‘मने र मुन्नी’ कथामा ध्वनिको पहिचान गर्ने उद्देश्यमा केन्द्रित यस लेख दस्ताबेजको विश्लेषणमा आधारित गुणात्मक ढाँचामा आधारित छ। पुस्तकालयीय अध्ययनको प्रयोग गरिएको र निगमनात्मक विधिको प्रयोग गरिएको यस लेखमा संस्कृत काव्यशास्त्री आनन्दवर्द्धनलगायतले प्रतिपादन र विकसित गरेको ध्वनि सिद्धान्तलाई सैद्धान्तिक पर्याधार बनाइएको छ।
महेन्द्र भण्डारी[1]
लेखसार
‘मने र मुन्नी’ कथामा ध्वनिको पहिचान गर्ने उद्देश्यमा केन्द्रित यस लेख दस्ताबेजको विश्लेषणमा आधारित गुणात्मक ढाँचामा आधारित छ। पुस्तकालयीय अध्ययनको प्रयोग गरिएको र निगमनात्मक विधिको प्रयोग गरिएको यस लेखमा संस्कृत काव्यशास्त्री आनन्दवर्द्धनलगायतले प्रतिपादन र विकसित गरेको ध्वनि सिद्धान्तलाई सैद्धान्तिक पर्याधार बनाइएको छ। यहाँ ‘मने र मुन्नी’ कथाको तथ्य प्रस्तुत गरी ती कथांशहरूको ध्वनिका आधारमा समीक्षात्मक विश्लेषण गरी निष्कर्षमा पुग्ने काम गरिएको छ। प्रस्तुत कथामा गाउँबाट रोजगारको खोजमा शहर विदेश जान बाध्य भएका नेपाली युवाहरूको यथार्थलाई मुख्य रूपले प्रस्तुत गरिएको छ। यस कथामा मनेले खासमा खसी बोकाहरू नबुझाएर नेपाली युवाहरू भन्ने बुझाएको छ। त्यसबाट गाउँबाट शहरतिर कामको खोजमा बेचिने युवाहरू भन्ने सन्दर्भ व्यक्त भएको छ भने कामको खोजमा ललाइ फकाइ र कोही बाध्यताबाट विदेशमा दलाल मार्फत् बेचिन बाध्य नेपाली युवाहरूको यथार्थ ध्वनित भएको छ। साथै यहाँ आर्थिक रूपले विपन्न वर्गका युवाहरूले दासदासीको जस्तो व्यवहार सहनु पर्ने र धनी वर्गले जसो भन्यो त्यसै मान्नु पर्ने वर्गीय उत्पीडनको अर्थ पनि ध्वनित भएको छ। कथामा मुन्नीमार्फत नेपाली समाजका नारीहरूका चरित्र अभिव्यजित भएको छ भने दुई खुट्टे मानिसको चरित्र मार्फत् नेपाली युवाहरूको व्यापार गर्ने दलालको चरित्र ध्वनित भएको निष्कर्ष निकालिएको छ। यसरी यस कथाको पात्र र तिनको चरित्र शीर्षक तथा उद्देश्यमार्फत् नेपाली समाजमा व्याप्त बेरोजगारी र तत्जनित समस्याप्रति व्यङ्ग्य गरिएकाले प्रस्तुत कथामा ध्वनिको कुशल प्रयोग भएको छ भन्ने निष्कर्ष निकालिएको छ।
शब्दकुञ्जीः ध्वनि, व्यङ्ग्यार्थ, लक्ष्यार्थ, आख्यानीकरण, समाख्याता।
विषयपरिचय
‘मने र मुन्नी’ कथा कन्हैया नासननीद्वारा लेखिएको बाल कथा हो। यस कथामा मने बोको र मुन्नी पाठीको प्रेमकथालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। यस कथामा गाउँघरको पाखा पखेरामा जन्मिएर हुर्केका मने र मुन्नीको वियोगान्त प्रेमकथा प्रस्तुत गरिएको छ। यहाँ शहर जान बाध्य भएको मने र गाउँमै बस्न बाध्य भएकी मुन्नीको चरित्रलाई मानवीकरण गरी कथाको निर्माण गरिएको छ। बालबालिकाको मनोवास्थालाई बुझेर नेपालको बदलिँदो परिवेशमा आधारित भई प्रस्तुत कथा निर्माण गरिएको छ। यस कथामा बदलिँदो नेपाली समाज र विदेश पलायन हुन बाध्य भएका नेपाली युवाहरूका बाध्यात्मक अवस्थालाई प्रस्तुत कथामा देखाइएको छ। व्यङ्ग्यार्थ लक्ष्यार्थभन्दा धेरै व्यापक र चमत्कारपूर्ण हुने कुरा आचार्यहरूले बताएका छन्। उनीहरूका अनुसार व्यङ्ग्यार्थ शब्दबाटै सोझै प्रकट हुने अर्थ होइन। शाब्दी र आर्थी भेदभित्र शब्द सौन्दर्य र अर्थ सौन्दर्य संश्लिष्ट हुन्छ। पूर्वीय साहित्य चिन्तन परम्परामा बढी महत्त्वपूर्ण ठानिएका रस ध्वनि सिद्धान्तका वस्तु, अलङ्कार र रस ध्वनिको अभिव्यक्ति व्यङ्ग्यार्थले गर्दछ। भाषालाई मितव्ययी, सूक्ष्म, सघन र प्रवाहपूर्ण तुल्याउन र भावलाई चमत्कारले भरिपूर्ण बनाउन लक्षणाले भन्दा व्यञ्जनाले बढी सघाउँछ। व्यङ्ग्यार्थमा भावसिक्त चमत्कार र अनेक अर्थ सघनता अन्तर्निहित हुन्छ। विशेष प्रतिभा सम्पन्न महाकविहरूको वाणीमा मात्रै यो प्रस्फुरण हुन्छ। यसको बोध पनि व्याकरण र कोशका ज्ञाताहरूलाई नभई काव्यतत्त्व मर्मज्ञ सहृदयीहरूलाई मात्र हुन्छ। कुनै पनि साहित्यिक कृतिको स्तर मापनका आधारको रूपमा व्यञ्जनावृत्तिलाई लिँदै व्यञ्जनालाई साहित्यको अनिवार्य तत्वको रूपमा स्थापित गरेका छन्। प्रस्तुत लेख ‘मने र मुन्नी’ कथामा ध्वनिको खोज गर्ने मुख्य समस्याको समाधान खोज्ने मुख्य उद्देश्यमा केन्द्रित रहेको छ।
विधि
प्रस्तुत अध्ययन दस्ताबेजको विश्लेषणमा आधारित गुणात्मक ढाँचाको अध्ययन हो। यस लेखमा ‘मने र मुन्नी’ कथाको तथ्य प्रस्तुत गरी ती कथांशहरूको ध्वनिका आधारमा समीक्षात्मक विश्लेषण गरी निष्कर्षमा पुग्ने काम गरिएको छ। प्रस्तुत अध्ययनमा अनुसन्धानका विभिन्न ढाँचासँग सम्बन्धित पक्षमध्ये सोद्देश्यमूलक नमुना छनोट पद्धतिका आधारमा ‘मने र मुन्नी’ कथामा ध्वनिको प्रयोगको पहिचान गरिएको छ। प्रस्तुत अध्ययनमा ‘मने र मुन्नी’ कथा र त्यसमा ध्वनिको अध्ययनका लागि त्यससँग सम्बन्धित विभिन्न कृति, लेखबाट तथ्य सङ्कलन गरिएको छ। प्रस्तुत अध्ययनमा प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको प्रयोग गरिएको छ। प्रस्तुत लेखमा पूर्वीय आचार्यहरूले स्थापना गरेको ध्वनिलाई सैद्धान्तिक पर्याधार मानी त्यसकै आधारमा शोध्य प्रस्तुत कथाको अध्ययन गरिएको छ। यसका लागि पुस्तक तथा लेखको प्रयोग गरी प्राप्त तथ्यको समीक्षात्मक विश्लेषण गरी निकालिएको छ। यहाँ प्राप्त तथ्यको वर्णन गरी त्यसको निष्कर्ष निकाल्ने कार्य गरिएको छ। साथै प्रस्तुत कार्य अन्तर्विषयक भएकाले शोध्य विषयमा केन्द्रित भई त्यसको मात्र विश्लेषण गरिएको छ।
सीमा
‘मने र मुन्नी’ कथा ध्वन्यात्मक दृष्टिले महत्त्वपूर्ण कथा हो। प्रस्तुत लेख उक्त कथामा ध्वनि प्रभाव खोज्ने कार्यमा केन्द्रित रहेको छ। यस कथामा ध्वनिबाहेक अन्य पक्षका बारेमा भने अध्ययन गरिएको छैन। यस लेखमा ध्वनिका विभिन्न पक्षमध्ये ‘मने र मुन्नी’ कथाका चरित्रमा मात्र ध्वनिको अध्ययन गरिएको छ।
सैद्धान्तिक पर्याधार
ध्वनि सिद्धान्तका प्रवर्तक नवौँ शताब्दीका आचार्य आनन्दबर्द्धन हुन्। उनले आफ्नो ध्वन्यालोक नामक ग्रन्थमा आफूपूर्वका आचार्यहरूले काव्यका बारेमा गरेका चिन्तनहरूमा नयाँ मान्यताअगाडि सार्दै ध्वनि सिद्धान्तको स्थापना गरे। उनले काव्यको परिभाषा दिने क्रममा नै काव्यस्यात्मा ध्वनिः शव्दार्थशरीरं तावत् काव्याम् भनेर काव्यको आत्मा ध्वनि हो, शब्दार्थ त्यसको शरीर हुन् (अधिकारी, २०४८, ९२) भन्ने परिभाषा गरे। उनले यस परिभाषामार्फत् भामह, दण्डी आदि पूर्ववर्ती आचार्यहरूले महत्त्वका साथ प्रस्तुत गर्दै आएका शब्द र अर्थलाई शरीर भनेर कम महत्त्वको ठाने भने काव्यको आत्मगत तत्त्वका रूपमा ध्वनिलाई स्थापित गरे (पौडेल, २०५७, १०५)। साथै उनले काव्यमा अपेक्षित ध्वनि अभिधा र लक्षणाभन्दा भिन्न व्यञ्जनावृत्तिद्वारा बुझिने व्यङ्ग्य हो भन्दै ध्वनितत्त्व सम्बन्धी मान्यतालाई अगाडि ल्याए। यसक्रममा उनले ध्वनिको विपक्षमा देखापरेको अभाववादी, लक्षणावादी र अनिर्वचनीयतावादी मतहरूको खण्डनसमेत गरेका छन् (उपाध्याय, २०६१, १९४)। आनन्दबर्द्धनले ध्वनि सिद्धान्तको स्थापना गरेपछि यसलाई सम्प्रदायका रूपमा विकसित गर्ने काममा मुख्य भूमिका अभिनव गुप्त, मम्मट र जगन्नाथहरूबाट भयो भने विद्याधर र विद्यानाथहरूले पनि यसलाई अगाडि बढाएका छन् (उपाध्याय, २०६१, १९६)। प्रस्तुत लेखमा पौरस्त्य साहित्य सिद्धान्तका रूपमा स्थापित यही ध्वनि सिद्धान्तका आधारमा ‘मने र मुन्नी’ कथाको अध्ययन गरिएको छ।
छलफल र विश्लेषण
‘मने र मुन्नी’ कथाको कथा सन्दर्भ
‘मने र मुन्नी’ कथा बालकथा हो। बालबालिकालाई मनोरञ्जन दिने उद्देश्यले लेखिएको यस कथामा मने बोको र मुन्नी पाठीलाई मानवीकरण गरी तिनीहरूको वियोगान्त प्रेमकथा प्रस्तुत गरिएको छ। यस कथामा गाउँबाट रोजगारको खोजमा शहर विदेश जान बाध्य भएका नेपाली युवाहरूको यथार्थलाई मुख्य रूपले प्रस्तुत गरिएको छ। यस कथामा गाउँले पर्यावरणको प्रयोग भएको छ। यस कथामा मने, मुन्नी, मनेको घर मालिक, खलासी, ड्राईभर, दुईवटी केटीहरू, केटी जिस्काउने फुर्तिलो मानिस जस्ता मानवीय र मानवेत्तर पात्रको प्रयोग गरिएको छ।
कथावस्तुगत सन्दर्भ र शीर्षकीकरण
‘मने र मुन्नी’ कथामा मने अरू बोकाभन्दा छुकछके स्वभावको हुन्छ। ऊ मुन्नीसँग प्रेम गर्छ। एकदिन ऊ ज्यादै गम्भीर भएर बसेको हुन्छ। त्यही बेलामा मुन्नी आए पछि एक किसिमले ऊ निकै खुसी हुन्छ तर अर्को किसिमले दुःखी हुन्छ। ऊ मुन्नीलाई देख्ने बित्तिकै खिन्न मनले घाँसका पात खाएझैँ गर्दछ। मुन्नीले खिन्न हुनाको कारण निकै सोधेपछि आफूलाई मालिकले शहर लैजान लागेको कुरा सुनाउँछ। त्यही दिन बिहानमात्र घर मालिकले उसको जीउ छाम्दै उचालेर पछारेर हेरेको हुन्छ। उसलाई मुन्नीले तिमीलाई त भित्रभित्रै खुसी लागेको होला नि ? भन्दा ऊ आफ्नो पहिल्यै देखिको सहर जाने सपना भएको र बल्ल त्यो सपना पूरा भएको कुरा सुनाउँछ। मुन्नीले मनेलाई शहर नजान र आफूलाई नछोड्न अनेक प्रयत्न गर्छे। ऊ मनेलाई सम्झाउँदा सम्झाउँदै रुन्छे। मने भने मुन्नीलाई आफू जसरी भए पनि शहर जाने भएकाले जाने बेलामा आँसुको तगारो न तेर्स्याउन आग्रह गर्छ। ऊ मुन्नीलाई शहर गए पनि बरोबर इमेल पठाउने आश्वासन दिन्छ। मुन्नीले गाउँबाट लामकाने, झिल्के, सिरे, डुम्रे, देउखुरे, तिखे, भ्याकुरे, भकमके सबै सहर गएको र फर्केर नआएकाले तिमी पनि नआउने हो कि भन्ने संशय व्यक्त गर्छे। मनेभने गाउँभन्दा सहर नै रमाइलो र सुविधायुक्त हुने भएकाले पुनः गाउँमा फर्केर नआउने आशय व्यक्त गर्छ। ऊ हिँड्ने बेलामा मुन्नीले मनेलाई पेटभरि खानु, कसैसँग झगडा नगर्नु, आफ्नो सुरक्षाको जिम्मा आफैँ लिनु भन्छे र दुवै बिदा हुन्छन्। मनेलाई अर्को दिन बिहानै मालिकले शहर हिडाउँछ। सुरुमा त मने पहिलोपल्ट बस चढन पाउँदा निकै खुसी हुन्छ। तर बसमा चार खुट्टे यात्री बसमा नराख्न दुई खुट्टे यात्रीहरूले विरोध गर्छन्। त्यसमा ड्राइभरले भिटो लगाउँछ। गाडी हिँड्नलाग्दा उसका आँखा पछाडितिरको सिटमा बसिरहेका दुईवटी केटीहरूमाथि पर्छ। ती केटीहरू टोलाइरहेका हुन्छन्। त्यसरी टोलाइ रहेको देखेर मनेलाई शङ्का लाग्छ। त्यसको ठीक पछाडि बसेको एकजना फूर्तिलो मान्छे केटी जिस्काउन थाल्छ। ती केटी केटीहरू अँध्यारो मुख लगाएर अन्तकतै हेरेको हेरै गर्छन्। त्यसपछि मने ती केटीहरूसँगै निस्कन्छ। फूर्तिलो मान्छे पनि ती केटीहरूको पछिपछि जान्छ र केटीहरूलाई कहाँ जानलागेको गाडी हिँड्ने बेला भयो भन्छ। तर केटीहरूले गाउँ छाडेर कतै नजाने आफूहरूलाई विदेशको रमाइलो हेर्ने इच्छा नभएको र आफ्नो आँखा खुली सकेकाले आफू आफ्नै देशका पाखा पखेरामा रमाउने प्रत्युत्तर दिन्छन्। मनेलाई पनि त्यस्तै लाग्छ तर खलासीले मनेलाई गर्धन र करङ समाती उचालेर ल्याउँछ र बसभित्र हुलिदिन्छ।
प्रस्तुत कथा बालकथा भएकाले यसको कथावस्तु ज्यादै सरल किसिमले अगाडि बढेको छ। बालबालिकाले सजिलै बुझ्न सक्ने विषय वस्तुलाई कथामा प्रस्तुत गरिएको र सबैले कथा सजिलै बुझ्न सक्ने भएकाले प्रस्तुत कथा अभिधामै जीवन्त रहेको छ। यस कथाले बालबालिकालाई जति आनन्द र मिठास दिन्छ। उच्च तहका पाठकलाई पनि उस्तै गम्भीर बनाइएको छ।
‘मने र मुन्नी’ कथाको मानवेत्तर चरित्रमा ध्वनि
प्रस्तुत कथामा मने र मुन्नी दुई मानवेत्तर पात्रको प्रयोग गरिएको छ। ती पात्रमा प्रयुक्त ध्वनि यस प्रकार प्रस्तुत गरिएको छ :
मनेको चरित्र
मने प्रस्तुत कथाको प्रमुख पात्र हो। उसैको केन्द्रियतामा प्रस्तुत कथाको घटना केन्द्रित रहेको छ। मने यस कथामा मानवेत्तर पात्रका रूपमा आएको भए पनि मानवीय क्रियाकलाप गरेको छ। उसको चारित्रिक विशेषता कथाभर सामान्य किसिमको छ। मनेकै केन्द्रियतामा कथा केन्द्रित रहेकाले उसको भूमिका प्रमुख रहेको छ। कथाको सुरुमा निकै गम्भीर बनेको ऊ कथाका प्रत्येक घुम्ती र उपघुम्तीमा उसको स्वभाव परिवर्तन भई रहेकाले ऊ गतिशील स्वभावको रहेको छ। कथाको दुखान्त अन्त्य गर्नमा उसैको प्रमुख भूमिका रहेकाले कथाभर उसको प्रवृत्ति अनुकूल किसिमको छ। कथामा मने एउटा पशुपात्रको मानवीकरण भएर आएको भए पनि ऊ सम्पूर्ण विदेश, शहरको झिलिमिली हेर्न जाने पात्रको प्रतिनिधि भएकाले ऊ वर्गगत पात्र हो। यस कथामा मनेको भूमिका प्रत्यक्ष किसिमको छ। त्यसैले आसन्नताका आधारमा ऊ मञ्चीय पात्र हो। यस कथामा मनेबिना कथावस्तु कथा बीजले आख्यानीकरण नपाउने भएकाले वा कथा अघि बढ्ने भएकाले ऊ आबद्धताका आधारमा बद्धपात्रका रूपमा आएको छ।
मनेको चरित्रगत ध्वनि
प्रस्तुत कथाको मने मानवेत्तर पात्र हो। उसको चरित्र मानवीय किसिमको छ। प्रस्तुत कथा उसैको केन्द्रीयतामा आधारित भएको छ। यस कथामा मनेले खासमा खसी बोकाहरू नबुझाएर नेपाली युवाहरू भन्ने बुझाएको छ। यस कथामा मने अरू बोकाहरूभन्दा छुकछुके स्वभावको छ भन्ने सन्दर्भबाट चकचके, छुकछुके स्वभाव भएका युवा भन्ने अर्थ व्यञ्जित भएको छ। मने त्यो दिन स्वभावलाई नै नसुहाउने गरी गम्भीर थियो भन्ने सन्दर्भबाट चाहिने भन्दा वा आवश्यकता भन्दा बढी चिन्ता गर्ने नेपाली आलाकाँचा युवाहरूको सन्दर्भ प्रस्तुत गरिएको छ। यसबाट समयमा बुद्धि नपुऱ्याउने र समय बिते पछि पश्चाताप गर्ने मानवीय गुण प्रस्तुत गरिएको छ। मने मुन्नीसँग भन्छः कुरा के हो भने यसपालिको दसैँमा घरमालिकले मलाई सहर डुलाउन लाने पक्का छ। आज मात्रै घर मालिकले मलाई जीउ छाम्दै उचालेर, पछारेर हेरेको थियो र मेरो जीउमा कन्याएको पनि थियो (नासननी, २०६७, २१)।
मनेको उक्त भनाइबाट नेपाली गाउँका सोझा सिधा युवाहरूको यथार्थ उद्घाटन भएको छ। यहाँ यसपालि दसैँमा घरमालिकले सहर डुलाउन लाने सन्दर्भबाट पहिला त खसी बोकाहरू विशेष अरूको दसैँमा मृत्युवरण गर्न शहरमा बेचिन्छन् भन्ने सन्दर्भ प्रस्तुत भएको छ। अर्को सन्दर्भमा त्यसबाट गाउँबाट शहरतिर कामको खोजमा बेचिने युवाहरू भन्ने सन्दर्भ व्यक्त भएको छ। तेस्रो सन्दर्भमा भने कामको खोजमा ललाइफकाइ र कोही वाध्यताबाट विदेशमा दलालमार्फत् बेचिन वाध्य नेपाली युवाहरूको यथार्थ प्रस्तुत भएको छ। चौथो सन्दर्भमा भने आर्थिक रूपले विपन्नवर्गका युवाहरूले दासदासीको जस्तो व्यवहार सहनु पर्ने र धनी वर्गले जसो भन्यो त्यसै मान्नु पर्ने वर्गीय उत्पीडन प्रस्तुत भएको छ।
उक्त भनाइमा आएको “मलाई जीउ छाम्दै उचालेर पछारेर हेरेको थियो र मेरो जीउ कन्याएको पनि थियो” (नासननी, २०६७, २१) भन्ने भनाइबाट पहिला त वर्षभरि पालनपोषण गरेर पाल्ने र पछि आफ्नो सीमित स्वार्थका लागि दयामायाविहीन भएर खसीबोका बेच्ने र स्वार्थ पूरा गर्ने मानिसको दानवीय चरित्रलाई सङ्केत गरिएको छ। दोस्रो सन्दर्भमा भने यसले मान्छेलाई किलो काँटामा जोखेर किनबेच गर्ने वस्तु ठान्ने आजको मानवीय विषम अवस्था प्रस्तुत गरिएको छ। यसबाट विघटित मानवीय मूल्यलाई देखाइएको छ। तेस्रो सन्दर्भमा यसले मानवमा हुने दयामाया, संवेदना, ज्ञान, बुद्धि विवेकलाईभन्दा बलियो शरीरलाई महत्त्व दिने भौतिकवादी संस्कृति प्रस्तुत गरिएको छ। चौथो सन्दर्भमा भने नेपाली युवाहरूको ज्ञान, शक्ति र सिर्जनालाईभन्दा बल, शरीर, शरीरको अग्लाइ, मोटाइलाई मात्र प्रथामिकता दिएर विदेशमा ज्यादै न्यून स्तरको काम गराउने दलाली प्रवृत्तिलाई सङ्केत गरिएको छ। पाँचौ सन्दर्भमा भने यसले मानिस कसरी यान्त्रिकीकरण बन्दैछ भन्नै यथार्थ प्रस्तुत भएको छ। छैटौँ सन्दर्भमा भने नेपालका कुनाकुनाका गाउँमा बस्ने युवाहरू कसरी बिक्रीका वस्तु बन्दैछन् र शरीरको बनावटका आधारमा खसीबोका जस्तो किलो र धार्नीका हिसाबमा विदेशमा बिक्री भइरहेका छन् र नेपाल विदेशी श्रम उत्पादन गर्ने कारखाना बन्दैछ भन्ने सन्दर्भ प्रस्तुत गरिएको छ।
प्रस्तुत कथामा मने भन्छ ‘मैले अहिले हो र सहर जाने सपना देखेको ? बल्ल मेरो सपना साकार हुने भो बुझ्यौ लाटी’ (नासननी, २०६७, २२)। प्रस्तुत सन्दर्भबाट प्रथमतः नेपाली युवाहरूमा धन कमाउने अधिकांश नेपाली युवाहरूको चाहना वा इच्छा प्रस्तुत भएको छ। यहाँ स्वदेशमा केही गर्न नचाहने र विदेश गएपछि के के न भइ हाल्छ भन्ने विचार राख्ने नेपाली युवाहरूको यथार्थ प्रस्तुत भएको छ। यसबाट नेपाली युवाहरूको विदेशी मोह प्रष्ट भएको छ। उक्त भनाइबाट दोस्रो सन्दर्भमा युवाहरूमा भएको घट्दो राष्ट्रिय चेतना र विदेशी मोह प्रस्तुत भएको छ। यहाँ आजभोलिका युवाहरू अलि जान्न र बुझ्न थालेपछि विदेश जाने र सम्पत्ति कमाएर ल्याउन पाएहुन्छ भन्ने सपना मात्र राख्दछन् भने यथार्थ प्रस्तुत भएको छ। अर्को सन्दर्भमा “बुझ्यौ त लाटी”(नासननी, २०६७, २२) भन्ने सन्दर्भबाट आफूलाई मात्र बाठो र बुझेको ठान्ने युवाहरूको काँचो स्वभावलाई प्रस्तुत गरिएको छ।
प्रस्तुत कथामा मने भन्छः
जे भए पनि म नगई नछाड्ने भइहालेँ। तिमीले मेरो पीरमाथि पीर नथपिदेऊ। तिमीले मलाई हाँसीखुसी बिदा गरिदेऊ। मेरो बाटोमा तिमीले आफ्नो आँसुको तगारो नतेर्स्याइदेऊ। सबै आ–आफ्नो कर्मको खेल हो। म तिमीलाई बरोबर इ–मेल पठाउँछु भएन (नासननी, २०६७, २३)।
मनेको उक्त भनाइबाट प्रथमतः अरूको कुरा नसुन्ने हक्की स्वभावका युवाहरूको चरित्र प्रस्तुत भएको छ। यहाँ आफूले भनेको कुरामात्र सही र अरूले भनेको कुरा पूरै गलत भन्नेर ठान्ने किशोरहरूको जिद्दी स्वभाव प्रस्तुत भएको छ। साथै यसबाट आफूलाई ठूलो र अरूलाई सानो ठान्ने नेपालीहरूको चारित्रिक विशेषतालाई सङ्केत गरिएको छ। “सबै आ– आफ्नो कर्मको खेल हो ”(नासननी, २०६७, २३)। भन्ने सन्दर्भबाट भाग्यलाई बढी महत्त्व दिने र अरूको सकरात्मक कुरालाई महत्त्व नदिने युवाचरित्र प्रस्तुत गरिएको छ। यहाँ प्रस्तुत भएको बरोबर इमेल पठाउने सन्दर्भबाट आजको सञ्चार प्रविधिको विकासले नेपाली युवाहरूमा पारेको प्रभाव प्रस्तुत गरिएको छ। अर्को सन्दर्भमा इमेल इन्टरनेटको विकासले कसरी मानवलाई नजिक तुल्याउँछ भन्ने सन्दर्भ पनि यहाँ प्रस्तुत भएको छ।
प्रस्तुत कथामा नेपाली गाउँले सोझा युवाहरूमा सहर या विदेशप्रतिको मोह कतिसम्म हुन्छ भन्ने सन्दर्भ ध्वनित भएको छ। साथै नेपाली युवाहरूमा घट्दै गएको राष्ट्रिय चेतना र बढ्दै गएको विदेश चेतनालाई कथामा मनेमार्फत् प्रस्तुत गरिएको छ।
मने भन्छः
को आउँछ भन्या फर्केर यस्तो ठाउँमा ? बसे होलान् सबै त्यतै घरजम गरेर। सहरमा त्यहाँ कस्तो रमाइलो छ रे ? हेरि नसक्नु झिलिमिली छ रे। जात्रा, जुलुस नभएको दिनै हुँदैन र सहरका कुना काप्चासम्म गाडीमा पुग्न सकिन्छ रे। साँच्चै मैले अहिलेसम्म गाडी चढ्न पाएको छैन, बल्ल गाडी चढ्ने मौका पाइने भो (नासननी, २०६७, २३)।
प्रस्तुत सन्दर्भबाट गाउँलाई चटक्कै माया मारेर सुख सुविधाको खोजमा सहरमा पस्ने र गाउँलाई चट्ककै माया मार्ने नेपाली युवाहरूको डर लाग्दो मानसिक रोग प्रस्तुत भएको छ। अर्को सन्दर्भमा आफ्नो देशलाईभन्दा विदेशलाई महत्त्व दिने युवाहरूमा बढ्दै गएको राष्ट्रप्रतिको वितृष्णा वा वेवास्ता गर्ने चरित्रलाई पनि यहाँ प्रस्तुत गरिएको छ। यहाँ प्रस्तुत भएको सहरको जात्रा जुलुसले सहरमा विकृति र विङ्गति छ भन्ने सन्दर्भलाई प्रस्तुत गरिएको छ। यहाँ “सहरका कुना काप्चामा गाडीमा पुग्न सकिन्छ” (नासननी, २०६७, २२) भन्ने सन्दर्भबाट गाउँमा भन्दा सहरमा वा नेपालमाभन्दा विदेशमा भौतिक सुविधा धेरै छ। त्यसैले गाउँका मानिसहरू वा नेपालका युवाहरू शहर वा विदेश पस्दछन् र त्यतै हराउँछन् भन्ने सन्दर्भ प्रस्तुत गरिएको छ। मनेको अहिलेसम्म गाडी चढ्न पाएको छैन भन्ने सन्दर्भबाट हाम्रो देश विकासको सन्दर्भमा कति पछाडि छ र त्यहाँका युवाहरूमा कस्तो रहर रहेको छ भन्ने सन्दर्भ प्रस्तुत भएको छ।
मनेलाई मुन्नी सम्झाउँदै भन्छेः पेटभरि खानू। कसैसँग झैझगडा नगर्नु आफ्नो सुरक्षाको जिम्मा आफैले लिनू। मैले अरू के भन्ने ? तिमी आफैँ बुद्धिमान (नासननी, २०६७, २३)। मनेको उक्त भनाइबाट युवा, यवतीहरू आफू मात्र होइन अरूप्रतिपनि जिम्मेवारी छन् भन्ने ध्वन्यार्थ व्यक्त भएको छ। यहाँ नेपालको असुरक्षित वातावरण पनि ध्वनित भएको छ। यसबाट नेपालमा वा गाउँमा बढ्दै गएको असुरक्षित वातावरण चित्रित बनाएको छ।
मने र मुन्नी छुट्टिएको दुई दिनपछि मनेलाई घरमालिकले सहर हिँडाउँछ। उसले बस चढ्ने मौका पाउँछ। उसलाई सानैदेखिको बस चढ्ने इच्छा पूरा भए जस्तो लाग्छ। तर त्यहाँ बसमा “चारखुट्टे यात्री बसमा नराख्न दुई खुट्टे यात्रीहरूले गरेको विरोधको विरुद्ध गाडी चलाउने गुरुजीले भिटो लगाउँछ”(नासननी, २०६७, २४)।
उक्त सन्दर्भले मानिसहरू र पशुमा हुने विभेदलाई देखाएको छ। अर्को सन्दर्भमा भने विभिन्न यात्राहरूमा वा विभिन्न ठाउँमा नेपालीहरूमाथि हुने गरेको अन्याय र अत्याचार व्यञ्जित भएको छ। “विरोधको विरुद्ध गाडी चलाउने गुरुजीले भिटो लगाएको”(नासननी, २०६७, २४) सन्दर्भ मार्फत् देशका सञ्चालक नेताहरूले सर्वसाधारणमाथि कसरी शक्ति प्रयोग गर्छन् भन्ने यथार्थ कुरा व्यञ्जित भएको छ। साथै यसबाट नेपाली युवाहरू अरू शक्तिका सामु कसरी निरीह बन्दछन् भन्ने यथार्थ यस कथामा प्रस्तुत भएको छ। यसमार्फत् मान्छेबिच भएको विभेदको अवस्था पनि यहाँ प्रस्तुत भएको छ। मनेलाई यस्तो अमानवीय व्यवहारले ज्यादै खिन्न बनाउँछ। उसलाई ओर्लेर गाउँमै जान पाए हुन्थ्यो जस्तो लाग्छ। यस सन्दर्भबाट वास्तविक घरको या देशको माया त अर्काको ठाउँ या देशमा अपहेलित जीवन बाँच्न थालेपछि मात्र हुन्छ भन्ने ध्वनि प्रस्तुत भएको छ। साथै यसबाट सुरुमा काम गर्दा सोच विचार नगर्ने र पछि पछुताउने नेपाली युवाहरूको चारित्रिक विशेषता पनि ध्वन्यार्थमार्फत् प्रस्तुत भएको छ।
“गाडीमा मनेले सिटमन्तिर सिट पाउँछ”(नासननी, २०६७, २४) भन्ने सन्दर्भ मार्फत् नेपाल गाउँका वैदेशिक रोजगारको खोजमा हिँडेका युवाहरूले सबैभन्दा तल्लो दर्जाको वा स्तरको यात्रा गर्नु पर्छ र तिनले त्यस्तै ठाउँमा स्थान पाउँछन् भन्ने यथार्थ ध्वनित भएको छ। साथै यसमार्फत् नेपाली युवाहरूले विदेशमा सधैँ तेस्रो दर्जाको नागरिक भएर बाँच्नु पर्छ भन्ने यथार्थ ध्वनित भएको छ।
गाडी हिँड्न लाग्दा मनेले पछाडि सिटमा दुईवटी केटीहरू देख्छ। उसलाई आफ्नै जस्तो लाग्छ। उनीहरू छेउमा जान्छन् र केटीहरू अब हाम्रा आँखा खुले भन्दै गाडीबाट ओर्लँदा ऊ पनि ओर्लन्छ। उसलाई सहर कहिल्यै जान मन लाग्दैन तर खलासीले जबर्जस्ती ल्याएर गाडीमा कोच्छ। उक्त सन्दर्भमार्फत् परदेशमा नेपाली भनेपछि आफ्नै जस्तो लाग्छ। अरूको हेला र हैकम खाएपछि मात्र चेतनाको आँखा खुल्छ। हामीलाई समयले नेटो काटिसकेपछिमात्र बुद्धि आउँछ। त्यसपछि पछुताउँछौ भन्ने अर्थ ध्वनित भएको छ। उक्त सन्दर्भमा खलासीले जबर्जस्ती कोचेको सन्दर्भबाट नेपाली युवाहरू कसरी विदेशमा वस्तु जसरी जबर्जस्ती बेचिन बाध्य छन् भन्ने सन्दर्भ ध्वनित भएको छ।
यसरी हेर्दा प्रस्तुत कथाको भनेमार्फत् कामको खोजीमा विदेश जान बाध्य भएका नेपालीहरूको कारुणिक अवस्था ध्वनित भएको छ। यस चरित्रमार्फत् विदेश वा सहरमा मानिसलाई तौलका हिसाबले किनबेच गर्ने परम्परामा कसरी नेपालीहरू सिकार बन्दैछन् भन्ने यथार्थ ध्वनित भएकाले मने सामान्य नभएर समग्र नेपाली युवाहरूको प्रतिनिधि वर्गीय चरित्रका रूपमा आएको छ भन्ने पुष्टि हुन्छ। कथामा उसले समग्र नेपालीहरूको चरित्रलाई समेटेकाले भने यस कथाको जीवन्त प्रतिनिधि पात्रका रूपमा आएको छ।
मुन्नीको चरित्र
मुन्नी प्रस्तुत कथाको सहायक पात्र हो। यस कथामा मुन्नी मानवेत्तर पात्रका रूपमा आएकी भएपनि उसमा मानवीय गुणहरू छन्। उसको उपस्थिति कथाको तीन भाग मध्ये झण्डै दुई भाग भरी आएको छ। उसको चारित्रिक विशेषता कथामा सामान्य किसिमको छ। कथाभरि उसको स्वभाव स्थिर किसिमको भएको छ। उसले मनेलाई कति गरे पनि विदेश (सहर) जानबाट रोक्न सकेकी छैन। कथाभरि उसको स्वभावमा कुनै परिवर्तन आएको छैन। त्यसैले स्थिर स्वभावकी पात्रका रूपमा आएकी छ। कथाको दुःखान्त अन्त्य गर्नमा कुनै कार्य नगरेका कारणले उसमा अनुकूल प्रवृत्ति रहेको छ। कथामा उसको चरित्र सामान्य बाख्राको जस्तो भएपनि समग्रताबाट उसले नेपाली युवतीहरूको वर्गगत पात्रका रूपमा आएकी छ। कथामा मुन्नी प्रत्यक्ष रूपमा आएकी छ र मनेसँग संवाद गरेकी छ त्यसकारण भूमिकाका आधारमा प्रत्यक्ष पात्रका रूपमा आएकी छ। त्यसकारण भूमिकाका आधारमा प्रत्यक्ष पात्रका रूपमा आएकी छ। ऊ कथाकी अभिन्न रूपमा आएकी छ उसको आबद्धताका आधारमा बद्ध पात्रका रूप आएकी छ।
मुन्नी चरित्रमा ध्वनि
प्रस्तुत कथाका मुन्नी मानवेत्तर पात्र हो। उसलाई कथामा पशुका रूपमा प्रस्तुत गरएको भएपनि मानवीकरण गरिएको छ। प्रस्तुत कथामा ऊ सहायक पात्रका रूपमा आएकी छ। यस कथामा मुन्नीले केवल सामान्य पाठी वा बाख्रीको अर्थ नबुझाएर नेपाली युवतीहरूलाई बुझाएकी छ। मुन्नीको स्वभाव नेपाली युवतीहरूको स्वभाव जस्तै छ।
कथामा मुन्नी हल्क्क बढेकी छ। ऊ मनेलाई देख्ने बित्तिकै रमाउँछे र उफ्रेर आफ्ना बाउमाउलाई छाडी कुदेर मने नजिकै जान्छे। मुन्नीको उक्त स्वभावबाट चाँडै हलक्क बढ्ने युवतीहरूको विशेषता ध्वनित भएको छ। ऊ बुर्लुक्क उफ्रेर आफ्ना बाउभाउलाई छाडेर मने नजिकै जाने चरित्रबाट उमेर पुगेपछि आफ्ना आमाबाबुलाई छाडेर विपरीत लिङ्गतर्फ आकर्षक हुने मानवीय स्वभाव ध्वनित भएको छ। साथै उमेर पुगेपछि युवायुवतीहरू आफ्ना आफन्त अभिभावकको आज्ञालाईभन्दा आफैँ स्वतन्त्रता वा रोजाइलाई महत्त्व दिन्छन् भन्ने सन्दर्भ ध्वनित भएको छ। उसलाई मनेले “बल्ल मेरो सपना साकार हुने भो कुरा बुझ्यौ लाटी ?”(नासननी, २०६७, २२) भन्दा मुन्नी भन्छेः “म लाटी होइन कि तिमी सहर नगइदेऊ। मलाई यहाँ दिन काट्न गाह्रो हुन्छ क्या ? गयौ भने म ‘छाडी गए पाप लाग्ला” गीत गाइदिन्छु। केही नखाईकन बसिदिन्छु के !”(नासननी, २०६७: २२)।
प्रस्तुत सन्दर्भ मार्फत् नेपाली नारीहरू स्वभाव ध्वनित भएको छ। विशेष गरी नारीहरूको अरूलाई घुर्क्याउने र नरम बोल्ने विशेषतालाई कथामा प्रस्तुत गरिएको छ। कथामा नारीहरूको ज्यादै माया ममता युक्त भाव ध्वनित भएको छ। बोल्दा बोल्दै मुन्नीले सजिलैसँग दुइ चार थोपा आँसु खसालेको सन्दर्भबाट नारीहरूको भावना वा मन कोमल हुन्छ भन्ने अर्थ ध्वनित भएको छ। तर जतिसुकै गरे पनि ऊ मनेलाई सहर जानबाट रोक्न सक्दिन। यसबाट नेपाली समाजका नारीहरू पुरुषका तुलनामा ज्यादै निरीह भएर बस्छन् भन्ने अर्थ ध्वनित भएको छ। साथै यसबाट नारीहरू पुरुषका तुलनामा कमजोर रहेका र उनीहरूको कुरा पुरुषहरूले सुन्दैनन् भन्ने सन्दर्भ पनि ध्वनित भएको छ।
प्रस्तुत कथामा मुन्नी एउटी राष्ट्रवादी नारीका रूपमा देखिएकी छ। यस कथामा उसले नेपालीहरूले आफ्नो देशलाई बिर्सेको र सबै नेपाली युवाहहरूले नेपाली माटो र आफ्ना प्रेमिकाहरूलाई बिर्सेको सन्दर्भ प्रस्तुत गरेकी छे। मुन्नी भन्छेः
“लामकाने पनि त्यसरी नै सहर गयो। झिल्के, सिरे, डुम्रे, देउखुरे, तिखे, भ्याकुरे, भकभके पनि त्यसरी नै सहर गए, गए सबै गए। सबै गाउँ छोडेर गए। सबैले मलाई माया मारे। कोही आएनन् फर्केर, कोही आएनन्। (नासननी, २०६७, २३)
मुन्नीको प्रस्तुत सन्दर्भमा नेपाली युवाहरूको विदेशी मोहले नेपालमा बस्ने नेपाली चेलीहरूमा उत्पन्न भएको अप्ठ्यारो अवस्था ध्वनित भएको छ। यहाँ झिल्के, डुम्रे जस्ता सबै नेपाली युवाहरू विदेश गएर उतै पलाएन भएको सन्दर्भ ध्वनित भएको छ। अर्को सन्दर्भमा यहाँ सहरको सुख सुविधामा भुलेपछि गाउँलाई चट्क्कै माया मार्ने नेपाली युवाहरूको स्वार्थी प्रवृत्तिलाई व्यङ्ग्य गरिएको छ। “सबैले मलाई माया मारे”(नासननी, २०६७, २३) भन्ने सन्दर्भबाट नेपाल आमालाई सबै नेपालीहरूले माया मारेको सन्दर्भ ध्वनित भएको छ। साथै यसबाट युवाहरू आफ्नो जन्मभूमि, जन्मस्थानप्रति उत्तरदायी छैनन्। उनीहरूलाई पैसा, भौतिक सुख सुविधाको मात्र महत्त्व छ भन्ने सन्दर्भ ध्वनित भएको छ।
यसरी हेर्दा प्रस्तुत कथाकी मुन्नीमार्फत् गाउँले सोझा नेपाली युवतीहरूको चरित्र ध्वनित भएको छ। यस कथाकी मुन्नीले सम्पूर्ण नेपालीहरूको प्रतिनिधित्व गरेकी छ। यस कथामा मुन्नी मार्फत् आफ्नो देश, गाउँबाट बाहिर नगएको बाहिरी सहरीया वातावरण त्यति नबुझेकी सरल हृदयकी नेपाली नारीहरूको चरित्र ध्वनित भएको छ।
‘मने र मुन्नी’ कथाको मानवीय चरित्रमा ध्वनि
‘मने र मुन्नी’ कथाको मानवीय चरित्रमा ध्वनि प्रस्तुत गरिएको छ। यस कथामा दुईवटी युवतीहरू, अन्य पात्रहरू खालासी, ड्राइभर र घरबेटीमार्फत् ध्वनि प्रस्तुत गरिएको छ। तिनीहरूको चरित्रलाई यसप्रकार प्रस्तुत गरिएको छः
घरबेटी चरित्रमा ध्वनि
प्रस्तुत कथाको घरबेटी गौण पात्र हो। ऊ मानवीय पात्र हो। कथामा उसले मनेलाई सहरतिर बेच्न लाने काम गरेको छ। ऊ मनेको घर मालिक हो। कथामा उसको प्रत्यक्ष उपस्थिति छैन। ऊ मनेको जीउ छाम्दै उचालेर, पछारेर हेर्छ र जीउमा कन्याँउछ। घरबेटीको उक्त चरित्र सामान्य व्यवहारको छैन। यसबाट खसी बोका बेच्ने दलाल वा अरूको संवेदना नबुझ्ने मानिसको स्वार्थी प्रवृत्ति ध्वनित भएको छ। अर्को सन्दर्भ उसको चरित्रमार्फत् नेपाली युवाहरूको व्यापार गर्ने दलालको चरित्र ध्वनित भएको छ।
दुईवटी युवतीहरूको चरित्रमा ध्वनि
दुईवटी युवतीहरू प्रस्तुत कथाका सहायक पात्र हुन्। उनीहरू मानवीय स्त्री चरित्र छन्। कथामा उनीहरू प्रत्यक्ष रूपमा आएका छन्। कथाको अन्त्यतिर उनीहरूको उपस्थिति रहेको छ। ती केटीहरू मने बसेको पछाडितिरको सिटमा बसिरहेका हुन्छन्। उनीहरूको अनुहार अँध्यारो हुन्छ र तिनीहरू कतै टाढातिर हेरेर टोलाइरहेका हुन्छन्। तिनीहरूलाई एउटा फूर्तिलो मान्छेले जिस्काइरहेको हुन्छ। ती केटीहरूले मनेलाई राम्ररी चिन्दछन्। एकछिनपछि ती केटीहरूको अनुहार बिस्तारै झन् अँध्यारो हुँदैजान्छ। त्यसपछि फुत्त बाहिर निस्कन्छन्। फूर्तिलो मान्छेले “कहाँ जान लागेको? गाडी हिँड्न लागि सक्यो”(नासननी, २०६७, २४) भन्दा उनीहरू “हामीहरू गाउँ छाडेर कतै जान्नौँ। हामीलाई विदेशको रमाइलो हेर्ने इच्छा छैन। हाम्रा आँखा खुलिसके, हामीलाई हाम्रै गाउँ रमाइलो लाग्छ। हामीलाई हाम्रै पाखापखेरा रमाइलो लाग्छ”(नासननी, २०६७, २५) भनी जवाफ दिन्छन् र आफ्नो बाटो लाग्छन्।
प्रस्तुत कथाका उक्त दुई युवतीहरूका चरित्रमार्फत् समग्र शिक्षित र देशभक्त नेपालीहरूको चरित्र ध्वनित भएको छ। दुई युवतीहरू फूर्तिलो मान्छेको ललाइ फकाइमा परेर सहर वा विदेशतिर बेचिन लागेका युवतीहरू हुन्। उनीहरूले मनेलाई देखेपछि र मनेमाथि दुई खुट्टे यात्रीहरूले गरेको अमानवीय व्यवहार देखेर विदेशमा वा सहरमा आफ्नो कस्तो अवस्था हु्न्छ भन्ने सन्दर्भ ध्वनित भएको छ। यस कथामा ती युवतीहरूले विदेशलाईभन्दा स्वदेशलाई बढी महत्त्व दिने नेपाली सचेत युवतीहरूको चरित्रलाई ध्वनित गरेको छ।
अन्य पात्रहरूको चरित्रमा ध्वनि
प्रस्तुत कथाका दुई खुट्टी यात्रीहरूमार्फत् समाजका सचेत भनिने मानिसहरूको चरित्र ध्वनित भएको छ। उनीहरूमार्फत् आजका दुईखुट्टे मानवमा आत्मियता र सद्भाव भन्ने कुरा हराउँदै गएको देखाइएको छ। यस कथामा दुईखुट्टे यात्रुहरूबाट झगडा, ईर्ष्यालु मानवीय चरित्र ध्वनित भएको छ।
प्रस्तुत कथाको गाडी चलाउने गुरुजीमार्फत् हाम्रो देशका नेतृत्वहरूको चरित्र ध्वनित भएको छ। कथामा दुईखुट्टे यात्रीहरूले चारखुट्टे यात्रीहरूलाई गाडीमाथि राखेकोमा विरोध गर्दा ऊ भिटो प्रयोग गर्छ। यहाँ गुरुजी हाम्रा देशका नेताहरूको वा दलालहरूको प्रतिनिधि भएर आएको छ। यस कथामा सबै यात्रीहरूले गुरुजीको भिटो मान्नु परेको छ। यसमार्फत् जता पायो त्यतै ठाउँ न कुठाउँमा आफ्नो अधिकारको प्रस्तुत कथाको गौण पात्र खलासीमार्फत् अरूले जे गर्यो त्यही मान्ने वा नुनको सोझो गर्ने नेपालीहरूको चरित्र ध्वनित भएको छ।
ध्वनि तात्त्विक सन्दर्भ
प्रस्तुत कथामा भने मुनीको चारित्रिक कार्य व्यापार प्रस्तुत भएको छ भने कथामा मने र मुन्नी मानवेत्तर पात्रका रूपमा आएका छन्। घरबेटी, ड्राइभर, खालासी, दुई युवती र फुर्तिलो मानिस मानवीय पात्रका रूपमा आएका छन्। प्रस्तुत कथामा मने र मुन्नी मानवेत्तर पशु बोको र पाठीका रूपमा आएका छन् भने त्यसबाट साधारण गाउँले युवा भन्ने यथार्थ व्यक्त भएको छ। यस कथामा वक्ताका रूपमा स्वयं समाख्याता आएको छ। ठाउँठाउँमा भने र मुनीको प्रत्यक्ष संवाद पनि आएको छ। यहाँ परिस्थितिका रूपमा गाउँ छाडेर शहर हिँड्न लागेको मने र त्यसलाई रोक्ने अनेक प्रयत्न गर्ने मुन्नीको वियोगको अवस्था रहेको छ। प्रतीतिकालका रूपमा पहिले कथाको अभिधा अर्थ प्रस्तुत भएको छ। प्रस्तुत कथा अभिधार्थमा नै ज्यादै शक्तिशाली रहेको छ। समग्रतामा गाउँमा साधारण जीवन बाँच्ने युवाहरूको विदेश पलायनको सन्दर्भ र गाउँमा आफ्ना विदेश पलायन भएर बसेका प्रेमिहरूको सम्झनामा जीवन काट्न बाध्य युवतीहरूको वा प्रेमिकाहरूको यथार्थ व्याख्या भएको छ। यहाँ आश्रयका रूपमा पदावली, वाक्य र समग्रकथन आदि रहेका छन्। विषयका रूपमा नेपालका गाउँगाउँबाट काम र मामको खोजमा विदेश पलायन हुने युवायुवतीको बाध्यता र मानसिक छट्पटी आएको छ। यस कथाको मानेको सहर जानु पर्ने बाध्यतामार्फत् नेपालका कुना कुनाबाट शहरको झिलिमिलि हेर्ने रहरले वा करले विदेश पलायन हुन वाध्य भएका नेपाली युवाहरूको अवस्था समग्र कथन सन्दर्भबाट ध्वनित भएको छ। यहाँ मने मार्फत् गाउँबाट दलालको लोभ लालच र षड्यन्त्रबाट शहरको झिलिमिलि र पैसाको भारीको सपना देखी बजार पस्ने वा विदेश पलायन भएर फर्केर स्वदेश नआउने युवाहरूको अवस्था ध्वनित भएको छ। फलतः वस्तुध्वनि रहेको छ। साथै मुन्नीको चरित्रमार्फत् समग्र नेपाली युवतीहरूको चरित्र ध्वनित भएकाले वस्तुबाट वस्तु ध्वनि रहेको छ। यहाँ मनेको चरित्रमा अर्थशक्त्युत्भव ध्वनि छ। यहाँ मनेको मुन्नी जस्ता पात्रहरूका ठाउँमा अरू नै नाम राख्दा पनि विदेशमा खसी बोकाको दाममा बेचिने नेपाली युवाहरू नेपालमा आफ्ना प्रेमीहरूको सम्झनामा बस्ने प्रेमिकाहरूको चरित्र ध्वनित भएकाले अर्थशक्त्युत्भव ध्वनि रहेको छ। समग्रमा हेर्दा प्रस्तुत बालकथामार्फत् विदेशमा बेचिन बाध्य भएका नेपालीहरूको चरित्र ध्वनित भएकाले वस्तु ध्वनि रहेको छ। यसरी हेर्दा प्रस्तुत कथा अभिधार्थमा जति शक्तिशाली छ त्यति नै व्यञ्जनाका तहमा पनि शक्तिशाली रहेकाले प्रस्तुत कथा विशेष शक्तिशाली भएको छ। ध्वनिमा तहगत आधारमा हेर्दा प्रस्तुत कथा उत्तम काव्य अन्तर्गत परेको छ।
निष्कर्ष
‘मने र मुन्नी’ कथा बालकथा हो। ‘मने र मुन्नी’ कथामा मानवेत्तर र मानवीय गरी दुई किसिमका पात्रहरूको प्रयोग गरिएका छन्। यस कथामा मानवेत्तर पात्रका रूपमा मने र मुन्नी बोको र पाठीलाई केन्द्रीय पात्र बनाएको छ भने मानवीय पात्रहरूलाई सहायक र गौण पात्रका रूपमा प्रयोग गरिएको छ। प्रस्तुत कथामा मानवेत्तर पात्रलाई प्रमुख पात्र बनाई घट्दो मानवीय मूल्यलाई वा विघटित मानवीय मूल्य उद्घाटन गरिएको छ। यस कथाको प्रमुख पात्र मने मार्फत् विदेश पलायन हुन बाध्य भएका नेपाली युवाहरूको चरित्र ध्वनित भएको छ। साथै खसीबोकाका दाममा सहर वा विदेशमा सस्तो श्रममा बेचिन वाध्य भएका नेपाली युवाहरूको बाध्यता ध्वनित भएको छ। सहायक पात्र मुन्नी मार्फत् गाउँमा बस्ने सोझा साझा सज्जन रामुले गाउँले युवतीहरूको चरित्र ध्वनित भएको छ। यस कथाका सहायक र गौण पात्रहरूमा मानवीय पात्रको प्रयोग गरिएको छ। मानवीय पात्रलाई गौण पात्र बनाउनुबाट हराउँदै गएको मानव अस्तित्व ध्वनित भएको छ। यस कथाको घरवेटीमार्फत् नेपाली युवाहरूलाई खसीबोकाको दाममा विदेश बेच्न लाने धनाढ्य दलालहरूको चरित्र ध्वनित भएको छ। कथाको सहायक पात्र दुईवटी युवतीहरूमार्फत् विदेशमा बेचिन लागेका र समय हुँदै सचेत भएका नेपाली युवतीहरूको चरित्र ध्वनित भएको छ। दुई युवती जिस्क्याउने फुर्तिलो मानिसद्वारा युवतीहरू सहर वा विदेशमा लगेर बेच्ने दलालको चरित्र ध्वनित भएको छ। कथामा प्रयुक्त भएको गाडी ड्राइभर नेपालका शक्तिमा रहेका दलाल नेताहरूको चरित्र ध्वनित भएको छ। प्रस्तुत कथामा मने र मुन्नीको वियोगान्त प्रेम मार्फत् विघटित हुँदै गएको मानवीय मूल्य प्रस्तुत भएकाले वस्तुबाट वस्तु ध्वनित भएको छ। प्रस्तुत कथा अभिधामा जति उच्च रहेको छ व्यञ्जनामा पनि त्यति नै उच्च सैन्दर्ययुक्त रहेकाले ध्वनिका आधारमा प्रभावकारी रहेको छ।
सन्दर्भग्रन्थसूची
अधिकारी, हेमाङ्गराज (२०४८), पूर्वीय काव्य सिद्धान्त, साझा प्रकाशन।
उपाध्याय, केशवप्रसाद (२०६७), पूर्वीय साहित्य सिद्धान्त, तेस्रो संस्करण, साझा प्रकाशन।
खनाल, चुडामणी (२०६३), संस्कृत साहित्यको परम्परा, साझा प्रकाशन।
पौडेल, विष्णुप्रसाद (२०५७), संस्कृत काव्यशास्त्र, भुँडी पुराण प्रकाशन।
नासननी, कन्हैया (२०६७), बुलबुल चरा र गुलाबको फूल, एकता प्रकाशन।
[1] उपप्राध्यापक, नेपाली विभाग, नेपाल संस्कृत विश्वविद्यालय, जनता विद्यापीठ, बिजौरी, दाङ।
इमेल : hamroastro@gmail.com