थ हुन्छ- ज्ञानप्रतिको प्रेम (Love of Wisdom)। यसबाट फिलोसफी विशुद्ध बौद्धिक कुरा हो, अर्थात् यसको प्रत्यक्ष सम्बन्ध मानिसको जीवनसँग नभएर बुद्धिसँग हुन्छ भन्ने बुझिन्छ। तर दर्शनको प्रत्यक्ष सम्बन्ध बुद्धिसँग मात्र नभएर मानिसको जीवनसँग समेत रहेको हुन्छ। दर्शनले मानिसलाई जीवन-जगतको रहस्य बुझाएर तदनुसार जीवनयापन गर्दै जीवनको सर्वोच्च लक्ष्य प्राप्त गर्न प्रेरित र निर्देशित गर्ने उद्देश्य लिएको हुन्छ। यसले मानव जीवनको अन्तिम लक्ष्य निर्धारण गर्दछ र त्यो प्राप्त गर्ने बाटो पनि देखाउँदछ।
भारतीय दर्शन मूलतः दुई भागमा बाँडिएको छ – आस्तिक र नास्तिक। ईश्वरमा विश्वास राख्नेलाई आस्तिक र ईश्वरमा विश्वास नराख्नेलाई नास्तिक भन्ने सामान्य प्रचलन छ। यसैगरी परलोक र पुनर्जन्ममा विश्वास गर्नेलाई आस्तिक र विश्वास नगर्नेलाई नास्तिक मानिन्छ। तर जसले वेदलाई मान्दछ त्यो आस्तिक हो र जसले वेदलाई मान्दैन त्यो नास्तिक हो भन्ने मनुको परिभाषा दर्शनका सम्बन्धमा मान्य रहेको छ। यसै अनुसार चार्वाक, बौद्ध र जैन दर्शनलाई नास्तिक दर्शन भनिन्छ भने सांख्य, योग, न्याय, वैशेषिक, मीमांसा र वेदान्तलाई प्रमुख आस्तिक दर्शन मानिन्छ। यद्यपि आस्तिक दर्शन अन्तर्गत द्वैत, विशिष्टाद्वैत, नाकुलीय-पाशुपत, शैव, प्रत्यभिज्ञा, पाणिनीय, रसेश्वर आदि दर्शनहरू समेत रहेका छन्।
चार्वाक दर्शन मानिसका स्वाभाविक प्रवृत्ति र सहज ज्ञानसँग सम्बन्धित दर्शन भएकाले मानव समाजमा प्रारम्भिक कालदेखि नै यसको अस्तित्व रहेको देख्न सकिन्छ । परिभाषित रूपमा चार्वाक दर्शनलाई उत्तरवैदिक कालको उपज मानिन्छ। तर समाजले यसका आधारभूत मान्यतालाई पूर्व वैदिक कालदेखि नै अपनाएको पाइन्छ। प्रत्यक्ष देखिने कुरालाई मात्र मान्ने र सुखमय जीवनतर्फ अग्रसर हुने सरल एवं यथार्थवादी मान्यताकै कारण जनजीवनले यसलाई सहजतासाथ स्वीकारेको बुझ्न सकिन्छ। यसैले चार्वाक दर्शनलाई ‘लोकायत’ अर्थात् लोकले स्वीकारेको र जनजीवनमा फैलेको पनि भनिन्छ। परिभाषित रूपमा यसको प्रतिपादन ईसापूर्व छैटौँ शताब्दीमा भएको निष्कर्ष महापण्डित राहुल सांकृत्यायनको छ। त्यसबेलादेखि शुरू भएर दोस्रो शताब्दीसम्म आइपुग्दा यो दर्शन लोकमा निकै फैलिसकेको पाइन्छ। आठौँ शताब्दीमा शंकराचार्यले यसको खण्डन गर्ने अभियान चलाएपछि भने यो निस्तेज हुन पुग्यो।
चार्वाक दर्शनका प्रवर्तक देवताका गुरु बृहस्पतिलाई मानिन्छ।[2] बृहस्पतिले रचना गरेको ‘बार्हस्पत्य सूत्र’ नै चार्वाक दर्शनको मूल र आधिकारिक ग्रन्थ हो, जसमा सूत्रबद्ध रूपमा यस दर्शनलाई प्रतिपादित गरिएको थियो। चार्वाक बृहस्पतिका प्रतिभाशाली शिष्य थिए। यिनैले यस दर्शनलाई प्रभावकारी रूपमा लोकमा फैलाएका हुन्। ‘चारु’ को अर्थ सुन्दर, राम्रो, मन हरण गर्ने हो भने ‘वाक्’ को अर्थ बोली वा कुरा हो। ‘चारु-वाक्’ अर्थात् लोकलाई प्रिय लाग्ने कुरा गर्ने भएकाले उनलाई चार्वाक भनिएको र उनैद्वारा लोकमा फैलाइएकोले यस दर्शनको नाम पनि चार्वाक रहेको मानिन्छ।
अन्य दर्शनहरूको जस्तो चार्वाक दर्शनको त्यस्तो कुनै स्वतन्त्र ग्रन्थ हाल उपलब्ध छैन जसमा यस दर्शनका सूत्र, सिद्धान्त र मान्यताहरू प्रतिपादन गरिएका हुन्। तर प्रत्येक जसो भारतीय दर्शनमा चार्वाक दर्शनका सूत्र, सिद्धान्त र मान्यताहरूको उल्लेख गरेर तिनको खण्डन गरिएको पाइन्छ। वेद र उपनिषद्हरूमा चार्वाक दर्शनका सिद्धान्तको झलक धेरै ठाउँमा पाइन्छ भने रामायण, महाभारतजस्ता ग्रन्थहरूमा पनि चार्वाकका प्रसङ्गहरू आएकाछन्। बृहस्पति प्रणीत ‘बार्हस्पत्य सूत्र’लाई चार्वाक दर्शनको मूल आधिकारिक ग्रन्थ मानिए पनि वर्तमान समयमा त्यो अप्राप्य छ। यसका ५४ सूत्रहरू सङ्कलित गरेर ‘बार्हस्पत्य-सूत्र’ कै नामबाट प्रकाशित गरिएको छ र यसैलाई चार्वाक दर्शनको प्रामाणिक मूल सूत्र मानिएको छ।[3]
सातौँ शताब्दीका जयराशिभट्टद्वारा लिखित ‘तत्त्वोपप्लवसिंह’ हाल उपलब्ध चार्वाक दर्शनसम्बन्धी एक मात्र स्वतन्त्र ग्रन्थ हो तर यसले चार्वाक दर्शनका सिद्धान्तहरूको औपचारिक रूपमा प्रतिपादन नगरेर त्यसको पक्षपोषण मात्र गर्दछ। चार्वाक बाहेक अन्य सबै दर्शनका मतहरूको खण्डन गर्नु नै यसको उद्देश्य हो भन्ने कुरा ग्रन्थकारले शुरुमै स्पष्ट पारेका छन्। चार्वाक दर्शनले अस्वीकार गरेका तर अन्य दर्शनले मानेका प्रमाण र तत्त्वहरू लगायत सबै कुरालाई मसिनो विवेचनाका साथ जोडदार खण्डन गरेर यस ग्रन्थले चार्वाक मतलाई बलियो पारेको छ र यसलाई बुझ्न सघाएको छ।
आठौँ शताब्दीका शङ्कराचार्यले ‘सर्वसिद्धान्त सङ्ग्रह’ ग्रन्थमा चार्वाक दर्शन सम्बन्धी विवरण दिएका छन् भने आठौँ शताब्दीकै हरिभद्र सूरीले ‘षड्दर्शन समुच्चय’ ग्रन्थमा चार्वाक दर्शनको विवरण प्रस्तुत गरेको पाइन्छ। एघारौँ शताब्दीका श्रीकृष्ण मिश्रले ‘प्रबोध-चन्द्रोदय’ नाटकमा र त्यसै शताब्दीका आचार्य हेमचन्द्रले ‘त्रिषष्ठिशलाका पुरुष चरित’ महाकाव्यमा चार्वाक मतको छोटो तर स्पष्ट विवरण दिएका छन्। बाह्रौँ शताब्दीका महाकवि श्रीहर्षको ‘नैषधीयचरित’ महाकाव्यमा ४७ श्लोकहरू मार्फत् चार्वाक मतको विस्तृत विवरण दिइएको छ। यसै क्रममा चौधौँ शताब्दीमा आएर माधवाचार्यले ‘सर्वदर्शनसङ्ग्रह’ नामक ग्रन्थको पहिलो अध्यायमा चार्वाक दर्शनको साङ्गोपाङ्ग वर्णन गरेका छन्। १६ ओटा प्रमुख भारतीय दर्शनहरूको सङ्ग्रह गरिएको यस ग्रन्थलाई पनि दर्शनशास्त्रको प्रामाणिक ग्रन्थ मानिन्छ। आजभोलि चार्वाक दर्शनका सिद्धान्तहरूको पठनपाठन प्रायः यसै ग्रन्थबाट हुने गरेको छ।
समस्या कथन
चार्वाक दर्शनका सूक्तहरू प्रेरणात्मक अभिव्यक्तिकालागि दिनहु प्रयोग हुने गरेकाछन् तर ती सूक्तहरूकाबारेमा खोजीगर्दा तिनीहरू एउटै ग्रन्थमा मात्र नभएर धेरै ग्रन्थहरूमा छरिएर रहेको पाइन्छ। यसका अतिरिक्त ती ग्रन्थहरू प्राय संस्कृत भाषामा लेखिएको हुनुका साथै खोजेको बेलामा समेत तुरुन्त प्राप्त गर्न नसकिने अवस्था पनि भएको हुनाले चार्वाक दर्शन एउटा रहस्यको विषय बन्न पुगेको छ। तसर्थ सरल नेपाली भाषामा चार्वाक दर्शनको समयसापेक्ष परिचय दिनु हामीले उचित ठानेका छौँ।
उद्देश्य
समस्या कथनमा उल्लेख भएका समस्याहरूको समाधानकालागि यो लेख प्रयत्नरत रहनेछ। खासगरी दुर्लभ ग्रन्थहरूबाट संस्कृत भाषामा लेखिएका सूक्तहरूको यथोचित सङ्कलन गरी ती सूक्तहरूलाई नेपाली भाषामा उल्था गर्नु र चार्वाक दर्शनको परिचय दिनु नै यस लेखको मुख्य उद्देश्य हो ।
अध्ययन विधि
पूर्वीय दर्शनअन्तर्गतको चार्वाक दर्शनलार्इ नास्तिक दर्शन, भूतवादी दर्शन, लोकायत दर्शन आदि विभिन्न नामहरूले पनि चिनिन्छ । प्रस्तुत लेखमा पूर्वीय दर्शनका अन्य नास्तिक वा आस्तिक दर्शनको चर्चा नगरेर केवल चार्वाक दर्शनको मात्र परिचय दिइएको छ । गुणात्मक ढाँचामा तयार पारिएको यस लेखमा निगमनात्मक विधिको उपयोग गरिएको छ । पुस्तकालयका माध्यमले सामग्री सङ्कलन गरिएको छ, जसमा विभिन्न ग्रन्थहरूबाट चार्वाक दर्शनसँग सम्बन्धित विषयवस्तुलार्इ ग्रहण गरिएको छ । व्याख्या, विश्लेषण, पदपदार्थको प्रस्तुतिका माध्यमले विषयवस्तुको सत्यापन गरिएको छ ।
सैद्धान्तिक पर्याधार
पूर्वीय दर्शनलार्इ आस्तिक र नास्तिक गरी दुर्इ भागमा विभाजन गरिएको छ । नास्तिको वेदनिन्दकः (मनु- २/११) भन्ने महर्षि मनुको वचनका आधारमा वेदलार्इ प्रमाणका रूपमा स्वीकार गर्ने न्याय, वेदान्तादि दर्शन आस्तिक दर्शन हुन् भने वेदलार्इ प्रमाणका रूपमा नमान्ने चार्वाकादि नास्तिक दर्शन हुन् । अन्तिम लक्ष्य एउटै भए पनि आस्तिक दर्शनहरूले वेदद्वारा निर्दिष्ट परिधिभित्र रहेर विषयवस्तुको प्रतिपादन गर्दछन् भने नास्तिकहरूले वेदका सिद्धान्तहरूलार्इ स्वीकार गर्दैनन् । यस्ता नास्तिक दर्शनहरूमा चार्वाक, बौद्ध र जैन दर्शनहरू पर्दछन् । त्यसमा पनि चार्वाक दर्शन अरू दुर्इ नास्तिक दर्शनभन्दा भिन्न छ किनभने यसले केवल प्रत्यक्ष अनुभवमा आउने भौतिक पदार्थहरूलार्इ मात्र मान्दछ । त्यसैले यसलार्इ भूतवादी दर्शन पनि भनिन्छ । यसका दृष्टिमा पूर्वजन्म, पुनर्जन्म, धर्म, अधर्म, आत्मा, परमात्मा आदि कुनै कुरा स्वीकार्य
छैनन्। प्रस्तुत लेख यी सबै कुराहरूलाई ध्यानमा राखी पूर्वीय दर्शनका सैद्धान्तिक पर्याधारहरूको आधारमा तयार पारिएको छ ।
विषय विश्लेषण
चार्वाक दर्शन
अब यो खण्डमा हामी तीन भिन्न भिन्न स्रोत ग्रन्थहरूबाट चार्वाक दर्शनको स्वरूप, सिद्धान्त र मान्यता दर्शाउने सूक्तहरूको संस्कृतबाट नेपालीमा अनुवाद गर्दछौँ।[4]
बार्हस्पत्य-सूत्र
१. अथातस्तत्त्वम् व्याख्यास्यामः ।
शब्दार्थ : अथ – अब; अतः – यहाँ; तत्त्वम् – तत्वको; व्याख्यासामः – व्याख्या गर्दछौँ ।
भावार्थ : अब हामी प्राकृतिक तत्वको व्याख्या गर्दछौँ ।
२. पृथिव्यप्तेजोवायुरिति तत्त्वानि ।
शब्दार्थ : पृथिवी – पृथिवी; अप् – जल; तेज – अग्नि; वायु – वायु; इति – यिनीहरू; तत्वानि – तत्वहरू
भावार्थ : पृथिवी, जल, अग्नि र वायु गरी चार तत्वहरू हुन्छन् ।
३. तत्समुदाये शरीरेन्द्रियविषयसंज्ञा ।
शब्दार्थ : तत्समुदाये – तिनीहरूको संयोगमा; शरीरम् – शरीर; इन्द्रियम् – इन्द्रिय; विषयम् – विषय; संज्ञा – संज्ञा
भावार्थ : यी चार तत्त्वको यथोचित संयोग भएपछि शरीर, इन्द्रिय, विषय संज्ञा हुन्छ ।
४. तेभ्यश्चैतन्यम् । किण्वादिभ्यो मदशक्तिवत् ।
शब्दार्थ : तेभ्यः – तिनीहरूबाट; चैतन्यम् – चेतना; किण्वादिभ्यो – अन्न आदिबाट; मदशक्तिवत् – मादक शक्ति उत्पन्न भएजस्तै
भावार्थ : यिनै चार तत्त्वको मिलनबाट चैतन्यको उत्पत्ति हुन्छ । यो विभिन्न अन्न, सख्खर आदिको संयोगले मदिरामा मादक शक्ति उत्पन्न भएजस्तै हो ।
५. चैतन्यविशिष्टः कायः पुरुषः ।
शब्दार्थ : चैतन्यविशिष्टः – विशेष चेतनाले युक्त; कायः – शरीर; पुरुषः – पुरुष (आत्मा)
भावार्थ : चेतना शक्तिसम्पन्न शरीर नै पुरुष अर्थात् आत्मा हो ।
६. कायादेव ततो ज्ञानं प्राणापानाद्यधिष्ठितात् युक्तं जायते ।
शब्दार्थ : कायात् – शरीरबाट; एव – नै; ततः – तदुपरान्त; ज्ञानं – ज्ञान; प्राण – प्राण; अपान – अपान; आदि – इत्यादि; अधिष्ठितात् – आधार भएकोले; युक्तं – युक्त; जायते – हुन्छ
भावार्थ : प्राण, अपान, समान, व्यान, र उदान – यी पाँच वायु रहेको यही शरीरको आधारबाट नै ज्ञानको उत्पत्ति हुन्छ अर्थात् ज्ञानको आधार यही शरीर हो।
७. शरीरेन्द्रियसंघात एव चेतनः क्षेत्रज्ञः ।
शब्दार्थ : शरीर – शरीर; इन्द्रिय – इन्द्रिय; संघात – समुदाय; एव – नै; चेतनः – चेतनायुक्त; क्षेत्रज्ञः – आत्मा
भावार्थ : शरीर (देह) र इन्द्रियहरूको समुदाय नै चेतनायुक्त आत्मा हो।
८. पश्यामि शृणोमीत्यादिप्रतीत्या मरणपर्यन्तं यावदिन्द्रियाणि तिष्ठन्ति तान्येवात्मा ।
शब्दार्थ : पश्यामि – देख्छु; शृणोमि – सुन्छु; इत्यादि – इत्यादि; प्रतीत्या – ज्ञानले; मरणपर्यन्तं – मृत्युपर्यन्त; यावद् – जति; इन्द्रियाणि – इन्द्रियहरू; तिष्ठन्ति – रहन्छन्; तानि – तिनीहरू; एव – नै; आत्मा – आत्मा
भावार्थ : म देख्छु, म सुन्छु, इत्यादि कार्य–व्यवहारमा मृत्युपर्यन्त साथ दिने इन्द्रियहरू नै आत्मा हो ।
९. इतरेन्द्रियाद्यभावे सत्वात् मन एवात्मा ।
शब्दार्थ : इतर – अन्य; इन्द्रियादि – इन्द्रिय आदिको; अभावे – अभावमा; सत्वात् – अस्तित्व रहने हुनाले; मन – मन; एव – नै; आत्मा – आत्मा
भावार्थ : अरू इन्द्रियहरूको अभावमा पनि मनको अस्तित्व रहने हुनाले मन नै आत्मा हो।
१०. प्राण एवात्मा ।
शब्दार्थ : प्राण – प्राण; एव – नै; आत्मा – आत्मा
भावार्थ : प्राण नै आत्मा हो । (चार्वाकहरूमध्ये कसैले शरीरलाई, कसैले इन्द्रियलाई, कसैले मनलाई त कसैले प्राणलाई आत्मा मानेका छन् । तथापि सबैको आत्मा भौतिक शरीरमा आधारित छ ।)
११. नास्ति परलोकः ।
शब्दार्थ : नास्ति – छैन; परलोकः – परलोक
भावार्थ : परलोकको अस्तित्व छैन।
१२. परलोकिनोऽभावात् परलोकाभावः ।
शब्दार्थ : परलोकिन – परलोक देखेर आउने; अभावात् – अभाव भएकाले; परलोक – परलोक; अभावः – अभाव छ
भावार्थ : परलोक देखेर आउने कोही नभएकाले परलोक छैन।
१३. एतावानेव पुरुषो यावदिन्द्रियगोचरः ।
शब्दार्थ : एतावान् – यति कुराहरू; एव – नै; पुरुषः – पुरुष; यावद् – जति; इन्द्रिय – इन्द्रियहरूद्वारा; गोचर – अनुभव हुन्छ
भावार्थ : ज्ञानेन्द्रियहरूबाट जे जति दृष्टिगोचर हुन्छ त्यति नै मात्र आत्मा हो । (देखिने शरीर नै आत्मा हो, प्रेतात्मा छैन ।)
१४. मृत्युरेवापवर्गः ।
शब्दार्थ : मृत्युः – मृत्यु; एव – नै; अपवर्गः – मोक्ष
भावार्थ : शरीरको मृत्यु हुनु नै मोक्ष हो।
१५. प्रत्यक्षमेवैकम् प्रमाणम् ।
शब्दार्थ : प्रत्यक्षम् – प्रत्यक्ष; एव – नै; एकम् – एउटा; प्रमाणम् – प्रमाण
भावार्थ : प्रत्यक्ष नै एकमात्र प्रमाण हो।
१६. अनुमानमप्रमाणम् ।
शब्दार्थ : अनुमानम् – अनुमान; अप्रमाणम् – प्रमाण होइन
भावार्थ : अनुमान प्रमाण होइन ।
१७. लोकप्रसिद्धमनुमानं चार्वाकैरपीष्यते एव ।
यस्तु कैश्चिल्लौकिकं मार्गमतिक्रम्यानुमानमुच्यते तन्निषिध्यते।
शब्दार्थ : लोकप्रसिद्धम् – लोकप्रसिद्ध; अनुमानम् – अनुमान; चार्वाकैः – चार्वाकहरूद्वारा; अपि – पनि; इष्यते – स्वीकार गरिन्छ; एव – नै; यस्तु – जुन्; कैश्चित् – कसैद्वारा; लौकिकं – लौकिक; मार्गम् – मार्गलाई; अतिक्रम्य – अतिक्रमण गरेर; अनुमानम् – अनुमान प्रमाण; उच्यते – भनिन्छ; तत् – त्यो; निषिध्यते – निषेध गरिन्छ
भावार्थ : लोकप्रसिद्ध (प्रमाणीत) अनुमान त चार्वाकहरूलाई पनि स्वीकार्य छ (जस्तै, भोलि सूर्य उदाउँछ)। त्यसलाई नाघेर गरिने अप्रमाणित कुराको (परलोक आदिको) अनुमानलाई भने निषेध गरिन्छ ।
१८. काम एवैकः पुरुषार्थः ।
शब्दार्थ : काम – काम; एव – नै; एकः -एउटा; पुरुषार्थः – पुरुषार्थ
भावार्थ : काम (सुखभोग) नै एकमात्र पुरुषार्थ हो ।
१९. अर्थकामौ पुरुषार्थौ ।
शब्दार्थ : अर्थकामौ – अर्थ र काम; पुरुषार्थौ – पुरुषार्थ
भावार्थ : अर्थ (धन उपार्जन) र काम (भोगविलास) दुवै पुरुषार्थ हुन् । (कामको प्रमुख साधन अर्थ भएकाले)
२०. काम एव प्राणिनां कारणम् ।
शब्दार्थ : काम – काम; एव – नै; प्राणिनां – प्राणीहरूको; कारणम् – कारण
भावार्थ : प्राणीहरूको उत्पत्तिको कारण कामक्रीडा नै हो।
२१. न धर्मंश्चरेत् ।
शब्दार्थ : न – नाई; धर्मः – धर्म; चरेत् – हिँडोस्
भावार्थ : धर्म गर्ने बाटोतिर नलाग्नू ।
२२. एष्वफलत्वात् । सांशयिकत्वाच्च ।
शब्दार्थ : एषु – यिनीहरूमा; अफलत्वात् – फल नहुने भएकोले; सांशयिकत्वात् – शङ्कास्पद हुने भएकोले; च – पनि
भावार्थ : यस्ता कामबाट कुनै फल नपाइने भएकाले । धर्म गर्दा फल पाइन्छ भन्ने कुरा शङ्कास्पद हुने भएकाले पनि।
२३. वरमद्य कपोतः श्वो मयूरात् ।
शब्दार्थ : वरम् – वेश; अद्य – आज; कपोतः – परेवा; श्वः – भोलि; मयुरात् – मयुरभन्दा
भावार्थ : भोलि पाइने मुजुरभन्दा आज पाइने परेवा नै वेश ।
२४. वरम् सांशयिकान्निष्कादसांशयिकः कार्षापणः ।
शब्दार्थ : वरम् – वेश; सांशयिकात् – संन्देहास्पद; निष्कात् – स्वर्ण मुद्राभन्दा; असांशयिकः – संशय नभएको; कार्षापणः – चाँदीको मुद्रा
भावार्थ : अनिश्चित सुवर्ण मुद्राभन्दा निश्चित् चाँदीको मुद्रा नै वेश ।
२५. को बालिशो हस्तगतं परगतं कुर्यात् ।
शब्दार्थ : कः – कुन्; बालिशो – मूर्ख; हस्तगतं – हातमा आएको; परगतं – अर्काकोहातमा; कुर्यात् – गरोस्
भावार्थ : कुन मूर्खले आफ्नो हातमा आएको मूल्यवान् वस्तु अर्कालाई सुम्पिदेला । (भोलि सुख पाइन्छ भनेर धर्मका नाममा आज दुःख नगर, सम्पत्ति खेर नफाल ।)
२६. दण्डनीतिरेव विद्या ।
शब्दार्थ : दण्डनीतिः – दण्डनीति; एव – नै; विद्या – विद्या
भावार्थ : विद्या भनेको दण्डनीति (अर्थशास्त्र/शासन सञ्चालनसम्बन्धी शास्त्र) मात्र हो । (अरू विद्या होइनन्, तिनको काम छैन ।)
२७. अत्रैव वार्तान्तर्भवति ।
शब्दार्थ : अत्र – यहाँ; एव – नै; वार्ता – कृषि, व्यापार आदि; अन्तर्भवति – अन्तर्गत हुन्छन्
भावार्थ : कृषि, व्यापार, व्यवसाय आदि (समृद्धिका माध्यम) यसै अन्तर्गत पर्दछन्।
२८. धूर्तप्रलापास्त्रयी ।
शब्दार्थ : धूर्त – धूर्त; प्रलापाः – प्रलाप; त्रयी – वेदहरू
भावार्थ : वेदहरू धूर्तहरूका प्रलाप मात्र हुन्।
२९. स्वर्गोत्पादकत्वेन विशेषाभावात् ।
शब्दार्थ : स्वर्ग – स्वर्ग; उत्पादकत्वेन – प्राप्तिकालागि; विशेष – विशेष; अभावात् – अभाव भएकाले
भावार्थ : वेदले न स्वर्ग पुऱ्याउन सक्छन्, न अरू केही लाभ नै दिन सक्छन् ।
३०. न स्वर्गो नापवर्गो वा नैवात्मा पारलौकिकः ।
नैव वर्णाश्रमादीनां क्रियाश्च फलदायिकाः ।।
शब्दार्थ : न – छैन; स्वर्गः – स्वर्ग; न – छैन; अपवर्गः – मोक्ष; वा – अथवा; न – छैन; एव – नै; आत्मा – आत्मा; पारलौकिकः – परलोक सम्बन्धी; न – छैन; एव – नै; वर्णाश्रम – वर्णाश्रम; आदिनाम् – आदिका; क्रियाः – क्रिया; च – पनि; फलदायिकाः – फलदायी
भावार्थ : न कहीँ स्वर्ग छ, न मोक्ष छ, न परलोक जाने आत्मा नै कहीँ छ । न त वर्ण (ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र), आश्रम (ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ, सन्यास), र धर्मका क्रियाहरूले नै कुनै फल दिन्छन् ।
३१. अग्निहोत्रं त्रयो वेदास्त्रिदण्डं भस्मगुण्ठनम् ।
बुद्धिपौरुषहीनानां जीविका धातृनिर्मिता ।।
शब्दार्थ : अग्निहोत्रं – अग्निहोत्र हवन कर्म; त्रयः – तीन; वेदाः – वेदहरू; त्रिदण्डं – तीन दण्ड धारण गर्नु; भस्मगुण्ठनम् – खरानी घस्नु; बुद्धि – बुद्धि; पौरुषहीनानाम् – पुरुषार्थहीन व्यक्तिहरूको; जीविका – जीविका; धातृ – विधाता; निर्मिता – बनाइएका
भावार्थ : अग्निहोत्र (आगोमा हवन), तीन वेद (ऋग्, यजुर्, साम), दण्ड धारण गरेर सन्यासी हुनु, निधारमा खरानी घस्नु – यी सबै बुद्धि र पुरुषार्थहीन मानिसको जीविकाका लागि विधाताद्वारा बनाइएका कुरा हुन्।
३२. पशुश्चेन्निहतः स्वर्गं ज्योतिष्टोमे गमिष्यति ।
स्वपिता यजमानेन तत्र कस्मान्न हन्यते ।।
शब्दार्थ : पशुः – पशु; चेत् – यदि; निहतः – मारिएको; स्वर्ग – स्वर्ग; ज्योतिष्टोमे – ज्योतिष्टोम यज्ञमा; गमिष्यति – जान्छ भने; स्वपिता – आफ्नो बुबा; यजमानेन – यजमानले; तत्र – त्यहाँ; कस्मात् – के कारणले; नहन्यते – मार्दैन
भावार्थ : ज्योतिष्टोम यज्ञमा पशुलाई बलि दिँदा यदि त्यो स्वर्ग जान्छ भने, त्यही यज्ञ गर्नेले स्वर्ग पठाउन आफ्नो बाबुलाई किन बलि दिँदैन त?
३३. मृतानामपि जन्तूनां श्राद्धञ्चेत् तृप्तिकारकम् ।
निर्वाणस्य प्रदीपस्य स्नेहः संवर्धयेच्छिखाम् ।।
शब्दार्थ : मृतानाम् – मरेकाहरूको; अपि – पनि; जन्तूनां – प्राणीहरूको; श्राद्धं – श्राद्ध; चेत् – यदि; तृप्तिकारकम् – तृप्ति गराउने हुन्छ भने; निर्वाणस्य – निभेको; प्रदीपस्य – दियोको; स्नेहः – तेल; संवर्धयेत् – बढाउदा; शिखाम् – ज्वाला;
भावार्थ : मरिसकेका प्राणीलाई श्राद्ध गर्दा तृप्ति प्राप्त हुने भए निभिसकेको बत्ती पनि तेल हालेपछि बल्नु पर्ने हो।
३४. गच्छतामिह जन्तूनां व्यर्थं पाथेयकल्पनम् ।
गेहस्थकृत श्राद्धेन पथि तृप्तिरवारिता ।।
शब्दार्थ : गच्छताम् – गैसकेकाहरूको; इह – यहाँ; जन्तूनां – प्राणीहरूको; व्यर्थम् – व्यर्थ; पाथेयकल्पनम् – बाटाको खाजाको व्यवस्था गर्नु; गेहस्थ – घरमा रहेको व्यक्तिले; कृत – गरेको; श्राद्धेन – श्राद्धले; पथि – बाटामा; तृप्तिः – सन्तुष्टि; अवारिता – निषेध छैन
भावार्थ : मरेर गइसकेकको मान्छे घरमा दिएको पिण्ड पानीले अघाउने भए कुनै यात्रामा हिँडेको मानिसलाई बाटामा खान खाजा दिई पठाउनु व्यर्थ हो । (घरमै खानेकुरा पस्किँदा ऊ अघाई हाल्थ्यो नि ।)
३५. स्वर्गस्थिता यदा तृप्तिं गच्छेयुस्तत्र दानत: ।
प्रासादस्योपरिस्थानामत्र कस्मान्न दीयते ।।
शब्दार्थ : स्वर्गस्थिता – स्वर्गमा रहेका; यदा – जब; तृप्तिं – तृप्ति; गच्छेयुः – प्राप्त गर्दछन् भने; तत्र – त्यहाँ; दानतः – दानले; प्रासादस्य – घरको; उपरिस्थानम् – माथिल्लो तलामा; अत्र – यहाँ; कस्मात् – किन; नदीयते – नदिएको
भावार्थ : स्वर्ग पुगेका पितृहरू यहाँ दान दिँदा तृप्त हुन्छन् भने घरमाथि छतमा बसेका मानिसलाई भुइँतलामा खानेकुरा किन नपस्किने गरिएको त ?
३६. यावज्जीवेत् सुखं जीवेत् ऋणं कृत्वा घृतं पिबेत् ।
भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः ।।
शब्दार्थ : यावद् – जहिलेसम्म; जीवेत् – बाँचिन्छ; सुखं – सुखले; जीवेत् – बाँच; ऋणं – ऋण; कृत्वा – गरेर; घृतं – घिउ; पिबेत् – पिऊ; भस्मीभूतस्य – भस्म भएको; देहस्य – देहको; पुनः – फेरि; आगमनं – आगमन; कुतः – कहाँ हुन्छ
भावार्थ : जतिन्जेल बाँचिन्छ सुखपूर्वक बाँच, ऋण गरेर भए पनि घिउ पिऊ (मोज गर) । मरेपछि भस्म भएको शरीर फेरि कसरी फर्केर आउला र ?
३७. यदि गच्छेत् परं लोकं देहादेष विनिर्गतः ।
कस्मात् भूयो न चायाति बन्धुस्नेहसमाकुलः ।।
शब्दार्थ : यदि – यदि; गच्छेत् – जान्छ; परं – पर; लोकं – लोक; देहात् – शरीरबाट; एष – यो; विनिर्गतः – निस्किएको; कस्मात् – के कारणले; भूयः – फेरी; न – होइन; च – पनि; आयाति – आउँछ; बन्धु – आफन्त; स्नेह – माया; समाकुलः – व्याकुल भएको
भावार्थ : यदि आत्मा यो शरीरबाट निस्किएर परलोक जाने भए परिवार र आफन्तको मायाले व्याकुल भएर किन फर्केर आउँदैन त ?
३८. ततश्च जीवनोपायो ब्राह्मणैर्विहितस्त्विह ।
मृतानां प्रेतकार्याणि न त्वन्यद्विद्यते क्वचित् ।।
शब्दार्थ : ततः – त्यसकारणले; च – पनि; जीवन – जीवनको; उपायः – उपाय; ब्राह्मणैः – ब्राह्मणहरूद्वारा; विहितः – बनाइयो; तु – त; इह – यहाँ; मृतानां – मरेकाहरूको; प्रेत – प्रेत; कार्याणि – कार्यहरू; न – होइन; तु – त; अन्यद् – अन्य; विद्यते – छ; क्वचित् – कहीँ
भावार्थ : मरेका व्यक्तिको नाममा गरिने गराइने काम ब्राह्मणहरूको जीवन यापनको उपाय मात्र हो । त्यसबाहेक अरू केही हुँदै होइन ।
३९. त्रयो वेदस्य कर्तारो मण्डधूर्तनिशाचराः ।
जर्फरी-तूर्फरीत्यादि पण्डितानां वचः कुतः ।।
शब्दार्थ : त्रयः – तीन; वेदस्य – वेदका; कर्तारः – कर्ताहरू; मण्ड – भाँड; धूर्त – धूर्त; निशाचराः – चोरहरू; जर्फरी – जर्फरी; तुर्फरी – तुर्फरी; इत्यादि – इत्यादि; पण्डितानां – पण्डितहरूको; वचः – वचन; कुतः – कहाँ
भावार्थ : भाँड, धूर्त र चोरहरूले नै वेदको रचना गरेका हुन् । विद्वान्हरूले बनाएको भए जर्फरी तुर्फरी जस्ता (अर्थहीन) शब्द कसरी राख्थे ?
४०. न कण्टकानां प्रकरोति तैक्ष्ण्यं विचित्रभावं मृगपक्षिणाञ्च ।
माधुर्यमिक्षोः कटुताञ्च निम्बे स्वभावतः सर्वमिदं प्रवृत्तम् ।।
शब्दार्थ : न – होइन; कण्टकानां – काँढाहरूको; प्रकरोति – गर्दछ; तैक्ष्ण्यं – तीखोपन; विचित्रभावं – विचित्रभाव; मृग – मृग; पक्षिणां – पक्षीहरूको; च – पनि; माधुर्यम् – मीठोपन; इक्षोः – उखूको; कटुताम् – तीतोपन; च – पनि; निम्बे – नीममा; स्वभावतः – स्वभावैले; सर्वम् – सबै; इदम् – यो; प्रवृत्तम् – भएको हो
भावार्थ : काँढामा तीखोपन, मृग र पक्षीहरूमा विचित्रता, उखूमा गुलियो, नीममा तीतोपन, कसैले हालिदिएको वा बनाइदिएको हुँदैन, यो सबै स्वभावतः बन्ने कुरा हो । (त्यसैले ईश्वरको कल्पना गर्नु व्यर्थ हो ।)
४१. सर्वत्र पर्यनुपयोगपराण्येव सूत्राणि बृहस्पतेः ।
शब्दार्थ : सर्वत्र – सबैतिर; पर्यनुपयोगपराणि – अरूको खण्डन गर्न प्रवृत्तहुने; एव – नै; सूत्राणि – सूत्रहरूले; बृहस्पतेः – बृहस्पतिका
भावार्थ : बृहस्पतिका सूत्रहरूले अरूको खण्डन गर्दछन्, तर तिनीहरूको खण्डन हुन सक्तैन।
४२. लोकायतमेव शास्त्रम् ।
शब्दार्थ : लोकायतम् – लोकायत; एव – नै; शास्त्रम् – शास्त्र
भावार्थ : लोकायत (चार्वाक) दर्शनमात्र शास्त्र हो।
४३. लौकिको मार्गोऽनुसर्तव्यः ।
शब्दार्थ : लौकिकः – लौकिक; मार्गः – मार्ग; अनुसर्तव्यः – अनुशरण गर्नुपर्छ
भावार्थ : लौकिक मार्गकै अनुशरण गर्नु पर्छ । (परलोकको चक्करमा लाग्नु हुँदैन)।
४४. लोकव्यवहारं प्रति सदृशौ बालपण्डितौ ।
शब्दार्थ : लोक – लोक; व्यवहारं – व्यवहार; प्रति – प्रति; सदृशौ – समान हुन्; बालपण्डितौ – बालक र पण्डित
भावार्थ : लोक व्यवहारका सन्दर्भमा बालक (अज्ञानी वा मूर्ख) र पण्डित (विद्वान) मा भेद छैन । दुवै उस्तै हुन् ।
सर्वदर्शन सङ्ग्रह
१. अथ कथं परमेश्वरस्य निःश्रेयसप्रदत्वमभिधीयते ? बृहस्पतिमतानुसारिणा नास्तिकशिरोमणिना चार्वाकेण तस्य दूरोत्सारितत्वात् । दुरुच्छेदं हि चार्वाकस्य चेष्टितम् । प्रायेण सर्वप्राणिनस्तावत् –
यावज्जीवं सुखं जीवेन्नास्ति मृत्योरगोचर: ।
भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः ? ।।
इति लोकगाथाम् अनुरुन्धाना नीतिकामशास्त्रानुसारेण अर्थकामौ एव पुरुषार्थौ मन्यमानाः, पारलौकिकमर्थम् अपह्नुवानाः, चार्वाकमतमनुवर्तमाना एवानुभूयन्ते । अत एव तस्य चार्वाकमतस्य ‘लोकायतम्’ इत्यन्वर्थम् अपरं नामधेयम् ।।
शब्दार्थ : अथ – अब; कथं – कसरी; परमेश्वरस्य – परमेश्वरको; निःश्रेयस – मोक्ष; प्रदत्वम् – प्रदान गर्नेकुरा; अभिधीयते – भनिन्छ; बृहस्पति – बृहस्पति; मत – मत; अनुसारिणा – अनुसरण गर्ने; नास्तिक – नास्तिक; शिरोमणिना – शिरोमणि भएका; चार्वाकेण – चार्वाकले; तस्य – त्यसको; दूरोत्सारितत्वात् – दुरूत्साहन गरेकाले; दुरुच्छेदं – खण्डन गर्नु; हि – निश्चय नै; चार्वाकस्य – चार्वाकको; चेष्टितम् – प्रयत्न ; प्रायेण – प्राय; सर्वप्राणिनः – सबै प्राणीले; तावत् – त्यहाँसम्म
यावत् – जहिलेसम्म; जीवं – बाँचिन्छ; सुखं – सुखले; जीवेत् – बाँच; नास्ति – छैन; मृत्युः – मृत्युको; अगोचरः – नजरमा नपर्ने; भस्मीभूतस्य – भस्म भएको; देहस्य – देहको; पुनरागमनं – फर्केर आउने; कुत – कसरी ?
इति – यो; लोकगाथाम् – लोकगाथालाई; अनुरून्धाना – अनुसरण गर्नेभएका ; नीति – नीति; काम – काम; शास्त्र – शास्त्र; अनुसारेण – अनुसारले; अर्थकामौ – – धनसम्पत्ति र भोगविलास; एव – नै; पुरुषार्थौ – पुरुषार्थ; मन्यमानाः – मान्नेभएका; पारलौकिकम् – परलोक सम्बन्धि; अर्थम् – अर्थलाई; अपह्नुवानाः – उपेक्षा गर्दै; चार्वाकमतम् – चार्वाकको मत; अनुवर्तमाना – अनुसरण गर्दैगरेका; एव – नै; अनुभूयन्ते – अनुभव गरिन्छन्; अत – यसैले; एव – नै; तस्य – त्यसको; चार्वाकमतस्य – चार्वाक मतको; लोकायतम् – लोकायत; इति – यो; अन्वर्थम् – सार्थक; अपरं – अर्को; नामधेयम् – नाम छ
भावार्थ : परमेश्वरलाई मानेर उनलाई मोक्षदाता कसरी भन्ने ? बृहस्पतिको मत अनुसरण गर्ने नास्तिक शिरोमणि चार्वाकले यस्तो धारणा नै उखेलेर टाढा मिल्काइदिएका छन्। चार्वाकको मत खण्डन गर्न पनि गाह्रो छ। संसारका प्राय सबै मानिस यही लोकोक्तिलाई मानेर हिँड्छन् : “जतिन्जेल बाँचिन्छ सुखपूर्वक बाँच्नुपर्छ। कालले नलैजाने कोही छैन। मरेपछि खरानी भएको शरीर फेरि कसरी फर्केर आउला र ?” सबै मानिस नीतिशास्त्र र कामशास्त्र अनुसार अर्थ (पैसा कमाउनु) र काम (भोगविलास गर्नु) लाई नै पुरुषार्थ ठान्छन् । अनि परलोक र स्वर्गको कुरा पनि पत्याउँदैनन्; स्वतः चार्वाककै मतको अनुसरण गरिरहेका देखिन्छन्। त्यसैले चार्वाक मतको अर्को नाम ‘लोकायत’ (संसारमा फैलिएको) सार्थक छ।
२. अङ्गनालिङ्गनाज्जन्यसुखमेव पुमर्थता ।
कण्टकादिव्यथाजन्यं दुःखं निरय उच्यते ।।
शब्दार्थ : अङ्गना – स्त्री; आलिङ्गानात् – आलिङ्गनबाट; जन्य – उत्पन्न हुने; सुखम् – सुख; एव – नै; पुमर्थता -पुरुषार्थ; कण्टक – काँढो; आदि – आदि; व्यथा – पीडा; जन्यं – उत्पन्न हुने; दुखं – दुःख; निरय – नरक; उच्यते – भनिन्छ
भावार्थ : स्त्रीको आलिङ्गन आदिबाट उत्पन्न हुने सुख (काम) नै पुरुषार्थ हो । काँढाको घोचाइ आदि कारणबाट उत्पन्न हुने दुःख नै नरक हो।
३. त्याज्यं सुखं विषयसङ्गमजन्म पुंसां दुःखोपसृष्टमिति मूर्खविचारणैषा ।
व्रीहीञ्जिहासति सितोत्तमतण्डुलाढ्यान् को नाम भोस्तुषकणोपहितान् हितार्थी ।।
शब्दार्थ : त्याज्यं – त्याग्नयोग्य; सुखं – सुख; विषयसङ्गम् – विषयहरूको संयोगले; जन्म – उत्पन्न हुने; पुंसां – मनुष्यहरू; दुःख – दुःख; उपसृष्टम् – उत्पन्न गराउने; इति – यो; मूर्ख – मूर्ख; विचारणा – विचार; एषा – यो; व्रीहीन् – धानहरूलाई; जिहासति – त्याग्दछ; सित – सेतो वर्णको; उत्तम – उत्तम; तण्डुलाढ्यान् – चामलले भरिएका; कः – को; नाम – नाम; भोः – हे; तुषकण – भुसको कण; उपहितान् – युक्तभएका; हितार्थी – हित चाहने
भावार्थ : सुखको उत्पत्ति सांसारिक विषयवस्तु सँगै हुन्छ र ती परिणाममा दुःखले भरिएका हुन्छन् भन्ने मूर्खहरूको विचार हो । भन्नुहोस् त, आफ्नो भलो चाहने कुन मान्छेले सेता र उत्तम चामलका दाना भएको धानको बालीलाई त्यसमा भूस पनि छ भनेर त्याग्न चाहला ?
४. मत्स्यार्थी सशल्कान् सकण्टकान् मत्स्यानुपादत्ते । स यावदादेयं तावदादाय निवर्तते । तस्मात् दुःखभयात् नानुकूलवेदनीयं सुखं त्यक्तुमुचितम् । यदि कश्चित् भीरूः दृष्टं सुखं त्यजेत् तर्हि स पशुवत् मूर्खो भवेत् ।
शब्दार्थ : मत्स्यार्थी – माछा चाहनेले; सशल्कान् – कत्ला सहितका; सकण्टकान् – काँढा सहितका; मत्स्यान् – माछाहरूलाई; उपादत्ते – ग्रहण गर्दछ; स – त्यो; यावद् – जति; आदेयं – लिन योग्य छ; तावत् – त्यति; आदाय – लिएर; निवर्तते – फर्कन्छ; तस्मात् – त्यसकारणले; दुःखभयात् – दुःखका भयले; न – होइन; अनुकूल – अनुकूल; वेदनीयं – वेदना अनुभव हुने; सुखं – सुखलाई; त्यक्तुं – त्याग्न; उचितम् – उचित; यदि – यदि; कश्चित् – कोही; भीरूः – डरपोक; दृष्टं – देखिएको; सुखं – सुखलाई; त्यजेत् – त्यागोस्; तर्हि – त्यसोभए; स – त्यो; पशुवत् – पशुजस्तै; मूर्खः – मूर्ख; भवेत् – होला
भावार्थ : माछा चाहनेले कत्ला र काँढा सहित नै माछा लिन्छ र चाहिने जति अंश लिएर बाँकी छोडिदिन्छ। त्यसैले दुःख हुन्छ वा होला भन्ने डरले मनलाई अनुकूल लाग्ने सुखलाई छोड्नु उचित हुँदैन। यदि कुनै डरपोक व्यक्ति सम्भावित दुःखको भयले दृष्ट (सामुन्ने देखिएको) सुखलाई त्याग्छ भने त्यो पशुजस्तै मूर्ख हो।
५. लोकसिद्धो भवेद् राजा परेशो नापरः स्मृतः ।
देहस्य नाशो मुक्तिस्तु न ज्ञानान्मुक्तिरिष्यते ।।
शब्दार्थ : लोकसिद्धः – लोकमा सिद्धी भएको (सवैले मानेको); भवेद् – होला; राजा – राजा; परेशः – ईश्वर; न – छैन; अपरः – अर्को; स्मृतः – स्मरण गरिएको; देहस्य – देहको; नासः – नास; मुक्तिः – मुक्ति; तु – त; न – छैन; ज्ञानात् – ज्ञानबाट; मुक्तिः – मुक्ति; ईष्यते – पाइन्छ
भावार्थ : संसारले मानेको राजा नै परमेश्वर हो, अर्को कुनै परमेश्वर छैन । शरीरको नास (मृत्यु) नै मुक्ति हो, ज्ञानले मुक्ति पाइँदैन ।
६. अत्र चत्वारि भूतानि भूमिवार्यनलानिलाः ।
चतुर्भ्यः खलु भूतेभ्यश्चैतन्यमुपजायते ।
किण्वादिभ्यः समेतेभ्यो द्रव्येभ्यो मदशक्तिवत् ।।
शब्दार्थ : अत्र – यहाँ; चत्वारि – चार; भूतानि – तत्त्वहरू; भूमिवार्यनलानिलाः – पृथिवी, जल, अग्नि, र वायु; चतुर्भ्यः – चारबाट; खलु – निश्चय नै; भूतेभ्यः – तत्वहरूबाट; चैतन्यम् – चेतना; उपजायते – उत्पन्न हुन्छ; किण्वादिभ्यः – अन्न आदिहरू; समेतेभ्यः – युक्तभएका; द्रव्येभ्यः – द्रव्यहरूबाट; मदशक्तिवत् – मदिराको शक्ति जस्तै
भावार्थ : यहाँ पृथिवी, जल, अग्नि, र वायु चार तत्त्व छन् । यिनै चार तत्त्वबाट चैतन्य उत्पन्न हुन्छ, जसरी अन्न, शख्खर, वनस्पति, आदि मिसिँदा कुहिएर मदशक्ति उत्पन्न हुन्छ ।
७. अहं स्थूलः कृशोऽस्मीति सामानाधिकरण्यतः ।
देहः स्थौल्यादियोगाच्च स एवात्मा न चापरः ।
मम देहोऽयमित्युक्तिः सम्भवेदौपचारिकी ।।
शब्दार्थ : अहं – म; स्थूलः – ठूलो; कृशः – दुब्लो; अस्मि – छु; इति – यो; सामानाधिकरण्यतः – एउटै समान आधार हुने भएकाले; देहः – शरीर; स्थौल्यादि – मोटोपन आदि; योगात् – योगबाट; च – पनि; स – त्यो; एव – नै; आत्मा – आत्मा; न – होइन; च – पनि; अपरः – अर्को; मम – मेरो; देहः – शरीर; अयम् – यो; इत्युक्तिः – यस्तो भन्नु; सम्भवेद् – सम्भव हुन्छ; औपचारिकी – आलङ्कारिक
भावार्थ : म मोटो छु, म दुब्लो छु भनेर एउटै शरीरलाई भनिने भएकोले र मोटोपन, दुब्लोपन शरीरमै हुने भएकाले (अर्थात्, शरीरलाई नै म भनिएकाले) शरीर नै आत्मा हो । शरीरभन्दा पृथक् अर्को आत्मा छैन । ‘मेरो शरीर’ भन्नु चाहिँ आलङ्कारिक मात्र हो ।
८. अग्निरुष्णो जलं शीतं समस्पर्शस्तथानिलः ।
केनेदं चित्रितं तस्मात् स्वभावात् तद्व्यवस्थितिः।।
शब्दार्थ : अग्निः – आगो; उष्णः – तातो; जलं – पानी; शीतं – चिसो; समस्पर्श – तातो चिसो बराबर भएको; तथा – त्यस्तै; अनिलः – वायु; केन – कसले; इदम् – यो; चित्रितम् – बनाएको हो; तस्मात् – त्यसकारणले; स्वभावात् – स्वभावैले; तद् – त्यो; व्यवस्थितिः – व्यवस्था छ ।
भावार्थ : आगो तातो हुन्छ, पानी चिसो हुन्छ, वायु समस्पर्श (तातो चिसो बराबर हुने) हुन्छ । यो विचित्रता कसले निर्माण गऱ्यो ? कसैले होइन, आ-आफ्नो प्रकृतिले नै यी यस्ता भएका हुन् ।
सात सूत्र
१. सर्वथा लोकायतमेव शास्त्रम् ।
शब्दार्थ : सर्वथा – सबै प्रकारले; लोकायतम् – लोकायत; एव – नै; शास्त्रम् – शास्त्र
भावार्थ : लोकायत (चार्वाक) दर्शन नै सबै दृष्टिले एकमात्र शास्त्र हो ।
२. प्रत्यक्षमेव प्रमाणम् ।
शब्दार्थ : प्रत्यक्षम् – प्रत्यक्ष; एव – नै; प्रमाणम् – प्रमाण
भावार्थ : प्रत्यक्ष नै प्रमाण हो।
३. पृथिव्यप्तेजोवायवस्तत्त्वानि ।
शब्दार्थ : पृथिवी – पृथिवी; अप् – पानी; तेज – तेज; वायुः – वायु; तत्त्वानि – तत्त्वहरू
भावार्थ : पृथिवी, जल, तेज र वायु नै तत्त्वहरू हुन् ।
४. अर्थकामावेव पुरुषार्थौ ।
शब्दार्थ : अर्थकामौ – अर्थ र काम; एव – नै; पुरुषार्थौ – पुरुषार्थ
भावार्थ : अर्थ र काम नै पुरुषार्थ हुन् ।
५. भूतान्येव चेतयन्ति ।
शब्दार्थ : भूतानि – भूतहरू; एव – नै; चेतयन्ति – चेतनावान् हुन्छन्
भावार्थ : चार तत्त्वको मिलनबाटै चेतना उत्पन्न हुन्छ ।
६. नास्ति परलोकः ।
शब्दार्थ : नास्ति – छैन; परलोकः – परलोक
भावार्थ : परलोक छैन ।
७. मृत्युरेवापवर्गः ।
शब्दार्थ : मृत्युः – मृत्यु; एव – नै; अपवर्गः – मोक्ष
भावार्थ : मृत्यु नै मोक्ष हो ।
चार्वाक दर्शनका मान्यताहरूको विवेचना
प्रत्यक्षवाद
यथार्थज्ञान (प्रमा)को मुख्य साधन (करण)लाई प्रमाण मानिन्छ। चार्वाक दर्शनले प्रत्यक्षलाई मात्र प्रमाण मान्छ। इन्द्रिय (चक्षु आदि पाँच ज्ञानेन्द्रिय) र अर्थ (विषय) को सन्निकर्ष (अत्यन्त सामीप्य) बाट उत्पन्न हुने यथार्थ ज्ञान नै प्रत्यक्ष हो (इन्द्रिययार्थ सन्निकर्ष अन्यं ज्ञानं प्रत्यक्षम, तर्कसङ्ग्रह)। प्रत्यक्षबाट जुन ज्ञान प्राप्त हुन्छ त्यो मात्र सही, विश्वसनीय र निश्चयात्मक हुन्छ; त्यसमा भ्रम, शंका र तर्कका लागि कुनै स्थान हुँदैन। त्यसैले प्रत्यक्ष मात्र निर्विवाद रूपले प्रमाण हो भन्ने चार्वाक दर्शनको मान्यता छ। यसले प्रत्यक्षबाट दृष्टिगोचर हुने पदार्थको मात्र अस्तित्व स्वीकार गर्छ।
भारतीय दर्शनमा प्रत्यक्ष बाहेक अनुमान, शब्द आदि विभिन्न प्रमाण मानिन्छन्। तर चार्वाक दर्शनले तिनलाई प्रमाण मान्दैन। ती भ्रम, संशय र अनिश्चयबाट आक्रान्त छन् भन्ने यसको धारणा छ। अनुमानलाई अन्य सबैले निर्विवाद प्रमाण मान्छन् तर चार्वाकका अनुसार त्यो प्रमाण हुन सक्तैन, किनभने अनुमान स्वयंमा कल्पनासँग जोडिएकाले त्यसबाट निश्चयात्मक ज्ञान प्राप्त हुन सक्तैन। अनुमान मिल्न जानु संयोग मात्र हो। (यसले ‘भोलि सूर्य उदाउँछ’ जस्तो लोकसिद्ध अनुमानलाई मात्र निषेध गर्दैन।) चार्वाक र बौद्ध दर्शन बाहेक सबै दर्शनले शब्दलाई प्रमाण मान्छन्। तर शब्दबाट अर्थको अनुमान गर्नु पर्ने भएकाले शब्द पनि अनुमान भन्दा पृथक् होइन, त्यसैले प्रमाण हुन सक्तैन भन्ने चार्वाकको मत छ। शब्दमा अनृत (झूटोपन) व्याघात (आफ्नो कुरा आफैँ काट्ने) र पुनरुक्ति (भइरहेको वा भनिसकेको कुरा दोहोऱ्याउने) जस्ता दोष हुने भएकाले पनि शब्दलाई प्रमाण मान्न सकिँदैन। शब्द प्रमाण नमानेपछि वेदलाई प्रमाण मान्ने कुरै आएन। यसैगरी उपमान, अर्थापत्ति, अनुपलब्धि, समय र ऐतित्द्यलाई पनि चार्वाक दर्शनले प्रमाण मान्दैन।
अवैदिकवाद
प्रत्यक्षलाई प्रमाण मान्ने भएकाले चार्वाक दर्शनले स्वर्ग र परलोकको अस्तित्व स्वीकार गर्दैन। स्वर्ग प्राप्त गर्न धर्म, यज्ञ, पूजापाठ गर्ने कुरालाई र त्यसको विधान गर्ने वेदलाई पूर्णतः अस्वीकार गर्छ। स्वर्ग, नर्क र मोक्षका कुरा अनि चार वर्ण (ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र) र चार आश्रम (ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ, सन्यास) को व्यवस्थालाई निरर्थक मान्छ। यसका अनुसार यी कुराबाट कुनै लाभ छैन, न त कुनै फल नै पाइन्छ। मरेपछि स्वर्ग पाइन्छ भनेर कुनै पनि बुद्धिमान व्यक्तिले जीवनमा दुःख गर्न हुँदैन। त्यसो गर्नु भनेको हत्केलामा रहेको मह नखाएर कुहिनो चाट्नु जस्तै मूर्खता हो। भोलि पाइने मुजूर भन्दा आज पाइने परेवा नै ठीक हो। वेद भाँड, ठग र चोरहरूले बनाएका हुन्, विद्वान्हरूले बनाएका होइनन्। त्यसैले वेदमा भनिएको कुरा पत्याउनु हुँदैन।
भौतिकवाद
चार्वाक दर्शनमा पृथिवी, जल, तेज (अग्नि) र वायु चार तत्त्वको मात्र सत्ता स्वीकार गरिएको छ। अरू दर्शनले जस्तो यसले आकाशलाई तत्त्व मान्दैन। प्रत्यक्षलाई मात्र प्रमाण मानेकाले र आकाशको प्रत्यक्ष नहुने भएकाले यसका अनुसार आकाश तत्त्व होइन। भौतिक तत्त्वलाई मात्र स्वीकार गरेको चार्वाक दर्शन भौतिकवादी अथवा जडवादी मानिन्छ। यसका अनुसार यिनै चार तत्त्वहरूको संयोगले शरीरमा चेतना स्वतः उत्पन्न हुने भएकाले यसको कुनै सृष्टिकर्ता वा प्रदाता (ईश्वर) छैन।
देहात्मवाद
चार्वाक दर्शनले शरीरभन्दा पृथक् आत्माको अस्तित्व स्वीकार गर्दैन। आत्मा अजन्मा, अमरणशील र नित्य हुन्छ भन्ने अन्य दर्शनको मान्यता विपरीत यसले आत्मालाई शरीर जस्तै जन्मने, मर्ने र अनित्य वस्तु मान्छ। चार तत्त्वहरूको संयोगले शरीरमा चेतना वा आत्माको उत्पत्ति हुन्छ र शरीर नष्ट हुँदा यसको पनि नाश हुन्छ भन्ने चार्वाक दर्शनको मान्यता छ। आत्मा अमर हुने भए र मर्दा शरीरलाई छोडेर जाने भए परिवारजन र बन्धुबान्धवको मायाले व्याकुल भएर किन फर्केर आउँदैन त भनेर यसले अन्य दर्शनलाई व्यङ्ग्य गरेको छ।
आत्माका सम्बन्धमा चार्वाक दर्शन अन्तर्गत चार सिद्धान्त अथवा मान्यता पाइन्छन्-
शरीरात्मावाद– यसका अनुसार शरीर नै आत्मा हो। ‘म मोटो छु’, ‘म दुब्लो छु’, ‘म जवान छु’, ‘म वृद्ध छु’, जस्ता व्यवहारले शरीर नै आत्मा हो भन्ने प्रमाणीत हुन्छ भन्ने यसको तर्क छ। शरीरको मृत्यु पछि पनि आत्मा मरेको हुँदैन, स्वर्ग जान्छ भन्ने आदि अन्य दर्शनका मान्यतालाई यसले अस्वीकार गर्दछ।
इन्द्रियात्मवाद– यसका अनुसार इन्द्रियहरू नै आत्मा हो। देख्ने, सुन्ने आदि क्रिया-व्यापारमा मृत्युपर्यन्त साथ सहयोग दिने इन्द्रियहरू बाहेक अर्को कुनै आत्मा छैन भन्ने यसको तर्क छ।
मन–आत्मवाद– यसका अनुसार मन नै आत्मा हो। एक वा अनेक इन्द्रियको अभावमा पनि मनको अस्तित्व रहन्छ, त्यसकारण मन नै आत्मा हो भन्ने यसको मान्यता छ।
प्राण–आत्मवाद– यसका अनुसार मनभन्दा सूक्ष्म तहमा रहेको प्राण नै आत्मा हो। शरीर सञ्चालन गर्ने परम-सूक्ष्म वस्तु प्राण हो र त्यही आत्मा हो भन्ने यसको धारणा छ।
शरीर, इन्द्रिय, मन प्राण जेलाई आत्मा माने पनि शरीरभन्दा पृथक् आत्माको अस्तित्व छैन भन्ने चार्वाक दर्शनको मान्यता हो। ‘मेरो शरीर’, ‘मेरो शिर’, ‘मेरो इन्द्रिय’, ‘मेरो मन’, ‘मेरो प्राण’ जस्ता भनाइले ‘म’ अर्थात् आत्मा शरीरभन्दा बेग्लै रहेको बुझिन्छ भन्ने अरूको तर्कलाई चार्वाकले ‘त्यो आलंकारिक भनाइ मात्र हो’ भनेर अस्वीकार गर्दछ।
अनीश्वरवाद
चार्वाक दर्शनले ईश्वरलाई पूरै अस्वीकार गर्दछ। अन्य विभिन्न दर्शनले ईश्वरलाई संसारको सृष्टिकर्ता मान्दछन् र ईश्वर बिना सृष्टि सम्भव छैन भन्ने तर्क गर्छन् तर चार्वाक दर्शनले सृष्टि स्वतः हुन्छ, यसको कुनै कर्ता छैन भन्ने मान्यता राख्दछ। यसका अनुसार चार तत्त्वहरूको मिलनबाटै यो संसार र यहाँका सम्पूर्ण विषय-वस्तुको सृष्टि हुन्छ, त्यसैले छुट्टै सृष्टिकर्ताका रूपमा ईश्वरको परिकल्पना आवश्यक छैन। सबै कुरा आआफ्नो प्रकृति वा स्वभाव अनुसारका हुन्छन् र तदनुसार नै तिनको उत्पत्ति, स्थिति, सक्रियता र नाश हुन्छ, तिनमा ती-ती गुण वा विशेषता कुनै ईश्वरले प्रदान गरेको नभई स्वतः उत्पन्न भएका हुन् भन्ने चार्वाक दर्शनको निष्कर्ष हो।
सुखवाद
चार्वाक दर्शनले भौतिक सुखभोगलाई नै जीवनको लक्ष्य मानेको छ, त्यसैले ‘काम’लाई मुख्य पुरुषार्थ मानेको छ। कामका निम्ति अर्थ सहायक हुने हुँदा यसले अर्थलाई पनि पुरुषार्थका रूपमा मान्यता दिन्छ। अन्य दर्शनले उत्कृष्ट पुरुषार्थका रूपमा स्वीकारेका धर्म र मोक्षलाई यसले मान्यता दिँदैन। प्रशस्त धनसम्पत्ति कमाउनु र त्यसको स्वेच्छापूर्वक उपयोग गर्दै भोगविलासपूर्ण आनन्दी जीवन व्यतीत गर्नु चार्वाक दर्शनले निर्दिष्ट गरेको जीवनको मार्ग हो। सम्पत्ति आर्जन गर्न, यौनाचारमा लिप्त हुन र भोगविलास गर्न यसले कुनै पनि किसिमको नैतिक वा अन्य बन्धन स्वीकार्दैन। सही-गलत जुन उपायबाट भए पनि सम्पत्ति आर्जन गर्नु र स्वेच्छापूर्वक सुखमय जीवन बिताउनु चार्वाक दर्शनको सार हो जसलाई सुखवाद पनि भनिन्छ। आफूसँग पैसा छैन भने ऋण लिएर भए पनि मोजमज्जा गर्न पछि नहट्नू भन्ने निर्देश मात्र यसले दिँदैन, ऋण लिने बेलामा तिर्न सकिन्छ कि सकिँदैन भन्ने चिन्ता नगर्नू भन्ने सन्देश पनि दिन्छ। तिर्न सकिँदैन भन्ने थाहा भए पनि ऋण लिएर जीवनमा मोजमजा गरिहाल्नू किनभने मरेपछि मोजमजा गर्न पाइँदैन र मरिसकेपछि फेरि फर्केर ऋण तिर्नु पर्दैन भन्ने चार्वाकको स्पष्ट सन्देश छ। पूर्ण स्वतन्त्रता सहितको उन्मुक्त जीवनशैली यसको आदर्श हो। स्वच्छन्दतापूर्वक खानु, पिउनु र कामाचरण तथा अन्य सुखभोग गर्नुलाई जीवनको सार्थकता मान्ने चार्वाक दर्शनले भन्छ – जिन्दगीमा जे मन लाग्छ, खाऊ पिऊ र स्वेच्छापूर्वक भोगविलास गर। अतीत फर्कने होइन, शरीर पनि मृत्यु भएपछि फर्कनेवाला छैन।
भोगबाट हुने सुख क्षणिक छ त्यसैले यो मिथ्या हो र त्याज्य छ भन्ने धेरै दार्शनिकहरूको मान्यता छ। चार्वाक त्यसमा सहमत छैनन्। उनी के भन्छन् भने क्षण स्वयंमा मिथ्या वस्तु होइन, त्यसैले भोग-विलास र त्यसबाट प्राप्त हुने आनन्दलाई मिथ्या भन्न सकिँदैन। कुनै कुरा क्षणिक छ भन्दैमा त्यसको महत्त्व कम हुँदैन। तलाउमा फुल्ने कमलको तुलनामा तलाउ बाहिरको ढुङ्गाको आयु धेरै लामो हुन्छ तर कुनै पनि बुद्धिमानले कमललाई तिरस्कार गरेर ढुङ्गालाई आदर गर्दैन। सुखसँग दुःख गाँसिएको हुन्छ। विशुद्ध सुख भन्ने कुरा हुँदैन त्यसैले सुखका पछि लाग्नु हुँदैन भन्ने कतिपय दार्शनिकको कुरासँग पनि चार्वाकको सहमति छैन। यस दर्शनले भन्छ- धानमा भूस पनि हुन्छ भनेर कसैले धान फलाउन छोड्दैन, पशुहरूले खाइदेलान् भन्ने डरले खेती गर्न छोड्दैन, कत्ला र काँढा छन् भनेर माछा खान छोड्दैन। सुखसँग दुःख मिसिएको हुन्छ भनेर सुखको त्याग गर्नु मूर्खता हो, बुद्धिमानले दुःखको अंश जति त्याग गरेर सुख ग्रहण गर्नु पर्दछ।
चार्वाक दर्शनको निष्कर्ष छ- सुन्दरी युवतीहरूसँगको कामक्रीडा, राम्रा वस्त्र र अलंकारको धारण, स्वादिष्ट वस्तुहरूको भोजन नै स्वर्ग हो; शत्रुका हतियारबाट घाइते हुनु नै नरक हो; अनि प्राण जानु नै मोक्ष हो। अतीत बितेर गइसक्यो, भविष्य अनिश्चित छ, त्यसैले वर्तमानमा स्वेच्छापूर्वक सुखभोग गर्नु नै जीवनको सार्थकता हो।
निष्कर्ष
चार्वाक दर्शनको ज्ञान सम्बन्धी सिद्धान्तलाई प्रत्यक्षवाद, तत्त्व सम्बन्धी सिद्धान्तलाई जडवाद वा भौतिकवाद र नैतिकता एवं जीवन-व्यवहार सम्बन्धी सिद्धान्तलाई यदृच्छावाद भनिन्छ। सूत्ररूपमा भन्नुपर्दा यस दर्शनले प्रत्यक्षलाई मात्र प्रमाण मान्छ, पृथिवी-जल-तेज-वायु चारवटा मात्र तत्त्व मान्छ, यिनै चार तत्त्वबाट चेतनाको उत्पत्ति हुने मान्छ, काम र अर्थलाई मात्र पुरुषार्थ मान्छ, स्वर्ग वा परलोकलाई मान्दैन, शरीरभन्दा भिन्न आत्मा स्वीकार गर्दैन, मृत्युलाई मोक्ष मान्छ, अनि भौतिक समृद्धि र कामाचार सहितको बन्धनहीन सुखभोगलाई नै जीवनको लक्ष्य र सफलता मान्छ। ईश्वर, आत्मा र परलोकलाई नमान्ने र वेदको निन्दा गर्ने भएकाले यसलाई नास्तिक दर्शन मानिन्छ। चार्वाकका तर्क अत्यन्त कडा, धारिला, स्पष्ट, लोकले तत्काल स्वीकार्ने र खण्डन गर्न गाह्रो पर्ने खालका छन्। तर धर्म र आचारका कुनै पनि किसिमका बन्धन र वर्जनाबाट पूर्णतः मुक्त रहेर धन कमाउने र उन्मुक्त भोगविलास गर्ने व्यक्तिवादी जीवनशैलीको पक्षधर देखिएकाले र नैतिक-सामाजिक मूल्यमान्यतालाई बेवास्ता गर्ने भएकाले धेरैजसो भारतीय दार्शनिकहरूले चार्वाक मतको निन्दा गरेका छन्।
आजको दुनियाँले, खासगरी विकसित देशहरूले अँगालेको आर्थिक व्यवस्था र जीवनशैली चार्वाक दर्शन अनुरूप देखिन्छ। धर्म र मोक्षलाई पूरै नकारिएको छ, काम र अर्थलाई अर्थात् जसरी हुन्छ धन आर्जन गर्नु र जसरी मन लाग्छ सुखभोग गर्नुलाई नै जीवनको पुरुषार्थ मानिएको छ। त्यसमा पनि पहिले धन कमाएर त्यसबाट सुखभोग गर्नु भन्दा ऋण लिएर सुखभोग गर्ने प्रवृत्ति नै आज व्यापक, सशक्त र जीवनशैलीको मूलधार बनेको छ। पाएसम्म ऋण लिँदै जाऊँ र त्यसबाट थप धन सङ्ग्रह तथा भोगविलास गर्दै जाउँ भन्ने आम प्रवृत्ति बनेको छ भने आधुनिक अर्थनीति पनि यसै अनुकूल अघि बढेको देखिन्छ। धर्म, परलोक, ईश्वर, धर्मग्रन्थ, नैतिकता जस्ता कुरामाथि विश्वास नगर्ने, ‘सम्पूर्ण स्वतन्त्रता’ चाहने र अनियमित सुखभोगलाई नै जीवनको लक्ष्य एवं उपलब्धि ठान्ने आजको प्रवृत्ति विशुद्ध चार्वाक दर्शनको अनुशरण मात्र हो। ‘ऋण लिएर भए पनि घीउ पिऊ’ को बाटोमा त दुनियाँ लागेको छ तर यसले अन्ततः दुनियाँलाई कुन स्थितिमा र कहाँ पुऱ्याउला भन्नेबारे कसैले गम्भीर भएर ध्यान दिएको देखिँदैन। चरित्र, संस्कार र नैतिकतालाई उपेक्षा गर्ने यस बाटोले मानव-समाजको अवमूल्यन गर्दछ, समाजको आत्मालाई मार्दछ र समाजलाई पतनतर्फ डोऱ्याउँदछ भनेर नै अन्य भारतीय दर्शन र दार्शनिकहरूले यसको निन्दा गरेका र यसलाई अस्वीकार गरेका हुन्।
कृतज्ञताज्ञापन
हामी भवानीप्रसाद मिश्रका साथै यस लेखका दुई जना अज्ञात विज्ञहरूप्रति उहाँहरूले दिनुभएको गुणस्तरीय सुझावका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। यस लेखमा अन्य त्रुटिहरू रहेका खण्डमा हामी लेखकहरू नै जिम्मेवार छौँ।
सन्दर्भ सामग्रीसूची
अन्नम्भट्ट (२०१२), तर्कसङ्ग्रह, मोतीलाल बनारसीदास ।
झा,,आनन्द (१९६९), चार्वाक दर्शन, हिन्दी समिति, उत्तर प्रदेश ।
प्रभात, विष्णु (सं.) (२०७०), दर्शनावली, नेपाल प्रज्ञा प्रतिष्ठान ।
भट्ट, जयराशि (२०७०), तत्त्वोपप्लवसिंह, अनु. – काशीनाथ न्यौपाने, नेपाल प्रज्ञा प्रतिष्ठान ।
मनु (२०६१), मनुस्मृति, चौखम्बा कृष्णदास एकेडेमी ।
माधवाचार्य (२०२१), सर्वदर्शनसङ्ग्रह, चौखम्बा विद्याभवन ।
साङ्कृत्यायन, राहुल (सन् २०१५), दर्शन दिग्दर्शन, किताब महल ।
सिंह, बद्रीनाथ (१९८३), भारतीय दर्शन, स्टूडेन्ट्स फ्रेन्ड्स एन्ड कम्पनी ।
सूरि, हरिभद्र (२०७३), षड्दर्शनसमुच्चय, नेपाल प्रज्ञा प्रतिष्ठान ।
[1] यहाँ प्रयोग गरिएको ‘भारतीय’ शब्दको आशय वर्तमान राजनीतिक भारत देश नभएर प्राचीन भारतवर्ष वा दक्षिण एशियाली भूखण्डसँग सम्बन्धित छ।
[2] कतिपयले यी देवगुरु बृहस्पति नभएर आंगिरस बृहस्पति हुन् भनेका छन्।
[3] यो अर्थशास्त्र/शासन सञ्चालन सम्बन्धी यस्तै नामको अर्थ ग्रन्थभन्दा फरक ग्रन्थ हो।
[4] ती तीन भिन्न भिन्न स्रोत ग्रन्थहरूमा भएका सम्पूर्ण सूक्तहरूको नभई हामीले हाम्रो विचारमा कुनै पूर्वाग्रह नलिई यस लेखको उद्देश्य प्राप्तिका लागि आवश्यक सूक्तहरूको मात्र उद्धरण गरेका छौँ।