नेपाली साहित्य परम्परा पौरस्त्य र पाश्चात्य काव्यशास्त्रीय सिद्धान्तबाट प्रभावित छ। यहाँ जति पनि साहित्यिक विधासिद्धान्तहरूको विकास भएको छ, ती सबै तिनै दुई प्राचीन वाङ्मयसँग जोडिएका पाइन्छन्। अहिले नेपाली काव्य साहित्यमा मुक्तक, गजल र फुटकर कविताको विकास तीव्रतर रूपले भइरहेको देखिन्छ।
गुरुप्रसाद कोइराला, विद्यावारिधि[1]
लेखसार
नेपाली साहित्य परम्परा पौरस्त्य र पाश्चात्य काव्यशास्त्रीय सिद्धान्तबाट प्रभावित छ। यहाँ जति पनि साहित्यिक विधासिद्धान्तहरूको विकास भएको छ, ती सबै तिनै दुई प्राचीन वाङ्मयसँग जोडिएका पाइन्छन्। अहिले नेपाली काव्य साहित्यमा मुक्तक, गजल र फुटकर कविताको विकास तीव्रतर रूपले भइरहेको देखिन्छ। यीमध्ये गजल उर्दूसाहित्यबाट भित्रिएको मानिन्छ भने मुक्तक र फुटकर कविताको बीज तत्त्व पौरस्त्य काव्यशास्त्रमा भेटिन्छ। पौरस्त्य काव्यशास्त्रीहरूले काव्यका प्रकार छुट्याउने क्रममा अनिबद्ध भेदअन्तर्गत मुक्तक, युग्मक, सन्दानितक, विशेषक, कुलकजस्ता काव्यभेदको चर्चा गरेका छन्। तीमध्ये मुक्तकको नेपाली सिर्जना संस्कृत काव्यशास्त्रमा चर्चा गरेअनुसार नै भएको पाइन्छ। अनिबद्ध काव्यका अरू भेदसँग नेपाली फुटकर कवितालाई दाँज्न सक्ने अवस्था रहँदारहँदै नेपाली समालोचना क्षेत्रमा साङ्केतिक रूपले उल्लेख गरे पनि विस्तारपूर्वक खासै चर्चा गरेको पाइँदैन। अनिबद्ध काव्यका बारेमा संस्कृत काव्यशास्त्रीहरूले जेजस्तो स्वरूप उल्लेख गरेका छन् त्यही रूपले नेपालीमा स्फुट कविताको विकास भएको त छैन तर बीज रूप चाहिँ संस्कृत काव्यशास्त्र नै हो भन्ने प्रमाण प्रशस्त पाइन्छ। सुवानन्द दासले रचना गरेको पृथ्वीनारायण कविता पहिलो स्फुटकविता हो भन्ने मानिए पनि उनले कहाँबाट छोटो कविता लेख्ने प्रेरणा पाए भन्ने विषयमा चर्चा भएको पाइँदैन। यो कविता कुलकको विकसित रूप हो भने शक्तिवल्लभ अर्यालको दुई श्लोकी ‘तनहुँ भकुण्डो’ कविता युग्मकबाट प्रभावित हो। आनन्दवर्धनले स्वतन्त्र अनिबद्ध काव्यको चर्चा गरेका छन् भने अग्निपुराणमा अनेक पद्यको कुलक हुन्छ भन्ने उल्लेख गरेको लगायत अरू काव्यशास्त्रीहरूका थुप्रै उल्लेखले अनिबद्ध काव्यलाई अहिलेको स्फुट कविताको बीज मान्न सकिने अवस्था छ। यसैलाई निष्कर्षको रूप दिन यस लेखमा संस्कृत अनिबद्ध काव्यसँग सम्बन्धित लक्षणशास्त्रहरू र द्वितीयक स्रोतका रूपमा रहेका पुस्तकालयीय सामग्री प्रयोग गरी तुलनात्मक र विश्लेषणात्मक विधिलाई उपयोग गरिएको छ।
शब्दकुञ्जी : अनिबद्धकाव्य, मुक्तक, फुटकर कविता, काव्यशास्त्र, रस।
विषयपरिचय
प्राणीहरूमध्ये मानिस सचेत र आनन्दप्रेमी मानिन्छ। ऊ हरबखत आनन्दप्राप्तिका लागि उत्कण्ठित रहन्छ। आनन्द भौतिक प्राकृतिक वस्तुहरूमा पाइए पनि त्यो क्षणिक वा परिवर्तनशील हुन्छ। भौतिक वस्तुबाट विरक्त व्यक्तिलाई कुलतबाट बचाउन वा गुमाएको आत्मिक आनन्दलाई पुनः प्राप्त गर्न साहित्य उपयुक्त साधन हुन सक्छ। साहित्य प्रारम्भिक कालमा ऋषिमुनिको निरन्तर साधनाबाट उपलब्ध बौद्धिक सिर्जना हो। यसले मानिसलाई भौतिक जीवनका लागि दुर्लभ आत्मानन्दको अनुभूति गराउँछ। पछिल्लो समयमा साहित्यको क्षेत्र सीमातीत बन्दै गएको छ। दिनानुदिन यसबाट विभिन्न विधाहरू सिर्जना हुने क्रमले निरन्तरता पाइरहेको छ। जुनसुकै भाषा-वाङ्मयको साहित्य अध्ययन/अनुसन्धानका लागि प्राथमिकताको क्षेत्र बनिरहेको छ। यही साहित्यभित्र सबैभन्दा प्रिय विधाका रूपमा कविता रहेको छ। यस विधालाई प्रायः सबै साहित्यविधाका शुभचिन्तकहरूले प्रेम र आदरका साथ स्वीकार्ने गर्दछन्। हिजोआज प्रचलनमा रहेको काव्यको फुटकर स्वरूपलाई कविता भनिए पनि सँस्कृतमा काव्यकै भेद मानेर काव्यकै नाम दिइएको छ। अर्थात् कविता शब्द संस्कृत तत्सम नै भएको र प्राचीन कालमा यदाकदा प्रयोग भएको पाइए पनि संस्कृत साहित्यमा कविताका स्थानमा काव्य शब्द नै प्रचलनमा रहेको पाइन्छ। नेपाली साहित्यको कविता विधामा पाश्चात्त्य साहित्यका प्रभावले नयाँ नयाँ प्रयोगहरू हुने गरेको पाइन्छ। हुँदाहुँदा पाठकले बुझ्न गारो पर्ने वा नबुझ्ने कविता सिर्जनाको होडबाजी नै चल्ने गरेको छ तर त्यस्ता कवितालाई पौरस्त्य काव्यशास्त्रले अधम काव्य भनी निन्दा गरेको पाइन्छ। उनीहरूका विचारमा सरसता र सुश्रव्यता नै कविताका मौलिक गुण हुन्। यस लघुलेखमा पौरस्त्य काव्यशास्त्रले बताएअनुसार अनिबद्ध काव्यको स्वरूप, प्रकार र नेपाली स्फुट कवितासँग तिनको सम्बन्धका बारेमा चर्चा गरिएको छ।
समस्या
नेपाली साहित्यको पछिल्लो समयमा काव्यका प्रारम्भिक चरण मानिएका मुक्तक र स्फुटकविताको विकास तीव्र रूपमा भइरहेको छ। स्थानीय तहमा पनि साहित्यका पारखीहरूले स्वतःस्फूर्त रूपमा साहित्यिक संस्थाहरू गठन गरी सामूहिक रूपले मुक्तक/कविता सुन्ने सुनाउने गतिविधिले तीव्रता पाएको छ। यी काव्यका प्रारम्भिक स्वरूप कसरी कहाँबाट विकसित भए भन्ने जिज्ञासा उठ्नु स्वभाविक हो। यस विषयमा खोज गर्दा यसको बीज संस्कृत काव्यशास्त्रमा भेट्न सकिने अवस्था देखिन्छ तर संस्कृत काव्यशास्त्रसँग मुक्तक र फुटकर कवितालाई जोडेर हेरिएको खासै पाइँदैन। यसलाई आधार मानी यस लेखका समस्याहरू निम्न बुँदामा उल्लेख गरिन्छ।
क. नेपाली लघुतम र लघुकविताको बीज कहाँ पाइन्छ ?
ख. संस्कृत काव्यशास्त्रमा वर्णित काव्यभेदसँग नेपाली लघुतम र लघुकविताको कत्तिको समानता छ ?
उद्देश्य
सामान्यतया समस्या शीर्षकमा उल्लिखित समस्याको समाधान नै उद्देश्य निर्धारण हो। यस अध्ययनको उद्देश्य निम्नानुसार रहेको छ :
क. नेपाली लघुतम र लघुकविताको बीजको खोजी गर्नु,
ख. संस्कृत काव्यशास्त्रमा वर्णित अनिबद्ध काव्यभेदसँग नेपाली स्फुटकविताको समन्वय स्थापित गर्नु,
अध्ययनविधि
यस अध्ययनमा उल्लिखित समस्याको समाधान र उद्देश्य प्राप्तिका लागि पुस्तकालयको उपयोग गरिएको छ। प्राथमिक स्रोतका रूपमा संस्कृत अनिबद्ध काव्यसँग सम्बद्ध संस्कृत लक्षणशास्त्रको उपयोग र द्वितीयक स्रोतका रूपमा पुस्तक तथा पत्रपत्रिकाहरूमा प्रकाशित फुटकर कविता र संस्कृत अनिबद्ध काव्यसँग सम्बन्धित विद्वान्हरूका लेखलाई उपयोग गरिएको छ। समस्या समाधान गरी निष्कर्षमा पुग्न संस्कृत अनिबद्ध काव्य र नेपाली फुटकर कविताको स्वरूपका सन्दर्भमा तुलनात्मक विधि बीज अन्वेषणका क्रममा विश्लेषणात्मक विधि अवलम्बन गरिएको छ।
पूर्वाध्ययन
यस विषयमा नेपाली समालोचकहरूले खासै चासो दिएको पाइँदैन। संस्कृत काव्यशास्त्रमा वर्णित काव्यका भेद उल्लेख गर्ने क्रममा कसैकसैले अनिबद्ध काव्यका भेदहरू उल्लेख गरेको पाइन्छ। तिनै सामान्य सङ्केतहरूलाई यहाँ उल्लेख गरिन्छ।
क. ईश्वर बराल र अरूबाट सम्पादित ‘नेपाली साहित्य कोश’मा काव्यको मुक्तक भेदलाई स्पष्ट पार्ने सन्दर्भमा संस्कृत काव्यशास्त्रीहरूका भनाइको उद्धरणसहित मुक्तक, युग्मक, विशेषक, कलापक, कुलकजस्ता काव्यभेदहरूको चर्चा गरिएको छ तर स्पष्ट रूपमा नेपाली कवितासँग सम्बन्धबारे केही चर्चा गरिएको छैन। (नेपाली साहित्यकोश, पृ. ६३८)
ख. समालोचक भानुभक्त पोखरेलले आफ्नो कृति ‘सिद्धान्त र साहित्य’भित्र ‘फुटकर कविता’ शीर्षकमा संस्कृत काव्यशास्त्रका उद्धरणहरूसहित मुक्तक भेदको व्यापक चर्चा गरी फुटकर कवितालाई पनि मुक्तकसँगै जोड्न खोजिएको पाइन्छ। यसबाहेक फुटकर कविताको प्रारम्भ बिन्दुबारे चर्चा गरिएको छैन। (सिद्धान्त र साहित्य, पृ. १४३)
ग. समालोचक केशवप्रसाद उपाध्यायले ‘साहित्यप्रकाश’ नामक समालोचना-कृतिमा संस्कृतमा झैँ प्रबन्ध काव्य र अप्रबन्ध काव्य भनी अप्रबन्ध अन्तर्गत मुक्तक र स्फुट कविताको चर्चा गरिएको छ तर यिनीहरूको मूल उद्भवका बारेमा चर्चा गरिएको छैन। (उपाध्याय, पृ. १०२)
घ. नेपाली कवितामा छन्दप्रयोगका अभियन्ता कवि देवी नेपालले अनलाइन पत्रिका साहित्य पोस्टमा कविताभेदको चर्चा गर्दै मुक्तक र फुटकर कविताका भेदबारेमा विस्तृत चर्चा गरेका छन्। यस सन्दर्भमा संस्कृतका अनिबद्ध काव्यका प्रकारहरूको पनि उल्लेख गरिएको छ तर नेपाली फुटकर कविता र संस्कृतका अनिबद्ध काव्यभेदको सन्बन्धमा खासै उल्लेख गरिएको छैन। (साहित्य पोस्ट, अनलाइन पत्रिका)
यसरी नै नेपाली समालोचकका कृतिमा नेपाली स्फुटकविताको स्रोतका बारेमा कतैकतै सङ्केत पाइए पनि विस्तृत चर्चा खासै पाइँदैन। नेपाली स्फुटकविताको प्रारम्भदेखि अहिलेसम्मको विकास प्रक्रियालाई अध्ययन गर्दा संस्कृत काव्यको अप्रबन्ध वा अनिबद्ध भेदसँग यसको सम्बन्ध रहेको देखिन्छ। त्यसैले यस लेखमा नेपाली स्फुटकविताको मूल स्रोतको खोजी गरिएको छ।
विषयविश्लेषण
संस्कृत अनिबद्ध काव्यसँग नेपाली स्फुट कविताको जन्यजनक सम्बन्धको खोजी गरी निष्कर्षमा पुग्न निम्न शीर्षकमा अध्ययन गरिएको छ।
पौरस्त्य काव्यशास्त्रमा अनिबद्ध काव्य
पौरस्त्य काव्यशास्त्रीहरूले काव्यलाई वर्गीकरण गर्ने क्रममा विभिन्न आधारमा विभिन्न भेद प्रस्तुत गरेका छन्। पौरस्त्य काव्यशास्त्रका प्रारम्भिक लक्षणग्रन्थदेखि नै भाषा, शैली, आकार आदिका आधारमा काव्यका प्रकार उल्लेख गरिएको छ। तीमध्ये पनि आकारका आधारमा गरिएको वर्गीकरण यस लेखको सान्दर्भिक विषय हो। थोरबहुत फरक देखिए पनि समष्टिमा आकारका आधारमा गरिएको वर्गीकरणभित्र मुक्तक, युग्मक(सन्दानितक), कलापक, विशेषक, कुलक, कोष, खण्डकाव्य, महाकाव्य पर्दछन्। यी सबै भेदलाई पौरस्त्य काव्यशास्त्रमा काव्य नै भनिएको पाइन्छ तर नेपाली साहित्यमा चाहिँ लघु वा लघुतम रूपलाई कविता र मध्यम र बृहद् रूपलाई काव्य भन्ने गरेको पाइन्छ।
काव्य र कविता दुबै संस्कृत तत्सम शब्द हुन्। ‘कवृ वर्णने’ धातुमा ‘इन्’ लागेर वा ‘कुङ्’ शब्दे धातुमा ‘इ/इन्’ प्रत्यय लागेर पनि कवि शब्दको निर्माण हुन्छ। त्यही मूल कवि शब्दमा ‘तल्’ र ‘टाप्’ प्रत्यय लाग्दा कविको गुण वा धर्म अर्थवाला कविता शब्द बन्छ भने ‘ण्यत्’ प्रत्यय लाग्दा कविको कर्म अर्थवाला काव्य शब्द बन्दछ। बनोटमात्र भिन्न रहेका यी दुवै शब्दको अर्थ सामान्यतया एउटै भएकाले संस्कृत काव्यशास्त्रीहरू पर्यायका रूपमा मान्दछन् तर पनि उनीहरूले कविताभन्दा काव्य शब्दकै प्रयोग रुचाएको पाइन्छ।
अहिले लोकप्रिय रहेको कविताको प्रारम्भिक स्वरूप संस्कृतको वैदिक साहित्य नै हो तथापि क्रोञ्चद्वन्द्वका वियोगको प्रभावस्वरूप महर्षि वाल्मीकिको अन्तस्करणबाट प्रादुर्भूत छन्दोबद्ध श्लोकलाई नै लौकिक काव्यको प्रारम्भिक स्वरूप मानिएको पाइन्छ – ‘आदिकवेर्वाल्मीकेर्निहितसहचरविरहकातर–कौञ्च्याक्रन्दजनितः शोक एव श्लोकतया परिणतः’
‘मा निषाद प्रतिष्ठां त्वमगमः शाश्वतीः समाः।
यत्क्रौञ्चमिथुनादेकमवधीः काममोहितम् ॥’ (आनन्दवर्धन, १/५ वृत्तिभाग)
‘हे निषाद ! तैँले सयौँ वर्षसम्म कुनै कुराको लाभ प्राप्त नगरेस्, किनकि तैँले कौञ्चको मायालु जोडीमध्ये एकको बध गरिस्’ भन्ने भावको छन्दोबद्ध कविता आदिकवि वाल्मीकिको अन्तर्मनबाट अभिव्यक्त भएको थियो।
करुण रसको परिपाकलाई आधार बनाएर जन्मिएको पहिलो कवितामा रसको अनुभूतिकै कारण सर्वप्रिय भएकाले संस्कृत काव्यसाहित्यमा रसको आवश्यकतालाई महसुस गरेर नै होला, संस्कृतका काव्यशास्त्रीहरूले काव्यमा रसको अनिवार्यतालाई स्वीकार गरेका छन्। लामा हुन् चाहे छोटा जस्तोसुकै कवितामा पनि रसका विषयमा सावधान रहनुपर्दछ भन्ने पौरस्त्य काव्यशास्त्रीहरूको मत छ। आधुनिक नेपाली साहित्यमा कविताका लघुरूपले काव्यविधाको विशेष वर्गका रूपमा मान्यता पाए पनि पौरस्त्य काव्यशास्त्रका सन्दर्भमा चाहिँ कवितालाई काव्यको सानो रूप भनी परिभाषित गरेको अभ्यास कालीन स्वरूप भएकाले त्यसतर्फ खासै ध्यान दिएको पाइँदैन। पौरस्त्य काव्यशास्त्रीहरूले आ-आफ्नै ढङ्गले काव्यका प्रकारहरूको चर्चा गरेका छन्।
काव्यका प्रकार
काव्यका आकारगत भेद गर्ने क्रममा अग्निपुराणमा काव्यका भेद उल्लेख गरिएको छ। त्यहाँ पद्यकाव्यका सात भेदको वर्णन गरिएको छ-
‘महाकाव्यं कलापश्च पर्याबन्धो विशेषकम्।
कुलकं मुक्तकं कोष इति पद्यकुटुम्बकम् ॥’ (अग्निपुराण, ३३७/२३)
महाकाव्य, कलाप, पर्याबन्ध, विशेषक, कुलक, मुक्तक र कोष। यी पद्यसँग सम्बन्धित काव्यभेद हुन्। आनन्दवर्धनले काव्यका पाँच प्रकार उल्लेख गरेका छन् – ‘यतः काव्यस्य प्रभेदा मुक्तकं संस्कृतप्राकृतापभ्रंशनिबद्धम्, सन्दानितकविशेषककलापककुलकानि।’ (आनन्दवर्धन, ३/६३) काव्यका प्रभेद धेरै छन् तीमध्ये मुक्तक, संस्कृत प्राकृत र अपभ्रंश गरी तीन प्रकारको हुन्छ। त्यस्तै सन्दानितक, विशेषक, कलापक र कुलक पनि काव्यका भेद हुन्। आनन्दवर्धनको भनाइलाई स्पष्ट पार्दै ध्वन्यालोकका लोचनटीकाकार अभिनवगुप्तले यसरी उल्लेख गरेका छन्- ‘पूर्वापरनिरपेक्षेणापि येन रसचर्वणा क्रियते तदेव मुक्तकम्, द्वाभ्यां क्रियासमाप्तौ सन्दानितकम्, त्रिभिर्विशेषकम्, चतुर्भिश्च कलापकम्, पञ्चप्रभृतिकुलकम्।’ अघि र पछि आउने पद्यहरूसँग कुनै अर्थगत अपेक्षा नराखेर पनि जसले रसास्वादन गराउँछ त्यो नै मुक्तक हो। दुई पद्यमा क्रियासमाप्ति भएको सन्दानितक, तीन पद्यवाला विशेषक, चार पद्यले संरचित कलापक र पाँचदेखि माथिको सङ्ख्याका पद्यहरूले संरचित कुलक हुन्छ। आचार्य दण्डीले काव्यादर्शमा काव्यका चार प्रकार उल्लेख गरेका छन्-
‘मुक्तकं कुलकं कोषः सङ्घात इति तादृशः।
सर्गबन्धांशरूपत्वादनुक्तः पद्यविस्तरः ॥’ (दण्डी, १/१३)
मुक्तक, कुलक कोष सङ्घात जस्ता काव्यका भेदहरू महाकाव्यकै अंश भएकाले विस्तारका साथ चर्चा गरिएको छैन। रुद्रट पनि पूर्वाचार्यहरूकै मार्गमा काव्यभेद उल्लेख गर्दछन्-
‘अन्यद्वर्णकमात्रं प्रशस्तिकुलकादिनाटकाद्यन्यत्।’ (काव्यालङ्कारः १६/३६)
वस्तुवर्णन मात्र रहेका, राजादिको प्रशस्तिवर्णन गरिएका कुलकादि र नाटकादि काव्य हुन्छन्। काव्यालङ्कारकै वृत्तिकर्ता नमिसाधुले ‘कुलकादि’ शब्दलाई स्पष्ट गर्दै यसरी उल्लेख गरेका छन्- “यत्र पञ्चादिना चतुर्दशान्तानां श्लोकानां वाक्यार्थ परिसमाप्यते तत्कुलकम्। आदिग्रहणादेकस्मञ्छन्दसि वाक्यसमाप्तौ मुक्तकम्। द्वयो सन्दानितकम्। त्रिषु विशेषकम्। चतुर्षु कलापकम् इति– काव्यालङ्कारः पूर्ववत् )।” जहाँ चारदेखि माथि चौधसम्मका पद्यहरूमा वाक्यार्थ समापन हुन्छ त्यो कुलक हो। आदि पदले एकै पदमा समाप्त हुने मुक्तक, दुई वाक्यमा वाक्यार्थ पूर्ण हुने सन्दानितक, तीन वाक्यमा पूरा हुने विशेषक र चार वाक्यमा पूरा हुने कलापक हुन्छ। विश्वनाथले पनि साहित्यदर्पणको छैटौँ परिच्छेदमा काव्यका प्रकारहरूको चर्चा गर्ने क्रममा पद्यबद्ध कविताका पाँच प्रकार बताएका छन् –
‘छन्दोबद्धपदं पद्यं तेनैकेन च मुक्तकम्।
द्वाभ्यां तु युग्मकं सन्दानितकं त्रिभिरिष्यते ॥
कलापकं चतुर्भिश्च पञ्चभिः कुलकं मतम्।’ (विश्वनाथ, ६/३१४-३१५)
छन्दोबद्ध पदहरूको संरचना भएको पद्य हुन्छ। यस्तो एक पद्यले मुक्तक, दुईले युग्मक, तीनले सन्दानितक, चारले कलापक र पाँच पद्यहरूले कुलक गरी अनिबद्ध काव्यका पाँच भेद हुन्छन्। त्यस्तै दण्डीले कोष काव्य र सङ्घात काव्य भनी भिन्न प्रकारहरू उल्लेख गरेका छन्- ‘मुक्तकं कुलकं कोषः सङ्घात इति तादृशः।’ (दण्डी,पूर्ववत्) संस्कृत नेपाली बृहद् शब्दकोशमा पद्य काव्यका महाकाव्य, कलापक, विशेषक, कुलक, मुक्तक र कोष गरी ६ प्रकार उल्लेख गरिएको छ। (पाण्डेय, २०५७ : २९३) त्यस्तै नेपाली साहित्यकोशमा मुक्तक, सन्दानितक (युग्मक), विशेषक, कलापक, कुलक र कोष गरी ६ प्रकारको उल्लेख पाइन्छ। (बराल, २०५५ : ६३८)
प्रायशः संस्कृत काव्यशास्त्रीहरूका विचारमा अनिबद्धअन्तर्गत मुक्तक, युग्मक, कलापक, विशेषक, कुलक गरी पाँच र निबद्धअन्तर्गत कोष, खण्डकाव्य र महाकाव्य गरी जम्मा आठ प्रकार मान्य रहेको पाइन्छ। यहाँ अनिबद्ध काव्यका भेदहरूको चर्चा गरिन्छ।
मुक्तक काव्य
‘मुच्’ धातुमा ‘क्त’ प्रत्यय लागेर निष्पन्न ‘मुक्त’ शब्दमा ‘क’ प्रत्यय लाग्दा मुक्तक शब्द बन्दछ। यसको सामान्य अर्थ कसैसँग सम्बन्ध नभएको स्वतन्त्र भन्ने हुन्छ। साहित्यमा चाहिँ पद्य कविताको पहिलो भेद मुक्तक हो। ‘तेनैकेन च मुक्तकम्’ (विश्वनाथ,पूर्ववत्) कविको आशय एउटै पद्यमा पूर्ण रूपले अभिव्यक्त हुने रचना नै मुक्तक हो, अर्थात् यसले अन्य पद्यसमूहको अपेक्षा गर्दैन। पौरस्त्य काव्यशास्त्रीहरूले मुक्तकलाई महत्त्व दिएर छुट्टै परिभाषा गरेका छन्। अग्निपुराणमा मुक्तकलाई परिभाषित गर्दै चमत्कारपूर्ण एकपद्यात्मक रचना भनिएको छ- ‘मुक्तकं श्लोक एवैकश्चमत्कारक्षमः सताम्।’ (अग्निपुराण, ३३७/३६) एउटै पद्य चमत्कारजनक भएमा मुक्तक काव्य हुन्छ। त्यस्तै दण्डीको काव्यादर्शको वृत्तिभागमा एकआपसमा असम्बद्ध एकश्लोकात्मक रचनालाई मुक्तक भनिएको छ- ‘अन्यानपेक्ष एकश्लोकनिबद्धो मुक्तकम्।’ (दण्डी, १/१३) ध्वन्यालोकको लोचन टीकाका टीकाकार अभिनवगुप्तले अन्य पद्यको अपेक्षा विना रसको आस्वादन गराउने एकश्लोकी पद्य नै मुक्तक हो भनी मुक्तकको स्पष्ट रूपले रससापेक्ष परिभाषा गरेका छन्- ‘पूर्वापरनिरपेक्षेणापि हि येन रसचर्वणा क्रियते तदेव मुक्तकम्’ (अभिनवगुप्त, लोचन ३/७)। मुक्तकको लेखनपरम्परा संस्कृतमा पनि प्रशस्त पाइन्छ। कवि अमरुकको अमरुकशतकलाई आनन्दवर्धनले उत्कृष्ट मुक्तकहरूको सङग्रह मानेका छन्। सुभाषितरत्नभाण्डागारमा सङ्कलित पद्यहरूका साथै संस्कृतका विभिन्न नीति पद्यहरू पनि मुक्तककै कोटिमा पर्दछन्। अहिले नेपाली साहित्यमा पनि एउटै पद्यमा आकर्षक ढङ्गले व्यङ्ग्यात्मक अभिव्यक्तिका लागि मुक्तकको प्रयोग अधिक मात्रामा भएको पाइन्छ। कवि देवी नेपालका विचारमा अनुभूतिको एक आनन्दप्रद झड्का नै मुक्तक हो (नेपाल, २०७७ पौष)। नेपाली कविताको वर्गीकरणमा मुक्तक लघुतम कविताअन्तर्गत पर्दछ। क्षणिक सुनाइ वा पढाइमा नै रसात्मक आनन्दानुभूति हुने हुँदा पाठकहरू पनि मुक्तकप्रति आकर्षित हुन्छन्। नेपाली साहित्यको अनुवाद काल हुँदै माध्यमिक कालमा मोतीराम भट्टका एकश्लोकी कविता, आधुनिक कालमा लेखनाथ पौड्यालको कालमहिमा पनि मुक्तक वर्गकै रचना मानिन्छ। नेपाली साहित्यमा विभिन्न समय र परिवेशमा रचना गरिएका मुक्तकहरू सङ्कलन गरी मुक्तक-कवितासङ्ग्रह पनि प्रकाशित भएका पाइन्छन्।
युग्मक काव्य
‘द्वाभ्यां तु युग्मकम्’ (विश्वनाथ, पूर्ववत्) दुई श्लोकी रचनालाई युग्मक कविता भनिन्छ। संस्कृत साहित्यमा विशेष गरी महाकाव्यसम्बद्ध युग्मकको प्रयोग प्रशस्त मात्रामा पाइन्छ। केही मात्रामा स्वतन्त्र युग्मक पनि रचिएका पाइन्छन्। नेपाली साहित्यको माध्यमिक कालमा शक्तिवल्लभ अर्यालले रचना गरेको दुई श्लोकी कविता ‘तनहुँ भकुण्डो’लाई संस्कृतको युग्मक कविताबाट प्रभावित मान्न सकिन्छ। अहिले नेपालीमा युग्मक भनी संस्कृतको परिभाषासँग नमिल्ने कविताको प्रकारको अभ्यास भएको पाइन्छ। अहिलेका नेपाली साहित्यमा दुई हरफमा लेखिने अत्यन्त खँदिलो भाव संयोजन भएको रचनालाई युग्मक भनिएको पाइन्छ। (नेपाल, २०७७ पौष)
सन्दानितक काव्य
‘सन्दानितकं त्रिभिरिष्यते’ (विश्वनाथ,पूर्ववत्) तीन श्लोकसम्बद्ध रचनालाई सन्दानितक भनिएको छ तर ध्वन्यालोक लोचनमा दुई पद्यात्मक सन्दानितक र तीन पद्यात्मक विशेषक भनिएको छ- ‘द्वाभ्यां क्रियासमाप्तौ सन्दानितकम्, त्रिभिर्विशेषकम्।’(ध्वन्यालोक-लोचन, पूर्ववत्) काव्यालङ्कार(रुद्रट)को वृत्तिभागमा नमिसाधुले पनि ‘द्वयोः सन्दानितकम्’ भनी उल्लेख गरेका छन्। यसबाट अनिबद्ध काव्यका भेदमा विमति नरहे पनि नामकरणमा चाहि विद्वान्हरूको कुरामा सङ्गति नमिलेको स्पष्ट हुन्छ। संस्कृतमा महाकाव्यसम्बद्ध सन्दानितकको प्रयोग प्रशस्त पाइएपनि स्वतन्त्र सन्दानितक कविता चाहिँ विरलै पाइन्छन्।
कलापक काव्य
‘कलापकं चतुर्भिश्च’ (विश्वनाथ,पूर्ववत्) चार पद्यसम्बद्ध रचना कलापक हुन्छ। अग्निपुराणमा प्रवास जानुभन्दा अघि वियोगको अवस्थासँग सम्बद्ध रस अभिव्यक्त भएको रचनालाई कलापक भनिएको छ- ‘कलापोऽत्र प्रवासः प्रागनुरागाह्वयो रसः।’ (अग्निपुराण, ३३७/३५) यसको प्रयोग संस्कृत महाकाव्यहरूमा प्रबन्धबद्धका रूपमा भेटिए पनि स्वतन्त्र रचना विरलै पाइन्छ।
कुलक काव्य
‘पञ्चभिः कुलकं मतम्’ (विश्वनाथ, पूर्ववत्) पाँच श्लोकसम्बद्ध रचना कुलक हो। कतिपय संस्कृत काव्यशास्त्रीहरूले पाँचभन्दा धेरै पद्यहरू हुने कुरा पनि बताएका छन्। संस्कृत महाकाव्यमा यस भेदको प्रयोग प्रशस्त पाइन्छ। आनन्दवर्धन, विश्वनाथ आदि काव्यशास्त्रीहरूले पाँच श्लोकी भनी परिभाषित गरे पनि ध्वन्यालोक लोचन र अग्निपुराणमा फरक ढङ्गले कुलकको परिभाषा गरिएको छ- ध्वन्यालोक लोचनमा ‘पञ्चप्रभृतिभिः कुलकम्’ (ध्वन्यालोक-लोचन,पूर्ववत्) भनिएको छ भने अग्निपुराणमा ‘श्लोकैरनेकै कुलकम्’ (अग्निपुराण, पूर्ववत्) अनेक पद्यहरूसम्बद्ध रचना कुलक हुन्छ भन्ने उल्लेख छ। त्यस्तै काव्यादर्शको वृत्तिभागमा ‘अनेकपद्येनैकक्रियान्वितेनैकवाक्यार्थकथनं कुलकम्’ भनी कुलकलाई चिनाइएको छ। (दण्डी, पूर्ववत्) कुलकका यी परिभाषाको सूक्ष्म अध्ययन गर्दा अहिले लेखिने गरेका नेपाली फुटकर कविताको प्रेरक वा आधार कुलकलाई मान्न सकिन्छ। नेपाली फुटकर कविता पनि प्रायः पाँच पद्यमा लेखिने गरे पनि पाँचभन्दा माथिको पद्यसङ्ख्यामा प्रशस्त कविताहरू लेखिएका पाइन्छन्। अभिनवगुप्त, अग्निपुराण र दण्डीले परिभाषित गरेअनुसार लेखनाथ पौड्यालको पिँजराको सुँगाजस्ता लामा कवितालाई लिन सकिन्छ। त्यसकारण नेपाली फुटकर कविताको प्रारम्भिक आधार कुलकलाई मान्न सकिन्छ।
कोष काव्य
काव्यका लघुभेदहरूको चर्चा गर्ने क्रममा कोष काव्यको पनि उल्लेख भएको छ। निबद्ध भेदमा गणना गरिए पनि यसका प्रत्येक पद्य मुक्तकजस्तै स्वतन्त्र हुन्छन्। एकआपसमा असंलग्न पद्यहरूको सङ्ग्रहलाई कोष काव्य भनिएको पाइन्छ। दण्डीले कोष काव्यको नाम लिए पनि महाकाव्यकै अङ्ग भनी छुट्टै चर्चा गरेका छैनन् भने अग्निपुराणकारले स्पष्ट रूपमा कोष काव्यको परिभाषा गरेका छन्। यिनले विद्वान्हरूका लागि रुचिकर उत्कृष्ट कविका सुन्दर सूक्तिहरूको सङ्ग्रहलाई कोष काव्य मानेका छन्-
‘सूक्तिभिः कविसिंहानां सुन्दरीभिः समन्वितः।
कोषो ब्रह्मापरिच्छिन्नः स विदग्धाय रोचते ॥’ (अग्निपुराण, ३३७/३७)
त्यस्तै काव्यादर्शको वृत्तिभागमा ‘असंहतार्थानामेककवेरनेककवीनां वा निबन्धः कोषः’ एक वा अनेक कविहरूका कविताको सङ्ग्रहलाई कोष भनिएको छ। (दण्डी, १/१३) साहित्यदर्पणमा विश्वनाथले कोष काव्यलाई यसरी परिभाषित गरेका छन्-
‘कोषः श्लोकसमूहस्तु स्यादन्योन्यानपेक्षकः।
व्रज्याक्रमेण रचितः स एवाति मनोरमः ॥’ (विश्वनाथ, ६/३२९)
एक आपसमा अनपेक्षित समान प्रकारका पद्यहरूको समूहलाई कोष काव्य भनिन्छ। यो परिभाषाअनुसार संस्कृतका नीतिशतक, अमरुकशतक, सुभाषरत्नभाण्डागारजस्ता सङ्ग्रहहरूलाई यस वर्गमा राख्न सकिन्छ। नेपालीमा चाहिँ मुक्तक सङ्ग्रहलाई नै कोष काव्य भन्न सकिन्छ।
अनिबद्ध काव्यको बीजतत्त्व
लौकिक कविताको सुरुवात नै रससापेक्ष भएकाले पौरस्त्य विद्वान्हरू काव्यमा रसको अनिवार्यता रहेको बताउँछन्। ‘एकश्लोकी मुक्तकदेखि महाकाव्यसम्म विकसित सबै प्रकारका काव्यहरूको रचना गर्दा सरस काव्यको अपेक्षा गर्ने कविले सावधान रही रस विरोधी तत्त्वको परिहार गर्नुपर्दछ’ भन्ने धारणा ध्वनिकारको छ-
‘प्रबन्धे मुक्तके वाऽपि रसादीन्बन्धुमिच्छता।
यत्नः कार्यः सुमतिना परिहारे विरोधिनाम् ॥’ (आनन्दवर्धन, ३/७३)
आचार्य विश्वनाथले त काव्यको लक्षणमै रसको प्रधानतालाई उल्लेख गरेका छन्- ‘वाक्यं रसात्मकं काव्यम्’ (विश्वनाथ, १/३) पौरस्त्य समालोचना परम्पराको चरम कालका सशक्त काव्यशास्त्री आचार्य जगन्नाथले आफ्नो काव्यशास्त्रीय कृति रसगङ्गाधरमा अर्थको चमत्कृतिभन्दा शब्दको सौन्दर्य बढी भएको काव्यलाई अधमको संज्ञा दिएका छन्- ‘यत्रार्थ चमत्कृत्युपस्कृता शब्दचमत्कृतिः प्रधानम्, तदधमं चतुर्थम्’ (जगन्नाथ, १/५)
संस्कृतका कतिपय विद्वान्हरू महाकाव्य लेखनको अभ्यासको चरण लघुतम वा लघुकविता भएकाले यसमा खासै सैद्धान्तिक नियम नखोजिने तर्क अगाडि सार्दछन्। अभ्यासको चरण भएकैले मुक्तकका सर्जकहरूको सङ्ख्या अनन्त हुन्छ किनकि प्रकीर्ण काव्यमा स्वेच्छाले धेरै कुरा राख्न सकिन्छ तर प्रबन्ध अर्थसम्बद्ध वा नियमबद्ध हुनाले प्रबन्धका प्रणेता कवि एक वा दुई मात्र हुन्छन्-
‘मुक्तके कवयोऽनन्ताः प्रबन्धे कवयः शतम्।
महाप्रबन्धे तु कविरेको द्वौ दुर्लभास्त्रयः ॥
बह्वपि स्वेच्छया कामं प्रकीर्णभिधीयते।
अनुज्झितार्थसम्बन्धः प्रबन्धो दुरुदाहरः ॥’ (राजशेखर, १०/२३३)
त्यस्तै वामन पनि फूलबाट माला र मालाबाट शिरोभूषण बनेजस्तै अनिबद्ध काव्यमा सिद्धहस्त भएपछि मात्र निबद्ध काव्य (महाकाव्य) रचना गर्ने सामर्थ्य प्राप्त हुन्छ भन्ने तर्क राख्दछन्- “तदनिबद्धं निबद्धं च, क्रमसिद्धिस्तयोः स्रगुत्तंसवत् (वामन, ३/२८)।” राजशेखर र वामनका विचारमा अभ्यासक्रममा कविले स्वतन्त्रतापूर्वक रचना गर्ने भएकाले अनिबद्ध काव्यमा खासै विधिनियमको आवश्यकता नपर्ने आशय राख्दछन्।
पौरस्त्य काव्यशास्त्रीहरूबाट व्यक्त मतहरूको अध्ययनबाट उनीहरूले प्रबन्ध काव्य सैद्धान्तिक नियममा आधारित हुनुपर्ने बताए पनि अनिबद्ध काव्यका लागि धेरै कुरा उल्लेख नगरी रसमय रचना हुनुपर्ने कुरामा जोड दिएको पाइन्छ।
नेपाली कविता
नेपालीमा कविताको प्रबन्धात्मक र अप्रबन्धात्मक भेद गरेको पाइन्छ। प्रबन्धात्मकमा खण्डकाव्य र महाकाव्यलाई राखिएको छ भने अप्रबन्धात्मकमा मुक्तक र स्फुटकविताको चर्चा गरेको पाइन्छ। (उपाध्याय, २०६७ : १०२) यीमध्ये पछिल्लो समयमा सर्वाधिक उर्वर रहेको काव्यभेद चाहिँ स्फुटकविता नै हो। राष्ट्रिय स्तरदेखि स्थानीय तहसम्म काव्यसर्जकहरू साहित्यिक संस्थामा आबद्ध भई साप्ताहिक, पाक्षिक वा मासिक रूपमा आफूले सिर्जना गरेका रचना वाचन गर्ने परम्पराको विकास भइरहेको पाइन्छ। यसले स्थानीय सर्जकलाई क्रमशः अभ्यस्त हुँदै राष्ट्रिय स्तरमै परिचित हुने अवसर प्राप्त हुने गरेको छ। स्थानीय स्तरबाटै कविता सिर्जनाले तीव्रता पाउँदा नेपाली साहित्यको काव्यविधा पनि सबल र सम्पन्न बन्ने कुरामा कुनै द्विविधा रहँदैन। नेपाली साहित्यमा कविताको विकास गद्य र पद्य दुई रूपमा भइरहेको छ। स्वरूप, सिद्धान्त र प्रयोजनका दृष्टिले दुवैको महत्त्व समान छ तर पनि पाठकहरूको आकर्षणमा कम वा बेसी चाहिँ देखिन्छ नै। पौरस्त्य काव्यसाहित्यमा चाहिँ गद्यकविताको सिर्जना खासै भएको पाइँदैन। सामान्यतया त्यहाँ काव्य/कविता भन्ने बित्तिकै छन्दोबद्ध नै बुझिन्छ। पौरस्त्य काव्यकै प्रभावले नेपाली साहित्यको विकासका प्रारम्भिक र माध्यमिक चरणमा पद्य कविताको बोलवाला थियो। भानुभक्त, मोतीराम जस्ता कविहरूबाट सुरु भएको संस्कृतका काव्यहरूलाई समच्छन्दमा अनुवाद गर्ने र शास्त्रीय छन्दमा मौलिक कविता सिर्जना गर्ने सिलसिलाले आधुनिक कालसम्मै निरन्तरता पाएको देखिन्छ। आधुनिक कालमा गोपालप्रसाद रिमालले गद्य कविता लेखन प्रारम्भ गरेपछि नेपाली साहित्यमा गद्य कविता लेखनको विकास भएको हो। अहिले नेपालीमा काव्यका भेदहरूमध्ये लघुतम कविता र लघुकविताको लेखन तीव्र गतिमा बढिरहेको छ। लघुतम भेदलाई मुक्तक र लघु भेदलाई फुटकर कविता भनिन्छ। नेपाली साहित्यमा तीव्र रूपले विकसित हुँदै गरेका कविताका लघुतम र लघु भेदको बीज खोज्दै जाँदा पौरस्त्य काव्यशास्त्रमा उल्लिखित काव्यको अनिबद्ध भेदसम्म पुगिन्छ।
संस्कृत अनिबद्ध काव्य र नेपाली कविता
नेपालीमा संस्कृतका संस्कृत समालोचनाशास्त्रले परिभाषित गरेझैँ एकश्लोकी कवितालाई नै मुक्तकका रूपमा लिइन्छ। सामान्यतया कविता भन्ने बित्तिकै फुटकर कविता बुझिन्छ। यसलाई आचार्य वामन र राजशेखरले भनेजस्तै खण्डकाव्य र महाकाव्य लेखनका लागि अभ्यास क्षेत्रका रूपमा लिइएको पाइन्छ। अर्थात् मुक्तक, फुटकर कवितामा सिद्धहस्त भइसकेपछि स्रष्टालाई खण्डकाव्य हुँदै महाकाव्य रचना गर्ने इच्छाशक्ति र कौशल प्राप्त हुन्छ। अतः काव्य विधामा रुचि हुने सर्जकहरूको प्रारम्भिक अभ्यास स्थल भएकाले पनि कविता क्षेत्र गतिशील बनेको पाइन्छ।
नेपाली साहित्यमा लघुतम कविता र लघुकविताको प्रारम्भ विन्दु खोज्ने हो भने संस्कृत काव्यशास्त्रमा उल्लिखित अनिबद्ध काव्यसम्म नै पुग्नुपर्छ। नेपाली साहित्यका थुप्रै विधागत सिर्जनाहरू संस्कृत परम्पराबाट प्रेरित भएका देखिन्छन्। नेपाली मुक्तक र फुटकर कविता पनि नेपाली साहित्यमा स्वतः जन्मिएको हैन। यो कतैबाट बीज ग्रहण गरेर नै विकसित भएको हुनुपर्छ। यसको बीज खोज्दै जाँदा संस्कृतको अनिबद्ध काव्यभेदसँग जोडिन्छ। नेपाली कविता साहित्यको प्रारम्भिक कविता सुवानन्द दासको ‘पृथ्वीनारायण’ कविता संस्कृत अनिबद्ध काव्यभेद कुलकसँग मिल्दोजुल्दो देखिन्छ भने शक्तिवल्लभ अर्यालको ‘तनहुँ भकुन्डो’ युग्मक काव्यको निकट देखिन्छ। संस्कृत काव्यशास्त्रमा कतिपय काव्यशास्त्रीहरूले पाँच पद्य भने पनि कतिपयले पाँचभन्दा बढी पद्यहरू भएको कुलक काव्य भनेका छन्। मुक्तक त संस्कृत काव्यशास्त्रमा परिभाषा गरेअनुसारकै अहिले नेपाली लेखन परम्परामा प्रचलित छ। त्यसैले संस्कृत अनिबद्ध काव्यको विकसित रूप नै नेपाली साहित्यका मुक्तक र फुटकर कविता हुन् भन्न सकिन्छ।
नेपाली काव्यसाहित्यमा लघुकविताको प्रारम्भ सुवानन्द दासको पृथ्वीनारायण कविताबाट भएको मानिन्छ। (नेपाल, २०७७ पौष) आधुनिक कालको सुरुवातसम्म पौरस्त्य सिद्धान्तका आधारमा पद्यबद्ध कविता लेखिए भने गोपालप्रसाद रिमालले गद्य कविताको शुभारम्भ गरेपछि नेपाली कविता पौरस्त्य र पाश्चात्त्य साहित्यका काव्यशास्त्रीहरूले निर्देश गरेका नियमलाई स्वीकार गरेर अघि बढिरहेको पाइन्छ। स्रष्टाहरूमा बिम्ब, प्रतीक र अलङ्कारहरूप्रति अस्वाभाविक प्रेमले कतिपय कविता बुझ्न निकै प्रयास गर्नुपर्छ। यस्ता कविताहरू पश्चिमी प्रभावबाट प्रभावित देखिन्छन्। संस्कृतमा काव्यशास्त्रीहरूले पनि बौद्धिकता प्रदर्शन गर्न प्रतिस्पर्धाकै रूपमा शब्दाडम्बरवाला कविता लेखेको पाइए पनि त्यस्ता रसानुभूतिरहित कवितालाई काव्यशास्त्रले अधम वर्गको मान्दछ किनकि पौरस्त्य विद्वान्हरू निरवरोध रसानुभूति हुने काव्यलाई मात्र उत्तम काव्य मान्दछन्। नेपाली कवि पारसमणि प्रधानको कवितासम्बन्धी धारणा पौरस्त्य काव्यशास्त्रीहरूको विचारसँग मेल खान्छ –
कवि कविता होस्, कविता कवि होस्, तब पो कविता हुन्छ।
शब्द थुपारीकन के हुन्छ ? भाव भए पो हुन्छ।
हुन त संस्कृतमा पनि रस व्यङ्ग्यात्मक हुन्छ। सिधै वाच्यार्थबाट भन्दा घुमाउरो पाराको अर्थले रसानुभूति गराउनु आवश्यक हुन्छ तथापि त्यो जटिल चाहिँ हुनुहुँदैन। नेपाली साहित्यमा अहिले तीव्रतर विकास हुँदै गएको कवितालेखन परम्पराले चाहिँ पौरस्त्य विचारलाई नै आत्मसात् गरेको पाइन्छ। आचार्य मम्मटले प्रस्तुत गरेको काव्यप्रयोजन अहिलेका छोटा कविताका लागि पनि उत्तिकै उपयोगी देखिन्छ-
काव्यं यशसेऽर्थकृते व्यवहारविदे शिवेतरक्षतये।
सद्य परनिवृत्तये कान्तासम्मिततयोपदेश युजे ॥ (मम्मट, १/२)
कीर्ति र अर्थको प्राप्ति, व्यवहारिक ज्ञान, अमङ्गलको विनाश, भौतिक जन्जालबाट मुक्त गरी आत्मिक आनन्द प्राप्ति र प्रियतमाझैँ सत्कार्यमा प्रेमपूर्ण आग्रह सुकाव्यबाट अपेक्षित हुन्छ। नेपाली कविता रचना गर्ने कविले पनि आफ्ना कविताबाट यी कुरा प्राप्त होऊन् भन्ने चाहेकै हुन्छ। ‘कविताका माध्यमबाट आफूलाई सबैले चिनून्, पारितोषिक आदिका माध्यमबाट अर्थप्राप्ति होओस् कविताको भावअनुसार पाठकको व्यवहार सकारात्मक होओस्। कविताका सन्दर्भमा कसैले आफूमाथि अपशब्दको प्रयोग नगरुन्। कविता पढ्दा अलौकिक आनन्द प्राप्त होओस्। कविताले दिएको सन्देश झर्को नमानी सबैले स्वीकार गरुन्’ भन्ने कविको अभिलाषा हुन्छ। त्यस कारण पनि अहिले नेपाली साहित्यमा सिर्जना हुने गरेका छोटा कविता र संस्कृत काव्यशास्त्रका अनिबद्ध कविताका बीच प्रेर्यप्रेरक सम्बन्ध रहेको छ भन्ने कुरामा दुई मत नहोला।
निष्कर्ष
संस्कृत काव्यशास्त्रको इतिहास सर्वप्राचीन मानिन्छ। अहिले समालोचना क्षेत्रमा समीक्षाका विषय बनेका यावत् कुराहरू प्राय संस्कृत काव्यशास्त्रमै पाइन्छन्। सिद्धान्त होओस् या साहित्य, यी सबै कुनै न कुनै रूपमा वैदिक साहित्य, भरतको नाट्यशास्त्र, वात्स्यायनको कामसूत्र, व्यासका महापुराण, महाभारत, वाल्मीकिको रामायण, भामहको काव्यालङ्कार, आनन्दवर्धनको ध्वन्यालोक, मम्मटको काव्यप्रकाश आदि ग्रन्थहरूमा आधारित भेटिन्छन्। त्यसैले अहिलेका साहित्यमा प्रचलित अधिकांश विषय वा विधाहरूको बीज संस्कृत काव्यशास्त्रमै देखिन्छ। अहिले नेपाली साहित्यको काव्य विधाअन्तर्गत तीव्रतर विकास भइरहेको फुटकर कविता (लघुकविता) को प्रारम्भिक विन्दु पनि संस्कृत काव्यशास्त्रमै पाइन्छ। पौरस्त्य काव्यशास्त्रीहरूले अनिबद्ध काव्यअन्तर्गत राखेर परिभाषित गरेका मुक्तक, युग्मक, विशेषक, कलापक र कुलक नै नेपाली फुटकर कविताका बीज हुन् भन्न कुनै अप्ठ्यारो पर्दैन। भलै स्वरूप वा लक्षणमा केही अन्तर अवश्य होला तर बीजबाट विकसित हुँदा स्वरूपमा परिवर्तन स्वभाविक मानिन्छ। अभिनवगुप्त र अग्निपुराणले गरेको कुलकको परिभाषाले त नेपाली लघुकवितालाई सम्बोधन नै गरेको देखिन्छ। त्यहाँ एक क्रियात्मक पद्यहरूको समूह भनेको छ, प्रत्येक पद्य एकक्रियात्मक हुँदा मुक्तक बन्ने अवस्था पनि आउन सक्ने हुनाले एकक्रियात्मक पद्यसमूह भनी भेद छुट्याइएको हुनुपर्छ तर अहिले नेपाली लघुकवितामा चाहिँ पद्यसमूहमा क्रियाको नभएर भावको बन्धन स्विकारिएको पाइन्छ। प्रबन्धांश र छुट्टै, दुवै हुन सक्ने देखेर नै संस्कृत काव्यशास्त्रीहरूले काव्यका यी भेदलाई प्रबन्धबद्ध र स्वतन्त्र दुबै किसिमका मानेका हुन सक्छन्। वामन र राजशेखरले भनेजस्तो बृहत् काव्यलेखनको अभ्यास स्वरूप काव्यका लघु भेदहरूको विकास भएको हो भन्ने भनाइका उदाहरण त लघुकविताबाट महाकाव्यलेखनको यात्रा पूरा गर्ने धेरै नेपाली महाकवि भेट्न सकिन्छन्। अभ्यास क्षेत्र भएकैले संस्कृत काव्यशास्त्रीहरूले यसको लक्षण, स्वरूप आदि कुरामा धेरै ध्यान दिएको पाइँदैन। उनीहरूका विचारमा काव्यका स्वतन्त्र लघुरूपको रचना गर्ने कविले एउटै कुरामा सावधान हुनुपर्छ, त्यो हो – रस। आनन्दवर्धनका अनुसार काव्यको प्रयोजन सिद्ध हुने किसिमको रचना नै अपेक्षित हुन्छ। त्यो रसात्मक रचनाबाट सिद्ध हुन्छ। केवल बौद्धिकता प्रदर्शन गर्न छन्दमा अनुप्रासयुक्त शब्दहरू थुपारेको रचनालाई साहित्य मानिँदैन। पौरस्त्य काव्यशास्त्रअनुसार ती त अकविता वा अधम काव्यमा गनिन्छन्। अहिलेको नेपाली कविता लेखनको गतिशीलतालाई हेर्दा नेपाली काव्य साहित्यको कोष समृद्ध हुने कुरामा दुई मत छैन तथापि कविता लेखनका सन्दर्भमा पौरस्त्य काव्यशास्त्रले अकविता मान्न सक्ने रचनाहरू पनि प्रशस्त पाइन्छन्। यस्ता सर्जकहरूले काव्यको सैद्धान्तिक पक्षको पनि अध्ययन गरी आफ्ना रचनालाई थप परिष्कृत गर्दै लैजाने हो भने आफ्नो साहित्यिक व्यक्तित्वको विकासका साथै काव्य साहित्यको विकासमा पनि सहयोग पुग्ने देखिन्छ। साहित्यको प्रयोजन नै आत्मानन्द प्राप्त गर्नु हो। यस्तो आनन्द रसात्मक कृतिबाट मात्र प्राप्त हुन्छ। त्यसैले नेपाली मुक्तक वा फुटकर कवितालाई संस्कृत काव्यशास्त्र अनुकूल हेर्नु उपयुक्त देखिन्छ।
सन्दर्भग्रन्थसूची
आनन्दवर्धन (२०१०), ध्वन्यालोक लोचन (व्या. गंगासागर), चौखम्बा संस्कृत भवन।
जगन्नाथ (१९९७), रसगङ्गाधर, (नवौं सं.), चौखम्बा विद्याभवन।
उपाध्याय, केशवप्रसाद (२०५९), साहित्यप्रकाश, (सातौं सं.), साझा प्रकाशन।
दण्डी (१९३८), काव्यादर्श, प्राच्यविद्यासंशोधनमन्दिर।
नेपाल, देवी (२०७७ पौष २५), मुक्तक के हो र कसरी लेखिन्छ ? साहित्यपोस्ट।
पाण्डेय, फणीन्द्रप्रसाद (२०५७), संस्कृत नेपाली बृहत् शब्दकोश, महेन्द्र संस्कृत विश्वविद्यालय।
पोखरेल, भानुभक्त (२०४०), सिद्धान्त र साहित्य, श्याम पुस्तक भण्डार।
मम्मट (१९८३), काव्यप्रकाश, (व्या. श्रीनिवास), साहित्य भण्डार।
बराल, ईश्वर र अरू (२०५५), नेपाली साहित्य कोश, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान।
राजशेखर (२०३०), काव्यमीमांसा, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान।
रुद्रट (१९०९), काव्यालङ्कार, बालकृष्ण रामचन्द्र घाडेकर।
वामन (२०१०), काव्यालङ्कारसूत्रवृत्ति, (चौथो सं.), चौखम्बा कृष्णदास अकादमी।
विश्वनाथ (१९९५), साहित्यदर्पण, (व्या. लोकमणि दाहाल), चौखम्बा संस्कृत प्रतिष्ठान।
व्यास (१९५७), अग्निपुराण, मनसुखराय मोर।
[1] सहप्राध्यापक, साहित्य, पिण्डेश्वर विद्यापीठ, धरान।
इमेल : koiralaguru32@gmail.com