दोस्रो विश्वयुद्धको अन्त्यसँगै बेलायतीहरूले भारत छोडेपछि अनुसन्धानमूलक लेखनशैलीका लागि अमेरिकन साइकोलोजिकल एसोसिएसन (APA), मोडर्न ल्याङ्ग्वेज एसोसिएन (MLA) र युनिभर्सिटी अफ सिकागो गरी तीन पद्धतिहरूको प्रचलन संसारभरि नै बढेको छ र यसको प्रभाव नेपाल र नेपालीहरूको माध्यम भाषाका रूपमा रहेको नेपाली, संस्कृतलगायत देवनागरी लिपिमा लेखिने जुनसुकै भाषामा पनि परेको छ।
दोस्रो विश्वयुद्धको अन्त्यसँगै बेलायतीहरूले भारत छोडेपछि अनुसन्धानमूलक लेखनशैलीका लागि अमेरिकन साइकोलोजिकल एसोसिएसन (APA), मोडर्न ल्याङ्ग्वेज एसोसिएन (MLA) र युनिभर्सिटी अफ सिकागो गरी तीन पद्धतिहरूको प्रचलन संसारभरि नै बढेको छ र यसको प्रभाव नेपाल र नेपालीहरूको माध्यम भाषाका रूपमा रहेको नेपाली, संस्कृतलगायत देवनागरी लिपिमा लेखिने जुनसुकै भाषामा पनि परेको छ। खास गरी नेपाली भाषामा लेखिने गरेका अनुसन्धान प्रतिवेदन एवम् अनुसन्धानमूलक लेखहरूमा पनि एपीए वा एमएलए वा सिकागो युनिभर्सिटी आदि संस्थाहरूले विकास गरेका अनुसन्धान लेखनशैलीका विधिहरूलाई अनुसरण गरेको पाइन्छ। तर यी तीनैओटा लेखन शैलीका विधिहरू भने नेपाली अनुसन्धानमूलक लेखहरूमा हुबहु लागू हुन सक्दैनन्।
यहाँ विचार गर्नुपर्ने कुरा यो छ कि बेलायत, चीन, जापान, भारत आदि देशका आआफ्ना विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरूले आआफ्नै ढाँचाका लेखन शैलीको विकास गरी त्यसको प्रयोगको निरन्तरतालाई पनि कायम राखेका छन्। तर नेपालमा भने २०१४ सालमा स्थापना भएको (तत्कालीन नेपाल एकेडेमी – नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान) नेपाल प्रज्ञा प्रतिष्ठान, २०१६ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालय र यसअन्तर्गतका चारओटा अनुसन्धान केन्द्रहरू – आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा), व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट), एसियाली अध्ययन केन्द्र (सिनास) र शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड), एवं २०४३ सालमा स्थापना भएको नेपाल संस्कृत विश्वविद्यालय, नेपालका सबै विश्वविद्यालयहरूको छाता संगठनका रूपमा रहेको विश्वविद्यालय अनुदान आयोगलगायतका नेपालमा भएका अनुसन्धान केन्द्रहरूले उक्त भाषाहरूमा गरिने अनुसन्धानका निम्ति उपयोगमा आउने मौलिक लेखन पद्धतिको हालसम्म पनि विकास गर्न सकेका छैनन्।
यस सन्दर्भमा पं. श्री लोकनाथ लुइटेल स्मृति-प्रतिष्ठानले देवनागरी लिपिमा लेखिने संस्कृत, नेपालीलगायतका भाषाका सिर्जनाहरूको मौलिकता कायम राख्न उपयोगी हुने नेपाली पब्लिकेसन म्यानुअलको विकास गर्न मिति २०७९ साल साउन १४ गते एक उपसमितिको गठन गरेको थियो, जो यस प्रकार रहेको छ :
संयोजक – डा. यज्ञेश्वर निरौला, सहप्राध्यापक (नेपाली), त्रिभुवन विश्वविद्यालय, रत्नराज्यलक्ष्म क्याम्पस, काठमाडौँ ।
सदस्य – डा. अमृत कुमार श्रेष्ठ, सहप्राध्यापक (राजनीतिशास्त्र), त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौँ ।
सदस्य – डा. सागरमणि सुवेदी, प्राध्यापक (संस्कृत साहित्य), नेपाल संस्कृत विश्वविद्यालय, पिण्डेश्वर विद्यापीठ, धरान ।
सदस्य – डा. हरिशरण लुइटेल, सहप्राध्यापक (अर्थशास्त्र), अल्गोमा युनिभर्सिटी, क्यानाडा ।
सदस्य – भवानीप्रसाद मिश्र, उपप्राध्यापक (न्यायदर्शन), नेपाल संस्कृत विश्वविद्यालय, जनता विद्यापीठ, दाङ ।
यस समितिले त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, नेपाल प्रज्ञा प्रतिष्ठानजस्ता राष्ट्रिय संस्थाहरूसँग समन्वय गरी आफ्नो कार्य अघि बढाइसकेको छ। विशेष गरी यस समितिका संयोजकले त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय एवं नेपाल प्रज्ञा प्रतिष्ठानका विशिष्ट पदाधिकारीहरू समक्ष २०८० साउन ३१ गते समितिको तर्फबाट “अनुसन्धान शैलीमा एकरूपताका सम्भावनाहरू” नामक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। आगामी ६ महिनाभित्रमा नेपाली पब्लिकेसन म्यानुअल तयार हुने हामीलाई विश्वास छ र पं. श्री लोकनाथ लुइटेल स्मृति-प्रतिष्ठानले त्यसको प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गर्दै लोकदर्पणको यो अङ्क हामीहरूले यहाँहरू समक्ष प्रस्तुत गरेका छौँ।
सम्पादक मण्डल