महेन्द्र भण्डारी[1] लेखसार ‘साहित्यिक सिर्जनात्मक विधाको स्वरूपगत साम्य–वैषम्य’ शीर्षकको प्रस्तुत लेखमा साहित्यका कविता, आख्यान, नाट्य र निबन्ध जस्ता साहित्यिक सिर्जनात्मक विधाका प्रमुख विधाको स्वरूप र ती विधाबिचको साम्य–वैषम्यको अध्ययन गरिएको छ। यस लेखमा साहित्यिक विधाको स्वरूप र साम्य वैषम्यको मापन गर्न सम्बन्धित विधाहरूको सैद्धान्तिक पर्याधार दिई त्यसका आधारमा निष्कर्ष निकालिएको छ। प्रस्तुत लेखका लागि आवश्यक […]
महेन्द्र भण्डारी[1]
लेखसार
‘साहित्यिक सिर्जनात्मक विधाको स्वरूपगत साम्य–वैषम्य’ शीर्षकको प्रस्तुत लेखमा साहित्यका कविता, आख्यान, नाट्य र निबन्ध जस्ता साहित्यिक सिर्जनात्मक विधाका प्रमुख विधाको स्वरूप र ती विधाबिचको साम्य–वैषम्यको अध्ययन गरिएको छ। यस लेखमा साहित्यिक विधाको स्वरूप र साम्य वैषम्यको मापन गर्न सम्बन्धित विधाहरूको सैद्धान्तिक पर्याधार दिई त्यसका आधारमा निष्कर्ष निकालिएको छ। प्रस्तुत लेखका लागि आवश्यक सामग्रीहरूको चयनमा सोद्देश्य मूलक नमुना छनोट विधिको प्रयोग गरिएको छ। यसमा साहित्यिक विधाहरूका सौन्दर्य र तत्त्वहरूका आधारमा निगमनात्मक र प्रचलित विभिन्न कृतिहरूको अवलोकन र पठनबाट प्राप्त सौन्दर्यानुभूतिका आधारमा आगमनात्मक विधिको प्रयोग गरिएको छ। प्रस्तुत लेखमा सिर्जनात्मक लेखनको स्वरूप, सिर्जनात्मक लेखन र साधारण लेखनबिचको भिन्नता तथा विभिन्न विधाहरूको स्वरूप प्रस्तुत गरी तिनीहरूबिचको साम्य–वैषम्य देखाइएको छ। त्यसबाट साहित्यका विधाअनुसार सिर्जनात्मक स्वरूप पनि फरक फरक रूपमा रहेका हुन्छन् र साहित्यका कविता, आख्यान, नाटक र निबन्ध मध्ये सिर्जनात्मक सौन्दर्यको उपस्थिति सबैभन्दा बढि कवितामा रहेको हुन्छ भने कविताभन्दा केही कम सौन्दर्य आख्यानमा रहेको हुन्छ। आख्यानमा भन्दा अभिनेयात्मकता प्रवल रहेका नाटकमा सिर्जनात्मक सौन्दर्य रहेको हुन्छ भने विचार प्रवल हुने निबन्धमा न्यून सिर्जनात्मक सौन्दर्यको उपस्थिति रहेको हुन्छ भन्ने निष्कर्ष प्रस्तुत निकालिएको छ।
शब्दकुञ्जी– सिर्जनात्मक लेखन, लेखनकला, सिर्जनात्मक सौन्दर्य, आख्यान।
विषयपरिचय
भावना, कल्पना र अनुभूतिको सम्मिश्रण गरेर लेखिने लेखन सिर्जनात्मक लेखन हो। यसमा मानवीय मानवीय भाव लिपिका माध्यमबाट अभिव्यक्त हुन्छ। यस्तो लेखन सिर्जनशील मानिसले मात्र गर्दछ। मानव सभ्यताको विकासका क्रममा ढुङ्गेयुगदेखि नै र मानिस ओढार वा गुफामा रहँदादेखि नै कुनै न रूपमा सिर्जनात्मक लेखन गर्दै आएको थियो। लिपिको आरम्भमा मानिसले वस्तुपरक वर्णनात्मक भाषाको प्रयोग गऱ्यो। त्यसबाट मानवले गुफामा आफूले देखेका वस्तु बुझाउनका लागि नै लिपिको प्रयोग आरम्भ गरेको हो। लेखनकलाको विकासपछि मानवले आफ्ना मनमा लागेका वा उत्पन्न भएका विभिन्न किसिमका भावहरूलाई चर्मपत्र, भोजपत्र, शिलापत्र आदिमा उतार्दै गयो। प्राचीनकालीन मानवले मौखिक रूपमा विकास गरेका लोकसाहित्यका कतिपय अंशलाई मानिसले ती भोजपत्रहरूमा उतार्दै गयो। मानव सभ्यताको पछिल्लो चरणमा आइपुग्दा भने सोही लेखनले सिर्जनात्मक लेखनको स्वरूप प्राप्त गऱ्यो। त्यसैले सिर्जनात्मक लेखन मानवीय व्यवहारको प्रयोजनका लागिभन्दा पनि भावानुभूतिको अभिव्यक्तिका लागि भयो। यस्तो सिर्जनात्मक लेखनका विभिन्न स्वरूपअनुसार तिनको स्वरूप पनि फरकफरक रहेको हुन्छ।
प्रस्तुत लेखमा सिर्जनात्मक विधाका स्वरूप र ती विधाबिचको समानता र भिन्नताको अध्ययन गरिएको छ। त्यसका लागि सिर्जनात्मक लेखनको अनेकन क्षेत्रहरूमध्ये साहित्यका मूलभूत चार विधालाई मात्र अध्ययनमा समेटिएको छ। सिर्जनात्मक विधा तथा उपविधा धेरै छन्। त्यसमध्ये मूलविधा भनेर कविता, आख्यान, नाट्य र निबन्धलाई मानिएको छ। त्यसैले यसलेखमा पनि कविता, आख्यान, नाटक र निबन्ध लेखन जस्ता सिर्जनात्मक लेखनको स्वरूप पहिचान गर्ने विषयलाई मात्र समेटिएको छ। सिर्जनात्मक लेखनको व्यापक क्षेत्र भएपनि सिर्जनात्मक सौन्दर्य कम हुने साहित्येतर लेखनलाई अध्ययनमा समेटिएको छैन। प्रस्तुत लेखनमा सिर्जनात्मक लेखनअन्तर्गतका मूल चारविधा कविता, आख्यान, नाटक र निबन्धको स्वरूप कस्तो हुन्छ र ती विधाबिचको स्वरूपगत साम्य–वैषम्य कस्तो हुन्छ भन्ने मूल समस्याको समाधान खोज्ने उद्देश्य राखिएको छ।
अध्ययन विधि
प्रस्तुत लेख दस्तावेज अध्ययन विधिमा आधारित छ। यो गुणात्मक ढाँचाको अध्ययन हो। यसमा पुस्तकबाट तथ्यहरू दिई तिनको वर्णन, तुलना र विश्लेषण गरेर निष्कर्ष निकालिएको छ। लेखमा सिर्जनात्मक लेखनलाई आधार मानेर यसको स्वरूप, विशेषता र क्षेत्रका बारेमा वर्णन र विश्लेषण गरिएको छ। यहाँ सिर्जनात्मक लेखनको अवधारणा प्रस्तुत गर्ने उद्देश्य भएकाले सिर्जनात्मक लेखन र अन्य लेखनबिचको भिन्नता र समानता, सिर्जनात्मक लेखनका विशेषताको अध्ययन गरिएको छ। यसमा सिर्जनात्मक लेखनको सौन्दर्यात्मक पक्षको अध्ययन गर्नका लागि सोद्देश्यमूलक नमुना छनोट पद्धतिअन्तर्गतको सोद्देश्यमूलक नमुना छनोट पद्धतिका आधारमा सिर्जनात्मक विधाहरूको अवलोकन गरी त्यसका स्वरूपका आधारमा सिर्जनात्मक लेखनका स्वरूपको पहिचान गरिएको छ। यसमा सामान्यतया सैद्धान्तिक विषयको चर्चालाई समेटिएकाले गुणात्मक अध्ययनलाई जोड दिइएको छ। त्यसका लागि सम्बद्ध विषयका पुस्तकहरूबाट तथ्यहरू लिई अध्ययनबाट प्राप्त निष्कर्षलाई विश्लेषणात्मक ढाँचामा प्रस्तुत गरिएको छ।
सैद्धान्तिक पर्याधार
प्रस्तुत लेखमा साहित्यिक विधाको रचना तत्त्व मानिएको सिर्जनात्मक लेखनलाई नै सैद्धान्तिक पर्याधार बनाइएको छ। यसमा सिर्जनात्मक लेखनका आधारहरू र तिनका सैद्धान्तिक मान्यतालाई नै सैद्धान्तिक पार्याधारका रूपमा लिइएको छ। साहित्यका कविता, आख्यान, नाट्य र निबन्धका विधागत सिद्धान्त नै यस लेखको सैद्धान्तिक पर्याधारका रूपमा रहेछन्। जीवनजगत्बाट प्राप्त अनुभूतिको भावनात्मक, रागात्मक र रसात्मक पक्षको अभिव्यक्तिगत हुने ‘‘कवितामा शीर्षक, संरचना, लयविधान, भाषाशैली, कथनपद्धति, केन्द्रीय कथ्य र त्यसका सन्दर्भ सामग्री तथा भावविधान, विम्बविधान तथा अन्य अलङ्करण–प्रविधि, व्यञ्जना, विधागत स्वरूप तथा आयाम (त्रिपाठी, २०६०, १७ ) जस्ता तत्त्वहरू रहेका हुन्छन्। जीवनजगत्मा भोक्ताले देखे, भोगे र अनुभूत गरेका सन्दर्भको आख्यानात्मक प्रस्तुति गर्ने ‘‘कथामा कथावस्तु, पात्र र चरित्रचित्रण, संवाद वा कथोपकथन, देश, काल र परिस्थिति, भाषा–शैली, उद्देश्य’’ (श्रेष्ठ, २०६६, ९) जस्ता तत्त्वहरू रहेका हुन्छन्। जीवनजगत्का व्यापकसन्दर्भको कलात्मक अनुकरण गरिने ‘‘नाटकमा विषयवस्तु, कथानक, पात्र तथा चरित्र, अभिनय, रङ्गमञ्च, संवाद तथा भाषाशैली, उद्देश्य जस्ता तत्त्वहरू’’ (थापा, २०५०, ६६) रहेका हुन्छन्। जीवनजगत्का विषयवस्तुप्रति स्रष्टाको अनुभूतिलाई प्रस्तुत गरिने ‘‘निबन्धमा विषयवस्तु, विषयवस्तु, उद्देश्य, भाषाशैली, दृष्टिविन्दु र शीर्षक जस्ता तत्त्वहरू पर्दछन्’’ (शर्मा, सन् १९५४, ५१६)। तत्त्वगत आधारमा हेर्दा सिर्जनात्मक लेखनका मूलविधाहरूका आ–आफ्नो विधागत तत्त्वहरू, विधाका सौन्दर्यकारकहरू, र उपविधाहरूको रचना विधान रहेको पाइन्छ। प्रस्तुत लेखमा ती सबैजसो विधाका सौन्दर्यकारक तत्त्वहरूलाई सैद्धान्तिक पर्याधार बनाइएको छ।
व्याख्या/विश्लेषण
प्रस्तुत लेखमा सिर्जनात्मक लेखनको स्वरूप, सिर्जनात्मक लेखन र साधारण लेखनबिचको भिन्नता, कविताको स्वरूप र कविता र अन्य विधाबिचको साम्य वैषम्य, आख्यानको स्वरूप र आख्यान र अन्य विधाबिचको साम्य वैषम्य, नाटकको स्वरूप र नाटक र अन्य विधाबिचको साम्य वैषम्य, निबन्धको स्वरूप र निबन्ध र अन्य विधाबिचको साम्य वैषम्य जस्ता विषयमा व्याख्या तथा विश्लेषण गरिएको छ र निष्कर्ष निकालिएको छ।
सिर्जनात्मक लेखनको स्वरूप
लेखनका तीनवटा प्रकारमध्ये एक प्रकारको लेखन हो, सिर्जनात्मक लेखन। सिर्जनात्मक लेखन अन्य लेखनहरूभन्दा छुट्टै र महत्त्वपूर्ण हुन्छ। यो अभिव्यक्ति, चिन्तन, व्यङ्ग्य र विलक्षण लक्ष्यार्थ सम्प्रेषणमा अत्यन्त शक्तिशाली हुन्छ। यो मानव मर्मलाई संवेदित तुल्याउने पक्षमा अत्यन्त तीव्रबोधक हुन्छ।
सिर्जनात्मक लेखन मानव जीवनको अनुभूतिको पहिलो लेखन हो। यस कारण यो मौलिक लेखन हो। प्रत्येक सिर्जना मौलिक हुन्छ। एउटा सिर्जना एउटै सर्जकले अर्को विषयमा लेख्दा वा एउटै विषयमा एकभन्दा बढी सर्जकले लेख्दा अलग–अलग हुने हुनाले सिर्जनाको एक महत्त्वपूर्ण विशेषता मौलिकता हो (पाण्डे, सन् २०१०, ५१)। स्रष्टा स्वतन्त्रोन्मुख भएर लेख्न मिल्ने लेखन हो सिर्जनात्मक लेखन। सिर्जनाकार्यमा लेखक मुक्त आवेग वा कल्पनामा उडेको हुन्छ। अनुभूतिमा सिर्जना हुने यो लेखन स्रष्टाको अनुभवजन्य संवेगबाट प्रकट हुन्छ। यसकारण सिर्जनात्मक लेखन अनुभवाश्रित लेखन हो। सिर्जनात्मक लेखन कल्पनामा आधारित भएर सिर्जना हुने लेखन हो। व्यक्ति/भोक्ताले यथार्थलाई भोगेर त्यसलाई कल्पनाको माध्यमबाट सुन्दर र आस्वाद्य बनाउने गर्दछ। त्यसकारण सिर्जनात्मक लेखन कल्पनागत लेखन हो। कलात्मक लेखन भन्नु नै सिर्जनात्मक लेखन हो। स्रष्टाले कुनै विषयलाई ग्रहण गरेर आफ्नो कला, सीप र चातुर्यले त्यस विषयलाई कलात्मक रूपमा प्रस्तुत गर्ने भएकाले सिर्जनात्मक लेखन कलात्मक लेखन भएको हो (पाण्डे, सन् २०१०, ५१)। समग्र जगत्का वस्तुहरू सिर्जनाको सीमित आयतनमा अपेक्षित र आनुपातिक ढङ्गले संश्लिष्ट भएका छन्। यसो गराउन सक्ने तत्त्व नै कलात्मकता हो। सिर्जनात्मक लेखन यथार्थसँग सम्बद्ध हुन्छ। समाजका आदिकालदेखि अनन्त कालसम्म मानवीय वास्तविकताहरू यसमा प्रयुक्त हुन्छन्। यसकारण एउटा सामाजिक परिघटनाको एकाइ हुन्छ। प्रत्येक सिर्जनात्मक लेखन सौन्दर्यपरक हुन्छ। सिर्जनात्मक कृतिले पाठकलाई सौन्दर्यसँग सम्बद्ध गराउँछ। सिर्जनात्मक लेखन शक्तिशाली रचनाकला हो। यसले पाठकमा अविस्मरणीय छाप पार्दछ। त्यसैले पनि विश्वनाथले ‘‘रसात्मक वाक्यलाई काव्य’’ (शर्मा र लुइँटेल, २०६७, ५) भनेका छन्। यसको अर्थ पनि काव्यमा रसात्मकता वा सिर्जनात्मक सौन्दर्य बढी हुन्छ भन्नु हो। सिर्जनात्मक लेखन आह्लादपूर्ण पठनका लागि लेखिन्छ र यसले भावक र पाठकका मनमा आनन्दको आभिर्भाव गराउँदछ। यसको पठनमा बौद्धिकता कम र हार्दिकता बढी अनुभव हुन्छ। सिर्जनात्मक लेखनमा विचलनयुक्त भाषाको प्रयोग गरिन्छ। विचलनयुक्त भाषाका माध्यमबाट कालको व्यतिक्रम, प्रयुक्तिगत विविधता, शैली र प्रस्तुतिका विविधता आदिले भाषाको स्वरूपमै विविधता स्थापित गराएको हुन्छ। यसमा वैयक्तिक दृष्टिकोण रहेको हुन्छ। शैलीगत विविधता पनि सिर्जनात्मक लेखनको विशेषता हो।
प्रकृति र जगत्मा अनन्त वस्तुहरू छन्। लेखनका क्रममा ती वस्तुलाई पहिले कहिल्यै पनि त्यसरी नलेखिएको ढङ्गमा रचना गर्नु सिर्जना हो। पहिले त्यस्तै वस्तु रचिएको नहुनाका कारणले प्रत्येक सिर्जनालाई नवीन र नित्य मानिन्छ। त्यसैले सिर्जना मौलिक अद्वितीय सिर्जना हो। यस्तो सिर्जना उपर्युत्त, विशेषतायुक्त हुनु पर्दछ। यसैलाई जगन्नाथले सिर्जनात्मक ‘‘लेखनमा रमणीय अर्थ प्रतिपादन गर्ने क्षमता हुन्छ’’ (शर्मा र लुइँटेल, २०६७, ५) भनेका छन्। यस्तो विशेषतायुक्त रचना नै उत्तम रचना भएकाले उत्तम रचना सिर्जना गर्न उपयुक्त विशेषताले युक्त हुनुपर्दछ। यिनै मूलभूत कुराहरू सिर्जनात्मक लेखनका विशेषता हुन्।
सिर्जनात्मक लेखन र साधारण लेखनबिचको भिन्नता
लेखनका तीनवटा तह छन्, सामान्य, बौद्धिक र सिर्जनात्मक। यी लेखनका पहिचान वा विशेषताहरू एवम् क्षेत्र अलग–अलग भएकाले यिनीहरूबिच लेखनगत मौलिक भिन्नताहरू देखिन्छन्।
सामान्य लेखन अरू लेखनभन्दा निम्न सौन्दर्य भएको लेखन हो। दैनिक जीवनको काम चलाउन गरिने लेखन कार्यलाई सामान्य लेखन भनिन्छ। यस किसिमको लेखनले विचार विनिमय र व्यवहारलाई सरल तुल्याउँछ। यसलाई व्यवहारपरक लेखन भने पनि हुन्छ। सामान्य लेखनको मुख्य पहिचान नै व्यावहारिकता हो। त्यसैले यसलार्ई व्यवहारपरक लेखन भने पनि हुन्छ…‘‘सामान्य लेखन अभिधात्मक हुन्छ’’ (सुवेदी, २०६४, ११)। यो सपाट र सादा अर्थ अभिव्यक्त गर्ने तहको हुन्छ। सरल पदावली र सामान्य औपचारिक सङ्कलन विधिमा प्रस्तुत हुने भाषिक रूप नै सामान्य लेखनको धर्म हो। लेखनका तहहरूमध्ये यो लेखन बहुप्रयुक्त र व्यापक क्षेत्र समेट्ने लेखन हो। प्रत्येक साक्षर व्यक्ति यस्तो खालको लेखनकार्यमा सक्षम हुन्छ भने विचार विनिमय गर्नु पर्दा मानवले यसै लेखनको प्रयोग गर्दछ। यस लेखनमा भाषाको स्वरूप पनि सामान्य हुन्छ। यो लेखन आभ्यासिक लेखन हो। यो लेखन मानवजीवनका व्यापकतम क्षेत्रमा फैलिएको र अभिव्यक्ति सम्प्रेषणीयताको मूल स्तम्भ बनेको छ भने यसको विपरीत सिर्जनात्मक लेखन अभिव्यक्ति, चिन्तन, व्यङ्ग्य विचक्षण र लक्ष्यार्थ सम्प्रेषणमा अत्यन्त शक्तिशाली हुन्छ। मानव मर्मलाई संवेदित तुल्याउने पक्षमा यो अत्यन्त तीव्र हुन्छ। यो लेखन सीमित स्वभावको हुन्छ। यसलाई मान्छेले विशेष अवस्थामा प्रयोग गर्दछ। प्रत्येक साक्षर व्यक्ति यस लेखनको उचाइमा पुग्न सक्दैन। यस लेखनका लागि विचलनयुक्त कलात्मक भाषाको प्रयोग गरिन्छ। यो अभिधार्थबाट विचलित हुन्छ। अनुभूतिमा सिर्जना हुने यो लेखन स्रष्टाको अनुभवजन्य संवेगबाट प्रकट हुन्छ। यो लेखन कल्पनामा आधारित लेखन हो। व्यक्तिगत यथार्थलाई समग्र भोक्ताको यथार्थता प्रदान गर्ने कार्य कल्पनाले गर्दछ। यस्तो सिर्जनात्मक लेखनमा विचलनयुक्त, विशिष्ट, आलङ्कारिक भाषाको प्रयोग हुन्छ। सिर्जनात्मक लेखन सौन्दर्यपरक हुन्छ। सिर्जनात्मक लेखनमा सूक्ष्म तथा अमूर्त प्रस्तुतीकरण गरिएको पाइन्छ। यसमा शैलीगत विविधता वा अनेक प्रकारका शैलीको प्रयोग हुन्छ।
कविताको स्वरूप
कविता लेखन सिर्जनात्मक लेखनको उच्चकला प्रस्तुत हुने विधा हो। यसमा कविको भाव, अनुभूति तथा शिल्प सिर्जना पनि सबैभन्दा बढी मात्रामा प्रस्तुत भएको हुन्छ। भावना र अनुभूतिभित्र कविका सुख, दुःख, हर्ष, विलाप, स्थायित्त्व, चञ्चलता, प्रेम, पलायन जस्ता दीर्घकालिक वा तात्कालिक विरोधाभासी भावहरूको प्रचुर उपस्थिति रहेको हुन्छ। त्यसैले कविता अनुभूति प्रधान हुन्छ। कविका भाव तथा अनुभूतिहरूलाई कविले मन्द वा प्रबल सङ्गीतात्मक लयढाँचाको प्रयोग गरेको हुन्छ। कवितामा लयको जोडदार उपस्थिति हुने भएकाले त्यसको भाषाले न्यून मात्रामा व्याकरणिक नियमहरूको पालना गरेको हुन्छ। यसले परम्परित व्याकरणिक नियमहरूको उल्लङ्घन गरेर आलङ्कारिक वा भग्न क्रमलाई अँगालेको हुन्छ। यसरी भग्नक्रम वा आलङ्कारिक काव्य ढाँचालाई अङ्गाल्ने भएकाले कवितामा कलात्मकता अधिक देखिन्छ। त्यसैले साहित्यका अरू विधाभन्दा बढी मात्रामा सिर्जनात्मक सौन्दर्यको प्रयोग हुने विधा कविता नै हुन जान्छ (सिंहल, सन् २०१८, ३४ )। कविता लेखनमा भावको प्रवाहसँगै लयदार सङ्गीतात्मकताको प्रयोग भएको हुन्छ जसले गर्दा भावको उतारचढाव बढी मात्रामा हुन्छ। कवितामा प्रयोग हुने यही लय र सङ्गीतात्मकताको सबल प्रयोगले भावकलाई बढी आकर्षित गर्दछ र कविताका भावक अरू विधाका भन्दा बढी हुन्छन्। त्यसैले कविताले साझा भावको उठान गर्दछ। कवितामा लयमार्फत् प्रस्तुत हुने र भाव तथा कलासँगै आउने भएका कारणले कविता पढ्न तथा गाउन पनि मिल्दछ।
कवितामा प्रस्तुत हुने लयअन्तर्गत गद्य र पद्य दुई किसिमका परम्परित धाराहरू रहेका छन्। लय सबल भएको कविता गीततिर नजिकिन्छ भने लय सबल नभएको कविता भने कविताकै रूपमा रहन्छ र उसको भाव निबन्धसँग नजिक हुन जान्छ।
कवितामा अर्थलाई ओजस्वी बनाउनका लागि अनुप्रास, बिम्ब, प्रतीक आदिको सहयोग लिएको हुन्छ। बिम्ब, प्रतीक र अलङ्कारले कविताको अर्थ क्षमतालाई सबल रूपमा प्रस्तुत गरेको हुन्छ (सिंहल, सन् २०१८, ३३)। यसलाई बुनोट पनि भनिन्छ। कवितामा विषयवस्तु मुख्य भए पनि पठन र भावनका क्रममा विषयवस्तु गौण भएजस्तो हुन्छ। त्यसैले कविताको भावकले लय र रससँग साइनो गाँस्दछ।
लय र रसभाव कविताका मूल परिचायक तत्त्व भएका कारणले कविले आफ्नो अनुभूति अनुकूल लय र रस भावको प्रयोग गर्ने भएका कारणले कविताको आस्वादन अलग किसिमको हुन्छ। त्यसैले एउटै कविले लेखेका फरक फरक समयका कविताहरू पनि किसिम किसिम र स्वादका हुन्छन्। कवितामा अनेक किसिमका भावहरू तुरुन्तै आउने र तुरुन्तै बिलाउने भएका कारणले अनुभूतिको तीव्र उच्छालमा कविता लेख्ने गरिन्छ।
कविताले आख्यानीकरण नपाउँदासम्म कविताको सिर्जनात्मक सौन्दर्य सबैभन्दा बढी हुन्छ। जब यसमा आख्यानीकरणले प्रवेश पाउँछ तब कविताको अनुभूति, भाव र रागात्मक सौन्दर्य कम हुँदै जान्छ। त्यसैले कवितालाई दिव्य सौन्दर्ययुक्त सिर्जना मान्न सकिन्छ। कविताले आफ्नो विशिष्ट सौन्दर्य प्रदान गर्न लघुदेखि मध्यम आयामसम्मको फैलावटको माग गरेको हुन्छ। लघु आयमको कवितामा भावगत सौन्दर्य अधिक हुन्छ। मुक्तक वा लघुआयामको कवितामा भावको उच्च सौन्दर्य हुन्छ भने कविताले लामो आयाम लिँदै जाँदा आख्यानले प्रवेश पाउँछ। कविताभित्रको आख्यान झिनो रूपमा विकसित भएको हुन्छ र त्यसले विधागत सौन्दर्य उच्च उच्च बनाउँदै लैजान्छ र रसात्मक हुन्छ। सुन्दर कविता विशिष्ट सौन्दर्ययुक्त हुने भएकाले यसको रसात्मकता पनि बढी हुन्छ। यही भावलाई बुझेर नै आचार्य विश्वनाथले वाक्यं रसात्मकं काव्यम् (विश्वनाथ, सन् १९८१, १६) भनेका हुन्।
कविले बढी परिश्रम नगरी स्वतःस्फूर्त रूपमा स्फुरण भएको भाव जब लयात्मक रूपमा प्रस्तुत गर्दछ त्यति बेला सिर्जनात्मकता बढी हुन्छ। त्यसपछि संशोधन गर्दा मात्र त्यसमा कला सौन्दर्यलाई थप गर्ने गरिन्छ। कविताको मूलमा रस/भाव/अनुभूति रहन्छ भने त्यसलाई अभ, तिक्खर बनाई आवरणात्मक सौन्दर्य प्रदान गर्नका लागि अलङ्करणको प्रयोग गरिन्छ। त्यसैले कविताको मूल सम्प्रेष्य तत्त्व रस/भाव/अनुभूति नै हुन्छ।
कविता र अन्य विधाबिचको साम्य–वैषम्य
सौन्दर्यत्मक उपस्थितिका आधारमा कविता र अन्य विधाबिचको साम्य वैषम्यलाई यसक्रममा तालिमामा देखाउन सकिन्छ :
तालिका १, कविता र अन्य विधाबिचको साम्य वैषम्य
| कविताका सौन्दर्यात्मक तत्त्व | कविता | आख्यान | नाटक | निबन्ध |
| लय वा सङ्गीत | सबैभन्दा बढि र उच्च हुने | लय न्यून हुने | पद्यलयमा लेखिएका नाटकमा कवितात्मक राग हुने र नाटकमा पाश्र्व सङ्गीत र गीतितत्त्व मध्यम हुने | आत्मकपरक निन्बन्धमा गद्य लयात्मक सौन्दर्य बढि हुने तर वस्तुपरक निबन्धमा यस्तो कला नहुने |
| अलङ्करण | लयात्मक सौन्दर्य बढाउन अनुप्रास, बिम्ब, प्रतीकको प्रयोगद्वारा उच्च अलङ्करणको प्रयोग | अलङ्करणको न्यूनता हुने | पद्य भाषाको प्रयोग भएपनि त्यसमा सामान्य अलङ्करणको प्रयोग | अलङ्करणको सामान्य न्यूनता, सहजरूपको अलङ्करण आयोजना
|
| भाव वा रस | उच्च आस्वाद्य, विभाव, अनुभाव, व्यभिचारी भावको समुचित विकास र चाँडो रसास्वादन | उच्च आस्वाद्य, विभाव, अनुभाव, व्यभिचारी भावको समुचित विकास र रसास्वादनभन्दा कौतुहलको प्रबलता | सामान्य आस्वाद्य, विभाव, अनुभाव, व्यभिचारी भावको समुचित विकास र रसास्वादन सँगै कौतुहलको प्रवलता अधिक | विभाव, अनुभाव, व्यभिचारी भावको न्यूत विकास र रसास्वादनमा शुष्कता, विचारको अधिकता
|
| प्रस्तुति | उच्च गेयात्मकता वा सङ्गीतात्मकता | न्यून वा शून्य गेयात्मकता | पद्य भाषाको प्रयोग भएपनि न्यून गेयात्मकता, गेयात्मकताभन्दा भिन्न पाश्र्व सङ्गीतको प्रयोग | न्यून वा शून्य गेयात्मकता |
कविताको रचना सौन्दर्य तत्त्वसँग अन्य विधाहरूको तुलना गर्दा लय वा सङ्गीत तत्त्वका आधारमा कविता अरू विधाभन्दा उच्च लयात्मक र उच्च सौन्दर्यात्मक हुने र त्यसभन्दा कम नाटकमा र निबन्धमा हुन्छ भने आख्यानमा चाहिँ न्यून लयात्मकताको प्रयोग हुन्छ। यस आधारमा हेर्दा कवितामा उच्च लयात्मकता हुने देखिन्छ। कवितामा अनुप्रास, बिम्ब, प्रतीक जस्ता अलङ्करणको प्रयोगले उच्च सौन्दर्य प्रदान गरिएको पाइन्छ भने आख्यान र नाटकमा बिम्ब प्रतीक तथा अलङ्कारको न्यून प्रयोग गरिएको हुन्छ। तर निबन्धमा भने कविताभन्दा न्यूनमात्रामा अलङ्करणको प्रयोग गरिएको हुन्छ। भाव वा रसास्वादनको अवस्थाका आधारमा पनि कवितामा रसका अङ्गहरूको चाँडै पुष्टता हुन्छ भने आख्यान र नाटकमा कौतुहलतासँगै रसास्वादन हुन्छ तर निबन्धमा रसास्वादनको अवस्था नहुने देखिन्छ। प्रस्तुतिका आधारमा हेर्दा कविता उच्च गेयात्मक हुने र नाटकमा न्यून गेयात्मकता हुने देखिन्छ भने आख्यान र निबन्धमा शून्य गेयात्मकता पाइन्छ। यसरी हेर्दा लय, सङ्गीत, अलङ्करण, भाव वा रस, प्रस्तुतिका आधारमा कविता अरू विधाभन्दा उत्कृष्ट विधा देखिन्छ।
आख्यानको स्वरूप
आख्यानको मूल उद्देश्य कौतूहल जागृत गर्नु रहेको हुन्छ। कुनै पनि घटनालाई अत्यन्त कौतूहलमय बनाई अन्तिमतिर लैजाने काम आख्यानमा हुन्छ। यसका लागि सरल, सहज, सर्वबोध्य भाषाको प्रयोग गरिन्छ। कठिन भाषाशैलीमा कौतूहल जागृत हुँदैन। भावक पाठकले विषयवस्तुलाई सजिलै ग्रहण गर्न सक्ने किसिमको हुनका लागि सरल, काव्यात्मक र सपाट सौन्दर्यपूर्ण गद्यभाषाको प्रयोग गरिन्छ। यसमा गद्यभाषामा घटनाका कथानकीय शृङ्खला आबद्ध गरी घटनालाई कौतूहलपूर्ण बनाइएको हुन्छ। आख्यानमा आख्यानकारले विषयवस्तु सोझै राख्न पाउँदैन। यसलाई पात्रको चरित्र र तिनको संवाद, स्मृति, कल्पना, आत्मालाप, वर्णन आदिका माध्यमबाट विषयवस्तुलाई आख्यानीकरण गरिएको हुन्छ (सिंहल, सन् २०१८, ४७)। यसरी आख्यानीकरण गर्दा भावकले विषयवस्तुलाई गौण बनाई पात्रको चरित्र र तिनको कार्यव्यापारका उतार चढावलाई चाहिँ बढी महत्त्वको बनाएको हुन्छ। यसरी भावकले कथाका पात्रसँग अव्यक्त साइनो गाँसेको हुन्छ चाहे त्यो सकारात्मक होस् वा नकारात्मक। सकारात्मक भयो भने भावक वा पाठकले आख्यानको पात्र नै मै हो भन्ने अनुभव गर्छ र ऊ त्यसमा डुबेर आख्यानको घटनासँगै अगाडि बढ्छ। यसरी अगाडि बढ्दा उसभित्रको कौतूहल पनि चरम चरम हुँदै जान्छ। त्यस बेला ऊ त्यही भावावेगमा चुर्लुम्म डुब्छ।
कथाको मूल बीज विषयमा रहन्छ। त्यस मूल बीजलाई विभिन्न किसिमका आरोह अवरोहहरूद्वारा चरम उत्कर्षमा पु¥याउने काम पात्रहरूले गर्दछन्। कथाका पात्रहरूको चरित्र तथा तिनको व्यवहारबाट कथानक निर्माण हुन्छ र सोही कथानकबाट शृङ्खलाबद्ध किसिमले कौतूहल सिर्जना हुँदैजान्छ। कथाका पात्रहरू जति सङ्कटमा पर्दै गए, त्यति नै पाठक वा भावकमा कौतूहल सिर्जना हुन्छ।
कुनै बेला कथाको कथानक आलेखमा अगाडि बढेको हुन्छ भने कुनै बेला कथानक निश्चित बिन्दुको वरिपरि घुमिरहेको हुन्छ। कतिपय अवस्थामा भने कथानक एउटा निश्चित बिन्दुबाट पूर्वस्मृतिद्वारा पछाडि बगेको हुन्छ तर जुनसुकै अवस्थामा पनि कथानक एक निश्चित बिन्दुबाट अरू बिन्दुतर्फ कौतूहल सिर्जना गर्दै अगाडि बढेको हुन्छ (गौतम, सन् २००८, २८)। एउटा निश्चित बिन्दुबाट अगाडिपट्टि शृङ्खलित रूपमा बगेको कथानकमा घटनाद्वारा कौतूहलको सिर्जना बढी मात्रामा गरिएको हुन्छ। एउटा निश्चित बिन्दुको वरिपरि घुमेको कथानकमा चाहिँ ती पात्रहरूको अन्तर मनोदशा प्रस्तुत गरिएको हुन्छ।
कथामा वास्तविकतालाई कल्पनाका माध्यमबाट रोचक बनाइएको हुन्छ। कथामा कथानकको विकासका क्रममा निश्चित बिन्दुहरू आउँदछन्। त्यस्ता बिन्दुबाट पाठकमा अब के हुन्छ होला भन्ने जिज्ञासा जागृत हुन्छ। कथामा जति मात्रामा त्यस्ता जिज्ञासायुक्त गाँठाहरू राखियो त्यति नै कथा प्रभावकारी बन्दछ (गौतम, सन् २००८, २८)। त्यसका लागि कथाको भाषा पनि सरल र प्रभावकारी हुनुपर्दछ। सरल र प्रभावकारी भाषाका माध्यमबाट चाँडो कौतूहल सिर्जना हुन्छ। कौतूहल सिर्जना गर्नका लागि पात्र पात्रबिचको अन्तर संवाद र द्वन्द्वले विशेष भूमिका खेलेको हुन्छ। कथामा पाठकले घटनाको विकासक्रम मात्रै खोजेको हुँदैन उसले त त्यसमा कतिको कौतूहल रहस्यात्मकता भयो भन्ने कुराको खोज गर्दछ। घटनाको विवरण त समाचारमा हुन्छ तर समाचारले कथाको काम गर्दैन किनकि समाचारमा कल्पनाद्वारा कौतूहलको सिर्जना गरिएको हुँदैन। कथाभित्र द्वन्द्वको सिर्जना गर्ने, निश्चित निश्चित बिन्दुहरूमा अब के हुन्छ होला भन्ने जिज्ञासा जगाउने काम पात्रको चरित्रले गर्दछ।
कथामा पात्रले निश्चित पृष्ठभूमि लिएको हुन्छ। पात्रले लिएको पृष्ठभूमिका र उसको स्वभावका आधारमा पाठकले उसप्रति व्यवहार देखाउँछ। तिनै पात्रको चरित्रमा पाठकले आफ्नो चरित्रको प्रत्यारोपण गर्दछ तर उसलाई मैले यसका पाठकप्रति आफू चरित्र प्रत्यारोपण गरेको छु भन्ने पनि थाहा हुन्न। त्यस बेलामा उसले पात्रको भाव र आफ्नो भाव एउटै भएको छ। यसरी साझा भाव जागृत हुँदा कथाको पात्रलाई दुःख पर्दा पाठकले पनि दुःखको महसुस गर्छ। कथाको पात्रको यात्रा सम्पन्नतातर्फ गयो भने भावुकले पनि आफूलाई सम्पन्नतातर्फ महसुस गर्दछ। तिनै पात्रहरूको चलचित्रले कथामा कौतूहल सिर्जना गर्दछ।
आदि, मध्य र अन्त्यको गरी तीन भाग हुन्छन्। कथाको मध्य भागमा कौतूहलको मात्रा अत्यधिक हुन्छ भने अन्तिम भागमा पुग्दा कौतूहल अभ, उच्चतातर्फ गइरहेको हुन्छ। आजभोलिका कतिपय कथामा चरम कौतूहल सिर्जना गर्न कथानकको मध्य भागमा नै कौतूहलमय तरिकाले कथाको अन्त्य पनि गरिन्छ।
आख्यान र अन्य विधाबिचको साम्य वैषम्य
आख्यानको सौन्दर्यात्मक तत्त्वका आधारमा आख्यान र अन्य विधाबिचको साम्य–वैषम्यलाई यसक्रममा तालिकामा देखाउन सकिन्छ :
तालिका २, आख्यान र अन्य विधाबिचको साम्य वैषम्य
| आख्यानका सौन्दर्यात्मक तत्त्व | आख्यान | नाटक | कविता | निबन्ध |
| कौतूहल | अधिक कौतूहल, आरम्भमा कौतूहलको बीजारोपण हुने र आख्यानान्तमा पुग्दा कौतूहलले चरम सीमाबाट अवरोहको अवस्थामा जाने, पात्रको चरित्रले कौतूहल सिर्जना र विकास गर्ने | बढि कौतूहल, आरम्भमा कौतूहलको बीजारोपण हुने र आख्यानान्तमा पुग्दा कौतूहलले चर सीमाबाट अवरोहको अवस्थामा जाने यसमा अभिनयले कौतूहल सिर्जना र विकास गर्ने | सामान्य कौतूहल, लघु कवितामा शून्य कौतूहल हुने, आख्यानीकृत कवितामा झिनो कौतूहल हुने | शून्य कौतूहल, आख्यानकीरण नभए पछि कौतूहल पनि शून्य हुने तर नियात्रामा भने झिनो, कौतूहल हुने
|
| कथानकको विकास | अधिक सबल | सबल | न्यून | शून्य |
| पात्रीकरण | पात्रको मूल भूमिका हुने र पात्रको अनुभवात्मक वा वर्णनात्मक उपस्थिति | पात्रको मूल भूमिका हुने अभिनयका लागि पात्रको प्रत्यक्ष उपस्थिति | पात्रको सामान्य भूमिका | पात्रको न्यून भूमिका |
| परिवेश | कार्यपीठिकाका रूपमा रहने र सम्पूर्ण घटना सोही परिवेशमा घट्ने | परिवेश रङ्गमञ्चका रूपमा रूपान्तरित भई त्यसको पछि परिवेश निर्माण हुने | कार्यपीठिकाका रूपमा रहने र समपूर्ण भावको उत्तेजकका रूपमा रहने | कार्यपीठिकाका रूपमा रहने र समपूर्ण विचारको उत्तेजकका रूपमा रहने
|
| समाख्याता | आख्यानको प्रमुख सञ्चालकको भूमिकामा रहनु र आख्यान कथन गर्नु | समाख्याताको भूमिका अति न्यून हुनु | समाख्याता कविका रूपमा रहनु र कविता कथन गर्नु | समाख्याता बौद्धिक रूपमा उपस्थित हुनु
|
आख्यानको सौन्दर्यात्मक तत्त्व मध्येको कौतूहलका आधारमा हेर्दा आख्यानमा सबैन्दा बढि कौतूहल रहेको पाइन्छ भने आख्यानभन्दा केही कम नाटकमा र कविता र निबन्धमा न्यून कौतूहलको प्रयोग हुने देखिन्छ। कथानको विकास आख्यानमा अधिक सवल, नाटकमा सबल हुन्छ भने कविता र निबन्धमा शून्य हुन्छ। पात्रीरणमा आख्यानमा समाख्याताद्वारा र नाटकमा पात्र स्वयं अभिनयका लागि उपस्थिति हुने देखिन्छ भने कविता र निबन्धमा पत्रको भूमिका सामान्य र न्यून देखिन्छ। आख्यानमा कार्यपीठिकाका रूपमा परिवेश रहने, नाटकमा रङ्गमञ्चका रूपमा रहने, कवितामा भावको उत्तेजकका रूपमा रहन्छ भने निबन्धमा विचारको उत्तेजकका रूपमा परिवेश रहने गर्दछ।
नाटकको स्वरूप
नाटक कथाभन्दा कम सिर्जनात्मक सामर्थ्य भएको विधा हो। नाटक अभिनयात्मक पद्धतिद्वारा प्रस्तुत हुने विधा हो। त्यसैले नाटकमा लेखक र पात्रका दुई थरी कार्यात्मक भूमिका रहेका हुन्छन्। बाहिर देखिँदा नाटकमा लेखकको भूमिका गौण रहेको हुन्छ भने पात्रको भूमिका प्रत्यक्ष रहेको हुन्छ। कथामा भन्दा नाटकमा पात्रको भूमिका अधिक हुन्छ। कथामा समाख्याताको भूमिकामा लेखक उपस्थित हुन्छ। सबै पात्रहरूको सञ्चालक पनि समाख्याता नै हुन्छ। नाटकमा पात्रहरूले अभिनयद्वारा आफ्नो चरित्र प्रस्तुत गर्दछन्। त्यसैले नाटकका पात्रलाई अनुकर्ता पनि भनिन्छ। अनुकर्ताका क्रियाकलाप संवाद, आलाप, एकालाप आदिबाट नाटकको सिर्जना भएको हुन्छ।
नाटकमा अनुकर्ताले जीवन जगत्मा सम्भव हुन सक्ने वा नसक्ने दुवै किसिमका विषयलाई अनुकरण गरी रङ्गमञ्चमा प्रस्तुत गर्दछन्। त्यस्ता अनुकर्ताहरूले अभिनयमार्फत घटना वा वस्तुको अनुक्रिया कार्यबाट पुन, प्रत्यावर्तन गर्दछन् (गौतम, सन् २००८, ३०)। त्यसरी अभिनय गर्दा वास्तविक घटनाभन्दा अनुक्रियात्मक घटना वा विषय भव्य हुन्छ।
नाटकमा अनुक्रियात्मक कार्यद्वारा हात, पाउ, अनुहार जस्ता अवयवहरू सञ्चालन गरेर, बोलीका क्रिया र प्रतिक्रिया गरेर, मानसिक भावको अनुकरण गरेर तथा वस्त्राभूषणहरूको अनुकृति गरेर अभिनय गरिन्छ। नाटकमा चारै किसिमका अनुकरणद्वारा पात्रले विशिष्ट अवस्थाको सिर्जना गर्दछ। त्यस्तो अनुक्रियाबाट भाव वा दर्शकमा रहेको विभिन्न भावविशेषको जागृति हुन्छ। नाटकमा पात्रहरूले आफ्नो जीवनको वासनाबाट आफूलाई अर्को भूमिकामा रूपान्तरण गर्दछन् र त्यस्तो अवस्थामा भावक वा दर्शकमा रहेको भाव जागृत हुन्छ। सामान्य जीवनका व्यक्तिभन्दा नाटकमा अनुक्रियात्मक कार्यका लागि आएका पात्रहरू भव्य हुन्छन्। ती पात्रका कार्य, लवाइ, हावभावबाट दर्शकमा रहेको भाव जागृत हुन्छ।
नाटकमा दर्शक र भावकलाई एक अर्कामा जोड्ने कडीका रूपमा भाव रहेको हुन्छ। नाटकको उद्देश्य पनि दर्शक वा भावकमा रहेको भावलाई शान्त पार्नु रहेको हुन्छ। भावलाई उत्कर्षतिर लैजानका लागि विशेष स्थान, समय तथा पर्यावरणको आवश्यकता हुन्छ। नाटकमा यस्तो पर्यावरण होओस् भन्नका लागि रङ्गमञ्चको व्यवस्था गरिएको हुन्छ (गौतम, सन् २००८, ४७)। रङ्गमञ्चमा पात्रले जुन अभिनय गर्छन् त्यसले दर्शकको भावलाई झन् उत्तेजित बनाउँछ। अझ त्यसमा पात्रले आफ्नो उद्देश्य प्राप्तिका लागि गरेको सङ्घर्षले दर्शक वा भावकको मनलाई झनै उत्तेजित बनाउँछ। त्यस अवस्थामा दर्शकमा अनेक किसिमका छटपटीका भावहरू सिर्जित हुन्छन्। ती छटपटीजन्य भावहरू भने धेरै बेर रहन सक्दैनन्। तर ती भावले भावक/दर्शकको मूल भावलाई उकास्न मद्दत गरिरहेका हुन्छन्। त्यसैले पूर्वीयहरूले यस्तो क्षणिक रूपमा उत्पन्न हुने तर मूल भावलाई ‘सहचारी भाव’ भनेका छन्। नाटकका पात्र तिनले अर्का पात्रसँग गरेका संवाद वा व्यवहारले पात्र पात्रबिच द्वन्द्व सिर्जना हुन्छ। नाटकमा पात्रहरूले आफ्नो लक्ष्य प्राप्त गर्नका लागि सङ्घर्ष गर्दा उनीहरूबिचको द्वन्द्व झनै बढ्दै जान्छ। पात्रहरूबिच जति द्वन्द्व बढ्दै जान्छ भावक वा दर्शकमा अवस्थित भाव पनि झनै उत्कर्षतिर जान्छ। यसरी नाटकका पात्रका चरित्र, परिवेश र पात्र पात्रबिच भएका द्वन्द्व आदिले दर्शक/भावकमा भएको भाव चरमोत्कर्षमा पुग्छ।
नाटकमा कवितामा जस्तो उच्च सिर्जनात्मकता हुँदैन किनकि यसमा आख्यानात्मकता, द्वन्द्व, रङ्गमञ्चीय व्यवस्था आदिमा ख्याल गर्नुपर्ने भएकाले नाटककारले आफ्नो सिर्जनात्मक सामर्थ्यको पूर्ण प्रयोग गर्न बाधा बेहोर्नु पर्नेहुन्छ। यसको अर्थ सिर्जनालाई नियमले अवरोध गर्दछ। त्यसैले नाटकमा कविता र आख्यानमा भन्दा बढी नियममा बाँधिनु पर्ने भएकाले सिर्जनात्मक लेखनको आरेखमा नाटक केही तल्लो स्तरमा झरेको हुन्छ।
नाटक र अन्य विधाबिचको साम्य वैषम्य
नाटकको सौन्दर्यात्मक तत्त्वका आधारमा नाटक र अन्य विधाबिचको साम्य वैषम्यलाई यसक्रममा तालिकामा देखाउन सकिन्छ :
तालिका ३, नाटक र अन्य विधाबिचको साम्य–वैषम्य
| नाटकका सौन्दर्यात्मक तत्त्व | नाटक | आख्यान | कविता | निबन्ध |
| अभिनय | कायिक, वाचिक, सात्त्विक र आहार्य गरी चारै किसिमका अभिनयको सबल प्रयोग हुनु | संवादका रूपमा वाचिक अभिनयको मात्र सामान्य प्रयोग हुनु | वाचिक अभिनयको अति न्यून प्रयोग | शून्य प्रयोग |
| द्वन्द्व | अतिउच्च पात्रपात्रबिचको बाह्य र पात्रभित्रको र आन्तरिक द्वन्द्वजन्य परिस्थितिलाई दर्शक/श्रोता/पाठकले प्रत्यक्ष देख्नु वा अनुभव गर्नु | उच्च पात्रपात्रबिचको बाह्य र पात्रभित्रको र आन्तरिक द्वन्द्वजन्य परिस्थितिलाई श्रोता/पाठकले परोक्ष रूपमा अनुभव गर्नु | न्यून आख्यानात्मक काव्यमा मात्र द्वन्द्व हुनु र द्वन्द्वले भावकलाई उद्वेलित नगर्नु | शून्य |
| रङ्गमञ्च/सज्जा | अनिवार्य हुनु, रङ्गमञ्चमा नट नटीले अभिनय गर्नु | रङ्गमञ्च अपरोक्ष भई परिवेशका रूपमा रहनु र पात्रहरूले आफ्नो चरित्र प्रस्तुत गर्नु | रङ्गमञ्च अपरोक्ष भई परिवेशका रूपमा रहनु र कविले त्यसबाट भावको उद्भावन गर्नु | रङ्गमञ्च अपरोक्ष भई परिवेशका रूपमा रहनु र निबन्धकारले आफ्नो बौद्धिकता प्रस्तुत गर्ने पृष्ठभूमिका रूपमा लिने |
| पात्रीकरण | पात्रको मूल भूमिका हुने अभिनयका लागि पात्रको प्रत्यक्ष उपस्थिति हुनु | पात्रको मूल भूमिका हुने र पात्रको अनुभवात्मक वा वर्णनात्मक उपस्थिति हुनु | पात्रको सामान्य भूमिका रहनु | पात्रको न्यून भूमिका हुनु
|
| समाख्याता | समाख्याताको भूमिका अति न्यून हुनु | आख्यानको प्रमुख सञ्चालकको भूमिकामा रहनु र आख्यान कथन गर्नु | समाख्याता कविका रूपमा रहनु र कविता कथन गर्नु | समाख्याता बौद्धिक रूपमा उपस्थित हुनु
|
नाटककोे सौन्दर्यात्मक तत्त्व मध्येको अभिनयका आधारमा नाटकमा सबैभन्दा बढि अभिनेयात्मकता हुन्छ आख्यानमा सामान्य मात्रामा अभिनयको प्रयोग गरिन्छ तर कवितामा न्यून र निबन्धमा शून्य अभिनेयात्मकता हुन्छ। नाटकमा द्वन्द्वको प्रभाव अतिउच्च, आख्यानमा उच्च, कवितामा न्यून र निबन्धमा शून्य प्रभाव हुन्छ। नाटकमा रङ्गमञ्च अनिवार्य हुन्छ भने कथामा रङ्गञ्च परिवशेका रूपमा आउँछ र कवितामा भावको उद्भावन गर्न र निबन्धमा बौद्धिकताको पृष्ठभूमिका रूपमा आएको हुन्छ। नाटकमा पात्र प्रत्यक्ष रूपमा, आख्यानमा समाख्यातामार्फत वर्णनात्मक रूपमा र कविता र निबन्धमा पात्रको भूमिका न्यून रूपमा रहेको हुन्छ।
निबन्धको स्वरूप
निबन्ध साहित्यको सबैभन्दा कान्छो विधा हो। साहित्यमा प्रस्तुत हुने लय तथा भाव, कौतूहल र अभिनयात्मकता जस्ता तत्त्वहरू कविता, आख्यान र नाटकमा प्रस्तुत हुन्छन्। यस्तो अवस्थामा एकपछि अर्को विधा क्रमश, सिर्जनात्मक लेखनको प्रक्रियाबाट कमजोर हुँदै जान्छन्। कवितामा जतिबढि सिर्जनात्मकता रहन्छ, आख्यानमा त्यति रहँदैन। आख्यानमा भन्दा नाटकमा त्यसको उपस्थिति कमजोर हुन्छ। निबन्धमा चाहिँ नाटकमा भन्दा सिर्जनात्मक गुण अझै कमजोर हुन्छ (गौतम, सन् २००८, ४७)। निबन्धमा ७५ प्रतिशतभन्दा बढी विचार पक्षको उपस्थिति हुन्छ भने २५ प्रतिशत कल्पना तत्त्वको उपस्थिति हुन्छ।
निबन्ध लेखनको मूल उद्देश्य विषयवस्तुमाथि प्रकाश पार्नु रहेको हुन्छ। विषयवस्तुप्रति लेखकले जाहेर गरेका सकारात्मक र नकारात्मक, वस्तुपरक वा आत्मपरक अवधारणाहरू यसमा प्रस्तुत भएका हुन्छन्। सोझो सपाट तरिकाले विषय अथवा वस्तुको वर्णन गर्दा वस्तुपरक निबन्ध निर्माण हुन जान्छ भने त्यसलाई कल्पनाको प्रयोग गरेर विशेष तरिकाले सजाउन खोज्दा निजात्मक वा आत्मपरक निबन्ध बन्न जान्छ।
निबन्ध विधाको विकास पनि मानिस बौद्धिक बन्दै गएपछि र बौद्धिक कार्य गर्दै गएपछि हुन थालेको पाइन्छ। त्यसैले निबन्ध बौद्धिक विलासका लागि आरम्भ भएको विधा हो। मानवले आर्जन गरेको ज्ञान प्रस्तुत गर्न अरू विधाभन्दा निबन्ध विधामा सजिलो पनि हुन्छ। स्रष्टाले आफ्नो अनुभूतिमात्र प्रस्तुत गर्न चाहँदा पनि निबन्ध विधाबाट सजिलो हुन्छ। निबन्धलाई कतिपय चिन्तकहरूले साहित्यिक लेखनअन्तर्गत राखेको पाइन्छ भने कतिपय विद्वान्हरूले साहित्येतर लेखनअन्तर्गत राखेको पनि पाइन्छ। निबन्ध लेखनका लागि स्रष्टाभित्रको भाव विशेष अवस्थामा मात्र जागृत हुन्छ।
साहित्यका अरू विधाभन्दा निबन्ध निकै शुष्क हुने गर्दछ। सिर्जनात्मक बहावको थोरै थोरै प्रभाव मात्र पर्ने यस विधामा कवितामा जस्तो लयात्मकता पनि हुन्न। आख्यानमा जस्तो समाख्याताको उपस्थिति पनि हुन्न र नाटकमा जस्तो पात्रको भूमिका पनि रहन्न। त्यसैले यसमा कौतूहल वा रसात्मकता ज्यादै कम हुन्छ।
निबन्ध लेखनमा निबन्धकार आफू भित्रको सिर्जना शत्ति, प्रस्तुत गर्ने वा कल्पना शत्ति, प्रस्तुत गर्ने भन्दा पनि विषयवस्तुमाथि प्रकाश पार्न वा विषयवस्तुलाई चिनाउन बढी केन्द्रित रहेको हुन्छ। विषयवस्तुमाथिको विचार पक्ष बढी आउने हुनाले यसका पाठक पनि थोरै हुन्छन्। अरू विधा जस्तो निबन्ध सजिलै बुझिने विधा पनि हुन्न। त्यसैले यसले अरूलाई सजिलै मनोरञ्जन पनि दिन्न। विश्वका सूक्ष्म जीवाणुदेखि बृहत् आकृतिका प्राणीसम्म, परमाणुदेखि स्थूल ग्रहसम्म र कल्पनाका तरङ्गदेखि यथार्थका क्रियाकलापसम्मका व्यापकतम क्षेत्रसम्म निबन्धको विषय फैलिएको हुन्छ (सुवेदी २०६४, ११९)।
निबन्धमा निबन्धकारले वस्तु वा विषयप्रतिको आफ्नो धारणा प्रस्तुत गरिरहेको हुन्छ। वस्तु वा विषयलाई जसरी बुझ्यो त्यसरी नै पाठकसमक्ष राख्ने हतारो निबन्धकारलाई हुन्छ। त्यसैले पनि त्यसमा सिर्जनात्मकताको कमी हुनजान्छ। यसमा लेखकका ज्ञान, अनुभव र प्रतिक्रियाहरू विभिन्न रूपमा प्रस्तुत भएका हुन्छन्। किनकि निबन्धलाई ‘‘मानव चेतनामा आर्जित ज्ञानको प्रकाशन र अनुभवको प्रकाशन सन्दर्भमा तात्कालिक रूपमा कृतिका सिर्जना हुनु निबन्धको धर्म हो’’ (सुवेदी, २०६४, ११८)। स्रष्टाले निबन्धमा आफ्नो ज्ञानको प्रकाशन वा अनुभवको प्रस्तुति गर्दा काव्यात्मक वर्णनात्मक र विवरणात्मक गरी तीन प्रकारका शैली अपनाउने गर्दछन्। काव्यात्मक शैली अपनाउँदा निबन्ध निजात्मक ढाँचामा संरक्षित हुन्छ। यस्तो निबन्धमा सिर्जनात्मकता केहीबढी मात्रामा हुन्छ। त्यसभित्रको भाषा पनि काव्यात्मक नै हुन्छ तर कल्पनाजन्य अनुभूतिको संवेगको प्रयोग भने कमै हुन्छ। यसमा विषयले स्रष्टाभित्र जन्माएको क्रिया प्रतिक्रिया तथा विषयप्रति स्रष्टामा उठेको धारणा तथा अनुभूति प्रस्तुत भएको हुन्छ। धारणा प्रस्तुत गर्ने क्रममा निबन्धकारले कतिपय अवस्थामा आत्मपरक, निजात्मक र वैयक्तिक रागसमेत प्रस्तुत गरेको हुन्छ।
यसरी वस्तुप्रतिको धारणा प्रस्तुत गर्दा सिर्जनात्मकताको प्रयोग कमै हुने भएकाले वस्तुप्रतिको धारणामात्र विषयका रूपमा प्रस्तुत भएको हुन्छ। त्यसरी विषयप्रतिको धारणा पढ्न र सुन्न सबैलाई रुचि हुन्न। त्यसैले निबन्धका पाठकहरू पनि कमै हुन्छन्। निबन्ध लेखनमा भावात्मक सिर्जनात्मक प्रचुरताभन्दा विषय अथवा वस्तुको ज्ञान र विचार प्रस्तुत गर्ने निश्चित ढाँचा सबल हुनुपर्छ।
अन्तर भावात्मक रूपमा भन्दा बाहिरी रूपमा निबन्धको शैली प्रस्तुत भएको हुन्छ। वस्तु र विषय प्रशस्तै मात्रामा हुन्छ। तिनीहरूलाई सबैले उस्तै देख्छन् तर विशेष किसिमको सिर्जनात्मक क्षमता भएको साहित्यकारले भने त्यसलाई फरक रूपले देख्दछन्। यसैले निबन्ध फरक किसिमको हेराइ पनि हो। निबन्ध एक किसिमको हेराइ भएको कारणले निबन्ध लेखाइमा पनि विशेष योजना र समयको आवश्यकता पर्दछ।
निबन्ध र अन्य विधाबिचको साम्य–वैषम्य
निबन्धको सौन्दर्यात्मक तत्त्वका आधारमा निबन्ध र अन्य विधाबिचको साम्य–वैषम्यलाई यसक्रममा तालिकामा देखाउन सकिन्छ :
तालिका ४, निबन्ध र अन्य विधाबिचको साम्य–वैषम्य
| निबन्धको सौन्दर्यात्मक तत्त्व | निबन्ध | कविता | नाटक | आख्यान |
| वस्तुको उपस्थिति | अत्यधिक वस्तुको विशिष्ट अवस्थाले स्रष्टामा पारेको प्रभावको वर्णन | अधिक वस्तुको विशिष्ट अवस्थाले कविमा पारेको प्रभावकोे आत्मिक वा भावानुभूतिगत प्रस्तुति | सामान्य पात्रको अभिनयद्वारा कथानक विकास हुने र वस्तु गौण भई आख्यान प्रवल हुने | सामान्य
समाख्याताको कथनसँगै कथानक विभिन्न रूपमा वस्तुको विकास हुने र वस्तु गौण भई आख्यान प्रवल हुने |
| विचार | अत्यधिक हुने, स्रष्टाले प्रत्यक्ष रूपमा स्वयंले आफ्ना विचारहरू राख्ने | सामान्य हुने, लय र भावका कारण विचार गौण रूपमा रहने | सामान्य हुने, अभिनयका कारण विचार गौण रूपमा रहने र कौतूहल अधिक हुँदै जाने | सामान्य हुने, ख्यानात्मकताका कारण विचार गौण रूपमा रहने र कौतूहल अत्यधिक हुँदै जाने |
| लेखकको उपस्थिति | बढि प्रत्यक्ष | प्रत्यक्ष | अप्रत्यक्ष | अप्रत्यक्ष |
निबन्धको सौन्दर्यात्मक तत्त्व मध्येको वस्तुको उपस्थितिका आधारमा निबन्धमा वस्तुको उपस्थिति अत्यधिक हुन्छ भने कवितामा अधिक हुन्छ तर नाटक र आख्यानमा भने गौण रूपमा उपस्थित हुन्छ। विचार तत्त्वका आधारमा निबन्धमा विचार तत्त्व अत्यधिक रहन्छ भने कविता, नाटक र आख्यानमा सामान्य हुने देखिन्छ। निबन्धमा लेखको उपस्थिति बढि प्रत्यक्ष हुन्छ भने कविता विधामा प्रत्यक्ष हुन्छ तर अन्य विधामा भने अप्रत्यक्ष हुने गर्छ।
निष्कर्ष
सिर्जनात्मक लेखन कलात्मक लेखन हो। सामान्य प्रकारका लेखनभन्दा सिर्जनात्मक लेखन शैली, प्रस्तुति, भाव, बुनोट, पाठकीय आस्वाद आदिका आधारमा फरक हुने गर्दछ। यसमा विषयवस्तुभन्दा भाव र अनुभूतिको प्रबलता हुन्छ। सिर्जनात्मक लेखनमा सबैभन्दा बढि सौन्दर्यकला कवितामा हुन्छ। यसविधामा अन्य विधामा भन्दा अधिक सिर्जनात्मकता हुन्छ। आख्यान लेखन कविता विधाभन्दा केही कम सिर्जनात्मक सौन्दर्य भएको विधा हो। यसमा कवितामा भन्दा केही कम रागात्मक सौन्दर्य हुने भएकाले यसको लोकप्रियता पनि त्यसै किसिमको हुन्छ। यसमा आख्यानको बीज तत्त्वलाई कौतूहलयुक्त बनाई आख्यानीकरण गरिएको हुन्छ। आख्यानमा आख्यानकारले तीव्र कल्पनाद्वारा अनुभव्य/प्रत्यक्ष विषयलाई सौन्दर्यीकरण गरी विशिष्ट बनाएको हुन्छ। आख्यानमा भन्दा नाटकमा सिर्जनात्मक सौन्दर्यको स्तर केही घटेको हुन्छ। यसका विषयवस्तु, अभिनय, साजसज्जा जस्ता कुराले सिर्जनात्मक सौन्दर्यलाई ओझेलमा पारेको हुन्छ। त्यसैले यसमा लेखनको सौन्दर्यमा सीमा वा बाधा पुगेको हुन्छ। त्यसले नाटकपठनमा भन्दा अभिनयात्मक आस्वादमा भावक बढी ध्यान दिएको हुन्छ। त्यसैले नाटकको लेखन कमसिर्जनात्मक सौन्दर्ययुक्त हुन पुगको पाइन्छ। सिर्जनात्मक सौन्दर्यका दृष्टिले साहित्यका अन्यविधाभन्दा कमसौन्दर्यात्मक विधा निबन्ध रहेको देखिन्छ। निबन्धमा भाव, अनुभूति, कलाभन्दा पनि विषयवस्तु माथिको वैचारिक विमर्श बढी हुने र विचार तत्त्वको प्राधान्यता बढी हुने भएकाले यसमा सिर्जनात्मक सौन्दर्य अझै कम हुन पुगेको पाइन्छ। यसरी हेर्दा सिर्जनात्मक लेखनमा सर्जक वा भावकले जुन लेखनमा बढी रसात्मकता, आह्लाद, अनुभूतिको उच्च प्रस्तुति पाउँछ त्यही लेखन सिर्जनात्मक लेखन हुन्छ भन्ने पुष्टि हुन्छ। सिर्जनात्मक लेखन व्यापक र विविधता युक्त भएकाले यसका अन्यपक्षमा पनि अध्ययन हुन जरुरी छ। भावी समयमा साहित्यिक सिर्जनात्मक विधाभित्रका उपविधाको स्वरूप र साम्य–वैसम्य, सिर्जनात्मक लेखनका विविध विधाका स्वरूप जस्ता विषयमा अध्ययन गर्न सकिने छ।
सन्दर्भ सामग्री सूची
गौतम, रमेश. (सम्पा.)(सन् २००८). रचनात्मक लेखन, भारतीय ज्ञानपीठ।
त्रिपाठी, वासुदेव, न्यौपाने, दैवज्ञराज, सुवेदी, केशव. (सम्पा.) (…..). नेपाली कविता भाग ४. चौथो संस्करण. साझा प्रकाशन।
थापा, मोहनहिमांशु. (२०५०). साहित्य परिचय (चौँथो संस्करण). साझा प्रकाशन।
पाण्डे, हेमचन्द्र. (सन् २०१०). भाषा, स्वरूप और संरचना. ग्रन्थलोक प्रकाशन।
विश्वनाथ. (सन् १९८१). साहित्यदर्पणम्. जीवानन्द विद्यासागर भट्टाचार्य (व्याख्या.), सूचार्थी प्रकाशन।
शर्मा, मोहनराज, लुइँटेल, खगेन्द्रप्रसाद. (२०६७). पूर्वीय र पाश्चात्यसाहित्य सिद्धान्त. (तेस्रो संस्करण). विद्यार्थी पुस्तक भण्डार।
शर्मा, रामनाथ. (सन् १९५४). साहित्यिक निबन्ध. विनोद पुस्तक मन्दिर।
श्रेष्ठ, दयाराम. (२०६६). नेपाली कथा भाग ४. साझा प्रकाशन।
सिंहल, सुरेश. (सन् २०१८). सिर्जनात्मक साहित्य का अनुवाद. सार्थक प्रकाशन।
सुवेदी, राजेन्द्र. (२०६४). सृजनात्मक लेखन, सिद्धान्त र विश्लेषण (दोस्रो संस्करण). पाठ्य सामग्री पसल।
[1]. उपप्राध्यापक, नेपाली विभाग, नेपाल संस्कृत विश्वविद्यालय, जनता विद्यापीठ, बिजौरी, दाङ।
इमेल : hamroastro@gmail.com