प्रस्तुत लेख पौरस्त्य दर्शनको मूल सैद्धान्तिक स्थापनाका आधारमा विजय मल्लका नाटकहरूको अध्ययन गर्ने उद्देश्यले तयार पारिएको हो। गुणात्मक ढाँचामा संरचित यस लेखमा प्राथमिक र द्वितीयक सामग्री स्रोतसँगै पुस्तकालययीय कार्यविधि स्रोतबाट सामग्री सङ्कलन गरिएको छ।
नित्यानन्द खतिवडा, विद्यावारिधि[1]
लेखसार
प्रस्तुत लेख पौरस्त्य दर्शनको मूल सैद्धान्तिक स्थापनाका आधारमा विजय मल्लका नाटकहरूको अध्ययन गर्ने उद्देश्यले तयार पारिएको हो। गुणात्मक ढाँचामा संरचित यस लेखमा प्राथमिक र द्वितीयक सामग्री स्रोतसँगै पुस्तकालययीय कार्यविधि स्रोतबाट सामग्री सङ्कलन गरिएको छ। मल्लका नाटकको अध्ययनका लागि पौरस्त्य दर्शनको स्थापनागत सिद्धान्तलाई सैद्धान्तिक आधार बनाइएको छ। पौरस्त्य दर्शन पूर्वीय जगत्मा विकसित एउटा चिन्तन हो। यो दर्शन खास मान्यतमा आधारित रहेको छ। यस अध्ययनमा पौरस्त्य दर्शनमा निहित मूल अवधारणा वा सिद्धान्तहरूमध्ये ईश्वर/ब्रम्ह, जीव/आत्मा, संसार/जगत्, मोक्ष/मुक्ति, शरीर, कर्म र कर्मफल, जीवन र मृत्यु आदि विषयका आधारमा विजय मल्लका नाटकहरूको विश्लेषण गरिएको छ। उक्त शीर्षकमा आधारित भई मल्लका नाटकहरूमध्ये ‘कोसँग
जुधौँ ?’, ‘पाहुना’, ‘नाम नभएको मानिस’ र ‘भित्तेघडी’ नाटकहरूको मात्र अध्ययन गरिएको छ। यहाँ मल्लमा स्वाध्ययन र सामाजिक कारणबाट विकसित पौरस्त्य चिन्तनअन्तर्गत उनका उपर्युक्त नाटकहरूमध्ये कोसँग जुधौँ, पाहुना र भित्तेघडी नाटकमा पौरस्त्य दर्शनका उपर्युक्त मान्यताको सकारात्मक प्रभाव पाइए पनि अन्यमा दर्शन प्रभावको अवस्था सामान्यमात्र रहेको पाइन्छ भन्ने निष्कर्ष निकालिएको छ।
शब्दकुञ्जी : पौरस्त्य, दर्शन, ईश्वर, मोक्ष, कर्मफल।
विषयपरिचय
संस्कृत भाषाको ‘दृश् दर्शने’ धातुमा ‘अन’ प्रत्यय लागेर दर्शन शब्दको निर्माण भएको छ। ‘दृश्’ भन्नाले देख्नु हुन्छ भने देख्नु भन्नाले स्थूल (चर्म) चक्षुले बाहिरी संसारलाई र सूक्ष्म (ज्ञान/प्रज्ञा) चक्षुले आन्तरिक संसारलाई देख्नु भन्ने अर्थ गर्न सकिन्छ (निगम, सन् २०००, १-२) । दर्शन एउटा विचार हो। पूर्वीय मान्यतामा दर्शन भन्नाले आलोचनात्मक व्याख्यान, तार्किक पर्यवेक्षण तथा जीवन र जगत्को सम्यक हेराइ भनिएको छ। लौकिक र पारलौकिक शक्तिमा विश्वास गर्ने चिन्तन नै दर्शन हो। पाश्चात्य जगत्मा पनि जीवन र जगत् विषयक गहन चिन्तनलाई नै दर्शन भनिएको छ। पूर्वमा प्रचलित दर्शनलाई पूर्वीय वा पौरस्त्य दर्शन भनिन्छ। खासगरी पूर्वमा प्रचलित वैदिक (साङ्ख्य, योग, वेदान्त, मीमांसा, न्याय, वैशेषिक) र अवैदिक (बौद्ध, चार्वाक् र जैन) आदि चिन्तनद्वारा जीवन र जगत्को सम्यक् हेराइ नै दर्शन हो। साहित्यका विभिन्न विधाहरू पौरस्त्य दर्शनका विभिन्न विचारहरूबाट प्रेरित र प्रभावित रहेका छन्। साहित्यको नाटक विधा पनि यसबाट अछुतो देखिँदैन। पौरस्त्य दर्शनका स्थापनाहरू ईश्वर/ब्रह्म, जीव/आत्मा, जगत्/संसार, मोक्ष/मुक्ति, शरीर, मन, सुख-दुःख, जन्म-मृत्यु, कर्म र कर्मफल, प्रमाण (उपाध्याय, २०६६, २७) सँगै पूर्वीय षड्दर्शनले आत्मसात् गरेका (ईश्वर, जीवन, मृत्यु, आत्मा, मोक्ष, मन, कर्म आद) विभिन्न विचारहरूबाट नाटककार विजय मल्ल पनि प्रेरित र प्रभावित देखिन्छन्। पारिवारिक र सामाजिक जीवन भोगाइसँगै स्वाध्ययनबाट पौरस्त्य दर्शनको ज्ञान हासिल गरेका मल्लका कोसँग जुधौँ, पाहुना, नाम नभएको मानिस र भित्तेघडी नाटकहरूमा जीवन र जगत्सँग जोडिएका पौरस्त्य दर्शनका उपर्युक्त स्थापनागत मान्यताको प्रभाव कतै अधिक र कतै आंशिक रहेको देखिन्छ। यस लेखको मुख्य उद्देश्य पनि पौरस्त्य दर्शनका सैद्धान्तिक स्थापनाहरूका आधारमा विजय मल्लका उपर्युक्त नाटकहरूको अध्ययन गर्नु रहेको छ। यस उद्देश्य प्राप्तिका लागि विजय मल्लको दार्शनिक चिन्तन के कस्तो रहेको छ ? र उनका विवेचित नाटकमा दर्शन प्रभावको अवस्था कस्तो रहेको छ ? भन्ने समस्यालाई आधार बनाएर त्यसको समाधान खोजी निष्कर्षमा पुगिएको छ। त्यसै ‘पौरस्त्य दर्शनका सैद्धान्तिक स्थापनाका आधारमा मल्लका विवेचित नाटकहरू कस्ता पाइन्छन्’ भन्ने कुरालाई मुख्य समस्या मानी प्रस्तुत लेख तयार पारिएको छ।
अध्ययनविधि
यस अध्ययनमा निम्नानुसारको अध्ययन विधि अवलम्बन गरिएको छ :
अनुसन्धानको ढाँचा
यो गुणात्मक ढाँचाको अध्ययन हो। यसमा यसमा विवेचित कृतिबाट प्राप्त तथ्यको विश्लेषण गरी निष्कर्षमा पुग्ने काम गरिएको छ।
तथ्याङ्क सङ्कलन
प्रस्तुत अध्ययनमा पौरस्त्य दर्शनका सैद्धान्तिक स्थापनासँग सम्बन्धित तथ्याङ्क प्राप्त गर्न सूक्ष्म अवलोकन गरी तथ्याङ्क सङ्कलन गरिएको छ।
तथ्याङ्क सङ्कलनका साधन
यस अध्ययनमा प्राथमिक स्रोतका रूपमा नाटककारका विवेचित नाटकहरू तथा द्वितीय स्रोतका रूपमा विभिन्न लेखकका पुस्तकहरू र लेखहरूको उपयोग गरिएको छ।
तथ्याङ्क विश्लेषण प्रक्रिया
यस लेखमा विवेचित नाटकहरूलाई मुख्य तथ्य मानिएको छ। पौरस्त्य दर्शनका सैद्धान्तिक स्थापनाका आधारमा यिनको वर्णन, विश्लेषण गरी निष्कर्षमा पुग्ने काम भएको छ। यो लेखको निष्कर्ष आगमन विधिमा आधारित रहेको छ।
सैद्धान्तिक पर्याधार
पौरस्त्य दर्शन खास मान्यतामा आधारित देखिन्छ। एउटा निश्चित विषयवस्तुभित्र रहेर पौरस्त्य दर्शनले आफ्ना स्थापनाहरू अगाडि बढाएको पाइन्छ। यस विषयबारे अध्येताहरूले पनि प्रशस्त चर्चा गरेका छन्। संस्कृत साहित्यका माधवाचार्य, वाचस्पति गैरोला, आचार्य बलदेव उपाध्याय, जगदीशचन्द्र मिश्रलगायतका चिन्तकहरू तथा नेपाली साहित्यका गोविन्दशरण उपाध्याय, स्वामी प्रपन्नाचार्य, बुद्धिप्रसाद पराजुली, व्याख्याकार कृष्णकान्त अधिकारीप्रभृतिले यस विषयबारे धेरथोर चिन्तनमनन गरेको पाइन्छ। यिनमा पनि एकाथरीले पौरस्त्य दर्शनका कर्म र कर्म नियम, संस्कार, जगत्, आत्मा, प्रमाण, मोक्ष तथा आशा र निराशा (उपाध्याय, २०६६, २७) मुख्य मान्यता हुन् भनेका छन् भने अर्काथरीले सुख-दुःख, आत्मा र परमात्मा, मृत्यु, प्रकृति, कर्म र कर्मफल तथा मलाई पौरस्त्य दर्शनका मूल स्थापना मानेका छन् (गजुरेल, २०६२, ७८)। कथरीको मत रहेको छ भने कसैले यसभित्र जगत्, संस्कार, कर्म आदिलाई पनि उचित स्थान दिएको देखिन्छ। यहाँ माधवाचार्यकृत ‘सर्वदर्शन सङ्ग्रह’ (सन् २००६), जगदीशचन्द्र मिश्रको ‘भारतीय दर्शन’ (सन् २०१५), वाचस्पति गैरोलाकृत ‘संस्कृत साहित्यको इतिहास’ (सन् २००३) तथा गोविन्दशरण उपाध्यायको ‘आर्य दर्शन परिचय’ (२०६६) आदि पौरस्त्य दर्शनविषयक ग्रन्थहरूमा रहेका धारणाहरूलाई आत्मसात् गरी पौरस्त्य दर्शनका स्थापनाहरू यसप्रकार निर्क्योल गरिएको छ- ईश्वर/ब्रह्म, जीव/आत्मा, जगत्/संसार, मोक्ष वा मुक्ति, शरीर, मन, सुख-दुःख, कर्म र कर्मफल, जन्म-मृत्यु र प्रमाण। पौरस्त्य दर्शनको निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका आधारमा तिनलाई पौरस्त्य दर्शनका स्थापना भनिएको हो। प्रस्तुत लेखमा यिनलाई मुख्य आधार मानी मल्लका विवेचित नाटकहरूको पौरस्त्य दर्शनका उपर्युल्लिखत सैद्धान्तिक स्थापनागत मान्यताका आधारमा विश्लेषण गर्ने सैद्धान्तिक पर्याधार रहेको छ।
छलफल र विश्लेषण
पूर्व वा पूर्वीय संसारमा प्रचलित दर्शन नै पौरस्त्य दर्शन हो। दर्शन एउटा विचार वा चिन्तन हो। विजय मल्ल नेपाली नाट्यक्षेत्रका सफल नाटककार हुन्। त्यसैले यसको अध्ययन गर्न सर्वप्रथम विजय मल्लका एकाङ्की नाटकमा पौरस्त्य दर्शन शीर्षक, उपशीर्षक राखेर लेख विश्लेषणको आरम्भ गरिएको छ। त्यसपछि पौरस्त्य दार्शनिक चिन्तन र विजय मल्ल, कोसँग जुधौँ नाटकमा पौरस्त्य दर्शन, पाहुना नाटकमा पौरस्त्य दर्शन, नाम नभएको मानिसमा पौरस्त्य दर्शन, भित्तेघडी नाटकमा पौरस्त्य दर्शन र अन्य शीर्षकमा छलफल र विश्लेषण गरी लेखको निष्कर्ष निकालिएको छ।
विजय मल्लमा पौरस्त्य दार्शनिक चिन्तन
विजय मल्लमा दर्शनसचेत व्यक्तित्व रहेको पाइन्छ। मल्लको यसप्रकारको दार्शनिक व्यक्तित्वको विकासमा सहयोग पुऱ्याउने कारकहरूमा उनको जीवनको अनुभव र अवधारणा, प्रभावित र उत्प्रेरित गर्ने कृतित्व एवम् व्यक्तित्वका साथै पारिवारिक तथा सामाजिक जीवनका कतिपय घटनाहरू पनि रहेका छन्।
पारिवारिक तथा सामाजिक जीवनभोगाइमा पौरस्त्य दर्शन
विजय मल्लको जीवन पारिवारिक र सामाजिक रूपमा सांस्कृतिक परम्परागत संस्कृति र सभ्यताले सम्पन्न परिवेशमा बितेको देखिन्छ। आफ्नी आमाको नित्य भगवान्को सेवाभावले मल्लमा बाल्यकालदेखि नै पौरस्त्य संस्कारको सकारात्मक छाप परेको पाइन्छ। ईश्वरभक्तिका भजनहरूसँगै काठमाडौँका नेवारहरूमा दैनिकजसो देखिने धार्मिक, सांस्कृतिक उत्सवको सान्निध्यले मल्लमा पौरस्त्य धर्म, दर्शन, संस्कृतितिर रुचि बढेको देखिन्छ। मल्लकी छोरी (बन्दना श्रेष्ठ) र उनलाई दागबत्ती दिने भतिजो छोरो (रमेश मल्ल) ले उल्लेख गरेअनुसार मल्लमा दान, धर्म, ज्योतिषतर्फ गहिरो अभिरुचि रहेको थियो। उनलाई अनुशासन, सभ्य, इमान्दार, नैतिकवान्, परोपकारी वा मानवसेवी बनाउन उनको संस्कारी परिवारको ठूलो हात रहेको देखिन्छ, जुन विषयलाई उनले आफ्ना साहित्यिक रचनाहरूमा कुनै न कुनै रूपमा प्रस्तुत गरेका छन्। मल्ल नाट्यसृजनामा संलग्न रहँदाको समाज परम्परित मूल्यमान्यतामा बढी विश्वास गर्दथ्यो। अर्कातिर राणाहरूको भेदभावजन्य गतिविधि पनि निरन्तर कायम देखिन्छ। राणाहरूले सर्वसाधारण जनतामाथि गरेको थिचोमिचो, शोषणसँगै देखापरेको अशान्त वातावरणका कारण मल्लमा जनताका पक्षमा उभिने र शान्ति, सद्भाव, सत्कर्म तथा परहितमा लाग्न प्रेरणा मिलेको देखिन्छ। सामाजिक विभेदकोे अन्त्य भई नीतिमा आधारित समाजको निर्माण होस् भन्ने चिन्तनको विकासमा उनले प्राप्त गरेको पारिवारिक र सामाजिक जीवनभोगाइले कार्य गरेको देखिन्छ।
अध्ययन तथा अन्य व्यक्तिहरूको प्रेरणाद्वारा निर्मित पौरस्त्य दर्शन
कुनै व्यक्तिविशेषभित्र प्रतिभा भए पनि त्यसले उद्बोधन पाई प्रस्फुिटत भएर बाहिर निस्कने अवसर पाउनु आवश्यक हुन्छ। त्यसरी हुने प्रतिभाको प्रस्फुटनका निम्ति वैयक्तिक प्रभाव र अध्ययनगत प्रभावमध्ये कुनै एक वा दुई कारण (काव्यहेतु वा साहित्यहेतु) बन्न सक्छन्। परिवार र समाजका आत्मीय जन, आदर्श पुरुष तथा मार्गदर्शकहरूको सम्यक्, सुसङ्गत एवम् महान लेखकहरूका कृतिको गहन चिन्तनमननले कुनै व्यक्तिलाई पार्ने प्रभाव र तिनबाट प्राप्त हुने प्रेरणा उनको जीवनको पनि गन्तव्य बन्न पुग्छ। यस्तै प्रकारको प्रेरणा र प्रभाव विजय मल्लको व्यक्तित्व निर्माणको एक कारक तत्त्व बनेको पाइन्छ।
स्वाध्ययनलाई प्रमुखता दिने विजय मल्लको पौरस्त्य धर्म, दर्शनप्रतिको आफ्नै धारणा रहेको देखिन्छ। विभिन्न अन्तर्वार्ता, लेख, रचनाहरूमा मल्लले पौरस्त्य चिन्तनसँग सम्बन्धित धारणा, मान्यताहरू अभिव्यक्त गरेका छन्।
विजय मल्लका नाटकमा पौरस्त्य दर्शनका स्थापनाहरू
यस शीर्षकमा विजय मल्लका पौरस्त्य दर्शनका सैद्धान्तिक स्थापनागत मान्यताबाट प्रभावित नाटकहरूको विश्लेषण समेटिएको छ।
‘कोसँग जुधौँ ?’ नाटकमा पौरस्त्य दर्शनका स्थापना
‘कोसँग जुधौँ ?’ नाटकमा रहेका पौरस्त्य दर्शनका स्थापनाहरूको प्रभावलाई निम्न शीर्षकहरूमा प्रस्तुत गरिएको छ।
ईश्वर/ब्रह्म
प्रस्तुत नाटकको केन्द्रीय विषयसँग ईश्वरविषयक चिन्तनको सन्दर्भ जोडिएको पाइन्छ। नाटकमा “जेमा विश्वास छ आस्था छ, फेथ छ, त्यसमा भर गर्नोस्” (पृ.११०), याने मर्नलाई मलाई त्यो आस्थाको आवश्यकता छ, जसलाई समाउँदा म शान्तिपूर्ण निर्धक्क भएर आफूलाई कसैलाई जिम्मा लगाएर मर्न सक्छु” (पृ.१११) तथा “बाबुलाई ठीक हुने बित्तिकै दक्षिणकाली जानुपर्छ। एउटा निखुर कालो बोका सिरमानचालाई अहिल्यै नै भनिराख्नुपऱ्यो (पृ.११६) जस्ता प्रसङ्गहरू आएका छन्। ईश्वरको प्रत्यक्ष नामोच्चारण नगरिए पनि नाटकमा प्रारब्ध कर्मका सन्दर्भहरूले ईश्वरीय शक्तिमा विश्वास रहेको देखिन्छ। पौरस्त्य दर्शनले सङ्केत गरेको न्याय र मीमांसा दर्शनमा वर्णित ईश्वरीय चिन्तनलाई धेरैथोरै रूपमा भए पनि प्रस्तुत नाटकले स्वीकार गरेको पाइन्छ।
मोक्ष/मुक्ति
प्रस्तुत नाटकमा मुक्तिको सन्दर्भले स्थान पाएको देखिन्छ। नाटकमा “त्यसबेला मात्र तिमीले मुक्ति पाउनेछौ। मुक्ति” (पृ.११५) तथा “म रोग सबबाट मुक्त हुन लागिरहेछु। सबबाट” (पृ.११८) भनिएको छ। यहाँ आएको मुक्तिको सन्दर्भले दुःख, पीडा र समग्र बेथितिसँगै मृत्युपछिको मोक्षको अवस्थालाई सङ्केत गरेको देखिन्छ। पौरस्त्य दर्शनले सङ्केत गरेको रागतापविहीन अवस्था नै मुक्ति हो भन्ने आशय प्रस्तुत नाटकको उपर्युक्त सन्दर्भमा पाउन सकिने कारण यहाँ मोक्ष वा मुक्तिको सन्दर्भ रहेको पाइन्छ।
सुख–दुःख
प्रस्तुत नाटकमा सुख-दुःखविषयक चिन्तन समावेश भएको देखिन्छ। नाटकमा जीवन र मृत्युलाई हेर्ने दृष्टिकोणमा यो प्रसङ्ग जोडिएको छ। विक्रम मृत्युलाई सुख वा आनन्दको विषय हो किनभने मृत्यु शून्य वा सबैथोकको अन्त्य हो भन्दछ भने उसको परिवार मृत्युलाई दुःख मान्दै यसलाई स्वीकार्न सक्दैनन्। “मर्नुभन्दा अगाडि म कसैको रुन्चे अनुहार हेर्न चाहन्न” (पृ.११९), “म आफ्नो मरणमा खुसियाली मनाउन चाहन्छु” (पृ.१२०), “मलाई मर्न पटक्कै डर छैन। पत्याऊ मलाई डर छैन। …..सब शून्य छ” (पृ.१२०) जस्ता नाटकीय प्रसङ्गहरूले उपर्युक्त कुरालाई नै सङ्केत गरेका छन्। मृत्यु दुःख हो वा सुख हो भन्ने विषयकै सेरोफेरोमा प्रस्तुत नाटक हिँडेका कारण पनि यो विषय अझ महत्त्वपूर्ण बन्न पुगेको छ।
जन्म–मृत्यु
प्रस्तुत नाटकमा जन्मभन्दा मृत्युको सन्दर्भ बढी पाइन्छ। नाटककार विजय मल्लमा रहेको मृत्युसम्बन्धी स्पष्ट विचार यस नाट्यरचनामा पाउन सकिन्छ। “हो शून्यको जवाफ छैन- मृत्युको जवाफ छैन” (पृ.११३), “सब शून्य छ। म शून्यमा पछारिन्छु” (पृ.१२०) तथा “खै, यो शून्यमा त्यो शत्रु, खै खै म कोसँग
जुधौँ ? शून्यमा लाखचोटि कराइसकेँ, चिच्याइसकेँ- शून्य महाशून्य !” (पृ.१२१) जस्ता नाटकीय सन्दर्भहरूले मृत्युलाई शून्यवादी कोणबाट हेरेको पाइन्छ। माध्यमिक शून्यवादी बौद्ध दर्शनले भनेजस्तै नाटककार विजय मल्लले पनि मृत्युपछिका स्वर्ग-नर्क सबै काल्पनिक विषय हुन्; बाँचून्जेलसम्म तेरो, मेरो, धनसम्पत्ति भनिन्छ तर मरेपछि सबै समाप्त हुन्छ किनभने मृत्यु शून्यको अवस्था हो भन्ने दार्शनिक विचारमा स्वीकृति जनाएको देखिन्छ।
‘पाहुना’ नाटकमा पौरस्त्य दर्शनका स्थापना
‘पाहुना’ नाटकमा रहेको पौरस्त्य दर्शनका स्थापनाहरूको प्रभावलाई निम्न शीर्षकहरूमा प्रस्तुत गरिएको छ।
मन
‘पाहुना’ नाटकमा पौरस्त्य दर्शनले आत्मसात् गरेको मनविषयक चिन्तनको सङ्केत पाइन्छ। सान्नानी र दिलमायाहरूको ‘मन नै खुशी नभएपछि हामी के खुशी हुन्छौँ र’ भन्ने आशय तथा सुरेन्द्रको ‘कुनै पनि वस्तु मनैदेखि ग्रहण गर्न सकेमा आनन्द प्राप्त हुन्छ’ भन्ने वैचारिक भावमा मन केन्द्रमा रहेको देखिन्छ। उपर्युक्त पात्रहरूको आशयमा पौरस्त्य दर्शनको ‘सुख-दुःखको मूल कारण मन हो’ भन्ने दार्शनिक चिन्तन पाउन सकिन्छ। मन चञ्चल हुने कारण योगादि कर्महरूद्वरा त्यसलाई नियन्त्रण गरी जीवनमा सन्तुष्टि प्राप्त गर्न सकिन्छ भन्ने विचारमा गीताको दर्शनको मनविषयक चिन्तनको प्रभावले कार्य गरेको पाइन्छ।
सुख–दुःख
पौरस्त्य दर्शनमा रहेको सुख-दुःखविषयक दार्शनिक चिन्तनको प्रभाव यस नाटकमा पाइन्छ। सुख-दुःखविषयक चिन्तन रहेका आस्तिक पौरस्त्य दर्शन तथा भौतिक सुख-दुःखको चर्चा गर्ने नास्तिक पौरस्त्य दर्शनको प्रभाव यहाँ देखिन्छ। नाटकमा निराशा तथा मृत्युलाई दुःखका रूपमा लिइएको छ। जब मानवलाई आफ्नो जीवनको क्षणिकताको बोध हुन्छ, तब दुःख तिरोहित भई सुखको प्राप्ति हुन पुग्दछ भन्ने पौरस्त्य दार्शनिक विचारको प्रभाव नाटकमा देखिन्छ। मृत्युलाई दुःख नठानिकन यसलाई नियमित प्रक्रिया मान्ने हो भने जीवनमा क्षणिक भए पनि सुख प्राप्त हुन सक्ने दार्शनिक सन्देश यहाँ पाइन्छ।
कर्म र कर्मफल
प्रस्तुत नाटकमा कर्म पनि विषय सन्दर्भ बनेको देखिन्छ। दिलमाया, सान्नानीहरूले हाम्रो जीवन दुःखी बने पनि कर्म गर्न छाड्नु हुन्न किनभने कर्मको फल मीठो हुन्छ भन्ने चार्वाक् चिन्तनका विचार व्यक्त गरेका छन्। प्रारब्ध कर्म जस्तो छ वर्तमानमा त्यस्तै फल पाइन्छ भन्ने दार्शनिक सन्दर्भसमेत यहाँ देखिन्छ। यस्तै सुरेन्द्रको चार्वाक् र मीमांसाविषयक सत्कर्मवादी चिन्तन पनि निकै महत्त्वपूर्ण बनेको छ। आफ्नो छोराको आवारापनदेखि दिक्क बनेको सुरेन्द्र जीवनको अन्त्यावस्थामा पुगे पनि सबैलाई सत्कर्म गर्न प्रेरित गरिरहन्छ। मृत्यु प्राकृतिक विषय हो, यसका बारेमा चिन्ता गर्नुभन्दा सत्कर्म गर्दै बाँकी जीवन अस्तित्वशील तुल्याउनुपर्दछ भन्ने सुरेन्द्रको कमविषयक चिन्तनमा समेत पौरस्त्य दर्शनको प्रभाव रहेको पाइन्छ।
जन्म–मृत्यु
प्रस्तुत नाटकको केन्द्रीय विषय नै मृत्युविषयक चिन्तन रहेको छ। आम मानवमा रहेको मृत्युबारेको भय निवारण गर्दै त्यसलाई सहज रूपमा लिन नाटकले आग्रह गरेको छ। जीवन छँदै ‘मेरो मृत्यु निश्चित छ’ भन्ने विषयबोध गर्ने हो भने मान्छेको जीवन विसङ्गत नबन्ने मात्र होइन स्वार्थ, लोभ र आडम्बरको पनि अन्त्य हुने दार्शनिक चिन्तन यहाँ पाइन्छ। सुरेन्द्रद्वारा व्यक्त मृत्यु भयको विषय नभएर प्राकृतिक विषय हो र यसलाई हृदयतः स्वीकार गरी बाँकी जीवनलाई सत्कर्ममा लगाउनुपर्छ भन्ने विचारमा पौरस्त्य दर्शनको प्रभाव पाउन सकिन्छ।
नाम नभएको मानिस नाटकमा पौरस्त्य दर्शन
‘नाम नभएको मानिस’ नाटकमा रहेको पौरस्त्य दर्शनका स्थापनाहरूको प्रभावलाई निम्न शीर्षकहरूमा प्रस्तुत गरिएको छ।
मन
पौरस्त्य दर्शनका स्थापनाहरूमध्ये ‘नाम नभएको मानिस’ नाटकमा मनविषयक चिन्तनको प्रभाव रहेको पाइन्छ। “जहाँ मन लाग्यो उहाँ घुमिरहेको थिएँ” (पृ.१) भन्ने मानिस पात्रको कथन, “कसरी मन हलुका हुन्छ, मन बहलिएपछि” (पृ.८) भन्ने ज्योतिको कथन र, “हो, म मनको कुरा पोख्न चाहन्छु, जताततै छताछुल्ल हुन चाहन्छु” (पृ.८), “मेरो मनले मानेन। मरे मर्छु भनेर झ्यालबाट हाम्फालिदिएँ” (पृ.११) जस्ता नाटकीय कथनहरूमा मनविषयक पौरस्त्य चिन्तन उपस्थित भएको पाइन्छ। मनको चञ्चलताको कुरा गर्दै मानवलाई उराल्ने बराल्ने यस विषयलाई विविध कर्मद्वारा नियन्त्रण गर्न सके जीवनले सकारात्मक गति लिन सक्छ भन्ने आशय रहेको पौरस्त्य गीता दर्शनको मनविषयक चिन्तनको प्रभाव यहाँ देखिन्छ।
सुख–दुःख
प्रस्तुत नाटकमा पौरस्त्य दर्शनले सङ्केत गरेको सुख-दुःखविषयक चिन्तनको प्रभाव समेत पाइन्छ। नाटकमा मृत्युसँगै भय, पीडा र त्रासलाई एउटा दुःखपूर्ण अवस्थाका रूपमा चित्रण गरिएको छ। “कि हाम्फाल्यौ त खोलामा ? मेरो खातिर किन हाम्फल्नु पर्थ्यो ? हो, मलाई दुःख हुन्थ्यो, कष्ट हुन्थ्यो। हो, मलाई जीवनभर रोई रोई काट्नुपथ्यो” (पृ.२०), “मृत्यु भित्ताले कऱ्याप्प पार्छ मानिसलाई” (पृ.१७), “जहाँ पनि बन्धनै छ हैन त सुनिता ?” (पृ.१०), “मलाई मृत्युको भय कहिल्यै नहोस्” (पृ.६), “तर जवान बहिनीको चाहिँ विहेको केही प्रबन्ध नगरी आफू मोजमज्जा गरिरहेछ” (पृ.९) जस्ता कथनहरू यहाँ पाइन्छन्। मानिसहरू दुःखबाट मुक्त भएर सुख खोज्ने काममा जीवनभरि नै लागिरहन्छन्। कहिले मृत्युको नाममा, कहिले भय, पीडा र त्रासका नाममा दुःिखत बनिरहेका मानिसलाई दुःखलाई चिनेर यसलाई सकारात्मक रूपमा लिँदै सत्कर्म गर्ने हो भने आनन्द प्राप्त गर्न सकिने प्रेरणा पौरस्त्य दर्शनले दिएको छ।
कर्म र कर्मफल
प्रस्तुत नाटकमा पौरस्त्य दर्शनमा रहेको कर्मविषयक चिन्तनको प्रभाव पाइन्छ। यहाँ वैदिक र अवैदिक दुवै कर्मविषयक चिन्तन रहेको पाइन्छ। “बरु को होला त्यो भाग्यमानी है यस्ती राम्री नन्दको हात समाउने !” (पृ.४), “मनुष्यको भाग्यलाई नियन्त्रण गर्न सकिन्छ” (पृ.६), “कस्तो भाग्य मेरो ! आज यहाँ आइपुगेको मेरो सौभाग्य यो डाक्टरसाहेब !” (पृ.१९) जस्ता नाटकीय कथनहरू यहाँ आएका छन्, जसमा कर्मलाई जीवन मान्ने चार्वाक् र प्रारब्ध कर्मसँग जोड्ने मीमांसा दुवै चिन्नतनहरू आएका छन्।
भित्तेघडी नाटकमा पौरस्त्य दर्शनका स्थापना
‘भित्तेघडी’ नाटकमा प्राप्त पौरस्त्य दर्शनका स्थापनाहरूको प्रभावलाई निम्न शीर्षकहरूमा प्रस्तुत गरिएको छ।
ईश्वर/ब्रह्म
पौरस्त्य दर्शनमा महत्त्व पाएको ईश्वरविषयक चिन्तनको पस्तुति यस नाटकमा रहेको देखिन्छ। “के भन्छौ यार, बाँचेँ भन्ने सम्झन ईश्वरको कृपाले” (पृ.१३६), “मलाई लाग्छ- एक दिन फेरि बढी यो धर्तीलाई अँगालेर बस्न पाए अनि ईश्वरलाई धन्यवाद दिन्छु” (पृ.१३७), “मलाई बचाइदेओ, हे परमेश्वर !” (पृ.१५७), “बरु मलाई मारे मारोस्, यिनीहरूलाई त बचाइदेओस् भगवान्ले” (पृ.१५७) जस्ता नाटकीय अंशहरूमा पौरस्त्य दर्शनले स्वीकार गरेका ईश्वरविषयक न्याय दार्शनिक चिन्तनको प्रभाव देख्न सकिन्छ। पात्रहरूको उपर्युक्त कथनमा संसारका हरेक जीव ईश्वरका रूप हुन्, दुःख, आपत् पर्दा सहाराका लागि ईश्वर नै एकमात्र उपाय हो भन्ने देखिन्छ। पौरस्त्य वैदिक दर्शनले सङ्केत गरेको ईश्वरीय चिन्तनको प्रभावका कारण प्रस्तुत नाटक दार्शनिक बन्न पुगेको देखिन्छ।
शरीर
पौरस्त्य दर्शनका स्थापनाहरूमध्ये प्रस्तुत नाटकमा शरीरसम्बन्धी विषयको प्रभाव देख्न सकिन्छ। “तैपनि यो झीनो दुब्लो शरीर लिएर बाँचिरहेको छु” (पृ.१३६), “चाहे जतिसुकै दुःखोस् मेरो शरीर, चाहे जतिसुकै पीडा भैरहोस् मलाई, म आँखा चिम्लेर बस्तिन दलिनै गनेर भए पनि ताकेर जागेरै बस्छु” (पृ.१३७), “कलेरा पचाउन सक्ने मेरो यो रुग्ण शरीरमा अब तागत छैन भाइ। …..यस्तो मेरो शरीर” (पृ.१३८) जस्ता नाटकीय कथनमा पौरस्त्य दर्शनले सङ्केत गरेको शरीरको नश्वरतासम्बन्धी मान्यताको प्रभाव पाउन सकिन्छ। शरीर नै आत्मा हो भन्ने भ्रममा परेको मान्छे शरीर गल्दा वा बिरामी हुँदा म नै मर्ने भएँ भनी चिन्ता गर्दछ तर त्यो भ्रम हो, शरीर नभएर आत्मा सत्य हो, अविनाशी हो भन्ने आशय उपर्युक्त कथनहरूमा पाउन सकिन्छ।
मन
पौरस्त्य दर्शनका स्थापनाहरूमध्ये यस नाटकमा मनविषयक चिन्तनको प्रभाव पाइन्छ। “विहान आँखा खुलेपछि त्यो धर्तीको अनुहार देखेपछि मेरो मन प्रफुल्ल हुन्छ। निश्चिन्त हुन्छु म। म विचेत भएर, लास भएर डङ्ग्रङ्ग पछारिएको रहेनछु भन्ने कुराले मन प्रसन्न हुन्छ” (पृ.१३७), “मनले मान्ने कुरा हो बुझ्नुभो …” (पृ.१५१) जस्ता कथनहरूमा मनबारेका केही चिन्तन पाइन्छ। मनको चञ्चलताका कारण मानव तरङ्गित भैरहन्छ तसर्थ अनेक उपायद्वारा यसलाई संयमित गर्न सके मानवीय जीवन बाँचुन्जेल सफल बन्न सक्छ भन्ने पौरस्त्य गीता दर्शनविषयक चिन्तनको प्रस्तुति यस नाटकमा पाउन सकिन्छ।
सुख–दुःख
प्रस्तुत नाटकमा पौरस्त्य दर्शनले सङ्केत गरेको सुख-दुःखविषयक चिन्तनको प्रस्तुति रहेको देखिन्छ। नाटकमा भौतिक र अभौतिक दुवै दुःख-सुखको चर्चा पाइन्छ। “त्यो कम सन्तोषको कुरा हो र विक्रम ! एक दिन बढी बाँच्न पाउनु” (पृ.१३७), “यहाँहरूको दाम्पत्य जीवनको खुशीयालीमा रेष्टुराँका तर्फबाट हामी स्याम्पेन पनि फोड्न तयार छौँ” (पृ.१४३), “मृत्युलाई आनन्दसँग लिएको खण्डमा कुनै तकलिफ हुँदैन” (पृ.१५१), “र ……र ……र ….हामी यस्तो हास्यास्पद सङ्कटपूर्ण स्थितिबाट जोगिऔँ” (पृ.१५५) जस्ता नाटकीय कथनहरूमा सुख-दुःखविषयक पौरस्त्य चिन्तनको प्रभाव पाउन सकिन्छ। जीवनलाई सुख र मृत्युजन्य गतिविधिलाई दुःख मान्ने चिन्तन रहेका पात्रहरू देखिन्छन्। म मर्ने भएँ वा मृत्यु निश्चित छ भन्ने बुझेर पनि त्यसप्रति चिन्ता गरी शरीरलाई दुःख दिने कार्यलाई अनुचित ठान्ने माधवको दर्शनसचेत विचार नाटकमा रहेको देखिन्छ।
कर्म र कर्मफल
प्रस्तुत लघुनाटकमा पौरस्त्य दर्शनले सङ्केत गरेको कर्मविषयक चिन्तनको प्रभाव रहेको पाइन्छ। “यो शान्तिप्रिय टापुको पहिलो घटना हो। तर शान्ति र सुरक्षा स्थापना गर्नका खातिर आज सरकार सक्षम छ, सुदृढ छ” (पृ.१४४), “हो, तपाईंहरू जस्ता सुन्दर युवक तथा युवतीसँग भाग्यले ठट्टा गरिरहेको छ। हेर्नोस्, घडीमा केही मिनेटभित्रै राम्ररी नै भाग्यले तपाईंहरूसँग ठट्टा गरिदिन्छ” (पृ.१५०) जस्ता कथनहरू यहाँ आएका छन्, जसले कर्मलाई जीवन तथा प्रारब्ध कर्मसँग लगेर जोडेका छन्। चार्वाक् दर्शन कर्मलाई जीवन मान्दछ भने पौरस्त्य वैदिक दर्शनहरू वर्तमान जीवनलाई प्रारब्ध कर्मको फल भन्ने अर्थ लगाउँछन्। प्रस्तुत नाटकमा कर्मविषयक उपर्युक्त दुवै चिन्तनको प्रभाव पाउन सकिन्छ।
निष्कर्ष
विजय मल्लका नाटकमा पौरस्त्य दर्शनका स्थापना शीर्षकको प्रस्तुत लेखमा पौरस्त्य दर्शनका स्थापनागत सिद्धान्तका आधारमा मल्लका नाटकहरूको अध्ययन गर्नु प्रमुख उद्देश्य लिई ‘मल्लका विवेच्य नाटकमा पौरस्त्य दर्शनका स्थापनाहरूको प्रभाव पाइन्छ’ भन्ने समस्यालाई लिएर अध्ययन गरिएको छ। यसमा गुणात्मक ढाँचा अवलम्बन गरी विश्लेषणात्मक तथा वर्णनात्मक रूपमा तथ्यको विश्लेषण गरी निष्कर्ष निकालिएको छ। पौरस्त्य दर्शनका स्थापनाहरूका आधारमा मल्लका ‘कोसँग जुधौँ’, ‘पाहुना’, ‘नाम नभएको मानिस’ र ‘भित्तेघडी’ नाटकहरूमा ईश्वर, शरीर, मोक्ष, मन, कर्म र कर्मफल, सुख-दुःख, जन्म र मृत्युलाई कसरी देखाइएको छ भन्ने स्पष्ट भएको छ। मल्लका नाटकमा पौरस्त्य दर्शनका सैद्धान्तिक स्थापनाको प्रभाव पाइने हुनाले विवेच्य कृतिहरूलाई उदाहरण दिएर अध्ययन गरिएको छ। मल्लका विवेच्य एकाङ्की नाटकहरूमध्ये ‘कोसँग जुधौँ’ नाटकमा ईश्वर/ब्रम्ह, मोक्ष/मुक्ति, सुख-दुःख र जन्म र मृत्युजस्ता पौरस्त्य दर्शनका स्थापनाहरूको सकारात्मक प्रभाव परेको पाइन्छ भने ‘पाहुना’ एकाङ्की नाटकमा पनि मन, सुख-दुःख, कर्म र कर्मफल तथा जन्म र मृत्युजन्य स्थापनाहरूको सकारात्मक प्रभाव रहेको छ। ‘नाम नभएको मानिस’ एकाङ्कीमा मन, सुख-दुःख, कर्म र कर्मफलको प्रभाव रहे पनि यो मात्रागत रूपमा कोसँग जुधौँ र पाहुना नाटकभन्दा केही कमजोर देखिन्छ भने भित्तेघडी नाटकमा ईश्वर/ब्रम्ह, शरीर, मन, सुख-दुःख र कर्म तथा कर्मफलको प्रभावको अवस्था नाम नभएको मानिसभन्दा केही सकारात्मक देखिन्छ। यसबाट पौरस्त्य दर्शनका स्थापनाहरूका आधारमा मल्लका अन्य नाटकहरूको पनि अध्ययन गर्न सकिने कुरा स्पष्ट भएको छ।
सन्दर्भग्रन्थसूची
उपाध्याय, गोविन्दशरण (२०६६), आर्य दर्शन परिचय, विद्यार्थी पुस्तक भण्डार।
खतिवडा, नित्यानन्द (२०६७), ‘जिउँदो लास नाटकमा पूर्वीय दर्शनको अनुशीलन’, उद्घोष, साहित्य अनुसन्धान परिषद्।
गजुरेल, टविलाल (२०६२), आध्यात्मिक एवम् भौतिक चिन्तन, साझा प्रकाशन।
त्रिपाठी, वासुदेव (२०२८), विचरण, भानु प्रकाशन।
निगम, शोभा (सन् २०००), पाश्चात्य दर्शन के सम्प्रदाय, मोतीलाल बनारसीदास।
प्रधान, चैतन्यप्रकाश (२०४६), ‘एकाङ्कीकार विजय मल्ल’, अप्रकाशित स्नातकोत्तर शोधग्रन्थ, त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग।
मल्ल, विजय (२०२८), पत्थरको कथा, साझा प्रकाशन।
मल्ल, विजय (२०३४), दोभान, ने.रा.प्र.प्र.।
मल्ल, विजय (२०४०), भित्तेघडी, ने.रा.प्र.प्र.।
मल्ल, विजय (२०३६), नाटक एक चर्चा, ने.रा.प्र.प्र.।
[1] पिण्डेश्वर विद्यापीठ, धरान