प्रस्तुत लेखमा दर्शनशास्त्रमा प्रसिद्ध कथाको स्वरूपलाई भिन्न-भिन्न दार्शनिकहरूले के-कसरी प्रतिपादन गरेका छन् ? त्यसको वास्तविक स्वरूप के हो ? लोकमा यसको उपयोगिता के छ ? भन्ने सन्दर्भलाई लिएर दर्शनशास्त्रमा प्रसिद्ध कथाको स्वरूपलाई विविध कोणबाट हेर्दै त्यसको उपयोगिताको चिन्तन यस आलेखमा गरिएको छ।
लक्ष्मण आचार्य
उपप्राध्यापक, न्यायविभाग,
ने.सं.वि., वाल्मीकि विद्यापीठ, काठमाडौँ
इमेल : laxmanac.42@gmail.com
लेखसार
प्रस्तुत लेखमा दर्शनशास्त्रमा प्रसिद्ध कथाको स्वरूपलाई भिन्न-भिन्न दार्शनिकहरूले के-कसरी प्रतिपादन गरेका छन् ? त्यसको वास्तविक स्वरूप के हो ? लोकमा यसको उपयोगिता के छ ? भन्ने सन्दर्भलाई लिएर दर्शनशास्त्रमा प्रसिद्ध कथाको स्वरूपलाई विविध कोणबाट हेर्दै त्यसको उपयोगिताको चिन्तन यस आलेखमा गरिएको छ। गुणात्मक ढाँचामा तयार गरिएको उक्त लेखमा निगमनात्मक विधिको उपयोग गरिएको छ। सामग्री सङ्कलनका लागि मुख्य रूपमा पुस्तकालयलार्इ आधार बनाइएको छ भने केही पत्रपत्रिका पनि सामग्री सङ्कलमा सहयोगी भएका छन्। वर्तमानमा प्रचलित एपिए पद्धतिका आधारमा विषयवस्तुको व्यवस्थापन गरिएको छ। यसका साथै व्याख्या, विश्लेषण गरेर कथाका तीन स्वरूप – वाद, जल्प र वितण्डा र यिनीहरूका अधिकारीसमेतको चर्चा गरिएको छ। वर्तमानमा सामाजिक व्यवहारमा पनि वस्तुतत्त्वको निर्णयका लागि कथास्वरूपको अध्ययनबाट निश्चयात्मक ज्ञान प्राप्त हुन्छ र अहिलेको न्यायप्रणालीमा पनि विशिष्ट रूपमा यसको उपयोगिता छ भन्ने कुराको निष्कर्ष यस आलेखबाट निकालिएको छ।
शब्दकुञ्जी – कथा, वाद, जल्प, वितण्डा, तत्त्वनिर्णय
विषय परिचय
तर्कप्रणालीसँग आबद्ध भएका पौरत्स्य दर्शनशास्त्रसँग सम्बद्ध ग्रन्थहरूमा आ-आफ्ना मुख्य प्रतिपाद्य विषयवस्तुहरूको प्रतिपादनसँगै कुनै न कुनै रूपमा थोरै भए तापनि कथानामले प्रसिद्ध भएका वाद, जल्प र वितण्डाको निरूपण गरेको अवश्य नै पाईन्छ। विशेषतः पछिल्लो समयमा प्रमेय प्रधान अध्यात्मशास्त्रले परिचित वेदान्तशास्त्रका वादग्रन्थहरूमा समेत यसको निरूपण गरेको देख्न सकिन्छ ।
दर्शनशास्त्रमा कथाको उपयोग तत्त्वको निर्णय र विधर्मीहरूबाट आफ्नो शास्त्रको संरक्षणका निम्ति नै भएकोले विशेष गरी न्याय-बौद्ध-जैनआदि दर्शनहरूमा यसको निरूपण व्यापक नै गरिएको पाईन्छ। किनकि यी सबै तर्कप्रधान दर्शनहरू हुन् र यी दर्शनहरूको बीचमा आ-आफ्नो सिद्धान्तलाई लिएर स्वपक्षको स्थापना र परपक्षको निराकरणका लागि परस्परमा लामो सङ्घर्ष पनि चलेको देखिन्छ। यिनीहरू बीचको सङ्घर्ष धेरै लामो समयसम्म चलेको थियो भन्ने कुरा यी दर्शनका ग्रन्थहरूलाई हेरेर सहजै अनुमान गर्न सकिन्छ।
विशेष गरी वैदिक र अवैदिक यी दुई धारमा बाडिएका न्याय, वैशेषिक आदि दर्शनहरूका आचार्यहरूमा र जैन-बौद्ध दर्शनआदिका आचार्यहरूमा आआफ्नो सिद्धान्तको स्थापनालाई लिएर लामो सङ्घर्ष चलेको छ। कुनै समयमा शास्त्रार्थ हुँदा जसले जित्दथ्यो उसको मतलाई स्वीकार गर्नुपर्ने बाध्यकारी परिस्थिति रहेकोले शास्त्रार्थमा जित्नैका लागि पनि शास्त्रार्थ हुने गर्दथ्यो। शास्त्रार्थका आफ्नो एउटा नियम हुन्छ, जसमा विभिन्न विचारहरू विद्वान्हरूद्वारा प्रकटित हुन्छन्। विद्वान्हरूद्वारा प्रकटित ती ती विभिन्न शास्त्रीय विचारहरू जहाँ हुन्छन्, त्यसलाई नै शास्त्रको भाषामा कथा भनिन्छ। अतः कथाका सन्दर्भमा शास्त्रमा कथाको स्वरूप कस्तो बताइएको छ ? र वर्तमान युगमा समेत कथाको उपयोगिता के रहन सक्दछ भन्ने सन्दर्भमा यस आलेखलाई अगाडी बढाउने प्रयास गरिएको छ।
समस्या कथन
दर्शनशास्त्रमा प्रतिपादित कथाको स्वरूपलाई लिएर अनेक विद्वान्का अनेक परिभाषा रहेका देखिन्छन्। विशेष गरी तर्कप्रधान रहेको न्यायबौद्धादिग्रन्थमा यसको स्वरूपलाई कसरी प्रस्तुत गरिएको छ ? र त्यसको लोकोपयोगिता के छ ? भन्ने मुख्य प्रश्न नै यस आलेखमा समस्याका रूपमा रहेको छ।
उद्देश्य
उपर्युक्त समस्याको समाधान प्राप्त गर्नु नै यस आलेखको प्रमुख उद्देश्य हो। अतः तर्कप्रधान न्यायबौद्धादिग्रन्थमा प्रतिपादित कथाको स्वरूप प्रस्तुत गर्नु र त्यसको लोकोपयोगिता देखाउनु नै यस आलेखको प्रमुख उद्देश्य रहेको छ।
अध्ययन विधि
प्रस्तुत लेख गुणात्मक ढाँचामा तयार गरिएको छ । यस आलेखमा प्रस्तुत विषय दर्शनशास्त्रसँग सम्बन्धित भएकोले निगमनात्मक विधिका आधारमा विषयको विश्लेषण यहाँ प्रस्तुत गरिएको छ । सामग्री सङ्कलनका लागि पुस्तकालयको उपयोग गरिएको छ । यहाँ विशेष गरेर न्यायदर्शनका मूल ग्रन्थहरू र विशिष्टाद्वैत दर्शनका पनि कतिपय ग्रन्थहरूलार्इ प्राथमिक सामग्री श्रोतका रूपमा लिइएको छ भने टीकोपटीका ग्रन्थहरू, पत्रपत्रिकाहरू पनि सामग्रीको श्रोतका रूपमा समाविष्ट छन् । उक्त ग्रन्थहरूबाट तथ्याङ्क सङ्कलन गरिएको छ भने सङ्कलित सामग्रीलार्इ व्याख्या, विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।
सैद्धान्तिक पर्याधार
यस आलेखमा पूर्वीय दर्शनका आधारमा कथाहरूको विश्लेषण गरिएको छ । पूर्वीय दर्शनमा पनि न्याय, वैशेषिकादि वैदिक दर्शन र बौद्धादि अवैदिक तर्कप्रधान दर्शन हुन् । तर्कसहकृत प्रमाणद्वारा प्रमेयसिद्धि हुने दार्शनिक व्यवस्था छ । तदनुरूप यहाँ पनि कथाको विषयमा विभिन्न दार्शनिकहरूका मतहरू प्रस्तुत गरिए पनि मुख्य रूपमा न्याय दर्शनका आधारमा कथाहरूको सङ्ख्या, स्वरूप, कथाका अधिकारी, कथाको उपयोगिता आदिका विषयमा चर्चा गरिएको छ । अतः यो लेख निर्माणको मुख्य सैद्धान्तिक आधार न्यायदर्शनको सिद्धान्त नै हो ।
विषय विश्लेषण
कथाका तीन रूप– वाद, जल्प र वितण्डा
वस्तुतत्त्वको निर्णयमा वादकथाले प्रमुख स्थान प्राप्त गर्दछ किनकि तत्त्वबुभुत्सुका बीचमा हुने संवादलाई नै वाद भनिन्छ। यसमा कसैको जय-पराजयको प्रसङ्ग रहँदैन। जब वादसँगै विजयको इच्छा जोडिन्छ, तब त्यहाँ जल्पकथाले स्थान प्राप्त गर्दछ। जल्प के हो त ? त्यसको स्वरूप कस्तो हुन्छ ? भन्ने प्रश्न हुदा दार्शनिकहरूले त्यसको पनि निरूपण गरेका छन्। जहाँ विद्वेषका कारणले या अन्य कुनै कारणवश केवल अर्काको मतको खण्डन गर्ने मात्र प्रयोजन हुन्छ, त्यहाँ वितण्डारूपी कथाले स्थान प्राप्त गर्दछ। त्यहाँ अन्यपक्षको खण्डन मात्र हुन्छ, आफ्नो मतको स्थापना हुँदैन। त्यस प्रकारको कथालाई नै वितण्डा भन्ने गरिन्छ। यसरी भिन्न भिन्न प्रयोजनले यी तीनओटैको प्रयोग वादी प्रतिवादिले परस्परमा गर्ने गर्दछन्। यिनै वादि-प्रतिवादिले प्रयोग गर्ने वादादिकथाहरूको शास्त्रमा बताइएका लक्षण अर्थात् स्वरूप र उपयोगिताको निरूपण गर्ने क्रममा प्रथमतः कथा भनेको के हो ? वाद आदिको लक्षण कुन कुन दर्शनमा कस्तो कस्तो प्रकारले गरिएको छ ? यिनीहरूको लक्षण, प्रवृत्तिको प्रकार आदिको निरूपण गर्ने प्रयास यस आलेखमा गरिएको छ ।
कथाको लक्षण, अधिकारी र त्यसका अङ्गहरू
कथाको लक्षणलाई तर्कभाषाकार केशव मिश्रले यसरी प्रस्तुत गरेका छन्- कथा तु नानावक्तृकपूर्वोत्तरपक्षप्रतिपादकवाक्यसन्दर्भः (सन् २००३, पृ. ५८९) । जब कुनै सभा, गोष्ठीआदिमा अनेक विद्वान्हरूका बीच कुनै एउटा विषयमा विचारविमर्श चल्दछ, त्यो तत्त्वनिर्णयका लागि होस् या आफ्नो पक्षलाई मनाउनका लागि, या केवल अर्कालाई परास्त गर्नका लागि होस्, त्यो समग्र विचारविमर्शको नाम नै कथा हो। त्यो कथा वाद, जल्प र वितण्डाको भेदले तीन प्रकारको हुन्छ। त्यही भएर वादो जल्पो वितण्डेति त्रिविधा विदुषां कथा भनेर कथाको स्वरूपका सन्दर्भमा सुनिन्छ। न्यायभाष्यकार वात्स्यायनले तिस्रः कथा भवन्ति, वादो जल्पो वितण्डा च (सन् १९९८, पृ. ६८) भनेर स्पष्ट रूपमा वाद, जल्प र वितण्डालाई कथा शब्दले उल्लेख गरेका छन्। चतुर्वेदी श्रीरामचन्द्राचार्यले वादजल्पवितण्डास्वरूपम् भन्ने आलेखमा कथाको लक्षण गर्दै अनेकविद्वत्कर्तृको विचारगोचरो वाक्यप्रबन्धः कथा अर्थात् अनेक विद्वान्हरूका बीचमा कुनै एक विषयमा विभिन्न दृष्टिहरूको प्रदर्शन जुन वाक्यसमूहद्वारा गरिन्छ, त्यस वाक्यसमूहलाई नै कथा भनिन्छ भनेर उल्लेख गरेका छन् (सारस्वती सुषमा, सन् २०२४, पृ. २९१) ।
यसरी समग्रमा विद्वान्हरूको बीचमा हुने विचारप्रधान संवादलाई कथा भनेर बुझ्न सकिन्छ। कुनै पनि विषयवस्तुलाई लिएर संवादका माध्यमबाट गरिने चिन्तन नै कथा हो। त्यो कथा मुख्य रूपमा वादरूप भए तापनि अवस्था विशेषमा उसले विभिन्न रूपलाइ धारण गर्दछ। त्यो विभिन्न रूप भनेकै जल्प र वितण्डा रूप हुन्।
पूर्वमा नै यो सङ्केत गरिसकियो कि- केवल तत्त्वज्ञानका दृष्टिले विषयवस्तुको चिन्तन गर्ने हो कि ? त्यसमा अझै विजयको पनि स्वार्थ लुकेको छ कि ? अथवा खुल्लमखुल्ला जय पराजयको निमित्त नै शास्त्रार्थ या वाक्यार्थको आयोजना गरेर विषयवस्तुको चिन्तन या प्रतिपादन गर्ने हो ? अथवा केवल खण्डनमात्र प्रयोजन हो ? यी विभिन्न प्रकारहरूलाई ध्यानमा राखी विषयवस्तुको चिन्तन या प्रतिपादनका सन्दर्भमा हुने संवादले यी तीन रूप धारण गरेको हुन्छ। यदि केवल तत्त्वज्ञानका दृष्टिले वादविवादात्मक संवाद भएको छ भने उक्त वादविवादात्मक वाक्यप्रबन्धरूपी संवाद वादरूपात्मक हुन जान्छ भने जयको उद्देश्यले वादविवाद चलेमा त्यो वाक्यप्रबन्ध ले जल्परूपलाई प्राप्त गर्दछ। अर्थात् उक्त वाक्यप्रबन्ध जल्परूपात्मक हुन पुग्दछ। त्यसदेखि पनि भिन्न केवल परमतको खण्डनमा मात्र संवाद पर्यवसान भएमा त्यो वाक्यप्रबन्ध वितण्डात्मक हुन पुग्दछ। यसरी एउटै कथा भन्ने वाक्यप्रबन्धरूप वस्तुमा फरक फरक उद्देश्य जोडिदा उसले भिन्न भिन्न रूप धारण गरेको हो। यसलाई वाद, जल्प र वितण्डाको रूपमा शास्त्रमा दर्शाइएको छ।
शास्त्रज्ञका लागि त वाद-जल्पादि कथाको मुख्य प्रयोग तत्त्वको निर्णय र शास्त्रको संरक्षणका निम्ति नै हो। त्यसैका लागि यसको प्रयोग हुनुपर्दछ पनि भनेर न्यायसूत्रकारले स्पष्ट नै सङ्केत गरेका छन्, तर कहिलेकाहीँ शास्त्रज्ञका लागि पनि तत्त्वनिर्णयका अतिरिक्त सिद्धान्तस्थापनाको आग्रह मात्रले कथाको प्रयोग हुने भएकाले यिनीहरूको प्रयोग के-कसरी गरिनुपर्दछ भन्ने कुराको ज्ञान शास्त्रज्ञलाई अपरिहार्य छ। यसको प्रयोगमा केही नियमहरू निर्दिष्ट हुन्छन्। ती नियमहरूमा बसेर मात्र यसको प्रयोग गर्नुपर्दछ भन्ने वैदिक दार्शनिकहरूको बाटो हो। यसरी स्वसिद्धान्तको स्थापनामा विजयकाे इच्छा गर्ने व्यक्तिले जसरी पनि आफ्नो जयको इच्छा राख्ने हुँदा अस्वस्थ स्पर्धा पनि गर्न सक्दछ। त्यो भनेको उसले आफ्नो बुद्धिकौशलको प्रयोग गरी छलादिको पनि प्रयोग गरी विजय हासिल गर्न सक्दछ तर उसले पनि कथानियमको पालना भने अवश्य गरेको हुनुपर्दछ। यसमा यसरी संवाद चलिरहदा उक्त संवादले जल्पकथाको स्वरूपलाई प्राप्त गर्दछ। यो सर्वमान्य निर्णय हो। नियममा रही चलेको कथाप्रसङ्ग नै विशुद्ध तत्त्वनिर्णयका निम्ति भएमा वादकथा कहलाउँदछ भने त्यही कथाप्रसङ्गमा विजयेच्छा जोडिन पुग्यो भने त्यहाँ वादमा लागुहुने नियमका अतिरिक्त छलनिग्रहस्थानादिको पनि प्रयोग हुन पुग्दछ र त्यसकथाले जल्पको स्वरूपलाई प्राप्त गर्दछ।
यसरी तत्त्वनिर्णय र विजय यी दुई मध्ये कुनैको पनि चाहना गर्ने, सर्वजनसिद्ध अनुभवलाई म मान्दिन भनेर नभन्ने, परस्परमा कलह नगर्ने, अर्काको कुरा सुन्नमा चतुर र आफ्नो पक्षको उपस्थापनमा समर्थ व्यक्ति नै कथाको वास्तविक अधिकारी मानिन्छ। कथाले भिन्न अवस्थामा वितण्डाको रूप धारण गरे तापनि वैतण्डिक वास्तवमा कथाको वास्तविक अधिकारी मानिँदैन।
कथाका अङ्गहरूका सन्दर्भमा वेङ्कटाचार्यले न्यायपरिशुद्धि ग्रन्थमा त्यसको चार प्रकार बताएका छन्। सभ्यानुविधेः संवरणम्, वादिप्रतिवादिनियमः, कथाविश्लेषव्यवस्था, निरूप्यनिर्णयः (सन् २००३, पृ. १३४) । उनीभन्दा पूर्वका आचार्य वरदविष्णुले जल्पः चतुरंगः भनी कथाका चार अङ्ग बताएका छन् भनेर स्वयं नै पूर्वाचार्यको पङ्क्तिलाई उद्धरणका रूपमा उनी प्रस्तुत गर्दछन् तर वादकथाका सन्दर्भमा भने सभ्यादिसंवरणको निर्बन्ध अनिवार्य हुँदैन अर्थात् कथाको अन्तमा सभापति जय या पराजयको उद्घोषक हुने, उसले पूर्वमा निर्धारण गरेको विषयलाई वादि-प्रतिवादिले मान्नुपर्ने, कुन-कुन निग्रहस्थानाादिको उद्भावन गर्न पाइने/नपाइने इत्यादि विविध नियममा रहनुपर्ने व्यवस्थाको निर्बन्ध वादकथामा हुँदैन किनकि वीतरागी व्यक्तिमात्र वादकथाको अधिकारी भएकाले छलनिग्रहस्थानादिको सम्भावना त्यहाँ रहँदैन। जल्पमा भने उक्त चार घटक अङ्ग अवश्य स्वीकरणीय हुन्छन् किनकि जल्पको प्रयोग नै विजयेच्छाद्वारा प्रवृत्त हुने हुँदा त्यहाँ छलनिग्रहस्थानादिले स्थान प्राप्त गरेका हुन्छन्। त्यस अर्थमा नै जल्प चतुरङ्ग भनेका हुन् वरदविष्णुले। यसको समर्थन वेङ्कटेशाचार्यले पनि गरेका छन्।
कथाको स्वरूप कस्तो हुनुपर्दछ भन्ने सन्दर्भमा वेङ्कटेशाचार्यले आफ्नो न्यायपरिशुद्धि भन्ने ग्रन्थमा कथास्वरूपको निरूपण अतिस्पष्टताका साथमा गरेको पाइन्छ।
वादकथाको लक्षण र अधिकारी
गौतम महर्षिले आफ्नो न्यायसूत्रमा वादकथाको लक्षण यसप्रकार गरेका छन्- प्रमाणतर्कसाधनोपालम्भः सिद्धान्ताविरूद्धः पञ्चावयवोपपन्नः पक्षप्रतिपक्षपरिग्रहो वादः (सन् १९९८, पृ. ६८)। यस लक्षणमा वादलाई चारओटा विशेषणले संयोजित गरिएको छ। यस वादको लक्षणमा मुख्यतया ध्यानमा राख्नुपर्ने अंश हो- पक्षप्रतिपक्षपरिग्रहः। यसको तात्पर्य यो हो कि कथामा प्रवृत्त वादी प्रतिवादिले आ-आफ्नो पक्षको सिद्धिका लागि एक अर्काले परस्परमा उपस्थापना गरेको पक्षलाई स्वीकार गरेर मात्र प्रवृत्त हुनुपर्दछ किनकि वादकथामा तत्त्वनिर्णय मुख्य लक्ष्य हुन्छ। अतः परस्पर विचारमा प्रवृत्त हुँदा एक अर्काको पक्षलाई सामान्यतः स्वीकार गर्दै अगाडि बढ्नुपर्ने हुन्छ। पछि आआफ्नो पक्षको दार्ढ्यसम्पादनका लागि प्रमाणसहकृत तर्कको उपस्थान गर्दै प्रमाण प्रस्तुत गर्दै अगाडि बढिन्छ। यसमा वादीको पक्ष र विपक्ष एउटै विषयमा आधारित हुनुपर्दछ। जस्तै- एकले आत्मा छ भन्दछ भने अर्कोले छैन भन्दछ। यही पक्ष र विपक्षलाई लिएर वादकथा अगाडि बढ्दछ।
वादकथामा अर्को महत्त्वपूर्ण अङ्गका रूपमा प्रमाण र तर्कलाई लिइन्छ। त्यसैले सूत्रकार महर्षि गौतमले प्रमाणतर्कसाधनोपालम्भः पहिलो विशेषणका रूपमा यसलाई उपन्यास गरेका छन्। यसको तात्पर्य यो हो कि- प्रमाण र तर्कद्वारा आफ्नो पक्षको सिद्धि गर्ने र परपक्षको खण्डन गर्दा पनि तर्क र प्रमाणका आधारमा नै गर्ने। अनि मात्र कोही पनि व्यक्ति वस्तुतत्त्वको निर्णयमा पुग्न सक्दछ।
यहाँ कसैलाई यो प्रश्न उपस्थित हुन सक्दछ कि- दुबै पक्षबाट जब प्रमाण र तर्कबाट नै स्वपक्षको स्थापना गर्नुपर्ने हुन्छ भने त तत्त्वनिर्णयसम्म कसरी पुग्न सकिएला ? किनकि तत्त्व त दुई हुन सक्दैन।
यसको समाधान यो हो कि- प्रक्ष र प्रतिपक्षद्वारा स्वपक्षको स्थापनामा प्रमाण र तर्क प्रस्तुत गरिनुपर्दछ भन्नुको अर्थ त्यो नै अन्तिम सत्य हो भन्ने होइन। आफ्नो भनाइलाई पुष्टि गर्दा तर्क र प्रमाणका आधारमा गरिनुपर्दछ भन्ने मात्र तात्पर्य हो। तत्त्वनिर्णयार्थ वादीप्रतिवादीद्वारा कथामा प्रस्तुत हुँदा वादीले तर्कसहित प्रमाणले स्वपक्षको उपस्थापनमा प्रस्तुत हुनुपर्दछ र परपक्षको दूषणको सन्दर्भमा पनि यसरी नै प्रस्तुत हुनुपर्दछ भन्नु नै सूत्रकारको आशय हो। उपस्थित प्रमाण र तर्कका आधारमा नै परपक्षको वचनलाई काट्नुपर्ने हुन्छ र आफ्नो पक्षको पुष्टि पनि गर्नुपर्ने हुन्छ। अन्यथा तत्त्वनिर्णयको सहि बाटोबाट बञ्चित भईन्छ।
न्यायवृत्तिमा विश्वनाथले पनि उक्त न्यायसूत्रमा आएको प्रमाणसाधनोपालम्भ यस पदको यही नै आशय प्रकट गरेका छन्- प्रमाणत्वेन तर्कत्वेन च ज्ञाताभ्यां साधनोपालम्भो यत्रेति विवक्षणेन नोक्तदोष इति।
अब अर्को अङ्ग छ सिद्धान्ताविरूद्ध। यसको तात्पर्य चाहिँ यो हो कि- वादी र प्रतिवादीले आफ्नो पक्षको उपस्थापन गर्दा सिद्धान्तदेखि विरूद्ध कुरा गर्न मिल्दैन। आफ्नो सिद्धान्तमा अडिग भएर नै आफ्नो पक्षको तर्कसहकृत प्रमाणहरूद्वारा उपस्थापन गनुपर्दछ। कहिले सिद्धान्त अनुसार कुरा गर्ने, कहिले सिद्धान्तलाई विचार नगरीकन अर्थात् म अमुक सिद्धान्तमा दृढ भई वाक्यार्थ गर्दैछु भन्ने कुरालाई विर्सेर आफ्नो विचार प्रस्तुत गरिदिने। त्यस्तो कार्य गर्नुहुँदैन। यसमा वादीप्रतिवादी दुबै सजग हुनुपर्दछ भन्ने आशय हो ।
अब पुनः अर्को अङ्ग छ पञ्चावयवोपपन्न । यसको तात्पर्य हो प्रमाणसहकृत तर्कद्वारा अर्थको प्रतिपादन पक्षप्रतिपक्षद्वारा गर्दै गर्दा पाँचओटै न्यायावयवको कडीमा उत्रिएर गनुपर्दछ। ती पाँच अवयव भनेका प्रतिज्ञा, हेतु, दृष्टान्त, उपनय र निगमन हुन्। यसरी यी पाँच अवयवहरूको कसौटीमा राखेर तत्त्वको प्रतिपादन गर्दा प्रतिपादित तत्त्व अव्यभिचरित सिद्ध हुने हुदा पञ्चावयव वाक्यको प्रयोगलाई पनि वादकथामा अवश्य प्रयोग गर्नुपर्दछ भनिएको हो।
यसरी समग्रमा प्रमाणतर्कसाधनोपालम्भः सिद्धान्ताविरूद्धः पञ्चावययवोपपन्नः पक्षप्रतिपक्षपरिग्रहो वादः यो वादकथाको स्वरूप प्रतिष्ठित हुन्छ। वादकथामा न्यायशास्त्रले मानेका पाँचओटै अवयव वाक्यको पूर्णरूपमा प्रयोग गरिनुपर्दछ भन्ने कुरालाई भने वात्स्यानले समर्थन गरेको देखिँदैन। उनका अनुसार आवश्यकताअनुसार दुई, तीन, पाँच वाक्यको प्रयोग गरिनुपर्दछ भन्ने उनको आशय हो। बौद्ध र वेदान्तका आचार्यहरूले पनि यस कुरालाई मानेका छन्। त्यही भएर न्यायदर्शनमा पनि वात्स्यायनपछिका आचार्यले पञ्चावयवोपपन्न इति प्रायिकत्वाभिप्रायेण भनेर यसको प्रयोगमा स्वातन्त्र्य हुन सकिन्छ भनेको देख्न पाईन्छ।
न्यायमञ्जरीकार जयन्तभट्टले वादकथाको अधिकारीलाई मीठो शब्दमा यसरी भनेका छन् -स्तुति, मान र लिप्साको अभाव जसमा रहेको हुन्छ, त्यो नै वास्तवमा वादकथाको अधिकारी हुन्छ ।
वादं च निर्णयफलार्थिभिरेव शिष्यसब्रह्मचारिगुरुभिः सह वीतरागैः।
न ख्यातिलाभरभसप्रतिवर्धमानस्पर्धानुबन्धविधुरात्मभिरारभेत ।। (सन् १९८४, पृ. १२०) ।
वादकथाका सन्दर्भमा जयन्तभट्टको मत–
न्यायपरीक्षाद्वारकवस्तुविचारयोग्याः तिस्रः कथाः वादिनो भवन्ति (भट्ट, सन् १९८४, पृ. ११८) अर्थात् न्यायपरीक्षाका सन्दर्भमा वस्तुको विचारका लागि आवश्यक तत्त्वका रूपमा तीनओटा कथा प्रसिद्ध छन्। त्यसमा पहिलो वादकथा मुख्य हो। वादकथामा प्रमाणको र प्रमाणानुग्राहक तर्कको सर्वातिशायी उपयोगिता रहेको कुरालाई बताउदै तर्कको वादोपयोगिता शङ्काको निराससमेत उनले गरेका छन्।
गौतमले प्रातिपादन गरेको वादलक्षणमा प्रदत्त प्रत्येक पदहरूको सार्थकता बताउदै निग्रहस्थानेभ्यः पृथगुपदिष्टा हेत्वाभासाः वादे चोदनीया भविष्यन्ति (वात्स्यायन, सन् १९९८, पृ. ११) । भाष्यकारको यस वचनलाई पनि समन्वय गर्दै वादको लक्षणमा प्रमाणतर्कसाधनोपालम्भ पद दिएको र जल्पको लक्षणमा छलजातिनिग्रहस्थानसाधनोपालम्भ पद थप दिएकाले वादकथामा सर्वात्मना छलादिको निषेध प्रसक्त भएको बुझिएको हुँदा कतिपय निग्रहस्थानादिको प्रयोग वादकथामा भने सम्भाव्य देखाएका छन् भट्टले (सन् १९८४, पृ. ११८) ।
अन्ततः वादको प्रयोजन अन्य कथाहरूभन्दा बेग्लै भएकाले वस्तुको परिशोधनका लागि आवश्यक तत्त्व जे जे छन्, ती सबैलाई वादकथामा उपयोग गर्न सकिन्छ भनेर निष्कर्ष निकालेका छन् जयन्तभट्टले। उनी भन्छन्- वस्तुपरिशुद्धिसाधनं सर्वमेव तत्र प्रयोगार्हम् (सन् १९८४, पृ. ११९) तर वादकथामा छलादिको प्रयोगका सन्दर्भमा भने जयन्तभट्टको भनाई यस्तो देखिन्छ- जल्पे तु कस्यांचिदवस्थायां बुद्धिपूर्वकमपि छलादिप्रयोगः क्रियते। वादे तु वृथा तेषां प्रयोगः। भ्रान्त्या तु कथञ्चित् प्रयुक्तानामवश्यमुद्भावनम्। अनुद्भावने च वस्तुपरिशुद्धेरभावात् (सन् १९८४, पृ. ११९) । अर्थात् जल्पकथामा बुद्धिपूर्वक पनि छलादिको उपयोग हुन्छ, परन्तु वादकथामा उक्त छलादि व्यर्थ नै छन्। भ्रान्तिवश कथञ्चित् कसैले प्रयोग गरेको छ भने त्यसको उद्भावन अवश्य गर्नुपर्दछ। अर्थात् यहाँ यो यस कारणले यस अर्थमा ठीक प्रयोग भएन। यो छल हो, आदि कुराहरू भनेर छलको स्वरूपलाई प्रकट गर्दै त्यसबाट बच्नको लागि निर्णित अर्थ अपरिशुद्ध नरहोस् भन्ने इच्छाले तिनीहरूको स्वरूप ज्ञानार्थ उद्भावन हुन सक्दछ वादमा पनि। स्वरूपतः भने वादकथामा छलादि व्यर्थ नै छ।
त्यही भएर जयन्त जल्पको लक्षणको व्याख्याका क्रममा मुमुक्षोरपि क्वचित् प्रसङ्गे तदुपयोगात् भनी लेख्दछन्। यस सन्दर्भमा एउटा मीठो अतिरोचक गुरुशिष्यबीचको प्रसङ्गलाई अवतरण गराउँदै कसरी मुमुक्षुलाई पनि त्यसको आवश्यकता पर्दछ भन्ने कुरालाई बडो विलक्षण तरिकाले देखएका छन् (सन् १९८४, पृ. ११९) र तत्वाध्यवसायसंरक्षणार्थं जल्पवितण्डे…...( गौतमः, सन् १९९८, पृ. ४१६ ) । यस न्यायसूत्रको अवतरणको मुख्य तात्पर्य अर्थात् यो सूत्र अवतरण गराउनुमा सूत्रकारको हृदयलाई बुझ्दै र अरूलाई पनि बुझाउँदै जल्पवितण्डाको प्रयोगको आवश्यकता पर्दा तत्वाध्यवसायी मुमुक्षुजनले पनि प्रयोग गर्न सक्नुपर्दछ भन्ने कुरा गरेका छन्। यद्यपि मुमुक्षुलाई जल्पादिको उपयोग वृथा नै हो। यो कुरालाई पूर्वमा पनि निवेदन गरिसकियो ।
कथाका सन्दर्भमा वेङ्कटेश आचार्यको मत–
वेङ्कटेशाचार्यले न्यायपरिशुद्धि भन्ने ग्रन्थमा कथाको लक्षण यसप्रकार गरेका छन्- विचारगोचरः वादिप्रतिवादिवाक्यसन्ततिविशेषः कथा (सन् २००३, पृ. ११५) । अर्थात् वादी र प्रतिवादीद्वारा समुचित प्रकारले सद्वाक्यादिको (अनुमानावयवप्रतिज्ञादिको) प्रयोग गरीकन गरिने विचारको विषय नै कथा हो। यही संवादात्मक विचार तत्त्वबुभुत्सु वीतरागादिपुरुषहरूका बीच भएमा वादरूप बन्दछ भने विजयेच्छुक व्यक्तिका बीच भएमा जल्परूप धारण गर्दछ। सामान्य शब्दमा भन्नुपर्दा उही पूर्वोक्त नै निष्कर्ष निस्किन्छ- वीतरागकथा मात्र वाद, अन्यथा जल्प। दुबैका स्वपक्षस्थापन र परपक्षदूषण यी दुई अवयव हुन्छन्।
फणिभूषण तर्कवागीशका अनुसार कथाको स्वरूप
न्यायपरिचय भन्ने ग्रन्थमा फणिभूषण भन्छन्- न्यायभाष्यकारले वाद, जल्प र वितण्डालाई लक्षित गरी यी तीन पदार्थलाई कथा भनेर उल्लेख गरेका छन्- तिस्रः कथाः भवन्ति, वादो जल्पो वितण्डा चेति। महर्षि गौतमले स्वयमपि पञ्चम अध्यायको अन्तमा यो पारिभाषिक कथा शब्दको प्रयोग गरेका छन् (सन् १९६८, पृ. २३९)।
वाल्मीकि रामायणको अयोध्याकाण्डमा (२ : ४२) पनि कथा शब्दको प्रयोग गरेको पाइन्छ। यसरी यत्र तत्र कथारूप पारिभाषिक शब्दको प्रयोग देख्न सकिन्छ । तार्किकरक्षा भन्ने ग्रन्थमा वरदराजले भनेको विचारविषयः नानावक्तृकः वाक्यविस्तरः अर्थात् विचारणीय विषयमा अनेक वक्ताहरूद्वारा प्रयोग गरिने वाक्यहरूको समूह नै कथा हो। यो वाक्यसमूह केवल पूर्वपक्ष, उत्तरपक्षको उपस्थापनरूप मात्रमा सीमित नभई नियम पूर्वक वादी तथा प्रतिवादीको उक्तिरूप (वचनसमूहरूप) हुन्छ। त्यही भएर न्यायवृत्तिकार विश्वनाथले पनि भनेका छन्- तत्त्वनिर्णय अथवा विजयलाभको इच्छाले न्यायानुकूल गरिने वाक्यसन्दर्भ नै कथा हो। लौकिक विषयमा वादि तथा प्रतिवादिद्वारा प्रयोग गरिने उक्तिमा न्याय अर्थात् पञ्चावयव वाक्यको प्रयोग नहुने भएकाले त्यस्तो उक्तिलाई कथा भन्न मिल्दैन भने शास्त्रीय विषयमा वादीप्रतिवादीद्वारा प्रयोग गरिने वाक्यसन्दर्भ न्यायानुकूल हुनुपर्दछ, नियममा बसेर गरेको हुनुपर्दछ। यो नै यसको वैशिष्ट्य हो। त्यही भएर वादीप्रतिवादीद्वारा गरिने उक्ति-प्रत्युक्तिरूप वाक्यसन्दर्भलाई कथा शब्दले व्यवहार गरिन्छ (तर्कवागीश, १९६८, पृ. २४१) ।
वादकथाका सन्दर्भमा यो जान्नु आवश्यक छ कि- वादकथामा सभा, मध्यस्थ आदिको प्रयोजन अपरिहार्य नै रहँदैन किनकि यो वाद कथा त गुरु र शिष्यका बीचमा कहीँ एक निश्चित स्थानमा बसेर गरिने संवाद हो। यो त बीतराग व्यक्तिहरूका बीचमा हुने संवाद भएकाले जय अथवा पराजयको कुनै स्थान नहुने भएकाले वादकथामा उक्त सभा-मध्यस्थ आदिको प्रयोजन अपरिहार्य हुँदैन। वादको स्वरूपसङ्केत सूत्रकार स्वयंले पनि तद्विद्यैः सह संवादः, तं शिष्यगुरुसब्रह्मचारिविशिष्टश्रेयोर्थिभिरनुसूयुभिः (गौतम, सन् १९९८, पृ. ४१६) भनेर वीतरागीको संवादलाई नै वादकथाका रूपमा प्रस्तुत गरेका छन्। यहाँ एउटा ध्यातव्य विषय के छ भने मुमुक्षु वीतरागीजनले पनि जल्प र वितण्डाको स्वरूपज्ञान भने अवश्य राख्नुपर्दछ। त्यही भएर तत्त्वज्ञानी महर्षि गौतमले सोह्र पदार्थको चर्चाका सन्दर्भमा यसको चर्चा विशेषरूपले गरेका छन्। गौतम महर्षि त्यसको ज्ञानको अपरहार्यता देखाउँदै भन्दछन्- तत्वाध्यवसायसंरक्षणार्थं जल्पवितण्डे बीजप्ररोहरणसंरक्षणार्थं कण्टकशाखावरणवत् (गौतम, सन् १९९८, पृ. ४१६) । यसको तात्पर्य यही हो कि क्षेत्रमा रोपिएको बीजको संरक्षणका लागि वरिपरिबाट काँटाहरूको परिधि निर्माण जसरी गरिन्छ, त्यसैगरी मुमुक्षु व्यक्तिले पनि आफ्नो तत्त्वअध्यवसाय संरक्षणका लागि आवश्यकता पर्दा जल्प र वितण्डाको प्रयोग गर्नुपर्दछ। प्रयोगविना ज्ञान संभव हुँदैन। अतः जल्प र वितण्डाको स्वरूप ज्ञानमा पनि मुमुक्षुजनको रुचि सर्वथा वर्जनीय छ भन्न मिल्दैन। त्यसमा जयन्तभट्टले न्यायमञ्जरीमा दिएको उदाहरण सन्दर्भ द्रष्टव्य छ।
न्यायसूत्रदेखि अन्यत्र बौद्धदर्शनका ग्रन्थहरूमा पनि वादका विभिन्न लक्षणहरू गरेको देखिन्छ। जस्तै तत्त्वनिर्णयसाधनं कथा वादः, सतां कथा वादः, स्वपरपक्षयोः सिद्ध्यसिद्ध्यर्थ्यं वचनं वादः।
जल्पकथाको लक्षण र अधिकारी
न्यायसूत्रकारका अनुसार यथोक्तोपपन्नः छलजातिनिग्रहस्थानसाधनोपालम्भो जल्पः (गौतम, १९९८, पृ. ७०) । यस प्रकारले जल्पको लक्षण गरिएको छ। जल्पकथामा विजयको इच्छा वादी प्रतिवादीमा हुने हुँदा त्यहाँ वादकथामा प्रयोग गरिने प्रमाण, तर्कआदिका साथमा छल, जाति र निग्रहस्थानहरूको पनि प्रयोग गरिन्छ। छल, जाति, निग्रहस्थानहरूको स्वपक्षसाधन र परपक्षदूषण दुबैमा प्रयोग गर्न सकिन्छ। यहाँ छल भन्नाले अर्थको विकल्प देखाएर प्रतिवादिले भनेको कुरालाई काट्नु हो। यसलाई न्यायसूत्रकारले यसरी परिभाषित गरेका छन्- वचनविघातोऽर्थविकल्पोपपत्या छलम् (न्या.सू. १.२.३) । यो छल तीन प्रकारको हुन्छ- वचनलाई लिएर गरिने छल, सामान्य अर्थलाई लिएर गरिने छल र उपचार छल । वाक्छलमा वक्ताको अभिप्रायदेखि भिन्न अर्थको उत्थान गरेर झुक्याउने प्रयास गरिन्छ भने सामान्य छलमा सम्भावित अर्थदेखि विल्कुल भिन्न अर्थको कल्पना गरेर झुक्याउने प्रयास गरिन्छ। उपचार छलमा चाहिँ धर्ममा विकल्प देखाएर अन्यरूपले अर्थसद्भावको निषेध गरिन्छ। यसरी छललाई सामान्यरूपमा तीन प्रकारले विभाजन गरिएको छ।
जाति भनेको साधर्म्य र वैधर्म्यद्वारा प्रतिवादीको कुरालाई निषेध गर्नु हो। निग्रहस्थान भने चौबीस प्रकारका बताइएका छन् न्यायशास्त्रमा । यस्ता छल, जाति र निग्रहस्थानहरूको आवश्यकताअनुसार प्रयोग गर्दै आफ्नो पक्षमा जीत हासिल गर्ने प्रयास जल्पकथामा गरिन्छ । वास्तवमा छल, जाति र निग्रहस्थानहरूको स्वपक्षस्थापनमा कारणता नभएर परपक्षको निराकरणमा कारणता भएकाले छलादिद्वारा परपक्षको उपालम्भ मात्र भन्नु पर्दछ, न कि परपक्षको साधन । यसो हुँदा परकीय अनुमानमा प्रयोग भएको साधनको उपालम्भ जहाँ गरिन्छ, त्यो जल्प हो भनेर सूत्रको व्याख्या गर्नुपर्ने हुन्छ । यस कुरालाई भाष्यकार वात्स्यायनले पनि सूचित गरेका छन् – न खलु वै छलजाति…तदेवमङ्गीभूतानां छलादीनामुपादानं, जल्पे न स्वतन्त्राणां साधनभावः इत्यादि पङ्क्तिद्वारा ।
वास्तवमा जल्पको प्रयोग केवल विजिगीषु व्यक्तिले मात्र गर्दछ भन्ने होइन। जो विजिगीषु छैन, त्यस्तो प्रामाणिक तत्त्ववेत्त्ता पुरुष पनि वैतण्डिक अथवा जल्पक व्यक्तिबाट स्वसिद्धान्तको संरक्षणका निमित्त अथवा तत्त्वनिर्णयको संरक्षणका निमित्त जल्पको प्रयोग गर्दछ। त्यही भएर न्यायसूत्रकारले भनेका छन्- तत्त्वाध्यवसायसंरक्षणार्थं जल्पवितण्डे । यसरी तत्त्वको अध्यवसायसंरक्षणका निमित्त पनि जल्प र वितण्डाको ज्ञान आवश्यक हुन्छ । यसरी सूत्रकारले जल्प र वितण्डाको निरूपणको प्रयोजन बताउँदै वैतण्डिक व्यक्तिबाट बच्नका लागि तत्त्ववेत्ता ज्ञानीजनले पनि स्वपक्षको साधनका लागि यसको उपयोग गर्न सक्दछ भन्ने कुराको सङ्केत गरेका छन् भन्ने कुरा बुझ्न सकिन्छ। परपक्षको दूषण पनि स्वपक्षको साधन बन्ने भएकाले उक्त सूत्रलाई यथाश्रुतार्थ व्याख्या गर्दा पनि आपत्ति भने देखिँदैन । त्यही भएर तत्त्ववेत्ता मुमुक्षु व्यक्ति पनि जल्पकथाको अधिकारी मानिन्छ भन्ने एउटा पक्ष रहेको छ । यद्यपि विजिगीषु कथा जल्प हो । तसर्थ विजिगीषु व्यक्ति नै जल्पको अधिकारी हो तापनि न्यायमञ्जरीकारप्रभृति न्यायका धेरै आचार्यहरूले स्पष्टताका साथमा मुमुक्षु व्यक्ति पनि जल्पकथाको अधिकारी हुन सक्दछ भनेर खुलेरै बोलेका छन् । कदाचित् मुमुक्षु व्यक्तिहरूका बीचमा कुनै वैतण्डिक व्यक्तिको प्रवेश भएको अवस्थामा आफ्ना गुरुसँग उसको शास्त्रार्थ हुँदा जब गुरुले छलजात्यादिको प्रयोगज्ञानको अभावले पराजय बेहोर्नु पर्दछ, तब शिष्यका मनमा पर्ने जुन असर हो, मनोभाव हो, त्यस अवस्थाको बडो वैचित्र्यपूर्ण रीतिका साथ त्यहाँ न्यायमञ्जरीकारले वर्णन गरेका छन् ।
वितण्डाको लक्षण र अधिकारी
न्यायसूत्रकारका अनुसार सः प्रतिपक्षस्थापनाहीनो वितण्डा अर्थात् कथामा प्रवृत्त व्यक्ति नै यदि आफ्नो पक्षलाई संस्थापन गर्नमा असक्षम भएमा वैतण्डिक हुन्छ। तात्पर्य यो हो कि जल्पकथा नै स्वपक्षस्थापनादेखि हीन भएमा वितण्डा हुन्छ। वैतण्डिक व्यक्तिले कुनै पनि पक्षको समर्थन गर्दैन। केवल परपक्षको खण्डनमा मात्र ऊ प्रवृत्त हुन्छ। परपक्षको खण्डनमा उसले सबै प्रकारका छल, जाति, निग्रहस्थान आदिको भरपूर प्रयोग गर्दछ। परपक्षको खण्डन गर्न सके मात्र पनि आफ्नो विजय हुन्छ भन्ने उद्देश्यले कथामा ऊ प्रवृत्त भएको हुन्छ। त्यही भएर अन्यत्र सतः असता सह कथा वितण्डा भनेर पनि वितण्डाको लक्षण गरेको पाईन्छ। आफ्नो पनि पक्ष नराख्ने परपक्षको खण्डनमा मात्र केन्द्रित हुने व्यक्ति नै वास्तवमा वैतण्डिक हो। अतः कथाले भिन्न अवस्थामा वितण्डाको रूप धारण गरे तापनि वितण्डाको यो अधिकारी हुन्छ भनेर भन्न मिल्दैन। वैतण्डिक वास्तवमा कथाको वास्तविक अधिकारी नै मानिँदैन।
कथाको लोकोपयोगिता
अहिलेसम्मको चिन्तनले के देखिन्छ भने शास्त्रमा प्रतिपादित कथाको स्वरूपले एउटा महानतम विचारको रीतिलाई दर्शाएको छ। यो विज्ञजनहरूको विचार हो, जुन कुनै वस्तुको अन्तिम स्वरूप निर्णयका लागि यस्ता शास्त्रीय विचारहरू प्रवर्तन हुने गर्दछन्। यस कथामा पक्ष-विपक्ष बनी प्रमाणका आधारमा आ-आफ्ना विचार राखिन्छन् भनेपछि अहिलेको व्यावाहारिक जगत्लाई पनि यस कथाको प्रयोगले अथवा शास्त्रमा अध्ययन गर्नुपर्ने यस प्रकारको कथाका स्वरूपको ज्ञानले अवश्य नै लाभ हुन्छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ किनकि व्यावहारिक जगत्मा पनि कतिपय कुराहरू त्यस्ता हुन्छन् जो प्रामाणिक विचारहरूको प्रस्तुतिद्वारा सही निर्णयमा पुग्नुपर्ने हुन्छ। अतः विचारविमर्श गरी सही निर्णय लिनका लागि अथवा आफ्नो पक्षलाई दह्रो बनाउनका लागि केकस्तो तरिकाले विषयवस्तुहरूलाई प्रस्तुत गर्नुपर्दछ ? कसरी प्रस्तुत गर्नु हुँदैन, कत्तिको सजग हुनुपर्दछ ? प्रमाणहरू र तर्कहरू प्रस्तुत गर्दा ध्यान दिनुपर्ने कुराहरू के के हुन्छन् ? यी विभिन्न कुराहरू यस कथाको स्वरूपको अध्ययनले जान्न सकिन्छ र व्यावहारिक जीवनमा आइपर्ने विभिन्न जटिलतालाई पनि उक्तरीतिले नै निराकरण गर्न सकिन्छ। यसले हाम्रो वर्तमान जीवन सहज बन्नमा मद्दत पुग्दछ । अतः शास्त्रमा प्रतिपादित यो कथाको उपयोगिता हाम्रो व्यावहारिक जीवनमा अवश्य रहेको छ भन्न कुनै सञ्कोच गर्नुपर्दैन। विशेषतः अहिलेको न्यायालयमा त्यहाँका अधिवक्ता(वकिल)हरूले त्यहाँ आउने विभिन्न प्रकारका मुद्दाहरूको सुनुवाई गर्दा, कुनै विषयलाई लिएर बहस गर्दा प्रमाण र तर्कका आधारमा नै बहस गर्ने गरेकाले त्यसक्षेत्रका व्यक्तिलाई दर्शनशास्त्रमा हाम्रा प्राचीन आचार्यहरूले प्रतिपादन गरेको यो प्रणाली निकै नै उपयुक्त देखिन्छ।
वास्तवमा कथा भनेको बहसको एउटा प्रकार नै हो। अतः उक्तक्षेत्रका व्यक्तिहरूका लागि त दर्शनशास्त्रमा प्रतिपादित कथास्वरूपको ज्ञान अत्यन्त उपयोगी मान्न सकिन्छ भने निर्णायक न्यायाधीश पनि कस्तो हुनुपर्दछ ? न्यायाधीशले कुन कुन कुरामा सजग रहनुपर्दछ ? भन्ने कुराको ज्ञान पनि यस कथास्वरूपको अध्ययनबाट प्राप्त गर्न सकिन्छ। यसरी आधुनिक न्यायशास्त्रीहरूलाई समेत यसको उपयोगिता रहेको कुरा सहजै बुझ्न सकिन्छ।
निष्कर्ष
जो व्यक्ति तत्त्वनिर्णय अथवा विजयलाभको इच्छा राख्दछ र सर्वजनसिद्ध वस्तुको निषेध गर्दैन, बहिरो एवं प्रमत्त छैन, सुन्नमा चतुर छ, कथाव्यापारमा पटु छ र व्यर्थमा कलह गर्ने स्वभावको छैन भने त्यस्तो व्यक्ति नै कथाको वास्तविक अधिकारी हुन्छ।
यसमा जो विशुद्ध तत्त्वनिर्णयको कामना राखी सत्यलाई जानी जानी अपलाप गर्दैन, प्रकृतसन्दर्भदेखि बाहिर गएर वाक्यहरूको प्रयोग गर्दैन, आफ्नो समयमा मात्र उत्तर दिन सजग रहन्छ र केवल तर्कसहकृतप्रमाणद्वारा मात्र तत्त्वलाई ग्रहण गर्दछ भने त्यस्तो व्यक्ति वास्तव मै वादकथाको अधिकारी हुन्छ।
वादकथा नै त्यस्तो कथा हो, जहाँ विचार केवल तत्त्वनिर्णयार्थ मात्र हुन्छ। त्यहाँ कुनै पक्ष-विपक्ष, जय या पराजयको इच्छा नै वास्तव हुँदैन, वस्तुतः त्यो वादकथा हो। जल्प कथामा भने जयको स्वार्थले उपर्युक्त वाक्यहरूको प्रयोग गरिन्छ तर यसमा पनि वादीप्रतिवादीले आ-आफ्नो सिद्धान्तको स्थापना गर्दा नियमपूर्वक नै गरेको हुन्छ भने मात्र ऊ जल्पकथाको अधिकारी मानिन्छ। त्यही भएर भनिन्छ- तत्त्वबुभुत्सुकथा वादः, उभयपक्षस्थापनावती विजिगीषु कथा जल्पः। यी दुई अवस्थादेखि बाहिर कथा गयो भने त्यसले वितण्डाको रूप धारण गर्दछ। वैतण्डिकको आफ्नो कुनै सिद्धान्त हुँदैन। केवल परपक्षको खण्डन गर्नु नै उसको उद्देश्य हुन्छ भन्ने निर्णयमा पुग्दै वर्तमान समाजलाई कुनै पनि वस्तुतत्त्वको निर्णयको लागि आवश्यक तत्त्वको ज्ञान यस कथास्वरूपको अध्ययनबाट प्राप्त हुन्छ र विशेषतः अहिलेको न्यायप्रणालीमा त यसको उपयोगिता झनै रहेको देखिन्छ भन्ने कुराको निष्कर्ष यस आलेखबाट निकालिएको छ।
कृतज्ञता ज्ञापन –
प्रस्तुत आलेख विश्वविद्यालय अनुदान आयोग, भक्तपुरबाट विद्यावारिधि विद्वत्वृत्ति प्राप्त “न्यायपरिशुद्धिदृष्ट्या न्यायदर्शनाभिमतप्रमाणपरिशोधनम्” शीर्षकको शोधप्रबन्धमा आधारित रहेकोले म उक्त संस्थाप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु।
सन्दर्भ सामग्रीसूची
भट्ट, जयन्त (सन् १९८४), न्यायमञ्जरी (ग्रन्थिभङ्गव्याख्या, तृतीयभाग), सम्पूर्णानन्दनन्दविश्वविद्यालय ।
भट्ट, जयन्त (सन् १९८२), न्यायमञ्जरी (ग्रन्थिभङ्गव्याख्या, प्रथमभाग), सम्पूर्णानन्दनन्दविश्वविद्यालय ।
आचार्य, वेङ्कटेश (सन्२००३), न्यायपरिशुद्धि (प्रसादहिन्दीव्याख्या), चौखम्बा विद्याभवन ।
वात्स्यायन (सन् १९९८), न्यायभाष्य (प्रसन्नपदव्याख्या), बौद्धभारती ।
चतुर्वेदी, रामचन्द्र (२०२४), वादजल्पवितण्डास्वरूपम्, सं.बलदेव उपाध्याय(सारस्वती सुषमा, अङ्क ३-४, पृ.२९१-३०५) वाराणसेयसंस्कृतविश्वविद्यालय ।
तर्कवागीश, फणिभूषण (१९६८), न्यायपरिचय (हिन्दी अनुवाद), चौखम्बा विद्याभवन ।
आचार्य, वेङ्कटेश (सन्२००७), न्यायपरिशुद्धि (भारद्वाजश्रीनिवासव्याख्या), राष्ट्रियसंस्कृतविद्यापीठ ।
भारद्वाज, उद्योतकर (२०६४), न्यायवार्तिक (मूलमात्र), चौखम्बा संस्कृत भवन ।