गुरुप्रसाद कोइराला, विद्यावारिधि[1] लेखसार नेपालमा जन्मिएर संस्कृतकाव्यपरम्परामा योगदान गर्ने नेपाली संस्कृत कविहरूको शृङ्खलामा यज्ञ शर्मा सूरि (कोइराला) को नाम पनि उल्लेख्य रहेको छ। टीकाराम शर्मा खनालले नेपालमा राजपरम्परा र साहित्यिक परम्परा नामक कृतिमा उल्लेख गरेअनुसार यिनले रणबहादुर शाह (वि. सं. १८३४–१८५५) का शासनकालमा चन्द्रसम्भव महाकाव्यको रचना गरेका हुन्। यस महाकाव्यमा चन्द्रको वंशमा जन्मिएर आफ्ना […]
गुरुप्रसाद कोइराला, विद्यावारिधि[1]
लेखसार
नेपालमा जन्मिएर संस्कृतकाव्यपरम्परामा योगदान गर्ने नेपाली संस्कृत कविहरूको शृङ्खलामा यज्ञ शर्मा सूरि (कोइराला) को नाम पनि उल्लेख्य रहेको छ। टीकाराम शर्मा खनालले नेपालमा राजपरम्परा र साहित्यिक परम्परा नामक कृतिमा उल्लेख गरेअनुसार यिनले रणबहादुर शाह (वि. सं. १८३४–१८५५) का शासनकालमा चन्द्रसम्भव महाकाव्यको रचना गरेका हुन्। यस महाकाव्यमा चन्द्रको वंशमा जन्मिएर आफ्ना सत्कृत्यबाट संसारमा ख्याति प्राप्त गरेका राजाहरूको वर्णन सरस र सरल ढङ्गले गरिएको छ। कालान्तरमा त्यही चन्द्रवंशको राजकुलमा भर्म्यास्व राजाका पाँच सुपुत्रमध्ये ज्येष्ठ सुपुत्रका रूपमा मुद्गलको जन्म भयो। राजकुलमा जन्मिएर पनि शान्त, सुशील र विनम्र प्रकृतिका मुद्गलको राजकीय भोगविलासमा मन गएन। राजकाज छोडेर उनी तपश्चर्याका लागि तपोवन गए। त्यहाँ भगवान् नारायणको तपस्या गरी प्रशन्न भएका भगवान् नारायणबाट ब्रह्मत्वको वरदान प्राप्त गरेर ब्राह्मण भएका थिए भन्ने पौराणिक ग्रन्थबाट मूल कथा ग्रहण गरी महर्षि मुद्गलको वृत्तान्त वर्णन गरिएको छ। भगवान् नारायणबाट मौद्गल्य वंशका रूपमा ब्राह्मण वंश–विस्तारको आशीर्वाद प्राप्त गरेका मुद्गलले सुशील ब्राह्मण कन्यासँग विवाह गरी दिवोदास नामक पुत्र र अहल्या नामकी पुत्री गरी दुई सन्तान प्राप्त गरे। महर्षि मुद्गलले आफ्ना छोराको उपनयन आदि संस्कार सम्पन्न गरी उनलाई मौद्गल्य वंशजले गर्नु पर्ने कुलपूजाविधिको उपदेश दिए। यस लेखमा क्षत्रीय मुद्गल तपशक्तिबाट ब्रह्मत्व प्राप्त गरी मौद्गल्य ब्राह्मण वंशको प्रवर्तन गरेको वृत्तान्त, उनले गरेका सत्कार्यहरू र पुत्रलाई दिएको कुलपूजाविधिको उपदेश जस्ता चन्द्रसम्भव महाकाव्यका प्रसङ्गलाई विषयवस्तु बनाइएको छ।
शब्दकुञ्जी : मुद्गल, मौद्गल्य, कुलपूजा, चन्द्रवंश, तपस्या, ब्रह्मत्व, क्षत्रीय, ब्राह्मण।
विषयपरिचय
पौराणिक इतिहासमा प्रसिद्ध पुरुवंशमा भर्म्यास्व नाम गरेका क्षत्रीय राजा थिए। यिनका मुद्गल, यवीनर, बृहदिश्व, कापिञ्जल र जय गरी पाँच पुत्र भए। तीमध्ये मुद्गल जन्म गुण र कर्मले पनि जेठा थिए। यी क्षत्रीय कुलमा उत्पन्न भएर पनि स्वभावैले सुशील, शान्त र विनम्र देखिन्थे। जन्मजात स्वभावकै कारण यिनलाई राजकाजमा आकर्षण थिएन त्यसैले राजकीय वैभव भाइहरूलाई जिम्मा दिएर युवा अवस्थामै तपस्या गर्ने इच्छाले वन गए। प्रियमेध आदि गरेका आफ्ना पूर्वजहरूले तपशक्तिका माध्यमबाट ब्रह्मत्व प्राप्त गरेको इतिहास जानेका मुद्गल पनि ब्रह्मत्व प्राप्त गर्न सोही मार्गमा अघि बढे। वनमा कठोर तपस्या गर्न लागेका मुद्गलको तपशक्तिले देवलोक पनि कम्पायमान भयो। स्वर्ग हडप्ने हो कि भन्ने शङ्काले भयभीत भएका देवताहरूले तपस्या भङ्ग गर्नका लागि अप्सराहरू पठाए। इन्द्रादि देवताद्वारा प्रेषित अप्सरागणले गीत, नृत्य तथा शारीरिक आकर्षण प्रस्तुत गरेर मुद्गलको तपस्या भङ्ग गर्ने प्रयास गरे। अनेकन प्रयासपछि पनि आफ्नो उद्देश्य पूरा हुने अवस्था नदेखेर पराजित महसुस गरी अप्सरागण स्वर्ग फर्किए। मुद्गलको तपस्या भने झन् झन् तीव्र बन्दै परिणामप्राप्तितर्फ अघि बढ्दै गयो। अन्ततः मुद्गलको तपस्याले वशीभूत भएका भगवान् नारायण प्रकट हुनुभयो। नारायणको दर्शन पाएर खुसी हुँदै मुद्गलले भगवान्को स्तुति गरे। तपस्या र स्तुतिले प्रसन्न भएका भगवान्ले इप्सित वर माग्न आग्रह गर्नुभयो। मुद्गलले भने – भगवान् ! तपाईं सर्वज्ञ हुनुहुन्छ। म के भनूँ र ! तथापि म ब्रह्मत्व प्राप्ति गर्न चाहान्छु। (अहं ब्रह्मत्वं प्राप्तुमिच्छामि) भगवान्ले पनि तिमी ब्राह्मण मात्र हैन ब्रह्मर्षिका रूपमा लोकप्रसिद्ध हुनेछौ, साथै तिम्रो वंश पनि मौद्गल्य वंशका रूपमा लोकमा विस्तार हुनेछ भनी आशीर्वचन दिनुभयो। भगवान् नारायणबाट आशीर्वाद प्राप्त गरी ब्रह्मर्षि बनेका मुद्गल भारतवर्षको काञ्ची नगरमा बसी धेरै समय वैदिक सनातन धर्मको संवर्धनमा संलग्न रहे। त्यहीँ उनले मौद्गल्य वंश विस्तारका लागि ब्राह्मण कन्यासँग विवाह गरे। ती कन्याबाट दिवोदास नामक पुत्र र अहल्या नामकी पुत्री भए। पुत्रीको ऋषि गौतमका साथमा विवाह गरिदिए। पुत्री दम्पतीबाट शतानन्द नाम गरेका छोरा भए। पुत्र दिवोदासलाई उपनयन संस्कार सम्पन्न गरी कुलपूजाविधिको उपदेश दिए। समयक्रमले पुत्रको सुन्दर ब्राह्मण कन्यासँग विवाह गरिदिए। यसरी कर्तव्य पूरा गरिसकेपछि पितृऋणबाट मुक्त भएँ भन्ने सम्झेर पुत्रलाई सम्पूर्ण गृहभार सुम्पिएर महर्षि मुद्गलले आफूलाई भगवान्को चरणारविन्दको सेवामा समर्पण गरे।
पौरस्त्य परम्परामा सम्बद्ध हाम्रो समाज वर्णाश्रम धर्म स्वीकार गरेर अघि बढिरहेको छ। श्रुति र स्मृतिद्वारा निर्दिष्ट नियमअनुसार लोकमा वर्णाश्रम धर्म निर्धारित छ। जस्तै– पठनपाठनबाट ज्ञानको आदानप्रदानमा संलग्न ब्राह्मण, समाज, देश आदिको संरक्षण र परिपालनमा संलग्न क्षत्रीय, मानिसको जीवनमा आवश्यक सामग्रीको आपूर्तिमा संलग्न वैश्य र जनसेवाको कार्यमा संलग्न शूद्र। यी मध्ये ज्ञानार्जन र वितरण सम्बन्धी कार्य नै उत्तम हो भन्ने मानेर विश्वामित्र आदि गरेका क्षत्रीयहरूले तपशक्तिबाट ब्रह्मत्व प्राप्त गरेको कुरा पौराणिक इतिहासमा पाइन्छ। यही मार्गलाई स्वीकार गर्दै प्रियमेध आदि गरेका मुद्गलका पूर्वजहरू पनि त्यसतर्फ उन्मुख भए। क्षत्रीय वंशमा उत्पन्न भए पनि मुद्गलमा शान्त, सुशील, र विनम्र जस्ता ब्राह्मण गुणहरू थिए। त्यसैले यिनी राज्यसञ्चालन आदि कार्यबाट विमुख भई ब्रह्मत्व प्राप्त गर्ने दृढ निश्चयका साथ भाइहरूलाई राजकाजको कार्य सुम्पेर तपोवनमा शारीरिक कठिनताको पर्वाह नगरी भगवान् नारायणको आराधनामा संलग्न भए। देवताहरूको अवरोधबाट पनि विचलित नभई नारायणबाट ब्रह्मत्वको वर प्राप्त गरे। यसपछि महर्षि मुद्गलका वंशमा उत्पन्न सन्ततिहरू ब्राह्मण वर्णाश्रम धर्ममा आबद्ध भए। महर्षि मुद्गलले आफ्ना पुत्र दिवोदासलाई मौद्गल्य वंशका सन्ततिहरूले गर्नुपर्ने कुलपूजाविधिको उपदेश दिए। यसरी भारतवर्षको चोल देश अन्तर्गत काञ्ची नगरमा बसोबास गर्दै आएका मौद्गल्य वंशका सन्ततिहरू त्यहाँ तुर्क(टर्की) देशबाट आएका यवनहरूले आक्रमण गरेपछि सुरक्षित स्थानको खोजीमा हिमालयको काखमा रहेको स्वच्छ, पवित्र र आवासयोग्य भूमि नेपालमा आए। यहाँ मुद्गलका वंशजहरू स्थान भेदले कोइराला, तिम्सिना, कुइँकेल आदि थरबाट प्रसिद्ध भए(ढकाल, २०५८ : २३) ।
पूर्व अध्ययन समीक्षा
चन्द्रसम्भव महाकाव्यलाई विषयवस्तु बनाएर कतिपय विद्वान्हरूले चर्चा गरेका छन्। अहिलेसम्म भएका अध्ययनलाई यहाँ उल्लेख गरिएको छ।
क. नेपाल संस्कृतविश्वविद्यालयका निवृत्त प्राध्यापक वेणीमाधव ढकाल यस चन्द्रसम्भव महाकाव्यका सम्पादक हुन्। उनीबाट धेरै परिश्रमका साथ हस्तलेखनका क्रममा भएका अशुद्धिहरूको संशोधनसमेत भई महाकाव्य पाठकका लागि सरलताका साथ पठनयोग्य बन्न पुगेको छ। महाकाव्यको भूमिका लेखनका क्रममा ‘कवि यज्ञसूरिप्रणीत चन्द्रसम्भव महाकाव्यको परिचय एवम् समीक्षा’ शीर्षकको लेखमा महाकाव्यको साङ्गोपाङ्ग विवेचना प्रस्तुत छ। सम्पूर्ण महाकाव्यको समीक्षा गर्दा यहाँ मौद्गल्यवंशको उद्भव र कुलपूजाका बारेमा सङ्क्षिप्त चर्चा गरिएको छ। (चन्द्रसम्भव महाकाव्य : २०५८)
ख. नेपाल संस्कृतविश्वविद्यालयका प्रध्यापक नुरापति पोखरेलबाट ‘प्रभा’ पत्रिकामा प्रकाशित ‘नेपालमा संस्कृतमहाकाव्यको परम्परा’ शीर्षकको लेखमा संस्कृतमहाकाव्यको विकाशक्रमसम्बन्धी विवेचनका क्रममा चन्द्रसम्भवमहाकाव्यको थोरै चर्चा भएको छ। (प्रभा : २०६६)
ग. समीक्षक महानन्द तिम्सिनाबाट ‘प्रज्ञाज्योति’ पत्रिकामा ‘नैपालसंस्कृतमहाकाव्यलेखन–परम्परा’ शीर्षकको लेखमा महाकाव्यको विकाशक्रम उल्लेख गर्दा चन्द्रवंशमहाकाव्यका बारेमा पनि सामान्य चर्चा भएको छ। (प्रज्ञाज्योति : २०६९)
घ. समीक्षक लक्ष्मीकुमार कोइरालाद्वारा ‘मुद्गलसन्देश’ पत्रिकामा प्रकाशित ‘चन्द्रसम्भव महाकाव्य : सङ्क्षिप्त परिचय’ शीर्षकको लेखमा चन्द्रसम्भवमहाकाव्यको पूर्ण विश्लेषण गरिएको छ। विश्लेषणका क्रममा मौद्गल्य वंशको उद्भव र विकासका साथै कुलपूजाका बारेमा पनि सामान्य चर्चा गरिएको छ। (मुद्गल सन्देश : २०७६)
ङ. नेपाल संस्कृतविश्वविद्यालयका निवृत्त प्राध्यापक माधव भट्टराईबाट ‘नैपालकविविरचितानां संस्कृतमहाकाव्यानां समालोचनात्मकमध्ययनम्’ शीर्षकको अप्रकाशित विद्यावारिधि शोध प्रबन्धमा विषयक्रमले चन्द्रसम्भवमहाकाव्यका बारेमा पनि केही उल्लेख भएको छ।
च. नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक रिता ज्ञवालीद्वारा ‘चन्द्रवंशमहाकाव्यकाव्यस्य साहित्यिकमनुशीलनम्’ शीर्षकको विद्यावारिधि शोध प्रबन्धमा महाकाव्यको साहित्यिक अनुशीलन गर्ने क्रममा महर्षि मुद्गलको ब्रह्मत्व प्राप्ति, मौद्गल्य ब्राह्मण वंशको प्रादुर्भाव एवम् मौद्गल्य वंशजले गर्नु पर्ने कुलपूजा सम्बन्धमा उल्लेख गरिएको छ।
यसरी चन्द्रसम्भवमहाकाव्यको समीक्षाका क्रममा कतिपय विद्वान्बाट पूर्ण समीक्षा भएको छ भने कतिपयबाट सामान्य उल्लेख मात्र भएको छ। मौद्गल्य वंशको उत्पत्ति र कुलपूजाविधिलाई नै मुख्य विषय बनाएर अहिलेसम्म कुनै लेख/रचना प्रकाशित भएको पाइँदैन। यही आवश्यकतालाई महसुस गर्दै यो लेख तयार पार्ने जमर्को गरिएको छ।
समस्या कथन
चन्द्रसम्भव महाकाव्य नेपालमा जन्मिएका यज्ञ शर्मा सूरि (कोइराला) ले रचना गरेको संस्कृत कृति हो। यस महाकाव्यमा आफ्ना लोकहितमूलक कार्यले संसारमा ख्याति प्राप्त गरेका चन्द्रवंशमा उत्पन्न भएका कीर्तिशेष राजा–महाराजाहरूको श्रवणीय कथा वर्णन गरिएको छ। यसको अध्ययन त धेरै समीक्षकहरूले गरेका छन्, तर तपस्याको शक्तिले क्षत्रीयबाट ब्रह्मत्व प्राप्त गरी ब्राह्मण भएका मौद्गल्य वंशका प्रवर्तक महर्षि मुद्गललाई मुख्य विषयवस्तु बनाएर विस्तृत अध्ययन भएको पाइँदैन। त्यसैले मौद्गल्य वंशको प्रारम्भ कसरी भयो ? यस वंशमा उत्पन्न सन्ततिहरूको वैदिक सनातन संस्कार के हो ? जस्ता जिज्ञासा यस लेखको समस्याका रूपमा रहेका छन्।
उद्देश्य कथन
चन्द्रसम्भव महाकाव्यमा चन्द्रवंशमा उत्पन्न भएका राजाहरूको प्रशस्ति वर्णनका क्रममा महर्षि मुद्गलसम्बन्धी आख्यानको पनि महत्त्वका साथ उल्लेख गरिएको छ। क्षत्रीय चन्द्रवंशमा उत्पन्न भएका महर्षि मुद्गलले तपशक्तिबाट ब्रह्मत्व प्राप्त गरेपछि मौद्गल्य वंशका रूपमा ब्राह्मण वंशको प्रादुर्भाव भएको हो। उनले नै आफ्ना छोरा दिवोदासलाई कुलपूजाविधिको उपदेश गरेका थिए। यही वृत्तान्तसँग सम्बन्धित मौद्गल्य वंशको बीज कस्तो छ ? यसको कुलपूजा कसरी गरिन्छ ? जस्ता अघिल्लो शीर्षकका जिज्ञासाहरूको समाधानका रूपमा मौद्गल्य वंशको बीजसम्बन्धी तथ्य प्रकाशन, मौद्गल्य वंशजहरूले गर्नुपर्ने पूजाविधि प्रकाशन नै यस लेखको उद्देश्य रहेको छ।
अध्ययनविधि
यो लेख तयार पार्न यज्ञ शर्मा सूरिद्वारा रचित चन्द्रसम्भव महाकाव्यलाई प्रथम स्रोतका रूपमा उपयोग गरिएको छ। महाकाव्यसँग सम्बद्ध र महर्षि मुद्गलसँग सम्बन्धित सामग्रीहरूलाई द्वितीय स्रोतका रूपमा लिइएको छ। यस्ता सामग्रीहरूलाई अध्ययन गरेर निष्कर्ष प्राप्तिका लागि व्याख्यात्मक, विश्लेषणात्मक, विवरणात्मक जस्ता अध्ययन विधि अनुसरण गरिएको छ।
चन्द्रसम्भव महाकाव्य
पश्चिम नेपालको कैरीनामक गाउँमा जन्मिएका यज्ञ शर्मा सूरि (कोइराला) ले स्याङ्जा जिल्लाको आँधीखोला गाउँमा बाल्य र शैशव काल बिताएका थिए। युवा अवस्थामा शान्त र पवित्र क्षेत्र कृष्णगण्डकीका तट रुरुक्षेत्रमा आवासस्थान बनाई चन्द्रसम्भव महाकाव्यको रचना गरे (ढकाल, २०५८ : ४)।
१३ सर्गमा संरचित प्रस्तुत महाकाव्य बिसौँ शताब्दीको मध्यतिर रचना गरिएको पाइन्छ। राष्ट्रिय अभिलेखालयमा सुरक्षित हस्तलिखित यो महाकाव्य लिपिबद्ध गर्ने व्यक्तिको असावधानीले धेरै अशुद्ध छ (ढकाल, २०५८ : ४)। वि. सं. २०५८ सालमा संस्कृतका विद्वान् प्राध्यापक वेणीमाधव ढकालले अशुद्ध स्थानको परिष्कारसहित सम्पादन महाकाव्य नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भएको थियो। सम्पादकद्वारा परिष्कारसहित प्रकाशित महाकाव्य केवल मूलको सम्पादन मात्र होइन महाकाव्यको विस्तृत परिचय, विवेचनसहितको आलेख पनि राखिएको छ। महाकाव्यको भूमिका भागमा रहेको त्यस आलेखमा कविपरिचय, पृष्ठभूमि, कथावस्तु, मौद्गल्यवंशको प्रारम्भ जस्ता विषय र रस, ध्वनि, अलङ्कार आदि काव्यतत्त्वका बारेमा समेत समीक्षा गरिएको छ। अहिले चन्द्रसम्भवमहाकाव्य नेपाल प्रज्ञा प्रतिष्ठानको बिक्री कक्ष एवम् अन्य पुस्तक पसलहरूबाट सजिलै पाउन सकिन्छ।
चन्द्रवंशको वर्णन
प्रजापतिको आज्ञाले मानवसृष्टिमा संलग्न अत्रि निर्जन वनमा तपस्यारत रहँदा उनको नेत्रबाट चन्द्र प्रादुर्भाव भए।[2] प्रजापतिले चन्द्रलाई ब्राह्मण, औषधि, नक्षत्रजगतका राजा बनाए। राजकाज प्राप्त गरेर चन्द्रले राजसूय यज्ञ गरे। सौन्दर्य र बलको घमण्डले यिनीबाट देवगुरु बृहस्पतिकी पत्नी ताराको अपहरण भयो। ब्रह्माजीको आज्ञाले चन्द्र बृहस्पतिकी पत्नी तारालाई फर्काउन तयार भए। त्यस वेला तारा गर्भिणी थिइन्। मासको पूर्णतापछि ताराले सुन्दर पुत्रलाई जन्म दिइन्। ताराको भनाइबाट चन्द्रकै पुत्र मानेर ब्रह्माले उनको नाम बुध राखिदिए। सुन्दर बुधको विवाह मनुपुत्री इलासँग भयो। यो दम्पतीबाट पुरूरवाको जन्म भयो। पुरूरवा राजाकी प्रेमिका स्वर्गकन्या उर्वशीबाट पाँच पुत्रहरू भए। ती मध्ये जेष्ठपुत्र आयु राजा भए। राजा आयुका छोरा नहुषले राजकाज सम्हाले। त्यसपछि नहुषका छोरा ययाति, ययातिका जनमेजय, जनमेजयका पुत्र प्राचिन्वान्ले पनि चन्द्रवंशको विस्तारमा योगदान गरे। यसपछि यस वंशमा प्रवीर, नमस्यु, चारुपद, सुद्यु, बहुगव, संयाति, अहंयाति, रौद्राश्व, रितेयु, रन्तिभार, सुमति, रैभ्य आदि गरिएका राजा भए। यिनै रैभ्यका छोरा दुष्यन्त र दुष्यन्तका छोरा भरत भारतवर्षका चक्रवर्ती राजाका रूपमा ख्याति प्राप्त गरे।[3] कालक्रमले चन्द्रवंशमा वितत, मन्यु, बृहत्क्षेत्र, हस्ती, अजमीढ, नील, शान्ति, सुशान्ति, भर्म्यास्व आदि गरिएका राजाले चन्द्रवंश परम्परालाई गौरवपूर्ण ढङ्गले अघि बढाए। भर्म्यास्वका मुद्गल, यविनर, बृहदिश्व, कापिञ्जल, जय गरी पाँच पुत्र भए। राज्यसञ्चालनको राजकीय नियम अनुसार ज्येष्ठ भएकाले राजकाजको अधिकारी भएपनि मुद्गल आफ्ना भाइहरूमा राजकाजको भार सुम्पी ब्रह्मत्व प्राप्तिको उद्देश्य राखी तपस्या गर्न तपोवन गए।[4] कठिन आराधनाबाट प्रसन्न नारायण भगवान् प्रसन्न भई ब्रह्त्वको वरदान दिए। वरदानको फलस्वरूप मुद्गलबाट सुरु भएको ब्राह्मणवंश मौद्गल्य वंशजका रूपमा कोइराला, कुइँकेल, तिम्सिना, बेल्काणी, उप्रेतीजस्ता थरबाट नेपाल लगायत विश्वभर प्रसिद्ध भयो।
महर्षि मुद्गल
पौराणिक साहित्यमा चन्द्रवंशी राजाहरूको कीर्तिगाथा प्रसिद्ध छ। त्यहाँ विलक्षण कार्य गर्ने क्षत्रीय राजाहरूको प्रशस्ति गान मुख्य रूपले वर्णित छ।[5] त्यही चन्द्रवंशमा उत्पन्न भएका राजा भर्म्यास्वका पाँच पुत्र मध्ये जेठा छोरा मुद्गल हुन्। शान्त र विनम्र स्वभावका मुद्गल जेष्ठ भएकाले नियमतः आएको राजकाजको जिम्मेवारी भाइहरूलाई सुम्पिई अध्यात्म साधनाका लागि तपोवन गए। त्यहाँ उनले प्राणवायुलाई शिरमा रोकेर कठोर तपस्या गरे।[6] पटकपटक राज्य अपहरणको घटना बेहोरेका देवताहरू यिनको तपस्याबाट डराए। तपस्या भङ्ग गर्न शृङ्गारपूर्ण हाउभाउले मुद्गललाई प्रभावित पार्न सक्ने अनुभवी अप्सरा पठाए।[7] मुद्गलको दृढनिश्चयका अघि ती अप्सराहरूको प्रयास व्यर्थ भयो। समयक्रमले मुद्गलको कठोर तपस्याबाट प्रभावित भई भगवान् नारायण प्रकट भई ब्रह्मत्वको वरदान दिनुभयो।[8] भगवान्बाट ब्रह्मत्वको वरदान पाई मुद्गल महर्षि मुद्गलका नामले प्रसिद्ध भए। यिनले भगवान् नारायणप्रतिको प्रगाढ विश्वासले आफ्नो शिखा अग्निमा हवन गरी यज्ञशक्तिद्वारा चोल नरेशलाई विष्णुलोक पठाए।
शिखाहवनको कथा
महर्षि मुद्गल ब्रह्मत्व प्राप्त गरेपछि वैदिक सनातन धर्मको संवर्धन गर्दै काञ्ची देशमा बसे। त्यसै देशका राजा चोलनरेश दैनिक काञ्चीपुरमा रहेको नारायण मन्दिरमा गई स्वर्णकमलले भगवान् नारायणको पूजा गर्दथे। त्यही मन्दिरमा विष्णुदास नाम गरेको कुनै ब्राह्मण तुलसीपत्रले भगवान् विष्णुको पूजा गर्दथ्यो। दिनैपिच्छे ब्राह्मणले पूजामा प्रयोग गरेको तुलसी पत्रले राजाद्वारा चढाइएको स्वर्णकमल छोपिन्थ्यो। यो घटनाले चोल नरेश रिसाए। स्वर्णकमल र तुलसीपत्रको महिमाका विषयमा दुबैमा विवाद भयो। कुरैकुरामा विष्णुदासले – तुलसीपत्रको महिमाले तपाईंभन्दा पहिले म विष्णुलोक जानेछु भन्ने प्रण गरे।[9] विवादपछि चोलनरेश यज्ञको शक्तिबाट यो अहङ्कारी ब्राह्मणभन्दा पहिले म विष्णुलोक जान्छु भन्ने मनमा सोची यज्ञार्थ आचार्य खोज्दै महर्षि मुद्गलको आश्रममा पुगे। महर्षि मुद्गलले राजाको आग्रह स्वीकार गरे। मुद्गलको आचार्यत्वमा महायज्ञ प्रारम्भ भयो।[10] यता विष्णुदास पनि तुलसीपत्रद्वारा विष्णुको पूजामा दत्तचित्त भए। कुनै दिन विष्णुपूजामा निमग्न भएको अवस्थामा विष्णुदासको घरमा चोर पसेर पाकेको भोजनको पात्र चोर्यो। यो थाहा पाएर पनि विष्णुदास क्रोध, दुःख आदिबाट पराङ्मुख भई विष्णुको आराधनामा समर्पित रहे। पूजाका प्रभावले त्यो चोर विष्णुदासका अगाडि आएर लड्यो। विष्णुदासले कत्तिपनि क्रोध नगरी चोरलाई जलसेचन गरी उठाएर खाना खुवाए। विष्णुदास ब्राह्मणको यस्तो भक्ति देखेर प्रभावित भएका नारायणको आज्ञाबाट विष्णुपार्षद आई विमानमा चढाएर ब्राह्मणलाई राजाकै अघिबाट विष्णुलोक लगे। आफ्नै अगाडिबाट आफूले अपहेलना गरेको ब्राह्मण विष्णुलोक जाँदै गरेको दृश्यले रिसाएका चोलनरेश सशरीर यज्ञकुण्डमा देहत्याग गर्न उद्यत भए।[11] यस घटनाले आफ्नो यज्ञको महत्त्व क्षीण भएको सम्झी रुष्ट भएका महर्षि मुद्गलले तत्कालै आफ्नो गाईखुरे शिखा उखेलेर यज्ञकुण्डमा हवन गरे।[12] महर्षिले शिखाहवन गर्नासाथ यज्ञकुण्डबाट भगवान् नारायण प्रकट हुनुभयो। भगवान्ले वर माग्न आग्रह गर्दा महर्षिले चोलनरेशलाई विष्णुलोक पुऱ्याउने प्रार्थना गरे। भगवान्ले पनि तुरुन्तै मुद्गलको प्रार्थना स्वीकार गरी चोलनरेशलाई सुशील नामको द्वारपालका रूपमा वैकुण्ठलोकमा सुशोभित गराउनुभयो।[13]
मौद्गल्य कुलको पूजाविधि
तपशक्तिबाट ब्रह्मत्व प्राप्ति भएकाले सन्तुष्ट भएका मुद्गल वैदिकधर्मको प्रचार गर्दै काञ्ची देशमा बसे। आफ्नो प्रयासबाट स्थापित मौद्गल्य ब्राह्मण वंशवृद्धिका लागि ब्रह्मर्षि मुद्गलले एउटी सुशील ब्राह्मण कन्यासँग विवाह गरे। तिनीबाट दिवोदास नामक एक पुत्र र अहल्या नामकी पुत्री भए। अहल्याको विवाह गौतमसँग भयो गौतम र अहल्याबाट शतानन्द नाम गरेका पुत्र भए।[14] शतानन्दका पुत्र सत्यधृति, सत्यधृतिका शारद्वान् नामक पुत्र भए। स्वर्ग सुन्दरी अप्सरा देखेर शारद्वान्को रेतस्खलन भयो। जसबाट कृप नामक पुत्र र कृपी नाम गरेकी पुत्री भए। कृपाचार्य कुरुकुलका कुलगुरु भए। कृपीको विवाह द्रोणाचार्यसँग भयो।[15] यता महर्षि मुद्गलले पुत्र दिवोदासलाई उपनयन संस्कारपछि मौद्गल्य वंशजहरूले गर्नुपर्ने पूजाविधिको उपदेश दिए।[16]
मौद्गल्य वंशजहरूले प्रतिवर्ष कुलदेवताको पूजा गर्नुपर्छ। यस कुलका कुलदेव शङ्कर हुन्। कुलदेवता सन्तुष्ट भए धर्म, अर्थ, काम र मोक्ष जस्ता चतुर्वर्ग फलप्राप्ति हुन्छ।[17] कुलपूजा वैशाख महिनाको पूर्णिमाको अघिल्लो दिन केश मुण्डन गरी एक छाक मात्र भोजन गरी भोलिपल्ट स्नान गरी धौतवस्त्र धारण गर्नुपर्दछ। पूजामा प्रयोग हुने पात्रहरू सफा हुनुपर्छ। पूजाका दिन दिनमा निराहार रही रात्रीमा मात्र फलाहार गर्नुपर्छ। पूजामा वेदविद्यामा पारङ्गत कुलधर्म–प्रवर्धन गर्ने ब्राह्मणलाई निमन्त्रणा गर्नुपर्छ। ब्राह्मणहरू एक, पाँच वा दश सङ्ख्यामा हुनुपर्छ। पूजास्थान कुलका जेठा छोराको घर वा सबै बन्धुहरूले स्वीकृत गरेको भूमिमा बनाउनुपर्छ। ती श्रेष्ठ ब्राह्मणहरूले रुद्राभिषेक, शान्तिपाठ, चण्डीपाठ र वेदपाठ पनि गर्नुपर्छ। अग्निस्थापनापूर्वक वैदिक तान्त्रिक मन्त्रहरूबाट पायस र घिउ मिसाइएको चरुले हवन गर्नुपर्छ।[18] कुलपूजामा संलग्न कर्ताजनले पनि विभूति धारण गर्नु उत्तम हुन्छ। विभूति धारण गर्दा विनियोगसहित गर्नू – अस्य विभूति मन्त्रस्य सदाशिवऋषि उष्णिक् छन्दः शिवो देवता ध्रुवो बीजं शिवत्वप्राप्तये जपे विनियोगः।[19] विनियोगपछि मन्त्र उच्चारण गर्नू –
सदाशिव ! महेशान ! सर्वभूतिविधायक !।
विभूतिसिद्धिर्भवतु त्वत्प्रसादात् सुरेश्वर !।।[20]
यसपछि सद्योजात… आदि गरिएका वैदिक मन्त्रले भष्म मन्त्रिनू। अग्नि.. इत्यादि मन्त्रले भष्ममा पानी मिलाउनू। यसरी तयार गरिएको भष्म साम्बसदाशिवको स्मरण गर्दै मध्यमा र अनामिका अंगुलीले अनुलोमविलोमबाट पाउदेखि मष्तकसम्म लिम्पन गर्नू, किनकि भष्मको त्रिपुण्ड र रुद्राक्षमालाविना पूजित महेशबाट केही फल पाइँदैन।[21] यसपछि कुनै वंशज कर्ताले पूजा प्रारम्भ गरोस्। प्रारम्भमा तन्त्रोक्त न्यास गरेर शङ्करको ध्यान गरोस्। यथाशक्ति आफ्नो शिवमन्त्र पनि जपोस्। आफ्नो र तन्त्रज्ञद्वारा उच्चारण गरेका मन्त्रहरूले आवाहन गरी शिवयन्त्रका बीचमा उत्तम पार्थिव शिवलिङ्ग स्थापना गर्नुपर्छ। शिवलिङ्गलाई वैदिक तान्त्रिक मन्त्रहरूले तत्कालसम्भव भएका पुष्प र विल्वपत्रले पूजा गर्नू। वंशज कर्ता शिवभक्तिमा तत्पर भएर यथालब्ध पञ्चोपचार, गन्ध, धूप आदि सामग्रीद्वारा पूजा गर्नुपर्छ।[22] पूजामा कसार, मालपुवा, जिलेबी, सेलरोटीजस्ता नैवेद्य चढाउनुपर्छ। पूजाको समाप्ति पछि घिउ र पायसले एक हजार आठ वा एक सय आठ हवन गर्नुपर्छ। यसपछि प्रदक्षिणा पश्चात् कुलदेवलाई विसर्जन गरी सम्पूर्ण वंशजहरू एकत्रित भई अभिषेक ग्रहण गर्नुपर्छ। घिउमा पकाएका पक्वान्न र पायस आदि प्रसादका रूपमा पहिले ब्राह्मणलाई खुवाई सम्पूर्ण बन्धुबान्धवले पनि लिनुपर्छ।[23] यसरी गरिने पूजामा मांस वर्जित हुन्छ। यस विधिद्वारा जुनजुन वंशजले कुलपति शिवलाई खुसी पार्छ त्यसका परिवार, चौपाया धन, नोकरचाकरका साथमा बढ्दै जान्छ, यो लोकमा विभिन्न प्रकारका सुखभोग गरी परलोकमा पनि उत्तम गति प्राप्त गर्दछ। तिनीहरू कुलदेवका प्रसादले कैलास नाम गरेको दिव्य धाम वा योगीन्द्र–वाञ्छित स्थान प्राप्त गर्दछ। त्यसैले बुद्धिमान् वंशजहरूले प्राण घाँटीमै आइपुगेको अर्थात् मृत्युशैयामा परेका वेला पनि श्री कुलदेव महेशको पूजालाई त्याग गर्नु हुँदैन।[24]
नेपालमा मौद्गल्य वंशज
चन्द्रवंशमा जन्मिएका मुद्गलले कठोर तपस्याको प्रभावले ब्राह्मत्व प्राप्त गरे भन्ने पौराणिक इतिहासमा प्रसिद्ध छ। यही वृत्तान्तलाई यस महाकाव्यमा पनि मुख्य विषयवस्तु बनाई उल्लेख गरिएको छ। आफ्नो दृढसङ्कल्पले तपशक्तिद्वारा ब्रह्मत्व प्राप्त गरेका महर्षि मुद्गल नारायण भगवान्को आशीर्वचन अनुसार मौद्गल्यवंशको विस्तारका लागि गृहस्थाश्रममा प्रवेश गर्न पुगे। कुनै सुशील ब्राह्मण कन्यासँग विवाह गरेर काञ्ची देशलाई आफ्नो वासस्थान बनाए। त्यहीँ मुद्गल दम्पतीबाट दिवोदास नामक पुत्र र अहल्या नाम गरेकी पुत्रीको जन्म भयो। यिनै दिवोदासका छोरानातिहरूले मौद्गल्यवंशका रूपमा ख्याति प्राप्त गरे। ती मौद्गल्यवंशी परिवारहरूले धेरै समयसम्म काञ्ची देशमै रहेर आफ्नो कुलधर्मको संरक्षण गरे। कालान्तरमा त्यहाँ तुर्कदेशीय म्लेच्छहरूले दुःख दिएपछि कुलधर्मको रक्षार्थ हिमालयको काखमा रहेको सुरक्षित स्थानतर्फ प्रवेश गरे। तिनीहरूले पश्चिम नेपालको कैरी नामक गाउँलाई वासस्थान बनाए। त्यही वासस्थानको नामबाट कैराला[25] भई कालान्तरमा जनजिब्राले सरलता खोज्दै जाँदा कोइराला भनिएका हुन्। त्यसै गरी स्थान भेदले मौद्गल्यवंशीहरू तिम्सिना, कुइँकेल, वेल्काणी उप्रेतीजस्ता थरहरूले प्रसिद्ध भए।
निष्कर्ष
यज्ञ शर्मा सूरि (कोइराला) नेपालमा जन्मिएर संस्कृत भाषामा रमाउने सर्जकहरूमा गणना गर्न योग्य कवि हुन्। यिनले भगवान् चन्द्रमाबाट प्रवर्तित गुणगणले सम्पन्न चन्द्रवंशी राजाहरूको प्रशस्तिगानलाई विषयवस्तु बनाई चन्द्रसम्भव महाकाव्य रचना गरेका थिए। यस महाकाव्यमा चन्द्रवंशका विशिष्ट गुणगौरवले सम्पन्न राजाहरूको वर्णनलाई विषयवस्तु बनाए पनि महर्षि मुद्गलद्वारा प्रवर्तित मौद्गल्य वंशको बीजलाई प्रकाशन गर्नु र तिनका धार्मिक कृत्यहरूका बारेमा पाठकहरूलाई सूचित गर्नु नै मुख्य उद्देश्य रहेको देखिन्छ। महर्षि मुद्गलको वृत्तान्त पुराणप्रसिद्ध छ। श्रीमद्भागवत, महाभारत आदि गरिएका पौराणिक ग्रन्थमा चन्द्रवंशी राजाहरूका वर्णनक्रममा महर्षि मुद्गलको वृत्तान्त पनि पाइन्छ। पौराणिक इतिहासमा नै विश्वामित्र प्रभृति धेरै क्षत्रियहरू ब्राह्मण भई ब्राह्मण वंशलाई अघि बढाएका कथाहरू पाइन्छन्। यसै गरी मुद्गलबाट पनि तपस्याको शक्तिले मौद्गल्य नामक ब्राह्मण वंशको प्रवर्तक भएको पाइन्छ। यिनी केही हठधर्मी पनि देखिन्छन्। चोलनरेशको यज्ञमा भगवान् विष्णुलाई छिटै प्रसन्न गराउन आफ्नो गाईखुरे शिखा (टुप्पी) हवन गर्न पुग्छन्। जसबाट चोलनरेश सशरीर वैकुण्ठ जान समर्थ भएका थिए। यस्ता शौर्यशक्तिसम्पन्न महर्षि मुद्गल नै मौद्गल्य नामक ब्राह्मण वंशका प्रवर्तक हुन्। मुद्गलवंशी अनन्त कालसम्म रहोस् भन्ने मनसाय राखी यिनले आफ्ना छोरा दिवोदासलाई कुलपूजाका बारेमा विस्तृत उपदेश दिएका थिए। यिनकै वंशबीजको शक्तिका प्रभावले हुनसक्छ केही मौद्गल्य वंशजहरू नेपालको राजनैतिक, साहित्यिक, आध्यात्मिक आदि क्षेत्रमा स्मरणीय र अनुकरणीय कार्य गरी आफ्नो कीर्तिशरीरलाई अमर राख्न सफल भएका छन्।
सन्दर्भसूची
कोइराला, श्रीप्रसाद. (२०७६). महर्षि मुद्गल एवम् कोइराला वंशको सङ्क्षिप्त पृष्ठभूमि. मुद्गल
सन्देश (वर्ष १२, अङ्क ६) कोइराला सेवा समाज नेपाल ।
कोइराला, लक्ष्मीकुमार. (२०७६). चन्द्रसम्भव महाकाव्यको सङ्क्षिप्त परिचय. मुद्गल सन्देश,
(वर्ष १२, अङ्क ६) कोइराला सेवा समाज नेपाल।
ढकाल, वेणीमाधव. (२०५५). हरिकेलिमहाकाव्यम् (भूमिका). दाङ : ने. सं. वि., ।
ढकाल, वेणीमाधव. (२०५८). चन्द्रसम्भवमहाकाव्यम् (भूमिका). काठमाडौँ : ने. रा. प्र. प्र. वि. सं. ।
तिमिल्सिना, महानन्दः. (२०६९). नैपालकसंस्कृतमहाकाव्यलेखनपरम्परा. प्रज्ञाज्योतिः, (वर्ष : १,
अङ्क : १) ने. प्रा. संघ।
पोखरेल, नुरापति. (२०६७). नेपालमा संस्कृत महाकाव्य परम्परा. प्रभा (वर्ष : २० अङ्क : १०)
पिण्डेश्वर विद्यापीठ, धरान।
भट्टराई, माधव. (२०४३). नैपालककविविरचितानां संस्कृतमहाकाव्यानां समालोचनात्मकमध्ययनम्.
(अप्रकाशित शोधप्रबन्धः) त्रिभुवनविश्वविद्यालय ।
वेदव्यास. (२०५४). श्रीमद्भागवतमहापुराणम्. गोरखपुर : गीताप्रेस।
शर्मा, रामहरि. (२०६१). नेपालदेशीयसंस्कृतमहाकाव्येषु कार्तवीर्योदयमहाकाव्यस्य स्थानम्.
ऋतम्भरा, (वर्ष : ७, अङ्क : १०) ने. सं.वि. अनुसन्धानकेन्द्रम्।
सूरि, यज्ञ शर्मा. (२०५८). चन्द्रसम्भवमहाकाव्यम्. काठमाडौँ : ने. रा. प्र. प्र., वि. सं. ।
ज्ञवाली, रिता. (२०७१). चन्द्रसम्भवमहाकाव्यस्य साहित्यिकमनुशीलनम् (अप्रकाशित शोधप्रबन्धः).
ने. सं. वि., अनुसन्धानकेन्द्रम् ।
[1]. सहप्राध्यापक, साहित्य, पिण्डेश्वर विद्यापीठ, धरान।
इमेल : koiralaguru32@gmail.com
[2]. पितुर्नियोगात् स चकार घोरमत्रिस्तपो निर्जनदेशमेत्य।
तपस्यतस्तस्य दृगम्बुजाच्च पीयूषवर्षी प्रबभूव चन्द्रः।। १/११।।
यज्ञशर्मसूरिः, चन्द्रसम्भव महाकाव्य, काठमाडौँ : ने. रा. प्र. प्र., वि. सं. २०५८, पृ. ६९।)
[3]3. रैभ्योऽपि तनयं प्राप्य पितृदेवप्रसादजम् ।
दुष्यन्तं नाम राजर्षिरगमत् तपसे वनम् ।। ३/३० ।।
कर्माणि श्रुतिविहितानि यानि कानि कण्वो जातकमुखानि तानि चक्रे ।
भर्तृत्वाद् भरत इतीह शंसिनाम्ना ख्यातोऽभूत् दिवि भूवि भारते च लोके ।। ४/४ ।। पृ.८४, ९० ।
[4]. अथो न राज्यं जगृहे स्वपैतृकं ज्येष्ठो गुणैर्वा वयसा च मुद्गलः।
किञ्चानुजेभ्यः प्रददौ निजासनम् जानन् स विश्वं मृतिजन्मभीतिदम्।।१०/१।।
यज्ञशर्मसूरिः, चन्द्रसम्भव महाकाव्य, काठमाडौँ : ने. रा. प्र. प्र., वि. सं. २०५८, पृ.१४२।
[5]. भर्म्याश्वस्तनयस्तस्य पञ्चासन्मुद्गलादयः।।
मुद्गलाद् ब्रह्म निर्वृत्तं गोत्रं मौद्गल्यसंज्ञितम्।
मिथुनं मुद्गलाद् भार्म्याद् दिवोदासः पुमानभूत्।।
वेदव्यास, श्रीमद्भागवत महापुराण, ९/२१, गोरखपुर : गीताप्रेस, वि. सं. २०५४, पृ. ४०७।
[6]. किञ्च स्वबन्धून् प्रियमेधमुख्यान् स्वपूर्र्वजान् ब्राह्मणजातिभाजः।
श्रुत्वा तथेच्छन् महितं द्विजत्वम् स्वस्याऽपि तत्तप्तुमनाः प्रतस्थे।। १०/२।।
चन्द्रसम्भवमहाकाव्यम् पृ. १४२।
[7]. बह्वीः समास्तस्य तपस्यतः सुरा अवापुरार्तिं तपसोऽधिकं बलम्।
ज्ञात्वा तदा मन्दविषण्णचेतसोऽ भवन् निजस्थानविनाशशङ्कया।। १०/१२।।
चन्द्रसम्भवमहाकाव्यम्, पृ.१४४।
[8]. इति स्तुतो मुद्गलपार्थिवेन वचोऽब्रवीत् ताक्ष्र्यमधिष्ठितो हरिः।
प्रितोऽस्मि ते वत्स ! वरं प्रतीच्छ भो यदीप्सितं ते प्रददाम्यहं नृप !।।१०।४५।।
चन्द्रसम्भवमहाकाव्यम् पृ.१५२।
[9]. महिमानमस्य नृप ! वेत्ति जनः तुलसीदलस्य हरिदासवरः।
तव पश्यतो हरिपदे स मम नयनं करिष्यति ममैष पणः।। ११/१०।।
चन्द्रसम्भवमहाकाव्यम्, पृ. १५६।
[10]. अथो मुनिर्मुद्गलनामधेयः शिष्यैः परितो नृपयागभूमिम्।
उपेत्य यज्ञैः पुरुषं पुराणं ईजे हि चोलार्चितपादपद्मः।। ११÷२३।।
चन्द्रसम्भवमहाकाव्यम्, पृ. १५८।
[11]. अहं न जीवामि विशामि बह्नौ गुरोऽत्र मे देह्यधुनैव चाज्ञाम्।
यथा गमिष्यामि गुरो ! पदं तं शोच्येन देहेन ममास्ति किं शम्।। ११।३३।।
चन्द्रसम्भवमहाकाव्यम्, पृ. १६१।
[12]. श्रुत्वैतन्नृपतिवचः सखेदम् विप्रेन्द्रः सपदि शिखां स्वकीयाम्।
उत्पाट्य द्विजमनुसेविते कृशानौ स क्रोधादिव नृपतेश्च पश्यतोऽधात्।। ११/३४।।
चन्द्रसम्भवमहाकाव्यम्, पृ.१६१।
[13]. स मुद्गलोऽपीह वरं ययाचे पदं त्वदीयं नय चोलमेनम्।
इत्यर्चितः सोऽपि पदं स्वकीयं नीत्वैव भृत्यप्रवरं चकार।। ११/३८।।
चन्द्रसम्भवमहाकाव्यम्, पृ. १६२।
[14]. या स्त्री साऽहल्यकानाम्नी रूपेण श्रीरिवापरा।
गौतमाय ददौ ताञ्च मुद्गलो मुनिचन्द्रमा।। १२/२।।
शतानन्दाभिधं तस्यां गौतमोऽजनयत् सुतम्।
ब्रह्मवर्चस्विनं रम्यं सुरूपं सूर्यवर्चसम्।। १२/३।।
[15]. तस्य सत्यधृतिः पुत्रो धनुर्वेदविशारदः।
शरद्वान् तत्सुतो यस्य ह्युर्वशीदर्शनात् किल।।
शरत्स्तम्बेऽपतद्रेतो मिथुनं चाभवच्छुभम्।
कृपः कुमारः कन्या च द्रोणपत्न्यभवत् कृपी।। १२/५,६।।
चन्द्रसम्भवमहाकाव्यम्, पृ. १६४।
[16]. सोपवीतं सुतं ह्येनं शौचाचारानशिक्षयत्।
ततः स्वकुलदेवस्य पूजाविधिमुवाच ह।। १२/७।।
चन्द्रसम्भवमहाकाव्यम्, पृ. १६५।
[17]. प्रतिवर्षं प्रकुर्वीत कुलदेवस्य पूजनम्।
कुलदेवो महेशो नः पूजितः पितृपूर्वजैः।।
कुलदेवे सुसन्तुष्टे चतुर्वर्गाः फलन्ति हि।
तस्मादवश्यं कर्तव्यं कुलदेवार्चनं सुतैः।। १२÷८,९।।
चन्द्रसम्भवमहाकाव्यम्, पृ. १६५।
[18]. वैशाख्यां पौर्णमास्याञ्च यथावित्तं यथाश्रुतम्। तत्पूर्वदिवसे क्षौरं कुर्वीत नियमे स्थितः।।
वाससां क्षालनं कुर्यात् पात्राणाञ्च प्रशोधनम्। नक्ताशी चैकभक्तो वा भवेत्तद्भूतवासरे।।
निमन्त्रयेच्च विप्रान् स्वान् वेदविद्याविशारदान्। दश पञ्चाथवैकं वा शुद्धचित्तः प्रसन्नधीः।।
पूजोपकरणं सर्वं विदध्यादामिषं विना। संहत्य कुलजाः सर्वे स्वकुलाग्रजवेश्मनि।।
सर्वेषामथवा बुद्धिर्यत्रास्ति तत्र भूतले। पौर्णमास्यां प्रगे तत्राऽभिषेकाय शिवोपरि।।
ब्राह्मणान् वृणुयुः स्वीयान् कुलधर्मप्रवर्तकान्। तेऽपि कुर्युद्विजश्रेष्ठा रुद्राध्यायेन रुद्रियम्।।
शान्तिपाठादिकं चण्डीपाठं वेदञ्च पाठयेत्। जुहुयात् पायसेनैव ह्यग्निस्थापनपूर्वकम्।।
वैदिकैस्तान्त्रिकैर्मन्त्रैश्चरुभिर्हविषा युतैः।
देवपूजाप्रकाराञ्च समासात् शृणु तत्त्वतः।।
चन्द्रसम्भवमहाकाव्यम्, पृ. १६६।
[19]. विभूतिधारणं कार्यं पूजाऽऽदौ धीमता तदा। अस्य विभूतिमन्त्रस्य सदाशिव ऋषि स्मृतः।।
उष्णिक् छन्दो देवाता तु शिवो बीजं ध्रुवः स्मृतम्। विभूतिधारणं कार्यं पूजाऽऽदौ धीमता तदा। अस्य विभूतिमन्त्रस्य
सदाशिव ऋषि स्मृतः।। उष्णिक् छन्दो देवाता तु शिवो बीजं ध्रुवः स्मृतम्।
[20]. चन्द्रसम्भवमहाकाव्यम्, पृ. १६६।
[21]. सद्योजातादिकैर्मन्त्रैर्मन्त्रयेद् भष्म पञ्चभिः। संयोज्य भष्मना तोयमग्निरित्यादिभिः पुनः।।
विशिष्य साम्बं ध्यायन् तं लिम्पेदापादमस्तकम्। मध्यमानामिकाऽङ्गुष्ठैरनुलोमविलोमतः।।
विना भष्मत्रिपुण्ड्रेण विना रुद्राक्षमालया।
पूजितोऽपि महादेवो न स्यात्तस्य फलप्रदः।। १२/२२–२४।।
चन्द्रसम्भवमहाकाव्यम्, पृ. १६७।
[22]. तन्त्रोक्तं न्यासजालं वा कृत्वा ध्यायेत शङ्करम्। ततो निजं शैवमन्त्रं यथाशक्ति जपेद् बुधः।।
स्वमन्त्रेणापि चावाह्य यदुक्तं तन्त्रवेदिभिः। यन्त्रे संस्थाप्य मध्ये वै पार्थिवं लिङ्गमुक्तमम्।।
वैदिकैस्तान्त्रिकैर्मन्त्रैः पूजयेद् भक्तिपूर्वकम्। तत्कालसम्भवैः पुष्पैर्विल्वपत्रैर्विशेषतः।।
पाद्याघ्र्याचमनीयाद्यैर्यथालब्धोपचारकैः।
गन्धपुष्पादिभिश्चैव पूजयेद् भक्तितत्परः।। १२/२६–२९।।
चन्द्रसम्भवमहाकाव्यम्, पृ. १६७।
[23]. कंसारापूपस्वाहालिशष्कुलिप्रभृतीनि च। नैवेद्यान्यर्पयेत्तत्र पूजायाञ्च विशेषतः।।
समाप्य पूजां तत्रैव हुनेदपि च सर्पिषा। पायसेन सहस्रं वा शतमष्टाधिकं तु वा।।
विसृज्य कुलदेवं तं कृत्वा प्रदक्षिणा ततः। कुलानि तानि संहत्य गृह्णीयुरभिषेककम्।।
पायशादिभिरन्नैश्च घृतपक्वादिभिस्तथा। ब्राह्मणान् भोजयेच्चापि भुञ्जीरन् ज्ञातयः स्वयम्।। १२/३०–३३।।
चन्द्रसम्भवमहाकाव्यम्, पृ. १६८।
[24]. मांसस्य भोजनं वज्र्यं तत्र सर्वात्मना सुतैः। अनेन विधिना ये तु प्रसन्नं कुर्वते पतिम्।।
तेषां कुलानि वर्धन्ते पशुभृत्यादिभिः सह। इह भोगान् शुभान् भुक्त्वाऽमुत्र चानुत्तमां गतिम्।।
कैलाशाख्यं परं धाम यद्वा योगीन्द्रवाञ्छितम्। कुलदेवप्रसादाच्च प्राप्नुवन्ति कुलोद्भवाः।।
तस्माच्छ्रीकुलदेवस्य प्राणैः कण्ठगतैरपि।
बुद्धिमद्भिर्न हातव्या परा पूजा महेशितुः।। १२/३४–३७।।
चन्द्रसम्भवमहाकाव्यम्, पृ. १६८।
[25]. आगत्य तत्रापि च कैरिनाम्नि ग्रामे पशव्ये सुजने सुपेये।
रम्ये निवासं कृतवन्त एते तस्थुर्गृहस्थाश्रमधर्मयुक्ताः।।
तद्ग्रामवासादुपनामयेयाः कैराल इत्येव हि ते प्रसिद्धाः।
तत्रत्यवश्याश्च तदेव नामवन्तो बभूवुश्च वयं ह्यभूम।। १३/१६,१७।।
चन्द्रसम्भवमहाकाव्यम्, पृ. १७३।