मधुसूदन घिमिरे[1] लेखसार विश्वसाहित्यमा पालिसाहित्यको गरिमामय उपस्थिति रहेको देख्न पाइन्छ। यसको कारण पालिसाहित्यमा प्रतिपादित मानवमूल्य र त्यहाँ रहेको शाश्वत् भाव नै हो। पालि भाषाको विकास संस्कृत भाषा सँगसँगै भएको देखिन्छ। तत्कालीन व्यवस्थामा लिखित नभए पनि संस्कृत भाषा प्रयोगको अधिकार व्यावहारिक अभ्यासका रूपमा उच्चवर्गका लागि मात्र थियो। पालि लगायत प्राकृतिक भाषाहरू उपेक्षामा परेका थिए। बुद्धले जब […]
मधुसूदन घिमिरे[1]
लेखसार
विश्वसाहित्यमा पालिसाहित्यको गरिमामय उपस्थिति रहेको देख्न पाइन्छ। यसको कारण पालिसाहित्यमा प्रतिपादित मानवमूल्य र त्यहाँ रहेको शाश्वत् भाव नै हो। पालि भाषाको विकास संस्कृत भाषा सँगसँगै भएको देखिन्छ। तत्कालीन व्यवस्थामा लिखित नभए पनि संस्कृत भाषा प्रयोगको अधिकार व्यावहारिक अभ्यासका रूपमा उच्चवर्गका लागि मात्र थियो। पालि लगायत प्राकृतिक भाषाहरू उपेक्षामा परेका थिए। बुद्धले जब बोधगयामा मध्यम मार्गको अनुसरणबाट बुद्धत्व प्राप्त गरे, तब उनले सारनाथमा पहिलो पटक पाँच शिष्यलाई धर्मदेशना गर्दा प्रयोग गरेको भाषा यसैलाई मानिन्छ। त्यस समयदेखि विकासको गतिलाई समातेको यस भाषाको विकास र उत्कर्षको समय इसापूर्व छैटौँ शताब्दीदेखि इसाको छैटौँ शताब्दी मानिन्छ। यस भाषाको विकासमा श्रीलङ्केली र वर्मेली थविरहरूको पनि अतुलनीय योगदान रहेको पाइन्छ। समय एकै गतिले बढ्न सक्दैन। इसाको छैटौँ शताब्दीपश्चात् यसको विकासमा आंशिक अवरोधहरू देखा परे भने भारतमा अतिशय संस्कृतमा लेख्ने प्रवृत्तिको विकास हुँदा बौद्ध दार्शनिक र साहित्यकारहरू पनि त्यसै भाषामार्फत् आफ्ना रचनाहरू प्रस्तुत गर्न उद्यत भए। साथै भारतमा मुगलहरूको आक्रमणपश्चात् यस भाषामाथि दोहोरो प्रहार भयो। कतिपय पालिमा लेखिएका मूल ग्रन्थहरू नष्टभ्रष्ट बनाइयो। यसपूर्व नै कतिपय पालि साहित्य चिनिँया,सिंहली र वर्मेली भाषामा अनुवाद भइसकेकाले ती भाषाहरूबाट पछिल्लो समय पुनः पालिमा अनुवाद गरिएको हो भन्ने आधारहरू प्रशस्त देखिन्छन्। जे भए पनि तत्कालीन परिवेश, जनजीवन, आर्थिक, सामाजिक जीवन-दर्शनको बोध गर्न र शाश्वत् बौद्धतत्त्व र निर्वाणको स्वरूप जान्नलाई पालि भाषा बहु उपयोगी हुन्छ।
शब्दकुञ्जी : गरिमामय, अवरोध, उत्कर्ष, प्रवृत्ति, बौद्धतत्त्व, निर्वाण
विषयपरिचय
भगवान् बुद्धका उपदेशहरूको सङ्ग्रह विशेष गरी पालि भाषामा भएकाले यसको अध्ययनविना बौद्धदर्शनको अध्ययन अपुरो र अधुरो हुने देखिन्छ। पालि भाषा पङ्क्ति र पवित्र वाणीका रूपमा सुरुवाती समयमा प्रयोग भएको देखिन्छ। भारतीय पौरस्त्य अध्ययन केन्द्रहरूमा पालि भाषाको अध्ययन अनुसन्धान परम्परालाई देख्न सकिए पनि नेपालका विश्वविद्यालयहरूमा यसलाई आजपर्यन्त संस्थागत रूपमा अध्ययनअध्यापनको व्यवस्थित थालनी भएको पाइँदैन। विपुल बौद्ध साहित्य मूलत पालि भाषामा नै निबद्ध रहेको छ। बौद्ध केवल धर्ममात्र नभई एक समयकै प्रतिनिधित्व गर्ने सभ्यता र संस्कृतिको द्योतक पनि हो। पालि एक भाषा हो। भाषा भएका कारणले त्यसलाई नियमन गर्ने आफ्नै व्याकरण पनि छ। संस्कृत र प्राकृतिक भाषासँग कतिपय सन्दर्भमा पालि भाषाको समानता भेटिन्छ भने कतिपय सन्दर्भमा विषमता पाइन्छ। यस भाषाको व्याकरण पाँच सम्प्रदायमा विभक्त रहेको देखिन्छ : (क) बोधिसत् व्याकरण, (ख) कच्चायन व्याकरण, (ग) सब्बगुणाकर व्याकरण, (घ) मोग्लान व्याकरण (ङ) सद्दनीति व्याकरण। त्यसैगरी विपुल बौद्धसाहित्य र दर्शन अन्तर्निहित तिपिटक (त्रिपिटक) र अनुपिटक साहित्य पालि साहित्यका प्रमुख स्रोत हुन्। प्रस्तुत लघु अनुसन्धान यसै अन्तर्गत रही सम्पन्न गरिएको छ।
समस्या कथन
अनुसन्धानको आधार भनेकै अनुसन्धान समस्या हुन्। अनुसन्धानको प्रमुख समस्या यसको शीर्षक नै हुन्छ। शीर्षकसँग सम्बन्धित गरी यस अनुसन्धेय विषयको समस्यालाई यसरी उपस्थापित गरिएको छ :
क. पालि भाषा कस्तो छ ?
ख. पालि भाषाको व्याकरण के कति छन् ?
ग. पालि साहित्य के कस्तो रहेको छ ?
अनुसन्धानको उद्देश्य
सम्पूर्ण बौद्ध साहित्य, संस्कृति र दर्शन रहेको पालि भाषाका बारेमा गहिरो खोज अनुसन्धान नेपालका सन्दर्भमा अहिलेसम्म भएको पाइँदैन। विभिन्न विश्वविद्यालयहरूमा बौद्ध अध्ययन भए पनि यसका बारेमा सूक्ष्म अध्ययन भएको देखिँदैन। त्यसैको केही हदसम्म भए पनि जानकारीका लागि यो अध्ययन गरिएको छ। अनुसन्धानको उद्देश्य यसका प्रश्नहरूसँग नै अन्तर्निहित हुन्छन्। यस लघु अनुसन्धानका उद्देश्यहरू यस प्रकार रहेका छन् :
क. पालि भाषाको स्वरूप देखाउनु,
ख. पालि व्याकरणको परिचय दिनु
ग. पालि साहित्यको महत्त्व प्रदर्शन गर्नु
अध्ययन विधि, सामग्रीको स्रोत र सीमाङ्कन
व्यवस्थित र वैज्ञानिक विधिलाई अँगालेर मात्र कुनै पनि अनुसन्धान सम्पन्न गर्न सकिन्छ। अनुसन्धान व्यवस्थित कार्य भएकाले यसका विधिलाई अनुसन्धाताले पालना गर्नै पर्ने हुन्छ। यस लघु अनुसन्धानमा वर्णनात्मक विधिलाई प्रमुख विधिका रूपमा उपयोगमा ल्याइएको छ। त्यसैगरी विश्लेषणात्मक र आवश्यकताअनुसार तुलनात्मक विधिको पनि प्रयोग गरिएको छ। सामग्री सङ्कलन द्वितीयक स्रोतका माध्यमबाट गरिएको छ। आवश्यकताअनुरूप प्राथमिक स्रोत पनि प्रयोग गरिएको छ। यस अध्ययनको सीमा पालि साहित्यको सङ्क्षिप्त विकासक्रमलाई देखाउनु मात्र रहेको छ।
पालि भाषाको परिचय
जसलाई आज हामी पालि भन्छौँ, यो यसको प्रारम्भिक नाम होइन। भाषा विशेषका रूपमा त पालिको प्रयोग इसाको उनाइसौँ शताब्दीबाट मात्र भएको मानिन्छ (उपाध्याय,२०१३ : २५)। पालिको पहिलो आधिकारिक प्रयोग आचार्य बुद्धघोषले चौथो शताब्दीतिर गरेका थिए। यसलाई सुरुवाती समयमा बुद्धवाणि र तिपिटकको पर्यायका रूपमा प्रयोग गरिन्थ्यो। पालयति, पाल्यते इति वा अर्थात् संरक्षण वा पालना गर्छ वा गरिन्छ भन्ने अर्थमा पाली=पालि शब्दको व्युत्पादन हुन्छ (बराल, २०६८ : ४५०)। पालि व्याकरण र साहित्यको फरक फरक तरिकाले विश्लेषण गर्नुपर्छ। परियाय शब्दबाट पालिको निर्माण भएको मानिन्छ। तिपिटकमा परियाय शब्द अनेक स्थानमा प्रयोग भएको भेटिन्छ। यसबाटै पालि बनेको हो भन्ने विचार पालि साहित्यका इतिहास नामक ग्रन्थका लेखक डा. भरतसिंह उपाध्यायको रहेको छ (उपाध्याय, २०१३ : ३२)। पालि भाषामा यसको व्युत्पत्ति यस्तो पाइन्छ : पाति रक्खतीति पालि। पालिलाई पङ्क्तिको समानार्थीमा पनि पालि साहित्यमा अनेक ठाउँमा प्रयोग गरेको देखिन्छ, “तन्ति बुद्धवचनं पन्ति पालि”(अभिधानप्पदीपिकासूची)।
भारतीय भाषालाई तीन चरणमा विभाजन गरी अध्ययन गर्ने चलन रहिआएको पाइन्छ।
१. प्राचीन भारतीय आर्यभाषा ( वैदिक युगदेखि ५०० इसापूर्वसम्म)
२. मध्यकालीन भारतीय आर्यभाषा ( इसापूर्व ५०० देखि १००० इसासम्म)
३. आधुनिक आर्यभाषा ( १००० देखि आजसम्म)
प्राचीन भाषामा ऋग्वेद लगायतका समस्त वैदिक संहिता निबद्ध भाषाहरू पर्दछन्। दोस्रो चरणमा ऋग्वेदलाई आधार बनार्ई विकसित भएका भाषाहरू पर्दछन्। यसै समयमा भारतमा अनेक प्रान्तीय भाषाहरूको विकास भएको देखिन्छ। भगवान् गौतमले भारतका विभिन्न प्रान्तहरूको परिभ्रमण गर्दै जनमासहरूको बोलीमा नै धर्मदेशना गर्दा पालि, प्राकृत भाषाले पनि विकासित हुने अवसर प्राप्त गरे। त्यसैले पनि भन्न सकिन्छ संस्कृतसँगसँगै प्राकृत भाषाहरूको पनि विकास भयो। त्यसपछि प्राकृतबाट अपभ्रंश हुँदै आधुनिक भाषाहरूको विकास तेस्रो चरणमा हुनगयो।
पालि र संस्कृतमा कतिपय वर्णहरू समान देखिन्छन्। पालिका पनि केही भेद र उपभेदहरू रहेका छन्। यहाँ संस्कृत र पालिका वर्णहरूको छोटकरीमा परिचय दिइएको छ। संस्कृत भाषामा ५२ ध्वनिहरू छन् भने नौ मूल स्वर- अ, आ, इ, ई, उ, ऊ, ऋ, ऋृ, लृ संयुक्त स्वर ए, ऐ, ओ, औै। त्यसैगरी परम्परित व्यञ्जन प्राण ध्वनि ह र तीन अघोष ऊष्म विसर्ग, अनुस्वार र उपध्मानीय गरी ३९ व्यञ्जनहरू संस्कृतमा पाइन्छन्। पालिमा १० स्वर, ३३ व्यञ्जन गरी ४३ ध्वनिहरू मात्र रहेका छन्। पालिका स्वर वर्णहरूमा अ, आ, इ, ई, उ, ऊ, ह्रस्व ए, ए, ह्रस्व ओ र ओ। यस भाषामा ऋ, ऋृ, लृ, ऐ, औ स्वरहरू रहेका देखिँदैनन्। व्यञ्जनमा संस्कृतका भन्दा कम श र षको प्रयोग पाइँदैन। विसर्ग पनि यस भाषामा प्रयोग भएको पाइएको छैन।
केही शब्दगत विशेषता हेरौँ :
संस्कृत पालि
वधूः वधू
अग्नि अग्गि (प्राकृतमा पनि अग्गि नै हुन्छ।)
शय्या सेय्या
विष्णु वेण्हु
पुष्कर पोस्कर
मौर्य मोरिय
ऋक्ष अच्छ
ऋषि इसि
ऋतु उतु
पालि भाषामा एकै शब्दका पनि अनेक रूपहरू भेट्न सकिन्छ। संस्कृतको कृत शब्दको पालिमा कत, कित, मृत शब्दको मत, मित आदि। षष्ठी विभक्तिमा संस्कृतमा देवानाम् हुन्छ भने यस भाषामा देवानं। संस्कृत समान नै पालि व्याकरणको पनि सबै सन्धि, लिङ्ग, क्रिया आदिको व्यवस्था देख्न सकिन्छ।
मागधी र पालि भाषा
संस्कृतबाट अपभ्रंश हुँदै विकास भएका भाषामध्ये अर्धमागधी पनि एक हो। मागधी भाषामा बुद्धका उपदेशहरू सङ्ग्रहीत छन् भने अर्धमागधीमा महावीर जैनहरूका उपदेशहरू रहेका छन्। मगही भाषा भारतको विहार, झारखण्डमा प्रचलित छ भने बुद्धका उपदेशहरूमा मागधी मूल भाषा भनेर मागधी भाषालाई सङ्केत गरेको पाइन्छ। यसलाई मगही र शुद्ध मगही गरी दुई उपसमूहमा वर्गीकरण गरेको पाइन्छ। मागधी र अर्धमागधी भाषामा समानता प्रशस्त भेटिन्छ। बौद्ध साहित्य विशेष गरी मागधीको नजिक रहेको पालिमा निबद्ध भए भने जैन साहित्य अर्धमागधीको निकट रहेको प्राकृत भाषामा लिपिबद्ध भएको इतिहास पाइन्छ।
पालि साहित्यको विकास
भगवान् बुद्धको उपदेशबाट नै पालि साहित्यको विकासको सुरुवात भएको मानिन्छ। यसको कारणमा बुद्धले तत्कालीन जनभाषा पालिमा नै उपदेश दिएको देखिन्छ। समाजमा रहेका केही पण्डितहरूका लागि नभई समस्त प्राणीको हितका लागि यो भाषा बुद्धको रोजाइमा परेको अनुमान गर्न सकिन्छ। पालि साहित्यलाई मूलतः तिपिटक र अनुपिटक गरी दुई भागमा वर्गीकरण गरेको पाइन्छ ( व्यास, २००८ : ६४)। तिपिटकभित्र विनय, अभिधम्म र सुत्त पर्दछन्। यी तिनै पिटकहरू साक्षात् बुद्धका वचन मानिन्छन्। बुद्धले विभिन्न समयमा दिएका उपदेशहरूको सङ्ग्रह नै तिपिटक हुन्। बुद्ध महापरिनिर्वाणको केही समयपश्चात् पहिलो बौद्धसङ्गीति इसापूर्व ४८५ मा महाकाश्यपको नेतृत्वमा भयो। यही पहिलो बौद्धसङ्गीतिमा नै तिनै पिटकहरू सङ्ग्रहीत भए भन्ने विचार र यस समयमा केवल विनयपिटक र सुत्तपिटक सङ्ग्रहीत भए अभिधम्मपिटक दोस्रो र तेस्रो बौद्धसङ्गीतिमा मात्र लिपिबद्ध भएको भन्ने विचार पनि पाइन्छ।
बौद्ध धार्मिक साहित्यमा विनयपिटकको गणना सर्वोपरि मानिन्छ। यसभित्र अन्य तीन ग्रन्थ सङ्कलित छन् : सुत्तविभङ्ग, खन्धक र परिवार। सुत्तविभङ्गको पनि महाविभङ्ग र भिक्खुणीविभङ्ग गरी दुई विभाग रहेका छन्। यसमा भिक्षुणीहरूको कर्तव्यको वर्णन रहेको छ भने यसैभित्र पाटिमोक्ख(प्रातिमोक्ष)को वर्णन भेटिन्छ। पाटिमोक्खमा भिक्षुभिक्षुणीहरूले पालन गर्नुपर्ने २२७ नियमहरूको वर्णन रहेको देखिन्छ। खंधकभित्र महावग्ग र चुल्लवग्ग छन्, जसमा दैनिक जीवनमा पालन गर्नुपर्ने नित्य र नैमित्तिक कर्महरूको वर्णन पाइन्छ। परिवार पाठ मूल विनयपिटकको नभई कुनै सिंहली भिक्षुको रचना र प्रक्षिप्त अंश मानिन्छ। यसमा १९ भागहरू रहेका छन्।
अभिधम्मपिटकमा सात ग्रन्थहरू धम्मसङ्गर्षर्णि, विभङ्ग, कथावत्थु, पुग्गलपंचति, धातुकथा, यमक र पट्ठानप्पकरण रहेका छन्। यसभित्रका प्रत्येक पिटकले बौद्धदर्शनलाई प्रतिपादन गरेका छन्। बौद्धहरूको समग्र दार्शनिक मान्यताको आधार ग्रन्थ यसैलाई मानिन्छ।
साहित्यिक दृष्टिले सुत्तपिटक प्रमुख ग्रन्थ मानिन्छ। यसमा दीघनिकाय, मज्झिमनिकाय, संयुत्तनिकाय, अंगुत्तरनिकाय र खुद्दकनिकाय संग्रहीत छन्। यिनीहरूमा अनेकविध सूत्रहरूको सङ्ग्रह देख्न सकिन्छ (गैरोला, २०१२ : ७५१)। बौद्ध साहित्यमा यस पिटकको विशेष महत्त्व रहेको पाइन्छ। बौद्ध साहित्यमा जातक साहित्यको पनि विशेष स्थान रहेको छ। यसभित्र बुद्धको पूर्वजन्मको कथा वर्णन गरिएको छ। जातक शब्दको अर्थ नै जन्मसँग विशेष भन्ने भएकाले यसभित्र बुद्धको पूर्व जन्मको कथा मनोरम तरिकाले प्रस्तुत गरेको देखिन्छ। जातक कथाहरू ५४७ रहेका साथै यसको भाषा गद्यपद्य मिश्रित रहेको पाइन्छ।
अनुपिटक साहित्यलाई अनुपालि साहित्यसमेत भनिन्छ। अनुपिटकभित्र मुख्य गरी मिलिन्दपञ्हो पर्दछ। यसमा यवनराज मिलिन्द र भिक्षु नागसेनको संवाद रहेको छ। यो बौद्धहरूको तत्त्वमीमांसा पनि हो। अन्य अनुपालि साहित्यमा महाकच्चायन र नेतिप्करणले बौद्ध शिक्षालाई प्रस्तुत गरेका छन्। अन्य अनुपिटकहरू सिंहलिज बौद्धमार्गीहरूको रचना हो, जसमा बौद्ध धर्मको महत्त्व वर्णित छ।
बौद्ध साहित्यभित्रै कोश, छन्द, व्याकरणादि अनेक विषयहरू समावेश छन्। यस आलेखमा छन्द र कोश, पालि व्याकरणको विकासक्रमलाई सङ्क्षिप्त रूपमा देखाइएको छ।
पालि व्याकरण
बुद्धवचन सङ्ग्रहीत विपुल साहित्य समेटेको पालि भाषा व्याकरणविना अपूर्ण हुने निश्चित थियो तर बौद्ध विद्वान्हरूले यस्तो अवस्था आउन दिएनन्। पालि भाषाको विकास पनि संस्कृत सँगसँगै भएको देखिन्छ (तिवारी, २०१० : ६८)। यसका व्याकरणिक ग्रन्थहरूको निर्माण पनि प्राचीनकालदेखि नै हुँदै आएको इतिहास पाइन्छ (उपाध्याय, २०१० : ६१७)। पालि भाषाको व्याकरणले पनि संस्कृत व्याकरणले झैँ रक्षोहागमलघ्वसन्देहाः प्रयोजनम् स्वीकार गरेको देखिन्छ। पालि व्याकरणका कति भेदहरू रहेका छन् भन्ने विचारमा मतैक्यता देखिँदैन। अचार्य बलदेव उपाध्याले पाँच भेद देखाएका छन् (उपाध्याय, २०१० : ६१७)। पालि साहित्यका इतिहासका लेखक डा. भरतसिंह उपाध्यायले तीन भेदको चर्चा गरेका छन् ( उपाध्याय, २०१३ : ७४२)। पालि भाषाका प्रमुख पाँच सम्प्रदायहरू यस प्रकार छन् – (१) बोधिचित व्याकरण, (२) कच्चायन व्याकरण, (३) सब्बगुणाकर व्याकरण, (४) मोग्लायन व्याकरण, (४) सद्दनीति व्याकरण। यीमध्ये बोधिचित व्याकरण र सब्बगुणाकर व्याकरणहरूको नाममात्र सुन्न पाइन्छ। त्यो भन्दा धेरै यी दुई व्याकरणको अध्ययनका लागि केही पनि अवशेषहरू रहेको देखिँदैन। यस आलेखमा उपलब्ध तीन व्याकरणका प्रमुख विशेषताको मात्र चर्चापरिचर्चा गरिएको छ।
कच्चायन व्याकरण (कात्यायन) पालि साहित्यको प्राचीन व्याकरण मानिन्छ। यसलाई कच्चायन गन्ध (कात्यायन ग्रन्थ) पनि भनिन्छ। यिनी बुद्धका प्रधान शिष्य महाकच्चायन ( महाकात्यायन) र संस्कृत व्याकरणका वार्तिककार कात्यायनभन्दा भिन्न हुन् ( उपाध्याय, २०१३ : ७४५)। ग्रन्थको महत्ता स्थापित गर्न कतिपय समीक्षकहरू बुद्धका प्रधान शिष्य महाकच्चायनको रचना मान्छन् तर व्यक्तिको नामले भन्दा त्यसले प्रतिपादन गर्ने विषयले महत्ता र इयत्ता स्थापित हुन्छ। पाणिनीय व्याकरणको काशिकावृत्ति सातौँ शताब्दीको मानिन्छ। त्यसको प्रभाव कच्चायन व्याकरणमा पनि परेको छ। त्यसैले यसको समय सातौँ शताब्दी मान्नु उपयुक्त हुन्छ। यस व्याकरणमा कति सूत्र रहेका छन् भन्ने विषयमा पर्याप्त मतभेदहरू देख्न पाइन्छ। यसका सूत्र सङ्ख्या मोटामोटी ६७५ मानिएको छ। यस व्याकरणका चाार भागहरू सन्धिकप्पो, नामकप्पो, आख्यातकप्पो, किब्बिधान रहेका छन्। यस व्याकरणले समस्त पालि साहित्यलाई नियममा आाबद्ध गराउन सक्ने सामर्थ्य राख्दछ। कच्चायन व्याकरणले संस्कृत व्याकरणबाट प्रशस्त प्रभाव ग्रहण गरेको देखिन्छ। कच्चायन व्याकरणमा मौलिक नभई यसैको व्याख्या विश्लेषण भएका अन्य व्याकरणहरू उपलब्ध छन् । तीमध्ये प्रमुख यस प्रकार छन् : कच्चायन न्यास, सुत्तनिद्देश, रूपसिद्धि, बालावतार, कच्चायन वण्णना, धातुमंजूषा, सम्बन्ध चिन्ता, कारिका, सद्दत्थभेदचिन्ता। यी सबै कच्चायन सम्प्रदायका व्याकरणहरू हुन्।
पालि प्रौढ सम्प्रदायको प्रवर्तक भएका कारण पालिसाहित्यमा यसको उपस्थिति आफैँमा महत्त्वपूर्ण रहेको पाइन्छ। यसको सर्जक महाथेर मोग्गलान मानिन्छन्। यिनी तत्कालीन सिंहल र वर्तमान श्रीलङ्काका राजा पराब्रह्मबाहुका राज्यमा बस्दथे। यिनको समय ११औैँ शताब्दी मानिँदै आएको छ। यिनी श्रीलङ्काको प्रख्यात नगर अनुराधपुरको थूपाराम विहारमा बस्ने कुरा सुनिश्चित रहेको छ। यसमा ८१७ सूत्रहरू र पञ्चाङ्ग धातु, सूत्र, गण, उणादि, नामलिङ्गानुशासनहरू पनि रहेका छन् ।
सुत्तधातुगणोण्वादि नामलिङ्गानुसासनं,
यस्स तिट्ठति जिह्वग्गे सो व्याकरणकेसरी।। (मोग्गलान व्याकरण)
मोग्गलानले स्वयम् स्वोपज्ञ वृत्तिको रचना गरेको तथ्य भर्खर भर्खरमात्र अनुसन्धानबाट प्रमाणित भएको पाइन्छ (उपाध्याय, २०१० : ६२३)। मोग्गलान व्याकरणको निर्माणमा पाणिनि, कातन्त्र र चन्द्रगोमीको प्रभाव अधिक देखिन्छ। यस सम्प्रदायका केही टीकाहरू पदसाधन, प्रयोगसिद्धि, पञ्जिका प्रदीपहरू रहेको देखिन्छ।
सद्दनीति व्याकरण पालि भाषाको सबैभन्दा पछिल्लो समयको मौलिक व्याकरण हो। यसभन्दा पछि कुनै पनि प्रकारको मौलिक पालि व्याकरण विकसित भएको पाइँदैन। मोग्गलान व्याकरण सिहंल देशमा भएको मानिन्छ। त्यसैको प्रत्युत्तर स्वरूप यो व्याकरण बर्मेली भूमिमा रचना भएको देखिन्छ। अंग्गवंश यसका रचयिता मानिन्छन्। बर्मामा आज पनि बौद्ध भिक्षुहरूमा यो व्याकरणले सम्मान पाइरहेको छ। यसको विकासका लागि कच्चायन र मोग्गलान व्याकरणले उपजीव्य भूमिका निर्वाह गरेको देखिन्छ। सिंहल र बर्मा दुवै देशहरू बौद्धमय थिए। ती देशहरूको पालि भाषा, साहित्य, दर्शन, संस्कृतिको विकासमा पालि व्याकरणको महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ। सद्दनीति व्याकरणमा पदमाला (पदहरूको विवरण), धातुमाला (धातु र तन्निष्पन्न शब्द) र सुत्तमाला गरी १३९१ सूत्रहरू रहेका छन्। भारतमा यी तिनै व्याकरणको अध्ययन पालि विषयअन्तर्गत अद्यापि भइरहेको पाइन्छ। लुप्त प्रायः पालि भाषासाहित्यलाई विश्वविद्यालय र अध्ययन संस्थानहरूले उच्च प्राथमिकता दिएको पाइन्छ। केवल संस्कृत भाषाको व्युत्पादनले मात्र अथाह बौद्धसाहित्य सुरक्षित हुन सक्दैन। यसको प्रमुख कारण भगवान् बुद्धका उपदेशहरूको सङ्ग्रह पालि भाषामा नै भएको थियो। समयक्रमसँगै र भारतमा संस्कृत भाषाको अधिकता भएकाले पछिका सौगत अनुयायीहरूले आफ्ना रचनाहरू संस्कृत भाषामा नै लिपिबद्ध गरेको अनुमान गर्न कठिन हुँदैन। भारतमा रहेक विशाल बौद्ध साहित्यलाई नष्टभ्रष्ट गर्न मुगल साम्राज्यलाई सहयोग गर्ने कतिपय भारतीयहरू नै थिए भन्ने विभिन्न विद्वान्हरूको विचार पढ्न पाइन्छ।
पालि काव्यग्रन्थ
पालि भाषाको काव्य साहित्य पनि समृद्ध र वैभवशाली रहेको तथ्य यस भाषामा रचना भएका काव्यहरूले नै उद्घोष गरिरहेको देखिन्छ। विषयवस्तुका दृष्टिले पालि काव्यलाई वर्णनात्मक काव्य र आख्यान काव्य गरी दुई भागमा विभक्त गरेर अध्ययन गर्दा सरल हुने देखिन्छ। यो विभाजन विषयवस्तुको बाह्य स्वरूपको मात्र हो। नत्र मुख्य प्रवृत्ति र शैली त नैतिक आदर्श र निरस इतिवृत्तात्मक प्रकृतिको देख्न सकिन्छ। मुख्य वर्णनात्मक काव्यहरू यस प्रकार छन् : अनागतवंस, लकटाहगाथा, जिनालंकार, जिनचरित, पञ्ञमधु, सद्धमोपायन, पञ्चगतिदीपन, लोकप्पदीपसार। यसैगरी आख्यान काव्यका मुख्य कृतिहरू यस प्रकार रहेका छन् : सरवाहिनी, बुद्धालंकार सहस्सवत्थुप्पकरण र राजाधिराजविलासिनी। यी सबै काव्यको विस्तारमा प्रतिपाद्य विषयवस्तु यहाँ प्रस्तुत गर्न असम्भव प्रायः छ।
अनागतवंसमा भविष्यमा अवतरित हुने वाला बुद्ध मैत्रेयको जीवन इतिहास उल्लेख गरिको छ। यसको भाषा गद्यपद्यमिश्रित रहेको छ। यसमा अनागत मैत्रेय बुद्धको मात्र नभई भविष्यमा बौद्ध संघमाथि आइपर्ने समस्याहरूको पनि वर्णन भेटिन्छ। यसको रचना समयका बारेमा अहिलेसम्म स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन। काव्य साहित्यमा तेलकटाह गाथाको विशेष महत्त्व देख्न सकिन्छ। यसको रचना समय इसापूर्व ३०६ र स्रष्टा कल्याणिय नामक भिक्षु हुन्। यसमा श्रीलङ्काका राजा तिष्यले कल्याणिय भिक्षुलाई रानीसँग मिलेर कुनै षड्यन्त्र रचेको आरोपमा तातो तेलको ठुलो कराईमा राख्ने आदेश दिन्छन्। नगरेको कार्यका लागि यति भयानक सजाय पाएपछि उनले बुद्ध शासनको चिन्तन गरे। त्यही चिन्तनको प्रतिफल यो काव्य निर्माण भएको हो। यसमा बौद्धहरूको केन्द्रीय दार्शनिक सिद्धान्त पटिच्चसमुत्पाद(प्रतीत्यसमुत्पाद)को पनि वर्णन भएको पाइन्छ। यसको विशेषता भनेकै बौद्धहरूले स्वीकार गरेका दार्शनिक सिद्धान्तहरूलाई सहज तरिकाले प्रस्तुत गर्न सफल हुनु हो। जिनालंकारमा बुद्ध जीवनीको २५० गाथामा विस्तृतमा वर्णन पाइन्छ। यसैगरी जिनचरितमा पनि बुद्धका पावन चरित्रहरुकै वर्णन भेटिन्छ। यसरी नै प्रत्येक वर्णनात्मक साहित्यका कृतिहरूले बुद्धका पावन चरित्र, नैतिक, धार्मिक उपदेशहरूको वर्णन गरेका छन् ।
आख्यान काव्यको भाषा गद्यपद्य मिश्रित प्रकृतिको देख्न सकिन्छ। यिनीहरूमा नैतिक पक्षको प्रधानता हुँदाहुँदै पनि जातक कथा, अर्थककथा र महावंसबाट प्रशस्त प्रभाव ग्रहण गरेको पाइन्छ। तसर्थ यिनीहरूमा मौलिकताको अभाव रहेको छ भनेर भन्दा अत्युक्ति नहोला। रसवाहिनीका लेखक सिंहल कवि वैदेह स्थविर हुन् र यसको पालि अनुवाद रट्ठपाल(राष्ट्रपाल)ले गरेको देखिन्छ। बुद्धालंकारको रचना बर्मेली स्थविर सिलवंस भिक्षुले गरेका हुन्। यसको विषयवस्तु जातक कथाबाट लिइएको देखिन्छ। सहस्सवत्थुप्पकरणमा करिब एक हजार कथाहरू रहेका छन्। यो श्रीलङ्कामा रचना भएको मानिन्छ। राजाधिराजविलासिनीमा बर्माका बौद्ध राजाको स्तुति गरिएको छ। उनले बौद्ध धर्मको विकास र संवर्धनमा गरेको योगदानको चर्चा यसमा पाइन्छ।
पालि कोश (कोष)
नेपाली भाषामा शब्दहरूको सङ्ग्रह बुझाउनका लागि कोश शब्द प्रयोग गर्ने परम्परा रहेको देखिन्छ भने कोषले वित्तीय व्यवहारलाई जनाउँछ। त्यसैले यहाँ नेपालीकरण गरी कोश शब्द नै प्रयोग गरिएको छ। पालि साहित्यमा दुईओटा कोशको मात्र अस्तित्वमय उपस्थिति रहेको पाइन्छ। मोग्गलान व्याकरणका रचनाकार मोग्गलानको अभिधानप्दीपिका र सद्धम्मकिति (सद्धर्मकीर्ति)को एकक्खर कोस (एकाक्षरीकोष) नै पालि भाषाका आधिकारिक कोश हुन् (उपाध्याय, २०१३ : ६६१)। अभिधानप्पदीपिका पर्यायवाची शब्दहरूको कोश हो। यो तीन काण्डमा विभक्त छ। सग्गकण्ड (स्वर्गकाण्ड), यसमा देवता, शाक्यमुनि, देवयोनि, इन्द्र, निर्वाण आदि शब्दहरूको सङ्कलन रहेको छ। भूकण्ड(भूकाण्ड)मा पृथ्वी आदि शब्दहरूको सूची रहेको पाइन्छ। अन्तिम काण्ड सामञ्ञ कण्ड (श्रामण्य काण्ड) हो, जसमा प्रव्रज्यासम्बन्धी शब्दहरूको सङ्कलन रहेको पाइन्छ। ग्रन्थको अन्तिममा अनेकार्थकवाचक शब्दहरूको सङ्कलन देख्न सकिन्छ। बर्मा र श्रीलङ्कामा यसको अति नै आदर गर्ने गरिएको पाइन्छ। यसको प्रस्तुतिको शैली वर्णानुक्रमको नभई संस्कृतका कोशहरू अमरकोश, हलायुध र मेदिनी जस्तै पर्यायवाची क्रमको रहेको छ। एकक्खरकोस (एकाक्षरीकोश) सद्धम्मकितिको सङ्कलन हो र यसमा एकात्मक अक्षरको पद्यमय प्रस्तुति पाइन्छ। यो संस्कृतको एकाक्षरी कोशको पालि अनुवाद मात्र मानिन्न्छ।
पालि छन्दशास्त्र
पालि भाषामा छन्दसम्बन्धी प्रशस्त कृतिहरू पाइँदैनन्। यसमा वुतोदय (वृत्तोदय) नाम गरेको एउटामात्र छन्दसम्बन्धी कृति उपलब्ध छ। यसको प्रस्तुतिको माध्यम गद्यपद्यमय रहेको देखिन्छ। यसका रचनाकार धम्मबुद्ध नाम गरेका बर्मा निवासी बौद्ध भिक्षु थिए। यसै कृतिमाथि बुद्धिविलासिताका लागि केही टीकाहरू पालि छन्दशास्त्रमा पाइन्छ।
निष्कर्ष तथा उपसंहार
भारत वर्षका लागि मात्र नभई वैश्विक मानवको दुःखबाट मुक्तिका लागि बुद्धले उपदेश दिएको विपुल पालि साहित्य विश्वका लागि उपेक्षित हुनु स्वभाविक भए पनि उनकै अनुयायी र उनी जन्मेका देशका लागि पनि उपेक्षित हुनु धेरै दुःखको विषय हो। इसापूर्व छैटौँ शताब्दीदेखि र्इसाको छैटौँ शताब्दीसम्म भारतीय भूमिमा १२ सय वर्ष जे भयो, त्यो आफैँमा मूल्यवान् थियो। यस समयमा भारतीय साहित्य, दर्शन र ज्ञानका अनेक शाखाले विश्वलाई जे दियो, त्यसको श्रेय पालि साहित्यलाई पनि जान्छ। पालि साहित्यले तत्कालीन समाज, संस्कृति, मानवमूल्य, दर्शन, भूगोल, राजनीतिक व्यवस्था आदिलाई सहज रूपमा प्रस्तुत गर्न सफल भएको छ। भारतीय संस्कृतिलाई चीन, मंगोलिया, बर्मा, श्रीलङ्का, कम्बोडिया, जापान जस्ता देशहरूमा प्रचार गर्न सफल भए पनि जोसँग अधिक नाता र सम्बन्ध थियो, तिनैबाट पालि साहित्य उपेक्षित बनिरहेको छ। पालि साहित्य आफ्नै गौरवले विश्व साहित्यको हाराहारीमा उभिन सक्ने सामर्थ्य राख्दछ। संस्कृत साहित्यको व्यतिरेकी नभई उसको समकक्षी भएर नै यसले आफ्नो उपस्थिति देखाइसकेको छ। जर्मन महाकवि गेटेले पनि पालि साहित्यको उच्च प्रशंसा गरेका छन्। बिसौँ शताब्दीका प्रख्यात समालोचक टि.एस. इलियटले पनि यस भाषाको गम्भीर अध्ययन गरी आफ्नो द वेस्ट ल्यान्डमा प्रयोग गर्न सफल भएका छन्।
भारतमा पालि साहित्यका क्षेत्रमा पछिल्ला दशकमा एक प्रकारको पुनर्जागरणको समय आएको महसुस गर्न सकिन्छ। पालि भाषा साहित्यलाई कुनै देशको भाषाका रूपमा मात्र ग्रहण गर्ने सङ्कुचित मानसिकता त्याग्ने समय आइसकेको छ। कम्तीमा बौद्ध अध्ययन हुने संस्थाहरूमा यसलाई अनिवार्य अध्ययन, अनुसन्धानको विषय बनाउनुपर्छ। यसको अध्ययनविना बौद्ध अध्ययन अपूर्ण हुन्छ। यसको अध्ययनले मात्र वास्तवमै बुद्धवचन के थिए भन्ने कुराको बोध सम्भव हुन्छ।
पालि भाषा साहित्य, काव्य, व्याकरण, कोश, छन्द आदिले पूर्ण भाषा हो। यसको विकास बुद्धभन्दा अगाडि नै भएको थियो। यो असमाज व्यवस्थाले पछि पारेका व्यक्तिहरूमा मात्र सीमित भएको समयमा बुद्धले यही भाषाको प्रयोग गरी जनसाधारणलाई महान् अमृतमय वाणीहरू पान गराउन सफल भए। यसको अध्ययन, अनुसन्धानबाट बुद्धका महान् उपदेश र अथाह बौद्ध साहित्यको ज्ञान त अवश्य नै हुन्छ, साथसाथै तत्कालीन समयको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक वातावरणको पनि बोध हुनजान्छ। प्राचीन समयमा पालि साहित्यको प्रभाव एसियाभरि फैलिएको भए पनि राजनीतिक सङ्कुचिताले गर्दा यसको विकास र विस्तारमा केही असर परेको छ। यस विषयलाई बौद्ध अध्ययन हुने उच्च शिक्षालयहरूले अनिवार्य पठनपाठनमा उपयोग गरी यसबाट प्राप्त हुने ज्ञानको लाभ लिनुपर्छ।
सन्दर्भसूची
उपाध्याय, नागेन्द्र. (सन् २००१). बौद्ध अपभ्रंश साहित्य. केन्द्रीय उच्च तिब्बती शिक्षा संस्थान।
उपाध्याय, आचार्य बलदेव. (सन् २०१०). संस्कृत शास्त्रोँ का इतिहास. चौखम्बा सुरभारती प्रकाशन।
उपाध्याय, भरतसिंह. (सन् २०१३, सातौँ संस्करण). पालि साहित्य का इतिहास. हिन्दी साहित्य सम्मेलन।
काश्यप, जगदीश. (सम्पादक)(१९६३). पालिमहाव्याकरण. मोतिलाल वनारसी दास।
गेरौला, वाचस्पति. (२०१२ सन्). संस्कृत साहित्य का इतिहास. चौखम्बा विद्याभवन।
तिवारी, भोलानाथ. (सन् २०१०). भाषाविज्ञान. किताब महल।
बराल, टीकादत्त. (सम्पादक)(२०६८). तत्सम नेपाली व्युत्पत्ति शब्दकोश. विद्यार्थी पुस्तक भण्डार।
व्यास, भोलाशंकर. (सन् २००८). भारतीय साहित्य की रुपरेखा. चौखम्बा विद्याभवन।
[1] madhusudhan.ghimire74@gmail.com