रघुनाथ नेपाल, विद्यावारिधि[1] लेखसार यस अनुसन्धानमूलक लेखमा – वैदिक सनातनधर्म–अन्तर्गत एक उत्कृष्ट मार्ग श्रीसम्प्रदायका बारेमा परिचय दिँदै नेपालमा यसको परम्परा कहाँ र कस्तो अवस्थामा छ भन्ने विषयको अन्वेषण गरी विवेचना गरिएको छ। श्रीसम्प्रदाय भनेको श्रीवैष्णव सम्प्रदाय हो। सम्यक् प्रदीयते गुरुणा शिष्याय इति सम्प्रदायः अर्थात् जुन शिक्षा–दीक्षालाई परम्परागत रूपमा गुरुले शिष्यलाई विधिवत् प्रदान गर्नुहुन्छ, त्यसलाई सम्प्रदाय […]
रघुनाथ नेपाल, विद्यावारिधि[1]
लेखसार
यस अनुसन्धानमूलक लेखमा – वैदिक सनातनधर्म–अन्तर्गत एक उत्कृष्ट मार्ग श्रीसम्प्रदायका बारेमा परिचय दिँदै नेपालमा यसको परम्परा कहाँ र कस्तो अवस्थामा छ भन्ने विषयको अन्वेषण गरी विवेचना गरिएको छ। श्रीसम्प्रदाय भनेको श्रीवैष्णव सम्प्रदाय हो। सम्यक् प्रदीयते गुरुणा शिष्याय इति सम्प्रदायः अर्थात् जुन शिक्षा–दीक्षालाई परम्परागत रूपमा गुरुले शिष्यलाई विधिवत् प्रदान गर्नुहुन्छ, त्यसलाई सम्प्रदाय भनिन्छ। भगवान् श्रीमन्नारायणबाट श्री अर्थात् महालक्ष्मी हुँदै यस सम्प्रदायको परम्परा चलेको देखिन्छ। श्रीबाट चलेको सम्प्रदाय हुनाले नै यसलाई श्रीसम्प्रदाय भनिएको हो। यस सम्प्रदायमा मुख्य उपास्य देवता श्रीसहित भगवान् विष्णु मानिने हुनाले यसलाई श्रीवैष्णव–सम्प्रदाय पनि भन्ने गरिन्छ। दुर्लभ मनुष्य चोला पाएको विवेकशील व्यक्तिले यस संसारमा दुःख किन र कसरी प्राप्त भएको हो भनी चिन्तन गर्दछ र त्यसको निवारणको उपाय अन्वेषण गर्न थाल्दछ। त्यसपछि उसले विभिन्न मार्गहरूको खोजी गर्दै जाँदा परम्परागत रूपमा चलिआएको सत्सम्प्रदायमा प्रवेश गरी सहजरूपमा आत्मकल्याण गर्न आरम्भ गर्दछ। यस क्रममा भुक्ति एवम् मुक्तिका दाता भगवान् श्रीमन्नारायण(श्रीमहाविष्णु)बाट आरम्भ भएको यसलाई लगभग १००० वर्षपहिले दक्षिण भारतको भूतपुरी क्षेत्रमा अवतीर्ण शेषावतार रामानुजाचार्यले विशेष रूपमा प्रवर्धन गर्नुभयो। त्यसैले अहिले यस सम्प्रदायलाई रामानुजसम्प्रदाय पनि भन्ने गरिन्छ। यसरी अनादिसिद्ध श्रीसम्प्रदायको परम्परा र यसका मूलभूत मान्यताहरूलाई जानेर र मानेर यस भवसागरबाट सदाका लागि पार हुन सकिन्छ भन्ने यस सम्प्रदायको मान्यता रहेको छ। अतः यस लेखमा श्रीसम्प्रदायको परिचय प्रदान गराउँदै परम्पराको र यस परम्पराका प्रमुख आचार्य श्रीरामानुजाचार्यको वैभवको समेत परिचर्चा गरिएको छ। यस सम्प्रदायको परम्परा कहाँदेखि कसरी चल्दै आएको छ र वर्तमानमा यो कहाँ कहाँसम्म फैलिएको छ भन्ने कुरासमेत यस लघु अनुसन्धानमूलक लेखमा स्पष्ट पारिएको छ।
शब्दकुञ्जी – श्रीमन्नारायण परमात्मा, चेतन जीवात्मा, जडरूप प्रकृति, धर्म–दर्शन।
विषयपरिचय
हामी सबै सधैँ सुखी भएर रहन चाहन्छौँ। त्यो सुख कहाँ छ भनी खोजी गर्दै जाँदा भौतिकवादीहरूले भौतिक वस्तुमा छ भनी त्यसको सङ्ग्रह र उपभोग गर्न थाल्दछन् तर जतिसुकै उत्कृष्ट भए पनि भौतिक वस्तु विनाशी हुने भएकाले त्यसबाट प्राप्त सुख पनि क्षणिक र सीमित नै हुन्छ भनी शाश्वत् सुखको खोजी गर्ने महापुरुषहरू अनित्य भौतिक वस्तुभन्दा पर रहेको सूक्ष्म नित्य वस्तुको प्राप्ति गर्न लागिपर्दछन्। त्यसै अविनाशी वस्तुलाई आत्म–तत्त्व भनिन्छ, जो नित्य एवम् अविकारी छ। त्यो आत्मतत्त्व पनि जीवात्मा र परमात्माका भेदले दुई प्रकारको छ। दुवै तत्त्व स्वरूपतः नित्य, ज्ञानमय, अविकारी भए तापनि जीव कर्मवश्य भई अल्पज्ञ, अल्पशक्ति, अणुरूप छ भने परमात्मा स्वतन्त्र, सर्वज्ञ, विभु छ। त्यसैले त्यस अपरिमित सत्(सधैँ रहने अर्थात् नित्य), चित्(ज्ञानरूप भई ज्ञानवान्), आनन्द(सुख)स्वरूप भएको परमात्माको प्राप्तिपछि तत्समान भएको जीवलाई पनि नित्य सुखको प्राप्ति हुन्छ। यसैलाई चरम पुरुषार्थरूप (जीवनको अन्तिम लक्ष्य) मोक्ष/मुक्ति भनिन्छ।
यसका लागि मनुष्यले सन्मार्गको खोजी गर्नुपर्दछ। त्यो सन्मार्ग देखाउने कार्य हाम्रा वेदादि शास्त्रहरूले गर्दछन्। जन्म-जन्मान्तरका कर्मवासनाका कारण विविध (सात्त्विक, राजस, तामस) स्वभाव भएका मनुष्यहरूका लागि शास्त्रमा पनि विभिन्न मार्गहरू देखाइएका छन्। तीमध्ये सात्त्विक मार्ग कुन हो भनेर छुट्याएर हामीलाई बताइदिने कार्य सदाचार्य(सद्गुरु)हरूले गर्नुहुन्छ। सदाचार्यलाई पाउन/चिन्न सत्सङ्गको आवश्यकता पर्दछ। अतः यस अध्यात्ममार्गको प्रथम खुट्किलो सत्सङ्ग हो।
शास्त्रमा कर्मयोग, ज्ञानयोग र उपासना(भक्ति)योगलाई भवसागरबाट पार हुने साधन बताइएको छ। कर्म र ज्ञानसहितको भक्तिबाट नै परमात्मा प्राप्य बन्नुहुन्छ भनी वेद, उपनिषद्, गीता आदि सच्छास्त्रमा भनिएको छ। तर अनादि कालदेखि गरेका असङ्ख्य कर्महरूको वासनाले गर्दा तैलधारावद् अविच्छिन्नस्मृतिसन्ततिः अर्थात् तेलको धारा एक पात्रबाट अर्को पात्रमा खन्याउँदा जसरी अविच्छिन्न रूपमा जान्छ, त्यसरी नै अविच्छिन्न रूपमा गरिने परमात्माको चिन्तन(ध्यान, उपासना)रूप भक्ति गर्न अत्यन्त कठिन हुने भएकाले भक्तिविशेष प्रपत्तिलाई मोक्षको साधन बताइएको छ। परमात्मा नै मेरो (जीवात्माको) सबै प्रकारले रक्षक हुनुहुन्छ भन्ने पूर्ण विश्वास गरी आत्मसमर्पण गर्ने भाव नै प्रपत्ति हो। यसैलाई शरणागति पनि भनिन्छ। शरणागतिको प्रक्रिया पूरा गर्न परम्पराबाट प्राप्त पञ्चसँस्कारद्वारा दीक्षित हुनुपर्दछ। यसका लागि सुयोग्य सदाचार्यको आवश्यकता पर्दछ। वेदादिशास्त्रसम्मत सन्मार्ग नै श्रीवैष्णवहरूले अवलम्बन गरेको शरणागति(प्रपत्ति)मार्ग हो। यो प्रपत्तिमार्ग आचार र विचारले सम्पन्न छ। यसका आचार र विचार दुइटा पाटा छन्। आचार भनेको सम्प्रदाय हो भने विचार भनेको दर्शन हो। जसमध्ये आचार(व्यवहार, सत्कर्म)लाई सम्प्रदायले बोध गराँउछ भने विचार(चिन्तन)लाई दर्शनले बोध गराउँछ। त्यसैले हामीले समग्र श्रीवैष्णव–सिद्धान्त बुझ्नका लागि सम्प्रदाय र दर्शन दुवैको ज्ञान गर्नु अत्यावश्यक हुन्छ। यसरी सम्प्रदाय र दर्शन भनेका एउटा रथका दुई पाङ्ग्रा हुन्, जो एक अर्काका सहयोगी बनी हामीलाई गन्तव्यमा पुऱ्याउँदछन्। त्यसैले चरम पुरुषार्थ प्राप्त गर्न हामीले सम्प्रदायको अवलम्बन र दर्शनको बोध गर्नुपर्दछ। अनि मात्र हामी आचारविचारसम्पन्न बन्न सक्दछौँ। त्यसैले हाम्रो श्रीवैष्णव परम्परामा भगवान् श्रीमन्नारायणदेखि माता श्रीमहालक्ष्मीजी हुँदै आएको श्रीसम्प्रादाय र वेदादि शास्त्रसम्मत तत्त्वत्रयवादलाई मान्ने विशिष्टाद्वैत(वेदान्त) दर्शन छ, जसले गर्दा नै यस महान् राजमार्ग(प्रपत्तिमार्ग)को अवलम्बन गर्ने व्यक्तिको परम पुरुषार्थरूप मोक्ष (गन्तव्य प्राप्ति) पनि सहज एवम् सुनिश्चित छ। यस मार्गका दुइटा धाराहरू अनादि कालदेखि अविच्छिन्नरूपमा कुनैनकुनै प्रकारले चल्दै आएका छन् – एउटा सम्प्रदायधारा र अर्को दर्शनधारा। यस आलेखमा यी दुई विषयमध्ये सम्प्रदायधारा र यसका प्रमुख प्रवर्तक आचार्य श्रीरामानुजाचार्यको योगदानको विवेचना गरिएको छ।
अध्ययनविधि
यो मूलतः दस्तावेजको विश्लेषणमा आधारित गुणात्मक ढाँचाको अध्ययन हो। यसमा विभिन्न विद्वान्हरूका कृतिहरू एवम् लेख–रचनाहरूबाट तथ्यको विश्लेषण गरी निष्कर्षमा पुग्ने काम गरिएको छ। यस लेखका लागि पुस्तकालयलाई आधार बनाई विभिन्न क्षेत्रबाट प्रकाशित श्रीसम्प्रदायसम्बन्धी कैयौँ पुस्तक, पत्रिका र विद्युतीय माध्यमको समेत उपयोग गरिएको छ, जसमा श्रीसम्प्रदायसम्बद्ध विभिन्न मठ-मन्दिरहरूका गुरुपरम्पराका पुस्तकहरू र श्रीरामानुजाचार्यको जीवनीपरक ग्रन्थहरूलाई मुख्य आधार बनाइएको छ। कतिपय विषयमा सुप्रसिद्ध प्रामाणिक आचार्यहरूको व्याख्यान, प्रवचन सुनेर र केही कुरा स्वयम्ले देखेर पनि यसलाई पूर्णता दिइएको छ।
समस्याकथन
श्रीसम्प्रदाय परम्पराको अध्ययन पहिलेदेखि नै हुँदै आएको छ तर परम्परा निरन्तर प्रवाहित हुने भएकाले नयाँ नयाँ अध्ययन पनि हुनुपर्ने हुन्छ। विशेषतः नेपालीभाषी पाठकहरूका लागि यस श्रीसम्प्रदायको राम्रोसँग परिचय हुने कुनै प्रामाणिक ग्रन्थ उपलब्ध भएको छैन। अतः यस लेखमा यिनै समस्याहरूको समाधान गर्न खोजिएको छ। सूत्ररूपमा भन्दा समस्याहरू यस्ता छन् –
क) श्रीसम्प्रदाय भनेको के हो ?
ख) श्रीसम्प्रदायको परम्परा कस्तो छ ?
ग) श्रीसम्प्रदायका प्रमुख आचार्य श्रीरामानुजाचार्यको सम्प्रदाय–सम्बर्धनमा कस्तो योगदान रहेको छ ?
उद्देश्यकथन
यसरी विभिन्न गुरुपरम्पराका पुस्तकहरू, तत्सम्बद्ध अन्य ग्रन्थहरू र यस परम्परामा आबद्ध विज्ञ गुरुजनबाट प्राप्त सामग्रीको विश्लेषण गरी उपर्युक्त समस्याहरूको समाधान गर्ने जमर्को गरिएको छ, जसमा मुख्यतः यी विषयहरू यस लेखका उद्देश्य रहेका छन् –
क) श्रीसम्प्रदायको परिचय प्रदान गर्नु,
ख) श्रीसम्प्रदायको परम्परा स्पष्ट पार्नु,
ग) श्रीसम्प्रदायका प्रमुख आचार्य श्रीरामानुजाचार्यले सम्प्रदाय सम्बर्धनमा गर्नुभएको योगदानको चर्चा गर्नु।
श्रीसम्प्रदायको परम्परा
लक्ष्मीनाथसमारम्भां नाथयामुनमध्यमाम्। अस्मदाचार्यपर्यन्तां वन्दे गुरुपरम्पराम्। (नेपाल, २०७५ पृ. १) यस परम्परानुसन्धान श्लोकअनुसार श्रीमन्नारायणबाट श्री अर्थात् लक्ष्मी माता हुँदै आएको यस अनादि श्रीसम्प्रदायको कुनै न कुनै रूपमा अविच्छिन्न धारा सृष्टिको आरम्भदेखि नै चल्दै आएको छ। सत्य, त्रेता आदि युगमा महालक्ष्मीबाट विष्वक्सेन अनि देवर्षि नारद, ब्रह्मर्षि वसिष्ठ, वामदेव महर्षिहरूद्वारा परम्परापूर्वक फैलाईएको र प्रह्लाद, ध्रुव, अम्बरीष आदि राजा–महाराजाहरूद्वारा अवलम्बन गरी जन–जनसम्म पुर्याइएको यो उत्कृष्ट सम्प्रदाय दिगन्तव्यापी भएको कुरा पुराणादिमा वर्णित छ। यसै परम्परालाई कलियुग लागेपछि दक्षिण भारतका आल्वार सन्तहरूले विशेष रूपमा प्रचार-प्रसार गर्दै आउनुभयो।
भूतं सरश्च महदाह्वयभट्टनाथ–श्रीभक्तिसारकुलशेखरयोगिवाहान्।
भक्ताङ्घ्रिरेणुपरकालयतीन्द्रमिश्रान् श्रीमत्पराङ्कुशमुनिं प्रणतोस्मि नित्यम्।। (मिश्र, २०७७, पृ. ५८) उक्त श्लोकमा उल्लेख गरिएका भूतयोगी, सरोयोगी, महदाह्वययोगी, भट्टनाथ, भक्तिसार, कुलशेखर, योगिवाहन, भक्ताङ्घ्रिरेणु, परकाल र शठकोपस्वामीजीजस्ता दिव्यसूरि(आल्वार्)हरूको पनि महत्त्वपूर्ण स्थान रहेको छ। भगवान्को वर्णन गरेर गोदाम्बा तथा आचार्य शठकोप स्वामीजीको वर्णन गरेर मधुरकवि स्वामीजी पनि दिव्यसूरि(आल्वार्) कोटिमा आउनुभयो। शठकोप स्वामीजीको सहस्रगीति, भट्टनाथ (श्रीविष्णुचित्त) स्वामीजीको तिरूप्पल्लाण्डु, गोदाम्बाको तिरूप्पावै, मधुरकवि स्वामीजीको कण्णिनुण्शिरुत्ताम्बुजस्ता दिव्यप्रबन्ध(द्राविड वेद)हरूमा वेदवेदान्तको सिद्धान्त परिपूर्ण रूपमा रहेको पाइन्छ। वेदादि शास्त्रहरूमा भएको भगवत्प्रपत्तिमार्गलाई नै आल्बार् सन्तहरूले आफ्ना दिव्य प्रबन्धहरूका माध्यमले जनजनमा पुऱ्याउने महान् कार्य गर्नुभयो। पछि गएर हाम्रा आचार्यहरूले यिनै प्रबन्ध रहस्यलाई आधार बनाई श्रीसम्प्रदायको प्रचार–प्रसार गर्दै जानुभयो। कलियुग आरम्भ भएपछि हामीजस्ता पामर जीवात्माको उद्धार गर्नका लागि यस सर्वसुलभ शरणागति मार्गको आवश्यकता अझ बढी भएकाले भगवत्सङ्कल्पअनुसार धैरै महापुरुषहरूले समय–समयमा अवतार लिँदै आउनुभएको छ। यसले गर्दा आज यो श्रीसम्प्रदाय विश्वव्यापी बन्न पुगेको छ। यस श्रीसम्प्रदायको संरक्षण–संवर्धनमा धेरै महापुरुषहरूको योगदान छ। उहाँहरू सबैको चर्चा गर्न यस छोटो लेखमा गाह्रो छ। त्यसैले यहाँ यसको मूल परम्परामा आबद्ध हुनुभएका मुख्य-मुख्य आचार्यहरूको मात्र परिचय एवम् योगदानको सङ्क्षेपमा उल्लेख गरिन्छ। यसप्रकार भगवान् श्रीमन्नारायबाट श्रीमहालक्ष्मीजी, उहाँबाट श्रीविष्वक्सेनजी, श्रीविष्वक्सेनजीबाट कलियुगको प्रारम्भमा दिव्यशक्तिद्वारा श्रीशठकोप सूरि र उहाँबाट यौगिक शक्तिका माध्यमले सिद्धयोगी श्रीनाथमुनि स्वामीजी हुँदै नेपाली समाजसम्म आएको परम्पराको यहाँ सङ्क्षेपमा चर्चा गरिन्छ।
श्रीनाथमुनि स्वामीजी
यस सर्वसुलभ वैदिक मार्गलाई अझ व्यवस्थित बनाएर प्रवाहित गर्ने कार्य आजभन्दा लगभग १२०० वर्षपूर्व यस धराधाममा प्रादुर्भूत हुनुभएका सिद्धयोगी श्रीमान् नाथमुनिले गर्नुभयो। योगिराज श्रीनाथमुनिको प्रादुर्भाव दक्षिण भारतको तात्कालिक चोलराज्यको वीरनारायणपुर नामक नगरमा पिता श्री ईश्वर भट्टको सन्ततिका रूपमा उत्तम ब्राह्मणकुलमा भएको हो। उहाँले योगदशामा गएर श्रीशठकोप सूरिको दर्शन गरी उहाँबाट शिक्षा–दीक्षा प्राप्त गर्नुभयो। अष्टाङ्गयोगनिपुण उहाँले दक्षिण एवं उत्तरका विभिन्न तीर्थक्षेत्रहरूमा रही भक्तियोगका साथै क्रियायोगको पनि निरन्तर साधना गरिरहनुभयो र कलियुगको प्रारम्भमा युगप्रभावले गर्दा प्रायः सुप्त–अवस्थामा रहेको यस भक्तिधारालाई परम्परागतरूपमा व्यवस्थित गर्दै लानुभयो। दक्षिण भारतको श्रीरङ्गम् नामक दिव्यक्षेत्रमा रहेको ऐतिहासिक प्राचीन श्रीरङ्गनाथ मन्दिरको संरक्षकको भूमिका निर्वाह गर्दै समय-समयमा देश-देशान्तरमा भ्रमण गरेर धर्मको प्रचार गर्नुहुने यहाँले न्यायतत्त्व, योगरहस्य आदि ग्रन्थहरूको रचनासमेत गरी वैदिक सिद्धान्तको संरक्षण गर्नुभयो।
सिद्धयोगी श्रीनाथमुनि यसरी भगवद्भक्तिको धारालाई परम्परागत रूपमा व्यवस्थित गर्दै विभिन्न तीर्थक्षेत्रमा रहेर योगसाधना गर्ने क्रममा उत्तर भारतको व्रजधाममा आई भगवान् श्रीकृष्णको सेवा-आराधना गर्दै ध्यान-तपस्या गरेर केही समयसम्म रहनुभयो। कालान्तरमा उहाँका पुत्र श्री ईश्वरमुनिको सन्तानका रूपमा एक तेजस्वी बालकको जन्म भयो। आफ्ना पिताले यमुनाजीका तटमा रहेर तपस्या गरेको प्रभावले गर्दा भगवत्कृपाबाट पुत्र सन्ततिको प्राप्ति भएकाले पिता श्री ईश्वरमुनिले नवजात पुत्रको नाम यामुन राखिदिनुभयो।
श्रीयामुनाचार्य स्वामीजी
यमुनाका प्रसादका रूपमा उत्तम कुलमा उत्पन्न हुनुभएका यामुनाचार्य स्वामीजीले आफ्ना पितामह श्रीनाथमुनिका शिष्य श्रीपुण्डरीकाक्षाचार्य एवं प्रशिष्य(शिष्यका पनि शिष्य) श्रीराममिश्राचार्यका माध्यमबाट क्रमशः चल्दै आएको शिक्षादीक्षादिसहितको योगादि साधना मार्गलाई पनि प्राप्त गर्नुभयो।
गुरुशिष्यपरम्पराबाट क्रमशः चल्दै आएको यस पैतृक सम्पत्तिरूप भक्ति-प्रपत्तिमार्गलाई प्राप्त गरी श्रीयामुनमुनि सकल-जगद्-उद्धारक आचार्य हुनुभयो। जन्मवंश झैँ विद्यावंश(आचार्यपरम्परा)को पनि कुलदीपक हुनुभएका श्रीयामुनाचार्यले पितामह श्रीनाथमुनिका प्रशिष्य श्रीराममिश्रको शिष्यत्व स्वीकार गरी यस आचार्य-परम्परालाई समेत समृद्ध बनाउँदै लानुभयो। उहाँले जीवनको उत्तरार्धमा सम्पूर्ण लौकिक भोग-ऐश्वर्यलाई त्याग गरी पितामहको बाटोको अनुसरण गर्दै संन्यास ग्रहण गरी भगवान् श्रीरङ्गनाथको सन्निधिमा रहेर यस भक्ति-प्रपत्तिमार्गलाई अझ सुदृढ बनाउनुभयो। शास्त्रसम्मत सत्तर्कहरूलाई प्रस्तुत गर्दै वेदबाह्य बौद्धजैनादि नास्तिकहरूको र प्रच्छन्नबौद्धरूप मायावादीहरूको मतलाई पनि खण्डन गर्दै वैदिक सिद्धान्तलाई प्रतिष्ठापित गर्नुभयो। तात्कालिक रूपमा प्रत्यक्ष ज्ञानोपदेशका साथै भावी पिँढीका शिष्यपरम्पराका लागि पनि यस वैदिक मार्गको बोध गराउने उद्देश्यले वेद, गीतादि शास्त्रको सारतम भागलाई प्रकट गर्दै सिद्धित्रय, गीतार्थसंग्रह आदि प्रौढ ग्रन्थहरूको रचनासमेत गर्नुभयो। यसप्रकार वेद-उपनिषद् र गीतादि शास्त्रहरूमा बताइएको तत्त्वत्रय(जड, जीव र ईश्वर)वादको यथार्थ स्वरूप प्रकट गर्ने यिनै ग्रन्थहरूलाई नै मूलस्रोत बनाएर कालान्तरमा श्रीरामानुजाचार्यले विस्तारमा विशिष्टाद्वैत सिद्धान्तको स्थापना गर्नुभयो। द्वैतपरक र अद्वैतपरक सम्पूर्ण श्रुतिवाक्यहरूलाई समन्वय गर्दै वेदादि शास्त्रको यथार्थ निरूपण गर्नुहुने श्रीयामुनाचार्य श्रीवैष्णवाचार्यका मात्र नभई सम्पूर्ण भक्तिमार्गका आचार्यहरूका पनि दिग्दर्शक एवं आधारस्तम्भ हुनुहुन्छ। श्रीरामानुजाचार्यका लागि विशिष्टाद्वैत दर्शनको व्याख्या गर्न मूलस्रोत र प्रेरक पनि श्रीयामुनाचार्य नै हुनुहुन्छ। उत्कृष्ट भगवद्भक्तिको पराकाष्ठामा पुगेर रचना गरिएका स्तोत्ररत्न जस्ता दिव्यस्तुतिपरक ग्रन्थहरूका प्रणेता पनि हुनुभएका श्रीयामुनाचार्यका ज्ञानभक्तिवैराग्यादि गुणहरूले प्रभावित भएर त्यस समयका ख्यातिप्राप्त विद्वान् ब्राह्मणहरू लगायत धेरै साधु-सन्त भक्तजनहरू उहाँका अनुयायी बन्न पुगे, जसमा श्रीगोष्ठीपूर्ण, श्रीमहापूर्ण, श्रीशैलपूर्ण, श्रीमालाधर एवं श्रीवररङ्ग आदि विद्वान् आचार्यहरू र श्रीकाञ्चीपूर्ण आदि सिद्धसन्तहरू उहाँका शिष्य हुनुभयो।
श्रीयामुनाचार्य स्वामीजीबाट फैलिँदै गएको यस वैदिक मार्गलाई जन-जनमा पुर्याएर अनादि कालदेखि दुःखमय भवसागरमा डुबेका हामीजस्ता असंख्य जीवात्माहरूको उद्धार गर्नका लागि परमदयालु भगवान् श्रीमन्नारायणले सत्सङ्कल्प गरेको बुझेर उहाँकै नित्य सेवामा रहने भगवत्तुल्य ज्ञानबलैश्वर्यादिले सम्पन्न श्रीआदिशेष(अनन्त)ले भगवान्को यस लीलाविभूति(धराधाम)मा अवतार लिने निश्चय गर्नुभयो।
श्रीरामानुजाचार्य स्वामीजी
आदिशेष श्रीअनन्तले यस धराधाममा श्रीरामानुजाचार्यको रूपमा अवतार लिएर वेदादि शास्त्रविरुद्धका पाखण्ड मतलाई खण्डन गरी शास्त्रसम्मत वैदिक धर्मको यथार्थ स्वरूपलाई प्रकट गरेर धर्मको संस्थापनारूप महान् कार्य गर्नुभयो।
प्रथमोऽनन्तरूपश्च द्वितीयो लक्ष्मणस्तथा।
तृतीयो बलरामश्च कलौ रामानुजो मुनिः।।
द्वापरान्ते कलेरादौ पाखण्डप्रचुरे जने।
रामानुजेति भविता विष्णुधर्मप्रवर्तकः।। (बृ.ब्र.सं.२/७/६७)
आदि प्रमाणहरूले स्पष्ट हुन्छ कि आदिशेष श्री अनन्तले भगवत्सङ्कल्पलाई पूरा गर्न श्रीरामानुजका रूपमा अवतार लिनुभएको हो। श्रीरामानुजाचार्यले प्रवर्धन गर्नुभएको यस लोकहितैषी सर्वसुलभ भक्ति-प्रपत्ति सिद्धान्तलाई परम्परागत रूपमा अथवा स्वतन्त्र रूपमा भए पनि अहिले सनातन धर्मावलम्बी सबैले कुनै न कुनै रूपमा अनुकरण र अनुसरण गर्दै आएको छर्लङ्ग छ। कलियुगमा सबै जीवात्माहरू भवसागरबाट सजिलै पार हुने यस सुगम भक्ति-प्रपत्ति धारालाई पछिका सबै आचार्यहरूले फैलाउँदै लैजानुभएको स्पष्ट छ। त्यसैले नै भक्तिमार्गका प्रथम प्रवर्तक आचार्यका रूपमा श्रीरामानुजाचार्य प्रतिष्ठित हुनुहुन्छ भन्ने कुरा निर्विवाद छ।
दक्षिण भारतको तमिलनाडु राज्यको श्रीपेरुम्बुदूर सहरको श्रीभूतपुरी भन्ने गाउँमा निवास गर्ने हारीतकुलोत्पन्न कर्मनिष्ठ सदाचारी ब्राह्मण वंशको कुल पवित्र पार्दै श्रीकेशवयज्वा र कान्तिमतीका गर्भबाट श्रीपार्थसारथि भगवान्को कृपाले सन् १०१७ चैत्र शुक्ल पञ्चमी, वैशाखको आर्द्रा नक्षत्रमा श्रीरामानुज स्वामीजीको अवतार भयो।
मेषार्द्रासम्भवं विष्णोर्दर्शनस्थापनोत्सुकम्।
तुण्डीरमण्डले शेषमूर्तिं रामानुजं भजे।।
श्रीरामानुज स्वामीजीले आफ्नो सम्पूर्ण जीवनमा पवित्र आचरण र दिव्य उपदेशद्वारा मानवमात्रलाई सन्मार्ग देखाई भक्ति-प्रपत्तिद्वारा परमपुरुषार्थरूप मोक्षको अधिकारी बनाउनुभयो। बाल्यकालदेखि नै भक्ति, ज्ञान र वैराग्यले सम्पन्न हुनुभएका उहाँका सबै पावन चरित्रहरू अलौकिक एवं दिव्य छन्। अलौकिक शक्तिसम्पन्न श्रीस्वामीजीले मनुष्यको पूर्ण आयु १२० वर्षसम्म यस धराधाममा रहेर विभिन्न जैन, बौद्ध आदि नास्तिकमतावलम्बी र श्रुतिको अर्थलाई अपार्थ गर्ने अद्वैती आदिलाई समेत शास्त्रप्रमाण एवम् सत्तर्कद्वारा खण्डन गरी दिग्विजय गर्नुका साथै भारत वर्षका विभिन्न क्षेत्रमा रहेका दिव्यदेश(मठमन्दिर)हरूमा शास्त्रसिद्ध पाञ्चरात्र आगमानुसारी आराधनाविधि लागु गराएर तिनीहरूको संरक्षण-संवर्धन गर्ने महान् कार्य गर्नुभयो। उहाँले स्वसिद्धान्तको स्थापना गर्न सम्पूर्ण वेदादि शास्त्रको निचोड निकाली श्रीभाष्य, वेदान्तदीप, वेदान्तसार, वेदार्थसंग्रह, गीताभाष्य आदि ग्रन्थहरूका साथै भगवत्स्तुतिपरक गद्यत्रय, (शरणागतिगद्य, श्रीरङ्गगद्य, श्रीवैकुण्ठगद्य) तथा भगवद्-आराधनाविधिबोधक नित्यग्रन्थ गरी नौ ग्रन्थहरूको रचना गर्नुभयो। उहाँका यस्ता अलौकिक कार्यहरू देखेर विभिन्न तात्कालिक धुरन्धर विद्वान्हरू उहाँका शिष्य-प्रशिष्य बन्न पुगे। उहाँको यस दिव्य प्रभावले गर्दा हजारौँ मानिसहरू उहाँका अनुयायी भए। यसैकारण आज यस श्रीसम्प्रदायलाई रामानुजसम्प्रदाय र विशिष्टाद्वैत दर्शनलाई रामानुज-दर्शन भन्ने गरिन्छ। श्रीस्वामीजीको दिव्य चरित्र वर्णन गर्दा यो लेख अतिविस्तृत हुने भएकाले यहाँ केही मुख्य वैभवहरूको मात्र दिग्दर्शन गराइन्छ।
क) भगवत्कृपाद्वारा नै शास्त्रको सही अर्थ बुझ्नुभएका श्रीरामानुज स्वामीजीले अध्ययनकालमा यादवप्रकाशबाट भएका वेदादि शास्त्रहरूको अपार्थलाई निराकरण गर्दै सही अर्थ गर्नु, यादवप्रकाशसँगै गएर राजसन्ततिलाई ब्रह्मराक्षसको पीडाबाट मुक्ति प्रदान गर्नु, उहाँको अलौकिक शक्तिलाई नबुझेर यादवप्रकाशले ईर्ष्या-द्वेष गर्दै उहाँलाई समाप्त पार्न खोज्दा साक्षात् श्रीलक्ष्मीनारायण नै व्याध-दम्पतीका रूपमा प्रकट भएर उहाँको रक्षा गर्नुले उहाँ प्रारब्ध कर्म भोग्ने हामीजस्ता साधारण व्यक्ति नभई भगवान्का नै इच्छाअनुसारका कार्य गर्न अवतीर्ण हुनुभएका नित्यसूरि हुनुहुन्छ भन्ने बुझिन्छ। यादवप्रकाशले जति नै द्वेष गरे तापनि आफूले गुरुभाव राखी विनयपूर्वक उनको सबै प्रकारले सेवा गर्दै उनीसँग अध्ययन गर्न जानुले सबैमा भगवान्को स्वरूप देख्न सक्ने उहाँमा कुनै प्रकारको राग-द्वेषको भावना थिएन र सबैप्रति दृष्टि समान थियो भन्ने देखिन्छ। सर्वत्र भगवद्दर्शन गर्ने सद्गुणयुक्त तथा ज्ञानभक्तिवैराग्य-सम्पन्न यस्ता वीतराग श्रीरामानुज स्वामीजीका अद्भुत व्यक्तित्वबाट प्रभावित भएर उहाँका गुरु वयोवृद्ध यादवप्रकाश समेत अन्ततः उहाँकै शिष्य बन्न पुगेका थिए।
ख) त्यसैगरी संसारका धनसम्पत्ति, घरपरिवार सबै कुरालाई तृणसमान मान्दै भगवान्का श्रीचरणलाई एकमात्र आश्रय मानेर उहाँले यो जीव भगवान्को शेष वस्तु हो, अरू कसैको होइन र स्वयं स्वतन्त्र पनि छैन भन्ने वास्तविक सत्यको उद्घाटन गर्नुभयो। सांसारिक विषयवासनामा मात्र लम्पट हुँदै प्रकृति(संसार)मा आसक्त भइरहने हो भने मोक्ष प्राप्त गर्न सकिँदैन भन्ने देखाउन पनि उहाँले यस्तो आचरण गर्नुभएको देखिन्छ। त्यागेनैकेऽमृतत्त्वमानशुः भन्ने वेदवाक्यानुसारको आचरण भएकाले नै –
यो नित्यमच्युतपदाम्बुजयुग्मरुक्म–व्यामोहतस्तदितराणि तृणाय मेने भनेर उहाँका शिष्य श्रीकूरेशले उहाँकै तनियन्मा उल्लेख गर्नुभएको देखिन्छ। उहाँ त्याग र तपस्याका मूर्ति एवं भक्तिज्ञानवैराग्यले सम्पन्न भएकाले नै श्रीकूरेश, श्रीगोविन्द जस्ता वेदादि शास्त्रपारङ्गत ज्ञानी ब्राह्मण, यादवप्रकाश, यज्ञमूर्ति आदि जस्ता तत्कालीन धुरन्धर पण्डितहरू, अकलङ्क, विठ्ठलदेव आदि राजाहरू, पिल्लान् आदि गरिएका आचार्यपुत्र एवं परिवारजनका साथै अन्य धनुर्दास आदि गरिएका सामान्यजन, यस्ता हजारौँले उहाँको चरणको आश्रय लिएर आफ्नो जीवन सफल बनाए। स्वयं गोष्ठीपूर्ण आदि उहाँका आचार्यहरूले समेत रामानुजको सम्बन्धी भएकाले नै आफू र आफ्नाहरूलाई भगवत्कृपा हुने भएकाले मोक्षधाम सुनिश्चित छ भन्ने रहस्य प्रकट गर्नुभएको र मन्नाथ जस्तो अलङ्कारले विभूषित गर्नुभएको थियो। यसबाट पनि श्रीरामानुज स्वामीजीको वैभव अत्यन्त महिमाशाली रहेको देखिन्छ।
ग) यसैगरी भगवान् श्रीमन्नारायणदेखि चलिआएको, शठकोपादि आल्वारहरू र नाथमुनि-यानमुनमुनि आदि आचार्यहरूद्वारा संरक्षित/सम्बर्धित हुँदै आएको परम वैदिक भक्तिप्रपत्तिधारालाई अविच्छिन्न रूपमा अघि बढाएर सकल जगत् उद्धारका लागि वेदादि शास्त्रसम्मत तरिकाले प्रतिष्ठापन गर्नुभयो, जसका लागि पूर्वाचार्यहरूबाट दिग्दर्शन भएअनुसार वेदादि शास्त्रका सारका रूपमा वेदार्थसंग्रह, श्रीभाष्य आदि प्रौढ ग्रन्थहरूको रचना गरेर प्रामाणिक विशिष्टाद्वैत दर्शनको प्रवर्तन गर्नुभयो। उहाँले वेदादि शास्त्रहरूको अपार्थ गरेर भ्रमान्धकारमा रुमल्याउनेहरूको कार्यलाई निस्तेज पारी शास्त्रको वास्तविक अर्थ प्रकाश गरिदिनुभएकाले श्रुतिहरूले समेत उहाँबाट अनुगृहीत भएको अनुभव गरे। त्यसैले त यः श्रुतिस्मृतिसूत्राणामन्तर्ज्वरमशीशमत् अर्थात् जसले श्रुति, स्मृति र वेदान्त सूत्रहरूको भित्री ज्वर शमन गर्नुभयो भनेर तत्कालीन ज्ञानी शिष्यहरूले उहाँको प्रशस्ति गाएको देखिन्छ।
घ) यस्तै वैदिक मतानुसारी विशिष्टाद्वैत दर्शनको प्रतिष्ठापन गर्ने क्रममा हज्जारौँ जैन, बौद्धादि नास्तिक एवं कैयौँ दिग्भ्रमित मायावादीहरूलाई एकसाथ हज्जारौँ फणाले युक्त भएका शेषनागले झैँ शास्त्रसम्मत तर्कयुक्त उत्तर दिएर शास्त्रार्थमा परास्त गरी तिनलाई शिष्य बनाएर मोक्षको अधिकारी बनाउनुहुने दयासागर श्रीरामानुज स्वामीजी साक्षात् शेषावतार हुनुहुन्थ्यो भनेर तत्कालीन आचार्यहरूले नै उहाँको स्तुति गर्नुभएको देखिन्छ- तुण्डीरमण्डले शेषमूर्तिं रामानुजं भजे। यस्ता प्रकारका अन्य पनि धेरै विचित्र कार्यहरू गर्नुभएको छ उहाँले।
ङ) यसैगरी अनादिकालदेखि परम्परागत रूपमा श्रीगोष्ठीपूर्ण आदि उहाँका आचार्यहरूसम्म आइपुग्दा मन्त्रमन्त्रार्थहरू सकेसम्म गोप्य राख्नुपर्छ र सुयोग्य सत्पात्रलाई मात्र दिनुपर्छ भन्ने परम्परागत मर्यादालाई पालन गर्दा अनादिकालदेखि भवसागरमा डुबेर दुष्कर्म गर्दै आएका असंख्य जीवात्मा भगवान्को सेवक हुनबाट वञ्चित हुन्छन् भनेर परम दयालु श्रीरामानुज स्वामीजीले सम्पूर्ण जगत्को उद्धारका लागि मन्त्रमन्त्रार्थलाई सर्वसुलभ बनाउनुले उहाँ युगद्रष्टा, सर्वलोकहितैषी र दयासागर हुनुहुन्थ्यो भन्ने प्रमाणित हुन्छ। त्यसैले यस्ता अनेकौं महनीय कार्यहरूद्वारा सबैको कल्याण गर्ने दयासागर आचार्यको महिमा अपरम्पार छ भन्न सकिन्छ। उहाँका यस्ता अनेक कार्यलाई श्रीगोष्ठीपूर्ण आदि आचार्यहरूले नै अभिनन्दन गर्नुले पनि उहाँको कार्य निक्कै महत्त्वपूर्ण थियो भन्ने स्पष्ट हुन्छ।
च) श्रीरामानुज स्वामीजीले पाञ्चरात्रागम आदि आगमशास्त्रहरूका माध्यमले भगवान्का दिव्यदेशहरूमा पूजा-आराधनालाई पनि व्यवस्थित गराउनुभयो। पिता-माताले सन्ततिको संरक्षण गरे झैँ अर्चावताररूप भगवान्को सर्वतोभावेन आराधना गर्नुपर्दछ भन्ने शास्त्रसम्मत कुरालाई बुझ्नुभएका उहाँले शास्त्रीय विधिको ज्ञान नभएर ग्रामाचारअनुसार स्वेच्छानुसारी सेवा-आराधना हुँदै आएका मठमन्दिर, देवालयहरूमा पाञ्चरात्र आदि आगमपद्धतिअनुसार शास्त्रीय विधिपूर्वक आराधना गर्ने व्यवस्था गराउनुभयो। यस कुराले पनि उहाँ एउटा शास्त्रद्रष्टा भई भगवन्निष्ठासहित सामाजिक सुव्यवस्था बनाउनुहुने महान् समाजसुधारक, शास्त्रज्ञ, युगद्रष्टा आचार्य हुनुहुन्छ भन्ने स्पष्ट छ। यसका साथै श्रीरामानुजस्वामीजीले सारा नर–नारीहरूलाई आ-आफ्नो वर्णाश्रको मर्यादा एवं लोकव्यवस्थामा रहँदै मोक्षको अधिकारी बन्नका लागि शरणागतिमार्गमा सहभागी गराउनुभयो। सर्वोपकारी आचार्य श्रीरामानुज स्वामीजीले गर्नुभएको यस्ता अमानुष कार्यहरूले गर्दा समस्त नरनारीहरू सजिलैसँग मोक्षको भागी बन्न पुगे। उहाँले त्यस बेलामा बसाल्नुभएको व्यवस्था आचार्य परम्परामार्फत् निरवच्छिन्न रूपमा वर्तमानसम्म पनि आइरहेको छ र त्यसमा आबद्ध भई सन्मार्ग प्राप्त गर्दै असंख्य जीवात्माले आत्मकल्याण गर्न पाइरहेका छन्। (श्रीरामानुजाचार्य एवम् विशिष्टाद्वैत दर्शन…….)
श्रीरामानुज स्वामीजीभन्दा उत्तरवर्ती आचार्यहरू
श्रीरामानुजाचार्य स्वामीजीले यस श्रीसम्प्रदायलाई समृद्ध बनाउन ७४ पीठको स्थापना गरी आफ्ना सुयोग्य शिष्यहरू (१. श्रीकुरुकेश २. श्रीकूरेश ३. श्रीवात्स्यार्य ४. एङ्कलालवान् ५. दक्षिणसूरि ६. लक्ष्मणसूरि ७. गोमठसूरि ८. सेट्टलूरसूरि ९. वेदान्तिसूरि १०. अनन्तसूरि आदि ७४ आचार्यहरूलाई पीठाधिपति बनाउनुभयो। रामानुज स्वामीजीपछि श्रीरङ्गम्को प्रमुख पीठमा गोविन्दाचार्य रहनुभयो भने अन्य आचार्यहरूले पनि आ-आफ्ना पीठहरूमा रही श्रीसम्प्रदायको संवर्धन गर्दै जानुभयो। यसरी विभिन्न आचार्यहरूको परम्पराबाट समृद्ध हुँदै गएको यस सम्प्रदायको मूल पीठमा गोविन्दाचार्यपछि क्रमशः पराशर भट्टर् स्वामीजी, वेदान्ती स्वामीजी, कलिवैरिदास स्वामीजी, कृष्णपाद स्वामीजी हुँदै लोकाचार्य स्वामीजी, श्रीशैलनाथ स्वामीजी, श्रीवरवरमुनि स्वामीजी आदि रहनुभयो र उहाँहरूले मठ-मन्दिरहरूको विस्तार, विभिन्न ग्रन्थहरूको प्रणयन, शरणागतिमार्गको प्रचार–प्रसार गरी सम्प्रदायको संरक्षण–संवर्धन गर्दै जानुभयो। यसै बिच यस सम्प्रदायका आचार्यहरूका बिचमा केही सैद्धान्तिक मतभेद बीजारोपण हुन गयो, जसको परिणाम स्वरूप बड्गल र तिङ्गलका रूपमा दुइटा धारा बने, जसमा एउटाको प्रतिनिधित्व श्रीपिल्लै लोकाचार्य स्वामीजीले गर्नुभयो भने अर्काको श्रीवेदान्तदेशिक स्वामीजीले गर्नुभयो।
श्रीसम्प्रदायका वड्गल र तिङ्गल भेद
श्रीलोकाचार्य स्वामीजीकै समयमा प्रादुर्भाव हुनुभएका श्रीवेंकटनाथाचार्य(वेदान्तदेशिक) स्वामीजीसँग केही सैद्धान्तिक मतभेद भएपछि यस सम्प्रदायका वड्गल र तिङ्गलका रूपमा दुइटा परम्परा हुन गए, जसका कारण तिलक आदि चिह्नहरू पनि भिन्न-भिन्न भए। द्राविडवेद(दिव्यप्रबन्ध)को विशेष महत्त्व देखाई संस्कृत वेदादि शास्त्रलाई मान्ने तिङ्गल परम्पराका आचार्यहरू र संस्कृत वेदादिको प्रामुख्य मान्दै दिव्यप्रबन्धलाई मान्ने वड्गल परम्पराका आचार्यहरूले मूलतः दार्शनिक विशिष्टाद्वैत सिद्धान्तको संरक्षण–संवर्धन गर्ने कार्यमा कहिल्यै विमति राख्नुभएन। श्रीवैष्णव सम्प्रदाय वड्गल र तिङ्गल नामद्धारा प्रसिद्ध बन्न पुगेका भए तापनि दुवैलाई विशिष्टाद्वैत सिद्धान्त पूर्णतः अभिप्रेत छ। तथा दुवैमा पारस्परिक समन्वय पनि छ। दुवै आचार्यहरूको प्रमुख लक्ष्य शास्त्रार्थमा प्रतिपक्षीहरूका मतको खण्डन गरेर विशिष्टाद्वैत सिद्धान्तको गौरवलाई अक्षुण्ण राख्नु नै रहेको देखिन्छ। ऊर्ध्वपुण्ड्र धारण र केही सिद्धान्तका विषयमा सामान्य अन्तर पाइए तापनि मूलतः एउटै सिद्धान्त अभिप्रेत छ।
श्रीपिल्लै लोकाचार्य स्वामीजी
श्रीसम्प्रदायको आचार्य परम्परामा श्रीलोकाचार्य स्वामीजीको महत्त्वपूर्ण स्थान छ। उहाँको समयमा श्रीरङ्गम्मा विधर्मीहरूले आक्रमण गरे। त्यतिखेर मन्दिरको रक्षाको भार लोकाचार्य स्वामीजीमा आइपरेको थियो। अर्थपञ्चक, तत्त्वत्रय, श्रीवचनभूषण, प्रपन्नपरित्राणम्, प्रमेयशेखर, मुमुक्षुप्पडी आदि विभिन्न रहस्य ग्रन्थका प्रणेता श्रीस्वामीजीले शरणागतिमार्गलाई सर्वजनसुलभ बनाउने महान् कार्य गर्नुभयो। श्रीलोकाचार्य स्वामीजीका विभिन्न ग्रन्थहरूको व्याख्या गरेर विशद बनाउने कार्य उहाँका प्रशिष्य श्रीवरवरमुनि स्वामीजीले गर्नुभयो।
श्रीवेंकटनाथाचार्य (वेदान्तदेशिक) स्वामीजी
श्रीलोकाचार्य स्वामीजीकै समकालमा वड्गल परम्पराका आचार्य श्रीवेंकटनाथ (वेदान्तदेशिक) स्वामीजी हुनुभयो। श्रीरामानुजाचार्य स्वामीजी पश्चात् श्रीवैष्णव सम्प्रदायका सर्वश्रेष्ठ विद्वान्, सिद्धान्त संरक्षकका रूपमा उहाँको ख्याति छ। प्रतिवादीहरूलाई शास्त्रप्रमाण तथा सूक्ष्म तर्कद्वारा खण्डन गरी विशिष्टाद्वैत सिद्धान्तको संरक्षण गर्ने उहाँ अद्वितीय विद्वान् मानिनुहुन्छ। अतः उहाँलाई कवितार्किकसिंह, सर्वतन्त्रस्वतन्त्र, वेदान्तदेशिक आदि विविध उपाधि दिइएको पाइन्छ। उहाँ अत्युच्च कोटिका दार्शनिक, कवि, तार्किक विचारक तथा शास्त्रार्थ महारथीका रूपमा समेत सुप्रसिद्ध हुनुहुन्छ। उहाँको जन्म कान्चीपुरम् नजिक तुप्पुलम् नामक स्थानमा भएको थियो। उहाँका पिताको नाम आनन्दसूरि र माताको नाम तोतारम्मा थियो। बाल्यकालमा नै उहाँले सम्पूर्ण वेद–वेदान्त, काव्य, पुराणेतिहास आदिको सम्यक् अध्ययन गरेर पूर्ण पाण्डित्य प्राप्त गर्नुभएको थियो। उहाँ श्रीवरदाचार्यका शिष्य हुनुहुन्थ्यो।
श्रीवेदान्तदेशिक स्वामीजीले संस्कृत तथा तमिल भाषामा सयभन्दा बढी ग्रन्थहरूको रचना गर्नुभएको छ। उहाँका ग्रन्थहरू विशिष्टाद्वैत दर्शन अथवा श्रीवैष्णव सम्प्रदायका अमूल्य निधिका रूपमा रहेका छन्।
श्रीवरवरमुनि स्वामीजी
१५औँ शताब्दीमा प्रादुर्भाव हुनुभएका श्रीवरवरमुनि स्वामीजी श्रीसम्प्रदायका विशिष्ट आचार्य मानिनुहुन्छ। उहाँ श्रीपिल्लै लोकाचार्यका शिष्य श्रीशैलनाथ स्वामीजीका शिष्य हुनुहुन्छ अर्थात् श्रीलोकाचार्य स्वामीजीका प्रशिष्य हुनुहुन्छ। उहाँले लोकाचार्य स्वामीजीका ग्रन्थहरूमा टीका लेख्नुका साथै द्राविडवेदका भाष्यहरूको व्यापक प्रचार पनि गर्नुभयो। श्रीरामानुज स्वामीजीकै सत्सङ्कल्पको संवर्धन गर्न प्रादुर्भाव हुनुभएका उहाँलाई शेषांश मानिएको छ।
श्रीरामानुज स्वामीजीले जस्तै श्रीसम्प्रदायको प्रचार–प्रसार गर्न श्रीवरवरमुनि स्वामीजीले पनि अष्टदिग्गजको रूपमा आफ्ना सुयोग्य आठ शिष्यहरूलाई आठ गद्दीमा स्थापना गरी जिम्मेबारी प्रदान गर्नुभयो। ती प्रमुख आचार्यहरू हुनुहुन्छ :
श्रीमद्वरप्रदगुरुः प्रतिवादिभीकृत्
भट्टार्यवेङ्कटपती प्रणतार्तिहारी।
रामानुजार्यगुरुपुङ्गवदेवराज
श्रीवानशैलमुनयोऽष्टदिशाङ्गजास्ते।।
(१) प्रतिवादिभयंकराचार्य स्वामीजी (२) श्रीदेवराज स्वामीजी (३) श्रीभट्टार्य स्वामीजी (४) श्रीवेङ्कटेशजीयर स्वामीजी (५) श्रीरामानुजाचार्य स्वामीजी (६) श्रीवरदाचार्य स्वामीजी (७) श्रीप्रणतार्तिहराचार्य स्वामीजी (८) श्रीवानशैल (तोताद्रि) स्वामीजी
यसपछि आठओटै गद्दीका आ-आफ्ना परम्पराहरू चल्दै आएका छन्। यहाँ विस्तारका भयले सबै गद्दीका उत्तरवर्ती आचार्य परम्पराको वर्णन संभव देखिएन। अतः तत्तद्विषयक जिज्ञासु श्रीवैष्णव भक्तहरूलाई आ-आफना आचार्य परम्पराको ज्ञान ग्रहण गर्न आग्रह गरिन्छ।
उत्तरभारतमा श्रीसम्प्रदाय
आजभन्दा लगभग २०० वर्षपूर्व श्रीवरदाचार्य(अण्डन्) स्वामीजीका परम्परामा हुनुभएका श्रीनिवासाचार्य स्वामीजीका शिष्य श्रीरङ्गदेशिक स्वामीजीले उत्तर भारतको वृन्दावन आई श्रीगोवर्धन पीठको स्थापना गरेर यस सम्प्रदायलाई उत्तर भारतमा बढाउने कार्य गर्नुभयो। लगभग यसै समयमा प्रतिवादिभयङ्कर गद्दीका शास्त्रार्थमहारथीका रूपमा सुप्रसिद्ध आचार्य श्री अनन्ताचार्य स्वामीजीले पनि दिग्विजय गर्दै उत्तर भारतमा आएर श्रीसम्प्रदायको संवधन गर्ने कार्य गर्नुभयो। त्यसैगरी तोताद्रि(वानमामलै)परम्पराका २५औँ जीयर स्वामीजीको पनि श्रीसम्प्रदाय संवर्धनार्थ उत्तर भारतका विभिन्न क्षेत्रहरूको यात्रा भयो, जसले गर्दा गोवर्धन गद्दी, प्रतिवादिभयङ्कर गद्दी र तोताद्रि गद्दीको परम्परा उत्तर भारतमा पनि फैलिँदै गयो। यसका साथै अवान्तर कालमा आठ गद्दीभन्दा बाहिर श्रीरामानुज स्वामीजीकै ७४ पीठमध्ये कुनै एक पीठबाट चल्दै आएको स्वतन्त्र परम्परामा आबद्ध श्रीमन्नारायण जीयर स्वामीजी(विजयवाडा, आन्ध्रप्रदेश)बाट पनि उत्तरभारतका विभिन्न क्षेत्रमा श्रीसम्प्रदायको प्रचार-प्रसार भयो, जसको निरन्तरता वर्तमान आचार्य श्रीमन्नारायण चिन्न जीयर स्वामीजीबाट पनि भइरहेको छ। यसैगरी वड्गल परम्पराका दक्षिण भारतमा रहेका विभिन्न मठका आचार्यहरूबाट पनि उत्तरभारतमा श्रीसम्प्रदायको विस्तार भयो।
नेपालमा श्रीसम्प्रदाय
त्यसपछि क्रमशः नेपालका पनि विभिन्न क्षेत्रहरूमा यिनै आचार्यपीठहरू(तोताद्रि पीठ, प्रतिवादिभयङ्कर पीठ, गोवर्धन पीठ, श्रीमन्नारायण जीयर् स्वामीजीको परम्परा र अहोविल् आदि वड्गल परम्परा)का आचार्यहरूबाट यस सम्प्रदायको विस्तार हुँदै आएको छ। नेपालमा यस सम्प्रदायको विस्तार गर्न यिनै पीठहरू सम्बद्ध आचार्यहरूको योगदान छ। विशेष गरी नेपाली समाजमा प्रतिवादिभयङ्कर पीठाधिपति श्री अनन्ताचार्य स्वामीजीका सुशिष्य गोदुग्धाहारी जगद्गुरु योगिराज श्री कमलनयनाचार्य स्वामीजीको श्रीसम्प्रदाय प्रवर्धनमा धेरै ठूलो योगदान छ। उहाँले नेपालको पश्चिमदेखि पूर्वसम्म र भारतको सिक्किम, पश्चिम बङ्गाल, आसामका साथै भुटानसम्म पुगेर तात्कालिक समयमा श्रीसम्प्रदायलाई फैलाउने महान् कार्य गर्नुभयो। यसका प्रभावले गर्दा अहिले उहाँका शिष्य-प्रशिष्य हुँदै विश्वभरी नै श्रीवैष्णव परम्परा व्याप्त हुन पुगेको छ। यसरी नै अरू पनि धेरै आचार्यहरूको त्याग-तपस्याबाट नेपाल र नेपाली भाषीसमाजमा श्रीसम्प्रदायको विस्तार भएको छ। यस लघु आलेखमा सबैको नाम उल्लेख गर्न सम्भव नभएकाले परम्परा सम्बन्धी विषयलाई यतिमै रोक्दै अब श्रीसम्प्रदाय वैदिक शास्त्रमा आधारित उत्कृष्ट परम्परा हो भन्ने कुरालाई सप्रमाण पुष्टि गरिन्छ।
श्रीसम्प्रदायको शास्त्रीय आधार
श्रीसम्प्रदायमा शंखचक्रधारण, ऊर्ध्वपुण्ड्रधारण, श्रीमन्नारायणको परत्व(श्रीमन्नारायण नै परब्रह्म परमात्मा हुनुहुन्छ र अन्य शिव, ब्रह्मा आदि देवता उहाँका अङ्गरूप हुन् भन्ने मान्यता)लाई स्वीकार गरिन्छ। यसका विषयमा शास्त्रप्रमाणहरू प्रशस्त पाइन्छन्। जो यहाँ सङ्क्षेपमा दिइन्छ –
प्रतप्ते विष्णोरब्जचक्रे पवित्रे जन्माम्भोधिं तर्तवे चर्षणीन्द्राः।
मूले बाह्वोर्दधतेऽन्ये पुराणाः लिङ्गान्यङ्गे तावकान्यर्पयन्ति।।(सामवेद, प्रपन्नामृत ग्रन्थमा उल्लिखित)
जन्मरूपी समुद्रलाई पार गर्नको लागि श्रेष्ठजनहरूले परमपवित्र भगवान्का सन्तप्त शङ्ख र चक्रलाई दुवै पाखुराका फेदमा धारण गर्दछन्, अन्य पुराना व्यक्तिहरूले पनि हे भगवन् ! हजुरका चिह्नहरूलाई अङ्गमा धारण गर्दछन्।
हरेः पादाकृतिमात्मनो हिताय मध्ये छिद्रमूर्ध्वपुण्ड्रं यो धारयति,
स परस्य प्रियो भवति स पुण्यवान् भवति स मुक्तिवान् भवति।। (अथर्वणोपनिषद् प्रपन्नामृत ग्रन्थमा उल्लिखित)
आत्माको हितका लागि बीचमा छिद्र (खाली ठाउँ) राखेर हरि भगवान्को पाउको आकार भएको ठाडो तिलक जसले धारण गर्दछ, त्यो परमात्माको प्यारो हुन्छ, पुण्यवान् हुन्छ, मुक्तिले युक्त हुन्छ (त्यसले मोक्षलाई प्राप्त गर्दछ।)
धृतोर्ध्वपुण्ड्रः परमेशितारं नारायणं साङ्ख्ययोगाभिगम्यम्।
ज्ञात्वा विमुच्येत नरः समस्तैः संसारपाशैरिह चैति विष्णुम्।। (महोपनिषद्, प्रपन्नामृत ग्रन्थमा उल्लिखित)
ऊर्ध्वपुण्ड्र धारण गर्ने व्यक्तिले साङ्ख्य र योगद्वारा प्राप्त गर्न सकिने विश्वका परम शासक नारायण भगवान्लाई जानेर यहाँ संसारका पासाहरूबाट मुक्त हुन्छ र विष्णु भगवान्लाई प्राप्त गर्दछ।
नारायणः परं ब्रह्म तत्त्वं नारायणः परः। (नारायणोपनिषद्, प्रपन्नामृत ग्रन्थमा उल्लिखित)
भगवान् नारायण परब्रह्म हुनुहुन्छ। उहाँ नै परतत्त्व हुनुहुन्छ।
नारायणपरा वेदाः। (श्रीमद्भागवतपुराण)
वेदहरू नारायणपरक छन्। वेदहरूले नारायणलाई नै प्रतिपादन गर्दछन्।
नारायण एवेदं सर्वं यद्भूतं यच्च भव्यम् निष्कलङ्को निरञ्जनो निर्विकल्पो निराख्यातः शुद्धो देव एको नारायणः।। एको ह वै नारायण आसीत्, न ब्रह्मेशानः। (नारायणोपनिषद्)
नारायण नै सबै कुरा हुनुहुन्छ। जुन भइसकेको छ, जुन हुनेवाला छ, त्यो पनि नारायण नै हुनुहुन्छ। कलङ्करहित, मलरहित, विकल्परहित, नारायण भगवान् नै एक मात्र देव हुनुहुन्छ। निश्चय नै एकमात्र नारायण हुनुहुन्थ्यो, ब्रह्मा हुनुहुन्नथ्यो, शिव पनि हुनुहुन्नथ्यो।
यस्ता असंख्य प्रमाणहरू विभिन्न शास्त्रहरूमा पाइन्छन्, जसलाई बुझेर, जानेर हाम्रो सम्प्रदाय, परम्परा कतिसम्म प्रामाणिक रहेछ भन्ने कुरा जान्न सकिन्छ ।
उपसंहार एवम् निष्कर्ष
भगवान् श्रीमन्नारायणबाट आरम्भ भई श्रीनाथमुनि, श्रीयामुनमुनि, श्रीरामानुज स्वामीजी हुँदै वर्तमान आ-आफ्ना आचार्यहरूसम्म अविच्छिन्न रूपमा चल्दै आएको यो श्रीसम्प्रदाय अहिले विश्वव्यापी भई अनादि कालदेखि भवसागरमा डुबेर दुःख-कष्ट भोग्दै आएका हामीजस्ता असंख्य जीवात्माहरूको उद्धार गर्ने कार्य गरेको छ। भगवद्–रामानुजाचार्यले सर्वसुलभ बनाउनुभएको यसै भक्ति–प्रपत्तिमार्गको कुनै न कुनै प्रकारले अनुसरण, अनुकरण गरी निम्बार्क, माध्व, वल्लभ, रामानन्द, गौडीया आदि अनेक वैष्णव परम्परा पनि विश्वव्यापी भएका छन्। त्यसैले सबैले श्रीरामानुज स्वामीजीलाई भक्तिमार्गका प्रथम आचार्य भनेर स्वीकार गर्दछन्। अहिले हाम्रा आचार्यहरूले पनि भारतवर्षमा मात्र नभई युरोप, अमेरिका आदि पाश्चात्त्य देशहरूमा समेत पुगेर यस श्रीसम्प्रदायको विस्तार गरिरहनुभएको छ। यसले गर्दा आज यस शरणागति मार्गले मानवमात्रको कल्याण गरेको स्पष्ट छ। श्रीवैष्णव सम्प्रदायमा श्रीवैष्णव दीक्षा स्वीकार गर्नका लागि पञ्चसंस्कार(ताप, पुण्ड्र, नाम, मन्त्र र याग)हरूको आवश्यकता पर्दछ। अष्टाक्षरी, द्वय, चरमश्लोक नामक यी तीन महामन्त्रहरूलाई ज्ञान र अनुष्ठानले सम्पन्न सदाचार्यबाट उपदेशका रूपमा ग्रहण गरेर मन्त्रहरूको अर्थलाई पनि आचार्यमुखबाटै जानेर सम्पूर्ण विश्वासशाली बनेर भगवद्भागवदाचार्यहरूको सेवाद्वारा जीवनको शेषभागलाई परिशुद्ध प्रवर्तन(जीवनचर्या)का साथमा मुमुक्षु जीवले यापन गर्नुपर्दछ। रहस्यत्रय नामक तीनओटा मन्त्रहरूको अर्थलाई विशद रूपमा बताउने परमदयालु पूर्वाचार्यहरूका अनुष्ठानप्रधान अनेक ग्रन्थहरू संस्कृत भाषा र द्रविड भाषामा छन्। प्रपन्नपारिजात, अष्टश्लोकी, अष्टादशरहस्य आदि प्रबन्धहरू प्रसिद्ध छन्। यसैगरी भगवद्भक्तिसिन्धु मानिने आल्वार्(दिव्यसूरि)हरूद्वारा प्रसादित दिव्य प्रबन्धहरू, ती प्रबन्धहरूका व्याख्याहरू, पूर्वाचार्यहरूद्वारा अनुगृहीत स्तोत्ररत्न, गद्यत्रय, पञ्चस्तवी आदि श्रीवैष्णव संप्रदायमा सुप्रसिद्ध सुललित एवं सुमधुर स्तोत्रवाङ्मय पनि प्रपन्नहरूका लागि नित्यानुसन्धेय छन्। अहिले विभिन्न क्षेत्रका विद्वान्हरूले ती संस्कृत या द्राविड भाषामा भएका ग्रन्थहरूको हिन्दी, नेपाली, अंग्रेजी आदि आधुनिक भाषाहरूमा अनुवाद, व्याख्या आदि गरिरहनुभएको छ। अतः जिज्ञासु जनका लागि सम्प्रदायका रहस्यहरू बुझ्नका लागि सरल एवम् सहज हुँदै आएको छ।
यस श्रीसम्प्रदायको परम्परा उत्कृष्ट छ, किनभने यस सम्प्रदायको प्रारम्भ भगवान् श्रीमन्नारायणबाट भर्इ अविच्छिन्न रूपमा क्रमशः परम्परा चलिरहेको छ। यसको संरक्षण, संवर्धनमा सबैभन्दा धेरै योगदान श्रीरामानुजाचार्यले दिनुभएको छ। तत्त्वत्रयवादमा आधारित यस शरणागति मार्गको परम्परामा आबद्ध व्यक्तिहरूले भगवान् श्रीमन्नारायण नै उपास्य हुनुहुन्छ भनेर निश्चित गरेका छन्। यस परम्पराका प्रमुख आचार्य श्रीरामानुजाचार्यको यस सम्प्रदायको संरक्षण, संवर्धनमा सर्वाधिक योगदान छ। त्यसैले आज यो सम्प्रदाय रामानुज-सम्प्रदायका रूपमा सुप्रसिद्ध छ र यसमा आबद्ध भएर परमगति मोक्ष सजिलैसँग प्राप्त गर्न सकिन्छ भन्ने यस सम्प्रदायको मुख्य मान्यता रहेको यस अध्ययनबाट देखिन्छ।
जय श्रीमन्नारायण !
सन्दर्भसूची
आपटे, हरिनारायण. (सम्पा.) (सन् १९१२). बृहद्ब्रह्मसंहिता. आनन्दाश्रममुद्रणालय।
नेपाल, रघुनाथ. (सम्पा.) (२०७५). श्रीवैष्णव नित्यकर्मदीपिका. इन्द्रप्रसाद सुवेदी।
नेपाल, रघुनाथ एवम् अन्य (सम्पा.) (२०७८). श्रीरामानुजाचार्य एवम् विशिष्टाद्वैत दर्शन. श्रीवैष्णव युवा परिषद्।
मिश्र, भवानीप्रसाद. (सम्पा.) (२०७७). नित्यानुष्ठानदीपिका. शिष्यवर्ग, सहयोगीहरू।
वाग्ले, गोविन्दाचार्य. (२०६२). प्रपन्नामृत. दो.सं. श्रीलक्ष्मीनारायण मन्दिर।
व्यास. (२०५७). श्रीमद्भागवतमहापुराण. गीताप्रेस।
शर्मा, वासुदेव. (सम्पा.) (२००३). र्इशाद्यष्टोत्तरोपनिषदः. राष्ट्रियसंस्कृतसंस्थानम्।
सापकोटा, बद्रीप्रपन्न र जगन्नाथ पोख्रेल. (२०६७). श्रीगुरुपरम्परा. श्रीलक्ष्मीनारायण मन्दिर सञ्चालक समिति।
[1]. न्याय–व्याकरण–सर्वदर्शनाचार्य, उपप्राध्यापक : न्यायविभाग, ने.सं.वि., विश्वविद्यालय विद्यापीठ, दाङ
इमेल : raghunathnepal2@gmail.com