कारक संस्कृत भाषाको उपज हो। नेपाली भाषा पनि संस्कृत भाषाकै दरसन्तान हो। पूर्वजहरूको संस्कार दरसन्तानमा आए झैँ संस्कृत भाषाको प्रभाव नेपाली भाषामा जबर्जस्त परेको पाइन्छ। नेपाली व्याकरणका कारकको जननी पनि संस्कृत व्याकरण नै हो, पाणिनिकै अष्टाध्यायी हो। अष्टाध्यायी संस्कृत व्याकरणको आधिकारिक ग्रन्थ हो। संस्कृत व्याकरण जगत्मा अरू प्रशस्त वैयाकरणहरू छन्।
खेमराज खनाल, विद्यावारिधि
सहप्राध्यापक, नव्यव्याकरण, ने.सं.वि, पिण्डेश्वर विद्यापीठ, धरान
kalampremi09@gmail.com
सार
कारक संस्कृत भाषाको उपज हो। नेपाली भाषा पनि संस्कृत भाषाकै दरसन्तान हो। पूर्वजहरूको संस्कार दरसन्तानमा आए झैँ संस्कृत भाषाको प्रभाव नेपाली भाषामा जबर्जस्त परेको पाइन्छ। नेपाली व्याकरणका कारकको जननी पनि संस्कृत व्याकरण नै हो, पाणिनिकै अष्टाध्यायी हो। अष्टाध्यायी संस्कृत व्याकरणको आधिकारिक ग्रन्थ हो। संस्कृत व्याकरण जगत्मा अरू प्रशस्त वैयाकरणहरू छन्। पाणिनिका अगाडि ती धुमिल साबित भएका छन्। अष्टाध्यायी र यसका छत्रछायाँमा हुर्केका सबै व्याकरणका ग्रन्थलाई पाणिनीय व्याकरणशास्त्र नै भनिन्छ। ती वैयाकरणहरूमा कात्यायन, पतञ्जलि, भर्तृहरि, भट्टोजि दीक्षित र नागेश प्रमुख छन्। यिनीहरूको अध्ययन, अनुसन्धान भने त्यति भएको छैन। यसभित्रका गुदीहरू पस्केर नेपाली भाषामा त्यसको प्रभाव खोज्नु अहिलेको व्याकरणिक आवश्यकता हो। कारक यस्तै विषय हो। त्यसभित्र पनि कर्ता कारक यो लेखको विषय बनेको छ। क्रिया जन्माउनेलाई कारक भनिन्छ। पाणिनिको कारकको अधिकार चलाउने सूत्र हो ‘कारके’ (पा.सू. १।४।२३)। यस अन्तर्गत कर्ता कारकको संज्ञा ‘स्वतन्त्रः कर्ता’ (पा.सू. १।४।५४) यो सूत्रले गर्दछ। क्रियामा स्वतन्त्र रूपले विवक्षित अर्थ कर्ता हो। धातुका फल र व्यापार दुई अर्थ हुन्छन्। त्यसमध्ये व्यापार प्रधान रहन्छ। त्यो व्यापारको आश्रय बनेको पदलाई कर्ता भनिन्छ। व्यापारको आश्रय कर्ता नै हुन्छ। फलको आश्रय चाहिँ कर्म हुन्छ। अर्को ढङ्गले भन्दा जसको व्यापार धातुले कहन्छ, त्यही कर्ता हुन्छ। नेपाली वैयाकरणहरूका सन्दर्भमा भन्दा वाक्यभित्र काम (व्यापार) सम्पन्न गर्ने प्रमुख पदलाई कर्ता भनिन्छ। संस्कृत र नेपाली भाषामा धेरै किसिमका कर्ता कारक छन्। वाक्यमा कर्ताले खेल्ने भूमिकाका आधारमा चार प्रकारका कर्ता छन्- प्रधान, प्रयोजक, प्रयोज्य र अप्रधान। तिङ्, कृत्, तद्धित र समासद्वारा उक्त भएको र अनुक्त रहेको आधारमा कर्ता दुई प्रकारका छन्- अभिहित र अनभिहित। यसको अनभिहित कर्ता पनि द्वितीया, तृतीया र षष्ठी विभक्ति अन्त्यमा हुने गरी तिन प्रकारको छ। बनोट वा संरचनाका आधारमा कर्ता दुई प्रकारका छन्- सरल र तिर्यक्। यी सबै वर्गीकरण वा भेदका उदाहरणहरू संस्कृत र नेपाली दुबै भाषाका शब्द (वाक्य) मा पाइएका छन्। यसरी यस लेखमा पहिले कारकको परिचय, त्यसपछि कर्ताको परिचय र वर्गीकरण गरी विश्लेषण समेत भएको छ।
शब्दकुञ्जी– कारक, व्यापार, प्रयोजक, अभिहित, तिर्यक्।
१. विषयपरिचयः
करोति इति कारकः यो विग्रहमा संस्कृत भाषाको कृ (डुकृञ् करणे) धातुबाट ण्वुल्तृचौ (पा.सू. ३।१।१३३) यो सूत्रले कर्ता अर्थमा ण्वुल् (वु) प्रत्यय, युवोरनाकौ (पा.सू. ७।१।१) यो सूत्रले अक आदेश र अचो ञ्णिति (पा.सू. ७।२।११५) यो सूत्रले ‘कृ’धातुको ‘ऋ’लाई वृद्धि (आर्) भएर कारक शब्द निष्पन्न हुन्छ। यसको अर्थ हुन्छ- काम गर्नेवाला, कर्ता।
व्याकरणका सवालमा चाहिँ काम गर्नेवाला मात्र भनेर कारक शब्दको अर्थ पुग्दैन। करोति क्रियां निष्पादयति, यो विग्रह स्वीकार गर्नुपर्ने हुन्छ। पाणिनिले कारके (पा.सू. १।४।२३) सूत्रबाट कारकको अधिकार चलाएका छन्। यसै सूत्रका अधिकारमा कर्ता, कर्म, करण आदि कारकसंज्ञा गर्ने सूत्रहरू पढिएका छन्। वैयाकरणभूषणसारमा कारके (पूर्ववत्) सूत्रका सन्दर्भमा ‘‘कारकशब्दो हि क्रियापरः, करोति कर्तृकर्मव्यपदेशानिति व्युत्पादनात्’’ अर्थात् कर्ता, कर्म, करण आदि विशिष्ट व्यवहार सम्पादन गर्ने भएकाले यहाँ (कारके सूत्रमा) कारक शब्द क्रियापरक छ भनिएको छ (भट्ट, ई. १९८२; पृ. १४५)। लघुशब्देन्दुशेखरमा कारके (पूर्ववत्) सूत्रको व्याख्या गर्दै भनिएको छ, ‘‘क्रियाजनकत्वं कारकत्वम्’’ अर्थात् क्रिया जन्माउने कारक हो (नागेश, २०१०; पृ. ४३३)। परमलघुमञ्जूषामा ‘‘क्रियानिष्पादकत्वं कारकत्वम्’’ अर्थात् क्रियालाई निष्पादन गर्ने कारक हो भनिएको छ (नागेश, ई. १९९८; पृ. २५२)। यसबाट ‘क्रियालाई सिद्ध गर्ने पद कारक हो’ (न्यौपाने, २०६१; पृ. २८१) भन्ने बुझिन्छ। नेपाली बृहत् शब्दकोशमा पनि कारकलाई ‘‘व्याकरणमा क्रियाका साथ साक्षात् सम्बन्ध राख्ने शब्द’’ भनिएको छ (२०४०; पृ. २२८)। भाषाविज्ञान र प्रायोगिक भाषाविज्ञानमा ‘‘वाक्यमा प्रयुक्त नामिक पदहरूको क्रियासँग हुने कार्यात्मक सम्बन्धलाई बुझाउने व्याकरणिक धारालाई कारक भनिन्छ’’ भनेर कारकको परिभाषा गरिएको छ (पौडेल, २०५८; पृ. १३७)। कतिपय आधुनिक नेपाली वैयाकरणहरूले सम्बन्ध र सम्बोधनलाई पनि कारकभित्र राख्नका लागि ‘नाम पदको क्रियासँग वा अर्को नाम पदसँगको सम्बन्धलाई कारक’ मानेका छन् (यादव र रेग्मी, २०५९; पृ. २०२)। माध्यमिक नेपाली व्याकरण र रचनामा पनि यसै आशयलाई सङ्केत गर्दै भनिएको छ, ‘‘नामका विभिन्न अवस्था र रूप कारक हुन् (शिक्षापदाधिकारी, ई. १९९१; पृ. ४८)।’’ अहिले केही नेपाली वैयाकरणहरूले कारकलाई अनेक किसिमले वर्गीकरण गर्ने गरेका छन्। समसामयिक नेपाली व्याकरणमा तेह्रवटा कारकको वर्णन पाइन्छ अभिकर्ता, प्रवर्त्य, परिणामी, निरपेक्ष, अनुभावक, अनुप्रापक, करण, हेतु, अधिकरण, अपादान, लाभक, प्रयोजनीय र सहार्थक (अधिकारी, २०५६; पृ. १८५)। यहाँ पाणिनीय व्याकरणअनुसार नै कारकको अध्ययन गरिएकाले क्रियासँग साक्षात् सम्बन्ध राख्ने वा साक्षात् क्रिया उत्पादन गर्ने नामिक वा सार्वनामिक पदलाई नै कारक मान्नुपर्ने हुन्छ। सबै शब्द कारक हुदैनन्। विशेषण, अव्यय र क्रिया कारक होइनन्। कारक हुनका लागि क्रियासँग अन्वय हुनुपर्छ, व्यापार (क्रिया) जन्माउन सक्नुपर्दछ। कारकको भूमिका वाक्यमा भेटिन्छ। स्वतन्त्र शब्द कारकको भूमिकामा छुट्टिँदैन। यस अनुरूप कारक छ प्रकारका छन्- कर्ता, कर्म, करण, सम्प्रदान, अपादान र अधिकरण। परमलघुमञ्जूषाको तलको कारिकाबाट यसको पुष्टि हुन्छ–
कर्ता कर्म च करणं सम्प्रदानं तथैव च।
अपादानाधिकरणमित्याहुः कारकाणि षट्।। (नागेश, १९९८; पृ. २५२)
वाक्यमा नामिक वा सार्वनामिक पदले खेल्ने आर्थी भूमिकाका आधारमा कारकको वर्गीकरण गरिएको पाइन्छ। यसलाई क्रिया सम्पादनमा नामिक पदले खेल्ने भूमिकाका आधारमा गरिएको वर्गीकरण पनि भन्न सकिन्छ। नामिक पदले क्रिया सम्पादन गर्ने क्रममा फरकफरक सन्दर्भमा फरकफरक भूमिका निर्वाह गर्दछन्। त्यही क्रिया सम्पादनको भिन्नभिन्न भूमिकालाई हेरेर कारकलाई वर्गीकरण गरिएको देखिन्छ। एउटै पदले भिन्नभिन्न सन्दर्भमा भिन्नभिन्न भूमिका निर्वाह गर्न सक्तछ। त्यस सन्दर्भमा एउटै पद कुनै वाक्यमा कर्ता, कुनैमा कर्म, करण, सम्प्रदान वा अर्को कुनै कारक बन्न सक्तछ। जस्तै गाईले घाँस खायो (कर्ता)। उसले गाई दोयो (कर्म)। मैले गाईबाट पैसा कमाएँ (करण)। गाईलाई घाँस देऊ (सम्प्रदान)। उसले गाईबाट दुध पायो वा गोठालो गाईदेखि टाढा गयो (अपादान)। यस गाईमा धेरै गुण छन् वा साँढे गाईमा चढ्यो (अधिकरण)। गाईको दुध मिठो छ (सम्बन्ध)। ए गाई ! धेरै दुध देऊ (सम्बोधन)। यी वाक्यहरूमा भूमिका अनुसार गाईले सबै कारकलाई जनाएको छ। संस्कृत भाषामा पनि एउटा नामिक पद अनेक कारकीय भूमिकामा आउन सक्छ। जस्तै शिवः रक्षति (सूत्र– स्वतन्त्रः कर्ता, कारक– कर्ता)। शिवं भजति (सूत्र– कर्तुरीप्सिततमं कर्म, कारक– कर्म)। शिवाय रोचते भक्तिः (सूत्र– रुच्यर्थानां प्रीयमाणः, कारक– सम्प्रदान)। पापिनः शिवात् बिभ्यति (सूत्र– भीत्रार्थानां भयहेतुः, कारक– अपादान)। सुखदं शिवस्य शरीरम् (सूत्र– षष्ठी शेषे, कारक– सम्बन्ध) (यसलाई सबैले कारक मानेका छैनन्। आजभोलि यसलाई नेपाली व्याकरणका सन्दर्भमा कतिपय नेपाली वैयाकरणले भेदक विशेषण भनेको पनि पाइन्छ)। शिवे मे चित्तलयः भवतु (सूत्र– आधारोऽधिकरणम्, कारक– अधिकरण)। हे शिव ! मां रक्षतु (कारक– सम्बोधन, सम्बोधनसंज्ञा गर्ने सूत्र छैन, यसलाई सबैले कारक मानेका छैनन्।)। यी वाक्यहरूमा फरकफरक क्रिया निष्पादनका सन्दर्भमा एउटै शिव पदले अनेक कारकीय भूमिका निर्वाह गरेको छ। आधुनिक वैयाकरणहरूको मतलाई पनि सम्मान गर्दै सम्बन्ध (षष्ठी) र सम्बोधनलाई पनि यी उदाहरणहरूमा स्थान दिइएको हो। वैयाकरणभूषणसारमा सम्बोधन बाहेक अरू कारकको प्रयोग गरिएको एउटा वाक्य छ, जो यस प्रकार छ, ‘‘देवदत्तस्य गौर्ब्राह्मणाय गेहाद् गङ्गायां हस्तेन मया दीयते’’ अर्थात् देवदत्तको गाई ब्राह्मणलाई घरबाट गङ्गामा हातले मद्वारा दिइन्छ (भट्ट, १९८२; पृ. २८६)। कर्मवाच्यको यस वाक्यमा क्रमशः सम्बन्ध, कर्म, सम्प्रदान, अपादान, अधिकरण, करण र कर्ता कारक प्रयोग भएका छन्। यहाँ कर्ता कारकको मात्र अध्ययन गरिने भएकाले त्यसलाई मात्र लेखको विषय बनाइएको छ।
२. समस्याकथन
समस्या र समाधान एउटै सिक्काका दुई पाटा हुन्। समाधान समस्यासँगै जोडिएर आएको हुन्छ। यस अनुसन्धानात्मक लेखका पनि समस्याहरू रहेका छन्। नेपाली व्याकरण जगत्मा कारकको राम्रो अध्ययन भएको पाइँदैन। अझ आजभोलि त पाश्चात्त्य वैयाकरणहरूका प्रभावमा नेपाली कारकको अध्ययनसमेत गर्ने गरेको देखिएको छ। कारकको जननी संस्कृत व्याकरण र नेपाली भाषाकी हजुरआमा संस्कृत भाषा भएकाले समृद्ध संस्कृत भाषाको व्याकरणका प्रभावमा नेपाली कारकको अध्ययन हुनुपर्दछ। संस्कृत भाषाको (अष्टाध्यायीका आधारमा) कर्ता कारक पनि स्पष्ट हुनुपर्दछ। संस्कृत भाषाव्याकरणमा अनेक प्रकारका कर्ता कारकहरू छन्। तिनीहरूको अन्वेषण भएको छैन। नेपाली भाषाव्याकरणका कर्ताहरूको पनि खोज भएको छैन। यो नै प्राथमिक समस्या हो। नेपाली भाषाको स्रोत भाषा संस्कृत भाषा र त्यसको व्याकरणका प्रभावमा नेपाली कारको अध्ययन, व्याख्या र विश्लेषण भएको छैन। यो थप समस्या हो। संस्कृत भाषाका प्रसिद्ध तथा आधिकारिक वैयाकरण आचार्य पाणिनि नै हुन्। उनको प्रसिद्ध व्याकरणपरक ग्रन्थ अष्टाध्यायी हो। यो सूत्रात्मक छ। यसका सूत्रहरूलाई पर्गेलेर कारकको खोज गर्नुपर्ने हुन्छ। कर्ता कारक पनि यसैबाट खोज्नुपर्दछ। यो आधिकारिक ग्रन्थ भएकाले संस्कृत व्याकरण जगत्मा यसमाथि शङ्का गरिँदैन। यसै ग्रन्थलाई आधार मानेर संस्कृत र नेपालीको कर्ता कारकको अध्ययन गर्नुपर्ने हुन्छ। अहिलेसम्म यसतर्फ कुनै अनुसन्धाताले कलम चलाएको देखिँदैन। नेपाली भाषामा पनि सरल र तिर्यक् भनेर पाणिनिको भन्दा पृथक् ढङ्गले कारकको अध्ययन भएको छ। संस्कृत भाषामा पनि सरल र तिर्यक् कारक छन्। कर्ता कारकमा पनि यो देख्न पाइन्छ। यी दुबै भाषाका कर्ताको तुलनात्मक अध्ययन गर्न सकिन्छ। यसको अभाव पनि अर्को समस्याका रूपमा लिन सकिन्छ। यसरी अध्ययन गर्दा यस लेखका प्राज्ञिक समस्याहरूलाई बुँदागत रूपमा यसरी देखाउन सकिन्छ :
(क) कर्ता कारकको अर्थ र परिभाषा के हो ?
(ख) संस्कृत भाषामा केकति प्रकारका कर्ता छन् ?
(ग) नेपाली भाषामा केकति प्रकारका कर्ता छन् ?
३. उद्देश्यनिर्धारण
उद्देश्य अनुसन्धानको मुटु हो। यसले अनुसन्धानलाई रक्तसञ्चार गर्दछ; गतिशील बनाउँदछ। के, कति र कसरी लेख्ने ? भन्ने कुरा उद्देश्यबाट सुनिश्चित हुन्छ। समस्या र उद्देश्य एकअर्कासँग गाँसिएर आउँदछन्। यो लेखको विषय कर्ता कारक हो। संस्कृत र नेपाली दुबै भाषाका कर्ताबारे यस लेखमा छलफल चलाइएको छ। कारकको स्रोत संस्कृत व्याकरण भएकाले संस्कृतको आधिकारिक व्याकरणिक ग्रन्थ अष्टाध्यायीलाई आधार मानिएको छ। अष्टाध्यायीमा अनेक प्रकारका कर्ता छन्। त्यस अनुरूप संस्कृत भाषाका उदाहरणहरू व्यवस्थित छन्। संस्कृत व्याकरणका प्रभावमा नेपाली भाषाका कर्ताहरू खोजिएका छन्। नेपाली भाषामा देखिएका मौलिक विभाजन सरल र तिर्यक् कारकको स्थान पनि सुरक्षित गरिएको छ। संस्कृत र नेपाली दुबै भाषाका सरल र तिर्यक् कर्ताका उदाहरणहरू दिइएका छन्। कर्ता कारकको परिचय र परिभाषा दिनाका साथै वर्गीकरण गरिएको छ। संस्कृत र नेपाली दुबै भाषाव्याकरणका कर्ता कारकहरू उपकृत भएका छन्। वर्गीकरणमा भेद र उपभेद सबै देखाइएका छन्। समग्रमा भन्नुपर्दा यस लेखले संस्कृत र नेपाली कर्ता कारकको परिचय, वर्गीकरण, भेदउपभेदका उदाहरण सहित विवेचना गरेको छ। अष्टाध्यायीका आधारमा संस्कृत र नेपालीका कर्ताको तुलनात्मक विश्लेषण गरिएको छ। संस्कृत व्याकरणका प्रभावमा नेपाली कर्ता कारकको र नेपाली व्याकरणका प्रभावमा संस्कृतको कर्ता कारकको अध्ययन भएको छ। बुँदागत रूपमा यस अनुसन्धानात्मक लेखका उद्देश्यहरू यस प्रकार रहेका छन् :
(क) कर्ता कारकको अर्थ र परिभाषाको ज्ञान,
(ख) संस्कृत भाषाका कर्ता कारकको ज्ञान,
(ग) नेपाली भाषाका कर्ता कारकको ज्ञान।
४. सीमाङ्कन
शोधलाई अनावश्यक विषयतिर फैलिन नदिन शोधसीमा आवश्यक हुन्छ। सीमाङ्कनले अनुसन्धानलाई सम्बन्धित परिधिभित्र समेटेर राख्तछ। समस्या र उद्देश्यबाट अनुसन्धानलाई बहकिन नदिन सीमाङ्कनले सुन्दर भूमिका खेल्दछ। यस लेखको पनि निश्चित सीमा छ। संस्कृत व्याकरणका आधारमा नेपाली भाषाको र नेपाली व्याकरणका आधारमा संस्कृत भाषाको कर्ताको परिचय, परिभाषा, वर्गीकरण र उदाहरणहरूको विश्लेषण गर्नु यस लेखको सीमाङ्कन हो।
५. अनुसन्धानविधि
वैज्ञानिक ढङ्गले गरिएको अनुसन्धान बढी तथ्यपरक र प्रामाणिक ठहर्छ। लेखलाई अनुसन्धानविधि/पद्धतिले वैज्ञानिकता प्रदान गर्दछन्। विधिअनुरूप लेखिएको लेखले उद्देश्यलाई समेटेको हुन्छ। यस्तो अनुसन्धान समस्या समाधान गर्न सक्षम हुन्छ। यस लेखले पनि निश्चित अनुसन्धानविधिलाई अपनाएकै छ। यस लेखमा सामग्री सङ्कलन गर्न सर्वप्रथम पुस्तकालयीय विधि स्वीकार गरिएको छ। आचार्य पाणिनिका अष्टाध्यायीका सूत्रहरू अगाडि सारेर कर्ता कारकको परिचय दिइएको छ। त्यस अनुरूप वर्गीकरण गरी उदाहरणहरूको विवेचना गर्दा निगमनात्मक विधि अपनाइएको छ। उदाहरण अनुरूप सिद्धान्त पस्किएका ठाउँमा आगमनात्मक विधि लिइएको छ। संस्कृत र नेपाली भाषका कर्ताहरूको पारस्परिक अध्ययनमा तुलनात्मक विधि अङ्गीकार गरिएको छ। संस्कृत र नेपाली भाषाका कर्ताका परिभाषा र उदाहरणहरूको विवेचनामा व्याख्या र विश्लेषण विधि उपयोगमा आएका छन्। टिप्पणी र सन्दर्भग्रन्थसूची चाहिँ लेखकमितिपद्धति (एपिए) अनुसार राखिएका छन्।
६. पूर्वकार्यको समीक्षा
पूर्वकार्यको समीक्षा अनुसन्धानको महत्त्वपूर्ण अङ्ग हो। यसबाट पिष्टपेषण दोष हटेर जान्छ। के कति काम भएको छ ? के कति हुन बाँकी छ ? यसको जानकारी पूर्वकार्यको समीक्षाबाटै थाहा पाइन्छ। अनुसन्धानात्मक कार्य के कति गहिरो छ ? त्यसको ज्ञान यही खण्डबाट पत्ता लाग्छ। कारक बृहत् छ। यसका बारे बृहत् अध्ययन भएको पाइन्छ। संस्कृत र नेपाली दुबै भाषाका वैयाकरणहरूले यसबारे चर्चा गरेका छन्। कर्ता कारकहरूमा प्रधान छ। यसबारे पनि केही अध्ययन भएका छन्। व्यापक भेद, उपभेदको चर्चाउपचर्चा सहित अध्ययन भएको छैन। कारकको स्रोत संस्कृत व्याकरण र संस्कृत व्याकरणको प्रमुख स्रोत अष्टाध्यायी हो। यस व्याकरणग्रन्थका कर्तृसंज्ञा गर्ने सूत्रहरू ‘स्वतन्त्रः कर्ता’ (पा.सू. १।४।४५) र ‘तत्प्रयोजको हेतुश्च’ (पा.सू. १।४।५५) हुन्। अष्टाध्यायी सूत्रात्मक छ। पाणिनिले सूत्रहरूको व्याख्या, विश्लेषण, अर्थ र उदाहरणहरू दिएका छैनन्। सूत्रबाट मात्र कर्ता कारको ज्ञान पाइँदैन। यसै कारण अष्टाध्यायी अध्ययन गर्ने विद्यार्थी आजभोलि कम छन्। यसको राम्रो अध्ययनका लागि प्रक्रियाग्रन्थहरू पढ्नुपर्ने हुन्छ।
अष्टाध्यायीको प्रक्रियापरक अध्ययन गर्ने धेरै वैयाकरणहरू छन्। ती सबैलाई पाणिनीय वैयाकरण नै भनिन्छ। तिनीहरूमध्ये प्रमुख वैयाकरण भट्टोजि दीक्षित हुन्। उनको प्रसिद्ध प्रक्रियापरक ग्रन्थ वैयाकरणसिद्धान्तकौमुदी हो। यस ग्रन्थमा भट्टोजि दीक्षितले ती दुबै कर्तृसंज्ञा गर्ने सूत्रहरूका अर्थ र उदाहरणहरू दिएका छन्। यसबाट पाणिनिका कर्ता कारकको केही जानकारी पाइन्छ। यो ग्रन्थ बोझिलो छ। यहाँ सहार्थीलाई कर्ताका रूपमा अध्ययन गरिएको छैन। शङ्काको जालो बिछ्याइएको हुनाले ग्रन्थ दुरूह छ। संस्कृत र नेपाली कारकको तुलनात्मक अध्ययन यसबाट सम्भव छैन (दीक्षित, १९८२; पृ. १७३)।
आधुनिक भाषाविज्ञानमा कारक शीर्षककमा चर्चा गर्दै सरल र तिर्यक् कारको परिचय, परिभाषा र प्रकारबारे बयान गरिएको छ। यसमा कर्ता कारकबारे कुनै कुरा उठान गरिएको छैन। संस्कृत र नेपाली भाषाको कर्ता कारक यो ग्रन्थको विषय बनेकै छैन (शर्मा, २०६०; पृ. १३३)।
राम्रो रचना र मिठो नेपालीमा ‘कारक र विभक्ति’ शीर्षकमा कारकबारे लेखिएको छ। यहाँ कारकको परिचय दिँदै सर्वप्रथम परम्परागत रूपका कर्ता, कर्म, करण, सम्प्रदान, अपादान, सम्बन्ध, अधिकरण र सम्बोधन कारकका उदाहरणहरू पेस गरिएका छन्। सँगसँगै सरल र तिर्यक् कारकको परिचय, परिभाषा र उदाहरण समेत दिइएका छन्। यसमा कर्ताको वर्गीकरण र संस्कृत र नेपाली भाषाका कर्ताको तुलना पाइँदैन (पराजुली, २०४६; पृ. ८४)।
भाषाविज्ञानमा कारक शीर्षक राखेर भेदसहित सरल र तिर्यक् कारकबारे वर्णन गरिएको छ। यहाँ कारकको परिचय र परिभाषा गरिनाका साथै सरल कारकका कर्ता, कर्म र लक्ष्य गरी तिन भेद अनि तिर्यक् कारकका ऊर्जावत्, करण, सम्प्रदान, कर्म, अपादान, मार्ग, लक्ष्य, अधिकरण, सम्बन्ध र सम्बोधन गरेर दसवटा भेदहरू देखाइएका छन्। कारकमा विविधता र नवीनता आए पनि कर्ता कारकको विषद चर्चा, वर्गीकरण र संस्कृत र नेपाली कर्ता कारकको तुलना यहाँ पाइँदैन (यादव, २०५९; पृ.२०२)।
भाषाविज्ञान र प्रायोगिक भाषाविज्ञानमा कारकको परिभाषा गर्दै वर्गीकरण गरिएको छ। यस अनुसार बनोटका आधारमा सरल र तिर्यक् एवं भूमिकाका आधारमा कर्ता, कर्म, करण, सम्प्रदान, अपादान, सम्बन्ध र अधिकरण कारकहरू अघि सारिएका छन्। यहाँ सम्बन्धलाई स्वीकार गरिए पनि सम्बोधनलाई स्थान दिइएको छैन। यहाँ कर्ताको परिचय र उदाहरणहरू राखिएका भए पनि वर्गीकरण गरिएको छैन। संस्कृत र नेपालीका कर्ताको तुलनाको ठ्याम्मै अभाव छ (पौड्याल, २०५८; पृ. २३७)।
भाषाविज्ञानको रूपरेखामा कारकबारे राम्रो चर्चा गरिएको छ। यहाँ आधुनिक र प्राचीन दुबै मतका कारकहरू विषय बनाइएका छन्। कारकको परिचय, परिभाषा र उदाहरणहरू विश्लेषण गरिएका छन्। संस्कृतका विभिन्न विद्वान्हरूका कारकसम्बन्धी चर्चाहरूको व्याख्या गरिएको छ। यहाँ कर्ताको वर्गीकरण गरिएको छैन। संस्कृत र नेपाली भाषाका कर्ताको तुलनात्मक अध्ययन भएको छैन (न्यौपाने, २०६१; पृ. २६१)।
शब्द रचना र वर्णविन्यासमा कारक र विभक्ति शीर्षकमा कारकबारे लेखिएको छ। यहाँ कारकको परिभाषा गरी परम्परागत रूपमा कारकको वर्गीकरण गरिएको छ। यस अनुसार कर्ता, कर्म, करण, सम्प्रदान, अपादान, सम्बन्ध र अधिकरण कारकका परिचय र उदाहरणहरू राखिएका छन्। अन्त्यमा सरल र तिर्यक् कारकबारे चर्चा छ। यसमा कर्ता कारकको भेद, उपभेद सहित व्याख्या छैन। संस्कृत र नेपाली भाषाका कर्ताको तुलनात्मक अध्ययन रत्तिभर पाइँदैन (शर्मा, २०६१; पृ. ७१)।
समसामयिक नेपाली व्याकरणमा कारकको परिचय र परिभाषा गरिएको छ। यहाँ आर्थी सम्बन्धले युक्त पदहरूलाई कारक भन्दै नवीनतम ढङ्गले कारकको वर्णन गरिएको छ। यहाँ नेपाली भाषाका अभिकर्ता, प्रवर्त्य, परिणामी, निरपेक्ष, अनुभावक, अनुप्रापक, करण, हेतु, अधिकरण, अपादान, लाभक, प्रयोजनीय र सहार्थी गरी तेह्रवटा कारकहरू चर्चाका विषय बनेका छन्। यहाँ कर्ताको वर्गीकरण र संस्कृत तथा नेपाली भाषाका कर्ताको तुलना छैन (अधिकारी, २०५७; पृ. १८५)।
भाषाविज्ञानमा कारकीय अर्थ शीर्षकमा कारकबारे चर्चा भएको छ। यहाँ प्रथमतः कारकको व्युत्पत्ति, परिचय र परिभाषा दिइएका छन्। कारकलाई अर्थसँग गाँसेर यसका एघारवटा प्रकार देखाइएका छन्। ती यस प्रकार छन्- कर्तृत्व, उदासीन, प्राप्ति, साधन, स्रोत, लक्ष्य, आधार, हेतुत्व, भोक्तृत्त्व, बल र परिणति। यहाँ कर्तृत्व भनेर कर्ताको बयान गरे पनि त्यसका भेदउपभेद र संस्कृत एवं नेपालीका कर्ताको तुलना भएको छैन (ओझा–गिरी, २०६२; पृ. १६८)।
यसरी पूर्वकार्यको समीक्षा गर्दा कारकबारे धेरै अध्ययन भएको देखिन्छ। कर्ता कारकको पनि प्रशस्त चर्चा भेटिन्छ। नयाँ शैलीमा नेपाली भाषाका कारकहरूको अध्ययन पनि पाइन्छ। यतिबाट पनि कर्ता कारकबारे पूर्णता हुँदैन। संस्कृत र नेपाली भाषामा धेरै प्रकारका कर्ता कारकहरू रहेका छन्। ती सबैको अध्ययन, व्याख्या र विश्लेषण यस अनुसन्धानमा भएका छन्।
७. कर्ता कारकको अर्थ र परिभाषा
करोति इति कर्ता यो विग्रहमा कृ (डुकृञ् करणे) धातुदेखि ण्वुल्तृचौ (पा.सू. ३।१।१३३) यो सूत्रले कर्ता अर्थमा तृच् (तृ) प्रत्यय, आद्गुणः (पा.सू. ६।१।८७) यो सूत्रले ‘कृ’को ‘ऋ’लाई गुण (अर्), प्रथमा विभक्तिको एकवचनमा सु (स्) ऋदुशनस्पुरुदंशोऽनेहसां च (पा.सू. ७।१।९४) यो सूत्रले ऋका ठाउँमा अनङ् (अन्) आदेश, अप्तृन्तृच्स्वसृ … (पा.सू. ६।४।११) यो सूत्रले दीर्घ (आ), हल्ङ्याब्भ्यो दीर्घात्सुतिस्यपृक्तं हल् (पा.सू. ६।१।६८) यो सूत्रले सु (स्) को लोप र नलोपः प्रातिपदिकान्तस्य (पा.सू. ८।२।७) यो सूत्रले न् को लोप हुँदा कर्ता शब्द बन्छ। यसको शाब्दिक अर्थ हुन्छ- कुनै काम गर्नेवाला। सामान्यतया काम गर्ने धेरै व्यक्ति हुने भए पनि कर्ताशब्दले प्रमुख व्यक्तिलाई नै जनाउँछ। काम भनेको क्रिया नै हो। क्रियानिष्पादन गर्ने कारक धेरै हुन्छन्। तिनीहरूमध्ये प्रमुख कर्ता कारक नै हुन्छ। यस मानेमा कर्ता शब्दको शाब्दिक अर्थ कर्ताकारकका सन्दर्भमा पनि धेरथोर मिल्न जान्छ।
कर्ताको परिभाषाका सन्दर्भमा अष्टाध्यायीको सूत्र छ- स्वतन्त्रः कर्ता (पा.सू. १।४।५४)। यसको अर्थ सिद्धान्तकौमुदीमा लेखिएको छ, ‘‘क्रियायां स्वातन्त्र्येण विवक्षितोऽर्थः कर्ता स्यात्’’ अर्थात् क्रियामा स्वतन्त्ररूपले विवक्षित अर्थ कर्ता हुन्छ (दीक्षित, १९८२; पृ. १७३)। वैयाकरणभूषणसारमा स्वतन्त्रको परिभाषा गर्दै भनिएको छ ‘‘स्वातन्त्र्यञ्च धात्वर्थव्यापाराश्रयत्वम्’’ (भट्ट, ई. १९८२; पृ. २४१) अर्थात् धातुको अर्थ व्यापारको आश्रय जो हुन्छ, त्यही स्वतन्त्र हुन्छ। धातुका अर्थ फल र व्यापार हुन्। फलको आश्रय कर्म र व्यापारको आश्रय कर्ता हो। यसैलाई स्पष्ट पार्दै त्यहीँ भनिएको छ, ‘‘यदीयो व्यापारो धातुनाभिधीयते तदा स कर्ता’’ (भट्ट, पूर्ववत्) अर्थात् जसको व्यापार धातुले कहन्छ, त्यही कर्ता हो। परमलघुमञ्जूषामा कर्ताको लक्षण गर्दै भनिएको छ, ‘‘प्रकृतधातुवाच्यव्यापाराश्रयत्वं कर्तृत्वम्’’ (नागेश, १९९८; पृ. २५३) अर्थात् सम्बन्धित धातुबाट बुझिने व्यापारको आश्रय नै कर्ता हो। ‘कुम्भकारः घटं करोति’ अर्थात् ‘कुम्हाले घैँटो बनाउँछ’ यो वाक्यमा माटो कुट्ने, पानी हाल्ने, मुछ्ने, चक्का घुमाउने र घडाको रूप दिनेसम्मका कामहरू व्यापार हुन्। त्यो व्यापारको प्रमुख स्रोत, आश्रय वा आधार ‘कुम्भकारः’ (कुम्हाले) हो। यस कारण ‘कुम्भकारः’ यो पद कर्ताकारक हो। नेपाली वैयाकरणहरू पनि संस्कृतका वैयाकरणहरूभन्दा कर्ताकारकका सवालमा साह्रै टाढा छैनन्। भाषाविज्ञान र प्रायोगिक भाषाविज्ञानमा कर्ताको परिभाषा गर्दै भनिएको छ, ‘‘वाक्यभित्र प्रयुक्त नाम वा सर्वनाममध्ये जसले कार्य सम्पन्न गरेको हुन्छ, त्यो नै कर्ताकारक हो (पौडेल, २०५८; पृ. १३८)।’’ नेपाली मानक व्याकरण तथा कार्यमूलक लेखनमा ‘‘काम गर्ने, व्यापार गर्ने, क्रियाकलाप गर्ने वा त्यस्तो गर्ने भन्ने ठानिएका पदलाई कर्ताकारक भनिन्छ’’ भनिएको छ (न्यौपाने, २०६२; पृ. १५७)। यसरी नेपाली र संस्कृत दुबै भाषाका वैयाकरणहरू कर्ताकारकका सवालमा नजिक रहेका देखिन्छन्। दुबै थरीका वैयाकरणका अनुसार व्यापारको आश्रय वा व्यापार सम्पन्न गर्नेवाला नै कर्ता हो भन्ने निष्कर्ष निस्किएको छ।
८. कर्ताकारकका प्रकार
पाणिनिका सूत्रहरू पर्गेल्दा जम्मा चारवटा कर्ताहरू भेटिन्छन्, प्रधान, प्रयोजक, प्रयोज्य र अप्रधान। यिनीहरू वाक्यमा कर्ता पदले खेल्ने भूमिकाका आधारमा विभक्त भएका हुन्।
१. प्रधान कर्ता–
यो वाक्यमा प्रधान रहन्छ। कसैबाट नियन्त्रित हुदैन। व्यापार यसैबाट सम्पादित हुन्छ। यसलाई स्वतन्त्रः कर्ता (पा.सू. १।४।५४) सूत्रले कर्ता संज्ञा हुन्छ। जस्तै ‘नेतारः भाषणं कुर्वन्ति’ अर्थात् ‘नेताहरू भाषण गर्छन्’ यहाँ ‘नेतारः’ (नेताहरू) कर्ता कारक हो।
२. प्रयोजक कर्ता–
प्रेरणार्थी वाक्यमा आउने प्रयोजक कर्ता हो। यसले व्यापार नगरे पनि प्रयोज्य कर्तालाई व्यापार गर्न प्रेरणा दिन्छ। यसलाई तत्प्रयोजको हेतुश्च (पा.सू. १।४।५४) यो सूत्रले कर्ता संज्ञा हुन्छ। जस्तै ‘माता पुत्रं फलम् अखादयत्’ अर्थात् ‘आमाले छोरालाई फल खुवाउनुभयो’ यहाँ ‘माता’ प्रयोजक कर्ता हो। यहाँ खाने काम (व्यापार) पुत्रले गरे पनि त्यसलाई प्रयोजक कर्ता माताले प्रेरणा दिइरहेको छ।
३. प्रयोज्य कर्ता–
अप्रेरणार्थी वाक्यको कर्ता प्रेरणार्थी वाक्यमा जाँदा त्यो (केही अवस्थामा) कर्म बन्छ। त्यसलाई स्वतन्त्रः कर्ता (पूर्ववत्) सूत्रले कर्ता संज्ञा गरेको हुन्छ। प्रयोजक कर्ताले प्रेरणा दिए पनि व्यापार प्रयोज्य कर्ताले नै गरेको हुन्छ। जस्तै ‘छात्रः पाठं पठति’ अर्थात् ‘छात्र पाठ पढ्छ’ यहाँ ‘छात्रः’ कर्ता हो। यसलाई प्रेरणार्थी वाक्य बनाउँदा ‘गुरुः छात्रं पाठं पाठयति’ अर्थात् ‘गुरु छात्रलाई पाठ पढाउनुहुन्छ’ यहाँ ‘छात्र’ कर्म बनेको छ तापनि व्यापार सम्पन्न गर्ने भएकाले र स्वतन्त्रः कर्ता (पूर्ववत्) सूत्रले कर्ता संज्ञा गरेकाले यो कर्ता पनि हुन्छ। नेपाली भाषामा भने यसलाई कर्ता नमानेर कर्ममात्र मानेको पाइन्छ।
४. अप्रधान कर्ता–
अप्रधान कर्ता भनेर पाणिनिले संज्ञा गरेका छैनन्। उनको सूत्र सहयुक्तेऽप्रधाने (पा.सू. २।३।१९) को अध्ययनबाट अप्रधान कर्ताबारे जानकारी पाइन्छ। सह (साथ, सँग, सित) का अर्थमा यसले तृतीया विभक्ति गर्दछ। यसले तृतीया विभक्ति गर्ने शब्द अप्रधान हो। अर्थात् क्रिया सम्पादन गर्ने सम्बन्धमा जसको भूमिका गौण वा अप्रधान छ, त्यो अप्रधान कर्ता हो। यो प्रधान कर्तासँगै आउँछ। जस्तै ‘पुत्रेण सह आगतः पिता’ अर्थात् ‘छोरासँग बुबा आउनुभयो’ यहाँ ‘पुत्रेण’ (छोरासँग) अप्रधान कर्ता हो। आउने व्यापार (काम) छोराले पनि गरेको छ। ‘पिता’ प्रधान कर्ता छ। लघुशब्देन्दुशेखरमा ‘‘यद्यपि ‘पुत्रेण सहागतः’ इत्यादौ आगमनक्रियाकर्तृत्वादेव पुत्रात्तृतीया सिद्धा तथापि ‘पुत्रेण सह स्थूलः’ इत्याद्यस्य मुख्यमुदाहरणम्’’ (नागेश, ई. १९५४; पृ. ४८२) अर्थात् यहाँ आगमन क्रियाको कर्ता भएकाले नै पुत्रबाट तृतीया सिद्ध थियो तापनि पुत्रसमान मोटो यो यसको मुख्य उदाहरण हो भनिएको छ। यसबाट सहको अर्थमा आउने सबै शब्द कर्ता नहुन सक्छन्। क्रियासँग सम्बन्ध राख्नेमात्र कर्ता हुन्छन् भन्ने बुझिन्छ। नेपाली भाषामा पनि सहको योग भएका शब्दलाई कारक मान्ने वैयाकरणहरू पाइन्छन्। समसामयिक नेपाली व्याकरणमा यसलाई सहार्थक कारक भनिएको छ। ‘‘यसले एउटै कार्यसँग सहात्मक भूमिका जनाउँछ’’, भनी यसको परिभाषा पनि गरिएको छ (अधिकारी, २०५७; पृ. १८७)। नेपाली भाषामा पनि यी चारैवटा कर्ता पाइएका छन्। माथिका नेपाली भाषाका उदाहरणहरूबाट त्यो थाहा पाइन्छ। प्रयोज्य कर्तालाई कर्म मानेको देखिन्छ। अप्रधान कर्तालाई परम्परागत व्याकरण अन्तगर्त कारकका रूपमा मानेको देखिँदैन। नयाँ वैयाकरणहरूले यसलाई कर्ता नभने पनि कारकका रूपमा मान्यता दिन थालेका छन्।
वैयाकरणभूषणसारमा कर्तालाई तीन भागमा बाँडिएको छ शुद्ध, प्रयोजक र कर्मकर्ता। शुद्धभित्र पाणिनिको प्रधान कर्ता, प्रयोजकभित्र प्रयोजक कर्ता र कर्मकर्ताभित्र प्रयोज्यकर्तालाई राखिएको छ (भट्ट, ई. १९८२; पृ. २४८)। अप्रधान कर्तालाई त्यहाँ मान्यता दिइएको छैन।
पाणिनिले कर्ताको अर्को वर्गीकरण पनि गरेको देखिन्छ। यो वर्गीकरण वाक्यमा कर्ताले मुख्य भूमिका खेल्छ वा खेल्दैन भन्ने आधारमा गरिएको देखिन्छ। यसको जानकारी अनभिहिते (पा.सू. २।३।१) यो अधिकार सूत्रबाट पाइन्छ। यसको अधिकारमा पर्ने कर्ता अनभिहित र नपर्ने अभिहित कहलाउँछ। अभिहितलाई उक्त र अनभिहितलाई अनुक्त भन्ने पनि गरिन्छ। अभिहित वा उक्त भनेको बताइएको, भनिएको, बोलिएको भन्ने हो। यहाँ प्रायशः तिङ्कृत्ततिद्धितसमासद्वारा उक्तलाई अभिहित र अनुक्तलाई अनभिहित भनिएको छ (दीक्षित, १९८२; पृ. १६१)। जसअनुसार कर्ता दुई प्रकारका छन्- अभिहित र अनभिहित।
१. अभिहित कर्ता–
अनभिहिते (पूर्ववत्) सूत्रको अधिकारभित्र नपर्ने कर्ता अभिहित हो। यसबाट प्रातिपदिकार्थलिङ्गपरिमाणवचनमात्रे प्रथमा (पा.सू. २।३।४६) यो सूत्रले प्रथमा विभक्ति आउँछ। यो कर्ता कर्तृवाच्यमा मात्र आउँछ। यो वाक्यमा उद्देश्य बनेको हुन्छ। जस्तै ‘सीता ओदनं खादति’ अर्थात् ‘सीता भात खान्छे’ यहाँ ‘सीता’ अभिहित (उक्त) कर्ता हो। कर्ता बनेको ‘सीता’ पदको क्रिया ‘खादति’ को प्रत्यय ‘ति’ (तिङ्) ले कर्ता उक्त छ। यो ‘ति’ लः कर्मणि च भावे चाकर्मकेभ्यः (पा.सू. ३।४।६९) ले कर्ता अर्थमा लट् लकार विधान गरेर त्यसैका (लट्का) ठाउँमा आदेश भएको हो। त्यस्तै ‘राधा पत्रं लिखति’ अर्थात् ‘राधा चिठी लेख्छे’ यहाँ ‘राधा’ अभिहित कर्ता हो। नेपाली भाषाका कर्तृवाच्यका कर्ताहरू उक्त वा अभिहित हुन्। जस्तै ‘तिमी हाँस्यौ, गौरी जान्छिन्, राधा पढ्छिन्’ यी वाक्यमा आएका ‘तिमी, गौरी, राधा’ अभिहित कर्ता हुन्।
२. अनभिहित कर्ता–
अनभिहिते (पूर्ववत्) सूत्रको अधिकारभित्र पर्ने अनभिहित कर्ता हो। यो कर्ता वाक्यमा उद्देश्य बन्दैन। यो कर्ता कर्तृवाच्यमा आउँदैन। अनभिहित कर्ता तीन प्रकारका छन् द्वितीया विभक्ति अन्त्यमा हुने, तृतीया विभक्ति अन्त्यमा हुने र षष्ठी विभक्ति अन्त्यमा हुने।
(अ) द्वितीया विभक्ति अन्त्यमा हुने अनभिहित कर्ता–
यसलाई प्रयोज्य कर्ता वा प्रयोज्य कर्म पनि भनिन्छ। यो कर्ता प्रेरणार्थी वाक्यमा मात्र आउँछ। अप्रेरणार्थी वाक्यको कर्ता प्रेरणार्थी वाक्यमा जाँदा कर्ममा (निश्चित अवस्थामा) परिणत हुन्छ। त्यसलाई अप्रेरणार्थी अवस्थामा स्वतन्त्रः कर्ता (पूर्ववत्) सूत्रले कर्ता संज्ञा भएको हुन्छ। प्रेरणार्थी अवस्थामा कर्म संज्ञा भए पनि उसैले क्रिया (कार्यव्यापार) सम्पन्न गर्ने भएकाले त्यसले कर्ताको भूमिका निभाएकै हुन्छ। जस्तै ‘विद्यार्थी पाठं पठति’ अर्थात् ‘विद्यार्थी पाठ पढ्छ’ यो अप्रेरणार्थी वाक्य हो। यसको कर्ता विद्यार्थी हो। यसलाई प्रेरणार्थी वाक्य बनाउँदा ‘गुरुः विद्यार्थिनं पाठं पाठयति’ अर्थात् अर्थात् ‘गुरु विद्यार्थीलाई पाठ पढाउनुहुन्छ’ यस्तो वाक्य बन्छ। यहाँ गतिबुद्धिप्रत्यवसानार्थशब्दकर्माकर्मकाणामणि कर्ता स णौ (पा.सू. १।४।५२) सूत्रले कर्म संज्ञा भएर विद्यार्थिनं (विद्यार्थीलाई) रूप बने पनि पढ्ने व्यापार (काम) यसले नै सम्पन्न गर्ने भएकाले यो द्वितीया विभक्ति अन्त्यमा हुने अनभिहित कर्ता पनि हो। यसलाई पहिले अप्रेरणार्थी अवस्थामा कर्ता संज्ञा भएको छ। अहिले कर्म संज्ञा भएकाले कर्मणि द्वितीया (पा.सू. २।३।२) ले यसबाट द्वितीया विभक्ति गरेको छ। यस वाक्यको प्रयोज्य कर्ता ‘गुरु’ उक्त भएकाले ‘विद्यार्थी’ अनुक्त छ। नेपाली भाषामा पनि यस्तो कर्ता हुन्छ। जस्तै ‘म तिमीलाई कम्प्युटर सिकाउँछु’ यस वाक्यको ‘तिमीलाई’ द्वितीया विभक्ति अन्त्यमा हुने अनभिहित कर्ता हो। सामान्यतया यसलाई नेपाली भाषामा कर्म भन्ने चलन छ।
(आ) तृतीया विभक्ति अन्त्यमा हुने अनभिहित कर्ता–
कर्मवाच्य र भाववाच्यको कर्ता र कर्म संज्ञा नभएको प्रयोज्य कर्तादेखि तृतीया विभक्ति हुन्छ। जस्तै ‘मया कविता विरच्यते’ (कर्मवाच्य) अर्थात् ‘मद्वारा कविता रचिन्छ’ यहाँ ‘मया’ (मद्वारा) तृतीया विभक्ति अन्त्यमा हुने अनभिहित कर्ता हो। कर्मवाच्यमा लः कर्मणि च भावे चाकर्मकेभ्यः (पूर्ववत्) सूत्रले कर्म उक्त हुन्छ र कर्ता अनुक्त रहन्छ। ‘पथिकेन उष्यते’ (भाववाच्य) अर्थात् ‘बटुवाद्वारा बसिन्छ’ यहाँ ‘पथिकेन’ (बटुवाद्वारा) तृतीया विभक्ति अन्त्यमा हुने अनभिहित कर्ता हो। भाववाच्यमा उक्त सूत्रले क्रिया उक्त हुन्छ र कर्ता अनुक्त रहन्छ। ‘गृहस्वामी पाचकेन ओदनं पाचयति’ (प्रयोज्य कर्ता) अर्थात् ‘घरबेटी भान्सेद्वारा भात पकाउँछन्’ यहाँ ‘पाचकेन’ (भान्सेद्वारा) तृतीया विभक्ति अन्त्यमा हुने अनभिहित कर्ता हो। प्रेरणार्थी वाक्यमा उक्त सूत्रले प्रयोजक कर्ता उक्त हुन्छ र अप्रेरणार्थी कर्ता अनुक्त रहन्छ। यी सबै खालका अनभिहित कर्तादेखि ‘कर्तृकरणयोस्तृतीया’ (पा. सू. २।३।१८) यो सूत्रले तृतीया विभक्ति हुन्छ। नेपाली भाषामा ‘बाट र द्वारा’ विभक्ति चिह्नहरू कर्तामा प्रथमा विभक्तिका रूपमा पनि आउने हुनाले कर्मवाच्यको कर्ता र भाववाच्यको कर्तालाई तृतीया विभक्ति अन्त्यमा हुने भनिँदैन। यी कर्ता अनभिहित चाहिँ हुन्छन्। उदाहरण संस्कृत भाषाका अनुवादमै प्रष्ट छन्। प्रयोज्य कर्तामा तृतीया विभक्ति आउने भए पनि यसलाई करण कारक मान्ने चलन छ।
(इ) षष्ठी विभक्ति अन्त्यमा हुने अनभिहित कर्ता–
कृदन्त शब्दका योगमा आउने कर्तादेखि ‘कर्तृकर्मणोः कृतिः’ (पा.सू. २।३।६५) यो सूत्रले षष्ठी विभक्ति हुन्छ। जस्तै ‘इयं पार्वत्याः कृतिः अस्ति’ अर्थात् ‘यो पार्वतीको कृति हो’ यहाँ ‘पार्वत्याः’ (पार्वतीको) षष्ठी विभक्ति अन्त्यमा हुने अनभिहित कर्ता हो। यसलाई ‘स्वतन्त्रः कर्ता’ (पूर्ववत्) सूत्रले कर्ता संज्ञा गरेको छ। यहाँ कृ (डुकृञ् करणे) धातुदेखि ‘स्त्रियां क्तिन्’ (पा.सू. ३।३।९४) सूत्रले भाव (क्रिया) अर्थमा क्तिन् (ति) प्रत्यय भएको छ र कृति शब्द बनेको छ। त्यसैले भाव उक्त छ र कर्ता अनुक्त छ। नेपाली भाषामा पनि षष्ठी विभक्ति अन्त्यमा हुने अनभिहित कर्ता हुन्छ तर त्यसलाई सम्बन्ध मान्ने चलन छ। जस्तै ‘मेरो निर्माण, कालिदासको काव्य, सङ्घर्षशीलको रचना’ आदिमा आएका ‘मेरो, कालिदासको र सङ्घर्षशीलको’ यी षष्ठी विभक्ति अन्त्यमा हुने अनभिहित कर्ता नै हुन्। नेपाली वैयाकरणहरू यिनीहरूलाई षष्ठी विभक्ति लागेको हुनाले सम्बन्ध (कारक) मान्दछन्।
नेपाली वैयाकरणहरूले शब्दको बाहिरी बनोट वा संरचनाका आधारमा कारकलाई दुई भागमा वर्गीकरण गरेका छन् – सरल र तिर्यक् (लुइँटेल, २०७०; पृ. १८४)। संस्कृत भाषामा पनि सरल र तिर्यक् कारक पाइन्छन्। यसअनुसार पनि कर्ताको वर्गीकरण गर्न सकिन्छ। यसअनुसार कर्ता दुई प्रकारका छन्- सरल कर्ता र तिर्यक् कर्ता।
१. सरल कर्ता–
वाक्यमा आउँदा कर्ता कारक बनेको पदको रूप वा आकारमा परिवर्तन भएको छैन वा विभक्ति लागेको पनि छैन भने त्यो सरल कर्ता हुन्छ। जस्तै ‘मधु पतति’ अर्थात् ‘मह खस्छ’ यहाँ ‘मधु’ (मह) शब्दको रूपमा परिवर्तन भएको छैन साथै विभक्ति पनि लागेको छैन। त्यसैले ‘मधु’ सरल कर्ता हो। ‘पर्वतात् वारि वहति’ अर्थात् ‘पर्वतबाट पानी बग्छ’ यहाँको ‘वारि’ (पानी) सरल कारक हो। संस्कृतमा अधिकत नपुंसकलिङ्गी हलन्त, उकारान्त र इकारान्त शब्दको प्रथमा विभक्तिको एकवचन कर्ता र स्त्रीलिङ्गी ईकारान्त (ङ्यन्त) र आकारान्त (आबन्त) शब्दको प्रथमा विभक्तिको एकवचन कर्ता सरल हुन्छ। नपुंसकलिङ्गी हलन्त केही सर्वनामहरूका प्रथमा विभक्तिको एकवचनको कर्ता सरल हुन्छ। नेपाली भाषाका उदाहरणहरूमा ‘त्यो खान्छ, यो हिँड्छ, ढुङ्गो खस्छ’ यी वाक्यमा आएका ‘यो, त्यो, ढुङ्गो’ सरल कर्ता हुन्। यिनीहरू सग्लो रूपमा छन् र विभक्ति पनि लागेको छैन।
२. तिर्यक् कर्ता–
वाक्यमा आउँदा कर्ता कारक बनेको पदको रूपा वा आकारमा परिवर्तन आएको छ वा विभक्ति लागेको छ भने त्यो तिर्यक् कर्ता हुन्छ। जस्तै ‘बालकाः पठन्ति’ अर्थात् ‘बालखहरू पढ्छन्’ यहाँ ‘बालक’ शब्दको रूपमा परिवर्तन र विभक्ति लागेर ‘बालकाः’ भएको छ। यसैले ‘बालकाः’ तिर्यक् कर्ता हो। ‘इमे गच्छन्ति’ अर्थात् ‘यिनीहरू जान्छन्’ यहाँ ‘इदम्’ शब्दको रूपमा परिवर्तन भएर ‘इमे’ भएको छ। त्यसैले ‘इमे’ तिर्यक् कर्ता हो। नेपाली भाषामा ‘केटा आए, मैले खाएँ, तिनीहरू गए’ यी वाक्यका ‘केटा, मैले, तिनीहरू’ तिर्यक् कर्ता हुन्। यिनीहरूको सरल रूप ‘केटो, म, त्यो’ हुन्छ। सामान्यतया वाक्यमा आउँदा सरल कर्ताका अपेक्षा तिर्यक् कर्ता नै बढी हुन्छन्।
९. उपसंहार
नेपाली र संस्कृत भाषाका कारकहरू समान नै छन्। संस्कृतबाट प्राकृत हुँदै नेपाली भाषा जन्मिएकाले यसका कारकहरूमा केही परिवर्तन आउनु स्वाभाविक हो। कृदन्तको योगमा भएको षष्ठीलाई कर्ता कारक नमान्नु यसकै परिणाम हो। प्रयोज्य कर्मलाई पनि कर्ताको रूपमा मानिएको पाइँदैन। सरल र तिर्यक् गरेर नयाँ कारकीय मान्यता पनि अघि सारिएको छ। यद्यपि संस्कृत भाषाका कारकमा पनि सरल र तिर्यक् रूप पाइन्छन् भन्ने उदाहरणद्वारा पुष्टि भइसकेको छ। कौण्ड भट्टले गरेको कर्ताको वर्गीकरण अपर्याप्त देखिएको छ। नयाँनयाँ मान्यताअनुसार संस्कृतका कारकहरूको अध्ययन गरेर यो भाषालाई नयाँ आधुनिक व्याकरणगत मान्यताका साँचामा पर्गेल्न पनि आवश्यक छ। साथै महामुनि पाणिनिको व्याकरणशास्त्र अनुसार नेपाली र अन्य भाषाको अध्ययनलाई तिखार्दै यसको मौलिकता र गरिमालाई विस्तार गर्नु पनि अपरिहार्य बनेको छ।
सन्दर्भसूची
अधिकारी, हेमाङ्गराज (वि.सं. २०५७) समसामयिक नेपाली व्याकरण, काठमाण्डौ : विद्यार्थी पुस्तक भण्डार।
दीक्षित, भट्टोजि (वि.सं. १९८२) सिद्धान्तकौमुदी, मुम्बई : श्री वेङ्कटेश्वर स्टिम मुद्रणालय।
नागेश (ई.सं. १९९८) परमलघुमञ्जूषा, वाराणसी : चौखम्बा सुरभारती प्रकाशन।
–––––––––– (ई.सं. १९५४) लघुशब्देन्दुशेखर, बनारस : चौखम्बा संस्कृत सीरिज।
न्यौपाने, टङ्कप्रसाद (वि.सं. २०६२) नेपाली मानक व्याकरण तथा कार्यमूलक लेखन, विराटनगर : श्यामपुस्तक भण्डार।
––––––––––––––– (वि.सं. २०६१) भाषाविज्ञानको रूपरेखा, धरान : एन् वी डी प्रकाशन।
पाणिनि (ई.सं. १९८१) अष्टाध्यायी, वाराणसी : चौखम्बा सुरभारती प्रकाशन।
पौडेल, कृष्णविलास (वि.सं. २०५८) भाषाविज्ञान र प्रायोगिक भाषाविज्ञान, काठमाण्डौ : नवीन प्रकाशन।
भट्ट, कौण्ड (ई.सं. १९८२) वैयाकरणभूषणसार, प्रकाशक अरविन्द मिश्र र मकरन्द मिश्र।
यादव, योगन्द्रप्रसाद र भीमनारायण (वि.सं. २०५९) भाषाविज्ञान, कीर्तिपुर : न्यु हिरा बुक्स इन्टरप्राइजेज।
लुइँटेल, दीपक (वि.सं. २०७०) गुडविल नयाँ माध्यमिक नेपाली व्याकरण तथा अभिव्यक्ति, काठमाण्डौ :
गुडविल पब्लिकेसन प्रा. लि.।
शिक्षापदाधिकारी (ई.सं. १९९१) माध्यमिक नेपाली व्याकरण र रचना, दार्जिलिङ्ग : साझा पुस्तक प्रकाशन।
……. (वि.सं. २०४०) नेपाली बृहत् शब्दकोश, काठमाण्डौ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान।