इस्वी सम्वत् अनुसार २०२२ साल एक्काइसौँ शताब्दीको पूर्वार्धको समय हो। समग्र मानव सभ्यताकै एक्काइसौँ शताब्दीसम्मको ऐतिहासिक पृष्ठभूमिको अध्ययन गर्दा मानवजातिले गरेका वैज्ञानिक आविष्कारबाट प्राप्त उपलब्धिहरूलाई पराकाष्ठामा पुगेको मान्न सकिन्छ। वैज्ञानिक चमत्कारका केही उदाहरणहरू हेरौँ : सन् २०१८ मा आई.बी.एम.द्वारा निर्मित “समिट” नामक कम्प्युटर विश्वको सबैभन्दा छिटो चल्नसक्ने कम्प्युटर हो। यो यति शक्तिशाली छ कि यसले […]
इस्वी सम्वत् अनुसार २०२२ साल एक्काइसौँ शताब्दीको पूर्वार्धको समय हो। समग्र मानव सभ्यताकै एक्काइसौँ शताब्दीसम्मको ऐतिहासिक पृष्ठभूमिको अध्ययन गर्दा मानवजातिले गरेका वैज्ञानिक आविष्कारबाट प्राप्त उपलब्धिहरूलाई पराकाष्ठामा पुगेको मान्न सकिन्छ। वैज्ञानिक चमत्कारका केही उदाहरणहरू हेरौँ :
सन् २०१८ मा आई.बी.एम.द्वारा निर्मित “समिट” नामक कम्प्युटर विश्वको सबैभन्दा छिटो चल्नसक्ने कम्प्युटर हो। यो यति शक्तिशाली छ कि यसले जलवायुको उन्नत मोडलिङ गर्नुका साथै आणविक भौतिकशास्त्र लगायत अन्य जटिलभन्दा जटिल वैज्ञानिक गणनाहरू गर्नसक्छ। यसले १५ मेगावाटको उर्जा खपत गर्ने २४,१४,५९२ प्रशोधन कोर प्रयोग गरेर १४८.६० पेटाफ्लप्स (petaflops)को कीर्तिमान कायम गरेको छ। यसलाई सजिलोसँग बुझ्नु पर्दा यसो भन्न सकिन्छ- यदि एक लाख मानिस अटाउन सक्ने एउटा रङ्गशालामा रहेका हरेक व्यक्तिलाई एउटाका दरले आधुनिक ल्यापटप कम्प्युटर दिने हो भने उक्त कम्प्युटरको प्रशोधन शक्ति बराबर हुन कम्तिमा २० वटा त्यस्ता रङ्गशालाहरूको आवश्यकता पर्दछ। अर्काे शब्दमा तुलना गर्दा यसो भन्न सकिन्छ- यस कम्प्युटरलाई चाहिने ऊर्जा शक्तिले लगभग १० हजार घरहरूलाई पुग्ने बिजुलीबत्ती उपलब्ध हुन सक्छ।
वैज्ञानिक चमत्कारको अर्को उदाहरण कृत्रिम यौगिक आँखा (Artificial Compound Eye) हो। यसले ८,५०० लेन्सहरूलाई एउटा सानो सियोको टुप्पोले लिने जति ठाउँमा अटाइदिएको छ। यस्ता लेन्सहरू द्रुत गतिमा हिँड्ने वस्तुहरू पत्ता लगाउन र अत्यन्त सूक्ष्म बहुआयामिक क्यामेराहरूमा प्रयोग हुन्छन्।
विज्ञानले यातायातका क्षेत्रमा गरेको प्रगति पनि अभूतपूर्व छ। मानव चालकबिना नै सञ्चालन हुने सवारी साधनहरूको प्रयोग संसारका ठूलाठूला सहरहरूमा देख्न सकिन्छ। व्यावसायिक रूपमा प्रयोग गरिने वायुयानहरू हिजोआज कम्प्युटरद्वारा नियन्त्रित भई स्वचालित हुन्छन्। अटोपाइलट प्रणाली(Autopilot System)ले यस्ता वायुयानहरूलाई एक ठाउँबाट अर्को ठाउँमा उडान मात्र भर्ने नभई ती वायुयानहरूलाई जमिनमा अवतरण पनि गराउँछन्। अटोपाइलट प्रणालीको एउटा महत्त्वपूर्ण पक्ष के हो भने यसमा प्रयोग हुने कम्प्युटरको आकार एउटा क्रेडिटकार्ड जत्रै मात्र हुन्छ।
यसैगरी मनुष्यहरूले २४ घण्टाभित्रैमा पृथिवीको फेरो लगाउन सकेको, चन्द्रमाको धरातलमा पाइला राखिसकेको अनि मङ्गल ग्रहमा रोबोट पठाइसकेका कुराहरू त पुराना भइसके। हुँदाहुँदा अचेल मान्छेलाई बसाइँ सार्नका लागि मानवोपयोगी अन्य ग्रहहरूको अन्तरिक्षमा खोजी हुँदैछ।
स्वास्थ्य एवम् चिकित्सा क्षेत्रमा पनि विज्ञानले गरेको प्रगति उत्तिकै चमत्कारपूर्ण छ। रोबोटिक शल्यक्रिया अत्याधुनिक चिकित्सा पद्धति हो। सबैभन्दा बढी प्रचलनमा रहेको रोबोटिक शल्यक्रियाको प्रक्रियामा क्यामरा एवम् रोबोटिक हातसँग जोडिएका ससाना सर्जिकल उपकरणहरू प्रयोग हुन्छन्। विशिष्ट प्रशिक्षण पाएका शल्यचिकित्सकहरूले स्क्रिन (screen) मा हेरेर ती रोबोटिक हातहरूको नियन्त्रण गर्दछन्। सामान्यतया शल्यक्रिया गर्ने औजारहरू र टेबल शल्यक्रिया कक्षमा राखिएका हुन्छन् भने शल्यचिकित्सकहरू अर्को कक्षमा हुन्छन्। स्क्रिनमा बिरामीको शल्यक्रिया गरिने अङ्गको त्रि-आयामी दृश्य देख्न सकिने हुनाले शल्यचिकित्सकहरूले टाढैबाट टेलीसर्जरी गर्न सक्छन्।
यसै गरी आजभन्दा ५०-६० वर्ष अघिसम्म राजरोग भनेर जानिने क्षयरोग (टी.बी.) औषधीबाट निको हुन सक्ने भई अब सामान्य रोग हुन पुगेको छ। मोतियाबिन्दु जस्तो आँखामा लाग्ने रोग शल्यक्रियाद्वारा निको हुन्छ। गर्भमा रहेको भ्रूणको जन्मभन्दा पहिले नै लिङ्ग पहिचान गर्न सकिन्छ। यस्तै एनेस्थेसियाको आविष्कारले हातखुट्टा भाँचिएको अथवा काटिएको ठाउँमा हुने दुःखाइलाई निर्मूल बनाइदिन्छ।
सूचना तथा सञ्चारको क्षेत्रमा पनि विज्ञानले गरेको प्रगति उल्लेख्य छ। अहिले संसारका जुनसुकै ठाउँमा भएका घटनाहरू इन्टरनेटले गर्दा तत्काल थाहा पाउन सकिन्छ। साथै फोनको माध्यमबाट घण्टौँसम्म दोहोरो वार्तालाप सरल एवम् सहज भएको छ।
यी त विज्ञानले गरेका चमत्कारिक उपलब्धिका केही उदाहरणहरू मात्र भए। तर जुनसुकै क्षेत्रमा जस्तोसुकै विकास भएको भए तापनि विज्ञानले मनुष्य जातिलाई शान्ति चाहिँ दिन सकेको छैन। किनभने कुनै दिन यस्तो रहँदैन जुन दिन आम सञ्चारका माध्यमहरूले भ्रष्टाचार, घुसखोरी, तस्करी, हत्या, हिंसा, आतङ्क इत्यादिका कारणले राजनीतिक उतारचढाव एवम् सत्ता उथलपुथलका घटनाहरूका बारेमा विवरण नदिएको होस्। यसै गरी अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि, बाढी, पहिरो, भूकम्प, वनडढेलो आदि जस्ता प्राकृतिक प्रकोपहरूको कारणले संसारभरी नै सामान्य मानिसहरूको जीवनमा त्रास बढाएको छ। सङ्क्षिप्तमा भन्नुपर्दा अहिले संसारमा कलि व्याप्त छ किनभने एकातिर विकाशले पराकाष्ठा छोएको छ भने अर्कोतिर विनाशले पनि तीव्र गति लिएको परिणाम स्वरूप विश्वव्यापी रूपमा अराजकता बढेको हो।
श्रीमद्भगवद्गीताको चौथो अध्यायमा भगवान् श्रीकृष्णले भन्नुभएको छ :
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्।।७।।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे।।८।।
अर्थ – जुन जुन समयमा धर्मको पतन भई अधर्म हावी हुन पुग्दछ, अर्थात् कलियुग व्याप्त हुन्छ, त्यसबेला मैले अवतार लिनेछु। दुष्टहरूको विनाश गरी भक्तहरूको उद्धार र धर्मको पुनर्स्थापना गर्न युगयुगमा प्रकट हुनेछु।
भौतिकवादमा विश्वास गर्ने अनीश्वरवादीहरू अथवा अध्यात्ममा विश्वास गर्ने तर पुनर्जन्ममा विश्वास नगर्ने व्यक्तिहरूले प्रश्न गर्न सक्दछन् कि यदि भगवान् निराकार अजन्मा हुनुहुन्छ भने भगवान्को अवतार कसरी सम्भव हुन्छ ? तर सनातन वैदिक वाङ्मयअन्तर्गतका पौराणिक ग्रन्थहरूले के पुष्टि गरेका छन् भने भौतिक रूपमा देखिएर माथि भनिएको प्रयोजन सिद्धिका लागि भगवान् भगवद्धामबाट यस पृथिवीलोकमा अवतरित हुनुहुन्छ। ती ग्रन्थहरूले भगवान्का धेरै किसिमका अवतारहरूको वर्णन गरेका छन्। जस्तै – कलावतार, लीलावतार, गुणावतार, पुरुषावतार, मन्वन्तरावतार, युगावतार इत्यादि। कस्तो सांसारिक अवस्थामा भगवान्ले कसरी र कस्तो किसिमको अवतार लिनुहुन्छ भन्ने विषयमा हाम्रा ऋषिमुनिहरूद्वारा रचित पौराणिक ग्रन्थहरूको व्यापक अध्ययन, अनुसन्धान गर्दै भगवान्को स्तुति गर्न आगामी दिनहरूमा पं. श्री लोकनाथ लुइटेल स्मृति- प्रतिष्ठानले पहल गर्ने जानकारीका साथ हामीले लोकदर्पणको यो अङ्क पाठकहरू सामु प्रस्तुत गरेका छौँ।
सम्पादक मण्डल