(विश्वमा मानवले भोग्नुपरेका द्वन्द्व, आतङ्क, युद्ध, हत्या तथा मृत्युका वीभत्स परिदृश्यहरू बढ्दै छन्। त्यसका कारण मानवीय संवेदना, शान्ति, सहअस्तित्व तथा सद्भाव हराउँदै गएको छ। यस्तो विषम परिस्थितिले मानवमन आक्रान्त हुन्छ।
श्रीराम न्यौपाने, विद्यावारिधि[1]
लेखसार
(विश्वमा मानवले भोग्नुपरेका द्वन्द्व, आतङ्क, युद्ध, हत्या तथा मृत्युका वीभत्स परिदृश्यहरू बढ्दै छन्। त्यसका कारण मानवीय संवेदना, शान्ति, सहअस्तित्व तथा सद्भाव हराउँदै गएको छ। यस्तो विषम परिस्थितिले मानवमन आक्रान्त हुन्छ। कुनै पनि किसिमका त्रासद् वा भययुक्त घटनाले मानवको शरीर हुँदै मनमा गम्भीर आघात वा नकारात्मक असर पार्ने गर्दछ। उक्त आघातित मानसिकताको विश्लेषण गर्न उत्तरआधुनिक साहित्यिक जगत्मा अभिघात सिद्धान्त देखिएको हो। यस लेखमा अभिघातको शूक्ष्म सैद्धान्तिक परिचय दिइएको छ। साथै महेशबिक्रम शाहको बधशालामा बुद्ध कथामा द्वन्द्व, आतङ्क, युद्ध, हत्या तथा मृत्युका भयावह परिदृश्यबाट उत्पन्न अभिघातग्रस्त र रुग्ण मानसिकताको विश्लेषण गरिएको छ। यहाँ पात्रका असाधारण तथा विच्छिप्त मानसिकताको सजीव रूप देख्न सकिन्छ। युद्ध अभिघात उत्पन्न भएका विशिष्ट सन्दर्भहरू यहाँ छन्। व्यक्तिमा आघात सृजनाको आधार, प्रकृति, कारण, लक्षण, असर तथा मुक्तिका प्रयास वा परिणतिका आधारमा यहाँ अभिघातित मानसिकताको विश्लेषण गरिएको छ। साथै घटना र पात्रका प्रतिक्रियाहरूको संयोजनबाट तथ्यको विन्यास गर्ने कार्य भएको छ। यसमा प्राथमिक र द्वितीयक स्रोतबाट सन्दर्भ सामग्री खोजिएका छन्। सामान्यतः मानव चेतनाको सङ्घातजन्य अनुभूति विश्लेषणका क्रममा यहाँ आत्मपरिचयको स्थापना, आत्मउपचारको सम्भावना, व्यक्तित्वको रूपान्तरण र आत्मसुरक्षाको प्रयोगलाई आधार वा ढाँचा बनाइएको छ। हिजोआजको मानव समाजले भोगेको द्वन्द्व, आतङ्क र युद्धले जन्माएका हत्या तथा मृत्युका रूपहरू र मानसिकतामा आएको उथलपुथललाई कथाले राम्ररी देखाएको छ। यसैका कारण मानवीय संवेदना, शान्ति र सद्भाव हराउँदै वा बदलिँदै गएको तथा मन, चिन्तन र व्यवहार रुग्ण बन्दै गएको तथ्यको विश्लेषणलाई लेखमा मूल उद्देश्य बनाइएको छ। कथाका मुख्य र अन्य पात्रहरू यसैका कारण अभिघातग्रस्त मानसिकताले छटपटिएका छन्। त्यसैले प्रसस्त द्वन्द्व र युद्धजन्य शारीरिक तथा मानसिक अभिघातका सन्दर्भहरू भएको कथाको गहन र समग्र विश्लेषण आफैमा औचित्यपूर्ण छ।)
शब्दकुञ्जीः द्वन्द्व, आतङ्क, युद्ध, रुग्ण मानसिकता, अभिघात।
विषयपरिचय
समकालीन नेपाली समाजको द्वन्द्व तथा आतङ्क र युद्धका दुस्चक्रमा फँसेको यथार्थ चित्र आजका कथामा उतारिएको छ। सशस्त्र विद्रोह वा जनयुद्धको समर्थन, त्यस्तो जनयुद्धको सोझै वा प्रकारान्तरले विरोध, विद्रोही र सरकारी पक्षका बीचको युद्धको विरोध र द्वन्द्वको पीडाबोध, नेपाली जीवन र समाजमा व्याप्त भय, सन्त्रास एवम् तज्जन्य मानसिक पीडा आदि विषयमा नेपाली कथाहरू धेरै लेखिएका छन् (गौतम, २०६३ : ४)। यही समूहमा महेशविक्रम शाह देखा परेका हुन्। उनका सटाहा (२०५३), सिपाहीकी स्वास्नी (२०५९), अफ्रिकन अमिगो (२०६०), छापामारको छोरो (२०६३) र काठमाडौँमा कमरेड (२०६५) कथासङ्ग्रहहरू प्रकाशित छन्। छापामारको छोरो रचनामा उनलाई त्यसै वर्षको मदन पुरस्कार प्राप्त भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा बढ्दो द्वन्द्व, आतङ्क, युद्ध तथा मृत्युका सन्दर्भलाई उनले कथामा समेटेका छन्। समाजका मानिसले भोगेको अभाव, अमानवीय व्यवहार, चीत्कार, क्रन्दन, पीडा, दुःख, वेदना आदि पीडादायी विषयलाई समावेश गर्दै र उत्तर आधुनिकतावादका विभिन्न मान्यतालाई पनि आधार बनाउँदै शाहले कथ्य र शैली दुवैमा नयाँपन देखाएका छन्।
उनको छापामारको छोरो सङ्ग्रह युद्धजन्य घटनाको प्रभावले उत्पन्न शारीरिक तथा मानसिक चोट, पीर, समस्या तथा दुःख भोगेर अभिघातित बनेका मानिसहरूको यथार्थ जीवनको चित्रण हो। उनले यसभित्रका कतिपय कथामा प्रहरी, सेना र प्रशासनसंयन्त्रको मानसिकता उतारका छन् (भट्टराई, २०६३, भूमिका)। २०५२–०६२ को राज्यपक्ष र माओवादी विद्रोहीबीचको राजनैतिक द्वन्द्वका घाउहरू यसमा देख्न सकिन्छ। यसभित्रका भयचित्रहरू स्वैरकल्पना वा दन्त्यकथा नभई दस वर्षसम्म देशले भोगेको दुर्दान्त कथा एवम् पीडा र मृत्युका भयप्रद र यातना, तनावका साङ्घातिक हमला, अपूरणीय क्षतिका आकृतिहरू हुन् (भट्टराई, २०६४, पृ. २५४)। त्यतिबेला एकअर्कामा भय सृजना गर्न जघन्य अपराधहरू भए जसका कारण मानव जीवन विच्छिप्त बन्न पुग्यो। व्यक्तित्वको रूपान्तरण, पूर्णाहुती, चरम अविश्वास, प्रतिशोधजस्ता मानसिक विचलनको अवस्थालाई यस रचनाभित्रका कथाहरूले समेटेका छन्। उनी चरम विकृतिप्रति व्यङ्ग्य गर्ने, पात्रका मानसिक विचलनको खोजी गर्ने, समाजलाई शान्तिमार्गमा रूपान्तरण गर्ने अनि मानवीय संवेदनाको खोजी गर्ने कथाकार हुन्। यस सङ्ग्रहभित्रको बधशालामा बुद्ध कथाले द्वन्द्व र युद्धले सृजित भय र अभिघातग्रस्त मानसिकताको विश्लेषण गरेको छ।
कथाको मुख्य बधिक पात्र बधशालामा ल्याइएका मानिसलाई धारिलो तरबारले ताछ्ने, गिँड्ने अनि मार्ने कार्य कुशलतापूर्वक गर्दै आएको छ। उसको प्रहारले मानिसहरू चिच्याउँदै, छटपटाउँदै र क्षतविक्षत हुँदै रक्ताम्य भुइँमा गुडुल्किएका छन्। यो देखेर नायक र महानायकहरू प्रफुल्ल देखिएका छन् भने ऊ पनि रोमाञ्चित भएको छ। त्यतिबेला उसलाई हतियारभन्दा सर्वश्रेष्ठ वस्तु केही रहेनछ भन्ने लाग्दछ। शक्तिको उन्माद, सत्ताको घमण्ड अनि हतियारको उत्तेजनाले जन्माएको हिंस्रक मानसिक रुग्णतालाई देखाउने अभिघातित विच्छिप्ति नै यस प्रारम्भिक कृतिको वैशिष्ट्य हो।
बधशालामा बधका लागि ल्याइएको एउटा निडर, स्थिर अनि निर्भीक युवकलाई देखेर उक्त बधिक आश्चर्यचकित हुन्छ। युवकले उसलाई खुला चुनौती दिँदै मानिसको शरीर मार्दैमा कोही पराजीत हुन्न र विचारलाई मार्न पनि सक्दैन भन्ने धारणा राख्दा ऊ अधमरो बन्दछ। युवकको शान्त, कान्तिमय, तेजस्वी अनि हँसिलो मुहार र गहन विचारले उसको सुषुप्त चेतनालाई झकझककाइदिन्छ। युवकलाई छप्काउनेबित्तिकै ऊ बधशालाबाट भाग्छ। समातिएर पुनः सोही स्थानमा ल्याई फलामे सिक्रीले बाँधेर रक्ताम्य भुइँमा लडाइएको बेला पनि उसले त्यही युवकको सौम्य, शान्त र धीर अनुहार सम्झिरहन्छ। मृत्युदण्डको भयले उसको मुख सुक्छ। विचलित अनि किंकर्तब्यविमूढ ऊ पुनः बधिक बनी मनुष्यको बध गर्न चाहन्न र हातमा थमाइएको तरबार फ्याँक्छ। ऊ महानायक, नायक अनि सिङ्गो बधशालाले सुन्ने गरी अहिंसाको राग अलाप्छ। यो व्यक्तित्व रूपान्तरणको अवस्थालाई चिनाउने कृतिको मूलभूत वैशिष्ट्य पक्ष हो।
बधिकले बधशालाको दर्शनविपरीत जाने आफैलाई मौलोमा बाँधी मृत्युउत्सव मनाउन लागिएको देख्छ। मान्छेको आलो मासु पोलिएको गन्ध महसुस गर्छ। मुण्डमाला लगाएका, नलीहाड फुक्दै गरेका, करङ रेटिरहेका र काटिएको खप्पर बजाइरहेका महानायक र नायकहरूको उन्मत्त दृश्य तथा मृत्युसङ्गीतले उसलाई विच्छिप्त तुल्याइदिएको छ। उसले आफ्नो विगतलाई सारहीन र गन्तव्यहीन पाउन थाल्छ। भोक र तिर्खाले छटपटाएका बधिक बनाउन ल्याइएका बालकलाई देख्दा उसले भविष्यका रक्तसेनाको कल्पना गर्छ। त्यहाँ उसले युवाहरूलाई नरबध विधि सिकाइँदै गरेको देख्छ। उसले स्वयम् यी कर्म गरेको आफ्नै विगत सम्झन्छ। उक्त प्रशिक्षण निकै भयावह र वीभत्स बन्दै गएको छ। त्यहाँ करुण चित्कार व्याप्त हुन्छ। बधका लागि लामबद्ध कैदी मान्छे अनि तिनका शुष्क गलाबाट निस्किएको करुण क्रन्दन र मृत्युको त्रासले भयातुर अनुहार देखेर ऊ मर्माहत हुन्छ। ऊ कङ्कालको पहाड र रगतका कुण्डले बधशालाको महत्ता नबढाउने र एक दिन तिनले महानायक र नायकहसँग मूल्य माग्ने कुरा सोच्छ। उसले बधशाला र त्यसका अनुयायीलाई मिथ्याको सञ्ज्ञा दिन्छ। ऊ आफ्नो बधका लागि अघि बढेको बधिकलाई देख्दा मृत्यु कति भयानक र पीडादायी हुँदो रहेछ भन्ने महसुस गर्छ। बिगतमा आफूलाई मृत्युविजेता ठान्ने ऊ अहिले रक्तपिपासु र पागल ठान्दछ। आफ्नो बध गरे पनि अहिंसात्मक विचारको बध गर्न नसक्ने दिव्यज्ञानले उसको अनुहार देदीप्यमान देखिन्छ। प्रत्येकभित्र बुद्धत्व हुन्छ भन्ने पूर्वयुवकको विचार स्मरण गर्दै ऊ बुद्धमन्त्र उच्चारणसँगै मृत्यु वरण गर्न पुग्छ। बधशालाका अनुयायी, नायक र महानायकहरू किंकर्तब्यविमूढ र विलखबन्दमा परी निश्शब्द रहेका तर बाल र युवा रक्तसेनाहरू आश्चर्यचकित भई चलमलाउन थाल्दछन्। यो सन्दर्भ अभिघात सिद्धान्तका आधारमा विश्लेषण गर्नुपर्ने कृतिको निष्कर्षित वैशिष्ट्य हो।
अध्ययनको उद्देश्य
सामाजिकतालाई आधार बनाएर मात्र लेखिएका रचनामा भन्दा राजनीतिक द्वन्द्व, हिँसा तथा युद्धजन्य साहित्यमा मानसिक रुग्णताको मार्मिक पक्ष अन्तर्निहित हुने कुरालाई जोड दिँदै यस्ता अभिघातित मानसिकताका लक्षण, कारण, असर तथा आत्मउपचारका प्रयासहरूको उद्घाटन गर्नु यस लेखको मुख्य उद्देश्य हो।
शोधविधि
यस लेखमा वर्णनात्मकताले परिमाणात्मक, विश्लेषणात्मक तथा समीक्षात्मक प्रस्तुतिले गुणात्मक र दुवैको संयोजनले मिश्रित गरी तीनै विधिको प्रयोग गरिएको छ। यसको तयारीका लागि पुस्तकालयीय स्रोतबाट सामग्री सङ्कलन गरिएको छ। यस अध्ययनमा अभिघातको सैद्धान्तिक आधार निर्माणमा गोविन्दराज भट्टराईको उत्तर आधुनिक विमर्श पुस्तक तथा राजेन्द्र सुवेदीको अभिघात सिद्धान्त लेखलाई द्वितीयक सहयोगी सामग्री बनाइएको छ। साहित्यमा अभिव्यक्त अभिघातित मानसिकता सम्बद्ध विश्लेषणमा अन्य सामग्री वा विधिको पनि समुचित प्रयोग भएको छ। त्यसैगरी महेशविक्रम शाहको बधशालामा बुद्ध कथालाई प्राथमिक स्रोत बनाई विश्लेषणमा विस्तृति दिइएको छ। यति भएर पनि मूलतः युद्ध र हिंसाजन्य अभिघातको विशिष्ट प्रयोग भएको यस कथाको विश्लेषणमा मौलिक एवम् सामान्य ढाँचालाई नै अवलम्बन गरिएको छ।
सैद्धान्तिक आधार
उत्तरआधुनिक विश्व युद्ध, हिंसा, आतङ्क, द्वन्द्व, विभेद, शोषण, घृणा, अविश्वासजस्ता क्रियाहरूबाट ग्रस्त छ। पहिले यसले मानवलाई शरीर हुँदै मनलाई नै रुग्ण तुल्याउने अवस्थालाई ट्रौमा चिन्तनका आधारमा व्याख्या गरिएको पाइन्छ। सन् १९७० पछि शारीरिक चोटबाट मानवमा उत्पन्न शक्तिशाली मनोवैज्ञानिक प्रभावलाई अभिघात मान्ने आधुनिक ढङ्गको विश्लेषण सिद्धान्त प्रारम्भ भएको मानिन्छ। कुनै पनि किसिमको त्रास वा भययुक्त परिस्थितिले मनलाई प्रतिकूल प्रभाव पार्दछ। युद्ध, यातना, पलायन, विस्थापन, मृत्यु, जातीय वा वर्गीय दमन वा घृणा, गरिबी, सम्बन्धविच्छेद, पश्चाताप, हीनताबोध, आवेग वा उत्तेजना, शारीरिक शिथिलताजस्ता कारणले मानवमन विचलित, हतोत्साहित, असन्तुलित, विस्मृत, संवेदनहीन एवम् असामान्य हुने परिस्थिति साहित्यमा अभिव्यक्त भएको छ, हुन्छ। फ्रायडले स्नायु रोगीहरूको व्यवहारसँग आफ्नै सादृश्य राख्ने यस चरित्रलाई तथाकथित उपघातज स्नायु रोग मानेका छन् (पाण्डेय, २०६१, पृ. ११५)। उनले आफ्नो चाहना पूरा नहुँदा अचेतन मन दबिन्छ र अभिघात सृजना गर्छ अनि गर्न खोज्नु र नखोज्नुबीचको द्वन्द्वले आत्मपहिचान निर्माण भई त्यसैबाट अभिघात देखा पर्छ भन्ने मनोवैज्ञानिक पक्षलाई उजागर गरेका हुन्।
यस सिद्धान्तको व्याख्यामा डेरिडा, ला काप्रा, जेफ्री हार्टमान, अमेरिकी एल स्कुल, पौल डी म्यान, हिलिस मिलर, ह्यारोल्ड ब्लुम, क्यारोल क्रिस्टल, जुडिथ लेबिस हर्मन, क्याथी क्यारोथ आदिको योगदान रहेको छ। साहित्य भाषा र घाउको सम्बन्ध हो भन्दै त्यसमा शब्दहरूको प्रस्तुतीकरण सम्बन्ध हेर्नुलाई अभिघात मान्ने हार्टमान, पीडामुक्तिको उपाय खोज्दा आत्मचेतना र अन्तर्दृष्टि उघ्रने र आत्मपरिचयको स्थापना हुने नारी अभिघात मानसिकतालाई चिनाउने क्यारोल क्रिस्टल, पीडित मानसिकता र त्यसबाट मुक्तिका लागि व्यक्तिले अपनाउने आत्मसुरक्षाको प्रयोगबारे बताउने जोय इर्लिकमन मिलर, मानिसले बोलेको भाषा र भन्न खोजेको अर्थबीच दूरी हुन्छ जसले अभिघात सृजना गर्छ भन्ने ला काप्रा आदिले यसमा नयाँ आयाम थपेका छन्। अभिघात समालोचना सिद्धान्त मूलतः विश्वयुद्धहरूले जन्माएका मानसिक गडबडी तथा मानवीय संवेदनाहरूको उद्घाटन गर्दाका परिणतिहरू हुन्। युद्धजन्य, राजनीतिक तथा सांस्कृतिक कारणहरूबाट बहिष्कृति, रुग्णता, उपेक्षा आदि भौतिक अनि तनाव, विच्छिप्ति, विभाजन आदि व्यक्तिगत वा मानसिक अभिघात जन्मन्छन्। मानसिक आघातको कारण बनेर आएको युद्ध, प्रिय वस्तुको क्षति, मानसिक तहमा परेको गम्भीर क्षतिको क्षणभन्दा पूर्वको स्थिति र त्यस क्षणपछिको स्थितिका आधारमा अभिघातको विश्लेषण गर्न सकिन्छ (सुवेदी, २०६८, पृ. १४४)। यस्तो व्यक्तिलाई विच्छिप्त र विचलित तुल्याइदिने कारणमा युद्ध वा आतङ्कमात्र होइन यौन शोषण, अपाङ्गता, महामारी, बेरोजगारी तिरष्कार, एक्लोपन, हीनताबोध आदि पनि हुन्छन्। परिवर्तनकोे गतिसँगै यी परिघटनाले मानवका दैनिकी, चिन्तन र संवेग फेरिदिएका हुन्छन्। कुनै पनि आघात भयप्रद, पुनःस्मरणीय, सन्त्रासयुक्त र असन्तुलित हुने हुँदा यसको गम्भीर चोट मनमा पर्दछ। युद्ध र हतियारले मानिसलाई विच्छिप्त, क्रोधी र आक्रामक बनाउँछ। भयप्रद स्थिति देख्नु र त्यो सधैँ अज्ञात रहनु विरोधाभाषपूर्ण स्थिति हुनाले अज्ञात भयको अभिघात चेतना उत्पन्न भइरहन्छ र त्यसले प्रतिदिन गलाउँदै लैजान्छ (भट्टराई, २०६४, पृ. २३१)। यसैले विश्व साहित्यमा मानवीय जीवनका पीडादायी र दुःखद् अनुभूतिपछिका आघात, गडबडी जस्ता परिणतिहरूको समग्र व्याख्या गर्न अभिघात सिद्धान्त आएको देखिन्छ।
साहित्यमा अभिघात सिद्धान्तका आधारमा मानव चेतनाको सङ्घातजन्य अनुभूतिको विश्लेषण गर्न युद्ध, युद्धेत्तर, राष्ट्रिय, अन्तर्राष्ट्रिय, वैयक्तिक, सामाजिक, प्राथमिक, द्वितीयक, शस्त्रगत, शारीरिक, मनोवैज्ञानिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक, आर्थिक, प्राकृतिक, मानवनिर्मित, आन्तरिक, बाह्य, यौनिक, लैङ्गिक, जातीय, शैक्षिक, पुनरावृत्त आदि सन्दर्भहरूको खोजी गर्नु आवश्यक हुन्छ । यस्तो अभिघातका लक्षण, प्रतिक्रिया वा क्रियाकलाप पनि व्यक्तिअनुसार फरक हुन्छन्। भौतिक वा शारीरिक, भावनात्मक, संज्ञानात्मक विचार वा व्यवहार, पुनः अनुभव, असामान्य व्यवहार आदिसम्बन्धी अभिघातलाई पनि चिनाउन सकिन्छ। साथै गम्भीर आघातजन्य घटनाको पुनः पुनः पूर्वद्विप्ति, घटित स्थान तथा मिति वा समयको स्मृति, भ्रमपूर्ण स्मरणात्मकता, पीडित भोक्तामा बढ्दो वेदना र चिन्ता, एक्लोपन, उत्तेजनामा वृद्धिजस्ता लक्षणहरू अभिघातित व्यक्तिमा देखिन्छन्। त्यसैगरी भावनात्मक उत्तेजनाका कारण क्रोधित हुने, चिडचिडाउने, आक्रामक स्वभाव देखाउने, निद्रा नआउने, ध्यानमा केन्द्रित नहुने, अचानक घबराउने, भाषिक कमजोरी देखिनेजस्ता लक्षण पनि देखा पर्दछन्।
अभिघात सिद्धान्तमा आत्मपरिचयको स्थापना, आत्मउपचारको सम्भावना, व्यक्तित्वको रूपान्तरण र आत्मसुरक्षाको आकलनलाई विश्लेषणका चार आधार वा ढाँचा मानिएको पाइन्छ (सुवेदी, २०७६, पृ. १४५)। युद्ध, आतङ्क वा अन्य कारणले उत्पन्न मनोघातक अवस्थाको प्रारम्भमा अनिर्णय वा शून्य चिन्तनको अवस्थाभित्रै व्यक्तिमा आत्मचेतना प्रादुर्भाव हुन्छ। पीडाबाट मुक्तिको उपायको खोजीका क्रममा उसमा अन्तर्दृष्टि पलाउँछ र आत्मपरिचयको स्थापना हुन्छ। घाइते मनलाई मर्मतबाट भरथेग गर्ने, आत्मसुरक्षाका उपायहरूको खोजी गर्ने तथा विगतका दुःखद् परिस्थितिको प्रकटीकरणबाट सम्बन्धविस्तारको प्रयासमा लाग्ने, पुनःस्मरणको पीडाबाट मुक्तिको प्रयासमा रहनेजस्ता प्रयासहरू आत्मउपचारको सम्भावना हुन्। वास्तवमा मनोघात कहिल्यै निको नहुने चोट हो जुन रुग्णतालाई बेला बेला प्रकटीकरणका प्रयासबाट घटाउन खोजिएको स्थिति हो। मान्छेका विभिन्न समस्याहरूबाट उत्पन्न मानसिक परिवर्तनलाई व्यक्तित्व रूपान्तरण मानिन्छ जसमा रूपान्तरणतर्फको प्रस्थान, व्यक्तित्वको पतन, अन्तर्तहको जलन र चेतनाको उद्बोधनलाई आधार मानेर मनोघातग्रस्त पात्रको विगत र वर्तमानको बदलिएको क्रियाकलापको विश्लेषण गरिन्छ। साथै व्यक्तित्वको संवेदनहीनता, अकल्पनीय कार्य, मानसिक असन्तुलन, नैतिक मूल्यमान्यता र दृष्टिकोणमा आएको परिवर्तनको तथ्यापन खोजिन्छ। पीडितमा उत्पन्न संवेदनहीनता, स्वैरकल्पना, समग्र अन्तर्क्रियाको स्थिति, आफ्नो र अरूको सामर्थ्यमा अभिघात मुक्तिको प्रयासजस्ता विषयहरू आत्मसुरक्षाका क्रममा देखिन्छन्।
बधशालामा बुद्ध कथामा युद्धअभिघात
बधशालामा बुद्ध कथामा द्वन्द्व र युद्धले निम्त्याएको वीभत्सता र त्यसबाट उत्पन्न शारीरिक अनि मानसिक विच्छिप्तिको विचलित अवस्था टड्कारो रूपमा देख्न सकिन्छ। यस कृतिले स्वैरकल्पनात्मक र प्रतीकात्मक शैलीको प्रयोग गर्दै अभिघातग्रस्त मानसिकताको सहज अभिव्यक्ति दिएको छ।
अभिघात सृजनाको आधार
दश वर्षसम्म देशले भोगेका दुःखद् कथा, असीम पीडा, भयप्रद यातना, असह्य तनाव, साङ्घातिक हमला र मृत्युका अपूरणीय क्षति नै यस कथामा अभिघात सृजनाका आधार वा अवस्था बनेका छन्। कथाभित्रको मुख्य पात्र बधिक भगौडा सिपाही वा विद्रोही जनसेना वा कुनै अपराधिक व्यक्ति हुन सक्छ। त्यसै गरी महानायक र नायकले शासकीय वा उच्चपदस्त विवेकहीन अधिकारीलाई सङ्केत गरेका छन्। भ्रमित बधिकले नरबधमा आफ्नो कौशल देखाउँदै रमाउनु र निरङ्कुश नायकहरू प्रफुल्ल भई हौसला दिइरहनु कथाभित्रको अभिघात सृजनाको थालनी बिन्दु हो। यसले मानवीय संवेदना शून्य नरभक्षी मानसिकता उत्पन्न हुने आधार निर्माण गर्दछ। जताततै युद्ध, द्वन्द्व, हत्या अनि आतङ्क छ। मानिसहरू यसबाट भयभीत छन्। अपराधले सीमा नाघेको छ। निम्न वर्ग निरुपाय छ। हिंसाको वीभत्स र नाङ्गो रूप प्रदर्शित छ। प्रतिशोध निर्मम बनेको छ। पीडाका त्राषद् चोट र घाउहरू हृदयमा गढेका छन्। संवेदनहीनता, अविश्वास अनि नैराश्य चुलिएको छ। मानिसका अनुहार, बोली अनि व्यवहारमा आमूल परिवर्तन आएको छ। यिनै अवस्थाले मानिस बधिक र नायकको मुखुन्डो लगाई देशलाई बधशाला बनाइरहेका छन् अनि बधशालको सिद्धान्तका विरोधीलाई कैद गरी मौलोमा काटिरहेका छन्। कथाभित्रका यिनै विसङ्गत परिवेश तथा सन्दर्भहरूले अभिघातजन्य मानसिकताको उदयको आधार निर्माण गरेका छन्।
अभिघातको प्रकृति
कथाभित्र अभिघात सृजनाको अवस्था शारीरिक र मानसिक दुवै प्रकृतिका छन्। यहाँ शारीरिक चोटपटक तथा हिंसा र शस्त्रजन्य अभिघात देख्न सकिन्छ। बधिकले बधशालामा मान्छे काट्ने, ताछ्ने अनि गिँड्ने गरेको छ। भगौडा उक्त बधिकलाई समाती पुनः बधशालामा ल्याउने, खुट्टामा साङ्लाले बाँध्ने, पाता फर्काएर रक्ताम्य भुइँमा लडाउने, रातभर यातना दिने, काट्न मौलोमा बाँध्ने, पुनः बधिक बन्न हतियार थमाइदिने, हातमा थमाइएको तरबार फाल्ने, आलो मासु पोलेको गन्ध आउने, नलीहाड फुक्ने, करङ रेट्ने, खप्पर बजाउने जस्ता सन्दर्भहरूले कथामा शारीरिक अभिघात सृजना गरेका छन्। आलो मासु पोलिएको गन्ध, रक्ताम्य भुइँ, मृत्यु सङ्गीत आदिले बधिक डराएको र टोलाएको छ। त्यस्तै लत्रिएको खप्परको माला, नायकहरूले बोकेका हतियार, रगत लेपन गरिएका नाङ्गा शरीर, मखुण्डोले छोपिएका अनुहार आदिबाट पनि उसमा शारीरिक अभिघात उत्पन्न गराइरहेका हुन्छन्। जस्तै :
“रक्तसेनाहरूमध्ये कोही हातखुट्टाका नलीहाड फुकिरहेका थिए। कोही करङका हड्डीहरू रेटिरहेका थिए भने कोही हातले खप्परमा ठटाइरहेका थिए। यस क्रियाको फलस्वरूप त्यहाँ अनौठो धुन सृजना भइरहेको थियो जसलाई मृत्युसङ्गीत भनिन्थ्यो। उसले आफ्ना सपाट आँखाले आफ्नो मृत्युसमारोहको सरसर्ती निरीक्षण गऱ्यो।” (पृ. ४)
कथाले देखाउन खोजेको मूल विषय युद्धजन्य मनोवैज्ञानिक अभिघात हो। यसको मुख्य पात्र बधिकको हतियार र हत्यालाई महान् ठान्ने विचार क्रमशः धरमराउँदै जान्छ। युवकको स्थिर, निर्भीक एवम् अहिंसावादी विचारले उसमा गम्भीर मनोवैज्ञानिक असर पार्दछ। हतियारले कसैलाई पराजित गर्न सक्दैन भन्ने निष्कर्षमा पुगी ऊ शारीरिक अभिघातसँगै मनोवैज्ञानिक अभिघातले पनि ग्रस्त बन्न पुग्दछ। नयाँ बधिक आफूतिर तरबार लिई आउँदा भगौडा बधिक भय र पीडाले मर्माहत भएको छ। आफूले गरेका नरबधका पूर्वकार्यहरूलाई सारहीन र गन्तब्यहीन ठान्नु मानसिक नैराश्य र उदासीनता हो। बधिक बनाउन ल्याइएका तिर्खाएर छटपटाएका व्याकुल बालकलाई भविष्यका रक्तसेना ठान्नु मानसिक शङ्का हो। हत्याका विविध विधिहरू सिकाएको आफ्नै विगत सम्झँदा उसमा ग्लानि उत्पन्न भएको छ। जस्तै :
“तिनका शुष्क गलाबाट निस्केको करुण क्रन्दनले बधशालालाई बधमय बनाइरहेको थियो। कैदी मनुष्यका मृत्युको त्रासले भयातुर अनुहारहरू देखेर ऊ मर्माहत बन्यो।” (पृ. ५)
प्रस्तुत कथामा बधिक युद्ध, हत्या र वीभत्सताको प्रत्यक्षदर्शी वा भोक्ता हो। उसले विभिन्न अपराधका आरोपित मनुष्यलाई काटेको र अन्य बधिकलाई मृत्युदण्डका विधि, तरिका र सिद्धान्त सिकाएको हुन्छ। उसलाई यस्ता अपराधिक काममा उत्तेजित गर्ने तत्व रण वा युद्धको भय, विभीषिका एवं भीषण युद्ध नै हो भन्ने तथ्य कथामा बधिकका क्रियाबाट पुष्टि भएको छ। ऊ मान्छेको निर्मम हत्यामा सक्रिय रहन्छ। यस्तो प्रत्यक्ष भोक्ता रहेको बधिकलाई मान्छेका बध गर्दा सुरुमा तृप्तिको अनुभूति हुन्छ भने युवकको स्थिर अनुहार सम्झँदा विचारको महानतालाई स्वीकार गर्छ। यसरी हिंस्रकबाट अहिंस्रक बनेको उक्त पात्रमा प्रारम्भिक अभिघातजन्य प्रकृति देख्न सकिन्छ।
गतिशीलतालाई हेर्दा बधिक बन्न पुगेको मुख्य पात्रको नियति आफ्नै कारणले नभई समाज र देशका युद्धविभीषिकाबाट उत्पन्न प्रकृतिको देखिन्छ। बाहिरी वातावरण हिंसात्मक, द्वन्द्वग्रस्त एवम् अराजक बन्दै गएपछि मान्छेको मानसिकता रुग्ण बन्दै जान्छ। कथामा बधिकले मानिसलाई काट्ने काम पाएको र पछि त्यस कार्यप्रति वितृष्ण बन्दै गएको छ। यसरी छिनमै उन्मत्त र छिनमै शिथिल बन्नु बाह्य अभिघात हो।
अभिघातको लक्षण
यस कथामा पात्रका मानसिक वा भावनात्मक विचलनका थुप्रै सन्दर्भहरू देख्न सकिन्छ। ऊ बधशालामा ल्याइएका मानिसका चीत्कार सुन्दा अनि मान्छेलाई काट्ने र ताछ्ने क्रिया गर्दा उत्तेजित, रोमाञ्चित एवम् आवेगपूर्ण मनस्थितिमा देखिन्छ। उसकोे यस्तो कौशल देख्दा नायक र महानायकहरू प्रफुल्ल छन् अनि सर्वश्रेष्ठ बधिकको उपाधि प्रदान गर्दछन्। यी सन्दर्भले मानवीय संवेदनामा आएको ह्रास, विचारशून्यता, विवेकहीनताजस्ता आघातित मानोदशालाई चिनाएका छन्। यस्ता पासविक, क्रूर अनि दयाशून्य परिस्थितिले युद्धजन्य अभिघातित व्यक्तिभित्र आवेग, रिस, आक्रोश, छटपटी उत्पन्न गराएका छन्। उनीहरूका व्यवहार फेरिएका वा असामान्य छन्। कथाको यस प्रसङ्गले अभिघात मानसिकताका लक्षणलाई प्रस्ट पारेका छन् :
“उसको हतियारले ताछिएका मान्छेका बिरूप शरीरहरू छटपटाउँदै वीभत्स चीत्कार छोड्थे। तिनको चीत्कारमा जति धेरै पीडाको भाव झल्किन्थ्यो बधशालाका बधिकहरूको मुहारमा त्यति नै तृप्तिको आभा तैरिन्थ्यो। आफ्ना महानायकको तृप्त अनुहार देखेर उसको शरीरका अङ्गप्रत्यङ्गमा वीर रसको उन्माद चढ्न थाल्थ्यो। मान्छेका कोमल शरीरहरूलाई ताछ्दाताछ्दै ऊ बधशालाको सर्वश्रेष्ठ बधिक बनेको थियो।” (पृ. १)
अभिघातग्रस्त मान्छेभित्र विगतको पुनः पुनः स्मृतिले पश्चाताप, ग्लानि, नैराश्य र भयका भावनात्मक लक्षणहरू देख्न सकिन्छ। यस कथामा नरबधमा रमाउने बधिक युवकको विचार र क्रियालाई पटक पटक सम्झन्छ। त्यसले उसमा अविस्मरणीय प्रभाव पार्छ। यसैकारण उसमा आत्मविनाशकारी र आवेगी भाव उत्पन्न हुन्छ। उसमा मृत्युको भय छ। त्यसबाट मुक्त हुने उपाय खोज्ने क्रममा उसले आफ्नो बधलाई सहर्ष स्वीकार गरेको छ। ऊ असहाय र निरीह बनेको छ। पूर्वद्वीप्तिले उसलाई गालेको छ। ऊ झन् पीडित, वेदनापूर्ण एवम् चिन्तित हुँदै जान्छ। यो स्वार्थी र हिंस्रक दुनियाबाट टाढा रहन खोज्ने उसको यस्तो असामान्य व्यवहारभित्र अभिघातित मनस्थितिको लक्षण देख्न सकिन्छ।
अभिघातको असर
अभिघातको असर मानसिक रुग्णता र आत्मविनाशक प्रकृतिको हुन्छ। यस कथाका पात्रहरूमा युद्ध र हतियारले दम्भी, हिंस्रक, आक्रामक अनि क्रोधी बनाइदिएको छ। विरोधीलाई बधशालामा समाप्त पारी अकण्टक शासन गर्न खोज्ने अभिघातित मानसिकता शून्यतातर्फ उन्मुख छ। बदला र प्रतिशोधको असर मानसिक रुग्णता र आत्मविनाश नै हो भन्ने तथ्य कथामा भेट्न सकिन्छ। प्रारम्भमा बधिक र उसका नायक तथा महानायकहरू हतियार र हत्यामा विश्वास गर्छन्। यतिबेला अभिघातको असर आक्रामक र उत्तेजक हुन्छ। जस्तै :
“उसलाई अनुभव हुन थालेको थियो कि आफूलाई सर्वश्रेष्ठ कहलाउनु छ भने क्रूर कसाई बनेर मान्छेका अङ्गहरू ताछ्न सक्नुपर्दछ। आफ्ना अगाडि अष्टमीका बोकासरि निरीह बनेर झुकेका मान्छेका टाउकाहरू देखेर ऊ औधी रोमाञ्चित हुन्थ्यो। उसलाई विश्वास लाग्न थालेको थियो कि दुनियाँमा हतियारभन्दा सर्वश्रष्ठ केही रहेनछ।” (पृ. १)
जब युवकबाट विचारको महानता र शान्तिको महिमा बोध हुँदै जान्छ तब उसमा आत्मशून्यताबाट आत्मचेतनाको जागृतितर्फ रूपान्तरित हुने क्रम बढ्छ। बधिकको हृदयमा युवकको विचारले गम्भीर असर पार्दछ। उसमा पीडा, विच्छिप्ति, पश्चाताप तथा ग्लानिका चेष्टाहरू देखिन थाल्दछन्। शरीर समाप्त गर्दैमा विजयी नभइने र विचार कहिल्यै मार्न नसकिने तथ्यबोधले ऊ बधशाला त्याग गर्छ। समातिएपछि पुनः नरबध कार्यलाई निरन्तरता दिनभन्दा मृत्यु वरण गर्न इच्छुक देखिन्छ। अन्त्यमा बुद्धवाणि अलाप्दै शान्तिमार्गमा लाग्ने उसका क्रियाहरूले अभिघातको सकारात्मक असरलाई सङ्केत गरेको पाइन्छ। जस्तै :
“तरबारले टाउको काटेर मान्छेलाई पराजित गर्न सकिँदैन महानायक। ऊ घोक्रो फुलाएर करायो। उसले हातमा रहेको तरबारलाई जोडले पर हुत्यायो।” (पृ. ३)
कथामा महानायक र नायकहरू पनि निःशब्द भई अन्तरात्माको बुद्धत्वलाई स्वीकार गर्नु अभिघातको असर मानिन्छ। बधिकले मर्दा उच्चारण गरेको बुद्धवाणि सुनेर तरबार उचाली उभिएको नयाँ बधिक पनि बधशालाजस्तै किंकर्तब्यविमूढ भई बिलखबन्दमा परेको छ। त्यतिबेला रक्तसेनाका ओठहरू चलमलाउन थालेका छन्। यसरी हतियारले मानवलाई चेतनाशून्य बनाएको र त्यही अभिघातबाट मुक्त हुन उनीहरूमा आत्मचेतना जागृत भई आत्मसुरक्षामा लाग्न थालेको सन्दर्भ कथामा देख्न सकिन्छ।
अभिघातमुक्तिको चाहना
प्रस्तुत कथामा अभिघातग्रस्त मानसिकता र त्यसबाट मुक्ति पाउने चाहना व्यक्त भएको छ । अभिघातको पूर्वावस्थामा बधिक र नायकहरूको मानसिकता विच्छिप्त छ। उनीहरूमा चेतना वा चिन्तन वा आत्मशून्यताको स्थिति देखिन्छ। उनीहरू हतियार, युद्ध, हत्या र प्रभुत्वमा विश्वास गर्छन्। बधिक निर्ममतापूर्वक मानवबध गर्छ र उसका मालिकहरू यस्तो कार्यलाई पुरष्कृत गर्दछन्। जब बलीवेदीमा होमिँदै गर्दा ठाडो शिर गर्दै शान्त तर तेजिलो अनुहारमा एक युवकले विचारको महानतालाई चिनाउँछ तब उनीहरूमा मान्छेभन्दा हतियार ठुलो हुँदो रहेनछ भन्ने भाव प्रादुर्भाव हुन्छ। अब आत्मपरिचयको स्थापना हुन थाल्छ। त्यतिबेला उनीहरू अभिघातग्रस्त अनिर्णयको अवस्थाबाट केही उत्थानको मार्गमा नयाँ परिचय बनाउन पुग्दछन्। उनीहरू घातबाट छुटकारा पाउन शान्तिमार्गतर्फ प्रस्थान गर्न चाहन्छन्। यो अभिघातको उत्तरअवस्था हो।
अभिघातबाट गुमेको प्रतिष्ठा फिर्ता ल्याउन कथामा बधिरले बधशाला परित्याग गरेको छ। साथै नरबध कार्य पूरै त्यागेको छ। उसले आफ्नो घाइते मनलाई भरथेग गर्दै तरबार फाल्ने र शान्तिको महिमा सुनाउने गर्छ। यतिबेला ऊ अभिघातको स्थितिबाट मुक्त हुनुको सट्टा थप रुग्ण बन्दछ। मनले अपराधबोध गरिरहन्छ र स्वाभिमानी युवकको अनुहार सम्झन पुग्दछ। उसमा जति जति मानवीय चेतना जागृत हुँदै जान्छ त्यति नै मानसिक पीडा मडारिन्छ। नरबध त्याग्दा आफू मारिने निश्चित छ भन्ने चिन्ताले उसलाई छोप्छ। तैपनि ऊ विगतका पीडादायी, दुःखद एवम् आघातित क्रियाको स्मरण गर्छ। बुद्धवाणि अलाप्दै ऊ त्यसको प्रकटीकरणबाट आत्मउपचारको प्रयास गर्दछ। यतिबेला मनोघात कहिल्यै निको नहुने रोग हुँदाहुँदै पनि व्यक्ति आर्जित अनुभूति सुनाएर मुक्तिस्वरूप आत्मसन्तुष्टि लिन्छ भन्ने तथ्य प्रमाणित हुन्छ।
कथामा बधिकले आफ्नो विगतलाई रक्तपिपासु पागलको संज्ञा दिनु व्यक्तित्व रूपान्तरणतर्फको प्रस्थान हो। त्यसपछि ऊ नरबध परित्याग गर्दै बधशालाबाट भाग्छ। यो पूर्व व्यक्तित्वको पतन हो। पुनः समातिएपछि उसले आत्मसमर्पण नगरी रातभर शारीरिक यातना भोगेको छ। यतिबेला विगतले उसको अन्तर्तह जलाइरहेको हुन्छ। व्यक्ति हत्यामा रमाउने ऊ अहिंसावाणि अलाप्दै विचारले सिङ्गो बधशाला नै स्तब्ध बनाइदिन्छ। यस्तो अकल्पनीय रूपलाई चेतनाको उद्बोधन मान्न सकिन्छ। यस्तो हिंसाबाट अहिंसातर्फ आमूल रूपमा परिवर्तित बधिकका क्रियाकलापमा अभिघातित मानसिकतामा आएको व्यक्तित्व परिवर्तनको स्वरूपलाई ठम्याउन सकिन्छ।
अभिघातित बधिकमा आएको परिवर्तनले आत्मसुरक्षाको प्रयोगलाई चिनाएको छ । आफू मारिने निश्चित हुँदा पनि विचारलाई मर्न नदिई ऊ बधशालाभर बुद्धवाणी गुन्जाइरहन्छ। बधिक बनाउन ल्याइएका बालक र युवकका ओठ सल्बलाएको तर नायकहरू बिलखबन्दमा परेका दृश्यहरूले उसमा आत्मतृप्ति पलाउँछ। यसले उसलाई अन्तरपीडाको ज्वलन शमन गर्न सहयोग गरेका छन्। जस्तै :
“मलाई बध गरेर पनि यिनीहरू मेरो अहिंस्रक विचारलाई मार्न सक्दैनन्। मलाई पराजित गर्न सक्दैनन्। यस दिव्यज्ञानको प्रकाशले उसको अनुहार देदीप्यमान भयो।” (पृ. ६)
निष्कर्ष
महेशविक्रम शाहको छापामारको छोरो सङ्ग्रहभित्रका कथामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा बढ्दो द्वन्द्व, आतङ्क, युद्ध तथा मृत्युका सन्दर्भलाई समेटेर मानिसले भोगेको अभाव, अमानवीय व्यवहार, चीत्कार, क्रन्दन, पीडा, दुःख तथा वेदनाको प्रभावले उत्पन्न गराएका शारीरिक तथा मानसिक चोट, पीर, समस्या तथा दुःख भोगेर अभिघातित बनेका मानिसहरूको रुग्णतालाई चिनाइएको छ। यसभित्रको बधशालामा बुद्ध कथामा द्वन्द्व र युद्धले सृजित भय र अभिघातग्रस्त शारीरिक तथा मानसिक अवस्था देख्न सकिन्छ। बधशालामा बधिकले कुशलतापूर्वक नरबध गरेकोे, नायक र महानायकहरू प्रफुल्ल देखिएका र हतियारभन्दा सर्वश्रेष्ठ वस्तु केही रहेनछ भन्ने ठानिएको शक्तिको उन्मादको हिंस्रक मानसिक रुग्णतालाई देखाउनु कथाको प्रारम्भिक वैशिष्ट्य हो। बधका लागि ल्याइएको निडर युवकले उक्त बधिकलाई मानिसलाई मारे पनि विचारलाई मार्न सकिँदैन भन्ने प्रतिक्रिया दिएपछि बधिक बधशालाबाट भाग्दै जाँदा समातिएर पुनः सोही स्थानमा ल्याइएको, पुनः बधिक बनी मनुष्यबध गर्न आएको प्रस्ताव अस्वीकार गरेको र मृत्यु भयानक र पीडादायी हुँदो रहेछ भन्ने महसुस गरी बुद्धमन्त्र उच्चारणसँगै मृत्यु वरणमा पुगेको सन्दर्भ कथाको मूलभूत वैशिष्ट्य हो। हिँसाबाट अहिंसामा रूपान्तरित सन्दर्भ निष्कर्षित वैशिष्ट्य हो।
विश्वको बढ्दो युद्ध, हिंसा, आतङ्क, द्वन्द्वजस्ता क्रियाकलापले मानवलाई शरीर हुँदै मनलाई नै रुग्ण तुल्याउने हुँदा यस्तो शारीरिक चोटबाट मानवमा उत्पन्न शक्तिशाली मनोवैज्ञानिक प्रभावलाई अभिघात मानिएको छ। युद्ध, यातना, मृत्यु, दमन वा घृणा, गरिबी, पश्चाताप, हीनताबोध, आवेग वा उत्तेजना जस्ता कारणले मानव मन विचलित, हतोत्साहित, असन्तुलित, विस्मृत, संवेदनहीन एवम् असामान्य हुने परिस्थिति साहित्यमा अभिव्यक्त भएको हुन्छ। त्यसको विश्लेषणमा फ्रायड, डेरिडा, ला काप्रा, जेफ्री हार्टमान, अमेरिकी एल् स्कुल, पौल डी म्यान, हिलिस मिलर, ह्यारोल्ड ब्लुम, क्यारोल क्रिस्टल, जुडिथ लेबिस हर्मन, क्याथी क्यारोथ आदिले नयाँ आयाम थपेका छन्। यो सिद्धान्त मूलतः विश्वयुद्धहरूले जन्माएका मानसिक गडबडी तथा मानवीय संवेदनाहरूको उद्घाटन गर्दाको परिणति हो जसका कारण रुग्णता, तनाव, विच्छिप्ति, विभाजन आदि भाव उत्पन्न हुन्छन्। कुनै पनि आघात भयप्रद, पुनःस्मरणीय, सन्त्रासयुक्त र असन्तुलित हुने हुँदा यसको गम्भीर चोट मनमा पर्दछ। यिनै मानवीय जीवनका पीडादायी र दुःखद् अनुभूतिपछिका आघात, गडबडी जस्ता परिणतिहरूको साहित्यमा समग्र व्याख्या गर्न अभिघात सिद्धान्त आएको देखिन्छ। यसको विश्लेषणमा युद्ध तथा द्वन्द्व, सांस्कृतिक तथा नैतिक, सामाजिक तथा राजनीतिक आदि कारण खोज्नुपर्छ। अभिघात सिद्धान्तले अनिर्णय वा शून्य चिन्तनको अवस्थाभित्रै व्यक्तिमा आत्मचेतना प्रादुर्भाव हुने, घाइते मनलाई मर्मतबाट भरथेग गर्न आत्मसुरक्षाका उपायहरूको खोजी गर्ने, विभिन्न समस्याहरूबाट उत्पन्न मानसिक परिवर्तनबाट व्यक्तित्वको रूपान्तरण हुने तथा अभिघात मुक्तिको प्रयासबाट आत्मसुरक्षाको प्रयोग गर्ने जस्ता विश्लेषणको आधार वा ढाँचा तयार पारेको पाइन्छ। यसले मानवीय संवेदनामा आएको ह्रास, एक्लोपन वा असहायपनको आभाष, चरम अविश्वास आदिलाई जन्माउँदै पारिवारिक सामाजिक जीवनमा गम्भीर प्रभाव पारेको विषयको अध्ययन र विश्लेषण गर्न यो सिद्धान्तको उपयोग गरिएको छ।
शाहको कथाभित्रको आपराधिक मानसिकता भएको भ्रमित बधिकले पीडाका त्राषद् चोट र घाउहरू हृदयमा गढेका कारण नरबधमा आफ्नो कौशल देखाउनु अभिघातजन्य मानसिकताको उदयको आधार हो। बधिकले बधशालामा उत्तेजित भई मान्छे काट्ने गरेको, हातमा थमाइएको तरबार फालेको जस्ता सन्दर्भहरूले कथामा शारीरिक अभिघात सृजना गरेका छन् भने बधिकको हतियार र हत्यालाई महान् ठान्ने विचार धरमराएर हतियारले कसैलाई पराजित गर्न सक्दैन भन्ने निष्कर्षमा पुगेको मनोवैज्ञानिक अभिघातजन्य प्रकृति पनि देख्न सकिन्छ। यस कथामा देखिने पात्रका मानसिक वा भावनात्मक विचलन, उत्तेजना, रोमाञ्च एवम् आवेगपूर्ण मनस्थिति अभिघातका लक्षण हुन्। अभिघातको असर मानसिक रूपमा रुग्ण तुल्याउने आत्मविनाशक प्रकृतिको हुन्छ। यस कथाका पात्रहरूलाई युद्ध र हतियारले दम्भी, हिंस्रक, आक्रामक अनि क्रोधी बनाइदिएको छ। बधिकको हृदयमा युवकको विचारले गम्भीर असर पारेको, उसमा पीडा, विच्छिप्ति, पश्चाताप तथा ग्लानिका चेष्टाहरू देखिन थालेको सन्दर्भले अभिघातको सकारात्मक असरलाई सङ्केत गरेको पाइन्छ। कथामा अभिघातग्रस्त मानसिकता र त्यसबाट मुक्ति पाउने चाहना व्यक्त भएको छ। आत्मपरिचयको स्थापनापछि अभिघातबाट गुमेको प्रतिष्ठा फिर्ता ल्याउन कथामा बधिरले बधशाला परित्याग गरेको छ। कथामा बधिकले आफ्नो विगतलाई रक्तपिपासु पागल ठान्नु व्यक्तित्व रूपान्तरणतर्फको प्रस्थान हो।
सन्दर्भग्रन्थसूची
गौतम, लक्ष्मणप्रसाद (सम्पा.) (२०६३), द्वन्द्व, द्वन्द्वको परिवेश र समकालीन नेपाली द्वन्द्वकथा, समकालीन नेपाली द्वन्द्वकथा, पैरवी प्रकाशन।
पाण्डेय, मधुसूदन (अनु.) (२०६१), फ्रायडको मनोविश्लेषण, पैरवी प्रकाशन।
भट्टराई, गोविन्दराज (२०६४), उत्तरआधुनिक विमर्श, मोडर्न बुक्स।
शाह, महेशविक्रम (२०७४), छापामारको छोरो (सातौँ संस्क.), साझा प्रकाशन।
सुवेदी, राजेन्द्र (२०७६), अभिघात सिद्धान्त,
सुवेदी, राजेन्द्र र गौतम, लक्ष्मणप्रसाद (सम्पा), रत्न बृहत् नेपाली समालोचना, (दो. संस्क.), रत्न पुस्तक भण्डार।
[1] उपप्राध्यापक, नेपाली विभाग, त्रि.वि., रत्न राज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँ
Email : shreeramn2006@yahoo.com