नेपालको इतिहासमा वि.सं. २००७ सालपछिका राजनैतिक घटनाक्रमहरूको अध्ययन गर्दा, संयोग नै मानौँ या नियमित आकस्मिकता, लगभग १० वर्षको अन्तरालमा संवेदनशील घटनाहरू घटेका पाइन्छन्।
नेपालको इतिहासमा वि.सं. २००७ सालपछिका राजनैतिक घटनाक्रमहरूको अध्ययन गर्दा, संयोग नै मानौँ या नियमित आकस्मिकता, लगभग १० वर्षको अन्तरालमा संवेदनशील घटनाहरू घटेका पाइन्छन्। उदाहरणका लागि –
२००७ साल – राणा शासनको अन्त्य
२०१७ साल – प्रथम जननिर्वाचित सरकारको विघटन
२०२८ साल – कम्युनिस्ट आन्दोलन
२०३५/३६ साल – विद्यार्थी आन्दोलन/जनमत सङ्ग्रह
२०४६/४७ साल – प्रजातान्त्रिक आन्दोलन
२०५८ साल – दरबार काण्ड
२०६२/६३ साल – लोकतान्त्रिक/गणतान्त्रिक आन्दोलन
२०७७/७८ साल – कोभिड आतङ्क
माओवादी विद्रोहजस्तो लामो अवधिको आन्दोलन पनि नेपाली समाजले भोगेको छ। त्यस्तै राजतन्त्रलार्इ सत्ताच्युत गरेपछि यसको पुनर्स्थापना र हिन्दुराज्यको माग पनि उठिरहेको छ भने लामै समयदेखि ग्रेटर नेपालको आवाजले पनि कुनै न कुनै रूपमा स्थान पाइरहेको छ। यहाँ विचारणीय कटु सत्य यो छ कि प्रजातान्त्रिक/लोकतान्त्रिक युगको स्थापनापछि पनि नेपालको इतिहास भौतिकवादी विचारधाराबाट अभिप्रेरित भएको पाइन्छ।
हामीले प्राचीन अथवा मध्यकालीन इतिहास तथा साहित्यको अध्ययन गर्दा धेरैजसो ऐतिहासिक तथ्यहरूको तोडमरोड भएको पाउँदछौँ। यसैलाई प्रमुख कारण मानी केही विज्ञजनहरूबाट नेपाली इतिहासको पुनर्लेखन गर्नु पर्ने चर्चा सुनिन थालेको छ। यसका अतिरिक्त फेसबुक, युट्युब, टिकटक जस्ता आधुनिक सञ्चार माध्यमहरूले यदाकदा ओझेलमा परेका ऐतिहासिक घटनाहरूलाई उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्न थालेका छन् तर यस्ता सञ्चार माध्यमबाट उठेका आवाजहरू सदैव निर्विवाद हुन्छन् भन्ने छैन। यसै गरी इतिहास शिरोमणि बाबुराम आचार्यद्वारा लिखित नेपालको इतिहासलाई पनि कसैकसैले विदेशीपरस्त भन्ने गरेको पाइन्छ, यद्यपि यस पुस्तकको प्रकाशनपश्चात् लगभग ७० वर्ष बितिसकेको छ। यस सन्दर्भमा नयाँ घटनाहरूलाई सँगाल्दै नेपालको आधुनिक इतिहास लेखिनु पर्ने आवश्यकतालाई हामीले युक्तिसङ्गत ठानेका छौँ। आगामी दिनहरूमा यस कार्यलाई अघि बढाउन पं. श्रीलोकनाथ लुइटेल स्मृति-प्रतिष्ठानले पहल गर्ने जानकारीका साथ हामीले लोकदर्पणको यो अङ्क पाठकहरू समक्ष प्रस्तुत गरेका छौँ।
सम्पादक मण्डल