ध.च. गोतामे नेपाली साहित्यका चर्चित उपन्यासकार हुन्। वास्तविक नाम धनुषचन्द्र गौतम भएका यिनको जन्न्म वि.सं. १९८९ मा जनकपुरको मनराकट्टीमा भएको थियो भने निधन वि.सं. २०६३ सालमा काठमाडौँमा भएको थियो।
नित्यानन्द खतिवडा, विद्याविरिधि
उप-प्राध्यापक, नेपाली, ने.सं.वि, पिण्डेश्वर विद्यापीठ, धरान
शोधसार
ध.च. गोतामे नेपाली साहित्यका चर्चित उपन्यासकार हुन्। वास्तविक नाम धनुषचन्द्र गौतम भएका यिनको जन्न्म वि.सं. १९८९ मा जनकपुरको मनराकट्टीमा भएको थियो भने निधन वि.सं. २०६३ सालमा काठमाडौँमा भएको थियो। नेपाली विषयमा एम.ए. सम्मको अध्ययन गरेका यिनी पेसाले सरकारी सेवामा रही अधिकृत, उपसचिवहुँदै सहसचिव र सूचना विभागको महानिर्देशकसम्म रही सेवा गरेका थिए। २००३ तिरदेखि नै नेपाली साहित्यमा प्रवेश गरेका यिनका कथा, उपन्यास, निबन्ध, इतिहास र संस्मरणहरू प्रकाशित छन्। यिनको रुचिको साहित्यिक क्षेत्र भने उपन्यास रहेको छ। यिनका घामका पाइलाहरू (२०३५) र यहाँदेखि त्यहाँसम्म (२०४२) गरी दुईओटा उपन्यास कृतिहरू प्रकाशित रहेका छन्। घामका पाइलाहरू उपन्यासका लागि यिनलाई प्रसिद्ध मदन पुरस्कार र साझा पुरस्कारले सम्मानित गरिएको थियो भने यिनले गोरखा दक्षिण बाहु चौथो पनि प्राप्त गरेका छन्। प्रकाशित उपन्यासहरूका आधारमा यिनमा विभिन्न प्रवृत्तिहरू पाइन्छन्। जसमा सामाजिक यथार्थ, मानवता, जटिल कथानकको प्रयोग, पात्रको मानसिक अन्तर्द्वन्द्वको प्रयोग र ऐतिहासिकता मुख्य प्रवृत्तिहरू रहेका छन्। घामका पाइलाहरू (२०३५) उपन्यासकार गोतामेको प्रथम तर महत्त्वपूर्ण उपन्यास हो। नेपालको तराईको वीरगन्ज र यसको वरिपरिको शैक्षिक, सामाजिक, आर्थिक, सांस्कृतिक परिस्थितिसँगै रेल यातायताको सुरुवात र यसले पारेको प्रभाव, २००७ साल पूर्वको नेपालको राणाशासन, प्रजातन्त्रका लागि भएको क्रान्तिजस्ता गतिविधिहरूलाई उपन्यासले जीवन्त रूपमा चित्रण गरेको छ। अन्नको भण्डार तथा नेपाल भारत सीमामा रहेको वीरगन्जको ऐतिहासिक यथार्थलाई कलापूर्ण रूपमा प्रस्तुत गरेको यस उपन्यासका आफ्नै विशेषताहरू रहेका छन्। उपन्यासमा सामाजिक यथार्थ, ऐतिहासिक यथार्थ, स्थानीयता र आञ्चलिकता, बहुपात्रीयता, जटिल कथानकको प्रयोग, मानवता, मानसिक अन्तर्द्वन्द्वको प्रयोग र सङ्केतात्मक शीर्षकजस्ता विशेषताहरू पाइन्छन्।
शब्दकुञ्जी : आञ्चलिकता, अन्तर्द्वन्द्व, बहुपात्रीयता, औपन्यासिकता, ताप र सङ्केतात्मक।
१.१ विषय परिचय
ध.च. गोतामे नेपाली साहित्यिक संसारमा स्थापित नाम हो। वास्तविक नाम धनुषचन्द्र गौतम भएका यिनको जन्म वि.सं. १९८९ मा जनकपुरको मनराकट्टीमा भएको थियो। नेपाली विषयमा एम.ए सम्मको अध्ययन पूरा गरेका यिनी पेसाले मूलतः सरकारी संलग्न थिए। शाखा अधिकृत, उपसचिवहुँदै सहसचिव र सूचना विभागको महानिर्देशक बनेका यिनले राष्ट्रिय योजना आयोगको उपसचिव र नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान (हालः नेपाल प्रज्ञा प्रतिष्ठान) को सदस्य सचिवसम्म भएर सेवा गरेका थिए। २००३ सालदेखि नै नेपाली साहित्य रचनामा प्रवेश गरेका यिनले कथा, उपन्यास, इतिहास र संस्मरणहरू प्रकाशन गरेका छन्। यिनको रुचिको क्षेत्र भने नेपाली उपन्यास रहेको छ। यिनको घामका पाइलाहरू (२०३५) र यहाँदेखि त्यहाँसम्म (२०४२) गरी दुईओटा उपन्यास कृतिहरू प्रकाशित छन्। त्यस्तै संज्ञा सर्वनाम (२०४२) निबन्ध सङ्ग्रह, कालान्तर (२०५३) र सम्झनामा गल्छेडाहरूमा (२०५५) दुईओटा संस्मरण सङ्ग्रहहरू र नेपालको इतिहास नामक खोजमूलक ग्रन्थ प्रकाशित छन् भने फुटकर रूपमा कविता, लेख, निबन्ध, समालोचनाहरू पनि प्रकाशनमा रहेका छन्। नेपाली साहित्यमा गरेको विशेष सेवाको कदर गर्दै यिनलाई मदन पुरस्कार (२०३५), साझा पुरस्कार (२०३५), साझा पुरस्कार (२०४२), गोरखा दक्षिण बाहु चौथा आदि पुरस्कार तथा सम्मानले सम्मानित गरिएको छ। प्रकाशित उपन्यासहरूका आधारमा उपन्यासकार गोतामेमा विभिन्न प्रवृत्तिहरू पाउन सकिन्छ। खासगरी सामाजिक यथार्थ, मानवता, जटिल कथानकको प्रयोग, आञ्चलिकता, बहुल पात्रको प्रयोग, पात्रको मानसिक अन्तर्द्वन्द्वको प्रयोग, ऐतिहासिकता यिनमा मुख्य औपन्यासिक प्रवृत्तिहरू बन्न पुगेका छन्।
२०३५ सालमा प्रकाशित तथा धेरै चर्चा पाउन सफल घामका पाइलाहरू आफैंमा एउटा महत्त्वपूर्ण उपन्यास बन्न पुगेको छ। नेपालको तराईको केन्द्र बनेको वीरगन्ज वरिपरिको सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक परिस्थिति, घटना र गतिविधिको यथार्थ चित्र समेटिएको तथा २००७ सालपूर्वको नेपालमा राणाशासनको गतिविधि र प्रभावसँगै तराईमा आएको रेल यातायातले ल्याएको सकारात्मक अनि नकारात्मक प्रभावलाई देखाउन सफल यस उपन्यासका आफ्नै विशेषताहरू रहेका छन्। यसमा सामाजिक यथार्थ, ऐतिहासिक यथार्थ, स्थानीयता र आञ्चलिकता, बहुपात्रीयता, जटिल कथानकको प्रयोग, मानवता, पात्रको मानसिक अन्तर्द्वन्द्वको चित्रण र सङ्केतात्मक शीर्षकजस्ता विशेषताहरू रहेका पाइन्छन्। यस लेखमा नेपाली आख्यान साहित्यमा योगदान दिएर सम्मानित भएका ध.च. गोतामेका औपन्यासिक प्रवृत्तिहरू र यिनको घामका पाइलाहरू उपन्यासका विशेषताहरूबारे चर्चा गरी निष्कर्षमा पुगिएको छ।
१.२ समस्याकथन
उपन्यासकार ध.च. गोतामेका औपन्यासिक प्रवृत्तिहरू के के हुन् ? र उनको घामका पाइलाहरू उपन्यासका विशेषताहरू के के हुन् ? भन्ने दुईओटा मुख्य समस्यालाई लिएर उद्देश्यतर्फ केन्द्रित हुने कार्य यस लेखमा भएको छ।
१.३ उद्देश्यकथन
समस्याकथनमा उठान गरिएका उपन्यासकार ध.च. गोतामेका औपन्यासिक प्रवृत्तिहरूको चर्चा गर्नु तथा घामका पाइलाई उपन्यासका विशेषताहरूबारे परिचर्चा गरी निष्कर्षमा पुग्नु नै यस यस लेखको खास उद्देश्य हो।
१.४ अध्ययनको सीमा
घामका पाइलाहरू र यहाँदेखि त्यहाँसम्म दुईओटा उपन्यासका आधारमा ध.च. गोतामेका औपन्यासिक प्रवृत्तिहरू पहिचान गरी चर्चा गर्नु तथा उनको मदन पुरस्कार प्राप्त औपन्यासिक कृति घामका पाइलाहरूमा केन्द्रित भई यसमा पाइने विशेषताहरूको चर्चा गर्नु यसको लेखको सीमा हो।
१.५ अध्ययन विधि
यस लेखको उद्देश्य प्राप्तिका लागि आवश्यकताअनुसार वर्णनात्मक र विश्लेषणात्मक विधिको प्रयोग गरी निष्कर्षमा पुगिएको छ।
१.६ पूर्वकार्यको विवरण
दयाराम श्रेष्ठ र मोहनराज शर्माको नेपाली साहित्यको संक्षिप्त इतिहास (२०३४) ग्रन्थमा २०३० सालपछिका नेपाली उपन्यासहरूको ऐतिहासिक विवरण दिने क्रममा गोतामेका घामका पाइलाहरू र यहाँदेखि त्यहाँसम्म उपन्यासबारे टिप्पणी गर्दै यी उपन्यासहरूले परम्परागत लेखनका विपरीत नवलेखनको बाटो तय गरेका हुनाले उपन्यासको संरचना अझ सशक्त बन्न पुगेको बताएका छन्। आफ्नो युगको स्थिति, सांस्कृतिक परम्परा र सूक्ष्म मानसिक चेतनालाई व्यक्त गर्न यस्ता उपन्यासहरू सफल बनेको (श्रेष्ठ र शर्मा, २०३४ : ११६) निष्कर्ष यहाँ पाइन्छ।
कृष्णचन्द्रसिंह प्रधानद्वारा सम्पादित साझा समालोचना (२०५८) समालोचना सङ्ग्रहमा नेपाली उपन्यास परम्पराको चर्चा गर्ने क्रममा ध.च. गोतामेका घामका पाइलाहरू र यहाँदेखि त्यहाँसम्म उपन्यासबारे सामान्य टिप्पणी पाइन्छ। गोतामेका उपन्यासहरूले सात सालअघिको पृष्ठभूमिमा सामाजिक जीवनको यथार्थ वा परिशीलन गर्दै आदर्श र मूल्यान्वेषण प्रस्तुत गर्छन् (प्रधान, २०५८ : ४३४) भन्ने विचार यहाँ पाइन्छ।
कृष्णहरि बराल र नेत्र एटमको उपन्यास सिद्धान्त र नेपाली उपन्यास (२०५६) ग्रन्थ प्रकाशित छ, जसमा ध.च. गोतामेका घामका पाइलाहरू र यहाँदेखि त्यहाँसम्म उपन्यासबारे चर्चा गरिएको छ। वीरगन्जमा १९८९ मा जन्मिएका र सरकारी सेवाको उच्च ओहदासम्म पुगेका गोतामे नेपालीका महत्त्वपूर्ण उपन्यासकार हुन् भन्दै यिनका यी उपन्यासमा पात्रहरूको चरित्रमा घटना एवम् उपकथा, आञ्चलिकता, आकर्षक वर्णनात्मक शैली, सामाजिक र सांस्कृतिक सङ्क्रमण, मानवताजस्ता (बराल र एटम, २०५६ : १०५) प्रवृत्तिहरू पाइन्छ भन्ने निष्कर्ष यहाँ निकालिएको छ।
नेपाली उपन्यास शतवार्षिकी स्मारिका (२०६०) ग्रन्थमा डा.कृष्णप्रसाद दाहालको ‘द्वन्द्वगत संरचनाका आधारमा सयवर्षभित्रका केही उपन्यासहरूको अध्ययन’ शीर्षकीय लेख प्रकाशित छ, जसमा द्वन्द्वविधानका आधारमा ध.च. गोतामे र उनका उपन्यासबारे पनि सामान्य चर्चा पाइन्छ। यथार्थवादी दृष्टिबाट मानवतावादको शङ्खघोष गर्नु विशेषता रहेका गोतामेका उपन्यासमा जुनसुकै सभ्यता र संस्कृतिलाई जीवनमा उतार्नु पर्ने सन्देशसँगै शोषक र शोषितबिचको, आदर्श र यथार्थबिचको द्वन्द्वलाई कलात्मक रूपमा देखाइएको (दाहाल, २०६० : ८४) निष्कर्ष निकालिएको छ।
२०६४ सालको गरिमा पत्रिकामा डा.खेम दाहालको ‘ध.च. गोतामेका उपन्यास : एक चर्चा’ शीर्षकीय लेख प्रकाशित रहेको छ। यस लेखमा उपन्यासबार सामान्य परिचयसँगै विभिन्न कोणबाट यिनका उपन्यासहरूको चर्चा गरिएको छ। नेपाली आख्यान साहित्यमा विशेष योगदान दिएका गोतामेका उपन्यासहरूमा नेपाली समाजको सामाजिक यथार्थसँगै ऐतिहासिक पक्षहरू जोडिएका हुन्छन्। जीवनको दुःखसँग हातेमाले गरी हिँड्न सिकाउनु तथा आञ्चलिकता, कलात्मक भाषाशैलीजस्ता सन्दर्भहरूले पनि उपन्यास ओजपूर्ण बन्न पुगेको चर्चासँगै विषय, प्रस्तुति, भाषा आदि कारणले अर्को उपन्यासभन्दा घामका पाइलाहरू उपन्यास निकै महत्त्वपूर्ण बन्न पुगेको (दाहाल, २०६४ : ६७) निष्कर्ष यस लेखमा पाइन्छ।
उपन्यासकार ध.च. गोतामे र उनका उपन्यासविषयक यहाँ प्रस्तुत पूर्वकार्यहरूको विवरणमा समेटिएका विषयहरूमा सामान्य सङ्केतसम्म गरिएको उपन्यासकार गोतामेका औपन्यासिक प्रवृत्ति र घामका पाइलाहरू उपन्यासका मुख्य विशेषताहरूबारे विस्तारमा चर्चा गरी निष्कर्षमा पुग्ने कार्य यस लेखमा भएको छ।
२ उपन्यासकार ध.च. गोतामेका औपन्यासिक प्रवृत्तिहरू
आधुनिक नेपाली उपन्यास परम्पराका सशक्त प्रतिभा ध.च. गोतामेका प्रकाशित घामका पाइलाहरू (२०३५) र यहाँदेखि त्यहाँसम्म (२०४२) गरी दुईओटा उपन्यासहरूमा समेटिएका विषयका आधारमा देखिने औपन्यासिक प्रवृत्तिहरूलाई यसरी प्रस्तुत गरिएको छ :
२.१ सामाजिक यथार्थवादी उपन्यासकार
ध.च. गोतामे सामाजिक यथार्थवादी उपन्यासकार हुन्। समाजमा पाइने वास्तविक पात्र र घटनाका आधारमा समाजको यथासत्यको उद्घाटन गर्नु यिनको विशेषता हो। घामका पाइलाहरूजस्ता उपन्यासमा समाजका विकास, परिवर्तन तथा जीवन्त भोगाइलाई खोजीखोजी स्थान दिने कार्य यिनमा पाइन्छ। नेपालको तराईको व्यापारिक केन्द्र वीरगन्जलाई आधार बनाएर रेल यातायात र यसको प्रभावसँगै सामाजिक, आर्थिक, सांस्कृतिक गतिविधिबारे यथार्थ चित्रण पाइने कारण उनको घामका पाइलाहरू एउटा सामाजिक यथार्थवादी उपन्यास बन्न पुगेको छ। तसर्थ सामाजिक यथार्थ विषय, घटना र पात्र लिएर त्यसको रोचक र घोचक प्रस्तुति गर्नु यिनको खास प्रवृत्ति बनेको छ।
२.२ मानवतावादी उपन्यासकार
ध.च. गोतामे मानवतावादी उपन्यासकार हुन्। आफ्ना उपन्यासमा मानवीय संवेदना, आत्मीयता आदिको सटिक चित्रण गर्ने काम यिनले गरेका छन्। साथै मानवीय मूल्य, आस्था र गरिमालाई उच्च महत्त्व दिएर मान्छे हुनाको भावबोध गराउँदै उपन्यासको रचना गर्नु पनि उपन्यासकार गोतामेको खास प्रवृत्ति हो। घामका पाइलाहरू र यहाँदेखि त्यहाँसम्म उपन्यासहरूमा पात्रका माध्यमबाट आफूमा रहेको मानवतावादी विचारको सम्प्रेषण गरेबाट गोतामेको मानवतावादी चिन्तन स्पष्ट हुनपुगेको छ।
२.३ जटिल कथानकको निर्माण गर्ने उपन्यासकार
आफ्ना उपन्यासमा जटिल कथानकको प्रयोग गर्नु उपन्यासकारको विशेषता देखिन्छ। मूल कथानकभित्र विभिन्न अवान्तर घटना, प्रसङ्गहरू जोडेर कथालाई जटिल बनाउन यिनी सिपालु छन्। कथानकको मूल गतिमात्र भन्दा पनि विभिन्न घटनाजन्य शृङ्खलाको निर्माण गर्दै हाँगाबिँगा फैलाउँदै एकमुष्ठ रूपमा कथानकको गति अघि बढाएर निष्कर्षमा पुऱ्याउने काम यिनले गरेका छन्। तर, यति भएर पनि मूल कथानकको भाव भने कतै हराउँदै यही अनेकतामा एकताजन्य कथानकको निर्माण गर्ने कला यिनका उपन्यासमा पाउन सकिन्छ।
२.४ आञ्चलिकतातर्फ उन्मुख उपन्यासकार
कुनै क्षेत्र वा ठाउँ विशेषको यथार्थ वर्णन गर्ने उपन्यासलाई आञ्चलिक उपन्यास भनिन्छ। वर्णित स्थानको भूबनौट एवम् सम्पूर्ण व्यवहारको केन्द्रीकृत रूप स्थापना गर्नु आञ्चलिक उपन्यासको उद्देश्य हुन्छ (बराल र एटम, २०५६ : ५२)। आफ्ना उपन्यासहरूमा कुनै विशेष ठाउँ, क्षेत्र र त्यहाँको रहनसहन, दुःखसुख, चालचलन, रीतिथिति आदिको कलात्मक चित्रण गोतामेका उपन्यासमा पाइन्छ। आञ्चलिकताका दृष्टिले घामका पाइलाहरू उपन्यास निकै महत्त्वपूर्ण बनेको छ, जसमा तराईको वीरगन्ज र यससँग जोडिएका विभिन्न वस्तु, पात्र र घटनाको कलापूर्ण प्रस्तुति रहेको देखिन्छ। यसरी चारैतिर छरिनेभन्दा कुनै ठाउँलाई लिएर त्यसभित्रका विविध पाटा र पक्षबारे प्रकाश पार्ने आञ्चलिक प्रवृत्ति गोतामेका रचनामा पाइन्छ।
२.५ बहुल पात्रको प्रयोग गर्ने उपन्यासकार
उपन्यासमा थोरैभन्दा बहुल पात्रहरूको प्रयोग गर्ने प्रवृत्ति यिनमा पाइन्छ। विभिन्न वर्गका पात्रहरू लिएर तिनको चरित्रलाई प्रधानता दिनु, अनुकूल र प्रतिकूल दुवै पात्रको चित्रण गर्नु, विभिन्न पुस्ताका पात्रहरूके प्रयोग गर्नु यिनको आफ्नै प्रवृत्ति हो। धनी, गरिब, शिक्षित, अशिक्षित, सहरिया, गाउँले, भ्रष्ट, नैतिक, ठट्यौला आदि विविध प्रवृत्ति र स्वभावका पात्रहरू लिएर वर्णनात्मक प्रस्तुति गर्नेकार्यले यिनमा रहेको बहुल पात्रको प्रयोग गर्ने औपन्यासिक प्रवृत्तिलाई देखाएको छ।
२.६ पात्रको मानसिक अन्तर्द्वन्द्वको चित्रण गर्ने उपन्यासकार
ध.च. गोतामे पात्रको मानसिक अन्तर्द्वन्द्वको राम्रो चित्रण गर्ने उपन्यासकार हुन्। यिनका उपन्यासमा प्रयुक्त मुख्य पात्रहरू कुनै न कुनै मानसिक अन्तर्द्वन्द्वमा अल्झिएर त्यसबाट कसरी उम्किने ध्याउन्नमा सङ्घर्षरत देखिन्छन्। पात्रीय मनोद्वन्द्वको कलापूर्ण चित्रण गर्ने कारण यिनलाई मनोवैज्ञानिक उपन्यासकार पनि भनिन्छ। जे होस् आफूले चयन गरेका मुख्य पात्रहरूको मनोविज्ञानको सुन्दर प्रस्तुतिगर्नु पनि यिनको खास औपन्यासिक पहिचान हो।
२.७ ऐतिहासिकतालाई प्रयोग गर्ने उपन्यासकार
कुनै खास समयलाई पृष्ठभूमि बनाएर ऐतिहासिकताको प्रदर्शन गर्नु यिनको औपन्यासिक प्रवृत्ति बन्न पुगेको छ। खासगरी राणाकालीन ऐतिहासिक सन्दर्भ, घटना र गतिविधि तथा २००७ सालको क्रान्ति र यससँग जोडिएका घटना, विषय, व्यक्तित्व आदिलाई उपन्यासमा स्थान दिनु नै यिनमा रहेको ऐतिहासिकता हो। यिनका दुवै उपन्यासहरूमा यो प्रवृत्ति पाइन्छ।
३ घामका पाइलाहरू उपन्यासका विशेषता
वि.सं. २०३५ सालमा प्रकाशित तथा मदन पुरस्कार पाउन सफल घामका पाइलाहरू गोतामेको आफैँमा महत्त्वपूर्ण उपन्यास हो। औपन्यासिक कलाले भरिपूर्ण यस उपन्यासमा अन्तरनिहित विशेषताहरूलाई यहाँ क्रमशः प्रस्तुत गरिएको छ :
३.१ सामाजिक यथार्थवादी उपन्यास
समाजमा रहेका मानवीय जीवनका यावत यथातथ्यलाई नै सामाजिक यथार्थ भनिन्छ।
यस्ता उपन्यासमा तथ्यपरक रूपमा वस्तुतथ्यको चित्रण गरिन्छ। घामका पाइलाहरू एउटा प्रसिद्ध सामाजिक यथार्थवादी उपन्यास हो। यस उपन्यासमा नेपाली समाजमा पाइने वास्तविक पात्र र घटनाको यथार्थ प्रस्तुति पाइन्छ। घामका पाइलाहरू नेपाली र भारतीय सभ्यताको जोडाइ र त्यसको सङ्क्रमण कालमा जन्मिएको प्रतीकात्मक उपन्यास हो। नेपालमा रेल्वे यातायातको निर्माण हुँदै गर्दाको राणाकालीन इतिहासको प्रसङ्ग लिएर लेखिएको यो उपन्यास तत्कालीन समाजको यथार्थ पृष्ठभूमि दिन सफल रहेको छ (बराल र एटम, २०५६: १०५)। नेपालको तराईमा रहेको वीरगन्जलाई केन्द्र बनाएर लेखिएको यस उपन्यासमा बुबा दुर्गानाथ, छोरो पीताम्बर, नाति पवन तथा रेल्वे निर्माणका क्रममा नेपाल आएका इन्जिनियर अमलेन्दु भट्टाचार्य र छोरी अणुको कथा समेटिएको छ। भारतीयहरूको बढ्दो प्रवेश, नेपाली संस्कृतिमाथिको सङ्क्रमणको सुन्दर प्रस्तुति गरिएको यहाँ पारिवारिक अमिल्दो स्तर र त्यसले निम्त्याएको सङ्कटसँगै गाउँबाट सहरतिर बढ्दै गएको सङ्क्रमणकालीन समाजको यथार्थ तस्विर पाइन्छ। तत्कालीन समाजको रीतिस्थिति, नयाँ र पुरनो मूल्यका बिचको द्वन्द्व, यातायातको आगनमले तराईमा देखापरेको आधुनिकताको घाम नै यस उपन्यासको सामाजिक यथार्थ हो।
३.२ ऐतिहासिक यथार्थ बोकेको उपन्यास
घामका पाइलाहरू एउटा ऐतिहासिक सन्दर्भलाई पृष्ठभूमि बनाएर लेखिएको सुन्दर उपन्यास हो। यसमा खासगरी राणाकालीन सन्दर्भ, घटना, गतिविधि तथा २००७ सालको क्रान्ति र त्यससँग सम्बन्धित व्यक्तित्व र तिनका क्रियाकलापहरू यसमा समेटिएको पाइन्छ।
“नेपालजस्तो ठाउँमा रेल चलाउनु सानो कुरा थिएन। चन्द्रशमशेर बेलायत जाँदा मार्टिन कम्पनीसँग रेल सञ्चालनको व्यवस्था गर्न सबै कुरा मिलाएर फर्केका थिए। म.बी.एन.डब्लु.आर. बङ्गाल शाखाको मुख्य सहायक प्राविधिज्ञ थिए। मार्टिन कम्पनीले सुरुमा रेलका लागि सर्वेक्षण कार्य र सीमाङ्कनमात्र गर्ने गरी एक दल पठाएको थियो। त्यसको मुख्य नायक भएर म आएको थिएँ। सीमरादेखि माथि लीक ओछ्याउनु साह्रै विकट कार्य थियो (गोतामे, २०३५ : ३६)” भन्ने अमलेन्दुबाबुको भनाइ तथा तत्कालीन राणा सरकारले देवशमशेरलाई राजधानीबाट धनकुटा धपाएको, आफ्नो पनि सर्वस्वहरण भएको, धनकुटाको बसाइ असहज भएको, रणोद्दीपलाई गोली ठोकिएको, वीरशमशेरको दादागिरी, धीरशमशेरको उदयजस्ता प्रसङ्गबारे दुर्गानाथ बाजेको टिप्पणीबाट यो एउटा ऐतिहासिक सन्दर्भ बोकेको उपन्यास हो भन्ने पुष्टि हुन्छ। यसरी मूल विषय बनेर नआए पनि पात्रगत रूपमा इतिहासका घटना, सन्दर्भ वा प्रसङ्गहरूको सन्तुलित प्रयोगले उपन्यास अझ प्रभावकारी बन्न पुगेको देखिन्छ।
३.३ स्थानीयता र आञ्चलिकतातर्फ उन्मुख उपन्यास
स्थानीयता र आञ्चलिकता पनि घामका पाइलाहरू उपन्यासको विशेषता बनेको छ। कुनै ठाउँ वा क्षेत्र विशेषमा केन्द्रित हुनु आञ्चलिकता हो। यस उपन्यासमा पनि खासगरी वीरगन्ज क्षेत्रको जीवन, रहनसहन, भाषा, दुःखसुख, रीतिथिति आदिलाई कलात्मक रूपमा चित्रण गरिएको छ। यातायातको सुविधा सुरु हुनुपूर्वको वीरगन्ज बजार र रेलजस्ता यातायातका साधन चल्न थालेपछिको वीरगन्ज वासीहरूको सामाजिक, आर्थिक अवस्था यहाँ पाइन्छ। “यो बस्ती सहर र गाउँको दोसाँधमा झुन्डिएको बस्ती हो। यसमा गाउँ छाड्ने छटपटी र सहर ओढ्ने तीव्र आकाङ्क्षा छ, जसबाट यहाँ न गाउँ बिलाएको थाहा पाइन्छ, न सहर उदाएको भान हुन्छ। गाउँ र सहर दुवैको तत्त्व यहाँ छ्यासमिस भएकाले गाउँबाट आउनेले यसलाई सहर र सहरबाट आउनेले यसलाई गाउँ भन्दछन् (गोतामे, २०३५ : २)।” उपन्यासमा वर्णित यस प्रस्तुतिले यो उपन्यास स्थानीय सहर वीरगन्ज र यस क्षेत्र वरिपरि घटित हो भन्ने देखाउँछ। उपन्यासको मूल आधार क्षेत्र वीरगन्ज रहे पनि सन्दर्भ, प्रसङ्गका रूपमा नेपालभरि र भारत पनि समेटिएको पाइन्छ।
३.४ बहुपात्रीय उपन्यास
बहुपात्रको प्रयोग गर्नु पनि घामका पाइलाहरू उपन्यासको एउटा विशेषता हो। उपन्यासमा पं.दुर्गानाथ, पीताम्बर, रम्भा, पवन, अमलेन्दु भट्टाचार्य (लोको बाबु), अणु, द्वारिकाप्रसाद सिंह (मास्टर), रेलवे गार्ड रमानाथ लामिछाने, स्टेसन मास्टर नारायण श्रीवास्तव, मुसलमान ड्राइभर मुहम्मद, टिकट चेकर दानबहादुर श्रेष्ठ, पोस्ट मास्टर बाजे, पोस्टमेन रामप्यारे अर्दली, भुँडीवाल जुँगे म्यानेजर, गङ्गादत्त पानवाला गणेशी, डाक्टरडाक्टरनी, सेठ, रेल्वेका कुल्लीहरू, खलासी, पानी पाँडे, बङ्गाली चिया पसले, पार्वती, गौरी ठानेदार, नोकर, जितु, आइमाईहरू आदि बहुपात्रहरूको प्रयोग पाइन्छ। उपन्यासमा एकभन्दा बढी पुस्ताका विभिन्न पात्रहरू आएका छन्। यहाँ धनी, गरिब, शिक्षित, अशिक्षित, सहरिया, गाउँले, भ्रष्ट, नैतिक, ठट्यौला आदि विविध प्रकृतिका पात्रहरूको कलापूर्ण चित्रण पाइन्छ। यसरी बहुपात्रको प्रयोगद्वारा उपन्यास रोचक र घोचक बनाउन उपन्यासकार गोतामे सफल रहेका छन्।
३.५ जटिल कथानक भएको उपन्यास
घामका पाइलाहरू उपन्यासमा जटिल कथानकको प्रयोग पाइन्छ। मूल कथानकभित्र विभिन्न उपकथानकहरू, घटना प्रसङ्गहरू जोडिन आएकाले उपन्यासको मूल गति र बनोट जटिल बन्न पुगेको छ। यहाँ पीताम्बर, दुर्गाप्रसाद र पवनको पारिवारिक, सामाजिक, आर्थिक घटनाहरू जोडिएको प्रसङ्ग मुख्य कथानक बनेको छ भने अमलेन्दु भट्टाचार्य र छोरी अणुको प्रसङ्ग तथा पृष्ठभूमिका रूपमा राणाशासन, २००७ सालका गतिविधिहरू सहायक कथानकजन्य सन्दर्भ बनेर आएका छन्। मूल कथानकसँग वीरगन्ज र यहाँको सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक गतिविधि जोडिएको छ भने। अन्य प्रसङ्गहरू पनि यससँग कहीँ कतै सम्बन्धित बनेर आएका छन्। कथानकभित्रै अवान्तर कथानकको प्रयोगले उपन्यासको कथानक जालो बन्न पुगेको देखिन्छ। यसरी एकोन्मुख कथानकभन्दा बहुकथानक छरिँदै, हाँगाबिँगा फिँजाउँदै अघि बढेबाट उपन्यासको कथानक सरलभन्दा घुमाउरो अनि जटिल बन्न पुगेको छ। यत्ति भएर पनि कथानकको मूल प्रवाह हराउन नदिनु उपन्यासकार र उपन्यासको मुख्य प्रवृत्ति बन्न पुगेको छ।
३.६ मानवतावादी उपन्यास
घामका पाइलाहरू उपन्यासले मानवीय संवेदनालाई नजिकैबाट चिहाउने कार्य गरेको छ। उपन्यासमा मास्टर द्वारिकप्रसाद सिंहले पीताम्बरपुत्र पवनप्रति गरेको मानवीय व्यवहारलाई देखाएको छ। त्यस्तै अमलेन्दुप्रसाद भट्टाचार्यमा रहेको मानवीय संवेदनालाई पनि उपन्यासले विशेष महत्त्व दिएको छ। पीताम्बरजस्ता शिक्षित व्यक्तिमा मानवीयता हराउँदै गए पनि दुर्गाप्रसाद, अमलेन्दु, द्वारिकाप्रसाद र पवन, अणुहरूमा रहेको मानव्यताले मान्छेमा मानवीय मूल्य, आस्था र गरिमा हराउनु हुन्न र यदि यी विषयहरू हराएमा मान्छे हुनुको अर्थ नै नरहने आशय उपन्यासमा पाइने कारण मानवतावादी दृष्टिले प्रस्तुत घामका पाइलाहरू उपन्यास ओजपूर्ण बन्न पुगेको छ।
३.७ मानसिक अन्तर्द्वन्द्वको चित्रण गर्ने उपन्यास
घामका पाइलाहरू उपन्यासमा पात्रहरूको मानसिक अन्तर्द्वन्द्वलाई रोचक र घोचक रूपमा प्रस्तुत गरिएको छ। दुर्गानाथ बाजे सर्वस्व गुमाएर श्रीसम्पत्तिहीन बनेका छन् भने पीताम्बर यन्त्रवत् काम गराइ, साहुको टोकसो, न्यून ज्याला, घरको कमजोर आर्थिक अवस्थाका कारण मानसिक रूपमा विक्षिप्तको अवस्थामा गएका छन्। कमजोर मानसिकता र हीन भावनाले गर्दा उनी भित्रैभित्रै सल्किँदै गएका छन्। त्यस्तै रम्भा घरायसी कामको बोझले थिचिएर वृद्ध ससुराको सेवामा जुट्दाजुट्दै र श्रीमान्को रातदिनको टोकसो खाँदाखाँदै खिइसकेकी छन्। पवन पढाइमा तेज भएर पनि कमजोर आर्थिक अवस्थाका कारण अनिश्चित भविष्य बोकेर हिँडिरहेको छ। आफ्नो जन्मधर्ती छोडेर श्रीमतीहीन बनी छोरी अणुसहित नेपालमा बसेको अमलेन्दुमा पनि एक प्रकारको छटपटाहट देखिन्छ। यसरी उपन्यासमा जोडिएका मुख्य पात्रहरू कुनै न कुनै रूपमा मानसिक द्वन्द्वमा अल्झिएका र त्यसबाट उम्कने सङ्घर्षमा लागेका पाइन्छन्।
३.८ सङ्केतात्मक शीर्षक भएको उपन्यास
घामका पाइलाहरू उपन्यासको शीर्षक सङ्केतात्मक रहेको छ। कुनै कृतिले भन्न छाडेको कुरातर्फ लक्ष्यित गर्ने शीर्षक नै सङ्केतात्मक हो। उपन्यासको शीर्षक पदावलीका तहमा राखिएको छ। यसको शाब्दिक अर्थ घामका डोबहरू वा किरणहरू भन्ने हुन्छ भने घामको अर्थ ताप वा प्रकाश पाइलाको अर्थ डाम पनि हुन्छ। उपन्यासमा तापको डाम र प्रकाशको फड्को तर्फ विशेष सङ्केत गरिएको छ र यो सङ्केत वीरगन्जलाई केन्द्रबिन्दु बनाएर केही पात्रहरूका माध्यमबाट सम्प्रेषण गरिएको छ।
घाम वा तापको डाम गर्मी, घमौरा, पसिना, तिर्खा, छटपटि, डडेको छाला, औलो आदिका रूपमा हुन्छ। वीरगन्जजस्तो गर्मी ठाउँमा सबै पात्रहरूले घामको कडा तापलाई भोगिरहेका छन्। उपन्यासमा पात्रहरूले प्राकृतिक डाहासँगै आर्थिक, सामाजिक र मानसिक पीडा पनि भोगिरहेका छन्। सम्पूर्ण वीरगन्जको परिवेश नै घामका तापले डामिएको देखिन्छ। पं. दुर्गानाथ, पीताम्बर, पवन, अमलेन्दु, अणु, द्वारिका, डाक्टर, डाक्टरनीलगायतका सबै पात्रहरू आन्तरिक र बाह्य तापबाट प्रताडित छन्। उपन्यासको शीर्षकले यही मुख्य तथ्यलाई सङ्केत गरेको छ। त्यस्तै बिहानीको कलिलो घामले सुषुप्तिबाट जागृतिको सन्देश बोकेर ल्याएजस्तै अर्धानो सहर क्रमशः सभ्य, सुसंस्कृत, उन्नत र चेतनशील बन्दै गएको भन्ने अर्थ पनि शीर्षकमा पाइन्छ। समयको गतिलाई कसैले रोक्न नसक्ने हुनाले यसको गतिलाई पछ्याउनुको कुनै विकल्प छैन। त्यसैले समयसँगै आफ्ना सोच, धारणा र व्यवहारहरू पनि परिवर्तन गर्दै लैजानु पर्ने भावको सङ्केत पनि शीर्षकमा पाइन्छ। यसरी उपन्यासको शीर्षकले यी विभिन्न विषयहरूलाई सङ्केत गरेका कारण अभिधाभन्दा व्यञ्जनाका तहमा उपन्यास अर्थपूर्ण बन्न पुगेको छ।
४ निष्कर्ष र उपलब्धि
ध.च. गोतामे नेपाली साहित्यका प्रसिद्ध साहित्यकार हुन्। खासगरी नेपाली आख्यान साहित्यमा ख्याति कमाएका यिनका घामका पाइलाहरू र यहाँदेखि त्यहाँसम्म दुईओटा उपन्यासहरू प्रकाशित छन्। घामका पाइलाहरू उपन्यासका लागि २०३५ सालको मदन पुरस्कारसमेत पाएका यिनका उपन्यासहरूमा सामाजिक यथार्थ, मानवतावादी चिन्तन, जटिल कथानकको निर्माण, आञ्चलिकता, बहुल पात्रको प्रयोग, पात्रहरूको मानसिक अन्तर्द्वन्द्वको प्रयोग र ऐतिहासिकताजस्ता प्रवृत्तिहरू पाइन्छन्। घामका पाइलाहरू गोतामेको एउटा प्रसिद्ध औपन्यासिक रचना हो, जसमा २००७ सालपूर्वको तराईको वीरगन्ज सहरको विविध पक्षमाथि प्रकाश पारिएको छ। प्रजातन्त्रपूर्व यातायातको कठिनाइ भोगेको वीरगन्जमा रेलजस्ता यातायातको आगमनपछि के कस्तो परिवर्तन देखियो भन्ने विषयको एउटा दस्तावेजका रूपमा यो उपन्यास देखिएको छ। यति महत्त्व बोकेको गहन कृतिमा विभिन्न विशेषताहरू रहेका छन्। जसमा सामाजिक यथार्थ, ऐतिहासिक यथार्थ, स्थानीयता र आञ्चलिकता, बहुपात्रीयता, जटिल कथानक, मानवता, मानसिक अन्तर्द्वन्द्व, सङ्केतात्मक शीर्षकजस्ता विशेषताहरू मुख्य रहेका छन्। तसर्थ ऐतिहासिक सन्दर्भसहित तत्कालीन वीरगन्ज सहरको सामाजक, आर्थिक, सांस्कृतिक, शैक्षिक, भौगोलिक महत्तालाई रोचक र घोचक रूपमा देखाउँदै नेपालमा रेलको थालनी, तराईमा बसाइसराइको अवस्था, अन्नको केन्द्रबिन्दु हुँदाहुँदै पनि गरिबीबाट मुक्त हुन नसकेको तिखो यथार्थलाई सजीव रूपमा देखाउन सक्नु तथा भाषिक रूपमा समेत कलापूर्ण पाइनु नै यस उपन्यासको खास उपलब्धि हो।
सन्दर्भसामग्रीसूची
एटम, नेत्र (२०६०), अन्तर्विषयक समालोचना, काठमाडौं : एकता बुक्स।
गरिमा समालोचना विशेषाङ्क (२०५१), प्र.सम्पा. तुलसीप्रसाद भट्टराई, (वर्ष १२, अङ्क ५,
पूर्णाङ्क १३७), ललितपुर : साझा प्रकाशन।
गोतामे, ध.च.(२०३५), घामका पाइलाहरू, ललितपुर : साझा प्रकाशन।
दाहाल, कृष्णप्रसाद (२०६०), ‘द्वन्द्वगत संरचनाका आधारमा सयवर्षभित्रका केही उपन्यासहरूको
अध्ययन’, नेपाली उपन्यास शतवार्षिकी, प्र.सम्पा. सनत रेग्मी, काठमाडौं : ने.रा.प्र.प्र.।
दाहाल, खेम (२०६४), ‘ध.च. गोतामेका उपन्यास : एक चर्चा’, गरिमा, प्र.सम्पा. रमेशप्रसाद
भट्टराई, (वर्ष २६, अङ्क , पूर्णाङ्क ९०१, पृ.५९), ललितपुर : साझा प्रकाशन।
प्रधान, कृष्णचन्द्रसिंह (२०२५ सम्पा.), साझा समालोचना, ललितपुर : साझा प्रकाशन।
बराल, कृष्णहरि र एटम, नेत्र (२०५६), उपन्यास सिद्धान्त र नेपाली उपन्यास, ललितपुर :
साझा प्रकाशन।
बराल, ऋषिराज (२०५६), उपन्यासको सौन्दर्यशास्त्र, ललितपुर : साझा प्रकाशन।
श्रेष्ठ, दयाराम र शर्मा मोशनराज (२०३४), नेपाली साहित्यको संक्षिप्त इतिहास, ललितपुर :
साझा प्रकाशन।
शर्मा, मोहनराज र लुइँटेल, खगेन्द्रप्रसाद (२०५७), नेपाली कविता र आख्यान, काठमाडौं :
नवीन प्रकाशन।
[1]. उपप्ध्यापक, नेपाली, ने.सं.वि., पिण्डेश्वर विद्यापीठ, धरान ।
इमेल- nityanandakhatiwada@gmail.com