प्राच्यवाङ्मयको मूल आधारको रूपमा रहेको वेदको व्याख्याका रूपमा स्मृति, इतिहास र पुराणहरूलाई लिइएको छ । वेदाङ्गहरू पनि श्रुतिको तात्पर्य बुझ्नमा सहयोगी हुन्छन् । शक्तितत्त्वको चिन्तन वेद, वेदाङ्ग, स्मृति, इतिहास, पुराण आदिमा भिन्न-भिन्न प्रकारले भएको पाइन्छ । दार्शनिकहरूले पनि शक्तितत्त्वको चिन्तनलाई आफ्नो विचारभूमिमा महत्त्वपूर्ण स्थान दिएका छन् ।
राममणि नेपाल (रामानुज)
इतिहासपुराण-सर्वदर्शनाचार्य ।
ramanujdash7@gmail.com
लेखसार : प्राच्यवाङ्मयको मूल आधारको रूपमा रहेको वेदको व्याख्याका रूपमा स्मृति, इतिहास र पुराणहरूलाई लिइएको छ । वेदाङ्गहरू पनि श्रुतिको तात्पर्य बुझ्नमा सहयोगी हुन्छन् । शक्तितत्त्वको चिन्तन वेद, वेदाङ्ग, स्मृति, इतिहास, पुराण आदिमा भिन्न-भिन्न प्रकारले भएको पाइन्छ । दार्शनिकहरूले पनि शक्तितत्त्वको चिन्तनलाई आफ्नो विचारभूमिमा महत्त्वपूर्ण स्थान दिएका छन् । कुनै पनि वस्तु शक्तिमान् हुन्छ । शक्ति उसमा रहने प्रधान गुण हो । ईश्वर शक्तिमान् हो, माया उसको शक्ति हो । शक्तिमान्बाट शक्तिलाई अलग गर्न सकिन्न । उपनिषत्हरूको मुख्य लक्ष्य जगत्कारण प्रतिपादन गर्नु हो । ब्रह्म चित् (जीव) र अचित् (प्रकृति)ले विशिष्ट भएर नै जगत्को कारण बन्दछ । चित् र अचित् दुवै जगत्कारणभूत ब्रह्मका शक्तिहरू हुन् ।अतः ब्रह्म शक्तिमान् हो । तन्त्रशास्त्रले त शक्तिलाई केन्द्रबिन्दुमा राखेको छ । । देवतावादमा आएर त्यही शक्तितत्त्वको प्रतिमा निर्माण गरी पूजा गरिन्छ । शक्तिको उपासनालाई आगमशास्त्रहरूले समेटेका छन् । सात्त्विकी, राजसी र तामसी शक्तिका प्रतीकका रूपमा महासरस्वती, महालक्ष्मी र महाकालीको आराधना गरिन्छ । साधकको स्वभाव र रुचिअनुसार उपासनामा पनि भेदहरू देखिएका छन् । प्रस्तुत आलेखमा वेदका पूर्व र उत्तर भागमा विमर्श गरिएको त्यस तत्त्वलाई सरल भाषामा वर्णन गर्ने पुराण, इतिहास र तन्त्रशास्त्रहरू मध्ये केही प्रसिद्ध ग्रन्थमा आधारित भएर व्याख्या विश्लेषण गरी निष्कर्ष निकाल्ने प्रयत्न गरिएको छ ।
शब्कुञ्जी : अध्यात्म, आगमशास्त्र, शक्तिमान्, वेदान्त, वेदोपबृंहण, इतिहास, पुराण ।
विषयप्रवेशः
शास्त्र र व्यवहारमा शक्तिपदार्थको अतिशय गम्भीर एवं व्यापक चिन्तन भएको देखिन्छ । प्रयोग र सन्दर्भका आधारमा शक्ति शब्दको अलग अलग अर्थ गरिएको छ । शक्तितत्त्व आफैँमा विलक्षण छ । शक्ति पदार्थमाथि भएका व्याख्याहरू प्रायशः रहस्यात्मक देखिन्छन् । अमरकोशकारले शक्तिशब्दको मूलतः सामर्थ्य या बल भन्ने अर्थ गर्नुभएको छ । शक्ति शब्दको व्यावहारिक प्रयोगलाई हेर्दा यो स्त्रीलिङ्गवाची देखिन्छ । सामर्थ्य अर्थलाई बताउने शक्लृ शकौ धातुबाट क्तिन् प्रत्यय गर्दा शक्ति शब्द निष्पन्न हुन्छ । दार्शनिक धरातलमा यसको व्यापक चिन्तन भएको पाइन्छ । वैदिक सनातन परम्पराका विभिन्न धाराहरूमा शक्तिका विषयमा विशिष्ट विचारहरू स्थापित भएका छन् । शक्तितत्त्वलाई सम्प्रदाय, उपासना र सिद्धान्तहरूको केन्द्रबिन्दु मानिएको हुन्छ । आफ्ना इष्टदेवको समुपासना पनि शक्तितत्त्वको आराधनाका रूपले स्थापित भएको छ । आ–आफ्ना सिद्धान्त र आस्थाअनुसार शक्तितत्त्वको प्रतीकमा पनि वैविध्य देखा परेको छ । यस आलेखमा शक्तितत्त्व र उपासनाका विषयमा यत्किञ्चित् चर्चा गरिन्छ ।
समस्याकथन
अनुसन्धानका लागि छनौट गरिएको विषय नै समस्याका रूपमा आएको हुन्छ । निश्चय गरिएको शीर्षकमा रहेका मुख्य प्रश्नहरूलाई प्रस्तुत गर्नु नै समस्याकथन हो । यस अध्ययनमा निम्नानुसार समस्याहरूलाई उपस्थापन गरिएको छ :
शक्ति भनेको के हो ?
शक्ति र शक्तिमान्मा के भेद छ ?
प्राच्यवाङ्मयमा शक्तितत्त्वको वर्णन कसरी गरिएको छ ?
उद्देश्य निर्धारण
समस्या कथनमा व्यक्त भएका समस्याहरूको उपयुक्त तरिकाले निराकरण गर्नु नै उद्देश्य निर्धारण हो । अनुसन्धानले गति प्राप्त गर्नका लागि समस्या कथनमा उठाइएका समस्याहरूको समुचित समाधान गर्नु अनिवार्य हुन्छ । अतः यहाँ उद्देश्यहरूलाई यसरी स्पष्ट पारिएको छ :
शक्तितत्त्वको परिचय दिनु,
शक्ति र शक्तिमान् बीचको भेद स्पष्ट पार्नु,
प्राच्यवाङ्मयमा चर्चित शक्तित्त्वको निरुपण गर्नु ।
अनुसन्धान विधि
अनुसन्धान विधिको निर्धारण नगरिकन गरिएको अनुसन्धान अव्यवस्थित हुन जान्छ । यस अनुसन्धानमूलक लेखमा पुस्तकालयको उपयोग गरी इतिहास, पुराणादिका मूल ग्रन्थहरूबाट सामग्री सङ्कलन गरिएको छ । यसका साथै विशिष्ट विद्वान् आचार्यहरूसँगको परामर्शबाट प्राप्त सल्लाह, सुझाबलाई पनि अध्ययनको सामग्री मान्न सकिन्छ ।
शक्ति र शक्तिमान्
आध्यात्मिक दृष्टिमा शक्ति र शक्तिमान्को एकता सिद्ध हुन्छ, तर देवतावादमा आइपुग्दा यिनीहरूमा अत्यन्त भेद देखिन्छ । दार्शनिकहरूले आफ्ना दर्शनको परिधिभित्र रहेर यसलाई अर्थ्याउनुभएको छ । उदाहरणका लागि मीमांसा–दर्शनको प्रक्रियालाई प्रस्तुत गर्नु सान्दर्भिक ठहर्छ । मीमांसकहरू शक्तितत्त्वलाई पृथक् द्रव्यका रूपमा स्वीकार गर्दछन् । उक्त सिद्धान्तअनुसार शक्ति कारण तत्त्व हो । वस्तुमा कार्योत्पादनका निम्ति उपयोगी अपृथक्सिद्ध (वस्तुबाट अलग नहुने ) धर्म नै शक्तितत्त्व हो । जस्तै – अग्निमा रहेको दाहकत्व शक्ति । दाहकत्व (जलाउने सामर्थ्य) अग्निदेखि भिन्न छैन, अग्निमै दाहकत्व रहन्छ । परन्तु, कहिलेकाहीँ दाहशक्तिलाई मणि, मन्त्र, औषधिको प्रयोगद्वारा निष्क्रिय गराइन्छ । त्यस बेला बलिरहेको अग्निले जलाउन सक्दैन । चन्द्रकान्त मणिले दाहशक्तिलाई नष्ट गर्छ भने पुनः त्यहीँ सूर्यकान्त मणिको प्रयोग हुँदा अग्निले जलाउन सुरु गर्छ । यसरी मीमांसकहरू प्रयोगपूर्वक शक्तिलाई छुट्टै तत्त्वका रूपमा मान्दछन् । ईश्वरीय सत्तालाई सर्वोपरि मान्ने उपासकहरूले परमात्माको शक्तिलाई विभिन्न रूपमा स्वीकार गरेका छन् । ईश्वर शक्तिमान् हो, उसमा शक्ति समाहित छ । महेश्वरी, जगदीश्वरी, परमेश्वरी आदि ईश्वरीय शक्तिका पर्यायहरू हुन् । लक्ष्मी, सरस्वती, राधा, सीता आदि पनि शक्तिकै अवस्थाविशेष हुन् । माया, महामाया, मूलप्रकृति, विद्या, अविद्या आदि पनि शक्तिकै रूप हुन् । परमेश्वर शक्तिमान् हुनुहुन्छ र भगवती उहाँकै शक्ति हुनुहुन्छ । दृश्य जगत् शक्ति र शक्तिमान्द्वारा परिपूर्ण छ । कारणावस्थामा पनि शक्ति र शक्तिमान्को अभेद स्वरूप रहिरहन्छ । उसैबाट जगत्को सृष्टि, स्थिति र प्रलय हुन्छ । शक्ति शक्तिमान्बाट अलग भएर पनि अलग छैन । यसरी चिन्तन गर्ने व्यक्तिले शक्ति र शक्तिमान् दुवैको उपासना (आराधना) गर्दछ ।
वेदान्त–प्रतिपाद्य शक्तिस्वरूप
वेदानाम् अन्तः वेदान्तः यस व्युत्पत्तिअनुसार वेदको अन्तिम भाग अर्थात् उपनिषद्लाई वेदान्त भनिन्छ । महर्षि बादरायणले वेदान्तको अर्थ निरूपण गर्नलाई ब्रह्मसूत्रको रचना गर्नुभएको हो । त्यसैले ब्रह्मसूत्रलाई वेदान्तको सङ्ग्रहग्रन्थ मानिन्छ । यसैलाई उत्तरमीमांसा भनिन्छ । महर्षि जैमिनि–प्रणीत पूर्वमीमांसाले कर्मतत्त्वको सम्यक् निरूपण गरेको छ भने महर्षि बादरायणद्वारा रचना गरिएको ब्रह्मसूत्रले ब्रह्म तत्त्वको । पूर्वमीमांसामा शक्तिलाई धर्मका रूपमा अर्थ्याइएको छ । उत्तरमीमांसाले ब्रह्मको सामर्थ्य बताएको छ । मुख्यतया जगत्–कारणको चिन्तनमा प्रवृत्त उत्तरमीमांसाले शक्ति या शक्तिमान्लाई वर्णनको विषय बनाएको छ । वेदान्त दर्शनले शक्ति तत्त्व(जो जगत्को मूल कारण हो)लाई स्वाभाविक मान्दछ । पूर्वमीमांसकहरूका मतमा स्वीकार गरिएको शक्तिपदार्थ औपाधिक सिद्ध हुन्छ । परब्रह्ममा रहने शक्ति स्वभाविक र नित्य हो । जस्तै – परास्य शक्तिर्विविधैव श्रूयते स्वाभाविकी ज्ञानबलक्रिया च (श्वेताश्वतरोपनिषद्-६/८) । यस मन्त्रमा अस्य पद आएको छ । अस्य परा शक्तिः यसरी अन्वय गर्दा ब्रह्मको परा (अचिन्त्य) शक्ति भन्ने अर्थ हुन्छ । अब यहाँ शङ्का उत्पन्न हुन्छ – शक्ति र शक्तिमान् पृथक् हो कि एक ? शब्दार्थलाई मात्र हेर्ने हो भने ब्रह्म शक्तिमान् हो, शक्ति ब्रह्म होइन । तर तात्पयार्थलाई विचार गर्ने हो भने ब्रह्म र शक्तिपदार्थ पृथक् होइन, एकै हो । उक्त प्रश्नको समाधान श्वेताश्वतरोपनिषद्को आरम्भमा नै भएको छ – देवात्मशक्तिं स्वगुणैर्निगूढाम् (श्वेताश्वतरो. १⁄३) इत्यादि । यहाँ आएको देव शब्दको अर्थ द्योतमान् अर्थात् स्वप्रकाश हो । यसलाई अतिशय चम्किलो तेज भन्न सकिन्छ । त्यसैगरी आत्मशक्तिको अर्थ हो – चित् शक्ति । चैतन्य शक्ति नै चित्–शक्ति हो । यसै गरी स्वगुणैः पदको अर्थ हुन्छ – ब्रह्मले स्वीकार गर्ने प्रकृतिका सत्त्व, रज र तम गुणहरू । निगूढाम् पदले लुकाइएको भन्ने अर्थ दिन्छ । अब देवात्मशक्तिं स्वगुणैर्निगूढाम् यस मन्त्रांशको फलितार्थ यस्तो भयो– अतिशय प्रकाशित (स्वयं प्रकाशित ) चिदचिद् ब्रह्मस्वरूप शक्ति प्रकृतिनिष्ठ सत्त्वादि गुणहरूले ढाकिएर अदृश्य र अचिन्त्य रूपले रहेको हुन्छ । जसरी माकुरो र माकुराका जालोमा भेद झैं देखिन्छ तर भेद छैन । जालो माकुरोबाट प्रकट भयो, माकुरोमै समाहित हुन्छ । त्यसैगरी ब्रह्म स्वयं शक्ति र शक्तिमान् हुन सक्छ । वेदान्तानुसार शक्ति र शक्तिमान्मा अत्यन्त भेद छैन भन्ने तात्पर्य सिद्ध हुन्छ ।
ब्रह्मशक्ति काल, स्वभाव आदिको अधिष्ठात्री हो । अद्वैत वेदान्तका मतमा आद्य–शक्तिरूप ब्रह्म नै समस्त जगत्मा व्याप्त भएको छ । त्यही ब्रह्मले मायाशक्तिद्वारा जगत्को सृष्टि गर्दछ । जगत्को सृष्टि गर्नु भनेको द्वैतभाव आउनु हो । दृश्य प्रपञ्च (जगत्) सबै मायारचित हो । वस्तुतः अहम् (म) र त्वम् (तिमी) को पृथक् अस्तित्व नै छैन । यो अभेदज्ञान हुन ब्रह्मज्ञानको आवश्यकता रहन्छ । परोक्ष ज्ञानपछि अपरोक्ष ज्ञान हुन्छ । अपरोक्ष (प्रत्यक्ष) अनुभव भएपछि भेदज्ञान निवृत्त हुन्छ, द्वैतभाव हट्छ । मायाशक्तिका कारण राग, द्वेष आदि उत्पन्न हुन्छन् । ब्रह्मोपासनाका बलमा तत्त्वज्ञानको उत्पत्ति हुन्छ र सर्वथा भेद बुद्धि हटेर जान्छ, मोक्षदशा प्राप्त हुन्छ ।
विशिष्टाद्वैत वेदान्तमा भगवती महालक्ष्मीजीको महत्त्वपूर्ण स्थान रहेको छ । वेदेषु पौरुषं सूक्तम् भनी शास्त्रमा अत्युत्कृष्ट बताइएको पुरुषसूक्तमा श्रीश्च ते लक्ष्मीश्च पत्न्यौ भनेर ऐश्वर्य शक्तिका रूपमा श्रीमहालक्ष्मीलाई विशिष्ट स्थान दिइएको छ । यस्याः वीक्ष्य मुखं तदिङ्गितपराधीनो विधत्तेऽखिलम् (श्रीस्तव- १) आदि पद्यांशहरूले भगवान्बाट सम्पादित सम्पूर्ण कार्यहरू लक्ष्मीजीका इच्छामा निर्भर रहन्छन् भन्ने बताउँछन् । जीवात्माको मोक्षप्राप्तिमा श्रीकृष्ण कृपाको अनिवार्यता रहन्छ । लक्ष्मीशक्तिबाट प्रेरित भएर मात्र भगवान्ले मोक्ष प्रदान गर्नुहुन्छ –
लक्ष्म्या सह हृषीकेशो देव्या कारुण्यरूपया ।
रक्षकः सर्वसिद्धान्ते वेदान्तेषु च गीयते ।। (लक्ष्मी तन्त्र- २८/१४)
अर्थात् करुणाकी प्रतिमूर्ति देवी लक्ष्मीजीले विशिष्ट (युक्त) परमात्मा नै सम्पूर्ण सिद्धान्त एवं वेदान्तहरूमा जगत्—रक्षकका रूपमा वर्णित हुनुहुन्छ । शक्ति र शक्तिमान् बीचको एकत्व चिन्तन विशिष्टाद्वैत दर्शनमा तात्पर्यार्थका रूपमा सन्निहित छ । ब्रह्मरूप चेतनशक्तिका दुई स्वरूपहरू छन्- निर्गुण र सगुण । सगुणका पनि दुई भेदहरू छन्- निराकार र साकार । यसै चैतन्य शक्तिद्वारा समग्र जगत्को उत्पत्ति हुन्छ । उपनिषद्मा यसैलाई परा शक्ति नामले बताइएको छ – तस्या एव ब्रह्मा अजीजनत् । विष्णुरजीजनत् । रुद्रोऽजीजनत् । सर्वे मरुद्गणा अजीजनन् । …..। सर्वमजीजनत् । सर्वं शाक्तमजीजनत् । अण्डजं स्वेदजमुद्भिज्जं जरायुजं यत्किञ्चैतत्प्राणि स्थावरजङ्गमं मनुष्यमजीजनत् । सैषा परा शक्तिः ।। (बह्वृचोपनिषद्)
अर्थात् त्यस परा शक्तिद्वारा ब्रह्मा, विष्णु, रुद्र, मरुद्गण, गन्धर्व, अप्सरा, बाजा बजाउने किन्नर, समस्त भोग्यपदार्थ, अण्डज (अण्डाबाट पैदा हुने), स्वेदज (पसीनाबाट पैदा हुने), उद्भिज्ज (बीजबाट पैदा हुने), जरायुज (सालनालसँग जन्मने), स्थावर, जङ्गम मनुष्य आदि प्राणीहरू उत्पन्न भए । वेदान्तमा भएको यस विशिष्ट चिन्तनले देवतावादभन्दा माथि एक विशिष्ट अध्यात्मतत्त्व छ भन्ने पुष्टि गर्दछ । त्यो तत्त्व शक्ति भइकन शक्तिमान् पनि हो । ब्रह्मसूत्रमा पनि स्पष्ट उल्लेख छ । सर्वोपेता तद्दर्शनात् (२.१.३०) अर्थात् त्यो पराशक्ति सम्पूर्ण सामर्थ्यले युक्त छ, किनकि कार्य (दृश्य जगत्) द्वारा यसलाई प्रत्यक्ष गर्न सकिन्छ । त्यसैगरी – ईशा वास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत् (ईशोपनिषद्- १) अर्थात् त्रिगुणमयी मायामा रहेको यो समग्र जगत् ईश्वरद्वारा व्याप्त छ । वेदान्तप्रतिपाद्य शक्तितत्त्वलाई श्रीविष्णुपुराणले सुन्दर ढङ्गबाट स्पष्ट गरेको छ –
विष्णुशक्तिः परा प्रोक्ता क्षेत्रज्ञाख्या तथाऽपरा ।
अविद्या कर्मसंज्ञान्या तृतीया शक्तिरुच्यते ।। (वि.पु. ६. ७. ६१)
यस श्लोकमा तीन शक्तिहरूको उल्लेख छ- परा विष्णुशक्तिः, अपरा क्षेत्रज्ञ (जीव) शक्ति र अविद्या कर्मशक्ति । जीवात्मालाई क्षेत्रज्ञ भनिन्छ । तेस्रो शक्ति कर्मशक्ति हो । यसैको अवान्तर नाम अविद्या हो । यही अविद्या नामको शक्तिद्वारा ढाकिएर क्षेत्रज्ञ (जीव) संसारका विविध तापहरूले पीडित हुन्छ र विभिन्न योनिहरूमा पुग्दछ । उपर्युक्त सबै पक्षरूलाई विचार गर्दा वेदान्तले स्वाभाविक तथा औपाधिक विभिन्न शक्तिहरूको मूल केन्द्र ब्रह्म या ईश्वरलाई सिद्ध गरेको छ । कार्यकारण परम्परामा विभिन्न शक्तिहरूको उत्पत्ति र विनाश भइरहन्छ । अविनाशी, व्यापक, स्वाभाविक शक्ति ब्रह्म हो, चैतन्य हो ।
सनातन परम्परामा शक्ति–उपासना
उपासना शब्दको मूल अर्थ ध्यान हो, तर इष्ट–आराधनापर्यन्त यो शब्दको प्रयोग गरिन्छ । सनातन वैदिक परम्परामा मुख्यतया विष्णु, शिव, गणेश, सूर्य र शक्ति (देवी)को आराधना गरिन्छ, जसलाई पञ्चदेवोपासना या पाञ्चायन–पूजन भनिन्छ । यी वैदिक देवताहरूको आराधनाका लागि वैष्णवागम, शैवागम, शाक्तागम आदि शास्त्रहरू प्रसिद्ध छन् । शक्ति (भगवती)देखि भिन्न अरु चार देवताहरू पुरुष हुनुहुन्छ । मानवजीवनमा शक्ति–उपासनाको महत्वपूर्ण स्थान रहेको छ । स्वयंव्यक्त, प्रतिष्ठापित शक्तिपीठ तथा मन्दिरहरूको आराधना शाक्त–आगमद्वारा चल्दछ । धर्म, अर्थ, काम, मोक्ष यी चारै पुरुषार्थहरू शक्तिपूजाबाट प्राप्त गर्न सकिन्छ । शास्त्र तथा व्यवहारमा शक्तिको वैविध्य रहँदा–रहँदै पनि शक्तिपूजकहरूले आराधनामा स्वीकार गरेका केही मुख्य शक्तिहरूको चर्चा गर्नु सान्दर्भिक हुन्छ ।
शक्तिका प्रभेदहरू –
मूर्ति (विग्रह)मा पूजा (उपचारहरू) समर्पण गर्ने परम्परा अनादि हो । आद्य शक्ति, पराम्बा भगवतीका विभिन्न स्वरूपहरूको अनादि कालबाट आराधना हुँदै आएको छ । देवतावादमा शक्ति-परम्परालाई बताउने शास्त्रहरूले मुख्यतया महालक्ष्मी, महासरस्वती र महाकाली यी तीन स्वरूपको विशेष चर्चा गरेका छन् । जगदम्बिका भगवतीले कार्यविशेषका लागि सत्त्व, रज र तम गुणहरूलाई स्वीकार गरेर क्रमशः महासरस्वती, महालक्ष्मी र महाकाली स्वरूप धारण गर्नुहुन्छ । महासरस्वती
ब्राह्मी तु भारती भाषा गीर्वाक्वाणी सरस्वती (अमरकोशः, प्र. का., शब्दादिवर्ग-१) वाणी या वाणीकी अधिष्ठात्री देवी सरस्वती हुनुहुन्छ । सरस्वती पदको वाणी भन्ने स्थूल अर्थ हो, वाणीनिष्ठ अधिष्ठात्री देवता यो तात्पर्यार्थ हो ।
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।। यसमा वीणा, पुस्तक हातमा लिएकी, हाँसमा चढेकी सरस्वतीको चर्चा गरिएको छ । यसमा विद्या प्राप्तिका लागि प्रार्थना गरिएको हो । सरस्वतीका अन्य स्वरूपमा पनि शास्त्रीय प्रतिमा (मूर्ति)हरू हुन्छन् । विभिन्न स्वरूपका प्रतिमाहरूको आराधना भइरहेको छ । अनादि कालबाट नै सरस्वती माताको आराधना चलिआएको तथ्य उपनिषद् पारायण गर्नु पूर्व गरिने मङ्गलाचरणबाट स्पष्ट हुन्छ –
ॐ वाङ्मे मनसि प्रतिष्ठिता मनो मे वाचि प्रतिष्ठितमाविरावीर्म एधि वेदस्य म आणीस्थः श्रुतं मे मा प्रहासीरनेनाधीतेनाहोरात्रान् संदधम्यृतं वदिष्यामि । सत्यं वदिष्यामि । तन्माभवतु तद्वाक्तारमवत्त्ववतु मामवतु वक्तारमवतु वक्तारम् ।।
अर्थात् हे ब्रह्मविद्या ! तपाई प्रकट हुनुहोस् । जब मेरो वाणी मनमा एवं मन वाणीमा प्रतिष्ठित होला, त्यसबेला तपाईँ मेरा हृदयमा प्रकट हुनुहुन्छ । जबसम्म ममा कुटिलता रहन्छ, तबसम्म तपाईँ प्रकट हुनुहुन्न । तपाईँ मेरा समीपमा आउनुहोस्, वेदहरूलाई मेरा सामने ल्याउने गर्नुहोस् । त्यसो भएमा यथार्थज्ञान मेरा हृदयमा प्रकट हुन्छ । म गुरुमुखद्वारा जे श्रवण गर्छु, त्यसलाई अविकल रूपले हृदयमा धारण गर्न सकूँ । कहिल्यै नविर्सौ…..आदि । पौराणिक आख्यानहरूले ब्रह्माजीका मुखबाट सरस्वतीजीको सृष्टि भएको बताउँछन् । शुक्ल वर्णकी देवी सरस्वती विद्याप्रदात्री हुनुहुन्छ ।
महालक्ष्मी –
परब्रह्म भगवान् नारायणकी नित्यानपायिनी (कहिल्यै अलग नहुने) शक्ति हुनुहुन्छ महालक्ष्मी । शास्त्रमा विष्णुका विविध शक्तिहरूको चर्चा भएको छ । श्रीविष्णुपुराणमा यसको सुन्दर निरूपण भएको छ –
एकदेशास्थितस्याग्नेर्ज्योत्स्ना विस्तारिणी यथा ।
परस्य ब्रह्मणश्शक्तिस्तस्येदमखिलं जगत् ।। (वि.पु. १। २२। ५६)
जसरी एक स्थानमा रहेको अग्निको प्रकाश सर्वत्र प्रसरित हुन्छ, त्यसरी नै परब्रह्म नारायणको शक्ति पनि प्रकाशित हुन्छ । भगवान् विष्णुका अनेक शक्तिहरू मध्ये अहंता नामक शक्ति पनि एक हो । त्यो शक्ति महालक्ष्मी हुनुहुन्छ । जस्तै –
तस्य या परमा शक्तिर्ज्योत्स्नेव हिमदीधितेः ।
सर्वावस्थां गता देवी स्वात्मभूतानपायिनी ।। (लक्ष्मी तन्त्र २ । ११,१२)
यस प्रकरणमा महालक्ष्मी इन्द्रलाई भन्नुहुन्छ — हे इन्द्र ! चन्द्रमा र किरण जस्तै भगवान् नारायणका सबै अवस्थामा साथै रहेर सेवा गर्ने अहंता नाम गरिएको परमा शक्ति छिन्, ती सनातनी शक्ति मै हूँ ।
कारणहरूमा अपृथक्सिद्ध (अलग नहुने) रहने कार्योपयोगी धर्म नै शक्ति हो । त्यो शक्ति दुई प्रकारको हुन्छ – केवल धर्म शक्ति र धर्म–धर्मी उभयरूप शक्ति । अग्नि आदि भाव पदार्थहरूमा भएका ऊष्णता आदि शक्तिहरू केवल धर्ममात्र हुन् । क्षेत्रज्ञ (जीव) शक्ति धर्म र धर्मी दुबै हो । जीव ईश्वरका लागि विशेषण (शरीर) हुनाले धर्म भएर पनि स्वयं अनेक धर्मवाला हुन्छ, शक्तिमान् हुन्छ ।
उपर्युक्त दुई प्रकारका शक्तिहरूमध्ये महालक्ष्मी दोस्रो कोटिमा पर्नुहुन्छ । स्वयं परमात्माको शक्ति (धर्म) भएर पनि अनेक गुणवती एवं शक्तिमती हुनुहुन्छ । विष्णुशक्तिः परा प्रोक्ता यहाँ बताइएको विष्णुशक्ति नै महालक्ष्मी हुनुहुन्छ । अहंता नाम पनि उहाँकै हो । उहाँ नै नारायणी हुनुहुन्छ । यसको स्पष्टीकरण अहिर्बुध्न्यसंहितामा भएको छ । तेस्रो अध्यायको आरम्भमा तस्य शक्तिश्च का नाम ? अर्थात् उस परब्रह्मको शक्तिको नाम के हो ? नारदजीको यस प्रश्नको समाधानमा अहिर्बुध्न्य भन्नुहुन्छ –
शक्तस्यस्सर्वभावानामचिन्त्या अपृथक्स्थिताः ।
स्वरूपे नैव दृश्यन्ते दृश्यन्ते कार्यतस्तु ताः ।।२।।
सूक्ष्मावस्था हि सा तेषां सर्वभावानुगामिनी ।
इदन्तया विधातुं सा न निषेद्वुं च शक्यते ।।३।।
सर्वैरनुनुयोज्या हि शक्तयो भावगोचराः ।
एवं भगवतस्तस्य परस्य ब्रह्मणो मुने ।।४।।
सर्वभावानुगा शक्तिर्ज्योत्स्नेव हिमदीधितेः ।
भावाभावानुगा तस्य सर्वकार्यकरी विभोः ।।५।। (अहिर्बुध्न्यसंहिता, ३..)
अर्थात् समस्त भावपदार्थहरूका अपृथक्सिद्ध (अलग गर्न नसकिने) शक्तिहरू अचिन्त्य (चिन्तन गरेर साध्य नहुने ) छन् । पदार्थका कतिपय शक्तिहरू कार्यद्वारा मात्रै देखिन्छन् । भाव पदार्थको अतिशय सूक्ष्ममावस्था नै अचिन्त्य शक्ति हो । त्यसलाई यही हो त्यो शक्ति भनी देखाएर सिद्ध गर्न सकिँदैन । त्यस्तै त्यो शक्ति होइन पनि भन्न सकिन्न । ती शक्तिहरूलाई तर्कद्वारा यसै हो भनी बताउन सकिँदैन । त्यसरी नै परमात्माको शक्ति पनि चन्द्रमाबाट कहिल्यै अलग नहुने किरण जस्तै गरी सम्पूर्ण पदार्थहरूमा (दृश्यमान जगत्मा ) रहन्छ । दृश्य र अदृश्य अर्थात् भाव र अभाव पदार्थहरूमा रहने त्यस शक्तिले समस्त कार्यहरू गर्दछ ।
उक्त विषयलाई अझ विशेष रूपमा अगाडि बताउनु हुन्छ –
जगत्तया लक्ष्मणा सा लक्ष्मीरिति गीयते ।
श्रयन्ती वैष्णवं भावं सा श्रीरिति निगद्यते ।।९।।
अव्यक्तकालपुंभावात् सा पद्मा पद्ममालिनी ।
कामदानाच्च कमला पर्यायसुखयोगतः ।।१०।।
विष्णोस्सामर्थ्यरूपत्वाद्विष्णुशक्तिः प्रगीयते ।।११।।
यी श्लोकहरूमा उनै परब्रह्मको शक्तिलाई लक्ष्मी, श्री, पद्मा, पद्ममालिनी, कमला इत्यादि नामहरूले बताउँदै उनैलाई विष्णुशक्ति भनिएको छ । यसबाट सिद्ध हुन्छ कि श्रीविष्णुपुराणमा निरुपित परा विष्णुशक्ति महालक्ष्मी नै हुनुहुन्छ ।
परमात्मामा भएको दया निर्हेतुकी (कुनै कारण विना गरिने) हो । ईश्वरको दया कसमाथि कहिले हुन्छ– यो जान्न कठिन छ । यस्ता दयामय परमात्माका सन्निधिमा अनादि–अनन्त पापराशिमा डुबेको चेतन जानै सक्तैन, भगवती महालक्ष्मीको सिफारिसमा मात्र भगवत्सन्निधिमा पुग्दछ । सर्वतन्त्रस्वतन्त्र, सर्वकर्मफलप्रद परमात्मासँग दयाको भिक्षा माग्ने जीवलाई यदि प्रभुले नियमानुसार कर्मफल भोगाउने (दण्ड दिनु हुने) हो भने स्वभावैले अपराधी चेतन भगवत्सन्निधिमा कसरी जान सक्थ्योर ? हो, यस्तै अवस्थामा जगन्माता कारुण्यमूर्ति श्रीमहालक्ष्मी विविध उपायहरूद्वारा परमात्माको दयालाई जागृत गराएर जीवात्माको रक्षा गराउनुहुन्छ । यही नै लक्ष्मीजीमा भएको मातृत्व शक्ति हो । श्रीपराशर भट्टरले लक्ष्मीजीको कृत्यलाई यसरी उल्लेख गर्नुभएको छ –
पितेव त्वत्प्रेयाञ्जननि परिपूर्णागसि जने
हितस्रोतोवृत्त्या भवति च कदाचित् कलुषधीः ।
किमेतन्निर्दोषः क इह जगतीति त्वमुचितै-
रूपायैर्विस्मार्य स्वजनयसि माता तदासि नः ।। (श्रीगुणरत्नकोश- ५२)
हे माता ! हजुरका पनि भगवान् जब पूर्ण अपराधी जीवलाई देखेर वदमास सन्तान प्रति पिता क्रुद्ध भए झैं रिसाउनु हुन्छ, त्यसबेला हजुर यस जगत्मा निर्दोष को छ र ? यो मात्र पापी हो र ? इत्यादि भन्दै अनेक उपायहरू गरेर भगवान्को क्रोधलाई शान्त गरिदिनुहुन्छ र भगवान्को दयालाई जगाइदिनुहुन्छ । त्यसैले त हजुर हाम्री आमा हुनुहुन्छ ।
उपर्युक्त दिग्दर्शनबाट स्पष्ट हुन्छ कि महालक्ष्मी भगवान्की नित्यानपायिनी पराशक्ति हुनुहुन्छ, करुणाकी प्रतिमूर्ति हुनुहुन्छ । त्यस्ती महालक्ष्मीका विभिन्न स्वरूपहरू छन् । जस्तै– द्विभुजा, चतुर्भुजा, श्री–भू–नीला स्वरूपहरू, अवतार विशेषमा सीता, रुक्मिणी आदि । आगमशास्त्रले विभिन्न स्वरूपका प्रतिमाहरूमा लक्ष्मीजीको आराधना गर्ने विषयहरू बताएका छन् । विशेषतः ऐश्वर्य र मोक्ष दुबै फलका लागि लक्ष्मीजीको आराधना गरिन्छ ।
महाकाली –
पराम्बा जगदीश्वरीको तमोगुणप्रधान स्वरूप हो– महाकाली । यद्यपि शक्तिको मूल स्वरूपमा कुनै भेद छैन, तथापि अवतार र अर्चा स्वरूपमा भने त्रिगुणको तारतम्यले भेद पाइन्छ । श्रीमद्भागवतका अनुसार भगवान् नारायणका आज्ञाले योगमायाको अवतार भएको छ । विभिन्न नाम र स्वरूपहरूमा शक्तिको प्रादुर्भाव हुन्छ र अत्यधिक आराधना गरिन्छ –
नामधेयानि कुर्वन्ति स्थानानि च नरा भुवि । दुर्गेति भद्रकालीति विजया वैष्णवीति च ।।
कुमुदा चण्डिका कृष्णा माधवी कन्यकेति च । माया नारायणीशानी शारदेत्यम्बिकेति च ।। (श्रीमद्भागवत- १०/२/११-१२)
आद्यशक्ति योगमायाका अनेक नामहरू हुने छन्, विभिन्न पीठ र मन्दिरहरू बन्ने छन् । दुर्गा, भद्रकाली, विजया, वैष्णवी, कुमुदा, चण्डिका, कृष्णा, माधवी, कन्यका, माया, नारायणी, ईशानी, शारदा, अम्बिका आदि उहाँका मङ्गल नामहरू हुन् ।
वस्तुतः शास्त्रहरूमा रुद्रशक्तिलाई महाकाली शक्ति भनिएको पाइन्छ । समग्र सृष्टिको संहार रुद्रशक्ति अर्थात् महाकाली शक्तिबाट हुन्छ । भगवान् श्रीशङ्कराचार्यले यसरी उल्लेख गर्नुभएको छ–
“शिवः शक्त्या युक्तो यदि भवति शक्तः प्रभवितुम्”(सौन्दर्यलहरी-१), अर्थात् रुद्र स्वरूप भगवान् शिव ‘काली’ शक्तिद्वारा संहार गर्न समर्थ बन्नुहुन्छ । शक्ति विना शिवतत्त्व निष्क्रिय झैँ बन्दछ । रुद्रलाई कहीँ कहीँ महाकाल पनि भनिएको छ । महाकालको शक्ति भएको हुनाले महाकाली भनिएको हो । महाकालसँग महाकालीको सम्बन्ध आगो र आगोमा रहेको जलाउने शक्ति झैँ अपृथग्सिद्ध रहन्छ । यही शक्ति र शक्तिमान्को समष्टि आराधना नै पछि गएर अर्धनारीश्वरको आराधना र उपासनाका रूपमा प्रचारित भएको देखिन्छ । पूजा, आराधना एवं उपासनामा आकारविशेषको महत्व हुन्छ, अर्थ हुन्छ । तर अध्यात्मतत्त्वमा अद्वैत नै सिद्ध हुन्छ ।श्रीमद्देवीभावगतमा यस विषयको स्पष्ट उल्लेख पाइन्छ–
अत एव हि योगीन्द्रैः स्त्रीपुंभेदो न मन्यते ।
एवं ब्रह्ममयं ब्रह्म शश्वत् तदपि नारद ।। (९/१/११) ।
महाकाली शक्तिलाई बुझ्न शास्त्राभ्यास र साधनाको आवश्यकता रहन्छ । पौराणिक आख्यानहरूलाई सुन्दा काली भनेको डरलाग्दो स्त्रीदेवता, जसका दाँतहरू अत्यन्त तीक्ष्ण र डरलाग्दा अनि जिब्रो, आँखा र केश पनि भयङ्कर छन् भन्ने बुझिन्छ । यो त केवल बाह्य स्वरूपको चर्चा हो, आराधना गरिने अर्चा मूर्तिको वर्णन हो । तर, रुद्र देवको अचिन्त्य, अविनाशी शक्ति नै काली हो भन्ने चिन्तनमा सहजै पुग्न सकिन्न ।
पुराण तथा तन्त्र आदिमा सामान्यतया दक्षिणा, भद्र, गुह्य आदि कालीका आठ भेदहरू बताइएका छन् । दक्षिणकाली, भद्रकाली, गुह्यकाली यी प्रसिद्ध स्वरूप र नामहरू हुन् । दश महाविद्यामा पनि सर्वप्रथम कालीकै नाम आउँछ । तन्त्रशास्त्रले कालीलाई नै आद्या शक्ति महामाया बताउँछन् । काली देवी विश्वलाई उत्पन्न एवं विनाश गर्नुहुन्छ । जीवात्मालाई भुक्ति र मुक्ति प्रदान गर्नुहुन्छ । मार्कण्डेय पुराणका अनुसार आद्य शक्ति उत्पत्ति–विनाशरहित भएर पनि देवताहरूको कार्यसिद्धिका लागि कुनै एक रूपपिशेष लिएर धरामा अवतीर्ण हुनुहुन्छ । शुम्भ नामक दैत्यको वध गर्ने समयमा महाशक्तिका शरीरबाट एक शिवा प्रकट हुनुहुन्छ । त्यसबेला उहाँको वर्ण कालो हुन्छ । त्यसैले उहाँलाई काली भनिएको हो –
तस्यां विनिर्गतायां तु कृष्णाभूत् सापि पार्वति ।
कालिकेति समाख्याता हिमालयकृताश्रया ।।(दुर्गासप्तशती-५/८८)
काली शक्तिको आराधनाले व्यक्तिमा आत्मबल बढ्दछ, ऐश्वर्य प्राप्त हुन्छ, जीवनका अमङ्गल कल्मषहरूको नाश हुन्छ । माथि उल्लेख गरिएभन्दा अन्य सौम्य स्वरूपहरूमा पनि भगवती कालीको आराधना गर्न सकिन्छ । शास्त्रले चतुर्भुजा, अष्टभुजा, छिन्नमस्ता, सहस्रभुजा आदि अनेक स्वरूपहरूको वर्णन गरेका छन् । आ–आफ्नो भाव र अपेक्षअनुसार साधकले आराधना गर्न सक्दछन् ।
निष्कर्ष
सनातन वैदिक आराधना पद्धतिहरूमा विशेषतः दुई प्रकारका आराधनाहरूको चर्चा गरिएको छ– बहिर्याग र मानसयाग । आफ्ना इष्टको श्रीमूर्तिमा पञ्चोपचार, षोडशोपचार अथवा यथालब्धोपचारद्वारा पूजा गर्नु/गराउनु बहिर्याग हो । यो पूर्णतया क्रियात्मक हुन्छ । मनद्वारा समुचित सामग्रीहरूको परिकल्पना गरेर हृयकमलमा इष्टदेवलाई विराजमान गराई राजोपचारद्वारा सेवा गर्नु मानसयाग हो । यसैलाई अन्तर्याग पनि भनिन्छ । यन्त्र, मन्त्र, कला, लक्षण, विधि र श्रृङ्गारद्वारा मूर्तिमा देवताको शक्ति प्रादुर्भाव हुन्छ । अतः मूर्तिहरू निर्माण एवं प्राणप्रतिष्ठा गर्दा उपर्युक्त सबै कुरामा ध्यान पुर्याउनु पर्छ ।
शक्ति वस्तुको अपृथग्सिद्ध गुण हो । जगत्को सृष्टि, स्थिति र संहारका लागि ब्रह्मनिष्ठ शक्तिको अहम् भूमिका रहेको हुन्छ । शक्तिहीन व्यक्ति कुनै पनि कार्यमा असमर्थ हुन्छ । जगन्निर्मातामा रहेको अनन्त शक्ति विभिन्न रूपमा देखा पर्छ । आद्या शक्ति एउटै मात्र छ, त्यही नै चैतन्य शक्ति, ब्रह्मशक्ति अनि परम सत्ता हो । ब्रह्मको शक्ति प्राकृतिक सत्त्वादि गुणहरूले ढाकिएर रहेको हुन्छ, ब्रह्म स्वयं शक्तिमान् र शक्ति हो भन्ने कुरा वेदान्तादि शास्त्रहरूले प्रतिपादन गरेका छन् । साधकका भावअनुसार त्यही शक्ति विभिन्न स्वरूप र आकारमा प्रकट हुन्छ । सनातन वैदिक परम्परामा शक्तिलाई माया, अविद्या, प्रकृति, जगदीश्वरी आदि नामहरूले पुकारिएको छ । त्यस्तै ईश्वरका विभिन्न अवतारहरूसँग जोडिँदा राधा, सीता आदि नाम पनि शक्तिकै रूपमा रहेका छन् । उपासना, आराधनाका क्रममा सत्त्वादि गुणका आधारमा महासरस्वती, महालक्ष्मी र महाकाली, यी तीन नाम र स्वरूपलाई विशेष रूपमा स्वीकार गरिन्छ । शक्तिको आराधना आगमशास्त्रको विधिअनुसार चल्दै आएको छ । वर्तमानमा शक्ति या भगवतीका नाममा शास्त्रमा कहीँ कतै नसुनिएका देवीहरूको आकार–प्रकारको कल्पना, प्रचार र मूर्ति निर्माण गरी पूजा गर्ने होडबाजी चल्न थालेको छ । यसले परिशुद्ध वैदिक शक्ति उपासनालाई कमजोर बनाउँदै जानु अतिशय चिन्ताको विषय हो । प्रामाणिक प्रतिमाहरूको निर्माण एवं आराधनाले मात्र साधकको आत्मोन्नति तथा अभीष्टसिद्धि हुन्छ ।
यसरी अनादि कालबाट नै उपासना तथा आराधना हुँदै आएको शक्ति र शक्तिमान्को वेदान्तादि शास्त्रहरूमा वर्णित स्वरूप, आराधनाको विधि, महत्त्व आदिको चर्चा गर्दै ब्रह्माण्ड शक्ति र शक्तिमान्द्वारा परिपूर्ण भई यसैबाट सञ्चालित छ, एवं विधिपूर्वक गरिएको शक्तिको उपासनाले धर्म, अर्थ, काम र मोक्ष, चारै पुरुषार्थको प्राप्ति हुन्छ भन्ने कुराको निष्कर्ष प्रस्तुत लेखमा निकालिएको छ ।
कृतज्ञता ज्ञापन
यस लेखको निर्माणमा सहयोगी ग्रन्थहरूका निर्माता/लेखकहरू प्रति हार्दिक आभार व्यक्त गर्दछु । साथै लेखलाई परिष्कृत बनाउनका लागि विषयवस्तु, प्रविधि आदि पक्षमा सुझाव दिएर सहयोग गर्नुहुने विज्ञ महानुभावहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
सन्दर्भ ग्रन्थसूची
अमरसिंह (२००३), अमरकोश, टीका. श्रीभानुजीदीक्षित, राष्ट्रिय संस्कृत संस्थान ।
आचार्य, श्रीनिवास ( ई. सं. २०१५), यतीन्द्रमतदीपिका, हिन्दी अनु. शिव प्रसाद द्विवेदी, चौखम्बा सुरभारती प्रकाशन ।
उपाध्याय, बलदेव (ई.सं. २००१), भारतीय दर्शन, पुनर्मुद्रित सं., शारदा मन्दिर ।
गोयन्दका, जयदयाल (वि.सं. २०६०), तत्वचिन्तामणि, आठौं संस्करण, गीताप्रेस ।
गोयन्दका, श्रीकृष्ण दास (वि.सं. २०६०), श्रीमद्भगवद्गीता, अठौँ संस्करण, गीताप्रेस ।
गोविन्दाचार्य (सन् २०१५), श्रीनिवासस्तोत्रमाला, सम्पा., श्रीनिवाससंस्कृतविद्यापीठम् ।
जयाख्या संहिता (ई.सं २०११), सम्पा. श्रीसुदर्शनाचार्य, श्रीवेंकटेश्वर वेद विश्वविद्यालयः ।
पिल्लैलोकाचार्य (ई.सं. २००८), श्रीवचनभूषणम्, श्रीवैकुण्ठाचार्य ट्रष्ट ।
महर्षि पराशर (वि. सं. २०७७), श्रीविष्णुपुराण, साठीऔं मुद्रण, हिन्दी अनु. श्रीमुनिलाल गुप्त, गीताप्रेस ।
माधवाचार्य, (ई.सं २०१०), सर्वदर्शनसङ्ग्रह , अनु. उमाशङ्कर शर्मा, चौखम्बा विद्याभवन ।
रामानुजाचार्यः (ई.सं. १९९५), वेदार्थसङ्ग्रहः, संस्कृत संशोधन संसत् ।
वेदान्तदेशिकः (ई.सं. २००४), तत्वमुक्ताकलापः, व्याख्याता के. एस. वरदाचार्यः, आर्षग्रन्थप्रकाशनम् ।
श्रीकृष्ण द्वैपायन, (वि.सं. २०५८), श्रीमद्भागवत महापुराण (मूलमात्रम्), गीताप्रेस ।
श्रीपिल्लैलोकाचार्य (वि.सं.२०७१), तत्वत्रयम्, हि. अनु. त्रिभुवनदास, चौखम्बा संस्कृत प्रतिष्ठान ।
सरस्वती, अखण्डानन्द ( सं. २०३८) भागवत दर्शन, (पहिलो र दोस्रो भाग ), सत्साहित्य प्रकाशन ट्रष्ट ।
…… (सं २०७४), ईशादि नौ उपनिषद्, शाङ्करभाष्य, गीताप्रेस ।
…… (सन् २००३), ईशाद्यष्टोत्तरोपनिषदः, श्रीवासुदेवशर्मा, संपा. राष्ट्रियसंस्कृतसंथानम् ।
….(सं. २०६३), दुर्गासप्तशती, बाबू माधवप्रसाद शर्मा ।
…… (ई.सं. २०११), लक्ष्मीतन्त्रम्, आचार्य सन्निधान सुदर्शना सर्मासहित, श्रीवेंकटेश्वर वेद विश्वविद्यालय