यस लेखमा संस्कृत साहित्यका प्रसिद्ध नाटककार भासद्वारा लेखिएको स्वप्नवासवदत्तम् नाटकको काव्यशास्त्रीय दृष्टिमा विवेचन गरिएको छ। काव्यमा हुनुपर्ने अत्यावश्यकीय कथावस्तु, चरित्रचित्रण, द्वन्द्व, अलङ्कार, रस आदि महत्त्वपूर्ण तत्त्वहरूका आधारमा प्रस्तुत नाटकको समीक्षा यस लेखमा प्रस्तुत गरिएको छ।
महानन्द तिमिल्सिना , विद्यावारिधि
उप-प्राध्यापक, साहित्य, ने.सं.वि, पिण्डेश्वर विद्यापीठ, धरान
timsinamahananda@gmail.com
लेखसार
यस लेखमा संस्कृत साहित्यका प्रसिद्ध नाटककार भासद्वारा लेखिएको स्वप्नवासवदत्तम् नाटकको काव्यशास्त्रीय दृष्टिमा विवेचन गरिएको छ। काव्यमा हुनुपर्ने अत्यावश्यकीय कथावस्तु, चरित्रचित्रण, द्वन्द्व, अलङ्कार, रस आदि महत्त्वपूर्ण तत्त्वहरूका आधारमा प्रस्तुत नाटकको समीक्षा यस लेखमा प्रस्तुत गरिएको छ। संस्कृत नाटकको विश्वसाहित्यमा नै विशेष चर्चा हुनेगरेको छ। संस्कृत नाटकको विकास परम्परामा अश्वघोष, कालिदास, विशाखदत्त, भवभूति, भास आदिको विशेष योगदान रहेको छ। संस्कृत नाटकको विकासमा लोकजीवन, लोकपरम्परा, विभिन्न उत्सवहरू एवम् वैदिक यज्ञअनुष्ठानहरूको प्रमुख भूमिका रहेको पाइन्छ। वैदिक साहित्यपछि बौद्ध एवम् जैन साहित्य र यसपछिका रामायण, महाभारतसमेत नाट्यसाहित्यको विकासमा उल्लेख्य छन्। यसै परम्परामा नाट्यजगत्मा उदाएका भासले स्वप्नवासवदत्तम् नाटक लेखेको पाइन्छ। प्रस्तुत लेख यसै नाटकमा केन्द्रित रहेको छ। यस नाटकमा केकस्तो कथावस्तु एवम् चरित्र रहेका छन् र काव्यसौन्दर्य कस्तो रहेको छ भन्ने विषयलाई मुख्य समस्याका रूपमा लिई ती समस्याहरूको प्राज्ञिक समाधान खोज्ने प्रयास लेखमा गरिएको छ। संस्कृत नाटककार भाससँग सम्बन्धित ग्रन्थहरू एवम् अनुसन्धानमूलक लेखहरूलाई सामग्रीका रूपमा लिई लेख तयार गरिएको छ। वर्णनात्मक विधिद्वारा सामग्रीको विश्लेषण गरिएको यस लेखमा स्वप्नवासवदत्तम् नाटकमा नाट्यतत्त्व एवम् प्रकृतिचित्रण, अलङ्कार, रस आदि सौन्दर्य तत्त्वहरूको कुशल विन्यास रहेको निष्कर्ष निकालिएको छ।
शब्दकुञ्जी : रस, अलङ्कार, द्वन्द्व, सूक्ति, प्रकृति।
१. विषयपरिचय
स्वप्नवासवदत्तम् महाकवि भासको प्रसिद्ध संस्कृत नाटक हो। यस नाटकमा ६ अङ्क रहेका छन्। भासका नाटकहरूमध्ये यो उत्कृष्ट नाटक हो। वस्तु, नायक एवम् रस तिनै दृष्टिले यो उत्तम कोटिको नाटक मानिन्छ। यस नाटकमा मानव हृदयको सूक्ष्मातिसूक्ष्म भावदशाको चित्रण गरिएको छ। ई.पू. पाँचौदेखि चौथो शताब्दीको सेरोफेरोमा जन्मिएको मानिएका भास संस्कृत साहित्यका आदिनाटककार हुन्। उनले आफ्ना नाटकमा राजा उदयनको कथा उल्लेख गरेकाले उनी भारतको उज्जयिनी निवासी थिए भन्ने विद्वान्हरूको विचार छ। उनी भगवान् विष्णुका उपासक रहेको बुझिन्छ। नाटककार भासका विषयमा पहिलेदेखिनै चर्चा भए पनि यिनलाई साहित्य जगत्मा प्रतिष्ठित गराउने श्रेय महामहोपाध्याय पं. गणपति शास्त्रीलाई छ। उनले सन् १९१२ मा अनन्तशयन ग्रन्थमाला (त्रिवेन्द्रम्) द्वारा भासका १३ नाटहरूको प्रामाणिक ढङ्गले प्रकाशन गराए। महाकवि कालिदासले भासलाई आदरपूर्वक कविकुलगुरुका रूपमा उल्लेख गरेको पाइन्छ। भासका नाटकहरूअन्तर्गत स्वप्नवासवदत्तम्, प्रतिज्ञायौगन्धरायण, ऊरुभङ्ग, दूतवाक्य, पञ्चरात्र, दूतघटोत्कच, कर्णभार, मध्यम, व्यायोग, प्रतिमा, अभिषेक, अविमारक, चारुदत्त र बालचरित रहेका छन्। भासका नाटकहरू रामायण, महाभारत, लोककथा एवम् कल्पनालाई विषयवस्तु बनाएर लेखिएका देखिन्छन्। यिनका नाटकको प्रारम्भ ‘नान्द्यन्ते ततः प्रविशति सूत्रधारः’ बाट भएको छ। पाँचवटा नाटकको प्रथम श्लोकमा यिनले मुद्रालङ्कारको प्रयोग गरेका छन्। यिनका नाटकमा पाणिनीय व्याकरणसम्मत विशुद्ध संस्कृत भाषाको अभाव पाइन्छ साथै भरतप्रतिपादित नाट्यशास्त्रीय विधि निषेधको उल्लङ्घन गरेको देखिन्छ। यिनले भरतवाक्यमा ‘राजसिंह’ को नाम उल्लेख गरेको पाइन्छ। भासका नाटकले प्रभावोत्पादक र कौतूहलपूर्ण घटनाको संयोजन गरेका छन् भने निश्चित लक्ष्य प्राप्तिका लागि पात्र बीच अन्तर्द्वन्द्व र घातप्रतिघातको अवस्था सृजना गरेका छन्। प्रसाद र माधुर्य गुणको प्रयोग रुचाउने भासका नाटकमा युगधर्म, सांस्कृतिक, सामाजिक एवम् राजनैतिक गतिविधिको चित्रण पाइन्छ। लोकोक्तिको प्रयोग गर्न खप्पिस यिनले अद्वितीय कल्पनाशक्तिद्वारा प्रकृतिचित्रणका साथ मानवीय मनोभाव र मानसिक अवस्थाको सुन्दर चित्रण गर्दै नाटकलाई रोचक बनाएका छन् (भास : स्वप्नवासवदत्तम्, १९४८)।
२. समस्या कथन
यस अध्ययनमा निम्नलिखित समस्याहरूको समाधान खोज्ने प्रयत्न गरिएको छ –
क. नाटककार भासको स्वप्नवासवदत्तम् नाटकमा कथानक र चरित्रहरूको स्थिति कस्तो रहेको छ ?
ख. स्वप्नवासवदत्तम् नाटकमा सौन्दर्य पक्षको प्रयोग केकस्तो रहेको छ ?
३. उद्देश्य
संस्कृत साहित्यका विशिष्ट नाटककार भासद्वारा लेखिएको स्वप्नवासवदत्तम् नाटकसम्बद्ध यस अध्ययनका मुख्य उद्देश्य निम्न लिखित रहेका छन् –
क. नाटककार भासको स्वप्नवासवदत्तम् नाटकमा कथानक र चरित्रहरूको स्थितिको विश्लेषण गर्नु,
ख. स्वप्नवासवदत्तम् नाटकमा सौन्दर्य पक्षको प्रयोग विषयमा विवेचन गर्नु,
४. सीमाङ्कन
प्रस्तुत लेखमा नाटककार भासको स्वप्नवासवदत्तम् नाटकको कथावस्तु, चरित्रचित्रण, संवाद, द्वन्द्व, प्रकृतिचित्रण, अलङ्कार प्रयोग, रसप्रयोग, सूक्तिसौन्दर्यजस्ता विषयमा विवेचन गरिएको छ। यसका अतिरिक्त अन्य तत्त्वहरूलाई यहाँ समावेश गरिएको छैन। निश्चित विषयहरूलाई मात्र समावेश गर्नु यस लेखको सीमा रहेको छ।
५. शोधविधि
यस अध्ययनमा पुस्तकालयीय स्रोतबाट सामग्रीहरू जुटाइएको छ। अनुसन्धानका क्षेत्रमा उच्च दक्षता प्राप्त गरेका विशिष्ट विद्वान्हरूका ग्रन्थबाट तथ्याङ्क विश्लेषणका लागि सामग्री सङ्कलन गरिएको छ। स्वप्नवासवदत्तम् नाटकको विश्लेषणका लागि आवश्यक पुस्तकहरू पुस्तकालयीय स्रोतबाट संयोजन गरिएको छ। काव्यशास्त्रमा स्थापित सिद्धान्तका आधारमा विषयको व्याख्या विश्लेषण भएको हुनाले लेखको प्रस्तुतीकरणमा वर्णनात्मक विधिको उपयोग गरिएको छ। यस लेखमा आकारगत सीमाका कारण विषयको विस्तारित व्याख्या नगरी सङ्क्षेप विधिबाट विवेचन गरिएको छ।
६. पूर्वकार्य समीक्षा
स्वप्नवासवदत्तम् नाटकका विषयमा सामान्य अध्ययनअनुसन्धान भएको देखिन्छ। यसअघि भएका अनुसन्धानहरूलाई क्रमिक रूपमा यहाँ प्रस्तुत गरिन्छ –
क. जयकृष्णदास हरिदास गुप्तले ‘स्वप्नवासवदत्तम्’ (ई.१९४५) को भूमिका खण्डमा यस नाटकका विषयमा समीक्षा गरेका छन्। उनका अनुसार यस छन्दोमय नाटकको उपाख्यान बृहत् कथामञ्जरी र कथासरित्सागरमा पनि पाइन्छ। प्रस्तुत नाटक उनको प्रतिज्ञायौगन्धरायणको उत्तरार्द्धझैँ प्रतीत हुन्छ। (गुप्ता, ई..१९४५, पृ.१४)
ख. आचार्य बलदेव उपाध्यायले ‘संस्कृत साहित्य का इतिहास’ (ई.१९९२) पुस्तकको ‘नाटक का अभ्युदय’ शीर्षकमा स्वप्नवासवदत्तम् उपशीर्षक राखी यस नाटकका विषयमा विवेचन गरेका छन्। उनका अनुसार प्रस्तुत नाटक भासको नाट्यकुशलताको चूडान्त निदर्शन हो। भासको भाषामा विचित्रता छ। वाक्य छोटा छन् तर भाव भरिएका छन्। उनका रचना स्वाभाविक पदविन्यासका कारण प्रसिद्ध छन्। उनी मानव हृदयको विकारको चित्रणमा पारखी छन्। बाह्य प्रकृतिको चित्रणमा उनी कुशल छन्। उपमा तथा स्वभावोक्ति अलङ्कार प्रयोगमा उनी विशेष रुचि राख्छन्।
(उपाध्याय, ई.१९९२, पृ.४९२)।
ग. डा.राजवंश सहायले ‘संस्कृत साहित्य–कोश’ (ई.२००२) नामक कोशको ‘स्वप्नवासवदत्त’ शीर्षकमा यस नाटकका विषयमा विश्लेषण गरेका छन्। उनका अनुसार यस नाटकमा भासको काव्यकलाको चरम परिणति देखिन्छ। नाटकीय संविधान, चरित्राङ्कन, संवाद, प्रकृतिचित्रण तथा रसोन्मेष सबै तत्त्वको यस नाटकमा पूर्ण परिपाक देखिन्छ। धीरललित नायक उदयनको कलाप्रियताले दर्शकलाई आकर्षित गरेको छ साथै कूटनीतिज्ञ यौगन्धरायणको कौशलले सबैलाई चकित बनाएको छ। नाटकमा प्रधान रस शृङ्गार रहेको छ र अङ्ग रसका रूपमा हास्य एवम् वीर रस रहेका छन्। (राजवंश, ई.२००२, पृ.६७३)।
घ. आचार्यरामचन्द्र मिश्रले ‘संस्कृतसाहित्येतिहासः’ (ई.२०१०) पुस्तकको ‘भासः’ शीर्षकमा स्वप्नवासवदत्तम् नाटकका बारेमा उल्लेख गरेका छन्। समीक्षक मिश्रका अनुसार भासका रूपकमा अभिनय योग्यता प्रचुर मात्रामा पाइन्छ। उनका नाटकमा सुबोध र सुबोध भाषाशैलीको प्रयोग पाइन्छ। (मिश्रः, ई.२०१०, पृ.१२५)।
ङ. डा.रमेशचन्द्रशुक्लले ‘प्रबन्धरत्नाकरः’ (वि.सं.२०२३) पुस्तकमा ‘भासो हासः’ शीर्षकमा नाटककार भासको नाट्यवैशिष्ट्यको विवेचन गरेका छन्। उनका अनुसार भासका नाटकका कथावस्तु विविध क्षेत्रबाट संयोजन गरिएका छन्। नाटकबाट उनको मौलिकता र प्रतिभाको परिचय पाइन्छ। उनको नाट्यकौशल प्रशंसनीय रहेको छ भन्दै समीक्षक शुक्लले स्वप्नवासवदत्तको प्रशंसामा कवि राजशेखरले बताएको कुरा उल्लेख गरेका छन् –
भासनाटकचक्रेऽपिच्छेकैः क्षिप्ते परीक्षितुम्।
स्वप्नवासवदत्तस्य दाहकोऽभून्न पावकः।। इति। (शुक्लः, ई.२०२३, पृ.२४३)।
च. कृष्णप्रसाद आचार्य र अन्यले ‘नेपाली साहित्यको इतिहास तथा संस्कृत र पाश्चात्य साहित्यको रूपरेखा’ (वि.सं.२०६१) पुस्तकमा नाटककार भासका विषयमा समीक्षा प्रस्तुत गरेका छन्। समीक्षकका अनुसार भासले विषयवस्तुका विविध स्रोतको उपयोगका साथै आफ्नो कल्पना र मौलिकताको समेत उपयोग गरेर वस्तुयोजनामा गतिमयता ल्याएका छन्। उनका नाटक मञ्चनयोग्य छन्। घटना र चरित्रचित्रणमा बढी सतर्कता, विषयवस्तु र चरित्रचित्रणमा मौलिक कल्पना, प्राचीन परम्परागत अतिरञ्जनात्मक प्रकृति, नृत्यगीतको संयोजनजस्ता कुराहरू उनको वस्तुसंयोजनका विशेषता हुन्। (आचार्य, वि.सं.२०६१, पृ.१२९)।
७. काव्यशास्त्रीय दृष्टिमा ‘स्वप्नवासवदत्तम्’ नाटकको विश्लेषण
नाटककार भासको ‘स्वप्नवासवदत्तम्’ छ अङ्कमा संरचित एक उत्कृष्ट नाटक हो। राजा उदयन र वासवदत्ताको कथामा आधारित यस नाटकको स्रोत मौलिक कल्पनाका साथ कवि गुणाढ्यको ‘बृहत्कथा’लाई मानेको पाइन्छ। भासका नाटकहरूको सामालोचकद्वारा अग्निपरीक्षा गर्दा पनि ‘स्वप्नवासवदत्तम्’ भासकृति नै सिद्ध भएको एवम् यस नाटकको यशलाई आगोले निभाउन नसकेको कुरा राजशेखरले बताएको देखिन्छ। भासको प्रस्तुत नाटककलाई काव्यशास्त्रीय आधारमा निम्नानुसार विश्लेषण गरिन्छ –
७.१ कथावस्तु
राजा उदयनले उज्जयिनीबाट प्रद्योतकुमारी वासवदत्तालाई हरण गरेर आफ्नो राज्यमा ल्याएपछि राजा उनमै आशक्त भएर राजकार्यमा विमुख हुन थाल्छन्। यही मौकामा आफ्नो वत्स राज्यको धेरै भाग शत्रु आरुणिले हरण गर्छन्। गुमेको भूभाग फर्काउन मन्त्री यौगन्धरायणले मगधराजपुत्री पद्मावतीका साथ उदयनको विवाह गराउने विचार गर्छन्। राजा सिकार खेल्न गएको मौकामा यौगन्धरायणले रानी वासवदत्तालाई मनाएर आफ्नो र वासवदत्ताको गाउँमा लागेको आगोमा जलेर मरेको हल्ला फैलाउँछन्। त्यसपछि उनले ब्राह्मणभेष धारण गरी वासवदत्तालाई आफ्नो बहिनी आवन्तिका बनाएर राजकुमारी पद्मावतीका साथ नासोका रूपमा राख्न भन्छन्। त्यसपछि यौगन्धरायणको चतुरताबाट पद्मावतीका साथ उदयनको विवाह हुन्छ। विवाहपछि पनि राजाले पूर्व पत्नी वासवदत्तालाई बिर्सन सक्दैनन्। पतिबाट उचित प्रेम नपाउनाले पद्मावतीको टाउको दुख्न थाल्छ। स्वस्थता र आरामका लागि उनी ‘समुद्रगृह’ भन्ने ठाउँमा गएर बस्छिन्। उनको स्वस्थताको खबर पाएर राजा त्यहाँ जान्छन् तर उनलाई त्यहाँ देख्दैनन् र राजा उनकै ओछ्यानमा सुत्छन्। पद्मावती विरामी भएको खबर सुनेर वासवदत्ता पनि त्यहाँ पुग्छिन् र सुतेका राजालाई पद्मावती सम्झिएर ओछ्यानको एक भागमा बस्छिन्। राजा सपनामा वासवदत्ताको नाम लिन्छन् अनि मात्र राजा पो रहेछन् भन्ने थाहा हुन्छ। वासवदत्ताले राजाको झुन्डिएको हात ओछ्यानमा राख्छिन्। वासवदत्ताको स्पर्शबाट राजाले उनलाई चिन्छन्। छोटो कुराकानी पनि हुन्छ। राजाले वासवदत्तालाई त्यही राख्न खोज्छन्, वासवदत्ता हात छुटाएर भाग्छिन्। यसैबीचमा उदयनका अर्का मन्त्री रुमण्वान्ले आरुणिलाई परास्त गरी राज्यको गुमेको भूभाग फिर्ता गर्छन्। त्यसपछि वासवदत्ताकी धाईआमा वसुन्धरा र कञ्चुकी बाबु प्रद्योतको सन्देश एवम् वासवदत्ता र उदयनको विवाहको चित्र ल्याउँछन्। वासवदत्ताको चित्र देखेर पद्मावतीले राजालाई यस्तै राम्री स्त्री मेरा साथ छ भन्छिन् र राजाले अनुरोध गरेपछि आवन्तिकालाई बोलाइन्छ। यसै समय यौगन्धरायण ब्राहमणको छद्म भेष धारण गरी बहिनी लिएर आउँछन् र राजालाई सबै वृत्तान्त बताउँछन् अनि सम्पूर्ण रहस्य खुल्छ। मङ्गलमय परिणामद्वारा सबै प्रसन्न हुन्छन्। राजा सपरिवार ससुरा प्रद्योत भेट्न उज्जयिनी जान तत्पर हुन्छन्। यसरी नाटकको कथावस्तु सकिन्छ।
पूर्वीय आचार्यहरूले बताएका नाटकका पाँच कार्यावस्थाको यहाँ समुचित प्रयोग भएको देखिन्छ। राज्यको गुमेको भूभाग फिर्ता गर्न र राजालाई राजकाजमा उन्मुख गराउन यौगन्धरायणमा रहेको उत्कण्ठालाई ‘आरम्भ’ मान्न सकिन्छ। यौगन्धरायणले आफू र वासवदत्ता आगोमा जलेर मरेको हल्ला फैलाउनु र त्यसपछि उदयनको विवाह पद्मावतीसँग हुनुजस्ता घटना ‘यत्न’का रूपमा रहेका छन्। यस्तै उदयनले वासवदत्तालाई नै सम्झिरहनु, पद्मावतीको टाउको दुख्न लाग्नु, शत्रु आरुणिसँग युद्ध गर्न तयार हुनु आदि घटना ‘प्राप्त्याशा’ अन्तर्गत पर्दछन् भने रुमण्वान्ले आरुणिलाई परास्त गरी गुमेको राज्य फिर्ता गर्नु ‘नियताप्ति’ हो र जीवित रहेकी वासवदत्तासँग राजाको भेट एवम् राज्योदयको अवस्था ‘फलागम’ हो। यसैगरी नाटकमा बीज, बिन्दु, पताका, प्रकरी र कार्य पाँच अर्थ प्रकृतिमध्ये कार्यको फितलो प्रयोग र अन्यको समुचित प्रयोग छ। यस्तै मुख, प्रतिमुख, गर्भ, विमर्श र निर्वहण पञ्चसन्धिमध्ये निर्वहण बाहेक अन्यको उचित प्रयोग देखिन्छ।
७.२ चरित्रचित्रण
‘स्वप्नवासवदत्तम्’ नाटकमा उदयन, वासवदत्ता, पद्मावती र यौगन्धरायण प्रमुख पात्रका रूपमा रहेका छन्। अन्य सहायक पात्रहरूमा रुमण्वान्, विदूषक, ब्रह्मचारी, काञ्चुकीय, तापसी, धात्री, वसुन्धरा आदि देखिएका छन्। नाटकमा उदयन धीरललित नायक हुन्, वासवदत्ता स्वकीया र मध्या नायिका हुन् भने पद्मावती स्वकीया र मुग्धा नायिका हुन् र वत्स देशका राजा उदयन आदर्शप्रेमी पात्र हुन्। वासवदत्तालाई विवाह गरेर ल्याइसकेपछि उनी प्रेमासक्त र कामासक्त भएर राजकाजलाई नै वास्ता गर्न छाड्छन्, फलतः यही मौका छोपी शत्रु आरुणिले राज्यको केही भूभाग आफ्नो अधीनमा लिन्छ। पद्मावतीलाई विवाह गरेर भित्र्याए पनि उदयन मृत्यु भइसकेकी भनिएकी वासवदत्ताप्रति नै आकर्षित भई भावुक देखिन्छन्। यस विषयलाई निम्न श्लोकले पुष्टि गर्दछ :
महासेनस्य दुहिता शिष्या देवी च मे प्रिया।
कथं सा न मया शक्या स्मर्तुं देहान्तरेष्वपि।। (स्वप्न.६ : ११)
(महासेनकी पुत्री र मेरी प्रिय शिष्या वासवदत्तालाई म अर्को जन्ममा पनि कसरी भुल्न सक्छु र ?) उदयन वासवदत्ताका लागि असल प्रेमी हुन् तर पद्मावतीलाई उनले मनमुटु दिन सकेका छैनन्। राजामा कुशल प्रशासकीय गुण भने देखिँदैन। वासवदत्ता उज्जयिनीका राजा प्रद्योतकी छोरी र उदयनकी प्रथम पत्नी हुन्। उनी पतिलाई रिझाउन अत्यन्त कुशल देखिएकी छिन्। उनी देशको हितका लागि जस्तोसुकै कष्टपूर्ण जीवन पनि बिताउन सक्ने साहसी र देशभक्त नारी हुन्। पद्मावती मगधराज दर्शककी बहिनी र उदयनकी द्वितीय पत्नी हुन्। पति उदयनबाट यथेष्ट मायाप्रेम नपाएकी उनी पीडित र व्याकुल पात्र हुन्। पतिप्रेमको अभावमा चिन्ताले उनलाई निकै टाउको दुखाएको छ। उनमा सौन्दर्य, उत्तमचरित्र र धीरता रहेको छ। उनी उदार हृदयकी पात्र हुन् भन्ने कुरा काञ्चुकीय यसरी प्रस्तुत गर्दछ –
तीर्थोदकानि समिधः कुसुमानि दर्भान् स्वैरं वनादुपनयन्तु तपोधनानि।
धर्मप्रिया नृपसुता न हि धर्मपीडामिन्छेत् तपस्विषु कुलव्रतमेतदस्याः।। (स्वप्न. १ : ६)
(हे तपस्वीहरू, तीर्थजल, समिधा, फूल, कुश सबै तपस्याका लागि वस्तुहरू तपोवनबाट प्राप्त गर्नु किनकि धर्मप्रेमी राजकुमारी तपस्वीधर्ममा बाधा पुर्याउँदिनन्, यो उनको वंशपरम्पराको आचरण हो।) यौगन्धरायण उदयनका मुख्य मन्त्री हुन्। नाटकमा यिनको निकै प्रमुख भूमिका रहेको छ। यी देशको अखण्डता चाहने देशभक्त, चतुर र भविष्यविद् पात्र हुन्। बिग्रन लागेको देशको अवस्था सुधार्न उनी सफल भएका छन्। नाटकमा राजाका अर्का मन्त्री रुमण्वान् पात्रले नेपथ्यमा रहेर पनि उल्लेख्य भूमिका निर्वाह गरेका छन्। राज्यको गुमेको भूभाग फिर्ता गराउन यिनको प्रमुख योगदान छ। उनी राजाको सुखमा खुसी र दुःखमा दुःखी देखिएका छन्। त्यस्तै उनमा राजासमेत आश्रित रहेको कुरा यौगन्धरायण यसरी बताउँछन् –
सविश्रमो ह्ययं भारः प्रसक्तस्तस्य तु श्रमः।
तस्मिन् सर्वमधीनं हि यत्राधीनो नराधिपः।। (स्वप्न, १:१५)
(मेरो भार विश्रान्त भयो, रुमण्वान्को परिश्रम चलिरहेको छ, किनकि उनमा सबै आश्रित छन्, जसमा राजा आश्रित छन्।) नाटकमा प्रयोग गरिएका अन्य पात्रहरूले पनि नाटकको उद्देश्यपूर्तिमा प्रमुख पात्रहरूलाई प्रशस्त सहयोग गरेको देखिन्छ।
७.३ संवाद
‘स्वप्नवासवदत्तम्’ नाटकमा स्वाभाविक एवम् सङ्क्षिप्त संवादहरू पाइन्छन्। प्रथम अङ्कमा ब्राह्मण भेषधारी यौगन्धरायण वासवदत्तालाई लिएर मगधराजको तपोवनमा पुगेपछि त्यहाँ रहेका पद्मावती, काञ्चुकीय, तपसी आदिसँगको संवाद उद्देश्यपूर्तिका निम्ति अत्यन्त फलदायी छ। वासवदत्ताप्रति आत्मिक प्रेम प्रस्तुत गर्न राखिएका उदयनका संवादहरू उत्तिकै सफल छन्। वासवदत्तालाई बहिनी आवन्तिका बनाएर पद्मावतीका साथ राख्न गरिएको यौगन्धरायणको विनम्रताको संवाद उल्लेख्य छ –
कार्यं नैवार्थैर्नापि भोगैर्न वस्त्रैर्नाहं काषायं वृत्तिहेतोः प्रपन्नः।
धीरा कन्येयं दृष्टधर्मप्रचारा शक्ता चारित्रं रक्षितुं मे भगिन्याः।। (स्वप्न. १ : ९)
(मलाई धनको काम छैन, यस्तै न भोगको न वस्त्रको नै काम छ, मैले जीविकाका लागि गेरुवा वस्त्र लगाएको छैन, विदुषी र धर्म प्रचारिका यी राजकुमारीले मेरी बहिनीको चरित्रको रक्षा गर्न सक्छिन्।) यसैगरी दोस्रो र तेस्रो अङ्कमा वासवदत्ता, पद्मावती, चेटी र धात्रीबीच पद्मावती र उदयनको हुन लागेको विवाहसँग सम्बद्ध विविध विषयको संवाद उपयुक्त देखिन्छ। वासवदत्ताको मृत्यु भएको समाचार पाएपछिको राजाको संवाद अत्यन्त कारुणिक छ भने वासवदत्तालाई प्रत्यक्ष देखेपछि सपना ठान्ने राजाको संवादमा भ्रम र सन्देह पाइन्छ।
७.४ द्वन्द्व
नाटकको प्रारम्भमा यौगन्धरायणले वासवदत्तालाई उदयनबाट छुटाएर मगधदेशको तपोवनमा लैजाँदा पद्मावतीले राख्छिन् वा राख्दिनन् भन्ने द्वन्द्वात्मक अवस्था देखाइएको छ। आफ्नो गोप्य योजनाको भेद खुल्ने हो कि भन्ने यौगन्धरायणको मनमा द्वन्द्व छ। उदयनले पद्मावतीलाई यथेष्ट प्रेम नदिएको देखाएर नाटकमा कौतूहलता सृजना गरिएको छ। मन्त्रीहरू र शत्रु आरुणिबीच युद्धको सन्दर्भलाई अप्रत्यक्ष ढङ्गले चित्रण गरी यिनीहरूबीचको बाह्य द्वन्द्वलाई पनि नाटकमा उपस्थापन गरिएको पाइन्छ। आफूले देखेको घटनालाई सपनातुल्य ठान्ने भएका राजाले वासवदत्तलाई भनेका यी श्लोकहरूबाट उनमा रहेको आन्तरिक द्वन्द्व प्रष्ट हुन्छ –
शय्यायामवसुप्तं मां बोधयित्वा सखे ! गता।
दग्धेति ब्रुवता पूर्वं वञ्चितोऽस्मि रुमण्वता। (स्वप्न.५ : ८)
(हे मित्र वासवदत्ताले ओछ्यानमा सुतेको मलाई ब्युँझाएर गइन्। वासवदत्ता जलिन् भन्ने रुमण्वान्द्वारा म ठगिएँछु।)
यदि तावदयं स्वप्नो धन्यमप्रतिबोधनम्।
अथायं विभ्रमो वा स्याद्, विभ्रमो ह्यस्तु मे चिरम्। (स्वप्न, ५ : ९)
(यदि यो सपना हो भने न ब्युँझनु नै ठिक थियो, यदि यो भ्रान्ति हो भने मलाई धेरै समय भ्रान्ति नै भइरहोस्) यसपछि यौगन्धरायणले ब्राह्मणको छद्मभेष धारण गरी बहिनी आवन्तिका लिएर आई राजालाई सम्पूर्ण वृत्तान्त बताउने क्रममा समेत द्वन्द्वात्मक अवस्था देखिएको छ।
७.५ प्रकृतिचित्रण
‘स्वप्नवासवदत्तम्’ नाटकमा प्रकृतिको सहज र स्वाभाविक चित्रण भएको पाइन्छ। प्रथम अङ्कमा नाटककारले तपोवनको वर्णन ब्रह्मचारीका माध्यमबाट यसरी गरेका छन् :
विस्रब्धं हरिणाश्चरन्त्यचकिता देशागताप्रत्यया
वृक्षाः पुष्पफलैः समृद्धविटपाः सर्वे दयारक्षिताः।
भूयिष्ठं कपिलानि गोकुलधनान्यक्षेत्रवत्यो दिशो
निःसन्दिग्धमिदं तपोवनमयं धूमो हि बह्वाश्रयः।। (स्वप्न. १ : १२)
(आफ्नो स्थानमा विश्वास र निर्भयतापूर्वक हरिणहरू चरिरहेका छन्, सबै रुखहरू फूल र फलद्वारा समृद्ध शाखायुक्त भै दयालु छन्, कैला गाईरूप धन प्रशस्त छन्। दिशाहरू खेतरहित छन्, किनकि धुवाँ धेरै फैलिएको छ। जसले गर्दा निश्चय पनि यो तपोवन हो)। यसैगरी नाटककारले कञ्चुकीय पात्रका माध्यमबाट वनप्रान्तको सन्ध्यावर्णन यसरी गरेका छन् :
खगाः वासोपेताः सलिलमवगाढो मुनिजनः
प्रदीप्तोऽग्निर्भाति प्रविचरति धूमो मुनिवनम्।
परिभ्रष्टो दूराद् रविरपि च सङ्क्षिप्तकिरणो
रथं व्यावर्त्यासौ प्रविशति शनैरस्तशिखरम्।। (स्वप्न.१ : १६)
(चराहरू गुँडमा फर्किए, तपस्वीहरू स्नान गर्न लागे, प्रज्वलित अग्नि शोभित देखिन्छ, धुवाँ तपोवनमा फैलिएको छ, टाढाबाट झरेको किरणलाई एकत्रित गरेर सूर्य रथलाई मोड्दै विस्तार–विस्तार अस्ताचलको शिखरमा जाँदैछन्।) यसरी नाटककारले जीवजन्तु, चराचुरुङ्गी, वनस्पति, आकाश, धर्ती, चन्द्रसूर्य, साँझबिहान आदि प्राकृतिक वस्तुहरूको विविध अवस्थाको प्रसङ्गानुकूल यथोचित प्रयोग गरेको देखिन्छ।
७.६ अलङ्कारप्रयोग
‘स्वप्नवासवदत्तम्’ नाटकमा अलङ्कारहरूको स्वाभाविक प्रयोग पाइन्छ। नाटकमा उपमा, उत्प्रेक्षा, अर्थान्तरन्यास, विरोधाभास, मुद्रा, अनुप्रास जस्ता अलङ्कारहरूको कुशल प्रयोग भएको देखिन्छ। जस्तै –
क. उपमा
शरच्छशाङ्कगौरेण वाताविद्धेन भामिनि।
काशपुष्पलवेनेदं साश्रुपातं मुखं मम।। (स्वप्न ४:७ )
(शरद् ऋतुको चन्द्रमा समान सेतो हावाद्वारा उडाइएका काशफूलको परागद्वारा मेरो मुखमा अश्रुपात भयो)। यहाँ काशफूलको पराग उपमेयका रूपमा रहेको छ भने शरद् ऋतुको चन्द्रमा उपमान छ, अतः यहाँ उपमा अलङ्कार छ।
ख. अर्थान्तरन्यास
पूर्वं त्वयाप्यभिमतं गतमेवमासीच्छ्लाघ्यं गमिष्यसि पुनर्विजयेन भर्तुः।
कालक्रमेण जगतः परिवर्तमाना चक्रारपङ्क्तिरिव गच्छति भाग्यपङ्क्तिः।। (स्वप्न. १:४)
(पहिले उज्जयिनीमा रहँदा तपाई (वासवदत्ता) ले यस प्रकारले हिँड्नुपरेको थियो, फेरि पति (उदयन) को अभ्युदयपछि प्रशंसनीय रूपले हिँड्नु हुनेछ। समयको क्रमले संसारको परिवर्तनशील भाग्यपङ्क्ति चक्का समान घुम्छ)। यहाँ चौथो पाउमा रहेको सामान्य कथनले अघिल्लो अंशको विशेष कथनलाई समर्थन गरेको हुँदा अर्थान्तरन्यास अलङ्कार छ।
ग. विरोधाभास
नैवेदानीं तादृशाश्चक्रवाका नैवाप्यन्ये स्त्रीविशेषैर्वियुक्ताः
धन्या सा स्त्री यां तथा वेत्ति भर्ता भर्तृस्नेहात् सा हि दग्धाप्यदग्धा।। (स्वप्न. १:१३)
(अहिले राजासमान स्त्रीवियुक्त चखेवा छैनन्, स्त्रीवियोग सहेका कुनै पनि पुरुषले त्यस्तो चिन्ता खप्नु परेको छैन, वास्तवमा यी वासवदत्ता निकै धन्य छिन् किनकि पतिस्नेहले गर्दा अग्निमा जलेर पनि नजले जस्तो प्रतीत भइरहेकी छिन्)। यहाँ वासवदत्ता जलेर पनि नजलेजस्तै प्रतीत हुन्छिन् भन्ने प्रयोग भएकाले विरोधाभास अलङ्कार छ।
७.७ रसप्रयोग
यस नाटकमा अङ्गी रसका रूपमा करुण, विप्रलम्भ शृङ्गार रहेको छ। राजा उदयनमा जलिसकेकी भनिएकी वासवदत्ताप्रति अत्यधिक आकर्षण देखाइएको छ। वासवदत्ताप्रतिको उदयनको आत्मिक प्रेमको उद्गारले विप्रलम्भ श्रृङ्गारलाई परिपोषित बनाएको छ :
दुःखं त्यक्तुं बद्धमूलोऽनुरागः स्मृत्वा स्मृत्वा याति दुःखं नवत्वम्।
यात्रा त्वेषा यद् विमुच्येह बाष्पं प्राप्ताऽऽनृण्या याति बुद्धिः प्रसादम्।। (स्वप्न ४:६)
(दृढ प्रेम छोड्न कठिन हुन्छ, बारम्बार सम्झनाले दुःख नयाँ हुन्छ, आँसु बगाएर चित्तले प्रियजनको ऋणबाट उन्मुक्त भएर निर्मलतालाई प्राप्त गर्दछ।) त्यस्तै अर्को उदाहरण :
सोऽयं सन्त्रस्तया देव्या तया बाहुर्निपीडितः।
स्वप्नेऽप्युत्पन्नसंस्पर्शो रोमहर्षं न मुञ्चति।। (स्वप्न. ५:११)
(अत्यन्त डराएकी वासवदत्ताले जुन मेरो हात पक्रिइन्, सपनामा स्पर्श भएर पनि अहिलेसम्म रोमाञ्चित भइरहेको छ।) यसैगरी नाटकमा तपोवनको वर्णनको सन्दर्भमा शान्त रसको प्रयोग पाइन्छ भने शत्रु आरुणिकलाई जित्न विभिन्न सेनाहरू लगेको सन्दर्भमा वीररसको प्रयोग देखिन्छ। त्यस्तै राजाको पद्मावतीका साथ वार्तालापमा सम्भोग श्रृङ्गार रसको प्रयोग छ। यी सबै रसहरू विप्रलम्भ शृङ्गारका परिपोषक छन्।
७.८ सूक्तिमयता
प्रस्तुत नाटकमा सुन्दरवाणीद्वारा व्यक्ति एवम् समाजसुधारको नीति उपदेश व्यक्त गरिएको छ। ‘रुसोको प्रकृतितर्फ फर्क’ भन्ने विचार समेत भासले पहिले नै नाटकमा उल्लेख गरेको देखिन्छ। जस्तै :
परिहरतु भवान् नृपापवादं न, परुषमाश्रमवासिषु प्रयोज्यम्।
नगरपरिभवान् विमोक्तुमेते वनमभिगम्य मनस्विनो वसन्ति।। (स्वप्न १:५)
(राजाको निन्दा नगर, आश्रमवासीलाई गाली नगर किनकि तपोवनवासी सहरमा हुने गरेको तिरस्कारलाई छोड्न तपोवनमा आएर बस्छन्।)
सुखमर्थो भवेद् दातुं सुखं प्राणाः सुखं तपः।
सुखमन्यद् भवेत् सर्वं दुःखं न्यासस्य कारणम्। (स्वप्न. १:१०)
(धन, प्राण, तपस्याको फल सबै दिन सजिलो छ तर कसैको नासोको रक्षा गर्नु दुःखपूर्ण छ।)
कः कं शक्तो रक्षितुं मृत्युकाले रज्जुच्छेदे के घटं धारयन्ति ?
एवम् लोकस्तुल्यधर्मो वनानां काले काले छिद्यते रुह्यते च।। (स्वप्न ६:१०)
(मरणको समयमा कसैले कसैलाई बचाउन सक्दैन, डोरी छिनेको अवस्थामा कसले घडालाई समाउन सक्छ र ? त्यस्तै मान्छे वनको समान धर्म भएको हुन्छ, रुख समय–समयमा काटिन्छ, फेरि पलाउँछ पनि।) यसरी नाटककारले सूक्तिमय श्लोकहरूमार्फत नीति, उपदेश, धर्म र व्यावहारिक ज्ञानका विषयलाई सरताका साथ प्रस्तुत गरेका छन्।
७.९ उद्देश्य एवम् शीर्षक
वासवदत्ताको प्रेममा आशक्त भई राज्य सञ्चालनमा विमुख भएका राजा उदयनलाई राज्यसञ्चालन र संरक्षणमा केन्द्रित बनाउनु यस नाटकको प्रमुख उद्देश्य हो। उद्देश्य पूरा गर्नका लागि यौगन्धरायणले नाटकभित्रको नाटकको रचना गरेका छन् र सफल भएका छन्। वासवदत्ता जलेर मरेको समाचार दुष्प्रचार रहेछ भन्ने बुझेपछि र वासवदत्तालाई प्रत्यक्ष देखेपछि पनि राजा मन्त्रीसँग रिसाएका छैनन् किनकि राज्यका हितका लागि यो काम गरिएको हो भन्ने उनले बुझेका छन्। उनी भन्छन् :
मिथ्योन्मादैश्च युद्धैश्च शास्त्रदृष्टैश्च मन्त्रितैः।
भवद्यत्नैः खलु वयं मज्जमानाः समुद्धृताः।। (स्वप्न. ६:१८)
(विपत्तिरूप समुद्रमा डुबेको म मिथ्याकल्पित उन्माद, युद्ध, शास्त्रीय विचार र तपाई (यौगन्धरायण) को प्रयत्नद्वारा उत्रिएको छु।) प्रस्तुत प्रमुख उद्देश्यका साथै यसमा धर्मार्थकाममोक्ष प्राप्तिको उद्देश्यसमेत रहेको पाइन्छ।
यस नाटकको शीर्षक ‘स्वप्नवासवदत्तम्’ राखिएको छ। नायिका र विषयवस्तुसँग शीर्षक सम्बद्ध छ। राजा बिरामी पद्मावती हेर्न जान्छन् तर उनलाई ओछ्यानमा देख्दैनन्। ओछ्यानमा राजा आफैँ सुत्छन्। वासवदत्ता पनि पध्मावतीलाई हेर्न त्यहाँ जान्छिन्। त्यहाँ पुग्दा राजाले सपनामा ‘वासवदत्ता’ भनिरहेका हुन्छन्। राजा ब्युँझन्छन्। राजा छक्क पर्छन्। दुईबीच छोटो संवाद हुन्छ। वासवदत्ता राजालाई छोडेर भाग्छिन्। राजाले सपनामा झैँ विपनामा नै वासवदत्तालाई देखे, सपनामा झैँ वासवदत्तासँग बोले। त्यसैले सपनामा देखिएकी झैँ जुन वासवदत्ता हुन्, तिनलाई नै आधार मानेर लेखिएको नाटक स्वप्नवासवदत्तनाटक हो (स्वप्ने इव दृष्टा, स्वप्नदृष्टा, स्वप्नदृष्टा चासौ वासवदत्ता च स्वप्न (दृष्ट) वासवदत्ता, तामधिकृत्य कृतं नाटकमिति स्वप्नवासवदत्तम्) त्यसैले नाटकको शीर्षक सार्थक छ।
७.१० अभिनेयता र भाषाशैली
अभिनयका दृष्टिले प्रस्तुत नाटक सहज छ। रङ्गमञ्चीय पक्षलाई नाटककारले बोध गरेर नाटक लेखेको पाइन्छ। यहाँ धेरै लामा संवाद र समास बहुलता पाइँदैन। परिवेशका दृष्टिले पनि मञ्चन गर्न नसकिने परिवेशको प्रयोग छैन। नाटकमा उदयन, यौगन्धरायण, काञ्चुकीय, ब्रह्मचारी आदि पात्रले संस्कृत भाषाको प्रयोग गरेका छन् भने वासवदत्ता, पद्मावती, विदूषक, चेटी, प्रतिहारी आदिले प्राकृत भाषाको प्रयोग गरेको देखिन्छ। सरल, सहज र बोधगम्य भाषिक प्रयोगले अभिनय पक्ष सवल बनेको छ। जम्मा छ अङ्कमा विभाजित प्रस्तुत नाटकमा जम्मा ५७ श्लोक रहेका छन्। दोस्रो र तेस्रो अङ्कमा श्लोकको प्रयोग छैन। नाटकमा गद्यखण्डको प्रशस्त प्रयोग छ। नाटकमा आर्या, अनुष्टुप्, शार्दूलविक्रीडित, वसन्ततिलका, वैश्वदेवी, शालिनी, शिखरिणी जस्ता छन्दहरूको प्रयोग गरेको पाइन्छ।
८. निष्कर्ष
संस्कृत साहित्यको नाट्य परम्परामा भासको महत्त्वपूर्ण योगदान रहेको छ। संस्कृतका आदि नाटककार भासका नाटकहरू सङ्ख्यात्मक र गुणात्मक दुवै दृष्टिले उल्लेख्य छन्। उनले सुन्दर, सुव्यवस्थित र मञ्चनोपयोगी नाटकहरू लेखेका छन्। उनको स्वप्नवासवदत्तम् नाटकले उनलाई चर्चाको शिखरमा पुर्याएको पाइन्छ। यस नाटकको कथावस्तु संयोजनमा नाटककारले असाधारण कुशलता प्रदर्शन गरेका छन्। नाटकका घटनाहरू सार्थक छन्। विभिन्न अलङ्कारहरूको सान्दर्भिक प्रयोग, सूक्तिसौन्दर्यको समुचित विन्यास, प्रकृतिको मनोहारी चित्रण आदि कारणबाट नाटक अत्यन्त सफल बनेको छ। नाटककारले प्रस्तुत नाटकमा शृङ्गार रसको कुशल ढङ्गले प्रयोग गरेका छन्। मञ्चनका दृष्टिले समेत प्रस्तुत नाटक सहज र मञ्चनीय रहेको देखिन्छ। सरल, सहज र स्वाभाविक भाषाप्रयोगबाट प्रस्तुत नाटक सर्वसाधारणका निम्ति पनि बोधगम्य छ।
सन्दर्भग्रन्थसूची
उपाध्याय, आचार्य बलदेव (सन् १९९५), भासनाटकचक्रम्, च.सं., वाराणसी : चौखम्बा सुरभारती प्रकाशन।
आचार्य, कृष्णप्रसाद र अन्य (वि.सं.२०६१), नेपाली साहित्यको इतिहास तथा संस्कृत र पाश्चात्य साहित्यको रूपरेखा,
काठमाडौं : क्षितिज प्रकाशन।
आचार्य रामचन्द्र मिश्रः (ई.२०१०) संस्कृतसाहित्येतिहासः वाराणसी : चौखम्बाविद्याभवन।
कान्ति किशोर भरतिया, (सन् १९६८), संस्कृत नाटककार, लखनउ : हिन्दी समिति सूचना विभाग।
गैरोला, वाचस्पति (सन् १९८५), संस्कृत साहित्य का इतिहास, वाराणसी : चौखम्बा विद्याभवन।
जयकृष्णदास हरिदास गुप्त (सन् १९४५), स्वप्नवासवदत्तम्, तृ.सं., वाराणसी : चौखम्बा संस्कृत सिरिज।
द्विवेदी, कपिलदेव (ई.१९९२), संस्कृतनिबन्धशतकम् (पञ्चम सं.), वाराणसी : विश्वविद्यालय प्रकाशन।
बराल, डा. ईश्वर र अन्य, सम्पा. (२०५५), नेपाली साहित्य कोश, काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान।
भास, (सन् १९७२), बालचरितम् (व्याख्या–रामजी मिश्र), वाराणसी : चौखम्बा विद्याभवन।
भास, (सन् १९८१), स्वप्नवासवदत्तम्, तृ.सं., (व्याख्या–शेषराज शर्मा रेग्मी), वाराणसी : चौखम्बा सुरभारती प्रकाशन।
मम्मटः, (ई.१९९४), काव्यप्रकाशः (द्वितीय सं.), (व्याख्या– वासुदेव शास्त्री अभ्यंकर), वाराणसी : चौखम्बा विद्याभवन।
राजवंश सहाय (ई.२००२), संस्कृत साहित्य–कोश (चतुर्थ सं.), वाराणसी : चौखम्बा विद्याभवन।
विश्वनाथः, (ई.१९९५), साहित्यदर्पणः (पञ्चम सं.), वाराणसी : कृष्णदास अकादमी।
शुक्लः, रमेशचन्द्रः (वि.सं.२०२३), प्रबन्धरत्नाकरः, वाराणसी : चौखम्बा विद्याभवन।